`

प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, १० असोज : बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गर्नुभएको हो । सो प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट रहेको छ । यस्तै, ३३ केभी क्षमताको सवस्टेसनको पनि आजै शिलान्यास भएको छ ।सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजना प्रमुख रञ्जनराज गुरुङले जानकारी दिनुभयो ।सो अवसरमा ऊर्जामन्त्री बस्नेतले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागिपरेको बताउनुभयो । सोही उद्देश्य परिपूर्तिका लागि प्रसारण लाइनकोे निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको उहाँले जानकारी दिनुभयो । उहाँले बढी भएको बिजुली मात्रै निकासी गरिने उल्लेख गर्नुभयो ।कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत् व्यापारमा समेत नयाँ ढोका खुल्नेछ । कूल दुई सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगञ्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजना प्रमुख गुरुङको भनाइ छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ ।निरन्तर विद्युत् आपूर्ति, राष्ट्रिय ग्रिड सुदृढीकरण, जनगुनासोमा कमी आउने आयोजनाले विश्वास लिएको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वाललगायतको उपस्थिति थियो । 

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

ल्हासा (चीन), १० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताउनुभएको छ । आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।”

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उहाँको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उहाँले निकै नै महत्त्व दिनुभएको आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा उहाँले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिनुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक/एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।”

सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताउनुभयो । राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उहाँको भनाइ थियो ।

आफू एसियाली खेलकूदको उद्घाटनदेखि सहभागी भएको र त्यसपछि बेइजिङमा आएपछि यहाँका प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूकम्पपछि तथा कोभिडमा बन्द भएका चीनसँगका नेपालका सबै नाकाहरु खुल्ने सहमति प्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ताका क्रममा भएको र यसले नेपाललाई अहिले नाका बन्द भएका कारण व्यापार व्यवसाय एवं स्थानीय नागरिकमा उत्पन्न विभिन्न समस्याको समाधान हुनेछ ।”

त्यस क्रममा नेपाल–चीन सम्बन्धका विविध विषयमा चर्चा भएको, दुई देशबीच विभिन्न सहयोग तथा सम्झौता एवं समझदारीपत्रहरुमा हस्ताक्षर भएका र आगामी दिनमा त्यसले नेपालको हितमा योगदान गर्ने उहाँले बताउनुभयो ।

यस भ्रमणबाट नेपाल–चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले तिब्बत नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिनुभयो ।

सबै नाका खुल्ने सहमति भएको जानकारी दिँदै उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि महावाणिज्य दूतावासले सक्रिय रुपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले यस महावाणिज्यदूतावासले गर्दै आएका काम कारबाहीका साथै यहाँको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी तिब्बतमा बसोबास गर्ने नेपालीले प्रधानमन्त्रीसँग आफ्नो बसाइ र यहाँको व्यापार लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, १० असोज : काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र उपलब्ध गराउन आग्रह गरेको हो ।

चालु आर्थिक वर्षका लागि कूल रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको कामपाले स्वास्थ्य क्षेत्रमा मात्र रु ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ । चालु आवको बजेट अनुसारनै कामपाले गाउँपालिकालाई ३५ वटा एम्बुलेन्स वितरण गर्न लागेको हो । ती एम्बुलेन्स वितरणका लागि कामपाले रु सात करोड रकम विनियोजन गरेको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले आवश्यकता र इच्छा भएको जुनसुकै गाउँपालिकाले निवेदन दिनसक्ने बताउनुभयो । उहाँका अनुसार यही असोज २५ गतेसम्ममा गाउँपालिकाहरूले आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागका आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा कमपाले गरेको थियो ।

सूचनाबमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्डभित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमानुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरको तयारी छ । एम्बुलेन्स प्राप्त गर्नका लागि गाउँपालिकाले नाम, प्रदेश, जिल्ला, गाउँपालिका केन्द्र रहेको स्थान, एम्बुलेन्स माग गर्ने कार्यपालिकाको निर्णय समावेश गर्नुपर्नेछ ।

त्यसैगरी विवरण माग गरेको गाउँपालिकाको भौगोलिक विवरण, क्षेत्रफल, जम्मा जनसङ्ख्या, गाडी सञ्चालन हुने सडक सञ्जालको अनुमति क्षेत्रफल, राजमार्गबाट नजिक जोडिने सडकको लम्बाइ, गाउँपालिकामा रहेको अस्पतालसम्म आउनका लागि सबैभन्दा लामो दूरी किलोमिटरमा उपलब्ध गराउनुपर्ने सूचनामा भनिएको छ ।

त्यस्तै गाउँपालिकाको विगत तीन वर्षको औसत आन्तरिक आय, एम्बुलेन्स सञ्चालनका लागि दक्ष जनशक्तिको अवस्था, हाल सञ्चालन भइरहेको एम्बुलेन्सको विवरणसहित कार्यपालिकाको निर्णय र गाउँपालिका प्रमुखको हस्ताक्षर भएको निर्णय उपलब्ध गराउनुपर्ने कामपाको भनाइ छ ।
˗˗˗

अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

जनकपुर, १० असोज : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार क्षेत्र (पुरानो बसपार्क) का केही मासु पसलबाट मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने र कानूनले खान अयोग्य भनिएका रङ प्रयोग गरिएको मासु जफत गरिएको छ ।

आज भएको संयुक्त बजार अनुगमनका क्रममा खसीको मासुको छालामा चम्पाइरङ दलेको पाइएपछि दुई वटा पसलबाट २७ केजी मासु बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका प्रतिनिधि प्रमोद बुढाथोकीले जानकारी दिनुभयो । उहाँले बरामद गरिएको मासु प्रयोगशाला परीक्षणका लागि गुण नियन्त्रण कार्यालयमा लगिएको समेत बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सञ्जीवकुमार ठाकुरले मासु राम्रो देखाउने नाममा कानूनले खान अयोग्य भनेका रङहरू छालामा दल्नु गैरकानूनी भएकाले माछा बजार क्षेत्रबाट २७ किलो मासु जफत गरिएको जानकारी दिनुभयो ।

“कानूनले भनेका अन्य मापदण्ड पालना नगर्ने समस्या त छँदैछ । मासु राम्रो देखाउने नाममा स्वास्थ्यको दृष्टिकोणले हानिकारक रङसमेत प्रयोग गरेको पाइयो । यस्तो रङ दलिएको मासु खानाले मिर्गौला, फोक्सोमा असर गर्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सङ्क्रमण हुन्छ । त्यसैकारण हामीले सो मासु जफत गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएका छौँ”, डा ठाकुरले भन्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा नंं २, ४ र १४ मा रहेका १४ वटा मासु पसलको अनुगमनका क्रममा पाँच वटा पसल दर्ता नभएकाले सञ्चालकलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, सबैजसो पसललाई फोहर व्यवस्थापनसहित मापदण्ड पूरा गर्न, मूल्यसूची राख्नेलगायत कैफियत देखिएका विषयको व्यवस्थापन गर्न समय तोकेरै निर्देशन दिइएको पशु चिकित्सक ललितकुमार लालले बताउनुभयो ।

उहाँले सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिनुका साथै अर्को पटक अनुगमनका बेला सरसफाइ नभए र अन्य निर्देशन पालना नगरेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको बताउनुभयो ।

त्यसैगरी अनुगमन टोलीले जनकपुरधाम–१४ स्थित माँ जानकी डेरीबाट दूध, दही, खुवा र घ्यू प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन गरेर पठाइएको र डेरीलाई पनि ऐन नियममा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका नायब सुब्बा नरेश यादवले जानकारी दिनुभयो ।

जनकपुरधाममा माछा, मासु बजारको व्यवस्थापन र अनुगमन नहुँदा आम उपभोक्ताले स्वास्थ्यका लागि जोखिमपूर्ण तथा गुणस्तरहीन मासु खानुपरेको गुनासो भइरहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले पशु वधशालाको अभाव देखाएर मासु व्यवसायीहरूले एकै ठाउँमा मासु काट्ने र बेच्ने काम गर्नुका साथै प्रयोग हुने हातहतियार, पानी, अचानो, पसलको सरसफाइमा ध्यान नदिने गरेको बताउनुभयो । “यहाँको मासु बजारमा मुख्य गरी सरसफाइ र मासुको छालामा रङ दल्ने समस्या देखिन्छ । बेसार दल्नुलाई सामान्य मानिए पनि हानिकारक चम्पाइरङ दल्ने काम गरिरहनुभएको छ”, खनालले रासससँग भन्नुभयो, “उपभोक्ताले मन पराउँछन् भनेर चम्पाइरङलगायतका रसायन दल्ने, सीसा र जालीभित्र मासु नराख्ने, उपभोक्ताले किन्दैनन् भनेर फ्रिजको प्रयोग नगर्ने समस्या छ । यसमा व्यवसायी र उपभोक्ता दुवै सचेत हुन जरुरी छ ।”

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सघाउने

काठमाडौँ, १० असोज : नेपालका लागि दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज साँझ राजधानीमा आयोजित कोरियाको राष्ट्रिय दिवस कार्यक्रममा राजदूत तेयोङले अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोयिा सधै साझेदार रहने बताउनुभयो ।

कोरिया–नेपाल सम्बन्ध दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएयता सधै सुमधुर रहेको चर्चा गर्दै रोजगारी अनुमति पद्धति (इपिएस)मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बरमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ ।”

नेपाली कामदारलाई कोरियालीसरह सुविधा प्रदान गरिएको जानकारी दिँदै कोरियाली राजदूतले दुई देश भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेका बताउनुभयो । “हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि वर्षेनी ३० हजार कोरियन नेपाल आउँछन्,” उहाँले भन्नुभयो ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलव्ध गराएको जानकारी दिँदै कोरियाली राजदूतले बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको बताउनुभयो ।

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५० औँ वर्षमा प्रवेश गर्ने जानकारी दिँदै राजदूत तेयोङले गत साता संयुक्त राष्ट्रसङ्को ७८ औँ महासभाका क्रममा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच न्यूयोर्कमा द्विपक्षीय वार्ता भएको बताउनुभयोे । त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव स्मरणीय बनाउने तथा पारस्परिक सहयोगका दायरालाई अझ सघन बनाउनेबारेमा छलफल गर्नुभएको जानकारी राजदूत तेयोङले दिनुभयो ।

कोरियाली राजदूतका अनुसार हालसम्म कोरियामा करिब दुई हजार नेपालीलाई डिग्री वा तालिमको अवसर प्रदान गरेको छ । कोरिया नेपालको लागि चौथो ठूलो विदेशी लगानीकर्ता हो । सामसङ इलेक्ट्रोनिक्सले गत अप्रिलदेखि अत्याधुनिक टिभी कारखाना सञ्चालन गर्दै आएको छ । नेपाली कम्पनीले हुन्डाई मोटर्ससँगको साझेदारीमा आगामी वर्षको पहिलो छ माहिनामा नेपालको पहिलो अटोमोबाइल उत्पादन नवलपलासीमा सुरु गर्ने तयारी गरिरहेको छ ।

कोरियन विग कम्पनी मान्डुमोले यहाँ लगानी गरी छ सय ८० नेपाली महिलालाई काममा लगाएको कोरियाली राजदूतले जानकारी दिनुभयो । “कोरियाली कम्पनीहरूले थप लगानी आकर्षित गर्न नेपालसँग द्विपक्षीय लगानी सन्धि आवश्यक छ । हामी त्यसमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

दक्षिण कोरियाले नेपालमा तेस्रो जलविद्युत प्लान्ट निर्माण गर्ने प्रक्रियामा रहेको उल्लेख गर्दै कोरियाली राजदूत तेयोङले कोरियाली सरकार र कम्पनीहरूले सन् २००० मा मोदीखोला जलविद्युत आयोजना र २०१८ मा चमेलिया जलविद्युत आयोजना सम्पन्न गरेको बताउनुभयो । दुई १६ मेगावाटको माथिल्लो त्रिशिली–१ जलविद्युत् आयोजना सन् २०२७ मा सञ्चालनका लागि निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो । राजदूत तेयोङले भन्नुभयो, “नेपालको जलविद्युत विकास सम्भावनालाई साकार पार्न कोरियाले सहकार्य गरिरहनेछ ।”

समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी र नेपाल सरकारको वरिष्ठ अधिकारी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती थियो । सोही समारोहमा नेपाल र कोरियाको संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा

जनकपुर, १० असोज : मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

गण्डकी, १० असोज : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सङ्घीय मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो । त्यसयता गठित कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारका पालामा पनि सो प्रस्ताव सङ्घीय सरकारमा पुगेको थियो ।  

पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउन सङ्घीय सरकारलाई प्रस्ताव पठाउने रहेको उहाँले बताउनुभयो । पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौं भइसकेको बताएका छन् ।

गत वर्ष पोखरा आएका बेला तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रक्रिया अगाडि बढेको बताउनुभएको थियो । तर अहिलेसम्म उक्त प्रस्ताव सङ्घीय मन्त्रिपरिषद्मा पुग्न सकेको छैन । पोखरा कहिले पर्यटकीय राजधानी घोषणा हुन्छ ? कुनै टुङ्गो छैन । 

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटकीय राजधानी घोषणाका लागि प्रदेश आफैँ पनि सक्षम र तम्तयार रहनुपर्ने बताउनुभयो । “सङ्घीय सरकारलाई पनि झक्झाउने र हाम्रो तयारीलाई पनि अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसलाई चर्चाको विषय मात्र बनाउनुहुँदैन, सङ्घीय सरकारले नमाने दबाबका लागि प्रदेश आफैँले भएपनि घोषणा गर्नुपर्छ ।”

मन्त्री थापाले नीति तथा कार्यक्रममा प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटनलाई किटान गरिएको भए पनि सोही अनुसार बजेटको प्राथमिकता पर्न नसकेको उल्लेख गर्नुभयो । “पर्यटनमा नीति, कार्यक्रम र बजेटको तालमेल मिल्न सकेको छैन, यसलाई आगामी बजेटमा सच्याउनुपर्छ भनेर मन्त्रिपरिषद्मा मैले कुरा उठाएको छु”, उहाँले भन्नुभयो, “प्रदेश राजधानी पोखरालाई पर्यटनको पनि राजधानी बनाउने हो भने त्यही अनुसारको स्रोतसाधन र लगानी चाहिन्छ, पूर्वाधार थप्नुपर्छ ।”

पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । “पोखरा देशकै मुख्य पर्यटकीय गन्तव्य हो, पर्यटनबाटै अन्तरराष्ट्रियस्तरमा चिनिएको सहर पनि हो”, उहाँले भन्नुभयो, “पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा सङ्घीय सरकारले पनि सहमति दिनुपर्छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटकीय गन्तव्य रहेकाले राजधानी घोषणाको माग गरिएको बताउनुभयो । “पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा यसले दुरगामी महत्व राख्छ ।”

पर्यटकीय राजधानीको ओज र गरिमा धान्न पोखरा सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य पोखरा आसपासमै रहेको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका खोल्न सके पोखरासँगै सिङ्गो गण्डकी प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

“कोरला नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्छ, उक्त नाका खुलेमा व्यापार र पर्यटनबाट नेपालले फाइदा लिन सक्छ”, उहाँले भन्नुभयो, “कैलाश मानसरोवर जाने पर्यटकलाई पनि मुस्ताङ हुँदै लैजान सकिन्छ, यो मार्ग छोटो पर्छ ।” अहिले पनि बर्सेनि भारतीयसहित हजारौँ विदेशी पर्यटक मुस्ताङ पुग्ने गरेका उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले पोखरामात्र नभएर प्रदेशका अरू जिल्लाको पर्यटन प्रवद्र्धनमा हातेमालो गर्न पोखरेली पर्यटन व्यवसायीहरु तयार रहेको बताउनुभयो । उहाँका अनुसार साधारणदेखि पाँच तारेसम्म गरी झन्डै एक हजार दुई सय होटल पोखरामा सञ्चालित छन् । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका पूर्वप्रमुख काशीराज भण्डारीले पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने बताउनुभयो । पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्न चाहिने मापदण्ड प्रयाप्त पुग्ने उहाँको दाबी थियो ।   

“हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल लगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्”, भण्डारीले भन्नुभयो, “उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा भरिपूर्ण छ ।”

उहाँका अनुसार परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा रहेका उहाँले जानकारी दिनुभयो । 

हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा रहेको बताउँदै पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतका यातायात सेवा उपलब्ध रहेका नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार यहाँ बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टरका साथै सङ्कटमा परेमा पर्यटकको उद्धार र राहतका लागि हेलिकोप्ट सेवा सञ्चालित छन् । 

पर्यटनका यिनै प्रचुरताका कारणले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको त्रिपाठीको भनाइ थियो । पर्यटन व्यवसाय आतिथ्य सत्कारसँग जोडिएकाले दक्ष मानव संसाधनको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“हाम्रा गन्तव्य स्थलहरु कति पर्यटनमैत्री र सुरक्षित छन् भन्ने विषय महत्वपूर्ण हुन्छ, पर्यटनमा रुपान्तरणकारी योजना ल्याउनुपर्छ, सरकारले लगानी बढाउनुप¥यो, पर्यटनमैत्री नीति पनि चाहियो”, त्रिपाठीले भन्नुभयो, “समृद्धिको आधार भनेर घोषणमात्र गरेर हुँदैन त्यही अनुसारको कार्यक्रम ल्याउनुपर्छ ।”

“पोखरा जसरी विश्व पर्यटन बजारमा चिनिँदै गएको छ, गण्डकीका अरू पर्यटकीय गन्तव्यलाई पनि ब्रान्डिङ गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “राज्यका निकाय, निजी क्षेत्र र समुदायको यसमा पहल चाहिन्छ ।” उहाँले पर्यटनका लागि पूर्वाधार र प्रवद्र्धन नै महत्वपूर्ण हुने बताउनुभयो । 

कोभिड–१९ महामारीअघि नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगटेको छ । 

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ ।

लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गर्नुभयो । रि–निकोला मलेसियाको कम्पनी हो ।

लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको जनाएको हो । सम्झौताअनुसार रि–निकोला ले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।

सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि–निकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।

उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० गते बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रि–निकोलासँग हुने समझदारीपत्र को मस्यौदा गत भदौ ८ गते बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी, १० असोज ः गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ, १० असोज : विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको हो । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो ।

बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ । यस्तै बिहान प्रभातफेरी गरिएको छ । ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो । अहिले पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा भइरहेको छ ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदै छ ।

सुदूरपश्चिममा डेङ्गु : आठ महिनामा तीनजनाको मृत्यु, आठ सय बढी सङ्क्रमित

महेन्द्रनगर (कञ्चनपुर), १० असोज ः बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । “तथ्याङ्कानुसार यहाँ गत माघ महिनायता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हँुदै आएको छ ।”

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताउनुभयो । “कञ्चनपुरमा सङ्क्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्”, उहाँले भन्नुभयो, “भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ ।”

उहाँले वडा–वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायतका काम चलिरहेको बताउनुभयो । “स्थानीय तहसित मिलेर लार्भा खोजेर नष्ट अभियान पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।” उहाँले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो ।
–––

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

काठमाडौँ, १० असोज ः काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिनुभयो । गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उहाँले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । राजस्व सप्ताहसम्बन्धी मङ्गलबार बसेको तयारी बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । राजस्वले नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताउनुभयो । करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो । नगरपालिकाले राजस्वलाई फराकिलो बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

रसुवा, १० असोज – दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको बताइएको छ । गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् ।

बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिनुभयो ।

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा, १० असोज : डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।

कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उहाँको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ । डेङ्गुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन् ।

डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेङ्गु सङ्क्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेङ्गुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन् ।

ठेक्का सम्झौताबिनै बालुवा उ्रत्खनन हुँदा राजस्व गुम्यो

म्याग्दी, १० असोज ः ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बनाएको छ । तर व्यवसायीले सो कानुनी व्यवस्थाविपरीत म्याग्दी नदीबाट बर्खायाममा बालुुवा उत्खनन गरेर थुपारेका थिए ।

तोलावाङ, पतेनी, शिवरात्रिखोला, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताबिनै बालुुवा उत्खनन भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “अनुगमन गर्ने क्रममा सात ठाउँमा बालुवा निकालेर थुपारेको भेटिएको थियो”, उहाँले भन्नुभयो, “उनीहरूलाई गत भदौ ११ गते रु नौ लाख ५० हजार जरिवाना तोकिएकामा एक जनाले मात्र तिरेका छन् । अरुले जरिवाना तिर्न आनाकानी गरेका छन् ।” उत्खननमा संलग्नहरूले भण्डारण गरेको ठाउँबाट बालुवा बिक्री गर्ने र अन्यत्र सारेका छन् ।

उत्खननमा प्रयोग भएका उपकरणलाई जरिवाना र बालुवा जफत गरेर लिलामी गर्नुपर्नेमा गाउँपालिकाले अवैध काम गर्नेहरूलाई अनुकूल हुने गरी जरिवानामात्र तिराउने नीति लिँदा लाखौँ राजस्व गुमाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले ठेक्का सम्झौताबिना बालुवा उत्खनन गर्नेहरूसँग गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिले गरेको अनौपचारिक सहमतिअनुसार जरिवाना तिराउन ताकेता गरिएको बताउनुभयो । “लिखित निर्णय नभएकाले हामीले मौखिकरूपमा जरिवाना बुझाउन ताकेता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “लिखित र औपचारिक निर्णय नभएकाले जरिवाना तिर्न आनाकानी गर्नुभएको छ ।”

रानीवासाको बगरमा राजु मगर, पवैतीमा अनिल रोका, टङ्कलाल पौडेलले भारवाङमा, दोरण शेरचनले कमेरेमा, बलसिंह मगरले इल्पुमा, रातोढुङ्गामा सन्तनाथ सुवेदी र तिलक ढकालले बालुवा निकालेका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।

सुवेदी पूर्ववडाध्यक्ष र शेरचन पूर्व कार्यपालिका सदस्य हुनुहुन्छ । भारवाङमा बालुवा निकालेका पौडेलले मात्र रु एक लाख ७० हजार जरिवाना तिर्नुभएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बताउनुभयो ।

रानीवासामा रु दुई लाख २५ हजार, पतेनीमा रु दुई लाख, कमेरेमा रु एक लाख २५ हजार, इल्पुमा रु एक लाख २५ हजार, रातोढुङ्गामा रु ५० हजार जरिवाना तोकिएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका अध्यक्ष लेकबहादुुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुुनुवाइमा ठेक्का सम्झौताबिनै उत्खनन गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाउनुभएको थियो ।

अवैध हिसाबले बालुुवा उत्खनन गरेर बर्खामा थुपार्ने र हिउँदमा गाउँपालिकाले ठेक्का आह्वान गर्दा ठेक्का नै नपर्ने समस्या देखिएको हो । गत वर्ष मालिका गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का लगाउन चार पटकसम्म सूचना प्रकाशन गरेको थियो । रु २० लाख बढीमा छ वटा बगर ठेक्का लागेको थियो ।

बर्खामा बाढीले बगाएर ल्याएको बालुवा थुपार्न नदीभित्र खाडल बनाएका छन् । छोटो समयमा धेरै, कम लागतमा बढी गहिराइमा पुगेर बालुवा निकाल्न पाइने लोभले कानुनले नदिए पनि डोजर प्रयोग गरेका छन्् ।

हिउँदमा ठेक्का लिँदा बगरमा बालुुवा कम हुुने हुँदा ‘सेटिङ’ मिलाएर बर्खामा डोजर प्रयोग गरेर निकाल्ने, जरिवाना तिर्ने र लिलामीको प्रक्रियाबाट सकार्ने घुमाउरो विधि प्रयोग गरेको पाइएको छ ।

बालुवा निकाल्नेहरूले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग ‘सेटिङ’ गरेको स्थानीयको गुुनासो छ । ठेक्का सम्झौतामा मजदुर परिचालन गरेर उत्खनन गर्ने भनिए पनि व्यवहारमा डोजरको प्रयोग हुुने गरेको छ ।

प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान गर्नुहुँदै

छिङछोङ (चीन), १० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै हुनुहुन्छ ।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उहाँका साथमा उहाँको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर आइपुग्नुभएको थियो । यहाँ उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा यस छिङछोङ महानगरले गरेका कार्यहरुको जानकारी लिनुभएको थियो ।

पोखरामा मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो,अबदेखि पाँच हजार

गण्डकी, १० असोज- पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना रु पाँच हजार पुर्याउने निर्णय भएको जानकारी दिनुभयो ।गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उहाँले बताउनुभयो । मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताउनुभयो ।“ट्याक्सी मिटरमा सञ्चालन भए÷नभएकाबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ”, उहाँले भन्नुभयो, “कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ ।” हालसम्म मिटरमा सञ्चालन हुन नमान्ने एक सय १७ वटा ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताउनुभयो । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो ।विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यसपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ ।पन्ध्र किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् ।भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गर्नुभयो । 

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपाल र मङगोलिया भिड्दै

हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङगोलियासित खेल्दैछ । नेपाल र मङगोलियाबीचको खेल नोपली समयअनुसार अहिले बिहान ६ : ४५ मा सुरु हुँदै छ । मङगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मङगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै यहाँ आइपुगेको छ ।

नेपाली टोलीका दुई महत्वपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल आजै यहाँ आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।

इन्जिनियरिङ लाइसेन्स परीक्षा : विदेशमा पढेर फर्किएका बढी अनुत्तीर्ण

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लाइसेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् ।

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।परिषद्ले दिएको जानकारी अनुसार गत चैतमा सञ्चालित पहिलो पटकको परीक्षामा दुई हजार छ सय जनाले परीक्षा दिएकोमा ५६५ जना अर्थात् २८.१६ प्रतिशत उत्तीर्ण भएका थिए । विदेश पढेर आएका ३७८ जनाले परीक्षा दिएकोमा जम्मा ५८ जना उत्तीर्ण हुन सके । सो परीक्षामा इन्जिनियरिङका २० विधाका इन्जिनियरहरू परीक्षामा सहभागी भएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज ४४औँ विश्व पर्यटन दिवस:यसरी मनाइँदैछ नेपालमा

काठमाडौँ, १० असोज : आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्यहाँ मन्त्रालय र मातहत निकाय र सरोकारवालाहरुको उपस्थिति रहनेछ ।यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।मन्त्रालयका प्रवक्ता केसीले विश्व पर्यटन दिवसलाई भव्य र प्रभावकारी रुपमा मनाउन प्रदेश र स्थानीय तहलाई पनि पत्राचार गरिएको जानकारी दिनुभयो । विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सोमबार रक्तादान कार्यक्रम गरेको छ । दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले दिवसका अवसरमा गरिने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार सङ्घको अगुवाईमा आज पोखरामा विशेष कार्यक्रम गरिदैँछ । कोभिड–१९ (कोरोना भाइरस) महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको छ । बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ । विशव पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ ।पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउछन् । दसैँ, तिहार, छठलगायत पर्वले पर्यटमा रौनकता बढाउछ । विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन् ।

सर्वोच्चले सोध्यो : माधव र बाबुराममाथि मुद्दा किन नचलाएको ?

काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो ।

न्यायाधीश विनोद शर्माको इजलासले ललितानिवास जग्गा प्रकरणमा निर्णय गर्ने माथिल्लो हैसियतमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई मुद्दा नचलाउनुको कारण देखाउन सरकारका नाममा आइतबार आदेश जारी गरेको हो ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मुख्य निर्णयकर्ता नेपाल, भट्टराई, पौड्याललाई मुद्दा नचलाउने भनी गरिएको निर्णय बदरको माग गर्दै पूरक अभियोग पत्र दर्ता गर्न वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदनमा दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता न्यौपानेले शक्ति र पहुँचका आधारमा मुख्य व्यक्तिहरूलाई मुद्दा नचलाई उन्मुक्ति दिइएको भन्दै असोज १ गते रिट निवेदन दर्ता गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

सन् २०२३ भित्र १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य

काठमाडौँ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ ।

पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र संस्कृतिका आधारमा नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवर्धन गर्न जरुरी रहेको जनाएका छन् । सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका हुन् ।बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो आठ महिनाको पर्यटक आगमन दर हेर्दा सन् २०२३ मा १० लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ । उनले भने, “पछिल्ला प्रत्येक महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको छ । सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा हुने विश्वास गरिएको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने तयारीमा प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।”

यसैगरी उहाँले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने राससलाई जानकारी दिनुभयो । “ढुक्कका साथ दसैँ मनाउन घर गए हुन्छ, तर घर बन्द गरेर जाँदा सेल्फी खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगरौँ, बरु प्रहरीलाई जानकारी गराऔँ ।” उहाँले भन्नुभयो ।दसैँ–तिहारजस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गर्नुभयो ।यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।उहाँका अनुसार दसैँ–तिहार विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ । यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द

बैतडी-  अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मङ्गलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताउनुभयो ।अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ । 

१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ (चीन), १० असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी भारत तीन स्वर्ण, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौँ स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौँ, चाइनिज ताइपेई दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौँ, थाइल्याण्ड दुई स्वर्ण र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वर्ण, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन ।

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । मङ्गलबार पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् । जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

रग्बीमा नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो । मङ्गलबार भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अंकले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो ।

यसैगरी तेक्वान्दोमा पनि मङ्गलबार प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए । नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए। उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २–० अंकले पराजित भए । यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन्। महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन्। तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।
 

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ९ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

“अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने वा पर्खने अवस्था हामीसँग छैन ।” अध्यक्ष ओलीले अहिले सबै देशप्रति गम्भीर हुनुपर्ने अवस्था रहेको भन्दै अहिलेको अवस्थामा सामान्य हिसाबले लिन नहुने बताउनुभयो ।

“सिटामोल खाएर काम लाग्ने स्थिति छैन । एक दिनको ज्वरो पनि हट्दैन”, उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रको खास उपचार गर्नुपर्दछ । त्यसको लागि हामी सबै गम्भीर बन्नुपर्दछ ।”देशको अवस्थाप्रति चिन्ता र त्यसबाट उन्मुक्ति कसरी मिल्छ भन्ने कुरामा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने उहाँको धारणा राख्नुभयो । अध्यक्ष ओलीले देश आर्थिक हिसाबले सबल बन्नुपर्ने उल्लेख गर्दै गरिबीबाट नेपाली जनतामाथि उठाउनुपर्ने बताउनुभयो । मानिस धनी हुनुपर्नेमा गरिबी बन्दै गएको भन्दै उहाँले देशलाई परिवर्तन ल्याउनुपर्ने भनाइ राख्नुभयो ।

अहिलेको अवस्थाबाट मुलुक अगाडि बढ्न नसक्ने भन्दै उहाँले अर्थतन्त्रमा सुधारको लक्षण नदेखिएको बताउनुभयो । उद्यमी व्यवसायीले बढी राजनीतिक गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले सबैको सहकार्यबाट मात्र मुलुक अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकारी सम्पत्तिलाई निजी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले चलायमान ठाउँमा र वैदेशिक रोजगारबाट आएको मुद्रा थुप्रिएको बताउनुभयो ।

“कतिपय ठाउँमा बजेट छ । तर चलायमान छैन । वैदेशिक मुद्रा पनि थुप्रिएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले लिएर जानेबाहेक अरु काम भएको छैन”, उहाँले भन्नुभयो, “चलायमान ठाउँमा थुप्रिएको पैसालाई स्थान्तरण गरेर चलायमान गराउनुपर्दछ ।”

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कुनै दिन दबाबमूलक काम गर्ने परे एमालेले अगुवाइ गर्ने बताउनुभयो । उहाँले एमालेलाई सरकारमा जान हतार नभएको भन्दै उहाँले आफूहरु मिसन–२०८४ मा लागेको बताउनुभयो ।

पाकिस्तान : गोप्य कागजात मुद्दामा पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको हिरासत समय थप लम्बाइयो

इस्लामावाद, पाकिस्तान = पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ ।

एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री खानले लुकाएको भन्दै उहाँविद्ध मुद्दा दर्ता भएको छ ।विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”

पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट

तलकोट (बझाङ) ९ असोज : बझाङको तल्कोट गाउँपालिका–५ खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन् । आज स्थानीय उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लाग्दा पाँच पसल जलेर नष्ट भएका हुन् । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो लागेको आगलागी करिब डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट दुई वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरू सामानसहित जलेका छन् । स्थानीय पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मीनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नष्ट भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरण : बुधबारदेखि थुनछेक बहस हुने

काठमाडौँ, ९ असोज : काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।

शिक्षाको विकास उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री यादव

जलेश्वर (महोत्तरी), ९ असोज : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा क्षेत्रको विकास मधेस प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा सार्वजनिकीकरण कार्यक्रममा उहाँले मधेस प्रदेश शिक्षामा निकै पछाडि रहेकाले मधेस प्रदेशको शिक्षाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले शिक्षा संसारकै सबैभन्दा ठूलो धन रहेको र शिक्षा भएपछि संसारको कुनै कुनामा कोही कहिले पनि भोको मर्दैनन् भन्दै मधेस प्रदेशका सबै अभिभावकलाई आ–आफ्ना बालबालिकालाई शिक्षा दिन आग्रह गर्नुभयो ।

सोही क्रममा मुख्यमन्त्री यादवले सार्थक र उपयोगी शिक्षाका लागि विद्यार्थी, अभिभावक, शिक्षक, सरकारलगायत सरोकारवाला सबैलाई आ–आफ्नातर्फबाट इमान्दारीपूर्वक दायित्व बहन गर्न आग्रह गर्नुभयो ।

उहाँले मधेस प्रदेश सरकार प्रदेशभित्र शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर प्रदेशको चौतर्फी विकास गर्न उद्दत रहेको बताउनुहुँदै आवश्यक सहयोगका लागि सधैँ तयार र तत्पर रहने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो ।

जिल्ला सदरमुकाम जलेश्वर मधेस प्रदेशमै तेस्रो र महोत्तरी जिल्लामा पहिलो साक्षर पालिका घोषणा भएको हो । जलेश्वर नगरपालिकामा आजको दिनसम्म (१५ देखि ६० वर्षसम्मका) ९५ दशमलव ०५ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । नेपाल सरकारको प्रावधानअनुसार ९५ प्रतिशतभन्दा माथि साक्षरता सङ्ख्या पुगेको पालिकालाई साक्षर घोषणा गर्न सकिने छ । जलेश्वर नगरपालिकाको जनसङ्ख्या ६३ हजार आठ सय दुई रहेकोमा ३४ हजार चार सय ४८ जना साक्षर रहेका छन् ।
 

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ, ९ असोज : काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ ।

यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी हुनुभएको छ । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसक्नुभएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।कामपाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताउनुभयो ।जात्राको सुरूको दिन आज दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिएको छ । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन सरकारले सार्वजनिक बिदा पनि दिएको छ । सो दिन बढी भीडभाड हुने भएकाले विशेष सुरक्षा बढाएको छ । उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी नेपाल प्रहरी, कामपा र सशस्त्र प्रहरीले विशेष सुरक्षा दिने छ । जात्रा अवधिमा आगलागी नियन्त्रण गर्ने वारुणयन्त्रको समेत व्यवस्था गरिएको जनाइएको छ ।९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ । जात्रामा राष्ट्र प्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा रही आएको छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।पाहुनालाई इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ । 

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्द

काठमाडौँ, ९ असोज : दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएकामा उहाँलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।

मूल समारोह समितिले आज यहाँ आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दनपत्रद्वारा सम्मान गर्नुभयो । उहाँलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।काठमाडौँ महानगरपालिकाको सहकार्यमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिकातर्फबाट उहाँलाई अभिनन्दन गरिएको हो । वरिष्ठ चिकित्सक डा दासलाई नागरिकस्तरबाट विभिन्न निकाय र सङ्घसंस्थाकाका तर्फबाट पनि दोसल्ला र प्रसंशापत्रसहित अभिनन्दन गरिएको थियो । त्यस्तै पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालगायतले उहाँलाई माल्यार्पण गरी अभिनन्दन गर्नुभयो ।सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा सेवा, मानव अधिकार, व्यवस्थापन, समाजसेवा र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान गर्नुभएका शिखर व्यक्तित्व डा दासको बहुआयामिक व्यक्तित्व र अमूल्य कार्यप्रति सबैले उच्च सम्मान र गौरव गर्नुपर्ने बताउनुभयो । उहाँले डा दासको सम्मानमा सरकारका तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यका तर्फबाट हुने सम्मानबारे सम्बन्धित मन्त्रीले प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको र यसलाई मूल समारोह समितिसँग परामर्श गरेर मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने बताउनुभयो ।“डा दासले निजी एवं पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रलाई अतुलनीय योगदान गर्दै आउनुभएको र आफ्नो सम्पूर्ण जीवननै परोपकारमा समर्पण गर्नुभएको छ । पून्य कर्मले जीवनलाई सार्थक बनाउनुभएको छ”, कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो ।उहाँले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका व्यक्तिहरूको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति अभिन्न अङ्ग रहेको स्मरण गर्नुभयो । उहाँले देश, जनता र समाजको समग्र विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्न सरकार सदैव तत्पर छ भन्नुभयो ।कार्यवाहक प्रधानमन्त्री भन्नुभयो, “राष्ट्रको विविधतालाई स्वीकार्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाती, भाषा, वर्ग क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि सरकार दत्तचित्त भएको कुरा जानकारी गराउदछु ।”कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले विगतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई राष्ट्र कविको उपाधीद्वारा सम्मान गर्नुका साथै सताब्दी पुरुष सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुष घोषणा गरी उहाँहरूको जीवनकालमा विविध कार्यक्रमसहित राष्ट्रिय स्तरमा सम्मान गरिएको पनि स्मरण गराउनुभयो । उहाँले सरकारका तर्फबाट समकालीन शिखर व्यक्तित्व डा दासलाई दीर्घ जीवनको शुभकामना व्यक्त गर्दै सबैलाई उहाँजस्तै लोककल्याणको कार्यमा आजीवन समर्पित हुन थप प्रेरणा र ऊर्जा मिलोस् भनी कामना गर्नुभयो ।सिरहाको इनरवामा विसं १९८१ मा बुबा जनार्दन लाल दास र आमा स्व भवानी देवीको कोखबाट जन्मनुभएका डा दासले वीर अस्पतालबाट चिकित्सा सेवा आरम्भ गरी सात दशकदेखि विभिन्न निकाय र क्षेत्रमा योगदान दिइरहनुभएको छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गर्नुभएका डा दासले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो । उहाँले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयलगायतमा सरकारी सेवा गर्नुभएको थियो । विभिन्न प्रतिष्ठित संस्थामा सामाजिक कार्यगरी धेरै सङ्ख्यामा पुरस्कार र सम्मान पाउनुभएको छ ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राष्ट्र र जनताका लागि अतुलनीय योगदान गर्नुभएका दिव्य शताब्दी पुरुष डा दासलाई राज्यका तर्फबाट उच्च सम्मान, मासिक वृत्ति तथा उहाँको सममानजनक जीवन यापनको लागि सरकारले आवश्यक प्रवन्ध गर्ने जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्बाट गरिने निर्णयका लागि आवश्यक प्रक्रिया मन्त्रालयले अगाडि बढाएको उल्लेख गर्नुभयो ।वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतोले युग पुरुष डा दासले राष्ट्रका लागि पुनित कार्य र प्रेरणादयाी उपदेश दिनुभएको भन्दै उहाँको मार्ग दर्शनलाई सबैले शिरोधा¥य गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व उपराष्ट्रपति परमानन्द झाले डा दास शरल, मिलनसार र सामाजिक क्षेत्रमा गरेको योगदानलाई अहिलेको पुस्ताले अनुशरण गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।दिव्य शताब्दी पुरुषको उपाधी पाउनुभएका डा गौरी शङ्कर लाल दासले नागरिकस्तरबाट अभिनन्दित हुन पाउनु आफ्ना लागि गौरवको क्षण हो भन्दै अभिनन्दनका लागि आभार व्यक्त गर्नुभयो । “आज मेरो लागि चरम हर्ष र उल्लासको दिन हो, यो गौरवको क्षण चीर स्मरणीय रहनेछ”, डा दासले भन्नुभयो, “नागरिकको तर्फबाट अभिनन्दन गरिनु मेरा लागि गौरवको विषय हो । विभिन्न सामाजिक संस्थाका तर्फबाट पनि अभिनन्दनका लागि धन्यवाद, पत्रकार मित्रहरूलाई पनि राम्रो कभरेजका लागि धन्यवाद दिन चाहन्छु ।”डा दासले सिरहाको दुर्गम गाउँमा जन्मिएर ग्रामीण परिवेसमा हुर्किएको सामान्य मानिस आज राष्ट्रको उच्च तहमा पुग्न सफल भएको भन्दै विभिन्न सङ्घर्षका किस्सा सुनाउनुभयो । उहाँले दिव्य शताब्दी पुरुष घोषणाका लागि सरकार र काठमाडौँ महानगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।पूर्वमन्त्री एवं मूल समारोह समितिका संयोजक शङ्करप्रसाद कोइरालाले डा दासले देश, समाज र जनताका लागि गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै नागरिकस्तरबाट सम्मान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दिब्य सताब्दी पुरुष डा गौरी शङ्कर लाल दासलाई अभिनन्दन गर्न पाउनु गौरवको क्षण हो भन्दै उहाँको सक्रिय र व्यावसायिक जीवनबाट आधुनिक पुस्ताले प्रेरणा लिनसक्नुपर्ने धारणा राख्नुभयो । डा दासले राजनीतिभन्दा माथी उठेर समाज र समुदायका लागि गर्नुभएको निरन्तर सामाजिक कार्य उदाहरणीय रहेको उहाँले उल्लेख गर्नुभयो ।नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले युगपुरुष डा दासको अनुकरणीय जीवन शैलीबाट आधुनिक पुस्ताले प्रेरणा लिएर आफ्नो जीवन शैलीलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देश, समाज र जनतालाई माया गर्ने र सम्पूर्ण कर्ममार्फत सामाजिक अभियान चलाउने डा दासजस्ता नागरिक आजको दिनमा खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँजस्तै पेशा र इमान्दारिताका साथ देशमै रहेर पेशागत इमान्दारिता कायम गर्न सबैमा प्रेरणा मिलोस् भनी कामना गर्नुभयो । महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोलले डा दास राष्ट्रको गौरव, एक व्यक्ति अनेक रुप र विशेषता भएको भन्दै उहाँलाई अभिनन्दन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।सोही अवसरमा डा दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सङ्गालो ‘चयनिका’ पुस्तक कार्यबाहक प्रधानमन्त्री खड्काले विमोचन गर्नुभयो । शङकर प्रसाद कोइरालाले प्रकाशन गर्नुभएको उक्त पुस्तकको रमेश जङ्ग थापाले सम्पादन गर्नुभएको छ । दुई सय १६ पृष्ठको पुस्तकको मूल्य रु तीन सय रहेको छ ।–––

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चर्तुदर्शी ‘ठूली जात’ को रौनक

बैतडी, ९ असोज : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला सुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी भगवतीको भण्डार घरबाट आज मन्दिरमा भण्डार भित्र्याएसँगै मेला/जात्रा सुरु भएको हो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । चार दिनसम्म मन्दिरमा पूजाआजा हुने गर्दछ ।

भाद्र शुक्ल पूर्णिमासम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण रहेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्त्वपूर्ण दिनका रुपमा लिइने गरिएको निङ्गलाशैनी भगवती मन्दिरका मुखीया मानबहादुर बोहराले बताउनुभयो ।मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनहरूको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । यो मेलालाई स्थानीय भाषामा ‘ठूली जात’ भन्ने चलन रही आएको छ । यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको छ ।यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गरेको छ । भाद्रशुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक विशेष जात्रा हुने गरेको छ । मेलालाई भव्य र सभ्यरूपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुनअनुसार कारबाही हुने दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो ।सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागी पनि यो मेलालाई विषेश रुपमा हेर्ने गरिन्छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका देउडिया यहाँ आउने गरेका छन् ।–

नेपालगञ्जमा रामलीलाको १५६ औँ संस्करणको तयारी

राँझा (बाँके), ९ असोज : नेपालगञ्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवको तयारी सुरू भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी सुरू गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

“यो वर्ष पनि विगतका वर्षहरूमा जस्तै धुमधाम पूर्व रामलीला महामहोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “भारतको वृन्द्धावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिने छ ।”

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए ।

नेपालगञ्जको परम्परालाई जोगाइ राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताउनुभयो । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताउनुभयो । नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको उहाँले उल्लेख गर्नुभयो । एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो ।

“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ”, कनोडियाले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला नेपालगञ्जको परिचय भइसकेको बताउनुभयो । डेढसय वर्षदेखि निरन्तर चल्दै आएको रामलीलालाई भव्य र सभ्य बनाउन आफूले सक्दो सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन

दमौली (तनहुँ), ९ असोज : विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ ।दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराउन लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”

डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू आज बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको छ । डेङ्गु सङ्क्रमितको सहजरूपमा उपचारका लागि अस्पतालले दश शय्याको छुट्टै कक्ष बनाएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हालसम्म तीन सय १८ जनाको परीक्षण गरिएकामा ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आज छ जना बिरामी कक्षमा भर्ना छन् । गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइए पनि न्यूनीकरण हुन नसकेको बताउनुभयो । उहाँका अनुसार आजसम्म जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।

सुदूरपश्चिममा डेङ्गु : आठ सय बढी सङ्क्रमित

महेन्द्रनगर (कञ्चनपुर), ९ असोज : बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । “तथ्याङ्कअनुसार यहाँ गत माघयता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ ।” जोशीले भन्नुभयो, “तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै आएको छ ।”

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताउनुभयो । “कञ्चनपुरमा सङ्क्रमितमध्ये ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्”, उहाँले भन्नुभयो, “भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ ।”

उहाँले वडा वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायत काम चलिरहेको बताउनुभयो । “स्थानीय तहसँग मिलेर ‘लार्भा खोज, नष्ट अभियान’ पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।” उहाँले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिनुभयो ।

‘…त्यसपछि बन्यो निधिको नाममा मिथिला संस्कृति केन्द्र’

जनकपुरधाम, ९ असोज : विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुनुुभएको समय थियो । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा जनकपुर क्षेत्रमा दीर्घकालीन महत्त्वको केही काम गर्ने चाहना रहेछ ।

उहाँले एकदिन आफ्नो त्यो चाहना स्व निधि पुत्र विमलेन्द्र निधिलाई सुनाउनुभयो । बुबाको नाममा केही ऐतिहासिक महत्त्वको काम गर्ने योजनामै रहेका विमलेन्द्रलाई प्रधानमन्त्री स्वयंले नै त्यसो भनेपछि थप सजिलो हुने नै भयो । तर गर्ने के ? अन्योलमा हुनुहुन्थ्यो निधि ।

हुन त उहाँसँग योजना नभएका होइनन् तर प्राथमिकता निर्धारण गरिसकेको अवस्था थिएन । त्यही बेला तत्कालीन जनकपुरका नगरप्रमुख बजरङ्गप्रसाद साहले नगरमा बहुआयामिक महत्त्वको सभाहल निर्माणका लागि गरेको सङ्घर्ष निधिको सम्झनामा आयो । त्यही विषयमा छलफल सुरु भयो । आफ्ना पिता स्व नेता महेन्द्र नारायण निधिको नाममा प्रधानमन्त्रीले पनि केही महत्त्वको काम गर्ने चाहना राख्नुभएका बारे कुराकानी भयो । सभाहल बनाउने तर त्यसको नाम ‘महेन्द्र नारायण निधि संस्कृति केन्द्र’ बनाउने प्रस्तावमा नगरप्रमुख साहले पनि सहमति जनाउनुभयो ।

नगरप्रमुखसँग भएको मोटामोटी सहमतिको बेहोरा प्रधानमन्त्री भट्टराईलाई सुनाएपछि उहाँले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री बलबहादुर केसीसँग सल्लाहपछि आर्थिक वर्ष विसं २०५७/५८ देखि आयोजनाकै रुपमा संस्कृति केन्द्रको निर्माण सुरु भएको थियो । सोही आर्थिक वर्षको वैशाख महिनामा महेन्द्र नारायण निधि पत्नी प्रेमसागरी देवी निधिले भवनको शिलान्यास गरेसँगै आयोजनाको निर्माण कार्य सुरु भयो ।

करिब २३ वर्षअघि सुरुभएको आयोजनाको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको सभाहल उद्घाटन कार्यक्रममा सोमबार तिनै निधि पुत्र विमलेन्द्रले यी कुरा सुनाउनुभएको हो । त्यसक्रममा निधिले भन्नुभयो, “तत्कालीन मेयर (बजरङ्गप्रसाद साह) जनकपुरमा एउटा सिटी हल निर्माण गर्न भौतारिरहनुभएको थियो । उहाँले सहयोगका लागि सरकार र विभिन्न दूतावास धाइरहेको पीडा मैले नजिकबाट नियालिरहेको थिए । प्रधानमन्त्री स्वयंले नै जनकपुरमा अहिंसावादी नेता मेरो पिताजीको नाममा केही गर्ने चाहना व्यक्त गरेको सन्दर्भमा जनकपुरमा सभाहल निर्माण सुरु भएको हो ।”

आफ्नो पिताजीको नाम जोडिए पनि संस्कृति केन्द्रको उद्देश्य मिथिलाको कला संस्कृति, अहिंसा, शान्ति र सामाजिक सद्भाव संरक्षणमा काम गर्ने रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने निधिको धारणा छ । “यो संस्कृति केन्द्रमा आदरणनीय नेता किसुन जीको सपना, तत्कालीन नगरप्रमुख साहको वेदना र मेरो चाहना जोडएको छ । विभिन्न आरोहअवरोहकाबीच आज करिब २३ वर्षपछि संस्कृति केन्द्र सञ्चालनमा आएको छ । यस कार्यले परिवारको सदस्यका रुपमा म निकै खुसी छु र यसको निर्माणमा योगदान गर्ने सबैप्रति आभार प्रकट गर्दछु”, निधिको भनाइ थियो ।

पूर्व नगरप्रमुख साहले पनि जनकपुरमा सुविधासम्पन्न आधुनिक सभाहल निर्माण गर्ने योजना बनाइरहेका बेला सङ्घीय सरकारले नै स्व नेता निधिको नाममा सभाहल बनाइदिने भनेपछि आफू त्यसमा सहमत भएको बताउनुभयो । “जनकपुरमा धार्मिक कार्यका लागि धेरै मानिस आउने, सभा सम्मेलन हुने तर यहाँ एउटा पनि आधुनिक सभाहल थिएन । त्यसैका लागि मैले पहल गरिरहेको थिए । संयोगवस उहाँले (निधिले) आफूलाई प्रधानमन्त्रीले भनेको कुरा सुनाउनुभयो । त्यसैका आधारमा नगरपालिकाले मेरै पालामा केन्द्र निर्माणका लागि होसियारीपूर्वक पचास कठ्ठा जग्गा दिने निर्णय गरेको हो । यो सभाहल निर्माण भएपछि म निक हर्षित छु ।”

जनकपुरमा हुने ठूला कार्यक्रमलाई सहजता प्रदान गर्न र सभाहलबाहेक मिथिला संस्कृतिको संरक्षणका लागि केन्द्रले आफ्ना गतिविधि सञ्चालन गर्ने पवित्र उद्देश्यसहित निर्माणभएकाले यसको संरक्षण्का लागि सबै तहका सरकारले सहयोग गर्नुपर्ने पूर्व नगरप्रमुख साहको आग्रह छ । त्यसैगरी नेकपा (एमाले) नेत्री एवं प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो महासेठ नेपालको लोकतान्त्रिक आन्दोलनमा महात्त्वपूर्ण योगदान गर्नुभएका स्व नेता निधिको स्मृतिमा बनेको सभाहलले जनकपुरको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गर्नुहुन्छ ।

“ढिलै भए पनि हाम्रा अभिभावक स्व नेता निधिको स्मरणसभाहल बनेको छ । यसले जनकपुर क्षेत्रमा पर्यटन विकासका लागि टेवा पुग्नेछ । अब यसको सदुपयोग गर्न जरुरी छ”, महतोले भन्नुभयो । मुख्यमन्त्री सरोजकुमार यादव पनि केन्द्रको निर्माण प्रादेशिक राजधानीका रुपमा रहेको जनकपुरधाममा आवश्यक सभा सम्मेलन र अन्य गतिविधि सञ्चालन गर्न सहज हुने बताउनुहुन्छ ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मिथिला र मैथिली संसकृतिको विकास, ठूला सभा सम्मलेन आयोजना गर्न संस्कृति केन्द्रको निर्माणको विशेष महत्व रहेको र यसको संरक्षणका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

सहरी विकास मन्त्रालयको रु १२ करोड २४ लाख ७९ हजार तीन सय ४० (भ्याटबाहेक) लागतमा निर्माण सम्पन्न भएको भवन सवा दुई बिघा क्षेत्रफलमा फैलिएको छ । नवनिर्मित भवनमा पाँच सय ४० जना क्षमताको सभाहल, दुई सय जना अटाउने कन्फरेन्स हल छ भने परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लकलगायतका संरचना रहेका छन् ।

भवन निर्माण कार्य सम्पन्न भए पनि त्यसको स्वामित्वका विषयमा भने टुङ्गो लागिसकेको छैन । भवन स्थानीय तह वा प्रदेशमध्ये कुन निकायलाई जिम्मा लगाउने भन्नेबारे छलफल भइरहेको र टुङ्गो नलागुञ्जेल सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाको मातहत नै रहने आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रदीप खनालले बताउनुभयो ।

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ९ असोज : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ”, उहाँले भन्नुभयो । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गर्नुभयो ।

“चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् । त्यसमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “त्यसमा कुनै प्रकारको द्विविधा नराख्न र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।”

छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

आक्रमणकारीलाई कारबाही र सूचना पाटी राख्ने छलफलको निष्कर्ष

छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको छ । बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानका बारेमा सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचना पाटी राख्ने निष्कर्ष निकालेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ ।

“कुनै उपचाररत बिरामीको पक्षलाई ठीक ढङ्गले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ, बिरामी पक्षका तर्फबाट उजुरी ग¥यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुने प्रावधान सोही ऐनमा छ”, उपप्रधानमन्त्री श्रेष्ठ भन्नुभयो, “त्यसो नगरी स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण वा स्वास्थ्य संस्थामाथि आक्रमण गर्‍यो भने त्यही ऐनको प्रावधानअनुसार कारबाही र सजाय हुनसक्ने छ भन्ने व्यहोराको जानकारी छिट्टै स्वास्थ्य मन्त्रालयले राख्नेछ ।”

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री बस्नेत, गृहसचिव दिनेश भट्टराई, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव, अतिरिक्त सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।

शहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा

काठमाडौँ, ९ असोज : सहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग÷कार्यालय÷आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य निकायमा सरुवा गरेपछि समस्या उत्पन्न भएको छ ।

यसले गर्दा सहरी मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीको सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेर मात्र गरिदिन सहरी मन्त्रालयले सामान्य मन्त्रालयलाई अनुरोध पठाउने भएको छ ।

सहरी मन्त्रालयको आज सम्पन्न समीक्षा बैठकले सो सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयलाई दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले मन्त्रालयको आर्थिक वर्ष ०८०/८१ को वित्तीय र भौतिक प्रगति वृद्धि गर्न महाशाखा, विभाग, आयोजना र मातहतका सबै निकायले प्रत्येक महिनाको पहिलो हप्तामा आन्तरिक बैठक बसी समस्याको पहिचान र तत्काल समाधान गर्नुपर्ने काम पहिचान गरी सोको जानकारी मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

बैठकले प्रत्येक महिनाको तेस्रो हप्ता मन्त्रालयमा विभागीय प्रमुख/आयोजना प्रमुख/कार्यालय प्रमुखको समीक्षा बैठक बसी आयोजनाको समस्या समाधान गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतका सबै केन्द्रीय निकाय र आयोजनाको तल्लो एकाइ/निकायमा कार्य प्रगति वृद्धि गर्न अनिवार्यरूपमा दोस्रो र तेस्रो चौमासिकमा मन्त्रालय/विभागले स्थलगत अनुगमन, मूल्याङ्कन गरी संस्थागत अभिलेखीकरण गर्ने बैठकको निर्णय छ ।

मन्त्रालयअन्तर्गतका कार्यक्रम अन्य सङ्घीय मन्त्रालय/कार्यालय, प्रदेश, स्थानीय तहहरूसँग समेत दोहोरिएका देखिएकाले यस्ता कार्यक्रम कार्यान्वयन गर्दा सम्बन्धित सङ्घीय कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहहरूलाई जानकारी गराई कार्यान्वयन गर्न मन्त्रालयका दुवै विभागले मातहतका कार्यालयलाई जानकारी गराउने बैठकको निर्णय छ ।

बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मन्त्रालयको वित्तीय र भौतिक प्रगति वृद्धि गर्न महाशाखा, विभाग, आयोजना र मातहत निकायका प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सबै कार्यान्वयन एकाइ/कार्यालय/आयोजनाका प्रमुखको सहभागिता थियो ।