`

चुनाव हार्नु र जित्नु सामान्य हो : महामन्त्री शर्मा

झापा, २९ भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रूपान्तरण गर्न र देश बनाउने अभियानलाई मजबुत बनाउन कांग्रेस एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैँ बन्ने र पार्टी पनि मजबुत हुने बताउनुभयो ।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभयो छ । “चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो”, उहाँले भन्नुभयो, “तर देश बनाउन र समाज रूपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ ।”

संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली कांग्रेसले सधँै नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राम्रा कामको अनुकरण र प्रशंसा जुनसुकै दलबाट गर्न सकिने बताउँदै महामन्त्री शर्माले संविधान निर्माणका क्रममा तत्कालीन सभामुख सुवास नेम्वाङको शालीनता र भद्रताको प्रशंसा गर्दै उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सुशीला ढकाल आचार्य र गोमा भट्टराई, झापा सभापति देउकुमार थेवे, कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, प्रमोदहरि गुरागाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, २९ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र चीन छन् ।

समूह सी मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् ।

त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

बालअधिकारको संरक्षण र प्रवर्द्र्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ, २९ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । बालबालिकाका लागि प्राविधिक शिक्षा तथा सीपमूलक प्रशिक्षणको आयोजना गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले बालश्रम, बालगृहमा अनधिकृत सिफारिस, बाल हिंसा तथा दुव्र्यवहार गर्ने र बालविवाहलाई संरक्षण र समर्थन गर्नेजस्ता गलत कार्यहरू समाजबाट निषेध गर्नुपर्ने बताउनुभयो ।

सबै स्थानीय तहमा बालकोषको स्थापना गरी सरकारले तय गरेका कार्यहरू सामाजिकीकरण सेवा, जोखिममा परेका बालबालिकालाई आपत्कालीन राहत सेवा, स्वास्थ्योपचार सहायता आदिमा जोड दिँदै उहाँले बालअधिकारको संरक्षण र प्रवर्द्धनमा सबै दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

“बालअधिकारको संरक्षण र प्रवर्द्धनमा जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेकाले उहाँहरूले यसका लागि बालमैत्री कार्यक्रमको सञ्चालन गर्न आवश्यक छ । बाल संरक्षण घटना व्यवस्थापन कार्यमा स्वास्थ्यकर्मीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । बालबालिकाको उपचारका लागि आएका अभिभावक र बालबालिकालाई स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, बालबालिकालाई बालमैत्रीरूपमा उपचार र स्वास्थ्य परीक्षण आदिका लागि सहजीकरण गर्न स्वास्थ्यकर्मी सदैव अग्रसर हुनुपर्ने उहाँको भनाइ छ ।

बाल अधिकारको संरक्षणमा शिक्षकको दायित्व, कर्तत्व र जिम्मेवारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षकले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आवश्यक पहल गर्ने, विद्यालयमा भय तथा हिंसारहित सिकाइका उपायहरू अवलम्बन गरी शिक्षण सिकाइ गर्ने, विद्यालयमा बाल सहभागिता प्रवर्द्धन, बालक्लब गठनलगायत विभिन्न सिर्जनात्मक क्रियाकलापमा बालबालिकाको सहभागिताका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आजका बालबालिका नै भविष्यका कर्णधार भएको जनाउँदै उहाँले बालबालिकालाई संविधानले व्यवस्था गरेको हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत हुनु जरुरी रहेको बताउनुभयो । नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ । सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको हो । यस वर्ष बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।

उद्योग दर्ता हुने क्रम घट्दै

गोदावरी (कैलाली), २९ भदौ : कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो ।

हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ । जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ हुने गरेको उद्योग सञ्चालकको गुनासो छ ।

साना तथा घरेलु उद्योग कार्यालय धनगढीका प्रमुख कोमलप्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार नौ सय ६८, आव २०७८÷७९ मा दुई हजार चार सय ३७ र आव २०७९÷८० मा एक हजार एक सय ९७ वटा उद्योग गर्दा भएका छन् । दर्ता भएका उद्योगमध्ये पछिल्लो तीन वर्षयता पाँच सय ४७ उद्योग बन्द भएका छन् । साना तथा घरेलु उद्योग कार्यालय धनगढीले दिएको जानकारीअनुसार आव २०७७÷७८ मा एक सय ४०, आव २०७८÷७९ मा एक सय ७५ तथा आव २०७९÷८० मा दुई सय ३२ उद्योग बन्द भएका छन् ।

कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी, कच्चा पदार्थको अभावलगायतका कारण देखाएर उद्योग बन्द गरिन थालिएको बन्द हुनेमा अधिकांश उत्पादनमूलक, कृषिमूलक, सेवामूलक, पर्यटनमूलक उद्योग रहेका छन् । उद्योग दर्ता खारेजी फारममा प्रायः उद्योग बन्द गर्नुपरेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेका कारण विदेश गइरहेको, उद्योगका लागि कच्चा पदार्थ अभावलगायतका कारण देखाइने गरिएको कार्यालय प्रमुख ओझाको भनाइ छ ।

साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिड–१९ पछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको जनाइएको छ । सरकारले युवालाई उद्यमतिर आकर्षित गर्ने नीति अवलम्बन गरेको भए पनि उद्योग सञ्चालनका लागि पुँजी अभावलगायतका कारणले उद्योग दर्ता र नवीकरण घट्दो क्रममा रहेको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख – दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिनुभयो । चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

त्रिवेणी (नवलपरासी), २९ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातकान साधन सञ्चालनमा रोक लगाइएको हो । नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।“करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ”, उहाँले भन्नुभयो । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उहाँले बताउनुभयो ।निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् । यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

बेनीमा गोरु नाच प्रदर्शन

बेनी (म्याग्दी), २९ भदौ : म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।

नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ ।

रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ ।

हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

काठमाडौँ, २९ भदौ : आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् ।

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गर्नुभएको छ ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उहाँले भन्नुभयो, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको उक्त चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजैदेखि राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

“हामीले नेतामात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भन्नुभयो, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।”

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेख्नुभएको हो ।

संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन : सांसद चौधरी

काठमाडौँ, २९ भदौ : नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको घटनाप्रति उहाँलाई चित्त बुझेको छैन ।

संसद्लाई कहिले पनि अनिणर्यको बन्दी बनाइनुहुन्न भनी नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङका अभिव्यक्ति, उहाँले खेलेको भूमिका, अनुभव र अनुभूति स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “हामीले संसद्मै पनि ठीक भूमिका निर्वाह नगरेका कारण विभिन्न प्रश्न आएका हुन् ।” जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्छ भन्दै सांसद चौधरीले भन्नुभयो, “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिकै ठूलो हात छ, त्यो गर्नुपर्छ ।”

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका सांसद चौधरीसँग केही वर्ष विज्ञान शिक्षकका रूपमा काम गरेको अनुभवसमेत छ । उहाँले नयाँ निर्वाचन भई सदन सञ्चालन भएको सात महिना बितिसक्दासमेत अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी ऐनबाहेक अरु विधेयक अघि नबढ्नुलाई विधायकबाट मूल जिम्मेवारीप्रति बेवस्ता भयो कि भन्ने प्रश्न उठ्नु स्वभाविक भएको प्रतिक्रिया दिनुभयो ।

सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चौधरी हाल लोसपाका संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ । लामो समयदेखि प्राथमिकतामा रहेका सङ्घीय निजामती र शिक्षासम्बन्धीलगायतका विधेयकलाई सदनमा छलफलका लागि अघि बढाउने सन्दर्भमा पाइप लाइनमा रहेको उहाँको भनाइ छ । सरकारले ‘बिजनेस’ दियो भने मात्र संसद् र सांसदको भूमिका देखिने तथा सदनका कामकारबाही अघि बढ्ने भए पनि जनजीविका र समसामयिक विषयमा भने सदनमा आवाज उठाउँदै आएको सांसद चौधरी बताउनुहुन्छ ।

सङ्घीय सांसद मूल दायित्वबाट अल्मलिँदा कानुन निर्माण प्रभावित हुने मात्र नभई गणपूरक सङ्ख्या नपुगेर सदन र संसदीय समितिका बैठकसमेत प्रभावित हुने गरेका छन् । आवश्यक न्यूनतम गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भई विधेयक पास हुन नसक्नु भनेको जनप्रतिनिधिका लागि लाजमर्दाे विषय भएको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनताको करबाट तलब÷भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो नभएको टिप्पणी गर्नुभयो ।

‘रासससँग सांसद’ मा सांसद चौधरीले सदन होस् वा विषयगत समितिका बैठक चलिरहेका बेला अरु काममा अल्मलिनु भनेको पदको गरिमाको महत्व नबुझ्नुमात्र नभई संसदीय व्यववस्थाकै उपहास र जनमतको अनादर भएको धारणा राख्नुभयो । संसद् र संसदीय समितिका बैठकमा पूरापुर बस्ने सांसदको कोटीमा उहाँ चिनिनुहुन्छ । विधायक भनेको आफँै जान्ने÷बुझने जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी र भूमिका थाहा पाउनुपर्नेमा जोड दिँदै सांसद चौधरीले सदन र संसदीय समितिका बैठकमा उपस्थिति भएपछि हिँडिहाल्ने प्रवृत्ति सुधार्न सुझाव दिनुभयो ।

“संसद्को महत्व धेरै छ, हाम्रो मुख्य कार्य भनेको सदन र संसदीय समितिलाई समय दिने नै हो । संसद् बैठक बङ्क गर्ने अनि विधेयक निर्णयार्थ हुँदा बाहिर बस्ने लाजमर्दाे कुरा हो”, प्रमुख सचेतक चौधरी भन्नुहुन्छ– “विधेयकसम्बन्धी निर्णयमा सहभागी हुनुपर्यो । बैठकमा गणपूरक सङ्ख्या नभएर अन्त्य हुँदा राज्यको ढुकुटी खर्च हुन्छ, जनशक्तिको दुरुपयोग हुन जान्छ । यो परिस्थिति आउनु भनेको विडम्बना हो ।”

संसदीय क्षेत्र विकास कोषमार्फत विकास निर्माणका लागि बजेट व्यवस्थापन हुनु स्वभाविक रहेको उल्लेख गर्दै उहाँले सबै निर्वाचन क्षेत्रमा समान ढङ्गले बजेट विनियोजन हुने त्यो मात्र एक कार्यक्रम रहेको प्रतिक्रिया दिनुभयो ।

“कोषको रकम सांसद आफैँले खर्च गर्न पाउने नभई जनताका माग र आवश्यकताका आधारमा सिँचाइ, सडक, शिक्षा, पर्यटन, खेलकुदको विकासका लागि लगानी गर्न पाँच योजना छान्नेमात्र हो”, सचेतक चौधरी बताउनुहुन्छ ।

युवा उमेरदेखि नै समाज कल्याण कार्यमा संलग्न सांसद चौधरी राजनीतिका माध्यमद्वारा समाजलाई समृद्धिमा पुर्याउन सकिन्छ भन्नेमा दृढ हुनुहुन्छ । मुलकमा राजनीतिक अस्थिरताका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अहिले भइरहेको अभ्यासप्रति जनतामा खुसीयाली छाउन नसकेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनता, देश र समाजले अपेक्षा गरेअनुरुप उपलब्धि हासिल नभएको टिप्पणी गर्नुभयो ।

सरकार र राजनीतिक दलले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई सेवा गर्छु भन्ने भावना राखी अघि बढेमा छोटो समयमै समृद्धि हासिल गर्न सकिने उहाँको दृढविश्वास छ । उहाँले पछिल्लो समय विमानस्थलबाट बाहिरिएको सुन, भुटानी र ललिता निवास प्रकरणको सत्यतथ्य छानविन गरी उजागर गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सके भ्रष्टाचार र दण्डहिनता रोक्न सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

आर्थिक वृद्धि, भ्रष्टाचार न्यूनीकरण, सुशासनका मुद्दालाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकाङ्क्षालाई सम्बोधन गर्र्ने काममा एकाकार हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । राजनीतिक दल र समाजका सबै तह तथा तप्काको स्वार्थ देश विकास र समृद्धिमा मात्र केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित’

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको बताउनुभएको छ । अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।”

उहाँले सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभएको उल्लेख गर्दै भन्नुभएको छ, “उहाँले अलि हडबडाउँदै भन्नुभयो, ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’”

दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई भेटन आउँदा सधैँ शान्तरूपमा प्रस्तुत हुने नेता नेम्वाङ त्यो दिन कडारूपमा प्रस्तुत हुनुभएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले संविधान जारी भएपछि नाकाबन्दी भएको भन्दै भन्नुभएको छ, “हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !”

खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा अवधेश झाले आज एक सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिनुभएको हो ।

“खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ”, उक्त सूचनामा भनिएको छ ।

राष्ट्रपतिद्वारा बाल दिवसको शुभकामना

काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गर्नुभएको छ । उहाँले यस वर्ष ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको छ ।”

केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उहाँले बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो । उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ भन्नुभएको छ ।

“तसर्थ, विभिन्न कारणले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ । बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बाल अधिकारकर्मी, सामाजिक संघसंस्था, नीजि क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि धन्यवाद दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

बीआरआई ‘परियोजनाको कार्यान्वयन योजना’ सम्झौता होला ?

काठमाडौं । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को विषयमा अन्योलता भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा सो परियोजना कार्यान्वयन हुने कि नहुने निश्चित हुनेछ । दाहाल आउँदो असोजको पहिलो साता अमेरिकाबाटै चीन भ्रमणमा जाँदै छन् ।

भ्रमणको दिन नजिकिँदै गर्दा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेको ६ वर्षपछि परियोजना कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषय शुक्रबार बस्ने मन्त्रिपरिषद्बाट निर्णय गर्नेछ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भने बीआरआई परियोजना कार्यान्वयन योजनाको सम्झौताको विषयमा गृहकार्य भइरहेको बताए ।

तर, यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उच्च अधिकारीले गरेको निर्णयका आधारमा परराष्ट्र सचिव भरतराज पौड्यालले भदौ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई पत्र पठाएर बीआरआई कार्यान्वयन योजनाको मस्यौदासहित पठाएका थिए ।

सो मस्यौदालाई चिनियाँ पक्षले अघि बढाएको थियो । पौडेलले श्रेष्ठलाई पठाएको पत्रमा बीआरआईलाई कार्यान्वयनका लागि अघि बढाउन भनिएको छ । ‘अहिलेसम्म सबै स्थिति ठिकै छ मस्यौदालाई अन्तिम रूप दिने काम हुँदै छ ।

शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पारित भएमा बीआरआई परियोजना कार्यान्वयन योजनाको काम अघि बढ्नेछ,’ एक उच्च अधिकारीले भने, ‘यदि मन्त्रिपरिषद्बाट सो बीआरआईको विषयमा निर्णय नभएमा आयोजनाको कुनै काममा सम्झौता हुने स्थिति भने हुने छैन ।’

नेपाल र चीनबीच सन् २०१७ मेमा बीआरआईको साझेदारी पक्षमा हस्ताक्षर भएको थियो । राष्ट्रपति सी चिनफिङ शक्तिमा आएपछि सन् २०१३ बाट चीनले वान बेल्ट वान रोड (ओबिओआर)लाई अघि सारेको थियो । चिनियाँ लगानीमा विश्वलाई जमिन र समुद्री मार्गमार्फत जोड्ने गरी अघि सारिएको सो परियोजनालाई सन् २०१५ बाट बीआरआई नाम दिइएको हो ।

त्यसपछि सडक सञ्जालका साथै पूर्वाधारको विकास निर्माण र अन्य क्षेत्रलाई पनि समेटिएको थियो । सन् २०१७ मै नेपालले साझेदारी पक्षमा हस्ताक्षर गरे पनि परियोजना कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा दुवै पक्ष सहमतिमा पुग्न नसक्दा अन्योल बनेको हो । र कार्यान्वयन योजनाको शब्दावलीलाई लिएर टिप्पणी पनि भइरहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

विद्यालय शिक्षा विधेयक मस्यौदा – शिक्षकले यी १२ काम गर्न नपाउने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले १२ गल्ती गर्ने नहुने गरी आचरण सुधार्न विधेयकको मस्यौदा प्रस्ताव गरेको छ ।

मस्यौदामा समयपालनदेखि बिदा समाप्त भएको १५ दिनभित्र हाजिर नभए कडा कारबाही गर्नेसम्मको सजाय सिफारिस गरेको छ । विधेयकको दफा ७१ देखि ८८ सम्म सजाय र कारबाहीको बुँदा समावेश गरिएको छ ।

समय पालना नियमितता, अनुशासन र आदेशको पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी तथा निर्देशन पालना गर्नुपर्ने र प्रअले विद्यालय व्यवस्थापन समितिको निर्देशन पालना गर्नुपर्ने उल्लेख छ । शिक्षकले राजनीतिक क्रियाकलाप गर्न नहुने, तीनै तहबीचको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँग सम्बन्ध खलल पर्न सक्ने गरी वा जनताबीचको आपसी सम्बन्धमा प्रतिकूल असर पर्ने गरी बेनामी लेख प्रकाशन र प्रशारण गर्न नहुने गरी आचरण व्यवस्था गरेको छ ।

दफा ७५ मा दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने उल्लेख छ । विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने प्रस्ताव भएको छ । कम्पनी स्थापना वा सञ्चालन तथा व्यापार व्यवसाय सञ्चालन गर्न, अन्यत्र नोकरी वा सेवा गर्न नहुने उल्लेख छ । आर्थिक लाभवा सुविधा प्राप्त गर्ने गरी सल्लाहकार वा विशेषज्ञ हुन नहुने व्यवस्था प्रस्ताव भएको छ ।

प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध तथा बहुविवाह, यौनजन्य दुव्र्यवहार, विद्यार्थीमाथि यातना दिन नहुने उल्लेख छ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकले स्थायी अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन दिन नहुने प्रस्ताव भएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

बालबालिकाका मुद्दा १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।

न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी परेको रिट निवेदनको व्याख्या गर्दै त्यस्तो फैसल गरेको हो । मुद्दा पुर्पक्षका लागि बालसुधार गृह भक्तपुरमा राखिएका १७ वर्षीय बालकसँग सम्बन्धित मुद्दाको फैसला गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । २०७९ चैत ९ मा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

२०७९ वैशाख ११ गते एक बालकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको थियो । ती बालकविरुद्ध गत वर्ष जेठ ३१ मा बालविज्याइँ (ज्यानसम्बन्धी कसुर) मुद्दा दोलखा जिल्ला अदालतमा दर्ता भएको थियो ।

असार १ गते जिल्ला अदालतले पुर्पक्षका लागि बालकलाई बालसुधार गृहमा राख्ने आदेश दिएको थियो । त्यसपछि उनलाई बालसुधार गृह भक्तपुरमा राखिएको थियो । संविधानको धारा २० को उपधारा बालबालिकासम्बन्धी ऐनलगायतले मुद्दा दर्ता भएको मितिले सामान्यतया १२० दिनभित्र मुद्दाको किनारा लगाउनुपर्ने कानूनी स्वस्था छ । यो समाचार नागरिक दैनिकमा छ ।

पशुपति गौशाला धर्मशालामुक्त गर्न बाटो खुला

काठमाडौँ, २९ भदौ : आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

“मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुनविपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ”, उहाँले भन्नुभयो । बालबालिकाको अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सबै सरोकारावाला निकायको एकीकृत र समन्वयात्मक भूमिका आवश्यकता रहने उहाँको भनाइ छ ।

बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बम बानियाँले राष्ट्रिय बाल दिवसलाई सार्थक बनाउन तीनै तहका सरकारका साथै बालअधिकारका क्षेत्रमा कार्यरत सबै विकासका साझेदार, सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक सङ्गठनले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न, बालअधिकारको संरक्षण तथा प्रवर्द्धनमा थप क्रियाशीलता रहन आवश्यक पर्ने बताउनुभयो । समय र प्रविधिसँगै जलवायु परिर्वतनले बालबालिकामा ल्याएको असर, अनलाइनबाट बालबालिकामा पारेको प्रभावका बारेमा थप काम गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

त्यस्तै परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवर्द्धनका लागि विशेषगरी स्थानीय तहले बालबालिकामा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकालाई सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारमा सहयोग गरी संरक्षण र व्यवस्थापन गर्न अतिआवश्यक रहेको उहाँको भनाइ छ ।

बालअधिकारसम्बन्धी विभिन्न व्यवस्था भए पनि सबै बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको अभावमा विकास र संरक्षण हुन नसक्नु, बालश्रमको अवस्था र सडक बालबालिकाको अवस्था विद्यमान रहनु, असहाय र अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, हिंसा, यौन दुव्यर्वहार, बलात्कारका अवस्था विद्यमान रहनुलगायतका समस्या भने अझै यस क्षेत्रमा रहेको देखिन्छ ।

समयसापेक्ष विकास भएको प्रविधि, सहरीकरण, विश्वव्यापी मूल्य–मान्यता र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै बालअधिकारको संरक्षण तथा प्रवर्द्धन प्रभावकारीरूपमा गर्नु पनि चुनौतीका रूपमा देखिन्छ । चुनौतीका साथसाथै अवसर नभएको भने होइन । सङ्घीय संरचनाअनुसार बालबालिकासम्बन्धी कानुन, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानीय तहदेखि सङ्घसम्म सञ्चालन हुँदै जानु, बालबालिकाको संरक्षणसम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, सङ्घसस्था र नागरिक समाजबीच समन्वय, सहयोग र सहकार्यमा भएको अभिवृद्धिले यस क्षेत्रका समस्या समाधान गरी बालबालिकाका हक, अधिकार संरक्षण गर्न टेवा पुग्दछ ।

दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको र सोहीअनुरुप उक्त विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
–––

आज राष्ट्रिय बाल दिवस

काठमाडौँ, २९ भदौ : आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

“मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुनविपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ”, उहाँले भन्नुभयो । बालबालिकाको अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सबै सरोकारावाला निकायको एकीकृत र समन्वयात्मक भूमिका आवश्यकता रहने उहाँको भनाइ छ ।

बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवर्द्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बम बानियाँले राष्ट्रिय बाल दिवसलाई सार्थक बनाउन तीनै तहका सरकारका साथै बालअधिकारका क्षेत्रमा कार्यरत सबै विकासका साझेदार, सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक सङ्गठनले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न, बालअधिकारको संरक्षण तथा प्रवर्द्धनमा थप क्रियाशीलता रहन आवश्यक पर्ने बताउनुभयो । समय र प्रविधिसँगै जलवायु परिर्वतनले बालबालिकामा ल्याएको असर, अनलाइनबाट बालबालिकामा पारेको प्रभावका बारेमा थप काम गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

त्यस्तै परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवर्द्धनका लागि विशेषगरी स्थानीय तहले बालबालिकामा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकालाई सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारमा सहयोग गरी संरक्षण र व्यवस्थापन गर्न अतिआवश्यक रहेको उहाँको भनाइ छ ।

बालअधिकारसम्बन्धी विभिन्न व्यवस्था भए पनि सबै बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको अभावमा विकास र संरक्षण हुन नसक्नु, बालश्रमको अवस्था र सडक बालबालिकाको अवस्था विद्यमान रहनु, असहाय र अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, हिंसा, यौन दुव्यर्वहार, बलात्कारका अवस्था विद्यमान रहनुलगायतका समस्या भने अझै यस क्षेत्रमा रहेको देखिन्छ ।

समयसापेक्ष विकास भएको प्रविधि, सहरीकरण, विश्वव्यापी मूल्य–मान्यता र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै बालअधिकारको संरक्षण तथा प्रवर्द्धन प्रभावकारीरूपमा गर्नु पनि चुनौतीका रूपमा देखिन्छ । चुनौतीका साथसाथै अवसर नभएको भने होइन । सङ्घीय संरचनाअनुसार बालबालिकासम्बन्धी कानुन, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानीय तहदेखि सङ्घसम्म सञ्चालन हुँदै जानु, बालबालिकाको संरक्षणसम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, सङ्घसस्था र नागरिक समाजबीच समन्वय, सहयोग र सहकार्यमा भएको अभिवृद्धिले यस क्षेत्रका समस्या समाधान गरी बालबालिकाका हक, अधिकार संरक्षण गर्न टेवा पुग्दछ ।

दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको र सोहीअनुरुप उक्त विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

गोर्खा सैनिकलाई समानता दिलाउन सरकार–सरकार वार्ताको तयारी

काठमाडौँ । गोर्खा सैनिकलाई समानता दिलाउन नेपाल र बेलायत सरकारले उच्च चासो दिएर पहल थालेको छ । सरकारले बेलायतमा गोर्खा सैनिक बनेर काम गरेका र कार्यरत गोर्खा सैनिकको सवालमा उच्च चासो राख्दै यसलाई राज्यकै सरोकारको विषयका रूपमा लिएको बताएको छ । बेलायत सरकारले पनि विवादका अझ लम्ब्याइरहनुभन्दा समाधानतिर जानुपर्ने ठहर गर्दै सरकार स्तरीय वार्ताबाट टुङ्ग्याउन चाहेको छ ।

मन्त्रीस्तरीय वार्ताको पूर्वार्धमा प्राविधिक स्तरको बैठक गत सोमबार बसेको बेलायतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । नेपाली दूतावास, बेलायतको रक्षा मन्त्रालयका पदाधिकारी भूतपूर्व गोर्खा सैनिकको सहभागिता रहेको बैठकमा पेन्सन, गुडविल पेमेन्ट, कल्याणकारी सेवालगायतका समग्र विषयमा छलफल भएको थियो ।

सो विषयमा बेलायतको रक्षा मन्त्रालयले आन्तरिक छलफल गर्न समय मागेको दूतावासले जनाएको छ । नोभेम्बरमा मन्त्रीस्तरीय वार्ता हुँदा विवादित विषय टुङ्गो लगाउने गरी छलफल जारी रहने दूतावासले जानकारी दिएको छ ।

काठमाडौँमा जम्मा भएर वार्तामा के के विषय समावेश हुन्छ भन्ने चासो देखाइरहेको भूतपूर्व गोर्खा सैनिकले गतसाता सार्वजनिक रूपमै सरकारको धारणा माग्यो । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको विषय सिङ्गो राज्यको विषय भएकाले न्याय दिलाउन सरकारका तर्फबाट प्रतिबद्धता जनाए ।

जवाफमा भने, “आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छु, बेलायतमा पनि भनेको छु ।” परराष्ट्र मन्त्रालय मातहत बेलायतस्थित नेपाली दूतावासले तयारी उच्च बनाएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पनि प्रष्ट पार्नुभएको छ । सरकारले मन्त्री साउदकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेर वार्ताको तयारी गरेको छ ।

वार्तामा सामेल हुने नेतृत्वकर्ताका रूपमा साउदले १९९७ भन्दा अघि कार्यरत गोर्खा सैनिकका लागि पेन्सन र घाइतेलाई अन्य सहुलियत दिनु पर्छ भन्नेमा सरकार सहमत रहेको प्रष्ट पारे । भूतपूर्व गोर्खा सैनिक सङ्घका सभापति कृष्णकुमार राईका अनुसार २७ वर्षको सङ्घर्षमा केही उपलब्धि हासिल भयो ।

त्यसमा बेलायतको संसद्का सिनेटरले गोर्खा सैनिकलाई ठुलो साथ दिएको तर पूर्ण अधिकार दिन बेलायत सरकारले आनाकानी गरिरह्यो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं – शुक्रबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण-पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् भदौ २९ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि- आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि- स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि- सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

प्रधानमन्त्री दाहाल शनिबार न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

उहाँले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत : २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनुहुनेछ ।

सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार बढीलाई कारबाही

काठमाडौँ २८ भदौ : चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको छ ।सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो । बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार छ सय ४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

प्रमुख शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताउनुभयो । “यसअघि सङ्घीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले सञ्चालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित सञ्चालन गरिनेछ । विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै सञ्चालन गर्न सक्नेछन् ।”

बैठकले प्राधिकरणको कोष सञ्चालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यातायात क्षेत्रको व्यवस्थापन गर्ने काममा दोहोरोपना रहेको बताउनुभयो । उहाँले प्राधिकरण र परिषद्ले यस्ता दोहोरोपनालाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ । ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य रहने व्यवस्था छ ।

प्राधिकरणको काम कर्तव्य र अधिकार

सार्वजनिक यातायातसम्बन्धी नीति, अल्पकालीन, दीर्घकालीन योजना र रणनीति तयार पार्ने, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन, व्यवस्थापन गर्ने, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउनु प्राधिकरणका मुख्य काम हुन् । बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीमैत्री सडक व्यवस्थापन प्राधिकरणका मुख्य काम हुन् ।

सार्वजनिक यातायातसँग सम्बन्धित विवरण सङ्कलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ मलमा यातायात सेवा उपलब्ध गराएवापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो सञ्चालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेलगायत काम प्राधिकरणका मुख्य जिम्मेवारी हुन् ।

‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…

खोटाङ, २८ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिनुभएको थियो । सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना बाबा ! सदैव हजुरको दीर्घायु र खुसीको कामना गर्दछु । भगवान्सँग यो नै प्रार्थना छ कि, हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भई सधैँभर खुसी मिलोस् ! हरेक औँसीमा हजुरलाई स्वस्थ र खुसी हेर्न पाइराखुम् । अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस् र हजुरलाई शीघ्र स्वास्थलाभको कामना बाबा !’ भनेर लेख्नुभएको थियो ।

हिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बुबाको दीर्घायु र स्वास्थ्यलाभको कामना गरेको केही क्षणमै उहाँका बुबा चन्द्रप्रसाद आचार्यको निधन भएको खबर प्राप्त भयो । जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि आफँैले काठमाडौँ सिफारिस गरी मागेर काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ ।हप्ता दिनअघि सामान्य बिरामी पर्नुभएका चन्द्रप्रसाद छ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएको थियो । जिल्ला कारागार खोटाङको सहलेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीन दिनपछि बिहीबार बिहान करिब पौने नौ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका साधारण सदस्यसमेत रहनुभएका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको सङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराईले बताउनुभयो । “देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन् । हाम्रो सङ्गठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सय जनाभित्र पर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अल्पायुमै उहाँ (चन्द्रप्रसाद आचार्य)को निधन हुनु दुःखद् हो । देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ ।”चन्द्रप्रसादको निधनले आचार्य वंशकै इमान्दार र सामाजिक व्यक्तित्व गुमेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताउनुभयो । “दाजु चन्द्रप्रसाद आचार्य राष्ट्रसेवक कर्मचारीमात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । हामीले आचार्य वंशकै इमानदार र सामाजिक व्यक्तित्व गुमाउनुपरेको छ”, उहाँले भन्नुभयो, “राम्रा मान्छेको नै छिटो मृत्यु हुँदोरहेछ ! दाजुको निधन भएको खबर सुन्नासाथ गाउँ नै शोकमग्न छ ।”मृतक चन्द्रप्रसादको शव अन्तिम दाहसंस्कारका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । निमोनियाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिनुभयो ।घर खर्चका लागि कमाइ गर्ने अभिभावक (चन्द्रप्रसाद)को अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली छिमेकीले बताएका छन् । मृतक चन्द्रप्रसादको छोरा हिमाल १७ वर्षका छन् भने छोरी हिमाञ्जली १४ वर्षकी छन् ।

बच्चाको डाइपरमा लुकाइएको दुई किलो धुलो सुन बरामद

मुम्बई – सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

कास्की, २८ भदौ : पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा आज महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि समेत कोइका र महानगरपालिकाबीच परियोजनासम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेकामा हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

प्रतिबद्धताअनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

यस्तै ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयु उद्यमहरूलाई व्यवसाय इन्क्युवेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्त्वपूर्ण हुने बताइन्छ । ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नं ६ वसुन्धरा पार्कमा पाँच हजार ९० वर्गमिटर क्षेत्रफल उपलब्ध गराउनेछ ।

हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयु उद्यमहरूलाई बढावा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमहरूलाई बढावा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ ।

महानगर प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसलाई मोहरमा बदल्ने प्रयासस्वरूप हरित रोजगारी सिर्जनामा जोड्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहर आर्जन हुनेछ ।”

कोइकाका उपप्रमुख युनयङ्ग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उहाँले बताउनुभयो ।

लिबियामा ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित

काठमाडौँ, २८ भदौ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।

बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ ।

बैतडीमा बालविवाह घटेन, तीन वर्षमा एघार सय किशोरी आमा बने

बैतडी, २८ भदौ : बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा २०७८/७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ । गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्याङ्कमा कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । उमेर नपुग्दै बिहे गर्ने र २० वर्षमुनि आमा बन्दा ज्यान नै जोखिममा पर्ने सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ थियो । स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी सङ्घसस्थाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह हुने क्रम नरोकिएको श्रीकोट स्वास्थ्यचौकीकी अनमी सरस्वती भट्टले बताउनुभयो । बीस वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नपाउने भन्दै उहाँले पछिल्लो समय घरपरिवारको दबाबमा गरिने विवाहमा केही कमी आए पनि भागी विवाहले बाल न्यूनीकरणमा चुनौती थपिएको बताउनुभयो ।

“कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने गरेको छ । किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहमा कमी नआएको हो”, अनमी भट्टले भन्नुभयो । नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको जनाउँदै उहाँले सोही नीतिअनुसार कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको नीतिअनुसार जिल्लामा अझै पनि बालविवाह न्यूनीकरण हुनसकेको छैन । शारीरिक र मानसिकरूपमा २० वर्षमाथि मात्रै परिपक्व हुने भन्दै प्रमुख भट्टले त्यो भन्दा मुनि बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरा हुने बताउनुभयो । उहाँका अनुसार कम उमेरमा बच्चा जन्मिदा कुपोषित हुने, कम तौलको जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्दछन् ।

“बीस वर्ष नपुग्दासम्म प्रजनन अङ्ग परिपक्व भइसकेका हुँदैनन् । यो उमेर आमा बन्नु बच्चा र आमा दुवैका लागि जोखिम हुन्छ । बच्चा जन्मिहाले पनि कम तौलको हुने, कुपोषित हुनेलगायतका समस्या देखिन्छन्”, प्रमुख भट्टले भन्नुभयो । विभिन्न सङ्घसंस्था तथा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कम उमेरमा हुने विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गरिने भए पनि प्रभावकारिता कम देखिएको उहाँको भनाइ थियो । नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वतः बदर हुने व्यवस्था गरेको छ भने तीन वर्ष कैद र रू ३० हजार जरिवाना तोकिएको छ । बालविवाहको उन्मूलन गर्न विशेषगरी छोरीहरूको सशक्तीकरण गर्नुपर्ने र बालविवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय भएकाले कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्ने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह न्यूनीकरणका लागि छोरीहरूको सशक्तीकरण र पुराना कुसंस्कार बदल्न आवश्यक छ ।” —

दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा

मध्यविन्दु (नवलपरासी), २८ भदौ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ ।

प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । यही भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्नुभएको थियो । सोही प्रसारण लाइनमा अहिले निर्माण भइरहेको विद्युत् प्रसारण लाइन बर्दघाट पुगेर जोडिने छ ।यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो । गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताउनुभयो ।“एक्काइस किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिए पनि दोस्रो सर्वेक्षणले कममात्रै रुख कटान गर्नुपर्ने निष्कर्ष निकालेपछि अनुमतिमा ढिलाइ भएको थियो”, उहाँले भन्नुभयो ।दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकामा हालसम्म दुई हजार रुख कटान भइसकेको छ । उक्त प्रसारण लाइन विस्तार क्षेत्रमा कुल पाँच हजार आठ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।उहाँले भन्नुभयो, “२१ किलोमिटर लामो प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म छवटाको निर्माण सम्पन्न भएको छ भने २२ वटा टावर निर्माणाधीन अवस्थामा छ ।” थपिएको म्यादअनुसार यही वर्षको पुस मसान्तसम्ममा काम सक्ने गरी पावर चाइना सेप्कोले रु ६० करोड लागतमा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ ।नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा यसअघि नै रु एक अर्ब ८० लाखको लागतमा न्यू बुटवल सबस्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो ।“प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बुटवलबाट बर्दघाट, भरतपुर हँुदै पूर्वी नेपालसम्म उच्च क्षमताको गुणस्तरीय विद्युत् वितरण गर्न सकिने छ”, आयोजना प्रमुख मिश्रले भन्नुभयो, “यसबाट पूर्वी नेपालबाट पश्चिम नेपालसम्मै गुणस्तरीय विद्युत् विस्तारको क्षमता अभिवृद्धि हुने छ ।”

प्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ

कामठाडौँ, २८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।

बालुुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गर्नुभयो ।खेलाडीलाई सफलताको शुभकामना दिँदै उहाँले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु । मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ ।”प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्नुहुने कार्यक्रम रहेको छ । चीनको हाङझाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ । उक्त प्रतियोसगतामा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री दाहालले बिदाइ गर्नुभएको हो । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्नुभयो ।यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ । जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी छन् ।नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीको सहभागिता रहनेछ ।त्यस्तै, फेन्सिङमा छ, फुटबलमा २२, गल्फमा छ, ह्यान्डबलमा १६, जुडोमा आठ, कबड्डीमा १२, करातेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, टेबल टेनिसमा छ, तेक्वान्दोमा ११, टेनिसमा छ, ट्रायथलनमा चार र भलिबलमा २४ खेलाडी सहभागी छन् ।भारत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ । आज भएको बिदाइ कार्यक्रममा भने विभिन्न १९ खेलका खेलाडीमात्र सहभागी थिए । बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणमा रहेका छन् ।

यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ

काठमाडौँ, २८ भदौ : तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो ।

निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको थियो । नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

शवयात्रामा रहेका सबैका अनुहारमा एक कुशल, मृदुभाषी, असल राजनीतिज्ञलाई गुमाउनु पर्दाको पीडा रहेको थियो । आर्यघाटको दुवैतिरको भागमा मानिसले जलिरहेका नेम्वाङ शवप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । सर्वसाधारणले मोबाइलबाट फोटो, भिडियोसमेत बनाइरहेका देखिन्थ्यो ।

प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षनेता, मन्त्री, सांसद, उच्चपदस्थ अधिकारीले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । पशुपति आर्यघाटमा नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । आज सरकारले उहाँको सम्मानमा सार्वजनिक बिदासमेत दिएको छ । उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । त्यसक्रममा नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । अन्तिम श्रद्धाञ्जलि दिँदा नेम्वाङ श्रीमती विशालनुमा नेम्वाङ भक्कानिएर रुनुभयो । उहाँलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

स्व नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्षनेता, नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललगायत आर्यघाट जानुभएको थियो ।

यस्तै संसद् सचिवालयका पदाधिकारी, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी, सामाजिक क्षेत्रका प्रतिष्ठित महानुभाव, नेम्वाङको परिवारका सदस्य तथा आफन्तजन, ठूलो सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारणको पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो ।

सोमबार राति ३ः०० बजे त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो ।

नेम्वाङ विसं २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएको हो । विसं २०४८ र २०५२ मा गरी दुईपटक राष्ट्रियसभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । विसं २०६४ र २०७० मा भएका दुईवटा संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी बनेर संविधानसभा अध्यक्ष बन्नु भई उहाँले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उपाध्यक्ष नेम्वाङ विसं २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गर्नुभएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ विसं २०२९ मा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो ।

विसं २०५४ को छैटौँ महाधिवेशनदेखि निरन्तर पार्टीको केन्द्रीय कमिटीमा रहनुभएका नेम्वाङ २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य हुनुभयो भने २०७८ सालमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको होे । उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस : गोकर्णमा साढे तीन लाख बढी भक्तजन

काठमाडौँ, २८ भदौ : भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ ।पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेरेका छन् । बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको थियो । आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको थियो । मन्दिरमा साढे तीन लाखभन्दा बढी भक्तजनको उपस्थिति रहेको अनुमान गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो ।यस वर्ष गोकर्णेश्वरको मेला विगतका वर्षको भन्दा व्यवस्थित पाइएको ललितपुरको कोञ्ज्योस्योमबाट श्राद्ध गर्न यहाँ आउनुभएका बमबहादुर थापाले बताउनुभयो ।त्यस्तै, रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लागेको थियो । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रुपमा पनि मानिएको पुजारी भट्टले बताउनुभयो । “दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीनदुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ”, उहाँले भन्नुभयो ।भित्र्याइयो कुशआज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व मनाएका छन् । वर्षभरि देवकार्य, पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश आजै वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिन्छ ।अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रुपमा मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ । 

‘संविधान बनाउन नेम्वाङले खेल्नुभएको भूमिका इतिहासले सधैँ स्मरण गर्ने’

काठमाडौँ, २८ भदौ : सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उहाँले लगाउनुभएको गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ

नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।” नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ ।

फाउन्डेसन संविधान जारी गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना भएको संस्था हो । फाउन्डेसनले विपी कोइरालाले मेलमिलापको नीति लिई २०३३ साल पुस १६ भारत प्रवासबाट फर्केपछि जनमत सङ्ग्रह घोषणा नभएसम्मका विषय समेटेर ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेको संस्थाका सदस्यसचिव कोइरालाले बताउनुभयो । उहाँका अनुसार संस्थाले अन्य राजनीतिक इतिहासका विषयमा पनि खोजी गरिरहेको छ ।

नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

काठमाडौँ, २८ भदौ : नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहुनुभएको उल्लेख छ । संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका व्यक्तित्व भएकाले उहाँले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि देखाउनुभएको विशिष्ट क्षमताको स्मरण गरिएको छ ।

“अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न नेम्वाङले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभाएको थियो”, वक्तव्यमा भनिएको छ, “नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार, पार्टीका र देशलाई क्षति पुगेका छ । उहाँले राष्ट्र र जनताको हितमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं ।’’

एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, २८ भदौ : नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेकोे ठहर गरेको छ । नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो : मन्त्री किराती

गोदावरी (ललितपुर), २८ भदौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताउनुभएको छ ।

गोदावरी नगरपालिका–३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उहाँले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गर्नुभयो ।

“गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो”, मन्त्री किरातीले भन्नुभयो, “जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।” यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्ने भन्दै उहाँले जोड दिनुभयो । मन्त्री किरातीले पछिल्लो समय डेङ्गु डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यावसायिक र प्रहरीको सहभागिता थियो ।

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव, प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो

काठमाडौँ, २८ भदौ : गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो ।

सुझाव कार्यदलको प्रतिवेदनले सहकारी संस्थामा एकै व्यक्ति र परिवारभित्र कूल पूँजीकोषको दश प्रतिशतभन्दा बढी कर्जाहरू केन्द्रीकृत भएको रहेछ भने त्यसलाई छ महिनाभित्र व्यवस्थापन गरिसक्न निर्देशन दिइनुपर्ने सुझाव दिएको छ । एकाघरपरिवार र नजिकका नातेदारसमेत सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनभित्र स्वार्थ बाझिने गरिरहेको भए तीन महिनाभित्र पदबाट हट्नुपर्ने गरी नियामक निकायबाट निर्देशन गर्न सुझाव दिइएको छ । सहकारी संस्थाहरूले प्रत्यक्षरूपमा आफैँले लगानी गरेका कम्पनी, मार्ट, अपार्टमेन्टहरूलाई एक वर्षभित्र व्यवस्थापन गरी तरल सम्पत्तिमा रूपान्तरण गर्न निर्देशन दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाले स्थिर सम्पत्ति बिक्री वा अन्य क्षेत्रमा भएका लगानीहरूलाई यथाशीघ्र तरल सम्पत्तिमा रूपान्तरण गरी बचतकर्ता सदस्यहरूको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ ।

सहकारी संस्थाहरूले जोखिम व्यवस्थापनसम्बन्धी विस्तृत कार्ययोजना बनाई आफ्नो नियामक निकाय र केन्द्रीय सङ्घहरूमा जानकारी दिने व्यवस्था मिलाउन पनि प्रतिवेदनमार्फत सुझाव दिइएको छ । त्यस्तै सहकारीका केन्द्रीय सङ्घले जिल्ला र प्रदेश सङ्घहरूसँग समन्वय गरी सदस्यहरूलाई कार्ययोजनाअनुरूप बचत फिर्ता गरे/नगरेको विषयमा सहजकीरण र अनुगमन गर्नुपर्नेछ ।

“सदस्यको बचत रकम अपचलन गरेको देखिएका सहकारी संस्थाका जिम्मेवार पदाधिकारी, व्यवस्थापनमा आबद्ध जोसुकैको राहदानी रोक्का गर्ने गरी व्यवस्था गर्नुपर्छ”, अध्ययन कार्यदलको प्रतिवेदनमा भनिएको छ । समानान्तर संस्थाबीच एकापसमा आर्थिक कारोबार, लेनदेन, बचत जम्मा, ऋण प्रवाहजस्ता कार्य भइरहेको भए आगामी एक वर्षभित्र राफसाफ गरिनुपर्ने सुझाव पनि कार्यदलबाट आएको छ ।

सहकारी संस्थाको नियमनकारी निकायबाट निरीक्षण अनुगमन गर्ने कार्यलाई निरन्तर र सघन बनाउने, अनुगमन गरिसकेपछि संस्था जोखिमपूर्ण देखिएमा सुधारका निम्ति योजना पेस गर्न लगाई निश्चित समय प्रदान गर्ने, सञ्चालकलाई नियामक निकायमा अनुगमनको क्रममा संस्थामा देखिएका कैफियतका विषयमा छलफल र परामर्श गरी नियमितरूपमा पृष्ठपोषण र आवश्यकताअनुरूप पुरस्कृत तथा दण्डित गर्नुपर्नेलगायतका सुझाव कार्यदलले दिएको छ ।

सुझाव कार्यदलले अहिले सहकारी क्षेत्रमा समस्या देखिनुका कारण पनि खोजेको छ । “सहकारी संस्थाको सञ्चालन प्रक्रियामा सैद्धान्तिक विचलन आएको, निश्चित समुदायमा केन्द्रित रहेर संस्था सञ्चालन नगरिएको, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापनमा समेत एकाघरका व्यक्तिको संलग्नता भई सदस्यबाट सङ्कलित बचत रकमलाई घरजग्गा, अर्पाटमेन्ट, डिपार्टमेन्टल स्टोर तथा विभिन्न कम्पनीमा प्रत्यक्ष लगानी गरेका कारण समस्या सिर्जना भएको हो”, प्रतिवेदनमा भनिएको छ, “सहकारी संस्थामा बचतकर्तामार्फत जम्मा भएको रकमलाई केही निश्चित सदस्यले विभिन्न कम्पनी खडा गरी त्यसैमार्फत बचतको परिचालन गर्दा व्यावसायिक जोखिम बढेको छ । जसका कारणले सहकारी संस्थाको वित्तीय अवस्था कमजोर हुन गई समस्या देखिएको हो ।”

सहकारी संस्थाको पूँजी संरचनाको पर्याप्त व्याख्या नभएका कारण सबै प्रकृतिका सहकारीको स्रोत सदस्यकै बचत हुने गरेको छ । सम्पत्ति र दायित्व व्यवस्थापनका मूलभूत पक्षलाई ध्यान नदिई बचत रकमको परिचालन गरिँदा सम्पत्ति र दायित्वका बीचमा असन्तुलन बढेको प्रतिवेदनले औँल्याएको छ ।

“बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको अधिक ऋण लगानी घर जग्गामा केन्द्रित भई ऋणको केन्द्रिकृत जोखिम बढेर जानु समस्याको प्रमुख कारक हो”, प्रतिवेदनमा भनिएको छ, “कूल पूँजीकोषको अधिकतम् दश प्रतिशतले हुन आउने एकल कर्जा सीमाको नीतिलाई कडाइका साथ पालना नगर्दा समस्या जटिल बनेको देखिन्छ ।”

सहकारी संस्थाले आफ्नो नियमित वित्तीय अवस्थाको जाँच तथा विश्लेषण नगर्दा संस्थाको वित्तीय स्वास्थ्य कस्तो छ भनेर यकिन गर्न सकिँदैन । वित्तीय योजनाबिना नै बचतको परिचालन गर्दा समस्या सिर्जना भएको प्रतिवेदनमा आँैल्याइएको छ ।

“सहकारी संस्थाहरूको ऋण अत्यधिकरूपमा अनुत्पादक क्षेत्रमा प्रवाह हुनु, सदस्यको भुक्तानी क्षमताको मापन नगरी लगानी गरिँदा असुलीमा समस्या आएको हो । सहकारी संस्थाले ऋणको वर्गीकरण नगरी जोखिम कोष पर्याप्तताको विश्लेषणबिना लाभांश वितरणमा मात्रै केन्द्रित रहँदा भविष्यमा हुनसक्ने वित्तीय जोखिम आकलन कमजोर हुन गएको देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “तरलता व्यवस्थापनको रणनीति लागू नगरी तुरुन्तै भुक्तानी गर्नुपर्ने दायित्वका रकमको समेत लेखाजोखा नगरी ऋण प्रवाहमा मात्रै केन्द्रित हुँदा तरलता व्यवस्थापनमा समस्या देखिएको हो ।”

सहकारी संस्थाहरूका बीच हुने समानान्तर आर्थिक कारोबारका कारण पनि कतिपय संस्थामा समस्या देखिएको छ । त्यस्तै सहकारी संस्थाले घरजग्गाजस्ता स्थिर सम्पत्तिमा बढी लगानी गर्दा वित्तीय असन्तुलन भई सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्था आएको देखिन्छ ।

सहकारी क्षेत्रमा देखिएको विचलनले सदस्यमा सहकारी संस्थाप्रति परेको अविश्वासको कारण बचत फिर्ता माग भइरहेको हुनसक्ने पनि प्रतिवेदनले औँल्याएको छ । यसका लागि सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापनले सदस्यसँग नियमित भेटघाट, छलफल र परामर्श गर्ने र सहकारीको सूचना नियमितरूपमा प्रकाशन गरिरहनुपर्ने सुझाव दिइएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत संयोजक रहनुभएको यो सुझाव कार्यदलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहचिव निराजन घिमिरे, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्ण सदस्य हुनुहुन्थ्यो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सहसचिव सुशील ढकाल, नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमल्सिना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, सहकारी विज्ञ तथा वित्त विश्लेषक कृष्णबहादुर उप्रेती, सहकारीविज्ञ ऋषिराज घिमिरे सदस्य हुनुहुन्थो । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे यो कार्यदलको सदस्यसचिव हुनुहुन्थ्यो ।

सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँ २८ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिनुभयो । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ ।

नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । उहाँका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ । अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप छ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौँ, २८ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन, २८ भदौ : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्काे बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।

मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उहाँले जानकारी दिनुभयो । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो ।

अर्काे अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार बाघ छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तिवारीले अहिले चितवनमा छ बाघ खोरमा रहेको बताउनुभयो । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको उहाँले बताउनुभयो । पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ । तिवारीले सर्वसाधारणका लागि खुला गर्नसके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने बताउनुभयो । सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।

विद्यार्थीले दुर्घटनामा परेर अकालमै ज्यान गुमाउन नपरोस् भन्दै सडकमै ट्राफिक सचेतना गराइँदै

मलेखु (धादिङ), २८ भदौ : राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो । ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जिवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ । “राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् ।

विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ”, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, “सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।

” विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखु लगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ ।

ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारी साधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । चाडपर्व नजिकिएसँगै राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्दाभिन्दै कार्यक्रम गर्दै आएको छ । मलेखु (धादिङ), २८ भदौ : राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ ।

राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो । ट्राफिक नियमको अभावमा साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जिवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ । “राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् ।

विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छ”, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, “सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैदान्तिक र व्यवहारिक रुपमा ज्ञान दिइएको हो ।” विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखु लगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारी साधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । चाडपर्व नजिकिएसँगै राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्दाभिन्दै कार्यक्रम गर्दै आएको छ ।