`

टीकापुरमा बिक्न थाल्यो गाईको मल,प्रतिकिलो १२ मा बिक्री

टीकापुर (कैलाली) – सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो ।

गौशालाले २० किलो र २५ किलोका रुपमा प्रतिकिलो रु १२ मा मल बिक्री थालेको छ । विगतमा रु चार हजार प्रतिट्रालीका हिसाबले बिक्री हुन्थ्यो । अब ट्राली लिनेका लागि रु पाँच हजार शुल्क तोकिएको छ । गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई चिर्दैै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताउनुहुन्छ । “थोरै लिनेलाई पनि सहज होस् भनी किलोका हिसाबले टीकापुरस्थित घण्टाघर नजिकैबाट बिक्री गर्न थालिएको हो”, जोशीले भन्नुभयो, “अहिले गौशालामा सात सय ६० सय गार्ई छन् ।”

गार्ईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती, फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले किलोका हिसाबले बिक्री थालिएको जोशीले बताउनुभयो । “गोबर ग्यासबाट निस्किएको मल सुकाएर, केही समय राखेर त्यसपछि प्याक गरेर बिक्री गर्न थालेका हौँ”, उहाँले भन्नुभयो, “टीकापुर बजारमा बिक्रीका लागि राखिएको, आगामी दिनमा अन्य ठाउँ र एग्रोभेटमा समेत राख्ने तयारी छ ।”

समितिका अनुसार गौशालामा रहेको गोबर ग्यासमा दैनिक चार क्विन्टलसम्म मल उत्पादन हुन्छ । यसरी बिक्रीबाट भएको आम्दानी गार्ई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गोबर ग्यासबाट विगत चार महिनादेखि स्थानीयलाई ग्यास वितरण भइरहेको छ । स्थानीय ५५ घरले ग्यासको सुविधा लिँदै आएका छन् । ग्यास हरेक दिन बिहान दुई घण्टा र साँझ दुई घण्टा वितरण हुने गरेको छ । गौशालाले असोज महिनादेखि अब ग्यासको समेत न्यूनतम मूल्य लिने निर्णय गरेको छ । ग्यास वितरण भएका घरमा राखिएको मिटर रिडिङका आधारमा प्रतियुनिट रु ४५ लिने निर्णय भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्रीले बताउनुभयो ।

केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफँैले खर्च बेर्होने गरेको छ । नगरपालिकाले वार्षिक रु २० लाख रकम छुट्याउने गरेकोमा त्यो रकम पशु सेवकमै खर्च हुने गरेको छ । त्यहाँ आठ जना गौसेवक कार्यरत छन् । दुई जना व्यवस्थापन समितिका पदाधिकारीसमेत सेवकका रुपमा कार्यरत छन् । आठ जनाले मासिक तलब सुविधा पाउने र दुई जना सेवकका रुपमा कार्यरत रहेका छन् । आठ जनाको तलब खर्च वार्षिक रु साढे १८ लाख वार्षिक खर्च हुने गरेको बुढाक्षेत्रीको भनाइ छ । पालिकाले दिने रकम तलबमै खर्च हुने भएपछि पशुको आहारा तथा अन्य व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ ।

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन, २८ भदौ : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्काे बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।

मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उहाँले जानकारी दिनुभयो । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो ।

अर्काे अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची खोर भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

यो बाघ केही समय यतादेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार वटा बाघ रहेका छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई वटा बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तिवारीले अहिले चितवनमा छ वटा बाघ खोरमा रहेको बताउनुभयो । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको बताउनुभयो । पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ । तिवारीले सर्वसाधारणका लागि खुला गर्नसकेमा यस्ता बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्नसकेमा आर्थिक भार नपर्ने बताउनुभयो । सन् २०२४ साललाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ ।

विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथि – आईएमएफ

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ प्रतिशत बढी हो ।

आईएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठह¥याएको छ, जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ । आईएमएफले भनेको छ, “वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनकि धेरै सरकारहरूले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए तापनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन् ।”

यसले सरकारहरूलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरू सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ ।

महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन् । आईएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरूमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रूपमा उसको ऋण तीव्र रूपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ ।

न्यून आय भएका देशहरूमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरू सिर्जना गरेको छ । यसमा कम आय भएका विकासशील देशहरूको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ ।

आईएमएफले भनेको छ, “ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ । यसले आगामी वर्षहरूमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ ।

आजको मौसम : कहाँ कहाँ पानी पर्छ ?

काठमाडौं। बिहिबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन : सांसद झा

काठमाडौँ : कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा (एमाले) को सांसद रही प्रतिनिधिसभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त हुनुहुन्छ ।

सांसद झा सांसदको मुख्य काम कानुन निर्माण नै हुनुपर्नेमा गलत अभ्यास र बुझाइका कारण विकास निर्माणका काममा पनि सम्लग्नता देखिएकामा खुसी हुनुहुन्न । सांसदले संवैधानिक दायित्वबमोजिम कानुन निर्माणका काममा पर्याप्त समय दिएका छन् त ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “सांसदको काम विशुद्धरुपमा कानुन र नीति बनाउने नै हो । हामी कहाँ सरकार, संसद् र समितिबीचको उचित तथा प्रभावकारी समन्वय पनि आवश्यक छ । सरकारको काम कानुनको मस्यौदा तयार गरी सदनमा लैजाने र सदनले सम्बन्धित समितिमा जनताको आवाजबमोजिम छलफल गराइ सदनमा पेस गरी पारित गराउने प्रक्रियाका बीचमा सांसदको सक्रिय भूमिका खोजिनुपर्छ ।”

संसदीय मामिलामा शीर्ष र अनुभवी सांसदले आफूहरुलाई खासै नसिकाएको गुनासो गर्ने सांसद झाले ‘सांसदसँग रासस’ संवादमा चुनावमा जाँदा यति विकास गर्छु, उति बजेट ल्याउँछु भनेर आश्वासन दिने र त्यही कुरा पत्याएर मतदान गर्ने जनताले पनि सांसदका कारण विकास हुन्छ भन्ने बुझाइलाई त्याग्नुपर्ने बताउनुभयो । “सांसदले आफ्नो क्षेत्रमा योजना ल्याउने वा विकासको पैसा थुपार्ने अनि विकास गर्ने भन्ने बुझाइ गलत छ । यसलाई हामीले चिर्न सक्नुपर्छ ।”

सांसद झा संसद्भित्र विधेयक आउनुपूर्व वा बजेट तथा नीति निर्माण कार्यक्रम तय हुँदा सांसदको भूमिकाको माग गर्नुहुन्छ । “सांसदको क्षमता नै नभएर उनीहरुले भूमिका निर्वाह नगरेका होइनन् । सबै सांसद सक्षम छन् भन्ने होइन र सबै असक्षम नै छन् भन्ने पनि होइन । उनीहरुलाई त भूमिका दिनुपर्छ । मेरो क्षमता र ऊर्जाअनुसार मैले संसदीय काम गर्न पाइरहेको छैन । मैले गर्न खोजेको एक प्रतिशत पनि काम पाइरहेको छैन । अहिले संसद्मा सरकारले पर्याप्त विजनेश दिन सकिरहेको छैन ।”

सदनमा विभिन्न नाममा अवरोध तथा आरोप प्रत्यारोपणको क्रम बढेको छ । बढ्नुपर्ने चिज घटेको छ । घट्नुपर्ने चिज बढेको छ । यसले संसदीय अभ्यास र मर्यादामा आँच आउने त होइन भन्ने प्रश्न उठेको छ । सांसद झा सदन अवरोध गर्ने कार्य नियमावली र लोकतान्त्रिक आन्दोलनको मर्मविपरीत भएको ठान्नुहुन्छ ।

“संसद्मा जनतामा आवाज प्रस्तुत हुनुपर्छ र सांसदबीच संवाद हुनुपर्छ । यसमा अनुभवी र पुराना सांसदले अगुवाइ गर्नुपर्छ । उहाँहरुबाट हामीले केही सिक्न पाउनुपर्छ । सदनमा कुनै अवरोध नहोस् भन्ने सबैको चाहना हो । यसरी अवरोध कायम रहेमा विधेयक समयमा अघि बढ्न सक्दैनन् ।”

सदनमा आवेगमा आएर अभिव्यक्ति दिने र पछि शब्द फिर्ता लिने वा रेकर्डबाट हटाउनुपर्ने स्थिति देखिएको छ । जनताको चाहना बमोजिम यी कार्य ठिक छन् त ? सांसद झा यसलाई कहिलेकाहीँ त्यस्तो अवस्था हुनसक्ने तर अधिकतम सांसदले विचार गरेरै बोलिरहेको जिकिर गर्नुहुन्छ । संसद्मा साझा मानसिकताको कमी भई सिद्धान्त र आदर्शबाट विद्यमान व्यवस्था सञ्चालन हुनुपर्ने हो त्यो हुन नसक्दा यदाकदा समस्या वा कमजोरी हुने गरेको उहाँको टिप्पणी छ ।

संसद्भित्र देखिने विकृति तथा कमीकमजोरीका सवालमा सांसद झाको बुझाइ छ, “सांसदले कानुन र नीतिका सबै विषयको अध्ययन गर्नुपर्छ । अध्ययन गरिरहेका पनि छन् । तर कामका सवालमा केही कमीकमजोरी त हुन्छ नै । भएका नियमको पालनाका सवालमा हामीले ध्यान दिनुपर्छ । सबै कुरा एकै पटक थाहा नहुन सक्छ । यसमा सम्बन्धित संसदीय दलले प्रशिक्षणलगायत माध्यमबाट सांसदलाई पोख्त बनाउन सक्नुपर्छ ।”

संसदीय पूर्वाधार विकास कोषको औचित्यबारेको प्रश्नमा उहाँले विगतमा अभ्यासमा आएको, बीचमा हटेको र अहिले किन ल्याइयो भन्ने आफू पनि अनभिज्ञ रहेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “बजेट निर्माणमा हाम्रो कुनै भूमिका नहुनाले यो फेरि किन आयो भन्ने थाहा हुने कुरा भएन । सरकारले ल्यायो । संसद्ले पास ग¥यो । तर यसमा सर्वाेच्च अदालतले रोक्न मिल्दैन । यो त संसद्को कार्यक्षेत्र र अधिकारको विषय हो । कार्यपालिकालाई न्यायपालिकाले हस्तक्षेप गर्न मिल्दैन ।”

यदि यो कार्यक्रम लागू गर्ने हो भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदका लागि लागू हुने गरी ल्याउनुपर्ने तर्क गर्दै सांसद झा प्रतिप्रश्न गर्नुहुन्छ, “अधिकांश प्रत्यक्ष सांसद पुरुष छन्, उनीहरुले नै कोषको बजेटमा अगुवाइ गर्छन् । विगतमा पनि उनीहरुले जितेर त्यो कार्यक्रम चलाए, अहिले पनि चलाउँछन् । यहाँ महिला धेरै समानुपातिकमा छन् । जनताले बजेट लिएर र कार्यक्रम लिएर आउने नै नेता हो भन्ने बुझाइ राख्ने स्थितिमा उनीहरु कसरी राजनीतिमा स्थापित हुने ?”

मधेस प्रदेशमा समिति तथा उपभोक्ता समिति बनाउने र अनेक नाममा प्रतिशतका आधारमा बजेट खर्च गरिने स्थितिको अन्त्य भई सुशासन काम हुनुपर्ने र त्यसमा सांसदको भूमिका हुनुपर्ने उहाँको भनाइ छ । समाधानका लागि असारे विकास बन्द गरी सरकारको नीति तथा कार्यक्रम फागुन चैततिरै सांसदलाई थाहा हुने स्थिति हुने भएमा बजेट तर्जुमामा सहज हुने सांसद झा धारणा राख्नुहुन्छ ।

नेपालको संविधानको सफल कार्यान्वयनका लागि सांसद झाको सुझाव छ, “विद्यमान निर्वाचन प्रणालीअनुसार गठबन्धनमा जानुपर्ने बाध्यता देखिन्छ । यसमा जस्तो परिणामा आएको छ, त्यसका आधारमा दलीय हैसियतका आधारमा पालैपालो सरकारको नेतृत्व र सत्तामा हिस्सेदारी दिनुपर्छ । संसदीय व्यवस्थामा हामी कुर्सीमोहमा लागेर स्वार्थी भयौँ । राजनीतिमा उच्च इमानदारिता र नैतिकता प्रदर्शन हुन सकिरहेको छैन । यसका लागि नेताहरु गम्भीर र सदाचारी हुनुपर्छ । सबै नीतिको माउ नीति राजनीति भएकाले राजनीति हाँक्ने शीर्ष नेताले आफूलाई सुधार गर्नुपर्छ ।”

डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा, २८ भदौ : डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताउनुभयो ।अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

जलेश्वर, २८ भदौ : कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो ।

रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती छ । यहाँ विगतदेखि नै मेला लाग्ने गरेको छ । बुबाको मुख हेर्ने दिन तथा आमाको मुख हेर्ने दिनमा श्रद्धालु आउने गरेको स्थानीय शम्भु यादवले बताउनुभयो ।

आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गरेको स्थानीय नथुनी यादवले बताउनुभयो । बुबा, आमा नभएकाहरुले अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएका छन् ।

रामायण कालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी वाण लागि मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित छ । यस स्थानमा मन्दिर बनाइएको छ । यसको संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

ब्रेक सुमा लुकाएर ३ क्वीन्टल बढी सुन तस्करी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो ।

राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङ्कङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो सुन तस्करीको विषयमा सीआईबीले अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको छ ।

गोदामहरूमा छापा मार्दा अरू पनि यसरी सामान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक सुमा लुकाएर थप ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरूलाई यकिन तौल गरेर ३ सय २ दशमलव ६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

उनीहरूलाई सातवटा ऐनको दफानुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन, २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ । यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउनेगरी राय दिएको हो ।

‘हालसम्मको अनुसन्धानका क्रममा जम्मा ३२ जना नेपाली तथा विदेशी नागरिक पक्राउ परेका र रेडी ट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइछिपाइ अवैध पैठारी गरेको जम्मा बरामद ६० दशमलव ७१६ किलो र सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३ सय २ दशमलव शून्य ६२ किलो गरी जम्मा ३ सय ६२ दशमलव ७७८ किलोग्राम सुनको हुन आउने मूल्य तीन अर्ब ५० करोड २ लाख २६ हजार ५ सय ५२ रुपैयाँबराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले भनेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

तीन करोड रुपियाँको लेनदेनको ‘डिल’गरेको विषयलाई लिएर रास्वपामा खैलाबैला

काठमाडौं । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको

लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ ।पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ठाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघिबढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरूगरेको उल्लेख छ ।गत चैतमा भएको उपनिर्वाचनताका रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपियाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो ।उक्त अडिओमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साठे२ करोड रुपियाँ बुभाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको प्रष्ट सुनिन्थ्यो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

काठमाडौं । पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।

पछिल्लो पटक साउन ३ गते बरामद ६०।७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य प्रतिवादी बनाएको सिआइबीले उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूलाई भने प्रतिवेदनमा केही उल्लेख नगरी ‘सुनपानी’ छर्केर चोख्याएको हो। सिआइबीले होटल भियनाका सञ्चालक दावा छिरिङलाई सुन तस्करीको मूल बिचौलिया बनाएको छ।

तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि नखुलेको प्रतिवेदनमा छ। तर दावा छिरिङसँग बिहे गरेकी माओवादी केन्द्रनिकट अमल रोकालाई भने प्रतिवादी बनाइएको छ। उनी फरार छिन्।‘यो अनुसन्धान निरन्तर जारी रहने भएकाले निकट दिनमा राजनीतिक व्यक्तिहरूको संलग्नता देखिए अवश्य पनि छानबिन हुनेछ,’ सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार सिआइबीले पाएको म्यान्डेटका आधारमा मात्रै अनुसन्धान भएको हो। ‘हामीलाई जे म्यान्डेट थियो, त्यसमा पूरापुर अनुसन्धान भएको छ।

यसका कनेक्सनहरू खुलाउने र सुन तस्करीको जालो पहिल्याउने काम भएको छ। मुद्दा अदालतमा टेकाउनुपर्ने बाध्यताका कारण अहिलेलाई प्रतिवेदन बुझाइएको हो तर संगठित र अन्तरदेशीय अपराधको अनुसन्धान जारी रहेकाले पछि पनि तथ्य खुल्न सक्ने धेरै बाटा र प्रमाण जुटेका छन्,’ उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : कांग्रेस महामन्त्री थापा

भक्तपुर-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।

नेपाल ब्युटिसियन सङ्घले भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताउनुभयो ।

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उहाँले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने उहाँले आँैल्याउनुभयो । अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उहाँले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताउनुभयो ।

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताउनुभयो । उहाँले युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थालाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीलगायतले महिलाका अधिकार प्राप्तिका लागि पुरुषले पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

आज मोतीराम भट्टको जन्मजयन्ती, साहित्यिक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २८ भदौ : नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

भातेखोला (बझाङ)- साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाउनुभएको छ ।
भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेल्नुभएका कठायतले ५५ केजी तौलबाट प्रथम हुनुभएको हो । जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको हो ।

अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गर्नुभएको हो । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुनुहुन्छ ।

आशावादी बनौँ, यसपटक नयाँ काम गर्ने जमर्को गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नीति कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ । डिजिटल हाउस नेपालले  यहाँ आयोजना गरेको ‘नेपालभ्यूज कन्क्लेभ’लाई सम्बोधन गर्दै उहाँले नीति कार्यक्रम र बजेटमा ‘उत्पादन वृद्धि र रोजगारी सृष्टि’लाई महत्व दिइएको बताउनुभयो ।

“अहिले हामीले अपनाइरहेको विकासको मोडलले समृद्धि हासिल गर्न सक्दैन अर्को वर्षको नीति कार्यक्रम र बजेट निर्माण गर्दा नयाँ ढङ्गले सोच्छौँ”, उहाँले भन्नुभयो, “अर्थविद्, बुद्धिजीवि, नागरिक समाज तथा राजनीतिक दललगायत सरोकारवालाको सामूहिक विवेकको केन्द्रीकृत अभिव्यक्तिका रुपमा नीति कार्यक्रम र बजेट आउँछ ।”उहाँले नीति कार्यक्रम र बजेटलाई सरकार, निजी क्षेत्र र बुद्धिजीविका तर्फबाट अहिलेदेखि नै छलफल गर्दै लगेर साझा निष्कर्षमा पुर्‍याउन जोड बल गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गरेदेखि नै केही न केही नयाँ काम गर्ने जमर्को गरेको र आशावादी हुन उहाँको भनाइ छ ।“नयाँ र राम्रो कामको सुरुवात गर्न कुनै तिथि मिति कुर्नु पर्दैन, मैले सरकारको जिम्मेवारी सम्हाल्नेबित्तिकै सुशासन, निजी र सार्वजनिक क्षेत्रको सहकार्यलाई अगाडि बढाउने निर्णय लिएको थिएँ”, उहाँले भन्नुभयो, “सुशासनका पक्षमा अहिलेसम्म गर्न सकिने प्रयत्न गरिएको छ, थुप्रै बेतिथीमाथि प्रहार गर्ने र त्यसलाई सुधार गर्ने प्रयास गरिएको छ ।”मौद्रिक नीति र वित्तीय नीतिका बीचमा तालमेल गर्ने भन्नेबारेमा धेरै मेहनत गरिएको उहाँको भनाइ छ । “अर्थतन्त्रमा देखिएका समस्या समाधान भए भन्ने मेरो दाबी छैन, अझै समस्या छन्, तर अर्थतन्त्रलाई लयमा ल्याउन अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्र बैंक र सम्बन्धित निकायका बीचमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यको नीति लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशमा लगानीका सम्भावनालाई खुला राखिएको बताउनुभयो ।अर्थमन्त्री डा प्रकाशशरण महतले विश्वव्यापी कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्रमा विस्तारै सुधार आइरहेको भएको बताउनुभयो । उहाँले पर्यटन र जलविद्युत् क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै विप्रेषणबाट आएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै निजी क्षेत्रलाई सरकारले विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सबै क्षेत्रभन्दा निजी क्षेत्रलाई हेर्ने नजर नकारात्मक छ । निजी क्षेत्रले आफ्नो स्वार्थका लागि मात्र काम गरेकोजस्तो टिप्पणी भइरहेको छ । यसरी निजी क्षेत्रलाई आत्मबल मिल्दैन”, उहाँले भन्नुभयो ।

आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौँ, २८ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।पितृसम्मान दिवसयसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

काठमाडौँ, २७ भदौ : नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पोसाक दुरूपयोगका साथै साङ्गठानिक मर्यादाविपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा कतिपयले प्रहरीले व्यावसायिकरूपमा गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवं अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

“नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकतानुसार उक्त भिडियोको स्कृप्टसमेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्वस्वीकृति नलिई वा स्वीकृत परियोजन तथा स्कृप्टअनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न/नगराउन, प्रहरी कर्मचारीले व्यावसायिकरूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन÷नगर्न तथा यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैको लागि अनुरोध छ”, प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमामा भनिएको छ ।

राष्ट्रपतिसँग आयोगका पदाधिकारीको भेट

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले भेट गरेको छ ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज भएको भएको भेटमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका अध्यक्ष मगरले आयोगले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै र आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नका लागि पेरिस सिद्धान्तबमोजिम आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको उपस्थिति रहेको थियो ।

नेपाली भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

काठमाडौँ, २७ भदौ : नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकरी दिनुभयो ।

विशालले स्न्याचमा एक सय २६ केजी, क्लिन एन्ड जर्कमा एक सय ६५ र कूलमा दुई सय ९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा एक सय २५, क्लिन एन्ड जर्कमा एक सय ६१ र कूलमा दुई सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।–

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

रुकुम, २७ भदौ : रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रुकुमकोट कायम गरेको हो । विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङ्गा–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो ।

रुकुम पूर्व छ वर्षदेखि सदरमुकामको विषयमा टुङ्गो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुङ्गो लागेको हो ।–––

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

मनहरी (मकवानपुर), २७ भदौ : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले मङ्गलबार बिहान हृदयाघातका कारण निधन भएका नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा जिल्लाका डा प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन लागू भएपछि एघारौँ तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई बागमती प्रदेशसभाको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।

श्रम रोजगार तथा यातायात मन्त्रालयको तर्फबाट सङ्घीय संसद् कार्यालयलाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन पारित भई आएको र प्रदेशको अधिकार सङ्कुचन गरेको भन्दै संवैधानिक अधिकार खोज्न सङ्घीय संसद् कार्यालयविरुद्ध रिट दर्ता गर्ने निर्णय भएको छ ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

राप्रपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ, २७ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा आज बृहत् विरोध सभा तथा प्रदर्शन गरेको छ ।

गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म र्‍याली निकालेको थियो ।

भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्नेलगायतका विषयमा माग गर्दै प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभयो । सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने अध्यक्ष लिङ्देनले बताउनुभयो ।

रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान

मस्को – आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गर्नुभएको छ ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्कनुभएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ । उहाँ राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा हुनुहुन्थ्यो ।

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिनुभएको रुसी समाचार समितिहरूले जनाएका छन् । उहाँले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गर्नुभएको थियो । उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

क्यान्सर अस्पतालमा २९ हजार बिरामीले सेवा लिए

नेपालगञ्ज, २७ भदौ : बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म २९ हजार दुई सय ५५ क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

क्यान्सर अस्पताल विकास समितिले आज खजुरामा आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सो जानकारी दिनुभएको हो ।

मुठी दान गरेर सङ्घीय अस्पतालका रूपमा विसं २०७५ मा स्थापना भएको उक्त अस्पतालमा हालै रक्त क्यान्सरका लागि भिन्नै वार्ड स्थापना भएको र अहिले दुई बिरामीको उपचार भइरहेको जानकारी दिँदै उहाँले फोक्सो, कलेजो, मिर्गौला, रक्त क्यान्सर, थाइराइड क्यान्सरलगायतका रोगका औषधि निःशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले छ प्रकारका औषधि दिइरेहको बताउनुभयो ।

नेपाल सरकारबाट प्राप्त भएको रु छ करोड पूँजीगत र चालु रु चार करोडबाट वृद्धि भएर आव ०८०/८१ मा पूँजीगततर्फ रु १५ करोड र चालुतर्फ रु १० करोड गरी रु २५ करोड बजेट पु¥याइएको अस्पतालले उल्लेख गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन प्रदेशका स्थानीयवासीले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले बेहोर्ने गरी छुटसमेत भएको अस्पताल विकास समितिले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा चिकित्सकसहित चार सय नौ कर्मचारी स्वीकृतिका लागि पठाइएकामा ओएन्डएम स्वीकृत नभएकाले पाँच वर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

“जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटिलता देखिएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको सङ्ख्या कूल १५ मध्ये दुई जना काजमा रहनुभएको छ ।

प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास : मुख्यमन्त्री पाण्डे

गण्डकी, २७ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको योजनामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को साथ रहने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को टोलीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा उहाँले प्रदेश सरकारले स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा कोइकाको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

लामो समयदेखि नेपाल र कोरियाबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ को गोरखा भूकम्प, कोभिड– १९ जस्ता समयमा पनि कोइकाले नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताउनुभयो । गण्डकी प्रदेशको विकासका लागि कोरिया सरकार र कोइकासँगको साझेदारी महत्त्वपूर्ण रहने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

कोइकाका उपाध्यक्ष ली युन योङले कोरियन सरकार र कोइका गण्डकी प्रदेश सरकारसँग काम गर्न पाउँदा निकै खुसी रहेको बताउँदै सहकार्य हुने धारणा राख्नुुभयो ।

गण्डकी प्रदेशको समस्यालाई सम्बोधन एवं त्यसका लागि प्रदेश सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा आफूहरू लागेको उहाँले बताउनुभयो । कोइकाले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानसँगको सहकार्यमा प्रदेशसँग सहकार्य गर्ने तयारी गरेको छ ।

गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा कोइकाको नौ सदस्यीय टोली द्विपक्षीय भेटघाटका लागि गण्डकी प्रदेश आएको हो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटा लगायतले गण्डकी प्रदेश सरकार र कोइका बीचको साझेदारीलगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

काठमाडौँ, २७ भदौ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ ।

कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको आकर्षणको केन्द्र बनाउने हो जहाँ राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम हुने छैन । “भौतिक संरचना निर्माण गर्नुपर्ने विद्यालयका लागि सोहीअनुसारको काम भइरहेको छ भने कम विद्यार्थी सङ्ख्या भएको विद्यालयको हकमा विद्यार्थी बढाउनेतर्फ कामपाले ध्यान दिइरहेको छ,” उहाँले भन्नुभयो ।

कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छ । ५९ माध्यमिक हो भने अन्य आधारभूत विद्यालय रहेका छन् । प्रमुख कोइरालाले भन्नुभयो, “कामपाले तत्काल शिक्षा नीति ल्याउने तयारी गरिरहेको छ, त्यसपश्चात् शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउँछ । अबको कामपाको शिक्षा क्षेत्रको योजना भनेको राम्रो भौतिक संरचनासहित गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।”

राम्रो भौतिक संरचना र गुणस्तरीय शिक्षाकै कारण हाल कामपामा सञ्चालनमा रहेका विद्यालय जनकल्याण माध्यमिक विद्यालय, शिवपुरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्य माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय, विश्व निकेतन, माध्यमिक विद्यालय, सरस्वती निकेतन, ज्ञानोदय माध्यमिक विद्यालयमा थप विद्यार्थीलाई पठनपाठन गराउने स्थान नभएको कामपाको भनाइ छ । आगामी दिनमा अन्य विद्यालयलाई पनि यस्तै नै बनाउने कामपाको लक्ष्य रहेको बताइएको छ ।

उहाँका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । यही अनुपातमा विद्यार्थी बढिरहने हो भने अबको केही वर्षमा कामपाले छुट्टै सामुदायिक विद्यालयल सञ्चालन गर्नुपर्ने हुनसक्छ । सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कामपा सक्रियपूर्वक लागिरहेको छ ।

प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन् । चालु आवमा कामपाले समग्र शिक्षाका लागि रु एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ । अघिल्ला वर्षहरुमा विद्यालय गाभ्ने भनेको कामपाले अहिले उक्त कार्य नगर्ने जनाएको छ ।

‘दाहाललाई प्रधानमन्त्री बनाउँदा कांग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन’

लेखनाथ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उहाँले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताउनुभयो ।

“कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्र्रेस आम जनताको सुख दुःखमा साथ दिने पार्टी नै हो”, उहाँले भन्नुभयो, “जनताको भरविश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पीपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।”

मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उहाँले आग्रह गर्र्नुभयो । “नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै जनता धनी भएको देख्न चाहन्छ, महामानव वीपीको सिद्धान्त पनि जनता धनी हुन् भन्ने नै थियो”, उहाँले भन्नुभयो ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उहाँले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट गर्नुभयो । कांग्रेसलले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्र्रेसभन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो मुलुक उनीहरूसँग विवाद गर्न चाहँदैन, र गर्न पनि सक्दैन”, उहाँले भन्नुभयो, “नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले वीपीको सिद्धान्तलाई अँगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उहाँको भनाइ थियो । कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले नेपाली कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौँ, २७ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।

उहाँको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ ।

शवयात्राको रुट उहाँको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी तयार भएको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।

आरोपीमाथि विभिन्न सातवटा कसुरमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सिआइबीले आज सरकारी वकिलमा पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले सिआइबीको टोली आरोपीसहित प्रतिवेदन लिएर कार्यालयमा आइपुगेको जानकारी दिनुभयो ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेर सरकारी वकिल कार्यालयमा पठाइएको सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात वटा कम्पनीबाट तीन सय ६२ किलो (तीन सय दुई र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिनुभयो । साठी किलो सात सय १६ ग्राम बरामद गरिए पनि अरु सुन बरामद हुन सकेन ।

अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेका छन् । १८ जना फरार रहेका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला

धुलिखेल – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताउनुभएको छ । बिपी स्टडी युथ सर्कलले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बिपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उहाँले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रनेक्रम सुरु भएको बताउनुभयो ।

नेता कोइरालालले बिपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वास्र्थीपन र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्नसकेमा मात्रै सबैचिज बलियो हुने तर्क गर्नुभयो । “अहिले सबैमा स्वार्थीपन बढी भएका कारण सामूहिकतामा भन्दा पनि व्यक्तिवादी चरित्र हाबी भएर बिग्रँदै गएको छ”, उहाँले भन्नुभयो, “पार्टी र सरकारमा भएकाले त्यसलाई त्याग्न सकेको खण्डमा जनताले सोचेको काम र कुरा पूरा गर्न सक्छौँ ।”

पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता कोइरालाले देशलाई बलियो बनाउन सङ्घीयतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताउनुभयो ।

छिट्टै प्रदेशलाई सङ्घबाट अधिकार सम्पन्न हुने नीति बनाउन आवश्यक रहेको बताउँदै उहाँले कोशी प्रदेशमा धर्मका नाममा जातीय लडाईंमा फस्दै गएको अवस्थाले सामाजिक सद्भावलाई खल्बलाउने प्रयास भइरहेकोप्रति सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले दर्शन छाड्ने तर त्यसलाई विचार, कार्यान्वयन, योजना र व्यवहारमा ढाल्न नसक्दा पछि परेको बताउनुभयो । बिपीमा विचार, नेतृत्व क्षमता, कुशलता र व्यवहारमा पनि पोख्त भएकै कारण आज बिपीको नामले चिन्न पाएको बताउँदै उहाँले विगतमा केके भयो भनेर खोजीमा लाग्ने भएर नयाँ बाटोको खोजीमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले अहिलेको नेतृत्वहरुले नयाँ पुस्ताको योग्यता, क्षमता चाहनालाई बुझ्न नसक्दा देश पछाडि पर्दै गएको बताउनुभयो । नेपाली युवाले विदेशी भूमिमा सिंचित गराइरहँदा स्वदेश उजाड भन्दै गएको उल्लेख गर्दै उहाँले जनता सरकारलाई हेरेर निराशा बन्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद् भएको बताउनुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति रञ्जित कर्णले जनताले सोचेअनुसारको सङ्घ, प्रदेश र स्थानीय सरकारमा रहेर कांग्रेसले काम गर्न नसकेको बताउनुभयो । त्यसका लागि हरेक युवाले आफू रहेको ठाउँमा बिपीको विचारको आत्मसात गर्दै काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अर्का नेता भूपेन्द्र जङ्ग शाहीले युवापुस्तामा बिपीको विचार र सिद्धान्तलाई चिन्न नसकेका कारण उहाँलाई बुझ्न र चिन्नका लागि बिपी विचार सम्मेलनको आयोजना गरेको बताउनुभयो । बिपी स्टडी युथ सर्कलमा आबद्ध रहेको देशैभरिबाट सहभागी भएको युवाले सबै प्रदेशको नेतृत्व गर्दै आआफ्नो विचार र धारणा राखेका थिए ।

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री महत

काठमाडौँ, २७ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनुभएको छ । दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबाट रुष्ट भएकाले असहयोग गरिरहेको उहाँको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । “नीतिगत सुधार आवश्यक छ । बजेटमा कुन काम कसरी गर्ने भनेर योजना बनाइएको छ । तर अहिलेको अवस्थामा बढी चुनौतीपूर्ण भनेको कार्यान्वयनको पाटोमा छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “अहिले पाइरहेका सुविधा आर्थिक सुधार र पुनःसरचनाका क्रममा गुम्ने भएपछि केही व्यक्तिले त्यसलाई राम्रो मानेका छैनन् । ‘रिफर्म’ भनेको खाइपाइ आएकोबाट च्युत हुनुपर्छ । सुविधाबाट बञ्चित हुने भएपछि अवरोध भएको छ ।”

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट अर्थतन्त्र सुधारका लागि केही महत्त्वपूर्ण योजना ल्याएको थियो । जसमा चालु तथा साधारण खर्च कटौती, अनावश्यक संरचना खारेजी तथा गाभ्ने प्रक्रिया थालनी, संस्थागत तथा वित्तीय सुशासन, राजस्व चुहावट नियन्त्रण र दायरा विस्तार, दक्ष र नतिजामुखी प्रशासन, पुँजीगत खर्च वृद्धिलगायतका नीति बजेटमार्फत ल्याइएका थिए ।

विकास र समृद्धिका लागि नागरिकका आकाङ्क्षा निकै बढी हुनु तर त्यसको पूर्ति गर्न सरकारसँग स्रोत अभाव रहनु पनि अहिलेको समस्या रहेको अर्थमन्त्री महतको भनाइ छ । “स्रोत थोरै छ । अपेक्षा धेरै छन् । जसकारण गुनासो बढेको हो । त्यसका बाबजुद पनि सकारात्मक नतिजा देखिन थालेका छन्”, अर्थमन्त्री महतले भन्नुभयो, “परिणाम स्वस्फूर्तरूपमा आउँदैनन् । अर्थतन्त्रका सबैपक्ष (स्टक होल्डर) लयमा हिँड्न थालेपछि नतिजा देखिन्छ । अर्थतन्त्र सुस्त (स्लो) छ, पीडादायी (पेनफुल) छ । तर राम्रो बाटोमा अघि बढिरहेको छ ।”

उहाँले अहिले विप्रेषण आप्रवाह पर्याप्त आइरहेको भए पनि बजार चलायमान हुन नसकेको बताउनुभयो । लगानीकर्तामा उत्साह नदेखिँदा बजार चलायमान हुन नसकेको उहाँको भनाइ छ । “पर्याप्त तरलता हुँदा र ब्याजदर सहज अवस्थामा हुँदा पनि लगानीका लागि सकारात्मक माहोल बन्न सकेन । पहिले जस्तो शेयर बजार, जग्गामा लगानी भएको छैन । लगानीकर्ता, बैंक, सर्वसाधारण सबैमा हिचकिचाहट छ”, अर्थमन्त्री महतले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि सकारात्मक बहस र लगानीकर्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको डा महतले बताउनुभयो । निजी क्षेत्रले भनेको सबै ठिक, नियामकले भनेको सबै ठिक वा सरकारले भनेको सबै ठिक भन्ने भावनाबाट मुक्त भएर सबैपक्ष मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहिले कोभिड महामारी पछिको अर्थतन्त्र पुनरुत्थानका लागि नियामक नेपाल राष्ट्र बैंकले लचक मौद्रिक व्यवस्था ल्याएको र त्यो बेला सहज ऋण पाउँदा सोच विचार नै नगरी लगानी गर्दा अहिले समग्र लगानीको वातावरण नै खल्बलिएको उहाँको भनाइ छ । “हिजो सहज मौद्रिक नीति हुँदा, सहज ऋण पाउँदा सोच विचार नै नगरी लगानी भयो । जसको अपेक्षित प्रतिफल आएन । अब पहिल्यै ऋण लिएर तिर्न नसकेकालाई थप ऋण दिनसक्ने अवस्था छैन । नयाँ ऋण लिन खोज्नेलाई समग्र माहोल लै नै निरुत्साहित (डिस्करेज) गरेको छ”, उहाँले भन्नुभयो । हिजोका दिनमा जथाभावी धेरै कर्जा विस्तार हुनु भनेको लिनेको मात्र नभई दिनेको पनि गल्ती रहेको अर्थमन्त्री महतको बुझाइ छ ।

राष्ट्र बैंकले पहिले चलक नीति र अहिले बन्देजकारी नीति लिँदा केही वित्तीय क्षेत्रमा केही समस्या देखिन गएको छ । त्यस्तै अनुत्पादक क्षेत्र भन्दैमा शेयरबजार र घरजग्गा क्षेत्रलाई उपेक्षा गर्न नसकिने र समग्र बजार चलायमान बनाउनका लागि यी दुई क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ ।

राष्ट्र बैंकले अहिले शेयर बजारमा लगानी गर्नका लागि समग्र वित्तीय प्रणालीबाट रू १२ करोडभन्दा बढीको शेयर धितो कर्जा नपाउने गरी सीमा तोकेको छ । यस्तो सीमालाई रू १८ देखि २० करोडसम्म बनाउन सकिने अर्थमन्त्री महतले बताउनुभयो ।

“शेयर र घरजग्गा क्षेत्र ‘ओभर हिटिङ’ भएकै हो । घरजग्गाको मूल्य विस्तारै घट्दै जानुपर्नेमा कारोबार ठप्पको अवस्थाजस्तो हुनुहुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “अनुत्पादक क्षेत्र भनेर भएन, त्यो पनि पैसाको ‘सर्कुलेसन’ हो । यी क्षेत्रबाट पनि बजार चलायमान हुन्छ । उत्पादन क्षेत्र पहिलो प्राथमिकता हो । यसो भन्दैमा अनुत्पादक क्षेत्रमा जानै हुँदैन भन्ने होइन ।”

नेपालको श्रमशक्ति विदेशिने क्रम यसरी नै बढिरहने हो भने नेपालमा केही समयपछि जनशक्ति अभावको अवस्था आउने अर्थमन्त्री डा महतको भनाइ छ । नेपालमा अवसर खोज्दै नखोजी विदेश जाने प्रवृत्ति बढेको महतले बताउनुभयो ।

“नेपालमा अवसर छैन, नेपाल काम नै छैन भन्ने भाष्य आधा सत्य मात्रै हो । अन्त जानेबित्तिकै सबै कुरा पाइन्छ भन्नेकुरा विद्यार्थीका हकमा सत्य होइन । उनीहरु धेरै लगानी गरेर गैरहेका छन् । त्यसको प्रतिफल आउनेवाला छैन”, डा महतले भन्नुभयो, “यहाँ अवसर छ भनेर हेर्न नै खोजेनन् । अघिल्लो पुस्ताले पनि त्यसलाई युवापुस्तालाई बुझाउन नसकेको देखिन्छ । यहाँ अवसर कति छ भन्ने हेर्दै नहेरी कसरी हुन्छ ?”

राजस्वसँग सम्बन्धित समस्याबारे उच्चस्तरीय अध्ययनको तयारी सरकारले गरिरहेको पनि अर्थमन्त्री महतले जानकारी दिनुभयो । त्यस्तै, आगामी आर्थिक वर्षदेखि तीन तहका सरकारले कार्यान्वयन गर्नसक्ने योजनाको बजेटसम्बन्धी सीमा निर्धारण गरिने उहाँको भनाइ छ । स्थानीय तह र प्रदेशले कति रकम कस्तो प्रकृतिको योजनामा काम गर्ने भन्ने सीमामा बाध्न कार्यविधि बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बहुवर्षीय आयोजनामा काम गर्ने शैलीमा पनि परिवर्तन गर्नेगरी सरकारले तयारी गरिरहेको डा महतले बताउनुभयो । राष्ट्रिय गौरव र ठूला प्रकृतिका आयोजनाबाहेक अरु कुनै पनि आयोजनामा तीन वर्षभन्दा बढी समयका लागि स्रोत सुनिश्चितता नदिने र अधिकतम चार गुणासम्मको स्रोत सुनिश्चितता दिन नमिल्ने गरी कानूनी व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ । स्रोत सुनिश्चितता भएको अवधिसम्म आयोजना सम्पन्न नभएमा ठेक्का तोडिने गरी कानून बन्न लागेको हो ।

त्यस्तै काम सम्पन्न भएका आयोजनामा निर्माण व्यवसायीले भुक्तानी नपाएको विषय सत्य नभएको उहाँले स्पष्ट पार्नुभयो । “साल तमामी गर्न बाँकी र आर्थिक वर्षको अन्तमा भुक्तानी हुन नसक्दा रोकिएको करिब सात÷आठ अर्बभन्दा बढी भुक्तानी बाँकी छैन । अर्थ मन्त्रालयले अरु विषयगत मन्त्रालय र निकायलाई कुन आयोजनामा कति भुक्तानी बाँकी छ विवरण देऊभन्दा दिएनन् । निर्माण व्यवसायीको पनि यसमा कमजोरी छ”, अर्थमन्त्री महतले भन्नुभयो । सिर्जना भइसकेको दायित्व अर्थमन्त्रालयले कामको प्रगति हेरेर भुक्तानी दिने उहाँले स्पष्ट पार्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा

वाशिङ्टन डिसी, २७ भदौ : संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुग्नुभएको छ । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गर्नुभएको थियो ।

न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनुहुनेछ । गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरुले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ ।

यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसपटक विश्वभरका नेताहरुले सद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धता : सन् २०३० को एजेण्डाको दु्रतगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपन भन्ने मूल नारा तय गरिएको छ ।

यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ । २० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ । सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ । यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नुहुनेछ ।

यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ । राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ । यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्री स्तरीयरुपमा सहभागिता जनाउनेछ ।

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती, २७ भदौ : हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो ।

हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध्ये अधिकांश उद्योगको अवस्था कमजोर एवं नाजुक रहेको बताइएको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन भइरहेका छन् । साथै कतिपय उद्योग कहिले चल्ने र कहिले बन्द हुने अवस्थामा छन् । त्यहाँ सञ्चालित उद्योगको उत्पादन र बिक्रीसमेत घट्दै गएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख भोजराज विराडीका अनुसार उद्योगको अवस्था विगत तीन वर्षदेखि दिन प्रतिदिन खस्किँदै गएको र लगानीअनुसार प्रतिफल प्राप्त नभई घाटा बढ्दै गएको छ । उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा उद्योगीले दिएको जानकारी तथा गुनासोका आधार आफूले उत्पादनमा कटौटी गरेको जानकारी पाएको उहाँको भनाइ रहेको छ । विगत तीन वर्ष अगाडि विश्वमै फैलिएको कोरोना महामारीका साथै विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्था उठ्न नसकेको उहाँको भनाइ छ ।

सो औद्योगिक क्षेत्रमा एक सय ४७ वटा सरकारी र निजीसहित एक सय ४७ औद्योगिक प्रतिष्ठान रहेको र तीमध्ये एक सय १५ वटा उद्योग सञ्चालनमा रहेका छन् भने नौ वटा उद्योग बन्द भइसकेका छन् । त्यसैगरी २३ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र उद्योगमा कामदारको सङ्ख्या पाँच हजार रहेको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ ।

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको तर्फबाट रु पाँच अर्व ५५ करोड र सरकारी क्षेत्रबाट रु ९० करोड लगानी रहेको छ । सो उद्योगबाट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई मासिक रु तीन करोड भाडा उठ्ने गरेको छ तर उद्योगको अवस्था नाजुक रहेकाले भाडा दिनमा समेत समस्या रहेको उद्योगको गुनासो रहेको पाइएको छ ।

त्यहाँ सञ्चालनमा रहेका उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिकमन्दीको कारणले उद्योगको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ताको भनाइ रहेको छ ।

अहिले बजारको अवस्था नाजुक छ, पसल र सटर खाली हुँदै गएको छ, उद्योगबाट उत्पादित सामान बिक्री हुँदैन र यो गम्भीर समस्या हो उहाँले भन्नुभयो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र थप उद्योगमा लगानी गर्न बैंकले ऋणसमेत दिँदैन हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।

अहिले देशमा उद्योगी र व्यवसायी पलायन हुने अवस्था हुँदै गएको छ र व्यापार घाटाले हरेक व्यक्ति विदेश जाने चाहनामा रहेको पाइएको प्राध्यापक डा योगेन्द्र यादवले बताउनुभयो । स्वदेशमा रोजगारीको वातावरण बनाउन उहाँको विचार रहको छ ।

सो औद्योगिक क्षेत्रमा निर्माण सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छ, इन्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० उद्योग रहेका छन् । त्यस्तै सो औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा सङ्घ–संस्थातर्फ ११ कार्यालय रहेका छन् ।

सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोगका लागि धन्यवाद

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरूबीच दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।

राजदूत भोल्कले जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताउनुभयो । नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य भएको उल्लेख गर्दै उहाँले नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलिया सरकारले काम गरिरहेको बताउनुभयो ।

भेटमा उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताउनुभयो ।

नेम्वाङ : निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त

काठमाडौँ, २७ भदौ : हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहनुभएको थियो ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानूनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आउनुभएको थियो ।

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो । द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायतका विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।

यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागी भई नेम्वाङले विधेयकका कानूनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिनुभएको थियो । त्यसको अघिल्लो दिन उहाँ एमाले निकट राष्ट्रिय युवा सङ्घको कार्यक्रममा सहभागी भई धरानबाट फर्कनुभएको थियो ।

उक्त अनौपचारिक बैठकमा सहभागी जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झा (ठाकुर) ले त्यस दिन सुवास नेम्वाङसँग रमाइलो ढङ्गले कुराकानी भएको स्मरण गर्दै रासससँग भन्नुभयो, “मैले दाइ कुन चिया खाने भनेँ । उहाँले अलि रुघा लागेको छ, चिया खाएपछि दूध हालेकै खाउँ भन्नुभएको थियो ।” नेम्वाङले आफूलाई उच्च रक्तचाप र चिनीरोग भएको पनि सदस्यलाई अवगत गराउनुभएको थियो ।

उपसमितिका सदस्यबीच यही भदौ २५ गते सोमबार पनि उक्त विषयमा छलफल गर्ने कुरा भएअनुसार सभापति विमला सुवेदीसहित सदस्य उपस्थित भइसकेका थिए । सुवास नेम्वाङ नआइपुगेपछि सभापति सुवेदीले फोन गर्दा नेम्वाङले बिरामी भएर घरमा आराम गरिरहेको जवाफ दिँदा झाले ‘सुनाइमा गल्ती भयो होला, हिजो मात्रै यहीँ भेटेको बिरामी होइन होला, विराटनगरबाट अस्ति फर्किएको भन्नुभएको होला’ भनेर सम्झाएको सुनाउनुभयो । जसपामा आउनुअघि नेम्वाङकै पार्टी एमालेबाट सांसद भई विगतमा प्रतिनिधिसभाको शिक्षा समितिको सभापति रहनुभएका झाले यही भदौ २६ गते मङ्गलबार बिहानै नेम्वाङको निधन भएको खबर सुन्दा आफू निकै दुःखी र आश्चर्यमा परेको बताउनुभयो ।

उक्त विधेयक गत फागुन २५ गते सङ्घीय संसद्मा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गर्नुभएको थियो । नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुङ्गोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गर्नुभएको राईले जनाउनुभयो ।

अनौपचारिक बैठकमा उपसमिति संयोजक प्रधान, एमालेका महेश बर्ताैला, नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, जसपाका झा, जनमत पार्टीका गोमालाभ सापकोटा सहभागी हुनुहुन्थ्यो । वीपी साहित्य महोत्सव सञ्चालन भइरहेका कारण नेपाली कांग्रेसका रमेश लेखक भने भदौ २४ गतेको बैठकमा उपस्थित हुनुभएको थिएन ।

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम) : इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो ।

नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।”

अब फेरि देशले उहाँजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ”, श्रेष्ठले भन्नुभयो । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उहाँको भनाइ छ ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताउनुभयो । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उहाँको विश्वास छ ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उहाँले सुनाउनुभयो । टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सुशीलाको भनाइ छ ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भन्नुभयो, “उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा ग¥यो भने ऊ रुन्थ्यो”, राईले भन्नुभयो, “भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।” गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्नुहुन्छ, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिनुभएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताउनुभएको थियो । बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिनुभयो । उहाँले कानुनमा स्नातक अध्ययन गर्नुभएको थियो ।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बन्नुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याउनुभएको थियो । नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बन्नुभएको थियो । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याउनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याउनुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याउनुभएको थियो ।

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ, २७ भदौ : किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नुहुने छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार छ प्रदेशका छवटा अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइने बताउनुभयो ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । शाखाका प्रमुख डा गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्याइसकेको बताउनुभयो । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ (६६ दशमलव पाँच प्रतिशत) को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले आज बुझाउँदैै

काठमाडौँ २७ भदौ : हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताउनुभयो । आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीको तयारी गरेको पनि उहाँले बताउनुभयो । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

नागरिकले मागेका सूचना लुकाउनु हुँदैन : सूचना आयुक्त मैनाली

झापा – राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताउनुभएको छ । सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने उहाँको धारणा छ ।

आयोगद्वारा मंगलबार झापाको भद्रपुरमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सरकारलाई जनताप्रति जवाफदेही र नागरिकमैत्री बनाउन सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था भएको बताउनुभयो ।

उहाँले हरेक नागरिकलाई आफ्नो व्यक्तिगत सरोकार र सार्वजनिक महत्त्वका सूचना माग्दा पाउने अधिकार भएको स्पष्ट पार्नुभयो । नागरिकले सूचना नमागे पनि २० वटा विषयको सूचना हरेक सार्वजनिक कार्यालयले स्वतः सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको स्मरण गराउँदै सूचना नदिए, लुकाए र स्वतः सार्वजनिक हुनुपर्ने सूचना प्रकाशित नगरेमा सम्बद्ध निकायको प्रमुख र सूचना अधिकारीले कारवाहीको भागीदार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका उपसचिव रामप्रसाद ढकालले सूचनाको हक कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरूको भूमिकासम्बन्धी अर्को कार्यपत्र प्रस्तुत गर्दै लोकतान्त्रिक शासन प्रणालीमा सरकारलाई जवाफदेही बनाउन जतिसक्दो धेरै मात्रामा नागरिकलाई सुसूचित गराउनु पर्ने धारणा राख्नुभयो ।

उहाँले सार्वजनिक महत्त्वको कुनै पनि निकायका प्रमुख वा सूचना अधिकारीले मागेको सूचना नदिएमा निजलाई रु एक हजारदेखि रु २५ हजारसम्म जरिवाना हुने जानकारी दिनुभयो ।सूचना माग्ने व्यक्तिले सूचना लिने प्रयोजन स्पष्ट खुलाउनु पर्ने र अन्यथा दुरूपयोग गरेको पाइएमा रु पाँच हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्न सकिने समेत उहाँले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिक मालिक हुन् भन्ने मान्यताको आधारमा सूचना मागेपछि दिनुपर्ने बताउनुभयो । सूचना दिने र लिनेबीचको बुझाइमा रहेको फरकपन र गोप्य राखिनुपर्ने भनिएका कागजातको वर्गीकरणमा स्पष्टता नहुँदा सूचनाको हकको कार्यान्वयन चुनौतिपूर्ण बनेको उहाँको धारणा थियो ।

उहाँले सूचना नलुकाउन जिल्लाका सबै सरकारी कार्यालय र सूचना अधिकारीहरूलाई निर्देशन दिनुभयो । सूचना जति धेरै प्रवाह गर्न सक्यो नागरिक त्यति नै धेरै शक्तिशाली हुने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले सूचना दिनेहरूमा कुन प्रयोजनका लागि होला भनेर हच्किने र लिनेहरू प्रतिशोध साध्ने हिसाबले बहकिने गरेका कारण सूचनाको हक कार्यान्वयनमा बाधा पुगिरहेको बताउनुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले परिवर्तित अवस्थामा स्थानीय तहमा सूचनाको हक माग्न आउनेहरू बढेको जनाउँदै नागरिकहरूको थाहा पाउने हक सुनिश्चित गर्न स्थानीय सरकारहरू प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । उहाँले सूचनाको हकले स्थानीय जनप्रतिनिधिहरूलाई बढी जिम्मेवार बनाउने अनुभूति गरेको बताउनुभयो ।

अधिकांश उजुरी स्थानीय तहमा

राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयनका लागि पर्ने अधिकांश उजुरीहरू स्थानीय तहसँग सम्बन्धित हुने गरेको जनाएको छ ।आयोगका सूचना आयुक्त मैनालीले आर्थिक वर्ष २०७६/०७७ मा आयोगमा एक हजार १३ वटा उजुरी परेकोमध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको सङ्ख्या ५३ प्रतिशत रहेको बताउनुभयो ।

उक्त आवमा गैरसरकारी संस्थासँग सम्बन्धित २० प्रतिशत, शिक्षा, स्वास्थ्य र खेलकुदसँग सम्बन्धित १० प्रतिशत, आर्थिक क्षेत्रसँग पाँच प्रतिशत र जग्गा, मालपोत, वन र कृषिसँग चार प्रतिशत उजुरी परेको उहाँले जानकारी दिनुभयो यसैगरी, आव २०७७/०७८ मा सात सय ५३ वटा उजुरी परेकोमा स्थानीय तहसँग सम्बन्धित पाँच सय ४६ वटा उजुरी रहेको उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो । आव २०७८/०७९ मा एक हजार ८३ वटा उजुरी परेकोमा स्थानीय तहसँग आठ सय ५१ वटा उजुरी सम्बन्धित थिए ।

बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने : ह्वाइट हाउस

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

युक्रेनमा रूसको युद्धले संयुक्त राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताउनुभएको छ ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।ह्वाइट हाउसले यो वर्ष बाइडेनले कुन नेतालाई भेट्ने छन् भन्नेबारे केही बताएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पनि संयुक्त राज्य अमेरिकाको भ्रमणको एक भागको रूपमा अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थित हुनेछन्, यद्यपि इजरायली अधिकारीहरूले बाइडनलाई भेट्ने कुनै योजना नरहेको बताएका छन् ।

नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले अघि बढाइरहेको न्यायिक सुधारको बाइडेनले आलोचना गरेपछि नेतन्याहू र बाइडनबीचको सम्बन्ध गत वर्ष इजरायली राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै तनावपूर्ण बनेको छ ।

जुलाईमा ह्वाइट हाउसले बाइडेन र नेतन्याहूबीच यसै वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने बताएको थियो ।

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

चितवन, २७ भदौ : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् ।

मोरङबाट उपचारका लागि यहाँ आउनुभएकी दिव्या तिमिल्सिनाले अस्पतालमा पर्याप्त उपकरण नहुँदा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पताल भनेर आउने तर उपचारका लागि बाहिर जानुपर्ने हो ।”

यस्तै पर्वतबाट श्रीमतीको उपचारका लागि आउनुभएका बलराम सुवेदीले अस्पतालका चिकित्सकले बिरामीलाई उपचारका लागि बाहिर पठाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा शय्या खाली हुँदा पनि पालोमा राखिने गरेको छ । त्यससँगै समयमा उपचारका लागि निजी अस्पताल पठाउने गरिएको छ ।” स्वास्थ्य बिमाबाट पाउने गरेको सेवा–सुविधासमेत अस्पतालबाट नपाएको उहाँले गुनासो गर्नुभयो ।

मन्त्री बस्नेत आएको जानकारी पाएर अस्पतालको प्रशासन भवन अगाडि जम्मा भएका बिरामीका आफन्तले बिमाबाट अस्पतालको फार्मेसीमा पाउनुपर्ने औषधिसमेत नपाएको गुनासो गरेका थिए । सुवेदीले थप्नुभयो, “बिमाबाट सिटामोलसमेत पाउन सकिएन मन्त्रीज्यू”, बाहिरी जिल्लामा बिमाबाट भएको उपचार र पाएको औषधि यहाँ बाहिर किन्नुपरेको उहाँको गुनासो थियो ।

गुल्मीबाट बिरामी लिएर आउनुभएका कृष्णप्रसाद न्यौपानेको पनि गुनासो उस्तै थियो । सरकारले दिएको सेवा–सुविधासमेत अस्पतालबाट पाउन नसकेको भन्दै उहाँले मन्त्रीका सामु आक्रोश पोख्नुभयो । बिरामी र बिरामीका आफन्तलाई अस्पतालका कर्मचारीले हेयका दृष्टिले हेर्ने गरेको गुनासो राख्दै उहाँले भन्नुभयो, “कर्मचारीले बिरामीका आफन्तलाई बुझ्ने भाषामा बुझाउने हो कि झर्कनेफर्कने हो ।”

सर्लाहीबाट उपचारका लागि आएकी एक महिलाले पैसाको अभावमा उपचार गर्न नसक्ने अवस्था आएको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “गाउँलेको सहयोगमा उपचार गराइरहेकी छु, अब कति दुःख दिनु”, गाउँबाट सहयोग गरिरहने दिदीले काठमाडौँ जानुपर्ने भयो भन्नुभयो अब कसरी उपचार गर्ने उहाँको गुनासो थियो । अस्पतालमा बिजुलीदेखि खानेपानी, शौचालयसम्म र चमेना गृहसम्मको गुनासो मन्त्री बस्नेतलाई बिरामीका आफन्तले राखेका थिए ।

बिरामी र बिरामीका आफन्तको गुनासो सुनिसकेपछि मन्त्री बस्नेतले अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाउने तथा त्यस्तो गरेमा अस्पताल प्रशासन र चिकित्सकलाई कारबाही गरिने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “योभन्दा सेवा–सुविधा भएको अस्पताल कुन हुनसक्छ । यहाँबाट बिरामी बाहिर पठाउने काम बन्द हुनुपर्छ । बिरामी बाहिर पठाए कारबाहीको भागिदार बन्नुपर्ने छ ।”

अस्पताल प्रशासनलाई निर्देशन दिँदै उहाँले थप्नुभयो, “अस्पताल आएका बिरामी को कहाँ कति सिफारिस भए, के कारणले भए मलाई मासिक विवरण पठाउनुहोला ।” सरकारी अस्पतालमा आएका बिरामीलाई उपचारका लागि निजीमा पठाउने छुट कसैलाई नभएको उहाँको भनाइ थियो ।

“कान्ति बाल अस्पतालमा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भयो । त्यसको सजाय सम्बन्धित चिकित्सकले पाउनेछन् । त्यसैगरी यहाँ पनि कारबाही हुन्छ”, अस्पताल प्रशासनलाई निर्देशन दिँदै मन्त्री बस्नेतले भन्नुभयो– “सहजै हुने सुधार १५ दिनभित्र गर्नु र अन्यको प्रक्रिया अघि बढाउनु । बिरामीले दुःख पाउनु भएन ।” तीन महिनाभित्र नतिजा दिने गरी काम गर्न उहाँले अस्पतालका चिकित्सक कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “नतिजा आउने गरी काम गर्नुस् । आवश्यक सहयोग म गर्छु ।”

हुँदा खाने वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफू लागिपरेको उल्लेख गर्दै मन्त्री बस्नेतले अहिले आठ सयभन्दा बढी चिकित्सकको काज सरुवा बदर गरी गाउँ पठाइएको जानकारी दिनुभयो । अहिले सरकारले तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरेको र यसलाई अझै प्रभावकारीरूपमा अघि बढाउने उहाँले बताउनुभयो । पैसाको अभावमा उपचार गर्न नपाएको गुनासो गरेकी सर्लाहीकी महिलालाई मन्त्री बस्नेतले रु पाँच हजार नगद सहयोग गर्दै निःशुल्क उपचारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।

मन्त्री बस्नेतका साथमा रहनुभएका बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भनसुनका आधारमा उपचार नभई सबैलाई एउटै तवरले व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मानवीयतासँग जोडिएको कुरामा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै उहाँले अस्पताललाई क्षति हुने गरी काम गर्न छुट कसैलाई छैन भन्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा अहिले दैनिक एक हजार एक सय १५ सम्म बिरामी बहिरङ्ग सेवामा आउने गरेको जानकारी दिनुभयो । जसमध्ये दुई सय २६ बिरामी नयाँ र अन्य नियमित जाँचका लागि आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा अहिले चार सय ५० शय्या सञ्चालनमा रहेको बताउँदै उहाँले यहाँको सेवालाई अझै प्रभावकारी बनाउँदै लैजानेतर्फ प्रशासन लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा यही दिने गरी हामीले काम अघि बढाएका छौँ ।”

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी निर्देशक नहुँदा झेल्नुपरेको समस्या र त्यसबाट उत्पन्न विभिन्न बाधा विस्तारै हल हुँदै गएको बताउनुभयो । अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइले औषधि खरिददेखि अन्य काम रोकिएको भन्दै उहाँले अब यी काम छिट्टै पूरा हुने बताउनुभयो । चार महिना रिक्त रहेपछि गत सातामात्रै अस्पतालले कार्यकारी निर्देशक पाएको हो ।