`

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उहाँको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विदेशबाट छोराहरू आइसकेपछि उहाँको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

एमालेले उहाँको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगानी गर्नसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । विकासका पूर्वाधारको उचित प्रवर्द्धनले मात्र समग्र देशको विकास सुनिश्चित हुने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो सर्कुलर गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार देशका केही स्थानमा भारी भारी बर्षाको सम्भावना रहेको छ भने केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सरकार गठन हुनासाथ ढाल्न लाग्ने कसरतले समृद्धि आउन्न : सांसद नेपाली

काठमाडौँ – पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिनुहुन्छ । प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भन्नुहुन्छ, “देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई सुखानुभूति हुने गरी सदनमा भनाइ राख्नुपर्छ ।”

उहाँको भनाइ छ– “सदनमा कसले के भन्यो भन्नेतिर नगई विधेयक र जनताका सुख–दुःख, गुनासाका आवाज उठाउनैपर्छ, पुरानाले सिकाउनुपर्नेमा उहाँहरूलाई नै सम्झाउनुपर्ने जस्तो देख्छु । त्यो ठाउँमा अरु बेतुक र छाडा बोल्ने होइन नि !”

सात वर्षको राजनीतिक यात्रा, स्वास्थ्य क्षेत्रमा अहेब पृष्ठभूमि रहेकी प्रतिनिधिसभा सदस्य नेपालीले ‘सांसदसँग–रासस’ संवादमा नीति निर्माणको जिम्मेवारीमा सांसद केन्द्रित हुनुपर्नेमा सत्ता प्राप्तिको दौडधुपले विधायिकी भूमिका कमजोर तुल्याएको बताउनुभयो ।

सांसदले आफ्नो भूमिकालाई विधेयक तथा जनताका सरोकारका मुद्दामा केन्द्रित गरेका विषयलाई पनि सरकारबाट यथोचित सम्बोधन नहुँदा जनतामा निराशा पैदा भएको मात्र नभई महत्त्वपूर्ण विधेयक निर्माणका कार्यसमेत ओझेलमा परेको उहाँको गुनासो छ । विधेयकमा समेटिएका स–सना विषयलाई पनि बेलैमा ध्यान पुर्याएर छलफल गरिएन भने जनताले भविष्यमा फेरि दुःख पाउने पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सांसद नेपालीले देशमा बलियो कानुन नभएका कारण जनताले दुःख पाइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “ठूला दलबीचको द्वन्द्वका कारण सदनमा सांसद उपस्थित भए पनि बैठक चल्दैन, एउटा दल विशेषका कारण सदन चल्दैन भने त्यसविरुद्ध आवाज उठाउनु स्वभाविक र ठीकै कुरा हो, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने पनि लाग्छ ।”

समानुपातिक निर्वाचन प्रणालीमा दलित आरक्षण समूहमा राप्रपाबाट निर्वाचित नेपाली भन्नुहुन्छ, “आफ्ना प्रतिनिधिका अभिव्यक्ति संसद्को रेकर्डबाटै हटाउने अवस्था आउला भनी जनताले अपेक्षा गरेका थिएनन्, तर दुर्भाग्य यहाँ यस्तै भइरहेको छ ।”

‘माननीय’ पद र भूमिकाको गहन अध्ययन नहुँदा सदनका बैठक खुलामञ्चका आमसभाजस्तो हुने गरेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिले बोली र व्यहारलाई सुधार गरी सभ्य भाषा प्रयोग गरेमात्र सदन र सांसदको ओज बढ्ने सुझाव दिनुभयो ।

सांसद नेपाली भन्नुहुन्छ, “संसद् नियमावलीमा कसरी बोल्ने, कसरी बस्ने भन्नेसम्म स्पष्ट व्यवस्था छ, तर कतिपय माननीयले त पोशाकै खोलेर नाङ्गै हुनसमेत भ्याएको अवस्था छ ।” सदन विधि र नीति निर्माण गर्ने मूल थलो भएकाले मूल जिम्मेवारी तथा दायित्वलाई दुरुपयोग होइन, सदुपयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत कुनै कुराको दुःख नहोस् भनेर निर्वाचनमा मत दिई ठूला दल बनाएको प्रसङ्ग उल्लेख गर्दै सांसद नेपालीले जनताका आवाजलाई कार्यान्वयन हुने ढङ्गले सदनमा प्रस्तुत हुन सबै सदस्यलाई आग्रह गर्नुभयो । उहाँले तीन तहका सरकारबीच विकास र समृद्धिका विषयमा समन्वय तथा सहकार्यको साटो स्वार्थपन बढी देखिएको र दलबलका आधारमा योजना छनोट प्रवृत्तिले सङ्घीय संसद्का सांसद पनि त्यसैमा दौडने गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।

एक प्रसङ्गमा सांसद नेपालीले भन्नुभयो, “प्रजातन्त्रको पुनःस्थापनापछि राजनीतिमा प्रवेश गरेका कयौँ नेताका सहरमा आलिसान महल बनेका छन्, गाडीमा हुइकिएका देखिन्छन्, तर मत दिने जनताको हालत भने ज्यूँको त्यूँ छ, यसमा कसैलाई वास्ता छैन ।”

महँगो निर्वाचन प्रणाली, भागबण्डाको राजनीति, मुलुकले धान्नै नसक्ने सङ्घीयता र प्रदेशको औचित्यमाथि राप्रपाले प्रश्न उठाइरहेको उल्लेख गर्दै नेतृ नेपालीले एउटा सरकार गठन हुनासाथ त्यसलाई ढाल्न हुने कसरत र अभ्यासले मुलुकलाई समृद्धि दिन नसक्ने धारणा राख्नुभयो ।

राजनीतिलाई सेवाका रूपमा लिएर काम गर्न होमिएको उहाँको भनाइ छ । सांसद नेपाली भन्नुहुन्छ, “विगतदेखि नै दीनदुःखीको सेवा गर्दै आएकी छु, राजनीतिलाई पनि सेवाकै रूपमा बुझेकी छु ।”

त्रिचन्द्र क्याम्पसमा पहिलो महिला प्रमुख

काठमाडौँ । नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी हुन्।

क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उनी सो क्याम्पसको ३३ औँ प्रमुख बनेकी छन् । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आईएससी र त्यसपछि बीएससी अध्ययन गरेकी डा. श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेकी छन् । उनले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गरेकी थिइन् ।

आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रत्येक नागरिकले दिनको एक घण्टा शारीरिक व्यायामको लागि समय दिनुपर्छ : मन्त्री बस्नेत

भरतपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक नागरिकले दिनको एक घण्टा समय शारीरिक व्यायामको लागि छुट्याउनुपर्ने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका–११ गैँडाहाबाट सुरु भएको ‘ब्युटिफुल माइण्ड’ राष्ट्रिय जनजागरण अभियानको उद्घाटन गर्दै मन्त्री बस्नेतले शरीर स्वस्थ राख्नका लागि व्यायाम अनिवार्य भएको बताउनुभयो । “मैले बिहान नसके बेलुका व्यायाम गर्छु । स्वास्थ्य स्वस्थ राख्न व्यायाम आवश्यक छ”, उहाँले भन्नुभयो, “एक घण्टा आफ्नो लागि छुट्याउनुपर्छ ।” बेलैमा दैनिक व्यायाम गरेमा दीर्घरोगको समस्या नहुने उहाँले बताउनुभयो । व्यायाम गरेपछि मानसिक स्वास्थ्यसमेत ठीक हुने मन्त्री बस्नेतको भनाइ छ ।

उहाँले स्वास्थ्य र शिक्षा निःशुल्क भए आत्महत्याको दरसमेत कम हुने बताउनुभयो । स्वास्थ्य र शिक्षालाई सहज बनाउनतर्फ सरकार लागेको उहाँको भनाइ छ । “अहिले नेपाल सकारले प्लस टुसम्म निःशुल्क गर्ने व्यवस्था ल्याउँदै छ”, उहाँले भन्नुभयो, “हुनेखानेका लागि सहज बनाउने र गरिबलाई निःशुल्क बनाउने हो ।” कम्तीमा स्नातक तहसम्म निःशुल्क शिक्षा दिन सरकारले सक्नुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभयो । “अहिले जनरल बेड निःशुल्क गरिएको छ । प्राइभेटमा पनि १० वटा बेड निःशुल्क हुनुपर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “गरिब र विपन्नले पनि सहज उपचार पाउनुपर्छ भन्नेमा सरकार छ ।”

सहकारीले बचत फिर्ता नगरेको भन्दै कारबाहीको माग गर्दै उजुरी

लुम्बिनी- बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ ।

सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो । बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका दुई सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताउनुभयो ।

उहाँले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताउनुभयो । मुद्दति, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताउनुभयो ।

उहाँले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो । लुम्बिनी प्रदेशमा यस्ता २४/२५ वटा खराब सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् । एक जना बचतकर्ताको रु साढे तीन करोड यही सहकारी संस्थाले ठगी गरेकोसमेत उजुरी परेको छ ।

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने

काठमाडौँ- लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो साँझ सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पु¥याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी भोलि प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

हेर्नुहोस् भदौ २७ गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिथुन राशि- सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मीन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

फुटबलप्रेमी हुनुहुन्थ्यो नेम्वाङ

गण्डकी, २६ भदौ : कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भन्नुभएको थियो, “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।”

नभन्दै भयो पनि त्यस्तै । गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक हुनुहुन्थ्यो । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउनुहुन्थ्यो । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उहाँलाई मन पर्ने खेलाडीमा पर्थे ।

नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा थियो । त्यही बेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो । यो विसं २०७८ असारतिरको कुरा हो । पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक हुनुहुुन्थ्यो नेम्वाङ ।

घन्टौँसम्म बसेको कार्यदलको बैठकबारे उहाँले त्यो बेला सञ्चारकर्मीसँग भन्नुभएको थियो, “बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ, सो खालको परिस्थिति बनेन, सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ, त्यसकै लागि ११ घन्टादेखि प्रयत्न जारी छ, छलफल सकारात्मक रुपमै अगाडि बढेको छ, सहमति बन्नेमा म विश्वस्त छु ।”

सोही दिन युरोकपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए । इङ्ल्याण्डलाई पराजित इटालीले युरोकप जित्यो । सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताउनुभएका नेम्वाङले उक्त फाइनल खेल हेर्न पाउनुभयो या भएन त्यो त अब अनुमान मात्र गर्न सकिने विषय भयो । सोही दिन १० बुँदे सहमति त भयो यद्यपि एमालेको विभाजन भने रोकिएन ।

माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले । पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्साउँथ्यो । नेम्वाङ कुनैताका फुटबल खेल्नुहुन्थ्यो । पार्टी र राजकीय कामको चटारोमा पनि उहाँ राष्ट्रिय/अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्नुहुन्थ्यो ।

विद्यालय उमेरबाटै उहाँ फुटबलमा आकर्षित हुनुहुन्थ्यो । सञ्चारकर्मीसँगको कुराकारीमा उहाँले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्नुहुन्थ्यो ।

काठमाडौँ आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्नुहुन्थ्यो । पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उहाँका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रुपमा रहेको थियो । संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उहाँले फुटबल हेर्नेगर्नुहुन्थ्यो ।

विश्व फुटबलमा उहाँलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो । जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए । दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पिएसजी गएपछि आफ्नो रोजाइ पनि पिएसजी हुन पुगेको नेम्वाङले बताउनुहुन्थ्यो । राति १२÷१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उहाँले सुनाउनुहुन्थ्यो ।

कुशल राजनीतिज्ञको छवि बनाएर एकाएक अस्ताउनुभएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो । राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उहाँले देखाउनुभएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गथ्र्यो ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौँमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ एमाले संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिनुभयो ।

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मनुभएका उहाँ संविधान र कानूनका ज्ञातासमेत हुनुहुनथ्यो । राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्नुहुने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

काठमाडौँ, २६ भदौ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए ।

मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

इजरायलद्वारा बिपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

काडमाडौँ, २६ भदौ : राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ ।इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले आज राष्ट्रपति भवन शीतलनिवासमा बिपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बिपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गर्नुभएको थियो । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बिपी कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गर्नुभएको हो ।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बिपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँंदा खुसी लागेको बताउनुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । उहाँंका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा हर्षित हुँदै धन्यवाद दिनुभएको थियो ।

“फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन् । त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ”, बिपीको सो भाषण उद्धृत गर्दै पोखरेलले भन्नुभयो, “सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ । सुस्तगतिमा हुने प्रगतिले सङ्घर्ष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ ।”

प्रजातन्त्र राजनीतिक प्रणालीका रूपमा वा जीवन पद्दति प्रयोगका रूपमा यी देशहरूमा परिक्षणका रूपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गर्नुभएको छ ।राजदूत गोदेरसँगको भेटमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकामा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ : जनमत पार्टीले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएको हुँदा उहाँप्रति जनमत परिवार हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।” सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।

नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

काठमाडौँ, २६ भदौ : राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताउनुभएको छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुग्नुभएका शीर्ष नेताले उहाँको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उहाँको योगदानलाई इतिहासले सधँैभरि स्मरण गर्ने बताउनुभयो ।

उहाँले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो”, नेता नेपालले भन्नुभयो, “मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो । संविधान निर्माण मात्र नभएर कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा पनि उहाँमा अत्यन्त धेरै हुटहुटी रहेको थियो ।” नेता नेपालले नेम्वाङ मुलुकको राजनीतिमा जहिले पनि सहमति र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुरामा दृढ रहेको भन्दै उहाँको निधनले सिङ्गो लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र परिवर्तनको आन्दोलनका निम्ति ठूलो क्षति भएको बताउनुभयो ।

उहाँले संविधान निर्माण र सदन सञ्चालन गर्ने कुरामा पनि उहाँको कुशलता उदाहरणीय रहेको बताउनुभयो । “संविधान निर्माण र संविधानको व्यवस्थापन गर्ने बेलामा उहाँले जुन खुबी प्रदर्शन गर्नुभएको थियो त्यो कमै व्यक्तिबाट त्यस्तो हुन्छ”, उहाँले भन्नुभयो, “उहाँ मिलनसार, मृदृभाषी, शालीन, धैर्य, सबैलाई बुझाउनुसक्ने खुबी र सहिष्णु पनि हुनुहुन्थ्यो ।” नेता नेपालले नेम्वाङ आफ्नो निम्ति नभएर देशका निम्ति केही गरौँ भन्ने भावना र परिवर्तनलाई संस्थागत गर्ने सोच रहेको उल्लेख गर्दै उहाँको आवश्यकता अहिले झन टड्कारो रहेको बताउनुभयो । “नेता नेम्वाङसँग २०५१ सालमा एउटै सरकारमा रहेको उल्लेख गर्दै उहाँलाई असल व्यक्ति, लोकतान्त्रिक योद्धा र परिवर्तनकारी व्यक्तिका रूपमा र कम्युनिष्ट पार्टीको पनि गौरव गर्न लायक योद्धाका रूपमा स्मरण गर्न चाहन्छु ।”

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताउनुभयो । “धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने हो भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद ।” उहाँले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता वर्षामान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताउनुभयो । उहाँले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताउनुभयो । नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको अभाव खड्किरहने बताउनुभयो । उहाँले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताउनुभयो । “नेकपा छँदा पनि नेताबीचको विवाद हुँदा उहाँले सहजीकरण गर्ने र सबैले विश्वास गर्ने नेता हुनुहुन्थ्यो”, नेता पुनले भन्नुभयो, “शान्ति निर्माणका बाँकी काम टुङ्ग्याउन उहाँले निकै नै मेहनत गरिरहनुभएको थियो ।” उहाँले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहनुभएको बताउनुभयो ।

‘अवसरसँगै चुनौती थियो’ – अभिनेता कार्की

काठमाडौँ, २६ भदौ : नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्की हुनुहुन्छ । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए पनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।

दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील हुनुहुन्छ । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसुस नगरुन् भन्ने उहाँको प्रयास हुन्छ । यसकै निरन्तरता हो ,‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ । उहाँले चलचित्रमा निर्वाह गर्नुभएको ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गर्नुभएको छ ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, अभिनेता कार्कीले भन्नुभयो, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

उहाँलाई कथाले आकर्षित गरेता पनि निर्माण समूहसँग विश्वस्त हुन समय लाग्यो । किनकि निर्देशक झरना थापाले अभिनय र निर्देशन गर्नुभएका अधिकांश चलचित्र परम्परागत थिए । यद्यपि यो विषयवस्तुलाई महिला निर्देशकले अन्यको तुलनामा न्याय गर्न सक्ने विश्वास अभिनेता कार्कीलाई थियो ।

“मैले पटकथा सुनेपछि प्रस्तुतीकरणका विषयमा छलफल गरेँ । म विश्वस्त भएपछि काम सुरु गरेँ । किनकि उहाँहरू परिवर्तन हुन् खोज्नु भएको छ भने हामीले सहकार्य गर्नै पर्छ”, अभिनेता कार्कीले भन्नुभयो । छायाङ्कनका क्रममा उहाँले नयाँ अनुभव सङ्गाल्नु भयो । शृङ्गारमा लाग्ने समय, लिङ्ग परिवर्तन हुँदा ल्याउनु पर्ने हाउभाउ लगायतले उहाँलाई छायाङ्कन अवधिभर ‘विपीन’ भन्दा पर राख्यो । छायाङ्कन सकिएको दुई दिन जनकपुरमै बसेर बल्ल उहाँ काठमाडौँ फर्किनु भयो । किनकी उहाँ पात्रलाई अन्यसँग परिचित गराउन चाहनुहुन्थेन ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेम कथानकभन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।” चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

जुम्ला, २६ भदौ : जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।” स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ । अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो । जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ । स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

किसानको बगैँचाबाट प्रतिकेजी रू ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताउनुभयो । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् ।

“भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ”। सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भन्नुभयो, “अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी रु ५० देखि ६० मा किन्ने गरेका छन् ।” जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिनुभयो ।

नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ । किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

सैन्य तालिम समापन, अन्तिम दलद्वारा कवाज प्रदर्शन

काठमाडौँ, २६ भदौ : नेपाली सेनाको २०७९ साल मङ्सिर १ गतेदेखि ४१ स्थानमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानले बेग्लाबेग्लै तालिम केन्द्रमा अन्तिम दलले कवाज प्रदर्शन गर्नुभएको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । देशभर तीन हजार दुई ८८ जना पुरुष तथा छ सय २८ जना महिला गरी कूल तीन हजार नौ सय १६ जना सैन्य दीक्षित भएका छन् ।

श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा श्री सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा अन्य स्थानमा सम्बन्धित पृतनापति, बाहिनीपतिले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको थियो ।

तालिमरत शिक्षार्थीको परिवारजनको उपस्थितिमा तालिमको समापन कार्यक्रम सञ्चालन भएको थियो । श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी सरोज प्रताप राणाले नेपाली सेनाजस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त हुनुभएको सुखद् घडीमा तालिम प्राप्त सिपाहीलाई बधाई दिनुभएको थियो ।

साथै उहाँले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिनुभएको थियो ।

यसअघि यही भदौ २४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैन्यलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिनुभएको थियो साथै उहाँले सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

भन्सार छलि अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

काठमाडौँ, २६ भदौ : भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौँ महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुनसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।

यसैगरी उक्त विषयमा थप सोधुपछ एवं अनुसन्धानको क्रममा काभ्रे, रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा, काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई काठमाडौँ महानगरपालिका–१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

बिहीबार सार्वजनिक बिदा

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

अब बागमती प्रदेशमा नयाँ सहकारी दर्ता नहुने

काभ्रे – बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ । उहाँले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताउनुभयो ।

“सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्”, मन्त्री महर्जनले भन्नुभयो ।

उहाँले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिनुभयो । उहाँले भन्नुभयो, “सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।”

मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन”, उहाँले भन्नुभयो । उहाँले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेल, जिल्ला समस्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा नगरको सहकारीको अनुगमन गरी देखिएका समस्यामा समन्वय गरेकोमा बनेवा नगरपालिकालाई सम्मान गरिएको थियो । डिस्कोफका जिल्लाध्यक्ष दिलीप शर्माले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सम्पर्कमा आएनन् बालगृह

काठमाडौँ – राष्ट्रिय बाल परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा करिब एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ ।परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय १७ बालगृह सञ्चालनमा रहेकोमा बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम अनुमतिपत्र वितरण प्रक्रियामा करिब एक सय बालगृह सम्पर्कमा नआएको बताउनुभयो ।

“अनुमतिपत्र प्रदान गर्ने प्रक्रियामा एक/डेढ सय बालगृह अनुमतिपत्र प्राप्त गर्ने म्याद सकिएपश्चात पनि सम्पर्कमा आएको तर सञ्चालनमा रहेका एक सय बालगृह अझै सम्पर्कमा आएका छैनन्”, उहाँले भन्नुभयो । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्य संस्थालाई निवेदन दिन राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

विभिन्न गैरसरकारी संस्थाले सञ्चालनमा ल्याएका बालगृह पहिला अनुमति बिना चलाउँदै आए पनि अब कानूनी व्यवस्थाअनुसार अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्न सकिने परिषद्का सूचना अधिकारी चन्द्रले बताउनुभयो । “अनुमतिपत्रबिना बालगृह लामो समयसम्म चल्न सक्दैनन् । सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त नगरेका बालगृहलाई नवीकरणमा रोक्का गर्न जिल्लाप्रशासनमा परिपत्र गराउनुपर्दछ”, उहाँले भन्नुभयो ।

कानूनी व्यवस्थाअनुसार एक वर्षभित्र अनुमतिपत्र प्राप्त गर्नुपर्ने प्रावधान रहे तापनि पूर्ण अभ्यास हुन नसकेको उहाँले बताउनुभयो । “कानूनी व्यवस्थाअनुसार एक वर्षभित्र अनुमति प्राप्त गर्नुपर्ने छ तर मापदण्ड गत मङ्सिरमा मात्र स्वीकृत हँुदा जेठमा भएको कानूनी व्यवस्थादेखि मङ्सिरसम्मको अवधि थप गरेर परिषद्ले नीतिगत निर्णय गरेमा सम्पर्कमा नआएका अन्य योेग्य बालगृह अनुमतिपत्र प्राप्त गर्नका लागि सम्पर्कमा आउन सक्छन्”, उहाँले भन्नुभयो ।

अनुमतिपत्र वितरण प्रक्रियामा परिषद्ले मापदण्ड नपुगेका ३९ वटा बालगृह अनुमतिपत्र प्राप्त गर्न अयोग्य ठहराएको छ । अनुमतिपत्र प्रदान गर्नु अगाडि स्थलगत अवलोकन गरी कानूनमा व्यवस्था भएबमोजिम न्यूनतम मापदण्ड पुगेमा मात्र परिषद्ले अनुमतिपत्र प्रदान गर्दै आएको छ ।

परिषद्का सूचना अधिकारी चन्द्रले असार मसान्तसम्म थप ३६ बालगृह थप भएको जानकारी दिनुभयो । पहिला बाल परिषद्को अधिकारभित्र समन्वय, सहजीकरण गर्ने रहेकोमा हाल थप कारबाही, खारेज गर्नेसम्मको अधिकार प्राप्त भएको जानकारी दिँदै नयाँ बालगृह पनि सोही मापदण्डअनुसार अनुमतिपत्र प्राप्त गरी सञ्चालन हुने बताउनुभयो ।

आव २०७९/८० सम्म परिषद्ले कूल बालगृहमध्ये एक सय २४ बालगृह अनुगमन गरेकोमा दुई बालगृह मापदण्डविपरीतका कारण परिषद्ले बन्द गर्न लगाएको थियो । परिषद्को पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका रहेका छन् । ती बालगृहमा १० हजार नौ सय पाँच जना बालबालिकाको संरक्षण र संवर्द्धन हुँदै आएको छ ।

सञ्चालनमा रहेका बालगृहलाई नयाँ कानूनको प्रावधानअनुसार परिषद्को अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको छ । परिषद्ले आवश्यकताअनुसार स्थानीय तहको समन्वयमा बालगृहको मापदण्डअनुरूप सञ्चालनमा रहेका छन् छैन भनी अनुगमन गर्ने गरेको छ ।

हराएका, बेवारिस फेला परेका बालबालिकाको परिवारको खोजी पहिचान गरी परिवारमा पुनर्मिलन गर्ने, जोखिमपूर्ण श्रममा संलग्न, बेचबिखन तथा ओसारपसार परेका, सडक बालबालिकाको उद्धार तथा संरक्षण गर्न निःशुल्क टेलिफोन नं ‘१०४’ सञ्चालनमा रहेको र बाल हेल्पलाइन सेवा ‘१०९८’ १८ जिल्लामा विस्तार गरेको छ ।

बाल गृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डमा बालगृहमा बालमैत्री भौतिक पूर्वाधार तथा संरचना हुनुपर्ने, बालगृहमा आवश्यक जनशक्तिको व्यवस्था हुनुपर्ने, बालगृह सञ्चालन गर्न आवश्यक हुने आर्थिक स्रोतको व्यवस्था हुनुपर्ने, बालगृहमा बालबालिकाको भर्ना प्रक्रिया, बालबालिकाको भोजन तथा पोषणसम्बन्धी व्यवस्था, बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने विषय, शिक्षा, तालिम र अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नुपर्ने, बालगृहमा बाल क्लब गठन, सञ्चालन र बाल सहभागिताको प्रवर्द्धन गर्नुपर्नेलगायत अन्य मापदण्ड पूरा गर्नेपर्ने व्यवस्था रहेको छ ।

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा : एमाले

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ । कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उहाँको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । उहाँले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, “उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।”

उहाँ सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहनुभएको कार्यवाहक महासचिव ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो,” विज्ञप्तिमा भनिएको छ, “अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।”

नेता ज्ञवालीले नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।

विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मनुभएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको थियो । 

यस्तै २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले) को सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्रीका हैसियतमा उहाँले मुुलुकमा कानूनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । “उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ”, ज्ञवालीले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ । 

विसं २०५६ मा प्रतिनिधिसभा सदस्यको रूपमा इलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ । आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौँमा बीएल अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो ।

विसं २०४६ को संयुक्त जनआन्दोलन, २०६२÷६३ मा शान्तिपूर्ण जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा उहाँ पटक–पटक हिरासतमा पर्नुभएको थियो । विसं २०३३ असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो । 

उहाँ छैटौँ महाधिवेशन  (२०५४) र सातौँ महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दशौँ राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँको योगदानको पार्टी उच्च मूल्याङ्कन गर्ने नेता ज्ञवालीले बताउनुभयो । 

विसं २०३६ देखि नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका उहाँले नेपाल बार एसोसिएसन केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियशनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।     कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी भएको नेता ज्ञवालीले बताउनुभयो । 

जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २६ भदौ : जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ”, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो । त्यसैगरी सो पार्टीले मधेस प्रदेशसभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
a

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

काठमाडौँ – सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो ।

आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४, जलविद्युत् एक दशमलव ५६, लगानी एक दशमलव ३१ र जीवन बीमा समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ४०, व्यापार शून्य दशमलव ७८ र अन्य समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य आज नौ दशमलव ९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको रु सात करोड ५६ लाख १८ हजार नौ सय २० बराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ ः स्वास्थ्यमन्त्री बस्नेत

चितवन, २६ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका अस्पताल बेथितिबाट चल्न नहुने उहाँको भनाइ थियो । अस्पतालमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उहाँले जनताको सेवाका लागि दरबन्दी थप गरिने बताउनुभयो । अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा चार जना चिकित्सक र चार जना नर्सले हेर्नुपर्ने बिरामी एक जनाले हेर्नुपर्ने बाध्यता रहेको जनाउँदै उहाँले सरकारले अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२२ वर्षअघि ३३ हजार कर्मचारी रहेकामा अहिले ३१ हजार छन् । यसले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या हुन्छ । हामी दरबन्दी थप गर्ने तयारीमा छौँ ।” दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै उहाँले थप्नुभयो, “अहिले आवश्यकताको एक चौथाइ कर्मचारीमात्रै छन् । यसलाई थप गर्दै जान्छौँ ।” अस्पतालहरूमा आवश्यक उपकरण र भौतिक संरचनाका लागि बजेट अभाव भएमा दातृ निकायको सम्मेलन गराएर भए पनि काम गर्ने उहाँको भनाइ थियो । आफू अहिले निःशुल्क स्वास्थ्योपचारको अभियानमा रहेको बताउँदै उहाँले पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।

शिक्षण अस्पतालको रूपमा विकास गर्दैगर्दा भौतिक संरचना निर्माण हुन जरुरी रहेकाले यसतर्फ आफूहरू स्रोत जुटाउन लागिपरेको उहाँको भनाइ थियो । पत्रकारसँगको कुराकानीमा उहाँले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै उहाँले यही अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताउनुभयो । अहिले ऐन संशोधनको प्रक्रियामा हेको बताउँदै उहाँले भन्नुभयो, “देशभर बन्ध्याकरणजस्तो भएको छ, यसलाई खुकुलो पार्छौँ ।” –––

आजको मौसम ; हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २६ भदौ ः हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

काठमाडाँैसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

काठमाडौँ, २६ भदौ : नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले)को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो ।इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको थियो ।उहाँको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै हुनुहुन्थ्यो । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउनुहुन्थ्यो ।विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल हुनुभयो ।पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आउनुभएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिनुभएको थियो । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज हुनुहुन्थ्यो ।सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज हुनुहुन्थ्यो । उहाँका पिता स्व रामबहादुर न्यायाधीश हुुनुहुन्थ्यो भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुनुहुन्छ । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल हुनुहुन्थ्यो ।उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आउनुभएन । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उहाँले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउनुहुन्छ ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उहाँको योगदान स्मरण गर्दै भन्नहुन्छ, “संविधानसभाबाट संविधान जारी गर्न उहाँको ठूलो योगदान छ, जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित हुनुहुन्थ्यो ।”मुलुकका ऐन र कानुनप्रति धेरै जानकार भएका कारण उहाँले कानुनीरूपमा आउन सक्ने अड्चन र मार्गचित्रबारे सबै नेताहरूले सहजरूपमा स्वीकार गर्ने गरेको घटना नेता कर्णले सुनाउनुभयो । नेता उहाँ भन्नुहुन्छ, “गाली गरे पनि हाँस्ने व्यक्ति, सबै दलका नेतासँग मित्रभाव राख्ने नेम्वाङ उच्चकोटीको राजनीतिज्ञ हुनुहुन्थ्यो ।”

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति – पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २६ भदौ ः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्नुभएको छ ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।” –––

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौँ, २६ भदौ : सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।

उहाँले नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भन्नुभयो । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।

महासचिव शङ्कर पोखरेल स्वदेश फर्किँदै

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने हुनुभएको छ ।पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उहाँ आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लाग्नुभएको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उहाँका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ ।स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोपमा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ

काठमाडौँ – प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई सोमबार ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौ सय ७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन : सांसद कुँवर

काठमाडौँ, २६ भदौ : गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले संसद्मा निर्वाह गर्नुभएको भूमिका आलोचनामुक्त छैन । संसद् सुरु भएको लामो समयसम्म पनि दुई विधेयकमात्रै पारित भएका छन् । जनआकाङ्क्षाका आवाज आफ्ना प्रतिनिधि मार्फत संसद्मा बुलन्द हुन नसक्दा जनतामा निरासा पनि छाउन थालेको देखिन्छ । स्वयं सांसदहरू नै संसद्मा आफ्नो भूमिकाप्रति सन्तुष्ट छैनन् ।

संसदीय राजनीतिमा लामो अनुभव र शालीन नेताको छवि बनाउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर नागरिक आकाङ्क्षाअनुसार संसद् अघि बढ्न नसकेको स्वीकार्नुहुन्छ । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँ भन्नुहुन्छ “संसद्मा जनताका विषयवस्तु गम्भीररूपमा उठ्न सकेनन् । जनतासँग सरोकार राख्ने कानुनहरू बन्दैनन् भने हामीमाथि यसै प्रश्न उठ्ने नै भयो । प्रश्न उठ्नु पनि पर्छ । किनभने जनताको समस्या समाधानका गर्नका लागि सहजीकरण गर्न हामीलाई चुनिएको हो ।”विधि,विधान बनाउने सर्वोच्च निकाय संसद अर्थात् व्यवस्थापिका संसद हो । संसद्मा सांसदले निर्वाह गर्नुहुने भूमिका अति महत्वपूर्ण हुन्छ । कानुन बनाउने र नागरिकका गुनासो सुन्ने मुख्य दुईवटा भूमिकामा सांसदहरू रहनुपर्ने र संसद्ले सोहीअनुरुप काम गर्नुपर्ने उहाँको बुझाइ छ ।“सांसदका मुख्य दुई जिम्मेवारी हुन्छन् । एउटा विधायकका रूपमा कानुन बनाउने र अर्को भनेको जनताका सरोकारका विषय संसद्मा राख्ने हो । विधायकले कानुनमात्रै बनाउने तर जनताका समस्या र सरोकारका विषयमा बेखबर भएर बस्ने भन्ने हुँदैन । जनताका दैनिक जीवनसँग जोडिएका र सरोकारका विषयमा चनाखो भएरै बसेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “नागरिकका समस्यालाई सम्बोधन गर्न सम्बन्धित ठाउँमा पुर्याउने काम विधायककै हो । म काठमाडौँमा रहँदा मेरो जिल्लामा कुनै घटना घट्यो भने मैले गृह मन्त्रालय वा अरु तालुकवाला मन्त्रालय र निकायमा गएर सो विषयमा सोधखोज, समन्वय गर्नुपर्ने हुन्छ ।”जनताका समस्या समाधान गर्ने दायित्व बहन गरेरै चुनिएर आउने भएकाले सांसदलाई विधायिकी भूमिकामा मात्रै सीमित गर्न नसकिने उहाँको बुझाइ छ । विधायिकी अधिकारमात्र दिने र सरकारमा पनि सहभागी नहुने ढङ्गले निर्वाचित गर्ने हो भने संविधानमै त्यस किसिमको व्यवस्था गरिनुपर्ने उहाँको तर्क छ । संसद्का कामप्रति लक्षित गरेर उठिरहेका प्रश्नलाई पनि स्वभाविक ठान्नु भन्ने कुँवरको भनाइ छ ।“जनताका प्रतिनिधिलाई टिप्पणी गर्न पाइन्छ । हामी खुला किताब भएरै हिँडिरहेका हुन्छौँ । सामाजिकरूपमा आउने प्रश्नबारे हामीले अप्ठ्यारो मान्न पनि हुँदैन”, सांसद कुँवर भन्नुहुन्छ । नागरिकले गर्ने प्रश्नको मुख्य कारक भने राजनीतिक दलले देखाइरहेको कार्यशैली रहेको उहाँको बुझाइ छ । सरकारले ‘बिजनेस’ दिन नसक्ने र प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध पार्ने खराब प्रवृत्तिका कारण संसद्प्रति नागरिक तहमा निराशा छाएको धारणा उहाँको छ ।“यो वा त्यो बहानामा संसद् अवरुद्ध गर्ने परम्परा राम्रो होइन । जनताका सरोकारका विषय आउन नदिने, सांसदले नै आफ्नो कुरा नै राख्न नपाउने, अधिकार प्रयोग गर्न नपाउने, बोल्न नपाउने, जहिल्यै संसद् अवरुद्ध भइरहनु राम्रो होइन । यो गलत संस्कारलाई अन्त्य गरिनुपर्छ”, उहाँको भनाइ छ ।संसद्को प्रभावकारिता देखिनका लागि सरकारले पनि त्यसमा भूमिका खेल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “संसद्लाई सरकारले बिजनेस दिने हो । सरकारले बिजनेस दिइसकेपछि विधेयक संसद्मा आउँछन् । संसद्बाट समितिमा जान्छन्”, उहाँ भन्नुहुन्छ, “अब संसद् यही भदौ २७ गते बस्दैछ । यो बीचमा कुनै बिजनेस नै छैन । बिजनेसबिनाको संसद् हुँदैन । सरकारले बिजनेस दिएन भने संसद् चलाएरमात्र के गर्ने ? त्यत्तिकै संसद् बस्ने कुरा पनि आएन ।”हाल एक सय १२ कानुन आउन बाँकी रहेको र मौलिक अधिकारसँग सम्बन्धितमात्रै ७८ वटा कानुन बन्न नसकेको उहाँको भनाइ छ । बन्न बाँकी कानुनलाई सरकार गम्भीर भएर धमाधम विधेयकका मस्यौदा बनाएर संसद्मा ल्याउनुपर्ने कुँवर बताउनुहुन्छ । त्यस्तै संसद् अवरुद्ध हुन नदिने वातावरण सिर्जना गर्ने दायित्व पनि सरकारकै रहेको उहाँको बुझाइ छ । “सरकारले आफ्नो जिम्मेवारी निभाउनुपर्यो । संसद् अवरुद्ध हुने, विभिन्न व्यवधान आउने कुरालाई सबैले मिलेर सहजीकरण गर्नुपर्यो”, उहाँ भन्नुहुन्छ, “देश बनाउने हो भने सबैले सामूहिक ढङ्गले जान सक्नुपर्छ । राजनीतिमात्रै गर्ने हो भने जनताले हेरिरहेकै छन् । मूल्याङ्कन गरिरहेकै छन् ।”बिजनेस नभएका बेला सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने र जनताका गुनासो, पीरमर्का सुन्ने समय पनि हो । सांसद जनताको बीचमा पनि जानुपर्ने हुन्छ । एक महिनासम्म आफ्नो सांसदलाई जिल्लामा नदेख्दा नागरिकस्तरमा प्रश्न उठ्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एक महिना जिल्ला गएन भने सामाजिक सञ्जालमा गाली गर्छन् । सांसद काठमाडौँमा मात्रै बस्ने र आफ्नो विधायिकी भूमिकामात्रै हो भनेर बस्ने हो भने हामी जनताबाट टाढा हुन्छौँ । भोलि फेरि जनताका बीचमा जानुपर्ने हुन्छ । त्यसकारण दुवै खालका भूमिका निर्वाह सांसदले निभाउनुपर्छ ।”जिल्लामा गएको बेला, आकस्मिक समस्या पर्दाको अवस्थाबाहेक सांसदहरू सदन र समितिमा जाने गरेको सांसद कुँवर बताउनुहुन्छ । सबै सांसद आफू रहेको समितिमा रहेर कानुन निर्माणमा लागिरहेको उहाँको भनाइ छ । प्रक्रियागत काम नागरिक तहमा कम जानकारीमा आउने भएका कारण पनि सांसदले केही काम नै गरेनन् भन्ने बुझाइ पर्न सक्ने उहाँको तर्क छ ।उहाँ केही दिनअघिमात्र मन्त्रिपरिषद्बाट स्वीकृत भएको निजामती सेवा विधेयक सदनमा जतिसक्दो चाँडो प्रस्तुत गर्नुपर्ने बताउनुहुन्छ । त्यस्तै संसद्मा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टिआरसी), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७० लगायत विधेयक छलफलका क्रममा छन् । संसद् र संसदीय समितिमा औपचारिक एवं अनौपचारिक दुवै तरिकाले ती विधेयकमाथि छलफल भइरहेको छ । सबै पक्षको विचार एकीकृत होेउन् भनेर समितिमा विधेयकमाथिको छलफललाई तीव्रता दिएको सांसदकुँवर बताउनुहुन्छ ।शान्ति प्रक्रिया सुरु भएको डेढ दशकभन्दा बढी समय भइसक्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपणको विषय टुङ्गिन नसक्नु दुःखद् रहेको उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “शान्ति प्रक्रिया सुरु हुँदा जन्मेको बच्चा अहिले किरोशावस्था कट्न थालिसक्दा पनि यो विषय टुङ्गिन सकेको छैन । यसमा गम्भीर हुन जरुरी छ । हामी त गम्भीर छौँ नै, नेतृत्व पनि गम्भीर हुनुपर्छ ।”

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कल (इलाम), २६ भदौ : इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो । विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो । उहाँ जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुख हुँदा उहाँ सधैँ सर्वसम्मत नै बन्नुभयो ।नेम्वाङको अवसानले इलाम शोकमग्ननेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनुभयो । उहाँले देश र जनताका लागि पु¥याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताउनुभएको छ ।गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।”नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताउनुभएको छ । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।” 

सुन तस्करीको मुख्य कारोबारी यकिन भएन

काठमाडौं । सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन ।

त्यस्तै भारततर्फ किन्ने समूह पनि पत्ता लागेको छैन । ‘हालसम्म पक्राउ परेकाहरू बिचौलिया र नेपालबाट सुन सप्लाई गर्नेहरू मात्रै रहेका छन्,’ सिआइबी स्रोतले भन्यो । संगठित अपराध र अन्तरदेशीय अपराधमा अनुसन्धान गरिरहेको सिआइबीले अनुसन्धानका लागि समय अपुग भएको र यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै एकदुई दिनमै प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाउने भएको छ ।

सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले अनुसन्धान प्रतिवेदन तयार गरिहाल्नुपर्ने कानुनी बाध्यता रहेकाले एकदुई दिनभित्रै सरकारी वकिल कार्यालय पठाउने बताइन् । ‘६० दिनभित्र अदालतमा मुद्दा टेकाइ सक्नुपर्ने कानुनी बाध्यता रहेको छ, जसले गर्दा अनुसन्धान प्रतिवेदन चाँडै बुझाउनुपर्ने बाध्यता रहेको हो,’ एआइजी बज्राचार्यले भनिन् ।

सरकारी वकिल कार्यालयले ताकेता गरेकाले सिआइबीले सकेसम्म मंगलवारे अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर (चितवन), २६ भदौ : सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

सुवास नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएको छु: सभापति देउवा

काठमाडौँ, २६ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष माधवकुमार नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २६ भदौ ः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । संविधान सभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।

नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको छ : अर्थमन्त्री डा महत

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा   आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उहाँले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री डा महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको चार वर्षसम्म काठमाडौँ–तराई द्रुत मार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताउनुभयो ।

अर्थमन्त्री डा महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको स्पष्ट पार्नुभयो । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा महतले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले निजी क्षेत्रले उत्पादन गरेकामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनुभयो ।