कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय


इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उहाँको परिवारले सोमबार बताएको छ ।
मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ । उहाँलाई तेहरानबाहिर दुई वर्ष निर्वासनमा बिताउन आदेश दिइएको थियो भने दुई वर्ष भ्रमणमा प्रतिबन्ध र स्मार्टफोनको प्रयोगमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । यी प्रतिबन्ध उहाँको रिहाइपछि लागु हुनेछ ।
परिवारका अनुसार सन् २०२१ मार्चपछि मोहम्मदीलाई यो पाँचौँ सजाय हो । यसमा अहिले १२ वर्ष तीन महिनाको कैद, एक सय ५४ कोर्रा, दुई वर्षको निर्वासन र विभिन्न सामाजिक तथा राजनीतिक प्रतिबन्ध समावेश छन् ।
परिवारले फैसलाको निन्दा गर्दै भनेको छ, “यो एउटा ‘राजनीतिक वक्तव्य’ जस्तो छ, फैसलाले ‘उहाँले बारम्बार अराजकता र गडबडी उत्पन्न गर्नका लागि इस्लामिक शासनविरुद्ध सार्वजनिक तथा व्यक्तिगत विचारहरूलाई उक्साउनुभएको र प्रोत्साहित गर्नुभएको’ आरोपलाई जोड दिएको छ ।”
मोहम्मदीलाई इरानमा मानवअधिकारका लागि उहाँको अभियानको मान्यतामा सन् २०२३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लोमा उहाँका तर्फबाट परिवारले उक्त पुरस्कार ग्रहण गरेको थियो । उहाँले पछिल्लो दुई दशकको अधिकांश समय कारागारभित्र र बाहिर बिताउनुभएको छ र सन् २०२१ नोभेम्बरमा आफ्नो सबैभन्दा पछिल्लो सजाय काट्न सुरु गर्नुभएको छ ।
यद्यपि तेहरानको एभिन कारगारमा रहेर पनि उहाँले आफ्नो अधिकारहरूका लागि अभियान सञ्चालन गर्न छाड्नुभएको छैन । उहाँले अधिकारीहरूमाथि व्यवस्थित उल्लङ्घनको आरोप लगाउनुभएको छ र विशेषरूपमा मृत्युदण्डको उनीहरूको प्रयोगको आलोचना गर्नुभएको छ ।
इस्लामिक गणतन्त्र इरानमा अनिवार्य हिजाबको कट्टरविरोधी मोहम्मदीले कारागारभित्र हेडस्कार्फ लगाउने नियमहरूको पनि अवहेलना गर्नुभएको छ । उहाँका परिवारका अनुसार त्यसैले मोहम्मदीलाई धेरै दण्ड दिइएको छ । उहाँलाई विशेषरूपमा फोन गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।