`

पाकिस्तानमा हुन लागेको राष्ट्रिय निर्वाचनको प्रचारप्रसार शुरु

Nepal One HD १ माघ २०८० १९:१२
विश्व

पाकिस्तान – पाकिस्तानमा हुन गइरहेको राष्ट्रिय निर्वाचनका लागि सोमबारदेखि प्रचारप्रसार शुरु गरिएको छ । अदालतको फैसलाले पूर्व प्रधानमन्त्री इमरान खानको विपक्षी दललाई निर्वाचनको दौडबाट बाहिर धकेलेपछि अन्य राजनीतिक दलले निर्वाचनलाई तीव्रता दिन प्रचारप्रसार अभियान थालेका छन् । विश्लेषकहरूका अनुसार तीन पटक प्रधानमन्त्री भएका नवाज शरीफलाई समर्थन गर्दै खानलाई बहिष्कार गर्ने योजना बनिरहेको र सेनाको त्यसमा हात रहेको विभिन्न अड्कलबाजी भइरहेका छन् ।

सोमबारमात्रै शरीफको पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीले पूर्वी शहर ओकारामा चुनावी अभियान शुरु गर्दा हजारौं समर्थकहरू उपस्थित थिए । “यस देशलाई माया गर्नेहरूले नवाज शरीफ बाहेक अरू कसैलाई भोट दिन सक्दैनन्,” उनकी छोरी मरियम नवाज शरीफ, पीएमएल-एन पार्टीकी उपाध्यक्षले भनेकी छन् ।

यसैबीच खान – देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ – जेलमा परेका छन् र निर्वाचनमा भाग लिन प्रतिबन्धित छन् । शनिबार सर्वोच्च अदालतले उनको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीलाई चुनाब चिन्ह क्रिकेट ब्याट अस्वीकार गरेर नयाँ झटका दिएको छ ।

यस कदमले पीटीआईका उम्मेद्वारहरूलाई स्वतन्त्र रूपमा उम्मेदवार हुन बाध्य पारेको छ भने लाखौं निरक्षर मतदाताहरूलाई फेब्रुअरी ८ को चुनाबमा पार्टीका उम्मेदवारहरूलाई चिन्न गार्हो पर्ने देखिन्छ ।आइतवार, दक्षिणी शहर कराँचीमा आयोजित पीटीआई भेलालाई प्रहरीले आयोजकहरूलाई गिरफ्तार गर्दै तितरबितर पारेको छ ।

शुरुमा नोभेम्बरमा हुने भनिएको निर्वाचन आयोगले नयाँ जनगणनापछि निर्वाचन क्षेत्र पुन: निर्धारण गर्नेर बताएपछि ढिलाइ भएको हो । विश्लेषकहरूले खान र पीटीआईको सम्भावनालाई ध्वस्त पारेर सैन्य शक्ति जुर्मुराउन सक्ने प्रक्षेपण गरेका छन् ।

“यो विवादास्पद चुनाव हुन गइरहेको छ: एउटा पार्टीले यसलाई लोकतन्त्रको पूर्ण निषेधको रूपमा हेर्छ,” टफ्ट्स विश्वविद्यालयको इतिहासकी प्राध्यापक आयशा जलालले एएफपीलाई बताएकी छन्। उता नवाज शरीफ भने सोमबारको र्याालीमा देखा परेनन् र गत वर्षको अन्तमा बेलायतमा स्वयम् निर्वासनबाट फर्किएदेखि सार्वजनिक कार्यक्रममा प्रायः अनुपस्थित छन्।


प्रतिक्रिया