`

कर्मचारीलाई सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक

काठमाडौँ । कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित हुने भएका छन्।

कर्मचारी समायोजनका क्रममा सङ्घमा सम्बन्धित सेवा, समूह र पदको दरबन्दी हुँदाहुँदै सरकारले तत्काल दरबन्दी लुकाई सम्बन्धित कर्मचारीलाई जानकारी नै नदिई प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएको गुनासो त्यस्ता कर्मचारीले गर्दै आएका छन्।२०७५ सालमा प्रशासन, शिक्षा, लेखालगायतका सेवामा प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा ३१ हजार ४३ जना कर्मचारी समायोजन भएका थिए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका अनुसार समायोजन भएका कर्मचारीमध्ये करिब १६ हजारदेखि १८ हजार जना कर्मचारी सङ्घमा फर्कन चाहेको अनौपचारिक जानकारीमा रहेको जनाइएको छ।२०७८ साल माघ ४ गते सर्वोच्च अदालतले निश्चित प्रतिशत पदमा देशभरका स्थानीय र प्रदेश सेवाका कर्मचारीबिच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गर्ने व्यवस्था मिलाउन फैसला गरेको थियो। ऐनको मस्यौदामा उक्त फैसलालाई समेत बेवास्ता गरिएको निजामती कर्मचारीको गुनासो छ।पेसागत महासङ्घ नेपालका महासचिव केदारप्रसाद देवकोटाले कर्मचारी समायोजनका क्रममा सम्बन्धित कर्मचारीलाई जानकारी नदिई प्रदेश र स्थानीय तहमा समायोजन गरिएकाले निश्चित प्रतिशत समायोजन भएका कर्मचारी विधेयक मस्यौदामा सङ्घमा आउने बाटो खुला राख्न सरकारसँग आग्रह गरे।उनले भने, “अबको बाटो भनेको ऐनको मस्यौदा संसद्मा पुगेपछि ऐनलाई कर्मचारीमैत्री बनाउन लबिङ गर्ने, ऐनको मस्यौदामा संशोधन हाल्ने र त्यसपछि पनि कर्मचारीका माग सम्बोधन नभई ऐन जारी भए आन्दोलन गर्नुको विकल्प छैन।”कर्मचारी समायोजन भएको केही समयपछि लोक सेवा आयोगबाट विभिन्न सेवा र समूहका पदमा खुला तथा बढुवाको विज्ञापन गरेकाले समायोजित कर्मचारीलाई अन्यायमा परेको, समायोजन भई गएका कर्मचारी सङ्घीय निजामती सेवा ऐनबमोजिम माथिल्लो पदमा बढुवा हुनका लागि उम्मेदवार बन्न सक्ने अवधि पूरा गरेपछि जुनसुकै प्रादेशिक क्षेत्रमा सरुवा भई जान पाउने कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलामा उल्लेख गरिएको छ।ज्येष्ठताका आधारमा वरिष्ठताको निर्धारण हुने भए पनि प्रदेश र स्थानीय तहमा समायोजन भएका वरिष्ठ कर्मचारी सङ्घीय सेवाका कनिष्ठ कर्मचारीको मातहतमा रही काम गर्नुपर्ने अवस्था रहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

राष्ट्रपति पौडेलद्वारा सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २६ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ ।

सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौँ, २६ भदौ : हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति हुनुभएको थियो ।विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख हुनुहुन्थ्यो ।उहाँले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहनुभएका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहनुभएको थियो ।

हेर्नुहोस् भदौ २६ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि – मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मिथुन राशि – वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मीन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) सुवासचन्द्र नेम्वाङको हृदयघाटबाट निधन भएको छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघाट भएपछि उपचारका लागि राति १ः ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो ।

उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो ।

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।

बिपी साहित्य महोत्सव : बिपीमाथि पाँच शीर्षकमा प्रवचन तथा छलफल, कसले के भने ?

पाटन (ललितपुर) : नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी तीन दिवसीय बिपी साहित्य महोत्सवको दोस्रो दिन आज बिपी कोइरालामाथि आधारित रहेर पाँचवटा शीर्षकमा प्रवचन तथा छलफल सम्पन्न भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको पहिलो सत्रमा जहवारलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा आनन्द कुमारले ‘मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा प्रवचन दिनुभएको थियो ।

प्रवचनका क्रममा प्राध्यापक डा आनन्द कुमारले समाजवादी नेता बिपी कोइरालाले जीवनभर सामान्तवादका विरुद्ध लडिरहेको र पूँजीवादविरुद्ध डण्डा चलाएको धारणा राख्नुभयो । “पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको हो । अहिले कम्युनिष्टहरूले पूँजीवादमा पार्टी सञ्चालन गरिरहेका छन्, बिपीले जीवनभर सामान्तवादका विरुद्ध लड्नुभयो र पूँजीवादविरुद्ध डण्डा चलाउनुभयो”, उहाँले भन्नुभयो, “पूँजीवादले असमानता ल्याउँछ, लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ, जुन कुरामा भारतभन्दा नेपाल एक कदम अघि रहेको छ ।”

जातिविहीन समाज समाजवादमा मात्र सम्भव हुने भन्दै उहाँले यसको उदाहरण प्रदीप गिरिको आश्रममा देखेको बताउनुभयो । गिरिको घरमा भान्से दलित समुदायको व्यक्ति रहेका थिए । उहाँले राजनीतिमा द्रुत एक्सन र धैर्य दुवै बिपीमा रहेको बताउनुभयो । यो सत्रको सहजीकरण शङ्कर तिवारीले गर्नुभएको थियो ।

महामन्त्री गगन थापाले सहजीकरण गर्नुभएको दोस्रो सत्रमा ‘बिपीले नपाएका १५ वर्ष’ शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।“बिपीले गुमाएको १५ वर्ष नेपालीले नै गुमाएको १५ वर्ष हो । बिपीले यी १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो ? नेपाली राजनीति र समाजको अवस्था कस्तो हुन्थ्यो ?”, यी प्रश्नसहित महामन्त्री थापाले कार्यक्रम सुरु गर्नुभयो ।

जवाफका क्रममा हरि शर्माले भन्नुभयो, “बिपी तुरुन्तै आफ्ना कार्यक्रम लागू गर्न सक्ने र हुटहुटी भएको व्यक्ति हुनुहुन्थ्यो । बिपीले १५ वर्ष पाएको भए भन्नेचाहिँ कल्पनाका कुरा हुन्, बिपीको जस्तो हुटहुटी अहिलेका नेतामा देखिएको छैन ।”

अर्का वक्ता अच्युत वाग्लेलाई प्रश्न गर्दै महामन्त्री थापाले सोध्नुभयो, “आर्थिक कार्यक्रमको आलोकबाट हेर्दा बिपीका कार्यक्रमलाई कसरी हेर्ने ?”जवाफमा वाग्लेले भन्नुभयो, “म २०१७ असार १३ गतेको पत्रकार सम्मेलनलाई सम्झिन्छु । त्यसमा दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पनाबारे जानकारी दिइएको थियो । साथै योजनाबद्ध विकास आवश्यक रहेको औँल्याइएको थियो ।”

अर्का वक्ता विपिन अधिकारीलाई महामन्त्री थापाले सोध्नुभयो, “२०१७ सालमा ‘कुु’ नभएको भए देशमा विधिको शासनको अवस्था कहाँ पुगेको हुन्थ्यो र ?” जवाफका क्रममा अधिकारीले भन्नुभयो, “बिपीको नेतृत्व शैली राम्रो थियो । बिपीको जीवन पद्धति र समाजका लागि गरेको योगदानका दृष्टिले उहाँ पुनर्जागरणको प्रतीकका रूपमा हुनुहुन्थ्यो । तर मुलुकको ठूलो ऊर्जा लामो समयसम्म जेलमा बस्नुप¥यो ।” बिपीले १५ वर्ष काम गर्न पाएको भए सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षालगायतमा उपलब्धिमूलक कार्य हुने र त्यसले जनतालाई भविष्य दिने अधिकारीले बताउनुभयो ।

अर्का वक्ता मञ्चला झाले बिपी सिद्धान्त र व्यवहारमा एक भएको नेताका रूपमा सम्झिनुभयो । “उहाँले १८ महिना मात्रै सरकारको नेतृत्व लिँदा पनि धेरै काम गर्नुभएको थियो । त्यो बेलाको समयमा एक वर्षमा एक हजार छ सय वटा विद्यालय स्थापना गर्नु चानचुने कुरा थिएन,” उहाँले भन्नुभयो ।

यसपछि तेस्रो सत्रमा ‘बिपीका आख्यानमा मधेस’, शीर्षकमा छलफल भयो । श्याम शाहको सहजीकरणमा भएको यस सत्रमा सनत रेग्मी, नयनराज पाण्डे र सञ्जीता वर्माले धारणा राख्नुभएको थियो ।

अग्रज पत्रकार सुधीर शर्माले सहजीकरण गर्नुभएको चौथो सत्रमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, शीर्षकमा आधारित रहेर डा बाबुराम भट्टराई, डा नारायण खड्का, प्रदीप गिरी र इन्द्र अधिकारीले धारणा राख्नुभएको थियो ।

त्यस्तै पत्रकार वसन्त बस्नेतले सहजीकरण गर्नुभएको पाँचौँ सत्रमा ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकमा आधारित रहेर बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईले धारणा राख्नुभएको थियो ।

नेपाली कांग्रेसले संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा हरेक वर्ष एक दिन मात्रै विभिन्न कार्यक्रम गरेर मनाउने गरेकामा एक सय १०औँ जन्मजयन्तीका अवसरमा यस वर्ष पार्टी केन्द्रीय कार्यालयमा तीनदिने साहित्य महोत्सव गरेर बिपीका बहुआयामिक व्यक्तित्वमाथि छलफल र बहस चलाएको हो ।

केवलकार सञ्चालनमा आएपछि मौलाकालिका मन्दिरमा भक्तजनको सङ्ख्या बढ्यो

चितवन, २५ भदौ : मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको सङ्ख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् ।धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केवलकार चलेपछि भक्तजनको सङ्ख्या २५ प्रतिशत हाराहारी बढेको छ । अहिले शनिबार एक हजार पाँचको हाराहारी भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य बार यो सङ्ख्या तीन सयदेखि पाँच सय हाराहारी हुन्छ । बिदाको दिन र पर्व विशेषमा सङ्ख्या बढ्ने गर्दछ । यो सङ्ख्या पहिलेको तुलनामा २५ प्रतिशत हाराहारी बढी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केवलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केवलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केवलकारको उद्घाटन गर्नुभएको हो । मौलाकालिका केवलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजारले केवलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।भदौ महिनासँगै सङ्ख्या बढ्दै गएको छ । केवलकारले बुधबार दिउँसो २ बजेपछि ५० प्रतिशत शुल्क कम गरेको छ । अन्य समयमा रु पाँच सय ५० शुल्क लाग्ने गरेको छ । केवलकारकारको दूरी पाँच मिनेटको छ । केवलकारबाट झरेर पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केवलकार स्थानीयवासीको सहकार्यमा आइएमइ ग्रुपले निर्माण गरेको हो ।केवलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।विसं २०५३ मा बनेको मन्दिरको विसं १५७५ देखिको इतिहास छ । सातामा करिब १५ हजारले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । बर्सेनि १० प्रतिशतले भक्तजनको बढेको उहाँको दाबी छ । नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँलगायतका जिल्ला र भारतका विभिन्न स्थानबाट दर्शनका लागि भक्तजन आउने गरेको सापकोटाले बताउनुभयो । मन्दिर आउने पर्यटकमध्ये पाँच प्रतिशत पर्यटक भारतीय रहेको उहाँको भनाइ छ ।करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।विशेषतः शनिबार र बिदाका दिन मन्दिरमा तीर्थालुको घुइँचो लाग्ने गरेको छ । हरेक बिहान ‘मर्निङ वाक’ गर्नेहरूको ठूलै भीड मन्दिरमा हुने गरेको छ । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

तेजाब आक्रमण गर्ने उम्कन नपाओस् : अध्यक्ष ओली

काठमाडौँ, २५ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिनका लागि ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उहाँले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

उहाँले आगो लगाउने र तेजाब आक्रमण जस्ता अपराध गर्ने कोही पनि उम्कन नपाउन र सजाय भोग्न बाध्य बनाउनुपर्ने बताउनुभयो । “कडा कानून बनाएर अपराधीलाई दण्डित नगर्ने हो भने सजिलै अपराधी उम्कन सक्नेछन्”, उहाँले भन्नुभयो, “त्यसैले आगो लगाएर मार्ने र तेजाब आक्रमण गर्नेलाई जिन्दगीभर जेलमा जानुपर्दछ र सड्नुपर्दछ भन्ने त्रास फैलाउनुपर्दछ । सजिलैसँग बहस गराएर छुट्ने खालको नहोस् भनेर कडा कानून बनाएका हौँ ।”

उहाँले अन्धविश्वासले जन्माएका विकृतिलाई रोक्नका लागि आवश्यकताअनुसार कानूनको दायरा विस्तार गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले तेजाब आक्रमण महिला र बालबालिका विरुद्धको हिंसाको विभत्स रूप भएको उल्लेख गर्दै तेजाब आक्रमण पीडितलाई परिचय साथै सरकारले हेरचाह, लालपालन, औषधि उपचार गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले आजको २१आँै शताब्दी सभ्य भएको समाजमा पनि दाइजोको कारणले तेजाब आक्रमण भइरहेको बताउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री छँदा नै तेजाब आक्रमणसम्बन्धी कानून निर्माण गरेको भन्दै तर उक्त कानून धेरै मुस्किलले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् विन्दावासिनी कङ्साकारले तेजाब आक्रमण गर्ने विरुद्ध बनेको कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । तेजाब पीडित मुस्कान खातुनले अहिले पनि गाउँघरमा तेजाब भनेको थाहा नभएको भन्दै तेजाबसम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले तेजाब पीडितलाई परिचयपत्र खुल्ने कागजात आवश्यक रहेको भन्दै परिचयपत्र खुल्ने कागज भएको भए औषधि पाउन सजिलो हुने बताउनुभयो । जलन पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभरि हुने भन्दै दाग हटाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले परिचयपत्र नभएकाले अस्तपालमा औषधि लिन जाँदा झन्झट भएको बताउनुभयो ।
–––

मुगु केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो

मुगु २५ भदौ : हिमाली जिल्ला मुगु केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको कालिकोट जुम्ला ३३ केभी प्रशारण लाइनको कालिकोटको नाग्म भन्ने स्थानमा ट्रयापिङ गरी मुगुसम्म ११ केभी विद्युत् लाइन जोडिएको हो ।

कालिकोटको नाग्मदेखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म ८५ किलोमिटर विद्युत् लाइन तानिएको छ । प्राधिकरणले आइतबारदेखि सदरमुकामलगायत आसपासका बस्तीमा विद्युत् लाइन दिन सुरु गरेको छ । यसअघि विद्युत् प्राधिकरणले गमगाढ साना जलविद्युत् आयोजना सम्पन्न गरेर चार सय किलोवाट विद्युत् उत्पादन गरी विद्युत् सेवा दिँदै आएको थियो ।

विद्युत् प्राधिकरणका तीन हजार पाँच सय ग्राहक रहेका मुगुमा केन्द्रीय लाइन पुगेसँगै विद्युत् नपुगेका बस्ती र पालिकामा विद्युत् विस्तार गर्दै लगिने गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष असोजमा आएको बाढीले गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत एक हजार एक सय मिटरमध्ये सात सय मिटर नहरमा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा दिन डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गरेको थियो । बाढीले क्षति पुर्‍याएको विद्युत् गृह र नहरको मर्मत गरे पनि विद्युत् सेवा नियमित हुन सकेको थिएन ।”

अब मुगु जिल्ला केन्द्रीय विद्युत् लाइनमा जोडिएकाले संरचना र लाइनमा ठूलै समस्या आएबाहेक विद्युत् आपूर्तिमा समस्या नआउने पनि गमगाढ वितरण केन्द्रका प्रमुख ऐडीले विश्वास दिलाउनुभयो । मुगु पुगेको ११ केभिएको विद्युत् लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन ११ केभिएलाई ३३ केभिए सबस्टेसनमा र ११ केभिए लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको विद्युत् प्राधिकरणले जानएको छ ।

मुगु जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब राष्ट्रिय लाइन पुग्न हुम्ला जिल्ला मात्र बाँकी रहेको छ ।

बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी – डा बाबुराम भट्टराई

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।

कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मार्क्स र गान्धीको विचारबाट प्रभावित हुनुभएका बिपीको विचारमा मार्क्सवाद र गान्धीको आर्थिक समाजवाद तथा अहिंसावादी व्यवहार झल्किन्छ । बिपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्र कै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन् ।”

उहाँले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आउनुभएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बिपीको राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको उल्लेख गर्नुभयो । उहाँले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताउनुभयो । उहाँले नेपालमा दलहरूबीच पदका लागि बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराई भन्नुभयो, “कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बिपी भन्नुहुन्थ्यो ।”

अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको योगदान अतुलनीय : नेता डा खड्का

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।

कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो ।

सो विषयमा मन्तव्य राख्दैकांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजा महेन्द्रले बिपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल पुरस्कार विजेताले विरोध गरेको घटना ऐतिहासिक थियो ।”

उहाँले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।

कूटनीतिक क्षेत्रमा बिपीको योगदानलाई सबैले सम्मान गर्नुपर्छ : नेता ज्ञवाली

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।

कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य राख्दै

नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले चीनसँग सम्बन्ध राख्दा भारत विरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनुपर्दैन भनेर बिपीले लिनुभएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताउनुभयो ।

नेता ज्ञवालीले बिपीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिनुभएको, भारतको अनुचित दबाबलाई बिपीले अस्वीकार गर्नुभएको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिनुभएको बताउनुभयो । उहाँले बिपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्नुपर्ने बताउनुभयो ।

कैदीबन्दीले बुनेका मुढा चीन निर्यात

तनहुँ – तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि माग बढ्ने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो ।

बाह्य देशमा मुढा निर्यात हुन थालेपछि कैदीबन्दी उत्साहित भएर मुढा बनाउने कार्यमा खट्दै आएका छन् । कारागारमा अहिले २० महिलासहित कूल दुई सय ८७ कैदीबन्दी छन् । जसमा तीन बालिका कैदीबन्दी महिलासँग नै आश्रित रहेको सो कारागारले जनाएको छ ।

“एक हजार तयारी मुढा चीन पठाइएको छ”, उहाँले भन्नुभयो, “प्रति मुढा रु पाँच सयका दरले बिक्रीका लागि पठाइएको हो ।” कारागारको ‘ए’ ब्लकमा रहेकामध्ये करिब ४५ जनाले बुनेका मुढा स्थानीय बजारमा खपत हुने गरेको सो कारागारले जनाएको छ ।

त्यसैगरी ‘बी’ ब्लकमा रहेकामध्ये ७० कैदीबन्दीले निर्माण गरेको मुढा बाह्य देशमा निर्यात हुने गरेको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला कैदीबन्दी भवनमा रहेका २० महिला कैदीबन्दीमध्ये अधिकांश तानबाट कपडा बुन्ने कार्यमा व्यस्त छन् ।

कारागारमा रहेका अधिकांश कैदीबन्दीले सीप सिकेर आयआर्जन गरी समय समयमा घर खर्च पठाउने कार्य पनि गरेको उहाँले बताउनुभयो । व्यापारीले पेश्की स्वरुप दिएको रकमले मुढा बनाउन आवश्यक कच्चा पदार्थ खरिद गरी मुढा बनाउने गरेका छन् । उहाँले भन्नुभयो, “कारागार प्रशासनले उक्त सामग्री खरिदका लागि सहजीकरण गर्दै आएको छ ।”

सुक्खा पहिराका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन

गलेश्वर (म्याग्दी), २५ भदौ : आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक खण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन् ।म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ । पहिराको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ ।

उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिराले सताइरहने सो सडक खण्डमा आइतबारदेखि पुरानो पहिराको करिब ६० मिटर वर तातोपानी क्षेत्र तर्फबाट नयाँ सुक्खा पहिरो खसेपछि नयाँ समस्या थपिएको हो ।

सुक्खा पहिराका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधनहरू तातोपानी र दरबाङदेखि बेनीतिर जाने सवारी साधनहरू मसारमा रोकिएका छन् । यात्रुहरू घुमाउरो बाटो प्रयोग गरेर पैदल नै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेकोमा अहिले नयाँ ठाउँबाट सुक्खा पहिरो झर्न थालेपछि झनै समस्या भएको उहाँले बताउनुभयो ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरू घुमाउरोबाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ छ । “वर्षापछि पाखोबाट बगेर आउने ग्रेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ,” उहाँले भन्नुभयो “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।”

उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । करिब दुई सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडकमुनि म्याग्दी नदी छ । “सडकमाथिको भिरमा ग्रेगरै ग्रेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” श्रीसले भन्नुभयो, “म्याग्दी नदीको किनारमा बनाइएको पक्की पर्खालले कटान रोकिएको छ ।”

उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र दुई सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको भए पनि अहिले सुक्खा पहिरो खसिरहेकाले समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ,” उहाँले भन्नुभयो । फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने स्थानीयवासीले बताएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौँ, २५ भदौ : म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ ।

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

रुकुम, २५ भदौ : भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिनुभयो । घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् ।

कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ । –––

‘बिपीले समय नपाउँदा समाजवादलाई व्यावहारिक रुपमा उतार्न पाउनुभएन’

काठमाडौँ, २५ भदौ : नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको एक सय १०औँ जन्मदिनको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोस्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरूले विभिन्न धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बिपीले नपाएको १५ वर्ष’ विषयमा धारणा व्यक्त गर्नुभएको हो ।

शर्माले बिपीले दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व गरे पनि राजनीतिक पूर्वग्रहका कारण पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजवादको आफ्नो सैद्धान्तिक अवधारणालाई व्यावहारिक रुपमा उतार्न नपाउनुभएको बताउनुभयो ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका विपीन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाउनुभएको उल्लेख गर्नुभयो । अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजवादी अर्थनीति अनुसरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका सङ्केत देखिएको तर त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । आर्थिक मितव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बिपीको अवधारणालाई तत्कालीन सरकारले विसं २०१६ मा अभ्यास सुरुआत गरेको उहाँले बताउनुभयो ।

झाले बिपी नेतृत्वको सरकारले समावेशिता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उहाँको नीतिलाई कांग्रेसले आज व्यवहारमा उतार्नुपर्ने खाँचो औँल्याउनुभयो । नेपाली साहित्यका शिखर पुरुष महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मोत्सवको अवसरमा आयोजना गरिएको महोत्सव कांग्रेस केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको हो ।

तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुँदैछ । महोत्सवको दोस्रो दिन सोमबार ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ भएको थियो, जहाँ ३० जना गजलकारहरूले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता

काठमाडौँ, २५ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सो सम्बन्धी गतिविधिबारे सङ्क्षिप्तमा जानकारी गराउनुभएको थियो ।

नेपालमा सञ्चालन गर्न सकिने फ्याक्ट्री, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वू ली र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्युन ली, नेपालका लागि कोरियन राजदूत ताइ–योङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।

सूर्यविनायक–रत्नपार्क दू्रत बस सेवा संविधान दिवसको दिनदेखि

काठमाडौँ, २५ भदौ : सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गर्नुभएको थियो । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभएको छ । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिनुभएको छ । “अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलि २६ भदौदेखि सुरु गर्छौ ”, उहाँले भन्नुभयो ।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनुभयो । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याउनुभएको हो । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि बस सेवाका विषयमा केहि आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।
–––

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग महासङ्घको भेटवार्ता

काठमाडौँ, २५ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घ प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ ।

भेटका क्रममा महासङ्घ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकार समक्ष आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भइरहेको र छिट्टै निर्णय गरिने बताउनुभयो । यसैगरी अध्यक्ष ढकालले सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनःसञ्चालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

महासङ्घका पदाधिकारी एवं प्रदेश अध्यक्ष सहभागी रहेको भेटवार्तामा गिटी बालुवा लगायतका वस्तुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरी निकासी गर्न दिइनुपर्ने सुझाव पेस गरिएको थियो ।

यसैगरी नयाँ बनेका पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासङ्घको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसँग छलफलको तयारी गरिरहेको बताउनुभयो ।

स्थानीयको माग सम्बोधन गरेर लप्सेफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति

काठमाडौँ, २५ भदौ : सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सबस्टेसन निर्माणको काम अगाडि बढाउन दिन आग्रह गर्नुभएको थियो । काठमाडौँ उपत्यकाको विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको सो सबस्टेसन निर्माणमा जति दिन ढिलाइ हुन्छ, त्यति नै दिन समस्या झनै बढ्दै जाने उल्लेख गर्दै मन्त्री बस्नेतले स्थानीयस्तरमा गर्नुपर्ने विकास निर्माण तथा अन्य कामलाई सरकार र आयोजनाका तर्फबाट अविलम्ब अगाडि बढाइने बताउनुभयो ।

स्थानीयवासीको माग सम्बोधन गरिने र हालको अवस्थाभन्दा सबस्टेसन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारका तर्फबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ छ । उहाँले सामाजिक उत्तरदायित्व, प्रसारण लाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रूपमा नै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्र नै विद्युत् कटौती गर्नुपर्ने अवस्थाको सिर्जना आएकाले बाध्यकारी स्थिति पैदा भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यसको गम्भीरतालाई सम्मान गरेर काम गर्न दिने वातावरण बनाउन मन्त्री बस्नेतले आग्रह गर्नुभयो । उहाँले आयोजनाबाट पर्ने प्रभावलाई सकेसम्म कम गर्ने तथा गराउनेतर्फ सरकारका तर्फबाट अधिकतम प्रयास गरिने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहजरूपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले स्थानीयवासीले उठाएका मागको अधिकतम सम्बोधन गरिने र त्यसका लागि सरकारका तर्फबाट पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीयरूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी चार सय केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको एक सय ३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायणमा एक सय ३२ केभी क्षमताको सबस्टेसन सम्पन्न हुने चरणमा छ ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ साल जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एकजना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब रु ५० करोड वितरण गरिएको छ ।

क्षतिपूर्ति नपाएको एक जनाको हकमा कानूनी समस्या उत्पन्न भएको छ । उक्त व्यक्तिले भोगचलन गरिरहेको भएता पनि पर्ती जग्गाका रूपमा रहेकाले मुआब्जा दिन समस्या छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे, सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शङ्खरापुर–३ का वडाअध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो ।

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

ताप्लेजुङ, २५ भदौ : नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताउनुभएको छ ।

मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पार्नुभयो । आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गर्नुभयो ।

“विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो”, सहमहामन्त्री उपाध्यायले भन्नुभयो । वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्र्दभिक हुने उहाँले बताउनुभयो । वीपीका विचार र व्यवहारका प्रभाव युगौँ युगसम्म रहने उल्लेख गर्दै उहाँले पार्टीले उहाँका विचार र सिद्धान्तलाई भुल्न नहुने बताउनुभयो ।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद लीलादेवी बोखिम, पार्टीका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा, बेयुरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा रहेको छ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ।

अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी – अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठूलो ढुङ्गा फुटाल्न नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।”

आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ ।

‘नेपान’को नयाँ कार्यसमिति गठन

काठमाडौँ – नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।

नवगठित कार्यसमितिमा कोषाध्यक्ष रुपा बस्नेत, डा अनोज क्षेत्री (निवर्तमान अध्यक्ष) सदस्य, डा रोजी जोशी, डा जानुका न्यौपाने, डा नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी र गिरी पन्थी चयन हुनुभएको छ । साधारणसभाले विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाजमार्फत शासकीय प्रक्रियामा सुधार गर्ने उद्देश्यसहित सन् २०२३ देखि २०२७ सम्मको रणनीति पारित गरेको छ । साधारणसभाका क्रममा आयोजना गरिएको शिक्षा क्षेत्रको रुपान्तरणका विषयमा नीतिगत बहसमा डा विष्णुराज उप्रेती, सह–प्रध्यापक डा प्रकाशचन्द्र भट्टराई, डा मीनाक्षी दाहाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार डा अरुणा उप्रेतीलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार लक्ष्मी कुँवरलाई प्रदान गरियो । ‘सहभागिता’ विकास पत्रिकाको ५७औँ अङ्क र ‘पार्टिसिपेसन’ अङ्ग्रेजी जर्नलको २३औँ अङ्कको पनि लोकार्पणसमेत गरिएको थियो ।

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसक्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाउनुभएको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा केन्द्रित हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिँदादेखि कार्यस्थलसम्म भोगेका समस्या, त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ । बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

कानुनी प्रावधान, नीतिगत व्यवस्थालगायत विषयमा छलफल गरी रणनीति र योजना बनाएर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । वैदेशिक रोजगारका क्रममा गन्तव्य मुलुकमा नेपाली श्रमिकले भोग्दै आएका समस्या फरकफरक छन् । वैदेशिक रोजगारीका क्रममा हुने ठगीका घटना बढ्दै गएका छन् । ठगी नियन्त्रण गर्न विशेष योजना बनाउनुपर्नेमा आवाज उठ्दै आएको छ ।

छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागितासमेत रहेको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ । यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हँुदैछ ।

यही भदौ ७ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्री, सरोकारवाला मन्त्रालय र विभागका प्रमुखसहितको बैठकले श्रम गन्तव्य मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग श्रम आप्रवासनका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासबाट आवश्यक तथ्याङ्क लिन मुख्यसचिवको नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव सम्मिलित कार्यदल बनाइएको थियो ।

‘म चीनलाई समेट्न चाहन्नँ’ – बाइडेन

हनोई – राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताउनुभएको छ ।

वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको छ तर उहाँले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताउनुभयो ।

उहाँले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताउनुभएको थियो ।

उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताउनुभयो । यसअघि उहाँले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताउनुभएको थियो ।

वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाउनुभएको छ ।बाइडेनले हनोइमा भएको एक पत्रकार सम्मेलनमा भन्नुभयो, “अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ ।”

उहाँले चीनसँगको तनावलाई सङ्केत गर्दै भन्नुभयो, “म चीनलाई ‘समेट्न’ चाहन्नँ । “म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ । जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ ।”चीनका राष्ट्रपति सी चिनफिङ जी–२० सम्मेलनमा सहभागी नहुनुलाई केही वैश्विक परिस्थितिबाहेक बेइजिङ र दिल्लीबीच क्षेत्रीय र अन्य विषयमा देखिएको विवादसँग पनि जोडेर हेरिएको छ ।

केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पु¥याउनुपर्ने बताउनुभएको छ ।ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उहाँले सहकारीको महत्त्व गाउँका किसानसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाइ राख्नुभयो ।

अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताउनुभयो । “हरेक मानिस सहकारीको स्वामी हुन सक्दछ । ऊ त्यसमा सहभागी मात्र होइन । त्यो मानिस आफैँ स्वामी पनि हुन सक्दछ । त्यो विधि कसरी अपनाउने ?”, उहाँले भन्नुभयो, “उसको श्रमले नै सहकारीको हिस्सेदार बनाउनुपर्दछ । परिवार, व्यक्तिको स्वामित्व सहकारीसँग जोडिनुपर्दछ ।”

अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र निर्देशित राजनीति रहेको उल्लेख गर्दै एमालेको कित्ता राष्ट्रिय राजनीति रहेको बताउनुभयो । उहाँले उद्यमीहरू अहिले अप्ठ्यारोमा परेको भन्दै बैंकहरूलाई पनि साहुजी भएर धितो लिलाम नगर्न आग्रह गर्नुभयो । “पहिले कोरोना भाइरसले गर्दा अप्ठयारोमा परे । अर्थतन्त्र धराशायी रहेको छ । सञ्चालन गर्ने पूँजी छैन । सञ्चालन गर्दागर्दै उद्योग धराशायी भएका छन् । अर्बांै खर्च गरेर उद्योग खोलेका छन्,” उहाँले भन्नुभयो, “यस्तो बेला बैंकहरूले साहुजी भएर धितो लिलाम गर्ने होइन । उनीहरूलाई सप्रनका लागि समय दिनुपर्दछ । ऋण सञ्चालन खर्च थपिदिनुपर्दछ ।”

उहाँले सहकारी पनि अहिले अप्ठ्यारोमा रहेको बताउनुभयो । उहाँले उत्पादन र विवरणलाई सन्तुलन गर्न सके गरिबी नहुने र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

काठमाडौं – सोमवार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सामुदायिक वनमा नेपाली सेनाले रोप्यो दुई हजार बिरुवा

भोजपुर, २५ भदौ : वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो ।

यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिनुभयो ।

“वातावरणको संरक्षणका बिरुवा रोपेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।” सेनाले विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत आफ्नो गतिवधि बढाएको गणपति थापाले बताउनुभयो ।

सेनाले थालेको बिरुवा रोपण अभियान सरहानिय रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । वृक्षरोपणका लागि सेनालाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो । डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम गरिरहेको बताउनुभयो ।

चलचित्र ‘एक भगवत् गीता’ को नाम परिवर्तन भएसँगै जुट्यो सहमति

काठमाडौँ – चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।

यसअगाडिको नामले सनातन धर्ममाथि चोट पु¥याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताउनुभयो ।

“हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो”, बोर्ड अध्यक्ष केसीले भन्नुभयो । निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पु¥याएको छैन ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

काठमाडौँ, २५ भदौ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताउनुभयो ।

“सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाह भन्नुहुन्छ, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो । बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ ।” आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उहाँको भनाइ छ ।

संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद् सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उहाँ बताउनुहुन्छ । यसबारे संसद्मा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको उहाँको गुनासो छ । संसद्मा क्यालेण्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको आरोप छ ।

अर्कोतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको शाहको बुझाइ छ ।

“सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाए । मैले पूल बनाए, बाटो बनाए भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन् । अर्को पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ”, सांसद शाह भन्नुहुन्छ, “सामान्य हिसाबले हेर्दा एउटा नगर प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन् । त्यहि भनेर भोट मागिरहेको अवस्था छ ।”

सांसदलाई उहाँहरुको भूमिका के हो भनेर बुझाउन जरुरी रहेको शाहको तर्क छ । त्यस्तै नागरिकस्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने उहाँ बताउनुहुन्छ । सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

“सांसदका रुपमा मुख्य काम कानुन निर्माण गर्ने हो । जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानून निर्माणमा सशक्तरुपमा लागि पर्ने हो । तर जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडक जस्ता पूर्वाधार बनाउने भन्ने संस्कारको विकास भयो”, सांसद शाह भन्नुहुन्छ, “विकास निर्माणका लागि सांसद एक माध्यम बन्न सक्छन् । तर हामी आफैँ ठेकेदार हैनौ । यो बुझ्न जरुरी छ ।”

लामो समय संसदीय अभ्यासमा लागेका दलका नेताले संसदीय मर्यादा उल्लङ्घन हुने गरी अभिव्यक्ति राख्ने गरेकामा शाहलाई त्यो कत्ति पनि चित्त बुझेको छैन । “सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ । जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो । त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ”, उहाँले भन्नुभयो ।

दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को सङ्ज्ञा दिनुहुँदै सांसद शाह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद् अल्झाउने गरेको बताउनुहुन्छ । यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

“जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने त्यो हुँदैन । हामीले पटक–पटक डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन ग¥यौँ । जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ । तर अहिलेसम्म त्यो हुन सकेको छैन”, शाह भन्नुहुन्छ ।

सत्तापक्ष र प्रतिपक्षले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उहाँको बुझाइ छ । सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उनीहरुले उपयुक्त वातावरण भने पाउन नसकेको उहाँ स्वीकार्नुहुन्छ । अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको शाहको बुझाइ छ ।

“हतारो कसैलाई रहेनछ । सरकारले आफ्नो तरिकाले चलाउने रहेछ । हतारो त जनतालाई मात्र रहेछ । ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ ।” उहाँ भन्नुहुन्छ । अझ कतिपय संसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उहाँले बताउनुभयो ।

“हाम्रा लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ । अन्य दलका सांसदले धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छौँ”, उहाँ भन्नुहुन्छ, “तर, धेरैजसो सांसद पूर्वतयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ । तथ्य–तथ्याङ्कमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ ।” संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ ।

सांसदका रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाह सदन नजितामुखी बन्न नसकेकामा दुःख लाग्ने बताउनुहुन्छ । “सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ, सबैले राम्रै कुरा गरिरहँदा पनि देशले लिनुपर्ने विकासको गति चाहिँ किन नलिएको होला ?”

हेर्नुहोस् भदौ २५ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – भुमि एवं वाहन सुख मिल्नेछ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ब्यापार ब्यवसाय मध्यम रहला । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृष राशि – मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ ।

मीथुन राशि – खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजाना आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको बहुआयामिक गरिबीविरुद्ध लड्न बलियो खजना आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आईतबार बसेको ३५औँ बैठकमा मुख्यमन्त्री शर्माले अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकारी संस्था स्विटजरल्यान्डको जुरिचमा भएको वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रममा कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजानाको आवश्यकताबारे विशेष मुद्दा उठाइएको बताउनुभयो ।

सदनलाई जानकारी गराउँदै उहाँले भन्नुभयो, “मानव अधिकारको कुरा गर्दै गर्दा गरिबीका कारण कर्णालीको मानव अधिकार हनन भएको कुरा हामीले जुरिचको छलफलनमा राखेका छौँ । गरिबीविरुद्ध लड्न राम्रो खजना आवश्यक भएको औँल्याएका छौँ ।” मानव अधिकार सुनिश्चित गर्नेबारे संस्थाका सेक्रेटरी प्रोफेसर राखेलसँग लामो छलफल हुनाका साथै फलदायी पनि भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।कर्णालीमा मानव अधिकार स्थापित गर्न सोचेभन्दा माथिको छलफल भएको बताउनुभएका यहाँले स्विट्जरल्यान्ड सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको विषयमा समेत कुरा भएको र अब पनि यहाँको विकासका लागि स्विट्जरल्यान्ड सरकार सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।कार्यक्रममा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री दिएको बताउँदै मुख्यमन्त्री शर्माले वैदेशिक सहयोग सिधै प्रदेश सरकारले लिन नपाउने प्रावधान भएकाले सङ्घीय सरकारमार्फत कर्णालीको विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु हुने गर्न अनुरोध गरिएको जनाउनुभयो । सरकार जहाँ रहे पनि जनताका काम नरोकिएको दाबी गर्दै उहाँले स्विट्जरल्यान्ड सरकार कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा लगानी गर्न उत्साहित रहेको सदनलाई जानकारी दिनुभयो ।

ललिता निवास प्ररकणमा सरकारले नै यसरी तुहायो ‘संगठित अपराध’

काठमाडौं । सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ।

सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा अनुसन्धान गर्न आदेश गरेपछि पनि किर्तेमा दर्ता भएको चर्चित मुद्दामा थुनछेक बहसपछि अदालतबाट अभियुक्तलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश भएको हो।

यो प्रकरणमा संगठित अपराध पनि आर्कषित हुनुपर्नेमा किर्तेमा मात्र मुद्दा चलाएर अभियोजनपत्रलाई कमजोर बनाइएको टिप्पणी भइरहेका थिए। किर्ते कागजात तयार गरेर ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउने र त्यसमा सहयोगीको अनुसन्धान प्रक्रियाप्रति आम जनता आश्वस्त हुन सकेका थिएनन्।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको पछिल्लो छानबिनप्रति पनि जनता दोषीलाई कारबाही हुन्छ भनेर आस्वस्त हुन सकेका थिएनन्। तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग ब्युरोले लिएको बयान पनि केबल देखाउने खालको मात्र थियो। ललिता निवासको जग्गा हिनामिना प्रकरण सही अर्थमा टुंगोमा नपुग्ने आशंका भइरहेका बेला सरकारी वकिलको कार्यालय काठमाडौंले छानबिनबाट दोषी देखिएकाविरुद्ध संगठित अपराधमा नभएर किर्तेमा मुद्दा दर्ता गरेको थियो।

सिआइबीले भने संगठित अपराधमा पनि मुद्दा चलाउनुपर्ने भन्दै अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले मुद्दाका १७ जना अभियुक्तलाई फरकफरक धरौटी रकम लिएर र एकजनालाई सामान्य तारेखमा छाड्न आदेश गरेको हो।

बालुवाटारस्थित चर्चित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्दा दोषी देखिएकालाई सिआइबीले संगठित अपराधमा पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने ३१२ जनाविरुद्ध भदौ १० गते किर्ते मुद्दा दर्ता गरेको थियो। अनुसन्धानका क्रममा सिआइबीले १८ जनालाई पक्राउ गरेको थियो। अदालतले पक्राउ परेकाबाहेक मुद्दा चलाइएका अन्यकोे हकमा भने केही बोलेको छैन।अदालतले अभियुक्तलाई हेरेर ३ लाख रूपैयाँदेखि साढे ३ करोड रूपैयाँसम्म धरौटी मागेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति जुट्न बाँकी रहेकाले आन्तरिक रूपमा सहमति जुटाएर मात्रै विधेयक संसद्मा दर्ता गर्न पठाइने भएको छ । अझै केही विषयमा आन्तरिक छलफल भएर थपथाप गर्नुपर्ने देखिएको छ, तर अब छिटै संसद्मा पठाउँछौं ।’ यद्यपि, संसद्मा नै आवश्यक छलफल हुने भन्दै सो विधेयक छिटोभन्दा छिटो संसद्मा दर्ता गराउन दबाब पनि परेको छ ।मन्त्रिपरिषद्को विधेयक समितिले प्रभावकारी रूपमा गृहकार्य नगर्दै मन्त्रिपरिषद्ले एकैचोटी विधेयक संसद्मा पठाउने निर्णय गरेपछि समस्या परेको बताइएको छ । स्रोतका अनुसार कर्मचारीको वृत्ति विकास, तथा प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन । सत्तारुढ दल नै यो विषयमा विभाजित बनेका छन् ।यसै गरी प्रदेशमा खटाउने सचिव केन्द्रको हुने की प्रदेशकै भन्नेमा विवाद छ । यस्तै, स्थानीय तहमा पठाउने प्रमुख प्रशासकीय अधिकृत पनि केन्द्रको हुने की प्रदेश तथा स्थानीय तहकै हुने भन्नेमा चरम विवाद छ । संघीयताको मर्मविपरीत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तथा स्थानीय तहकै हुने गरी प्रस्ताव गरिएको भन्दै विरोध हुँदै आएको छ ।सो पदमा केन्द्रबाट कर्मचारी नपठाए संघ र स्थानीय तहबीच समन्वयको काम हुन नसक्ने र सो कार्य संघीयताको मर्मविपरीत हुने विज्ञहरूको सुझाव छ । त्यसैले, प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाउने व्यवस्था गर्न विज्ञहरूले सुझाव दिँदै आएका छन् । यस अघि पनि सो विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरिएको भए पनि पछि विवाद भएपछि फिर्ता भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

प्रधानमन्त्रीको चीन भ्रमण : विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आईतबार सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नुभएका प्रधानमन्त्रीले साँझ भने परराष्ट्र विज्ञ तथा पूर्वराजदूतहरूसँग छलफल गर्नुभयो ।

प्रधानमन्त्री दाहाल यही भदौ ३० गते संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । महासभामा भाग लिएर प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने तयारी गर्नुभएको छ ।

गत जेठमा दक्षिण छिमेकी देश भारतको भ्रमण गर्नुभएका प्रधानमन्त्रीले उत्तरी छिमेकी देश चीनमा मुलुकका तर्फबाट राख्नुपर्ने विभिन्न एजेण्डामा साझा धारणा बनाउन छलफल गर्नुभएको हो । आज बिहानको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसङ्घ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने विषयका अतिरिक्त नेपालले अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा पूर्वप्रधानमन्त्रीहरूसँग प्रधानमन्त्रीले सुझाव माग्नुभएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति रहेको जानकारी दिँदै परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको उल्लेख गर्नुभएको थियो । आज बिहान भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको भ्रमणका क्रममा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएको थियो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव आफूले दिएको जानकारी दिनुभएको थियो । नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा रहेको उल्लेख गर्दै उहाँले चीन असल छिमेकी भएकाले पनि सोहीअनुसार उच्च महत्त्व दिनुपर्ने र सोही विषयमा केन्द्रित गर्न आग्रह गरेको उहाँको भनाइ थियो ।

नयाँ नयाँ योजनाका सूची प्रस्तुत गर्नुभन्दा पनि सन् २०१६ देखि २०१९ सम्म भएका उच्चस्तरीय भ्रमणमा र त्यस क्रममा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आफूले आग्रह गरेको पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एमाले नेता ज्ञवालीले जानकारी दिनुभएको थियो ।

छलफलका क्रममा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको बताउनुभएको थियो । यसैगरी, दुवै देशले एकअर्काको सुरक्षालगायत द्विपक्षीय चासोमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा सघन गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताउनुभएको थियो । प्रधानमन्त्रीले भन्नुभयो, “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंहरूले जुन सुझावहरू दिनुभएको छ, ती सुझाव महत्त्वपूर्ण छन । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।”

सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभएको थियो ।

कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै उहाँले भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने बताउनुभएको थियो । बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा विमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेललगायत हुनुहुन्थ्यो ।
–––

वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट कक्षमा विशिष्ट व्यक्तिको उपचार हुन थाल्यो

काठमाडौँ । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना भए ।

यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसकेका छन्। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा शय्या थप भएपछि विशिष्ट व्यक्तिको उपचार सुरु हुन थालेको जानकारी बताए । उनले वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति यादवसहित कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवको उपचार भइरहेको जानकारी गराए।

“वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति डा। रामवरण यादवसहित तीन जना भिआइपीको उपचार भइरहेको छ,” निर्देशक डा. पौडेलले भने, “पूर्वराष्ट्रपति यादवलाई उच्च रक्तचाप, मधुमेह तथा ब्याक पेनसम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो।” यसै गरी कोशी प्रदेशका मन्त्री कार्कीलाई डेङ्गु सङ्क्रमण देखिएपछि अस्पताल भर्नाका भएका हुन् ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि चार दिनदेखि वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भइरहेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका (न्याम्स) उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा अति विशिष्ट र विशिष्ट व्यक्ति आएर उपचार गर्नु सकारात्मक भएको जानकारी दिए।यसैबिच वीर अस्पतालमा उपचाररत पूर्वराष्ट्रपति डा।

यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरी स्वास्थ्यस्थितिबारे बुझेका छन्। मन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसहित वीर अस्पतालमा उपचाररत तीन जना विशिष्ट व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

ललिता निवास प्रकरणमा अदालतले सबैलाई किन छाड्यो धरौटीमा ?

ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । किर्तेको आरोप प्रमणित हुँदा उनीहरूमाथि बढीमा एक वर्षको सजाय हुन्थ्यो भने सरकारी कर्मचारीलाई अधिकतम दुई वर्षसम्म सजाय गर्न मिल्छ ।

न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार आरोपितलाई थुनामा राख्न नपर्ने आदेश दियो । सो दफामा ‘तीन वर्षभन्दा बढी कैद सजाय हुने’ अनुसूची–१ र २ का कसुरमा थुनामा राख्नुपर्ने उल्लेख छ ।

किर्तेको अभियोग स्थापित भए सरकारी कर्मचारीलाई सबैभन्दा बढी दुई वर्ष मात्रै कैद सजाय हुने भएकाले जिल्ला अदालतले उनीहरूसँग धरौटी मागे पुग्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम प्रतिवादीलाई थुनामा पठाउन मिल्ने नदेखिँदा त्यसतर्फ विचार गरिरहनुपरेन ।’

बिगोका आधारमा धरौटी माग्दा अधिकांशले बुझाउन नसकी फेरि थुनामै जाने परिस्थिति बन्ने भन्दै जिल्ला अदालतले कसुरदारको हैसियतअनुसार धरौटी तोक्ने आदेश गरेको हो । ‘धरौटी वा जमानत माग्नुको अर्थ अदालतले खोजेको बखत निजको उपस्थिति पाउनु हो,’ आदेशमा भनिएको छ, ‘यदि ठुलो रकम धरौटी माग गरिएमा अभियुक्त सो धरौटी राख्न नसकी थुनामा नै जानुपर्ने अवस्था नहोस् भनी धरौटी वा जमानत माग गर्नुपर्ने देखिन आयो ।’

अदालतले धरौटीमा छाड्दा सर्वोच्च अदालतको नजिरसमेत उल्लेख गरेको छ । अदालतले अनुसन्धान गरेकै विषयमा मुद्दा नचलाए पनि भइसकेको अनुसन्धान गैरकानुनी नमानिने भनेको छ । ‘असल नियतबाट अनुसन्धान गर्दै जाँदा कसुर गरेको भन्ने देखिन नआएमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरेको कार्य गैरकानुनी मान्न नमिल्ने’ तीन वर्षअघिको नजिर उदृत गर्दै जिल्ला अदालतले भनेको छ, ‘९मुद्दा० अहिले अन्तरकालीन प्रयोजनका लागि पेस भएको अवस्था हुँदा प्रतिवादीतर्फका कानुन व्यवसायीले लिएको सोसम्बन्धी जिकिरसँग सहमत हुन सकिएन ।’ यो समाचार राजधानी दैनिकमा छ ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काइयो

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुुभयो ।

“करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको धारमा फर्र्काइएको छ,” उहाँले भन्नुुभयो, “क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छाँै ।” बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको अध्यक्ष गुुरुङले बताउनुुभयो । 

खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ । घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुुरुङले बताउनुुभयो । 

स्थानीयवासीहरूले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ । पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुुमाउरो बाटो हिँड्नुुपर्ने बाध्यता हटेको छ । कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारी साधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ । 

भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन दश दिनपछि सञ्चालन आइसकेको शिक्षक मनवीर किसानले बताउनुुभयो । खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ । कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्ष गुुरुङले बताउनुुभयो । 

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । 

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो । 

व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् ।