`

सुनजस्तो देखिने धातुसहित चार जना विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौँ आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैधरूपमा लुकाइछिपाई भन्सार छली गर्न लगाई शनि देउला र कमल गुरुङले सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई त्यहाँ तैनाथ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भ्रष्टचारविरुद्धको अभियान रोकिन्न : नेता पौडेल

गण्डकी – नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताउनुभएको छ ।

पोखरामा आज आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पूर्ण बैठकमा उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकार दृढ रहेको उल्लेख गर्नुभयो । “बरु सरकार छोड्न परे पनि जनतालाई अपिल गरेर छोड्छौँ, तर सुशासनको अभियानलाई बीचमै राक्दैनौँ”, नेता पौडेलले भन्नुभयो, “भ्रष्टाचार विरुद्धको अभियान थालेपछि देशव्यापी रूपमा सरकार र पार्टीप्रति सकारात्मक सन्देश गएको छ ।”

उहाँले तीन महिने पार्टी रूपान्तरण अभियानले माओवादी केन्द्रलाई पुनः जनतामा स्थापित गर्ने बताउनुभयो । “विधान अधिवेशनमार्फत साङ्गठानिक सुधारसँगै विचार र कार्यक्रममा पनि व्यापक बहस गरेर अगाडि बढ्छौँ”, नेता पौडेलले भन्नुभयो, “पार्टीलाई नयाँ पुस्तासँग जोड्ने गरी लाग्नुपर्ने आवश्यकता छ ।”

परिवर्तनका संवाहक दल भएर पनि माओवादीले आफ्ना मुद्दा र उपलब्धिलाई जनस्तरमा स्थापित गर्न नसकेको उहाँले बताउनुभयो । “संसद्मा पनि हामी एक्लो जस्ता छौँ, आलोचक दल धेरै छन्, हामीले त्यसको प्रतिवाद गर्न सकिरहेका छैनौँ”, नेता पौडेलले भन्नुभयो, “माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्न एकथरि तत्व सक्रिय छ ।”

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

काठमाडौँ, २४ भदौ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ ।महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता खारेज गर्न माग गरेको हो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले विगत दुई दशकदेखि संस्था दर्ता ऐन, २०३४ मा रहेका सङ्घ, समितिलाई सिन्डिकेटका नाममा अध्ययन र व्यवस्थापन विना हचुवाको भरमा कम्पनीमा रुपान्तरण गर्दा यातायात क्षेत्र सञ्चालनमा समस्या परेको बताउनुभयो ।

सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, यात्रुमैत्री, प्रविधियुक्त बनाउन सरोकारवाला सहितको सहभागितामा अधिकार सम्पन्न यातायात प्राधिकरण गठनका लागि पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल निर्माण गरिएकाले महासङ्घबाट पेस गरिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।

महासचिव गौतमले २० वर्षे सवारी साधन विस्थापन गर्ने अवैधानिक नीति तत्काल खारेज गरी सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणबाट उपयुक्त देखिएका सवारी साधन सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।

महासङ्घले विगत चार वर्षदेखि कच्चीसरह रहेका नेपालका राजमार्गमा पुनर्निर्माण कार्य सम्पन्न नहुँदासम्म कच्ची सडकको भाडादर कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनको पाटपुर्जा, टायर, मजदुर ज्यालालगायत कारणले प्रत्येक वर्ष भाडादर समायोजन गर्नुपर्ने, काठमाडौँ उपत्यकामा सञ्चालन हुने टिपरहरू बेलुका ७ देखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिनसमेत आग्रह गरेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक अङ्कमा ल्याउनुपर्ने, एपबाट सञ्चालन भएका निजी सवारी साधनलाई तत्काल रोक लगाउनुपर्ने, पर्यटन सवारी साधनको भाडादर समायोजन गर्नुपर्ने, आउँदै गरेका महान् पर्वमा वर्षाका कारण बिग्रेका सडक मर्मतसम्भार गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

महासङ्घले स्थानीय तहले जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने, दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारी साधनसरह यात्रु बोकेको भन्दै त्यसलाई तत्काल रोक लगाउनुपर्ने, सार्वजनिक सवारी साधन दुर्घटना हुँदा सवारी साधन प्रहरी नियन्त्रणमा २४ घण्टाभन्दा बढी राख्न नपाइने कानुनी व्यवस्थालाई तत्काल लागू गर्न सरकासँग आग्रह गरेको छ ।

यसैगरी सरकारले ज्येष्ठ नागरिक, विद्यार्थीलाई सहुलियत दिएबापत सार्वजनिक सवारी साधनको वार्षिक करमा ६० प्रतिशत छुट दिँदै आएको व्यवस्था हटाएको भन्दै छुटको व्यवस्था मिलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

नेपालको सार्वजनिक यातायात क्षेत्रमा निम्न र मध्यम वर्गको १० खर्ब लगानी रहेको बताइएको छ । नेपालको सार्वजनिक यातायात क्षेत्रले हाल ११ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएको र ४० लाख व्यक्ति यातायात क्षेत्रमा आश्रित रहेको महासङ्घले जनाएको छ । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष स्वाँरले बताउनुभयो ।

वाणिज्य नीति परिमार्जन गर्ने तयारी

काठमाडौँ, २४ भदौ : सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा आज मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त कार्यक्रमलाई उद्योगमन्त्री रमेश रिजालले सम्बोधन गर्नुभएको थियो । आन्तरिक उत्पादनलाई बढावा दिएर मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले नेपाली वस्तुको उत्पादन बढाउने र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी वाणिज्य नीति ल्याइने स्पष्ट पार्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आन्तरिक आपूर्ति तथा मूल्य शृङ्खला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीतिमा समसामयिक परिमार्जन आवश्यक रहेको मन्त्रालयको भनाइ छ । वाणिज्य नीतिमार्फत बजार विकास गर्ने, मूल्य शृङ्खलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउनेगरी नीति परिमार्जन गर्न लागिएको हो । नेपालमा विगतमा तर्जुमा भएका वाणिज्य नीतिले आन्तरिक व्यापारभन्दा अन्तर्राष्ट्रिय व्यापार र सेवा निर्यातभन्दा वस्तु निर्यातलाई धेरै जोड दिएको भन्दै मन्त्रालयले नयाँ नीति अवलम्बन गर्न लागेको हो ।

सक्षम, कुशल र प्रभावकारी आन्तरिक आपूर्ति तथा मूल्य शृङ्खला निर्माण गर्दै क्षेत्रीय तथा विश्व मूल्य शृङ्खलामा व्यापारको माध्यमबाट लाभदायी सम्बन्ध स्थापित गर्नेमा नयाँ वाणिज्य नीतिले जोड दिने मन्त्रालयले जनाएको छ । बदलिँदो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवेश, कोभिड महामारी, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, संवैधानिक, नीतिगत तथा कानुनी प्रावधानमा भएका परिवर्तन समेतलाई ध्यान दिई विद्यमान वाणिज्य नीतिमा समयानुकूल परिमार्जन गर्दै नयाँ वाणिज्य नीति तर्जुमा गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २६ गतेसम्म चल्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको त्रि–दिवसीय ऐतिहासिक महोत्सवको उद्घाटन तथा अन्य कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेलगायत व्यक्तित्वको बाक्लो सहभागिता थियो ।

महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान हाइजेकिङ फर डेमोक्रयासी चलचित्र अवलोकन पश्चात पानसमा दीप प्रज्वलन र वृक्षमा जल सिञ्चन गरी महोत्सवको उद्घाटन गर्नुभएको थियो । तत्पश्चात किरण मानन्धरले क्यानभासमा तयार गरेको लाइभआर्टमा सभापति देउवाले रङ लगाएर चित्रकलाको सुरुआत गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा सभापति देउवाले बिपीको राजनीतिक चिन्तन नै कांग्रेसको मार्गदर्शन भएको कुरामा जोड दिँदै बिपीको विचार कांग्रेसले मात्रै नभई नेपालका सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले अनुकरण गरिरहेको बताउनुभएको थियो । साथै उहाँले कांग्रेस आजसम्म बिपीकै विचारको मार्गमा चलिरहेको बताउनुभएको थियो । उद्घाटन मन्तव्यपछि सभापति देउवाले बागमती किनारमा रहेको बिपी पार्कमा रूद्राक्षकोे बिरुवासमेत रोप्नुभएको थियो । महोत्सवमा एक सय १० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिट माथि स्थायीरूपले रहने गरी बिपीको तस्बिर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अङ्कितको बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहको सञ्चालन सहमहामन्त्री तथा बिपी साहित्य महोत्सव–२०८० का संयोजक बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो । आज पाँच वटा विभिन्न विधामा कार्यक्रम सञ्चालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुवेदी वक्ताको रूपमा हुनुहुन्थ्यो भने उक्त सम्भाषणको सहजीकरण सोझो गाउँलेले गर्नुभएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले एक घण्टा सहजीकरण गर्नुभएको ‘बिपीका दृष्टिमा बिपी’ भन्ने शीर्षकमा साहित्यकार भुवन ढुङ्गाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सिके लाल वक्ताका रूपमा छलफलमा सहभागी हुनुभएको थियो भने लाइभआर्ट विजय थापाले गर्नुभएको थियो । ‘बिपीका आख्यानमा मनोविश्लेषण’का विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतीक्षा वक्ताका रूपमा हुनुहुन्थ्यो भने सहजीकरण दीपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले भएको थियो । यसैगरी ‘साहित्यमा पर्यावरण’ शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र सङ्गीता रायमाझी वक्ताका रूपमा हुनुहुन्थ्यो भने अर्चना थापाले सहजीकरण र किरण मानन्धरले लाइभआर्ट गर्नुभएको थियो । ‘नेपालको मातृभाषा साहित्य’ शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रूपमा हुनुहुन्थ्यो भने प्रकाश थाम्सुहाङले सहजीकरण र किरण सिगूले लाइभआर्ट गर्नुभएको थियो ।

साँझ कविहरूले कविता वाचन गर्नु भएको थियो भने त्यसको सहजीकरण हेमप्रभासले गर्नुभएको थियो । विभिन्न सत्रहरूको बीचमा सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानैदेखि सहभागीहरूको आगमनले खचाखच भरिएको थियो । कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवमा पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरू, मन्त्रीहरू, सांसदहरू, भ्रातृ एवं शुभेच्छुक सङ्घ–संस्थाका प्रतिनिधिहरू, विभिन्न विधाका विद्वान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, विद्यार्थीलगायतको बाक्लो सहभागिता देखिएको थियो । भोलि दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । ‘मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिनु हुनेछ । त्यसपछि ‘बिपीले नपाएका १५ वर्ष’, ‘बिपीका आख्यानमा मधेस’, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुनेछ ।

त्यस्तै तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुनेछ । त्यसपछि ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’, ‘समय र सबाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बिपी’ विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गितिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले एक सय १०औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा बिपी विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ । महोत्सव अवधिभर कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाली जाँडलाई विदेश निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

तुलसीपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताउनुभएको छ । दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उहाँले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताउनुभयो ।

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उहाँले भन्नुभयो, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उहाँले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताउनुभयो । साथै उहाँले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताउनुभयो । उहाँले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताउनुभयो ।

सरकार घेराबन्दी पर्ला तर फाइल खोल्न छाडिन्न : मन्त्री गुरुङ

वालिङ (स्याङ्जा), २४ भदौ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ कार्यक्रममा उहाँले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

“सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उहाँले भन्नुभयो, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उहाँको दाबी थियो । “भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उहाँले भन्नुभयो, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।”

कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले विपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरु गलत हुने बताउनुभयो । “विपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उहाँले भन्नुभयो, “बोलेरभन्दा पनि कर्मबाट विपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाले आज पनि विपीका सिद्धान्तहरु उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । विचार गोष्ठीमा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, महेश भट्टराई, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य भागवतप्रकाश मल्ल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कांग्रेस स्याङ्जाले पार्टी कार्यालय स्याङ्जामा खुल्ला रक्तदानसमेत गरेको थियो ।

मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

मलङ्गवा, २४ भदौ : धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मलङ्गवामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।

भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

आज बिहान ८ बजेपछि कफ्र्यु हटाए पनि मलङ्गवा नगरपालिका–२, स्थित भएको झड्प नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली हवाई फायर गरेको थियो भने कयौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले बजार, पसल खोल्न तथा यातायातका साधन चलाउन भने पनि आज पनि ठाउँठाउँमा टायर बालेर विरोध भएपछि मलङ्गवा बजार पूर्णरूपमा बन्द रहेको छ

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

काठमाडौँ, २४ भदौ : ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने भएको छ । उहाँले यहाँ पत्रकार सम्मेलन गरी पृथ्वीको बिग्रिँदै गरेको वातावरण र पर्यावरण बचाउन र मान्छेले मान्छेका अधिकार प्राप्त गर्नका लागि विश्वभरि अभियान सुरु गर्न लागेको बताउनुभयो ।

कार्यक्रमको नाम ‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ राखिएको छ । विश्वभरका एक सय ५० भन्दा बढी देशमा म्याराथन सञ्चालन हुने बताइएको छ । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथा आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथन हुनेछन् ।

धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताइएको छ । कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तीमा पनि ४२ दशमलव १९५ किलोमिटर हुनुपर्ने मापदण्ड रहेको छ । उक्त मापदण्डका आधारमा उहाँले एक हजार वटा म्याराथन गर्ने हुनुभएको हो । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने बताइएको छ । एक हजार वटा म्याराथनका लागि साढे तीन वर्षको समयावधि छुट्याइएको धावक पुनले बताउनुभयो ।

‘बिपी कोइराला बहुआयामिक व्यक्तित्व’

काठमाडौँ २४ भदौ : जननायक बिपी कोइरालाको एक सय १०आँै जन्मजयन्तीको सन्दर्भमा आयोजित “बिपीको बहुआयामिक व्यक्तित्व” विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । बिपी सङ्ग्रहालय सुन्दरीजल काठमाडौँमा प्रजातान्त्रिक विचार समाज केन्द्रीय कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँसँग हरेक कुराको अथाह विश्लेषण गर्ने क्षमता रहेको बताउनुभयो । “बिपी यस्तो देशमा जन्मिनुभयो जहाँ उहाँ अटाउन सक्नुभएन ।

उहाँ अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुुहुन्थ्यो, चीनमा नेपालका कुनै नेतालाई चिन्छन् र स्मरण गर्छन भने त्यो एक मात्र व्यक्ति बिपी कोइराला हुनुहुन्छ”, उहाँले भन्नुभयो । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले नेता बिपीलाई महानायक, महामानव भन्नुमा ठूलो कारण रहेको बताउनुभयो । प्रजातान्त्रिक विचारको संस्थापक र विचारक बिपी कोइराला भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी जुन धरातलमा उभिएका छौँ, यो संस्था बिपीको सैद्धान्तिक सामिप्यता जोडिएको स्रोतबाट हामी यो बाटो हिँडेका हौँ ।” नेपाली कांग्रेसका नेता तारिणीदत्त चटौतले बिपीको राजनीतिक आर्दश, सिद्धान्त र चरित्रको चर्चा गर्दै बिपीका आदर्शलाई आजको राजनीतिज्ञले पनि अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सङ्ग्रहायबारे जानकारी गराउँदै बिपीको बहुआयामिक व्यक्तित्वको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।

संस्थाका सल्लाहकार प्रा डा हरिदर्शन श्रेष्ठले नेपाली राजनीतिमा बिपी कोइराला असल र सरल व्यक्ति भएको बताउनुभयो । संस्थाका सल्लाहकार राजन कुइँकेलले धार्मिक आस्थाका आधारमा बिपी कतै पनि नभई उहाँले सबै धर्मलाई सम्मान गरेर समान ढङ्गले हेर्नुभएको पाइएको बताउनुभयो । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्षद्वय गोकर्ण अर्याल र ईश्वरी लौडारी, उपाध्यक्षद्वय मेनकाराज भण्डारी श्रेष्ठ र अनार बस्नेत, प्रदेश उपाध्यक्षद्वय धु्रवबहादुर मल्ल र भरतप्रसाद दवाडी, महासचिव वासुदेव भण्डारी, उपमहासचिव सिवी मल्ल, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, हरिसिंह केसीलगायत व्यक्तिले बिपीको बहुआयामिक बारेमा चर्चा गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौँ, २४ भदौ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना हुनुभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ । उहाँले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेट्नुभयो । मन्त्री बस्नेतले उहाँहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताउनुभयो ।

“उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ”, मन्त्री बस्नतेले भन्नुभयो, “वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ । अहिले सोहीअनुसार चाप बढेको छ । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।”

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । “उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ”, उपकुलपति प्रा डा बस्नेतले जानकारी दिनुभयो ।

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना हुनुभएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’ – नेपाली राजदूतहरु

पाटन – युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताउनुभएको छ । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले सम्बन्धित देशका व्यापार सम्बद्ध सङ्घसंस्थासँग भेटघाट गरेर सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्ने प्रस्ट पार्नुभयो । “व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरु पनि मिलेर काम गर्न सक्ने अवस्था सृजना गर्नुपर्छ । जागरुकतालाई रचनात्मक बनाउनु प¥यो, विश्वमा अलैँची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बङ्गलादेशमा नेपाली स्ट्राबेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ । जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्छौँ ।”, राजदूत ओलीले भन्नुभयो ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्ने र व्यापार प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताउनुभयो । “श्रमसँग र व्यापारसँग सम्बन्धित काम हाम्रो प्राथमिकता हो । नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो । जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदूतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भइरहेको छ । त्यसलाई अझ प्रभावकाकरी बनाउँछौँ”, राजदूत लम्सालले भन्नुभयो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको व्यापार घाटा ठूलो भएको बताउँदै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राख्नुभयो । “हामीले दिने सेवामा पासपोर्ट, भिजा लगायतका कन्सुलर सेवा त छँदैछ, त्यसका अलावा विभिन्न एक्स्पोमा स्टलहरु निःशुल्क गराउन पहल गर्नेछु । नेपालीलाई विदेशमा मेला पर्वहरु गर्न उत्साहित गर्छौँ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहन्छु”, राजदूत खत्रीले भन्नुभयो ।

उहाँले नेपाली व्यापारीले आग्रह गर्दा जहिले पनि सहजीकरण गर्न तयार हुने बताउनुभयो । उहाँले निर्यात गर्ने उत्पादनलाई प्याकेजिङ र लेबलिङ र ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो । निर्यात परिषद्को अध्यक्ष रेशम पोखरेलले युएईका लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणीकरण र निर्यातका लागि दूतावासले पहल गरिदिनुपर्छ भन्ने धारणा राख्नुभयो ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षमा छुर्पी करिब रु तीन अर्बको निर्यात भएको पाइन्छ भन्दै छुर्पीको पेटेन्ट राइट लिनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले जापानमा घ्यू आवश्यक रहेको भन्दै त्यहाँ कसरी पठाउने त भन्ने विषयमा सोच्न सक्दा राम्रो हुने बताउनुभयो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको बताउँदै त्यहाँका सङ्घसंस्था र आयोजकसँग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले राजदूतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको ब्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुन्छ भन्नेमा जोड दिनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना हुनुभएको थियो ।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहनुभएका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको वीरेन्द्र अस्पतालले जनाएको छ ।

सशस्त्र प्रहरी बलको फ्युल सेन्टरमा ‘चार्जिङ स्टेशन’

काठमाडौँ, २४ भदौ : सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा आज दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गर्नुभयो ।

सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जर छन् । यसबाट ठूला बससहित छ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेसन तेस्रो व्यक्ति÷संस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ ।

विद्युत वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले चार्जिङ स्टेसनको सञ्चालनबाट विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन मिल्ने र यसको उपलब्धताले प्रयोकर्तालाई विश्वसनीय र ढुक्क हुने वातावरण बनाउने बताउनुभयो ।

अर्यालले पेट्रोलियम पदार्थबाट सञ्चालनमा रहेका निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकिएमा भविष्यमा इन्धन र ऊर्जामा विदेशीने ठूलो धनराशि बचत हुने तथा व्यापार घाटा न्यूनीकरणमासमेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जा यहीँ खपत बढाउन विद्युतीय सवारी साधनको प्र्रयोगले सहयोग गर्ने भएकाले देशभर चार्जिङ स्टेसनको पूर्वाधार अझै विस्तारका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

विद्युत् खपत बढाउनका लागि उत्साहजनक चरणमा प्रवेश गरेको उल्लेख गर्दै घिसिङले भन्नुभयो, “विगतमा लोडसेडिङ हुँदा विद्युतीय सवारी साधनको कल्पना पनि सक्दैन थियौँ, लोडसेडिङ अन्त्यपछि विद्युतीय सवारी साधनको प्रयोग बढेको छ, चार्जिङ पूर्वाधार कम हुने होकी भन्ने अवस्था सिर्जना भएको छ, खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौँ”, उहाँले चार्जिङ स्टेसनमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न विद्युत् महसुलमा समायोजन गर्न तयारी भइरहेको बताउनुभयो ।

प्राधिकरणले पहिले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको छ ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारीसाधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सञ्चालित छन् । करिब रु ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कार चार्ज गर्न मिल्ने छन् ।

एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

सिङ्गापुर – एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् ।

चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चाङ्गी विमानस्थलले फेसबुकमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विमान स्थानीय समयअनुसार अपराह्न ४ः१५ बजे अवतरण भएको र सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको विज्ञप्तिमा जनाइएको छ ।

“बायाँ इन्जिनमा लागेको आगो निभाइएको छ,” विज्ञप्तिमा भनिएको छ ।विमानमा १४६ यात्रु र चालक दलका नौ सदस्य रहेको फरक तथ्याङ्क सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

“उद्धार प्रक्रियाका क्रममा धुवाँको धुवाँ र घर्षणका कारण नौ जना यात्रुलाई सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।एक्स (ट्वीटर) मा पोस्ट गरिएको एक भिडियो क्लिपमा यात्रीहरू विमानबाट बाहिर निस्केको देखिन्छ जुन आपतकालीन स्लाइडबाट बाहिर निस्केको देखिन्छ ।

धावनमार्ग केही समयका लागि बन्द गरिएको र एउटा विमानलाई इन्डोनेसियाको बाटाम टापुमा डाइभर्ट गरिएको सीएएसले जनाएको छ ।ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोले घटनाको अनुसन्धान गरिरहेको र सहयोगका लागि चिनियाँ समकक्षीसँग सम्पर्क गरेको जनाएको छ ।

घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ – जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरी उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन् ।

नेतालाई जङ्गलदेखि महलसम्म पुर्‍याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताएका छन् । राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा सङ्घर्षमा उत्रिने बताउनुभयो । “हामी काम गरिखान नसक्ने घाईते कयौँ साथीका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्, यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामी सङ्घर्षमा जानेछौँ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभाको बैठकमा तीनवटा विधेयकमाथि छलफल

मकवानपुर, २४ भदौ : बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो ।

यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभयो ।

उक्त बैठकमा कानूनमन्त्री श्रेष्ठले प्रस्तुत गर्नुभएको सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकबाहेक तीनवटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । उक्त छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले सरकारलाई विधेयकमाथि थप विषयवस्तु समावेश गरी परिमार्जन गर्न सुझाव दिनुभएको थियो ।

उक्त बैठकमा सदस्यहरूले उठाउनुभएको सरोकारको विषयमासमाजिक विकासमन्त्री मोक्तानले उच्च शिक्षालाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा स्थानीय विद्यालयहरूलाई विज्ञान र गणित विषयमा शिक्षकहरू दरबन्दी उपलब्ध गराउने र चिकित्सक क्षेत्रलाई विस्तार एवं परिमार्जन गरी स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पु¥याउन सरकारले उच्च प्राथमिकताका साथ योजना कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

उहाँले उच्च शिक्षाकै क्रममा अनुसन्धानत्मक कार्यलाई नवप्रवर्द्धन तथा विकास कोष सञ्चालनबाट अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई शिक्षा, वनस्पति र चिकित्सक क्षेत्रलाई उत्पादनमूलक बनाउने कार्यलाई तीव्रता तुल्याउने लक्ष्य रहेको बताउनुभयो ।

यसैगरी, बैठकमा स्वास्थ्यमन्त्री जोशीले प्रदेशमा रहेका अस्पतालहरूलाई स्तरोन्नति गरी सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन भौतिक पूर्वाधार विकासलाई जोड दिइने तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई दक्षता हासिल गर्ने नयाँ प्रविधिको तालिम पनि उपलब्ध गराउँदै लैजाने नीति रहेको बताउनुभयो । उहाँले अस्पतालमा आएका सर्वसाधारण नागरिक र बालबालिकाहरूलाई उपचारका क्रममा भइरहेको विभेद र ढिलाइलाई अब अनुगमन र प्रत्यक्ष निगरानीबाट अन्त्य गरी तत्काल उपचार सेवा पु¥याउनेतर्फ प्रदेश सरकारले छुट्टै निगरानी गर्ने र अस्पतालहरूको थप अपडेटका लागि प्रदेश सरकारले कुनै–कुनै अस्पताललाई अनुमति पत्र दिने क्रममा रोक नलगाउनेतर्फ स्पष्ट पार्नुभयो ।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा श्रेष्ठले प्रदेशको सबै जिल्लामा कृषकहरूको समस्यालाई पहिचान गरी उनीहरूलाई आधुनिक प्रविधिको तालिम दिलाई कृषि उत्पादन गर्ने क्रममा खाद्यान्न, तरकारी, फलफूल उत्पादनलाई व्यावसायिकरूपमा अगाडि बढाउन प्रदेश सरकारले कृषिमा नयाँ विधेयक ल्याइएको तथ्य उल्लेख गर्दै अब कृषिप्रति युवाहरूलाई बढीभन्दा बढी सहभागिता गराउनेतर्फ विधेयकले नयाँ प्रस्तावना ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले अब कृषकहरूले उत्पादन गरेको खाद्यान्न, फलफूल तरकारीको सरकारले मूल्य निर्धाणका साथै शीत भण्डारणको व्यवस्थापन गर्ने र सङ्घीय सरकारसँग कूटनैतिक माध्यममार्फत छिमेकी देशबाट आउने तरकारी, खाद्यान्न र फलफूललाई नियन्त्रण गर्नेतर्फ सीमा जोडिएको प्रदेश सरकारसँग पनि समन्वय गरी अघि बढाइने सरकारको उद्देश्य रहेको बताउनुभयो ।प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते अपराह्न साढे १२ बजे बस्नेछ ।

 

औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

वीरगञ्ज, २४ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उहाँले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर रहेकाले छिट्टै समाधान हुने बताउनुभयो ।

“मुलुकको अर्थतन्त्रका मेरुदण्ड उद्योग, व्यवसायी भएकाले उद्योगी व्यवसायीको समस्या समाधान गरी मुलुकमा औद्योगिक वातावरण निर्माण गर्नु सरकारको लक्ष्य छ”, मन्त्री रिजालले भन्नुभयो, त्यसैले सरकारद्वारा ल्याउन लागिएको वाणिज्य नीतिका विषयमा सरोकारवालासँग छलफल अघि बढाइएको हो ।” सरोकारवालाको सुझावका आधारमा सरकारले वाणिज्य नीति ल्याउने उहाँको भनाइ थियो ।

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक लगायतका परिवर्तन अझै परिवर्तन हुन नसकेकाले मुलुकको अर्थतन्त्र सुदृढ हुन नसकेको जिकिर गर्नुहुँदै मन्त्री रिजालले अब राजनीतिक स्थिरता कायम गरी आर्थिक र सामाजिक रुपान्तरणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेको वीरगञ्ज–पथलैया आर्थिक करिडोरलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुहुँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योगा वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज हानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी लगायतले सरकारले लगाएको दोहोरो, तेहोरो करका कारण उद्योगी व्यवसायी मरमा परेकाले एकै ठाउँमा कर तिर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो ।

कांग्रेस एकजुट हुनुको विकल्प छैन : नेता डा कोइराला

रामेछाप, २४ भदौ : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताउनुभएको छ ।

कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन ।’’
अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अर्को प्रसङ्गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने सङ्केत पनि दिनुभयो । दशैँ लगतै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्याङ्कनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कांग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उहाँको भनाइ छ । बिपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि कांग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गर्नुभयो ।

उहाँले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीका लागि परमादेश गरेर सर्वाेच्च अदालतले गलत काम गरेको पनि बताउनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपार्टीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘राजनीतिक पार्टीहरूले एकआपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि नेता कोइरालाले बताउनुभयो ।

कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाति भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताउनुभयो ।–

कोशी प्रदेशका प्रमुख खापुङ्गले गरे दुई अध्यादेश जारी

विराटनगर – कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो । जारी भएको अध्यादेश कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० रहेको प्रदेश प्रमुखको कार्यालयका सचिव नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल

म्याग्दी, २४ भदौ : जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ ।एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताउनुुभयो ।

“सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुुभयो, “मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि रहने हुँदा अन्य बचतकर्तालाई समयमै जाहेरी दरखास्त दर्ता गर्न अपिल गरेका छौँ ।”

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौलसटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ वैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।
बचतकर्ता सेयर सदस्यको करिब रु छ करोड ५० लाख सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ । पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निराश हुँदै फर्किने गरेका छन् । निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो ।

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद प्रभु हजरा

काठमाडौँ, २४ भदौ – सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लाग्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ ।

दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा बताउनुहुन्छ । दलित समुदायको व्यक्ति हुनुका नाताले विभेद अन्त्यका लागि प्रमुख एजेण्डा लिएर आफू कम्युनिष्ट पार्टीमा लागेको उहाँ बताउनुहुन्छ ।‘सांसदसँग–रासस’ संवादका क्रममा सांसद हजराले भन्नुभयो, “समाजमा हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विगतको तुलनामा छुवाछूत र विभेद कम छ, तर शेष भने बाँकी नै छ । चाँडै अन्त्य हुनेमा विश्वस्त छु ।”वडा, गाउँ, जिल्ला, प्रदेश हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सांसद हजरा संविधानको मर्म र भावनाअनुरुप नयाँ ऐन बनाएर राज्यका सबै संरचनामा समानुपातिक समावेशी सिद्धान्तको पूर्णपालना गरिनुपर्ने मत राख्नुहुन्छ ।विसं २०८४ मा हुने तीन तहकै निर्वाचनमा महिला र दलितका लागि बेग्लै आरक्षणको व्यवस्था भएमा सबै समुदायलाई एकैसाथ लिएर राष्ट्रलाई विकासको मार्गमा लैजान सकिने उहाँको भनाइ छ ।नेता हजरा भन्नुहुन्छ, “देशको आधा जनसङ्ख्या भएको महिला र पाँच लाखको हाराहारीमा रहेका दलितलाई लैङ्गिक र जातीय हिसाबले पछि पारिएको हुँदा अब उनीहरूलाई उठाइयो भने मात्र राष्ट्र समृद्धितर्फ अघि बढ्छ ।”सामान्यरुपमा कृषि कर्ममा संलग्न भए पनि पार्टीको पूर्णकालीन राजनीतिमा संलग्न सांसद हजरा पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । विसं २०४६ को जनआन्दोलनपछि पार्टीमा सक्रियताका साथ निरन्तर लाग्नुभएका सांसद हजराले गएको निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाउनुभएको हो ।देश चलाउने ऐन÷कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भए पनि सरकारले बिजनेस नदिएका कारण कानुन बनाउने थुप्रै जिम्मेवारीका बाबजुद कामविहीन बस्नुपरेको उहाँको भनाइ छ ।कोरोना, डेङ्गु र आर्थिक सङ्कटबाट अप्ठयरोमा परेका जनतालाई राहत दिन र मुलुकका यावत समस्या सुल्झाउन छिटो छलफल गरी छरितो ढङ्गबाट ऐन पास गर्नुपर्नेमा त्यसमा सरकारबाट ढिलाइ भइरहेको नेता हजराले आरोप लगाउनुभयो ।सांसदको मुख्य जिम्मेवारी भनेको कानुन निर्माण गर्ने नै भएकाले दल र संसद्को कामबाहेक व्यक्तिगतरूपमा आफू खासै अन्यन्त्र नअल्मलिएको उहाँ बताउनुहुन्छ । तथापि, जनताले उठाएका कतिपय मल, सिँचाइ, पोखरी, कुलोसम्बन्धी काममा बाध्यताका आधारमा मन्त्रालयमा पुग्ने कार्य स्वभाविक भएको बाहेक संसद् र संसदीय समितिमै नियमितरूपमा सहभागी हुने गरेको सांसद हजराले स्पष्ट गर्नुभयो ।“सरकारले मिलेर जान चाहेको खण्डमा सदन अवरुद्ध हुन्न । प्रमुख प्रतिपक्षका माग र मुद्दालाई निकास दिन समयमै सम्बोधन हुनुपर्छ”, उहाँले भन्नुभयो, “ललिता निवास, भुटानी शरणार्थी, सुन प्रकरणलगायतका भ्रष्टाचारसँग जोडिएका विषयमा प्रतिपक्षले उठाएको संसदीय समिति गठन गरी छानबिन गरौँ भन्ने मागलाई समयमै सम्बोधन गरेको भए संसद् अवरुद्ध हुन्थेन ।”सदनमा सांसदले दिएका कतिपय अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विषय व्यक्तिको चरित्र, प्रस्तुति र बुझाइमा निर्भर गर्छ भन्दै नेता हजराले संसद् र पार्टीले सदनमा प्रवेश गर्नुअघि प्रशिक्षण दिएकाले त्यस्तो अवस्था व्यर्हाेनु नपरेको बताउनुभयो ।सांसद हजरासँग प्रशासन पुनःसंरचना आयोग र दलित विकास आयोगमा काम गरेको अनुभवसमेत छ । विषयवस्तुबारे पर्याप्त अध्ययन गरी संसद् नियमावलीको अधिनमा रही अभिव्यक्ति दिएमा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन प्रवर्द्धन गर्न आवश्यक विधेयक ल्याई कानुन निर्माणलाई तीव्रता प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि हालको निर्वाचन प्रणालीमा ब्यापक सुधारको खाँचो औँल्याउँदै सांसद हजराले निर्वाचनमा हुने खर्च कम गर्न अनुगमन संयन्त्र र प्रभाकारी कानुन चाहिन्छ भन्नुभयो । जनप्रतिनिधिका हैसियतले सदनमा आफूले खेलेको भूमिकाप्रति केही हदसम्म सन्तुष्ट भए पनि जनहितका लागि उठाइएका खानेपानी, सिँचाइ, मलसम्बन्धी माग र मुद्दा कार्यान्वयनको पाटो कमजोर हुँदा खिन्न लाग्ने गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।–––

विपी कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि खाली

चितवन, २४ भदौ : प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उहाँकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भन्नुभयो । उहाँका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उहाँलाई लिने गरेको थियो ।

विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भन्नुभयो, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।

“घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो”, गौरीदेवीले भन्नुभयो । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी बस्ने गर्नुहुन्थ्यो । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।

घरको पहिलो तलामा आराम गरिरहनुभएकी गौरीदेवीले भन्नुभयो, “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उहाँमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको हो ।

“विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्याे । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो”, त्यतिबेलाको सम्झना गर्दै उहाँले भन्नुभयो, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।” विपी कतिपटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन । उहाँले भन्नुभयो, “कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।”

विपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” विपीले थोरै खाना मीठो गरी खाने गरेको उहाँलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न विपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गर्नुभयो । साँझ विपी भन्नुहुन्थ्यो, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” विपी आउँदा विवाहको घर जस्तै हुने गरेको उहाँले बताउनुभयो । थोरै खाने र चिटिक्क परेर हिँड्ने विपीको बानी थियो ।

गौरीदेवीले भन्नुभयो, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गर्नुभएकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”

विपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ । उहाँले भन्नुभयो, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो ।”

गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उहाँलाई चिन्ता छ । गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर उहाँ जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ ।

गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि विपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उहाँ सम्झनुहुन्छ । गाडी पछिपछि नेविसङ्घका विद्यार्थी हुने भए पनि उहाँलाई के हुन्छ भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्याे ।

बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुवोधले भन्नुभयो, “विपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवासले कपाल खौरिनुभएको थियो ।” आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उहाँलाई ताजै छ । सुवोधले भन्नुभयो, “म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थेँ ।” सबैले विपीलाई निकै मान्ने आफूले पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले विपीलाई देवताजस्तै गरी सम्मान गर्थेँ ।”

यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार भएपछि किसान उत्साहित

फुङ्लिङ (ताप्लेजुङ), २४ भदौ : गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि रु ५६ हजारसम्ममा कारोबार भइरहेको बताउनुभयो । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन रु २४ हजारदेखि रु २७ हजार मात्र मूल्य थियो । उहाँले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताउनुभयो ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने रु ५६ हजारमा कारोबार भएको उहाँले जानकारी दिनुभयो । “अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो”, अधिकारीले भन्नुभयो ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ ।

यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताउनुभयो । यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने उहाँको अनुमान छ । सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादन घट्ने देखिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ ।

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

वालिङ (स्याङ्जा) – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभयो ।

स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो– “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो ।

नगरप्रमुख कृष्ण खाणले वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतवार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी र सुदूर-पश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिपी साहित्य महोत्सव आजदेखि

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र यही भदौ २४ गते बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

पहिलो दिन बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी सुरु हुनेछ । त्यसपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनुहुनेछ । त्यसपछि बिपीका दृष्टिमा बिपी, बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनुहुने छ । त्यसपछि बिपीले नपाएका १५ वर्ष, बिपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, युवा स्रष्टामा बिपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि बिपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुनेछ । त्यसपछि समावेशीता, समाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान् वुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

साउनमा जीवन बीमालेख त्याग गर्नेहरूको संख्या उच्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमालेख त्याग (पोलिसी सरेन्डर) गर्नेहरूको संख्या उच्च रुपमा बढेको छ । अर्थतन्त्रमा आएको सुस्तता र बीमा कम्पनीप्रतिको अविश्वासका कारण बीमालेख परित्याग गर्नेको संख्या बढेको विज्ञहरूले बताएका छन् ।

बीमा प्राधिकरणका अनुसार साउनमा जीवन बीमा कम्पनीले नयाँ बीमा व्यवसायबाट भित्र्याएको कुल रकममध्ये आधाबराबर बीमालेख परित्याग गर्ने छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउनमा नयाँ बीमा जारी गरेर २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका छन्। ती कम्पनीको यही अवधिमा एक अर्व २८ करोड रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ।

प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये सबैभन्दा धेरै बीमालेख परित्याग हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको ४७ करोड २३ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ।

बीमा क्षेत्रमा सवैभन्दा धेरै कारोबार पनि यही कम्पनीले गर्दै आएको छ। यस्तै एलआईसी नेपालको ३१ करोड २५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १२ करोड २२ लाख र राष्ट्रिय बीमा संस्थानको १० करोड ३२ लाख रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ ।

यसैगरी सूर्यज्योति लाइफबाट सात करोड़ ४६ लाख, एसियन लाइफबाट पाँच करोड ८४ लाख, नेशनल लाइफबाट चार करोड ५५ लाख, मेट लाइफबाट चार करोड ३९ लाख, रिलायबल नेपालबाट एक करोड ५१ लाख, आइएमई लाइफबाट एक करोड १४ लाख रुपैयाँबराबरको बीमालेख परित्याग भएको छ।

बाँकी कम्पनीको सरेण्डर भने करोडभन्दा कम छ । पछिल्लो समय बीमालेख परित्याग गर्नेको संख्या बढ्नु चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन्। यो समाचार कारोबार दैनिकमा छ ।

जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय सङ्गठन वा समिति गठन वा पुनर्गठन गर्नुपर्ने र गण्डकी प्रदेश समिति पुनर्गठन गर्न केन्द्रीय सदस्य धनप्रसाद तामालाई तोकिएको छ ।

केन्द्रीय सदस्य सोम नेपालीलाई शिल्पी दलित विशेष समिति, केन्द्रीय सदस्य पानबहादुर घर्तीलाई समाजवादी आदिवासी जनजाति महासङ्घ, शर्मिला थापा मगर र पासाङ थापा मगरलाई समाजवादी महिला सङ्घ गठन, पुनर्गठनको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्य जुनु पुनमगरलाई सांस्कृतिक महासङ्घ, केन्द्रीय सदस्य अर्जुन लम्साललाई ट्रेड युनियन महासङ्घ, केन्द्रीय सदस्य ज्ञानु आचार्यलाई समाजवादी खस÷आर्य सङ्घ गठन पुनर्गठनका लागि तोकिएको र गण्डकी प्रदेशले केही केन्द्रीय सदस्यलाई यसअघि नै जिल्ला समिति पुनर्गठनको जिम्मेवारी तोकेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

निजामती सेवा विधेयकमा निजामतीकै साख बढाउने विषयलाई बेमतलब

काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा बन्दै गर्दा विधेयकमा राखिएका विभिन्न प्रावधानका विषयमा कर्मचारीवृत्तबाटै बहस, विरोध, विवाद प्रशस्तै भए । यी बहस, विरोध र विवादको मुख्य विषय नै कर्मचारीको सेवा सुविधा र हक अधिकारमा केन्द्रित थिए । तर, आमकर्मचारीले आफ्नै साख बढ्ने पक्षलाई भने कहिल्यै पनि बहसको विषय नै बनाएनन् । जनतालाई दिने सेवा प्रवाह र त्यसको प्रभावकारिताका विभिन्न विषयलाई विधेयकमा समेट्ने बारेमा भने कसैको रुचि र चासो नै देखिएन ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वसमेत यस विषयमा जिम्मेवार बन्न नसकेको पाइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक हतार हतारमा संघीय संसद्मा पठाउने निर्णय ग-यो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै केही उच्च अधिकृतहरूले भने विधेयकमा अझै धेरै प्रावधान विवादित अवस्थामा नै रहेको बताए । ‘सो विधेयकले अझै अन्तिम रूपपाउन सकेको छैन, केहीकुरा सच्याउन बाँकी नै छ, त्यसैले संसद्मा पठाउन केही ढिलाइ हुन्छ होला,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

अहिले निजामती सेवा जनसेवी बन्न नसकेको भन्दै धेरै आलोचित छ । २०४९ मा बनेको निजामती सेवा ऐन र २०५० मा बनेको निजामती सेवा नियमावलीमा कर्मचारीबाट जनतालाई दिने सेवा प्रवाह र सुशासनका बारेमा उल्लेख्य व्यवस्था हुन सकेन । जसका कारण निजामती कर्मचारी सेवामैत्री हुन सकेनन् ।

संघीय निजामती सेवा विधेयकमा आमजनतालाई केन्द्रबिन्दुमा राखेर कर्मचारीले कसरी सेवा प्रवाह गर्ने र सेवा प्रवाहमा ध्यान नदिने कर्मचारीलाई के कस्तो कारबाहीको प्रावधान राख्नेलगायतका विषय कसैले पनि उठाएनन् । यस सम्बन्धमा सरोकारवाला निकायसँग समेत घनीभूत छलफल नभएको सरकारकै उच्च अधिकारीहरू स्वीकार्छन् ।

यद्यपि, विधेयकमा यी विषयलाई झारा टार्ने किसिमले राखिएको बताइएको छ । साथै विधेयकमा निजामती प्रशासनमा राजनीतिक हस्तक्षेप रोक्ने खालका महत्वपूर्ण प्रावधान पनि राख्न सकिन्थ्यो तर प्रशासकलगायत आम कर्मचारीले यो विषयलाई पनि खासै ध्यान दिएनन् ।

अहिले निजामती प्रशासन राजनीतिक हस्तक्षेपका कारण थिलोथिलो अवस्थामा छ । राजनीतिक हस्तक्षेप र हस्तक्षेप आमन्त्रण गर्न हौसिने प्रशासकहरूकै बद्नियतका कारण निजामती प्रशासन कोमामा पुग्न लागेको विश्लेषणसमेत हुने गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

बागमती प्रदेशका सभामुखले बोलाए सर्वदलीय बैठक

मनहरी (मकवानपुर) – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो ।

उहाँले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो ।

सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिए । उनले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै आएको गाभीलाई थप खोपका लागि आग्रह गरिएको बताए ।

उनले सन् २०२४ सम्ममा लक्षित वर्गसम्म पु-याइने जानकारी दिँदै त्यसका लागि सरकार व्रिmयाशील रहेको बताए । खोप शाखा प्रमुख डा. अभियान गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको जानकारी दिँदै सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।

उनले उक्त खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज बाँकेमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको जानकारी दिए । सबैभन्दा पहिले भदौ २७ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट खोपको शुभारम्भ गर्नुहुने छ ।

खोप कोशी अस्पतालमा भदौ २७ गते, नारायणीमा भदौ २९ गते, प्रसूति गृहमा भदौ २७ गते, गण्डकीमा २७ गते, भेरी २७ गते, डडेलधुरा अस्पतालमा भदौ २७ गते र सुर्खेत अस्पतालमा भदौ २७ गतेदेखि लगाइने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्‍ज पेट्रोलियम पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्‍ज कार्यालयले जनाएको छ । यस परियोजनाको पहिलो चरणको काम सम्पन्‍न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्‍जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।

स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्‍िडयन आयल कर्पाेरेसन (आइओसी) ले गरिरहेको छ ।

निगमको अमलेखगन्‍ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधारनिर्माणको काम अगाडि बढिरहेको उनले जानकारी दिए ।

दोस्रो चरणको काम अन्‍तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्‍समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको उनले जानकारी दिए । पूर्वाधार निर्माण सम्पन्‍न भएपछि पेट्रोल र मटितेल पाइपलाइनबाट आयात गरिने उनले जानकारी दिए । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ ।

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्‍समिक्स ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट व्रmमशः डिजेल, मटितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्‍समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हेर्नुहोस् भदौ २४ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

बृष राशि – मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनु पर्नेछ ।

मिथुन राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

कर्कट राशि – आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

सिंह राशि – नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।

तुला राशि – तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ ।

बृश्चिक राशि – यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।

धनु राशि – आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

मकर राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि – सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

मीन राशि – बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

भक्तपुर, २३ भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनुभएको छ । आज अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाँडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनुभएको हो ।

“यस्ता चाँडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रुपमा मनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले हामी आफैँ आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आफैँले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैँले ल्याउनुपर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौँ भने हाम्रो खुसी आफँै ल्याउन सक्छौँ ।”

मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण रहेको भन्दै उहाँले खुसी देख्न नसक्नेसँग सचेत हुँदै सबै खुसीले मुस्कुराउने अवस्था ल्याउनुपर्ने बताउनुभयो । अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाति एकै ठाउँमा बसेर रमाउँदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुती प्रर्दशन गरिएको थियो ।

बिपीको सिद्धान्त भुल्नहुँदैन : अध्यक्ष वाग्ले

दमौली, २३ भदौ : प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ ।

एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गर्नुभयो ।

बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उहाँले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ ।” वाग्लेले पार्टीलाई विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले बिपीको योगदानको चर्चा गर्नुभयो ।

 

–––

श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

श्रीलङ्का – श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ ।

जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।

यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,” श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उहाँले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताउनुभएको छ ।

श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिनुभयो ।

सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन् ।श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो ।

मोरक्को भूकम्पः आठ सय बीस जनाको मृत्यु, दुई सय पचास जनाको अवस्था गम्भीर

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ ।

भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी २० शिखर सम्मेलनमा भागलिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसंभव सहयोग गर्ने बताउनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गर्नुभएको छभने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गनुभएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा भएको ‘भयङ्कर’ भूकम्पमा परी छ सयभन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । उहाँले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताउनुभएको छ । मोयुक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि मोरक्कोलीप्रति ऐक्यबद्धता व्यक्त गर्दै मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गर्नुभएको छ ।

गन्धर्व पेसा : रहरभन्दा बाध्यता

गलकोट (बागलुङ)

कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश जानुभयो ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुख्र्यौली पेसामै फर्कनुभयो । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै हुनुहुन्छ ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्नुहुन्छ । “गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन”, उहाँले भन्नुभयो, “सारङ्गी रेट्नु, गीत गाउनु उहाँको रहर माध्य होइन, बाध्यता हो ।”

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्नुहुन्थ्यो । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई÷चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र रु २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उहाँले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्नुहुन्छ । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उहाँको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उहाँको गुनासो छ ।

“हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्याे, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ”, विष्णुले भन्नुभयो, “हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।”

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी रु २३ हजारमा बिक्री गर्नुहुन्छ । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उहाँको दुखेसो छ ।

सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्धर्वको गुनासो छ । “बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्”, भद्रबहादुरले भन्नुभयो, “हामी बाचुञ्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।”

उहाँले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरु केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्रबहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उहाँको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नुभएको तर विष्णुलाई भने साथ दिँदै आउनुभएको छ ।

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार, के कारणले कान सुनिदैन ?

काठमाडाैँ, २३ भदौ : वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ) मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।

“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उहाँले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताउनुभयो ।

वीरमा हालसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले रू १० लाख बराबरको यन्त्र सहयोग गरेको हो ।

“एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्”, डा श्रेष्ठले भन्नुभयो, “अर्का ६० वर्षीय वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उहाँले केही प्राविधिक समस्या रहेकाले उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिनुभयो । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई रू छ लाख आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?

“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन (दिमाग)मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भन्नुभयो ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन) इयरफोन लगाएर सुन्न सक्ने बनाइने उहाँले बताउनुभयो । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उहाँको भनाइ थियो ।

जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा छ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिनुभयो । यदि छ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उहाँले बताउनुभयो ।

“छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्”, नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भन्नुभयो, “जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”

कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा श्रेष्ठले बताउनुभयो । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ”, उहाँले भन्नुभयो ।

के कारणले कान सुनिदैन

‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । उहाँले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि रू १० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताउनुभयो । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई रू छ लाख बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताउनुभयो । उहाँले सेवा÷सुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो ।