`

सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

भक्तपुर, २३ भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनुभएको छ । आज अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाँडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनुभएको हो ।

“यस्ता चाँडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सल बलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रुपमा मनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले हामी आफैँ आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आफैँले आफ्नो खुसी ल्याउनुपर्छ, अरुसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैँले ल्याउनुपर्छ, हाम्रो खुसी अरुले ल्याउँदैन, हामी सबैले चाह्यौँ भने हाम्रो खुसी आफँै ल्याउन सक्छौँ ।”

मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण रहेको भन्दै उहाँले खुसी देख्न नसक्नेसँग सचेत हुँदै सबै खुसीले मुस्कुराउने अवस्था ल्याउनुपर्ने बताउनुभयो । अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाति एकै ठाउँमा बसेर रमाउँदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुती प्रर्दशन गरिएको थियो ।

बिपीको सिद्धान्त भुल्नहुँदैन : अध्यक्ष वाग्ले

दमौली, २३ भदौ : प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ ।

एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गर्नुभयो ।

बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उहाँले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ ।” वाग्लेले पार्टीलाई विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले बिपीको योगदानको चर्चा गर्नुभयो ।

 

–––

श्रीलङ्कामा तीन अर्ब असी करोड अमेरिकी डलर रेमिट्यान्स भित्रियो

श्रीलङ्का – श्रीलङ्काले यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको शनिबार जनाएको छ ।

जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जानकारी गराएको छ ।

यो बर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,” श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा उहाँले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताउनुभएको छ ।

श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको शुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिनुभयो ।

सन् २०२१ मा श्रीलङ्काका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन् ।श्रीलङ्काका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो ।

मोरक्को भूकम्पः आठ सय बीस जनाको मृत्यु, दुई सय पचास जनाको अवस्था गम्भीर

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ ।

भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी २० शिखर सम्मेलनमा भागलिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसंभव सहयोग गर्ने बताउनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गर्नुभएको छभने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गनुभएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा भएको ‘भयङ्कर’ भूकम्पमा परी छ सयभन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । उहाँले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताउनुभएको छ । मोयुक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि मोरक्कोलीप्रति ऐक्यबद्धता व्यक्त गर्दै मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गर्नुभएको छ ।

गन्धर्व पेसा : रहरभन्दा बाध्यता

गलकोट (बागलुङ)

कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश जानुभयो ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुख्र्यौली पेसामै फर्कनुभयो । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै हुनुहुन्छ ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्नुहुन्छ । “गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन”, उहाँले भन्नुभयो, “सारङ्गी रेट्नु, गीत गाउनु उहाँको रहर माध्य होइन, बाध्यता हो ।”

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्नुहुन्थ्यो । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई÷चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र रु २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उहाँले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्नुहुन्छ । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उहाँको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उहाँको गुनासो छ ।

“हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्याे, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ”, विष्णुले भन्नुभयो, “हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।”

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी रु २३ हजारमा बिक्री गर्नुहुन्छ । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बास्नुपरेको उहाँको दुखेसो छ ।

सरकारले चासो नदिँदा नयाँ पुस्तामा आकर्षण नभएको सोही ठाउँका ६५ वर्षीय भद्रबहादुर गन्धर्वको गुनासो छ । “बलेवामा मात्रै २७ घर गन्धर्वका थिए, अहिले घटेर १७ भएका छन्”, भद्रबहादुरले भन्नुभयो, “हामी बाचुञ्जेल पेट पाल्नुपर्ने बाध्यताले पेशा छोड्न नसकिने भयो, छोरा नातीले त बरु गिट्टी कुट्छन् यो पेसामा रुचि देखाएनन् ।”

उहाँले गन्धर्वको जीवन नै सारङ्गी भएको बताउँदै अरु केही गरौँला खाउँला भनेर सोच नबनाए पनि अहिले आएर बाध्यता भएको भद्रबहादुरको भनाइ छ । गन्धर्वलाई स्थानीयले नेता, जनप्रतिनिधिले समेत चासो नदेखाएको उहाँको गुनासो छ । भद्रबहादुरले पछिल्लो समय सारङ्गी रेट्न छोडिसक्नुभएको तर विष्णुलाई भने साथ दिँदै आउनुभएको छ ।

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार, के कारणले कान सुनिदैन ?

काठमाडाैँ, २३ भदौ : वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट (यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ) मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।

“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उहाँले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताउनुभयो ।

वीरमा हालसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले रू १० लाख बराबरको यन्त्र सहयोग गरेको हो ।

“एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्”, डा श्रेष्ठले भन्नुभयो, “अर्का ६० वर्षीय वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उहाँले केही प्राविधिक समस्या रहेकाले उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिनुभयो । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई रू छ लाख आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?

“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन (दिमाग)मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भन्नुभयो ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन) इयरफोन लगाएर सुन्न सक्ने बनाइने उहाँले बताउनुभयो । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उहाँको भनाइ थियो ।

जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा छ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिनुभयो । यदि छ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उहाँले बताउनुभयो ।

“छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्”, नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भन्नुभयो, “जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”

कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा श्रेष्ठले बताउनुभयो । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ”, उहाँले भन्नुभयो ।

के कारणले कान सुनिदैन

‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । उहाँले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि रू १० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताउनुभयो । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई रू छ लाख बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताउनुभयो । उहाँले सेवा÷सुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

 

 

 

काठमाडौँ महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन

काठमाडौँ, २३ भदौ : काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा झाले जानकारी दिनुभयो ।

“जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ”, उहाँले भन्नुभयो ।

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ । “पानी उत्पादक कम्पनीलाई पनि थाहा हँुदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर”, विभाग प्रमुख डा झाले भन्नुभयो, “पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो । पानी आउने मुख्य नाकामा क्रमिकरूपमा अनुगमन गरिरहेका छौँ ।”

अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरुप अनुगमनलाई कडाइ गरिएको हो । निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ । सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ ।

काठमाडौँ महानगरमा जति पनि पानी उत्पादक संस्था छन् तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा झाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म सचेतमात्र गराइरहेका छौँ । अब कुनै कैफियत देखिए कारबाही गर्छौँ ।”

विभागले नेपाल वाटर बोटल उद्योग सङ्घका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ । “जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरुलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्यो”, डा झाले भन्नुभयो ।

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उहाँले उल्लेख गर्नुभयो । काठमाडौँ महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन् । काठमाडौँमा जम्मा चार कम्पनी रहेका छन् ।

अनुगमनका क्रममा जफत गरिएका पानीको जार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा पानीमा केही समस्या देखिए महानगरको बजार व्यवस्थापन ऐन, २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ । पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ । अहिले खुलारूपमा बिक्री वितरण भइरहेको दूध व्यवसायीलाई दर्ता प्रक्रियामा लगेर मापदण्ड पुर्याएरमात्रै बिक्री वितरणका लागि सचेतना गरिने र गुणस्तर नभए कारबाही गरिने विभागले उल्लेख गरेको छ ।

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा

मकवानपुर, २३ भदौ : समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका छन् । सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिनुभयो ।

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ । आइतबार आयोजना गर्न लागिएको झेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताउनुभयो । –––

सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री

गोरखा, २३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताउनुभएको छ । जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताउनुभयो । “जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्”, उहाँले भन्नुभयो, “शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छाँै ।” प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताउनुभयो । “यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु”, उहाँले भन्नुभयो, “राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।” प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनेतर्फ सरकार लागि रहेको बताउनुभयो ।

उहाँले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुनेसमेत उल्लेख गर्नुभयो । विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहनुभएका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहनुभएका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिनुभएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत हुनुभएको थियो । सत्र वर्ष शिक्षण सेवामा बिताउनुभएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिनुहन्थ्यो । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिनुभएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँ जनयुद्धका क्रममा मारिनु हुने पार्टीको सबैभन्दा उच्च तहको नेता हुनुहुन्छ । —

मलङ्गवा : विवाद ढुङ्गा हानाहान र झडपमा परिणत, कर्फ्यु जारी

मलङ्गवा (सर्लाही), २३ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिनुभयो । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।

विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् । आज दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ । घटनास्थलमा अहिले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । प्रदर्शन र ढुङ्गामुढाका कारण आज बिहानैदेखि मलङ्गवा बजार क्षेत्रको पसल बन्द छन् । आज बिहानैदेखि यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन । —

सर्वोच्च अदालतका प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

काठमाडौँ, २३ भदौ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ ।

डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको समाजका सहकोषाध्यक्ष टेकबहादुर बमले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहनुभएकाले अभिनन्दन गरिएको हो ।

विसं २०४८ मा डोटेली समाजको स्थापना भएको संस्थाका अध्यक्ष जगदिश केसीले बताउनुभयो । आजको कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा(एमाले) का नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।

उक्त संस्थाले रक्तदान कार्यक्रम, छात्रवृत्तिका कार्यक्रम, स्वाथ्य शिविर सञ्चालन गर्नुका साथै डोटीमा जन्मिनुभएका विभिन्न विशिष्ट व्यक्तिलाई सम्मान तथा अभिनन्दन गर्ने, डोटीबाट समस्या भइ काठमाडौँ आएका नागरिकका समस्याका विषयमा पहल गर्ने लगायतका कार्य गर्दै आएको छ । जन्मथलो डोटी भई हाल कामको सिलसिलामा काठमाडौँमा रहेका डोटीवासी उक्त संस्थामा आबद्ध रहेका छन् ।

‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री डा महत

त्रिशूली(नुवाकोट), २३ भदौ : अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाँैको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताउनुभएको हो ।

“प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौँ ।” नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरुङ मार्गमार्फत काठमाडौँमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

सुरुङ मार्ग निर्माणका लागि विभिन्न चरणका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै त्यसका लागि धैर्य गर्न उहाँले आग्रह गर्नुभयो । अहिले प्रारम्भिक अध्ययन पूरा भएर वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । अबको एक–दुई दिनमा नै तयार भएपछि चीन भ्रमणको क्रममा उक्त प्रतिवेदनका आधारमा आर्थिक सहयोगको प्रस्ताव लैजाने अर्थमन्त्री डा महतले बताउनुभयो । “चीनको केरुङ हँुदै काठमाडौँसम्मको अन्तर्राष्ट्रिय नाका सञ्चालनमा चीन सरकारको प्राथमिकतामा परेकाले सुरुङ मार्ग निर्माणमा नेपालको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो, “धादिङको गल्छी हँुदै त्रिशूलीबाट रसुवागढीसम्म विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गमा चीन सरकारको सहयोग भएकाले सुरुङ मार्गमा पनि दुई पक्षीय सहमति हुनेछ ।”

भारतीय नाकाबन्दीको समयमा मन्त्रिपरिषद्को विशेष निर्णयअन्तर्गत निर्माण थालिएको धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हँुदै चीनसँगको सीमा रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको काम नेपालको लगानीमा आधाभन्दा बढी सम्पन्न भइसकेको छ । उक्त सडकमा चीन सरकारले रसुवाको स्याफ्रुबेसीँदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिए पनि काम सुरु गर्न भने बाँकी छ ।

अध्येता, पत्रकार र विद्यार्थीका लागि विधागत पत्रकारिता पुस्तक

काठमाडौँ – आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ ।

सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ भन्ने अपेक्षा बढी गर्न सकिन्छ । त्यसैले पनि पत्रकारिता जगत्मा विधागत पत्रकारिता अर्थात कुनै एक विधामा केन्द्रित भएर गरिने पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढ्दो छ । त्यसैले पहिलेको पत्रकारितामा पत्रकारले सबथोकको सतही ज्ञान हुन्छ तर कुनै विषयमा पनि विज्ञता हासिल गरेका हुँदैनन् भन्ने गरिएकामा अहिले भने पत्रकारहरूले सबथोकको ज्ञान राख्छन् र कुनै एक विषयमा विज्ञ हुन्छन् पनि भन्न थालिएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालयले हालै प्रकाशन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ पनि यसैमा केन्द्रित छ । चार सय २५ पृष्ठको यस हाते पुस्तकमा पत्रकारिता क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका २० जना लेखकले विधागत पत्रकारिता के हो भन्ने विषयमा आधारभूत जानकारीसँगै आ–आफ्ना परिष्कृत ज्ञान समेट्नुभएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, सक्रिय पत्रकार तथा सञ्चारकर्मी, अध्येता तथा विशेषज्ञलाई लक्षित गरी तयार पारिएको हाते पुस्तकमा चलनचल्तीका अधिकांश विधागत पत्रकारितालाई समेट्ने प्रयास गरिएको छ ।

नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुुरुआत भएको पाइन्छ । पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ । सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन् । जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।

विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौँ उपत्यकामा मात्रै सीमित भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गर्नुभएको छ ।

हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास गर्नुभएको छ । साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पार्नुभएको छ ।

खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिनुभएको छ । साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ ? साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ ।

पत्रकारितालाई निष्पक्ष, वस्तुगत र सन्तुलित ढङ्गले अगाडि बढाउन के कस्ता विषयमा पत्रकारले ध्यान दिने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ । पुस्तक विश्वविद्यालयका विद्यार्थीका लागि पठनीय सामग्री बनेको छ भने सक्रिय पत्रकारलाई पुस्तकले मार्गनिर्देश गर्नेछ । साथै अध्येता र विशेषज्ञलाई उपयोगी सामग्री बनेको छ ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा आफ्नै बुझाइका आधारमा विधागत पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या काठमाडौँमा धेरै भएको भन्दै मोफसलमा काम गर्ने पत्रकारले विधागत पत्रकारिता गर्न नपाइरहेको गुनासोका बीच उहाँहरूलाई पनि लक्षित गरी पुस्तक तयार पारिएको बताउनुहुन्छ ।

“सूचना प्रविधिको बढ्दो विकास र विस्तारका कारण जिल्ला वा स्थानीय तहमा बसेर पनि विधागत पत्रकारिता गर्न सकिन्छ तर उनीहरूलाई उपयुक्त अध्ययन सामग्रीको खाँचो छ । त्यही खाँचो पूरा गर्न सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता हाते पुस्तक तयार पार्ने एक वर्ष अगाडिको परिकल्पनालाई अहिले साकार रूप दिइएको हो”, उहाँले भन्नुभयो ।

विधागत पत्रकारिता हाते पुस्तक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विधागत पत्रकारितामा रुचि राख्ने पत्रकार, अनुज पत्रकार, पत्रकारिता अध्यापन गराउने प्राध्यापक र पत्रकारितामा चासो राख्ने सबैका लागि उपयोगी हुने गरी तयार गरिएको छ । विश्वविद्यालयहरूले विधागत पत्रकारिता पुस्तकलाई अध्ययन सामग्रीकारूपमा उपयोग गर्ने उहाँको विश्वास छ ।

“जहाँ अभाव छ, त्यहाँ प्रादेशिक संरचनाले काम गर्नुपर्छ भन्नेमा गहिरो विश्वास राख्छु । त्यही विश्वासका आधारमा काम गर्दै आएको छु । सङ्घीय सरकारको प्राथमिकतामा नपरेका तर राष्ट्रिय आवश्यकता भएका विषय केन्द्रित गरेर नै सञ्चार रजिष्ट्रारको कार्यालयले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

पुस्तकमा नेपाली पत्रकारितामा प्रचलित धेरै विधालाई समेट्ने प्रयास भए पनि वातावरण, जलवायु, शिक्षा, द्वन्द्वलगायत केही महत्त्वपूर्ण विषय भने छुटेका छन् । त्यसो त आर्थिक पत्रकारिता अन्तर्गतकै पूँजी बजारलाई छुट्टै लेखका रूपमा स्थान दिँदा त्यसबारे गरिहाइमा बुझ्न पनि सजिलो बनाइदिएको छ । सबै विधालाई पुस्तकमा नसमेटिएकोबारे कार्यालयले स्वीकार गर्दै यसको कारण पनि बताइसकेको छ । यद्यपि कार्यालयले विधागत पत्रकारिताको विकासका लागि गरेको यो प्रयास भने आफैमा सराहनीय मान्न सकिन्छ ।

पत्रकार विनोद ढुङ्गेलले सम्पादन गर्नुभएको सो पुस्तकमा रामकृष्ण रेग्मीले ‘राजनीतिक पत्रकारिता’, ध्रुवहरि अधिकारीले ‘परराष्ट्र तथा कूटनीतिक मामिला’, डा सुरेश आचार्यले ‘विकास पत्रकारिता’, एकराज पाठकले ‘स्वास्थ्य मामिलासम्बन्धी पत्रकारिता’, अनन्तराज लुइँटेलले ‘कानुन तथा अदालती पत्रकारिता’, केपी ढुङ्गानाले ‘अपराध मामिला रिपोर्टिङ’, हरिबहादुर थापाले भ्रष्टाचारका समाचार’ र श्रीराम पौडेलले ‘प्रदेश र स्थानीय तहको रिपोर्टिङ’ शीर्षकअन्तर्गत सम्बन्धित विधाको पत्रकारिता, यसको परिचय, सम्भावना, चुनौती तथा अवसरका साथै स्रोत, सूचना सङ्कलन, लेखनका विधिबारे पनि प्रष्ट पार्नुभएको छ ।

त्यसैगरी पत्रकार कुबेर चालिसेले ‘आर्थिक पत्रकारिता’, मुराहरी पराजुलीले ‘शेयर बजार रिपोर्टिङ’, विकास थापाले ‘ऊर्जा र जलस्रोत पत्रकारिता’, डा बद्रीप्रकाश ओझाले ‘कृषि मामिलाका समाचार’, दीपक सापकोटाले ‘विपद् मामिला पत्रकारिता’, कपिल काफ्लेले ‘मानवअधिकार पत्रकारिता’, नितु पण्डितले ‘महिला तथा बालबालिका मामिला रिपोर्टिङ’, कुमार यात्रुले ‘परम्परागत आदिवासी मामिला’, छत्र कार्कीले ‘विज्ञान–प्रविधि पत्रकारिता’, रोशन राउतले ‘खेलकुद पत्रकारिता’, रामनाथ घिमिरेले ‘कला तथा मनोरञ्जन पत्रकारिता’का शीर्षकमा विधागत पत्रकारिताका चुनौती, सम्भावना, विधि र प्रक्रिया, शब्दावली चयन र तिनको सही प्रयोग, कानूनी व्यवस्था र यसले समाजमा पार्ने प्रभाव र महत्त्वबारे उल्लेख गर्नुभएको छ ।

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

काठमाडौँ – मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक परिमार्जन र संशोधनका लागि प्रस्ताव गरेको हो ।

निर्वाचनसँग सम्बन्धित विद्यमान सात वटा ऐनका प्रावधानलाई समेटी एकीकृतरुपमा तयार गरिएको विधेयकको मस्यौदामा खासगरी निर्वाचन अभियानलाई थप मर्यादित तुल्याउन, मौन अवधि घटाउन र खर्चलाई पारदर्शी बनाउन प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले बताउनुभयो ।

निर्वाचन मौन अवधि २४ घण्टामा सीमित पार्ने, उम्मेदवार र दलले गर्ने खर्चको हद र पारदर्शी तुल्याउन प्रस्ताव गरिएको मस्यौदामा निर्वाचनमा खर्चको विवरण पेस गर्नुपर्ने दायित्व भएको व्यक्तिले निर्धारित समयमा विवरण नबुझाएमा छ वर्षसम्म उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

मस्यौदामा नामावली सङ्कलन, अद्यावधिक, दोहोरोपनाको खारेजी, विदेशमा रहेका नेपालीको विवरण सङ्कलन, निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचारप्रसार अवधि, मौन अवधि, निर्वाचन अधिकृत नियुक्ति तथा उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधान प्रस्ताव गरिएको छ ।

नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डेले मौन अवधिमै धेरै सक्रिय भएर पैसा वितरण गर्ने भन्ने पुरानो आरोपमा आजकाल धेरै परिवर्तन भई उम्मेदवारलाई त्यस अवधिमा गाउँ नै छिर्न नदिनेसम्मका घटना देखिन थालिसकेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “मौन अवधि नै हटाउने कि भन्ने एकखाले तर्क छ, प्रचारशैलीमा धेरै सुधार भइसक्यो, अहिले सबैभन्दा धेरै खर्च खाना र सवारीसाधनमा हुन्छ, मोटरसाइकल र गाडी र्‍याली गर्न नपाउने हो भने ठूलो खर्च घटाउँछ ।”

मौन अवधिमा राजनीतिक दल र उम्मेदवारबाट पैसाको चलखेललगायत अवाञ्छित गतिविधि धेरै हुने गरेको भन्ने प्रश्न उठेपछि आयोगले अन्तर्राष्ट्रिय अभ्यासबीच समेत तालमेल हुने गरी एक दिन रहने व्यवस्था प्रस्ताव गरेको हो ।

निर्वाचनमा हुने खर्चलाई सुशासनसँग जोडिएकाले तडकभडकसहितको फजुल खर्च रोक्ने र आय र व्ययलाई पारदर्शी बनाउने विषय ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा प्रस्ताव छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने तथा कुनै दलले पालिका प्रमुख र उपप्रमुखमा एउटा मात्र उम्मेदवार बनाएमा त्यो महिला नै हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

महिला उम्मेदवारीको प्रावधानविपरीत उम्मेदवार दिने राजनीतिक दलको सबै उम्मेदवारी रद्द हुने प्रावधान रहेको नयाँ विधेयकको मस्यौदामा उम्मेदवारले मनोनयन पेस गर्दा आफू र परिवारको सदस्यको सम्पत्ति विवरण पेस गर्नु पर्नेछ ।

दलित, महिला, आपाङ्गता भएका र आर्थिकरुपले विपन्न वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको उम्मेवार भए धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।
निर्वाचन खर्चको सीमा तोक्दा निर्वाचन क्षेत्रको भौगोलिक विकटता, दूरी, मतदान केन्द्र र मतदाता सङ्ख्या, यातायात सुगमताका खर्चका आधारमा हद तोक्ने तथा प्रचारमा भएका आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

नेपालका विभिन्न निर्वाचन क्षेत्रबीच हुने खर्चको फरकपनको पाटोलाई हेक्का गरी त्यससम्बन्धी प्रावधान प्रस्ताव गरिएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आर्थिक अवस्था धेरै राम्रो नभएको हाम्रो मुलुकमा हुने निर्वाचनसम्बन्धी कानुनी खर्च व्यवस्थालाई ठीक मानिए पनि त्यसको दश गुणभन्दा बढी हुँदै आएको खर्चले भ्रष्टाचारलाई बढाई सुशासनलाई चुनौती दिइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका क्रममा सबैभन्दा धेरै खर्च भोजभतेर हुन्छ, कुनै बस्तीमा त पैसा नै वितरण भएको भन्ने पनि सुनिन्छ । यस्तो हर्कत रोक्न निर्वाचन आयोगले प्रहरी र प्रशासनमार्फत आफ्ना समयन्त्र प्रयोग गरी अनुगमनलाई कडा तुल्याउनुपर्छ ।”

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

नेकपा(माओवादी केन्द्र)का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले चुनावी खर्च बढी देखिएमा उम्मेदवारी नै रद्द हुने र अर्काे एक अवधि पनि उम्मेदवार हुन नपाउने प्रावधान राखिनुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “चुनाव प्रचार शैलीलाई शर्तसहित व्यवस्थित गर्ने र मौन अवधिको समय घटाउने विषय उचित नै छ, टिकट किन्नेदेखि सांसदले सरकारी ढिकुटीबाट पैसा लिन र बाँड्ने कार्य कडाइका साथ रोक्नुपर्छ ।”

“चुनावमा खर्च किन भन्ने कोणबाट बहस सुरु गरिनुपर्छ, प्रचारप्रसार पारदर्शी गर्ने, भोट माग्न तीन जनाभन्दा बढी हिँड्न र गाडी प्रयोग गरी आमसभामा दर्शक ओसार्न नपाइने, सञ्चारमाध्यमबाट प्रसार गर्ने, आमसभा पनि दुईभन्दा गर्न नपाइने हुनुपर्छ”, नेता विडारी भन्नुहुन्छ निर्वाचनका बेला दाबावमा र प्रभावमा रकम उठाइ खर्च गर्ने अवस्थालाई नियन्त्रण गर्न सरकारी तथा सकार सम्बद्ध निकाय एवं गैरसरकारी संस्थाबाहेक अरुसँग विवरण खुलाएर मात्र आर्थिक सहयोग लिनसक्ने प्रस्ताव गरिएको छ ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनलाई थप व्यवस्थित तुल्याएर खर्चलाई घटाउने र मुलुकलाई सुशासनको बाटोमा लैजाने कार्यमा सरकार र राजनीतिक नेतृत्वलाई समयमै ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

आर्थिक विषयलाई पारदर्शी बनाउन सहयोग बैंकिङ प्रणालीमार्फत लिनुपर्ने, रसिद दिनुपर्ने, ५० हजारभन्दा बढी सहयोग लिँदा स्रोत खुलाउनुपर्ने तथा कुनै शर्त तोकी सहयोग लिन नहुने व्यवस्था गरिएको छ ।नेपाली कांग्रसका नेता एवं राज्यव्यवस्था समितिका सदस्य हृदयराम थानीले चार वटा राजनीतिक दल जुट्दा पनि सरकार गठन गर्न नसक्ने हालको निर्वाचन प्रणाली मुलुकले थेग्नै नसक्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “सधैँ अहिलेकै ढाँचाले सरकार चल्दैन, सङ्क्रमणका बेला सबैलाई चित्त बुझाउन यो निर्वाचन प्र्रणालीमा सहमति भएको थियो । निष्ठाको राजनीति हराएको छ, जसले जे गर्‍यो त्यसले मात्र चुनाव जित्ने देखियो, कतिञ्जेल टुलुटुल हेरेर बस्ने अब ।”

निर्वाचनको वास्तविकरुपमा खर्च उम्मेदवार वा दलले निर्वाचन परिणाम घोषणा भएको ४५ दिनभित्र विवरण पेस गर्नु पर्नेछ । प्रस्तावित मस्यौदाअनुसार, निर्वाचन खर्च सम्बन्धमा आयोग र निर्वाचन अधिकृतले अनुगमन, सुक्ष्म अनुगमन गर्ने छन् । निर्वाचनमा सर्वसाधारण वा मतदाताबाट नगद र जिन्सी लिए दिएमा जरिवाना र कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गणतन्त्र र लोकतन्त्रका लागि धेरै सङ्घर्ष, त्याग तपस्या गरे पनि हाम्रै क्रियाकलापले मुलुक भ्रष्टाचारमा चुर्लुम्ब डुबेको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “राजनीतिक दल जारी घोषणापत्र र सिद्धान्तमा नचल्दा जनताको नेताप्रति हेर्ने दृष्टिकोण त्यति राम्रो छैन, जनता र राष्ट्रले लाभ प्राप्त गर्ने काम गर्नुपर्छ । निर्वाचनमा सुधार ल्याउनुपर्छ, भ्रष्टाचारको साछी बसेर टुलुटुलु हेर्न हुन्न ।”

निर्वाचनलाई पारदर्शी र अनुमानयोग्य बनाउन दल वा उम्मेदवारले बैंक खाताको विवरण उपलब्ध गराउन पर्नेछ । ऐनविपरीत खर्च गरेमा जरिवाना गर्ने र खाता भएका रकम जफत हुनेछ ।पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल एउटा लेखमा भन्नुभएको छ, “प्रणाली मात्र राम्रो भएर पुग्दैन, अभ्यासकर्ताबाट हुने प्रयोग र पालनाका आधारमा प्रणाली निर्धारण गर्छ भन्ने पक्षलाई नेतृत्वकर्ताले सदा हेक्का राख्न जरुरी छ ।”

दल र उम्मेदवारको निर्वाचन प्रचारप्रसार अभियानमा लाग्ने वास्तविक खर्चको बृहत् पारदर्शीता प्रदान गर्न आय र व्यय दुवै प्रतिवेदनमा समावेश गर्न प्रस्ताव गरिएको छ ।पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव मतदाता नामावली दर्तादेखि निर्वाचन सञ्चालन र परिणाम घोषणासम्मका सबै क्रियाकलाप र प्रक्रिया स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “लोकतन्त्र र सुशासनको महत्त्वपूर्ण आधार भनेको स्वच्छ, मितव्ययी र निष्पक्ष निर्वाचन भएकाले निर्वाचनमा हुने खर्च र प्रचारप्रसारको ढाँचाले राज्यलाई सुशासनको मार्गमा लैजान सहयोग प¥याउने भनाइ छ ।”विधिको शासन, उत्तरदायी सरकार, पारदर्शीता, भ्रष्टाचारमुक्त समाज र सुशासन कायम गर्दै लोकतन्त्र सुदृढीकरणका लागि निर्वाचनसम्बन्धी प्रस्तावित कानुनले योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

अन्नपूर्ण (कास्की) – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र सङ्घ सरकारका कर्मचारीले समान सुविधा पाउनुपर्ने बताउनुभएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रबार पोखरामा आयोजित मूल समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिनुभयो ।

“यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट सङ्घीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधार सामान हुनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।”

सरकारको सफलता/असफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उहाँले बताउनुभयो । राजनैतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सङ्घ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट सङ्घीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उहाँले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

स्वास्थ्य सेवाको अभावमा नागरिकले ज्यान गुमाउनु नपरोस् : उपराष्ट्रपति यादव

वीरगञ्ज – उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य सेवाको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको १४औँ अधिवेशनको शुक्रबार वीरगञ्जमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशका दूरदराजमा वस्तीका नागरिकसम्म अझै स्वास्थ्य सेवा सहज पहुँच पुग्न नसकेकाले स्वास्थ्य सेवाकै अभावमा ज्यान गुमाउनुपर्ने स्थिति छ, त्यसैले अब कुनै पनि नागरिकले उपचारकै अभावमा मर्नु नपरोस् भन्ने अवस्थाको सृजना गर्नु आवश्यक छ ।”

स्वास्थ्य सेवालाई सहज, सुल्भ र सबैको पहुँच हुने अवस्थाको सृजना गर्न औषधि व्यवसायीको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै उपराष्ट्रपति यादवले शहरदेखि गाँउसम्म औषधि व्यवसायीले सेवा दिइरहेकाले अबका दिनमा दूरराजका वस्तीसम्म पनि औषधिको सेवा अझ प्रभावकारीरूपमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रमा औषधि व्यवयासीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन औषधि व्यवसायी सङ्घले थप योगदान दिनुपर्नेमा जोड दिनुभयो । औषधि व्यवसायीको विद्यमान समस्यालाई गम्भीरताका साथ लिएर समाधानका लागि सरकारले कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले विगत ६० वर्षदेखि औषधि व्यवसायमा सङ्लग्न वीरगञ्जका ८० वर्षीय राजेश्वरप्रसाद सर्राफलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

वीरगञ्जस्थित नगरसभा गृहमा सुरु भएको सङ्घको अधिवेशनमा केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षलगायत प्रत्येक जिल्लाबाट तीन÷तीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरी २१० जनाको सहभागीता रहेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो । सो अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, आयात, थोक र खुद्रा बिक्रेताबाट एक/एक जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदाधिकारीसहित २१ सदस्यीय कार्य समिति चयन हुनेछन् ।

बाँकेमा बस दुर्घटनामा सात जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना८ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए । बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । घाइते २९ को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ – नवनियुक्त मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।मुख्यमन्त्री पदको शपथ लिएपछि शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गर्नुभयो ।

उहाँले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबै दलको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गर्नुभयो ।

भारतीय सहरमा आजदेखि पोखरा–नेपाल पर्यटन प्रवर्द्धन अभियान

कास्की – नेपालसँग सिमाना जोडिएका भारतीय सहरमा पोखराको पर्यटन प्रवर्द्धनका लागि आजदेखि प्रवर्द्धनात्मक अभियान सञ्चालन हुने भएको छ ।नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बङ्गाल ट्राभल मार्ट’ को अवसर पारेर भदौ २५ गतेसम्म यहाँका पर्यटन व्यवसायीबाट पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

नाट्टाका अध्यक्ष हरिराम अधिकारीले पोखरा र नेपालको लागि पर्यटकको स्रोत बजारका बनेको नेपालसँग सिमाना जोडिएका भारतका सहरमा प्रवर्द्धन अभियान सञ्चालन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको राजनीतिक घटनाक्रम र विभिन्न प्राकृतिक प्रकोपका कारण अहिले पोखराको पर्यटन सुस्ताइरहेको छ । यस्तो अवस्थामा भारतीय बजारमा बोर्डर सिटी प्रमोसनल अभियान अत्यन्त महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ । यसबाट भारतका सहरबाट पर्यटक आगमन बढाउन मद्दत पुग्नेछ ।”

नाट्टाले गत वैशाखमा पनि भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरमा प्रवर्द्धन अभियान र ‘बीटुबी मिट’ आयोजना गरेको थियो । त्यस बेलाको अभियानले पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढाउन योगदान गरेको व्यवसायीको भनाइ छ । भारतको सिलगुढीमा हुने ‘बङ्गाल ट्राभल मार्ट’ मा भारतका विभिन्न सहर, बङ्गलादेश र भुटानको पाँच सयभन्दा बढी टुर अपरेटरको सहभागिता र एक हजारभन्दा बढी भिजिटरको आगमनले पोखरा, गण्डकी प्रदेशसहित समग्र नेपालको प्रवर्द्धनमा सघाउ पुग्ने बताइन्छ ।

“बङ्गाल ट्राभल मार्ट’ मा धेरै देशका ट्राभलको सहभागिता रहने भएकाले हामी उहाँहरुलाई पोखरा घुम्न आउनका लागि सकारात्मक सन्देश दिन्छौँ र यहाँको सडक, हवाईयात्रा लगायतका बारेमा रहेको नकारात्मक कुरा चिछौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो । मार्टमा नाट्टा गण्डकीको समन्वय र पोखरा महानगरपालिकाको सहकार्यमा राखिने स्टलमा बीटुबी छलफल हुनेछ ।

पोखराको कला र संस्कृति झल्कने गरी सजाइने सो स्टलमा पोखराको वृत्तचित्र निरन्तर प्रदर्शन गरिने र अन्य प्रवर्द्धनात्मक सामग्री प्रदर्शन र वितरण गरिने नाट्टाका निर्वतमान अध्यक्षसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र हवाई र स्थलमार्गबाट पुग्न सकिने नजिकको पर्यटकीय गन्तव्य भएकाले पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको विषय आगन्तुकलाई अवगत गराइने नाट्टाले जनाएको छ । पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले पोखराको समृद्धि पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव भएकाले प्रवर्द्धनात्मक कार्यक्रमलाई महानगरले जोड दिएको बताउनुभयो ।

उहाँले यस अभियानलाई महानगरको तर्फबाट रु १० लाख सहयोग गरिएको जानकारी दिनुभयो । बोर्डर सिटी प्रमोसनल अभियानमा पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायत गरी १३ जनाको सहभागिता रहने बताइन्छ ।

अनधिकृतरुपमा प्रयोग भएका गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन

सुदूरपश्चिम – अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिनुभयो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो । सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताउनुभयो ।

“विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भन्नुभयो ।गाडी लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिने भएकाले गाडी उपलब्ध गराएको जवाफ सचिवालयले दिएपछि फिर्ता माग्न निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य धामीले बताउनुभयो ।

“गाडीको सेवा सुविधा दिने हो भने ऐनअनुसारको अनुसूचि बनाउनु पर्‍यो, नभए ऐन सच्याउनु पर्नेभयो,” समितिका अर्का सदस्य मानबहादुर धामीले भन्नुभयो, “ऐन कानुन अस्पष्ट हुँदा सुविधा लिने नलिनेमा अन्योलता देखियो ।”

प्रदेशसभा सचिवालयसँग ११ सवारी साधान छन् । यीमध्ये छ सवारी साधन नियम विपरीत प्रयोग भइरहेको जनाइएको छ । प्रदेशसभामा सत्तापक्ष नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्ट, नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयका गाडी प्रयोग गरिरहनु भएको सचिवालयका सूचना अधिकारी जैशीले बताउनुभयो ।

प्रदेशसभाका विभिन्न समितिका ज्येष्ठ सदस्यले पनि गाडीको चावी लिए पनि प्रयोग गर्नुभएको छैन । प्रदेशसभाका सदस्य र पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐनमा सत्तापक्षीय दलका नेता, प्रमुख सचेतक र विपक्षी दलका नेतालाई गाडी सुविधा दिने उल्लेख भए पनि ऐनको अनुसूचीमा यो उल्लेख गरिएको छैन ।

लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती बिधेयक पारित

लुम्बिनी – निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको शुक्रबार बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशसभाको आजको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख तुलाराम घर्तीले बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा ध्वनि मतका आधारमा प्रदेशसभाले सर्वसम्मतरुपमा विधेयक पारित गरेको हो ।

बिहीबार बसेको २४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्नुभएको थियो । सोही प्रतिवेदका आधारमा आजक बैठकमा उक्त विधेयक पास भएको हो ।

प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको निजामती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौँ तहको वा सोसरहको रहने उल्लेख छ । प्रमुख सचिवको पदावधि तीन वर्ष र सचिवको पाँच वर्षको पदावधि रहनेछ । कुनै पनि कर्मचारी कार्यालय प्रमुखको जिम्मेवारीमा गएमा हाजिर हुनुभन्दा अगाडि ट्रेड युनियनको सदस्य पदबाट राजीनामा दिनुपर्ने उल्लेख गराएको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश तहबाट पठाउने गरी विधेयक पास भएको छ । अहिलेसम्म केन्द्र सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ । समावेशीतर्फको कोटालाई ४५ बाट बढाएर ४९ प्रतिशत पुर्‍याइएको छ । खुलामा ५१ प्रतिशत र समावेशीतर्फ ४९ प्रतिशत पुर्‍याइएको हो ।

यस्तै महिलाको सहभागिता सुनिश्चित गर्न हरेक समावेशी कोटामा ५० प्रतिशत महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा महिला कर्मचारीलाई एक दिन रजश्वला बिदा दिनेसमेत उल्लेख गरिएको छ ।

मान्मबाट चार वर्षीय बालकसहित बेपत्ता भएकी गीताकुमारी कहाँ गइन् ?

कालिकोट । कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् ।

पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी गीताकुमारी छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । उनी केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।

गत राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । ‘खाना खाएर सुत्न कोठा गएका थिए,’ सुवेदी होटलका सञ्चालक नमराज सुवेदीले भने, ’पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरू नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने आशंका गरे ।

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले हराएको खबर आएपछि अनुसन्धान थालेको बताए । उनले उनका सौता रञ्जना शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए । डिएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ ।

मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न दिइएको थिएन । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकाले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने उनकी फुपु नाता पर्ने अर्मिता न्यौपाने बताइन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

हिमाल आरोहणका लागि २८४ जनाले लिए अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् ।

यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ ।

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

किन पठाइएन नेपालको नयाँ चुच्चे नक्सा ?

काठमाडौँ । संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

२०७७ जेठ ९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर विभिन्न देशका दूतावासलाई नयाँ चुच्चे नक्सा पठाउन अनुरोध गरेको थियो । भूमि व्यवस्था मन्त्रालयले त्यतिबेला परराष्ट्रलाई मात्र होइन, अन्य सबै मन्त्रालयलाई चिठी लेखेर नयाँ नक्साको प्रयोग गर्न र आफूमातहतका निकायलाई पनि प्रयोग गर्न अनुरोध गरेको थियो । तर परराष्ट्र त्यसलाई कार्यान्वयन गरेन ।

मन्त्रालयले उक्त चिठीको फोटोकपीमा परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरेर लेखिएको छ, ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्राप्त गरी सो नक्सा प्रयोगमा ल्याउन नेपालस्थित विदेशी राजदूतावास तथा कूटनीतिक नियोग, विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोग, महावाणिज्य दूतावासमा पठाउने व्यवस्था मिलाउन अनुरोध गर्छु ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

‘राष्ट्रिय सहमतिको सरकार गठन गरौँ’ – पर्यटनमन्त्री

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राख्नुभएको छ ।

पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताउनुभयो ।

मन्त्री किरातीले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी छ प्रदेशसँगै केन्द्रमा पनि सर्बदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिवार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

हेर्नुहोस् भदौ २३ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि- प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

प्रहरी विरुद्ध विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर

ताप्लेजुङ – नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रर्दशन गरेका हुन् ।

तरुण दल र नेविसङ्घ ताप्लेजुङको अगुवाइमा दिउँसो मध्याह्नपछि पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो । प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए । प्रहरी कार्यालयअघि प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमणको प्रयास गरेको बताउनुभयो ।

सुरक्षार्थ खटिने प्रहरीले जनप्रतिनिधिमाथि नै आक्रमणको प्रयास गर्नुले प्रहरीप्रति सर्वसाधारण नागरिकको विश्वास र भरोसा गुमेको उहाँको जिकिर थियो । सदरमुकाममा लागेको मिनिमेलालगायतका विभिन्न कार्यक्रमबाट प्रनाउ लिम्बूले पैसा लिएको उहाँले आरोप समेत लगाउनुभयो । पाथीभरा क्षेत्रका यातायात व्यवसायीबाट समेत पैसा असुल्ने गरेको उहाँको भनाइ थियो । यस्तै कांग्रेस सभापति गजेन्द्र तुम्याहाङले कांग्रेस पार्टीका विरुद्ध नै प्रहरी नियोजितरूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभयो ।

गए राति प्रहरीको टोलीले हाङ्गाम निवास घेराउ गरी ढुङ्गा प्रहार गरेको साथै हाङ्गामलाई पेस्तोल तेर्स्याएको, अश्लील शब्द प्र्रयोग गरी गालीगलौज गरेको तरुण दलको दाबी छ । मध्यरातमा सामाजिक सञ्जालमा सार्वजानिक भएको भिडयोमा प्रहरीले हाङ्गाम निवासको गेटमा लात्ती प्रहार गरेको देखिन्छ भने सादा पोसाकमा रहेका एक जनाले ढुङ्गा प्रहार गरेको देखिन्छ ।

यता प्रहरीले भने बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा उल्टै प्रहरीमाथि गालीगलौज भएपछि विवाद सिर्जना भएको जनाएको छ । मिनिमेला लागिरहेको गेटबाहिर भएको उक्त विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । उहाँका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो । हाङ्गाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उहाँको भनाइ छ ।

उक्त घटनाको विरोधमा नेपाल तरुण दल केन्द्रीय समिति, जिल्ला स्थित नेपाली कांग्रेस, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

सेना आस्था र भरोसाको धरोहर हो भन्ने विश्वास कायम राखौँ : प्रधानसेनापति शर्मा

काठमाडौँ, २२ भदौ : प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखि व्यक्तिगत र सामूहिक ढङ्गले कार्यसम्पादन जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले अनुशासन तथा जवाफदेहिताको महत्त्वलाई बुझेर प्राप्त सबै जिम्मेवारी गुणस्तरीय ढङ्गले निर्धारित समयमा पूरा गर्न सुझाव दिनुभयो ।प्रधानसेनापति शर्माले भन्नुभयो, “आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ, बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजानुस् ।” उहाँले बैठकबाट समग्र देशको परिस्थितिलाई बुझेर आइपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायत प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिको सहभागिता रहेको बैठकमा प्रस्तुत विषय र छलफलबाट नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।

औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको छ : उद्योगमन्त्री रिजाल

काठमाडौँ, २२ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको बताउनुभएको छ । फोकस नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘औद्योगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा उहाँले सरकार मुलुकमा औद्योगिक वातावरण निर्माणमा लागेको बताउनुभयो ।

“कुनै पनि मुलुकको आर्थिक विकास हुनुमा औद्योगिक क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ, औद्योगिक क्षेत्रको विकासका लागि सरकार लागेको छ”, उहाँले भन्नुभयो । नेपालमा ८७ वर्ष पहिले विराटनगरमा जुट मिल स्थापना भएदेखि नै सङ्गठित औद्योगिक क्षेत्रको विकास भएको उहाँको भनाइ थियो ।

मन्त्री रिजालले औद्योगिक क्षेत्रको विकास भएको लामो समय भए पनि नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । औद्योगिक क्षेत्रको विकासका लागि नेपालले विगतदेखि नै विभिन्न चुनौतीको सामना गर्दै आएका उहाँको भनाइ थियो । नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि धेरै मेहिनत गर्नुपर्ने अवस्था आएको मन्त्री रिजालले बताउनुभयो ।

“हाम्रो कठिन भू–धरातलका कारण एकातिर उद्योग खोल्नका लागि आवश्यक पूर्वाधार निर्माणमा कठिनाइ भइरहेको छ, अर्कातिर पर्यावरण जोगाएर उद्योगका लागि पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको छ”, उहाँले भन्नुभयो । मन्त्री रिजालले चुनौती र अप्ठ्याराका बाबजुद हामीसँग सम्भावना र अवसर थुप्रै रहेको बताउनुभयो ।

जलस्रोत, जडिबुटी, वनस्पति, खनिजजस्ता प्राकृतिक सम्पदाको प्रयोग गरेर विभिन्न उद्योग स्थापना गर्न सकेमात्र नेपालको औद्योगिक विकासले कोल्टे फेर्ने उहाँको भनाइ थियो । मन्त्री रिजालले सरकारले साना, मझौला र ठूला उद्योगलाई प्रवर्द्धन गर्नका लागि विभिन्न आर्थिक र भौतिक सहायता प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । सरकारले नयाँ उद्यमीलाई प्रोत्साहन गर्दै आएको उहाँको भनाइ थियो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपाल एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको बताउनुभयो । कार्यक्रममा समाज विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो । 

नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरीमा सकियो

काठमाडौँ, २२ भदौ : नेपाल र म्यानमारबीच आज भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाए । उनले खेलको दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुययोग गर्न सकेनन् । खेलको ५८औँ मिनेटमा अञ्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अञ्जन गोल गर्नबाट चुके ।अर्को महिना लाओस विरुद्ध हुने विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल म्यानमार पुगेको हो । अब नेपालले आफ्नो दोस्रो यही भदौ २५ गते म्यानमारसँग खेल्नेछ ।

चेपाङलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री जम्कट्टेल

मलेखु (धादिङ) २२ भदौ -बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायलाई विकासको मूलधारमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपालका सिमान्तकृत चेपाङ जातिको राष्ट्रिय पर्व न्वागीको अवसरमा धादिङको गजुरी गाउँपालिका–५ च्याङ्लीमा आज आयोजित कार्यक्रममा उहाँले चेपाङलाई अन्य समुदाय सरह विकासको मूलधारमा पुर्‍याउन कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो ।

“चेपाङ समुदायको विकासका लागि सङ्घीय सरकारसँग पनि समन्वय गरिरहेका छौँ । चेपाङ समुदायको चेपाङ चिउरी र चमेरो सर्किट बनाउनुपर्छ । यो समुदायको विकासका लागि भनेर बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो ।

विशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र संविधानमा व्यवस्था भएको कारण सङ्घीय सरकारले पनि निर्णय गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “चेपाङ समुदायको विकासमा हामी सदैब सँगै छौँ ।” आदमघाट बैकुण्ठ मनोहरी सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्न निर्माण कार्य भइरहेको मुख्यमन्त्री जम्मकट्टेल जानकारी दिनुभयो । 

कार्यक्रममा सांसद रामनाथ अधिकारीले महाभारत श्रृखलाको कुना कन्दरामा बसोबास गर्ने चेपाङसहित अन्य जातजातिको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका सिमान्तकृत चेपाङ समुदायले न्वागी पर्व शुक्रबार धुमधामका साथ मनाएका छन् । कार्यक्रममा चेपाङ समुदायको रितिरिवाज र संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो ।   देशभरका चेपाङ धादिङमा जम्मा भएर यो पर्व मनाएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार तीन सय ६४ चेपाङ छन् । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । 

पार्टीका सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलद्वारा विरोध

काठमाडौँ, २२ भदौ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेको छ ।

तरुण दलले पार्टीका सहमहामन्त्री एवं तरुण दलका पूर्वअध्यक्ष यादवमाथि भएको आक्रमणको विरोधमा रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा दलका अध्यक्ष विद्वान गुरुङलगायत तरुण दलका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाल तरुण दलले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध ¥याली गरेको  थियो । सोही अवसरमा तरुण दलका नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् । सहमहामन्त्री यादवलाई यही भदौ २० गते रिपोर्टर्स क्बल नेपालमा भाषण गरेर निस्किँदै गर्दा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

नेपाल राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ, २२ भदौ : नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।

विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि भदौ २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्कासन हुनेछ । यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ ।

ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ । यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सकिनेछ । प्रतिस्पर्धी बोलबालालाई कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात रू आठ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलबालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ ।

घटीमा रू ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाईकन रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।

ककनीको बाँझो जग्गामा चिया खेती सुरु

त्रिशूली, २२ भदौ : पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ ।नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गर्नुभएको हो ।

ककनी ‘पिकनिक स्पट’ को रुपमा परिचित उक्त स्थानमा सुरु गरिएको चिया रोपणले पर्यटकीय सम्भावना बोकेका ककनीको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री किरातीले विश्वास व्यक्त गर्नुभयो । “नुवाकोटको ककनी र नगरकोट सुन्दा उस्तै लाग्छ । त्यति मात्रै होइन भौगोलिक दृष्टिकोण, राजधानी नजिकैको उच्च भूभाग, ‘एग्रो एण्ड नेचुरल टुरिजम’ को लागि दुवै स्थान समान हैसियतमा छन् ।” मन्त्री किरातीले भन्नुभयो, “ककनीमा पर्यटकीय गतिविधि चलायमान बनाउन सरोकारवालाबाट माग भएर आउने प्रस्तावनामा सरकारको तर्फबाट आवश्यक सहयोगको सुनिश्चित गरेर ककनीलाई नगरकोट सरह बनाउन प्रतिबद्ध हुनेछौँ ।”चिया रोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले ककनीमा पर्यटकीय योजना बनाउन केन्द्रीय सरकारबाट आश्वासन पाउने तर, सम्बोधन नहुने गुनासो गर्नुभयो । “ककनी भन्ने वित्तिकै घुम्ने ठाँउभन्दा काठमाडौँको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाँउपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हारियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो ।गाउँपालिकाको अध्यक्ष सुमन तामाङको अनुसार शुक्रबार १३ रोपनी जग्गामा पाँच हजार दुई सय बिरुवा रोपिएको छ । “पर्यटकीय क्षेत्रको विकासको लागि चिया रोप्ने र हाल कायम रहेको पिकनिक स्पटलाई थप व्यवस्थित बनाउन पालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पहिलो प्राथमिकता दिएर लागेका छौँ ।” अध्यक्ष तामाङले भन्नुभयो, “पर्वतारोहण सङ्घको नाममा भोगाधिकार भए पनि उक्त जग्गामा चिया खेतीको विस्तारसहित आधुनिक ‘पिकनिक’ स्थलको लागि शौचालय, खानेपानीलगायत पूर्वाधार विकास एवं विद्युत् सेवा विस्तारको लागि गाउँपालिकाले कार्ययोजना बनाएको छ ।”राजधानी काठमाडौँबाट २२ किलोमिटरको दुरीमा पर्ने ककनी हाइटबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका आधा दर्जन भन्दाबढी हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । ककनीबाट लाङटाङ, गणेश, गौरीशङ्कर, मनास्लु, हिमचुली, अन्नपूर्णलगायत हिमाल अवलोकनका लागि वर्षेनि हजारौँ पर्यटक भित्रने भए पनि लक्ष्य अनुसारको प्रगति गर्न नसकेको भन्दै सरोकारावलाहरू चिन्तित हुँदै आइरहेका छन् ।“ककनी हाईटबाट देखिने हिमालका दृश्यहरूले पर्यटकको मनलाई आकर्षण गरे पनि यहाँसम्म पर्यटकलाई ल्याउन कठिनाइ भइरहेको छ ।” अध्यक्ष तामाङले भन्नुभयो, “ककनीको ‘ब्राण्ड’ का रूपमा क्यानोनिङ प्रतियोगितासमेत हुने गरेको फुङ्गफुङ्गे झरना, ट्राउट माछा, किबि, स्ट्रबेरी, मुलालगायत कृषि खेतीको पहिचान जोगाउन काठमाडौँबाट आउने पासाङल्यामु राजमार्ग समयमा नबन्दा त्यसको असर सबै क्षेत्रमा परेको छ ।”

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा

काठमाडौँ, २२ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय नेतालाई प्रशिक्षण दिइरहेको छ । जसपाले सङ्गठन विस्तार, पुनःगठन र रूपान्तरणका साथै नेतालाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका तथा प्रशिक्षणमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र सङ्घीय परिषद् सदस्य प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी रहेका सो पार्टीले जनाएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र पार्टीको मूल नारा सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिने गरिएको बताइएको छ । काठमाडौँमा भदौ २२ गते, यसैगरी भदौ २२ र २३ गते उदयपुरमा, विराटनगरमा २६ गते केन्द्रीय तहका नेतासहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।उहाँका अनुसार केही प्रदेश सङ्गठन पुनःगठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछन् । प्रशिक्षण, अभिमुखीकरण, सङ्गठन पुनःगठन र रूपान्तरण गरी कात्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने जसपाले जनाएको छ ।

मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया सुरु

बागमती, २२ भदौ : प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया सुरु भएको छ । केन्द्रको कार्यालय हेटौँडाको लामो समयदेखि अवैधरूपमा करोडौँ मूल्य बराबरको अतिक्रमित जमिन खाली गराउने प्रक्रिया सुरु भएको हो ।

हेटौँडा उपमहानगरपालिका–५मा रहेको सो कार्यालयले अतिक्रमित जमिन खाली गर्न ३५ दिने सूचनासमेत जारी गरेको छ । केन्द्रिय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको कार्यालय बालाजु काठमाडौँ र जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरकारी जग्गा संरक्षण गर्ने पत्रका आधारमा ३५ दिने सूचना जारी गरी अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना गरेको कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

यसरी अतिक्रमण गर्ने व्यक्तिको नाम र जमिनको कित्ता नम्बारसहित सार्वजनिक गरिएको छ । जग्गा खाली गर्न सूचना जारी गरेको मितिभित्र खाली नगरेमा सो कार्यालयले भत्काउने प्रमुख यादवले स्पष्ट पार्नुभयो । कार्यालय मातहत रहेको ४९ हेक्टर जमिनमध्ये नौ बिघा सात कठा १३ धुर जमिन अतिक्रमण गरी संरचनासमेत निर्माण भएको कार्यालयद्वारा तयार गरिएको प्रतिवेदनमा जनाइएको छ ।

सो अतिक्रमित जमिन उपलब्ध गराउन र भौतिक संरचना हटाउन जिल्ला प्रशासन कार्यालयमा हेटौँडामा लिखितरूपमा जानकरी गराइएको थियो । साथै अतिक्रमित जमिन नापी कार्यालयबाट व्यक्तिको नाममा कित्ताकाटसमेत भएकाले नापी कार्यालय तथा मालपोत कार्यालय हेटौँडालाई पुनःनापीका लागि लिखित जानकारी गराइएको र यकीन भएपछि खाली गराउने कार्य सुरु गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा अतिक्रमण भएको जमिनको पेश विवरणअनुसार कित्ता नं ९६ को आठ बिघा १४ कठा जमिनमा पिप्ले युवा क्लबले रगङ्शाला निर्माण, हेल्थ पोष्ट निर्माण तथा कार्यालय भवन अतिक्रण गरी रेष्टुराँसमेत सञ्चालन गरेको उल्लेख गरिएको छ । साथै अन्य सात जना व्यक्तिले सो कार्यालयको जमिन अतिक्रमण गरी घर, टहरा तथा होटल, रेष्टुराँ व्यवसाय र कुखुरा फार्म सञ्चालन गरेको जनाइएको छ ।

यही जेठ ८ गते जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको जग्गा अतिक्रमण सम्बन्धमा विवरण पेश गर्न निर्देशन जारी गरेपछि सो मत्स्य केन्द्रको कार्यालयले आफ्नो अतिक्रमित जमिनबारे जानकरी गराएको थियो । स्थानीय पिप्ले युवा क्लबले खेल मैदान र खेल संरचनासमेत निर्माण गरेकाले त्यसबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भइरहको बताइएको तर व्यक्तिको हकमा खाली गराउने उहाँको भनाइ रहेको छ ।

सो कार्यालयले स्थापना भएको विसं २०२४ देखि आफ्नो पोखरीमा विभिन्न प्रजातिका माछाको भूरा उत्पादन, विकास, संरक्षण तथा माछाको बिक्री वितरण माछाको सम्बन्धमा सचेतना कार्यक्रम गर्दै आएको छ ।

चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्ड्सनबीच पाँच बुँदे सहमति

काठमाडौँ, २२ भदौ : चीनको प्रमुख शहर छोङछिङस्थित छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्न पाँच बुँदे सम्झौता भएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

सम्झौतामा फाउन्डेसनका तर्फबाट अखिल नेपाल महिला सङ्घको अध्यक्षसमेत रहनुभएकी फाउन्डेसनको केन्द्रीय सदस्य टुका हमाल र छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजका तर्फबाट प्रमुख लि जीओ कुअङले हस्ताक्षर गर्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भएको भेटर्वार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राख्नु भएको थियो ।

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन सुरुआतअन्तर्गत छोङछिङ थ्रि ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुुभयो ।

उक्त सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ । गौतमले भन्नुभयो, “छोङछिङको विकासमा उहाँहरूले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

सहमतिअनुसार कलेजको सहयोगमा ग्रामीण पुनःस्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।

यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ । सहमतिअनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्र्यक्रम सञ्चालन गनिनेछ ।

आयोजना प्रभावितको समस्या समाधानका लागि नीतिगतरूपमा नै सम्बोधन गर्छौं : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेशन प्रभावित जनताको समस्या समाधानका लागि नीतिगतरूपमा नै सम्बोधन गर्ने बताउनुभएको छ ।पछिल्ला दिनमा प्रसारण लाइन निर्माणमा बढीभन्दा बढी समस्या देखिएपछि सरकारले त्यसलाई नीतिगत एवं व्यवहारिकरूपमा कानूनी पक्षसमेतलाई ध्यानमा राखेर समाधान गर्ने तयारी गरेको उहाँको भनाइ छ । विशेषगरी प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग, प्रसारण लाइनको मार्गाधिकारमा पर्ने स्थानीयवासीको जग्गाको प्रबन्ध, मुआब्जा वितरणमा समेत समस्या देखिएपछि सरकारले त्यसलाई उचित तवरले सम्बोधन गर्नैपर्ने स्थिति देखा परेको हो ।

आदिवासी जनजाति आयोगले आज यहाँ आयोजना गरेको जलविद्युत् उत्पादन प्रसारण र वितरण आयोजनाले आदिवासी जनजाति समुदायको हकअधिकारमा पारेको प्रभाव विषयक छलफल कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीनरूपमा समाधान नखोज्ने हो भने कुनै पनि विकास निर्माणको काम अगाडि बढाउन नसकिने अवस्था सिर्जना हुन लागेको बताउनुभयो ।आयोजना प्रभावितको जायज माग सम्बोधन गर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै उहाँले विकास निर्माणको काम राष्ट्रिय महत्त्वका हुने भएकाले त्यसमा कुनै पनि प्रकारको अवरोध गर्न नहुनेतर्फ पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना अगाडि बढाउन लागेको सन्दर्भमा आगामी दिनमा आयोजनामा अनेकन खालका समस्या देखिने भएकाले आजै उपयुक्त निकास निकाल्नुपर्ने र त्यसमा सरोकारवाला निकायको उत्तिकै साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ ।जलविद्युत् आयोजनाको उत्पादन स्थलमा समस्या कम भए पनि विशेषगरी सबस्टेशन, प्रसारण लाइन र वितरण लाइन निर्माणमा अत्याधिक समस्या भएकाले त्यसको निरूपण गर्न शेयर दिने वा अन्य कुनै हिसाबले सम्बोधन गर्नैपर्ने स्थिति देखिएकाले सरकार गम्भीर रहेको मन्त्री बस्नेतको भनाइ छ ।आयोजना प्रभावितले अपनत्व महसुस नगर्दासम्म अगाडि बढ्न नसक्ने भएकाले ऊर्जा मन्त्रालयले सङ्घीय संसद्मा पेश गर्न लागेको विद्युत् विधेयकमा केही विषयलाई सम्बोधन गरिएको उहाँको भनाइ छ । प्रसारण लाइनबाट प्रभावितसमेतलाई सम्बोधन गर्ने गरी सरकारले निश्चित शेयर प्रदान गर्ने वा कुनै न कुनै रूपमा अपनत्व महसुस गराउने गरी तयारी थालेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वास्तविक बनाउने र बढीभन्दा बढी प्रभावितसमेतको भावना समेटने व्यवस्था गर्न तथा आयोजनाको सामाजिक प्रभावका बारेमा पनि अब सूक्ष्म अनुसन्धान गरिने उहाँको कथन छ ।सरकारले कुनै पनि आयोजनाको मुआब्जा वितरणमा विभेद नगरेको स्पष्ट पार्दै कहीँ कतै त्यसो भएको भए कारवाहीको दायरामा ल्याइने मन्त्री बस्नेतले स्पष्ट पार्नुभयो । लामो समयदेखि ऐलानी जग्गामा बस्दै आएका नागरिकको समस्या कानूनी दृष्टिमा मात्रै नखोजी व्यावहारिक भएर खोज्नुपर्ने र त्यसका लागि सरकार स्पष्ट रहेको उहाँले बताउनुभयो ।आयोजनामा देखिएका समस्या समाधन गर्न सरोकारवाला सबैको साझा प्रयत्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले सरकार एक्लैले केही गर्न नसक्ने भएकाले साझा प्रयत्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।कार्यक्रममा सङ्घीय संसद् प्रतिनिधिसभाका कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले विकास निर्माणको कामलाई अगाडि बढाउँदा कानूनी प्रश्न र राष्ट्रिय आवश्यकता दुवैको समन्वय हुनुपर्ने बताउनुभयो ।राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको दृष्टिबाट पनि विकास निर्माणको काममा आदिवासी जनजातिको माग सम्बोधन गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले विशेषगरी जलविद्युत् आयोजनाका सन्दर्भमा प्रभावितको तर्फबाट अनेकन उजुरी र गुनासो आएकाले त्यसलाई सम्बोधन गर्नका लागि छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले सरकारले नियम, कानूनभित्र रहेर सबैलाई समान व्यवहार गरेको उल्लेख गर्दै केही कमी कमजोरी भएको भए सुधार गर्न तयार रहेको बताउनुभयो ।कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक मिनेट पनि बत्ती काटिनै नहुने, प्रसारण लाइन र वितरण लाइन भने आफ्नो जग्गा वा घर आसपास पर्नै नहुने भनाइले समस्या बढ्दै गएको बताउनुभयो । उहाँले जलविद्युत् आयोजनाका कारण परेको सकारात्मक प्रभावको चर्चा गर्न छाडेर नकारात्मक विषयलाई मात्रै उचाल्ने प्रवृत्ति हावी भएकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले चिलिमे जलविद्युत् आयोजनाका कारण रसुवाका जनताको जीवनस्तरमा आएको परिवर्तनलाई नजिकबाट हेर्न सबैलाई आग्रह गर्नुभयो ।कार्यक्रममा विभिन्न आयोजनाबाट प्रभावितले आफूहरू विकास विरोधी नभए पनि जायज माग सुनुवाइ नभएकामा गुनासो गर्नुभएको थियो ।

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि कानून निर्माणमा जोड : मन्त्री शर्मा

काठमाडौँ, २२ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि कानून र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानूनको परिमार्जन र आवश्यक कानून निर्माणको गृहकार्यमा रहेको बताउनुभयो ।

सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानून रहेको उल्लेख गर्दै उहाँले पुराना कानूनको समयानुकूल परिमार्जन र नयाँ कानून निर्माणमा ध्यान दिइएको बताउनुभयो ।मन्त्रालयले विज्ञहरूको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उहाँले आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिनुभयो ।पुरानो कानूनले अनलाइन मिडियालाई नचिन्ने तर अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेकाले अनलाइन पत्रकारिताको कानूनी आधार तयार पार्नेतिर मन्त्रालय लागिरहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । नयाँ ऐन बन्न समय लाग्ने भएकाले अनलाइन मिडियालाई कानूनी मान्यता प्रदान गर्न सजिलो होस् भनेर केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग बढिरहेकाले यसको स्वनियम, सचेतना र नियमनका लागि मौजुदा कानूनको आधारमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका बनाउन थालिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित गर्न ऐन नै आवश्यक देखिए पनि अहिलेका लागि यसबाट हुनसक्ने क्षति रोक्न सचेतना र स्वयिनमनलाई जोड दिएर निर्देशिका तयार पारिएको र चाँडै मन्त्रिपरिषद्बाट पारित हुने उहाँले बताउनुभयो ।साइबर स्पेसको सुरक्षित प्रयोगका लागि नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति, २०८० जारी गरिएको जानकारी दिँदै अब साइबर सुरक्षा ऐन र साइबर सुरक्षा केन्द्र निर्माणका लागि बाटो खुलेको मन्त्री शर्माले जानकारी दिनुभयो ।सबै ऐन, नियम, नीति र निर्देशिका जनताकै लागि बन्ने भएकाले सम्बन्धित क्षेत्रका सरोकारवालाको सहभागिता सुनिश्चित गर्नेतिर मन्त्रालयले ध्यान दिएको पनि उहाँले जानकारी दिनुभयो । “हामीले सायद पहिलोपटक नै होला, जनताका लागि बन्ने कानून निर्माणमा जनताको पहुँच स्थापित गर्नुपर्छ र सकेजति धेरै क्षेत्रबाट सुझाव आउनुपर्छ भनेर सरोकारवालाको छलफल सघन बनाउने र कानूनका मस्यौदा वेबसाइटमा राखेर बहस गराउने गरेका छौँ, यसमा कानून निर्माण प्रक्रिया थप पारदर्शी होस् भन्ने पनि हाम्रो चाहना हो”, उहाँले भन्नुभयो ।मिडियाको सबलीकरण र पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले न्यूननम पारिश्रमिक निर्धारण समितिले बुुझाएको प्रतिवेदनको आवश्यक अध्ययन गरी अघि बढाइने बताउनुभयो ।सरकारी विज्ञापनको ठूलो हिस्सा चुहावट हुने गरेको गुनासो सम्बोधन गर्न विज्ञापन नियमावली संशोधन गरिएको उल्लेख गर्दै उहाँले यसबाट अब मिडियामा केही राहत हुने र पत्रकार तथा कर्मचारीका पारिश्रमिक कार्यान्वयनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।सो क्रममा जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विकले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै साना तथा स्वरोजगारमूलक मिडियालाई जोगाउन, पत्रकारको पेशागत तथा भौतिक सुरक्षा गर्न, न्यूनतम पारिश्रमिक लागु गर्न तथा पत्रकारका लागि क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको थिया ।