भूकम्पमा भत्किएको घर पुनःनिर्माणको प्रतीक्षामा मष्टाकी झुपू


मष्टा (बझाङ) २६ पुस : गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो । केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उहाँको बसोबास छ । कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उहाँ मुक्त हुनुहुन्न ।
सत्तरी वर्षीया झुपू अहिले घरको सम्पूर्ण जिम्मेवारीमा हुनुहुन्छ । ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उहाँले सुनाउनुभयो । करिब ३० वर्ष अगाडि श्रीमान् गुमाउनुभएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काउनुभयो । “अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ”, उहाँले भन्नुभयो । उहाँको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ । “आकाशे पानीकै भर पर्नुपर्छ । पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत हुर्कन पाउँदैन ।” उहाँले भन्नुभयो, “जिन्दगी केही रोगले केही शोकले नै सक्यो । अहिले यो सुक्खा डाँडामा नाति नातिनाको ग्वालो (हेरचाह गर्ने व्यक्ति) हुनुपरेको छ । यही रहेछ जिन्दगी !”भारतमा गएका छोरा बुहारीले कमाएको पनि आफूलाई खानै नपुग्ने उहाँले बताउनुभयो ।लामो समय झुपूका छोरा विनोद गाउँमै पूख्र्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको थियो । आरन सम्हालेपछि आएको खलो (काम गरेबापत साहुले दिने अन्न) ले खान पुग्ने र बाँकी समय मजदुरी गरेर आएको पैसाले उहाँले एक दशकअघि घर बनाउनुभएको थियो ।गत असोजको भूकम्पले ऋण काढेर बनाएको घर भत्किएपछि अहिले झुपु तनाब हुनुहुन्छ । घर निर्माण गर्ने उद्देश्यले छोरा विनोद र बुहारी भारतमा मजदुरी गर्न गएको झुपूले बताउनुभयो । बाहिरबाट हेर्दा राम्रै देखिने तर भित्र बस्ने अवस्था नै नभएपछि केही समय त्रिपालमै बसेको उहाँले सुनाउनुभयो । “खानलाई अन्न छैन, लगाउनलाई लुगा छैन, न खानेपानी नै छ । एउटा संस्थाले दिएको रु १५ हजार राहत रकम छोरा बुहारीले बाटो खर्च लिए ।” उहाँले भन्नुभयो ।विनोद गाउँका अन्य दाजुभाइसँगै भारतको उत्तराखण्डमा खणीखानीमा काम गर्न जानुभएको छ । हरेक वर्ष हिउँदमा कमाएर ल्याएको पैसाले वर्षभरि खानुपर्ने हुँदा घरमा बचत नहुँने झुपूले बताउनुभयो । “घर बनाउनका लागि छोरा विनोदले छिमेकीलाई ढुङ्गा फुटाउने जिम्मा दिएको छ ।” उहाँले भन्नुभयो, “दैनिक जीवनयापनका लागि परम्परागत आरन पेशाबाट पनि केही हुँदैन । छोराको कमाईले घर बनाउने हो कि हाम्रो पेट भर्ने ?” उहाँ भन्नुहुन्छ ।मष्टा गाउँपालिकामा भूकम्पपछि सरकारबाट स्थानीयले राहतको महसुस गर्न पाएका छैनन् । नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लूए) गाउँपालिकाभर चार सय ८१ पीडित परिवारलाई रु १५ हजारका दरले गरेको आर्थिक सहयोगबाहेक सरकारबाट केही नपाएको स्थानीय रामवीर बोहराले बताउनुभयो ।बोहराका अनुसार सरकारले तथ्याङ्क सङ्कलन गरेको छ । “राहत दिने पनि भनेको छ । हामीले राहत कहिले पाउँछौँ, हाम्रो घर कहिले बन्छ ? केही अत्तोपत्तो छैन ।” उहाँले भन्नुभयो । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गर्नुभएको राहत प्राप्तिको आशामा बसेको बताउनुहुन्छ ।