भारतीय प्रधानमन्त्रीद्वारा मुम्बईमा भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’ को उद्घाटन

विश्व

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा भारतको सबैभन्दा लामो पुल अटल बिहारी वाजपेयी सेवारी–न्हवा शेवा अटल सेतुको उद्घाटन गर्नुभएको छ । सो अवसरमा महाराष्ट्रका राज्यपाल रमेश बैस, मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणविस पनि सहभागी हुनुहुन्थ्यो ।
अटल सेतु भारतको सबैभन्दा लामो सामुद्रिक पुल पनि हो । यसले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कनेक्टिभिटी प्रदान गर्नेछ । साथै मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतसम्मको यात्राको समयलाई पनि कम गर्नेछ । पुलको शिलान्यास पनि सन् २०१६ डिसेम्बरमा प्रधानमन्त्री मोदीले नै गर्नुभएको थियो ।
अटल सेतुको निर्माण कूल १७ हजार आठ सय ४० करोड भारतीय रुपैयाँभन्दा धेरै लागतमा गरिएको हो । यो २१ दशमलव आठ किलोमिटर लामो र छ लेन भएको पुल हो । यसको लम्बाई समुद्रमाथि करिब १६ दशमलव पाँच किलोमिटर र जमिनमा करिब पाँच दशमलव पाँच किलोमिटर छ । यसबाट मुम्बई बन्दरगाह र जवाहरलाल नेहरु बन्दरगाहबीचको कनेक्टिभिटीमा पनि सुधार हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट