राष्ट्रसङ्घद्वारा श्रीलङ्कामा लागुऔषध कारबाहीमा व्यापक गिरफ्तारीको निन्दा


संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार एजेन्सीले शुक्रबार श्रीलङ्कामा जारी लागुऔषधविरोधी कारवाहीको आलोचना गरेको छ । कारवाहीका क्रममा ३० हजारभन्दा बढी संदिग्धलाई गिरफ्तार गरिएको छ र अधिकारीहरूमाथि व्यापक दुर्व्यवहारको आरोप लगाइएको छ ।
दक्षिण एसियाली यस मुलुकमा प्रहरीले डिसेम्बरको मध्यमा अपरेसन कोडनेम ‘युक्तिया’ (न्याय) बाट संदिग्धहरूलाई गिरफ्तार गरिएको बताएको छ । यो जुनको अन्त्यसम्ममा सडकबाट अवैध लागुऔषध हटाउने प्रतिज्ञाको हिस्सा थियो ।
राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले श्रीलङ्का सरकारसँग अपरेसनको समीक्षा गर्न र अवैध लागुऔषधको सामना गर्नका लागि अधिकारमा आधारित दृष्टिकोण लागु गर्न आग्रह गरिरहनुभएको छ ।
“सुरक्षा बलहरूले कथितरूपमा बिना सर्च वारेन्ट छापा मारेका छन्, संदिग्ध लागुऔषध बिक्रेता र प्रयोगकर्ताहरूलाई हिरासतमा लिएका छन् र सयौँलाई सैन्य सञ्चालित पुनरवास केन्द्रमा पठाएका छन्”, टर्कका प्रवक्ताले पत्रकारहरूसँग भन्नुभयो ।
मानिसहरू अनधिकृत तलासी, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, दुर्व्यवहार, सार्वजनिक स्थानमा तलासी र यातनाजस्ता कथित धेरै अधिकार उल्लङ्घनको सिकार हुनुपरेको छ । “लागुऔषधको प्रयोग समाजका लागि गम्भीर चुनौती भए पनि कठोर कानून लागु गर्ने दृष्टिकोण समाधान होइन”, प्रवक्ताले भन्नुभयो, “लागुऔषधको दुरुपयोग र यसका लागि जिम्मेबार कारकहरू पहिलो सार्वजनिक स्वास्थ्य र सामाजिक मुद्दा हो । लागुऔषधको बिक्री वा ओसारपसारका संदिग्ध मानिसहरू उचित प्रक्रिया र पारदर्शी, निष्पक्ष परीक्षणको पूर्ण सम्मानका साथ मानवीय व्यवहारका हकदार छन् ।”
उहाँले हिरासतमा रहेका संदिग्धहरूको पक्षमा वकिलहरूले प्रहरी अधिकारीहरूको धम्कीको सामना गर्नुपरेको पनि बताउनुभयो । श्रीलङ्काली प्रहरीले अपरेसनमा तीन सय ४० किलोग्राम गाँजा र ७० किलोग्राम हेरोइनसहित करिब आठ सय किलोग्राम लागुऔषध जफत गरेको बताएको छ । अधिकारीहरूका अनुसार हिन्द महासागर टापु श्रीलङ्काको प्रयोग लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्टका रूपमा भइरहेको छ ।