`

धनुषवाण प्रतियोगितामा पर्शुराम राई प्रथम

Nepal One HD १ माघ २०८० १९:२१
खेलकुद

खोटाङ, १ माघ : किरात यले संवत् अर्थात् यलेदुङ ५०८४ को उपलक्ष्यमा खोटाङको दिक्तेलमा आयोजित धनुषवाण (आर्चरी) प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम हुनुभएको छ । किरात गणराज्य मोर्चा खोटाङले आज दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको धनुषवाण प्रतियोगितामा सहभागी ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम हुनुभएको हो ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सुमन राई दोस्रो र सोही नगरपालिकाको वडा नं १४ बुइँपाका राजकुमार राई तेस्रो हुनुभएको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित प्रतियोगितामा विजयी खेलाडीलाई क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई पूर्वपर्यटनमन्त्री गोपाल किरातीले पुरस्कार हस्तान्तरण गर्नुभयो । धनुषवाण प्रतियोगिता समापनका अवसरमा यले संवत् ५०८४ को शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।

किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिले यलेदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । कलाकार सङ्घले राजा यलम्बरको स्मृतिमा चलेको सम्वत यलदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न विज्ञप्तिमार्फत माग गरेको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष सालिक शातासक राईले लिच्छवीकालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ÷यले तङ्बे÷यलम्बर संवत्लाई राज्यले राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

नयाँ यलेदोङ (यलम्बर संवत्)का अवसरमा ललितपुरको नखिपोट खेल मैदानमा उपत्यका केन्द्रित किराती नयाँ वर्ष यलेदुङको कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव पद्म थुलुङले जानकारी दिनुभयो । उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई सांस्कृतिक कलाकार सङ्घका जिल्ला शाखाले विभिन्न कार्यक्रम गरी यलम्बर जयन्ती मनाएका छन् ।


प्रतिक्रिया