`

‘प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ’

काठमाडौँ – राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गर्नुभएको छ । उहाँले आज आफ्नो कार्यकालको दुई वर्षको अवधिमा कार्य प्रगतिको विवरणको पुस्तक विमोचन गर्दै कार्यकारी भूमिकामा महिला नेतृत्व बढाउन राजनैतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराउनुभयो ।

“आगामी निर्वाचनमा गठबन्धन होस् वा एक्लै होस्, महिलाको अनिवार्य उम्मेदवारी हुनु आवश्यक छ”, सदस्य पौडेलले भन्नुभयो, “सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनैतिक रुपान्तरण बिना महिला प्रतिनिधित्वको विस्तारका लागि ३३ प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समावेशिताका आधारमा अर्थपूर्ण सहभागिताको सूनिश्चितताको सम्बन्धमा निर्वाचन आयोगले काम नगरेसम्म यो अवस्थामा परिवर्तन हुन सक्दैन ।” 

उहाँले राजनीतिक दलले समानुपातिक व्यवस्थालाई दुरुपयोग गर्न नहुनेसमेत टिप्पणी गर्नुभयो । “समानुपातिकको दुरुपयोग, अहिले नेताहरुले आफ्ना नातेदार र निकटताका आधारमा समानुपातिक सांसद बनाउनुमा कतै पनि जवाफदेहिता हुनु नपर्ने अवस्था मूल कारण हो”, उहाँले भन्नुभयो । 

पौडेलले विक्रम संवत् २०७७ माघ २१ गते जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले यी दुई वर्षको अवधिमा हिंसा पीडित महिला तथा बालबालिकाको क्षेत्रमा देशभरका ४० जिल्लामा गरिएका कार्यक्रम स्थलगत अनुगमन, निरीक्षण तथा उद्धारका क्रियाकलाप समेटेर यो पुस्तक प्रकाशित गर्नुभएको हो ।

कार्यक्रममा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले देशको नेतृत्वदायी र निर्णायक तहमा महिला सहभागिता एवं  समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताका लागि सङ्घर्ष कायम रहेको बताउनुभयो ।  

“महिला नेतृहरुको प्रतिनिधित्वको सङ्ख्या बढेको छ । तर निर्णायक तहमा महिलाको प्रतिनिधित्व किन पुगेन ? बहस अहिले पनि चलिरहेको छ”, उहाँले भन्नुभयो, “नेतृत्वदायी र निर्णायक तहमा महिलाको सुनिश्चितता र समानुपातिक प्रतिनिधित्वको हिसाबले फेरि पनि सङ्घर्षको पाटो बाँकी छ ।” 

महिला प्रतिनिधित्वको विषयमा बहस चलिरहेको बेला संविधानमा भएको व्यवस्थाअनुसार प्रतिनिधित्व गराउने र नेतृत्व दिनेमा दलहरु चुक्दै आएको उहाँको भनाइ छ । “भर्खरै दश वटा विषयगत समितिको सभापतिमा दलहरुले ३३ प्रतिशत महिला सभापतिहरु किन पु¥याएनन् ? प्रश्न हामीतिर पनि तेर्सिरहेको छ”, उहाँले भन्नुभयो । 

पुस्तक विमोचन कार्यक्रममा अर्थ समितिका सभापति सन्तोष चालिसेले लैङ्गिक हिंसालाई महिला हिंसाका रुपमा मात्र नबुझ्न आग्रह गर्नुभयो । उहाँले महिला र पुरुष दुवै लैङ्गिक हिंसाबाट पीडित भएको भन्दै यसविरुद्ध धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा महिलालाई मात्र हैन पुरुषलाई पनि भएको छ । महिलाबाट नै पुरुष हिंसामा परेका घटनाहरु पनि छन्, भन्नुको अर्थ हामीले हिंसा न्यूनीकरणमा धेरै काम गर्न बाँकी छ ।”

सभापति चालिसेले महिलाको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।  “अहिले पनि कानुनले व्यवस्था गरेको महिला अधिकारबारे महिलाहरु २५ प्रतिशत पनि जानकार हुनुहुन्न”, उहाँले भन्नुभयो, “३३ र ५० प्रतिशत सहभागितामात्र हैन यस्तो क्षमतावृद्धि गराँै कि कुनै पार्टीले महिलालाई टिकट नदिए जित्न नसक्ने अवस्था होस् ।”

यस्तै, कोशी प्रदेशका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले महिलामैत्री निर्वाचन क्षेत्र घोषणाका लागि आयोगले पहल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसको नेत्री एवं पूर्वमन्त्री चित्रलेखा यादवले राजनीतिक दलहरुलाई महिलाको योग्यता र क्षमताअनुसार अवसर प्रदान गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले पुराना ऐनकानुनलाई वर्तमान संविधानअनुसार परिमार्जन गर्दै लैजान सुझाव दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेअनुसार बहुभाषिक, बहुसांस्कृतिक र लैङ्गिक समानताकाको सुनिश्चितताका लागि लक्षित समूहलाई नै अघि बढाउनुपर्ने बताउनुभयो । 

राष्ट्रिय महिला आयोगको सदस्य पौडेलले यस पुस्तकले दुई वर्षको अवधिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, यौनिक तथा अल्पसङ्ख्यक समुदायमाथि हुने हिंसाका घटनाको दस्तावेजीकरण गर्ने सहयोग पुग्ने दाबीसमेत गर्नुभयो । उक्त विमोचन कार्यक्रमा विभिन्न महिला सांसद र विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । 

सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा

देउखुरी (दाङ), १७ भदौ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताउनुभयो ।

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार साँवा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरूमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्त्वपूर्ण कदम भएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरूलाई पनि कानूनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

“नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए”, मन्त्री शर्माले भन्नुभयो, “ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेका कारण जनताको विश्वास बढ्न गएको छ र सम्भवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।”

प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानबिन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “छानबिनका क्रममा गल्ती भेटिए मलाईसमेत नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन, उहाँले पार्टीभित्रका नेताहरूलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुुने विषय होइन ।”

मन्त्री शर्माले अन्य दलजस्तै माओवादीका केही नेता तथा कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी केही बिग्रेकै हो तर सप्रेका अरू दलभन्दा बिग्रेका माओवादीहरू धेरै अगाडि छन्, अहिले सुरु भएको तीनमहिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।”

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अहिले सरकारले महत्त्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उहाँले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गर्नुभयो ।

नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उहाँले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने ध्येयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानून, बजेट निर्माण, कार्यान्वायन र मूल्याङ्कन प्रक्रियालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ ।समितिको आजको बैठकले सिँचाइ बिना कृषि क्षेत्रको समग्र सुधार कार्य चुनौती खडा हुने भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समितिको कार्यक्षेत्रभित्र रहने व्यवस्थाका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ ।बैठकले यसअघि छलफल गरी सरकारलाई दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे लिखितरुपमा सात दिनभित्र उपलब्ध गराउन सरकारवाला मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

समितिले मुलुकमा गाँजाखेतीको सम्भावना र सम्भव, बहुउपयोगिता, उत्पादन, प्रशोधन, वितरणलाई कानुनी मान्यता प्रदान गर्ने सन्दर्भमा सरोकारवाला निकायसँग आगामी दिनमा गहन र विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले भूमिसम्बन्धी आयोगबाट सम्पादन हुने कार्यलाई व्यवस्थित गर्न मन्त्रालय र आयोगका पदाधिकारीलाई बोलाएर आगामी बैठकमा छलफल गर्ने निर्णय पनि गरेको छ । समितिमा कार्बन उत्सर्गसम्बन्धी भएको नीति र रहेका समयन्त्रबारे वन तथा वातावरण मन्त्रालयसँग माग निर्णय गरेको छ ।

समिति अध्यक्ष डा आरजु राणा देउवाको अध्यक्षतामा बसेको बैठकमा यसअघि सांसदहरूले गाँजा बहुपयोगी जडीबुटी भएकाले नेपाल सबैजसो भागमा उत्पादनको प्रशस्त सम्भावना रहेकाले यसलाई कानुनी मान्यता प्रदान गरी व्यवस्थित गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

समिति सदस्य दिक्पाल शाहीले बोक्राबाट कपडा, पातबाट औषधि, डाँठबाट दाउरा प्रयोग गर्न सकिने बहुपयोगी गाँजाखेती हाम्रो आवश्यकता भएको जनाउँदै कानुनी मान्यता प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।अर्का सदस्य विनिता कडायतले कर्णाली क्षेत्रमा गुणस्तरीय गाँजा पाइने भएकाले त्यसको बजारीकरण गरी अप्ठेरोमा परेको अर्थतन्त्रलाई चलायमान तुल्याउन सकिने धारणा राख्नुभयो ।

सभापति राणाले गाँजाखेतीबारे बजेट वक्तव्यमा उल्लेख भएकाले यसको प्रयोगबारे वैज्ञानिक र बौद्धिक थप बहसको आवश्यकता औँल्याउनुभयो । बैठकमा दैलेखमा बँदेल र बाँदर आतङ्क, कृषि र जडीबुटीका माध्यमद्वारा अर्थतन्त्रलाई चलायमान तुल्याइनुपर्ने तथा गुठी, जग्गाको कित्ताकाट, कृषि श्रमिकका समस्या, कार्बन उत्सर्जन लगायतका विषयले प्रवेश पाएका थिए ।

ट्राफिकले सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको थियो – बालेन सचिवालय

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले शनिबार राति भएको घटनाबारे लेखेको स्टाटसमाथि लेखिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै बालेन सचिवालयले ट्राफिक प्रहरीले मेयरपत्नीमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति पनि जनाएको छ ।

विज्ञप्ति भनिएको छ – ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं ।’

चार दिनदेखि बेपत्ता किशोर फेला परेनन्

उदयपुर – गत बिहीबारदेखि बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । जिल्लाको बेलका नगरपालिका–१ आम्वासीका १३ वर्षीय किशोर त्रियुगा नदीमा पौडी खेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बेपत्ता किशोर देवनारायण चौधरीका छोरा १३ वर्षीय संविधान चौधरी रहेका हुन् । बिहीबार बाख्रा चराउन निस्किएका चौधरी पौडी खेल्न त्रियुगा नदीमा प्रवेश गरेसँगै बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

बेपत्ता चौधरीको शुक्रबारदेखि निरन्तर खोजी कार्य जारी राखे पनि अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । बेपत्ता किशोरको खोजीको लागि सशस्त्र प्रहरी बल सुनसरीको गोताखोर टिमसमेत समावेश भएको छ । बेपत्ता चौधरी चौदण्डी गढी आम्वासीको देवनारायण माविमा कक्षा ९ मा अध्ययनरत थिए ।

यस्तो बन्यो चलचित्र ‘एक भगवत् गीता’ को ट्रेलर

काठमाडौँ – नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा हुनुहुन्छ । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताउनुभयो ।

“उहाँहरूलाई छायाङ्कनपछि अहिले दृश्य हेरिरहँदा झनै बुझेको महसुस गरे । म भावुक भए किनकि उहाँहरू सङ्घर्षशील हुनुहुन्छ”, अभिनेता कार्कीले भन्नुभयो, “म राम्रै मैथली बोल्छु । त्यही कारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाइ भने भएन । यद्यपि हामीले सबैले सहजै बुझ्ने मैथली नेपाली लवजको प्रयोग गरेका छौँ ।”

अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देशले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ ।”

यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानक भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।”

चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले अभिनय गर्नुभएको छ । सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै : सतर्कता अपनाउन आग्रह

बैतडी, १७ भदौ : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध भोलि सोमबार बिहान ८ बजेदेखि मङ्गलबार बेलुकी ८ बजेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रूपैयाँको क्षति भएको थियो ।

गाईभैँसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

काठमाडौँ, १७ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताउनुभएको छ ।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गाईवस्तुमा ठूलो सङ्क्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिनुभयो ।

सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले  रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । 

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा उपचारपछि निको हुने सङ्ख्या बढ्दै गएको  र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्याङ्क प्रस्तुत गरियो । मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन् । 

महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ । उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताउनुभयो ।

कृषिमा आत्मनिर्भर हुन उत्पादन वृद्धि गर्नुका विकल्प नरहेको बताउँदै उहाँले बाँझो जमिनमा सिँचाइ संयन्त्र बढाएर उत्पादन बढाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो । रासायनिक मलको आपूर्ति कृषिका लागि मुख्य समस्या हुने गरेकाले आफ्नो पहिलो ध्यान मल आयातमै केन्द्रित गरेको बताउँदै कृषिमन्त्री डा भुसालले १० वर्षको अवधिमा सबैभन्दा बढी मलको आयात यस वर्ष भएको जानकारी दिनुभयो ।  

नेपालीको खानाको ६७ प्रतिशत हिस्सा धानले ओगटे तापनि आवश्यकताभन्दा अझै १२ लाख ८० हजार मेट्रिक टन कम उत्पादन भएकाले चैते धान लगाइएको क्षेत्रफललाई वृद्धि अभियान सञ्चालन गर्न लागेको पनि सो अवसरमा जानकारी दिइयो । 

राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प श्रेष्ठलाई

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प श्रेष्ठलाई दिइएको छ । एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार साँझ चीनतर्फ प्रस्थान गरेको थियो । सो टोलीमा संगठनका अध्यक्ष क्षितिज थेबे पनि रहेकोले उनको जिम्मेवारी श्रेष्ठले सम्हालेका हुन् ।

पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला सङ्घका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ । भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ ।

चीनसँगको व्यापार सम्झौताले अपेक्षा पूरा नगरेको इटालीको दावी

सेर्नोब्बियो, इटाली – चीनसँगको विवादास्पद लगानी सम्झौताले इटालियाली अपेक्षालाई पूरा गर्न नसकेको रोमका उच्च कूटनीतिज्ञले बेइजिङ भ्रमणअघि शनिबार बताउनुभएको छ । सन् २०१९ मा अत्यधिक ऋणग्रस्त अर्थतन्त्र इटालीले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा सहभागी हुने औद्योगिक राष्ट्रहरूको जी–७ समूहबाट एक मात्र राष्ट्र बनेको थियो ।

बन्दरगाह, रेलमार्ग र विमानस्थलजस्ता पूर्वाधारमा ठूलो लगानी गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी कार्यक्रमले एसिया, अफ्रिका र युरोपबीचको व्यापारिक सम्बन्ध सुधार गर्ने लक्ष्य राखेको छ ।आलोचकहरूले यो योजना बेइजिङको प्रभाव बढाउने ट्रोजन घोडा भएको बताएका छन् ।

इटालीले यस वर्ष फिर्ता नलिएमा सम्झौता मार्च २०२४ मा स्वतः नवीकरण हुनेछ ।इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक आर्थिक मञ्चमा भन्नुभयो, “हामी चीनसँग नजिकबाट काम गर्न चाहन्छौं, तर हामीले निर्यातको पनि विश्लेषण गर्नुपर्छ ः बेल्ट एन्ड रोड इनिसिएटिभले हामीले आशा गरेको परिणाम दिन सकेको छैन ।”

सन् २०२२ मा इटालीले चीनमा १६ अर्ब ५० करोड युरो (१७ अर्ब ८० करोड अमेरिकी डलर) बराबरको निर्यात गरेको छ भने फ्रान्स र जर्मनीको निर्यात क्रमशः २३ अर्ब र १०७ अर्ब युरो रहेको उहाँले बताउनुभयो ।

ताजानीले आइतबारदेखि मङ्गलबारसम्म बेइजिङको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्नुका साथै प्रधानमन्त्री जियोर्जिया मेलोनीको योजनाबद्ध भ्रमणको तयारी गर्नुहुनेछ ।इटालियन ट्रेजरीका पूर्व प्रमुख अर्थशास्त्री लोरेन्जो कोडोग्नोले भन्नुभएको छ, “सम्भवतः चिनियाँ अधिकारीहरूसँग सैद्धान्तिक सहमति भइसकेको छ ।”

मेलोनीले चीनको नेतृत्वप्रतिको सम्मानको सङ्केतका रूपमा अक्टोबरको मध्यसम्ममा बेइजिङको राजकीय भ्रमणका क्रममा औपचारिक घोषणा गर्नुहुनेछ तर अन्तिम निर्णय इटालियन संसद्ले गर्ने उहाँले बताउनुभयो ।मेलोनीका पूर्ववर्ती मारियो ड्राघीले सम्झौतालाई स्थगन गर्दै रणनीतिक महत्वका क्षेत्रहरूमा ठूलो मात्रामा चिनियाँ लगानीलाई रोक्नुभएको थियो ।

पाँचथरको हिलिहाङ मालबाँसे बस्ती पहिरोको जोखिममा

पाँचथर, १७ भदौ – पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ ।

बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, बाटो र गोरेटो लच्किएका छन् ।

पहिराले अलैँची र अम्रिसो बगानमा क्षति पुर्याउन थालेको छ । मालबाँसे टोलका ८० वर्षीय मेखबहादुर सुहाङका अनुसार विगतमा स–सानो पहिरो झर्ने गरेको भए पनि यस वर्ष सुरु भएको पहिरोले बस्तीलाई जोखिममा पारेको छ । “मेरो १५ मुरी धान फल्ने खेत र अलैँची बारी बगाएर लैजान आँट्यो”, उहाँले भन्नुभयो, “जमिन सबै लच्किएको छ ।

ठूलो वर्षा भए थाम्न गाह्रो छ । हामीलाई समस्या पर्ने भयो ।” बस्तीभन्दा माथि रहेको फाँटका सबै पानी डोलिएर मालबाँसे बस्ती हुँदै जान्छ । यस वर्ष अत्यधिक वर्षा भएका कारण जमिनले पानी थेग्न नसकेको उहाँको भनाइ छ । मालबाँसेबाट बगेर जाने पानी ढुङ्गे खोल्सी वा पाहाङ्गवीरे ९पाङ्ग्रे० खोल्सीबाट निकास गर्न सके पहिराको जोखिम केही कम हुने उहाँको भनाइ छ ।

मालबाँसेकी रनमाया खुदाङका अनुसार पहिरोबाट अहिले यहाँका नौ घर उच्च जोखिममा परेका छन् भने करिब ४० घर रहेको सिङ्गो बस्ती नै जोखिममा परेको छ । “पहिराले हाम्रो घरलाई घेरा दिइराखेको छ । पहिले साना–साना पहिरो जाने गरे पनि अहिलेजस्तो धेरै ठाउँ धाँजा फाटेर बग्न थालेको थिएन”, उहाँले भन्नुभयो । अहिलेसम्म धानखेती, अलैँची र अम्रिसो खेतीमा पहिराले क्षति पुर्याएको छ । तर ठूलो वर्षा हुँदा बस्ती नै पहिराले बगाउने जोखिम रहेको उहाँको भनाइ छ ।

स्थानीयवासी वीरेन्द्र सुहाङका अनुसार पहिरोका कारण यहाँका अनिल खुदाङ, सन्तोष खुदाङ, आइन्द्र सुहाङ, वीरेन्द्र सुहाङ, हर्कबहादुर सुहाङ, मानबहादुर खुदाङ, दीपेन्द्र खुदाङ, आइतराज खुदाङ, डिल्लीराम सुहाङलगायतका घर उच्च जोखिममा परेका छन् । तुरुन्तै सरोकारवाला पहिरो रोकथाममा नलागे यहाँका ४० घर विस्थापित हुने खतरा रहेको उहाँको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका पशु प्राविधिक एवं हिलिहाङ–५ भालुखोपका स्थानीय बासिन्दा ओमप्रकाश पौडेलले जथाभावी सडक निर्माण र अत्यधिक गोलिया कटानीका कारण पहिराको जोखिम बढेको वताउनुभयो । “अहिले पहिरो गएभन्दा मुनिबाट सडक निर्माण र गोलिया कटान तथा निकासी चलिरहेको छ । वर्षायाममा समेत गोलिया कटान र सडक निर्माण हुँदा पहिराको जोखिम बढेको छ”, उहाँले भन्नुभयो, “अहिले मालबाँसे क्षेत्रमा रहेका ४० घरमध्ये १०–१५ घरबाहेक सबै जोखिममा परेका छन् ।”

जथाभावी सडक निर्माण र गोलिया कटान बन्द गर्न सके पहिराको जोखिम कम हुने उहाँको अनुमान छ । हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्रातीका अनुसार गत वर्षबाट पहिरो बढ्दै गएको पाइएको छ । जोरपोखरीदेखिको भल डोलिएर आउने गरेको, वर्षायाममा पानीका मुहान फुटेर मालबाँसे बस्ती हुँदै ठूलो पानी बग्ने गर्नाले पहिरो झर्न सुरु गरेको उहाँको भनाइ छ ।

पहिराका कारण लाखौँको अलैँची र अम्रिसो उत्पादन हुने क्षेत्र र सिङ्गो बस्ती जोखिममा परेको मङ्ग्रातीले बताउनुभयो । “अहिलेसम्म तीन–चारवटा घर लच्किएका छन् भने सानो–ठूलो पहिरो जान थालिसकेको छ”, उहाँले भन्नुभयो, “विगतमा जस्तै अत्यधिक वर्षा हुने बाढी आउने भइरहे यहाँ दर्दनाक स्थिति आउन सक्छ ।”

यस स्थानमा विगतदेखि नै पहिरो जाने गरेको भए पनि गत वर्षबाट बढ्दै गएको र यस वर्ष बस्तीसमेत लच्किएको हो । स्थानीय वयोवृद्ध मेखबहादुर सुहाङका अनुसार उहाँका बाबुबाजे बसोबास गरेको बाँजे भन्ने स्थान अहिले पहिराले घेरिएको छ । “त्यहाँ वरिपरि पहिरो आएपछि यहाँ बसाइँ सर्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “पहिराबाट जति भाग्दै गयो, उति लखेट्दै लग्यो ।”

हिलिहाङ–५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार सुभाङ खोलाबाट अलैँचे हुँदै विगतमा पहिरो झर्ने गरे पनि यस वर्ष बस्ती नै प्रभावित हुन लागेको हो । विशेषतः ढल निकासी नहुँदा पहिराको जोखिम बढेकाले मालबाँसे बस्ती हुँदै बग्ने पानी कटाउन यस वर्ष रु दुई लाख बजेट ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । “जोखिम बढेकाले चाँडै ढल निकासीका लागि काम सुरु गराउँछौं”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माण गर्न ‘डिपिआर’ र ‘इआइए’

भरतपुर (चितवन), १७ भदौ : चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन( डिपिआर ) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले स्थलगत निरीक्षण गरेपछि ती प्रक्रिया सुरु गर्न लागिएको हो । डिपिआर निर्माण गर्नका लागि भरतपुरको धु्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्रयापिङ) क्यामेरा जडान गरिने भएको छ । पन्ध्रदेखि २१ दिनको क्यामेरा ‘ट्रयापिङ रिपोर्ट’का आधारमा ती काम गरिनेछ ।

यसै आधारमा डिपिआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिनुभयो । “इआइएका लागि यसअघि नै वन मन्त्रालयले स्वीकृत दिएको छ”, उहाँले भन्नुभयो, “डिपिआर गर्नका लागि निकुञ्जलाई आइतबार पत्र पठाउँछौँ ।” उहाँले निकुञ्जबाट स्वीकृतप्राप्त गरेको पत्र आउनासाथ सर्भेको काम अघि बढ्ने बताउनुभयो । उहाँले भरतपुर–२९ को धु्रवघाटबाट माडीको रिउसम्मको क्षेत्रमा प्रारम्भिकरूपमा सर्भे गरिने जानकारी दिनुभयो ।

“निकुञ्जले क्यामेरा ट्रयापिङमार्फत वन्यजन्तुको आवतजावको रेकर्ड उपलब्ध गराएपश्चात त्यही डाटाका आधारमा डिजाइनको काम अघि बढ्ने निर्देशक न्यौपानेले बताउनुभयो । “चितवन निकुञ्जमा सामान्य डिजाइनले हुँदैन”, उहाँले भन्नुभयो, “यो संसारको आँखा हेर्ने गरिएको ठाउँ हो ।” उहाँले सर्भे, डिजाइन र इआइएको काम सकिएपछि मात्र लगानीको स्रोत जुटाएर निर्माणको काम अघि बढ्ने बताउनुभयो । उहाँले डिपिआर निर्माणका लागि छ महिनादेखि एक वर्षसम्म लाग्ने जानकारी दिनुभयो । डिपिआरको काम सकेपछि इआइए गर्ने उहाँले बताउनुभयो । उहाँले भरतपुरको धु्रवघाटबाट माडी ठोरीसम्मको हुलाकी सडकको एकीकृतरूपमा अध्ययन र सर्भे गरिने जानकारी दिनुभयो । डिपिआर र इआइए बनेपछि केन्द्रमा प्रस्तुतिकरण गर्ने र डिपिआर पारित गर्न युनेस्कोमा पठाइनेछ ।

भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्र बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा सडक उपयुक्त हुने भनेर इआइए गर्न सहमति दिएपछि सबै सरोकारवाला निकायले उक्त क्षेत्रको अनुगमन गरेको बताउनुभयो । उहाँले न्यूनतम विधि, प्रक्रिया पूरा गरेर वन्यजन्तुमैत्री सडक निर्माणका लागि निकुञ्ज बाधक नरहेको बताउनुभयो । उहाँले वन्यजन्तु आवतजावत गर्ने क्षेत्रको जानकारीका लागि निकुञ्जले करिब २० जोडी क्यामेरा राख्ने तयारी गरेको जानकारी दिनुभयो । कसरा–वनकट्टा खण्डभन्दा चार किलोमिटर छोटो हुने, जैविक विविधतामा कम असर गर्ने भएकाले ध्रुवघाट–वनकट्टालाई प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

निरीक्षणमा वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल, बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन, माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, हुलाकी सडक आयोजनाका प्रमुख ध्रुव झालगायतको सहभागिता रहेको थियो ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा (बागलुङ), १७ भदौ ः राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताउनुभयो ।कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।

दोलखाबाट काठमाडौँ जाँदै गरेको ‘स्कारपियो’ दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते

सिन्धुपाल्चोक, १७ भदौ : दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

रसुवागढी नाकाबाट एक केजी सुनसहित ४१ वर्षीया तामाङ् पक्राउ

रसुवा, १७ भदौ- अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।हराएको यात्रु फेलाजनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन् । आफ्नी माताको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए ।उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताउनुभयो ।प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो । ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् ।दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए ।

कांग्रेसः सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ।तर, कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै विभाग र निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा भए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन।

सभापति शेरबहादुर देउवाले शुक्रबार विधानको धारा ३७ को १ (ग) अनुसार १५ जना केन्द्रीय सदस्यलाई विभिन्न १५ विभागको प्रमुख तोकेका छन्।

कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय, पुष्पा भुसालले महिला, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, किरण यादवले तराई(मधेस समन्वय, योगेन्द्र चौधरीले थारु, गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यस्तै, प्रकाश रसाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख तोकिएको छ।

प्रमुख तोकिएका यी विभागले कहिले पूर्णता पाउँछन् र बाँकी विभागका प्रमुख कहिलेसम्म तोकिन्छन् भन्ने निश्चित छैन।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

म्याग्दीको चिमखोला–घ्यासीखक सडक साढे दुई महिनापछि सञ्चालन

बेनी, १७ भदौ- म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन ।

वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाबाट डोजर परिचालन गरी मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन आवतजावत गर्न थालेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।पहिरोमा सडकको ‘ट्रयाक’ बनाइएकाले वर्षात् हुँदा पहिरो र ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु, सर्वसाधारण र सवारी चालकलाई सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । चिमखोला र कुइनेमङ्गले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेकोे राहुघाट मङ्गले, अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिको ठूलोखोला जलविद्युत् आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुईवटा डोजर परिचालन गरेर पहिरो हटाएर सडक सञ्चालन गराएका हुन् ।लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमङ्गले क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका थिए । सडक अवरुद्ध हुँदा कुइनेमङ्गलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट बिच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो ।

एमालेमा नेतृत्व फेर्ने कसरत, भण्डारीको ‘इन्ट्री’ कतिको सम्भव ?

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरूको छ । तत्कालीन नेकपाको दुई तिहाइनजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरूको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको हो ।

‘ओलीको हठ, गतल कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नजिता ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको छ, राम्रो नजिता आए पनि त्यसलाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखियो, त्यसैले अब आउने निर्वाचनअघि नेतृत्व फेर्नुको विकल्प छैन,’ ओलीको नेतृत्व फेर्ने अभियानमा लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

ओलीको नेतृत्व फेर्ने र भण्डारीलाई नेतृत्वमा ल्याउने चर्चाले अहिले एमालेमा नयाँ गुट निर्माणले तीव्रता पाएको छ । पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरूले भण्डारीलाई भेटेरै सक्रिय राजनीतिमा फर्किन आग्रह गरिसकेका छन् । नेतृत्वमा भण्डारीलाई ल्याउन खोजेका पोखरेल शनिबार सद्भावनापूर्ण चीन भ्रमणका लागि त्यसतर्फ लागेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

जुम्लाको चुकेनी जलविद्युत् आयाेजनाकाे काम अन्तिम चरणमा, दशैँसम्म बिजुली उत्पादन हुने

जुम्ला, १७ भदौ : जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युत्गृहमा बिजुली बाल्ने तयारी भएको जानकारी दिनुभयो । चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ । सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्रगतिमा भइरहेको जानकारी दिएको छ ।इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ । आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उहाँको भनाइ छ ।उक्त आयोजनामा वैकल्पिक ऊर्जाको रु ३१ करोड लगानी छ भने गाउँपालिका र स्थानीय जनताको रु १३ करोड लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटीमा राखेर रु छ करोड बराबरको सेयर लगानी गरेको चुकेनीखोला सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य शाहीले चुकेनी जलविद्युत्ले जिल्लाको विद्युत् सेवामा निकै महत्त्वपुर्ण भमिका खेल्ने बताउनुभयो ।यसैबीच जिल्लामा प्रसारण लाइन पुग्ने पनि स्थानीयवासीलाई राम्रोसँग सेवा प्रवाह दिन सकेको छैन । चुकेनी जलविद्युत्लाई थप स्तरवृद्धि गर्नका लागि प्रदेश सकारसँग बजेटको माग गरिने भएको छ । जनताले तिर्नुपर्ने सेयर सांसद विकास कोषबाट भए पनि दिन तयार रहेको उहाँको भनाइ छ । चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।नौ सय ९८ किलोवाट क्षमता रहेको आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ । विसं २०७६ जेठ १० गते सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो । अठार महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।

आईओईका सबै तहका आजबाट हुने परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित

काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले उल्लंघन गरेपछि समस्या देखिएको छ ।

क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्ने मामलामा त्रिवि चुकेको छ । आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने अन्योल देखिएको छ ।

आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ ।

आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताए ।

उनले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताए । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो ।

आयोगले राजनीतिक प्रतिबद्धता नभएसम्म पूर्ण रूपमा क्यालेन्डरले तोेकेको मिति कार्यान्वयन हुन नसक्ने जनाएको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले विश्वविद्यालयका पदाधिकारी, स्ववियु, विद्यार्थी संघ संगठन र राजनीतिक पार्टीको प्रतिबद्धता नआएसम्म क्यालेन्डर कार्यान्वयन हुन कठिन हुने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयताको पक्षमा : सभापति लामिछाने

राजविराज(सप्तरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उहाँले बताउनुभयो ।सभापति लामिछानेले भन्नुभयो, “हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।”आमनागरिक व्यवस्थासँग जोडिएको छ कि छैन भन्ने कुराको खोजी गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले प्रादेशिक संरचना राजनीतिक भर्ती केन्द्र नभई नागरिकलाई सेवा दिने खालको बन्नुपर्ने बताउनुभयो । सभापति लामिछानेले आफ्नो पार्टी निमुखा जनताको अधिकारको लागि अगाडि बढेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता समयसीमा थप गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीमा रहेका तथा पार्टी बाहिर रहेका नेपाली नागरिकले प्रतिस्पर्धाबाट छनोट भएपछि पार्टीको नीति, सिद्धान्त, एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना दिएकामध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाका आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिनेछ ।सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा दक्ष, बहुभाषाको ज्ञान भएको, प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्न सक्ने क्षमतावान उम्मेदवारलाई उनीहरूको कार्ययोजनाका आधारमा छनोट गरिनेछ । कार्ययोजनासहितको व्यक्तिगत विवरण पठाउन पार्टीको इमेल ठेगानाको व्यवस्था गरिएको छ ।

देशका यी स्थानमा आज भारी बर्षा

काठमाडौं – आइतबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् भदौ १७ गते आइतवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि – खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ ।

मिथुन राशि – प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

कर्कट राशि – परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कन्या राशि – वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिन बढ्नु होला ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मीन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

मेयर बालेनको चेतावनी – ‘महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने बताएका छन् । शनिवार राति सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर शाहले यस्तो चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध

इनरुवा (सुनसरी), १६ भदौ : सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे इ–रिक्सा चलाउन नदिने भएको छ ।इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।

इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उहाँले जानकारी दिनुभयो । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको उपमहानगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको उहाँले बताउनुभयो । अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको उहाँले बताउनुभयो ।

इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकामा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिनुभयो ।

अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ । अहिले इ–रिक्सा सवारी कार्यविधिअनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ । इटहरीमा अन्य पालिकाको सफारी यात्रु पर्खेर बस्न नपाउने जनाएको छ । कार्यविधिअनुसार व्यवस्थित गर्दै इ–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ ।

इ–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ । इटहरीभित्र करिब पाँच हजार सफारी सञ्चालनमा रहेको र इटहरीमा केवल एक हजार एक सय सफारीमात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग : एमाले अध्यक्ष ओली

लुम्बिनी, १६ भदौ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताउनुभएको छ ।उहाँले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उहाँले भन्नुभयो, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।”

अध्यक्ष ओलीले नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताउनुभयो ।अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनुभयो । उहाँले एमालेका नेता तथा कार्यकर्ता पार्टीभित्र एकताका लागि प्रतिबद्ध हुनुपर्ने र विरोधीसँग लड्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनीजस्तो ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिङ्गो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।“लुम्बिनीजस्तो यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेता भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस्”, उहाँले भन्नुभयो, “तपाईँहरूले सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिङ्गो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।”एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न गरिएको नभइ आवधिकरूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको बताउनुभयो ।एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो कदापि सफल नहुने बताउनुभयो ।उपाध्यक्ष पौडेलले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेताको नेतृत्वमा एमाले रहेको बताउनुभयो । उहाँले पार्टी र गुट फरक विषय भएको जिकिर गर्दै गुट र पार्टी कहिल्यैसँगै चल्न नसक्ने बताउनुभयो । “गुट बनाउनेले पार्टी बनाउँदैन, पार्टी बनाउनेले गुट बनाउँदै हिँड्दैन”, उहाँले भन्नुभयो, “म ४५ वर्षदेखि पूर्णकालीन राजनीति गरेर हिँडेको हुँ, गुटबन्दी गरेर कहिल्यै हिँडेको छैन ।”पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको बताउनुभयो । उहाँले एमालेभित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै एमालेलाई बलियो बनाउन नेतृत्व एकताबद्ध रहेको बताउनुभयो ।महासचिव पोखरेलले जनताका बीचमा एमालेलाई स्थापित गर्ने वैचारिक राजनीतिक र सङ्गठानिकरूपमा एमाले एकताबद्ध रहेको बताउनुभयो । उहाँले एमालेमा राष्ट्र निर्माणका निम्ति प्रतिस्पर्धा हुने र कामका माध्यमबाट एमालेलाई जनतामाझ योग्य सावित गर्न कार्यकर्तामा आह्वान गर्नुभयो । राष्ट्र निर्माण, विकास समृद्धि र स्वाधिनताका लागि राष्ट्रिय एकता आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो ।पार्टी उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन एमालेविरुद्ध विदेशी शक्तिसँग मिलेर मोर्चाबन्दी गरेको बताउनुभयो । उहाँले एमाले सबैखाले अधिनायकवाद, निरंकुशता र एकपक्षीयताविरुद्व लडिरहेको पार्टी भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक अभ्यास पार्टीको आन्तरिक जीवनमा पनि लागू हुँदै आएको स्पष्ट पार्नुभयो ।सचिव गोकर्ण विष्टले मुलुकमा स्वतन्त्रता र स्वाधिनतासहितको राष्ट्र बनाउन बलियो सवल र योग्य पार्टी आवश्यक रहेको र यसका लागि एमाले बलियो हुनुपर्ने बताउनुभयो । आजदेखि सुरु भएको एमाले प्रदेश अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार चार जना प्रतिनिधि सहभागी छन् ।

ठोरी क्षेत्रमा आतङ्क मच्चाउने पाटेबाघ नियन्त्रणमा

वीरगन्ज – पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई आज पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ

निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिनुभयो ।

निकुञ्जबाट निस्केको सो पाटेबाघको आक्रमणबाट गत भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो । सोही दिन मृतक दोङको एक गोरुलाई मारेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा आज डार्ट गरिएको अध्यक्ष पाख्रिनले बताउनुभयो ।

बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।–––

माओवादी नेता श्रमदानमा व्यस्त

हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) ले जनतासँग माओवादी विषेश रुपान्तरण अभियानअन्तर्गत आज उद्घाटनको दिन मकवानपुर जिल्लास्थित विभिन्न पालिकाहरुमा श्रमदान, सहिद परिवार सम्मान र विकास निर्माण कार्य गरेको छ । माओवादी केन्द्र मकवानपुरको अनुसार पार्टीको तीन महिने अभियानको उद्घाटन गर्ने क्रममा केन्द्रीय सदस्य जनतासँग जोडिनको लागि श्रमसँग जोडिएका हुन् ।

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बागमती गाउँपालिका–७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गर्नुको साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलाने जानकारी दिनुभयो । यसको साथै अन्य वडाहरुमा कोदो रोप्ने, धान गाड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उहाँले जनाउनुभयो ।

यता, भिमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गमा पहिरो पन्छाउने काम गरिएको पार्टीका पालिका अध्यक्ष बद्री स्यान्तानले जानकारी दिनुभयो । उहाँले वडाहरुमा अभियानको विषयमा छलफल, कोदो गोड्ने, मकै गोड्ने काम गरिएको जनाउनुभयो । थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणको विषयमा जनतालाई सोध्ने लगायतका कार्यहरु गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिनुभयो ।

त्यसैगरी राक्सीराग गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेको कारण ह्युमपाइप हालिएको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जनाउनुभयो । माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिनुभयो ।

 

नेपालमा डेङ्गु संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौँ, १६ भदौ : नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेङ्गुका बिरामी भेटिएका छन् ।डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ ।

रूसी राजदूतलाई निमन्त्रणा नगरिने – नोबेल फाउन्डेसन

स्टकहोम – नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ ।सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेनमा युद्धको कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो ।

यद्यपि स्वीडेनको फाउन्डेसनले स्वीडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यासमा फर्कन लागेको बिहीबार बताएको थियो । फाउन्डेसनले शनिबार भनेको छ, “नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो ।”

रूसी अधिकारीलाई कार्यक्रममा आमन्त्रित गर्ने निर्णयले विश्वव्यापी आक्रोश सिर्जना गरेको भन्दै फाउन्डेसनले रूसलाई बोलाउने आफ्नो निर्णयलाई सच्याएको हो ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहो¥याउन चाहन्छौं अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय रद्द गरेका छौं।”

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमा लेख्नुभएको छ, “फाउन्डेसनले रूस र बेलारूसलाई एक्ल्याउने प्रयासलाई समर्थन गर्नुपर्छ किनभने लाखौं युक्रेनीहरू बिना उक्साहट युद्धबाट पीडित छन् र रूसी शासनलाई उसको अपराधका लागि दण्डित गरिएको छैन ।”स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि फाउन्डेसनको निर्णयप्रति आफू असहमत रहेको बताउनुभएको छ ।

एएफपीसँगको एक लिखित पत्रमा उहाँले भन्नुभएको छ, “यदि मैले पुरस्कार समारोहमा निमन्त्रणा पाएको भए मैले त्यसो गर्ने थिइनँ र मैले बुझेको छु कि यसले स्वीडेन र युक्रेन दुवैका धेरै मानिसहरूलाई दुःखी बनाएको छ ।”

देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान, कुन नेता कहाँ ?

काठमाडौँ – झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गर्नुभयो ।

यस्तै औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड आजै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुग्नुभयो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो । माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै आज अभियानको उद्घाटन भएको जनाएको छ ।

जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् । अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ ।

सडक मर्मत गर्ने, स्थानीयसँग अन्तक्र्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ । यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ ।

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ । माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन् । यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा भरोसा जगाउन र सिङ्गो पार्टीपङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चलाउनुपरेको बताउनुभयो ।

घट्टेडाँडा पार्कमा अध्यक्ष प्रचण्डलगायतका शीर्षनेतालाई स्थानीयवासीले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । पार्कमा उहाँले बिरुवासमेत रोप्नुभएको थियो । गत केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार नै सात प्रदेशका सातवटा वडामा अध्यक्ष प्रचण्ड आफैँ अभियानमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचारविरोधी अभियानबारे भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । आफूले यसपटक देश र जनताको पक्षमा केही न केही गर्ने लक्ष्यका साथ काम सुरु गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो पटक नयाँ सङ्कल्पका साथ प्रधानमन्त्री शपथग्रहणपछि नयाँ अभियानको थालनी आफँैले गरेँ, भ्रष्टाचारविरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो ।”

उहाँले भन्नुभयो, “विगतमा जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजा–महाराजाका सपना थिए । अहिले अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुआत गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टा भएको छ ।”

प्रधानमन्त्री दाहालले आफूले सुरुआत गरेको भ्रष्टाचारविरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने दाबी गर्नुभयो । अभियानकै क्रममा प्रधानमन्त्री प्रचण्डले नागढुङ्गा–सिस्नेरी सुरुङमार्गका आयोजना प्रमुखलाई फोन गरी तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न निर्देशन दिनुभयो ।

स्थानीयले सुरुङ निर्माणको क्रममा घर तथा आवास चर्केको, पानीको मुहान सुकेको भन्दै समस्या समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । स्थानीयको माग सम्बोधन गर्दै प्रधानमन्त्रीले सात दिनभित्र आवश्यक विवरण तयार पारेर आफूलाई भेट्नसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

कुन नेता कहाँ ?

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको सैँबुमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा लिसङ्खुपाखर–३ सिन्धुपाल्चोक, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्दै सहभागी हुनुभयो ।

माओवादीका अनुसार महासचिव देवप्रसाद गुरुङ सुन्दरबजार नगरपालिका–८ भोटेओडार, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव वर्षमान पुन कामनपा–१६ गोङ्गबु, उपमहासचिव हरिबोल गजुरेल कमलामाई नगरपालिका सिन्धुली, उपमहासचिव जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका–२ काठमाडौँमा सहभागी हुनुभयो ।

यस्तै उपमहासचिव शक्तिबहादुर बस्नेत भेरी नगरपालिका–१ जाजरकोट, उपमहासचिव मातृकाप्रसाद यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत, सचिव दीनानाथ शर्मा बागलुङ नगरपालिका–१२ बाग्लुङ, सचिव चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८ मोरङ, सचिव देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२० कास्की, सचिव लीलामणि पोखरेल बर्दिबास नगरपालिका महोत्तरी, सचिव गणेश साह काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर काठमाडौँमा अभियानको नेतृत्व गर्नुभयो ।

यसैगरी सचिव हितमान शाक्य सिस्ने गाउँपालिका–६ रुकुमपूर्व, सचिव हितराज पाण्डे पालुङटार नगरपालिका–६ गोरखा, सचिव डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६ कैलाली, सचिव सुरेन्द्रकुमार कार्की बुद्धशान्ति गाउँपालिका–४ झापा र कोषाध्यक्ष श्रीराम ढकाल भने चन्द्रागिरि नगरपालिका–२ मा नै सहभागी हुनुभयो । माओवादीले यसपटक सबै पदाधिकारीलाई अभियानको नेतृत्व गर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ ।

अभियानको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अभियानका मुलभूतरूपमा पाँचवटा कार्यभार रहेको चर्चा गर्दै राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु रहेको बताउनुभयो । उहाँले सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्नु, परिवर्तनपछिको उपलब्धि अपहरण र प्रहार गर्ने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध जनतालाई गोलबन्द गर्नु रहेको अभियानको अर्को कार्यभार रहेको बताउनुभयो ।

यसैगरी राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु, नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु, जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन, सुखी जीवनयापनका लागि तीव्रगतिमा विकासका कार्य अगाडि बढाउनु तथा देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु अभियानको अर्को ध्येय रहेको उहाँको भनाइ छ ।

शान्ति प्रक्रियालाई पूर्णता दिँदै सङ्क्रमणकालीन न्याय पूरा गर्नु, सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पूरा गर्नु तथा समाजवादको आधार तयार गरी समाजवादी नेपाल निर्माण गर्नका लागि जनमत तयार पार्नु अभियानको अर्को महत्त्वपूर्ण कर्तव्य भएको उहाँको भनाइ छ ।

बागमती प्रदेशका इञ्चार्जसमेत रहनुभएका उपमहासचिव शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासन प्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताउनुभयो । चन्द्रागिरिको घट्टेडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले ‘जनताको सुख–दुःखको साथी माओवादी हुनैपर्ने उल्लेख गर्नुभयो ।

उहाँले रुपान्तरित हुनका लागि माओवादी जनताको घरदैलोमा आएको बताउनुभयो । गोङ्गबुमा आयोजित अभियानको उद्घाटन गर्दै अर्का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले देश र जनताको पक्षमा इमान्दार भएर काम गरिरहेको बताउनुभयो । उहाँले भ्रष्टाचारमा दोषी देखिए माओवादीका नेता तथा कार्यकर्तालाई पनि कारबाहीको दायरामा ल्याउनैपर्ने उल्लेख गर्नुभयो ।

उपमहासचिव पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने दोहोर्याउनुभयो । राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्रप्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको उहाँको कथन छ । देशव्यापीरूपमा जनतासँग जोडिने लक्ष्यका साथ सुरु भएको अभियानले माओवादीलाई पुनःस्थापित गर्ने नेताहरूको भनाइ छ ।

गण्डकीका सात सय ५९ वडामा सुरु भयो माओवादीको रुपान्तरण अभियान

कास्की, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ ।देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताउनुभयो ।

अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका र प्रदेश कमिटीका सदस्यहरूलाई वडामा जिम्मेवारी दिएर पठाइएको छ । इन्चार्ज पौडेलले अभियान गण्डकी प्रदेशमा उत्साहपूर्ण तवरले सुरु भएको बताउनुभयो । उद्घाटन समारोहमा विभिन्न गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम उल्लासमय बनाइएको थियो । अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता–कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए ।

इन्चार्ज पौडेलले भन्नुभयो, “प्रदेशका सम्पूर्ण वडामा आज एकैसाथ अभियानको शुभारम्भ भएको छ । पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ ।”

जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ । सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहनुभएका सचिव पौडेलले पोखरा महानगरपालिका–२० भलाममा अभियानको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, आलोचना सहौँ भनेर अभियान सुरु गरेका छौँ । पार्टी बनाउनका लागि हामी सबै अब सच्चिर अघि बढ्नु पर्दछ ।”

नेता पौडेलले अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको बताउनुभयो । अभियानले पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासहित जनतामा समेत उत्साह छाएको उहाँले बताउनुभयो ।

“सरकारले सुशासनको पक्षमा काम गर्दा जनताले सम्मान गरेका छन् । कहीँकतै आलोचना पनि गरे होलान् । तर आलोचनाबाट डराउन हुँदैन । विरोध र असहमति ग्रहण गर्दै अघि बढ्नु आवश्यक छ”, पौडेलले भन्नुभयो । उहाँले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गर्नुभयो ।

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ – यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक पाँच दशमलव ०९ ले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ पुगेको बजारमा रु ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल दुई सय ७९ कम्पनीका ३७ लाख ७९ हजार सात सय ३१ कित्ता सेयर कारोबार भएका थिए ।

कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो । यस दिन दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिन पुगेको थियो ।

त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ । कुल दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु एक अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

आदित्य एल–१ अन्तरिक्षमा

नयाँदिल्ली – चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति वधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताउनुभएको छ । सूर्ययान सफलतापूर्वक प्रक्षेण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताउनुभएको छ ।

बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

बैतडी – विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

प्रहरी निरीक्षक केसीले भन्नुभयो, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।”

पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउनेछौँ : उपाध्यक्ष भुसाल


ललितपुर – नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताउनुभएको छ ।

ललितपुर उपमाहानगरपालिका वडा नं २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताउनुभएको हो ।

अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उहाँले बताउनुभयो ।

उपाध्यक्ष भुसालले भन्नुभयो, “भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौँ । विधान सम्मेलनकोे तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौँ ।”

जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको उहाँले बताउनुभयो । जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्नेसमेत उहाँले बताउनुभयो ।

सरसफाइबाट सुरु भयो अभियान

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ । ललितपुर महानगरपालिका–१८ मङ्गरगाउँ चोक र ललितपुर महानगरपालिका–२२ बुङ्मती बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको छ ।

त्यसैगरी वडा नं २ सानेपालगायत ललितपुरका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरुआत गरेको छ । जनताको घर–घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्नेछन् ।

जनताको हित हुनेगरी एमसिसी र बीआरआइबाट लाभ लिनुपर्छ – सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताउनुभएको छ । ‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । 

सभामुख घिमिरेले भन्नुभयो– “ठुला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।” नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताउनुभयो । 

कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधिलगायत क्षेत्र महत्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा नेपालका एजेण्डा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा चासो र चर्चा सुरु भएको छ । विश्व अर्थतन्त्रको गणनामा विशेष स्थान हासिल गरिरहेका नेपालको उत्तर र दक्षिणका दुई छिमेकी मुलुकमा नेपालका प्रधानमन्त्री जाँदा चासो र चर्चा हुनु स्वभाविकै हो ।

चीन नेपालको छिमेकी मात्र नभइ नेपालको विकासका धेरै क्षेत्रसँग जोडिएको छ । नेपाल–चीन आर्थिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध अहिले झन महत्वका साथ अघि बढेको छ । त्यसैले यतिखेर प्रधानमन्त्री दाहालले गर्ने चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्धको सेतूमा आर्थिक र सांस्कृतिक विषय नै उठ्ने हुन् । नेपालको विकासका लागि चीनले गर्दै आएको सहयोग र पूर्वाधार निर्माणका कुरा यसमा जोडिन्छन् र अहिले त्यसमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको विषय थपिने देखिएको छ ।

यस विषयमा नेपाली जानकारका बीचमा कुराकानी हुनु जरुरी छ र नेपालका कूटनीतिज्ञले नेपाल सरकारलाई सुझाउन आवश्यक छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गरेको छ वर्ष पुगिसकेको छ । यसअघि प्रधानमन्त्री दाहाल दोस्रो पटक मुलुकको प्रधानमन्त्री भएका बेला सन् २०१७ को मेमा सो परियोजनामा नेपालले हस्ताक्षर गरेको थियो । खासगरी सडक सञ्जाल र अन्य भौतिक पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङले सन् २०१३ बाट विश्व परियोजनाका रुपमा चीनले अघि बढाएको यो आयोजनामा नेपालले पनि निकै चासो र चर्चाका साथ हस्ताक्षर गरेको हो ।

यसअन्तर्गत नेपालले यहाँका सडक, पूर्वाधार र अन्य विकास आयोजनाको निर्माणमा सहयोग अपेक्षा गरेको छ । त्यसैले नेपालले यसअन्तर्गत गर्ने विभिन्न ३५ वटा परियोजनाको सूची प्रस्ताव गरेकामा चीनले नै नौ वटामा सहमति जनाएको थियो । सुरुङ तथा रेलमार्ग र अन्य विकास आयोजनालाई ती नौ आयोजनामा राखेर चीनले निर्माणको सहमति जनाएको हो । तर आजका दिनसम्म पनि यस आयोजनाबाट अघि बढाइने भनिएका परियोजनाको अर्थपूर्ण सुरुआत गर्न सकिएको अवस्था छैन । ती परियोजना नेपालमा कुनै न कुनैरुपमा सञ्चालनमा आएका र आउने तयारीमा रहेका भए पनि तिनलाई बिआरआई परियोजनाको ‘फ्रेमवर्क’ भित्रै राखिएको भने छैन । त्यसैले यस विषयको थप स्पष्टता एवं परियोजनाको कार्यान्वयन योजनाका लागि पनि प्रधानमन्त्री दाहालको चीन भ्रमण थप महत्वको छ ।

पछिल्ला दशकतिर चीनलाई चियाएर हेर्दा पूर्वाधार निर्माण र विकासको गतिलाई चीनले झनभन्दा झन द्रुत बनाएको छ । यो असाधारण उपलब्धिलाई हामीले पनि चीनसँगको बिआरआई सम्झौतासँग जोड्न सक्छौँ कि ? अर्थात् बिरआरआई परियोजना कार्यान्वयन गर्न सक्दा हामीले पनि यसैबाट नेपालमा पूर्वाधार निर्माणको लाभ कसरी लिन सक्छौँ ? प्रधानमन्त्रीको आसन्न भ्रमणमा बनाउनुपर्ने यो मुख्य एजेण्डा हो ।

पछिल्लो समय चीनले गरिबी उन्मूलन कार्यक्रमलाई सशक्तरुपमा अघि बढाएकोे छ । हुनत विश्व अहिले पनि कोभिड महामारीपछिको अवस्था (पोष्ट कोभिड पिरियड) मा छ तर सन् २०२० को अन्त्यतिरै चीनले करिब ८४ लाख चिनियाँलाई चरम गरिबीबाट माथि उकासेको प्रगति सार्वजनिक गरेको थियो । चीनले देशमा गरिबी निवारणको एजेण्डालाई सशक्त कार्यान्वयनमा ल्याएको छ । चिनियाँ राष्ट्रपति चिनफिङले सन् २०१४ मा चीनमा गरिबी निवारणको एजेण्डा अघि सारेर त्यसमा लाग्न सबै सरकारी निकाय र तिनका नीति तथा कार्यक्रमलाई निर्देशन दिनुभएको थियो ।

यो तथ्याङ्कअनुसार चीनको गरिबीविरुद्धको लडाइँ विश्वका अरु देशका लागि पनि महत्वपूर्ण उदाहरण हुनसक्छ । नेपालजस्ता छिमेकीका लागि त यो एउटा गतिलो सिकाइ हुनसक्छ । किनभने चीनले लिएको यो गरिबी निवारण कार्यक्रमको आधार भनेको कृषि हो । देशमा गरिबी घटाउन र हटाउनका लागि उनीहरुले कृषिमा लगानी बढाएका र महत्व दिएका छन् । कोरोना महामारी अघि र त्यसपछि पनि चिनियाँ कृषिउपज र त्यसको निर्यातमा ध्यान दिएका छन् । अन्न उत्पादनको यो अभियानबाट नेपालले केही ग्रहण गर्न सक्दा हामीजस्ता झण्डै कृषि प्रधान देशलाई फाइदा पुग्ने निश्चित छ ।

चीनले आगामी सन् २०३० को दशकलाई खाद्य सुरक्षास्तरमा उक्लिने उद्देश्य लिएको छ । खाद्य सुरक्षाका दृष्टिले विश्वको सुरक्षित देशको सूचीमा दर्ज हुने लक्ष्य चीनको छ । यसकारण पनि उनीहरु खाद्य सुरक्षा नीतिलाई अघि सारेका छन् । चीनको कृषि क्रान्तिबाट नेपालले पनि सिक्नुपर्ने बेला आएको छ । यसका लागि चीनबाट हामीले आर्थिक, प्राविधिक या वैज्ञानिक के तरिका या अनुशरण गर्ने ? परम्परागत कृषि प्रणालीमै रहिरहेका हामीहरुले यो शताब्दीमा कृषि प्रणालीको चिनियाँ मोडलका लागि के सहयोग लिने ? त्यो तयारी हामीले गर्नुपर्छ ।

नेपालको छिमेकी देश भएकाले नेपाल–चीन सम्बन्धमा समृद्धिको बाटो दुई देशबीचको नाकाको पनि हो । अहिले तातोपानी र केरुङ नाकाबाट आवतजावत भइरहेको छ । भूकम्पपछि स्थगित तातोपानी नाका आजका दिनसम्म आइपुग्दा बल्ल पूर्णरुपमा सक्रिय भएको छ । विसं २०७२ को भूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द भयो । त्यसको केहीपछि मात्र सीमितरुपमा सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।

यो नाका २०८० वैशाख १८ बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । नाका बन्द भएको करिब आठ वर्षपछि शुक्रबारबाट मानिस पनि आवतजावत गर्न थालेका छन् । अब यो नाकाबाट दुवैतर्फ आगमनमा सहज हुनेछ । यसरी तातोपानी र केरुङमात्र अहिलेको अवस्थामा हेर्दा तुलनात्मक सक्रिय रहेकामा यी नाकाको सञ्चालनमा स्थायित्व प्रदान गर्दै अरु पनि केही नाका खुलाउनेतर्फ नेपाली पक्षको पहल हाम्रा लागि समृद्धिको आधार नै बन्नेछ ।

सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सम्झौतासमेत भएको भयो । यो सम्झौतालाई चीनको भूमि भएरै नेपाल तेस्रो मुलुकमा प्रवेश गर्नसक्ने भनेर व्याख्या पनि गरिएको थियो । यो सम्झौताको प्रयोग व्यावसायिक वा व्यापारिक प्रयोजनमा हुन सकिरहेको छैन । आजसम्म सम्झौतामै सीमित यो सम्झौताबाट नेपालले के लाभ लिन सक्ला त ? यसतर्फ पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले सोच्नुपर्ने देखिन्छ ।

चीनसँग नेपालको व्यापार घाटा बढ्दै छ । गत आर्थिक वर्ष २०७९÷८० मा नेपालले चीनबाट रु दुई खर्ब २२ अर्ब ७१ करोड को आयात गरेको छ तर निर्यातको मात्रा भने भने टिठलाग्दो स्वरुपमा अर्थात् रु एक अर्ब ७६ करोड मात्रै छ । संसारका उदीयमान शक्ति राष्ट्र भारत र चीनसँगै छ नेपालको व्यापार घाटा बढेको । तर हाम्रै छिमेकीको समृद्धिको समुद्रबाट हामीले कति पानी उभाउन सक्छौँ ? यसबारेमा हामीले अब सोच्नुपर्छ । त्यसैले हामीले पनि व्यापार घाटा कम गर्ने उपाय खोज्ने काममा देशको राज्य संयन्त्रले प्रधानमन्त्रीलाई सुझाउनु आवश्यक छ ।

उता उत्तरी छिमेकीले कृषिउपजकै सहायता लिएर देशमा गरिबी घटाउने योजना सफल बनाउँदैछ तर यता हाम्रो कृषि उत्पादनको धरातल दिन प्रतिदिन भत्किँदैछ । हामी खाद्यान्नकै लागि पनि परनिर्भर हुँदै गएका छौँ । त्यसैले पनि अब हाम्रो परम्परागत कृषि उत्पादनले हामीलाई थेग्न सक्ने अवस्था छैन । यसका लागि अब हामीले कृषि प्रणाली अत्याधुनिक र उत्पादकत्वमा मात्र आधारित बनाउनुपर्ने आवश्यकता छ । चिनियाँबाट उत्पादन प्रणालीको सहायताका लागि हामीले प्रस्ताव गर्नुपर्छ ।

पर्यटन छिमेकीसँग जोडिएको नेपालको अर्काे महत्वपूर्ण चासो हो । उत्तर र दक्षिण छिमेकीको जनसङ्ख्या साढे दुई अर्बभन्दा बढी छ तर हामी भने केही लाख पर्यटक खोज्न कता कता भौँतारिने गरेका छौँ । यहीँबाट वर्षमा ५० लाख जति पर्यटक ल्याउन सक्दा हाम्रो समृद्धिको यात्रा धेरै छोटिने छ । सबैलाई यो थाहा त छ तर गर्ने कसरी ? यस्तै अन्योलले नै हाम्रो मुलुकका पर्यटनका सबै सम्भावना दिन प्रतिदिन खेर गइरहेका छन् ।

यता चिनियाँ सहयोग तथा संलग्नतामा पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल तयार छन् । हामी त्यहाँबाट बाह्य मुलुकमा जहाज उडाउन सकेका छैनौँ । यसका लागि पनि हाम्रा कूटनीतिक पहल अबका दिनमा थप दरिला हुनु आवश्यक छ । चीनको अधिकांश जनसङ्ख्या लुम्बिनी आउन इच्छुक छ, यता विमानस्थल तयार पनि छ । ती विमानस्थलबाट जहाज उडाएर विश्वका बौद्धमार्गीसमक्ष यो खुसीको खबर पु¥याउन सकिएको छैन । नत यो खुसीको सञ्चार देशभित्रै देशव्यापी हुन सकेको छ । यसका लागि पनि सरकारको दरिलो कूटनीति आवश्यक छ र त्यसको सुरुआत आसन्न चीन भ्रमणबाट हुन सक्छ । त्यसैले प्रधानमन्त्रीको चीन भ्रमणमा पर्यटन पनि एक अत्यावश्यक एजेण्डा बन्नुपर्दछ ।

विश्वको लोकप्रिय लुम्बिनी र नेपालमा आएका पर्यटकमध्ये कम्तीमा पनि ४० प्रतिशत पुग्ने पोखराजस्तो पर्यटकीय गन्तव्यलाई यी दुई विमानस्थलमार्फत संसारसँग कसरी जोड्न सकिएला ? यस विषयको आवश्यक थाल्न अब ढिला भइसक्यो ।

नेपालको समृद्धि पर्यटन र बिजुली व्यापारमै छ । यसका लागि चिनियाँ लगानीकर्तालाई कागजी नीतिमा मात्र नभएर वास्तवमै र व्यवहारिकरुपमै आकर्षित गर्नु आवश्यक छ ।

नेपालको उत्तर र दक्षिण दुवैतर्फ विशाल बजार छ । ती बजारमा सानो हिस्सा ओगट्न पाए पनि नेपालको समृद्धिको ढोका खुल्छ । चीनलाई नेपालको बाटो हुँदै दक्षिण एसियाली बजारसम्म जोड्ने पुल हामी बन्न सक्यौँ भने यसको लाभ हामीलाई पनि मिल्नेछ । चीनसँग नेपालले पाएका सुविधाको प्रयोगमा पनि यो भ्रमण केन्द्रित हुनु जरुरी छ । हामीले पाएका शून्य भन्सार सुविधाबमोजिमका वस्तुको आदानप्रदान हुन सकेको छैन । भन्सार सुविधा लिन नसक्नुका वाधा अड्चनबारे पनि अहिले नै छलफल हुनु जरुरी छ । यसका साथै चीनले छिमेकीका नाताले हालै नेपालको पुरानै नक्सा सार्वजनिक गरेकाले यस विषयमा पनि प्रधानमन्त्री दाहालको आसन्न भ्रमणमा स्पष्ट कुरा हुनु जरुरी छ । सीमा या अन्य यस्तै द्विपक्षीय कूटनीतिक विषय फैलिन नपाउँदै वार्ताको टेबलमा ल्याएर स्पष्ट गर्न सकिएन भने पछि अर्थपूर्ण नरहन पनि सक्छ । त्यसैले नेपालको कूटनीतिक संयन्त्र अहिले नै यसतर्फ सजग हुनु जरुरी छ ।

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

काठमाडौँ – नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका छ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९/८०मा सर्पले डसेर आएका छ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो ।

तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना-स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सर्पदंशबाट अतिप्रभावित २६ मध्ये १८ जिल्लामा सञ्चालित ती २३ केन्द्रमा २४ सैँ घण्टा सैनिक जनशक्ति परिचालित भई प्रदान गरिएको उपचार सेवाबाट सर्पले टोकेर हुने मृत्युदर घटाउन ठूलो सहयोग पुगेको छ । नेपालका तराईका सम्पूर्ण तथा भित्री मधेसका केही जिल्लालाई विषालु सर्पको बिगबिगीका हिसाबले जोखिम मानिन्छ ।

विषालु सर्पले डसेमा तुरुन्तै उपचार प्राप्त नभएमा बिरामीको ज्यानै जाने जोखिम उच्च रहन्छ । ती उपचार केन्द्रमार्फत सेनाको सहयोगमा हालसम्म एक लाख १६ हजार तीन सय ५१ जना सर्पले टोकेर आएका बिरामीको उपचार भइसकेको छ ।

सोबाहेक सेनाका क्षेत्रीय अस्पताल, फिल्ड एम्बुलेन्स गुल्म र विभिन्न युनिटमा रहेका स्वास्थ्योपचार कक्षले समेत आवश्यकता र स्रोत साधनको उपलब्धताअनुसार सर्पदंश, बिच्छी, खजुरोलगायतका किराले टोकेर आएका बिरामीलाई सेवा प्रदान गर्दैआएको छ ।

झापाको चारआली, मोरङको कालापानी-लेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको बेलका, कटारी र भुल्के, सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहर्वा, धनुषाको महेन्द्रनगर ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।

झापाको चारआली र कपिलवस्तुको गोरुसिङ्गेमा विसं २०६० मा स्थापना भएका सर्पदंशसम्बन्धी पुराना उपचार केन्द्र हुन् भने महोत्तरीमा स्थापित केन्द्रले सबैभन्दा बढी उपचार सेवा प्रदान गर्दैआएको छ । विसं २०७१ मा स्थापना गरिएको महोत्तरीको बर्दिवासमा रहेको केन्द्रले सर्पले टोकेर आएका ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

सर्लाहीको लालबन्दी, पर्सा ठोरीस्थित निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्ज, दाङको गढवा, प्युठानको स्वर्गद्वारी–दिवाङ, बाँकेको ओभरी र इमामनगर ब्यारेक, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको गौरीगङ्गामा सर्पदंश उपचार केन्द्र सेनाको सहकार्यमा सञ्चालनमा छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको तथ्याङ्क छ । वार्षिकरुपमा एक हजारभन्दा बढीको सर्पदंशका कारण निधन हुने गरेको छ । नेपालमा खासगरी विभिन्न प्रजातिका गोमन र करेत सर्प बढी विषालु मानिन्छ ।

स्वास्थ्य विभागका तथ्याङ्कअनुसार नेपालका २६ जिल्लालाई सर्पदंशबाट अतिप्रभावित मानिएको छ । झण्डै ९० प्रजातिका सर्प यहाँ पाइन्छ । त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ । पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमान परेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने विश्वव्यापी मृत्यु तथा अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । नेपालमा सर्पदंश जोखिम न्यूनीकरणका लागि सरकारको प्रयासमा सेना जोडिएको छ । सोहीक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रमार्फत उपचारालाई छिटो र प्रभावकारी बनाउँदै सेनाले हजारौँको ज्यान जोगाउन सफल भएको छ ।

अधिकांश सर्प उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दैआएका छन् । सर्पको टोकाइबाट बच्न खाटमा सुत्ने, झुल हाल्ने, जुत्ता लगाउने, राति हिँड्नु परेमा उज्यालो बालेर मात्र हिँड्ने, घर वरपरका प्वाल बन्द गर्ने र झारपात हटाउनुपर्ने हुन्छ । कदम कदाचित सर्पले टोकी हालेमा बिरामीलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्‍याउन सक्नु नै बुद्धिमानी हुन्छ । सेनाले सर्पले डसेपछि उपचार गर्ने मात्र नभई समय-समयमा सामुदायमा पुगेर सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।