`

प्रदेशसभा सदस्य यादव पक्राउ

राजविराज (सप्तरी), १८ भदौ : ह त्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको ह त्या गरेको आरोप छ । सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पु¥याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको ह त्या गरेको आरोप छ ।

उक्त विषयमा जाहेरी परेपछि अदालतमा वयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हाल्नुभएको थियो । गोविन्द चौधरीको ह त्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

सङ्गठनको गरिमा जोगाउन सशस्त्र प्रहरी कर्मचारीहरुलाई राजु अर्यालको निर्देशन

काठमाडौँ, १८ भदौ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्ति स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुहोस् ।”

कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीको समाना गर्न सङ्गठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै उहाँले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई ध्यान राख्दै सङ्गठनले कदम चालिरहेको उल्लेख गर्नुभयो । उहाँले पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशील भई त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न पनि निर्देशन दिनुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १३ को निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा हुनुभएको थियो ।

आजको कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । हिजो आइतबार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएको हो । 

न्याय सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गुरुङ

काठमाडौँ, १८ भदौ : कानून, न्याय तथा संसदीय धनराज गुरुङले न्यायीक सुधार गर्न योजनाबद्ध विकासको थालनी भएको बताउँदै बक्यौता मुद्दाको शीघ्र फछर्योट गर्न समय निर्धारण गरी सर्वाेच्च अदालत अग्रसर रहेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको उत्तर दिँदै उहाँले पुराना बक्यौता मुद्दा फछ्र्यौट गर्न रणनीति बनाई काम भइरहेको बताउनुभयो । मन्त्री गुरुङले न्यायाधीशको नियुक्ति न्यायोचित ढङ्गबाट गर्ने कार्य भइरहेको बताउँदै भागबन्डाबाट नहुने उल्लेख गर्नुभयो ।

जनतालाई छिटोछरितो र सहज ढङ्गले निष्पक्ष न्याय प्रदान गर्नका लागि सरकार लागिपरेको बताउँदै उहाँले न्याय सेवालाई प्रभावकारी बनाउन यही भदौ ११ गतेदेखि सर्वाेच्च अदातलमा स्वचालित पेसी तारिख प्रणाली लागू भएको र आवश्यक पूर्वाधारको तयारी भइरहेकाले क्रमशः अन्य अदालतमा पनि लागू हुने जानकारी गराउनुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले वर्तमान सरकारमा रहेका पार्टीहरुले निर्वाचनका बेला घोषणापत्रमा विज्ञान र प्रविधिका लागि गरेका वाचालाई कार्यान्वयन गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रममा समावेश गरेको जानकारी गराउनुभयो । 

आफ्नो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको उत्तर दिँदै उहाँले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी कानुनअनुसार माध्यामिक तहसम्मको शिक्षा निःशुल्क नै रहेको बताउँदै खोपः विश्वविश्वद्यालयसम्बन्धी विधेयक आवश्यक प्रक्रिया पु¥याए यथाशीघ्र सदनमा पेस हुने बताउनुभयो ।   

बैठकमा सांसदहरु प्रेम सुवाल र दिलेन्द्रप्रसाद बडूले प्रश्न गर्नुभएको थियो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको थियो । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बैठकमा सभापति देवराज घिमिरेले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन श्रीलङ्कामा रहेको नेपाली टोलीलाई प्रतिनिधिसभा र आफ्नो तर्फबाट सफलताको शुभकामना दिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २१ गते दिउँसो १ बजे बस्नेछ । 

मन्त्रिपरिषद्को बैठक : नीति तथा योजना आयोग सदस्यमा बस्नेत मनोनीत

मकवानपुर – बागमती प्रदेश सरकारले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।

त्यस्तै यही भदौ २२ गते चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत भएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको सङ्गठन संरचना र दरबन्दी सहितको सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सडक तत्काल सुधार गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उहाँले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभयो । सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको उल्लेख गर्दै मन्त्री ज्वालाले भन्नुभयो, “तपाईहरू काममा गम्भीर नहुने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्नुपर्ने ?” उहाँले भन्नुभयो, “अब म आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।”

सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगतै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्ने कार्यले सडकको बेहाल भएको बताउँदै उहाँले भन्नुुभयो, “सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।”

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकाभित्र विद्युत् प्राधिकरणले ५० किलोमिटर सडकमा तार ‘अन्डरग्राउण्डेट’ गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ । खानेपानी लिमिटेडले पनि पाइप बिछ्याएपछि सडक सुधार गरेको छैन । टेलिकमले पनि केही सडकमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ ।

एसिया कप: नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ – पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । नेपालका लागि सुरुआती ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ९७ बलमा ८ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । उनी एसिया कपमा तथा भारत विरूद्धको खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने ।

त्यसैगरी अर्का सुरुआती ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दुल ठाकुरको बलमा दशौँ ओभरको पाँचाँै बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका हुन् । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि नौ दशमलव पाँच ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । भुर्तेल पेभेलियन फर्किएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो ।

कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे । त्यसैगरी छैटौँ विकेटको रूपमा गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएका थिए ।

सातौँ विकेटका रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी खेलको ४१ दशमलव एक ओभरमा २९ रन जोड्दै आउट भए । उनले २५ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाएका हुन् । नेपालले आठौँ विकेटको रूपमा सोमपाल कामीलाई गुमायो । सोमपाललाई भारतका मोहम्मद शामीले आउट गराएका हुन् । उनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए ।

त्यसैगरी खेलको ४७ दशमलव चार ओरभमा नवौँ विकेटको रूपमा सन्दीप लामिछाने आउट भए । उनले १७ बल खेल्दै नौ रन बनाए । त्यस्तै ललित राजवंशी शून्य रनमा आउट हुँदा करण केसी दुई रनमा अविजित रहे । बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहमद सिराजले समान तीन÷तीन विकेट लिए भने मोहम्मद शामी, हार्दिक पाण्डे र शार्दुल ठाकुरले समान एक÷ एक विकेट लिए । यस खेलमा जित हात पार्ने टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

सैँतीस दशमलव पाँच ओभर सकिँदा खेल वर्षाका कारण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । त्यतिबेला नेपालले छ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।

‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’

लेखनाथ – अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्नसक्ने बताउनुभएको छ ।नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै उहाँले पार्टी सङ्गठन विस्तारमा पुरुषभन्दा महिलाले नै प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

लामो समयदेखि पार्टीका संरचना निर्माण हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो, “आउँदो निर्वाचनमा बहुमत हात पार्न पार्टी सङ्गठन वडा तहदेखि नै बलियो हुन जरुरी छ ।” पार्टीका संरचनाहरू छिट्टै गठन गरिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

“नेपाली कांग्रेसका कार्यकर्ताले एकअर्काको अस्तित्व स्वीकार गरी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, संस्था बलियो भयो भनेमात्र हामीले विजय प्राप्त गर्न सक्छौँ”, नेता महतले भन्नुभयो, “नेपाली जनता र पार्टीको हितलाई केन्द्रविन्दुमा राखेर हिँड्नुहोस् ।”

नेपाली जनताको चाहना पूरा गर्ने कार्यमा वर्तमान सरकार सक्रिय रहेको उहाँको भनाइ थियो । सीमित स्रोत र साधनबीच जनताका चाहना पूरा गर्ने प्रयासमा रहेको चर्चा गर्दै मन्त्री महतले विभिन्न समस्याकै कारण सोचेअनुसार विकास निर्माण कार्यले गति लिन नसकेको स्वीकार गर्नुभयो ।

सरकारका नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराको पनि प्रशंसा गरिदिन अग्रह गर्दै उहाँले जनताले सोचेअनुसार काम गर्न नसके पनि सरकार जनताकै हितमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रजातन्त्रपछि देशमा सडक, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउँदै मन्त्री महतले भन्नुभयो, “अब सरकारले गाउँगाउँका सडक बाह्रै महिना सञ्चालनमा आउन सक्ने गरी काम गर्नेछ ।” राजनीतिक अस्थिरता, भूकम्प, कोरोना, युक्रेन–रसिया युद्धका कारण थला परेको नेपाली अर्थतन्त्रले बिस्तारै लय लिन थालेको मन्त्री महतको भनाइ थियो ।

पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल

चितवन – नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिनुभएको थियो । तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन ।

तर राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान ल्याउनका लागि गृहकार्य सुरु गरिएको छ ।

अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा पेट स्क्यान मेसिन जडान गरेर स्वदेशमै सेवा दिने योजनाका साथ काम अघि बढाइएको बताउनुभयो । मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै उहाँले क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको रु ८६ करोड बजेटबाट अस्पतालमा पेट स्क्यान गर्ने मेसिन जडान गर्ने बताउनुभयो ।

उहाँका अनुसार नेपालका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने आइसोटोप भारतबाट ल्याउने गरिएको छ । आइसोटोप उत्पादन गर्ने उपकरण साइक्लोट्रोन समेत यही जडान गर्ने अस्पतालको तयारी छ । कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो “हामी आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री समेत गर्न सक्छौँ ।” कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा नेपालका पेटस्क्यान सञ्चालन हुनसकेका थिएनन् ।

पौडेलले पेटस्क्यान जडानका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । अहिलेको ठूलो भवनको अगाडिपट्टी पेट स्क्यानका लागि भवन बनाउने तयारी गरिएको छ । भवनको नक्शाङ्कनको काम अन्तिम चरणमा पुगेको छ । यसका लागि माटो परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइएको डा पौडेलले बताउनुभयो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार काठमाडाँैंका दुई ठाउँ र झापाको बिर्तामोडमा निजी क्षेत्रबाट पेटस्क्यान गर्ने मेसिन सञ्चालनमा छन् । यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामी शरीरमा क्यान्सर रहे नरहेको समेत पत्ता लगाउन उपयोगी हुने उहाँको भनाइ छ ।

हाल पेटस्क्यानकै लागि धेरै बिरामी छिमेकी देश भारत लगायतका देशमा जानुपर्ने बाध्यता छ । उपकरण जडान गरेसँगै नेपालका बिरामीले सरकारीस्तरमा स्वदेशमै यो सेवा पाउने उहाँको भनाइ छ । डा नेपाल पेटस्क्यान मेसिन आएसँगै क्यान्सर रोग समयमै पहिचान गरी उपचार गर्न सकिने बताउनुहुन्छ ।

नेपालले पूरा गर्‍यो दुई सय रन

काठमाडौँ – एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ ।

भारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमायो

काठमाडौँ – श्रीलङ्कामा जारी एसिया कप २०२३ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमाएको छ ।

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारत विरुद्धको खेलमा सातौ विकेट रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । खेलको ४१ दशमलव १ ओभरमा नेपालले सातौ विकेटको रुपमा ऐरीलाई गुमाउन पुग्यो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले ४२ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा एक सय ९६ रन बनाएको छ ।

चिकित्सा शिक्षा ऐन संशोधनको माग

काठमाडौँ – चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनको माग राख्दै सुरु गरेको तेस्रो चरणको धर्ना २४औँ दिनमा पुगेको छ । ऐनमा भएका कतिपय व्यवस्था विभेदकारी रहेको दाबी गर्दै माइतिघरमा सुरु भएको धर्ना अझै पनि सहमतिमा पुग्न नसकेको सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाको भनाइ छ ।

“हाम्रा मागबारे सरकारसँग पटक–पटक छलफल भएको छ तर सहमति हुन सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले विसं २०७७ देखि आफ्ना माग चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा राख्दा पनि सम्बोधन नभएकाले धर्नामा बस्न बाध्य भएको बताउनुभयो ।

सङ्घर्ष समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ कार्यान्वयनमा आलटाल भएको, ऐनमा भएका व्यवस्थाको गलत व्याख्या गरिएको तथा ऐनका कतिपय व्यवस्था उल्लङ्घन गरिएकाले चिकित्सा शिक्षा अध्यापन गराउने शिक्षण संस्थामा मारमा परेको समितिको दाबी छ ।

समितिले सिटिइभिटी पुनःसंरचना, प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रम स्तरोन्नति, नर्सिङ कलेजमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेसाकर्मी तथा कर्मचारको रोजगारीको निश्चित गर्नुपर्ने, छात्रवृत्तिमा भइरहेको विभेद् अन्त्यलगायत १४ वटा माग सरकार समक्ष राखेको छ ।

चिकित्सा शिक्षा ऐन र नियमावलीमा व्यवस्था नभएको प्रमाणपत्र र स्नातक तहका कार्यक्रम एउटै शिक्षालयमा सञ्चालन गर्न नपाउने आन्तरिक कार्यविधि अव्यवहारिक रहेको सङ्घर्ष समितिका व्यवस्थापक पशुपति मरहट्टाको दाबी छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट गरी समितिले राखेका मागबारे जानकारी गराएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले माग सम्बोधनमा सरकार गम्भीर रहेको प्रतिक्रिया दिनुभएको उहाँको भनाइ छ । “प्रधानमन्त्रीज्यूले आन्दोलन फिर्ता लिन आग्रह गर्दै माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँगको भेटपछि धर्ना समय एक घण्टा घटाइएको छ ।”

यद्यपि आफ्ना माग ठोसरुपमा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । उहाँले एक सातासम्म पनि माग सम्बोधन नभए कडा आन्दोलन गर्न समिति बाध्य हुने बताउनुभयो ।

समितिले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा औसतमा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराइएको, प्रि–डिप्लो, डिप्लोमा र स्नातक तहमा गरी एक हजार तीन सय ३६ विद्यार्थीलाई छात्रवृत्तिको अवसरबाट बञ्चित गराएको दाबी गरेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कको आधारमा औसत शुल्कप्रति विद्यार्थी रु पाँच लाख ४३ हजारको दरले वार्षिक रु ७२ करोड ५४ लाख ४८ हजार बराबरको छात्रवृत्ति खेर गएको र नर्सिङ विषयतर्फ तीन हजार चार सय ८० भर्ना क्षमतामा कमी आएको समितिको भनाइ छ ।

एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

काठमाडौँ – एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि

काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।

कार्यालयले स्थानीय तहसँगको छलफलपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो । उहाँका अनुसार अभियान यही भदौ २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ छ । यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो ।

कार्यालयका खोप फोकल पर्सन तुलसी सुवेदीका अनुसार अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उहाँले दोस्रो बुस्टर लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताउनुभयो ।

बुस्टर डोज लगाउन छुट भएकालाई खोप लगाउन आग्रह गरिएको छ । कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालय, नगर अस्पतालहरु र सरकारी तथा गैरसकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमित रुपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो । अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । हिजो भदौ १७ गते एक सय २८ जनामा गरिएकामा परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको थियो ।

वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत

काठमाडौँ – वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हाल्नुभएको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उहाँले यस अवधिमा भए गरेका कार्य बारेमा जानकारी गराउँदै नेपाल सरकार (मन्त्रिपरिषद्) बाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०८० (दोस्रो संशोधन) स्वीकृत भएको बताउनुभयो । यसले वन सेवाअन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पद नाममा समसामयिक सुधार गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्बाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना, २०८० स्वीकृत भएको, ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८०’ र ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ स्वीकृत भएको मन्त्री डा महतोले बताउनुभयो । क्षतिको राहत वितरण निर्देशिकाअन्तर्गत बाँदर र नीलगाईबाट भएको क्षतिमा राहत प्रदान गर्ने विषय थप हुनुका साथै र वन्यजन्तुबाट हुने जनधनको क्षतिमा राहत वितरण प्रक्रियालाई अझै सरल, सहज र व्यवस्थित बनाइएको छ ।

मन्त्रालयले यस अवधिमा नेपालमा बाघको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनका लागि तयार गरिएको १० वर्षे बाघ संरक्षण कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ । मन्त्री डा महतोले भन्नुभयो, “व्यावसायिकरूपमा वन्यजन्तुको पालन प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० स्वीकृत भएको छ । यसबाट व्यावसायिकरूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोग गर्ने कार्यलाई व्यवस्थापन र नियमन गरी वन्यजन्तुको दिगो संरक्षण तथा उपयोगवाट आर्थिक समृद्धि हासिल गर्न सहज वनाइएको छ ।”

विभिन्न मन्त्रालयबाट प्रस्ताव भएबमोजिम पाँच हाइड्रोपावर र पाँच अन्य आयोजना गरी कूल १० विकास आयोजनालाई राष्ट्रिय वनको एक सय ४३ हेक्टर जग्गा प्रयोग गर्न दिइएको छ । विसं २०८० जेठ १० देखि हालसम्म उत्साहजनकरूपमा काठ दाउरा उत्पादन भएको साथै काठ, दाउरा, जडीबुटी बिक्री तथा पर्यापर्यटनलगायतका क्षेत्रबाट यस अवधिमा जम्मा रु दुई अर्ब ७९ करोड ७१ हजार राजस्व सङ्कलन भएको छ ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको नेतृत्वमा सफा हिमाल अभियान–२०२३ सम्पन्न गरिएको उहाँले बताउनुभयो । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट गरी कूल जम्मा ३५ हजार सात सय आठ केजी फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो ।

यस अवधिमा मन्त्रालय र प्रदेश सरकारका वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्रालयका मन्त्री र सचिवहरूसँग उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनका लागि राष्ट्रियस्तरको मापदण्ड तयारी र स्वीकृति, वन अपराध नियन्त्रण, मुद्दा तहकिकात र फैसला, काठ दाउराको राजस्व दररेट पुनरावलोकनलगायतका विषयमा साझा बुझाइ बनाई वन क्षेत्रका कार्यक्रम कार्यान्वयनमा सहजीकरण र सरलीकरण गरिएको छ ।

कार्यक्रममा वन सचिव डा रेवतीरमण पौडेलले संरक्षित तथा प्राकृतिक सन्तुलनसहितको चुरे–तराई मधेस भूपरिधि क्षेत्रमा वातावरणीय वस्तु र सेवाको दिगो प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिएको बताउनुभयो । “यसका लागि नदी तथा खोला किनारा स्थिरीकरण/व्यवस्थापन कार्य, भूमिगत जल पुनर्भरण र सतहमुनिको पानी उपयोग कार्यक्रम, सिमसार क्षेत्र व्यवस्थापन कार्य, गल्छी÷पहिरो÷खहरे रोकथाम कार्यक्रम, हरित पेटिका निर्माण कार्य र क्षतिग्रस्त भूमि पुनरुत्थानलगायतका संरक्षण कार्य सम्पन्न भएको छन्”, उहाँले भन्नुभयो ।

यस अवधिमा विकासलाई वातावरणमैत्री बनाउने उद्देश्यले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन, पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन, क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूची, पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सहमति, परिमार्जित वातावरणीय व्यवस्थापन योजना गरी ४८ वटा वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको छ ।

यस अवधिमा ‘नेपाल वन प्राविधिक परिषद् ऐन, २०८०’ मस्यौदा तयार गरी राय÷सहमतिका लागि पेश गरिएको, चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना (परिमार्जित), २०७९ तयार गरी पेश गरिएको, कार्बन उत्सर्जन न्यूनीकरण सम्झौताबमोजिमको इआर मोनिटरिङ रिर्पाेट, कार्बन व्यापारबाट प्राप्त हुने लाभको लाभांश बाँडफाँट योजना, दिगो वन व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्ड, राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना अन्तिम मस्यौदा तयार भएको र स्वीकृति प्रक्रियामा रहेका छन् ।

त्यस्तै वन कार्बन व्यापारमा निजी क्षेत्रको सहभागितासम्बन्धी कार्यविधि, वनस्पति स्रोत विधेयक, युरो–६ स्टाण्डर्स, राष्ट्रिय अनुकूलन योजना, राष्ट्रिय बाँस तथा वेत विकास रणनीति, राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति, बासस्थान व्यवस्थापन कार्यविधि, प्रविधि हस्तान्तरण, यार्सागुम्बा सङ्कलन कार्यविधिलगायतका दस्तावेजको अन्तिम मस्यौदा तयार भएको र स्वीकृति प्रक्रियामा रहेका छन् ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले आर्थिक वर्ष २०७९/०८० मा वन तथा वातावरण मन्त्रालय मातहत सञ्चालित कायक्रम÷आयोजनाको समग्रमा करिब ८० प्रतिशत वित्तीय प्रगतिसहित वार्षिक कार्यक्रम सम्पन्न भएको बताउनुभयो । उहाँले वन क्षेत्र, वातावरण क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायबीच समन्वय गरी जलवायु वित्त व्यवस्थापनमा सक्रिय भूमिका खेलेको उल्लेख गर्नुभयो ।

विश्वासको मतको विवादमा हेर्दाहेर्दै मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए पनि आज नभ्याएका कारण भोलिका लागि राखिएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गर्नुभएको थियोे ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो ।

नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

रुकुमपश्चिम – रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उहाँले बताउनुभयो ।

मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो ।

विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ – आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।

यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो । समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन । नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दो

इनरुवा, १८ भदौ ः पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ ।

यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ ।” राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताउनुभयो । उहाँले भन्नुभयो“मुख्य राजमार्गमा सवारी चाप हुन्छ । त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ ।

यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धीत निकायले ध्यान दिनुपर्दछ ।” सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ । सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो ।

गोसाइँकुण्डमा तीनलाख भेटी सङ्कलन

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो ।

यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पु¥याई गणना सम्पन्न भएको थियो।

यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत रु आठ लाख २४ हजार सात सय सङ्कलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार दुई सय ४७ भक्तजन गोसाइँकुण्ड गएको आफ्नो ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो । प्रतिव्यक्ति रु एक सय लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट सङ्कलन उक्त शुल्क रकम राजस्व खातामा दाखिला भइसकेको छ ।

यस्तै गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।

तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार सङ्घलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिनुभयो । लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो ।

एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

काठमाडौँ, १८ भदौ ः श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ ।

भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुप¥यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै एतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम भारतविरुको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

 

गण्डकी प्रदेश : घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

गण्डकी, १८ भदौ- गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो ।

पछिल्लो जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले घरमा हुने प्रसूतिलाई शून्यमा झारिने बताउनुभयो ।“प्रतिशतका हिसाबले त अहिले नै घोषणा गर्न पनि सकिन्छ, तर गर्भवती पहिचान गर्नु, सुत्केरी भएपछि ४२ दिनसम्म उनीहरुको विशेष स्वास्थ्य हेरचाह र उपचारमा सहज पहँुचको सुनिश्चितता हुनु मुख्य विशष हो”, उहाँले भन्नुभयो, “यसका लागि कार्यविधि तयार भइसकेको छ, प्रदेशभरि यो अभियान चल्छ ।”प्रदेशका केही वडा र स्थानीय तहले ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चता भएको घोषणा गरिसकेका छन् । निर्देशक खड्काले तथ्याङ्कमा केही प्रतिशत अझै पनि स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने गरेको देखिएको भन्दै छुटेकालाई स्वास्थ्य संस्थामा ल्याइने बताउनुभयो ।“गर्भवती भएर स्वास्थ्य संस्थाको सम्पर्कमा आएका महिलालाई प्रोटोकलअनुसार गर्भ जाँच, सुरक्षित प्रसूति सेवा र सुत्केरी जाँचको सुनिश्चितता गर्नु नै यो अभियानको उद्देश्य हो”, निर्देशक खड्काले भन्नुभयो, “शिशु र मातृ मुत्युदर घटाउन यसले ठूलो मद्दत पु¥याउँछ ।”सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सुरज गुरौले कोही पनि गर्भवती स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सम्पर्कबाट नछुटुन् भन्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको बताउनुभयो । “गर्भवतीको पहिचान र निगरानी गर्न सफ्टवेयर प्रणाली अपनाउँदै छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले घरघरै गएर गर्भवतीको विवरण ल्याउने र गर्भ जाँचका लागि स्वास्थ्य संस्था गए÷नगएको अनुगमन गर्नुहुन्छ ।”स्वास्थ्य ‘प्रोटोकल’ अनुसार गर्भवतीले आठ पटक गर्भ जाँच गराउनुपर्ने जनस्वास्थ्य प्रशासक गुरौले उल्लेख गर्नुभयो । सुत्केरी भइसकेपछि पनि तीन पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने उहाँको भनाइ छ । ‘पूर्ण संस्थागत सुत्केरी’ प्रदेश घोषणामात्र गरेर नहुने भन्दै उहाँले त्यसको निरन्तर सुनिश्चितता महत्वपूर्ण हुने बताउनुभयो ।“पूर्ण संस्थागत प्रसूतिका लागि स्वास्थ्य संस्थामा स्रोतसाधनदेखि जनशक्तिको पनि सोहीअनुसार प्रबन्ध हुनुपर्छ, स्वास्थ्यकर्मीको दक्षता बढाउनुपर्छ”, जनस्वास्थ्य प्रशासक गुरौले भन्नुभयो, “स्वास्थ्य पूर्वाधारको तयारीदेखि जनचेतना अभिवृद्धिको कार्यक्रमलाई सँगसँगै समुदायमा लैजानुपर्छ ।”

कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी (मुस्ताङ), १८ भदौ : मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो ।

बाढीबाट प्रभावित भएका ती परिवारलाई अनन्त विभूषित मुुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गर्नुभएको थियो । उहाँले गत हप्तामात्र पोखरामा पत्रकार सम्मेलन गरी कागबेनीमा अप्रत्याशितरुपमा आएको बाढीबाट ठूलो क्षति पुगेको र कैयौँ पीडित भएकाले उनीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकार र उसका निकाय एवं स्थानीय सरकार तथा व्यक्तिलाई आग्रह गर्नुभएको थियो ।

पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडाकुँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार रु १० हजार उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिनुभयो ।सो बाढीले यहाँका कम्तीमा पनि २९ घरपरिवारलाई पूर्णरुपमा क्षति पु¥याएकाले तत्कालका लागि केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर उनीहरुलाई यी अत्यावश्यकीय सामग्री प्रदान गरिएको उहाँले बडालले जानकारी दिनुभयो ।त्यस अवसरमा मुुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले सङ्कटमा परेका बेला मानवकल्याणस्वरुप एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य हो भन्दै यतिखेर कागबेनीमा अप्ठेरोमा परेका सबैलाई आफ्नै दाजुभाइ दिदीबहिनी सम्झिएर सहयोग गर्न यहाँका स्थानीयका साथै नेपाल सरकार र सरकारका विभिन्न निकायलाई आग्रह गर्नुभयो ।

राहत वितरण समारोहमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगोल गुरुङका साथै सो गाउँपालिकाका उपाध्यक्ष, वडा नं ४ का अध्यक्षसहितका जनप्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।सो बाढीबाट मुक्तिनाथ, दामोदरकुण्ड एवं कागबेनीधाम जाने तीर्थालुको आवास तथा भोजनका लागि कागबेनीमा मुक्तिनाथ बाबाको सङ्कल्पमा निर्माण भएको अतिथि आश्रम गृहमा पनि क्षति पुगेको छ ।

उक्त विकट धार्मिक क्षेत्रमा जाने तीर्थालुको सेवामा रहेको सो आश्रम पनि बाढीले बगाएपछि साधुसन्त एवं टाढाबाट मुक्तिक्षेत्रमा पुग्ने तीर्थयात्रीका लागि अब यहाँका होटलबाहेक अर्काे विकल्प नरहेको बताइएको छ । उक्त आश्रमबाट तीर्थालुलाई निःशुल्क सेवा प्रदान हँुदै आएको थियो ।सो बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो ।व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौ वटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् ।

त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव : ‘जति रक्तदान गर्यो, उति स्वस्थ्य भइँदोरहेछ ’

खोटाङ, १८ भदौ- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी पर्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उहाँले सो रक्तदान गर्नुभएको थियो । कविताको अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सक कृष्णकुमार राईले जानकारी दिनुभएको छ ।

बजिमयले पहिलोपटक ३० वर्षको उमेरमा रक्तदान गर्नुभएको थियो । सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बन्नुभएका उहाँले विसं २०६० सालमा पहिलोपटक साविक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई)लाई रक्तदान गर्नुभएको थियो ।

तत्कालीन समयमा रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको उहाँले स्मरण गर्नुभयो । “टेम्माकी शारदा मगर अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ । धामी÷झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा)लाई रगत दिनुपर्ने भयो”, उहाँले भन्नुभयो, “अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए । ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ ! अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ । ती दिदीले अहिले पनि बेला–बेला फोन गर्नुहुन्छ । उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन् । यसैमा आनन्दित छु ।”

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहनुभएका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउनुहुन्छ । “मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ । उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन् । यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई !”, उहाँले भन्नुभयो, “रातको बाह्र÷एक बजे उठेरसमेत रगत दिने गरेको छु । रक्तदान गर्नु आफ्नै लागिसमेत फाइदा हुँदोरहेछ । अहिलेसम्म मलाई कुनै रोग छैन ।”

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उहाँले बताउनुभएको छ ।” म अहिले ५२ वर्षको भएँ ! ६० वर्षसम्म रक्तदान गर्न मिल्छ । कम्तिमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो । रक्तदान गरेको तीन महिनापछि पुनः दान गर्न मिल्छ तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ । क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ । यसले मेरो एक सय पटक रक्तदान गर्ने उद्देश्य प्राप्त गर्नसक्ने सम्भवान भएन तर, पनि यो बीचमा धेरैको ज्यान बचाउन सकेकोमा खुसी छु ।”

जिल्लामा अहिले पनि अधिकांश मानिस रक्तदान गर्न डराउने गरेको उहाँले बताउनुभयो । “चेतनाको अभावले अधिकांश मानिस अझै पनि रक्तदान गर्न मान्दैनन् । रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा गाउँगाउँमा रक्तदानसम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ । यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन् ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध रहेको छ । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्त आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुनः मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताउनुभयो ।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । भौगोलिकरुपमा विकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ ।

हावाहुरी र वर्षाले बागलुङका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट

ढोरपाटन (बागलुङ), १८ भदौ – हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिनुभयो । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उहाँको भनाइ छ ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले रु ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उहाँले बताउनुभयो । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उहाँको भनाइ छ । मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पु¥याएको उहाँले बताउनुभयो । दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउनुहुन्छ ।“किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिँदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेँडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गँेडा हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो, अहिले ठ्याक्क घोँगामा गेँडा हाल्ने समय भएको थियो”, शाखा प्रमुख पराजुलीले भन्नुभयो, “अहिले प्रारम्भिक विवरण लिएका छौँ, प्रारम्भिक विवरणमा करिब रु ५० लाख नोक्सानी भएको अनुमान छ, केही दिनमै पूरै विवरण आउने छ, त्यसमा अलि बढ्ने सम्भावना देखिन्छ, किसानले धेरै ठाउँमा मकै ढलेको जानकारी गराउनुभएको छ ।”उहाँले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताउनुभयो । बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ । यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरिरहेको उहाँ बताउनुहुन्छ । यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताउनुभयो ।तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पु¥याएको बताउनुभयो । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताउनुभयो ।“हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन्, उहाँहरुको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौं र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गर्छौं ।”वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताउनुभयो ।उहाँले भन्नुभयो, “पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइँ दियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दुःख गरेर खेती गरेको, एकै छिनको हावाहुरीले यस्तो बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो ?”

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

किमाथाङ्का (सङ्खुवासभा) -सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् ।

अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् ।

शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताउनुभयो ।

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा रु ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

म्याग्दी, १८ भदौ-म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ ।

अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) (एफ) र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिनुुभयो ।

बागलुुङमा हाल (ए) र (के) वर्ग (दुुई पाङ्ग्रे) को मात्र परीक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

“ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियाँै”, उहाँले भन्नुभयो, “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।”

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताउनुभयो ।

“बागलुङमा चार पाङग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ”, उहाँले भन्नुभयो, “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।”

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिनुभयो ।

यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विवरण डिजिटलाइजेसन भएको छ । चालु आर्थिक वर्षमा अन्य यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेखलाई पनि डिजिटलाइजेसन गर्ने तयारी भएको छ । अभिलेखलाई डिजिटलाइजेशन गरेर सर्भरमा राखेपछि सेवाग्राही धेरै समय पालो पर्खेर बस्नुु नपर्ने, ढड्डा खोज्दा हुने समयको बचत र झन्झट हटेको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताउनुुभयो ।
 

सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्नसकेन

काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद अगाडि बढ्न नसकेको हो ।

अर्थ मन्त्रालयका उपसचिव धनीराम शर्माले चिनी खरिद स्वीकृति मागको फाइल मन्त्रालयमा आए पनि खरिदको विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए । उनले भने, ‘चिनी खरिदको विषयमा मन्त्रालयमा छलफल भएको छ, अहिलेसम्म चिनी के कति परिणामको खरिद गर्न स्वीकृति दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ५० प्रतिशत भन्सार छुटमा ६० हजार टन चिनी खरिद गर्न साउन १८ गते र साउन ३१ गते दुुई वटा पत्र अर्थ मन्त्रालयमा पेस गरेको छ । त्यसपछिका दिनमा पनि वाणिज्य मन्त्रालयले चिनीका विषयमा बारम्बार ताकिता गरेको छ तर अर्थ मन्त्रालयले स्वीकृति दिएको छैन । अब पनि छिटो निर्णय गरिएन भने यस वर्ष पनि दसैँतिहारमा बजारमा चिनीको अभाव हुने देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प्रश्रय दिएका मेयर शाहलाई कारबाही नगर्ने हो भने यसले अराजकता निम्ताउने भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मेयर बालेनको सो अभिव्यक्तिको चौतर्फी विरोध हँुदै आएको छ । केहीले भने मेयरको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । मेयरको गलत अभिव्यक्तिको समर्थन गर्नेहरूबाट अराजकता फैलने खतरासमेत बढेको देखिएको छ ।साइबर कानुनका विज्ञ एवं पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सामाजिक सञ्जालमा जनतालाई उत्तेजित हुने किसिमको स्टाटस लेख्नु गलत भएको बताए । उनले भने– ‘मेयरको आपराधिक मनस्थिति भए पनि आपराधिक कार्य भएको देखिँदैन । ’‘आपराधिक कार्य भएको भए सबै स्थानीयवासी सिंहदरबार जलाउन जाऔं भन्ने स्टाटस लेख्थे होला, तैपनि मेयरजस्तो महत्वपूर्ण व्यक्तित्वले यस प्रकारको स्टाटस पोस्ट गर्नु गलत हो’ –उनले भने ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा के गर्न सकिन्छ भन्ने बारेमा गृह मन्त्रालयले छलफल गरिरहेको बताए । सबैको अभिभावक, महनगरको पिताले यस किसिमको भनाइ पोस्ट गर्नु गम्भीर विषय भएको र यसले उहाको छविमाथि नै प्रश्न खडा गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले यो विषयमा मेयरसाव आफैंले समीक्षा गर्नुपर्ने बताए ।प्रजिअ बस्नेतले भने– ‘हामीलाई मेयर साबले यतिसम्मको स्टाटस लेख्नुहोला जस्तो लागेको थिएन, मर्यादाक्रममा सहायकमन्त्री पछि र मुख्य सचिवमभन्दा माथिको स्टाटस रहेको मेयरले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम गर्न मुख्य भूमिका खेल्नुपर्नेमा यस्तो सुरक्षा निकायलाई हतोत्साही हुने किसिमका अभिव्यक्ति दिनु गलत छ ।’मेयर साहले दिएको अभिव्यक्तिको विषयमा आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । मेयर साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती भएको स्वीकार गरेको छैन । तर, सरकारले उनको गलत व्यवहारको बारेमा छलफल गरिरहेको छ । यस विषयमा आइतबार प्रधनमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । स्रोतले जानकारी दिएअनुसार मेयर साहले माफी माग्नुपर्ने वा नमागे थप के कदम चाल्ने ? लगायतका विषयमा छलफल भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह

ललितपुर- कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताउनुभएको छ । उहाँले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्नुहुँदै विसं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गर्नुभयो ।

“केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भन्नुभयो, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।”

चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहिसक्नुभएका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट रु ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गर्नुभयो ।

विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उहाँले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताउनुभयो । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उहाँले भन्नुभयो ।

यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’  समापन हुँदैछ ।

अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउँदै कामपा

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालन छन् ।

सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कारबाही गर्ने जानकारी दिनुभयो । यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेको थाहा पाएपछि अनुगमन गर्न लागिएको पौडेलले बताउनुभयो ।उहाँका अनुसार कामपासँग विज्ञहरूको रोष्टर तयार छ । “उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ”, उहाँले भन्नुभयो, “अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेश गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो ।”औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने बताइएको छ । औषधि पसल सञ्चालन हुनका लागि कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेको छ ।अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानूनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलको भनाइ छ । कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । 

हेर्नुहोस् भदौ १८ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/ मेष राशि – शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

बृष राशि – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

श्रीलङ्का : आँधीबाट सावधानी अपनाउन मछुवा र नौसेनालाई निर्देशन

कोलम्बो – श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ ।

हम्बनटोटादेखि पोट्टुभिलसम्मको समुद्री क्षेत्र र पुत्तलामदेखि मन्नार, कनकासन्थुराई हुँदै त्रिन्कोमालीसम्मको समुद्री क्षेत्रमा हावाको गति बढ्न सक्ने विभागले जनाएको छ । “पुत्तलामदेखि कोलम्बो र गाले हुँदै हम्बनटोटासम्म फैलिएको समुद्री क्षेत्रमा कहिलेकाहीँ हावाको गति ५० देखि ६० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्छ । उपरोक्त समुद्री क्षेत्रमा माछा मार्ने र नौसैनिक गतिविधिमा संलग्न नौसेना र माछा मार्ने समुदायहरूलाई यस सम्बन्धमा सतर्क रहन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले एक छुट्टै पूर्वानुमान जारी गर्दै देशको दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थानमा तथा गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथिको भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित क्षणिक रुपमा हावाहुरी र चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको हो ।

पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन

काठमाडौँ – नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ ।प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आज उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उहाँले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताउनुभयो । उहाँले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको पहुँचमा पु¥याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिकरूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण सङ्कलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमितरूपमा अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताका बारेमा जानकारी दिनुभएको थियो ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचितरूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिकोे निर्णयबमोजिम वेबसाइट निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अवरुद्ध बनेको कालीगण्डकी कोरिडोर सञ्चालन

ढोरपाटन (बागलुङ) : भारी वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । वर्षाले गर्दा कोरिडोरको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि झरेको पहिराले शनिबार रातिदेखि सडक अवरुद्ध बनेको थियो ।

आइतबार दिउँसो बागलुङ नगरपालिकाको जेसिबी प्रयोग गरेर सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा कालिगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधान ठप्प भएका छन् ।

सडक सञ्चालनमा आएपछि यातायात आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक केसीको भनाइ छ । दिनदिनै सडक अवरुद्ध भएपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न र यात्रा गर्न समस्या भइरहेको स्थानीयवासीको गुनासो छ । बागलुङ–कुश्मिसेरा सडकबाट झरेको पहिराले कोरिडोर अवरुद्ध भएको थियो । यो पहिराले कोरिडोर र अर्को वैकल्पिक सडकलाई पनि क्षतविक्षत बनाएको छ । वर्षा हुनेबित्तिकै यस खण्ड ठप्प हुँदै आएको छ ।

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी – जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिनुुभयो । “मौसममा सुुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उहाँले भन्नुुभयो, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।”

तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुईजना आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ७१ हजार जना विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष : मन्त्री किराती

मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गर्नुभयो । मन्त्री किरातीले भन्नुभयो, “इतिहासदेखि जातीय द्वन्द्व र साप्रदायिक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्वीकार गरेका छन् भन्दै आफ्नो संस्कृतिलाई लागू गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हँुदैन ।”

सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनीकरण अभियान नरोकिने भन्दै उहाँले अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो । मन्त्री किरातीले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिनुभयो ।

उहाँले जनताप्रति उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा सहज रुपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीनवटा साना जहाज खरिद गर्न लागेको बताउनुभयो । मन्त्री किरातीले ल्यारक्याल लामा विवादित नभएर विवाविद बनाइएको तर्क गर्दै उहाँ नेपालको कुनै पनि संवैधानिक निकायमा दोषी नठहरिएकाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्नाका साथै यो जायज भएको बताउनुभयो । उहाँले प्रकृति र संस्कृति नेपालको सुन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई ब्रान्डिङ गरी प्रस्तुत गर्न सकेमा लाखौँ पर्यटकको आगमन हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीसँग अमेरिकी सिनेट सदस्यको भेट

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच शान्तिप्रक्रिया र मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)को कार्यान्वयनबारे छलफल भएको उपाध्यक्ष्य नेम्बाङले बताउनुभयो । 

उहाँका अनुसार अध्यक्ष ओलीले नेपाल र आफू नेतृत्वको पार्टीको दृष्टिकोण राख्नुभयो । “शान्तिप्रक्रिया हाम्रो सरकार हुँदाकै बेलामा टुङ्गोमा पुर्‍याउने गरी प्रयास गरेको कुरा पार्टी अध्यक्षले प्रस्टसँग राख्नुभयो”, उपाध्यक्ष नेम्बाङले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला र शान्तिप्रक्रिया पीडितमैत्री हुने गरी टुङ्गोमा पुग्नुपर्दछ भन्ने कुरालाई ध्यानमा राखेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हाम्रोबाट भूमिका हुन्छ, सहयोग हुन्छ । यही ढङ्गबाट हामी लाग्छौँ भनेर अध्यक्षज्यूले भन्नुभयो ।”

सिनेटर होलेनले शान्तिप्रक्रियाबारे जिज्ञासा राख्दै दुई देशबीचमा अहिले रहेको सम्बन्धलाई अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमसिसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गरेको कुराले आफूहरु खुसी भएको बताउनुभएको एमाले उपाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र एमाले विदेश विभागका सचिव डा अन्जान शाक्यसमेत सहभागी हुनुभएको थियो । 
 

श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको छ – सचिव भट्टराई

महोत्तरी – नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको बताउनु भएको छ । भूमिअधिकार तथा श्रमिक सङ्गठन, नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको आज बर्दिबास–४ माईस्थानमा उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षका माध्यमले श्रमिक र भूमिहीनका मुद्दा दर्विलो ढङ्गले उजागर गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री एवं एमालेको मधेस प्रदेश इञ्चार्जसमेत रहनुभएका सचिव भट्टराईले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले भूमिहीन समस्या समाधानका लागि ठोस प्रयत्न थालेको उल्लेख गर्नुभयो । “त्यतिखेर २०५१ सालमा यसका लागि समाधानमुखी प्रयत्न थालियो, तर छोटो समयको मनमोहन नेतृत्वको सरकारले काम फत्ते गर्न भ्याएन”, भट्टराईले भन्नुभयो, “त्यसयता पनि विभिन्न नाउँमा भूमि आयोग त बने, तर परिणामभन्दा राजनीतिक नियुक्तिको जागिरको थलोमात्र देखियो ।” श्रमिक र भूमिहीनका समस्याको समुचित सम्बोधनका लागि फेरि एमाले नेतृत्वको सरकार नै बन्नुपर्ने उहाँको भनाइ थियो ।

अधिवेशनमा सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुञ्जबहादुर खड्का र महासचिव इन्द्र तामाङसहितका वक्ताले वर्तमान संविधानको प्रस्तावनामै समाजवादउन्मुख उल्लेख भए पनि सरकारका प्रयत्न त्यस दिशामा अघि नबढेका गुनासो गर्नुभयो ।

सङ्गठनको मधेस प्रदेशका निवर्तमान कार्यवाहक अध्यक्ष शारद पोखरेलको अध्यक्षतामा सम्पन्न दोस्रो मधेस प्रदेश अधिवेशनले सत्यनारायण यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेस प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्षद्वमा बलबहादुर बस्नेत र सुनिता लोहनी, सचिवमा प्रदीपकुमार लामा, उपसचिवद्वयमा जगदीश यादव र कमल राना एवम् कोषाध्यक्षमा मीनाकुमारी महरालाई पदाधिकारीको जिम्मेवारी दिइएको छ ।