`

हेर्नुहोस् भदौ २० गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बह?को साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनु?पको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि – कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अरूको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – अपरीचीत ब्यक्तिहरूको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरूको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मीन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश

राजविराज (सप्तरी) – स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या अभियोगमा सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र निर्वाचित उनलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो ।

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेलगत्तै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिँहले जानकारी दिनुभयो ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोबिन्द चौधरीको हत्या गरेको आरोप छ । मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएका थिए । माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा यादवलाई अदालतले दोषी ठहर गरिसकेको छ ।

३३ वर्षपछि सञ्चालित भैरव नाच र बोडेको नीलबाराही नाच आजदेखि सम्पन्न

भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–६ चपाचोमा ३३ वर्षपछि यस वर्ष प्रर्दशन गरिएको लोपोन्मुख अवस्थामा पुगेको ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको भैलः प्याखँ अर्थात भैरव नाच आजदेखि सम्पन्न भएको छ ।

मल्लकालीन र तान्त्रिक शक्तिको आधारमा गाईजात्राको भोलिपल्ट मध्यरातिदेखि विभिन्न टोलमा चार रातसम्म प्रदर्शन भएको नाच आजदेखि सम्पन्न भएको स्थानीयवासी श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । तेत्तीस वर्षपछि चपाचोमा यहाँका प्रजापति समुदायले चपाचोका देवता घर अर्थात द्यो छेंँबाट प्रदर्शन गरेका थिए ।

विसं २०८० भैरव नाच व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिका अनुसार देवता घरबाट निकालिएको भैरव नाच चपाचो नासः द्यो, गार्चा गणेश, थामद्यः, गुंगचिभाः, कुतिचिभाः, हात्तिमहांकाल, दिगुटोल, ईनालाछि, लायकु, दत्तलय, मरुटोल, बालकुमारी, बालकुमारी भैलः द्य, दिगुटोल भैलःद्य, कुम्हाननी, तुलंननी, नासननी, चपाच्व, जलांननी र अन्तिममा पुनः चपाच्व द्योछेंमा प्रदर्शन गरेर सम्पन्न भएको थियो । चार रातसम्म टोलको विभिन्न रुट तय गर्दै नाच प्रर्दशन गरिएको उहाँले जानकारी दिनुभयो ।

तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारणा गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दागी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले रातभर नाच प्रर्दशन गरेका हुन् । नाचमा धाःबाजा, भुस्याः, पोङ्गा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।

यस वर्षको नाचमा सरगत प्रजापति ज्यापुंगःचा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात भैरव, राजन प्रजापति लु भैलः अर्थात भैरव, निरोज प्रजापति न्हापा दाँगी र नयन प्रजापति लु दाँगी बनेर नाचिरहेको स्थानीय रामकृष्ण शंखदेवले जानकारी दिनुभयो ।

धाःबाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरूमा दुईदेखि तीनतालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नासःद्य) को प्राङ्गणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रावधान रहेको छ ।

प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, पिशाचले दुःख दिन थालेपछि यहाँका राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाएर लाय्कु भैलःको रूपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिशाच भगाउने गरेको जनविश्वास रहेको छ ।

थिमि भैलः प्याखँ यस वर्ष सात जना गुरुले १५ दिन नाच सिकाएको प्रजापतिले जानकारी दिनुभयो । गुरु सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापतिले तीन सातासम्मम नाच सिकाउनुभएको थियो । भैलः प्याखमा अरु देवगणसँग मुकुण्डो धारणा गर्ने भए पनि ज्यापुंगःले विनामुकुण्डो नाच्नुपर्दछ । नाचमा भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बियाँले हान्ने गर्दछ ।

प्राचीन कालमा यहाँका बासिन्दालाई भूत प्रेतले दैनिक दुःख दिएपछि राजाले तान्त्रिक गुरु बोलाएर तान्त्रिक शक्ति जगाई भैरव नाच प्रदर्शन गरेपछि भूत, प्रेतले दुःख दिन छाडेको स्थानीयवासीले पनि यो नाच नियमित चलाउँदै आएको किम्बदन्ती रहेको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच आज दिनभर प्रदर्शन गरी सम्पन्न भएको छ ।

बोडे सहरमा भव्यरूपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिदेखि बोडेको अखा द्यो छेँ अर्थात देवता घरबाट सुरु भई आज सम्पन्न भएको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो । हरेक दिन मध्यरातिदेखि सुरु हुने यो नाचमा बिहान टोल टोलमा देवताको पूजा गर्नेको भीड लागेको थियो भने दिनभर पनि टोलटोलमा नीलबाराही नाच नाचिएको छ ।

बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिन अघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने उहाँले बताउनुभयो । नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जना गरी यो नाचमा एक सयभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घण्टासम्म दैवी शक्तिको आधारमा परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने प्रजापतिले बताउनुभयो ।

नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किम्वदंन्ती एवं जनविश्वास रहँदै आएको छ ।

नीलबाराही नाचका पोङ्गा बाजाका भरत लुमद्योले भन्नुभयो, “नाचको नियम कडा छ, देवगणले मुकुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुको काखमा या जीउमा अडेस लगाएर बस्नुपर्छ ।” उहाँले नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हँुदैन भन्ने मान्यता रहेको बताउनुभयो । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ ।

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिनुभएको छ । विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला आज विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुग्नुभएका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दाे सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ ।

महानिरीक्षक कुँवर पछिल्लो समयमा उपत्यकाका विभिन्न ब्यूरो तथा कार्यालयको स्थलगत निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनको क्रममा हुनुहुन्छ । केही अघि मात्रै उहाँले लागुऔषध नियन्त्रण ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरोको स्थलगत निरीक्षण भ्रमण गरी मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो ।

पक्राउ परेका खरेललाई काठमाडौँ ल्याइयो, भोलि म्याद लिइने झण्डै

६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि कपिलवस्तुबाट पक्राउ परेका रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई आज साँझ काठमाडौँ ल्याइएको छ । आज समय अभावमा कारण अदालतबाट म्याद लिन नभ्याइएकाले भोलि म्याद थप गरी अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । यसअघि भारतमा लुकीछिपी बस्दै आएका खरेललाई सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करी प्रकरणको थप सूचना लिन प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ जानुभएको छ ।

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

काठमाडौँ – भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने चुनौतिको सामना गर्नुपर्यो”, भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भन्नुभएको छ ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।–

‘संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याऔँ’

काठमाडौँ – पूर्वसांसद मञ्च नेपालका पदाधिकारी एवं सदस्यले संवैधानिक सर्वाेच्चता, विधिको शासन र समाजलाई अनुशासित तुल्याउँदै अघि बढने वातावरण बनाउन सङ्घीय संसद् र सरकारलाई सुझाव दिनुभएको छ ।

मञ्चको २४औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित अन्तक्र्रियामा उहाँहरूले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजको पहिचान र चरित्रलाई बुझेर सामाजिक सद्भाव र एकता कायम राख्ने विषयलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

पूर्वजनप्रतिनिधिले नेपाली जनताको ठूलो बलिदानी र सङ्घर्षको उपलब्धिका रूपमा रहेको प्राप्त संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा एकाकार हुन परिवर्तनकारी शक्तिलाई अनुरोध गर्नुभयो ।

सो अवसरमा मञ्च कार्यवाहक अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वर राय यादवलगायतले धार्मिक सहिष्णुता र सामाजिक एकताउपर समस्या ल्याउन सक्ने गतिविधि र क्रियाकलापबाट सचेत र सर्तक रहन आम जनसमुदायसँग आह्वान गर्नुभयो ।

उहाँहरूले संविधानलाई बलियो बनाउने र सङ्घीयतालाई सुदृढ गरी कार्यान्वयन गर्ने सन्दर्भमा आउन सक्ने कतिपय चुनौतीलाई सम्बोधन गर्न आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरेर जान सकिने बताउनुुभयो । मञ्चमा करिब एक हजार एक पूर्वसांसद आबद्ध रहेकामा त्यसमध्ये छ सय छ आजीवन सदस्य हुनुहुन्छ ।

सङ्घीय संसद्को अभिन्न अङ्गका रूपमा रहेको मञ्च सबै राजनीतिक दलका पूर्वजनप्रतिनिधिका साझा संस्थाका रूपमा रहेको छ । मञ्चले संविधान र सङ्घीयता कार्यान्वयन तथा राष्ट्र र जनहितका पक्षमा बेला बखत सरकार एवं संसद्लाई राय, सुझाव र परामर्श दिँदै आएको छ ।

हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो

काठमाडौँ – हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ । त्यस सम्बन्धमा गरिएको कारवाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गुनासोकर्तालाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चयकोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ ।

धेरै गुनासाहरू भाइबर, फोन÷वेबपोर्टल, मोबाइल फोनबाट आएको छ । ११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ (टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको) र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ ।

“सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति विदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुनः अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ”, वेबपोर्टलको जिज्ञासामा भनिएको छ ।

त्यसैगरी महङ्गी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ ।

जिल्ला फर्क अभियान गर्दै कांग्रेस चितवन

चितवन – नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान गर्ने भएको छ । चितवन जिल्लामा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपाली कांग्रेस चितवनको यही भदौ २३ गते हुने जिल्ला सम्मेलनमा सभापति राजेश्वर खनाल सो विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार सम्मेलनले अनुमोदन गरेसँगै अभियानका रूपमा बाहिरी जिल्लामा रहेका कांग्रेसका नेता कार्यकर्तालाई जिल्ला फर्काउने गरी काम गरिने छ ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीलाई पार्टी र जनसम्पर्क समिति समन्वय गरी जिल्लामा फर्क अभियान कार्यक्रम सञ्चालन गर्छौं ।” आन्तरिक पार्टी सुदृढीकरणसँगै आमनागरिकको जनजीविकासँग जोडिएका विषयमा कांग्रेसलाई जोडेर सङ्गठन सुदृढीकरण अभियानमा लाग्ने उहाँको भनाइ छ ।

पार्टीले नेपाली कांग्रेस वैदेशिक जनसम्पर्क समिति गठन गरी चितवन जिल्लामा स्थायी बसोवास भई अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेकालाई जोड्ने योजना बनाएको छ । खनालका अनुसार पार्टी सदस्य तथा शुभेच्छुकलाई पार्टी र सङ्गठनमा जोड्ने उद्देश्यले वैदेशिक जनसम्पर्क समिति चितवन स्थापना गरी काम गर्ने योजनाअघि सारिएको छ ।

सम्मेलनमा सङ्गठनात्मक सवलीकरणसम्बन्धी नीति, पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित नीति, अन्य राजनीतिक दलसँगको सहकार्य र सम्बन्धको नीति, विकास निर्माण तथा सामाजिक कार्यसम्बन्धी नीति, सहकारी तथा कृषिसम्बन्धी फरक फरक नीति सम्मेलनमा पेस गरिँदैछ ।

पार्टीको १४औँ महाधिवेशनमा रहेका क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन् । तत्कालीन समयमा दुई हजार नौ सय सात जना क्षेत्रीय प्रतिनिधि रहेका थिए । सम्मेलनमा सहभागी हुनलाई पार्टीको सदस्यता नवीकरण हुनुपर्ने उहाँले जानकारी दिनुभयो । यससँग भ्रातृ र शुभेच्छुक संस्थाका जिल्ला र केन्द्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा पार्टी सभापतिले नीति तथा कार्यक्रम, सचिवले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेसँगै बृहत् छलफल गरिने उहाँले जानकारी दिनुभयो ।४१औँ बिपी स्मृति दिवसका दिन साउन ६ गतेदेखि क्रियाशील सदस्यता नवीकरण सुरु गरेको चितवन कांग्रेसले साउन २७ गतेदेखि वडा सम्मेलनसँगै क्रमशः पालिका, प्रदेश, क्षेत्रको सम्मेलन सम्पन्न गरेको छ ।

आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्रीसँग आयोगका अध्यक्ष तथा पदाधिकारीले गरेको भेटवार्तामा उहाँले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आयोगको वर्तमान अवस्थाबारे जानकारी लिँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको बारेमा विषयमा छलफल भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नका लागि आयोगको ऐनमा पेरिस सिद्धान्तबमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीको नियुक्ति, कर्मचारीको वृत्ति विकासको सुनिश्चिततालगायत विषयलाई समेट्नुपर्ने र यसका लागि सरकारबाट आवश्यक पहल गर्नुपर्नेमा माग गर्नुभएको थियो ।

छलफलमा आयोगका सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

नदीजन्य पदार्थ चोरी गर्ने समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट नगर प्रहरी गम्भीर घाइते हुनुभएको छ ।

अवैध ढुङ्गा गिटी चोरी नियन्त्रणका लागि गए राति गिरुवारी खोलामा ड्युटीमा खटिनुभएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । “हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका चार नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेका थिए”, उहाँले भन्नुभयो, “आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएका छन् उनले टाउकोमा हेल्मेट लगाएकाले गम्भीर चोट लाग्न पाएन । ”

घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्यूरो अस्पताल काठमाडौँ लगिएको छ । नगर प्रहरीलाई आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । “आक्रमणमा सामेल एक जना फरार छन्, खोजी कार्य जारी छ”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिकाले गत जेठदेखि यममाया मल्लसहित सात जनालाई नगर प्रहरी नियुक्त गरेको थियो ।

सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ – उपमहासचिव पुन

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र वेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताउनुभएको छ ।उहाँले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गर्नुभयो । सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पार्नुभयो ।

“बेथिति विरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन भने नछुटुन्”, पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज यहाँ गरेको कार्यक्रममा उपमहासचिव पुनले भन्नुभयो, “सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरूपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभियान सफल हुन सक्दैन । त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोेष कोही नफसोस् ।”

नेता पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैँ गरी सामाजिक चरित्रहत्या गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेर गएकामा चिन्ता व्यक्त गर्नुभयो । दलका नेता, कर्मचारी, चित्किसक, इञ्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन् भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

नेता पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताउनुभयो । कयौँ विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गरे । राष्ट्रिय सरोकारका एजेण्डामा सबै राजनीतिक शक्तिबीच समान धारणा बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निजी क्षेत्रलाई आश्वस्त नपारी मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनुभयो । उहाँले नेतृत्वकर्ता दलको नेताका हैसियतमा सरकारबाट लगानीकर्ता डराउनुपर्ने अवस्था नरहने प्रतिबद्धता जनाउनुभयो । “बैंकबाट ऋण लिएर गरेको व्यवसाय डुबेर सडकमा आउनुपर्छ कि भनेर लगानीकर्ता डराउनुपर्दैन । सरकार लगानीमैत्री ढङ्गले नै अगाडि बढ्न चाहन्छ”, उपमहासचिव पुनले भन्नुभयो, “निजी क्षेत्रले सुरक्षाको भावनाका साथ काम नगर्दासम्म रोजगारी सिर्जना, पूँजीवृद्धि र आर्थिक विकास सम्भव छैन भन्ने कुरा सरकारको नेतृत्वले बुझेको छ ।”

उहाँले मुलुकको आर्थिक विकासका लागि लगानीयोग्य रकमको प्रचुरता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । देशभित्रकै साना लगानी सङ्कलन, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय लगानीमार्फत लगानीयोग्य रकम जुटाउनुपर्ने उहाँको भनाइ थियो ।

ग्रेटवाल भत्काउने दुई जना समातिए

चीन – चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पु¥याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क ९सिएनएन०ले जनाएका छ ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन ९सिसिटिभी०लाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

बत्तीसौँ ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् ।

बत्तीसौँ ग्रेट वाल खण्ड मिङ काल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल पर्खाललाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)ले विश्व सम्पदास्थलका रुपमा घोषणा गरेको हो ।

भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने

काठमाडौँ – नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ ।

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो ।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट आठ रूपैयाँ ४० पैसाअर्थात् पाँच दशमलव २५ भारतीय रूपैयाँमा बिक्री हुनेछ ।

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट पाँच दशमलव २५ भारतीय रूपैयाँमा दुई सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ ।

नेपालले सोलुखोला (दूधकोशी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन् ।

चिनियाँ नक्साले छिमेकी असन्तुष्ट

चीन – चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् ।

यी पाँच दक्षिणपूर्वी एसियाली देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन् । नक्सासम्बन्धी समस्या हुन नदिन नयाँ नक्सा जारी गरिएको बेइजिङले स्पष्ट पारेको छ तर पाँचवटै देशले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका छन् । इण्डोनेशियाको राजधानी जकार्तामा जारी आसियान शिखर बैठकमा पनि चीनको आलोचना भएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले ‘आधिपत्यवाद चीनको डीएनएमा छैन’ भने पनि नयाँ नक्साबाट उक्त भनाइको खण्डन भएको आसियान नेताहरूले बताएका छन् । “फिलिपिन्सले चीनको मानक नक्साको २०२३ संस्करणलाई अस्वीकार गर्दछ ।।। फिलिपिन्सका विशेषताहरू र सामुद्रिक क्षेत्रहरूमा चीनको कथित सार्वभौमसत्ता र क्षेत्राधिकारलाई वैधानिक बनाउने यो पछिल्लो प्रयासको अन्तरराष्ट्रिय कानून, विशेष गरी सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत कुनै आधार छैन,” मनिलाले एक वक्तव्यमा भनेको छ ।

जलस्रोतको बहुउपयोगितासम्बन्धी राष्ट्रिय गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा

जनकपुरधाम – जलस्रोतको बहुउद्देश्यीय उपयोग र व्यवस्थापनका लागि नेपाल सरकारले बनाउन थालेको एकीकृत गुरुयोजना अन्तिम चरणमा पुगेको छ . जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा नदी बेसिन योजना, जलविद्युत्को विकास गुरुयोजना तथा रणनीतिक वातावरण सामाजिक मूल्याङ्कनसम्बन्धी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको सचिवालयका सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिनुभयो ।

गुरुयोजनाको मस्यौदा अन्तिमरुप दिन प्रदेशस्तरबाट राय सुझाव लिने क्रममा आज जनकपुरधाममा आयोजित अन्तक्र्रिया गोष्ठीमा सचिव तिवारीले कोरोना महामारीका कारण केही समय ढिला हुन गए पनि गुरुयोजनाको मस्यौदा तयार भई त्यसमाथि सरोकारवाला व्यक्ति र निकायबाट राय सुझाव लिने काम भइरहेको बताउनुभयो ।

“सुरुमा विश्व बैंकको सहयोगमा योजना तयार गर्ने भनिए पनि कोरोना महामारीका कारण बैंकबाट निरन्तर सहयोग पाइएन । पछि नेपाल सरकारकै करिब रु ३५ करोडको लागतमा योजना निर्माणको काम गरिएको हो”, सचिव तिवारीले भन्नुभयो, “यसमा जलस्रोत, ऊर्जा, सिँचाइ, खानेपानी, नदी प्रणालीलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञको योगदान छ । जसले जलस्रोत क्षमता र त्यसको बहुउपयोग (खानेपानी, सिँचाइ र जलविद्युत्) का सन्दर्भमा ठोस् मार्गदर्शन दिनेछ । यसले सन् २०५० सम्मको सम्भाव्यता र उपयोगिताको कुरा गर्नेछ ।”

कार्यक्रममा मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सिंगासन सा कलवारले गुरुयोजनाले सिङ्गो देशको बारेमा एउटा खाका दिने भए पनि पानीको हाहाकार हुने अवस्थामा रहेको मधेसका समस्या समाधानमा विशेष ध्यान दिन सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले नदी तथा जलस्रोतको मुख्य स्रोतका रुपमा रहेको चुरे क्षेत्रको विनासले मधेस मरुभूमिमा परिणत हुने खतरा रहेकाले सरकार र विज्ञहरूले समयमै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“विगतमा सिँचाइको समस्याका कारण कृषकले खेतीपाती गर्न पाएनन् भनेर वर्षौंवर्ष गुनासो गरिरह्यौँ । त्यसैमाथि अब नागरिकले खानेपानी नै नपाउने समस्या आउन थालेको छ । चापाकल, इनार, पोखरी सुक्न थालेका छन्, नदी हराउन थालेका छन्”, मन्त्री कलवारले भन्नुभयो, “गुरुयोजनाले समग्र नेपालको जलस्रोतको सम्भावना, समस्या र उपयोगका बारेमा त सोच्नुपर्छ नै, देशको सबैभन्दा ठूलो जनसङ्ख्याको हिस्सा बसोबास गर्ने मधेस प्रदेशले हाल सामना गरिराखेका समस्याको दीर्घकालीन सम्बोधन गर्न विशेष ध्यान दिन जरुरी छ । त्यसका लागि म आग्रह गर्दछु ।”

उहाँले चुरेको संरक्षणबिना मधेस प्रदेशका बाढी, डुबान, खानेपानी र सिँचाइलगायत समस्या समाधान नहुने भन्दै त्यसलाई आधार बनाएर तत्काल आवश्यक कदम चाल्न प्रदेश सरकारले सबैसँग समन्वय र साझेदारी गर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकारवालाले नेपालमा बन्ने योजना तथा गुरुयोजनाले ठूलाठूला आयोजना, लगानी र सम्भावनाका कुरा गर्ने तर कार्यान्वयन नहुने समस्या रहेकाले यो योजनाले तत्काल गर्न सकिने र अत्यावश्यक कार्यका सन्दर्भमा ठोस योजना अगाडि सानुपर्ने बताउनुभएको थियो ।

जवाफमा आयोगका सचिव तिवारीले अध्ययनले कुन कुन बेसिनको कुन कुन ठाउँमा कति जलस्रोत रहेको र त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा ठोस मार्गनिर्देश गर्ने भएकाले त्यसको लाभ तीनै तहका सरकारलाई हुने बताउनुभयो ।

उहाँले आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक विश्लेषण पनि समावेश गरिएकाले यस अध्ययनले खानेपानी, सिँचाइ र जलविद्युत्का साथै यसको पर्यटकीय, सांस्कृतिक र सामाजिक सम्बन्धका आयाममा पनि काम गर्न सहजता प्रदान गर्ने बताउनुभयो । पानीको समन्वयात्मक उपयोग गर्न तीनै तहका सरकारको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

यसअघि आयोगका सहसचिव डा कमलराज जोशीले देशमा उपलब्ध जलस्रोतको बेसिनस्तरमा समन्वयात्मक रुपमा व्यवस्थापन तथा उपयोग गरी अधिकतम लाभ लिने उद्देश्यले योजना मस्यौदा तयार भएको र सबै प्रदेशबाट राय सुझाव लिई थप प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नदी बेसिन योजनाकार तथा विज्ञ डा दिवसबहादुर बस्न्यात र शीतलबाबु रेग्मी, डा निर्मल विष्ट, डा कपिल ज्ञवाली, सहसचिव कला निधि पौडेललगायतले विविध विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

योजनामा देशभरिका मुख्य नदी कोशी, गण्डकी, कर्णाली, बाग्मती, पश्चिम राप्ती, बबई, महाकाली, कमला, कन्काई र मेची नदीको बेसिनदेखि उद्गमस्थलसम्म पानीको उपयोगिताबारे कार्ययोजना बन्ने आयोगको सचिवालयले जनाएको छ ।

‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ ।

आज दिउँसो गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) द्वारा ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तक्र्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले ब्रिटिस सेनामा भर्ती भएकामध्ये गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो गेसोको मात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “भूतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो, विश्वभरि रहेका नेपालीको हकहितका निम्ति राज्यले यस्ता मुद्दा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ र त्यसमार्फत सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु ।”

जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।

“चाहे खाडीलगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारको सवाल होस्, चाहे भूतपूर्व गोर्खालगायत विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीको कुरा होस्, चाहे जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषय होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ”, उहाँले भन्नुभयो ।

विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियोे ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन हुन्न : डा दीक्षित

काठमाडौँ, १९ भदौ : राजनीति विश्लेषक डा सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताउनुभएको छ

। आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताउनुभयो । “गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन ।

उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, दीक्षितले भन्नुभयो, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिनुभयो । दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजकशैलीमा टिप्पणी गर्न नहुने पनि बताउनुभयो ।

चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव

काठमाडौँ, १९ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गर्नुभएको छ ।

महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ ।

महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका दुई देशबीको सम्बन्ध लामो समयदेखि सौहार्द रहेको र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणबाट अझ प्रगाढ भएको उल्लेख गर्नुभयो । एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएको व्यापार तथा पारवाहन सम्झौता नेपालले तेस्रो मुलुकसँगको व्यापारिक मार्गका लागि महत्त्वपूर्ण भएको र सोको प्रभावकारी कार्यान्वयन होस् भन्ने पक्षमा पार्टी रहेको अवगत गराउनुभयो । महासचिव पोखरेलले चीनको विकासको अनुभव र ज्ञानलाई नेपालको समृद्धिको यात्रामा उपयोगका लागि युवाको अनुभव आदानप्रदान गराउन पनि जोड दिनुभएको थियो ।

भ्रमण दलमा सहभागी एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईका अनुसार नेपालको औद्योगीकरण, पूर्वाधार विकास, कृषि, पर्यटनलगायत क्षेत्र तथा नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरण खासगरी नेपालको गरिबी निवारणलाई अन्त्य गर्न नेपालले आवश्यकता र अनुकूलताअनुसार चीनको सहयोग लिन सक्ने विश्वास चीनिया पक्षबाट प्राप्त भएको छ । नेता डा भट्टराईले उक्त सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो भएको र नेपाल भ्रमण गरिसकेका चीनको उदाउँदो राष्ट्रिय नेता जियाजुनका तहबाट यस प्रकारको सदीक्षा आउनुले दुई देशका सरकार, जनता र दुई पार्टीबीच आगामी दिन अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटका अवसरमा नेता जियाजुनले आफू गत साउनमा नेपालको भ्रमणमा रहँदा नेपाली जनताको तीव्र आर्थिक विकासको चाहना रहेको पाएकाले त्यसका लागि चीनका तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो । उहाँले चीन र छोइछिङको विकासको अनुभवबाट नेपालले लाभ लिन सक्ने र खास गरी नेपालका धान उत्पादनका लागि उच्च प्रविधि र ज्ञान दिन आफूहरू तयार रहेको जनाउनुभएको थियो । उहाँले चीनका राष्ट्रपति सि जिनपिङको नेपालको औपचारिक भ्रमणका समयमा भएका सम्झौताको कार्यान्वयन गर्न आफूहरू तयार रहेको स्पष्ट गर्नुभएको थियो । छोइछिङ सहरबाट सीधा हवाई उडानका लागि दुई देशका केन्द्र सरकारका नागरिक उड्डयनसँग सम्बन्धित निकायबीच संवाद हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपाली विद्यार्थीका लागि छात्रवृत्तिलगायत सहयोग जारी राख्ने स्पष्ट गर्नुभएको थियो । भेटमा नेपाली टोलीका तर्फबाट डा भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता ज्वालाकुमारी शाहलगायत तथा चिनियाँतर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका छोइछिङ सहर कमिटीका उपसचि ली मिङछिङ, उक्त नगर कमिटीका स्थायी कमिटी सदस्य चेन सिनयुलगायत सहभागी हुनुहुन्थ्यो ।

बागमती प्रदेशसभाको बैठक भदौ २० मा बस्दै

मनहरि, १९ भदौ : बागमती प्रदेशसभाकोे बैठक भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो

। प्रदेशसभा बैठकको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले सरकारले विगतमा गरको सहमति कार्यान्वयनन गरेको भन्दै सदन चल्न नदिने चेतावनी दिनुभएको थियो । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो तर त्यसबीचमा पनि दलहरुबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालनका लागि दलहरुबीच पटक–पटक छलफल चलाए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको बताउनुभयो । प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । एमालले यसअघि सरकारले बजेटमा विपक्षी दलको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेका कारण समस्या भएको बताएको छ ।

सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री साह

काठमाडौँ, १९ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सवै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।”

समितिका सदस्यहरूले मुलुकका केही भागमा देखिएका घटनाबाट नेपाली समाजमा सदियौँदेखि रही आएको सद्भावना बिथोल्न खोज्ने प्रयास भएकाले त्यसप्रति सजग रहन आग्रह गर्नुभयो । उहाँहरुले मुलुक भ्रष्टाचारको दलदलमा भासिने सासद र सांसद रमिते बन्ने परिस्थिति अन्त्य गर्न पहलकदमीको खाँचो औँल्याउनुभयो ।

जनताले अनुभूति गर्ने गरी देश र जनताका पक्षमा संसद् र संसदीय समितिले काम गर्न जरुरी रहेको बताउँदै सदस्यहरूले सङ्घीय निजामती, प्रहरी र शिक्षासम्बन्धी विधेयकलाई छिटो निकास दिनु आवश्यक रहेको बताउनुभयो ।

सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनुपर्ने कयौँ निकायबाट हुने निर्णयले पूर्वाधार निर्माणलगायत विकास कार्यक्रममा बाधा उत्पन्न गराएको पक्षलाई ससदले कानुन निर्माणका क्रममा विशेष ध्यान पुर्‍याउन सदस्यले सुझाव दिनुभयो । बैठकमा सदस्यले समितिको प्रभावकारिता र सभापति खतिवडालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण

बैतडी, १९ भदौ : आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।”मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् ।मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्को बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन् ।”यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरू तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले राखेको छ । विपद्को समयमा परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ । 

एमाले अध्यक्ष ओलीले गरे नेपाली क्रिकेट टिमको प्रशंसा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । सो खेलमा भारतसँग पराजित भए पनि अध्यक्ष ओलीले नेपाली टिमको प्रशंसा गरेका हुन् ।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन् – ‘बधाई हामी सबैलाई, हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं। प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन् । ‘

सोमबार भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।

गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ) -प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो । उहाँले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताउनुभयो । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिनुभयो ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।

‘फाइवर ट्रस’ लगाइँदै

पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।

हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी दुई हजार चार सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी एक हजार चार सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन रु तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताउनुभयो । उहाँका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी चार दशमलव पाँच किलोमिटर छ ।

तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.८१ रुपैयाँ, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

यस्तै क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ८८ पैसा र बिक्री दर १६७ रूपैयाँ ७३ पैसा, कोरिया १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा, मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ, साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ।

आज कहाँ-कहाँ पानी पर्छ ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा को पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट

बागमती – जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको सो कार्यालयले जनाएको छ ।

सरकारले अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदनहरु उक्त कार्यालयमा दर्ता भएको थियो भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठनपश्चात् गत चैत १२ गतेदेखि उजुरी आह्वान गरेको थियो ।

आयोग गठन गर्नुपूर्व दर्ता भएका तथा आयोग गठनपछि दर्ता भएका चारवटा उजुरी गरी कूल ३२ वटा उजुरीको छलफलको माध्यमबाट मेलमिलाप गरी समाधान गरिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

आयोग गठनपूर्व दर्ता भएका निवेदनमा अधिकतम रु पाँच लाखसम्मको आर्थिक कारोबार भएको उजुरी परेको छ भने आयोग गठनपश्चात् अत्यन्त ठूला तथा जग्गा धितो बन्धक गरी गरिएको कारोबारसम्बन्धीको उजुरी परेको उहाँको भनाइ छ ।

मिटरब्याजी समस्याको विषयमा प्राप्त निवेदनमाथि छलफल र मिलापत्र गराएको भन्दै केही व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई विपक्षी बनाएर उच्च अदालत हेटौँडामा मुद्दासमेत दायर गरेको सो कार्यालयबाट जानकारी दिइएको छ ।

जसपाद्वारा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहनुभएको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।

यसैगरी बैठकले पूर्वकेन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजात बरबुझारथ गर्ने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

अख्तियारले सीआईबीसँग माग्यो दावा छिरिङको कल डिटेल्स

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ ।

छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग दावाको कल डिटेल्स मागेको छ । अख्तियारका एक अधिकारीले छानबिनका क्रममा सीआईबीसँग दावाको कल डिटेल्स मागिएको र छिटै प्राप्त हुने विश्वास गरिएको बताए ।साथै यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ ।

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन थालिएको हो । यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्का माथिसमेत अख्तियारले छानबिन थालेको छ ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान थालेको हो । स्रोतका अनुसार अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ ।

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । पक्राउ परेका उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ ।

यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक विच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए ।सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित

चितवन, १९ भदौ : वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उहाँले भन्नुभयो, “चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उहाँले जानकारी दिनुभयो ।

यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षका लागि रु पाँच करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उहाँले कात्तिक महिनामा बजेट माग गरिने बताउनुभयो ।

हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो । कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ । नयाँ सम्झौताअनुसार आगामी मङ्सिरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ ।

रु एक अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम भइरहेको हो । सडक निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले वर्षात् र खानेपानीका पाइपका कारण कामलाई तीव्रता दिन नसकिएको बताउनुभयो । छिट्टै कामलाई तीव्रता दिने उहाँको भनाइ छ ।

कम्पनीसँग आवश्यक उपकरण, जनशक्ति र कच्चा पदार्थ रहेकाले पानी पर्न रोकिएसँगै कामले तीव्रता पाउने उहाँले बताउनुभयो । भरतपुर र नारायणगढको मुख्य सहरी क्षेत्र हुँदै जाने सडक निर्माण प्रभावित भएपछि यहाँको व्यवसाय पनि प्रभावित बनेको छ । व्यवसायीहरूले यथाशीघ्र काम अघि बढाउन दबाब दिँदै आएका छन् ।

दसैंअघि मेलम्चीको पानी वितरण नहुने

सिन्धुपाल्चोक । पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो ल्याई थुपारेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। ‘ढुंगा माटोले पुर्दा के कति क्षति भयो भन्नेचाहिँ वर्षात् रोकिएपछि मात्रै थाहा हुन्छ। अहिले मुहान क्षेत्रमा जानसक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्राविधिकहरूले भनेअनुसार १५÷१६ मिटरको गेग्रान हेडवर्क्स र सुरुङक्षेत्र वरिपरि थुप्रिएको छ।’

बाढीले सडक र गोरेटो बाटोसमेत बगाएकाले आयोजनाका कर्मचारी हेडवर्क्ससम्म जान नसकेका श्रेष्ठले बताए। वर्षात् रोकिएलगत्तै प्राविधिकहरूको टोली पठाएर कति क्षति भयो र अब के गर्ने भन्ने योजना बनाइने उनले जनाए। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मुहानको अवस्थाबारे जानकारी लिन ड्रोनको प्रयोग गरिएको थियो।ड्रोनले खिचेको भिडियोमा हेलम्बुको भ्रेमाथाङ आसपासबाट बाढीले बगाएर ल्याएको लेदो माटो र ढुंगा हेडवर्क्स वरपर थुप्रिएको देखिएको उनले जनाए। गेग्रानले हेडवर्क्स क्षेत्रमा क्षति बनाएको जानकारी मुख्य ऋणदाता एसियाली विकास बैंकलाई गराइसकेको आयोजनाले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान र अहिलेको शासन व्यवस्थालाई नै चुनौती दिनेगरी स्थानीय सरकारका केही जनप्रतिनिधि सक्रिय भएपछि त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको हो ।

स्थानीय तहका मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरसभा सदस्य, गाउँसभा सदस्यलगायत जनप्रतिनिधिहरूको आर्थिक र नैतिक आचरणलाई नियमन गर्न र उनीहरूको उपद्रयाइँ रोक्न कानुन बनाउने तयारी भइरहेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालयले स्थानीय सरकार सुशासन ऐनको मस्यौदा बनाउन आन्तरिक छलफल प्रारम्भ गरेको छ । यस विषयमा एकदुईपटक उच्च कर्मचारीहरूको आन्तरिक बैठक बसेको मन्त्रालय स्रोतले बतायो । यस विषयलाई मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रमभित्र राखेको छ । तत्कालीन संघीय मामिलामन्त्री अमनलाल मोदीका पालामा ऐनको मस्यौदाका विषयमा छलफल सुरु गरिएको थियो ।

‘हामीले बनाउन लागेको कानुनको मस्यौदामा जनप्रतिनिधिहरूको आर्थिक, नैतिक र आचरणको विषयमा नियमन गर्ने उद्देश्यबाट छलफल सुरु गरेका थियो,’ निवर्तमान मन्त्री मोदीले भने, ‘केन्द्रीय सरकारको बेरुजुको फर्सोट तथा अनुगमन संसद्को लेखा समितिले गर्छ । प्रदेश सरकारमापनि यही व्यवस्था छ । तर स्थानीय तहमा भने आफैंले खर्च गर्ने र आफैँले फस्र्योट गर्ने काम भइरहेको छ । यसको नियमन जरुरी छ ।’

मन्त्रालय स्रोतका अनुसार केन्द्र सरकारले बनाएको सुशासन सञ्चालन व्यवस्थापन ऐन तथा सुशासन सञ्चालन व्यवस्थापन नियमावलीलाई गाइड लाइन गरेर स्थानीय सरकार सुशासन ऐनको मस्यौदा बनाउन लागिएको हो । मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘जनप्रतिनिधिहरू पनि नियम-कानुनमा बस्नुपर्छ भन्ने मस्यौदाको मूल उद्देश्य हो। मानौं भोलि काठमाडौं महानगरको कुनै एक नागरिकले महानगरको सेवा मन नपराएर महानगरकै कार्यालय जलाइदिन्छु भन्यो भने त्यसलाई कारबाही गर्ने कि नगर्ने ? यसैगरी कसैले वडा कार्यालय जलाइदिन्छु भन्यो भने के गर्ने ?’

काठमाडौं महानगरपालिकामा मेयर साहले ‘सिंहदरबार जलाइदिन्छु’ भनी दिएको अभिव्यक्ति नैतिक आचरणविपरीत मात्र नभई कानुनअनुसार दण्डनीयसमेत रहेको ती कर्मचारीको बुझाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

काठमाडौँ, १९ भदौ : हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गर्नुभएको थियो । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ ।नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन ।

नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१ दशमलव ४ प्रतिशतले घटेको छ ।भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ ।

निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने गरेका कारण निर्यात घटेको हो ।अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र भारत निकासी गर्ने अन्य वस्तु पनि छन् ।

सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ । गत आर्थिक वर्षमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसमा पनि प्रशोधित पाम आयलका अन्य कच्चा पदार्थ ३० अर्बभन्दा बढीको आयात भएको देखिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

स्थानीय तह जानै मान्दैनन् प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् । खटाएको स्थानीय तहमा कर्मचारी जान नमान्नु सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबैभन्दा ठुलो चुनौती बन्दै गएको छ ।

यस वर्ष साउनदेखि अहिलेसम्म मन्त्रालयले करिब २५० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा खटाएको छ । करिब एक सय जना कर्मचारी अझै पनि विभिन्न बहानामा खटाएको स्थानीय तहमा नगएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले कतिपय कर्मचारीको स्वास्थ्य समस्या, परीक्षा र पारिवारिक समस्याले गर्दा खटाएको ठाउँमा नगएको हुन सक्ने बताए । मन्त्रालयले गत असारमा कर्मचारी सरुवा व्यवस्थापन गर्न कार्यदल निर्माण गरी सो कार्यदलले दिएको सिफारिसका आधारमा कर्मचारी सरुवा गर्दै आएको छ ।नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले सरुवा प्रणाली स्पष्ट र पारदर्शी नहुँदा कर्मचारी खटाएको ठाउँमा जान नमान्ने बताए । उनले भने, “सरुवा निष्पक्ष भएको छ भन्ने कुरामा सरुवा गरिएका कर्मचारीलाई पटक्कै विश्वास नहुँदा कर्मचारी सरुवा गरिएको ठाउँमा जान नमानेका हुन् ।”सरुवा कुनै स्वीकृत मापदण्डमा आधारित भएर नगरिनु, सरुवामा कसैलाई काखा र कसैलाई पाखा गरिएको धारणा विभिन्न समयमा सार्वजनिक भइरहनु, राजनीतिकर्मीको दबाब र प्रभावमा सरुवा गर्ने प्रवृत्ति कायम रहनु, सबै सरकारी कार्यालयलाई समान रूपमा अधिकार, सुविधा र हैसियत प्रदान नगरिनु बरु विभेदको अनुभूति गराइनुले कर्मचारी खटाइएको ठाउँमा नगएको उनको विश्लेषण छ ।अहिले पनि कतिपय दुर्गम स्थानीय तहमा कर्मचारीको अभावमा नियमित सेवा प्रवाहमा चरम समस्या हुँदै आएको छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवं प्रशासनविद् डा बालचन्द्र मिश्रले स्थानीय तहमा पर्याप्त अवसर नहुने र कर्मचारीले जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा बसेर काम गर्नुपर्ने भएकाले कर्मचारी खटाएको स्थानीय तहमा जान नमान्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सकियो १० वर्षमा एकपटक पालो आउने न्यकू जात्रा

ललितपु-ललितपुरको पाटनमा एक हजार चार सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक न्यकू जात्रा सोमबार सकिएको छ । गाईजात्रा सुरु भएको भोलि पल्टदेखि सुरु हुने न्यकू जात्रा सोमबार सकिएको हो ।

निधन भएपछि परलोकमा गएका आफन्तहरूको आत्माले शान्ति पाओस् भनी कामना गर्दै विश्वासको साथ मनाइने न्यकू जात्रा पाटन क्षेत्रको दश वटा टोलमध्ये प्रत्येक वर्ष एउटा टोलमा जात्राको आयोजना गर्ने गरिन्छ । प्रतिवर्ष एउटा टोलले जात्राको आयोजना गर्ने भएकाले एउटा टोलको पालो १० वर्षमा एक पटक आउने गर्छ ।

ललितपुर महानगरपालिका–६ को न्यकू जात्रा मतया व्यवस्था समिति सौगल टोलले १० वर्षपछि न्यकू जात्रा मनाएको सोमबार अन्तिम दिन हो । न्यकू जात्रा मतया व्यवस्था समितिले आज विशेष पूजाआजा गरी अर्को वर्षका लागि नकुबहिल टोललाई हस्तान्तरण गरेको छ ।

न्यकू मतया जात्रालाई बत्तीको जात्रा पनि भनिन्छ । विशेषगरी न्यकू जात्रामा हर्न सिङ नेकु बाजा, दमोखी बाजा र धा बाजा गरी जम्मा १७ भन्दा बढी बाजा बजाइने न्यकू मतया जात्रा आयोजक समितिको अर्थ विभाग संयोजक रवीन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जात्रा एक हप्तासम्म चले पनि थरिथरिका बाजा बजाउनका लागि हामीले एक वर्षदेखि नै अभ्यास गर्नुपर्ने हुन्छ ।”

न्यकू जात्रा मतया जात्रा सुरु भएपछि स्थानीयवासीले ललितपुरमा रहेका चार वटा अशोक स्तूपमा गएर पूजाआजा गर्ने चलन छ । स्तूपमा मात्र नभएर स्तूपभित्र रहेका विभिन्न मन्दिरमा देशको सबै नागरिकको सुखशान्तिसहित परलोकमा रहेका आफन्तको आत्माको लागि समेत पूजा गर्ने चलन छ ।

सोमबार जात्राको अन्तिम दिन भएका कारण गणेशको पूजासहित विभिन्न प्रकारका खानेकुरा चढाएर एक विशेष कार्यक्रमका साथ जात्रालाई अर्को वर्षका लागि अर्को टोललाई हस्तान्तरण गरेपछि यो वर्षको जात्रा सकिएको छ ।

अझै मधेस आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा कार्यकर्ताले मुद्दा खेपिरहेका छन् : अध्यक्ष ठाकुर

महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पु¥याउन पर्ने उल्लेख गर्नुभयो ।

“हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्”, अध्यक्ष ठाकुरले भन्नुभयो, “यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।” अझै मधेस आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

बर्दिवासमा सम्पन्न बैठकमा पार्टीका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहितको उपस्थिति रह्योे । मधेस प्रदेश समितिको विस्तारित बैठकको मुख्य छलफलको विषय नै मधेस मुद्दा र मधेसमा दलको रणनीति बनाउनु रहेको दलका प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

“हामी प्राप्त सफलता÷असफलताको मिहिन तवरले विश्लेषण गरेर अघि बढ्दैछौँ”, अध्यक्ष सोनल भन्नुभयो, “यसक्रममा कामका दौरान भएका कमजोरी पहिचान गर्दै मधेस मुद्दालाई सूक्ष्म तवरले केलाउँदै आन्दोलनलाई थप उचाइमा पु¥याइने कार्यभार बनाएका छौँ ।”

बैठकले अब सम्बोधन हुन बाँकी मधेसका मुद्दालाई फेरि जनतासँग जोडेर अघि बढ्ने दृढता जनाएको अध्यक्ष सोनलको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचन (२०६४) अघि मुलुकका विभिन्न मूलधारका दलबाट विद्रोह गर्दै महन्थ ठाकुर, महेन्द्रराय यादव, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाललगायतका नेताले मधेस आन्दोलनको जगमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्नुभएको थियो । समयक्रममा विभिन्न ठाउँमा जुट्दै फुट्दै त्यतिखेरको तमलोपाका मूल नेताहरू अहिले लोसपामा हुनुहुन्छ ।

बैठकमा मुख्य बहस मधेस मुद्दा एवं मधेश केन्द्रित रणनीतिमा भएको अध्यक्ष सोनलले स्पष्ट पार्नुभयो । यसबाहेक आधारभूत तहसम्म पार्टी सङगठन विस्तारको खाका, पार्टी सञ्चालनमा अर्थको महत्त्व र यसको व्यवस्थापन, पार्टी र सरकारबीचका सम्बन्ध र स्थानीयतहसम्बन्धित साङ्गठनिक योजनामा विस्तृत छलफल गरिएको सोनलले जानकारी दिनुभयो ।

हेर्नुहोस् भदौ १९ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि –सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ ।

कर्कट राशि – पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ – भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले अविजित ६७ रन बनाए । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए ।

यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपाल अंक विहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। समूह ए बाट पाकिस्तान शीर्ष स्थानमा तथा भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

एसिया कप क्रिकेट : नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो ।

भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल छ बलमा तीन चौकासहित १२ रनमा क्रिजमा छन् भने रोहित शर्मा सात बलमा एक चौकासहित चार रनमा क्रिजमा रहेका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो ।