`

चलचित्र ‘एक भगवत गीता’मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

काठमाडौँ- अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताउनुभयो ।

“हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ । यसले जानकी मन्दिरको पर्यटनमा टेवा पु¥याउनेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो, “तराईको बजारलाई ध्यान दिँदै मैथली भाषाको प्रयोग गरिएको छ तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ ।” स्थानीय भाषामै स्वराङ्कन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भए तापनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उहाँले बताउनुभयो ।

निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउनु हुँदैछ । अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उहाँको योजना छ । “मैले सुरुआती समयलाई सिकाइको रूपमा लिएँ । धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्यशैलीका चलचित्र निर्देशन गरेँ । किनकि ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको बताउनुभयो । किनकि बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उहाँको बुझाइ थियो । उहाँले भन्नुभयो, “हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्यमान्यता जोडिँदो रैछ तर, स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत नै सन्तुष्ट हुनुपर्छ ।”

यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत प्रस्तुत गर्नुभएको छ । चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

अमेरिकी व्यापार घाटा वृद्धि

वासिङ्टन – आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।“जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ।

तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ ।पछिल्लो तथ्याङ्कअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ ।अमेरिकी अर्थतन्त्रमा सुस्तताको सङ्केत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ ।जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाईमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।

आँसु र पीडाका समाचार लेख्ने दिन गए : अध्यक्ष पोखरेल

मनहरी (मकवानपुर), २० भदौ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आँसु र पीडाका समाचार लेख्ने दिन गएको बताउनुभएको छ । बुधबार पत्रकार महासङ्घ मकवानपुरद्वारा आयोजित फिचर सङ्गालो पुस्तक विमोचन गर्दै उहाँले अब सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमङ्ग दिन्छ भन्दै उहाँले तीन तहको सरकारबाट पत्रकारिताको प्रवर्द्धन, विकास र प्रेरणास्वरूप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा गर्नुभयो । सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नुपर्छ भन्ने हेतुले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याइएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत् आफैँ बलियो हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले आफैँबाट कमीकमजोरी सुधार गरे पत्रकार र पत्रकारितामाथि कसैले औँला उठाउने वातावरण नहुने स्पष्ट पार्नुभयो । महासङ्घले वार्षिकरूपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रूपमा प्रकाशन गरिएको हो ।

फिचर सङ्गालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचार रहेका छन् । कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले मकवानपुर शाखालाई एक थान प्रोजेक्टर, एक सय थान प्रेस ज्याकेट र एकथान प्रिन्टर मेसिन हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटाँैडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कञ्चनपुरको बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्न थाले

दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभयो ।

“हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।” अध्यक्ष धनाडीले भन्नुभयो, “एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उहाँले बताउनुभयो ।

“हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।” उहाँले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताउनुभयो । स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताउनुभयो ।

“धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उहाँले भन्नुभयो, “हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।” गाउँमा हात्तीको आतङ्कले स्थानीय त्रसित भएको उहाँले बताउनुभयो ।

“यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।” अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उहाँको बताउनुभयो । यसैगरी हात्तीले वेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ, २० भदौ ः प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

 श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

  जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ । प्राचीनकालदेखि नै पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।  

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीको राति निकाल्ने गरिन्छ । अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा र असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

 घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो ।

सात दिन मनाइने गाईजात्रा आज तलेजुको पूजा गरेपछि सम्पन्न

भक्तपुर, २० भदौ : भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

पूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ । गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो । त्यसैगरी आजै भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्तीसमेत दिएका छन् ।

श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो । आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने जोशीले बताउनुभयो ।

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

ललितपुर, २० भदौ : वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन । ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो ।

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनःनिर्माण भइसकेका छन् । तर, ऐतिहासिक र प्रख्यात रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि पुनःनिर्माण पूरा भएको छैन ।श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनःनिर्माण विभागले विसं २०७४ मा मन्दिर पुनःनिर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीले दुई वर्षमा मन्दिर पुनःनिर्माण सक्ने गरी ठेक्का दिएको मच्छिन्द्रनाथ पुजारीसङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “मन्दिरको काम सुरु भएर मन्दिर एकतलासम्म निर्माण भएको थियो । मन्दिर निर्माण गर्दा प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर सुरुदेखि निर्माण गर्नुपर्‍यो ।”मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि विसं २०७६ पुस १४ गते श्री रातो मच्छिद्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो । सम्झौताअनुसार उपभोक्ता समितिले विसं २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अस्तव्यस्त छ ।रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले रु तीन करोड आठ लाख आठ हजार नौ सय लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ । सम्झौता मितिमा काम सकिनुपर्ने तर हाल मन्दिर निर्माणको कामसमेत रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य बताउनुहुन्छ ।सहकालका देवताका रूपमा मच्छिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्त्व बोकेको जात्राका रुपमा लिइन्छ । मच्छिन्द्रनाथ मन्दिर पाटन र बुङ्गमतिमा एक एक वटा रहेको छ । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार यो मन्दिर अत्यन्तै पुरानो मन्दिर हो । उहाँले भन्नुहुन्छ, “मन्दिर स्थानपनाबारे कुनै शिलाखेल नभएको र हामीले सुनेअनुसार यो मन्दिर १४ सय वर्ष पहिले बनेको रहेछ । धेरै पुरानो तर बीचमा मर्मतसम्भार नभएकाले भूकम्पमा भत्किएको हो ।”बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्‍याउने प्रचलन छ । पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य भन्नुहुन्छ, “विसं २०८४ मा १२ वर्ष पुग्ने भएकाले मन्दिर पनि त्यही समयमा निर्माण हुन्छ जस्तो छ । काम गर्नेले निरन्तर काम गर्नुपर्ने हो तर गरिरहेका छैनन् ।”

कांग्रेस नेतामाथि भएको आक्रमणप्रति मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना

गण्डकी, २० भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गर्नुभएको छ । विज्ञप्तिमार्फत उहाँले नेता यादवमाथि आक्रमण गर्ने व्यक्ति, समूह जो कोही भए पनि कडा कानुनी कारबाहीका लागि माग गर्नुभएको छ ।

“यस्ता घटनाले आम नागरिकमा त्रास पैदा गराएको छ, समाजमा दण्डहीनता र अराजकता बढ्ने खतरा रहन्छ, आम मानिसमा कानुनी राज्यको प्रत्याभूति दिलाउन, आपराधिक प्रवृत्तिको विरुद्ध एकताबद्ध हुन सबै पक्षसँग अनुरोध गर्दछु”, मुख्यमन्त्री पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री पाण्डेले टाउकोमा गम्भीर चोट लागि उपचाररत नेता यादवको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्नुभएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो । नेता यादवमाथि आक्रमण गरेको आरोपमा नुवाकोट घर भई काठमाडौँ बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

गृहमन्त्री श्रेष्ठद्वारा शिक्षालयको आवासगृह उद्घाटन

भरतपुर, २० भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको माडीस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा आवासगृह उद्घाटन गर्नुभएको छ ।

शिक्षालयका शिक्षक र कर्मचारीका लागि निर्माण गरिएका सात वटा आवासगृह आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो शैक्षिक संस्था माडीको गहना हो, यसको विकासका लागि सबैले सहयोग गर्नुपर्छ ।”

उहाँले वर्तमान सरकारले शिक्षालाई प्राथमिकता दिएको भन्दै प्राविधिक शिक्षामार्फत देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

आवास गृहमा शिक्षालयका सेवाकालीन कर्मचारी र शिक्षक बस्नेछन् । करिब रु सात करोडको लगानीमा छुट्टाछुट्टै भवन निर्माण गरिएको शिक्षालय प्रमुख उपेन्द्र पोखरेलले जानकारी दिनुभयो । विसं २०७५ देखि सञ्चालनमा आएको शिक्षालयमा डिप्लोमा तहका सिभिल इन्जिनियर, फार्मेसी, पशु विज्ञान र बाली विज्ञानको अध्यापन हुने गरेको छ ।

कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर, ट्रमा सेन्टरको आईसीयूमा उपचार जारी

काठमाडौँ, २० भदौ : नेकपा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उहाँले बताउनुभएको छ । उहाँको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रिजालले बताउनुभयो । 

आज २ : ३० बजे सेन्टरमा आउनुभएको सहमहामन्त्री यादवको टाउकाको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँलाई अवलोकनका लागि अहिले सेन्टरको सघन उपचार कक्षमा राखिएको छ । आज दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लब नेपालमा आयोजना भएको कार्यक्रम सकेर गाडीमा बस्ने क्रममा पछाडिबाट खुकुरी प्रहार गरिएको थियो ।  

पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ : महामन्त्री थापा

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा पार्टी लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

“पार्टीको तर्फबाट छिट्टै पर्यटन व्यवसायीसँग बसेर अन्तक्र्रिया तथा छलफल गरेर यसभित्र देखिएका समस्या समाधानमा लाग्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले पर्यटन व्यवसायीले पार्टीलाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।महामन्त्री थापाले पार्टीले पहिलोपटक पार्टीका संस्थापक नेता जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदानको चर्चा गर्न विपी साहित्य सम्मेलन गर्न लागेको बताउँदै उक्त कार्यक्रममा सहयोग र सहभागिताका लागि पर्यटन व्यवसायलाई आग्रह गर्नुभयो ।कांग्रेस धादिङका पूर्वसभापति एवं पर्यटन व्यवसायी रमेश धमलाले नयाँ आउन लागेको पर्यटन ऐनका बारेमा घनिभूत छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पर्यटन व्यवसायीको कुरा पार्टीले सुन्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।लोकतान्त्रिक होटल व्यवसायी सङ्घका संयोजक दीपक महतले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि लोकतान्त्रिक पर्यटन व्यवसायी लागेको भन्दै यसलाई पार्टीले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको कार्यसमितिलाई विस्तार गरेर आफूले निर्वाचन गराउन चाहेको स्पष्ट पार्नुभयो ।वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले कांग्रेसले पर्यटन क्षेत्रलाई बुझ्न नसकेको गुनासो गर्नुभयो । नेपालमा महामारीको समयमा पर्यटन व्यवसायीले खेलको भूमिका राज्यले स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा पर्यटन व्यवसायी राकेश धमला, खुमबहादुर सुवेदी, कुलबहादुर गुरुङ, नीलहरि बाँस्तोला, गीता गुरुङ, मोहन लम्साल, राजीव पाण्डेलगायतको सहभागिता थियो । 

हामीहरू समाजवादको बाटोमा लागेका छौँ : पूर्वप्रम खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वका साथै माक्र्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताउनुभएको छ ।

पार्टी निकट आदिवासी जनजातिको काठमाडौँ भेलामा उहाँले समाजवादको आवश्यकताबारे राष्ट्रव्यापीरुपमा जनतालाई जानकारी गराउन आफ्नो पार्टीले मेची महाकाली अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । आगामी असोज १४ देखि २९ गतेसम्ममा सो राष्ट्रिय अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बताउँदै उहाँले आफूहरू सही बाटोमा अघि बढ्नसके पार्टी पङ्क्तिभित्र विद्यमान भ्रमका बादल फाटेर जाने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा–एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय जनतालाई बुझाइने बताउनुभयो ।

सामाजिक रुपान्तरणका लागि समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे उनीहरूसग छलफल गरिने बताउँदै उहाँले अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सार्मथ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेकाले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने हो । विभिन्न जिल्लामा त्यस्ता घटना घटिरहेका छन् । तर हामीले एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गराएका छौँ । अब एमालेभित्र पहिरो जाँदैछ ।”

नेता खनालले एमाले समाजवाद कार्यान्वयनमा इमान्दार नरहेकाले अहिले पनि दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजमा केन्द्रित रहेको र जबज नै लक्ष्य लिएकाले त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाउनुभयो ।

श्रममन्त्री भण्डारीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

गोदावरी(ललितपुर) – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गर्नुभएको छ । आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उहाँले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गर्नुभएको हो ।

गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अवसरमा अनाथालयलाई दान गर्न पाएको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गर्नुभयो । मामाघर अनाथालय आश्रमको आयोजनामा गोदावरी–१४ बाँडेगाउँमा भदौ २० देखि ३० गतेसम्मका लागि महायज्ञ सुरु भएको हो । आजदेखि प्रसिद्ध कथा वाचक गरीमा उपाध्यय र उमा महेश्वरीबाट कथा वाचन हुनेछ ।

महायज्ञको उद्देश्य देशभरका अनाथ बालबालिकाका लागि नेपालकै नमूना सुविधायुक्त तथा आधुनिक आश्रम बनाउने रहेको आश्रमका प्रमुख बालयोगेश्वर विजयमुर्ती महाराजले जानकारी दिनुभयो । गोदावरी वडा ३ का अध्यक्ष सानुराज घिमिरेले महायज्ञमा हजारौँको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट गोदावरीको पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चौताराको एक सय १५ वर्ष पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनःनिर्माण

सिन्धुपाल्चोक – पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।

संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताउनुभयो । “यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ”, नेता सापकोटाले भन्नुभयो ।

छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिर्माण भएकामा खुसी व्यक्त गर्दै उहाँले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा लागि पर्नुहुने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गर्नुभयो । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उहाँको प्रतिबद्धता छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । विसं १९६४ मा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुसी भएका छन् । विसं २०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो ।

यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनःनिर्माण भएको थियो । पुरातत्व विभाग काठमाडौँद्वारा रु दुई करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यागोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीका अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कुनैबेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो। मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुती पाइन्छ ।

कायरोमा भवन भत्किँदा चार जनाको मृत्यु, पाँच घाइते

कायरो – इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ । उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ ।सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो ।

दक्षिण पूर्वी एसियामा विश्व शक्ति राष्ट्रहरूको भेला, ‘नयाँ शीतयुद्ध’ टार्न चीनको आग्रह

जकार्ता – इन्डोनेसियामा एशियाली र अमेरिकी उच्च अधिकारीहरू वार्ताका लागि भेला भएका बेला चीनका प्रधानमन्त्रीले बुधबार प्रमुख शक्तिहरूले आफ्ना मतभेदहरूलाई नियन्त्रणमा राख्नुपर्ने र ‘नयाँ शीतयुद्ध’ टार्नुुपर्ने बताउनुभएको छ ।

दक्षिण चीन सागर र अन्य विषयमा यस क्षेत्रका अन्य शक्तिराष्ट्रहरूसँग विवादको सामना गरिरहेको बेला बेइजिङले अमेरिका समर्थित समूहहरू आफ्नो घरदैलोमा गठन भएकोमा चिन्ता व्यक्त गरेको छ ।जापान र दक्षिण कोरियासँग जकार्तामा भएको आसियान प्लस थ्री बैठकको प्रारम्भमा ली खछ्याङले भन्नुभयो, “गलत धारणा, फरक स्वार्थ वा बाह्य हस्तक्षेपका कारण देशहरूबीच असहमति र विवाद उत्पन्न हुन सक्छ ।”

उहाँले भन्नुभयो, “मतभेदलाई नियन्त्रणमा राख्न, अब पक्ष चयनको विरोध गर्नु, गुटको टकरावको विरोध गर्नु र नयाँ शीतयुद्धको विरोध गर्नु आवश्यक छ ।”दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको १० सदस्यीय सङ्गठन (आसियान) ले बुधबार चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ, जसले ठूला शक्तिहरूलाई समूह र उनीहरूका प्रतिद्वन्द्वीहरूलाई लबिङ गर्न एक अखाडा प्रदान गर्दछ ।

भेलामा अमेरिकाको प्रतिनिधित्व अमेरिकी राष्ट्रपति जो बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसले गर्नुभएको छ भने राष्ट्रपति सी चिनफिङको स्थानमा ली सहभागी हुनुभएको छ ।

चिनियाँ रक्षामन्त्री ली शाङफुले गत जुनमा सिङ्गापुरमा भएको साङ्ग्रिला वार्तामा ‘साना गुट’को साटो ‘समावेशी सहयोग’ को आह्वान गर्दै एसिया–प्रशान्त क्षेत्रमा नेटोजस्तो गठबन्धन स्थापना नगर्न चेतावनी दिनुभएको थियो । यही लाइनमा चिनियाँ प्रधानमन्त्रीको यो टिप्पणी आएको हो ।

वासिङ्टन अस्ट्रेलिया र बेलायतसँग एयूकेयूएस को रक्षा साझेदारी र क्वाड, एक रणनीतिक गठबन्धन हो जसमा अष्ट्रेलिया, भारत र जापान समावेश छन् ।रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले बिहीबार १८ सदस्यीय पूर्वी एसिया शिखर सम्मेलन र नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनअघि बुधबारका बैठकहरू भएका हुन् ।

ह्यारिसले आसियानका नेताहरूलाई भेटेर ‘अन्तर्राष्ट्रिय नियम र मान्यताहरूप्रतिको साझा प्रतिबद्धता र मुद्दाहरू’ का लागि उनीहरूको प्रशंसा गर्नुभएको छ । वासिङ्टनको बढ्दो क्षेत्रीय संलग्नताको सङ्केतस्वरूप उहाँले वासिङ्टनमा पहिलो अमेरिका–आसियान केन्द्र को निर्माण गर्ने घोषणा गर्नुभयो । जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल दुवै दिनको बैठकमा सहभागी हुनेछन् ।

युक्रेनको संसदबाट उमरोभ नयाँ रक्षामन्त्रीमा अनुमोदन

कीएभ – युक्रेनको संसदले क्रिमियाली तातार रुस्तम उमरोभलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ ।ओलेक्सी रेजनिकोभको राजीनामापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उमरोभलाई कीएभको नयाँ रक्षामन्त्रीमा मनोनीत गर्ने निर्णयलाई संसदले बुधबार अनुमोदन गरेको हो ।

एकचालीस वर्षीय उमरोभको नियुक्तिले युक्रेनविरूद्धको रूसको आक्रमणको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्दै युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “उहाँको नेतृत्वले डेढ वर्षभन्दा बढी समय युद्धमा रहेको युक्रेनलाई रूसविद्धको लडाईमा नयाँ शिराबाट हाँक्न र युद्धमा महत्वपूर्ण परिवर्तन ल्याउन सहयोग पुग्नेछ ।”

“उमरोभ नयाँ रक्षामन्त्री बन्नुभएको छ । उहाँको उम्मेदवारीलाई भर्खोवना राडा (संसद)ले अनुमोदन गरेको छ,” युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युक्रेनको संसदलाई सङ्केत गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँलाई उपस्थित ३६० सांसदमध्ये ३३८ जनाको समर्थन मिलेको छ ।वरिष्ठ सांसद यारोस्लाभ झलेजन्याकले सामाजिक सञ्जालमा भन्नुभएको छ, “उपस्थित ३६० मध्ये ३३८ सांसदले उमरोभको मनोनयनको पक्षमा मतदान गरेका छन् ।”

जेलेन्स्कीले युक्रेनको रक्षा मन्त्रालयमा ‘नयाँ दृष्टिकोण’ को लागि आह्वान गर्ने भूमिकाको लागि उमरोभलाई मनोनित गरिएको बताउनुभएको छ । “हामी आशा गर्दछौं कि नयाँ मन्त्रीले तुरुन्तै काम सुरु गर्नुहुनेछ र सुरु गरिएको रक्षा क्षेत्र सुधारहरू जारी राख्नुहुनेछ,“ शमिगलले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेख्नुभएको छ । एक पूर्व व्यापारी, उमरोवले कैदी विनिमय वार्ता र अनाज सम्झौता वार्तामा भाग लिनुभएको थियो ।

सर्पको टोकाइबाट २२ वर्षीया सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिम, २० भदौ : रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षीया विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिनुभएको थियो तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण आज बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।

शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो । गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो ।

नेपाल र भारत सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

मलङ्गवा (सर्लाही), २० भदौ : नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलबार एक समारोहबीच मलङ्गवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराउनुभयो ।

सो अवसरमा अर्थमन्त्री यादव र मलङ्गवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरुपमा पार्कको उद्घाटनसमेत गर्नुभयो । कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताउनुभयो ।

राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रविम्बित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यो देशमा पटकपटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ”, अर्थमन्त्री यादवले भन्नुभयो, “कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र नीहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।” 

देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौँमा खोज्ने गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता देखिनुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।” अर्थमन्त्री यादवले आउने दिनमा मलङ्गवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताउनुभयो ।   

मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त रु ३० लाखको लागतमा मलङ्गवा नगरको गौरवका रुपमा पार्क निर्माण गरी राष्ट्रिय झण्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिकोसमेत सहभागिता थियो । 

हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ भनी उल्लेख थियो । नीति तथा कार्यक्रमको सो व्यवस्था कार्यान्वयनका लागि बोर्डले नियमावलीमा संशोधन गर्दै हरित बन्ड निष्कासनसम्बन्धी कानूनी आधार तयार पारेको हो ।

“ग्रीन बन्ड भन्नाले सङ्गठित संस्थाले पर्यावरणमैत्री परियोजना सञ्चालन गर्ने कार्यका लागि जारी गर्ने ऋणपत्र सम्झनु पर्दछ”, भनी नियमावलीले परिभाषित गरेको छ । त्यस्तै, यो शब्दले दिगो विकास कार्यका लागि लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरणमा सहयोग पु¥याउने परियोजनामा लगानीका लागि जारी गरिने ऋणपत्रलाई जनाउने उल्लेख छ ।

सङ्गठित संस्थाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर हरित ऋणपत्र वा डिबेन्चर निष्कासन गर्न सक्नेछन् । यसरी निष्कासन हुने बन्ड वा डिबेन्चरमा प्रचलित कानूनको अधीनमा रही विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने संशोधित नियमावलीमा उल्लेख छ ।

त्यस्तै प्रिमियममा शेयर जारी गर्न सकिने व्यवस्थामा पनि संशोधन गरिएको छ । “कम्तीमा रु एक अर्ब चुक्ता पूँजी भई पछिल्लो दुई वर्ष खुद मुनाफामा रहेको सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेछ”, नयाँ व्यवस्थामा भनिएको छ ।

प्रिमियम निर्धारण गर्दा कम्पनीको साधारणसभाबाट स्वीकृत पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको आधारमा पूँजीगत भएको आम्दानी (क्यापिटल अर्निङ) हेर्नुपर्नेछ । त्यस्तै, भविष्यमा प्रवाह हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्डेड क्यास फ्लो) र मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रचलनका आधारमा मूल्याङ्कन विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औसत मूल्यका आधारमा प्रिमियम निर्धारण गर्नुपर्नेछ ।

संयुक्त लगानीमा स्थापना भएको लगानी (इन्भेष्टमेन्ट) कम्पनीले पनि धितोपत्र जारी गर्नसक्ने गरी नियमावलीमा नयाँ व्यवस्था राखिएको छ । “नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानूनबमोजिम स्थापना भएकोे इन्भेष्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई पूर्वाधार परियोजनामा शेयर, बन्ड र डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामासमेत भुक्तानी हुने गरी धितोपत्र निष्कासन गर्न सकिनेछ”, नियमावलीमा भनिएको छ, “यस प्रकारको विदेशी मुद्राको शेयर बन्ड वा डिबेन्चर लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्रै हुनेछ ।”

बोर्डको चालु आवको नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानूनमा आवश्यक संशोधन गर्ने उल्लेख गरिएको थियो ।

एमाले लुम्बिनीमा कँडेलको नेतृत्व

लुम्बिनी – नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई दुई मत मतले पराजित गर्दै कँडेल निर्वाचित हुनुभएको हो ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनबाट अध्यक्षसहित दुई सय पाँच जनाको कमिटी निर्वाचित भएको हो । निर्वाचितमध्ये सचिवसहित एक सय छ जना निर्विरोध र अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिवसहित बाँकी पदमा निर्वाचनका माध्यमबाट चुनिएका छन् ।

विजयी कँडेलले चार सय ७९ मत प्राप्त गर्नुभएको थियो भने प्रत्यासी रिजालले चार सय ७७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । निर्वाचित अध्यक्ष कँडेल एक वर्षअघि तदर्थ समितिको अध्यक्षको रुपमा चयन हुनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा पनि कँडेल समूहकै उम्मेदवार रुपन्देहीका भोजप्रसाद श्रेष्ठले चार सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रुपन्देहीकै विश्वराज बराल (अनुप) ले तीन सय छ मत प्राप्त गर्नुभएको छ । सचिवमा कँडेल पक्षकै दाङका लक्ष्मण आचार्य यसअघिनै निर्विरोध हुनुभएको हो ।

त्यसैगरी उपसचिवमा पुरुषतर्फ रिजाल समूहका रोल्पाका पूर्ण बुढामगरले चार सय १८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गाप्रसाद थारुले तीन सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला रानामगर एक मतले निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ५१ मत प्राप्त गरी निर्वाचित हुँदा बाँकेकी वसन्ती अधिकारीले तीन सय ५१ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । एक हजार चार सय मतदाता रहेको चुनावमा नौ सय ६५ मत खसेको थियो । उनान्चालीस जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । यस्तै प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी अर्जुन केसी तीन सय ३३, कृष्णप्रसाद खनाल तीन सय ३४, जलिल मिया तीन सय ५७, डिआर घिमिरे तीन सय ४०, नारायणप्रसाद भुसाल दुई सय ८३, प्रकाश जिसी तीन सय २५, बाबुराम भट्टराई दुई सय ५३, मधुकृष्ण पन्त दुई सय ८५, सुष्मा खनाल दुई सय ९९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

ऐतिहासिक कन्या पूजा : जिल्लाभर फैलिँदो पूजामा हजारौँ कन्या पुजिए

काभ्रेपलाञ्चोक, २० भदौ : विसं १९५९ देखि काभ्रेपलाञ्चोकको प्राचीन सहर बनेपामा कृष्ण जन्माष्टीको अवसरमा सुरु गरिएको ‘कन्या पूजा’ केही वर्षदेखि जिल्लाभर फैलिँदो छ । आज जिल्लाको मुख्य सहर बनेपालगायत धुलिखेल, पनौती र पाँचखाल नगरका विभिन्न स्थान तथा दोलालघाटमा विशेष कार्यक्रमको आयोजना गरी १३ हजारभन्दा बढी कन्यालाई पुजिएको छ ।

विशेषगरी बनेपामा धुमधामका साथ सञ्चालन गरिने कन्या–पूजामा आठ हजारभन्दा बढी कन्या पुजिएका हुन् । पछिल्ला केही वर्षदेखि बनेपाको जनागाल, धनेश्वर, बुडोलमा कन्यालाई पुज्न थालिएका स्थानीय बताउँछन् । अन्य स्थानका मुख्य बजार क्षेत्रमा रजस्वला नभएका (दश वर्षमुनिका कन्यालाई)लाई स्थानीय जुटेर पुजेका छन् । रजस्वला नभएका तथा नेवार समुदायका बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहँदै आएको छ ।

पूजाका लागि मुख्य सडक तथा चोकमा दायाँबायाँ पेटीमा कन्यालाई लस्करै राखिन्छ । भक्तजनले पनि लस्करै दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन पनि छ । कन्या–पूजा वर्षौंपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ ।

प्राचीन सहर बनेपा, जहाँ एक सय २१ वर्ष अघिदेखिनै छोराभन्दा बढी छोरीलाई महत्त्व दिइने गरिएको पाइन्छ । सय वर्ष नाघेको ‘कन्या–पूजा’को परम्पराले एउटा गतिलो सन्देश दिएको पनि छ, ‘छोराछोरी’ बराबरी । नेपालमा अन्य स्थानमा नगरिने यो काममा बनेपाली विसं १९५९ देखि जुट्दै आएका हुन् : उही लगाव, तामझाम र उही रमझम । तर अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्या–पूजालाई गत वर्षदेखि पुनः निरन्तरता दिइएको छ ।

बनेपामा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत पूजा सञ्चालन हँदै आएको छ । स्वतःस्फूर्त गरिने यस कन्यापूजामा बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुने गर्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्याहरु लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पूज्नेको ठूलो भीड हुने गर्दछ ।

कन्यालाई पूज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेको समितिका अध्यक्ष रामगोपाल कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद वितरण गर्छन् । बनेपाको पूजामा काभ्रेपलाञ्चोकको अलावा छिमेकी सन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका कन्याको पनि सहभागिता रहने गर्दछ । किंवदन्तीअनुसार रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वाससमेत रहेको छ ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षशबाटमुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । कन्याको स्वागत एवं सम्मनमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापनसमेत गरेका थिए ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरुहुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।

सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आए पनि केही समयपछि सबै जातजातिका कन्यालाईसमेत पुज्दै आएको हो । बनेपामै वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर गरिने कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । कृष्ण जन्माष्टमीको दुई दिनअघिअर्थात् सोमबार गरिएको पूजामा भने बर्सेनि करिब एक हजार पाँच सय कन्या पुजिएको थियो ।–––

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

गोरखा – प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो । –––

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

काठमाडौँ, २० भदौ : नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्र रङ्गशालाको भिआइपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ । यस्तै भैरहवा क्रिकेट रङ्गशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रङ्गशालाको एउटा ब्लक निर्माणकार्य सुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी दिइयो । यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रङ्गशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेलमैदानको काम चालु छ ।

काठमाडौँको बूढानीलकण्ठ क्रिकेट रङ्गशालाको मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रङ्गशाला निर्माण आयोजना सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रङ्गशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगन्ज रङ्गशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि डे«न ढलानकार्य भइरहेको छ । उक्त आयोजनाको ७७ प्रतिशत निर्माणकार्य पूरा भएको छ । बाराको सिमरा रङ्गशालाको ४१ प्रतिशत, नारायणी रङ्गशालाको २० प्रतिशत, पाँचथरको फिदिम रङ्गशालाको १५ दशमलव ८५ प्रतिशत तथा सुनसरीको धरान रङ्गशालाको ५४ प्रतिशत निर्माणकार्य पूरा भएको छ । पोखरा रङ्गशालामा बोरिङ निर्माणकार्य सुरु गरिएको छ भने ललितपुरमा च्ययासल रङ्गशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्डहलको २० प्रतिशत निर्माणकार्य पूरा भएको छ । हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुुम्लामा मैदान सम्याउने काम पूरा भएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डिपिआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ । निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेलमैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । सरकारले आगामी २०८१ सालमा कर्णली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वमा रही निर्णायक भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालनमा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास गर्न राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने सोच मन्त्रालयले अघि सारेको छ ।

मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणकार्यको लक्षित प्रगति समयमै हासिल गर्न केही ठूला पूर्वाधार निर्माणकार्य प्राविधिक जनशक्ति भएको उपयुक्त सरकारी निकायमार्फत गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ । मुलुकलाई विश्वजगत्मा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान हुँदै आएको छ । सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ । खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ । प्रतिभावन खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारले अठोट लिएको छ ।

मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

काठमाडौँ – समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो ।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।

बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ । कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

काठमाडौँ – मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

युराेपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा रहेको छ।

सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा

बैतडी, २० भदौ : सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो ।दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यस प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन सय ५३ जनामा सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ ।”

पछिल्लो आठ महिनाको तथ्याङ्क हेर्दा यस प्रदेशमा छ सय ८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार जनवरीमा १५, फेब्रअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाइमा ५८ र अगस्तमा ह्वात्तै बढेर तीन सय ५३ पुगेको छ । प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ र सबैभन्दा कम बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ ।यस्तै दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन । गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो ।अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको जोशीको भनाइ छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढेको हो । उहाँले भन्नुभयो, “तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ ।” डेङ्गुबाट सङ्क्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।प्रदेशका सबै पालिकामा लामखुट्टेको अध्ययन गरिँदैयसैबीच डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि प्रदेशभरि सबै स्थानीय तहमा कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन गरिने जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका सबै ८८ वटा पालिकामा कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन गर्ने योजना रहेको छ । २० भन्दा बढी पालिकामा अध्ययन सम्पन्न गरिसकेका छौँ । अध्ययनको सम्पूर्ण विवरण निर्देशनालयको वेबसाइटमा उपलब्ध छ ।”डेङ्गु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानका साथै सचेतनामूलक सञ्चालनमा गरिएको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ ।

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख रकम सङ्कलन

फुङ्लिङ (ताप्लेजु¬ङ), २० भदौ : ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।

सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो ।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि रु एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो । यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते रु एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते रु तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

बागलुङ तारागाउँका रैथाने मगरले उल्लासपूर्वक मनाए सिस्नो खोस्ने पर्व

गण्डकी, २० भदौ : भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ?

झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भन्नुभयो, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।”

प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उहाँले सुनाउनुभयो । अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ । भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ ।

सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ । सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए ।

सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ । “सोमबार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ”, सचिव घर्तीले भन्नुभयो, “सँुगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ ।”

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो (कूल) घरमा हुन्छ । राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन् । घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो ।

पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ । बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ । उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु (उखुरधुम) पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ ।

लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन् । लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताउनुभयो । बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ । अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ । यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ ।

समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ । गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ । छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताउनुभयो ।

“भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ”, उहाँले भन्नुभयो, “परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ ।”

पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ । परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताउनुभयो । विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ ।

सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन् । आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ ।

सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताउनुभयो । “भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन”, उहाँले भन्नुभयो, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ ।”

भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताउनुभयो । उहाँका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

हिलमा गत साता सो पर्व मनाइएको थियो । अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ । “भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ”, संस्कृतिकर्मी घर्तीले भन्नुभयो, “यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन् ।”

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटन (ललितपुर), २० भदौ : ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन् ।

जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि सामाजिकस्तरबाट पनि सचेतनागत अभियान सञ्चालन गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, २० भदौ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै मनोरञ्जन, वैदेशिक रोजगारी, घरेलु काम, मानव अङ्ग प्रत्यारोपणलगायत विभिन्न कार्यका लागि मानव खासगरी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको उल्लेख गर्नुभएको छ ।“अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन सकेका छैनन्, हाम्रो देश पनि यस अमानवीय समस्याबाट प्रभावित छ, अपराधजन्य यस कार्यमा संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेका छन्”, उहाँले भन्नुभएको छ ।त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित÷प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन नसकेको अध्यक्ष ओलीको भनाइ छ ।

कोशीमा विश्वासको मत विवाद,अध्यक्षता गर्नेले विश्वासको मत दिन पाउने तर्क

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत हो या होइन भन्ने कानूनी जटिलताको विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस भइरहेको छ ।

निवेदकका कानून व्यवसायीको बहस सकिएपछि विपक्षी उद्धव थापाका तर्फबाट बहस गर्दै कानून व्यवसायीले बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई पार्टीको ह्वीप लाग्ने भएकाले पार्टी ह्वीप उल्लंघन गर्न नमिल्ने जिकिर गरे ।कानून व्यवसायीले कोशी प्रदेशमा मुख्यमन्त्री थापालाई अध्यक्षले दिएको मत संविधानसम्मत नै रहेको दाबी पेस गरे ।

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै पूर्वमुख्यमन्त्री तथा एमालेका कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री थापा लगायतविरुद्ध दायर गरेको रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाललगायतले यस्तो दाबी गरेका हुन् ।

पूर्ण इजलासमा भएको सुनुवाइका क्रममा यसअघि सोमबार निवेदकका तर्फबाट भएको बहसमा टीकाराम भट्टराईलगायतका कानुन व्यवसायीले समय सकिएको घण्टी बजिसकेपछि विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान भएको दाबी गरेका थिए ।मंगलबारको इजलासमा मतदानको दिनको भिडियो हेरिएको थियो ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सुन तस्करी अनुसन्धान : माओवादीदेखि माओवादीसम्म !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र ९ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो। त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको ९ किलो सुन भन्सारबाटै हराएको थियो।

उक्त ९किलो सुन ई–सिगरेटभित्र लुकाएर ल्याइएको थियो। सुन तस्करीका यी दुवै प्रकरणमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मुछिएको आरोप लाग्दै आएको छ।

सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको छ। सुन तस्करीलाई संगठित अपराध तथा अन्तरदेशीय अपराधअन्तर्गत राखेर सिआइबीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा तस्करहरूको सम्पर्क सम्बन्ध माओवादीका उच्च तहका नेताहरू, उनीहरूका छोरा, आफन्त र पार्टी कार्यकर्तासँग देखिएको छ।

सिआइबी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट हराएको ९ किलो सुन र विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको सुन एउटै तस्कर समूहको भएको पाइएको छ। तस्करको त्यो समूहले सुन तस्करीमा माओवादीका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको छ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरी, २० भदौ : मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ÷नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन् । अघि द्वापर युगमा मथुरा कारागारमा भदौ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको हिन्दू शास्त्रीय विश्वास छ । श्रीकृष्ण हिन्दू परम्पराका आराध्यदेव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ मानिनुहुन्छ । यो मान्यताले भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव मनाउने मैथिल परम्परा चलेको पाका मैथिल बताउँछन् ।

श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि टेकिनासाथ (सुरु भएपछि) व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मनुभएको मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा छ । पर्वमा बस्तीपिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको प्रत्येक वर्ष श्रीकृष्ण जन्मोत्सव मनाइने जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय बताउनुहुन्छ ।

जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने आम चलन छ । मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वसुदेव÷देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा पनि वर्णन छ । मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वसुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ ।

श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिनुहुन्छ । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् । मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला (जात्रा) परम्परा छ । पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सीपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ ।

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । १६८ पृष्ठको छानबिन प्रतिवेदनमा दावामाथि कारबाही नहुनुमा राजनीतिक संरक्षण नै प्रमुख कारक रहेको औंल्याइएको छ ।

प्रतिवेदनको ‘विषयहरूको संक्षेपीकरण’ शीर्षकमा समितिले भनेको छ– ‘कर्मचारी तथा राजनीतिक आडमा ठूलै सेटिङमा नै दावा छिरिङ लामा भनिने व्यक्तिले निमा तामाङको नामबाट नेपाली नागरिकता बनाई राहदानी प्रयोग गरी देश विदेशका आपराधिक गिरोह परिचालन गरी नेपालमा विभिन्न अपराध एवं अवैध काम गर्ने एउटा गैर देशीय नागरिकले लिएको नेपाली नागरिकताका सम्बन्धमा बुझाइएको प्रतिवेदनलाई गृह मन्त्रालयबाट बेवास्ता गर्दा अपराधीहरूले बारम्बार चलखेल गर्ने मौका पाइरहेको देखिन्छ ।’

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको छानबिन समितिले १० वटा विषयमा अध्ययन गरी गत भदौ ११ मा गृह सचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको थियो । समितिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको समाचारहरूको खोजी र अध्ययन गर्नुका साथै तत्कालीन समयमा नागरिकता वितरणमा संलग्न अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडाअध्यक्ष कृष्णबहादुर लामा र तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव शिंखडासमेतलाई बयान लिएको थियो ।

समितिले २०७४ पुष २० गते नागरिकता नम्बर ३०–०१–७४–११८६८ को निमा तामाङको नागरिकताको फोटो सहितको ढड्डा र सीएमआईएस अभिलेख रहेको तर अनुसूची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानबिन तहकिकातमा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाझी गरी लिएको पुष्टि भएको भन्दै उक्त कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा निमा तामाङले नागरिकता नम्बर ३०–०१–७४–११८६८ बाट २०७४ सालको पुष १९ गते १०७४२५५० नम्बरको राहदानी बनाएको पुष्टि गरेको छ । सोही नागरिकताको प्रयोग गरी दावाले पुनः १०८०५८०८ नम्बरको राहदानी बनाएको थियो । उक्त राहदानी जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औंठा छाप बेल्जियम नागरिक दावा छिरिङको राहदानी नम्बर जीए ४५९७३६४ को औंठा छापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट प्राप्त भएको जानकारी दिँदै समितिले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सुझाव दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

वायुसेवा निगमलाई चिनियाँ विमानको गलपासो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन्। तीमध्ये ६ वटा मात्रै चलिरहेका छन् भने सातवटा थन्किएका छन्। थन्किएका सातमध्ये एउटा ट्विनअटर पुरानामध्येमा पर्छ भने बाँकी न्यारोबडी विमान हुन्। थन्किएका न्यारोबडी विमान नेपाल भित्रिएको दशक नाघेको छैन। चिनियाँ कम्पनी हार्बिन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका न्यारोबडीका यी विमान चलाउँदा लगातार घाटा हुन थालेपछि थन्काउन निगम बाध्य भएको हो। तीन वर्षदेखि यी विमान ‘ग्राउन्डेड’ छन्।

विमान थन्काउँदा पनि निगमलाई सुख छैन। थन्किएका ६ मध्ये दुईवटा चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा चिनियाँ एक्जिम बैंकको ऋणमा खरिद गरिएका हुन्। विमान नचलेपछि कमाइ हुने भएन। ऋणमा किनेका विमानको ब्याज निगमले तिर्नसक्ने अवस्था छैन। साँवाको भारमाथि ब्याजको भार पनि निरन्तर थपिँदा निगम ऋणमा डुब्दै गएको छ।

निगमलाई ऋणको यो भार आफ्नै निर्णयले सिर्जना भएको भने होइन। तत्कालीन सरकारले बलमिच्याइँ गरी ऋणमा विमान किन्ने निर्णय गरेको थियो। त्यसपछि ऋण र विमान दुवै निगमको दायित्वमा आएका हुन्। ऋणमा किनिएका विमानका कारण निगम उठ्न नसक्नेगरी थलिएको जानकार बताउँछन्।

चिनियाँ विमान ऋणमा भित्र्याउन तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) नेतृत्वको सरकारको विशेष भूमिका थियो। आन्तरिक उडानका लागि निगमसँग विमान कम भएकाले किन्ने प्रस्ताव आइरहेको थियो। प्रस्ताव कार्यान्वयनमा लैजान नेपालस्थित विदेशी हवाई कम्पनीका एजेन्टहरू थिए। यसै क्रममा २०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी पहिलो दल बन्यो। सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री बने।

उनीहरूको निकटता उत्तरी छिमेकी चीनसँग थियो। यही पृष्ठभूमिमा चिनियाँ विमान भित्र्याउने वातावरण बनेको जानकारहरूको बुझाइ छ। २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीकै नेता भट्टराई प्रधानमन्त्री बनेपछि विमान किन्ने प्रयासले साकार रूप लियो। भट्टराई प्रधानमन्त्री बन्दा चीन निकट मानिएका माओवादीकै अर्का नेता वर्षमान पुन अर्थमन्त्री थिए। चिनियाँ एजेन्टले चिनियाँ विमान किन्न र त्यसबापत ऋण पनि चीनबाटै व्यवस्थापन गरिदिने भनेपछि सरकार सहमत भयो। यो समाचार नागरिक दैनिकमा छ ।

रामचन्द्र पौडेलद्धारा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना

काठमाडौँ, २० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिनुभएको छ ।

भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सो कुराको अपेक्षा गर्नुभएको हो ।राष्ट्रपति पौडेलले भन्नुभएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।” विश्वभर हिन्दू धर्मावलम्बीले भक्तियोग, ज्ञानयोगर कर्मयोगका प्रणेताभगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनास र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ ।विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको भगवान् श्रीकृष्णको महिमायुक्त गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको छ । उहाँले भन्नुभएको छ, “अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी सद्भाव, दया, नैतिक आचरण, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” 

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ, २० भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं – बुधबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।