`

कोशीमा २४ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश

काठमाडौँ, २१ भदौ : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै २४ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोशी प्रदेशका प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

संविधानले निर्देश गरेका स्वाभाविक विकल्पहरूको तदनुरूप नै प्रयोग गरिनुपर्दछ”, आदेशमा भनिएको छ, “यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्वआदेश बमोजिम उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन आयो ।” संविधानले नै मार्ग निर्देश गरेको अवस्थामा एउटै विकल्पमा पटक पटक नगई संविधानबमोजिमको विकल्पमा प्रवेश गर्नु नै स्वस्थ संवैधानिक अभ्यासको विकासका दृष्टिले उचित हुने देखिएको र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था रहेको आदेशमा उल्लेख छ । आदेशमा सरकार गठन भनी मन्त्रिपरिषद् गठनको संवैधानिक व्यवस्था स्मरण गराएको एवं सो आदेशअनुसार गठित मन्त्रिपरिषद्ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको स्थितिमा पुनः सोही उपधाराबमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पुनरावृत्ति गर्नु संविधानसम्मत हुने नदेखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ ले प्रदेश मन्त्रिपरिषद गठनका सम्बन्धमा विभिन्न विकल्पहरू प्रस्तुत गरेको सन्दर्भमा उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्ले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उपधारा (३) बमोजिमको मन्त्रिपरिषद्को गठन नै स्वाभाविक देखिन आउँछ ।” आदेशमा थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेको नदेखिँदा निज स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने भएकाले सो सम्बन्धमा थप बोलिरहन नपर्ने आदेशमा उल्लेख छ ।

निवेदकले प्रदेशसभामा सबैभन्दा बढी सदस्य सङ्ख्या भएको दलको नेताको हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नु भनी परमादेशसमेत जारी गरी पाउँ भनी गरेको माग थियो । अदालतले नेपालको संविधानअनुसार मागअनुसार आदेश गरेको छ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।

पृतनापति समन्वयात्मक बैठक : उपप्रधानमन्त्री खड्काको सम्बोधन

काठमाडौँ, २१ भदौ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील एवं गहन विषयमा नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने अन्तक्र्रियाले समग्र राष्ट्रको सुरक्षा अवस्था र वर्तमान चुनौतीको पहिचान हुने बताउनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा सुरु भएको दुई दिने पृतना समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षाको अवस्था र चुनौतीलाई सम्बोधन गर्नका लागि उपाय पहिल्याउन यस्ता कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवर्द्धन गर्ने गहन जिम्मेवारीलाई सेनाले अन्य निकायसँगको सहकार्यमा प्रभावकारी र प्रशंसनीय ढङ्गले गर्दै आइरहेको छ”, रक्षामन्त्री खड्काले भन्नुभयो ।

सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइरहेको योगदानबाट प्राप्त उपलब्धि र ख्यातिको समेत उहाँले प्रशंसा गर्नुभयो ।

रक्षामन्त्री खड्काले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रूपमा रहेको ‘साइबर स्पेश’ सुरक्षार्थ भएका पहल तथा सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न सडक करिडोरको निर्माण उच्च प्राथमिकता, राष्ट्रिय आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएकाले विधिसम्मत एवं गुणस्तरीय ढङ्गले निर्धारित समयमा सम्पन्न गर्न सेना सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुनसक्ने परिस्थिति, सुरक्षा खतरा तथा चुनौती, पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास एवं जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको सम्बोधनलगायत क्षेत्रमा चुनौती देखिएको बताउनुभयो ।

उहाँले विभिन्न विषयलाई राष्ट्रिय मुद्दाको रूपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील तत्वहरूलाई सेनाले राष्ट्रिय सुरक्षाको प्रमुख र प्राथमिक चुनौतीको रूपमा लिई काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“सदियौँदेखि हामीबीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउन उद्यत अवाञ्छित तत्वहरूको सुक्ष्म अध्ययन गर्ने आवश्यकताबारे पनि तपाईँहरूको ध्यानाकर्षण गराउन चाहान्छु”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सदैव सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कूटनीतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवं अन्य मानव सिर्जित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना सदैव तयारी अवस्थामा छ ।”

समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तर सुरक्षा निकायबीच सूचना आदानप्रदान गरी भावी सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रहेको प्रधानसेनापति शर्माले बताउनुभयो ।

कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखको सहभागिता थियो । बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझाव प्रस्तुत गर्नुभएको थियो ।

 
 

निजामती सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यसचिव डा अर्याल

काठमाडौँ : मुख्यसचिव डा वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ छ । रासससँग कुराकानी गर्दै मुख्यसचिव डा अर्यालले निजामती सेवाको परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान प्रविधिको प्रयोगमा जोड दिनुभएको हो ।

“हाम्रा परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी लामो समयदेखि एउटै प्रक्रिया र पद्धतिबाट सञ्चालित हुँदा सार्वजनिक सेवा प्रवाह जनमुखी बन्न सकेको छैन । त्यसैले सबै क्षेत्रमा प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई सहज र सरल बनाउनु आवश्यक छ । ” मुख्यसचिव डा अर्यालले निजामती प्रशासन सेवाका कर्मचारीलाई जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सहज र सरलीकृत बनाउन सुझाव दिनुभयो । “कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदलेर हामी सेवाग्राहीको पक्षमा छौँ, शासक होइनौँ भन्ने विश्वास दिलाउन जनताले अनुभूति गर्नेगरी अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न आफू लागि पर्ने बताउनुभयो । प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन आफू प्रयासरत रहेको उहाँको भनाइ छ । सरकारले विसं २०६२ देखि हरेक वर्षको भदौ २२ मा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सरकारले निजामती ऐन ल्याएको अवसरमा यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत, सम्मान र सेवानिवृत्तलाई सम्मान गर्दै आइएको छ ।

महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण हुँदैन : मन्त्री बस्नेत

काठमाडौँ, २१ भदौ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण गर्ने सोचमा सरकार नरहेको बताउनुभएको छ ।

उहाँले सरकारले सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न नदी नियन्त्रणका लागि गम्भीर र दत्तचित्त भएर लागि परेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री बस्नेतले महाकाली नदी नियन्त्रणका लागि भनेर स्थापना गरिएको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय दार्चुलाबाट नहटाइने स्पष्ट पार्नुभयो । विसं २०७० को असार महिनाको पहिलो साता आएको भीषण बाढीले दार्चुला जिल्लाको नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएपछि सरकारले सो आयोजना अगाडि बढाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७१÷७२ मा दार्चुलामा सो आयोजनाको कार्यालय स्थापना गरेको थियो । सो आयोजनाले हालसम्म झण्डै ९० प्रतिशत बराबरको भौतिक प्रगति गरेको छ । स्थानीयवासीले सो आयोजनाको कार्यालय अन्यत्र स्थापना गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेको सन्दर्भमा सांसद दिलेन्द्रप्रसाद बडूले ऊर्जामन्त्री बस्नेतसँग जिज्ञासा राख्नुभएको थियो ।

सरकारले महाकाली नदी तटीय क्षेत्रमा भएको नोक्सानी सम्बोधन गर्नका लागि महकाली नदी नियन्त्रण आयोजना कार्यालय स्थापना गरी रु दुई अर्ब ६७ करोड बराबरको बजेट विनियोजन गरेको थियो । सो नदी नियन्त्रणका लागि कूल १९ वटा प्याकेजमा काम शुरु गरिएकामा हालसम्म १७ वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । बाँकी दुई वटा प्याकेजको काम जारी रहेको छ । हालसम्म सो आयोजनामा रु दुई अर्ब ४२ करोड बराबरको खर्च भएको छ ।

सरकारले टार बजार संरक्षण कार्यक्रममार्फत सो आयोजनाको काम र कार्यालय थप जिल्लाका लागि समेत काम गर्ने गरी विस्तार गरिएको मन्त्री बस्नेतले सदनलाई जानकारी गराउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लाका नदी नियन्त्रण र टार सिँचाइ कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ सोही कार्यालयको कार्यक्षेत्र विस्तार गरिएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले गोकुलेश्वर बजार सुरक्षार्थ नदी नियन्त्रण कार्यक्रम सिँचाइ तथा नदी व्यवस्थापन आयोजना पाटनलाई जिम्मा दिइएको बताउनुभयो । स्थानीयरूपमा चौलानी भनेर चिनिने चमेलिया नदी नियन्त्रणका लागि सरकारले आवश्यक पहल लिएको र चासो लिएको उहाँले जानकारी दिनुभयो । सो आयोजनाका लागि चालु आवमा रु ५० लाख बजेट विनियोजन गरिएको छ । सो आयोजनामा थप बजेट विनियोजन गर्नेतर्फ सरकारले आवश्यक पहल गर्ने मन्त्री बस्नेतले विश्वास दिलाउनुभयो ।

 

आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका : नेता सिंह

पाटन (ललितपुर), २१ भदौ : पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आज आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा २००७, २०४६ र २०६२÷६३ को राजनीतिक परिवर्तन भएको जनाउँदै आर्थिक क्रान्तिको मार्गमा देशलाई अगाडि बढाउन पनि कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

“अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ । यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपालको खेल जगत्लाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।”

खेलाडीले व्यक्तिगत आकाङ्क्षालाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने धारणा राख्नुभयो ।

पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पदको मोह सबैलाई हुने बताउँदै पदको मोह त्यागेर कर्ममा क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । “हरेक क्षेत्रमा काम गर्दा पदको मोह सबैलाई हुन्छ । प्रधानमन्त्री पदको मोह त्यागेर देश र जनताका लागि सबैलाई मिलाउनुपर्छ भनेर लाग्नुहुने नेता गणेशमान सिंहको नाममा आयोजित खेलकुद प्रतियोगितामा हामी छौँ”, उहाँले भन्नुभयो, “पदका लागि भन्दा पनि नागरिक र जनताको हितका लागि प्राथमिकता दिएर काम गर्नुपर्छ ।”

राणाले खेलकुदका लागि सरकारको सीमित बजेट भए पनि निजीस्तरबाट सहयोग लिएर भए पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुद क्षेत्रको माया गर्ने शुभचिन्तक व्यक्तित्वको सक्रियतामा हुने प्रतियोगिता र कार्यक्रमले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलाडीलाई उत्साहित गर्न आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । “खेलकुदले राष्ट्रलाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । खेलकुदको माध्यमबाट सांस्कृतिक र पर्यटकीय विकास गर्न सकिनेमा दुईमत छैन”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बक्सिङ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले प्रदेशले खेलकुद नीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी खेलकुदमय नगरपालिकाको रूपमा अगाडि बढिरहेको बताउँदै खेलकुद क्षेत्रको विकासलाई उचाइमा पुर्‍याइने बताउनुभयो । उहाँले यस कार्यमा सहयोग र समन्वय गर्न सम्बन्ध सबैलाई आग्रह समेत गर्नुभयो ।

आजबाट सुरु भएको प्रतियोगिता भदौ २३ गते शनिबारसम्म सञ्चालन हुनेछ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले रू ३० हजार, द्वितीय हुनेले रू १५ हजार र तेस्रो हुने दुई खेलाडीले रू आठ/आठ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही रू २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्ने महर्जनले बताउनुभयो ।

खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद रू एक लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिम च्याम्पियनले रू ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व हो– प्रधानमन्त्री

काठमाडौँ, २१ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरू सामना गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

उहाँले सरकार सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको र आवश्यक पहल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारले आवश्यक सबै उपायको अवलम्बन गरेर अपराधलाई निरुत्साह गर्ने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्रीले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्व अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस डिजिटल युगमा जहाँ अपराधीले प्रविधिको दुरुपयोग गरी आफ्ना नराम्रा क्रियाकलाप सञ्चालन गर्छन्, त्यहाँ अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्वलाई थप सबल बनाउनुपर्छ ।”

विश्वव्यापी परिदृश्य र सम्बन्धित मुद्दामा चिन्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “विश्वले अभूतपूर्व चुनौतीको सामना गरिरहेको छ, जसमा अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर खतरा र आतङ्कवादको वृद्धि समावेश छ । म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरहरूमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु ।”

प्रधानमन्त्रीले उदीयमान खतरालाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदान–प्रदान, खुफिया आदान–प्रदान र क्षमता निर्माणलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले अन्तर्राष्ट्रिय प्रहरी प्रयासलाई समर्थन गर्ने सर्वोपरि महत्त्वलाई मान्यता दिएको तथा यस प्रयासमा सक्रिय साझेदार भई हाम्रा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा सङ्गठित अपराध, साइबर अपराध र आतङ्कवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । “नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ । हाम्रा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर हामी विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीलाई अझ राम्रोसँग सम्बोधन गर्नसक्छौँ भन्ने हाम्रो दृढ विश्वास रहेको छ”, उहाँले भन्नुभयो ।

हामीले हाम्रा नागरिकलाई भय र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले भन्नुभयो, “यसबाहेक हामीले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्छ र हाम्रा कानून प्रवर्तन प्रयास विधिको शासनको ढाँचामा सञ्चालन भएको सुनिश्चित गर्नुपर्दछ । न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त पालना गर्नु कानून प्रवर्तन गर्ने एजेन्सी र उनीहरूले सेवा गर्ने समुदायबीच विश्वास निर्माण गर्न आवश्यक छ ।”

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतको उपस्थिति थियो ।

महिला आयोग प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौँ, २१ भदौ : “राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेश गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवदेन पेश गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते बुधवार दिनको १ बजे बस्नेछ ।

सामाजिक विषयवस्तुमा चलचित्र ‘नाङ्गो गाउँ’

काठमाडौँ – अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित हुनुहुन्छ । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उहाँ एकपछि अर्को चलचित्रमा काम गरिरहनुभएको छ । उहाँ अभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।

राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्रमा गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । गाउँ पातलो हुँदै जानु पुँजीवादको अतिक्रमण भएको अभिनेता राईको भनाइ छ ।

“म पनि गाउँ छाडेर सहर आएँ, गाउँमा बस्ने रहर नभएको होइन, तर विभिन्न कारणले गर्दा यहाँ आए, अब गाउँ फर्किंने मैले सोचेको पनि छैन”, अभिनेता राईले भन्नुभयो । उहाँले समाजलाई परिवर्तन गर्न राजनीति आवश्यक भए तापनि त्यस्तो नदेखिएको बताउनुभयो ।

“हामीले नेता मात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्नेबेला भएको छ, त्यसको सुरुआत चलचित्रले गरेको छ”, अभिनेता राईले भन्नुभयो, “यसमा सामाजिक राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने देखाएको छ ।”

चलचित्रमा मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेख्नुभएको हो ।

 

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन

ताप्लेजुङ – यहाँ बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट रु सात लाख ५५ हजार सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन रु एक लाख ७० हजार आठ सय, दोस्रो दिन रु एक लाख ३१ हजार सात सय, तेस्रो दिन रु एक लाख ७५ हजार छ सय, चौथो दिन रु एक लाख ७७ हजार सात सय र पाँचाँै दिन रु एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा रु तीन लाख ७४ हजार सङ्कलन भएको थियो ।

खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ ।

खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित रु आठ लाख बढी खर्च भएको बताइएको छ ।

यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उहाँले सबै मन्त्रालयबाट सुझाव आउने क्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताउनुभयो ।

“चीन भ्रमणका विषयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरिएको छ, दुईपक्षीय र बहुपक्षीय छलफल भइहरेको छ”, मन्त्री साउदले भन्नुभयो, “के–के विषय कार्यसूचीमा रहने र कुन–कुन विषयमा सम्झौता गर्ने भन्ने विषयमा अन्तिम भएको छैन, तयारी हुँदैछ ।”

भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्रीसँग भेट गरी थप छलपल गर्ने तयारी रहेकोसमेत समितिलाई जानकारी गराउनुभयो । समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मित्रराष्ट्रसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यलाई पनि विदेश भ्रमणमा प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो ।

समितिका सदस्यहरु डा धवलशम्शेर जबरा, महन्थ ठाकुर, शिशिर खनाल, प्रभु शाह, वर्षमान पुन, प्रेम सुवाल, एकनाथ ढकाल, सुनिता बराल, छिरिङ यामु लामाले प्रधामन्त्रीको आगामी विदेश भ्रमण र नेपालको कालापानी, लिम्पियाधुरा र कालापानीसहितको राजनीतिक तथा प्रशासनिक नक्सा छिमेकी राष्ट्रमा पुगेको वा नपुगेकाबारेमा जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन यही भदौ ३० गतेदेखि असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ भने उतैबाट चीन जाने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा दूरगामी महत्व राख्ने दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका सवालमा सम्बोधन गर्न राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई संयुक्त राष्ट्रसङ्घका महासचिवबाट निमन्त्रणा भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुन गइरहेको ७८औँ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल प्रधानमन्त्री दाहालको नेतृत्वमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिवलगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी रहनुहुनेछ ।

प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत प्रतिनिधि रहनुहुनेछ ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ । विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख वा उच्च राजनीतिक सहभागिता हुने राष्ट्रसङ्घीय उक्त मञ्चमा नेपाल सरकारको विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुनेछ ।
प्रधानमन्त्री दाहालले विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुहुने रात्रि भोजमा सरिक हुनुहुने कार्यक्रम छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

काठमाडौँ, २१ भदौ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ । अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो ।

प्राधिकरणले चालु आवमा रु १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण÷सेयर लगानीका रुपमा रु छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ । प्राधिकरणले पुँजीगत खर्चका लागि रु १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा रु दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च रु चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा रु पाँच अर्ब ८९ विनियोजन गरेको छ ।

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौँ, २१ भदौ : कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो ।

हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताउनुभयो । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताउनुभएको छ । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।” सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उहाँले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताउनुभयो । सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गर्नुभयो ।

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

काठमाडौँ, २१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट दश जना कविलाई आज पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कृत कविहरूमा उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा ! मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो ?) सुनसरी, नवीन अभिलाषी (भेरी ः अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र) काठमाडौँ हुनुहुन्छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिनुभयो । हामीले आफ्नो मौलिक रचना विश्व साहित्यमाझ प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव थियो ।

प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । उहाँले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव, २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राख्नुभयो ।

 

रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील : श्रममन्त्री

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालको संविधानमा रहेको रोजगारीको हकको कार्यान्वयनका लागि सरकार क्रियाशील रहेको स्पष्ट गर्नुभएको हो । उहाँले सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएको जानकारी दिँदै मुलुकमा आर्थिक गतिविधि सहज भएको स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने बताउनुभयो ।

मन्त्री भण्डारीलाई पूरक प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले रोजगारी सिर्जना हुने केही सरकारी निकायका सार्वजनिक संस्थालाई बेचिएकाले बेरोजगारी बढेको होइन र भन्ने जिज्ञासा राख्नुभयो । जवाफमा मन्त्री भण्डारीले सात सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट गर्नुभयो ।

उहाँले सातै प्रदेशमा रहेका तालिम केन्द्रलाई प्रतिष्ठानका रूपमा स्थापित गरी युवाहरूलाई सीप विकास गरिने जनाउनुभयो । उहाँले व्यवसायीले वैदेशिक रोजगारीका क्षेत्रमा गर्ने ठगीलाई नियन्त्रण र नियमन गर्न सरकारले उचित ध्यान दिइरहेको स्पष्ट गर्नुभयो ।

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ : अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उहाँले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताउनुभयो । अर्थमन्त्री डा महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पार्नुभयो ।

साथै उहाँले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताउनुभयो ।

अर्काे प्रश्नको जवाफ दिँदै उहाँले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पार्नुभयो । उहाँले ट्रेड युनियन गठन भएकै कारण राजस्व कम उठेको भन्न नहुने धारणा व्यक्त गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न काम भइरहेको जानकारी गराउनुभयो ।

साथै उहाँले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोहीअनुसार टे«ड युनियन गठन भएको बताउनुभयो ।

बैठकमा सांसद प्रेम सुवालले मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गर्नुभएको थियो । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री दाहालद्वारा पूर्वाधार निर्माण आयोजनामा लगानी गर्न निजी तथा बाह्य लगानीकर्तासमक्ष आह्वान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले लगानी बोर्ड नेपालको १२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ मन्तव्य व्यक्त गर्दै देशमा लगानीको उपयुक्त वातावरण बनाउने पक्षमा उच्च प्राथमिकतासहित क्रियाशील रहेको स्पष्ट गर्नुभयो ।

उहाँले लगानीका दृष्टिले नेपाल विश्वमै उत्कृष्ट स्थान रहेको सन्देश प्रवाह गर्नुपर्ने धारणा व्यक्त गर्दै लगानी बोर्डजस्तो उच्च तहको शक्तिशाली निकायको स्थापना भएपछि पूर्वाधार निर्माणसम्बन्धी आयोजनामा स्वदेशी तथा विदेशी ठूला लगानीकर्ता आकर्षण गर्न सहज भएको छ भन्नुभयो । बोर्डलाई सार्वजनिक तथा निजी साझेदारी एवं लगानी ऐनले परिकल्पना गरेको उल्लेख गर्दै उहाँले सार्वजनिक तथा निजी साझेदारीको अवधारणाबमोजिम पूर्वाधार प्रवर्द्धन र स्रोत केन्द्रका रूपमा बोर्डले उल्लेखनीय भूमिका निर्वाह गरेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री दाहालले ठूला लगानीका पूर्वाधार आयोजना सञ्चालन तथा सहजीकरण गर्दै आएको बोर्डको आफ्नो अनुभव र मुलुकको आवश्यकतालाई समेत दृष्टिगत गरी आवश्यक व्यवस्थासहित समयानुकूल यसको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीले देशका ठूला पूर्वाधार आयोजाको विकास, निर्माण र व्यवस्थापनका पक्षमा निजी क्षेत्रलाई अझ परिचालित गर्न बोर्डले अझ तदारुकता देखाउने विश्वास व्यक्त गर्नुभयो । सन् २०३० मा मध्यम आय भएको राष्ट्रका रूपमा पुगी दिगो विकास लक्ष्य हासिल गर्ने आकाङ्क्षासहित अघि बढिरहेको हाम्रो देश नेपालका सामु विश्वव्यापीरूपमा फैलिएको कोभिड सङ्क्रमण, द्वन्द्व र वातावरण परिवर्तनका कारण चुनौती थपिएको उहाँले बताउनुभयो । उहाँले अन्तिम वर्षका रूपमा कार्यान्वयन भइरहेको चालु १५औँ पञ्चवर्षीय योजनाले कूल लगानीको आधा हिस्सा निजी क्षेत्रबाट प्राप्त हुने परिकल्पना गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले निजी तथा बाह्य क्षेत्रको लगानीलाई प्राथमिकता दिई १६औँ पञ्चवर्षीय योजनाको मस्यौदा तयारीका क्रममा रहेको नेपालले आगामी दिनमा त्यसतर्फ उच्च प्राथमिकता दिएको स्पष्ट गर्नुभयो । उहाँले आर्थिक उदारीकरणको अवधारणाका साथ अघि बढिरहेको नेपालले निजी क्षेत्रसँगको साझेदारीलाई उच्च प्राथमिकता दिई आवश्यक नीतिगत, कानूनी, प्रक्रियागत र संस्थागत सुधार गरी व्यापार तथा लगानीको वातावरण तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकमा लगानीमैत्री वातावरण तयार गर्न संविधानको भावनाअनुसार तीन तहको सरकारका बीच आपसी सहयोग, सद्भाव र समन्वयको वातावरण तयारीका लागि आवश्यक नीति, विधि र संयन्त्र विकास गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले नेपालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरी लाभान्वित हुन सक्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले बुट मोडलमा केही विकास निर्माण आयोजना सञ्चालन गरेको नेपालले सार्वजनिक, निजी तथा सहकारी (पिपीपी)को अवधारणाअन्तर्गत पूर्वाधार निर्माणसम्बन्धी ठूला आयोजना सञ्चालन गरी लाभान्वित हुनुपर्र्ने धारणा व्यक्त गर्दै त्यसतर्फ पहल गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । लगानीका दृष्टिले अनुकूल रहेको नेपालमा बढीभन्दा बढी लगानी गरेर लाभान्वित हुन लगानीकर्तालाई आह्वान गर्दै प्रधानमन्त्रीले राज्यका सरोकारवाला निकायमा आवश्यक नीतिगत व्यवस्था गरी लगानीकर्ताको लगानी सुरक्षित तथा सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

उहाँले पिपीपी ढाँचाको विकास अवधारणासहित अघि बढ्नसके देश र जनता लाभान्वित हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा अघि बढ्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गर्नुभयो । वैदेशिक लगानी आकर्षण गर्न आवश्यक नीतिगत व्यवस्था सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार विकास आयोजनाका कुनै पनि विदेशी तथा स्वदेशी लगानी एवं विकासकर्ताले अनावश्यक समस्या झेल्न नपर्ने वातावरण तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । लगानी प्रवर्द्धनका पक्षमा क्षमतावान् जनशक्ति, आवश्यक स्रोत साधन र चुस्तदुरुस्त सेवा प्रवाहसहित लगानी बोर्डलाई द्रुत सेवा प्रदायक सशक्त निकायका रूपमा सुदृढीकरण गर्न लागेको जानकारी दिँदै उहाँले पूर्वाधार विकासका क्षेत्रमा नेपालले लिएको प्रयासमा साथ दिन विकास साझेदार तथा बहुराष्ट्रिय बैंकहरूलाई आह्वान गर्नुभयो ।

सीमित स्रोत साधनका बाबजुद विकास, लगानी र साझेदारकर्ताको विश्वास जित्दै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएकामा बोर्डलाई धन्यवाद दिँदै उहाँले लगानीको वातावरणसहित मुलुकको पूर्वाधार विकासका पक्षमा थप क्रियाशील हुन बोर्डलाई निर्देशनसमेत दिनुभयो ।

लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढ्ने

काठमाडौँ, २१ भदौ : सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै उक्त सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम् प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकाको विद्युत् माग सन् २०५० सम्ममा तीन हजार दुई सय मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौँ वरिपरि र भित्री सडकमा दुई सय २० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेको छ । प्राधिकरणले लप्सीफेदी सबस्टेसन निर्माणस्थलभित्र लामो समयदेखि भोगचलन गर्दै आएका दर्ता बाँकी अर्थात् फिल्डबुकमा मोहीको नाम कायम भएको तर लालपूर्जा नभएका जग्गाको समेत क्षतिपूर्ति (मुआब्जा) दिएको छ ।

आनन्दशम्शेरको राणाको नाममा रहेकोे उक्त जग्गा हदबन्दीमा परेर नेपाल सरकार र मोहीको नाममा आउनुपर्नेमा २५ जनाको करिब ४५ रोपनी जग्गाको मोहीको लालपुर्जा बनेको थिएन । जग्गाको स्वामित्व अन्योल थियो भने जग्गाको मोही फिल्डबुकमा मात्र देखिएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट मोहीको आधा भागको शतप्रतिशत र नेपाल सरकारको आधा भागको पनि भोगचलनको आधारमा ९० प्रतिशत गरी कुल ९५ प्रतिशत मुआब्जा रकम २५ जना लालपुर्जा नभएका मोहीलाई दिइएको छ । तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइनअन्तर्गत शङ्खरापुर नगरपालिका–३ मा चारवटा टावर निर्माणमा अवरोध छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत् काठमाडौँ उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइन निर्माणाधीन छ ।

यसैगरी लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत् छिराउन चाँगुनारायण सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माण हुँदैछ । चाँगुनारायणमा एक सय ३२ केभी सबस्टेसन निर्माणाधीन छ । तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबिसेसम्मको ४४ किलोमिटर प्रसारण लाइनमा एक सय १८ वटा टावर पर्दछ । दोस्रो खण्डमा बाह्रबिसे–लप्सीफेदीसम्मको ४६ किलोमिटर प्रसारण लाइनमा एक सय २२ वटा टावर पर्दछ । आजको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सहसचिव सन्दीपकुमार देव, सहसचिव दीपक लामिछाने, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शङ्खरापुर–३ का वडाध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो ।

निजामती विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २१ भदौ : सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शर्माका अनुसार निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्नुका साथै स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।त्यसैगरी सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिकामा शुक्रबार शोक विदा

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्षको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का आज बिहान ७.३० बजे उपचारका क्रममा निधन भएपछि महानगरले भोलि शोक बिदा दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । महानगरपालिकाले शिक्षण संस्था भने बिदा नहुने जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रू २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

काठमाडौँ – इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई रू एक लाख प्रदान गर्ने घोषणा गरेको थियो ।

जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज यहाँ आयोजित कार्यक्रममा भारतविरुद्ध छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही रू एक लाख प्रदान गरिएको हो । भारतविरुद्धको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो ।

फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिनुभएको थियो । —

अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वयमा जोड दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ता सुरक्षा खतराको पहिचान गर्दै त्यसको सामनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।

“यस सन्दर्भमा, म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “यी उदीयमान खतराहरूलाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदानप्रदानका साथै आपसी समन्वय गरी सामना गर्नुपर्छ ।”

नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताउँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीको सामना गर्न सक्छौँ भन्ने दृढविश्वास रहेको बताउनुभयो ।

विश्व सुरक्षित र न्यायपूर्ण छ भनेर सुनिश्चित गराउन विभिन्न सङ्घसंस्था र संयन्त्रलाई बलियो बनाउँदै असमानता, गरिबी र अवसरको अभावलगायत अपराधका मूल कारणलाई पनि सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रका प्रतिनिधिका रूपमा हामीले नागरिकलाई त्रास र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुका साथै न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त पालना गर्दै विश्वमा शान्ति सुरक्षाका पक्षमा सहज वातावरण निर्माण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

इन्टरपोलको सिद्धान्तलाई कायम राख्न नेपाल प्रहरीको समर्पण र प्रतिबद्धताका लागि प्रधानमन्त्री दाहालले बधाई दिनुभयो । संयुक्त राष्ट्रसङ्घसँग नेपाली सुरक्षा निकायको सहकार्यले नेपालमा मात्र नभई विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा पनि शान्ति, स्थिरता र विधिको शासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको उहाँले स्मरण गर्नुभयो ।

“हाम्रा सुरक्षा अधिकारीहरूले संयुक्त राष्ट्र शान्ति मिसनहरूमा भाग लिएका छन् । उनीहरुले खतरनाक स्थान तथा कठिन परिस्थितिमा पनि शान्ति र सुरक्षाका लागि योगदान पुर्‍याएका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आजको यो अवसरमा म शान्ति सैनिकको हैसियतमा कर्तव्य पालना गर्दै आफ्नो जीवन आहुति दिने सम्पूर्ण वीर आत्माहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।”

अहिलेको डिजिटल युगमा अपराधीहरूले प्रविधिको दुरुपयोग गरी विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको सन्दर्भमा प्रहरीको सहयोग महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउँदै गर्दा अन्तर्राष्ट्रिय प्रहरी सहयोग प्रवर्द्धनमा राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) काठमाडौँको प्रयास महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

एनसिबी काठमाडौँले नेपाल र अन्य सदस्य राष्ट्रहरूबीच सञ्चार र समन्वयलाई सहजीकरण गर्दै अन्तर्राष्ट्रिय अपराधविरुद्धको लडाइँमा योगदान पुर्याउँदै आएको उहाँले स्मरण गर्नुभयो । यस अवसरमा विश्वव्यापी सुरक्षा चुनौतीको सामना गर्न तथा सबैका लागि सुरक्षित वातावरण निर्माणमा मिलेर काम गर्न आवश्यक रहेकाले प्रधानमन्त्री दाहालले सबै समुदायलाई एकजुट भएर एकआपसमा सहकार्य गर्न अनुरोध गर्नुभयो ।

संयुक्त अभ्यासका लागि सेना बोकेर अमेरिकी विमान आज काठमाडौं आउँदै

काठमाडौँ – नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ । आउँदो असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।

भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित आज अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ ।

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले राससलाई जानकारी दिनुभयो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिनुभयो ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । जारी सम्भावित कार्यसूची अनुसार बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यक्रम रहेको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिनेछन् ।

बैतडीमा अवैध रूपमा सञ्चालित तीन मेडिकल सिल, एक जना पक्राउ

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उहाँले भन्नुभयो,“स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं । यो बिषयमा थप अनुसन्धान भइरहेको छ । ”मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।मेडिकलहरुले अवैध रुपमा सञ्चालन गरिएका भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तिव्रता दिइएको छ ।

क्यान्सरका बिरामीले पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम काम गर्छौ : डा शिवजी पौडेल

चितवन, २१ भदौ : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनुभयो ।

रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने गरेका छन् । पौडेलले भन्नुभयो, “अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु ।” अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताउनुभयो ।

अस्पतालमा सिटी, एमआरआइलगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाइ हुने गरेको उल्लेख गर्दै उहाँले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाइने बताउनुभयो । कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “आएकै दिन सिटीस्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।”

बिरामी अस्पतालमा छिर्दै गर्दा प्रवेशद्वारबाट नै सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचना पार्टी, बिरामीका गुनासा सुन्न छ सुझाव पेटिकाको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुझाव पेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौँ ।”

विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदैगर्दा विधिवत्रुपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै कार्यकारी निर्देशक पौडेलले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको भन्दै उहाँले भन्नुभयो, “सुरुमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्य सेवाका पाटालाई विशेष प्राथमिकता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भइसकेपछि अस्पताललाई स्तरोन्नति गर्नेतर्फ लाग्छु ।”

क्यान्सर अस्पताल र क्यान्सरको राष्ट्रिय रेफरल सेन्टर भएर पनि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) को सेवा यहाँ नभएको भन्दै कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो, “हामीले डेढ दुई वर्षभित्र यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने गरी काम गर्छाैं ।”

पेट स्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने उद्देश्य हो ।” आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उहाँले बताउनुभयो । चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो । लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवा प्रभावित भएका थिए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आज देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । मौसम विभागका अहनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरुमा हावा(हुरीको सम्भावना रहेको छ।

आज रमती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् भदौ २१ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – भोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ ।

बृष राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

मिथुन राशि – सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

कर्कट राशि- आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि – मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या राशि- हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

तुला राशि – सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि – मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

धनु राशि- बोलिका कारण दाम्पत्य शुखमा केहि खटपट रहनसक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

मकर राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य खर्च हुन सक्छ ।

कुम्भ राशि – आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु सबल रहलान । आम्दानि क्षेत्र भने मध्यम रहनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

मीन राशि – पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला ।

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्रावअधि छोटियो

म्याग्दी, २१ भदौ : मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घण्टा तीस मिनेटको यात्रावअधि तीस मिनेटमा छोटिएको जानकारी दिनुभयो । “कैकुखोला–खन्ती खण्डमा सडक कालोपत्र भएपछि एक घण्टा यात्रा अवधी छोटिएको छ,” उहाँले भन्नुभयो “मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ ।”

११ मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावीयन पर्खाल निर्माण र ग्राभेलपछि ७ देखि ८ मिटरको चौडाइका दरले आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ ।
सडक कालोपत्र भएपछि यात्रा अवधी छोटिएको र आवत जावत सहज भएको स्थानीयबासीहरुलेब ताएका छन् । मालढुङ्गा देखि कोरला नाकाको २०२ किलोमिटर दुरीको सडक विस्तार गर्न सञ्चालित १२ वटा प्याकेज मध्य कैकु–खन्ती खण्डको मात्रै पूर्णरुपमा कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न वि.स. २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्ती सहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसंग रु. दुई अर्ब पचास करोडमा ठेक्का सम्झौता भएको थियो ।

शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन)ले कम्पनीले ठेक्का लिएको राहुघाट र लेतेखोलाको मोटरेबल पुल निर्माणको काम पनि सकिएको जानकारी दिनुभयो ।

“शर्मा–गजुरमुखीले ठेक्का लिएको तीन वटा प्याकेज मध्य दुई वटा प्याकेज कालोपत्र र दुई वटा पुल निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “७५ प्रतिशत भौतिक प्रगति भएको दोस्रो प्याकेजको म्याग्दी खण्डमा पहिरोले धेरै क्षति गरेको छ । यो खण्डलाई पूर्णता दिने प्रयासमा छौ । छाक्ताङखोलाको मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।”

वि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०२ किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको सात वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको सात मध्य छ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । आठ वटा पक्कि पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

१२ वटा मोटरेबल पुल निर्माणाधिन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताब गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ ।

सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो ।
 

बिना पैसामै भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान नै गरिबको ‘न्यायालय’

कालिकोट । अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्, गरिबको न्यायालय त देवीदेवताका थान हुन् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन् ।’

गाउँमा केही घटना होस् वा वादविवाद, जे जस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास यहाँ रही आएको छ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताकै विश्वास मान्दै आएका छन् ।

सोही गाउँकै नन्दाराम तिमिल्सेना भन्छन्, ‘मुद्दा मामिला भनेको त हुने खानेका लागि मात्र रहेछ । हामी जस्ता निमुखाका लागि न्यायालय छैनन् । पैसा जसले पेल्यो, उसैका लागि न्याय छ यो देशमा । गाउँका सोझासाझा मान्छेका लागि त यिनै देवीदेवता छन् ।’ न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थान (मन्दिर) पुग्ने गरेको सामाजिक अगुवा दीपक तिमिल्सेना बताउँछन् ।

गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन यहाँ सामान्य रहिआएको छ ।

स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन् । ‘बरु दसैं तिहारमा नयाँ लुगा लगाउने चलन छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमलाले भने, ‘देवीदेवताको पैठमा नयाँ लुगा लगाउनुपर्र्ने चलन रहिआएको छ ।’

देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिकरूपमा कमजोर व्यक्तिको छ । ‘अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्,’ मान्म–४ ताडीका धामी भाने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देवता हुन् ।’

उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास आफूमा रहेको बताए । उनका घरमा पैठका बेला मात्र नभएर सधैजसो धामी हेराउनेको भीड लाग्छ । बिरामी परे अस्पतालभन्दा पहिले धामीकहाँ पुग्ने चलनसमेत ग्रामीण क्षेत्रमा छ । यो समाचार राजधानी दैनिकमा छ ।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ ।

खेमराज गुरुङ ट्रष्टले बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उहाँले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताउनुभएको हो ।

मन्त्री किरातीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिकरूपमा धनी, ठूलो र सुन्दर रहेको बताउनुभयो । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको उहाँको भनाइ थियो ।

उहाँले संसारका जनतालाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिकरूपमा धेरै माथि पुग्ने उहाँको भनाइ थियो । उहाँले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पु¥याउने स्रष्टालाई राज्यले सम्मान गर्ने बताउनुभयो ।

ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत, अब निर्माण अगाडि बढ्ने दाबी

काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।

सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा तयार पारिएको नयाँ डिजाइन स्वीकृत भएको जानकारी दिए । डिजाइन अनुसारका उपकरण उपलब्ध हुन नसक्ने भन्दै माघको अन्तिम हप्ता काम सुरु गरिएको सो फ्लाइओभर निर्माण असारमा रोकिएको थियो ।

उनले भने, “नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार ‘फ्लाइओभर’ को पाइलको सङ्ख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १।५ मिटर कायम गरिएको थियो तर नयाँ डिजाइन अनुसार पाइलको सङ्ख्या दुवैतिर १२÷१२ वटा कायम गरिएको छ । त्यसै गरी प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १।२ मिटर कायम गरिएको छ ।” उहाँका अनुसार ‘फ्लाइओभर’ को मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन ।

सो ‘फ्लाइओभर’ निर्माणका लागि भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको उनले स्पष्ट पारे । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो ।

गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको इन्जिनियर महर्जनले स्पष्ट पारे । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो ‘फ्लाइओभर’ को निर्माण सुरु गरिएको हो । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक सामान आयात

काठमाडौँ । चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ ।का लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा खास गरी तेस्रो देशबाट हुने आयातमा भारतलाई मात्र ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरिँदै आएकोमा बुधबारदेखि चीनबाट पनि तेस्रो देशको सामान आयात गर्न सकिने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको छ ।

२०७२ चैत ८ गते चीनसँग पारवहनका लागि पहिलो पटक सम्झौता भए पनि २०७५ भदौ २२ मा मात्र त्यसको कार्यविधि टुङ्ग्याइएको थियो । कार्याविधि नै टुङ्गो लागेको करिब पाँच वर्षपछि मात्र यो कार्यान्वयनमा आएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य

काठमाडौं । नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली भदौं १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको जानकारी दिए । सो नियमावली सरकारले औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी नै छ।प्रवक्ता भट्टराईका अनुसार एक साताभित्र सो नियमावली राजपत्रमा प्रकाशित हुने र त्यसपछि नागरिकतासम्बन्धी नयाँ कानून पूर्ण रुपमा कार्यान्वयनमा आउने छ।

उनले भने– ‘अब आमाको नाउँमा नागरिकता लिन सहज भएको छ। त्यसैगरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तान, विदेशीसंग विवाह गरेको नेपाली महिला र तिनका सन्तान, गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता लिन पाउनेछ। ऐन बनेपछि जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाहेक अन्य प्रकृतिको प्रावधान भने रोकिएको थियो।अब सबै प्रकृतिको नागरिकता पाउने स्थिति बनेको छ ।’ उनले नेपालको संविधानको भाग– २ को धारा १० देखि १४ सम्म भएका नागरिकताका प्रावधानअनुरुप अब देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन सक्ने बताए ।

नागरिकता नपाएको भनि तीन दशकयता भएका सबै आन्दोलनले उठाएको माग र एजेण्डा, विभिन्न समिति र आयोगले दिएअनुरुप सुझावलाई अधिकत्तम रुपमा नागरिकताको नयाँ कानूनले सम्बोधन गरेको अधिवक्ता दीपेन्द्र झाले बताए ।

कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित गरिने छैन भन्ने संविधानको धारा १० संगै संविधानमा नागरितासम्बन्धी व्यवस्था बल्ल पूर्ण र वास्तविक रुपमा नागरिकले अनुभूत गर्न पाउने स्थिति बनेको जिकिर गर्दै मधेश प्रदेशका पूर्वमहान्याधिवक्ता समेत रहेका अधिवक्ता झाले भने ‘नागरिकता सम्बन्धी ऐन र नियमावली नहँदा नागरिकतासम्बन्धी सबै संवैधानिक प्रावधानहरु आठ वर्षसम्म कार्यान्वयनमा आएन । यो ऐन बनेपछि पनि भएका अनेक संघर्ष, न्यायिक परीक्षणपछि बल्ल ऐन पूर्ण रुपमा कार्यान्वनयमा आएको छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

चलचित्र ‘एक भगवत गीता’मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

काठमाडौँ- अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताउनुभयो ।

“हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ । यसले जानकी मन्दिरको पर्यटनमा टेवा पु¥याउनेमा म विश्वस्त छु”, उहाँले भन्नुभयो, “तराईको बजारलाई ध्यान दिँदै मैथली भाषाको प्रयोग गरिएको छ तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ ।” स्थानीय भाषामै स्वराङ्कन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भए तापनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उहाँले बताउनुभयो ।

निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउनु हुँदैछ । अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उहाँको योजना छ । “मैले सुरुआती समयलाई सिकाइको रूपमा लिएँ । धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्यशैलीका चलचित्र निर्देशन गरेँ । किनकि ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु”, उहाँले भन्नुभयो ।

उहाँले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको बताउनुभयो । किनकि बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उहाँको बुझाइ थियो । उहाँले भन्नुभयो, “हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्यमान्यता जोडिँदो रैछ तर, स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत नै सन्तुष्ट हुनुपर्छ ।”

यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत प्रस्तुत गर्नुभएको छ । चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

अमेरिकी व्यापार घाटा वृद्धि

वासिङ्टन – आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।“जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ।

तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ ।पछिल्लो तथ्याङ्कअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ ।अमेरिकी अर्थतन्त्रमा सुस्तताको सङ्केत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ ।जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाईमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।

आँसु र पीडाका समाचार लेख्ने दिन गए : अध्यक्ष पोखरेल

मनहरी (मकवानपुर), २० भदौ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आँसु र पीडाका समाचार लेख्ने दिन गएको बताउनुभएको छ । बुधबार पत्रकार महासङ्घ मकवानपुरद्वारा आयोजित फिचर सङ्गालो पुस्तक विमोचन गर्दै उहाँले अब सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

यसले कसैको जीवनमा हौसला, उत्प्रेरणा र उमङ्ग दिन्छ भन्दै उहाँले तीन तहको सरकारबाट पत्रकारिताको प्रवर्द्धन, विकास र प्रेरणास्वरूप नीतिगत पारदर्शिताका लागि सहयोगको अपेक्षा गर्नुभयो । सरकारको हरेक संरचना कमजोर बन्दै गइरहेको अवस्थामा पत्रकारले सरकारको संरचनालाई बलियो बनाउन भूमिका खेल्नुपर्छ भन्ने हेतुले पत्रकार सदस्य शुद्धीकरण अभियान ल्याइएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई बलियो बनाउनुअघि सञ्चार जगत् आफैँ बलियो हुनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले आफैँबाट कमीकमजोरी सुधार गरे पत्रकार र पत्रकारितामाथि कसैले औँला उठाउने वातावरण नहुने स्पष्ट पार्नुभयो । महासङ्घले वार्षिकरूपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रूपमा प्रकाशन गरिएको हो ।

फिचर सङ्गालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचार रहेका छन् । कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले मकवानपुर शाखालाई एक थान प्रोजेक्टर, एक सय थान प्रेस ज्याकेट र एकथान प्रिन्टर मेसिन हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हेटाँैडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष शिव देवकोटालगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कञ्चनपुरको बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्न थाले

दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभयो ।

“हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।” अध्यक्ष धनाडीले भन्नुभयो, “एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उहाँले बताउनुभयो ।

“हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।” उहाँले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताउनुभयो । स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताउनुभयो ।

“धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उहाँले भन्नुभयो, “हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।” गाउँमा हात्तीको आतङ्कले स्थानीय त्रसित भएको उहाँले बताउनुभयो ।

“यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उहाँले भन्नुभयो, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।” अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उहाँको बताउनुभयो । यसैगरी हात्तीले वेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेर मनाइयो श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ, २० भदौ ः प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

 श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

  जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ । प्राचीनकालदेखि नै पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।  

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीको राति निकाल्ने गरिन्छ । अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा र असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

 घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन राति भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो ।