`

सिरहामा बाक्लो हुस्सु कुहिरो, शीतलहरले विद्यालय बन्द

Nepal One HD २५ पुष २०८० १८:२७
समाज

गोलबजार (सिरहा), २५ पुस : शीतलहरले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन् । सिराहाको गोलबजार तथा लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयमा एक साता जाडो बिदा दिएका हुन् ।

शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २५ देखि २९ गतेसम्म बिदा दिइएको गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले जानकारी दिए । लहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे सङ्क्रान्ति बिदालगत्तै २ माघदेखि विद्यालय नियमित सञ्चालन हुने जनाएको छ । लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मङ्गलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाइएको छ ।

गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी मङ्गलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ । पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।


प्रतिक्रिया