`

गणतन्त्रले सीमान्तकृत चेपाङ समुदायको सम्मान हुने व्यवस्था ल्यायो : मुख्यमन्त्री जमकट्टेल

Nepal One HD २४ पुष २०८० ७:१०
राजनीति

मनहरी (मकवानपुर)- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताउनुभएको छ । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई सोमबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गर्नुभयो । प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उहाँले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउँदै उहाँले पालिकास्तरबाट योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँडन थालेको बताउँदै उहाँले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने धारणा राख्नुभयो । अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा पनि जनताका बीचमा विकास निर्माणका काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकट मानिने राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्ने खालको काम गर्न पालिकासँग प्रदेश सरकार पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।त्यस अवसरमा नेकपा (एमाले)का संसदीय दलका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षा गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रलाई पालिकास्तरबाट प्रोत्साहन गर्न सके शिक्षामा रुपान्तरण हुन समय नलाग्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका प्रदेश सदस्य इन्द्र बानियाँले सडक नै विकासको मूल आधार भएको बताउँदै सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस अवसरमा नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रका जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया