`

युक्रेनलाई सहयोग गर्न जापान प्रतिबद्ध छ– जापानी विदेशमन्त्री

Nepal One HD २२ पुष २०८० २०:११
विश्व

जापानका विदेशमन्त्री योको कामिकावाले आइतबार अचानक किएभको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले मस्कोको आक्रमणको दोस्रो वर्ष नजिक आउँदा टोक्यो युक्रेनलाई समर्थन गर्न ‘दृढ’ रहेको बताउनुभयो । जापान रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल भएको छ र उसले किएभलाई हतियार प्रदान गरेको छ । सन् २०२४ को आफ्नो पहिलो विदेश भ्रमणका क्रममा कामिकावाले आफ्ना युक्रेनी समकक्षी दिमित्रो कुलेबासँग किएभमा बम आश्रयमा एयर साइरन बज्दा पत्रकार सम्मेलनको आयोजना गर्नुभयो ।

“युक्रेनमा शान्ति पुनर्बहाली हुन सकोस् भन्ने हेतुले जापान युक्रेनलाई सहयोग गर्न प्रतिबद्ध छ”, कुलेबासँग जमिनमुनिको कोठाको डेस्कमा बसेर उहाँले भन्नुभयो, “युक्रेनमा अहिले स्थिति कति तनावपूर्ण छ भन्ने मैले महसुस गर्न सक्छु ।”

उहाँको भ्रमण द्वन्द्वमा दुवै पक्षबाट बढ्दो हमलाका बीच भएको छ । “विशेषगरेर नयाँ वर्षको दिनमा म एकपटक फेरि रुसको क्षेप्यास्त्र र ड्रोन हमलाको निन्दा गर्दछु”, यस वर्ष युक्रेनमा पहिलो विदेशी पाहुना कामिकावाले भन्नुभयो । उहाँले ड्रोन पत्ता लगाउने प्रणाली प्रदान गर्नका लागि टोक्योले तीन करोड ७० लाख अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभयो । 

विदेशमन्त्री कामिकावाले रुसी आक्रमणका क्रममा युक्रेनलाई अर्को चिसोबाट बच्न सहयोग गर्नका लागि जापानले पाँच वटा जेनेरेटर पनि उपलब्ध गराउने जानकारी दिनुभयो । 

कामिकावाले किएभको उपनगर बुचाको पनि भ्रमण गर्नुभयो । बुचामा रुसी सेनालाई सन् २०२२ मा नागरिकको नरसंहारका लागि दोषी ठहर गरिएको छ । उहाँले बुचामा आफूले देखेको कुराले ‘स्तब्ध’ भएको बताउनुभयो । उहाँ पहिला ठूलो लडाइँ भएको इरपिन पनि जानुभयो । 

उहाँको पहिलादेखि नै अघोषित शुक्रबारदेखि हुने दुई साताको पोल्यान्ड, फिनल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानाडा, जर्मनी र टर्कीएको भ्रमण गर्ने योजनामा परिवर्तन गरिएको थियो ।

विदेशमन्त्री कामिकावा र उहाँका युक्रेनी समकक्षी कुलेबाले फेब्रुअरीमा टोक्योमा युक्रेनको आर्थिक पुनर्निर्माणलाई प्रवर्द्धन गर्न सम्मेलन आयोजना गर्ने जापानको योजनाबारेमा पनि छलफल गर्नुभयो । बदलामा कुलेबाले जनवरी १ मा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति जापानसँग ‘ऐक्यबद्धता’ व्यक्त गर्नुभयो । 

कुलेबाले युक्रेनलाई अघिल्लो वर्ष एफ–१६ जेट उपलब्ध गराउने जापानको निर्णयप्रति किएभ आभारी रहेको तर मुलुकको हवाई रक्षा प्रणाली पनि चाहिने बताउनुभयो । “प्रत्येक दिन युक्रेनका सहर रुसी क्षेप्यास्त्र र ड्रोनहरूले नष्ट हुन्छन्, उनीहरू हामीलाई कब्जा गर्न सक्तैनन् त्यसैले तिनीहरू हामीलाई नष्ट गर्न खोजिरहेका छन्”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया