`

गोरखाको खोलखोलेमा शङ्कास्पद वस्तु फेला

काठमाडौं – गोरखामा शङ्कास्पद वस्तु फेला परेको छ । शनिवार बिहान गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद वस्तु देखिएपछि आबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत बन्द गरिएको र नेपानी सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि पुन सडक सञ्चालन गरिने जनाइएको छ । शङ्कास्पद वस्तुनजिक रातो झण्डा पनि भेटिएको छ ।

गणपति तेल मिलमा आगलागी, दुई करोडभन्दा बढी क्षति

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिनुभयो ।

तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताउनुभयो । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा,गत आवमा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी

गलकोट, १६ भदौ : बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ ।पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो । पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन् ।ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिनुभएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौँ, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिनुभयो । यहाँका ढुङ्गा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उहाँको भनाइ छ ।“केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु”, उहाँले भन्नुभयो, “यहाँ ढुङ्गा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पु¥याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुङ्गा पु¥याइन्छ ।” यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उहाँको भनाइ छ ।ताराखोलाको स्लेट ढुङ्गा ब्राण्ड भइसकेको भन्दै उहाँले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुङ्गा अहिले आधुनिक घरका भित्तामा टास्न र भुँईमा छाप्न प्रयोग हुन थालेको बताउनुभयो । यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुङ्गा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो ।उहाँले आफूले उत्पादन गरेको ढुङ्गा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताउनुभयो । अन्य स्थानको ढुङ्गाभन्दा यहाँको ढुङ्गा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पु¥याउन मुस्किल भइरहेको उहाँको भनाइ छ । ताराखोलाको ढुङ्गा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ । पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ ।“अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ”, घर्तीले भन्नुभयो “तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।”पालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाएको भन्दै ढुङ्गा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताउनुभयो । पालिकाको आर्थिक कार्यविधि अनुसार प्रतिवर्गफिट रु दुईका दरले कर तथा ठेक्कामार्फत निकासी कर सङ्कलन गर्दै आइरहेको सापकोटाको भनाइ छ ।पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न रु ३० हजार र नवीकरण गर्न रु २५ हजार शुल्क तोकेको छ । पालिकामा स्लेट ढुङ्गाको खानी प्रशस्त रहेकाले आन्दानीको स्रोत वर्षेनी बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिनुभयो ।ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन् ।घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो ।

मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयन नहुने

काठमाडौँ । मुद्दा दोहोऱ्याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ (२) बमोजिमको सुविधा पाएको व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्चको संयुक्त इजलासले गरेको हो।

जिल्ला अदालतसमेत विपक्षी रहेको सुरेश विष्टको बन्दीप्रत्यक्षीकरण रिटमा अदालतले यस्तो व्याख्या गरेको हो। अहिले कतिपय मुद्दामा दोहोऱ्याउने अनुमति पाएका अवस्थामा पनि सुरु तहको फैसला कार्यान्वयन भइरहेका छन् । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुंयालको संयुक्त इजलासले विष्टलाई रिहा गर्न पनि आदेश गरेको छ । सर्वोच्चले दोहोऱ्याइ मुद्दा हेर्ने निस्सा पाउनु पुनरावेदनसरहकै अवस्था मानेको छ ।मुद्दा विचाराधीन रहेकै अवस्थामा फैसला कार्यान्वयनलाई न्यायिक प्रक्रियामाथिकै चुनौती हो भन्ने अदालतको व्याख्यामा उल्लेख छ । विचाराधीन मुद्दाबाट सुरु परिणाम फेरबदलसमेत हुने अवस्था रहने भन्दै अदालतले सुरु परिणाम बदर भए व्यर्थैमा कैद बस्नुपर्ने अवस्थाप्रति पनि सचेत गराएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भन्सार कार्यालयबाट चोरी भएको नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् ।

फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्‍याइएको थियो । भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई-सिगरेट ( विद्युतीय चुरोट ) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए ।

‘ठुलै धनराशि खर्चेर सो सुन उनले हात हात पारेका रहेछन् । सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई ६५ लाख दिइएको रहेछ । त्यसमा अन्य खर्चसहित करिब २ करोड लागेको रहेछ,’ स्रोतले भन्यो । आजको नागरिक दैनिकमा समाचार छ ।

वायु सेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य

काठमाडौँ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो ।

नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका आगामी पाँच वर्षमा पाँच वटा जहाज पुर्‍याउनुपर्ने नियम पनि जारी भएको छ । यस्तै पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

वायु सेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने, नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायु सेवा कम्पनीले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डर नियुक्त गर्न पाउने छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सङ्घको सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गर्नुभएको थियो ।

पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी २३ मत प्राप्त गर्नुभएका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गर्नुभएको थियो ।यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित हुनुभयो । उहाँले २३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी हुनुभयो । त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित हुनुभयो ।महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित हुनुभयो । मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो ।नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।

एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले आज सम्मेलनको उद्घाटन गर्ने

लुम्बिनी-: नेकपा (एमाले)को लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । आयोजक एमाले लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवेशनको तयारी पूरा भएको र लुम्बिनीको अधिवेशनले देशलाई नयाँ सन्देश दिने बताएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने प्रथम अधिवेशनले पार्टीको राजनीतिक जीवन प्रभावकारी तुल्याउने विश्वास व्यक्त गरिएको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेकाले पार्टी जीवनलाई सङ्घीय ढाँचा अनुरुपमा नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अधिवेशन ऐतिहासिक महत्त्वको रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंणेलले दाबी गर्नुभयो ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा सम्मेलनको उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो ।

उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलन पूर्व शनिबार बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् ।

सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्य र अन्य २३ वटा जनसङ्गठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहनेछन् । अधिवेशनले यसअघि पाँच सय ७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई दुई सय पाँच सदस्यीय बनाउनेछ ।

पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताउनुभयो । पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको पोलिट ब्युरो सदस्य सूर्य थापाले स्पष्ट पार्नुभयो । उहाँले अन्तिम समयमा सर्वसहमत नेतृत्व आउने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।

सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गर्नुभएको छ । उहाँले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनित गर्नुभएको हो ।

यसैगरी उहाँले केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डा रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै रङ्गमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।

अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने माओवादीले जनाएको छ ।

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरुलाई अस्थायी बसोबासस्थलमा समेत कार्य क्षेत्र तोकी पठाइसकिएको छ । माओवादीले अध्यक्षसहित २२ केन्द्रीय पदाधिकारीलाई तीनमहिने अभियानको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकेको छ ।

माओवादीका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले काठमाडौँको चन्द्रागिरि–२ घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ललितपुरको ललितपुर महानगरपालिका १८ हरिसिद्धी, उपाध्यक्षत्रय कृष्णबहादुर महराले रोल्पाको सुनछहारी गाउँपालिका, अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका र पम्फा भुसालले ललितपुर महमानगरपालिका–२२ मा अभियानको नेतृत्व गर्नुहुनेछ ।

महासचिव देवप्रसाद गुरुङले लमजुङको सुन्दरबजार नगरपालिका–८ भोटेवडार, उपमहासचिव गिरिराजमणि पोखरेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका, वर्षमान पुनले काठमाडौँको गोङ्गबु, हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका, जनार्दन शर्माले काठमाडौँको चन्द्रागिरि नगरपालिका, मात्रिकाप्रसाद यादवले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, सचिव दिनानाथ शर्माले बागलुङको बागलुङ नगरपालिका, चक्रपाणि खनालले मोरङको विराटनगर महानगरपालिकामा अभियानको नेृतत्व गर्दै हुनुहुन्छ ।

सचिव देवेन्द्र पौडेल कास्कीको पोखरा महानगरपालिका, लीलामणि पोख्रेल महोत्तरीको बर्दिवास नगरपालिका, गणेश साह काठमाडौँको बानेश्वर, हितमान शक्य रुकुमपूर्वको सिस्ने गाउँपालिका, हितराज पाण्डे गोरखाको पालुङटार नगरपालिका, डिलाराम आचार्य कैलालीको धनगढी उपमहानगरपालिका, सुरेन्द्रकुमार कार्की झापाको बुद्धशान्ति गाउँपालिका र कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिकामा सञ्चालित अभियानमा सहभागी हुने माओवादीले जनाएको छ ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकार सदस्यको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारी सम्मिलित पालिकास्तरको टोली निर्माण गरिएको छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने प्रवक्ता महराले जानकारी दिनुभयो ।

माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तिमा एक÷एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अध्यक्ष दाहालले आफूले सातै प्रदेशका एक÷एक गरी सात वडाको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हेर्नुहोस् भदौ १६ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि – अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मिथुन राशि – आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि – मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि – हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुला राशि – तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि – स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि – मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि – मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मीन राशि – कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न महानिरीक्षकको निर्देशन

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

उहाँले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनुभएका वरिष्ठ अधिकृतलाई उहाँले आज दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएका हो । महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्नुहुँदै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नति भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा आएका अमेरिकी सिनेटर क्रिस भान होलेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार अमेरिका सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर सिनेटर होलेनले प्रधानमन्त्री प्रचण्ड सँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ ।

नयाँ पुस्ताको बौद्धिकस्तर विकासमा पुस्तकालय महत्त्वपूर्ण : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नयाँ पुस्ताको बौद्धिकस्तर विकासमा पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘समाज विकासमा पुस्तकालयको भूमिका’ विषयक कार्यक्रममा उहाँले नगरभित्रका सामुदायिक पुस्तकालयको स्तरोन्नतितर्फ नगरपालिकाले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

पुस्तकालयले पाठकबीच समयसान्दर्भिक छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले पूँजीवादी समाजमा समाजवादी विचार प्रवाहमा पनि पुस्तकालयको उल्लेखनीय भूमिका खेल्ने चर्चा गर्नुभयो । अन्तर्राष्ट्रियस्तर र नेपालका पुराना पुस्तकालयका विशेषताबारे चर्चा गर्दै उहाँले पाठकको विश्वास जित्नु नै पुस्तकालय स्थापना र सञ्चालनको सफलता भएको औंल्याउनुभयो ।

वडागतरूपमा फरकफरक विशेषतायुक्त पुस्तकालयको व्यवस्था हुनुपर्नेमा बताउँदै उहाँले पुस्तकालयकर्मी अध्ययनशील र नयाँनयाँ पुस्तकबारे जानकार हुनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा अध्यक्ष बिजुक्छेँले पुस्तकालयको अवलोकनसमेत गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनज्योति पुस्तकालय ई–लाइब्रेरीको रुपमा सञ्चालन भएसँगै भक्तपुरमा अध्ययनरत विद्यार्थीलाई अध्ययनको निम्ति काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । विद्यार्थीको पठन संस्कृतिको विकासको लागि पुस्तकालय निर्माण, आर्थिक सहयोग र व्यवस्थापनमा नपाले जोड दिँदै आएको छ भन्दै उहाँले सामान्य नागरिकलाई महान् बनाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभयो ।

कार्यक्रममा नपाकी उपप्रमुख रजनी जोशीले पुस्तकालय समाजको ऐना भएको र यसले नागरिकको बौद्धिकस्तर उकास्न सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा अधिकृत भूपाल मुलले यस पुस्तकालयको अवस्था, यहाँको बौद्धिक सिकाइ र यसले प्रदान गरेको सेवाबारेमा जानकारी गराउनुभएको थियो । जनज्योति पुस्तकालयमा हालसम्म एक हजार ४९० जना सदस्य रहेको र पुस्तकालयको पुस्तक तथा पत्रपत्रिकाको प्रयोग गर्ने पाठकको सङ्ख्या १० हजार आठ सय ४६ जना रहेको जानकारी दिनुभयो ।

‘नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ’

काठमाडौँ – नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।

मन्त्रालयले संसद्ले सन् २०२० मा सर्वसम्मतीले स्वीकृत गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको उल्लेख गरेको छ । साथैै उक्त नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकार स्पष्टरुपमा विश्वस्त रहेको जनाइएको छ । नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा अध्यक्ष र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।

सो अवसरमा नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा पार्टी सभापति लामिछानेले जोड दिनुभएको थियो । उहाँले रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास भएको बताउनुभएको थियो ।

उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।

श्रीलङ्कामा आर्थिक सङ्कटपछिकै सबैभन्दा कम मुद्रास्फीति

कोलम्बो – सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । यो गत वर्षको अकल्पनीय आर्थिक सङ्कटपछिको सबैभन्दा कम भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो । श्रीलङ्काको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।

आर्थिक सङ्कटका कारण श्रीलङ्काले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २.९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।

आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलङ्काको सङ्कटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक सङ्कट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी सङ्केत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ ।

गत वर्षको आर्थिक सङ्कटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो ।

उहाँका उत्तराधिकारी रानिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पार्नुभएको थियो, ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाउनुभएको थियो र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाउनुभएको छ । सुधारको यस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

सिन्धुपाल्चोक, १५ भदौ : आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

 ढिलै भए पनि यो नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्य बताउनुहुन्छ । यसअघि आयातनिर्यात पटकपटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन । 

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो । पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन् । भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ । तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्री बताउनुहुन्छ ।

नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ । तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ । चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उहाँको भनाइ छ ।

नाका खुलेकोमा खुसियाली साट्न पग्नुभएका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदै हुनुहुन्छ ।

नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन् । चीनको सेबोकाकी पूर्वव्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो । अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन् । खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन् । यसको पुनःनिर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ ।

अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा

काठमाडौँ – सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज नेपाल भ्रमणमा आउनुभएको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुनेछ ।

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी नेतृत्वको कार्यदलले आज विभानस्थल क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमन पछिको बैठकमा अर्थ, गृह र पर्यटन मन्त्रालयका प्रतिनिधि, चारै वटा सुरक्षा निकायका प्रतिनिधिहरु तथा भन्सार, अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए । बैठकमा अध्यागमन, भन्सार कार्यालय तथा प्राधिकरणबाट विमानस्थल सुरक्षाको हालको अवस्था र सुधारका विषयमा प्रस्तुतिकरण भएको थियो ।

गत भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थल सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा विमानस्थलको सुरक्षा सुधार गर्ने उहाँले बताउनुभएको थियो ।

सोही बैठकको निष्कर्षका आधारमा सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले आज कार्यदलबाट विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको बताउनुभयो । कार्यदललाई प्रतिवेदन बुझाउने १५ दिनको कार्यादेश दिएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विमानस्थलको सुरक्षामा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने छ ।

विमानस्थलबाट ठूलो परिमाणमा सुनसहित लागूऔषत तस्करी भइरहेको छ । त्यसमा भन्सारका कर्मचारी संलग्न रहेको फेला परेको छ भने चिनियाँ भारतीय नागरिकसहित नेपालीहरूले सङ्गठितरुपमा सामान तस्करी गरिरहेको पाइएपछि सरकारले त्यसको नियन्त्रणका उपाय खोजी गर्न विमानस्थल सुरक्षा सुरधारका लागि सुझाव दिन कार्यदल गठन गरेको हो ।

सुशासन र समृद्धिको यात्रामा सरकार – प्रधानमन्त्री प्रचण्ड

गण्डकी – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताउनुभएको छ । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताउनुभयो ।

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ । उहाँले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताउनुभयो । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उहाँले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताउनुभयो ।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पार्नुभयो । भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उहाँले बताउनुभयो ।

भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गर्नुभयो । आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उहाँले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताउनुभयो ।

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उहाँले जानकारी दिनुभयो । उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैँसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावना रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुखरूपले कुरा उठाउने बताउनुभयो । जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिङ्गो विश्वको मुद्दा भएको उहाँको भनाइ छ ।

“केही दिनपछि म संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीररूपले कुरा उठाउँछु । आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिङ्गो मानवजातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीररूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

कुनै आवेगमा आएर समाजवादी मोर्चा गठन नभएको स्पष्ट पार्दै उहाँले यसले सच्चा कम्युनिष्ट तथा लोकतन्त्रवादीलाई एकताबद्ध बनाउँदै लैजाने बताउनुभयो । विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताउनुभयो । परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकताबद्धरुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उहाँले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो । जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “जनताले अहिले ठूलो आशा गरेका छन् । जनताका लागि परिर्वतन ल्याएकाले काम गरेर देखाउनु पर्ने चूनौती छ । सरकारको हात पनि बलियो बनाउने र सरकारको साथमा जनता छन्, राजनीतिक दल पनि छन् भनेर मोर्चाको अवधारणा अघि सारेका हौँ ।” अध्यक्ष नेपालले चार दलीय मोर्चालाई सरकारसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गर्नुभयो । उहाँले कसैले देशको राष्ट्रियता र स्वाभिमानमा आँच पुर्‍याएमा मोर्चा चुप लागेर नबस्नेसमेत दावी गर्नुभयो ।

“कसैले यो मोर्चालाई सरकारसँग मात्र जोडेका छन् । सरकारसँग मात्र जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनता र देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन वटै क्षेत्रमा क्रियाशील हुनेछ ।” अध्यक्ष नेपालले भन्नुभयो ।

वर्तमान सरकारले निष्पक्ष ढङ्गबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रसमेतमा पहल गरिरहेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताबीचमा प्रदेश तथा स्थानीयस्तरसमेतमा सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिबाट स्थापित उपलब्धिको रक्षाका लागि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । पछिल्ला समयमा क्रान्तिबाट पराजित शक्ति जुरमुराउन थालेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा देखिएका फुटहरू समाजवादी मोर्चाका रुपमा एकताबद्ध हुँदै अघि बढ्न थालेको बताउनुभयो । पछिल्ला समयमा जनयुद्ध लडेर आएका विरुद्धमा, समाजवादी आन्दोलनका विरुद्धमा षडयन्त्र भैरहेको उहाँले बताउनुभयो ।

जनता समाजवादी नेपालका कार्यकारी सदस्य शिवलाल थापाले नेपालको आवश्यकताअनुसार समाजवादी मोर्चा गठन भएको बताउँदै यो आगामाी २०८४ को निर्वाचनका लागि मात्र नभइ पछिसम्म पनि चलिरहने बताउनुभयो । पछिल्ला समयमा सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको बताउँदै उहाँले उक्त कार्य प्रशंसनीय भएको जिकीर गर्नुभयो ।

‘सीताको भूमिका निर्वाह गर्न उत्सुक छु’ – अभिनेत्री दिव्या दत्ता

ललितपुर – भारतीय अभिनेत्री दिव्या दत्ताले बाल्यकालमा आफूले सीतामाताको भूमिका निर्वाह गर्न नपाएको बताउनुभयो । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सञ्चालित ‘सीताको परीक्षा : दक्षिण एशियामा महिला सङ्घर्ष’ विषयक सत्रमा (सेसन) मा सहभागी हुनु भएकी अभिनेत्री दत्ताले स्कुलमा हुँदा सीताको भूमिका गर्न सबै छात्रा उत्साहित हुने गरेको बताउनुभयो ।

“बाल्यकालमा उहाँको बारेमा जति पढेकी छु, सुनेकी छु । त्यहिँ कारणले पनि मलाई उहाँको शालीनतालाई प्रस्तुत गर्न मन थियो तर, त्यो सपनामै सिमित रह्यो”, अभिनेत्री दत्ताले भन्नुभयो, “उहाँलाई पर्दामा मैले प्रस्तुत गर्न पाएँ भने बाल्यकालमा बुझेकी सीता नै प्रस्तुत गर्नेछु ।” उहाँले सीताको नाम जहिले राम्रो कार्यका लागि लिने गरेको अनुभव सुनाउनुभयो ।

“आशिर्वाद दिँदा होस् या जोडी राम्रो होस्भन्दा पनि सीतारामको जस्तो होस् भनिन्छ । किनकि त्यसको प्रभाव वा सुन्दरता नै फरक छ”, अभिनेत्री दत्ताले भन्नुभयो । महोत्सवमा सहभागी हुन् नेपाल आउनुभएकी अभिनेत्री दत्ताले नेपाली भाषा सुन्दर लागेको भन्दै भाषा सिकिरहेको बताउनुभयो । उहाँ महोत्सवअन्तर्गत चल्ने विभिन्न सत्रमा सहभागी हुनुहुनेछ ।

जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने शिक्षामन्त्रीको सङ्कल्प

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने सङ्कलप व्यक्त गर्नुभएको छ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आज आयोजित मूल समारोह समितिको कार्यक्रममा उहाँले सो स्थनमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहको भवन विभागले बनाउने गरी बजेटसमेत तर्जुमा भइसकेको अवस्थामा कानुनी विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको जनाउनुभयो ।

मन्त्री राईले बजेट विनियोजन भए पनि त्यो बजेट खर्च गर्न नमिल्ने भन्ने रिपोर्ट आफूलाई दिइएको बताउँदै उहाँले सर्वाेच्च अदातले दिएको आदेशबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाका लागि आवश्यक कार्य भइरहेको स्पष्ट गर्नुभयो । उहाँले उक्त स्थानमा केन्द्रीय पुस्तकालय बनाएरै छाड्ने सङ्कल्प व्यक्त गर्नुभयो । हाल नेपाल राष्टिरय पुस्तकालय भक्तपुरमा अस्थायीरुपमा सञ्चालित छ ।

कार्यक्रममा पुस्तकालयका क्षेत्रमा उत्कृष्ठ काम गर्ने संस्था, व्यक्तिलाई पुरस्कृत र सम्मानित गरियो । पुरस्कृत हुनेमा पुस्तककालयतर्फ नरदेवी काठमाडौँको आशा सफु कुथीलाई रु ५० हजार राशिबाट पुरस्कृत भएको छ । यस्तै सम्मानतर्फ पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी–४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे, पुस्तकालयप्रेमी तथा अभियन्तातर्फ रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, पाठकतर्फ ललितपुरका गोदावरी नगरपालिका–४ बडिखेलका रुक्मिणी चालिसे सम्मानित हुनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अध्यक्षतामा गत साउन २२ गते गठित मूल समारोह समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवस सम्पन्न गरेको हो ।

शङ्कर पोखरेल नेतृत्वको एमाले उच्चस्तरीय टोली भोलि चीन जाँदै

काठमाडौँ, १५ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता हुनुहन्छ ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ ।

आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १५ भदौ : सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो । उहाँले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सहकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको आह्वान

काठमाडौँ, १५ भदौ : दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गर्नुभएको हो ।

सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा वचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको नगरपालिकाले जनाएको छ । सदस्यले वचत गरेको रकमबाट नै अरु सदस्यलाई कर्जा प्रवाह गरिने हुँदा ऋणी सदस्यले आफूले लिएको साँवा, ब्याज सममयमै नबुझाउँदा सहकारी संस्थामा स्वाभाविकरुपमा समस्या आएको सूचनामा उल्लेख गरिएको छ ।

केही व्यक्तिबाट सहकारीको ऋण नतिरे पनि हुन्छ भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको सुनिएकाले पनि नगरपालिकाले सार्वजनिकरुपमा आह्वान गरेको जनाइएको छ । ऋण नतिर्ने कुरालाई ऋणीहरूलाई नै प्रत्युत्पादक हुन आउने सूचनामा उल्लेख गरिएको छ । ऋण लिएपछि तिर्नुपर्दैन भन्ने कुरा नेपालको प्रचलित ऐन कानुनविपरीत भएकोतर्फ पनि नगरपालिकाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

नगरपालिका सहकारी ऐन, २०७५ को दफा ५८ मा ऋण असुलसम्बन्धी गर्ने व्यवस्था छ । दफा ६१ मा कसैले संस्थालाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याजसमेत दर्ता गर्ने अधिकारीले ऋणीको जायजेथाबाट असुल उपर गरिदिन सक्ने व्यवस्था ऐनमा भएको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

ऐनका दफा ६२ मा दर्ता गर्ने अधिकारीले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने गरी व्यवस्था गरेको छ । ऋणीले सहकारी संस्थामा जेजस्तो सम्झौता, शर्त वा कबुलियत गरी ऋण लिएको हो सोही बमोजिम समयमै आफूले लिएको ऋणको साँवा, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानको लागि सहयोग गर्न नगर क्षेत्रका सबै सहकारीका ऋणीलाई नगरपालिकाले आह्वान गरेको छ ।

सबै मिलेर जलवायुबाट हुने असरको क्षतिपूर्ति लिन दाबी गरौँ : वनमन्त्री महतो

काठमाडौं १५ भदौ : वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै सङ्घ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले आज यहाँ आयोजना गरेको जलवायुसम्बन्धी कार्यक्रममा उहाँले जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो ।  

उहाँले भन्नुभयो, “विगतमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । आगामी कोप–२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपाली पहिलो पटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (बृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दाबारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामबारे त्यहाँ जानकारी गराइने छ ।”

वनमन्त्री डा महतोले जलवायु परिवर्तनको मुख्य जोखिममा महिला र बालबालिका बढी प्रभावित देखिएको उल्लेख गर्दै भन्नुभयो, “घरायसी तथा कृषि तथा अन्य सीपमूलक कार्यहरूमा पनि महिला नै अग्रपंक्तिमा छन्, पुरुष कमाउनका लागि बाहिर जाने वा विदेशिने भएकाले पनि महिला र बालबालिका जलवायु परिवर्तनले निम्त्याएको विपद्को बढी जोखिममा परेका छन् ।” व्यवस्थापनमा महिला र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा यूएन वुमन नेपालका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नाण्डेज्ले नेपाल सरकारले समावेशिताका लागि चालेका कदम महत्त्वपूर्ण भएको बताउँदै जलवायु परिवर्तनका असर कम गर्न नेपालले चालेका कदमको प्रसंशा गर्नुभयो । “हामी नेपाल सरकारसँग मिलेर जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौँ”, उहाँले भन्नुभयो ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी छ भन्नुभयो । उहाँले कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको बताउँदै खाद्य सङ्कटतर्फ उन्मुख भइरहेका उल्लेख गर्नुभयो ।

“अबको केही महिनामा नै विश्वका नेताहरू कोप–२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भेला हुँदैछन् । हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निमार्ण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा बुद्धिसागर पौडेलले नेपालले २०४५ सम्म कार्बन शून्यको अवस्थामा जाने लक्ष्य राखेकाले यी लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो । जलवायु विज्ञ समा श्रेष्ठले जलवायुको सबैभन्दा ठूलो असर महिला तथा बालबालिकामा परेको बताउँदै यौन तथा प्रजनन अवस्थामा पनि जलवायुको असर परिरहेको उल्लेख गर्नुभयो ।

अर्का जलवायु विज्ञ मन्जित ढकालले विश्व तापमान वृद्धिले जलवायु परिवर्तन देखिएको र यसले विपद् निम्त्याएको बताउनुभयो । कार्बन उत्सर्जन घटाउनुपर्ने भए पनि विभिन्न मुलुकको अडानका कारण कार्बन उत्सर्जन रोक्न नसकिएको उहाँको भनाइ थियो । विज्ञ दिव्या गुरुङले निर्णय गर्ने छलफलमा पुरुष सहभागी हुने तर महिलालाई काम व्यस्ताका कारण सहभागी नगराउने गरिएको गुनासो गर्नुभयो । अर्का जलवायु विज्ञ राजु पण्डित क्षेत्रीले जलवायु परिवर्तनका असरले पारेका असर कम गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।  

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

काठमाडौँ – बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुती रहने छ । उहाँसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुती रहने छ ।

स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित सयौँ गीत आमश्रोतमाझ पस्किनुभएको छ । उहाँका ‘मलाई सम्झी रेलिमै (कार्गील)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नुहुने छ ।

नेपालका सबैभन्दा बढी कलाकार आवद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उहाँले दाबी गर्नुभयो । स्रष्टा रायमाझीको प्रस्तुती सुन्न देशभरीबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापा मगरले बतायउनुभयो ।

प्रज्ञा प्रतिष्ठानको हलमा प्रवेश पासको व्यवस्था गरिएको तथा प्रज्ञा प्रतिष्ठानको हल बाहिर प्रतिष्ठान परिसरमा टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवम् गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिनुभयो । विवाहमा छोरीलाई बिदाई गर्ने बेला बुवाले दिने आशिर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको नयाँ चलचित्र ‘परदेशी–२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताउनुभयो ।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत हुनुहुन्छ । गीत सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ । बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिनुभएका रायमाझीका दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार हुनुहुन्छ । दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको छ । भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ ।

विप्लव नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सो बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले पार्टीले काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने बताए । उनले असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने बताए ।

आज पोखरामा सन्देश सभा आयोजना गर्दै समाजवादी मोर्चा

काठमाडौं – समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा आयोजना गर्दैछ। सभा पोखरा सभागृहमा हुनेछ ।

सो सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत मोर्चाका शीर्षनेताले सम्बोधन गर्नेछन् ।

आजदेखि तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक – चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

इजिप्टको सबैभन्दा पुरानो यहूदी मन्दिर जीर्णोद्धारपछि सर्वसाधारणको लागि खुल्ला

काएरो – इजिप्टको सबैभन्दा पुरानो यहूदी मन्दिर जीर्णोद्धारपछि सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।इजिप्टका प्रधानमन्त्री मुस्तफा मादबोउलीले बिहीबार देशकै सबैभन्दा पुरानो यहुदी मन्दिर बेन एज्रा सिनेगोगको जीर्णोद्धारपछि उद्घाटन गर्नुभएको इजिप्टको पर्यटन तथा पुरातात्विक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहूदी विद्वान तथा दार्शनिक अब्राहम बेन एज्राको नामबाट नामाकरण गरिएको सभाघर १२ औं शताब्दीमा सुरु भएको र सन् १८९० को दशकमा पुनः निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

कुनै समय इजिप्टमा यहूदी उत्सव, जमघट र प्रार्थनाको केन्द्रको रूपमा रहेको यो मन्दिर सन् १९५० को दशकमा अधिकांश यहूदी समुदायले छोडेपछि पर्यटकको आकर्षणको रूपमा परिणत भएको छ । जीर्णोद्धार कार्यमा पर्खालहरूको लागि सावधानीपूर्वक वास्तुकला जीर्णोद्धार कार्य, छत र प्रकाश प्रणालीको रखरखाव समावेश छ, विज्ञप्तिमा भनिएको छ ।

इजिप्टमा यहूदी समुदायहरूको सामाजिक जीवनझल्कने पुस्तकहरू र कागजातहरूको महत्वपूर्ण सङ्ग्रहको साथ, मन्दिरले समकालीन यहूदी इतिहासमा पर्याप्त महत्व राख्दछ ।

टेबल टेनिस टोली आज दक्षिण कोरिया जाँदै

काठमाडौँ – नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन आज दक्षिण कोरिया प्रस्थान गर्दैछ । यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदैछन् ।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन् ।

नेपालले पुरुष÷महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा छ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । टेबल टेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो । बिदाइका अवसरमा सदस्यसचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षणबारे चासोपूर्वक जानकारी लिनुभएको थियो । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए ।

यसैबीच अखिल नेपाल टेबल टेनिस सङ्घ, तदर्थ समितिको पहिलो बैठकले सङ्घका वरिष्ठ सहसंयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐनअनुसार सङ्घको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । सङ्घका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा आज बसेको बैठकले शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।समितिका सदस्यमा सहसंयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् ।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा – पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

साउदी अरबमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ। कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला।

तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ। तपाईंको नामबाट अरू कसैले सिमकार्ड निकाल्यो भने पनि जरिबानाको फन्दामा पर्नुहोला। यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले ठूलो जरिबाना तिर्नुपर्ने भएको छ। उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ (८६ लाख ९० हजार साउदी रियल) जरिबाना तोकिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली कामदारको मुख्य आकर्षक मानिन्छ, साउदी। यहाँका नीति र नियमको पालना नगर्दा कमाउन आएका नेपाली कामदारहरू उल्टै जरिबाना तिर्नुपर्ने अवस्थामा पुगेका छन। खाडी मुलुकमध्ये नेपालीका लागि दोस्रो ठूलो मुलुकमा पर्छ, साउदी।

साउदीमा आउने नेपाली कामदारको संख्या र माग धेरै छ। तर, नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा र सुविधामा निकै भिन्नता हुने गर्छ। ‘फ्रि भिसा फ्रि टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाख देखि २ लाखसम्म उठाउने गर्छन्।

अर्कोतिर नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवासुविधा पाइँदैन। त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन्। त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन्। अनि, सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिबाना तिर्न बाध्य बनाउने गरेका छन्।

सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले प्रत्येक व्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिबाना तोकेर मुद्दा दायर गर्छन्। कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिबाना बढ्दै जान्छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी नेपाली गोलभेडा १००, सानो गोलभेडा ८० रुपैया ,रातो आलु ५७ रुपैयाँ, रातो आलु भारतीय ३६ रुपैयाँ, मुडेको रातो आलु ५४ रुपैयाँ, सुकेको प्याज ७६ रुपैयाँ, लोकल गाजर १२० रहेको छ ।

यस्तै काउली १३० रुपैयाँ, सेतो मूला १०० रुपैयाँ,लाम्चो भन्टा ८० रुपैया केजी, तुने बोडी १२० रुपैया, घिउ सिमि लोकल ११० रुर्पैया, लौका ८० रुपैया,भिण्डी ७० रुपैया, स्कुस ६० रुपैया र रायो साग २०० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तालिकामा हेर्नुहोस्

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू(भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो।

यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेर हदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको जनाएको छ। सरकारले यस अगाडि गरेको प्रस्ताव भने ऐन जारी भएको मितिदेखि अनिवार्य अवकाश उमेर कर्मचारीको एक वर्ष बाँकी भए छ महिना मात्र थप्ने, डेढ वर्ष बाँकी भए एक वर्ष र दुई वर्ष बाँकी हुँदा मात्र दुई वर्ष थपिने गरी प्रस्ताव गरेको थियो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले विधेयक मस्यौदामा लोक सेवा आयोगबाट राय आउँदा धेरै विषयमा सुझाव आएको बताए। अहिले विधेयकको मस्यौदा छलफलका लागि मन्त्रीपरिषद्मा पठाइएको र मन्त्रीपरिषद्बाट मन्त्रालयमा आएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले मस्यौदा संसद्मा दर्ता गर्नेछन्।

मन्त्रालयका अनुसार विधेयक मस्यौदाका बारेमा सुझाव सङ्कलन गर्ने क्रममा कर्मचारी सङ्गठनहरूले कर्मचारीको उमेर एकमुष्ट रूपमा उमेर हद ६० वर्ष बनाउन सुझाव दिएका थिए। निजामती कर्मचारी सङ्ठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरूसँग गरिएको छलफलमा एकमुष्ट रूपमा अवकाश उमेर हद ५८ वर्षलाई बढाएर ६० वर्ष बनाउन सुझाव दिएको बताए । तर अहिले लोक सेवा आयोगको राय हुँदै मन्त्रीपरिषद्मा पुगेको मस्यौदामा भने कर्मचारीको अवकाश उमेर हद एक वर्षपछि मात्र लागु हुने गरी प्रस्ताव गएको बुझिएको छ ।

मन्त्रालयले भने एकै पटक ५८ वर्षबाट ६० वर्ष उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न रोक लाग्ने भएकाले ऐन जारी भएको एक वर्षपछि मात्र लागू हुने गरी प्रस्ताव गरिएको जनाएको छ। यसअघिको काशीराज दाहाल नेतृत्वको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिले पनि कर्मचारीको उमेर हद ६० वर्ष बनाउन सुझाव दिएको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी, १५ भदौ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिनुुभयो । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उहाँले भन्नुुभयो, “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ ।गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८÷७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियोे ।आव २०७७÷७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताउनुुभयो ।“हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उहाँले भन्नुुभयो, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।”