`

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ, १५ भदौ : सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताउनुभयो । “हाम्रो दैनिक जीवन राजनीतिबाट टाढा छैन, चलचित्रमा सामाजिक विषयवस्तु पनि समावेश छ”, उहाँले भन्नुभयो ।चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो ।केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गर्नुभएको छ ।बिहीबारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’लाई सविन अधिकारीले निर्देशन गर्नुभएको छ । उहाँकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गर्नुभएको छ । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “यो केही फरकरूपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय बिताएको थिएँ ।” चलचित्रमा हरिबहादुर घलेले छायाँङ्कन, विपिन मल्लले सम्पादन र कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौँ, १५ भदौ : भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ-उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार घर भत्काउनेबारे एक जना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्काल घर नभत्काउन अन्तरिम आदेश दिएको हो ।

“मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पूर्जा कागजातबाट निवेदनमा उल्लेखित कित्ता नं ७०७ को जग्गा निवेदक प्रभा चापागाईंको नाममा रहेको देखिएको काठमाडौँ महानगरपालिका प्राप्त सङ्कलन फाइल हेर्दा मिति २०८० साउन १० मा भएको निर्णयमा कित्ता नं २१४ को कल्याणी राजभण्डारीको जग्गामा बनेको भवनको सम्बन्धसम्म निर्णय भएको देखिएको छ”, उच्च अदाल पाटनको आदेशमा भनिएको छ ।

निवेदकको कित्ता नं ७०७ मा निर्मित घरको सम्बन्धमा कुनै निर्णय भएको वा निवेदशकलाई जानकारी दिएको नदेखिएकाले उक्त रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म त्यहाँ निर्मित भवन नभत्काउन उच्च अदालतको नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।राप्रपाको पार्टी कार्यालय विद्युत् प्रसारण लाइन मुनिको जग्गामा निर्माण गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले भत्काउने निर्णय गरेको थियो ।
 

चिनियाँ गिरोहको आपराध अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

काठमाडौं । नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै आएको पाइएको हो ।

पछिल्लोपटक राजस्व अनुसन्धान विभागले साउन ३ गते ६० किलो सुन तस्करीमा पनि चिनियाँ गिरोह संलग्न रहेको र गिरोहले नेपाल हुँदै भारतमा सुन पुयाएको पुष्टि भइसकेको छ । पछिल्लो पटक चिनियाँ आपराधिक गिरोहको अपराध धन्दा फैलिएको महसुस प्रहरीले पनि गरेको छ,ु प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने । उनका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन् ।

यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन् । त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन् ।
प्रहरीको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९र८० मा नेपालमा ४२ चिनियाँ पक्राउ परेका छन् ।

त्यसैगरी आव २०७८र७९ मा १३ र २०७७र७८ मा १६ जना चिनियाँ पक्राउ परेका छन् । उनीहरू सबै कल बाइपास, एटिएम तोडफोड, म्याच फिक्सिङ, विदेशी मुद्राको अवैध कारोबार र सुन तस्करी अभियोगमा पक्राउ परेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।

कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको प्रथामिकतामा : मन्त्री बस्नेत

जुम्ला-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको डायलायसिस सेवाको शुभारम्भ र स्किल ल्याब हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली आफँैमा बाहुमूल्य जडीबुटीको भरिपूर्ण ठाउँ पनि हो । आयुर्वेद औषधिलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानले खोज, अनुसन्धानको काम गर्नुपर्छ ।” प्रतिष्ठानमा ब्लड बैंक स्थापनाका लागि मन्त्रालय आर्थिक सहयोग गर्न तयार रहेको स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति बस्नेतको भनाइ छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई नतिजा आउने गरी काम गर्नुपर्ने भन्दै उहाँले प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवामा जनतालाई राहत हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।“कर्णाली स्वास्थ्य विज्ञानलाई चाहिने भौतिक संरचनाको निर्माणमा आवश्यक बजेटको व्यवस्थापनसमेत गरिने छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयलाई चलायमान बनाउन लागिपरेको छु ।” अस्पतालमा दश प्रतिशत शय्या निःशुल्क कडाइसाथ लागू गरेर कार्यान्वयमा समेत आएको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।कर्णाली प्रतिष्ठान पश्चिम नेपालको भरपर्दो अस्पताल भएकाले यसको थप स्तरोन्नतिका लागि बजेट आवश्यक रहेको सांसद कान्तिका सेजुवालले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र निःशुल्क बनाउन सरकारको ध्यान जान नसकेकोे प्रदेशसभा सदस्य देवेन्द्र शाहीको भनाइ थियो ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले कर्णाली प्रतिष्ठानबाट प्रदान गरिने सेवा प्रवाहमा व्यापक जनगुनासो आउने गरेको भन्दै यहाँका सबै राजनीतिक दल, स्थानीय सरकारसँग सहकार्य र समन्वयमा प्रतिष्ठानले कमजोर भूमिका खेलेको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रचलित कानूनअनुसार उपलब्ध साधन स्रोतको प्रयोग गरी प्रतिष्ठानलाई आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।माथिल्लो कर्णालीका पाँच जिल्लालगायत बाजुरा, अछाम र जाजरकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने गरेको प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावलले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले प्रतिष्ठानलाई स्किल ल्याब प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।

पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल, बयान लिने तयारीमा अख्तियार

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा। बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा मुख्य सचिव अर्याल जोडिएको हुन सक्ने भन्दै उनमाथि समेत छानबिन गर्ने भएको हो ।

यस प्रकरणमा मुख्य सचिव अर्यालसँग छिटै बयान लिइने तयारी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव रहँदा अर्यालले पेमेन्ट गेटवे खरिद प्रक्रियामा सामान भुक्तानी गर्दा तथा स्रोत सुनिश्चितताका क्रममा मिलेमतो गरेका केही प्रमाणहरू भेटिएपछि त्यसको वास्तविकता बुझ्न मुख्य सचिव अर्यालसँग बयान लिन लागेका हौं’, अख्तियार स्रोतले भन्यो– ‘यस प्रकरणमा सम्भवतः मुख्य सचिव अर्याललाई छिट्टै बयानमा बोलाएर वास्तविकता बुझ्नेछौं ।’

त्यति नै बेला सञ्चार सचिव रहेका अर्यालले पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै स्रोत सुनिश्चिता गर्न भन्दै अर्थ मन्त्रालयमा आफैं प्रस्तावसमेत लगेका थिए । अर्यालले आफ्नै संयोजकत्वमा समिति बनाएर प्राविधिक अध्ययनबिना नै पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै प्रस्ताव लगेर अर्थ मन्त्रालय गएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

जनकपुरधाममा जनै पूर्णिमाको दिन दुई करोड ५० लाखको मिठाई बिक्री

जनकपुरधाम- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ ।अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस भएको बताएका छन् ।

होटल व्यवसायी सङ्घ धनुषाका उपाध्यक्ष एवं हंसराज मिठाई पसलका सञ्चालक सन्तोष गुप्ताले राखी पर्वका अवसरमा जनकपुर बजार क्षेत्रमा मात्रै अढाइ करोड बराबरको मिठाईको व्यापार भएको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा व्यापार कम भए पनि अन्य समयको तुलनामा आज राम्रो व्यापार भएको जानकारी दिनुभयो ।

“जनकपुरधाममा साना–ठूला गरी करिब एक सय पसलले नियमितरूपमा व्यापार गरिरहेका छन् । आज मात्रै थप दुई सय मिठाईका स्टल लगेका थिए । अहिलेसम्मको जानकारीअनुसार अढाई करोडको व्यापार भएको छ”, गुप्ताले भन्नुभयो, “अब नेपालीहरूले मनाउने विभिन्न चाडपर्व आउँदैछन्, त्यसैले मिठाईको व्यापार निरन्तर बढ्ने हाम्रो अनुमान छ ।”

रघुपति मिष्ठान भण्डारका सञ्चालक सन्तोस साहले पनि यसपालिको मिठाई व्यापार सन्तोषजनक रहेको बताउनुभयो । उहाँले आफ्नो पसलबाट मात्रै रक्षा बन्धनका अवसरमा १६ क्विन्टल मिठाइको व्यापार भएको र दसैँतिहारमा अहिलेको तुलनामा दोब्बर व्यापार हुने गरेको जानकारी दिनुभयो । “हामी नियमितरूपमा मिठाईको व्यापार गरिरहेका छौँ । चाडपर्वबाहेकको समयमा राम्रो व्यापार हुँदैन । अब अरु चाडपर्व पनि आउन लागेकाले व्यापार बढ्ने अपेक्षा छ । तर दूधको मूल्य, मिठाई बनाउने जनशक्तिको अभावले केही कठिनाइ भने छन्”, साहले भन्नुभयो ।

होटल व्यवसायी सङ्घ धनुषाका पूर्वअध्यक्ष दशरथ साहले भने कोरोना महामारीलगायतका कारणले जनकपुरमा आर्थिक गतिविधि बढ्न नसकेकाले अहिले पनि उत्साहजनक व्यापार नभएको बताउनुभयो ।

“पहिला पाँच करोडभन्दा बढीको मिठाई बिक्री हुने गरेको थियो, यसपटक भने अढाइ करोडको मात्रै व्यापार भएको छ । अरु महिनाका तुलनामा यो राम्रो भए पनि जनकपुरमा विगत वर्षहरूमा जस्तो व्यापार बढेन भन्ने उदाहरण पनि हो यो । ठीकै छ, आगामी दिनमा थप सुधार होला”, पूर्वअध्यक्ष साहको भनाइ छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले अरु व्यापारको तुलनामा होटल तथा मिठाई व्यवसाय चलायमान रहेको र चाडपर्वको समय आउन लागेकाले मिठाई व्यापारले गति लिने विश्वास व्यक्त गर्नुभयो । मिठाईबाहेक राखीको व्यापार पनि करिब रु २५ लाखको भएको अनुमान रहेको अध्यक्ष महासेठले बताउनुभयो ।

रक्षा बन्धन विशेषगरी तराईमधेस र मारवाडी समुदायले मनाउने गरेका छन् । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वाससहित रक्षा बन्धन (विशेष धागो) बाँध्ने प्रचलन छ । दिदीबहिनीले दाजुभाइलाई मिठाईसहितको खानेकुरा दिने र दाजुभाइले शक्तिअनुसारको उपहार दिने गरेका छन् ।जनकपुरमा विभिन्न प्रकारका मिठाईको मूल्य रु पाँच सयदेखि एक हजार चार सयसम्म रहेको छ । आज वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट पनि रक्षा सूत्र (डोरो) बाँध्ने गर्दछन् ।

सात कम्पनी कालोसूचीमा

चितवन – तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो ।

जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि निर्माणको जिम्मा लिएर काम सम्पन्न नगर्ने ती कम्पनीलाई कालो सूचीमा राखिएको हो । १६ वटा निर्माणको ठेक्का लिएका सात कम्पनीलाई कालो सूचीमा राखिएको उहाँले बताउनुभयो ।

उनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि ठेक्का सम्झौता वा निर्माण कार्य गर्न नपाउने गरी कालो सूचीमा राखिएको इञ्जिनियर आचार्यले बताउनुभयो । “आव २०७७/७८ मा सुरु भएका ११ निर्माणका काम अझै पूरा हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “आव २०७८/७९ मा २० ठेक्का बाँकी रहेका छन् भने २०७९/८० मा एक सय पाँच निर्माणको ठेक्का सम्झौता भई सञ्चालनमा छन् ।”

चालु आवमा एउटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको छ भने छ ठेक्का सम्झौता तोड्ने अन्तिम चरणमा महानगर रहेको इञ्जिनियर आचार्यले बताउनुभयो । उहाँका अनुसार सम्झौता गरी काम नगरेका र सम्झौता गर्न नआएका निर्माण व्यवसायीको सम्झौता रद्द गर्न लागिएको हो ।

भरतपुर महानगरले भौतिक संरचना, सडक निर्माण, कल्वर्ड, सतह ढल, ढल निर्माण, मेस जाली लगायत काम गर्दै आएको छ । जसमध्ये ८० प्रतिशत सडक निर्माणको काम रहेको उहाँको भनाइ थियो ।

सुन तस्करी प्रकरण : सिआइबीको टोलीलाई भारत पठाइयो

काठमाडौँ – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई बिहिबार भारत पनि पठाएको छ ।

बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहिबार भारतमा पनि टोली पठाएको हो ।

अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताउनुभयो । यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।

यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन् । हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो ।

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।

 
 

हेर्नुहोस् भदौ १५ गते शुक्रवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनिको योग रहेकोछ । मध्यान्न पश्चात सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

बृष राशि – खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

मिथुन राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

कर्कट राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ ।

सिंह राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

कन्या राशि – मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । शारिरीस्क आलस्यताले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा बिशेष साबधानि रहनु होला ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

कुम्भ राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । पराना मित्रजनहरु सगँको भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।

मीन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।सन्तान सम्बन्धि समस्याले सताउने छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, १४ भदौ : भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औँ कोर्षको एक प्रतिनिधिमण्डलले यही भदौ १० देखि १४ गतेसम्म नेपालको भ्रमण सम्पन्न गरेको छ । भ्रमण दलमा भारत तथा जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित हुनुहुन्थ्यो ।

एयर भाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेको थियो ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै भारतका मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी हुनुहुन्छ । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसक्नुभएको छ ।

 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १४ भदौ : सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।

निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।

 

समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री

कर्णाली, १४ भदौ : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउनुभएको छ । उहाँले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । यो यात्रा मोर्चाको आन्दोलन हो ।”

क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुक र नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरूको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका भएको बताउँदै उहाँले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।” उहाँले जनताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिका लागि मोर्चा अपरिहार्य आवश्यकता भएको प्रतिक्रिया दिनुभयो ।

समाजवादी मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई समाप्त पार्ने बताउनुभएका प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको प्रतिक्रिया दिनुभयो । सोही क्रममा उहाँले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौती दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको प्रतिक्रिया दिँदै उहाँले माओवादी र आफू नै त्यस्तो विषय आए पनि छोड्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरूलाई सह्य नभएको समेत जिकिर गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिष्ट आन्दोलनलाई बचाउने क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । मुलुकलाई आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा आवश्यक भएको उहाँले जनाउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले समाजवादी मोर्चाका कारण सरकार ढल्छ कि भन्ने आकलन गरिए पनि कुनै पनि हालतमा यो सरकार नढल्ने दाबी गर्नुभयो ।

कम्युनिष्टहरू मिल्दा गठबन्धनभित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको बताउँदै उहाँले भन्नुभयो, “मोर्चा बन्दा कांग्रेसलई चिसो पस्यो कि भन्ने आकलन गरिएको छ । त्यो गलत हो, बरु वर्तमान सरकार जोगाउन यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । एकतामा शक्ति मिल्ने र शक्तिमा तागत जुट्ने भएकाले समाजवादी शक्तिहरू एक ठाउँमा आइपुगेका छन् ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिगामी शक्ति र प्रतिक्रान्तिकारीहरूले कम्युनिष्टलाई देखी नसहेको आरोप लगाउनुभयो । क्रान्तिलाई पूर्णता दिएमात्र प्रतिक्रान्तिकारी ध्वस्त हुने उहाँको भनाइ थियो ।

आजको संसदीय व्यवस्था रहेसम्म मुलुकमा स्थिरता, स्वाधीनता, शान्ति, समृद्धि सम्भव नहुने भन्दै उहाँले अब नेपाली विशेषताको समाजवाद ल्याउने दिशामा जानुपर्नेमा जोड दिनुभयो । नेपालको रातो झण्डा र समाजवादी व्यवस्था स्थापनाका लागि थालिएको अभियान सम्राज्यवादीहरूले नरुचाएको जनाउँदै उहाँले अब मोर्चाको संरक्षण गर्दै त्यसलाई अगाडि बढाउने युगीन कार्यभार हामी रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी परिषद् सदस्य प्रकाश अधिकारीले विभिन्न ऐतिहासिक आन्दोलनसहित हजारौँ सहिदको बलिदानबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक व्यवस्था आइपुग्दा पनि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको र उक्त समस्या समाधानका लागि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । यसका लागि कम्युनिष्टहरूले न्यूनतम साझा समझदारीका आधारमा समाजवादी मोर्चा गठन गरी राजनीतिक स्थिरता, शान्ति, समृद्धि र विकासलाई केन्द्रमा राखेर समाजवादको यात्रा तय गरेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौँ, १४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यलाई स्थापित गरेको धारणा व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्या महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्था समेट्न सकिएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले लामो सङ्घर्षपछि नेपालमा राजनीतिकरूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको छ भन्नुभयो । त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्त्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । 

“गरिबीले नै मानवीय मूल्य विरुद्धका विकृतिहरू देखापर्छन्, गरिबी हटेपछि मात्र विकृति क्रमशः आफैँ हट्दै जाने हो”, राष्ट्रपति पौडेलले भन्नुभयो,  “गरिबीका कारण नेपाली जनताले धेरै समस्या भोग्नुपरेको छ, त्यो समस्याबाट जनताको जीवनस्तरमाथि उठाउन हामी कोसिस गरिहेका छौँ । त्यसमा अमेरिका जस्ता मुलुकको सहयोग हाम्रा लागि महत्त्वपूर्ण हुन्छ ।” 

नेपालको संविधान निकै राम्रो रहेको र आफूहरू त्यसबाट प्रभावित भएको तथा अमेरिकामा नभएको महिलासम्बन्धी हकअधिकारको व्यवस्था नेपालमा भएको बताउँदै नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधिमण्डलको भनाइ थियो । उहाँहरूले मानवअधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । 

प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन,  डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड तथा नेपालस्थित अमेरिकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो ।

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, १४ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना हुनुभएको हो ।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहनुभएका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उहाँ केही दिन अस्पतालमै रहनुहुने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको थियो ।

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ । आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

आजका दिन ११ प्रकारका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस अवसरमा आज काठमाडाँैको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर–पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।

मनाइयो गुन्हु पुन्ही

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृतरूपमा व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपालमा सूचना प्रविधि(आइटी)का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ”, उहाँले भन्नुभयो, “चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।”

मन्त्री डा महतले ५० देखि सतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा महतले पछिल्लो समय ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनुभयो । उहाँले नेपालबाट बेलायतमा सय मिलियन पाउण्ड बराबरको सफ्टवयेर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबीसमेत गर्नुभयो । 

“अहिले नेपालमा ठूलो सङ्ख्यामा युवा आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन”, मन्त्री डा महतले भन्नुभयो, “नेपालबाट बेलायतमा एक सय मिलियन पाउण्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको छ ।”

पर्यटन प्रवर्द्धनका लागि ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि ऋण कसरी तिर्ने भन्ने समस्यामा सरकार रहेको उहाँले बताउनुभयो । “ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ । कसरी ऋण तिर्ने भन्ने भइरहेको छ”, मन्त्री डा महतले भन्नुभयो, “त्यो भन्दा पहिला निजगढमा विमानस्थल बनाउन पाएको भए राम्रो हुन्थ्यो ।” नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउ भन्न सक्ने अवस्था नभएको उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रमा आर्थिक चुनौती यथावत् रहेकाले अहिलेको अर्थतन्त्रको ‘ट्रेण्ड’लाई बदल्न जरुरी रहेको धारणा राख्नुभएको थियो । उहाँले दुई छिमेकी राष्ट्रको बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनबाट पर्यटक भित्र्याउने गरी कार्यक्रम ल्याउन आवश्यक छ ।” उहाँले मुलुकको हालको अर्थतन्त्रको अवस्थालाई बदल्न अमेरिकालगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गर्नुभयोे । हाल विदेशी मुद्रा सञ्चिति राम्रै रहे पनि आर्थिक चुनौती यथावत् नै रहेको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालका दुई छिमेकी भारत र चीनमा आर्थिक विकास द्रूत गतिमा भइरहेकाले त्यसबाट हामीले पनि सिक्नुपर्ने बताउनुभयो । “आज बाटो बनाउने भोलि भत्काउने खालको विकासले हामी कहीँ पुग्दैनौँ”, उहाँले भन्नुभयो, “हामीले सन्तुलित एउटा परराष्ट्र नीतिलाई आत्मसात गर्दै सबै ठूला र विदेशी राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राखेर मात्र हामी अगाडि बढ्न सक्छौँ, त्योभन्दा अर्को विकल्प हामीसँग छैन् ।”

नेपालमा आउने विप्रेषण (रेमिटेन्स)को सदुपयोग गरेर लगानीका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सकिने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले विकास र प्रविधिका क्षेत्रमा विकसित राष्ट्रबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

काठमाडौँ, १४ भदौ : त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आउनुभएको छ । उहाँ मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गर्नुभएको हो ।

उहाँ महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुनुहुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिनुभयो । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उहाँले भन्नुभयो, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”

अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रिया गर्नुहुने कार्यतालिका रहेको शाहले बताउनुभयो । भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।

दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न उपप्रमुख सुनिता डङ्गोलको निर्देशन

काठमाडौँ, १४ भदौ : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।

खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उहाँले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बजारबाट सङ्कलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमूनाको परीक्षणका लागि निर्देशन दिइएको उपप्रमुख डङ्गोलले बताउनुभयो ।

“हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री गर्नु हो । यसमा किसानदेखि व्यापारीहरू सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “बजारलाई अस्वच्छ बनाउने र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँकतैबाट लापर्बाही गर्न पाइँदैन ।”

कामपा कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाले काठमाडौँमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । “खाद्य ऐन, २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्छ”, उहाँले भन्नुभयो, “खुलारूपमा बेचिने खाद्य वस्तु दूषित न्यूनस्तरको हुनसक्ने कामपाको ठहर छ ।”

गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई रू एक लाख ५० हजार जरिवाना तिराएको थियो । उपप्रमुख डङ्गोलले कामपाले पछिल्लो समय बजार अनुगमनलाई नियमित र व्यवस्थित गरिरहेको बताउनुभयो । उहाँका अनुसार महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटेजलगायत खुलारूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो ।

माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो सङ्क्रमण फैलने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ । कामपाले चालु आर्थिक वर्षमा अनुगमनलगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि रू ९२ करोड ६६ लाख विनियोजन गरेको छ ।

बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा, १४ भदौ : बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ ।

लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पत्ति र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँहरुको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी सिंहले बताउनुभयो ।“अक्सिजन अभावका कारण अचेत अवस्थामा फेला पारेका कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उहाँकी धर्मपत्नी ५२ वर्षीया गङ्गा देवी बोहरालाई बिहीबार बिहान उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।सेनानी सिंहका अनुसार बडीमालिकाको दर्शन गरेर घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर घाइते हुनुभएकी जुम्लाको चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ की विनुदेवी बस्नेतको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।“यसअघि अक्सिजन अभावका कारण बेहोस् भएर ढलेको अवस्थामा फेला परेका अन्य तीन जनाको गत सोमबार उद्धार गरिएकामा दुईको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि घर फर्किनुभएको छ”, सेनानी सिंहले भन्नुभयो । उहाँका अनुसार मृत्यु हुनेमा कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने

सिन्धुपाल्चोक, १४ भदौ : चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

काठमाडौँ, १४ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ ।

बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेको हो । सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेसक्याम्पसम्म प्याराग्लाइडिङ गर्नुभएको थियो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ अनुभव र सम्भावना भएको बताउनुभयो ।

“नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्‍याएर यसबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि स्कूल सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको छ ।”

प्याराग्लाइडिङ आरोही सानटाओले सन् २०१५ मा पोखरामा पहिलोपटक प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताउनुभयो । “मैले सन् २०१५ मै पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजारका चीनका चुचुरोमा प्याराग्लाइडिङ गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने इच्छा जागेकाले अहिले आएर सफल भएको छु ।”

पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनका माध्यमबाट मुलुकको विकासमा टेवा पुग्नै भन्दै पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो । “पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो । विश्वमा भन्दा राम्रो प्राकृतिक सम्पदा र हावापानी नेपालमा रहेकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धता आवश्यक छ”, उहाँले भन्नुभयो ।

सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कोरोनापछि नेपालको पर्यटन क्षेत्र विस्तारै गतिमा जान थालेको उहाँको भनाइ थियो ।

यसैबीच, बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गर्नुभएको थियो । 

मिथिलामा आज राखी मनाइँदै

महोत्तरी, १४ भदौ : महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।

सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी) को भिड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । ससाना नानीहरुका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन् ।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषि र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्रमुख दिलिप तिवारी बताउनुहुन्छ । सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

मिथिलामा साउन शुक्लपक्ष सुुरु भएसँगै मिथिलामा यो पर्वको तयारी देखिने गरेको छ । पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन् ।

हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अङ्गका रुपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन् । रक्षाबन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । यद्यपि पर्वको मुख्य आकर्षणचैँ दिदीबहिनीले बाँधीदिने राखीकै हुने गरेको बर्दिवास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतो बताउनुहुन्छ ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ । त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा वलिका बहिनी गङ्गा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा वलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको जिल्लाकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका पाका मैथिल बताउँछन् । पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारुपमा मनाउन थालेका जिल्लाकै रामगोपालपुर नगरपालिका–२ महनपुरका इस्लाम धर्मावलम्बी युवा सकिवुल खान बताउनुहुन्छ ।

मिथिलामा केही वर्षयता मधेसमा बस्ने पर्वते मूलका हिन्दूमात्र नभएर इस्लाम धर्मावलम्बी युवा पनि हिन्दू परिवारकी चेलीलाई दिदीबहिनी मानेर राखी बधाउन थालेका छन् । यो आपसी हेलमेल र सामाजिक, सांस्कृतिक सद्भावको अपूर्व नमूना बनेको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली भाषा साहित्यका शिक्षक लिलानाथ गौतमको भनाइ छ ।

एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

काठमाडौँ, १४ भदौ : कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे ।

अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेपछि त्यही रङ्गशालामा रहेका नेपाली समर्थक भने निकै उत्साहित देखिन्थे । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मङ्गलबार भनेका थिए– “हामी पाकिस्तानभन्दा अनुभवबाहेक कुनै अर्थमा कम छैनाँै ।

भयो पनि त्यस्तै, पाकिस्तानको मुल्तानमा बुधबारदेखि सुरु भएको एसिया कपअन्तर्गत उद्घाटन खेल नेपालले पाकिस्तानसँग अनुभवकै कारण गुमाउन बाध्य हुनुपर्यो । आफ्नो पक्षमा खेलको परिणाम आउन नसके पनि नेपाली खेलाडीको प्रदर्शनबाट भने विश्वका सम्पूर्ण क्रिकेट प्रेमीको ध्यान नेपालतर्फ तानिएको छ । सायद नेपालको विजय यही नै हो । साहित्यकार, कलाकार तथा क्रिकेट प्रशंसक रमेश रञ्जनको प्रतिक्रिया छ– “बुधबार पाकिस्तानसितको खेल प्रदर्शनपछि नेपाली खेलाडी विश्वमा फरक ढङ्गले चिनिने अवसरको निर्माण भएको छ”, उनको भनाइ छ, “खेलमा जित र हार सामान्य प्रक्रिया हो । मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ ।”

टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानको सुरुआत राम्रो थिएन । प्रारम्भमै चार विकेट गुमाउन पुगेको पाकिस्तानले सायद नेपालबाट यो अपेक्षा गरेको थिएन । त्यसो त खेल सुरु हुनुभन्दा पहिले, विश्वको पहिलो वरियतामा रहेको क्रिकेट टोलीका कप्तान बाबर आजम जो स्वयं पनि खेलाडीको विश्व वरियतामा पहिलो स्थानमा छन्, उनले नेपाललाई कम आँक्न नहुने प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर स्कोर बोर्डमा ३० ओभरमा एक सय ३० रन र चार विकेटको क्षति देखिएला भन्ने पाकिस्तानी कप्तान आजमको अनुमान सायदै पनि थिएन । आफ्नो पहिलो वरियता कायमै राख्नुपर्ने कप्तानको दायित्वबोधले हुनसक्छ आजमलाई उत्प्रेरित ग¥यो । उनले झर्दै गएको पाकिस्तानी विकेटको क्रमलाई रोके र अन्ततः पाकिस्तानलाई निकै फराकिलो विजय दिलाए । पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा विजयका लागि तीन सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको पाकिस्तानका वलरको धारिलो प्रहारका कारण नै नेपालले निर्धारित सम्पूर्ण ओभरसम्म आफूलाई टिकाउन सकेन । र नेपाल २३ ओभर चार बलमा कूल एक सय चार रनमा सीमित रहन पुग्यो । क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी अनिलनाथ ढुङ्गाना भन्छन्– “नेपाली खेलाडीले प्राप्त अनेकौँ अवसरको लाभ लिन सकेनन् ।

केही क्याच छुटे भने केही खराब फिल्डिङका कारण स्कोर बोर्डमा पाकिस्तानको पक्षमा रनको सङ्ख्या थपिँदै गयो”, ढुङ्गानाको भनाइ छ, “प्रारम्भमा नेपालले महत्वपूर्ण सुरुआत गरेर आश जगाए पनि पछिल्ला ओभरमा संयम गुमाएकोजस्तो देखियो । तर यस खेलबाट नेपालले धेरैकुरा सिकेको हुनुपर्छ । अनुभव सँगालेको हुनुपर्छ । अब आगामी खेलमा यही अनुभव र सिकाइलाई प्रयोग गर्न सक्नुपर्छ ।” नेपालका लागि पहिलो विकेट करण केसीले लिँदा उनी सामाजिक सञ्जालमा छाएका थिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । पाकिस्तानले लगत्तै इमाम उल हकका रुपमा दोस्रो विकेट गुमायो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान पौडेलले रन आउट गरे । पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रुपमा गुमायो ।

उनलाई सन्दीप लामिछानेको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । एसिया कपअन्तर्गतको पहिलो खेलमै स्टम्पमाथिको दुईवटा जोडदार प्रहार (रन आउट) नेपालले देखाएको उत्कृष्ट प्रदर्शन नै एक सशक्त नमूना थियो । तर दुःखद्, उत्कृष्टताको यो क्रम खेलको पूरै अवधिभरि रहन सकेन । जुन कुशलताका आधारमा स्टम्पमा प्रहार गरेर नेपालले दुईवटा विकेटको सफलता पाएको थियो, पछिल्ला ओभरमा नेपाली खेलाडीबाट फिल्डिङका सन्दर्भमा त्यस्तो कुशल प्रदर्शन भइरहन सकेन । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रुपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । पाकिस्तानविरुद्ध नेपालले जित पनि निकाल्न सक्छ की भन्ने सम्भावनातर्फ नेपाली क्रिकेटका प्रशंसक सोच्न थालिसकेका थिए ।

तर नेपाली क्रिकेट प्रेमीको सपना पाकिस्तानी कप्तान बाबर र इफ्तिखार अहमदले चकनाचुर पारिदिए । दुवै खेलाडीले नेपालविरुद्ध शतक प्रहार गरे । बाबरले आफ्नो उत्कृष्ट खेल प्रदर्शन जारी राखे । एक सय तीन एकदिवसीय खेल खेलेका २८ वर्षीय कप्तान बाबरले बुधबार एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । नेपालविरुद्धको शतकसँगै बाबरले हालसम्म पाँच हजार दुई सयभन्दा बढी रन बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । अनुभवको कमी देखिएको नेपाली टोलीको कमजोर फिल्डिङका कारण बाबरले दुईवटा जीननदान पाए । बाबरले पाकिस्तानलाई त विजयी बनाए नै आफ्नो व्यक्तिगत कीर्तिमानी तथ्याङ्कमा पनि सुधार गरे । १९औँ शतक, तेस्रो सबैभन्दा ठूलो रन र पाँचौँ विकेटका लागि इफ्तिखारसँगको ठूलो साझेदारी । बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि दुई सय १४ रनको साझेदारी निभाएका थिए । यही नै पाकिस्तानका लागि जितको बलियो आधार बन्यो । अर्कोतर्फ इफ्तिखारको पक्षमा पनि कीर्तिमान बन्यो–खेल जीवनकै पहिलो शतक ।

यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए । २८ ओभरसम्म संयमित भएर खेलेको नेपाल त्यसपछि भने खराब प्रदर्शन गर्न पुग्यो । नेपालले कमजोर बलिङ र फिल्डिङ गरेकै कारण पाकिस्तानले विशाल स्कोर बनाउन सकेको हो । बाबर वा इफ्तिखारमध्ये कुनै एकको पनि विकेट समयमै लिन सकेको भए नेपालले धेरै ठूलो रनको चुनौती पछ्याउनुपर्ने थिएन । बलिङ र फिल्डिङ मात्र होइन नेपालले ब्याटिङतर्फ पनि आफ्नो विगतको खेल प्रदर्शनलाई कायम गर्न सकेन । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान पौडेलको विकेट लिए । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए । यस्तै पौडेल बिना रन बनाइकन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे । क्रिकेट समीक्षकहरुका अनुसार नेपालले गल्तीबाट सिक्ने चेष्टा गरेन । फिल्डिङ त प्रभावकारी रहेन नै, बलिङ पनि परिणाममुखी हुन सकेन ।

त्यस्तै ब्याटिङक्रम पनि चल्न सकेको देखिएन । सोमपाल कामी (२८), आरिफ शेष (२६) र गुलसन झा (१३) बाहेक कसैले पनि दोहोरो अङ्कमा स्कोर बोर्डमा योगदान पु¥याउन सकेनन् । एसोसिएट राष्ट्रको हैसियतबाट पहिलोपटक खुड्किला उक्लिएको नेपालले एकै पटक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेस्ट क्रिकेटमा राम्रो अनुभव सँगालिसकेका देशसँग खेल्न पाउनु अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । यस आधारमा नेपालको पाकिस्तानसँगको पराजय धेरै बढी अनपेक्षित र अस्वभाविक होइन । तर यति धेरै अन्तरले पराजय बेहोर्नुपर्ने स्थिति पनि होइन् । क्रिकेट समीक्षक विश्वमणि दाहाल भन्छन्– “नेपाल सायद मनोवैज्ञानिक रुपमा पो कमजोर भयो कि ? सीप र क्षमताका आधारमा नेपाललाई कमजोर टोली मान्न सकिन्न ।” नेपाली खोलाडीमा उत्साह त थियो तर त्यस उत्साहका भरमा आफ्नो पक्षमा परिणाम रुपान्तरण गर्न आवश्यक पर्ने अनुभवको कमी थियो । र यही अनुभवजन्य सीपमा नेपालपछि पर्दा पाकिस्तान विजयी भएको क्रिकेटका विश्लेषक बताउँछन् । नेपालले सन् २००२ मा भएको आइसीसी यु–१९ वल्र्डकपमा पाकिस्तानलाई पराजित गरेको थियो । नेपालले उक्त खेलमा पाकिस्तानलाई ३० रनले हराएको थियो । नेपालले त्यो बेला पाकिस्तानलाई हराएर विश्वमै सनसनी मच्चाएको थियो । त्यो खेललाई नेपाल र पाकिस्तानका खेलाडी सम्झिरहेका थिए । त्यसलै मङ्गलबार सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै पाकिस्तानका कप्तान बाबरले नेपालसितको खेललाई सहजरुपमा नलिने बताएका थिए ।

नेपालको विगतको प्रदर्शन सम्झिँदै कप्तान पौडेलले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका थिए । तर खेल हो, जहाँ सधैँ जितैजित मात्र पनि हुँदैन । सधैँ पराजय मात्र पनि भोगिँदैन । अब नेपाल पाकिस्तानसितको खराब प्रदर्शनलाई बिर्सिदै भारतसितको खेलमा फेरि लयमा फर्किने योजनाका साथ मैदानमा उत्रिन चाहन्छ । र पक्कै पनि नेपाली टोली आफ्ना प्रशंसकलाई निराश बनाउन चाहँदैन । क्रिकेटमा नेपालका तीनवटा सपना छन् । एउटा एसिया कप क्रिकेट, दोस्रो विश्वकप क्रिकेट प्रतियोगिता तथा तेस्रो टेष्ट राष्ट्रका रुपमा मान्यता प्राप्त गर्नु । बुधबार पाकिस्तानसित खेलेर नेपालले एसिया कप खेल्ने सपना पूरा गरेको छ । अब बाँकी दुई सपना पूरा गर्नबाट पनि नेपाल टाढा छैन । निकट भविष्यमै नेपाल ती दुवै लक्ष्य पूरा गर्ने बाटोमा अग्रसर भएर लागेको छ । भनिन्छ, लक्ष्य पछ्याउँदै गए एक न एक दिन पक्कै पूरा हुन्छ ।

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए ।

यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए । यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङक छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब रु ४१ करोडको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ । क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न रु १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए । हाल मुलुकका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

अन्तर्वार्ताः ‘नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ’

काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ । पर्वतीय पर्यटनमा संलग्न हिमाल आरोहीहरु, विज्ञहरु र व्यवसायीहरुको संस्था पनि हो यो । हिमाल आरोहण गर्ने साहसिक गतिविधिको लागि नेपाल विश्वमै अब्बल गन्तव्यको रूपमा लिइन्छ । नेपाल विभिन्न विश्व रेकर्ड राख्न सफल नेपाली आरोहीको देश पनि पनि हो । विश्वका १४ वटा ८ हजारभन्दा अग्ला हिमालहरुमध्ये आठ वटासमेत गरी नेपालमा सत्र सय वटा भन्दा बढि हिमालहरु रहेकाले नेपाल विश्वमै पर्वतीय पर्यटनको गन्तव्य स्थल बनेको छ ।

पर्वतीय पर्यटनलाई व्यवस्थित गर्दै हिमाली भेगका संस्कृतिहरुको सम्बद्र्धनमा टेवा पु¥याउने, आरोहीहरु तथा पर्वतीय पर्यटनमा लागेका जनशक्तिको अभिलेख राख्ने तथा नीगित व्यवस्थाका लागि एनएमएले सरकारसँग सहकार्य गर्दै आएको छ । नेपालमा सरकारले आरोहण खुला गरेका हिम चुचुराको सङ्ख्या चार सय १९ पुगेको छ । आरोहणका लागि खुल्ला गरेका हिमालको संख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण हुने गरेको छ । यसलाई विस्तार गर्दै व्यवस्थित रुपमा नेपालको पर्वतीय पर्यटनलाई अगाडि बढाउनुपर्ने चुनौतीलाई समाधान गर्न एनएमएको भूमिका महत्वपूर्ण रहेको छ । प्रस्तुत छ, एनएमएले ५० वर्षको परिपक्व भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा एनएमएका अध्यक्ष निमा नुरु शेर्पासँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ः
एनएमएले अहिले कसरी काम गरिरहेको छ ?

हिमाली क्षेत्रका गाउँपालिकाहरुसँग सहकार्य गरी हिमालहरुको संरक्षण, नयाँ चुलीहरु खुल्ला गर्ने र हिमालहरुको प्रोफाइल तयार गर्ने काम भइरहेको छ । पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा नीति नियम बनाउनेदेखि हरेक ठाउँमा मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरु तथा निकायहरुसँग सहकार्य गरी यस क्षेत्रलाई अझ व्यवस्थित र मर्यादिन बनाउन हामी क्रियाशील छौं । एनएमएको मातहतमा पोखराको रातोपैरोमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रहेको छ, जुन पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित भैसकेको छ । मनाङमा रहेको माउन्टेनेरिङ स्कुललाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेछ । आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको स्मरणमा ककनीमा स्थापना गरिएको अन्तर्राष्ट्रिय पर्वतारोही स्मारक पार्कलाई पनि अझ व्यवस्थित बनाउन खोज्दैछौं । एनएमएमा रहेको कल्याणकारी कोषमार्फत ती आरोहीका परिवारलाई सहयोग गर्ने काम भइरहेको छ । पर्वतारोहणसँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गरी यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य आइरहेका छौ । नेपाल सरकारले हामीलाई जिम्मा दिएका २७ वटा हिमचुलीहरुको व्यवस्थापकीय कार्य अन्तर्गत आरोहण अनुमति पत्र जारी गर्ने, संघले व्यवस्थापन गरिरहेका हिमचुलीहरुमा फोहोर मैला व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्दै आइरहेका छौँ ।

तपाइँ नेतृत्वमा आएपछि कतिवटा हिमाललाई व्यावसायिक आरोहणका लागि खुल्ला गराउनुभयो ?

नेपालमा सत्र सय भन्दा हिमचुलीहरु रहेको भनिएकोमा स्व हर्क गुरुङले पहिचान गर्नुभएका १३९२ वटा हिमालहरुमध्ये सरकारले आरोहणका लागि जम्मा ४१४ वटालाई मात्र खुल्ला गरेको थियो । मेरो नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि थप पाँच वटा हिमाललाई खुल्ला गर्न सफल भएका छौं । सिन्धुपाल्चोकमा रहेको जुगल हिमशृङ्खलामा पर्ने पाँच वटा हिमालहरु आरोहणका लागि खुला गरिएको हो । आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरु काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरु बताउँछन् । गएको वसन्त याममा आरोहीले २८ वटा हिमाल आरोहणका लागि मात्रै अनुमति लिएका थिए । सगरमाथासहित सीमित हिमालमा मात्र आरोहीको चाप रहेको छ । ४१९ वटा चुलीमध्ये ६५०० मीटरभन्दा मूनिका ७२ वटामा अहिलेसम्म आरोहण नै हुन सकेको छैन । अहिले ५८०० मिटरदेखि ६५०० मिटरसम्मका २७ वटा हिमचुलीहरुको मात्रै व्यवस्थापन हामीले गरेका छौं भने अन्य सबै हिमचुलीहरुको व्यवस्थापन पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले गर्ने गर्दछ । ६५०० मीटर भन्दा मूनिका सबै हिमचुलीहरुको व्यवस्थापनको जिम्मेवारी सरकारले दिएमा हामी प्रचारप्रसार र प्रवद्र्धनका काम गर्नेछौं ।

यो वर्ष एनएमए स्थापना भएको ५० वर्ष पुग्दैछ, कसरी मनाउँदै हुनुहुन्छ ?

एउटा संस्थाले ५० वर्षको यात्रा गर्नु आफैंमा पनि खुशीको कुरा हो । ०१ नोभेम्बर, २०२३ मा यस संघ ५० बर्ष पुग्दैछ । यसमा वर्षेनी गरिने नियमित कार्यक्रमहरुको अतिरिक्त राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने खालका केही कार्यक्रमहरुको आयोजना गर्दैछौं । एसियाली पर्वतारोहण महासङ्घको वार्षिक साधारणसभा यस वर्ष नेपालमा आयोजना हुँदैछ । आगामी अक्टोबर ३१ मा आयोजना हुने सो बैठकमा पर्वतारोहणसँग सम्बन्धित एशियाली महादेशका करिब १५ देशका १९ वटा अल्पाईन क्लवका प्रतिनिधिहरुको सहभागिता रहने छ । ०१ नोभेम्बर, २०२३ मा आयोजना गरिने संघको ५० औं बार्षिकोत्सव कार्यक्रममा विश्व पर्वतारोहण महासंघ र एशियाली पर्वतारोहण महासंघका अध्यक्षहरुसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरुसमेत गरी ४० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । यसले विश्वमा नेपालको पर्वतीय पर्यटनको सम्भावना र अवसरका बारेमा प्रचारप्रसार गर्न सहयोग पुग्नेछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रको बिकास गर्न तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालका कुराहरु राख्नका लागि महत्वपूर्ण अवसर हुनेछ । नेपाल पर्वतारोहण संघ एक मात्र राष्ट्रिय “अल्पाइन क्लब नेपाल”को रुपमा रही नेपाल सरकारसँग मिलेर काम गर्ने संस्था हो । संसारको विश्व पर्वतारोहण महासंघ, एशियाली पर्वतारोहण महासंघ लगायत सबैमा सक्रिय सदस्यको रुपमा एनएमएले काम गर्दै आएको छ ।

विश्वका पर्वतारोही र पर्वतीय पर्यटनमा क्रियाशील संघसंस्थाहरुको नेपालप्रतिको दृष्टिकोण कस्तो पाउनुहुन्छ ?

विश्वभरमा नेपालको पर्वतीय पर्यटनप्रति निकै सकारात्मक रहेको देखिन्छ । नेपाल साहसिक पर्यटनको मुख्य गन्तव्य मुलुक भएकाले यसलाई हबको रुपमा लैजान सकिन्छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सके नेपाल माउन्टेनेयरिङ र क्लाम्बिङको हेडक्वाटर नै बन्नसक्छ भन्ने उनीहरुको बुझाइ छ तर यसका लागि हामीले उपयुक्त वातावरण तयार गर्नुपर्छ । नेपाल आउने पर्वतारोहीमध्ये झण्डै ५० प्रतिशत दोहो¥याएर आउने भएकाले सधैँ केही पिकहरु मात्र बेचेर हुँदैन, नयाँ नयाँ पिकहरु खुल्ला गर्दै त्यसको प्रचारप्रसार र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।

राज्यसँग तपाइँहरुको अपेक्षा के छ नि ?

म भर्खरै कोरियाको भ्रमणमा जाँदा त्यहाँका राजनीतिज्ञ, बुद्धिजीवीदेखि कर्मचारीतन्त्र सबैको ध्यान साहसिक पर्यटनमा केन्द्रित भएको पाएँ, तर हामीले नेपालमा यो आरोहण क्षेत्रमा संलग्न सिमित व्यक्तिहरुको मात्रै हो भन्ने दृष्टिकोण रहेको छ । नेपालको समृद्धिको एउटा मुख्य आधार साहसिक पर्यटन हो भन्ने भन्ने बुझ्न आवश्यक छ । पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि राज्यले विशेष महत्व दिनुपर्ने छ । नयाँ पिकहरु खुल्ला गर्दै जाने, खुल्ला गरिएका पिकहरुको प्रचारप्रसारमा जोड दिने र यसमा संलग्न व्यवसायीहरुलाई प्रोत्साहन गर्न आवश्यक छ । तीन हजार मिटरमाथि होटल, लज सञ्चालन गर्ने व्यवसायीहरुलाई राज्यले कर छुट दिन सकेमा उनीहरु उत्साही भएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् । पर्वतीय पर्यटनसँग सम्बन्धित कतिपय एने कानूनहरु धेरै वर्षअघि तर्जुमा गरिएका छन्, तिनको समयानुकूल परिमार्जन गर्नुपर्छ । पर्यटनसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीअनुसार गराउन आवश्यक छ । पर्यटन मन्त्रालयबाटै हुनुपर्ने कामलाई कम्तिमा पाँचवटा मन्त्रालय र विभिन्न निकायहरुमा धाउनुपर्ने अवस्था छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिसकेको सन्दर्भमा आगामी दिनमा यसलाई कसरी सुरक्षित राख्नुपर्ने देख्नुहुन्छ ?

हिमाललाई सफा राख्नुपर्छ, प्रदूषण हुन दिनुहुँदैन भनेर जनचेतना अभिवृद्धि गर्ने आरोहणमा जाने आरोही, भरिया वा अन्य व्यवसायीहलाई यसम्बन्धी जनचेतना, सुरक्षासम्बन्धी तालिम प्रदान गर्ने काम भइरहेको छ । नेपाली सेनासँग मिलेर हिमाल सफाई कार्यक्रम सञ्चालन भइरहेको छ । आरोहीलाई अरु हिमालमा पनि आकर्षित गरेर सगरमाथासहितका हिमालको चाप घटाउनुपर्ने जलवायुविज्ञहरुको राय छ । जलवायु परिवर्तनका कारण जसरी हिमालयहरुमा हिउँ पर्ने क्रम कम हुँदै जानु र तीब्र गतिमा पग्लने क्रमले भोलि हिमाल आरोहणको सट्टा रक क्लाम्बिङ भन्नुपर्ने अवस्था आउन नदिन हामीले अहिलेदेखि नै उच्च सावधानी अपनजाउनु आवश्यक छ । यद्यपि यो समस्या नेपालले सिर्जना गरेको नभई विश्वव्यापी समस्या भएकाले समयमै विश्व समुदायको ध्यानाकर्षण गराउन सक्नुपर्छ ।

अहिलेसम्म कतिजनाले एनएमएबाट तालिम प्राप्त गरेका छन् ?

हाम्रो मुख्य काम भनेको दक्ष जनशक्ति उत्पादन गर्नु हो । सङ्घले प्रदान गरेको तालिमबाट नै प्रत्यक्ष रुपमा २० हजारभन्दा बढी व्यक्ति पर्वतीय पर्यटन क्षेत्रमा सक्षम भएका छन् । पिक क्लाइमिङदेखि सगरमाथा क्लाइम्बिङसम्म सफल भएका व्यक्तिहरुले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् ।

अन्त्यमा नेपालको समग्र पर्यटन विकासका लागि एनएमएको भूमिकालाई कसरी बढाउने सोच बनाउनु भएको छ ?

नेपालको आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । सरकारले पर्यटन क्षेत्रको विकासका लागि भनेअनुसार प्राथमिकता दिएको छैन । यस क्षेत्रमा संलग्न व्यवसायीहरुले पनि आआफ्नो व्यावसायिकताको रुपमा मात्र बुझ्ने गरेका छन् । समग्र राष्ट्रकै एउटै सोच, लक्ष्य र भावी कार्यक्रम नबनेसम्म पर्यटन विकासको कुरा नारामै सिमित रहन्छ । प्रकृतिले नै हामीलाई हिमाल, पहाड र तराई दिएको छ भने सामाजिक विविधता पनि महत्वपूर्ण सम्पदा छ । विश्वका यतिधेरै अवसर कमै मुलुकले पाएका छन् । तर हामीले पहिलो योजनादेखि नै पर्यटनका कुरा गर्दै आज १६ औँ योजनासम्म आइपुग्दा त्यही पुरानै कुरा दोहो¥याइरहेका छौं, यसले हामीलाई समृद्धिमा पु¥याँदैन । एनएमएजस्ता संस्थाहरुलाई राज्यले साथमा लिएर सामूहिक ढङ्गबाट अगाडि बढ्ने हो भने एउटा आवधिक योजनामै हामीले पर्यटनको क्षेत्रमा ठूलै फड्को मार्न सकिन्छ ।

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल – उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गर्नुभएको हो । उहाँले यसबारे विस्तृत विवरण भने दिनुभएको छैन ।

सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ ।प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि युएफएसको एक भागको रूपमा कोरियाली प्रायद्वीपमाथि कम्तिमा एक अमेरिकी बी–१ बी रणनीतिक बमवर्षकसहित संयुक्त हवाई अभ्यासको आयोजना गरेका थिए ।

उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले सार्वजनिक गरेको एक तस्वीरमा उत्तर कोरियाले जुलाई १२, २०२३ मा ह्वासोङ–१८ सोलिड फ्युल अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको थियो ।

छैटौँ विश्व संस्कृत दिवस

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेसनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाडौँमा आयोजना गरिएको छ । देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा छैटौँ विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहनुभएका निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले बताउनुभयो ।

श्रावण शुक्ल पूर्णिमा ऋषिसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुआत गरिएको हो ।

प्राचीनकालमा शैक्षिक सत्रको सुरुआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ ।

बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ : सभापति पन्थ

काठमाडौँ, १४ भदौ : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।

सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । रासससँग कुराकानी गर्दै सभापति पन्थले भन्नुभयो, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न खोज्ने होडबाजीले सुशासन प्रवर्द्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने उहाँको भनाइ थियो । मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै सभापति पन्थले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।

यसैबीच, समितिले सुशासन प्रवर्द्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवर्द्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहनुभएको छ ।

अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव

काठमाडौँ । निर्वाचनको दिन मतदान गरेर आफ्नो अभिमत प्रकट गर्नका लागि सार्वजनिक बिदा दिइन्छ। प्रतिनिधिमूलक शासन व्यवस्थामा मतदानको प्रतिशतले निर्वाचनप्रतिको विश्वसनीयतालाई पनि दर्शाउँछ। नेपालका निर्वाचनमा भने ठुलो सङ्ख्यामा कर्मचारी, विदेश यात्रामा जान लागेका व्यक्ति तथा स्वास्थ्य उपचारमा रहेका व्यक्ति मतदान गर्नबाट वञ्चित हुँदै आएका छन्। मतदान गर्न नपाएको गुनासोलाई थुप्रै देशले अग्रिम मतदानको अधिकार दिएर सम्बोधन गर्ने गरेकामा अब भने नेपालमा पनि अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस प्रकारको प्रस्ताव गरिएको हो। “प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि देहायका मतदाताले निर्वाचन हुने दिनभन्दा अघि नै आयोगले तोकेको दिन र तोकेको मतदान केन्द्रमा उपस्थित भई अग्रिम मतदान गर्न सक्ने छ,” मस्यौदामा व्यवस्था गरेको छ।

प्रस्तावबमोजिम तीनै तहको सरकारमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा बसेका व्यक्ति, कारागारका थुनुवा वा कैदीले अग्रिम मतदान गर्न पाउने छन्। यस्ता मतदाताका लागि निर्वाचनकै दिन मात्र आयोगले मतदानको व्यवस्था गर्दै आएको थियो। अब भने मतदान हुने दिन निर्वाचन पर्यवेक्षण गर्न जाने पर्यवेक्षक, मतदान हुने दिन वा सोभन्दा अघिदेखि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाता, कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारणले आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदाताले अग्रिम मतदान गर्न पाउने प्रस्ताव गरिएको छ।

यस्तो सुविधा प्राप्त गर्नका लागि सम्बन्धित मतदाताले तोकिएबमोजिमको ढाँचामा कारण खुलाई निवेदन दिनुपर्ने छ। आयोगले प्राप्त निवेदन मनासिब देखेमा त्यस्ता मतदातालाई मतदान केन्द्र तोकेर अग्रिम मतदान गर्ने व्यवस्था गर्ने छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस प्रकारको व्यवस्थाको अन्य राष्ट्रले अभ्यास गरिरहेका र राम्रै अभ्यास रहेको ठानेर आयोगले प्रस्ताव गरेको बताउनुभयो।

आयोगले प्रस्ताव गरेको मस्यौदामा स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा आवश्यक पर्ने मनोनयनपत्र वितरण प्रक्रियामा परिवर्तन गरिएको छ। सङ्घीय संसद्को सदस्यका लागि केन्द्रीय कार्यकारिणी समितिले तोकेको त्यस्तो समितिको पदाधिकारी वा सदस्य, प्रदेश सभाको सदस्यका लागि प्रदेश कार्यकारिणी समितिको पदाधिकारी वा सदस्य र स्थानीय तहको सदस्यका लागि प्रदेश वा जिल्ला कार्यसमितिको पदाधिकारी वा सदस्यले मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार रहने छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

एमसीसी कार्यान्वयनमा नजाँदै ४ करोड डलर खर्च

काठमाडौं । प्रतिनिधिसभाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको डेढ वर्ष तथा परियोजना ल्याउन सम्झौता गरेको ६ वर्षपछि एमसीसी कार्यान्वयनमा आएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ( सम्बन्धी पत्र आदान–प्रदान भएसँगै एमसीसी कार्यान्वयनमा प्रवेश गरेको हो ।

अब एमसीसी परियोजना २०८५ भदौ १३ गतेसम्म पूरा गर्नुपर्ने छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले सो पत्र आदान–प्रदान गरेका थिए । प्रतिनिधिसभाले २०७८ फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीसम्बन्धी सम्झौता प्रस्ताव अनुमोदन गरेको थियो । त्यसअघि नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

अमेरिकी सहयोगमा विद्युत् प्रसारण लाइन, सबस्टेसनको निर्माण र सडक स्तरोन्नति गर्ने परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विवाद हुँदा पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको परियोजना अनुमोदन गर्न नै साढे चार वर्ष लागेको थियो ।

अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ दशमलव ७ करोड अमेरिकी डलर लगानी रहेको छ । जसअन्तर्गत सरकारले चालु आर्थिक वर्ष १० अर्ब ८४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये चालूतर्फ १ अर्ब १ करोड ७४ लाख रुपियाँ र पुँजीगततर्फ ९ अर्ब ९२ करोड रुपियाँ विनियोजन भएको छ ।

गत आर्थिक वर्षमा ९ अर्ब २७ करोड ९७ लाख रुपियाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ११ करोड मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, एसीए नेपालका अनुसार हालसम्म नेपाल सरकारका तर्फबाट २ करोड ३७ लाख ४ हजार ५ सय ६५ डलर र मिलेनियम च्यालेन्ज कर्पोरेसनको २ करोड २८ लाख ४६ हजार ५ सय ८ गरी कुल ४ करोड ६५ लाख ५१ हजार ७४ अमेरिकी डलर खर्च भएको छ ।

यस परियोजनाअन्तर्गत ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्न ८ सय ५६ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । भारतीय सीमासम्म पुग्ने प्रसारण लाइन निर्माण गर्न १० जिल्लाका ३० पालिका कार्यक्षेत्रभित्र पर्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा, १४ भदौ : जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।

गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ ।

महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ – सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो ।

अदालतले काठमाडौँ महानगरपालिकासँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हटाउनुका कारणसहित लिखित जवाफसमेत माग गरेको छ । 

महानगरको उक्त निर्णय संविधान, शिक्षा ऐन र नियमावलीविपरीत रहेको उल्लेख गर्दै १८ वटा सामुदायिक विद्यालयका अध्यक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

‘नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु’

काठमाडौँ, १४ भदौ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धन, जनैपूर्णिमा¬ (ऋषि तर्पणी¬¬)को शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो कुरामा विश्वास व्यक्त गर्नुभएको हो ।

“नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ”, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उहाँको भनाइ छ ।

तराई–मधेसतिर भाइबहिनीबीच स्नेह, प्रेम बाँड्ने पर्वका रूपमा धुमधामका साथ रक्षा बन्धन मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको निधारमा रातो टीका लगाउने, आरती उतार्ने र हातमा ‘राखी’ (डोरो) बाँधेर सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीको रक्षाको सङ्कल्प लिँदै आफ्नो स्नेहाभाव दर्शाउने गर्छन । यसले परस्पर आत्मीयता र स्नेहको बन्धनलाई थप बलियो बनाउनुको साथै सामाजिक तथा पारिवारिक ऐक्यबद्धता एवं एकसूत्रमा बाँध्न गर्न सहयोग पुग्छ । यो पर्वमा कतै–कतै पुरोहित तथा आचार्य बिहानै यजमानको घर पुगेर डोरो बाँध्ने र उपहारस्वरूप धन, वस्त्र र भोजन आदि प्राप्त गर्ने चलन पनि रहिआएको पाइन्छ । यसले आपसी सद्भाव बढाउनुका साथै विभिन्न जातजातिबीचको सम्बन्धलाई थप समृद्ध र प्रगाढ बनाउँछ । त्यसैगरी, जनै पूर्णिमाका रूपमा मनाउने पवित्र जलाशयमा स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्छन् ।

अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । आजकै दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहिआएको छ । यसले शरीरमा रोग नलाग्ने र पेट सफा हुने आयुर्वेद शास्त्रीय मान्यता छ । हाम्रो स्वास्थ्यका लागि कृषिउपजको महत्त्वलाई यसले दर्शाउँदछ । आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ । यो मेलाले आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पु¥याउने गर्छ । यसलाई विदेशी पर्यटक भित्र्याउने माध्यम बनाई यसबाट यथेष्ठ आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सुदृद्ध र सबल बनाउनतिर केन्द्रित हुन आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ । “मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि दिन चाहन्छु”, उहाँले भन्नुभएको छ ।

मनाइँदै गाईजात्रा

काठमाडौँ, १४ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।–

आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन : रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । 

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।   

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।  

क्वाँटीको परम्पररा

जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । 

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।  

काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौँ – एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्यो । पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिला बलिङ गरेको थियो । पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनायो । तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालको पारी एक सय चार रनमै समेटियो ।

पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हरायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तीखार अहमदले शतक प्रहार गरे । आजमले एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । एक सय ३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् ।

यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । पाकिस्तानका अर्का खेलाडी अहमदले ७१ बल खेल्दै अविजित एक सय नौ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे । ३२ वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिए । तीन सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका लागि शदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नशिम शाह र मोहमद नवाजले एक एक विकेट लिए ।

हेर्नुहोस् भदौ १४ गते बिहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

बृष राशि – सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि – सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

कर्कट राशि – बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि – आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि – प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि – तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि – कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि – स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि – प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।

लुम्बिनीमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदै

भैरहवा (रुपन्देही), १३ भदौ : गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुँदै गएको छ । कोभिडपछिका वर्षहरूमा विस्तारै पर्यटकको सङ्ख्या उकालो लाग्दै गरेको तथ्याङ्कले देखाएको छ ।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमनमा पाँच सय प्रतिशतभन्दा बढी सङ्ख्याले वृद्धि भएको छ ।

लुम्बिनी विकास कोषका जनसम्पर्क प्रमुख एवं सूचना अधिकारी डा हरि राईअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ को जुलाईसम्म राहदानीबाहक (नेपाल र भारतबाहेक देशका) पर्यटकको सङ्ख्यामा पाँच सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यस्तै भारतीय पर्यटकको आगमनमा ३० प्रतिशत र सोही हाराहारीमा आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको उहाँले बताउनुभयो ।

सन् २०२२ मा लुम्बिनीमा जुलाईसम्म तीन हजार नौ सय ७५ जना तेस्रो मुलुकका अर्थात् राहदानीबाहक पर्यटकको आगमन भएको थियो । सो वर्ष कूल २३ हजार नौ सय ४२ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेको डा राईले जानकारी दिनुभयो । गत वर्ष लुम्बिनीमा भारतबाहेक ९६ देशका पर्यटकको आगमन भएको थियो भने चालु वर्षमा जुलाई महिनासम्ममा ६७ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

चालु अङ्ग्रेजी वर्षमा सबैभन्दा बढी पर्यटक पुस, माघ र फागुन महिनामा आएका छन् । कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी फेब्रुअरीमा १२ हजार पाँच सय २२ जना पर्यटक तेस्रो मुलुकबाट आगमन भएको छ । लुम्बिनीमा सबैभन्दा कम पर्यटक सन् २०२१ मा एक हजार एक सय ९७ जना मात्र आएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणपछि भारतीय पर्यटकको पनि सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । सन् २०२२ को जुलाईसम्ममा भारतका एक लाख छ हजार चार सय छ जना पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा चालु अङ्ग्रेजी वर्षको जुलाईसम्म एक लाख ४३ हजार नौ सय ६८ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्याङ्कमा उल्लेख छ ।

यसै अवधिमा तीन लाख ७९ हजार तीन सय ६० जना नेपालीले लुम्बिनीको भ्रमण गरेको कोषका जनसम्पर्क प्रमुख डा राईले जानकारी दिनुभयो । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन रहेका कारण यस वर्ष लुम्बिनीको पर्यटक आगमनमा व्यापक सुधार हुने लुम्बिनी विकास कोषको अपेक्षा रहेको छ ।

निराश व्यवसायी

लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढे पनि यसको अपेक्षाकृत फाइदा यहाँका व्यवसायी एवं स्थानीयले पाइरहेका छैनन् । अहिले लुम्बिनीमा एक सय १० वटा होटल सञ्चालनमा रहेका छन् । प्रायः सबै होटल आन्तरिक पर्यटकको भरमा थेगिएका छन् । बाह्य पर्यटक होटलसम्म पुग्नै नसकेको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीको गुनासो छ । “अहिले लुम्बिनीमा बाह्य पर्यटक बढेको समाचार आइरहेको छ तर यसको फाइदा हामीलाई हुँदैन”, ज्ञवालीले भन्नुभयो, “उहाँहरुलाई हामीले लुम्बिनीको बारेमा बताउनै सकेका छैनौँ ।”

प्रायः सबै विदेशी पर्यटक मायादेवी मन्दिरको अवलोकन गरी फर्किने गरेको उहाँ बताउनुहुन्छ । गौतमबुद्धसँग सम्बन्धित अन्य स्थलको बारेमा उहाँहरुलाई जानकारी नै गराइँदैन । यसबाहेक बसाई लम्ब्याउने खालका अरु केही क्रियाकलाप नभएको ज्ञवालीको गुनासो छ ।

पर्यटक बढे पनि बढेन बसाई

लुम्बिनीमा तेश्रो मुलुकको पर्यटकको आगमन बढे पनि उनीहरुको बसाई लुम्बिनीमा हुने गरेको छैन । प्रायः सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन । बृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राम अधिकांश तीर्थालु पुग्नै पाउँदैनन् ।

पर्यटक लुम्बिनमिा अडिन नसक्दा यसको फाइदा स्थानीयस्तरमा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्तिले समस्या थपिएको हो ।

पर्यटकको बसाई लम्ब्याउने विषयमा विद्यावारिधिसमेत गर्नुभएका कोषका सूचना अधिकारी डा राई लुम्बिनीमा पर्यटकको बसाई औसतमा दुई दिन पनि नहुने गरेको बताउनुहुन्छ । “अहिले अध्ययन गरिएको छैन तर सन् २००४ मा लुम्बिनीको पर्यटकको औषत बसाई १ दशमलव ८५ दिन थियो”, राईले भन्नुभयो, “२०१९ मा मैले विद्यावारिधिको क्रममा अनुसन्धान गर्दा त्यो बढेर एक दशमलव ८७ दिन पुगेको थियो, त्यसपछि फेरि अध्ययन गरिएको छैन ।”

यसरी बस्ने पर्यटकले आफ्नो भ्रमण अवधिभरि ८५ डलर खर्च गरेको देखिएको राईले बताउनुभयो । खर्च अनुपात विश्लेषण गर्ने हो भने प्रत्येक भ्रमण बराबर मक्का मदिनामा पर्यटकले १५ हजार डलर र जेरुसेलममा औसतमा सात हजार डलर खर्च गर्ने गरेको डा राईको भनाइ छ । “यी सबै तीर्थस्थल समान हैसियतका गन्तव्य हुन, जुन विभिन्न धर्म प्रवर्तकको जन्मस्थल हो ।” राईले भन्नुभयो, “लुम्बिनीलाई पनि मक्का मदिनाजस्तै प्रवर्द्धन गर्नुपर्ने राज्यको लक्ष्य हुुनुपर्ने हो ।”

यसरी बढाउन सकिन्छ पर्यटकको बसाई

लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन लुम्बिनीमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना हुनुपर्ने धारणा स्थानीयस्तरमा उठेको छ । धार्मिक कार्यक्रममा तेस्रो मुलुकका बौद्धधर्मको आगमनसँगै उनीहरुको अनुयायीको सङ्ख्यामा पनि वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ छ । तर पछिल्लो समय लुम्बिनीमा यस्ता धार्मिक कार्यक्रमको आयोजना हुनै सकेको छैन ।

मोन्लम, त्रिपिटक च्यान्टिङ, बौद्ध सम्मेलनलगायत कार्यक्रमले कुनै बेला गुल्जार हुने लुम्बिनीमा अहिले यस्ता कार्यक्रमको अभाव खट्किरहेको छ । लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली पर्यटक बसाईको योजना बनाउनुपर्ने समय आएको बताउहुन्छ । “पर्यटन भनेको यसरी हुँदैन, यसलाई गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने हुन्छ”, ज्ञवालीले भन्नुभयो, “हाम्रो कमी कमजोरी के हो, हामी कहाँ चुक गरिरहेका छौँ ? लगायत बारे विश्लेषण गरेर अगाडि बढ्नुपर्ने समय आएको छ ।”

यससँगै गुणस्तरीय पर्यटकको लागि सेवा पनि गुणस्तरीय हुनुपर्ने सरोकारवालको भनाइ छ । डा राईले लुम्बिनीको पर्यटनलाई शान्तिको अवधारणामा लैजानुपर्ने सुझाव दिनुभयो । “बृहत्तर लुम्बिनीको कुनै पनि क्षेत्रमा विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूतिको साथै सोहीअनुसारको वातावरण तयार गरी दिनुपर्छ ।” उहाँले भन्नुभयो, “रातको २ बजेको समयमा कतै शान्त स्थानमा बसेर ध्यान गरोस् त्यसलाई कुनै प्रकारको बाधा नपरोस्, त्यस्तो वातावरण बनाई दिनुप¥यो ।”

यससँगै पर्यटक गतिविधिमा पनि जोड दिनुपर्ने उहाँको तर्क छ । लुम्बिनीमा धार्मिकस्थलको तीर्थाटनसँगै ध्यान, प्राकृतिक भ्रमण, गाउँ भ्रमण, चरा अवलोकन, स्थानीय सांस्कृतिक कार्यक्रमको अवलोकनसँगै लुम्बिनीमै हुने उत्सवमा पर्यटकको सहभागिता गराउनुपर्ने डा राईको छ । उहाँका अनुसार यसको लागि लुम्बिनीलाई सजिव सम्पदाको रुपमा विकास गर्नुपर्छ । मायादेवी मन्दिर बन्द गर्दा, खोल्दा विशेष पूजा गरेर गर्ने, रातिमा मायादेवी मन्दिरमा प्रवचनलगायत कार्यक्रम गर्न सकिन्छ ।

यसबाहेक लुम्बिनीबाट केही दूरीमा भैरहवा, बुटवललगायत क्षेत्रमा रहेका मनोरञ्जनात्मक गतिविधिमा पनि पर्यटकलाई भुलाउनुपर्ने आवश्यकता रहेको छ । लुम्बिनीमा पर्यटक भुलाउन मिश्रित बजार प्रणालीमा जानुपर्ने यहाँका सरोकारवालाको सुझाव छ । योजना मात्र बनाएर नभई यसको बिक्री एवं प्रवर्द्धनमा पनि जानु पनि आजको आवश्यकता हो ।

यस्तो छ कोषको आगामी योजना

लुम्बिनी विकास कोषले पर्यटकको बसाई अवधि लम्ब्याउने योजना चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममै समावेश गरेको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटक लक्षित विभिन्न कार्यक्रमको योजना बनाइएको जानकारी दिनुभयो । यो आर्थिक वर्षमा पर्यटन जोडिने गरी महत्त्वपूर्ण धार्मिक कार्यक्रमको आयोजना गरिँदैछ ।

कोषका सदस्य सचिव शाक्यले बुद्धजयन्ती मात्र नभई महायानी पराम्पराअनुसारको मोन्लमको सङ्ख्या बढाइने जानकारी दिनुभयो । “गत वर्ष दुई तीन वटा मात्र मोन्लम गरिएको थियो, यस वर्ष हजारभन्दा बढी सहभागी हुने गरी चार पाँच वटा मोन्लम गर्ने योजना बनाएका छौँ ।” उहाँले भन्नुभयो, “यी कार्यक्रमसँगै पर्यटन पनि जोडिन्छ, यसमा आनी लामा मात्रै नभई विदेशी पनि सहभागी हुने गरेका छन् ।”

यस्तै थेरावादी पराम्पराअनुसार गत वर्ष पाँच सय जनालाई भिक्षु बनाइएकोमा यस वर्ष त्यसलाई एक हजार जनालाई सहभागी गराइने योजना रहेको छ । यसबाहेक लुम्बिनीमा ‘हरेक पूर्णिमा विशेष पूर्णिमा’ को रुपमा मनाउने र मायादेवी मन्दिरमा तीर्थयात्री एवं पर्यटकको लागि मनासिव शुल्कमा दीपप्रज्वलन गर्ने व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । लुम्बिनीमा प्रवज्या कार्यक्रम, त्रिपिटक वाचन, विभिन्न पराम्पराअन्तर्गतका पूजालगायत कार्यक्रम गर्ने शाक्यले जानकारी गराउनुभयो ।

यस्तै लुम्बिनी प्रदेश सरकारको ‘लोरेन्ट एण्ड लिडर्स’ कार्यक्रमअन्तर्गत विश्वका विभिन्न धार्मिक र राजनीतिक नेतृत्वलाई आमन्त्रण गरी शान्तिका लागि विश्व शान्ति सम्मेलन आयोजनासमेत गरिने भएको छ । पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्यसहित बुद्ध जन्मको कथामा आधारित लाइट उन्ड साउन्ड प्रविधिमा आधारित एशिया फाउण्डेशनको परियोजना पनि यसै वर्ष आरम्भ गरिँदैछ ।

हिलेसम्म रोकिएको दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरण एवं तेस्रो विश्व बौद्ध शिखर सम्मेलनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने तयारी पनि रहेको छ । यी सबै क्रियाकलापले यस वर्ष लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि मात्र नभई उनीहरुको बसाई पनि लम्बिने कोषको अपेक्षा रहेको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो

काठमाडौँ, १३ भदौ : सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ । आज अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो । उहाँका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन् ।

उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ । यस्तै विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राहुल महरामाथि पनि पाँच दिन म्याद थप गरी अनुसन्धानको समय लिइएको सिआइबीले जनाएको छ । राहुलले भने आफैँ सिआइबीमा गएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ ।

गत वर्ष उक्त घटना भएको थियो । पौडेल भन्सारका कर्मचारी, बस्नेत दावाका सहयोगी यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ ।

प्रवक्ता कडायतले उनी भन्सारका अधिकृत भएको खुलेको राससलाई बताउनुभयो । यस्तै अर्का किशोर बस्नेत भने यसअघि पक्राउ परेका दावा छिरिङका सहयोगीका रूपमा काम गरेको पाइएको छ । पौडेलले भन्सारमा बसेर तस्करलाई सहयोग गरेको तथ्य खुलेको पनि प्रहरीले जनाएको छ ।