इरानी जनरलको चिहान नजिकै भएका दुई विस्फोटमा २० को मृत्यु
इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ ।
“विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ”, टेलिभिजनले भनेको छ । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो ।
केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो । विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार विस्फोटमा ३० जना घाइते भएका छन् ।
सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गर्नुभएको थियो । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उहाँ बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिनुभएको थियो । उहाँ इरानमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो ।
