`

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीका सय दिन : निःशुल्क शय्या र उपचारमा जोड

मनहरी (मकवानपुर), १३ भदौ : बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सय दिनमा विपन्न असहाय, बेवारिसे बिरामीलाई निःशुल्क शय्या व्यवस्था गर्नुका साथै दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारमा जोड रहेको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयको गौरवको योजना विद्यालय नर्सलाई निरन्तरता दिनुका साथै प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख तथा सीमान्तकृत जाति, आश्रममा आश्रित असहाय छ सय ३७ जना नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको मन्त्री जोशीले बताउनुभयो ।उहाँका अनुसार धुलिखेलको जनस्वास्थ्य प्रयोगशाला चितवनमा विस्तार गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क औषधि स्थानीय तहका स्वास्थ्यचौकीसम्म लगिएको छ । “हामीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८० मन्त्रिपरिषद्बाट पास गरेका छौँ”, मन्त्री जोशीले भन्नुभयो ।बत्तीस बुँदामा उपलब्धि सार्वजनिक गर्दै मन्त्री जोशीले भन्नुभयो, “अहिले डेङ्गुको जोखिम बढेको छ, सोहीअनुरूप धादिङमा दुई हजार पाँच कीट र जनस्वास्थ्य प्रयोगशालाका साथै अस्पतालहरूमा आठ हजार नौ सय कीट निःशुल्क उपलब्ध गराएका छौँ ।”उपलब्धिसँगै मन्त्री जोशीले चालु आवमा गरिने योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदूढीकरण कार्यक्रमलाई रु ११ करोड ५२ लाख ५० हजार बजेट राखिनुका साथै स्थानीय तहका स्वास्थ्य संस्था सवलीकरण कार्यक्रमलाई रु १० करोड २२ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।नसर्ने रोगको पहिचानका लागि परीक्षण र परामर्श, क्यान्सर रोग लागेका विपन्न बिरामीलाई उपचारमा सहुलियत, हृदयाघात भएका बिरामीका लागि उपचारमा सहुलियत र मस्तिष्काघात रोग उपचारमा सहुलियत गर्ने कार्यलाई निरन्तरता दिने मन्त्री जोशीले बताउनुभयो ।थप एक सय १५ वटा विद्यालयमा नर्स राखिनुका साथै आँखा अस्पताल र आयुर्वेद अस्पताललाई थप व्यवस्थित बनाई सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो । एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गरिनुका साथै भान्साघरमा उपलब्ध हुने औषधीय गुण भएका खाद्यपदार्थलाई प्रयोग गरी भान्साघर औषधालय कार्यक्रम सञ्चालन गरिने मन्त्री जोशीले बताउनुभयो ।प्रदेश जनसङ्ख्या नीति तर्जुमा गर्नुका साथै उपचार व्यवस्थापन निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । मन्त्रालयले पछिल्लो समय देखिएको डेङ्गु सङ्क्रमणको महामारीलाई निर्मूल पार्न जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थामार्फत तीव्रगतिमा काम गरिरहेको मन्त्री जोशीले बताउनुभयो ।–––

निष्ठा र आदर्शबिनाको राजनीतिले जनतामा नैराश्य– डा कोइराला

विराटनगर, १३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेताले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस मोरङले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निरासा छाएको बताउनुभयो ।

सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको भन्दै नेता कोइरालाले नेपालका सबै पार्टीका नेताले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको बताउनुभयो ।राजनीति पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिनुभयो । “राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेसा व्यवसाय गर्दा भइगयो नि,” उहाँले भन्नुभयो, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र बेथिति बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरण आएका छन् ।”स्व न्यौपाने कहिल्यै पनि पद र पैसाको पछि नलागेको र आफूले पटकपटक भेट्दा पनि न्यौपानेले पदको कुरा नगरेको नेता कोइरालाले स्मरण गर्नुभयो ।मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राजभण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठलगायतले स्व न्यौपानेको राजनीति र सामाजिक व्यक्त्विका विषयमा चर्चा गर्नुभएको थियो ।नेविसङ्घ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य हुनुभएको थियो । न्यौपाने वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो ।

जनै बनाउने चलन कम हुँदै, जनै पनि आयात गरिन्छ

मध्यविन्दु (नवलपरासी), १३ भदौ : हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका–६ का खुमकान्त गौडेलले बताउनुभयो । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पु¥याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताउनुभयो ।

“आजकालका युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन ।” गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ ।

बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताउनुभयो । “जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ”, उहाँले भन्नुभयो, “अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ ।” नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । मङ्गलबार र बुधबार जनै किन्नेको ठूलै भीडभाड रहेको व्यवसायी खनालले बताउनुभयो ।

विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्संदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो ।

“रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।” शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रूपमा जनैपूर्णिमालाई लिइने भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उहाँले बताउनुभयो । जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ ।

“तागाधारीले कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोउच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत

काठमाडौँ – एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका तीन खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए । उनले कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलको विकेट लिएका हुन् । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाए ।

यस्तै पौडेलले बिना रन आउट भए । यस्तै नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उनलाई नशिम शाहले आउट गरे । शेखले पाँच बल खेल्दै एक चौकाको मद्दतमा मात्र पाँच रन बनाए । केहीबेर अघिसम्म नेपालले १० दशमलव पाँच ओभरमा तीन विकेट गुमाउँदै ५२ रन बनाएको छ । अहिले आरिफ शेख र सोमपाल कामी क्रिजमा छन् ।

यसअघि मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

इस्लामावाद – पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् । नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए ।

भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार उल्ट्याइएको थियो । नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता

हेटौँडा – बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रीहरूलाई करार सम्झौता गराउनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका मन्त्रीहरूलाई सम्झौतापत्र टेबलमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले उपलब्ध जनशक्तिबाट स्तरीय सेवा प्रवाह गर्न पनि सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “अब मन्त्रालयको सेवा सबै जिल्लामा विस्तार गरिनेछ, तब जनतालाई घरघरमा सिंहदरबार भएको महसुस हुनेछ ।” उहाँले पुस महिनाभित्र हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड भैँसे–भीमफेदी र फाखेल–हुमानेलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । यसका साथै उहाँले सबै मन्त्रालयका सचिवहरूलाई पनि करार सम्झौताअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, स्वास्थ्यमन्त्री, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशीसँग मुख्यमन्त्री जम्कट्टेलले सम्झौता गर्नुभएको थियो । अनुपस्थित रहनुभएको मन्त्रीहरूलाई पछि सम्झौता गराइने बताइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न आग्रह

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगकाले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा यस आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न तथा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक सरकारसँग आग्रह गरेको छ ।

सर्वोच्च अदालतको फैसला, आयोगको सुझाव र अन्तर्राष्ट्रिय मान्यताअनुरुप हुने गरी ऐन संशोधन गरी पीडितलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न आयोगले सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा द्वन्द्वपीडित र मानवअधिकारसम्बन्धी कार्य गर्ने सङ्घसंस्थालगायतले अन्तर्राष्ट्रिय मान्यताअनुरुप सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई न्याय दिन माग गरिएको छ ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदासमेत नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेको एवं पीडितले न्याय प्राप्त गर्नसकेका छैनन् । बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगमा परेका उजुरीमा आयोगले छानबिन र शवोत्खननसमेत गरी दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर्नका लागि सरकारलाई हालसम्म एक सय ८६ वटा सिफारिस गरेको छ ।

आयोगमा अझै आठ सय २१ वटा उजुरी विचाराधीन छन् तर आयोगका सिफारिसको कार्यान्वयन अवस्था भने अत्यन्तै न्यून रहेको छ । सङ्क्रमणकालीन न्यायको सम्बन्धमा चासो राख्दै आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग विभिन्न समयमा भेटघाट, छलफल तथा कर्मचारीलाई क्षमता अभिवृद्धि गराउने कार्य गर्दै आइरहेको छ ।

तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए पनि हालसम्म स्थिति सार्वजनिक नहुँदा पीडित परिवार मनोवैज्ञानिक पीडाबाट गुज्रिनुपरेको अवस्था छ ।

यस्तै, पीडित परिवारको सत्यतथ्य जान्न पाउने अधिकार, सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्तिको अधिकारसमेत उल्लङ्घन भएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख भएबमोजिम सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग पटक–पटक गठन भए पनि ती आयोगबाट कार्य पूर्ण नहुँदै समयावधि समाप्त हुने अवस्था एवं कानुनी अपर्याप्तताका कारण न्याय प्राप्त गर्न नसकेको गुनासो पीडितले गर्दै आएका छन् ।

पाकिस्तानले नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य दियो

काठमाडौँ, १३ भदौ : एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लािग तीन सय ४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको हो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रनको योगफल बनायो ।

विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् । यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए । त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए ।

यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए । यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए । त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी व्यक्तिगत पाँच रनमा आउट भएका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् । तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए । नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रहरीप्रधान कार्यालय साइबर ब्युरो भवनको शिलान्यास

काठमाडौँ, १३ भदौ : नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको काठमाडौँ सामाखुशीमा निर्माण हुने भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज आयोजित एक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदूत पार्कटेइ योङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्तरुपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुका साथै भवन निर्माण कार्य सुरुआतका लागि भूमि पूजनसमेत गर्नुभएको थियो ।

उक्त अवसरमा राजदूत योङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्युरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा साइबर ब्युरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विज्ञान र प्रविधिका क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतीकारुपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताउनुभयो । सीमित साधन स्रोत एवं पूर्वाधारका बाबजुद साइबर ब्युरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि साइबर ब्युरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरुरी भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासका सन्दर्भमा दूरगामी महत्त्वको प्रारम्भ विन्दुका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

सुसज्जित साइबर ब्युरो निर्माण गर्न कोरियाली सरकार, कोइका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकका रुपमा रहने चर्चा गर्नुभयो । उक्त कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका कन्ट्रीडिरेक्टर मोहेन कोङले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्टअनुरुप नेपाल प्रहरीको साइबर ब्युरोको स्तरोन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साइबर अपराध नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न सहजीकरण हुने बताउनुभयो ।

सो अवसरमा साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) द्वारा भवन निर्माण हुन लागेको बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, कोइकाका प्रतिनिधिहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।

सुन तस्करीको सूचना सङ्कलन गर्न सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

काठमाडौँ, १३ भदौ : हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गर्नुभएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिनुभयो ।

हङकङबाट ब्रेक शुमा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीले लिएको थियो । सिआइबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ ।

आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सिआइबीले इन्टरपोलको समेत सहयोग माग सिकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।

सुन तस्करी प्रकरण ः थप तीन जना पक्राउ

दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज काठमाडौँलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिनुभयो । सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन् । उहाँले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिनुभयो । राहुलले भने आफैँ सिआइबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।

विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक

जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ ।

“पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।” एमाले (तत्कालीन माले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ”, विज्ञप्तिमा छ । त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ ।

“त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिकस्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ”, विज्ञप्तिमा भनिएको छ । बैठक आज दिउँसो ३ बजेदेखि सुरु भएको थियो । विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो । –––

पाकिस्तानी कप्तान आजमको नेपालविरुद्ध शतक

काठमाडौँ – एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो ।

आजम आफ्नो एक सय ३ औँ एकदिवसीय खेल खेलिरहेका छन् । नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सय रन बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् । कप्तान आजमले हालसम्म ४९ टेष्ट प्रतियोगिता खेलिसकेका छन् । उनले यस क्रममा नौ शतक र २६ अद्र्धशतक प्रहार गर्दै तीन हजार सात सय ७२ रन बनाइसकेका छन् । कप्तान आजमले पाकिस्तानका लागि एक सय चार टी–२० प्रतियोगिता खेलेका छन् । उनले यस क्रममा तीन शतक तथा ३० अद्र्धशतक प्रहार गरेका छन् ।

उनले टी–२० प्रतियोगितामा हालसम्म तीन हजार चार सय ८५ रन बनाएका छन् । यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमदले अद्र्धशतक प्रहार गरेका छन् । उनले ४५ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । पाकिस्तानले केहीबेर अघिसम्म ४३ ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको छ ।

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ । भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थीको समस्याको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको संयोजकत्वमा गएको समूहले भुटान फर्किन चाहने, नेपालमा बस्न चाहने वा तेस्रो देशमा पुनर्वासमा जान चाहने शरणार्थीको मानवअधिकारको रक्षा गरी उहाँहरुको चाहनाबमोजिमको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो ।

सो ज्ञापनपत्रमा भनिएको छ, “भाषा रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ र पहिचान रहे जातिको परिचय रहन्छ भन्ने मान्यता बोक्ने पितृभूमि नेपाल भएका र नेपालको सरकारसँग सम्झौता गरी भुटानमा गई बसोबास गर्दै आएका पितृभूमि नेपाल भएका नेपाली भाषी समुदायलाई नेपाली भाषा, संस्कार र संस्कृति अङ्गालेकै कारण भुटान सरकारले निर्मम दमन र सर्वस्वहरण गरी भुटानबाट लखेटेको र अझै नेपालमा आठ हजार शरणार्थी रोग र अभावबाट ग्रसित भई जेलसरहको कठोर जीवन बिताइरहेका छन् ।”

अमानवीय तरिकाले ट्रकमा मेची नदीको पुलमा ल्याएर छोडिएका विस्थापित झण्डै ३४ वर्षदेखि शरणार्थीका रुपमा नेपाल सरकारलगायत कुनै पनि दातृ निकायको उचित र आवश्यक सहयोगबिना नै जीवन मरणको दोसाँधमा रहेकाले उनीहरुको उचित व्यवस्थापनको माग सो ज्ञापनपत्रमा गरिएको छ ।

यसरी लाखौँ शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनर्वास भएका र प्राविधिक कारणले यसरी जान नसकेका र नचाहेका एवं जबर्जस्ती आफ्नै पितृथलोमा अनागरिक बन्न बाध्य बनाइएकाको समस्या झन बढ्दै गएकाले उनीहरुको यो अवस्थाप्रति छिट्टै ध्यान दिन सो ज्ञापनपत्रमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो । तेस्रो मुलुकमा पुनःस्थापनामा जाने प्रक्रियामा रहेका र केही भुटान नै फर्किन वा नेपालमा नै बसोबास गर्न चाहेका शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारले कार्यदल बनाएकामा सो कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने सो ज्ञापनपत्रमा जनाइएको छ ।

वास्तविक नेपाली भाषी भुटानी शरणार्थीको यो अवस्था रहेको तर नक्कली भुटानी खडा गरी पहुँचको आधारमा वास्तविक शरणार्थीलाई ओझेलमा पार्ने गरी प्रयास भएको भन्दै सो ज्ञापनपत्रमा समस्या समाधानका लागि आग्रह गरिएको छ । त्यस अवसरमा प्रधानमन्त्री दाहालले उक्त फाउन्डेसनले संसारभरका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा जोड्न गरेको योगदानको प्रशंसा गर्नुभएको थियो ।

सो फाउन्डेसनको आयोजनामा हालै नेपालमा सर्वाधिक पुरस्कार राशिका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिता सम्पन्न भएका छन् । त्यस अवसरमा प्रधानमन्त्रीसँग फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीसहितको समूहले संसारभर रहेका नेपाली भाषी नागरिकलाई नेपाली राष्ट्रिय परिचयपत्र प्रदान गर्न आग्रह गरेको थियो ।

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ – ओली

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुठो कुरा हो भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओली संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको भूगोल समेटिएको नक्सालाई चुच्चे नभन्न आग्रह गर्दै मित्रराष्ट्र चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा समावेश गर्न कूटनीतिक नोट पठाउनुपर्नेमा जोड दिनुभयो ।

नक्साका सम्बन्धमा कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

“यसमा कूटनीतिक ढङ्गले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ”, उहाँले भन्नुभयो, “चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।” एक अर्को प्रसङ्गमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन, कार्यान्वयन स्वाभाविक ढङ्गबाट हुने नै भयो ।”

व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उहाँले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताउनुभयो । टेलिफोन सेवाका सम्बन्धमा टेरामक्स प्रणालीबारे उठेका प्रश्नका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले हिजोको सरकारको निर्णय भए पनि कार्यान्वयनमा लाने कि नलाने भन्ने आजको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यान्वयनमा लानुभन्दा पहिला उठेको प्रश्नको उत्तर दिनुपर्छ । उत्तरलाई प्रष्ट पार्नुपर्छ । कुनै पनि नागरिकको आवश्यकताविना फोन ट्यापिङ गरिन्न, कानून र नियमले दिने कुरामा पछाडि हट्दैनौँ ।”

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौँ – सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निजीकरण ऐन, २०५० बमोजिम प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले विद्युत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । सरकारले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहेकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय, नेपालगञ्ज बाँकेको कार्यक्षेत्रमा राप्ती सोनारी गाउँपालिका वडा ३, ४, ५, ६ र ७ थप गर्ने निर्णय गरेको छ ।

बैठकले साँगु खोला जलविद्युत् आयोजना निर्माणका लागि दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा साँगु खोला १ जलविद्युत् आयोजनाको विभिन्न संरचनाको विकास निर्माणका लागि गौरीशङ्कर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । अरुण ३ जलविद्युत् परियोजना निर्माणका क्रममा उत्पादन हुने वेष्ट म्याट डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा र विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिको कार्यकारी निर्देशक पदमा डा सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि जम्मा ३८ राजपत्राङ्कित अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृति दिएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति गत साउन २६ गतेदेखि लागू हुने गरी एक महिना थप गरेको छ । बैठकले २८ औँ वार्षिक सम्मेलन र अभियोजकको अन्तर्राष्ट्रिय सङ्घको साधारणसभामा महान्यायाधिवक्ता डा दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने दिगो विकास लक्ष्य सम्मेलन २०२३ विषयक कार्यक्रममा सहभागी हुनका लागि जिल्ला समन्वय समितिका प्रमुख सुनसरीका राजन मेहता, रसुवाका अशोककुमार घिमिरे, काभ्रेपलाञ्चोकका दीपककुमार गौतम, रुकुम पश्चिमका लुम्बिनी गौतम र खोटाङका सनबहादुर राईलाई स्वीकृति दिएको छ ।

बैठकले नेदरल्याण्ड्समा हुने पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले इजिप्टको राजधानी कायरोमा आयोजना हुने ‘जनसङ्ख्या स्वास्थ्य र विकासमा ग्लोबल कांग्रेस’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति र नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा डडेल्धुराका कैलाशकुमार पनेरुलाई नियुक्तिको निर्णय गरेको छ ।

आज नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भादगाउँ (भक्तपुर), १३ भदौ : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीसँगको छलफलपछि भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।

नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ । गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो ।

भ्यागुताको पूजा

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो ।

भक्तपुरका कुण्डमा मेला

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

टापुधाममा १२ लाख १२ हजार शिवलिङ्ग स्थापना

रामपुर (पाल्पा), १३ भदौ : शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।

यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिङ्गको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताउनुभयो ।

अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्निशम्शेर प्रताप शाह)को सङ्कल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिङ्ग स्थापना गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवर्द्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै जाने बताउनुभयो ।

“कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ, कालीगण्डकी करिडोर सडकखण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ”, नगरप्रमुख थापाले भन्नुभयो ।

नेपाललाई अखण्ड राख्न सङ्कल्पका साथ विगत चार वर्षदेखि तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आइरहेको धार्मिक अभियान्ता योगी अक्षर ब्रह्म अग्निशम्शेर प्रताप शाह बताउनुहुन्छ । अबदेखि टापुधाममा शिवलिङ्ग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ ।

टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको छ । विश्वमा नै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर सङ्कलन तथा संरक्षण गरेर राखेको छ ।

कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरबाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम सङ्कलन गरेर राखिएको छ । चारवटै वेदमा शालिग्राम भगवान्को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्व र प्रचारसमेत देखिन्छ । शालिग्राम भगावन्को अवतार हो भन्ने जनविश्वास रहेकाले यसलाई भगवान्का रुपमा पुज्ने गरिन्छ ।

दुई मेनपावर कम्पनीलाई कारबाही

काठमाडौँ – वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले विभागको मङ्गलबारको निर्णयानुसार ऐनको दफा ६१ (७) बमोजिम दुवै संस्थालाई निलम्बन गरिएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिएका संस्थाले प्रचलित कानुनको अक्षरसः पालना गरी आफ्ना गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ ।

ओमेगा इन्टरनेशनल प्रालिले विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल (फेसबुक)मार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगतरूपमा गन्तव्य मुलुकमा पठाउने गरी शङ्कास्पद कार्यहरू गरेकाले कारबाहीस्वरुप निलम्बन गरिएको विभागले जनाएको छ । यस्तै अक्सन इन्टरनेशनल प्रालि (अवतार ह्युमन रिसोर्स प्रालि)ले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोबार गर्नुका साथै व्यक्तिगतरूपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न रहेकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण दाजुभाइ, दिदीबहीनीलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।

साथै प्रचलित ऐन, कानुनको बर्खिलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषणलगायतका गतिविधि सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरूमा अनुरोध गरिएको छ । दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भइ दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ । कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनी दोषी ठहर भएका थिए । निर्मला कार्की (भण्डारी)विरुद्ध प्रविनकुमार श्रेष्ठले जाहेरी दिएका थिए । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार कास्की पठाइएको रेग्मीले जानकारी दिनुभयो ।

महावुधाम मेला भर्नेको घुइँचो

मान्म (कालिकोट) – कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो ।

दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला भर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । चार हजार दुई सय मिटर अग्लो फाँटमा बुकीझार र त्यहाँको यात्रा गर्दा विभिन्न रोग निको हुने विश्वास रहीआएको छ । हरेक वर्ष मेलाको आकर्षण बढ्दै गएको पुजारी नरेन्द्र उपाध्याय बताउनुहुन्छ । यो कालिकोट र दैलेखको सिमानामा पर्छ ।

महावुधाम समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीका दिन भव्य मेला लाग्छ । सो स्थानमा शिवलिङ्ग रहेको छ । महावुधाममा कालिकोटका काफ्ले कूलका एक जना तथा दैलेखका आचार्य कूलका एकजनाले पूजा गर्ने परम्परा छ ।

सेनानी पण्डित चार दिनदेखि बेपत्ता

जाजरकोट – डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आउनुभएको छैन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो ।

त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उहाँले बताउनुभयो । सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

उहाँको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँड्नुभएकाले पनि खोज्न समस्या भएको बताउनुभयो ।

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौ ।बुधबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज प्रतिकेजी नेपाली गोलभेडा ८०, सानो गोलभेडा ६० रुपैया ,रातो आलु ५८ रुपैयाँ, रातो आलु भारतीय ३६ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ, सुकेको प्याज ७६ रुपैयाँ, लोकल गाजर १३० रहेको छ ।

यस्तै काउली १०० रुपैयाँ, सेतो मूला १०० रुपैयाँ,लाम्चो भन्टा ७० रुपैया केजी, तुने बोडी १२० रुपैया, घिउ सिमि लोकल १२० रुर्पैया, लौका ८० रुपैया,भिण्डी ७० रुपैया, स्कुस ६० रुपैया र रायो साग १५० रुपैया रहेको छ । अन्य तरकारीको कति छ तालिकामा हेर्नुहोस्

बढ्दो लागतको डरले अगस्टमा अमेरिकी उपभोक्ताको विश्वासमा कमी

वासिङ्टन – अगस्टमा अमेरिकी उपभोक्ताको विश्वास अप्रत्याशित रूपमा घटेको छ । यसले अमेरिकीहरूले बढ्दो ग्यास र किराना सामानको लागतसँग बानी पर्न उपभोक्ताको विश्वासमा देखिएको पहिलेको लाभलाई उल्ट्याएको मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ ।

अमेरिकी फेडरल रिजर्भले ब्याजदर वृद्धिको आक्रामक अभियानमार्फत बढ्दो मूल्यलाई केही सफलताका साथ सामना गरिरहेको छ । यी वृद्धिहरूले मुद्रास्फीतिलाई तीव्र रूपमा तल ल्याएको छ यद्यपि तिनीहरूले कार कर्जादेखि ब्याजसम्म सबै उधारोको लागत पनि बढाएको छ ।

उपभोक्ताको विश्वास जुलाईमा संशोधित ११४.० बाट घटेर अगस्टमा घटेर १०६.१ मा झरेको कन्फरेन्स बोर्डले एक विज्ञप्तिमा घोषणा गरेको छ । जुलाईको आँकडा ‘मार्केट वाच’ले सर्वेक्षण गरेको ११६.० को अर्थशास्त्रीहरूको औसत अपेक्षाभन्दा कम थियो र यो यस वर्षको मे पछिको सबैभन्दा कम हो । “अगस्टको निराशाजनक परिणामहरूको अवस्थाले वर्तमान अवस्था र अपेक्षा सूचकाङ्क दुवैमा गिरावटलाई प्रतिबिम्बित गर्दछ,” द कन्फ्रेन्स बोर्डका प्रमुख अर्थशास्त्री डाना पिटरसनले एक विज्ञप्तिमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “उपभोक्ताहरू फेरि एक पटक सामान्य रूपमा बढ्दो मूल्य र विशेष गरी किराना र पेट्रोलको लागि व्यस्त थिए । कन्फरेन्स बोर्डका अनुसार एक लाख अमेरिकी डलर वा सोभन्दा बढी को पारिवारिक आय भएका धनी उपभोक्ताहरू र ५० हजार डलरभन्दा कम आम्दानी गर्ने धनी उपभोक्ताहरूमा यो सबैभन्दा उल्लेखनीय देखिएको छ ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै, अध्यक्ष ओली सिराहा जाँदै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक आज दिउँसो १२ बजे सिराहाको धनगढीमाइ नगरपालिका–१४ अम्बासमा हुने एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए। यहि बैठकको लागि आज पार्टी अध्यक्ष केपी शर्मा ओली सिराहा जाने भट्टराईले बताए ।

बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने लगायतको कार्यक्रम रहनेछ । यस्तै बैठकमासमसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

गाईजात्रा महोत्सव आज प्रज्ञा भवनमा, यी हाँस्यकलाकारले हसाउँने

काठमाडौँ – यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो ।

गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन् ।

जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ । कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।

चन्द्रमामा अक्सिजनको सङ्केत भेटिएको इसरोको दावी

नयाँदिल्ली – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ । गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो । “तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन् ।

रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।” टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ,” इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ ।

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ ।

सामाजिक विषयवस्तुमा चलचित्र ‘ऐँचो पैँचो’

काठमाडौँ – नेपाली चलचित्रमा कान्छी निर्मात्रीको परिचय बनाउनु भएकी कृषा चौलागाईंले निर्देशन गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पूर्णरुपमा व्यावसायिक भनिएको चलचित्रको सार्वजनिक श्रव्यदृश्यमा राजनीतिलाई देखाइएको छ । सामाजिक सञ्जालमा राजनीतिमै केन्द्रित चलचित्र भन्नेबारे चर्चा हुन थालेपछि निर्देशक चौलागाईंले त्यस्तो नरहेको बताउनुभयो ।

“हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ”, निर्देशक चौलागाईंले भन्नुभयो । चलचित्रसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्मात्री हुँदै निर्देशनसम्मको यात्रा एकल प्रयासमा सम्भव नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।”

चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राजनीतिलाई सुरुआती दिनमा देख्दा र बुझ्दा फरक सोच्थे । अहिले मेरो सोचाइमा फरक छ । यसले राजनीतिभन्दा पनि त्यसले समाज र परिवारमा परिरहेको प्रभावलाई देखाएको छ ।”  

उहाँले राजनीतिज्ञलाई चलचित्र भवनमै गएर हेरिदिनसमेत आग्रह गर्नुभयो । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ संयोजन, विपीन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ । 

आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव

काठमाडौँ । देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो ।

भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पगे । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उनले सुनाए  ।

नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलले बजारमा आँखा पाकेका बेला प्रयोग गरिने आइड्रप अभाव भएको जानकारी दिए । उनले केही समयअघिसम्म अस्पतालमा दैनिक १५० जनासम्म आँखा पाकेका बिरामी आउने गरेकोमा हाल ८० देखि ९० जनासम्म त्यस्ता बिरामी आउने गरेको बताए ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जुनसुकै अस्पतालमा आँखासम्बन्धी औषधी नपाइने बताए । “बजारमा अभाव होला तर अस्पतालमा औषधी अभाव छैन,” उनले भने, “औषधी पसलमा आँखाको औषधी नपाइन सक्छ ।”

उनले औषधी उत्पादकले पनि फार्मेसीमा औषधी वितरण नगरी आँखा अस्पतालमा मात्र गरिरहेको बताए  । “बजारमा पर्याप्त नभए पनि आँखा अस्पतालमा आइड्रप अभाव नभएको रिपोर्टिङ प्राप्त गरेको छु,” उनले भने “अस्पतालमा पनि पाइएन भने हामीलाई जानकारी हुनसके तत्काल व्यवस्था गर्ने छौँ ।”

एक जना व्यक्तिको आँखा पाकेमा परिवारका अन्य सदस्यलाई पनि समस्या देखिन सक्ने भन्दै एकै व्यक्तिले चाहिनेभन्दा बढी आइड्रप किन्ने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा। एरिक वैद्यले आँखा पाक्ने रोगीका लागि औषधी पर्याप्त नभए पनि पाउँदै नपाएको भन्ने अवस्था नरहेको दाबी गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । बुधबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू(भागको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदूषणले नेपालीको सरदर आयु घटाउँदै

काठमाडौं – वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नामक अर्न्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ ।

तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ । भूउपग्रह (सेटेलाइट) मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको देखाएको छ ।

वायु प्रदूषण मापन प्रतिघनमिटरमा २.५ माइक्रोमिटर तथा त्योभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा गरिन्छ । हरेक वर्ष अद्यावधिक गरिने यो अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको पिएम २.५ मापदण्डका आधारमा नेपालीको सरदर आयु (लाइफ एक्सपेक्टेन्सी) घटाउने घातक प्रभावका हिसाबले सवैभन्दा ठूलो कारक वायु प्रदूषण बनेको छ ।

वायु प्रदूषणले सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा धूमपानले २.८ वर्ष र उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

आजदेखि नेपालमा एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी

काठमाडौँ – संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल भ्रमणमा आउनुभएको हो ।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको उहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ । “यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ”, दूतावासले उल्लेख गरेको छ ।

बुधबारदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।

सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ । यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष यहाँ आउनुभएको हो ।

यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशी पाहुनालाई निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ ।

मेयरको सचिवालय र कामपा बोर्डको बैठकले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वका रूपमा परिचय दिन पाहुना बोलाउन लागेको हो ।निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम रहेको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले २ साताअघि सबै पाहुनालाई निमन्त्रणा गरेको जानकारी दिए। उनले भने– ‘कामपाले सम्बन्ध कायम गरेका विश्वका मुख्य देश, अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय स्तरका ७ स्थानीय तहका प्रमुखलाई निम्तो पठाएका छौं । उहाँहरू इन्द्रजात्रा अवलोकन गर्न विश्व पर्यटन दिवसको दिन अर्थात् असोज १० गते नेपाल आउनुहुनेछ ।’

कामपाले चार दिनसम्मका लागि बस्ने र खाने व्यवस्था गरेको छ । ११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिने गरी तयारी थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आजदेखि एमसिसी कार्यान्वयनमा

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन् । आज (बुधबार)देखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन् ।

क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेतालाई भेट गर्ने र १५ भदौमा उनी अमेरिका फर्किने कार्यतालिका रहेको छ । एमसिसी औपचारिक सुरुवात भएको पाँच वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसरी हेर्दा १२ भदौ २०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ । एमसिसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबिच ‘लेटर अफ एक्सचेन्च’मार्फत हुनेछ ।

लामो समयदेखि कम्युनिस्ट घटकहरूले विरोध गरेपछि पछिल्लो समय व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित भएको एमसिसी परियोजनाको दिनगन्ती आज ९बुधबार० १३ भदौबाट सुरु हुनेछ । थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको लगभग १० वर्षपश्चात् गत १५ फागुन २०७८ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले एमसिसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो ।

त्यसको डेढ वर्ष बित्दैगर्दा बल्ल कार्यान्वयनको चरण सुरु हुँदै छ । एमसिसी परियोजना पाँच वर्षको अवधिमा पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपालले तिर्नुपर्ने सहमति छ । त्यसकारण पनि एमसिसी परियोजना कार्यान्वयन चुनौतीपूर्ण छ । सुरुमा करिब ६० अर्ब रुपैयाँबराबरको हुने भनिएको यस सहयोग आयोजनाको बजेट पनि विदेशी विनिमय दरमा आएको परिवर्तन तथा नेपाल सरकारले त्यसमा जनाउने सहभागिता वृद्धिका कारण ९२ अर्ब रुपैयाँ नाघेको छ ।

एमसिसी परियोजना कार्यान्वयन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमपसए० नेपालको सञ्चालक समितिको बैठकले ‘इन्ट्री इन्टु फोर्स’को मिति तय गरेको थियो । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसिसीसँग भएको सम्झौताको धारा ७ मा यस सम्झौता कुनबेला लागू हुने भन्ने व्यवस्था छ । सम्झौताको दफा ७ बिन्दु ३ मा आवश्यक पूर्वसर्तहरू पूरा भएको कुरामा एमसिसी सन्तुष्ट रहेको भन्दै सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रका मितिदेखि यो लागू हुने व्यवस्था छ ।

त्यस्तै, सम्झौताको ७ बिन्दु ४ मा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षको अवधिसम्म बहाल रहने उल्लेख छ । ३० अगस्ट २०२३ मा सम्झौता लागू भएको खण्डमा २९ अगस्ट २०२८ भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । त्यसो नभएको खण्डमा खर्च हुन बाँकी रकम एमसिसीले फिर्ता लैजानेछ । त्यसो हुँदा आयोजना समयमै सम्पन्न गर्न दबाबसमेत सिर्जना हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

हेर्नुहोस् भदौ १३ गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन ।

बृष राशि – मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

कर्कट राशि – खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

सिंह राशि – आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कन्या राशि – दाम्पत्य शुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ ।

तुला राशि – मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । बिद्या प्राप्ति को योग रहेको छ ।सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ ।

बृश्चिक राशि – पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ ।

धनु राशि – मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ ।

मकर राशि – सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिह? प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ । शारीरिक आलस्यताले सताउला । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

मीन राशि – भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

प्याजका यस्ता छन् फाइदाहरु

काठमाडौं – हाम्रो भान्साको अत्यावश्यक चीज मध्ये एक हो प्याज । प्याज तरकारीलाई स्वादिष्ट बनाउन मात्र नभई स्वास्थ्यको फाइदाको लागि पनि खाइन्छ ।

यसमा सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस लगायतका तत्व पाइन्छ । प्याजमा ११ प्रतिशत कार्बोहाइड्रेट पनि पाइन्छ। विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइने र औषधिय गुण पनि हुन्छ ।

यस्ता छन् प्याजका फाइदा
कब्जियत – प्याजको सेवनले पेट पनि सफा गर्छ । प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्छ ।

मुटुको सुरक्षा – काँचो प्याजको सेवनले मुटुको सुरक्षा गर्न सहयोग पुर्याउछ । प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल पनि गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जसले मुटुको रोगका लागि राम्रो हुन्छ ।

कोलेस्ट्रॉल नियन्त्रण – प्याजको सेवन गरेमा कोलेस्ट्रॉल पनि नियन्त्रण गर्छ। यसमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई कम गर्छ ।

पत्थरी – प्याजले पत्थरीको समस्या पनि समाधान गर्छ । यदि बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिएमा पत्थरीको समस्या कम गर्न सकिन्छ ।

मधुमेह – प्याजको सेवनले मधुमेहबाट पनि टाढा राख्छ । प्याज काँचो खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ।

रक्ताल्पता – काँचो प्याज खाँदा रक्ताल्पता पनि हुन पाउदैन । यसको सेवनले शरीरमा रगतको कमी हुन नदिने र रोगप्रतिरोधक क्षमता बढाउने गर्छ ।

कैलालीमा हैजाको बिरामी फेला

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताउनुभयो ।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताउनुभयो । दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ ।

हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ । बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ । शाहीले भन्नुभयो, “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन ।” बिरामी महिला केही दिनअघि भारतबाट फर्किनुभएको बताइएको छ ।

सुन तस्करी प्रकरण : सूचना सङ्कलन गर्न सिआइवीका एसएसपीलाई हङकङ पठाइँदै

काठमाडौँ – ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिनुभयो । चाँडै आचार्य हङ्कङ जाने पनि उहाँले बताउनुभयो । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सिआइवीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइवीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।

राजेश्वर नेपाली : निभ्यो क्रान्तिको दियो

जनकपुरधाम – प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको आज अन्त्यष्टि गरिएको छ । हिजो बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएका नेपालीको शव जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित निवासबाट निकाली नगरदर्शनपश्चात नजिकैको दूधमति नदीमा अन्त्यष्टि गरिएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

निवासस्थान बेला गाउँबाट जनपुरधामको जिरोमाइल, रामानन्द चौक, जानकी मन्दिर, जनकचौक, रामचौक, पत्रकार महासङ्घ, मुरली चौक हुँदै निवास छेउ दूधमती नदी पुल किनारमा अन्त्येष्टि गरिएको थियो । उहाँलाई श्रद्धाञ्जली दिन यहाँ लब्ध प्रतिष्ठित व्यक्तिहरु निवास पुग्नुभएको थियो भने घाटमा प्रदेशका मुख्यन्त्री सरोजकुमार यादवलगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । प्रोस्टेड क्यान्सरबाट ग्रस्त नेपाली विगत डेढ वर्षदेखि थला पर्नुभएको थियो । त्यसअघि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उहाँको उपचार गरिएको थियो ।

विसं २०२०/२१ तिर राष्ट्रिय समाचार समिति(रासस)को धनुषा जिल्ला संवाददाता र पछि विभिन्न पत्रपत्रिकामा काम गर्नुभएका नेपालीको अगुवाईमा विसं २०४० देखि लोकमत साप्ताहिक पत्रिका प्रकाशित भइरहेको छ । स्व नेपालीको सङ्घर्ष राजेश्वर साह (नेपाली) को जन्म जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणिदेवी साहबाट विसं २००२ भदौ १९ गते भएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । वरिष्ठ पत्रकार नेपाली विसं २०१८ देखि निरन्तर पत्रकारिताको साधनामा हुनुहुन्थ्यो ।

राणाविरोधी आन्दोलन, मुक्तिबाहिनी सेनाको हुलाकी, विसं २००७ का स्वतन्त्रता सेनानी बुबा स्व रामदुलार साहको योगदान र प्रभावबाट प्रजातन्त्रका लागि सङ्घर्षमा होमिनुभएका नेपालीले विसं २०१८ कात्तिकदेखि पत्रकारिता, साहित्य र समाजसेवाबाट आफ्नो कर्मसुरु गर्नुभयो । विश्वमा क्षेत्रीयतावाद र जातिवादको जगजगी रहेको बेला शोषित, पीडित, उपेक्षित, असहाय र आवाजविहीनको आवाज उजागर गर्दै राज्यलाई ध्यानाकर्षण गराउने, कलमको माध्यमबाट सिङ्गोे नेपाल र मधेसलाई मुखरित गरिरहने उहाँलाई प्रेस स्वतन्त्रता सेनानी, एक कट्टर राष्ट्रवादी तर राज्यसत्ताको स्थायी ‘बागी’, परिष्कृत साहित्यकार आदि उपमा दिने गरिन्छ । धोतीकुर्ता, मधेसमा बोलिने हिन्दी भाषा, भारतीय सीमासँग जोडिएको भूगोलका कारण संस्थापन पक्षले सधैँ सौतेलो व्यवहार देखाउने गरेकाले नेपाली त्यसैका विरुद्ध शब्द र कलममार्फत लाग्नुभयो ।

‘मधेसवादी त हुँ नै तर अखण्ड नेपालवादी पनि हुँ’ भनेर समानता र सहअस्तित्वको कुरा गर्ने नेपालीको लेखनीबाट तत्कालीन राज्यले असुरक्षित महसुस गरी पटक पटक मुख थुन्ने प्रयास पनि ग¥यो । नेपाली थलामा परेपछि भेटघाटमा गएका रासस प्रतिनिधिसँग उहाँले भन्नुभएको थियो, “म अहिंसावादी, गान्धीवादी, त्यसैले कहिल्यै बम र बन्दुकमा भरोसा रहेन तर राज्यले मलाई हिंस्रक मान्ने, मेरा विचार, अभिव्यक्ति र लेखनमा हिंसा देख्ने । त्यसैले त होला थुनेको, पटक पटक थुनेको !” उहाँ समाचार, विचार र साहित्य लेखेकै कारण पहिलोपटक २०२१ जेठ २७ गते र संविधान लेखनका लागि भएका आन्दोलनसम्म पटकपटक गरी तीनपटक जेल र ३९ पटक प्रहरी हिरासतमा पर्नुभयो ।

एक कालखण्ड त आफ्नो लेख रचना प्रकाशित भएको पत्रिका नै बन्द गर्ने र अरूले लेखे पनि यसैले लेखेको होला भनेर प्रहरी प्रशासनले डराउने, धम्क्याउने गरेको उहाँ गुनासो गर्नुहुन्थ्यो । “परिवर्तन, लोकतन्त्र र समानताका पक्षमा लेखेका कारण मलाई असुरक्षा त छँदै थियो, मैले लेखेकै कारण १० वर्षमा आठपटक पत्रिका बन्द गर्ने काम पनि भयो”, उहाँले रासससँग भन्नुभएको थियो । ‘नेपाली भन्नुहुन्थ्यो…’ “नेपाल मधेसी, पहाडीलगायत सबैको देश भएकाले यसको विकासमा पनि सबैको योगदान हुनुपर्छ । देश नेता र सांसदले मात्रै बनाउन सक्दैनन्, त्यसैले सबैको योगदान हुनुपर्छ । परिवर्तनको संस्थागत विकास कुराले मात्रै हुँदैन, काम गरेपछि मात्रै हुन्छ”, नेपालीको प्रष्ट धारणा थियो । उहाँ देश एउटा भए पनि पहिचान, आवश्यकता र संवेदना फरकफरक छन्, त्यसको समान विकास र प्रतिनिधित्व हुनुपर्छ भन्दै आउनुभएको थियो ।

“कतिपय सन्दर्भमा सबैलाई समेट्नुपर्छ नत्र बाहुनको मात्रै देश हुन्छ भनेको छु”, उहाँले भन्नुभएको थियो, “र, हजारौँ वीर शहीदहरुका बलिदानले गणतन्त्र र सङ्घीयता आएको छ । अब यसलाई संस्थागत गर्न पनि सबै मिल्नुपर्छ । अनि मात्रै सफल भइन्छ ।” करिब डेढ वर्ष अरुकै सहारामा बाँच्नुभएका नेपाली मृत्य शैय्याबाटै दलहरुमा गणतन्त्र र सङ्घीयताअनुसार आचरण विकास हुँदै जानुपर्नेमा उल्टै बेमेल बढेको देखेर आफूजस्ता परिवर्तन पक्षधरलाई चिन्तित तुल्याएको बताउनुहुन्थ्यो । “संविधान आएको छ, अब नागरिकमा आशा जगाउँदै, त्यसलाई उत्पादनसँग जोड्ने नेतृत्वको खाँचो छ”, नेपालीको मत थियो, “हाम्रो सम्भावना कृषि नै हो, तर मल कारखाना बनाउन, देशबाहिर पलायन हुने युवा जनशक्तिलाई रोक्न ध्यान गएको छैन । त्यसैले अब कृषि क्रान्तिको आवश्यकता छ ।”

केही सपना अधुरै रहे नेपालीले आफ्नो जीवनकालमा सके जति योगदान गर्नुभयो । सञ्चारमाध्यम र विभिन्न २८ वटा साहित्यिक कृतिमार्फत पर्याप्त बोल्नुभयो तर थला परेपछि पनि लेख्ने र बोल्ने रहर उहाँमा बाँकी नै थियो । अप्रकाशित कृतिहरुलाई पूर्णता दिएर प्रकाशन गर्ने र जनकपुरमा सहिद दुर्गानन्द झाको स्मारक बनाउने उहाँको चाहना थियो । विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेका झालाई विसं २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो । तिनै झाको सम्झनामा शालिक निर्माण र अन्य गतिविधि गर्न नेपालीले सुरुदेखि नै अभियान थाल्नुभयो । शालिक निर्माणको सपना जग्गा अभावमा लामो समयसम्म पूरा हुन सकेन । शरीरले काम गर्न छोडेपछि थला परेका नेपालीको त्यो चाहना पूरा गर्न गत वर्ष मात्रै जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित सोनामाई थानमा झाको शालिक राखिएको छ । अप्रकाशित कृति प्रकाशन गर्ने चाहना भने उहाँ जीवित रहँदै पूरा हुन सकेन ।

त्यसैगरी, विसं २०४२ असार ५ र ६ गते काठमाडौँमा भएको बमकाण्डमा संलग्न भएको आरोपमा जनकपुरबाट पक्राउ गरी काठमाडौँ लगिएका नेपालीसहित १४ जनामध्ये बेपत्ता सातजनाको अवस्थाबारे लेखेर, बोलेर राज्यलाई जवाफ माग्ने उहाँको अर्को चाहना थियो । “विसं २०४२ मा बेपत्ता मेरा साथीहरु डा लक्ष्मीनारायण झा, सत्यनारायण साह, ईश्वर लामा, पदम लामा, सूर्यनाथ राना यादव, साकेतचन्द्र मिश्र र दिलीप चौधरीलाई साउन ४ गते बेपत्ता पारियो तर अहिलेसम्म खोजिएन, न त उहाँहरुको अवस्था बताइयो”, नेपालीले दुःखेसो पोख्नुहुन्थ्यो, “मेरा साथीहरुको अवस्था भनी त दिनुपर्‍यो नि परिवारलाई !” नेपालीको यो चाहना पनि जीवित अधुरै रह्यो ।

वरिष्ठ पत्रकार नेपालीले पत्रकारिताका सन्दर्भमा देखेको एउटा सपना पनि अधुरै छ । त्यस विषयमा उहाँको कथन थियो, “मैले आफ्नो लागि सरकार र पत्रकारसम्बद्ध संस्थाबाट केही माग्दिन तर भारतको पिआइबीजस्तै सरकारी नीति, कार्यक्रम, पहलकदमी र उपलब्धिका विषयमा आमसञ्चार माध्यम तथा पत्रकारलाई सम्पूर्ण जानकारी दिने एउटा साझा संस्था भइ दिए हुन्थ्यो भन्ने मेरो सपना थियो । त्यो अहिलेसम्म पूरा भएको छैन । बाँचियो भने फेरि बोल्छु, फेरि लेख्छु ।” तर तिनै लोकतान्त्रवादी, प्रेस स्वतन्त्रता सेनानी नेपाली अब कहिल्यै बोल्नुहुने छैन, कहिल्यै लेख्नुहुने छैन । उहाँसँगै उहाँको सपना पनि मृतप्रायः छ । त्यो सपना पूरा गर्न लाग्नु नै नेपालीप्रतिको सच्चा श्रद्धाञ्जली हुने उहाँका ज्वाइँ तथा पत्रकार श्रीनारायण साहको भनाइ छ ।

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’सम्पन्न, को को कलाकार भए सम्मानीत ?

काठमाडौँ – चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ । आज यहाँ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गर्नुभयो । उहाँहरू दुवैलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत हुनुभयो ।

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उहाँहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिनुभयो । “चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्षरूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ”, मन्त्री शर्माले भन्नुभयो, “चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाव लिने काम छिट्टै सुरू गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।”

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।”

समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गर्नुभयो ।

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ ।

१७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । चालु खर्चतर्फ रु एक करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा रु ४२ लाख ६९ हजार खर्च भएको छ ।

दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ रु चार करोड ९४ लाख विनियोजन भएकामा रु ७६ लाख सात हजार मात्र खर्च भएको देखिन्छ । कार्यालयको रु पाँच करोड ६० लाख ७७ हजार फ्रिज गएको हो । जुन कूल बजेटको ८२ दशमलव ५३ प्रतिशत रकम हो । सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन ।

कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन् । आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्य अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिनुभयो । रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षणसम्बन्धी कार्य, जलाशयको परिधि छुट्टाउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्यजस्ता काम सम्पन्न भएको उहाँको भनाइ छ ।