`

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’सम्पन्न, को को कलाकार भए सम्मानीत ?

काठमाडौँ – चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ । आज यहाँ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गर्नुभयो । उहाँहरू दुवैलाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत हुनुभयो ।

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको थियो । उहाँहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिनुभयो । “चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि यो प्रत्यक्षरूपमा जोडिने बलियो माध्यम हो । त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ”, मन्त्री शर्माले भन्नुभयो, “चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ । त्यसमा चलचित्रकर्मीको सुझाव लिने काम छिट्टै सुरू गर्नेछौँ । विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन् ।”

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ । म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु । चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ ।”

समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गर्नुभयो ।

सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

नौमुरे जलविद्युत् आयोजनाको १७ प्रतिशत रकम मात्र खर्च

अर्घाखाँची – लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९÷८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ ।

१७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताउनुभयो । चालु खर्चतर्फ रु एक करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा रु ४२ लाख ६९ हजार खर्च भएको छ ।

दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ रु चार करोड ९४ लाख विनियोजन भएकामा रु ७६ लाख सात हजार मात्र खर्च भएको देखिन्छ । कार्यालयको रु पाँच करोड ६० लाख ७७ हजार फ्रिज गएको हो । जुन कूल बजेटको ८२ दशमलव ५३ प्रतिशत रकम हो । सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन ।

कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले बताएका छन् । आयोजनाको मुख्य काम बाँकी नै रहे पनि अन्य कार्य अगाडि बढेको कार्यालय प्रमुख प्रजापतीले जानकारी दिनुभयो । रिभर ट्रेनिङ वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहणसम्बन्धी कार्य, जलाधार क्षेत्र संरक्षणसम्बन्धी कार्य, जलाशयको परिधि छुट्टाउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्यजस्ता काम सम्पन्न भएको उहाँको भनाइ छ ।

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु – डब्लुएचओ

अफगानिस्तान – अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अफगानिस्तान कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अफगानिस्तानले सोमबार सामाजिक सञ्जालमार्फत भनेको छ, “विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालको आर्थिक सहायताअन्तर्गत रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण हरेक दिन २४ जना आमाको मृत्यु हुने अनुमान गरेको छ ।”

डब्लुएचओ अफगानिस्तानको सामाजिक सञ्जाल एक्स (ट्वीटर)सँग सम्बन्धित हालैको रिपोर्टमा सङ्गठनले मातृ मृत्युदरका कारण देशको स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने चेतावनी दिएको छ । रिपोर्टमा खाद्य असुरक्षा र कुपोषणका कारण लाखौं मानिसको ज्यान खतरामा परेको र यसमा सङ्क्रामक रोग, प्रकोप र गम्भीर खडेरीले थप बढावा दिएको बताइएको छ ।

प्रतिवेदनअनुसार सन् २०२३ मा मानवीय सहायताको आवश्यकता पर्ने व्यक्तिको सङ्ख्या दुई करोड ८० लाखभन्दा बढी पुगेको छ, जुन दुई वर्षअघि एक करोड ८४ लाख थियो । स्वास्थ्य क्षेत्रमा हाल ७५ लाख बालबालिका र ३१ लाख महिला गरी एक करोड ४० लाख मानिस स्वास्थ्य सहायताका लागि लक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।

डेङ्गुको सङ्क्रमणका कारण ४२ दिनकी सुत्केरी महिलाको मृत्यु

उदयपुर – जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ । रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् ।

सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेङ्गु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो ।

उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताउनुभयो । मृतक सुमित्राको ४२ दिनको नानी रहेको छ भने सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष मगरले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ ।

विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय

काठमाडौँ, १२ भदौ : बहुप्रतीक्षित विद्युत् विधेयक– २०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ ।

लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गर्नुभएको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालले २०७९ भदौ ३१ गते विद्युत् विधेयक फिर्ता लिनुभएको थियो ।

संसदीय प्रक्रिया लामो हुने देखिएपछि संसद्को कार्यकालसमेत अन्तिम हुन लागेको अवस्थामा थप सहजीकरणका लागि अध्यादेश जारी गर्न लागिएको थियो । राष्ट्रपति कार्यालय पुगेको सो अध्यादेश जारी हुन सकेको थिएन । ऊर्जामन्त्री बस्नेतले सोमबार यसै साताभित्र सङ्घीय संसद्मा सो विधेयक पेश गरिने जानकारी दिनुभएको थियो । समयको मागअनुसार ऊर्जा क्षेत्रको समग्र विकास, विद्युत् व्यापार तथा आन्तरिक खपत वृद्धिलगायतका विषयलाई केन्द्रमा राखेर सो विधेयक अगाडि बढाइएको छ । हालसम्म विद्युत् ऐन, २०४९ अनुसार नै मुलुकको समग्र ऊर्जा क्षेत्र क्रियाशील थियो । सो ऐनलाई समयानुकूल बनाउनुपर्ने माग सरोकारवाला निकायले गर्दै आएका थिए ।

निजी ऊर्जा उद्यमीले पनि समयानुकूल कानून नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए । यस्तै, भन्सार विधेयक–२०८० लाई पनि सङ्घीय संसद्मा पेश गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले निजीकरण समितिको सदस्यमा सांसदद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई मनोनयन गरेको छ । यस्तै, सहसचिव दिनेशकुमार घिमिरेलाई सचिव पदमा बढुवा गरेको छ । नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा राहदानीबाहेकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय भएको छ । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नेता खानलाई धरौटीमा रिहा गर्न आदेश

इस्लामावाद,- भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उहाँलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो । मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो ।

सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।

बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक थापा पक्राउ

तनहुँ – गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो ।

अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदैआएको प्रहरीले जनाएको छ । घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् ।

पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ । प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । “प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ”, उहाँले भन्नुभयो, “अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ ।”

दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै कामपा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ । एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको कामपाले जानाएको छ ।

कामपाको शिक्षा विभागका प्रमुख सिताराम अधिकारीका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चलान हुनेछ । एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् । कोइरालाले भन्नुभयो, “भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो ।”

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु कामपाको कर्तव्य हो उहाँले भन्नुभयो । ऐतिहासिक मात्रै होइन उक्त विद्यालय हाल कामपामा रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो । गत आवदेखि कामपाले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन् ।

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जानाएको छ । आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि उक्त स्कुल पुनःनिर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो ।–

न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग

काठमाडौँ – नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सरकारले नै श्रमिकको ज्यालामा विभेद गरेको भन्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । युनियनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीको न्यूनतम पारिश्रमिक रु २६ हजार तीन सय ४८ रहेको अवस्थामा सरकारले निजी क्षेत्र र उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा विभेद गरेको आरोपसमेत लगाएको छ ।

सरकारले गत साउन ३२ गते नेपाल राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि २६ दिनको १७ हजार तीन सय पारिश्रमिक निर्धारण गरेको थियो । सरकारले निर्धारण गरेको उक्त न्यूनतम पारिश्रमिक पनि कार्यान्वयनमा नआउने खतरा बढेको युनियनको भनाइ छ । सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले समान कामको समान ज्याला, श्रमको सम्मान र श्रमिकको समृद्धिबिना समाजवादमा पुग्न नसकिने जिकिर गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घले सरकारको निर्णयलाई चुनौती दिँदै वृद्धि भएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा कार्यान्वयन गर्न नसक्ने जनाउँदै विज्ञप्ति जारी गरेको भन्दै अध्यक्ष कार्कीले सो कार्यको विरोध गर्नुभयो । आउटसोर्स क्षेत्रमा कार्यरत श्रमिक कानुनप्रदत्त हक अधिकारबाट वञ्चित रहनुपरेको उहाँको भनाइ थियो ।

हालै शिक्षा मन्त्रालयअन्तर्गतको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय सल्यानले आधारभूत पारिश्रमिक र महँगी भत्ताबाहेक अन्य कुनै सुविधा नपाउने भनी सुरक्षा गार्ड आपूर्तिको बोलपत्र आह्वान गरेको भन्दै युनियनले आपत्ति जनाएको छ । उक्त टेण्डर श्रम ऐन विपरीत रहेको युनियनको भनाइ छ । श्रम कानुनविपरीत बोलपत्र आह्वान गर्ने कार्यालय प्रमुखलाई विभागीय कारबाही गर्न युनियनले सरकारसँग माग गरेको छ ।

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

मकवानपुर – बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गर्नुभएको थियो । उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्पे्रषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ । प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रर्वधन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो ।

एचआइडिसिल थप सबल बन्नैपर्छ – ऊर्जामन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) लाई थप सबल संस्थाको रुपमा अगाडि बढाई मुलुकको ऊर्जा क्षेत्रको विकासका परिचालन गरिने बताउनुभएको छ । सरकारले एचआइडिसिएललाई पुनः संरचना गर्ने व्यवस्था नीति तथा कार्यक्रम र चालु आवको बजेटमा समेत प्रबन्ध गरेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री बस्नेतले सबल आर्थिक संस्थाको रुपमा यस कम्पनीलाई अगाडि बढाउने र थप लगानी विस्तार गरिने बताउनुभयो ।

ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कूल रु २७ अर्ब ३९ करोड बराबरको लगानी गरिसकेको छ । कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपुँजीका रुपमा रु छ अर्ब १२ करोड बराबर लगानी गरेको छ । ती आयोजनाको कूल क्षमता नौ सय दुई मेगावाट छ । यस्तै, १९ वटा परियोजनामा रु २१ अर्ब २१ करोड बराबर लगानी गरेको छ । ती आयोजनाको क्षमता एक हजार चार सय ६७ मेगावाट बराबर छ ।

मन्त्री बस्नेतले बहुपक्षीय तथा द्विपक्षीय दातृ निकायसँग सहकार्य गरेर मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काममा एचआइडिसिएल लागि पर्नुपर्नेमा जोड दिनुभयो । कम्पनीका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यथास्थिीमा कम्पनीलाई थप अगाडि बढाउनभन्दा पनि नयाँ नयाँ योजनाका साथ अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । उहाँले कम्पनीले हालसम्म गरिरहेको काम सन्तोषजनक रहेको उल्लेख गर्दै थप लगानी विस्तारका लागि नयाँनयाँ उपाय र सोचको आवश्यकता रहेको बताउनुभयो । सो कम्पनीले केही दिन अघि मात्रै विभिन्न चार वटा आयोजनामा रु १३ अर्ब बराबरको ऋण लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

कम्पनीले सरकारको प्राथमिकतामा रहेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा आन्तरिकतर्फको लगानी जुटाउने जिम्मेवारी पाएको छ । यस्तै, दुई सय १० मेगावाट क्षमताको चैतनपुर सेतीमा पनि लगानी गर्दैछ । यस्तै, छ सय १० मेगावाट क्षमताको दूधकोशीमा पनि लगानीको तयारी गरेको छ । यस्तै, चार सय केभी क्षमताको शीतलपार्टी हाइटार प्रसारण लाइन निर्माणमा पनि लगानीको तयारी गरेको छ । सो परियोजना राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्दैछ । कूल रु २५ अर्ब ५० करोड पुँजी भएको कम्पनीले रु एक खर्ब बराबरको स्रोत परिचालन गर्नसक्ने भए पनि कानुनी आधार कमजोर भएकाले त्यसमा सुधार गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ऐनअन्तर्गत रहने गरी कम्पनीको संरचनामा सुधार गर्न यसअघि नै कम्पनीलाई आग्रह गरिसकेको छ ।

ऋण लगानी गर्न पाउने व्यवस्था भए पनि त्यसलाई उठाउनका लागि कानुनी प्रबन्ध हुन नसक्दा कम्पनीले समस्या भोग्दै आएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले लगानीको स्रोतको विविधिकरण, विस्तार तथा नयाँ आयाम विस्तारका लागि पनि कम्पनीको सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले यथास्थितिमा कम्पनी अगाडि बढ्न नसक्ने भएकाले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको व्यवस्थाअनुसार अगाडि बढ्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो । आजको छलफलले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायसँग थप छलफल गर्ने निष्कर्ष निकालेको छ ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मन्त्रीगण सहभागी भएका छन् । बैठकमा एमसीसी लगायत विभिन्न सबषयमा छलफल भइरहेको छ ।

भारत सरकारले खाना पकाउने ग्यासको मूल्यमा २०० रूपैयाँ कटौती

नयाँ दिल्ली – भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बुधबारबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ । उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रूपैयाँबाट घटाएर ९०३ रूपैयाँमा झार्नेछ । यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर रु २०० को विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ ।

करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरू छन् । अनुराग ठाकुरले भन्नुभयो, “वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू शुरू गरेको छ, जसमा पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरण समावेश छ ।” भारत आफ्नो प्राकृतिक ग्यासको आवश्यकताको ६० प्रतिशत आयातमा निर्भर छ । उज्ज्वलाको बाँकी आवेदनलाई स्वीकृत गर्न र सबै योग्य परिवारहरूलाई डिपोजिट–फ्री ग्यास सहयोग प्रदान गर्न, सरकारले चाँडै गरीब परिवारका ७५ लाख महिलाहरूलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने बताएको छ । —

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

काठमाडौँ – यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो ।

गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन् ।

जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ । कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।

अकबरे खुसार्नी खेतीबाट मनग्य आम्दानी लिँदै भोजपुरका किसान, कति कमाउँछन् ?

भोजपुर – व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ ।

यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खेतीमा प्रोत्साहन गरेको छ । पौवादुङमाका किसानले उत्पादन भएको खुर्सानी तिवारी भञ्याङ बजार तथा अन्य जिल्लामा निर्यात गर्दै आएका छन् ।

यही क्षेत्र भएर मध्यपहाडी लोकमार्गअन्तर्गत सवारीसाधनको आवतजावत हुने भएकाले उत्पादन भएको खुर्सानी बिक्री वितरण गर्न सहज भएको पौवादुङमा–२ तिवारीभञ्याङका किसान टीकाराम तिवारीले बताउनुभयो । गाउँमा उत्पादन भएको खुर्सानी सङ्कलन गरेर दैनिकजसो बाहिरी जिल्लाका बजारमा पठाउँदै आएको तिवारीले जानकारी दिनुभयो ।

“पौवादुङमा क्षेत्रमा धेरै किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्”, तिवारीले भन्नुभयो, “सडकको सहजताका कारण यहाँ उत्पादन भएको खुर्सानी बढी मात्रामा बाह्य जिल्ला जाने गरेको छ । खुर्सानी बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।”

खुर्सानी बिक्रीबाट वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी लिने गरेको किसान तिवारीले बताउनुभयो । यहाँका एक किसानले सरदरमा वार्षिकरूपमा रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । तिवारीभञ्याङ क्षेत्रमा एक सय बढी घरले व्यावसायिकरूपमा खेती गर्दै आएको किसान तिवारीले जानकारी दिनुभयो । खुर्सानी खेतीका लागि गाउँपालिकाले आवश्यक सहयोग गरेकाले थप सहज भएको उहाँको भनाइ छ । “हाम्रो गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती गर्ने किसानको सङ्ख्या धेरै नै छ”, उहाँले भन्नुभयो, “विगतमा कमै मात्रामा किसानले खेती गर्दै आएका थिए । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गरेपछि प्रायः सबै किसानले खेती गरेका छन् । गाउँपालिकाको सहयोगले यसको व्यावसायिक खेतीमा लाग्न हामीलाई टेवा पुगेको छ ।”

खुर्सानी खेती गाउँपालिकाको राम्रो आम्दानीको स्रोत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाले भूगोलअनुसारको बालीमा जोड दिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

“अकबरे खुर्सानी खेती किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “गाउँपालिकाले खुर्सानी खेतीमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि खेतीमा लाग्ने किसानको सङ्ख्या बढेको अवस्था छ । गत वर्ष मात्र हाम्रो गाउँपालिकामा खुर्सानी विक्रीबाट रु छ करोड बढी भित्रिएको अवस्था छ ।”

कृषिबाट स्थानीयको आयस्तरमा सुधार ल्याउँदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । छवटा वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुहाउँदो खेती लगाउनको लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

“कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “खास गरेर हामीले यहाँ माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् । अहिले गाउँपालिकामा वार्षिकरूपमा छ करोड बढीको खुर्सानी उत्पादन हुने अवस्था छ ।”

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे–४, बास्तिम–५, सानोदुम्मा–६, ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडो खेतीको पकेट क्षेत्र निर्धारण गरिएको जनाएको छ । त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउली खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किबीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

डेङ्गु सङ्क्रमणबाट २८ वर्षीय हिक्मतको मृत्यु

कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उहाँलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए । भारतबाटै डेङ्गुको सङ¬्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताउनुभयो ।

डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ‘प्रचण्ड’आज बुटवल जाँदै

लुम्बिनी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै हुनुहुन्छ । उहाँ समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न यहाँ आउन लाग्नुभएको हो ।

सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्षनेताले पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिनुभयो ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता कार्कीले जानकारी दिनुभयो ।

किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे, रात–दिन बाली कुरेर बस्नु पर्ने बाध्यता

टीकापुर (कैलाली) – कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥याएको बताउनुभयो । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उहाँले भन्नुभयो, “धानबाली पसाउन थालेको छ ।

यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।” छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताउनुभयो । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे”, उहाँले भन्नुभयो, “त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले ।” उहाँका अनुसार छाडा पशुले आफ्नो मात्र नभई अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन् । पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन् ।

“मेरो छिमेकीले लगातार दुई वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्”, उहाँ भन्नुहुन्छ, “यसपालि मास र अलहर खेती गरेका छन् । त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन् ।” छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ । व्यवस्थापनका लागि केही प्रयास भएका छन् । छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ । छाडा पशुको समस्या समाधानका लागि गत वर्ष गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको थियो भने यस आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरेको छ ।

तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन समस्या निराकरणका लागि गाउँपालिकाले सबै पक्ष र सरोकारवालासँग छलफल र समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । “गाउँपालिकाले पशु व्यवस्थापनका लागि सामुदायिक वनसँग समन्वय र जग्गाको खोजी गरिरहेको छ । व्यवस्थापनका लागि सामुदायिक वनसँग प्रस्ताव राखिएको र व्यवस्थापनको जिम्मेवारी लिन चाहनेलाई प्रस्तावसहित आउन आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो, “जग्गाको खोजी गर्दैछौँ, कसरी व्यवस्थापन गर्ने भनी गृहकार्य सुरु भएको छ ।

जग्गाका लागि सामुदायिक वनसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।” जानकी गाउँपालिकामा करिब एक हजार बढी छाडा पशुचौपाया रहेका छन् । छिमेकी पालिकाबाट आउने पशु नरोक्दासम्म दीर्घकालीन समस्या समाधान नहुने स्थानीय बताउँछन् । कैलालीको टीकापुर नगरपालिकाले भने गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सञ्चालन गरेको गौशाला हाल स्थानीयले व्यवस्थापन समितिमार्फत सञ्चालनको जिम्मा लिएका छन् । गौशालामा करिब छ सय पशु रहेको बताइएको छ ।

मन्दिरबाट हराएकी तीन वर्षीया बालिका मृत फेला

झापा – भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् ।

खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । उनको शव सोमबार अपराह्न ३ बजेतिर फेला परेको हो ।

बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ ।

हार्दिकता बढाएको संसदीय समिति निर्वाचन, दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धा अन्त्य

काठमाडौँ – प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको छ ।

नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले संसदीय समितिको निर्वाचनमा दलहरूबीच देखिएको सहमतिले देश र जनहितका राष्ट्रिय मुद्दा सहकार्यका साथ अघि बढ्न सकिन्छ भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सदनमा औसत उपस्थिति सङ्ख्याका आधारमा समितिको नेतृत्व चयनमा भएको सहमतिले संसद्मा राजनीतिक स्थायित्व भई ऐन, कानुन निर्माणमा सहज हुने अपेक्षा गर्न सकिन्छ ।”

दल विभाजन भई एक–अर्काप्रति सार्वजनिकरूपमै कटाक्ष गरिरहेका नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई निर्वाचनकै क्रममा सँगै आसनग्रहण गर्ने मौका मात्र नभई खानेखुसी गर्नेसम्मको अवसर प्रदान गरेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहयात्री नेपाली कांग्रेस, एमाले र माओवादीलाई संसदीय अभ्यासमा भने कडा प्रतिस्पर्धी भूमिकाबाट एक–अर्कालाई सघाउने स्वर्णिम अवसर पनि यसै निर्वाचनले प्रदान गरेको छ ।

समिति नेतृत्वको भागवण्डामा सहमति बनेपछि प्रमुख दलहरूले नै एक–अर्काका उम्मेदवारको प्रस्तावक र समर्थक भएर मित्र–मिलनको लोभ लाग्दो अभ्यास गरेको देखियो । समिति बैठकमा ज्येष्ठ सदस्यले तत्तत् समितिका उम्मेदवार निर्विरोध भएको घोषणा गर्नासाथ फरक दलका सदस्यले हार्दिकताकासाथ हतार–हतार अङ्कमाल गर्दै खादा ओढाएर हात मिलाएको दृश्य रोचक देखिन्थ्यो । अर्थ समितिमा सभापतिमा सन्तोष चालिसेलाई निर्वाचित भएको घोषणा गर्नासाथ एमाले नेता सूर्य थापाले कोटको खल्तीबाट खादा झिकेर लगाइदिनुभयो भने उपाध्यक्ष विष्णु पौडेलले खुसी व्यक्त गर्दै आफ्नो मोबाइलबाट तस्वीर खिच्नुभयो ।

सार्वजनिक लेखा, अन्तर्राष्ट्रिय, राज्य व्यवस्थालगायतका अरु समितिमा पनि यस्तै हार्दिकतासहितको रमाइला दृश्य देखियो । मुलुकमा राजनीतिक स्थिरताका लागि भन्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आफ्नो भागमा परेको कोटा नै यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सुम्पियो । प्रारम्भमा पूर्वाधार विकास समितिमा माओवादी केन्द्रले पार्टीका युवानेता माधव सापकोटालाई अघि सारेको थियो । मुलुकको राजनीतिक स्थायित्व कायम गर्ने जनाउँदै त्यसबाट पछि हटेर राप्रपाका दीपकबहादुर सिंहलाई उम्मेदवार बनाएको घटनाले राजनीतिमा स्थायी शत्रु र मित्र हुन्न भन्ने भनाइलाई एकपटक पुष्ट्याई गरिदियो । यस निर्वाचनले परिवर्तन र परम्परावादी शक्तिलाई सौहार्दता प्रदान गर्ने अवसर जुटाइदिएको छ । संयोग नै भन्नुपर्छ, कानुन निर्माणको प्रमुख भूमिका रहेको न्याय तथा मानवअधिकार समितिको नेतृत्व माओवादी केन्द्र र विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार समितिको नेतृत्व राप्रपाले लिएको छ । एमाले संसदीय दलका सचेतक महेशकुमार बर्ताैलाले निर्वाचनमा जनताबाट प्राप्त मतको हैसियतका आधारमा कानुन निर्माण गर्ने सन्दर्भमा विषयगत समितिको नेतृत्व बाडँफाँट गरेर जानुपर्छ भन्ने दलहरूबीच देखिएको मतैक्यता उच्चतम् हार्दिकताको नमूना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र र जनहितका कतिपय विषयमा दलहरूबीच मिलेर जाऔँभन्दा सकिँदोरहेछ भन्ने असल सस्कारका रूपमा समिति नेतृत्व छनोटमा भएको सहमति र देखिएको हार्दिकतालाई लिन सकिन्छ ।” संसदीय समितिका बैठकमा न्यून उपस्थिति देखिने कतिपय पार्टीका नेताले नै बैठक सञ्चालन गर्ने अवसर पनि निर्वाचनले गरायो । सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या (कोरम) नपुगेर निर्वाचनका लागि डाकिएको बैठक रोकिएन । संसदीय समितिका बैठक कोरम नपुगेर ढिलो सुरु हुने र कहिलेकाहीँ रोकिने घटना नेपालको संसदीय अभ्यासमा नयाँ होइन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कानुन, न्याय तथा मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थितिले बैठकलाई ऊर्जा प्रदान गर्यो ।

डेढ दशकअघि सभापतिको जिम्मेवारी सम्हालेको अनुभव सम्हाल्नुभएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पदेन सदस्यका रूपमा राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुनुभयो । विषयगत समितिका रूपमा अर्थ समिति सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा जनमत पार्टीका अब्दुल खानको चयन भएको छ । कानुन, न्याय तथा मानवअधिकारमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसका डा आरजु देउवाको नेतृत्व रहेको छ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व एमालेका किरणकुमार साह, राज्यव्यवस्था तथा सुशासनमा कांग्रेसका रामहरि खतिवडा, पूर्वाधार विकासमा राप्रपाका दीपकबहादुर सिंहको नेतृत्व छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि नेकपा एसका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको चयन भइसकेको छ । कांग्रेसका नेता राजेन्द्रकुमार केसीले संसदीय समितिको नेतृत्व चयनमा दलहरूबीच सहमति, सहकार्य र एकताकासाथ अघि जानुपर्छ भन्ने सन्देशले राजनीतिक स्थायित्वका लागि हार्दिकता प्रदान गरेको बताउनुभयो । उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेकामा पराजुलीले मधेसलाई सघाउने आफ्नो पार्टीको जनाउँदै उम्मेदवारी फिर्ता लिई सहमतिका लागि मार्गप्रशस्त गरिदिनुभयो । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये यसपटक दुईको नेतृत्व महिलाले सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा पवित्रा निरौला, पूर्णकुमारी सुवेदी, निरुदेवी पाल, शशि श्रेष्ठ, कल्याणीकुमारी खड्का र जयपुरी घर्तीसहित छ जनाले नेतृत्व गर्नुभएको थियो । नेपालमा पहिलो संसद्को निर्वाचन भएको साढे छ दशक भइसकेको छ । विश्वका अन्य देशको तुलनामा नेपालको संसदीय इतिहास नयाँ होइन ।

यो अवधिमा नेपालको संसद्ले एकदलीय र बहुदलीय तथा एक र दुई सदनको अभ्यास गरेको अनुभव छ । नेपालको संसदीय अभ्यासमा विसं २०१५ को निर्वाचनपछि गठन भएको पहिलो संसद् करिब १८ महिना सञ्चालन भएको थियो । ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेका संसदीय समिति उक्त कार्यकालमा नियमावलीले छवटा व्यवस्था गरेता पनि तीनवटा मात्र सञ्चालनमा आए । बाँकी दुई परिकल्पनामै सीमित रहे । संसदीय समितिको अभ्यासलाई नियाल्दा विसं २०४८ मा सात, विसं २०५१, २०५६ र २०६३ मा नौ, २०६५ मा दुई विशेषसमेत गरी १०, विसं २०७० मा ११ थिए । विसं २०७४ देखि भने प्रतिनिधिसभा मातहत १०, संयुक्त समिति दुई र राष्ट्रियसभा मातहत चारवटा रहने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि भएको संसदीय समिति सभापति निर्वाचनले संसद् र संसदीय समितिलाई चलायमान तुल्याउने छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ९८ पैसा र बिक्री दर १६६ रूपैयाँ ७३ पैसा, युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा रहेको छ ।

यस्तै दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ ।

सुनसान छन् बागलुङका घरबास

ढोरपाटन (बागलुङ) – बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्

पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् । जिल्लाको चर्चित घरबासमध्येको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डेलगायतमा पाहुना कम पुग्ने गरेका छन् ।

बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पश्चिम बागलुङको ढोरपाटन र पातीहाल्नेमा पुग्ने पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ । बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो“असारदेखि हालसम्मका हरेक महिना फाट्टफुट्ट पाहुना आएको छन् । ”

बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उहाँको भनाइ छ । गाउँसम्म पुग्ने सडक व्यवस्थित बनाउन नसक्दासम्म बर्खामा घरबास र पर्यटकीयस्थलमा पर्यटक भित्र्याउन नसकिने उहाँले बताउनुभयो । “अहिले त घरबास बन्दजस्तै छ, पाहुना आएपछि त खाना खुवाउनुपर्यो, खुवाइन्छ, बास पनि दिइन्छ, तर हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, घरबासलाई व्यवस्थित बनाउने र पाहुनमैत्री बनाउने विषयलाई बढी ध्यान दिएका छौँ”, श्रीसले भन्नुभयो, “अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन, पाहुना नआउने भएपछि अरु काममै व्यस्त हुने गरेका छौँ ।”

घरबासमा आउने पाहुनालाई पूरै अग्र्यानिक उत्पादन खुवाउने उहाँको भनाइ छ । यहाँ विशेषगरी कोदोको ढिडो, स्थानीय कुखुरा, खसी, बोकाको मासु, बाँकोको गुन्द्रुक र आलुका परिकार खुवाइने गरेको उहाँको भनाइ छ ।
बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासको सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताउनुभयो । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उहाँको भनाइ छ । बागलुङ बजारबाट यहाँ पुग्न करिब डेढ घण्टा लाग्छ । कहिलेकाहीँ मात्रै पाहुना घरबासमा बस्न आएको उहाँको भनाइ छ । तीज सुरु भयो भने पर्यटक बजारबाट भकुण्डे उक्लिन थाल्ने उहाँले बताउनुभयो ।

“बजारबाट दूरीका हिसाबले टाढा होइन, जिल्लामा बागलुङ बजारबाट सबैभन्दा नजिकको घरबास अतिथि सत्कार हो, नजिक भएर के गर्नु यहाँसम्म आउने सडकको अवस्था निकै खराब छ, त्यसले गर्दा पाहुना आउन कम भएको छ”, उहाँले भन्नुभयो, “पाहुना नआएपछि घरको काम कम भएको छ, त्यही भएर घरबास सञ्चालक कोदो गोड्ने र मकै भित्र्याउने काममा व्यस्त हुनुहुन्छ, हिउँदमा धेरै पाहुना हुनुहुन्छ, त्यसबेलाका लागि चाहिने गुन्द्रुक, आलु जोहो गरेर राख्ने काम भएको छ ।”

प्राकृतिक सुन्दरताले भरिएको भकुण्डेमा ताल, र दर्जनौँ हिमशृङ्खला अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँदमा राम्रो चल्ने हुँदा स्थानीयको आयआर्जनको स्रोत घरबास बनेको छ । घरबासले ग्रामीण क्षेत्रका महिलालाई सक्रिय भई पाहुनसँग बोल्न, सत्कार गर्न र स्थानीय कला संस्कृति प्रदर्शन गर्न सक्ने भएका छन् । जिल्लाको विभिन्न स्थानमा घरबास सञ्चालनमा आएपछि मौलिक कला, संस्कृतिको जगेर्नासमेत हुन थालेको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ । जारी सम्भावित कार्यसूची अनुसार आज बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम हुने भएको हो ।

यस्तै आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

नेपाल एयरलाइन्सले आजदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्ने

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।

भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।

पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल

काठमाडौं । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो।

सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ।

काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्ने प्रक्रिया अघि बढाएको हो। बोलपत्रको योग्यतामै चलखेल गरेको आशंका छ। पहिलो चरणको सूचनाअनुसार भदौ १३ गतेसम्मको म्याद थियो तर एक साता थपेर भदौ २२ गतेसम्म आवेदन दिने म्याद पु¥याइएको छ।

बोलपत्र सूचनाको योग्यतामा ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीले न्यूनतम औसतमा वार्षिक ८० मिलियन अमेरिकी डलर (१० अर्ब ५८ करोड २४ लाख रूपैयाँ) टर्नओभर गरेको हुुनुपर्ने र विगत पाँच वर्षदेखि वार्षिक ८० मिलियनबराबरकै काम गरेको हुनुपर्ने राखिएको छ।

यो ‘क्वालिफिकेसन’अनुसार वार्षिक १० अर्बभन्दा धेरै रकमको काम गर्ने नेपाली निर्माण व्यवसायी एउटा पनि छैनन्। यो योग्यतामा कुनै पनि नेपाली निर्माण कम्पनी सारभूत रूपमा योग्य देखिँदैनन्। तर यसमा रोचक पक्ष के छ भने अर्को क्वालिफिकेसनको बुँदामा भने दुईवटा कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा काम गर्ने हो भने दुईमध्ये कम्तीमा एक कम्पनीले आफ्नो मुलुकभन्दा बाहिर यस्तै प्रकृति र आकारको काम गरेको अनुभव चाहिने व्यवस्था गरिएको छ।

निर्देशनालयले यही प्रावधानमा टेकेर फोहोर पानी प्रशोधन गर्ने प्लान्टको स्पेसिफिकेसनमा चलखेल गर्न खोजेको स्पष्ट देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने

गण्डकी, १२ भदौ-समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिनुभयो ।“प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।”

सुन तस्करी काण्डमा मुछिएका अधिकारीले दावासँग गरेको संवादको ‘कल डिटेल्स’ मागेर अनुसन्धान गर्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ ।

अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘छानबिनका क्रममा आवश्यक परेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग दावा र अधिकारीबीच वीच्याटमा भएका कुराकानीको विवरण वा कलडिटेल्स कल डिटेल्स माग्छौं ।’

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ ।

यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक वीच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पत्तिका बारेमा समेत अनुसन्धान थालेको जनाइएको छ । यो समाचार नोल समाचारपत्र दैनिकमा छ ।

गाडीमा जिपिएस जडान योजना अलपत्र

काठमाडौँ । यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा लैजाने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो तर हालसम्म जम्मा ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान गरिएको छ ।

यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा निःशुल्क सेवासहित एक सय वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क सेवा दिँदा पनि जम्मा ३५ वटा सार्वजनिक सवारीले मात्र जडान गरेका थिए । निःशुल्कका अझै ६५ वटा कोटा बाँकी छन् ।

विभागले निःशुल्क सेवासहित नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो तर यातायात व्यवसायीका कारण यो अभियानले गति लिन सकेको छैन । परियोजना हाल अलपत्र छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “जडान गर्ने सिस्टम तयारी अवस्थामा छ ।सवारीसाधन जडानका लागि आएका छैनन् र व्यवसायी पनि इच्छुक देखिएनन् । हामी त सेवा दिन तयार छौँ ।”

उनले जिपिएस जडान गर्न व्यवसायीलाई पटक पटक अनुरोध गरेको बताए । जिपिएस जडान गर्दा चालक र सहचालक पनि निगरानीमा हुने हुँदा व्यवसायी अनिच्छुक भएको विभागको दाबी छ । उनले भने, “उहाँहरूकै सुरक्षाका लागि हो । निःशुल्क जोड्न आउनुस् नभए हामी तपाईंकै ठाउँमा आएर जोडिदिन्छौँ भनेर पनि अनुरोध गरेका छौँ ।”

जिपिएस जडानलाई अनिवार्य नगरिँदा व्यवसायीले अटेर गरिरहेका छन् । बाध्यात्मक व्यवस्थाका लागि कानुन नै बनाउनुपर्ने हुन्छ । विभागले गण्डकी र मधेश प्रदेशलाई केन्द्रित गरेर जिपिएस लागु गर्न खोजेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सुन तस्करी प्रकरण :पोखरेलमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो ।

सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र पठाएको छ । पोखरेलको समयमा यसअघि भेपमार्फत सुन तस्करी भएको थियो । भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको थियो । सो सुन भन्सारका कर्मचारीले गायब पारेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर पोखरेलमाथि सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो । उनी सरकारी कर्मचारी भएकाले भ्रष्टाचारमा अनुसन्धान गर्ने निकाय अख्तियारलाई पत्र लेखिएको छ ।

यसअघि भ्रष्टाचारविरुद्धको साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमानसिंह पाख्रिनले अख्तियारमा विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रामबन्धु सुवेदी, विमानस्थलमा खटिएका प्रहरी प्रमुख डिआइजी अर्जुन चन्द, विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी प्रमुख एसएसपी भूमि पाठकमाथि अनुसन्धानको माग गर्दै आयोगमा उजुरी दर्ता गरेका थिए ।

अख्तियार सो उजुरीको विषयमा छानबिन तयारी थालिरहेका बेला जिल्ला सरकारी वकिल कार्यालयले पनि छानबिनका लागि पत्र लेखेको छ । तत्कालीन विमानस्थल भन्सारका प्रमुख पोखरेलमाथि अनुसन्धान हुनुपर्ने प्रमाण फेला परेकाले अख्तियारलाई पत्र लेखिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

पदीय आचरणविपरीत बिदामा बसी ६० केजी सुन तस्करी प्रकरणमा सहयोग पुग्ने काम गरेको र विवादमा मुछिएकाले कार्यालयमा रहँदा जिम्मेवारी वहन गर्न नसकेको पाख्रिनले अख्तियारमा निवेदन दिएका थिए । साथै सार्वजनिक पदधारण गर्ने सबैको विस्तृत छानबिन तथा अनुसन्धानपश्चात निजले सार्वजनिक पदधारण गर्दाको सुरुवातदेखि हालसम्मको सेवामा रहँदा अनुचित कार्य गरेको एवं गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएमा भ्रटाचार निवारण ऐन २०५९ संशोधनसहित बनेको कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

भौतिक पूर्वाधारमा लगानी गर्ने दक्षिण कोरियाको प्रतिबद्धता

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाका राजदूत थेयङ पार्कसहितको उद्यमी प्रतिनिधिमण्डलले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटवार्तामा उक्त प्रतिनिधिमण्डलले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको भन्दै भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न आफूहरू तयार रहेको बताएको हो ।

राजदूत पार्कले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको उल्लेख गर्दै भौतिक पूर्वाधारका हिसाबले नेपालमा अझै धेरै गर्नुपर्ने भएकाले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको बताउनुभयो ।

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी गरिएकामा सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदूत पार्कले आग्रह गर्नुभयो ।केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ । सो अवसरमा केही ठोस योजनामा लगानी गर्न दक्षिण कोरिया तयार रहेको जनाइएको छ ।

जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडि बढाउन आफूले पहल गर्ने उल्लेख गर्दै पूर्वाधार निमार्णका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो ।उहाँले नेपालका इन्जिनियरलाई दक्षिण कोरियाले विभिन्न समयमा तालिम दिएकोमा कोरियाली सरकारलाई धन्यवाद दिनुभयो ।

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने, उच्च अदालत पाटनको यस्तो आदेश

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।

उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ। यसबाट निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एसोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ भने महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ।

अन्तरिम आदेशमा बहुतले, आवासीय वा व्यावसायिक भवनमा रहेको व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीले सेवा लिएको प्रमाणका आधारमा सवारीसाधन पार्किङबापतको शुल्क तिर्नुपर्ने छैन भन्ने प्रावधान रहेको देखिँदा सेवा सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङबापतको शुल्क लिन नपाइने भएकाले सो प्रावधानको अनिवार्य रूपमा कार्यान्वयन गर्नु गराउनु निवेदक र विपक्षी काठमाडौँ महानगरपालिकाको कर्तव्य हुने भनी स्पष्ट उल्लेख गरिएको छ।

काठमाडौँ महानगरपालिकाले नगर सभाको १३ औँ अधिवेशनबाट पारित गरेको कामपा आर्थिक ऐन, २०८० मा पार्किङसम्बन्धी व्यवस्था गरिएको छ। सो ऐनमा निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवाप्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था छ। ऐनमा क्षेत्र, पार्किङ अवधि र शुल्क निर्धारण गरिएको छ।

ऐनमा उल्लेख भएको व्यवस्था कार्यान्वयन गराउन महानगरपालिकाले साउन ८ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो। सूचनामा बहुतले आवासीय वा व्यावसायिक भवनमा भएका व्यवसाय र सेवाप्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङबापतको शुल्क सङ्कलन नगर्न आग्रह गरिएको थियो।

शुल्क लिन पाइने भनेर तोकिएका ठाउँमा पनि सवारीसाधनको प्रकृति र पार्किङ गरिएको समयका आधारमा तोकिएको शुल्क लिन सकिने छ। यसमा पनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारीसाधनलाई पार्किङ शुल्क लाग्दैन। त्यसै गरी आपत्कालीन सेवाका सवारीसाधन र महानगरपालिकाले तोकेको अन्य सवारीसाधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

हेर्नुहोस् भदौ १२ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।

बृष राशि – मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मिथुन राशि – सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि – ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कन्या राशि – बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि – ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि – नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि – पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कुम्भ राशि – झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मीन राशि – बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

रहेनन् नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपाली

धनुषा – प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको आज बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उहाँलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । उहाँको जन्म जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा विसं २००२ भदौ १९ गते भएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गर्नुभएको थियो । उहाँले विसं २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आउनुभएको थियो ।

वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गर्नुभएको थियो । उहाँ पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो । –––

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन

काठमाडौँ – देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१ औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

“लम्पी स्किन रोगबाट मरेका पशुचौपायाको क्षतिपूर्तिको विषय छिटो अगाडि बढाउने निर्णय भएको छ । यो रोगबाट किसानलाई पुगेको आर्थिक क्षतिको आकलन गरि क्षतिपूर्ति कसरी वितरण गर्ने भन्नेबारे तत्काल कार्यविधि बनाई पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ”, एनडेकको निर्णयबारे जानकारी दिनुहुँदै राष्ट्रिय योजना आयोगका प्रवक्ता सुमन दाहालले भन्नुभयो, “क्षतिपूर्तिको विधि कस्तो बनाउने भनेर कृषि मन्त्रालयलाई खाका पेश गर्न भनिएको छ ।”

विभिन्न पूर्वाधार आयोजनामा प्रभावकारी समन्वय हुन नसक्दा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न एनडेकले निर्देशक दिएको पनि दाहालले बताउनुभयो । “हामीले बनाउने पूर्वाधारको युटिलिटी कोअर्डिनेसन पुगेको छैन भन्ने विषय एउटा एजेन्डा थियो । यसलाई समाधान गर्नका लागि के गर्न सकिन्छ भनेर सम्बन्धित निकायमार्फत सुझाव पेश गर्न भनिएको छ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दाका समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

समानीकरण अनुदान बढाउनुपर्ने र सःशर्त अनुदानको हिस्सा घटाउनुपर्ने भन्दै प्रदेश र स्थानीय तहले राख्दै आएको मागको विषय पनि एनडेकको बैठकमा छलफल भएको दाहालले जानकारी दिनुभयो । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयबीच जनशक्ति समायोजन गर्ने तथा भौतिक पूर्वाधार र जग्गा व्यवस्थापनबारे अध्ययन गरी दुई महिनाभित्र पेश गर्न योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, जग्गाको खण्डीकरण रोक्नका लागि अपनाउनुपर्ने उपायबारे सुझाव दिन आयोगमा भूमि व्यवस्थापनसम्बन्धी क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । यो कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन बुझाइसक्न भनिएको छ ।

सार्कलाई गतिशील बनाइनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताउनुभयो । मन्त्री साउदले भन्नुभयो, “केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइनेबारेमा छलफल गरिनेछ ।”

उहाँले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदैआएको बताउनुभयो । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत काम हुँदै आएको उल्लेख गर्र्दै मन्त्री साउदले सीमा विवादलाई पारस्परिक वार्ता छलफल र कूटनीतिकरुपमा समाधान गर्नुपर्नेमा सरकार रहँदै आएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिको मान्यता, संयुक्त राष्ट्र सङ्घको वडापत्रका आधारमा सञ्चालन हुँदै आएको बताउँदै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

परराष्ट्र नीति राजनीतिक दलपिच्छे फरक फरक गर्न नहुने र सरकारमार्फत एक नीतिमा एकरुपता अपनाउँदा राम्रो हुने मन्त्री साउदको धारणा थियो । बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति र व्यवहारबीच तालमेल नभएको र अस्पष्टताको सन्दर्भमा संसद् र समाजमा अनेकाँै प्रश्न उठेकाले समितिले ती प्रश्नको यथोचित सम्बोधन गर्न प्रयास गर्नुपर्र्ने आवश्यकता रहेकामा जोड दिनुभयो । साथै उहाँले सार्वभौमसत्ता, स्वाधीनता, समानता, भूगोलको रक्षा भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन स्वाभिमानका सवालमा उठ्ने विषयलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकीसँगको सम्बन्धलाई परस्परिक हित र सम्मानका आधारमा सहज र सुमधुर बनाउनुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बनाउँदै त्यसमा समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध जटिल विषय बनेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको भूराजनीतिक सन्तुलन फेरिएको छ, परराष्ट्र नीति संविधानले निर्देशन गरेअनुसार र संयुक्त राष्ट्र सङ्घको वडापत्र तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई टेकेर अघि बढाउनुपर्छ ।”

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

फिक्कल (इलाम) – बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आउनुभएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताउनुभयो । गोठमा टुकी पन्छाएर सोलार जडान गर्नुभएका राईलाई विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ ।

इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो । अर्का स्थानीय रुकमान शेर्पाले भन्नुभयो, “हाम्रो अर्थतन्त्रको आधार नै गोठ राखेर पशुपालन गर्नु हो । सडक, खानेपानी सञ्चार, विद्युत्लगायत आधारभूत सुविधाविहीन गोठमा विद्युत् पुगेपछि स्वर्गझै भएको छ ।” विद्युत् पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ । गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ ।

आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले सुनाउनुभयो । इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युत्को उज्यालो पु¥याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताउनुभयो । विद्युत्को उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टाँै धाउनुपर्ने बाध्यता अहिले विद्युत् विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन् ।

अबको मौसम कस्तो रहला ? यस्तो भन्छन् मौसमविद्

काठमाडौँ – तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताउनुभयो ।

धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताउनुभयो । लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । छिटफुट भारी वर्षा पनि हुनसक्ने उहाँले बताउनुभयो । पहाडी भूभागका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध भने गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि भदौ १२ गते देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि १२ गते राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै १३ गते देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस दिन राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

स्थानीयद्वारा ल्यान्डफिल साइटमा फोहर पाल्न रोक्ने घोषणा

काठमाडौँ – बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने जानकारी गराएका छन् ।

उक्त सम्मेलनमा समिति संयोजक श्रीराम ढुङ्गानाले स्वच्छरुपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको बताउँदै महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा घोर आपत्ति जनाउनुभयो । “अरुलाई बचाउन आफू मर्नुपर्ने कस्तो अत्याचार ? स्थानीय जनताको जीवनरक्षाको लागि नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । पुस्तौँपुस्ताले सहेको यो व्यवहार दीर्घकालीन समाधान नभएसम्म ल्याण्डफिल साइटमा फोहर लैजान सधैँका लागि बन्द गर्छौँ”, उहाँले भन्नुभयो । प्रभावित क्षेत्रका पीडित व्यक्ति हरि लामाले फोहर र मानव एकैठाउँमा रहन नसकिनाले सरकारले गरेको अपहेलना सह्य नभएकाले आन्दोलन गर्न बाध्य भएको गुनासो गर्नुभयो । समितिका उपसंयोजक सुमित्रा ढकालले समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाई व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन सोही पालिकामा हुनुपर्नेमा जोड दिनुभयो ।

ककनी गाउँपालिका–२ का कार्यबाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट जनतालाई टाढा राख्न सबै एकजुट हुनुपर्ने बताउँदै जनतालाई आफ्नो जीवन रक्षाको लागि आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना नगरिदिन महानगरपालिकालाई आग्रहसमेत गर्नुभयो । काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकासमेतको सयुंक्त षडयन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकारमा राखी मानव अस्तित्व समाप्त गराउने योजनामा महानगरपालिका लागेकोले फोहरमैला प्रवेश गर्न पूर्णरुपमा रोक लगाउने समितिले निर्णय गरेको, प्रभावित क्षेत्रसँग सरकारले गरेका निर्णय कार्यान्वयन नगरेको, हानिकारक फोहरमैला प्रतिबन्ध नगरेको, महानगरपालिका समेतले १८ वर्षसम्म गरेका गैरजिम्मेवार कार्यबारे समितिले उल्लेख गरेको छ ।

समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शिघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहातमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने माग राखेका छन् ।

उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडिसी), नयाँदिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उहाँले बताउनुभयो । रक्षामन्त्री खड्काले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भारतीय एयर–भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकामा उहाँले धन्यवाद दिनुभयो । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उहाँको भनाइ छ । सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवं नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।

एक साताभित्रै विद्युत् विधेयक सङ्घीय संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, ११ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गरिने बताउनुभएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको जानकारी दिँदै उहाँले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र सङ्घीय संसद्मा पेश हुने बताउनुभएको हो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज यहाँ आयोजना गरेको कार्यक्रमा उहाँले सरकारले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी काम गरिरहेको बताउनुभयो । आन्तरिक बिजुली खपत बढाउनेदेखि प्रसारण तथा वितरण प्रणालीको निर्माणमा उत्तिकै ध्यान दिइएको उल्लेख गर्दै उहाँले समग्र विषयलाई एकीकृत कार्ययोजनाका साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेर ऊर्जा क्षेत्रको एकीकृत विकास गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । “कुन कुन आयोजनाबाट कति मेगावाट बिजुली उत्पादन गर्ने त्यसको समगै्र तयारी गरिएको छ । ती आयोजनाबाट उत्पादित बिजुली प्रसारणका लागि निर्माण गरिने प्रसारण प्रणालीका साथै लगानीको स्रोतको पनि सुनिश्चित गर्न लागिएको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “आन्तरिक माग र खपत बढाएर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागिसमेत मार्ग प्रशस्त भएको छ ।” प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका लागि सहमति भइसकेको जानकारी दिँदै उहाँले निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको योजना रहेको बताउनुभयो । निजी क्षेत्रलाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुहुँदै उहाँले प्रसारण प्रणाली नभएर बिजुली खेर फाल्नुपर्ने अवस्थाको पूर्णतः अन्त्य गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “प्रसारण प्रणाली नभएर बिजुली खेर गयो भन्ने अवस्था आउन दिने छैनाँै । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएर अगाडि बढ्दा मात्रै मुलुकको समृद्धि हासिल हुन सक्छ ।” उहाँले सबैका लागि ऊर्जा र समृद्धिका लागि ऊर्जा भन्ने मार्गचित्रका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । विगतका कमजोरीबाट पाठ सिकेर प्राप्त भएको उपलब्धिलाई थप संस्थागत गर्दै जाने सरकारको सोच रहेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले विगतमा लोडसेडिङको अन्त्य गर्ने विषय प्रधान हुने गरेको तथ्य पेश गर्दै अहिले भने विद्युत् खपत बढाउने र बढी भएको बिजुली बिक्री गर्नेतर्फ मूल उद्देश्य केन्द्रित भएको उल्लेख गर्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा क्षेत्रमा बदलिएको आयामअनुसार व्यावसायिकरूपमा प्रसारण लाइनहरूको निर्माण गरेर ऊर्जा उद्यमीलाई राहत प्रदान गर्न लागिएको बताउनुभयो । उहाँले प्रसारण लाइन प्रयोग गरेबापत निश्चित शुल्क तिरेर बिजुली प्रसारण गर्न पाउने प्रबन्ध गर्न लागिएको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा देखिने गरी केही कामलाई अगाडि बढाइएको जानकारी दिनुहुँदै त्यसबाट मुलुक र समग्र क्षेत्रमा लगानी गरेका प्रवर्द्धकले फाइदा प्राप्त गर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका कार्यकारी निर्देशक डा नेत्र ज्ञवालीले प्राधिकरणको परिपूरक र सहयोगी संस्थाका रूपमा आफ्नो कम्पनीले प्रसारण प्रणालीको विकासमा लागिपरेको बताउनुभयो । सो अवसरमा विभिन्न सात आयोजनाका प्रवर्द्धकसँग कार्यकारी निर्देशक डा ज्ञवालीले प्रसारण लाइन प्रयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।