सन् २०२३ मा विश्व खेलकुद : क्रिकेटमा नेपालको चमत्कार, चुम्बनले निलम्बन


काठमाडौँ -विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।
तेलमा निर्भर अर्थतन्त्र भएको साउदी अरबले फुटबलमार्फत कमाएको चर्चा निकै महत्त्वपूर्ण थियो । साथै वर्षको अन्त्यतिर अष्ट्रेलियाका प्रसिद्ध क्रिकेटर डेभिड वार्नरले एकदिवसीय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिने घोषणा गरे भने इन्डियन प्रिमियर लिग (आइपिएल)सहित विश्वका दुई दर्जनभन्दा लिग खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भए ।
मेस्सी गए मियामी – विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक लियोनल मेस्सी अमेरिकी फुटबल क्लब इन्टर मियामीमा अनुबन्धन हुनु गत वर्षको सर्वाधिक चर्चाको विषयमध्ये एक बन्यो । क्यानाडा र मेक्सिकोसँग मिलेर सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अमेरिकाका लागि मेस्सीको आगमनले ठूलो चर्चा दिलायो । समाचारमा जनाइएअनुसार साउदी अरबको क्लब अल हिलालको ५० करोड यूरोको अफर अस्वीकार गर्दै मेस्सीले प्रतिवर्ष करिब छ करोड डलरको सम्झौतामा इन्टर मियामी रोजेका थिए ।
इन्टर मियामीमा प्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको पनि स्वामित्व छ । साथै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताउन सफल मेस्सीको जर्सी नम्बर १० लाई उनको सम्मानमा अर्जेन्टिना सरकारले ‘रियाटर’ गर्ने घोषणा गरेको छ । अर्थात् अब उक्त नम्बरको जर्सी अर्को खेलाडीलाई दिइने छैन । यसअघि उक्त नम्बरको जर्सी प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको थियो ।
चुम्बनले निलम्बन – अगस्टमा फुटबलको दुनियाँमा विवादास्पद घटना घट्यो । स्पेन फुटबल फेडेरेसनका अध्यक्ष लुई रुबियालेजले महिला फुटबल खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेपछि उनी निलम्बनमा परे । फुटबल वर्ल्डकप जितेको स्पेनको महिला टोलीलाई बधाई दिने क्रममा अध्यक्ष रुबियालेजले हर्मोसोलाई अङ्गालो मार्दै चुम्बन गरेका थिए । त्यसपछि हर्मोसाले प्रत्यक्ष प्रसारणमा उक्त चुम्बन आफूलाई नराम्रो लागेको प्रतिक्रिया दिएपछि उनलाई अन्तर्राष्ट्रिय फूबटल महासङ्घ (फिफा)ले तीन वर्षका लागि निलम्बन गरेको थियो ।
अब्बल भारतलाई निराशा – विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूहचरणदेखि सेमिफाइनलसम्म सबै १० वटा खेल जितेको घरेलु टोली भारत तेस्रो पटक उपाधि चुम्नबाट चुक्यो । प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा अब्बल भारतलाई फाइनलमा अस्ट्रेलियाले रोक्यो । खेल सुरु हुनुभन्दा अघि प्रतियोगिताको ‘फेबरेट टिम’ भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि चुम्दै कीर्तिमान कायम ग¥यो ।
प्रतियोगिताभर शानदार प्रदर्शन गरेको भारतले उपाधि जित्न नसक्दा करोडौँ दर्शन निराश बने । यद्यपि प्रतियोगितामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ भारतीय ब्याटर विराट कोहली बने । जसलाई सन् २०२३ मा भएका महत्त्वपूर्ण खेल प्रतियोगिताका रूपमा लिन सकिन्छ । कोहली एकदिवसीय क्रिकेटमा ५० वटा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।
आधा शताब्दीपछि च्याम्पियन बन्यो डेनभर नगेट्स – उत्तरी अमेरिकाको द नेशनल बास्केटबल एसोसिएसन (एनबीए)मा पहिलो पटक डेनभर नगेट्स क्लबले उपाधि जितेको छ । डेनभर नगेट्सले यो खुसी ५७ वटा प्रतियोगितापछि प्राप्त गर्न सफल भयो ।
क्रिकेटमा नेपालको चमत्कार – सन् २०२३ नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रह्यो । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिगका ३६ खेलमध्ये अन्तिम १२ खेलमा ११ खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल कसरी जिम्बाब्वेमा सम्पन्न आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा छनोट भयो भन्ने कथा निकै रोचक छ । लगातार खेल हारेर अङ्क तालिकाको पुछारतिर पुगेको नेपालको आशा गुमिसकेको अवस्थाबाट कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीलाई जिम्बाब्वेसम्म पु¥याउन सफल भए ।
प्रतियोगिताको अन्तिम खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आसिफ शेख र गुलसन झाको अर्धशतकीय पारीमा डक वर्थ लुइस पद्धतिका आधारमा नौ रनले विजयी हुँदै जिम्बाब्वेको यात्रा तय गर्यो ।
गत वर्ष अर्को प्रतियोगितामा नेपालले युएईलाई पराजित गर्दै इतिहासमा दोस्रो पटक एसिया कपका लागि छनोट भई भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्ने मौका प्राप्त ग¥यो । तर वर्षको अन्त्यतिर क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भने क्रिकेट समर्थकमा केही निराशा छायो (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)