दबाब र प्रभावमा परेर काम नगर्न गृहमन्त्री पाण्डेयको आग्रह
लुम्बिनी, १६ पुस : लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेयले सकारात्मक सोच राखेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । बुटवलमा आज आयोजित लुम्बिनी प्रदेशका नेपाल प्रहरीका कार्यालय प्रमुखहरुको गोष्ठीलाई सम्बोधन गर्दै उहाँले न्यूनतम साधन स्रोत र जनशक्तिका बाबजुद पनि नेपाल प्रहरीले अधिकतम उपलब्धि हासिल गरेको छ भन्नुभयो । गृहमन्त्री पाण्डेयले प्रहरीले दबाब र प्रभावमा परेर काम नगर्न आग्रह गर्नुभयो ।
गृहमन्त्री पाण्डेयले पछिल्लो समय साइबर क्राइमका अपराध बढिरहेको जनाउँदै त्यस्ता विषयका अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममै सम्बोधन गरेर बजेट छुट्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले प्रविधिको विकाससँगै प्रविधिजन्य अपराधको चुनौती बढिरहेको छ भन्नुभयो । अनुसन्धानले जहिले पनि साधन स्रोतको माग गरिरहे पनि प्रहरीलाई साधन स्रोतको अभाव भइरहेको उहाँले बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अपराध अनुसन्धानको पाटोमा कुनै पनि कमजोरी हुन नहुने बताउनुभयो । उहाँले एक्काइसाँै शताब्दीमा सामाजिक मामिला जटिल बन्दै गएको र अपराधका प्रकृतिहरुमा पनि फरकपन आइरहेको उल्लेख गर्दै अनुसन्धानलाई पनि त्यही अनुसार परिस्कृत गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले सामाजिक सञ्जालबाट हुने साइबर अपराधका घटनाहरु लुम्बिनीमा पनि बढी देखिएकाले साइबर अपराधका घटनाहरुको अनुसन्धानका लागि जनशक्तिलाई तालिमको आवश्यकता औँल्याउनुभयो ।
