`

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्े । मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने बाक्य थपिएको छ ।

उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ती रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ती बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ती बन्द गर्ने व्यवस्था राखिएको छ । यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ ।

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ ।  शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् ।

काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ ।

एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।

बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभयो । “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर अन्यत्र गएका छन् ।

वासिङ पहिरोले हुवाला र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिनुभयो । “पहिरो खसेको ठाउँमा पानीको मुहान छ । वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ”, उहाँले भन्नुभयो, “धेरै वर्षा भएको समयमा माथिबाट खसेको पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।”

वासिङ पहिरोको कारण आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन् ।

वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिनुभयो । “विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म पहिरो आइसकेको छ”, उहाँले भन्नुभयो, “कुन बेला के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।”

टाढाबाट हेर्दा डमरु आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति (गाविस)को वडा नं ८ वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।

निरन्तर खसिरहने वासिङ पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिनुभयो । “वासिङ पहिरोले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो रोकथाम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

बोपुङको वासिङ पहिरोले देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिनुभयो । छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा गरेको फैसलामा कोइरीलाई सफाइ दिएको थियो । तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै दोषी ठहर गरेको हो ।

फौज्दारी मुद्दा चलिरहेकै समयमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कोइरी महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी पराजित भएका थिए ।

सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो । जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए । सोही घटनामा उनको मृत्यु भएको थियो ।उच्च अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरणले पुनः राजनीतिक र कानुनी बहसलाई तातिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ।

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।

खोलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाए ।

खेलको ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।१० मिनेटको इन्जुरी समय थपिएकोमा ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ। पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा मुकुल उपाध्यायले सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने जानकारी दिनुभयो ।

गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो ।रोगको सङ्क्रमण नियन्त्रण गर्न प्राविधिकको टोली सङ्क्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो । सम्बन्धित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा छन् ।

मरेको कुखुरा जथाभावी फाल्दा, सङ्क्रमित पन्छी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दानासमेत नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता डा उपाध्यायका अनुसार बर्डफ्लुको खोप प्रभावकारी रूपमा विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन ।प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९७ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभ बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू(भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ । तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ।विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ। यसको प्रभाव होटल, रिसोर्ट र अन्य पर्यटन सेवामा पनि देखिएको छ।

संघीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरलगायत प्रमुख सहर तथा पर्यटकीय गन्तव्यमा स्वदेशी र विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ।पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुने भए पनि तारे होटल र रिसोर्ट पर्यटन विभागमा दर्ता भएर सञ्चालन अनुमति लिन्छन्। पर्यटन विभागका अनुसार हाल देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीमध्ये २९ वटा पाँचतारे होटल छन्।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार गत वर्ष ३३५ होटल तथा रिसोर्ट दर्ता भएकामा यस वर्ष संख्या बढेर ३५० पुगेको छ।उनका अनुसार ४४ एकतारे, ४९ दुईतारे, ३७ तीनतारे, ४० चारतारे र २८ पाँचतारे होटल दर्ता भएका छन्। त्यसैगरी, पाँचतारे डिलक्स होटल तीन, पाँचतारे लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारे होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीनतारे) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन्।

दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्या छन्। यी होटल तथा रिसोर्टले पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवा–सुविधा र अन्तर्राष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता विस्तार गरेका छन्।

गौतमका अनुसार होटल तथा रिसोर्टमा लगानी बढेसँगै विभागले समयअनुकूल होटलको मापदण्ड परिमार्जन गर्न थालेको छ।

नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड बनाइएको थियो। समयको माग र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा त्यसलाई संशोधन गरेको थियो। अहिले अन्तर्राष्ट्रिय मापदण्ड, गुणस्तर र इको–टुरिजमलाई ध्यानमा राखेर मापदण्ड पुनः परिमार्जन भइरहेको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति र पर्यटन विभागका निर्देशक तथा होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ। कार्यदलले असार मसान्तभित्र संशोधित मापदण्डको मस्यौदा मन्त्रालयमा बुझाउने तयारी गरेको छ।

होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार नेपालमा तारे होटल तथा रिसोर्टको संख्या बढ्नु विदेशी पर्यटकको आकर्षण बढेको संकेत हो।

उनले भने, “नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटनले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।”

शाहका अनुसार पछिल्लो समय भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार बनेपछि पर्यटन क्षेत्रमा विश्वासको वातावरण सिर्जना हुँदै गएको उनको भनाइ छ।

उनले भने, “नेपाल भारत र चीनबीचको सुन्दर गन्तव्य हो। यी दुवै देशबाट बर्सेनि करोडौँ मानिस यात्रा गर्छन्। ती पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ।”

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित मण्डनदेउपुरमा निर्माणाधीन निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक क्रिस्टिना श्रेष्ठका अनुसार होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्‍याएको छ।

झन्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणको अन्तिम चरणमा रहेको निगालो होटलमा ६५ सुविधासम्पन्न कोठा छन्।

एक दशक अष्ट्रेलियामा बसेपछि नेपाल फर्केर द्वारिकाज, रूपाकोट, मल्ल र हिल्टनजस्ता चर्चित होटलमा काम गरेकी श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि बढिरहेको छ। उनले अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने बताइन्।

वरिष्ठ पर्यटन व्यवसायी अभिषेकविक्रम शाहका अनुसार पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको छ। नयाँ सरकारले पर्यटनलाई प्राथमिकतामा राखेकाले होटल क्षेत्रमा पनि भविष्यको सम्भावना देखेर लगानी बढेको उनले बताए।

उनका अनुसार निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको संख्या अझै बढ्नेछ।लाजिम्पाटस्थित बुकी बुटिक होटल र नागार्जुन रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएका शाहले भारतीय पर्यटकको आगमनसँगै आन्तरिक पर्यटनको चहलपहल बढेकाले होटल व्यवसायमा उत्साह थपिएको बताए।

लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकालका अनुसार नेपालमा होटल तथा रिसोर्टको संख्या बढ्नु सकारात्मक हो। विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि धेरै पर्यटकस्तरीय होटल सञ्चालनमा आएकाले राज्यले होटलवालाको मात्र नभई समग्र होटल व्यवसायीको दृष्टिकोणबाट नीति बनाउनुपर्ने उनको भनाइ छ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको छ। कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्। चालु वर्षको जुनसम्म मात्रै पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ १९ असार : अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।

स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

स्वास्थ्य मन्त्रालयको दाबी: सुशासनका लागि नीतिगत तयारी

काठमाडौँ, १९ असारः करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ ।

बिरामी, स्वास्थ्य र उपचारको समग्र डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचारमात्र नभएर बिरामीलाई सुपथ मूल्यमै र सहज रूपमा औषधि उपलब्ध गराउने सरकारको लक्ष्यले साकार रूप पनि लिँदैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारका एक सय कार्यसूचीको बुँदा नं ८५ मा रहेका स्वास्थ्यसम्बन्धी छवटा लक्ष्य छन् । ती लक्ष्य पूरा गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यका थुपै विसङ्गतिलाई क्रमशः पाखा लगाउन थालेको छ ।

सुरुआत कार्यसंस्कृति परिवर्तनबाट

विगत र वर्तमानको तुलना गर्दै मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारी भन्नुहुन्छ, “अहिले स्वास्थ्य क्षेत्रको समग्र कार्यसंस्कृति नै परिवर्तन भएको छ ।” जहिले पनि ढिलासुस्ती गर्ने, प्रक्रिया मिच्ने र विभिन्न आग्रह वा पूर्वाग्रहका आधारमा निर्णय गर्ने परिपाटी अहिले हटेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य सेवा प्रदान गरिरहेका ठूला सङ्घीय अस्पतालदेखि मन्त्रालयअन्तर्गतका तल्ला इकाइहरूलाई पनि जवाफदेही बनाउने र परिणाममुखी काम गर्न मन्त्रीस्तरबाट निरन्तर अनुगमन र सोधपुछ हुने गरेको छ ।

दश प्रतिशत निःशुल्क शय्या व्यवहारमै

विपन्नलाई उपचार सेवाबाट वञ्चित हुन नदिन अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या अनिवार्य रूपमा उपलब्ध गराउने सरकारले चालेको कदमले परिणाम दिन थालेको छ । अस्पतालका निःशुल्क शय्याको एकीकृत विवरणयुक्त ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा आएपछि हालसम्म दुई हजार २६२ जनाले निःशुल्क शय्याको सुविधा प्राप्त गरेका छन् । यसअन्तर्गत अस्पतालले दिने सबै सेवा लक्षित वर्गले निःशुल्क पाउन थालेका छन् । बिरामी र तिनका आफन्तले अस्पताल पुग्नुअघि नै कुन अस्पतालमा कति शय्या निःशुल्क छ भन्नेसमेत थाहा पाउन सक्ने भएका छन् ।

पोर्टलमा हालसम्म २१३ वटा अस्पतालले आआफ्नो कुल शय्या, त्यसको १० प्रतिशत हुन आउने शय्या बारेको अद्यावधिक विवरण पोर्टलमा राखिसकेका छन् । रगत चाहिएका बेला अस्पताल–अस्पताल चहार्दै हिँड्नुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । निःशुल्क स्वास्थ्य पोर्टलमा हालसम्म नेपाल रेडक्रसको एक र अन्य अस्पतालका गरी कुल ३२ वटा रक्त सञ्चार सेवा केन्द्रहरूकोे सम्पर्क नम्बर र सेवाको विवरण उपलब्ध छ । सरकारले निःशुल्क शय्यामा सबै सेवा प्रदान गर्न लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ स्वीकृत गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

बिरामीको स्वास्थ्य अभिलेख नौलो र बहुउपयोगी कदम

बिरामीको स्वास्थ्यसम्बन्धी सम्पूर्ण अभिलेख प्रणाली विकास गरी पाँचवटा ठूला सङ्घीय अस्पतालहरूमा नमूना अभ्यास भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले आफ्ना सेवासम्बन्धी पूर्ण जानकारी दिन ड्यासबोर्डसमेत सञ्चालनमा ल्याएका छन् । अस्पतालहरूले ‘प्रेषण निर्देशिका, २०८२’ बमोजिम आफ्नै प्रोटोकल बनाई यसको कार्यान्वयन सुरु गरेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो अस्पतालको ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ भने विद्युतीय हाजिरी अनुगमन गर्न २६ वटा सङ्घीय अस्पताल र प्रतिष्ठानहरूले फोकल पर्सन तोकेका छन् । यसका साथै सरकारले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनका लागि हरेक अस्पतालका लागि एक–एक जना फोकल प्वाइन्ट तोकी नियमित अनुगमन गर्ने व्यवस्थासमेत मिलाएको छ ।

सफा र व्यवस्थित सरकारी अस्पताल

वर्तमान सरकार गठन हुनुअघि सर्वाधिक गुनासो रहने गरेको सरसफाइको विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सय दिनभित्रै प्रभावकारी सम्बोधन गरेको छ । मन्त्रालयको निर्देशनबमोजिम हासम्म २६ वटा सङ्घीय अस्पताल तथा प्रतिष्ठानले सरसफाइको अनुगमनका लाागि क्लिनेसब अडिट र त्यसका लागि फोकल पर्सन तोकी नियमित अनुगमको प्रणाली स्थापना भएको छ । यसका साथै स्वास्थ्यकर्मीलाई निरन्तर सेवासम्बद्ध तालिमका साथै विभिन्न अस्पतालका गरी हालसम्म ७२७ जनालाई सफ्ट स्किल तालिम प्रदान गरिएको छ । विभिन्न अस्पतालहरूले आफ्नै औषधि पसल सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई सुलभ एवं गुणस्तरीय औषधि बिक्रीवितरण गरिरहेका छन् ।

जलन उपचारमा कोशेढुङ्गा

सरकारको १०० बुँदे कार्यसूचीमै रहेको जलनसम्बन्धी उपचारलाई प्रभावकरी बनाउने प्रतिबद्धताअन्तर्गत पनि उल्लेख्य कार्य भएका छन् । सरकारले जलन उपचारको अत्याधुनिक व्यवस्थाका लागि कीर्तिपुर अस्पताललाई रु दुई करोड अनुदान बजेट विनियोजन गरेको छ ।

साथै आगामी आव २०८३/८४ का लागि जलन उपचार कोष स्थापनाका लागि रु २० करोड विनियोजन गरेको छ । अस्पतालहरूमा अपुग रकम शोधभर्नाका लागि मन्त्रालयमा रु १० करोड विनियोजन गरिएको छ । हालसम्म १२ सङ्घीय अस्पतालका ४८ जना स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार व्यवस्थापनका लागि तालिमसमेत सरकारले दिएको छ । यसका साथै अन्य चिकित्सक, स्वास्थ्यकर्मी वा नर्सिङ स्टाफलाई जलनसम्बन्धी उपचार र व्यवस्थापन तालिमका लागि बजेट विनियोजन गरेको छ ।

एयर एम्बुलेन्स, सपना साकार हुँदै

कर्णाली र सुदूरपश्चिमलगायतका दुर्गम क्षेत्रमा आकस्मिक उपचारको अभावमा बिरामीको मृत्यु हुने र त्यसमा पनि सुत्केरीले ज्यान गुमाउनुपर्ने अवस्थाप्रति सरकारले सुरुदेखि नै संवेदनशील रहेको बताएको छ । हाल भएको स्रोतसाधनको समुचित प्रयोगका साथै यो सेवा दीर्घकालीन बनाउन नीतिगत व्यवस्थासमेत आवश्यक भएकाले अहिले ‘हेली तथा एयर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०८२’ को मस्यौदा तयार भएको छ । यसले एयर एम्बुलेन्सको उपलब्धता र प्रयोगलाई सहज र सर्वसुलभ बनाउन आधार तयार गरेको छ ।

जेनजी आन्दोलनका घाइतेप्रति संवेदनशील सरकार

यसबाहेक सरकारले जेनजी प्रदर्शनका क्रममा हालसम्म सङ्कलित १०२ वटा अस्पतालबाट सङ्कलित दुई हजार ५९९ जना घाइतेकोे स्वास्थ्योपचार सुनिश्चित गर्न विभिन्न स्वास्थ्य संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य पनि सुरु गरेको छ ।

यसका लागि जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिबाट चारवटा समूहमा ५४९ जना घाइतेको विवरण प्राप्त भएको थियो । त्यसलाई गुणस्तर मापन तथा नियमन महाशाखाको संयोजकत्वमा गठन भएको ‘जेनजी प्रदर्शन घाइतेहरूको वर्गीकरण’को प्राविधिक समितिले अनुमोदन गरी गृह मन्त्रालयमा नामावली प्रेषित गरिएको छ ।

यसका साथै देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेहरूलाई औषधोपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना दिनेसम्बन्धी कार्यविधि, २०८२ लाई पनि सरकारले कार्यान्वयनमा ल्याएको छ । यसबमोजिम अस्पतालहरूलाई हालसम्म करिब ८५ लाख रूपैयाँ र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइतेहरूको औषधोपचारबापत दुई लाख ३८ हजार रूपैयाँ झन्डै रु ८७ लाख शोधभर्ना रकम भुक्तानी गरिएको छ ।

सुशासनका लागि नीतिगत तयारी

सुशासनतर्फ महत्त्वपूर्ण कदमका रूपमा सरकारले सार्वजनिक खरिद व्यवस्थापन सुधारका लागि पहिचान गरिएका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारसम्बन्धी सुझाव प्रतिवेदनसमेत तयार गरेको छ । यसअन्तर्गत राष्ट्रिय अटिजम निर्देशिका, जेनेरिक औषधिसम्बन्धी सुझाव दिन गठित समितिको प्रतिवेदन सङ्घीय अस्पतालहरूले प्रवाह गर्ने सेवा सुधारका लागि गठित समितिको अध्यय प्रतिवेदन, २०८१ तथा औषधि उद्योग, थोक विक्रेता एवं फार्मेसीहरूको स्थलगत अनुगमन समितिको अध्ययन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनमा लगेको छ ।

त्यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लाई प्रस्तावित निजामती सेवा ऐनबमोजिम हुनेगरी समसामयिक संशोधन एवं एकीकरण गरी नयाँ स्वास्थ्य सेवा ऐन तर्जुमा गर्ने तयारी भएको छ । यसको विकल्पमा स्वास्थ्य सेवालाई सङ्घीय निजामती सेवा ऐनमा नै समावेश गर्ने भन्ने सम्बन्धमा अध्ययन गरी मस्यौदासहितको प्रतिवेदन, २०८० र औषधि व्यवस्था विभागको समग्र सुधारसहितको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाको (२०८२/८३–०८६/८७) मस्यौदा तर्जुमा सम्बन्धी कार्यदलको प्रतिवेदन, २०८२ लाई कार्यान्वयनमा लगेको छ ।

प्रक्रियामै सुधार गर्दै सरकार

मन्त्रालयले हालका प्रक्रियाहरूको मूल्याङ्कन गर्न, सेवा प्रवाहका अवरोध पहिचान गर्न र नयाँ सरलीकृत कार्यविधि तथा अनुगमन प्रणाली तयार गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ‘प्रक्रिया सुधार कार्यदल’ समेत गठन गरेको छ । साथै विभिन्न महाशाखाको कार्यक्षेत्रभित्र पर्ने सेवाप्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन महाशाखा प्रमुखलाई सचिवस्तरीय निर्णयबाट अधिकार प्रत्यायोजन गरेको छ ।

प्रशासकीय तथा विभागीय बैठकहरूलाई छोट्याइ पूर्ण रूपमा उद्देश्यमूलक बनाएर पुनर्संरचना गर्ने र विद्युतीय माध्यमबाट खाद्य व्यवसाय अनुमतिपत्र, प्रयोगशाला विश्लेषण प्रतिवेदन, आयातनिर्यात र गुण प्रमाणीकरणसम्बन्धी सेवाहरूसमेत सुरु भएको छ ।

जनचाहनाबमोजिम सेवाप्रवाहलाई सरल, छिटो तथा परिणाममुखी बनाउन, अस्पताल सेवा सुधार कार्यविधि, २०८२, लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३, जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ जारी भएका छन् ।

त्यसैगरी, चालु आव २०८३/८४ मा स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम, वजेट वक्तव्य र वार्षिक बजेट कार्यक्रमको अनुगमन तथा प्रधानमन्त्री कार्यालयमा गरिने प्रतिवेदन पेस गर्न देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका घाइतेहरूलाई औषधोपचार गरेबापत अस्पतालहरूलाई शोधभर्ना दिने कार्यविधि, २०८२ का मस्यौदा तयार भएको छ ।

सुशासनको थप कदम स्वरूप स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस र नियुक्तिसम्बन्धी कार्यविधि, २०८३, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनोट, सिफारिस र नियुक्तिसम्बन्धी कार्यविधि, २०८३, स्वास्थ्य बीमा ऐन, २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको मस्यौदासमेत स्वास्थ्य मन्त्रालयले तयार गरेको छ ।

साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी आचारसंहिता र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा तयार हुनुका साथै मन्त्रालयका प्रत्येक पदको कार्य विवरण तयार गरी कार्यसम्पादन सूचकसमेत तयार गरिएको छ ।

नेपाल स्वास्थ्य तालिम केन्द्रमार्फत हालसम्म १२ हजारभन्दा बढी बेसिक लाइफ सपोर्ट र ३० जनाका लागि महामारी क्षेत्रमा तत्कालको स्वास्थ्य सेवाबारे तालिमसमेत मन्त्रालयले प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रसम्बद्ध जनगुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरानो समिति पुनर्संरचना गरी सार्वजनिक सूचना समन्वय शाखा प्रमुखको संयोजकत्वमा गत वैशाख २४ गते तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा गुणस्तर तथा नियमन महाशाखा, सुशासन एकाइका प्रतिनिधिहरू सदस्यका रूपमा समावेश छन् ।

‘हलो हेल्थ’, जनताको गुनासो सोझै मन्त्रालयमा

स्वास्थ्यसम्बन्धी कुनै पनि जनगुनासो व्यवस्थापनका लागि नेपाल सरकारको ‘हेलो सरकार’को साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ‘हेल्लो स्वास्थ्य’ प्लेटफर्म सक्रिय छ । यसमार्फत स्वास्थ्यसम्बन्धी गुनासो, जानकारी तथा सूचनाका लागि हटलाइन नं १११५ मा कल गरी वा मन्त्रालयको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी सम्पर्क गर्न सकिने व्यवस्था सरकारले गरेको छ । आव २०८२/८३ को जेठ मसान्तसम्म ‘हेलो हेल्थ’मा जम्मा छ हजार ६२९ वटा गुनासो, सुझाव तथा सेवा अनुरोध प्राप्त भएका थिए ।

सरकारले गत जेठ मसान्तसम्म ‘हेलो हेल्थ’मा प्राप्त गुनासोमध्ये सबै गुनासो सम्बोधन गरेको जानकारी पनि प्रवक्ता डा अधिकारीले दिनुभयो । “यसै पोर्टलमा कर्मचारी भर्ना छनोटसम्बन्धी उजुरीका सम्बन्धमा कारबाही हुँदा सूचना नै रद्द गरिएको थियो”, उहाँले उदाहरण दिनुभयो ।

त्यसैगरी, विभिन्न ठूला अस्पतालदेखि औषधि पसलसम्मको अनुगमनबाट सरकारले स्वास्थ्य सेवामा कुनै पनि लापरवाही वा सेवाको गुुणस्तरमा सम्झौता हुन नदिन प्रभावकारी कदम चालेको छ । यस अवधिमा विभिन्न प्रकृतिका गरी १०० सय वटाभन्दा बढी अनुगमन गरिएको छ । अनुगमनपछि आवश्यक कारबाही, नसिहत तथा निर्देशन पनि मन्त्रालयबाट जारी भएका छन् ।

स्वास्थ्य बीमाको भुक्तानी समस्या समाधानतर्फ

सरकारले यसबाहेक लामो समयअघिदेखि स्रोतको अभाव र बीमा सुविधाको अनुचित प्रयोगजस्ता कारणले स्वास्थ्य बीमामा रहेको भुक्तानी समस्यालाई प्रभावकारी सम्बोधन गरेको छ । सरकार गठनपछि हालसम्म झन्डै चार अर्ब रुपैयाँ स्वास्थ्य बीमाबापत भुक्तानी भएको छ । साथै स्वास्थ्य बीमाको भुक्तानी समस्या निराकरण गर्न त्यसको प्रणालीमै सुधार गर्नेतर्फ सरकार लागिपरेको छ । समग्र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले नियमित अनुगमनको थितिसमेत बसालेको छ ।

कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने

सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन ।सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोली झण्डै बिहीबार दिनभर खोजबीन जारी राख्यो । पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनले करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुगेका थिए ।

“राति भएकाले खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुनः खोज उद्धार कार्य थाल्छौँ”, उनले भने ।

बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको छ ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिए पनि उक्त सङ्ख्या एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताए । अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबास्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने उनले जानकारी दिए । उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने छ ।

यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना भएको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

प्रमुख नेपालका अनुसार कामपामा हुने विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीजन्य घटना हुने गरेको र पछिल्लो समय कामपाले सम्बन्ध भएका निकायसँगको सहकार्यमा प्रत्येक दिन तार व्यवस्थापनको काम गरेकाले आगलागीजन्य विपद्का घटनामा कमी आएको छ ।

उनका अनुसार आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुहावट भएर हुने आगलागी र विद्युत् पोलमा धेरै तारहरू अव्यवस्थित रूपमा राख्दा आगलागीका घटना बढी हुने गरेका हुन् । यस्ता घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग छलफल तथा समन्वय अगाडि बढाइएको बताइएको छ ।

त्यसैगरी, म्याद गुज्रेका ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटना बढिरहेको महानगरको निष्कर्ष छ । टोलटोलमा जनचेतना, विगतमा एक स्थानबाट मात्रै दमकल सेवा दिँदै आएकामा हाल तीन स्थानबाट सेवा प्रवाहजस्ता काम अगाडि बढाइएकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने कामपाको विश्वास रहेको छ ।

कामपाले अहिले ३२ वटै वडामा चार समूहलाई परिचालन गरेर केवल प्रदायक संस्था र कामपा प्रहरीको सहकार्यमा तार व्यवस्थापनको काम तीव्र रूपमा गरिरहेको छ । तार व्यवस्थापन गरिएकामा स्थानमा सडक पोलमा एकापसमा तार ठोक्किएर हुने आगलागीका घटनामा कमी आएको छ ।

“डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ”, विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै नेपालले भने, “डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।”

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए । पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफलबिना नै सडक खन्ने र पुर्ने कार्यले गर्दा धेरै नदीजन्य विपद्का घटना हुने गरेको छ ।

नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा हुँदा कतिपय ठाउँ जलमग्न

काठमाडौँ। आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौँको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५/३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौँमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् ।

अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

केहीबेर अघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ ।

प्रतिकूल मौसममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर। वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

कार्यालयका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय दृष्टिले अत्यन्त जोखिमयुक्त रहेका छन् ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।

राजमार्गमा हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको प्रशासनले जनाएको छ । साथै सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथिको दफाबार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यसअघि मन्त्री मेहताले छलफलमा सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधारको कार्यसूचीबमोजिम स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको बताइन्। उनले विपन्न वर्ग पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर १० प्रतिशत शय्या व्यवस्था गरिएको स्पष्ट गरिन् ।

विधेयकमाथि संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी, कृपाराम रानालगायतले छलफलमा भाग लिइन् । छलफलमा सांसदहरूले उक्त विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वा

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा। बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।

चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ÷छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।

पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।

चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह ग ।

उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।

पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन भन्सार हातामा पुगेका छन् ।

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कागेश्वरी मनोहरा-९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका-५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

सवारीसाधनमा हिँडिरहेका निजहरूलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भेग र नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार उक्त सामान फेला परेसँगै प्रहरीले बागडोलस्थित चिनियाँ नागरिकको कोठासमेत खानतलासी गरेको छ ।

निजहरूसँग ८८१ थान भेप, रु छ लाख, चार थान चाँदी जस्तो देखिने धातुको हात्तीका मूर्ति, ५०३ चिनियाँ युआन, दश थान पावर बैङ्क, तीन थान मोबाइल, ४६ बट्टा चिनियाँ चुरोट, दुई थान विलबुक, एक थान ल्यापटप, एक थान सिपियु, एक थान डायरी र एक थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

सांसदलाई मन्त्री प्रतिभा रावलको आग्रह, ‘एउटा सहकारीको पैसा अर्कोमा दिने भ्रम नफैलाऔँ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथ्यमा आधारित बहस गर्न र बचतकर्तामा अनावश्यक त्रास फैलाउने अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले एउटा सहकारीबाट पैसा उठाएर अर्को सहकारीलाई दिने भन्ने भ्रम फैलाउनु उचित नहुने बताइन्।

उनले भनिन्, ‘एउटा सहकारीबाट उठाएर अर्को सहकारीलाई पो दिने हो कि भन्ने खालको भ्रम सिर्जना नगरिदिऔँ। यहाँ हामीले गर्ने टिप्पणीले हजारौं बचतकर्ता प्रभावित हुन सक्छन्। अहिले पनि धेरै बचतकर्ता पीडित अवस्थामा छन्। यस्ता अभिव्यक्तिले उनीहरू थप आतङ्कित हुन सक्छन्। त्यसैले सबै माननीय सदस्यहरूलाई संवेदनशील भएर बोल्न आग्रह गर्दछु।’

स्थानीय तहबाट दर्ता भएका सहकारीले स्वतः देशभर कार्यक्षेत्र विस्तार गर्न सक्ने भन्ने धारणा गलत रहेको पनि उनले स्पष्ट पारिन्।

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ।

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए।

वि.सं. २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामोस्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।

पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने पुल ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ।

वि.सं. २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।

करिब रु २७ करोड ७१ लाख नौ हजार लागत निर्माण सम्झौता रहेको १२० मिटर पुलमा लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

ठुला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो। नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामन ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

ट्रम्पविरूद्ध युरोप एकजुट

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ।

ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उहाँको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन्। यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको छ।

ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान आकर्षित गर्न खोजेको आरोप लगाएपछि युरोपेली नेताहरूले उनीप्रति समर्थन जनाएका हुन्। विगतमा मेलोनीको दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण दूरी कायम राख्ने केही युरोपेली देशसमेत अहिले उहाँसँग सहकार्य बढाउने पक्षमा देखिएका छन्।

विश्लेषकहरूका अनुसार युक्रेन र इरानका युद्ध, चीनसँग बढ्दो व्यापार असन्तुलन तथा रुसबाट उत्पन्न सुरक्षा चुनौतीका कारण युरोपेली देशहरू साझा रणनीति बनाउन बाध्य भएका छन्। जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पका अनुसार युरोपले अहिले अमेरिका र चीनबीच आफ्नो प्रभाव जोगाउन सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छ। यही एकताको परीक्षा आगामी साता टर्कीमा हुने नाटो शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ।

ट्रम्पसँगको विवादपछि मेलोनीको युरोपेली नेताहरूसँगको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ । मार्चमा उहाँले संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा प्रयोग गर्न अमेरिकी बमवर्षकलाई अनुमति नदिने निर्णय गरेका थिए।

यसअघि विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण छलफलबाट प्रायः बाहिर राखिने मेलोनी हाल जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका नेताहरूसँग नियमित समन्वयमा देखिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय शिखर बैठकले पनि यही परिवर्तनलाई सङ्केत गरेको छ।

युरोपका राष्ट्रवादी दलहरूले पनि ट्रम्पप्रतिको आफ्नो धारणा परिवर्तन गर्न थालेका छन् । फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पलाई अस्थिर नेतृत्वकर्ता भनेका छन् ।

जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ। विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै यी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु राजनीतिमा बढी केन्द्रित हुने रणनीति अपनाइरहेका छन्।

ट्रम्पको प्रभाव युरोपेली सङ्घ (इयु) भन्दा बाहिर पनि देखिएको छ । ग्रिनल्यान्ड कब्जा गर्ने उनको चेतावनीपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएका थिए भने अल्बानियामा ट्रम्प परिवारसँग जोडिएको एक विलासी परियोजना राजनीतिक विवादको विषय बनेको छ। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण राजनीतिक दबाब बेहोर्नुपरेको विश्लेषण सार्वजनिक भएको छ।

यद्यपि आप्रवासन र सुरक्षाजस्ता केही विषयमा मेलोनी र ट्रम्पको धारणा मिल्ने गरे पनि युक्रेन युद्धमा मेलोनीको अडान युरोपेली साझेदारसँग नजिक रहेको छ । उनले किएभलाई निरन्तर समर्थन गर्दै आउनुभएको छ र यसले युरोपसँगको सम्बन्ध थप बलियो बनाएको छ । ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उहाँसँगको सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै लाभ नपुगेको प्रतिक्रिया पनि दिएका थिए।

हालैको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिमाथि विश्वास नगरेको बताएका छन्। इरान, व्यापारिक कर र आप्रवासन नीतिमा ट्रम्पको भूमिकाप्रति पनि समर्थन न्यून देखिएको छ।

सन् २०२७ सम्म हुने राष्ट्रिय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पसँगको सम्बन्ध र इरान युद्धको असर मेलोनीका लागि राजनीतिक चुनौती बन्न सक्ने विश्लेषकहरूको भनाइ छ। रोमको ल्युइस विश्वविद्यालयका राजनीतिक विश्लेषक लोरेन्जो क्यास्टेलानीका अनुसार अन्ततः इन्धनजस्ता दैनिक उपभोगका वस्तुको मूल्यवृद्धिको असर मतदाताले आफ्नै सरकारसँग जोड्ने भएकाले त्यसको राजनीतिक मूल्य मेलोनीले नै चुकाउनुपर्ने अवस्था आउन सक्छ।

दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरी र यातायात अधिकारीले बताएका छन् । मत्यु हुनेका केहीे बच्चाहरू पनि रहेको बताइएको छ।

सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना भएको हो ।

“सामान ढुवानी गर्ने गाडीसँग ठोक्किनबाट बच्न बसले घुम्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना हुन पुगेको प्ररम्भिक अनुसन्धानले देखाएको छ,” सडक ट्राफिक व्यवस्थापन कार्यालयले विज्ञप्तिमा भनेको छ ।

प्रहरीका अनुसार अधिकांश पीडित घटनास्थलमै मृत घोषित भएका थिए । मृतकमध्ये ७ पुरुष, ५ महिला र ३ बच्चा रहेको बताइएको छ ।

कार्यालयले सामान्य रूपमा घाइते ४३ यात्रु घटनास्थलबाट प्राथमिक उपचारपछि घर फर्किएका छन् भने केहीलाई अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ ।

दक्षिण अफ्रिकासँग महाद्वीपकै सबैभन्दा विकसित सडक सञ्जाल छ तर अझै पनि सडक दुर्घटनामा उच्च मृत्युदर छ, जसको मुख्य कारण सवारी साधनको क्षमताभन्दा बढी अत्यधिक गति, चालकको लापरवाहीपूर्ण तरिकाले सवारी साधन हाक्ने प्रवृति, बिग्रिएका सवारी र दुर्घटना नियन्त्रणका उपायका लागि बनेका कानूनको उल्लङ्घन हो।

सडक ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ मा दक्षिण अफ्रिकामा ११ हजार ४८५ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतभन्दा बढीले कमी हो। उक्त बर्ष मृत्यु हुनेमध्ये धेरै पैदलयात्री थिए ।

पाँचथरको एउटै वडाका ६० घर पहिरोको जोखिममा

पाँचथर – अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।

पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ । उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए । यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुष्मा माबोको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ ।

पहिरोका कारण यहाँ रहेको मृदङ्गा झरना विद्यालयसमेत जोखिममा छ । बाढी पहिरोका कारण यस वडाका सबै सडक क्षतिग्रस्त बनेका छन् । खानेपानीका योजनासमेत अवरुद्ध भएका छन् । मुहानमा क्षति पुग्दा ६ सिंचाइ योजना र पाँच खानेपानी योजना अवरुद्ध छन् । हिलिहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा विपद्बाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कार्यक्रम तय गरेको गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।

यसैगरी बाढी पहिरोले अलैँची खेतीमा क्षति पु¥याउँदा कृषक मारमा परेका छन् । बालीनाली तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुहाङले बताए ।

राजविराज–भारदह सडक अलपत्र

राजविराज (सप्तरी) – राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ ।

उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो ।

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।

झलहीदेखि हनुमाननगर कङ्कालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन् ।

“राजविराज–भारदह सडकखण्डको ठेक्का लागेको लामो भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । सडक खनेर छाडिएको छ”, राजविराज नगरपालिका–११ स्थित झलहीका श्रवण यादवले गुनासो गर्नुभयो

उहाँ भन्नुहुन्छ, “राजविराजबाट पूर्वतर्फ विराटनगर र धरान जानका लागि यही राजविराज–भारदह सडक मुख्य बाटो भएकाले खनिएको सडकमा दैनिक चल्ने सवारीसाधनका कारण सडकमा हिँड्नेदेखि साइकलयात्री तथा सर्वसाधारणलाई मर्का परेको छ ।”

सडक डिभिजन कार्यालय लहानमार्फत रु २२ करोड ५३ लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ ।

दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी

मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि तनाव कम गर्न र वार्तालाई अघि बढाउन प्रयास जारी छ ।

जुनमा वाशिङ्गटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा समझदारी पत्रमा सहमति जनाएका थिए । यसमा फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको हवाई हमलापछि सुरु भएको युद्धलाई ६० दिनका लागि रोक्ने तथा नाकाबन्दी गरिएको हर्मुज जलमार्ग (जलडमरूमध्य) फेरि खोल्ने व्यवस्था समावेश थियो ।

द्वन्द्वरत दुई राष्ट्रबीच भएको १४ बुँदे यो सम्झौताले युद्धलाई स्थायी रूपमा अन्त्य गर्न, हर्मुजको व्यवस्था, इरानको पुनर्निर्माण कोष र इरानकोे आणविक कार्यक्रम जस्ता विषयमा छलफल गर्न समयसीमा पनि तोकेको थियो ।

—सहमति—

दोहामा बुधबार दुई द्वन्द्वरत पक्षबीच अप्रत्यक्ष छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मध्यस्थकर्ता कतार र पाकिस्तानले कूटनीतिक संवाद अगाडि बढिरहेको सङ्केत दिएका छन्।

“कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले दोहामा बुधबार अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठक समाप्त गरेका छन् र सकारात्मक प्रगति भएको छ,” दुवै मध्यस्थ राष्ट्रले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

वार्ता समाप्तिपछि इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी पत्रको कथित उल्लङ्घन रिपोर्ट गर्न र रेकर्ड गर्न बिहीबारसम्म सञ्चार च्यानल स्थापना गर्ने सहमति भएको बताउनुभयो ।

तेहरानले कुनै पनि समाधानको भागको रूपमा माग गर्दै आएको रोक्का गरिएको इरानी सम्पत्तिको मुद्दा पनि छलफलमा आएको गारिबाबादीले बताउनुभयो । उनले सुरुको छ अर्ब डलरको केही भागको प्रयोगबारे समीक्षा गरिएको र इरानलाई आवश्यक वस्तुहरू खरिद गरी उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो ।

ट्रम्पले बुधबार ‘एअर फोर्स वन’ मा चढ्नुअघि पत्रकारहरूसँग भन्नुभयो, “इरानको आणविक निशस्त्रीकरण राम्रोसँग अघि बढिरहेको छ ।”
एक स्रोतल एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो, दोहाको अप्रत्यक्ष वार्ता मुख्य रूपमा हर्मुज जलडमरूमध्यको व्यवस्थामा केन्द्रित थियो भने आणविक मुद्दालाई पछिका चरणमा गहिरो छलफल गर्न बाँकी राखिएको थियो।

—अब के हुन्छ—

आगामी अमेरिका–इरान अप्रत्यक्ष वार्ता इरानका दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिपछि हुनेछ ।

अयातोल्लाह अली खामेनी ८६ वर्षको उमेरमा युद्धको पहिलो दिन २८ फेब्रुअरीमा तेहरानको केन्द्रमा आफ्नो आवासमा मारिनुभएको थियो । त्यसपछि शक्ति तुरुन्तै उहाँको छोरा मोजतबालाई सरेको थियो ।

अली खामेनीको सार्वजनिक अन्त्येष्टि शनिबारबाट सुरु हुनेछ । उहाँको शव तेहरानको केन्द्रमा रहेको विशाल परिसरमा राखिनेछ, जहाँ शुक्रबार गरिने प्रमुख प्रार्थना, आधिकारिक कार्यक्रम र धार्मिक सभाहरू हुने गर्छन्।

कतार र पाकिस्तानले विज्ञप्तिमा दुवै पक्षले कुराकानी जारी राख्ने सहमति गरेको बताएका छन् । शबयात्रापछि यथासम्भव चाँडो अर्को बैठक राखिने उनीहरूले बताएका छन् ।

दिवंगत खामेनीको अन्तिम संस्कार ९ जुलाईमा उत्तर–पूर्वी शहर मशहदको इमाम रेजाको मस्जिदमा हुनेछ । मशहदजुन खामेनीको जन्मस्थल हो ।

—मध्यपूर्वको तनाबको अवस्था—

जुनमा अमेरिका–इरान सम्झौता भएपछि दुवै पक्षले खाडीमा छिटपुट गोलीबारी गरेका छन्।

हर्मुज जलमार्गमा आफ्नो नियनत्रणलाई तेहरानले लागू गर्न खोज्दा बारम्बार झडप निम्तिएको छ ।

सबैभन्दा पछि भएको एक आक्रमणमा अमेरिकी सेन्ट्रल कमान्डले यो हप्ताको सुरुमा १० इरानी सैन्य लक्ष्यमा हमला गरेको बताएको थियो, जसलाई अमेरिकाले ‘व्यावसायिक जहाजमाथि इरानको निरन्तर आक्रामकता’ को जवाफ भनेको थियो ।

इरानले पनि आक्रमणको बदलामा भन्दै कुवेत र बहराइनमा रहेका अमेरिकी आधारमा जवाफी हमला गरेको दाबी गरेको थियो । दुवै देशले आक्रमणका लागि तेहरानको निन्दा गरेका थिए ।

तर कतारमा वार्ता हुनुअघिका दिनहरूमा गोलीबारी शान्त देखिएको छ ।

लेबनान मोर्चामा इजरायल र हिजबुल्लाहबीचको लडाइँ अपेक्षाकृत शान्त छ, यद्यपि राष्ट्रिय समाचार संस्था (नेशनल न्यूज एजेन्सी)ले बुधबार साँझ दक्षिणी शहर नबातिएहमा हमला भएको रिपोर्ट गरेको छ । यद्यपि, आक्रमणबाट भएको षति वा पीडितबारे उल्लेख छैन ।

दुई देशबीचको प्रस्तावित सहमतिहनुसार लेबनानले अझै इजरायल ‘पाइलट जोन’ बाट फिर्ता होस् भन्ने चाहन्छ र त्यहाँ लेबनानी सेना तैनाथ हुनेछ ।

तेहरानले कुनै पनि सम्झौतामा यो समानान्तर द्वन्द्व अन्त्य र दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ, जसको केही भाग इजरायलले कब्जा गरेको छ ।

स्वदेशमै रोजगार सिर्जना गर्न श्रममन्त्री यादवको जोड

काठमाडौँ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे । मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे ।

यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे।

कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौँको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे ।

मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् ।

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

काठमाडौँ – सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेकी छिन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई मन्त्री रावलले लालपुर्जा उपलब्ध गराएकी हुन् ।

लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाएका छन् । उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताए ।

त्यस्तै सांसद उपेन्द्र महतोले अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाएका छन् । उनले प्रदेशको अर्थतन्त्रलाई नै समाप्त पार्नेतर्फ प्रदेश सरकार लागि परेको आरोप लगाएका छन् ।

रौतहटमा एक अर्व ६६ करोडको एउटा टेन्डर आह्वान गरिएकोमा सांसद महतोले आपत्ति जनाएका छन् । उनले रेडबुकमै नभएको योजनाको टेन्डर भएकोमा प्रश्न उठाए । मन्त्रालयहरुले पाउने भन्दा पनि बढी रकमको टेन्डर गरिनुले आउने दिनमा प्रदेश सरकारको व्ययमा थपिने सांसद महतोले बताए ।

उनले संघीयतालाई नै समाप्त पार्ने गरी कार्य कहाँबाट गर्न खोजिएको भनेर मुख्यमन्त्री कृष्ण यादवलाई प्रश्न गरेका छन् । मुख्यमन्त्री कृष्ण यादवले संघीयता समाप्त पार्नेतर्फ लागेको र उनलाई सत्ताधारी नेकपा माओवादी र नेकपा एमालेले पनि साथ दिइरहेको सांसद महतोले आरोप लगाएका छन् । सांसद महतोले नेपाली कांग्रेस दल लासको पार्टी भएको आरोप लगाएका छन् ।

हिजो (बुधबार) बसेको बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएपछि बैठक आजका लागि स्थगित भएको थियो । अब अर्को बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु २ अर्ब बजेट

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ ।

मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि रु १४ करोड ५० लाख बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । मकवानपुरको अधुरो सडकका लागि रु ११ करोड ५० लाख विनियोजन गरेको छ ।

मोरङको सडकको लागि रु १३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम रु ३० लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ ।

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ ।

प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पुर्‍याउने ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन, सरकारी वेबसाइटलाई अपाङ्गतामैत्री बनाउने, अवैध अनलाइन बेटिङ नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाउनेसम्मका काम यस मन्त्रालयले सम्पन्न गरेको छ ।

विगतमा एउटै सेवा लिन नागरिकले धेरै तहको स्वीकृति लिनुपर्ने, लामो समय कुर्नुपर्ने तथा अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेकामा त्यसलाई अन्त्य गर्न बिजनेस प्रोसेस रि–इन्जिनियरिङ (बिपीआर) लागू गरिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालय र मातहतका निकायलाई कार्यान्वयन मार्गदर्शन पठाएर निर्णय प्रक्रियामा रहेका बहु–स्वीकृति तहलाई अधिकतम तीन तहमा सीमित गर्ने नीति अवलम्बन गरिएको छ ।

त्यसैगरी, मन्त्रालयले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन केन्द्रीय कार्यालयमै ‘फ्रन्ट डेस्क’ सञ्चालनमा ल्याएको छ । जसबाट मन्त्रालयमा आउने चिठीपत्र तथा निवेदनहरू सम्बन्धित शाखामा सिधै पठाइने भएकाले फाइल अनावश्यक रूपमा विभिन्न टेबलमा घुम्ने अवस्था हटेको छ । मन्त्रालयका अनुसार यसबाट सेवाग्राहीले तत्काल सेवा पाउन थालेका छन् र काममा ढिलासुस्ती हुने अवस्थाको अन्त्य भएको छ ।

शासकीय सुधारको अर्को महत्वपूर्ण पक्ष कर्मचारीको व्यवहार परिवर्तनलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता र प्रतिबद्धतापत्र तयार गरी लागू गरिएको छ । ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने उद्देश्यले सबै कर्मचारीबाट प्रतिबद्धता गराइएको मन्त्रालयको भनाइ छ ।

यससँगै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) को मस्यौदा तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ भने प्रत्येक पदका लागि वस्तुनिष्ठ कार्यसम्पादन सूचक तयार पार्ने प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयका अनुसार आगामी दिनमा कर्मचारीको मूल्याङ्कन प्रत्यक्ष रूपमा कार्यसम्पादनसँग जोडिनेछ ।

सेवा लिन लाग्ने समय आधाभन्दा बढी घट्यो

मन्त्रालयले केही प्रमुख सेवाको समय उल्लेख्य रूपमा घटाउन सफल भएको जनाएको छ । विदेशी मुद्रा सटही सिफारिस, चलचित्र जाँचपास तथा वर्गीकरण, चलचित्र तथा डकुमेन्ट्री छायाङ्कन अनुमति जस्ता सेवामा पहिले तीनदेखि सात दिनसम्म लाग्ने गरेकामा अब एकदेखि तीन दिनभित्र सेवा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै फ्रिक्वेन्सी व्यवस्थापनसम्बन्धी सेवामा कम फ्रिक्वेन्सी भएका क्षेत्रमा पाँचदेखि सात दिन लाग्ने काम अब दुईदेखि चार दिनमा तथा बढी फ्रिक्वेन्सी भएका क्षेत्रमा १५ देखि २० दिन लाग्ने प्रक्रिया सातदेखि १० दिनमा सम्पन्न गर्न सकिने गरी समय घटेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नागरिकका गुनासा छिटो सम्बोधन गर्न मन्त्रालयले फोन, इमेल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्ने व्यवस्था मिलाएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित ‘हेलो सरकार’ प्रणालीमार्फत आएका उजुरी फछ्र्योटलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्त्रालयका अनुसार हालसम्म ‘हेलो सरकार’मार्फत ६२० वटा गुनासा प्राप्त भएका छन् । तीमध्ये ३४७ वटा गुनासा फछ्र्योट भइसकेका छन् भने बाँकी सम्बन्धित शाखा तथा मातहतका निकायमा पठाएर प्रक्रिया अघि बढाइएको छ ।

घरदैलोमै सरकारी सेवा

मन्त्रालयले सबैभन्दा महत्वाकांक्षी कार्यक्रमका रूपमा ‘सरकारी कुरियर सेवा’ (गभर्मेन्ट कुरियर सर्भिस) लाई अघि सारेको छ । यसको उद्देश्य सरकारी कागजात नागरिकको घरमै पुर्‍याउनु हो । मन्त्रालयका अनुसार असार १७ गतेसम्म दुई लाख चार हजारभन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ । त्यसमध्ये ७५ वटा जिल्लामा राहदानी सेवाग्राहीको घरमै वितरण गर्ने काम सुरु भएको छ । असार १७ गतेसम्म पाँच हजार ७२८ वटा राहदानी हुलाकमार्फत व्यक्तिको घरमै पुर्‍याइएको छ ।

त्यस्तै आठ लाख १० हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको छ भने विभिन्न जिल्लामा करिब ११ सय हाराहारी लाइसेन्स व्यक्तिको घरदैलोमै वितरण भएको छ । यसका अतिरिक्त नेपाल खुला विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीका प्रमाणपत्र घरमै पुर्‍याउने व्यवस्था सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमूना ढुवानी, स्वास्थ्य शिक्षा सामग्री वितरण, स्वास्थ्य बिमा बोर्डका सामग्री ढुवानीलगायतका कार्य पनि हुलाक प्रणालीमार्फत सञ्चालन भइरहेका छन् ।

स्मार्ट हुलाकतर्फ सरकार

हुलाक प्रणालीलाई आधुनिक बनाउन सरकारले ‘स्मार्ट हुलाक’ अवधारणा अघि सारेको छ । मन्त्रालयले देशभरका ५० वटा हुलाक कार्यालयलाई सूचना प्रविधिमा आधारित स्मार्ट हुलाकका रूपमा विकास गर्ने गरी छनोट गरेको जनाएको छ । यससँगै सात अङ्कको पोस्टल कोड लागू गरिएको छ भने अन्तर्राष्ट्रिय हुलाक सेवाको मापदण्डअनुसार प्रणाली अद्यावधिक गर्ने काम पनि अघि बढेको छ । डाँक ढुवानीका लागि नयाँ सवारीसाधन खरिद, अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सम्झौता तथा अन्तर्राष्ट्रिय ढुवानी प्रणाली व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

लाइसेन्स छपाइ अन्तिम चरणमा

सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइलाई तीव्रता दिँदै हालसम्म कुल लक्ष्यको ८२ प्रतिशत लाइसेन्स छपाइ सम्पन्न गरेको जनाएको छ । सरकारका अनुसार असार मसान्तसम्म २९ लाख स्मार्ट सवारी चालक अनुमति पत्र छपाइ गर्ने लक्ष्यसहित यातायात व्यवस्था विभागसँग भएको सम्झौताअनुसार २०८३ असार १६ गतेसम्म २३ लाख ७५ हजार १८१ थान अर्थात् ८२ प्रतिशत स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ । बाँकी छपाइ कार्य पनि निर्धारित समयसीमाभित्रै सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।

विगतमा स्मार्ट लाइसेन्सको अभाव र छपाइमा भएको ढिलाइका कारण लाखौँ सेवाग्राहीले लामो समयसम्म अनुमतिपत्र प्राप्त गर्न नसक्ने अवस्था रहेको थियो । पछिल्लो समय छपाइ क्षमतामा वृद्धि गरिएसँगै लामो समयदेखि थन्किएका आवेदनहरूको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ ।

त्यसैगरी, नयाँ आवेदनकर्ताका लागि पनि छिटो सेवा उपलब्ध गराउन द्रुत सवारी चालक अनुमतिपत्र छपाइ प्रणाली कार्यान्वयन गरिएको छ । हालसम्म प्राप्त दुई लाख १७ हजार ९६८ नयाँ आवेदनमध्ये यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी सम्बन्धित निकायलाई उपलब्ध गराइएको केन्द्रको भनाइ छ । यस व्यवस्थाले नयाँ आवेदनकर्ताले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

नेपाल टेलिकमका सेवामा सुधार

नेपाल टेलिकमले आफ्ना ग्राहक सेवामा सुधार ल्याउन डाटा व्यवस्थापन, इ–सिम, अनलाइन गुनासो, स्वतः नवीकरण प्याकेज तथा ‘वन स्टप सर्भिस’लगायत विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवामा सुधार ल्याउने उद्देश्यले विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । डाटा प्याक प्रयोग गर्ने ग्राहकका लागि अब प्याकेजको ९० प्रतिशत डाटा खपत भएपछि स्वतः सूचना प्राप्त हुने व्यवस्था लागू गरिएको छ ।

साथै ग्राहकले चाहेमा ‘पे एज यू गो’ सेवा बन्द गर्न सक्ने विकल्पसमेत उपलब्ध गराइएको छ । जसले प्याक सकिएपछि अनावश्यक रूपमा मुख्य ब्यालेन्सबाट रकम कटिने समस्या हटाएको छ ।

त्यसैगरी महिनैपिच्छे इन्टरनेट प्याक नवीकरण गर्नुपर्ने झन्झट हटाउन नेपाल टेलिकमले २९९, ४९९ र ७९९ रुपैयाँका ३० दिने ‘नमस्ते रिकरिङ’ प्याकेज सञ्चालनमा ल्याएको छ । यी प्याकेज स्वतः नवीकरण हुने भएकाले ग्राहकले प्रत्येक महिना नयाँ प्याक खरिद गर्नुपर्ने झन्झट हटेको छ ।

त्यस्तै, टेलिकमको सेवा सुधारका लागि ८०० मेगाहर्ज ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेपछि आफ्नो ४ जी इन्टरनेट सेवाको गति ५९ दशमलव ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । सेवा गुणस्तरमा सुधारसँगै डाटा ट्राफिकसमेत २४ दशमलव २ प्रतिशतले बढेको टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमका ग्राहकले सेवा लिन प्रत्येक पटक व्यक्तिगत विवरण बुझाउनुपर्ने बाध्यता हटाउन ग्राहकसम्बन्धी व्यवस्थापन प्रणालीमा एक पटक मात्र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । यसबाट एकपटक विवरण अद्यावधिक गरिसकेपछि भविष्यमा पुनः त्यही विवरण पेस गर्नुपर्ने झन्झट हट्नेछ ।

त्यसैगरी, नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ र आधिकारिक वेबसाइटमार्फत सेवासम्बन्धी गुनासो दर्ता गर्ने, त्यसको अवस्थाबारे जानकारी लिन सक्ने तथा समाधानको प्रतिक्रिया प्राप्त गर्न सकिने अनलाइन गुनासो तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याइएको छ ।

टेलिकमले डिजिटल सेवा विस्तार गर्दै ग्राहकले अब अनलाइनमार्फत नै इ–सिम प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । साथै नयाँ भौतिक सिम कार्डका लागि पनि अनलाइन आवेदन दिएपछि नजिकैको बिक्री केन्द्रबाट सिम लिन सकिने सुविधा सुरु गरिएको छ । ग्राहक सेवा थप सहज बनाउन नेपाल टेलिकमका सबै कार्यालयमा ‘वन स्टप सर्भिस’ प्रणाली कार्यान्वयन गरिएको छ ।

डिजिटल नेपाल अभियानले गति समात्दै

सरकारले पछिल्ला केही वर्षयता डिजिटल नेपाल अवधारणालाई प्राथमिकता दिँदै आएको भए पनि सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको आलोचना हुँदै आएको थियो ।

अहिले मन्त्रालयले ती कमजोरी हटाउने उद्देश्यसहित विभिन्न डिजिटल प्रणालीलाई एकआपसमा जोड्ने प्रयास थालेको छ । डिजिटल सुशासनलाई प्रभावकारी बनाउन मन्त्रालयले सूचना प्रविधि विधेयक र कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी विधेयकको प्रक्रिया अघि बढाएको जनाएको छ ।

नागरिक एपमा थपिँदै सरकारी सेवा

नागरिक एपलाई केवल सूचना दिने माध्यमबाट सेवा उपलब्ध गराउने एकीकृत डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । हाल प्रहरी प्रतिवेदन ट्र्याकिङसहित नागरिक एपमा आबद्ध भइसकेको छ भने राहदानी विभाग र यातायात व्यवस्था विभागसँग पनि समन्वय भइरहेको छ ।

यसका साथै जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा नागरिक एपसँग जोड्ने प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयसँग सम्बन्धित सेवा पनि एपमा आबद्ध गर्ने विषयमा छलफल भइसकेको छ भने थप छवटा सेवा समावेश गर्न आवश्यक सूचीकरण र प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

एकपटक दिएको विवरण फेरि नदिनुपर्ने व्यवस्था

सरकारले नागरिकलाई एउटै विवरण पटक–पटक बुझाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य पनि अघि सारेको छ । त्यसका लागि विभिन्न सरकारी निकायबीच सूचना आदानप्रदान गर्न सक्ने ‘अटो फिल’ प्रणाली विकास भइरहेको छ ।

कागजरहित प्रशासन

सरकारी कार्यालयमा फाइल हराउने, लामो समय एउटै टेबुलमा थन्किने तथा कुन कर्मचारीले कति समय फाइल रोकेर राख्यो भन्ने जानकारी नहुने समस्या समाधान गर्न सरकारले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस)लाई सुदृढ बनाउने अभियान थालेको छ ।

यसैगरी डिजिटल सेवा सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले सरकारी वेबसाइटलाई परिमार्जन गरेको जनाएको छ ।

नागरिक एपबाट सरकारी प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा पनि थप भएको छ भने डिजिटल सेवाको विस्तारसँगै अनलाइन अपराध नियन्त्रणलाई पनि मन्त्रालयले प्राथमिकता दिएको छ ।

एआई कानुनको तयारी

विश्वभर कृत्रिम बौद्धिकताको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपालले पनि पहिलोपटक यससम्बन्धी कानुनी संरचना तयार गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्बाट सिद्धान्ततः स्वीकृति प्राप्त भइसकेको छ ।

नेपालमा एआईको प्रयोग शिक्षा, स्वास्थ्य, बैंकिङ, सञ्चार तथा सार्वजनिक प्रशासनमा बढ्दै गइरहेका बेला यसको दुरुपयोग रोक्ने, व्यक्तिगत गोपनीयता संरक्षण गर्ने तथा जिम्मेवार प्रयोग सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताउँदै आएको थियो।

शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।

मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।

समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश (टीओआर) समेत तयार गरी सुझाव दिन भनिएको छ ।

मन्त्री चौधरीका अनुसार वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति हुने प्रक्रियामा निकुञ्जभित्र रहेका बस्तीहरू स्थानान्तरण गरिए पनि जग्गा तथा पुनःस्थापनासम्बन्धी समस्या हालसम्म समाधान हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै विस्थापित परिवारको उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको उनले बताइन् ।

सरकारले समितिको प्रतिवेदनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ। सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ ।

विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित बेग्लै मन्त्रालय गठन गरिएको छ ।

विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तताका कारण दक्ष जनशक्ति उत्पादनको उचित वातावरण अभाव र प्रतिभा पलायनको समस्या हुँदै आएकामा नवप्रवर्तन मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारित सरकारको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं ९ मा ‘मन्त्रालयहरूको सङ्ख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको सङ्ख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने’ योजना समाविष्ट थियो । सोही अनुसार मन्त्रालयहरूको सङ्ख्या १८ कायम गरी बेग्लै नवप्रवर्तन मन्त्रालय बनाइएको छ ।

संयोग, बेग्लै विज्ञान तथा प्रविधि मन्त्रालय र यस क्षेत्रलाई कूल पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम विनियोजनको माग उठाउँदै आएका अभियन्ता, वैज्ञानिक र स्वतन्त्र सांसद महावीर पुनले यसै मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ । मन्त्रीमा नियुक्त भएर गत जेठ २७ गतेदेखि बहाली गरेपछि पुनले शून्यबाट यस मन्त्रालयको कामलाई अघि बढाउने उद्घोष गर्नुभएको थियो ।

अर्थतन्त्र सुधारेर देशलाई समृद्ध कसरी बनाउने र विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित जनतालाई विस्तारै सिकाउन निरन्तर लाग्ने प्रतिबद्धता पनि व्यक्त उहाँले गर्दै आउनुभएको छ ।

प्रतिनिधिसभाको चुनावअघि साविक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भइसक्नुभएका पुनले नयाँ मन्त्रालयमा पदबहाली गरेसँगै शूून्यबाट काम थाल्नुपर्ने भएकाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विधेयक ल्याउने र मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गर्नुभएको छ । विभिन्न मन्त्रालयमा छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारीरूपमा अगाडि बढाउने भन्नेमा मन्त्री पुनको चासो रहेको देखिन्छ ।

सिंहदरबारस्थित साविकको युवा तथा खेलकुद मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हालेपछि मन्त्री पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न सार्वजनिक आग्रह गर्नुभएको थियो । विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिए पनि स्रोतको सीमिततका कारण त्यसअनुसार विनियोजन हुन नसकेको बताइएको छ ।

नवगठित यस मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने जिम्मेवारी दिइएको छ । वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको कार्यक्षेत्र पनि यही मन्त्रालयअन्तर्गत रहनेछ । मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, सर्वेक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ ।

मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले आफूहरूले सङ्गठन सर्वेक्षण, वेभसाइट निर्माण, तत्काल आवश्यक जनशक्तिको व्यवस्थापन र सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन आरम्भ गरेको जानकारी दिनुभयो । नयाँ मन्त्रालय भएकाले व्यवस्थापकीय र प्रशासकीय काममा केही समय लागे पनि आफूहरूले क्रमशः क्षेत्रगत विकासका कामलाई महत्व दिने उहाँको भनाइ छ ।

विगतमा शिक्षा मन्त्रालयसँग जोडिएको विज्ञान प्रविधि क्षेत्रका कार्यहरूः पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्याङ्क प्रणाली स्थापना, व्यवस्थापन र नियमनको जिम्मेवारी पनि यस नयाँ मन्त्रालयलाई दिइएको छ । जैविक तथा पारमाणविक प्रविधिको उपयोग, प्रवद्र्धन, नियन्त्रण र नियमनको काम समेत यही मन्त्रालयको काँधमा पर्नेछ ।
ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा सूचना प्रवाह, वैज्ञानिक उपकरणको क्यालिब्रेशन र प्रमाणीकरण, रासायनिक पदार्थको उपयोग तथा नियमनसम्बन्धी काम पनि यही मन्त्रालयको कार्यक्षेत्रमा परेको छ । सरकारले आणविक ऊर्जा र पारमाणविक पदार्थको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ । यस मन्त्रालयले पारमाणविक पदार्थ तथा बेवारिसे स्रोतहरूको खोज, पुनर्लाभ र व्यवस्थापन गर्नेछ भने आणविक ऊर्जासम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमनको जिम्मेवारी गर्नेछ ।

यस नयाँ मन्त्रालयको मातहतमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला तथा विज्ञान सङ्ग्रहालयसम्बन्धी विषयहरू पर्नेछन् । यस्तै नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई समेत मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको छ । वस्तु तथा सेवा, प्रक्रिया, प्रविधि तथा डिजाइनको विकास, सुधार र प्रयोगदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा नवीनतम अवधारणाको अध्ययन, अनुसन्धान तथा उपयोगको जिम्मेवारीका साथै विज्ञान तथा प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तररााष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्ने अधिकार यस मन्त्रालयमा रहेको छ । यसअघि विज्ञान तथा प्रविधिको विषय कहिले शिक्षा मन्त्रालयअन्तर्गत, कहिले वातावरण मन्त्रालयसँग जोडिएर सञ्चालन हुँदा यस क्षेत्रले संस्थागत स्वरुप नपाएको गुनासो आएको थियो ।

विश्वमा ब्राजिल र मलेसियामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन नामको यस्तै र बेग्लै मन्त्रालय रहेको देखिन्छ भने थाइल्याण्डमा शिक्षा, विज्ञान, अनुसन्धान र नवप्रवर्तन मन्त्रालय रहेको छ । चीन, भारत, दक्षिण कोरिया, जापान, इन्डोनेसियालगायत मुलुकमा विज्ञान तथा प्रविधि मन्त्रालयहरू सञ्चालनमा रहेका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु चार अर्ब र ‘नेपाल इन्टरप्राइज फसिलिटी’का लागि रु ५० करोड विनियोजन गर्नुभएको छ । बजेटमा स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा ‘नेपाल इन्टरप्राइज फसिलिटी’ स्थापना गरिने उल्लेख छ । प्लेटफर्मले उद्यम सम्वद्र्धन गतिशील व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशनसहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउनेछ बजेटमा भनिएको छ ।

कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने र युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरिएको छ । खोचीय पर्यटन प्रवद्र्धन गर्न सरसफाइ आधार शिविरमा एडभेन्चर केन्द्र स्थापनाका लागि रकम विनियोजन भएको छ ।

मन्त्री पुनले मन्त्रालयको सङ्गठन सर्वेक्षण तथा व्यवस्थापनको काम सकिएको जनाउँदै अब मन्त्रालय सञ्चालनका लागि केही नभई नहुने कानुन तर्जुमाको काम सुरू भएको बताउनुभयो । उहाँले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन, नवप्रवर्तन तथा स्टार्टअप प्रवद्र्धन ऐन, उन्नत औद्योगिक प्रविधि प्रवद्र्धन ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ऐन २०४८ संशोधनकोक काम अबको पाँच महिनामा पूरा हुने अपेक्षा व्यक्त गर्नुभयो । ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ हाल संसदीय समितिमा विचारधीन रहेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रवक्ता एवं वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले बेग्लै मन्त्रालय हुन आमरूपमा सकारात्मक भएको बताउँदै नाष्टजस्ता प्राज्ञिक र स्वायत्त संस्थालाई योजना तहदेखि नै सम्लग्न गराइँदा विज्ञान प्रविधिले क्षेत्रले थप लाभ लिन सक्ने बताउनुहुन्छ । “विज्ञान र प्रविधिको काम निजामतिमा जस्तो १०–५ को जागिर होइन । त्यसबाट माथि उठेर प्राज्ञिक र अनुन्धानमुखी सोच र शैलीमा जान सकिएमा नवप्रवर्तनका कामहरू हुन सक्छन् । सरकारले थप जिम्मेवारी र स्रोत, साधनमा प्राथमिकता दिएमा हामी सक्दो योगदान गर्न तत्पर छौँ । यस विषयमा मन्त्रालयसँग विस्तृत छलफल हुन पाएको छैन ।’’, प्रवक्ता डा पौडेलले भन्नुभयो । नाष्टको कुलपति पदेन प्रधानमन्त्री र सहकुलपति विज्ञानमन्त्री रहने व्यवस्था छ ।

नेपालको संविधानमा विज्ञान तथा प्रविधिलाई देशको विकाससित आबद्ध गर्दै वैज्ञानिक अध्ययन, अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने नीति व्यवस्था गरेको छ । नेपाल सरकारले ल्याएको ‘राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति, २०७६’ ले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ को सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिइएको थियो । त्यही नीतिको निरन्तरता र समयको माग सम्बोधनका क्रममा यो मन्त्रालयको गठन भएको देखिन्छ ।

वैज्ञानिक प्रा डा दिनेशराज भूजूको संयोजकत्वमा रहेको नौ सदस्यीय कार्यदलले देश विदेशका विज्ञ र सरोकार भएकासँग छलफल गरी आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि उक्त नीति सिफारिस गरेको थियो । नेपालमा २०५३ सालमा छुट्टै मन्त्रालयका रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएको थियो भने २०६१ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि नीति र २०७२ सालमा राष्ट्रिय परमाणु नीति जारी गरेको थियो ।

नीतिले औद्योगिक उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिको व्यवसायीकरण र भूमिको उपयोग, दिगो पूर्वाधार विकास (आवास, खानेपानी, पर्यटन र हरित ऊर्जा), जैविक तथा बहुमूल्य खनिज स्रोतको दिगो उपयोग, वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, सेवा प्रवाह, साइबर तथा राष्ट्रिय सुरक्षालाई वैज्ञानिक अनुसन्धानको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । मुलुकको द्रुत आर्थिक विकास र प्रगतिशील समाजको उत्थानको सपनालाई साकार बनाउने मूल आधार नै नवप्रवर्तनसहितको प्रविधि र वैज्ञानिक दृष्टिकोण जगाउने शिक्षा पद्धतिका लागि पनि सो नीतिले योगदान दिँदै आएको छ ।

नेपालमा विज्ञान तथा प्रविधिको अनुमानित १२० भन्दा बढी संस्था र ९० हजार जनशक्ति रहेको छ भने जनशक्तिको प्रक्षेपण गरेर बजारको आवश्यकतानुसार उत्पादन र योगदान दिलाउनुपर्ने चुनौती मुलुक सामु रहेको छ ।

नेपालमा हरेक वर्ष हजारौँ युवा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक विषय अध्ययन गरी स्वदेश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा स्थापित भइरहेका छन् तर उनीहरूको ज्ञान र सीपलाई राष्ट्रिय विकाससँग जोड्ने प्रभावकारी संयन्त्रको अभाव महसुस हुँदै आएको थियो । नयाँ मन्त्रालयले अनुसन्धानमा लगानी बढाउने, नवप्रवर्तन केन्द्रहरूको विकास गर्ने तथा युवा वैज्ञानिक र उद्यमीहरूलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्दै ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्न अगुवाइ गर्ने विश्वास गरिएको छ ।

बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट विनियोजनमाथि पनि सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।

प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ?

काठमाडौँ, १७ – संसारमा धेरैजसो देशहरु प्रजातान्त्रिक शासन प्रणालीका छन् र केही देशहरु प्रजातन्त्रबाहेकका शासन प्रणालीमा छन् । ती देशहरुमा या त एकदलीय शासन छ या त सैनिक शासन छ या त निरङ्कुश राजतन्त्र छ ।

सबै देशहरु आजभोलि आफ्नो शासन प्रणालीलाई जनताका पक्षमा रहेको दाबी गर्दछन् र त्यो नै स्वतन्त्र राज्यको विशेषता हो लोकतान्त्रिक शासन प्रणालीलाई नै नमुना र आदर्श शासन प्रणाली हो भन्छन् । यसले के स्पष्ट पार्छ भने लोकतान्त्रिक शासन प्रणालीको आवश्यकता र स्वीकारोक्ति सबैलाई छ तर आफ्ना आफ्ना स्वार्थका लागि शासकहरुले अप्रजातान्त्रिक व्यवस्था थोपर्छन् र भन्छन् यो नै व्यवस्था प्रजातान्त्रिक हो ।

भिन्न–भिन्न राजनीतिक व्यवस्था भएका देशहरुमा नागरिक शिक्षाको अर्थ र क्षेत्र पनि फरक–फरक हुनसक्छ । खुला राजनीतिक र प्रजातान्त्रिक व्यवस्था भएका देशहरुमा जुन–जुन जानकारीहरुलाई नागरिक शिक्षाको आवश्यक तत्व मानिन्छ, ती तत्वहरु निरङ्कुश शासन प्रणालीमा बर्जित गरिएको हुनसक्छ । बहुलवादी समाज र बहुदलीय व्यवस्था भएको देशमा प्रजातन्त्रका आवश्यक तत्वहरु, राजनीतिक दलहरुको अधिकार, काम कर्तव्य र विधिको शासन नागरिक शिक्षाको अङ्ग हुनसक्छ भने निरङ्कुश वा एकदलीय वा निर्दलीय शासन प्रणाली भएका देशहरुमा त्यस्तो शिक्षामाथि प्रतिबन्ध लागेको हुनसक्छ ।

प्रजातन्त्र वा लोकतन्त्र भएका देशमा नागरिक शिक्षाले स्वशासन, सुशासन र नागरिकले आधारभूत तर जान्नै पर्ने कुराहरु भनेर बुझिन्छ । नागरिकहरुले आफ्नो पहिचान थाहा पाउने र आफ्नै शासनका लागि सक्रिय रुपमा भाग लिन दिइने शिक्षा भएकाले नै नागरिक शिक्षा नाम दिइएको हो ।

प्रजातान्त्रिक बहुलवादी समाजमा प्रत्येक नागरिक सक्रिय सदस्यको रुपमा हुन्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिक आफनो अधिकार र कर्तव्यमा सजग हुनुपर्छ । त्यस्तो सजगता सदस्यको सक्रिय सहभागिताले मात्र सम्भव छ । नागरिकको सक्रिय सहभागिताले मात्र नागरिकमा समालोचनात्मक चेत पलाएको हुन्छ । नागरिक शिक्षा भनेको नागरिकलाई दिइने त्यस्तो शिक्षा हो जसले नागरिकलाई असल बन्न सघाउँछ । यसले हरेक नागरिकलाई आपसमा मिलेर बस्न सिकाउँछ, हामी सबैलाई एउटै समाजका सदस्यहरु हौँ भनेर सिकाउँछ र विश्व नै एउटा परिवार हो भन्ने शिक्षा प्रदान गर्दछ ।

हाम्रो पूर्वीय मान्यतामा सम्पूर्ण पृथ्वीलाई नै एउटै परिवार हो भनिन्छ– वसुधैव कुटुम्बकम् । राज्य र समाजका प्रत्येक कार्यमा नागरिकको सक्रिय सहभागिताको चेतना दिन्छ । हाम्रो प्रत्येक दायित्व बहनमा आफनो व्यक्तिगत स्वार्थ झल्किनुहुँदैन । सबैको हितमा बढी ध्यान दिनुपर्छ भन्ने शिक्षा नागरिक शिक्षाले दिनुपर्छ ।

नागरिक शिक्षाले घरपरिवारमा गर्नुपर्ने कर्तव्य, समाजमा बहन गर्नुपर्ने दायित्व, सडकमा या यात्रामा गर्नुपर्ने कर्तव्य, बजारमा जाँदा पसलमा, पैसाको कारोबार गर्न बैंकमा जाँदा बैंकमा वा एटिएयम बुथमा पालना गर्नुपर्ने कर्तव्य, विद्यालय तथा क्याम्पसमा पूरा गर्नुपर्ने कर्तव्य, एकजना नागरिकले अन्य समाजका सदस्यहरुसँग गर्नुपर्ने व्यवहारको ज्ञान दिएको हुन्छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरु हुन्छन, ज्येष्ठ नागरिकहरु हुन्छन्, अशक्त व्यक्तिहरु हुन्छन्, तिनीहरुसँग गर्ने व्यवहार सभ्य र सहयोगी हुनुपर्छ । आफूभन्दा सानालाई माया गर्ने र सहयोग गर्ने बानी हुनुपर्छ ।

घरपरिवारमा आफूभन्दा मान्य, आफूसरहका र आफूभन्दा साना व्यक्तिहरु पनि हुन्छन् । सबैलाई श्रद्धाभाव राख्ने र माया गर्ने बानी बसाउनुपर्छ । देशमा भएको शासन व्यवस्थाको बारेमा जान्नुपर्छ । कुनै पनि नागरिकले मलाई प्रचलित कानुन थाहा छैन भन्न पाइँदैन । राज्यको संविधान, प्रचलित कानुन, नियम थाहा हुनुपर्छ । आफ्नो अधिकारको बारेमा पनि सचेत हुनुपर्छ । देशको राष्ट्रियताप्रति सम्मान गर्ने र देशको सुरक्षामा सदैव चनाखो हुनुपर्छ ।

त्यसैले एउटा असल नागरिक हुन नागरिकले थाहा पाउनु जरुरी छ–नागरिक शिक्षा किन आवश्यक छ ?, नागरिकका लागि प्रजातन्त्र र मानव अधिकार किन आवश्यक छ र ती किन एकअर्काका लागि अभिन्न अङ्गहरु हुन् ?, राज्यद्वारा, समाजमा र परिवारमा, विद्यालयमा, क्याम्पस वा विश्वविद्यालयहरुमा सामाजिक न्याय कसरी प्राप्त हुन्छ ? कस्तो सामाजिक न्यायको अभ्यास गरिएको छ ? भन्ने प्रश्नहरुको जवाफ पाउन सकिन्छ । त्यस्तै कानुनी राज्यको सम्मान कसरी हुनसक्छ ? विधिको शासनमा कसरी कानुनको पालना गरिन्छ ?, राज्य र सरकार कसरी सञ्चालन भइरहेका छन् ?, मुलुकको इतिहास, भूगोल र राजनीतिक विकासक्रम कस्तो रह्यो ? अहिले कुन अवस्थामा छ ?, विश्व परिवेशमा आफ्नो अवस्था कस्तो छ ?, देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था कस्तो छ ? भन्नेलगायतका प्रश्नहरुका बारेमा पनि नागरिक शिक्षाबाट जानकारी पाउन सकिन्छ ।

नागरिकको पहिलो पाठशाला घरपरिवार

कुनै पनि नागरिकको सामािजक चालचलन र जीवनका लागि आवश्यक सीप भनेर सिकाइने नागरिक शिक्षाको पहिलो पाठशाला घर परिवार हो । त्यही समानता, सद्भाव र मिलेर बस्ने शिक्षाको प्रारम्भ हुन्छ, त्यसैले जीवनको पहिलो गुरु आमालाई मानिन्छ । त्यसपछि सामाजिक व्यवहारका बारेमा किनभने समाज जीवनको अर्को पाठशाला हो ।यसलाई विद्यालय भनेर औपचारिक मान्यता दिएका छौँ, त्यो विद्यालय आफैँ जीवनको पहिलो औपचारिक पाठशाला हो जसले समाजमा के गर्नुपर्छ, कसरी सीप सिक्ने र बाँच्न सक्ने भन्ने हुन्छ । समस्यासँग जुधेर समाधान गर्दै अरुको हित गर्न सकिन्छ र आफू जीवन सहज बनाउन सकिन्छ भन्नेकुरा विभिन्न विज्ञ र अनुभवी गुरुहरुबाट जान्न सकिन्छ ।

नागरिक शिक्षाको महत्व

हरेक नयाँ पुस्ता नयाँ नागरिक भएकाले उनीहरुलाई उनीहरुको व्यक्तिगत र सार्वजनिक आवश्यकताका बारेमा जानकारी दिनु आवश्यक छ । व्यक्तिगत तथा सार्वजनिक जीवनका आवश्यक गुणहरुको सिकाइ निरन्तर प्रक्रिया हो । प्रजातन्त्र खुला तथा स्वतन्त्र समाजको परिणाम भएकाले यस्तो समाजको प्रभावकारितामा नै लोकतन्त्रका आदर्शहरु सफल हुनेछन् । यसका लागि प्रत्येक नागरिकमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरुप्रति स्पष्ट प्रतिबद्धता आवश्यक पर्दछ । त्यसैले हरेक नागरिकमा प्रजातन्त्रका आदर्शका वारेमा आधारभूत ज्ञान आवश्यक हुनै पर्दछ । प्रजातन्त्र शासन पद्धतिमात्र होइन, त्यो त एउटा सहनशील संस्कृति र विधिको शासन पनि हो भन्ने कुरामा जोड दिने शिक्षाको आवश्यकता पर्दछ । प्रजातान्त्रिक चेतना नभएको खुला र स्वतन्त्र समाज अराजक भीड हुनजान्छ ।

विभिन्न जाति, भाषा, धर्म र संस्कृति भएको बहुलवादी समाजमा नागरिक शिक्षाको झन बढी महत्व हुन्छ । नागरिक शिक्षाको अभावमा विभिन्न जात, वर्ग र समूहको बीचमा असहिष्णुताको वातावरण सिर्जना हुनसक्छ र जातिगत, धर्मगत र भाषागत विवादले सामाजिक विवाद र आपसमा झगडा हुनसक्छ । नागरिक शिक्षा प्राप्त नागरिकले मात्र सामूहिक हितका बारेमा जानेको हुन्छ र त्यस्ता व्यक्तिले मात्र व्यक्तिको अधिकार र समूहको अधिकार अभ्यासमा योगदान दिनसक्छ । नागरिक शिक्षाको सही जानकारीले मात्र परिवार, समुदाय, समाज, गाउँ, जिल्ला, राष्ट्र र अन्तरराष्ट्रियमा समेत सकारात्मक प्रभाव पर्छ । नागरिक शिक्षाका अङ्गहरुमा मुख्यगरी निम्न तथ्यहरु पर्दछन्ः

नागरिक ज्ञान: आफ्नो देशको भूगोल, इतिहास, संविधान, संविधानमा भएका नागरिक अधिकारहरु—आधारभूत मौलिक हकहरु—जसलाई व्यक्तिको र समूहको अधिकारको रुपमा लिइन्छ, तिनको विस्तृत जानकारी आवश्यक छ । प्रजातन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, आर्थिक—सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारहरुका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रावधानका बारेमा ज्ञान आवश्यक छ । अधिकारका वारेमा जानकारी राख्दा नागरिकका कर्तव्यहरु पनि सँगसँगै आउँछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकारी आवश्यक छ । कतिपय यस्ता विषयहरु हुन्छन्, जसलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत मान्यता र सम्मान गरिएको हुन्छ । जस्तो कि नेपालको बारेमा जान्नैपर्ने कुराभित्र पर्दछ—संसारको सर्वोच्च शिखर नेपालको सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, संसारका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ, माता जानकीको जन्मस्थान जनकपुर र नेपालका अन्य विश्वमा प्रख्यात विषयका सम्बन्धमा ज्ञान राख्नु आवश्यक छ । ती आफू बसेको देशका बारेमा गौरवशाली कुराहरु हुन् जसमा नागरिकले गौरव गर्नसक्छ । अरुलाई त्यसबारेमा व्याख्या गर्नसक्छ । मुलुकको शिक्षामा नागरिक शिक्षालाई एकीकृत रुपमा समाहित गर्नुपर्छ, अपरिहार्य रुपमा नागरिक शिक्षालाई नागरिक समक्ष पु¥याउनुपर्छ । यसले नागरिकलाई जानकारीसहित सचेत बनाउँछ र आफ्ना बारेमा, समाजका बारेमा, राष्ट्रका बारेमा सकारात्मक र समालोचनात्मक सोचाइको विकास गर्दै असल नागरिक बनाउन मद्दत गर्दछ ।

नागरिक सीप: त्यसबेला मात्र नागरिक आफ्ना अधिकार र कर्तव्यप्रति सचेत हुन्छ जुनबेलामा नागरिक आफैँमा निर्णय गर्ने क्षमता राख्छ । त्यसका लागि उसले आफनो परिवेशको सम्पूर्ण जानकारी पाउनुपर्छ । आफनो परिवेशका बारेमा किन यस्तो भयो र अब के हुनुपर्छ भन्ने आलोचनात्मक सोच तयार गर्नसक्ने नागरिकले मात्र ठीकलाई ठीक र बेठीकलाई बठीक भन्न सक्छ । आफनो, समाज र देशका लागि आपसमा अन्तक्र्रिया गरेर निर्णय गर्नसक्ने सीपयुक्त नागरिकको आवश्यकता पर्छ । त्यस्तो सीप नागरिकले हासिल गर्नुपर्छ । आफनो, परिवार, समाज र राष्ट्रका बारेमा एउटा नागरिकमा आलोचनात्मक सोचाइको सीप आवश्यक पर्दछ । बाँच्नका लागि आवश्यक सीपको पनि जरुरत पर्दछ । आफनो बलबुतामा बाँच्ने सीप भनेको स्वाभिमानको पक्ष हो । प्रत्येक नागरिकमा एकअर्कासँग गर्ने व्यवहार र देशको राजनीतिक व्यवस्थाका वारेमा निर्णय लिनसक्ने क्षमता हुनुपर्छ । निर्वाचनमा कसलाई मत दिए आफ्नो देशको र समाजको हित हुन्छ भन्ने निर्णय गर्नसक्ने क्षमता पनि नागरिकको सीप हो ।

नागरिक दायित्व : अधिकारसँगै कर्तव्यको पनि प्रसङ्ग स्वतः आउँछ । अधिकार भनेको नागरिक भएबापत राज्यबाट पाउने विशेष सुविधा हो । त्यस्तो सुविधा प्राप्त गर्न नागरिक कर्तव्य पूरा गरेको हुनुपर्छ । जस्तो कि कर तिर्नेले मात्र राज्यको सामाजिक सुरक्षाको सुविधा पाएको हुन्छ । बिमाको रकम तिर्नेले मात्र बिमाको सुविधा पाएको हुन्छ । पानीको, बिजुलीको, फोनको कर तिर्नेलाई मात्र ती चिजहरुको उपयोग गर्न पाउने हक हुन्छ । प्राप्त अधिकारले जुन परिणाम दिएको हुन्छ, त्यसको कार्यान्वयनमा नागरिकको कर्तव्यको सकारात्मक प्रयोगको आवश्यकता हुन्छ । व्यक्तिगत तथा सामूहिक जीवन पद्धतिका साथै मानव मर्यादाको सम्मान गर्ने, नागरिकका गतिविधिहरुमा अर्थपूर्ण र प्रभावकारी तरिकाले सहभागी हुने, प्रजातन्त्रको स्वस्थ विकास गर्ने, जैविक, सामाजिक, वातावरणीय, सांस्कृतिक, भाषिक तथा धार्मिक बहुलताको सम्मान गर्ने आदि दायित्व नागरिकमा रहेको हुन्छ । नागरिक शिक्षामा नागरिक दायित्व वा कर्तव्यलाई नागरिक शिक्षाको एउटा प्रमुख अ¬ङ्गको रुपमा लिइन्छ ।

चरित्र निर्माणः चरित्र निर्माण गर्नु नागरिक शिक्षाको प्रमुख कर्तव्य हो । असल नागरिकले मात्र प्रजातान्त्रिक व्यवस्थालाई सहज तरिकाले अभ्यास गर्नसक्छ । नागरिकलाई चरित्रवान बनाउने शिक्षा नै भएकाले चरित्र निर्माण एउटा अङ्गको रुपमा मानिन्छ । अनुशासित र सचेत नागरिकले मात्र आफनो, परिवारको, समाजको र राष्ट्रको विकास गर्नसक्छ । असल चरित्र भएको नागरिकले मात्र समाजलाई डो¥याउन सक्छ । त्यसैले असल चरित्र निर्माणका लागि नागरिक शिक्षाको आवश्यकता परेको हो । चरित्र निर्माणले नागरिक कर्तव्य पूरा गर्नका लागि नागरिकलाई उत्प्रेरित गर्छ । असल चरित्र भनेको सत्यप्रतिको सम्मान हो । आफूप्रति, परिवारप्रति, समाजप्रति र आफनो परिवेशप्रतिको सकारात्मक सोचाइ निर्माण गर्नु नै चरित्र निर्माण हो । सबै मानवप्रति समान व्यवहार गर्ने क्षमता विकास गर्नु नै चरित्र निर्माण हो । असल चरित्र बिनाको मानिस त समाजका लागि काम नलाग्ने वस्तुजस्तै हुन्छ ।

नागरिक कर्तव्य

एउटा नागरिकले आफू उत्पादनशील भएर राज्यलाई योगदान दिनसक्छ । नागरिक नै त हो उत्पादनशील, उद्यमशील, व्यवसायी हुने, उद्योगपति हुने, श्रमिक भएर उत्पादन गर्न सहयोग गर्ने, कलाकार हुने, साहित्यकार हुन, शिक्षक, प्राध्यापक, प्रहरी, सेना, निजामती सेवाका कर्मचारी, चिकित्सक, इन्जिनियर, सेवाप्रदायक तथा कृषक भएर सबैको सेवा गर्ने । अरुको दुःखमा दुःख नै सम्झेर सबैको सेवा गर्नु र आफूले जानेको कुरा अरुलाई सिकाएर असल नागरिकको कर्तव्य पूरा गर्न सकिन्छ । यसरी सकारात्मक सोच र सहयोगले पनि राज्यलाई योगदान पुग्नसक्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिकले आफना कर्तव्यहरु पूरा गर्नुपर्छ । हामीले स्थानीय, प्रादेशिक तथा सङ्घीय व्यवस्थापिकाका लागि आफना प्रतिनिधि निर्वाचित गर्छौं । तिनीहरुले कानुन बनाउँछन । हामीले ती कानुनहरुका बारेमा जान्नैपर्छ । ती कानुनको के असर पर्छ भन्ने जान्नैपर्छ र ती कानुनहरु मान्नुुपर्छ । पदमा रहेकाहरुको कामको र उत्तरदायित्वको आधारमा आदर र सम्मान गर्नुपर्छ । सरकारलाई कर तिर्ने दिन तोकिएको छ भने त्यो बेलासम्म कर चुक्ता गर्नुपर्छ किनभने त्यही कर जम्मा भएर मुलुकको ढुकुटी बन्छ जसबाट जनताका आवश्यकताका लागि खर्च गरिन्छ । मौलिहकहरु अभ्यासका लागि आवश्यक रकम त्यहीँबाट खर्च गर्नुपर्छ किनभने सामाजिक न्यायका लागि समान व्यवहार गर्न पनि सरकारसंग आम्दानी हुनैपर्छ, त्यो आम्दानीको स्रोत भनेको भन्सार कर, आय कर, घरजग्गा कर र मालपोत नै हो ।

देशको संविधान र कानुनको बारेमा जानकारी राख्नैपर्छ किनभने मलाई कानुन थाहा छैन भनेर कानुनले छुट दिँदैन । प्रजातान्त्रिक प्रक्रिया, उदार समाज र समुदायको हितका विषयमा जानकारी राख्नुपर्छ । आफ्नो स्थानीय समुदायका काममा सहभागी हुनुपर्छ । देशको पक्षमा अडिग भएर लाग्नुपर्छ । देशद्रोह ठूलो अपराध हो, आफ्नो देशप्रेम र राष्ट्रियताप्रति सधैँ गर्व गर्नुपर्छ । एउटा देशद्रोही दुईपटक मर्छ, एकपटक देशप्रति गद्दारी गरेको दिन अनि अर्कोपटक साँच्चै काल आएको दिन । ‘जननी जन्मभूमिश्चः स्वर्गदपि गरीयसी’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन्, महत्वपूर्ण हुन्छन् र श्रद्धेय हुन्छन् ।

एउटा नागरिक र राज्यका बीचमा कसिएको सम्बन्ध भनेकै राष्ट्रप्रेम हो, राष्ट्रियता हो र राष्ट्रको माया हो । राष्ट्र भनेको भौगोलिक सीमा भएको विभिन्न संस्कृति, जातजाति र भाषाको संगम स्थल हो । यो सार्वभौमसत्ता सम्पन्न हुन्छ, यसमा जनताले चुनेको सरकार हुन्छ, यो आफ्नो भोगचलन गरिएको भूमिलाई आफ्नै देश भनेर आवागमन गर्न स्वतन्त्र हुन्छ र खासमा त्यहाँ जनता हुन्छन् । त्यसैले आधुनिक परिभाषामा राष्ट्र वास्तवमा भूमिसहितको जनता हो । भूमि मात्रले राष्ट्रको अर्थलाई सङ्कुचित बनाउँछ । उपयुक्त तथ्यहरु र तर्कहरुले नागरिक शिक्षा विद्यालयदेखि विश्वविद्यालयहरुसम्म पनि एकीकृत शिक्षाको रुपमा दिनु नै राज्यको कर्तव्य हो र ती शिक्षालाई ग्रहण गरी अभ्यासमा ल्याउनु नै नागरिक कर्तव्य हो ।