`

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबर बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ ।

यस्तै, अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा। पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/ ८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो । यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत भएको उहाँले बताउनुभयो ।

सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७ दशमलव ७० मेट्रिक टन खपत भएको उहाँको भनाई छ । पोटास १२५ मेट्रिक टन माग गरिएकामा ९२ दशमलव ६५ मेट्रिक टन खपत भएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भएको तथ्याङ्कले देखाएको छ । डिएपीको माग ६०० मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने पोटास १५० मेट्रिक टन माग गरिएकामा ९२ मेट्रिक टन मात्र खपत भएको थियो ।

चालु आव २०८२/८३ मा भने डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्रै प्राप्त भएको छ भने ४३६ मेट्रिक टन खपत भइसकेको छ ।

यसैगरी चालु आवमा युरियाको माग एक हजार ५०० मेट्रिक टन गरिएको थियो । त्यसमध्ये एक हजार २८८ मेट्रिक टन प्राप्त भएको र एक हजार २६० मेट्रिक टन खपत भइसकेको शाखाले जनाएको छ । पोटास १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन खपत भएको छ । धान रोपाइँको सुरुआती चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षहरूमा डिएपी मलप्रति किसानको आकर्षण बढ्दै गएको शाखा प्रबन्धक पाण्डेले बताउनुभयो ।

युरियाको प्रयोग भने बालीको वृद्धि चरणमा हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको उहाँको भनाइ छ । सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको पाण्डेले बताउनुभयो ।

यहाँ हरियो मल विशेष गरी माँडी फाँटमा प्रयोग बढी भएका कारण अन्यत्रजस्तो धान बालीमा युरिया मलको प्रयोग कम हुने गरेको छ । परापूर्वकालदेखि नै यहाँ ढैंचा छर्ने गर्दछन् । यसले माटो हलुवा मात्र होइन उत्पादन बढाउने भएका कारण आफ्नो क्षेत्रमा युरिया मलको प्रयोग धान बालीमा नगर्ने गरेको रुप्सेका किसान छवि थापा बताउनुहुन्छ ।जिल्लामा रहेका दश स्थानीय तहमा सूचीकृत सहकारी संस्थाहरुले स्थानीय तहकै सिफारिसमा कम्पनीको कार्यालयबाट मल लैजान र किसानहरुलाई बिक्री वितरण गर्दै आएका छन् ।

पोखरा महानगरको ७ अर्ब १५ करोड २५ लाख बजेट पारित

कास्की। पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ ।
नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।

महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख, समानिकरण अनुदान रु ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानिकरण अनुदान तर्फ रु आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु नौ करोड १५ लाख ३६ हजार रहेको छ ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट रु चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ ।

नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक ले खा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गर्नुभयो ।

फिफा विश्वकप : सेनेगललाई ३–२ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ ।सिएटलमा भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदैं बेल्जियम फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। युरी टिलेमान्सले बेल्जियमका लागि खेलको ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए ।बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।

सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा

काठमाडौँ: अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ ।

दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक दर्जनभन्दा बढी पुराना र अव्यवहारिक कानुनको खारेजी प्रक्रिया अगाडि बढाएको छ । अव्यवहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानुनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वास वृद्धि भएको छ ।

गत चैत १३ गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने १५ वटा पुराना कानुन खारेज गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गर्नुभएको थियो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक सङ्गठनका सिफारिसका आधारमा सो निर्णय गरिएको उहाँको भनाइ थियो । पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

१०० खर्बको अर्थतन्त्रको सपना

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले यसबीचमा सबैभन्दा जोड दिएको महत्वपूर्ण विषय हो, रु १०० खर्ब बराबरको अर्थतन्त्र । यसलाई अर्थमन्त्री डा वाग्लेले पनि प्राथमिकतामा राख्नुभएको छ । मुलुकको आर्थिक उन्नयनका लागि अर्थतन्त्रको आकारमा उल्लेख्य वृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । गत फागन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्रमा समेत सो विषय उल्लेख थियो ।

ऊर्जा उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधार गरेर अर्थतन्त्रको आकारमा बढोत्तरी गर्ने र त्यसका लागि मिसन मोडमा काम सुरु भएको अर्थमन्त्रीले पटक पटक दोहोर्याउँदै आउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरुप नै केन्द्रीत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलरभन्दा माथि पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सोही नीतिलाई अभिव्यक्त गरेको छ ।

बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य राखेको छ । नेपाल ‘विश्व बैंकको मापदण्ड’ अनुसार नेपाल निम्न आय भएको मुलुकमा छ । आगामी ५ वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य राखिएको छ ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ । सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गरिएको छ । मेरिटोक्रेसी कार्यान्वयन गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धतालाई व्यवहारिक रुप दिइएको छ । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण तय गरिएको छ ।

आगामी आवको बजेटमा सरकारले पाँच प्राथमिकता तय गरेको छ । सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान । तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिट । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो । यसलाई बजेटमा निदृष्ट गरिएको छ । राजनीतिक स्थायित्व प्राप्त भएकाले इमानदारीपूर्वक देश अघि बढाउँदा देशले आर्थिक उन्नयनको दिशामा मार्ग प्रशस्त गर्छ भन्ने विश्वास सरकारको छ ।

मध्यपूर्वको युद्धका कारण रेमिट्यान्स, पेट्रोलियम पदार्थको मूल्य र रासायनिक मल लगायतमा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन असरको विश्लेषण गरी सम्बोधन गरिएको छ । शनिबार र आइतबारको सार्वजनिक विदा सोही प्रयोजनका लागि दिइएको छ । आन्तरिक रूपमा रहेको आर्थिक शिथिलता, बेरोजगारी र सुस्त आर्थिक वृद्धिलाई सम्बोधन गरिएको छ । राजस्व सङ्कलन र खर्चमा देखिएको ‘खडेरी’ तथा बैंकमा निक्षेप बढ्दा पनि निजी क्षेत्रले ऋण लिन नसकेको अवस्थालाई क्रमशः सुधारको दिशामा अगाडि बढाइएको छ ।

बजेट निर्माणमा नागरिक सहभागिता

सरकारले बजेट निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ यस पटक सुझाव संकलन गर्न पोर्टल सञ्चालनमा ल्यायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।

सो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव दिए । सो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगियो ।

अर्थमन्त्रीको ‘मिसन’ मोड

अर्थमन्त्री डा वाग्लेले ‘मिसन मोड’ कामलाई प्रमुख प्राथमिकता दिने अर्थमा अगाडि सार्नुभएको छ । भाषणभन्दा पनि परिणामलाई केन्द्रमा राखेर तोकिएको समयसीमाभित्रै आर्थिक लक्ष्य हासिल गर्न राज्य सञ्चालनको कार्यशैलीमा परिवर्तन गरिएको छ । परम्परागत प्रवृत्तिलाई तोडिएको छ । डिजिटल ट्रयाकिङ, प्रत्यक्ष अनुगमन, र कडा कानुनी सुधार गरिएको छ । यसको मुख्य विशेषतामा परिणाममुखी कार्यशैली रहेको छ ।

भाषण वा सतही योजनामा सीमित नभई नतिजा निकाल्न अभिप्रेरित गरिएको छ । समयसीमा र कार्यसम्पादन सूचकांकको प्रयोग गरिएको छ । डिजिटल अनुगमनमार्फत आयोजना र नीति कार्यान्वयनको अवस्था कहाँ पुग्यो भनी प्रत्यक्ष ट्रयाक गर्ने व्यवस्था गरिएको छ । कानुनी तथा संस्थागत सुधारमार्फत निजी क्षेत्रको मनोबल उकास्न र लगानी आकर्षित गर्न नीतिगत अड्चन हटाइएको छ ।

संस्थागत उत्तरदायित्व कायम गरिएको छ । खर्च नियन्त्रण र गुणस्तर कायम गरिएको छ । अनावश्यक प्रशासनिक खर्च कटौती गर्ने, खुद्रा योजनाहरू क्रमशः बन्द गर्ने र खुला प्रतिस्पर्धामार्फत मात्र योजना कार्यान्वयन गर्ने प्रणालीको आत्मसात् गरिएको छ । विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित बनाउने लक्ष्य राखिएको छ ।

अर्थतन्त्रमा यसको प्रभाव र निजी क्षेत्रको अपेक्षा अनुसार क्रमशः विश्वासको वातावरण बन्दै गएको छ । विगतमा खस्केको व्यावसायिक मनोबल उकास्न र बजारमा रोकिएको माग सिर्जना गर्न कर कटौती र नीतिगत सहजता कायम गरिएको छ । कृषि, ऊर्जा, पूर्वाधार विस्तार र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई चलायमान गराउने प्रयास गरिएको छ ।

पेन्सनमा राहत

अर्थमन्त्रालयले यसबीचमा गरेको अर्को महत्वपूर्ण काम हो पेन्सनकर्ताले पाउँदै आएको अनावश्यक झन्झट । साढे तीन लाख पेन्सनकर्ताको झन्झट,अन्त्य गरेर ई पेन्सन प्रमाणिकरण प्रणाली सुरु गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात भएको छ । दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झरेको छ ।

निवृत्तभरक भौतिक रुपमा उपस्थित हुन नपर्ने र घरैबाट सेवा प्राप्त गने व्यवस्था कार्यान्वयनमा आएको छ । भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक सरदर रु १५ करोडले घट्नेछ । नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सहज भएको छ । पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटी कम भएको छ । यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ (निष्क्रिय ४४ हजार समेत) निवृत्तभरकको हैरानी समाप्त भएको छ । अनलाइनमा घरैबाट यो सेवा प्राप्त भएको छ ।

कर्मचारीलाई १५ दिनमा तलब

यस्तै, सरकारले गत वैशाख १६ गतेदेखि संघीय निजामती कर्मचारीलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउन थालेको छ । अर्थ मन्त्रालयले पाइलट परियोजनाका रूपमा अघि सारेको यो नयाँ कार्यान्वयन गरिएको छ ।

अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालयको कम्प्युटरराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रक्रियाको थालनी गर्नुभएको थियो । बजारलाई थप चलायमान बनाउन र उपभोग तथा मागमा वृद्धि ल्याउन सरकारले त्यस्तो नवीन निर्णय गरेको सरकारको प्रष्टोक्ति थियो ।

संघीय निजामती कर्मचारीमा लागू गरिएको र विस्तारै सबै सरकारी वेतनधारीमा विस्तार गर्ने सरकारको योजना छ । अर्धमासिक रूपमा पारिश्रमिक भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने र उपभोग खर्चको वितरण समान रूपमा फैलिने अपेक्षा छ ।

सो व्यवस्थाले सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्रको विकासमा समेत मद्दत पुग्ने छ । सो व्यवस्थाले कर्मचारीको वित्तीय व्यवस्थापनमा सहजता ल्याउने र समग्र आर्थिक गतिविधिमा गुणात्मक सुधार आउने छ ।

वार्षिक रु २० करोड भन्दा वढीको कारोवार गर्ने करदातालाई केन्द्रिय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्ने गरी आन्तरिक राजस्व विभागले थप प्रभावकारी काम अगााडि बढाएको छ । यसबाट राजस्व प्रणालीलाई पारदर्शी डिजिटल तथा प्रभावकारी बनाउन बल मिलेको छ । कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउन सरकारले आवश्यक काम गरिरहेको छ ।

मध्यमवर्ग विस्तार गर्ने बजेट

अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तार गर्ने, कमजोर वर्गलाई माथि उठाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब १४ अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभयो । कर्णाली, सुदूरपश्चिम प्रदेशलाई बजेटमा विशेष प्राथमिकतामा राखिएको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड,पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड ,वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु १४ खर्ब ०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड बेहोर्दा रु ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जान्छ । सो पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गरिनेछ । राजस्व र वैदेशिक सहायता परिचालनबाट पनि न्यून हुने रु चार खर्ब १० अर्ब बराबरको रकम भने आन्तरिक ऋणबाट उठाइनेछ ।

बजेटमा घोषणा गरिएका नीतिगत सुधारका कार्यक्रमबाट ७ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अर्थमन्त्रीको विश्वास छ । यस्तै, मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित रहनेछ । उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी करका दरमा पुनरवलोकन गरिएको छ । आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाखसम्म एक प्रतिशत मात्रै कर तिर्ने व्यवस्था बजेटमा गरिएको छ ।

व्यक्तिगत आयको करको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । बजेटले पूर्वाधार विस्तारलाई जोड दिएको छ । ऊर्जा, सडक पूर्वाधारको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि नीतिगत सुधारमा जोड दिइएको छ ।

अर्थतन्त्र सबल

चालु आर्थिक बर्षको १० महिनासम्ममा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण पठाएका छन् । गत बैशाख महिनामा मात्रै रु दुई खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ ।

यस्तै, गत वैशाख मसान्तमा रु कूल वैदेशिक मुद्राको सञ्चिती रु ३७ खर्ब चार अर्ब ५५ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब १९ करोड पुगेको छ । गत वैशाख मसान्तसम्म चालु खाता रु ७२९ अर्ब २८ करोडले बचतमा छ । यस्तै, शोधनान्तर स्थिति रु ८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ ।

इन्धन सुविधामा कटौती

सुधारको क्रममा अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गर्यो । अर्थमन्त्री डा वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न त्यस्तो निर्णय गरिएको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं ४९ मा रहेका इन्धनसम्बन्धी व्यवस्थाहरू संशोधन गरेको थियो ।

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले ७० लिटर मात्रै पाएका छन् । कूल १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीले ५० लिटर पाएका छन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा उपलब्ध छ ।

शासकीय सुधार

सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्ये अर्थ मन्त्रालयबाट आर्थिक पक्षसँग सम्बन्धित विषयहरूको कार्यान्वयन कार्ययोजना तयार गरी सम्बन्धित निकाय÷महाशाखालाई जिम्मेवारी तोकिएको छ । सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्येको बुँदा नं. ९४ मा समावेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सशक्तीकरण गर्नको लागि माग गरिएको बजेट निकासा गरियो ।

अर्थमन्त्री डा वाग्लेका अनुसार, बहु–च्यानल गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी वनाउँदै गुनासो सुनुवाई एवम् व्यवस्थापन गर्न क्यूआर कोडसहितको डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको छ । अवधिमा महालेखा नियन्त्रक कार्यालयको पाँच वर्षे रणनीतिक योजना, २०८२ स्वीकृत भई लागू भएको छ ।
राजस्व प्रशासन तथा भन्सार सहजीकरण

पश्चिम एसियामा उत्पन्न भएको तनावका कारण पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल) आपूर्तिमा अवरोध एवं विश्व वजारमा मूल्यवृद्धि भएको परिप्रेक्षमा जनतामा सोको भार कम गर्न पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइयो ।
शासकीय सुधार सम्बन्धी १०० कार्यसूची मध्येको बुँदा ९६ अनुरूप भन्सार विन्दुमा जफथ भएका सवारी साधनमध्ये छ सय ५१ वटा मोटरसाइकल र ४१ वटा चार पाङ्ग्रे सवारी साधन सुरक्षा निकायको लागि उपलब्ध गराउने निर्णय गरियो । ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय लगायत ४७ कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृतलाई अन्तःशुल्क ऐन, २०५८ अनुसारको जिम्मेवारी र अधिकार क्षेत्रसहित अन्तःशुल्क अधिकृत तोकियो ।

आर्थिक कूटनीति र लगानी प्रवद्र्धन

सघन आर्थिक कूटनीतिलाई पनि अर्थमन्त्रालयले प्रभावकारी रुपमा अगाडि बढायो । नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा निजी क्षेत्र एवं प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिसँग नेपालमा लगानी सुरक्षाको प्रतिबद्धता सहित नेपालमा लगानी भित्र्याउनका लागि पहल थालिएको छ ।
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्‍द्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा एवं हार्वड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित “द नेपाल डिस्कोर्स” मा अर्थमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि २ अर्ब ८५ करोड जापानी येन अनुदान सहायता सम्वन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरियो । लगानी बोर्ड अनुगमन तथा सहजिकरण बैठकमा बोर्ड अन्तर्गतका आयोजनाको कार्यान्वयन सन्दर्भमा वन तथा वातावरण सम्बन्धी विषयमा देखिएको समस्या समाधानको लागि आवश्यक सुझाव प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुर्नसंरचनाका लागि सुझाव पेश गर्न गठित समितिको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ बाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनमा गएको छ ।

आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ। कोशी र मधेश, प्रदेशमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा र मधेश प्रदेश र कोशी प्रदेश तराईको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 

कोशी र कर्णाली प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

काठमाडौँ, १८ असार : इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो ।

सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको सो कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा उल्लेख छ ।

मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराइएको छ ।

छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाडौं । छैटौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । विगत पाँच वर्षदेखि आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको छैटौं संस्करणको अवार्डका लागि आवेदन आह्वान गरिएको थियो ।

यस संस्करणको अवार्ड आगामी साउन ३ गते (१९ जुलाई)मा सिक्किमको याङयाङमा विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट साधकलाई दीर्घ साधना सम्मान अर्पण गरिने, गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । दीर्घ साधना र अन्य सम्मानको घोषणा पनि छिट्टै गरिने अध्यक्ष सुवदीले बताउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।

उत्कृष्ट गीतकार (आधुनिक)
प्रकाश सुवेदी – नआइदे याद
डिपी खनाल – बुझे हुन्छ कुरा
एसके बम्जन – जहाँ जहाँ तिमी
डाक्टर बिलोल पोखरेल – चिरा चिरा भो
नारायण नेपाल – वरको छायाँले
वावुराम श्रेष्ठ – खोज्दानी आफूलाई भेटाउन सकिन

उत्कृष्ट सङ्गीतकार (आधुनिक)
कमल अधिकारी – त्यो मिठो पल
राजकुमार बगर – तिम्रो साथमा
दीपक शर्मा – परेली परेली
हरि लम्साल – जेल पनि सहुला-२
सिडी विजय अधिकारी – चाहेर हुँदैन माया

उत्कृष्ट गायक (आधुनिक)
रोशन टमट्टा – मेरो मुटु जल्यो
सुरज श्रेष्ठ – माया प्यारो भो
झलक विवश – जमाना खराब छ
सुरेश लामा – त्यो मिठो पल
सौगातजंग थापा – मायाजाल मोहनी

उत्कृष्ट आधुनिक गीत गायिका
निता आचार्य – ताते ताते गर्दै
समिक्षा अधिकारी – चाहेर हुँदैन माया
सारिका घिमिरे – गुन भुल्यौ
पवित्रा गुरुङ – फाटेको मन
बविता भट्टराई – बन्द गर्‍यौ तिमीले

उत्कृष्ट नव मोडल
कुन्दन गुप्ता – वनमारा
मोहित वि.क. – कसम तिम्रो कसम
अपेक्षा सिं – मुइयालाई देखेसी
आरती बुढा – काठमाडौं वस्याकी
गीता पन्थी – मिठा मिठा मनका कुरा

उत्कृष्ट मोडल महिला (आधुनिक)
सुनिसा बजगाईं – मेरो करिम
सृष्टि खड्का – परदेश
झरना रिसाल – छेउमा न आउ कान्छि तिमी
कविता न्यौपने – चाहेर हुँदैन माया
पूजा ठाकुर – जानु त पर्छ एक दिन

उत्कृष्ट मोडल (पुरुष)
विनोद श्रेष्ठ – शोकाकुल
सञ्जित भण्डरी – खडकाजीकी छोरी
राजन आले – मलाई नरुवाउ
वीरेन्द्र नौभाग्ये – कास्की तिरै घर छ
मुकेश गुरुङ – परान

उत्कृष्ट मोडल लोक/पप (महिला)
अस्मिता जुरली – जुन छेउमा के हो र तारा
उषा सुवेदी – म त तिम्रो होइन मायालु
रिना थापा मगर – जाले रुमाल
गीता ढुंगाना – एकै वित्ताको दुरी
अस्मिता पुरी – साइलो रन भूलमा छ

उत्कृष्ट युगल गायन
निशान भट्टराई/एलिना चौहान – जुनै झार्छु
षडस सम्वाहाम्फे/रचना रिमाल – सिन्की अचार
अञ्जु पन्त/शिव शंगम राई – एक्लो परानी
रन्जन राई/अनु चौधरी – तिमी मेरो प्राण हौ
तारावीर पाण्डे/मिलन नेवा – कस्तो फेशन

उत्कृष्ट सङ्गीतकार (लोकपप)
शंकर थापा स्माइल – वुझे हुन्छ कुरा
राजेन्द्र बजगाईं – खड्काजीकी छोरी
भीम विसी – पाउजुको छम छम
उमेश मुस्कान – यति ठूलो संसारमै
सुरेश राना – माया गर्ने जोडी

उत्कृष्ट लोकपप गायन (पुरुष)
छविन गुरुङ – मेरो प्यारो सिक्किम
प्रकाशजंग कार्की – हेर्दा हेर्दै
वादल थापा – माया गर्ने जोडी
योगश काजी – गागरी
मुकेश कटुवाल – थाह छ मलाई

लोकपप गायन (महिला)
मञ्जु लावती – लेकैमा फूलने लालि गुरास
सज्जा चौलागाईं – खडकाजीकी छोरी
रेशमा पुन – मायाका गीत
रोजिना वस्नेत – माया गर्ने जोडी
एलिना चौहान – दोषी हैन

उत्कृष्ट छायाकार
अजय रेग्मी – नआइदे याद
रुपेश थापा – नाच भाइ नाच
दीपक गिरी – चाहेर हुँदैन माया
महेश महरा – सम्झिन्छु तिमीलाई पनि
उत्सव दाहाल – तिमी मेरो प्राण हौ

उत्कृष्ट निर्देशक
जनक सिं – चाहेर हुँदैन माया
पूजा ठकुरी – मेरो कोही छ
प्रविण थापा – म त तिम्रो हैन मायालु
महेश्वर सम्वाहाम्फे – जुनै झार्छ
कृष्ण रुपाखेती – ह्दयकी रानी

उत्कृष्ट सम्पादक
अमृत चापागाईं – परदेश
विनोद बम – मायालुको सिउदो
मनोज कार्की – माया मोह
विकाश दाहाल – ऐना जस्तो हिमाल हेर्दा
कल्पेश विश्वकर्मा – पहिलो हाँसो पहिलो बोल

उत्कृष्ट कोरियोग्राफर
पुनम श्रेष्ठ – राधिका
पवित्रा आचार्य – कम्मर झुकेझुला
सियोन श्रेष्ठ – सिक्का नोटैमा
रोशन वि.क. – नाच नाच भाइ
सन्दीप भुजेल – लालुपाते फूल टिपेर

उत्कृष्ट भाषाभाषी
सुनिल नेपाली – देउडा (गायन) पिरिमका खेल
ईश्वर मगिया – नेवारी (गायन) छ तिसे नितोपना
सेरु बराइली – पूर्वेली (रचना) उडी जाने शास
मञ्जु थापा – पूर्वेली (गायन) लेकैमा फुल्ने लालीमा
प्रमोद डिजी – देउडा (गायन) रुप्स्या पातली

उत्कृष्ट लोकदोहोरी गायक/गायिका
इव्सल सन्ज्याल – इति माया
जानुका तामाङ – आँखा लाएको
मिठाराम खत्री – ललितपुरे दाइ
करुणा राई – परदेशीको दुखी जीवन
सुरज केसी – गलवन्दीको छेउ
विनोद दनुवार – उडीमा जाने सास

उत्कृष्ट श्रृंगार
अमृत मरहाट्ठा – जहाँ जहाँ तिमी
सुभाष तिमिलसिना – जोवन सुइकेला
विक्रम गौतम – ए माया
नन्दा अधिकारी – सिन्की अचार
सरिता मगर – भेटन आउ है साझैमा

भ्रष्टाचार अभियोगमा मुद्दा दायर, १८ लाख ५० हजार बराबरको बिगो दाबी

काठमाडौँ। अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन महिनाको अहिलेसम्मकै लामो गर्मीको लहर बनेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।

अस्ट्रियाको मौसम एजेन्सी जियोस्फेयर अस्ट्रियाका अनुसार जुन महिनामा देशको औसत तापक्रम सामान्यभन्दा एका दशमलव चार डिग्री सेल्सियस बढी रहेको थियो।

जियोस्फेयर अस्ट्रियाका मौसमविद् अलेक्जेन्डर ओर्लिकले नयाँ तापक्रम रेकर्ड अघिल्ला रेकर्डभन्दा सामान्य अन्तरले मात्र नभई उल्लेखनीय रूपमा फरक रहेको बताउनुभएको छ।

मौसम एजेन्सीका अनुसार क्षेत्रअनुसार १० देखि १४ दिनसम्म ८०० मिटरभन्दा कम उचाइ भएका स्थानमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। जुन महिनामा यसअघि राष्ट्रव्यापी रूपमा यस्तो अवस्था कहिल्यै नदेखिएको ओर्लिकले बताउनुभयो।

अस्ट्रियाका ६६ मौसम केन्द्रमा वार्षिक तापक्रम रेकर्ड कायम भएको जनाइएको छ। उच्च पहाडी क्षेत्रमा जुन महिनाको दोस्रो भागमा तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब पाँच डिग्री सेल्सियस र सन् १९६१–१९९० को औसतभन्दा करिब सात डिग्री सेल्सियस बढी रहेको मौसमविद्हरूले बताएका छन्। जुन महिनाको अन्त्यबाट युरोपमा देखिएको गर्मीको लहर जलवायु परिवर्तनबिना सम्भव हुन निकै कठिन रहेको वैज्ञानिकको विश्व मौसम विशेषता समूहले जनाएको छ।

जर्मनी, पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया, हङ्गेरी, बेलायत र स्विजरल्याण्डमा पनि जुन महिनाका लागि हालसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको जनाइएको छ। फ्रान्सले उच्च औसत तापक्रम र अहिलेसम्मकै सबैभन्दा तातो रातको सामना गरेको थियो।

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी

काठमाडौँ ( कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छिनत् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएको हो ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौँ मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले ती विषयमा ध्यानाकर्षण गराएकी हहुन् ।

मन्त्री चौधरीले जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि नेपाललाई थप अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू उनले प्रस्तुत गरेकी थिइन् ।

मन्त्री चौधरीले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गरिन् । उनले नेपालको सफल सामुदायिक वन व्यवस्थापन कार्यक्रम, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा प्रकृतिमा आधारित समाधानलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गरेकी थिइन् ।

नेपालजस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरणमैत्री तथा जैविक उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा सहुलियतपूर्ण, प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनुपर्ने उनको जोड थियो । आजदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा समेत सक्रिय सहभागिता जनाई नेपालको दृष्टिकोणहरू राखेकी थिइन् ।

‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री, दशैँमा विश्वव्यापी प्रदर्शनको तयारी

काठमाडौँ । निर्देशक चन्द्र पन्तद्वारा निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हात पारिरहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।

यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार जापानका लागि ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ ले महँगो रकममा खरिद गरिसकेका छन्। आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का लगायतको को मुख्य भूमिका रहेको छ।

वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको भावनालाई केन्द्रमा राखिएको यो चलचित्रले यसपटक पनि दर्शकको मन छुने अपेक्षा गरिएको छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने भावनात्मक संवादले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।

प्रदर्शनमा आउनु अगावै वितरण अधिकार (डिस्ट्रिब्युसन राइट्स) बिक्री हुनुले चलचित्रको माग उच्च रहेको देखाउँछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्।

आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ नारा (स्लोगन) राखिएको यस चलचित्र पारिवारिक एवं भावनात्मक कथावस्तुमा आधारित छ। नेपालमा यस चलचित्रको वितरण ‘आरआर फिल्म्स’ ले गर्दै छ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले लिएको छ।

चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड भन्दामाथीको व्यापार गरेको थियो। जुन चलचित्र विकासvबोर्डले आफ्नो २६ वार्षिक उत्सवमा सर्वाधिक कमाउने सुचिमा राखेको छ।

‘बेबी डु डाइ डु’ नेपालमा रिलिज हुँदै, दर्शकका लागि टिकट बुकिङ सुरु

बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन लागेको हो । सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् ।

कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडियोमार्फत सिनेमा नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिएका छन् ।
साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो । केही हलमा सिनेमाको टिकट बुकिङ खुलाइएको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छ ।

एक्सन र थ्रिलर जनरामा बनेको सिनेमाका निर्देशक नचिकेत सामन्त हुन् । निर्माण टिमकाअनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ । उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवल्र्डसँग जोडिएर हिंसात्मक र खतरानाक आपराधिक क्रियाकलापमा सहभागि हुन्छिन् ।

ट्रेलरमा उनलाई एक हिटवुमनको रुपमा देखाइएको छ । विगत एक दर्दनाक घटनाको कारण उनी अपराध, बदला र मानसिक द्वन्द्वको चक्रमा फसिरहेको देखिन्छ । समग्रमा सिनेमाको कथा रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टहरूले भरिएको निर्माण टिमको दाबी छ।सिनेमामा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय रहेको छ ।

शान्त मुद्रा, गहिरो सोचः ‘अक्षरा’ को पहिलो लुक्समा छचल्कियो आन्तरिक पीडा

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ। साथै, यस फिल्मको पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्। यी उजाड रुखहरूले जीवनको शून्यता, निराशा वा सङ्घर्षको प्रतीकका रूपमा काम गरेका छन्, जसले पात्रको भित्री पीडाको सङ्केत गर्छ। फिल्मको कथाको मूल मर्मलाई निर्माण पक्षले पोस्टरमार्फत केही मात्रामा दर्शकमाझ भन्न खोजेको बुझ्न सकिन्छ।

अभिनेत्री न्यान्सीले यसअघि ‘१२ गाउँ’जस्तो ब्लकबस्टर फिल्म दर्शकमाझ दिइसकेकी छन् भने अनमोल केसीको आगामी फिल्म ‘बाटुलो जुन’मा समेत काम गरेकी छन्। सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी अमेरिकामै मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन्। ुमिस नेपाल इन्टरनेसनल २०२२ु को उपाधि विजेता अभिनेत्री खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको नाम उँचो बनाएकी थिइन्।

विनय राज पौडेलको निर्देशनमा निर्माण भएको यस फिल्ममा न्यान्सी खड्काका साथमा सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम के।सी।, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदिप धुलुङ्, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेल मुख्य भूमिकामा देखिनेछन्। यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन्।

सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवादमा निर्देशक पौडेललाई चर्चित लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने यसका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन्।

फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाको गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन रहेको छ। फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् भने रेनिस फागोले कलरिस्टको जिम्मेवारी निभाएका छन्। त्यसैगरी डुगराज घिमिरे कला निर्देशक, मदन न्यौपाने श्रृंगार, प्रार्थना भट्टराई वेशभूषा, र विपना बज्जन केश विन्यास विधामा आबद्ध छन्। फिल्मको निर्माण व्यवस्थापन सुमन काफ्ले र त्रिलोचन न्यौपानेले सम्हालेका छन् भने मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहरा तथा सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्। राकेश दाहालले पोस्टर डिजाइन गरेको यस फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रा.ली.का दीपक दंगालले देशभर वितरण गर्ने जिम्मा लिएका छन्।

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ। हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ ।बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको उक्त वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको हो ।

यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत विकास गरेको हो ।कूल ९.२ मिलियन अमेरिकी डलर लगानी रहेको यस चार वर्षे पहलमा जिसिएफबाट ८.५ मिलियन अमेरिकी डलर अनुदान समावेश छ । यस परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये एक कर्णाली प्रदेशमा पारिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु–सहनशील जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ ।

नाजुक पर्वतीय पारिस्थितिकीय प्रणाली, कठिन भूगोल, उच्च गरिबी दर तथा पहिरो, बाढी र लामो खडेरीजस्ता जलवायुजन्य विपद्हरूप्रतिको बढ्दो जोखिमले कर्णाली प्रदेश मुलुकमा जलवायु परिवर्तनका प्रभावप्रति सबैभन्दा संवेदनशील क्षेत्रहरूमध्ये एक हो ।यस परियोजनाले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३.०) तथा अन्य राष्ट्रिय जलवायु प्राथमिकताहरूको कार्यान्वयनमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै जलवायु नीतिहरूलाई स्थानीय तहमा ठोस कार्यमा रूपान्तरण गर्नेछ ।

पारिस्थितिकीय पुनःस्थापना, प्रकृतिमा आधारित समाधान, जलवायु–सहनशील जीविकोपार्जनका अवसर, समुदायमा आधारित पूर्वसूचना प्रणाली तथा स्थानीय संस्थाको सुदृढीकरणमार्फत यस परियोजनाबाट एक लाखभन्दा बढी मानिसले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास छ ।

साथै कर्णाली प्रदेशभर चार लाखभन्दा बढी मानिसको जलवायु उत्थानशीलता अप्रत्यक्ष रूपमा अभिवृद्धि हुनेछ । विशेषगरी महिला, आदिवासी जनजाति, दलित तथा अन्य सीमान्तकृत र जलवायु–संवेदनशील समुदायहरूको अर्थपूर्ण सहभागिता तथा समान लाभ सुनिश्चित गर्न विशेष जोड दिइएको छ ।

यो परियोजना राष्ट्रिय, प्रादेशिक तथा स्थानीय संस्थाहरूबीचको साझेदारीमार्फत कार्यान्वयन गरिनेछ । जिसिएफको मान्यताप्राप्त निकायका रूपमा रहेको एनटिएनसीले सहकार्यान्वयन निकायको भूमिका निर्वाह गर्नेछ ।

नेपाल सरकारको तर्फबाट थप दुई सहकार्यान्वयन निकाय रहनेछन् । त्यसमध्ये अर्थ मन्त्रालयले जिसिएफ स्रोतहरूको प्रवाह तथा व्यवस्थापनलाई सहजीकरण गर्नेछ ।

त्यस्तै कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय हस्तक्षेपको कार्यान्वयनको नेतृत्व गर्दै सहभागी स्थानीय सरकारहरूसँग परियोजना गतिविधिको समन्वय गर्नेछ ।

यो कार्यान्वयन व्यवस्था सङ्घीय शासन संरचनाअनुरूप तयार गरिएको र सरकारका सबै तहबीच सुदृढ समन्वय सुनिश्चित गर्ने उद्देश्य लिइएको छ ।

बोर्डको स्वीकृतिप्रति प्रतिक्रिया जनाउँदै कृषि, वन तथा पर्यावरण मन्त्री तथा एनटिएनसीका अध्यक्ष गिता चौधरीले सो निर्णयलाई नेपालको जलवायु सहनशीलता मुद्दाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

“यो स्वीकृतिले राष्ट्रिय जलवायु नीतिलाई व्यवहारिक कार्यमा रूपान्तरण गरी सबैभन्दा जलवायु–संवेदनशील समुदायसम्म पुर्‍याउने नेपालको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ”, उहाँले भन्नुभयो, “यस लगानीमार्फत हामी सहनशील पारिस्थितिकीय प्रणालीलाई सुदृढ गर्दै, दिगो जीविकोपार्जनमा सुधार ल्याउँदै र कसैलाई पनि पछाडि नछोड्ने सुनिश्चिततासहित पेरिस सम्झौताअन्तर्गत नेपालका प्रतिबद्धतालाई अगाडि बढाइरहेका छौँ ।”

स्वीकृतिप्रति एनटिएनसीलाई बधाई दिँदै अर्थ मन्त्रालयअन्तर्गत अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा जिसिएफका लागि राष्ट्रिय नामित प्राधिकरण (एनडिए)फोकल प्वाइन्ट धनीराम शर्माले यस स्वीकृतिले अन्तरराष्ट्रिय जलवायु वित्त पहुँच र व्यवस्थापनमा नेपालको बढ्दो संस्थागत क्षमतालाई प्रमाणित गरेको बताउनुभयो ।

एनटिएनसीका सदस्य–सचिव डा चिरञ्जीवीप्रसाद पोखरेलले सरकारी निकाय तथा समुदायसँग सहकार्य गर्दै प्रकृतिमा आधारित दीर्घकालीन जलवायु उत्थानशीलता प्रदान गर्न तथा अन्तरराष्ट्रिय जलवायु वित्तमा काम गर्न उत्साहित रहेको बताउनुभयो ।

परियोजनाअन्तर्गत जाजरकोट, जुम्ला, डोल्पा र दैलेख जिल्लाभरका प्रदेश सरकार, ३१ स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, आदिवासी जनजाति, प्राविधिक विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श र प्रमाणमा आधारित प्रक्रियामार्फत तयार गरिएको हो ।एनटिएनसीका जलवायु परिवर्तन विभाग प्रमुख तथा जिसिएफका प्राथमिक फोकल प्वाइन्ट डा मनिषराज पाण्डे र जिसिएफका द्वितीय फोकल प्वाइन्ट लीना चालिसेको सहयोगमा परियोजना प्रस्ताव विकास गरिएको थियो ।

लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गर्नुभएको ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो ।

सो प्रस्तावमा उल्लेखित प्रस्तावको प्रभावकारी कार्यान्वयनका प्रगति हरेक तीन महिनामा सभा समक्ष पेस गर्न सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिनुभयो ।प्रगतिको अनुमगन गर्न समेत सम्बन्धित समितिलाई उहाँले आग्रह गर्नुभएको थियो

किशोर थापाले पाए त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नेतृत्व

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। यसैगरी, सेवा आयोगको सदस्यमा प्रा डा रेजिना मास्के नियुक्त हुनुभएको छ ।

दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।

शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो ।

आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिनुभएको छ।

उहाँ सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो।

उहाँले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा समेत योगदान दिनुभएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजनाविज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा ‘भिजिटिङ फ्याकल्टी’का रूपमा आबद्ध हुनुहुन्छ ।उहाँले आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ ।

निःशुल्क उपचार नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।

गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो ।

कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुट/सहुलियत पाउनुपर्नेमा पाउन नसकेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

साइबर हिंसाको बढ्दो चुनौतीबीच एकीकृत कानुन ल्याउने तयारी

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छिन्।

राष्ट्रिय सभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’ का सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले कानुनमा समसामयिक सुधार आरम्भ भएको जानकारी दिइन्। सांसदले सङ्कल्प प्रस्तावमा उठाउनुभएको जिज्ञासा र विषयवस्तु समय सान्दर्भिक र व्यावहारिक भएको उनको भनाइ छ।

उनले भनिन्, “साइबर ब्युरोमा हाल १२ हजार ४१० उजुरी परेका छन् । जहाँबाट सङ्कल्प प्रस्तावको आवश्यकता र गाम्भीर्यतालाई थप पुष्टि गर्दछ ।” मन्त्री बादीले मन्त्रालय र अन्य निकायसँग समन्वय गरेर महिलामाथि हुने हिंसाको न्यूनीकरणका लागि आवश्यक पहलकदमी गरिरहेको बताइन्।

राष्ट्रियसभाका सांसद रेनु चन्दले प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गरेकी थिइन्।

१०० दिनमा परिणाममुखी काम भएको उद्योगमन्त्री यादवको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएका छन्।

प्रगति विवरण पेस गर्दै मन्त्री यादवले सरकारले लिएका लक्ष्यहरूलाई प्राथमिकतामा राखेर मन्त्रालयले १०० दिनभित्र ठोस परिणाममुखी कामहरू फत्ते गरेको जानकारी दिनुभयो। देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आम नागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको उनको भनाइ थियो।

वैदेशिक रोजगारी सहज बनाउन मन्त्री यादवको युएईसँग विशेष आग्रह

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन्।

दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
राजदूत अल शामसीले द्विपक्षीय हित र सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पम्पमा देखिएको लाइन अन्त्य, मागअनुसार इन्धन पुगेको निगमको दाबी

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ।“पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ”, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, “पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।”

उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो।
काठमाडौँ उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए। उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन्।

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ ।अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएसँगै उक्त सेवा बन्द भएको हो । दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन् । रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ ।

उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो ।

छ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ । अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालमा यसअघि नै आइसीयू एनआइसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

१९औँ मिस नेवा नेपाल कामना गर्दै १ लाख बत्ती प्रज्वलन

काठमाडौं । नेप्लीज फेसन होमको आयोजनामा राजधानमिा हुने नेवार समुदायका सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता १९औँ मिस नेवा नेपाल ११४६ का सहभागी २१ जना प्रतियोगीहरूको उज्ज्वल भविष्य, सफल जीवनयात्रा तथा विश्वमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम रहोस् भन्ने कामनासहित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।

कार्यक्रममा प्रतियोगीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण मानव समुदायमा सकारात्मक ऊर्जा, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धन हुने विश्वासका साथ श्रद्धापूर्वक दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्। आध्यात्मिक आस्था र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा मिस नेवा नेपालका २१ प्रतियोगी, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर तिमिला महर्जन, संस्थाका सल्लाहकार डा. बिमला शाक्य तथा फाइट फर लाइफ नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले प्रत्येक प्रतियोगीको सपना साकार होस्, उनीहरूको आगामी यात्रा आत्मविश्वास, अनुशासन र सेवाभावले प्रेरित बनोस् भन्ने मंगलकामना व्यक्त गरेका थिए। साथै विश्वभर शान्ति, सद्भाव, सहअस्तित्व र मानवीय मूल्यहरूको प्रवद्र्धनका लागि सामूहिक प्रार्थनासमेत गरिएको थियो। आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस नेवा नेपाल सौन्दर्य र प्रतिभाको प्रतिस्पर्धामा मात्र सीमित नभई नेवा समुदायको भाषा, संस्कृति, संस्कार, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढिरहेको छ । १ लाख बत्ती प्रज्वलन कार्यक्रमले पनि प्रतियोगिताले बोकेको यही सामाजिक र सांस्कृतिक सन्देशलाई थप सशक्त रूपमा उजागर गरेको आयोजकको विश्वास छ।

‘खुस्मा’पछि अशोक थापाको अर्को फिल्म ‘जलाकी’, रिलिज डेटसँगै सार्वजनिक भए पोस्टर

सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले सिनेमाको प्रेमकथालाई फरक-फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ । सार्वजनिक यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् ।

पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक र खुसीको क्षणमा प्रस्तुत भएका छन् । एकअर्काप्रतिको आत्मीयता, प्रेम र विश्वासलाई केन्द्रमा राखिएको यो पोस्टरले सिनेमाको प्रेम पक्षलाई चित्रण गरेको छ । त्यसैगरी दोस्रो पोस्टरमा उनीहरू गम्भीर तथा भावुक मुद्रामा देखिएका छन् । पोस्टरमा दुवै पात्रबीचको मौनता, पीडा र भावनात्मक संघर्ष झल्किएको छ, यसले सिनेमाको कथामा आउने उतारचढावको संकेत गर्छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

निर्देशक अशोकको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’बाट अभिनेत्री उपसना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ उचालेकी थिइन् । सोही निर्देशक थापा मगरले यसपटक पनि उपासनालाई मुख्य भूमिकामा लिएका छन् । यसले पनि दर्शकको लागि ‘जलाकी’ अपेक्षाकृत बन्ने अनुमान गर्न सकिन्छ ।

सिनेमाका निर्मातामा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन तथा एसडी योगी, सरित राईको संगीत र सुरेन्द्र राना, राम अविरल विष्टको गीत रचना र एसडी योगी, अन्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर, गीतान्जली थापा मगरको स्वर छ ।

यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यस सिनेमामा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले पनि सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रियता कमाएको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ ।

फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले सञ्चालन गरिरहेको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रमार्फत सङ्कलित जैविक फोहर प्रशोधन गरी उत्पादन गरिएको मल स्थानीय किसानलाई बिक्री गरिँदै आएको छ । यस कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धि तीनवटै क्षेत्रमा सकारात्मक परिणाम दिएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए ।

“गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा स्थापना गरिएको उक्त परियोजनाको कुल लागत रु दुई करोड १३ लाख ८० हजार रहेको छ”, “नगरपालिकाले भने कार्यक्रमलाई विगत तीन वर्षदेखि निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।”

हालसम्म नगर सरसफाइ अभियानमा १४ हजार ८१६ घरपरिवार आवद्ध भएको मध्यविन्दु नगरपालिका भवन तथा बस्ती विकास शाखा प्रमुख विवेक पोखरेलले बताउनुभयो । “घरपरिवारबाट सङ्कलित जैविक फोहरलाई केन्द्रमा प्रशोधन गरी जैविक मल उत्पादन गर्ने व्यवस्था मिलाइएकाले समुदायस्तरमै फोहर व्यवस्थापन व्यवस्थित र सहभागितामूलक बन्दै गएको छ”,

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अप्राह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।

यस्तै, सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत तिन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं (६औं) बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धका साथै विविध विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ९ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।

रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ । कार्यक्रम रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे हुनेछ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।
सभापति : रवि लामिछाने

उपसभापति : स्वर्णिम वाग्ले

उपसभापति (महिला): सोविता गौतम

महामन्त्री : विपिन कुमार आचार्य

सहमहामन्त्री : हरि ढकाल

सहमहामन्त्री : असिम शाह

सहमहामन्त्री (महिला) : निशा डाँगी

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक

वागमती। बागमती विश्वविद्यालयले विश्वविद्यलाय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्तामा नतिजा सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले समय सापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्य अनुरुप परीक्षा सम्पन्न भएको सातौं दिनमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए ।

विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एण्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेशन एण्ड सोसिएल साइन्स) संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकोमा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो ।

प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन संकाय (म्यानेजमेन्ट एण्ड ल)मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान(एजुकेशन एण्ड सोसिएल साइन्स) संकायमा ८९.४४ प्रतिशत विद्याथीै उत्तिर्ण भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे ।

खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।

काँकडभिट्टाको स्वरूप फेरिँदै, पर्यटकमैत्री संरचना निर्माण हुँदै

झापा । नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ ।भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा यो परियोजना अघि बढाइएको हो ।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ । चालु आर्थिक वर्षभित्रै विभिन्न संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो प्रभाव सिर्जना गर्ने प्रमुख खतिवडाले बताए । संरचना निर्माणपछि पर्यटक केही समय नाकामै रोकिने, तस्बिर खिच्ने र स्थानीय सेवा उपयोग गर्ने हुँदा यसबाट स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक्त संरचनाभित्र नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्कने विभिन्न संरचना रहनेछन् । यहाँ ३२ वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक ‘सेल्फी बुथ’ तथा रातको समयमा थप आकर्षण बढाउने ‘डिजिटल लाइटिङ’को व्यवस्था गरिनेछ । निर्माणका लागि हाल सो क्षेत्रमा रहेका ठूला विज्ञापन बोर्डहरू अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

निर्माणस्थलको नेतृत्व गरिरहेका स्थानीय पर्यटन व्यवसायी रामबहादुर तामाङले यो पूर्वी नाकाको दीर्घकालीन आवश्यकता भएको बताए । उनले स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानसमेत भएकाले परियोजनाप्रति अपनत्व बढ्ने र यसको दिगोपना सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि सीमामा आकर्षक पर्यटकीय संरचना आवश्यक रहेको आवाज उठाउँदै आएकोमा अहिले त्यो आवश्यकता पूरा हुने चरणमा पुगेको तामाङको भनाइ छ । संरचना निर्माण सम्पन्न भएपछि काँकडभिट्टा प्रवेश गर्नेबित्तिकै पर्यटकले नेपाल आएको फरक र सुखद अनुभूति गर्ने उनले बताए ।

यससँगै पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर सीमा पर्यटन, पर्या–पर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवर्द्धन तथा होटल र ट्राभल एजेन्सीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन् । निर्माणाधीन नयाँ पर्यटकीय संरचनाले काँकडभिट्टाको स्वरूप परिवर्तन गर्नुका साथै पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन् ।

विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी दुर्घटना र यसबाट हुने क्षतिमा अपेक्षाकृत कमी आउन सकेको छैन । यसवर्षको पहिलो महिना वैशाख र जेठमा सार्वजनिक भएको ट्राफिक तथ्याङ्कले यही चुनौतीपूर्ण यथार्थ उजागर गरेको छ।

यसअवधिमा भएका २४० दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने ६४१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ महिनामा मात्रै प्रदेशभर १५० वटा सवारी दुर्घटना भएकोमा ४० जनाले ज्यान गुमाएका छन् भने २५५ जना घाइते भएका छन्।

यसवर्षको पहिलो महिना वैशाखको तुलनामा दुर्घटना सङ्ख्या केही घटेको देखिए पनि प्रत्येक दिन औसत पाँच वटा दुर्घटना र दैनिक एकभन्दा बढीको मृत्यु हुनु चिन्ताजनक अवस्था हो । वैशाखमा प्रदेशभर १८९ वटा दुर्घटना भएका थिए । त्यसमा ४३ जनाको मृत्यु र २८६ जना घाइते भएका थिए । जेठमा दुर्घटना ३९ वटाले घटे पनि मृत्युदरमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

तीव्र गति नै दुर्घटनाको कारक

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापा दुर्घटनाको विश्लेषण गर्दा सबैभन्दा डरलाग्दो तथ्य तीव्र गतिमा सवारी चलाउनुनै मुख्य कारण रहेको बताउँछन्। उनले अधिकांश दुर्घटना तीव्र गतिकै कारणले भएको पाइएको बताए ।

जेठमा चालकको कारण भएका दुर्घटनामध्ये तीव्र गतिका कारण ९९ वटा दुर्घटना, मादकपदार्थ सेवनका कारण १७ वटा, चालकीय असक्षमताका कारण १८ वटा, लेन अनुशासन उल्लङ्घनबाट नौ वटा, मोबाइल फोन प्रयोगबाट एक वटा, निद्रा वा थकानबाट एक वटा, अनावश्यक ओभरटेकबाट दुई वटा र अन्य लापरबाहीबाट तीन वटा दुर्घटना भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले सार्वजनिक गरेको तथ्याङ्कमा छ ।

मादकपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको र जेठमा मात्रै प्रहरीले एक हजार ११३ जना चालकलाई मादकपदार्थ सेवन (मापसे) गरेको अभियोगमा कारबाही गरेको तथ्याङ्कमा छ । यसबाट मात्रै रु छ लाख नौ हजार बढी राजस्व सङ्कलन भएको छ।

ट्राफिक प्रहरीले जेठ महिनामा १२ हजार ८०४ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । यसबाट रु एक करोड ४८ लाख ३९ हजार ५०२ जरिवाना सङ्कलन गरेको छ । वैशाखमा १० हजार १११ कारबाही र रु एक करोड ६५ लाख ७६ हजार ५०९ जरिवाना सङ्कलन भएको थियो।

दुर्घटना र क्षतिमा कमी आउनुमा ट्राफिक प्रहरीको सक्रियता र चेतनामूलक अभियानलाई मुख्य कारण मानिएको थापाले बताए। जहाँ वैशाखको तुलनामा जेठ महिनामा कारबाही सङ्ख्या १० हजार ९११ बाट बढेर १२ हजार ८०५ पुर्‍याइएको छ भने जनचेतना कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या ५२ हजार ३५५ बाट वृद्धि भई ७७ हजार ०५३ पुगेको छ।

दुर्घटना रोकथामका लागि प्रहरीले कारबाहीसँगै जनचेतनालाई प्राथमिकता दिएको छ । जेठ महिनामा एक हजार ४१९ जनालाई प्रत्यक्ष ट्राफिक सचेतनाका कार्यक्रममा सहभागी गराएको छ । ६७ हजार ५३ जनालाई विभिन्न कार्यक्रममार्फत लाभान्वित भएको र १८३ सवारीचालक तथा सहचालकको जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।

जेठी हौ कि माइली ?’ म्युजिक भिडियो सार्वजनिक !

काठमाडौँ-नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘जेठी हौ कि माइली ? सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका मेलिना राई को सुमधुर स्वर रहेको छ ।

गीतमा बुद्धि कुलुङको शब्द, डिजे मेवाहाङको संगीत तथा निर्देशन; र सागर संसार राईको संगीत संयोजन रहेको छ । राजु कार्कीले ध्वनि मिश्रण गरेको यस गीतमा सन्जिब बराईली, रत्न बिक, पोषण घर्ति मगर, समिर जैरु चर्चित बाध्यबादकहरुले बाध्यबादन भरेका छन् ।
​यस गीतको म्युजिक भिडियोमा एलिशा राई र एलिश राईको आकर्षक अभिनय देख्न सकिन्छ भने मनिषा कुलुङ र रिद्दिमा कुलुङ लगायत थुप्रै कलाकारहरुको कोरस नृत्य रहेको छ, जसले भिडियोलाई थप रौनक एवं मनोरञ्जनात्मक बनाएको छ ।

​भिडियोको नृत्य निर्देशन कमल राई ले गरेका हुन् । छायांकन शिव ढकालको रहेको छ भने सम्पादन अमृत चापागाईं ले गरेका हुन् । म्युजिक भिडियो निर्माणमा साङ्ग्केन क्रियेसनले सामग्री सहयोग गरेका छन् ।

​किराती सभ्याता, कोशी किनारबाट मौलाएको प्राचीन सभ्यता एवं किम्वदन्तीका प्रतिमुर्ती खुवालुङ, तथा किरातीहहरुको संस्कारमा, नभई नहुने तीन चुला (सुक्थुलुङ्) एवं लोक तुक्का समेत समेटिएको रमरम श्रृङ्गारिकतामा मौलिक संस्कृति, परम्परागत पहिरन र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको ‘जेठी हौ कि माइली ?’ ले दर्शक तथा श्रोतालाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । लोक स्वाद र आधुनिक प्रस्तुतीकरणको संयोजन रहेको यस गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।