असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ ।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा गरेको फैसलामा कोइरीलाई सफाइ दिएको थियो । तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै दोषी ठहर गरेको हो ।
फौज्दारी मुद्दा चलिरहेकै समयमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कोइरी महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी पराजित भएका थिए ।
सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो । जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए । सोही घटनामा उनको मृत्यु भएको थियो ।उच्च अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरणले पुनः राजनीतिक र कानुनी बहसलाई तातिएको छ ।
