टोकियो । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ ।
होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ ।
तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गरिएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ ।
यामागाताको दुईवटा नदी र अकितामा एउटा नदीमा आएको बाढीले कटान निम्त्याएको एनएचकेले प्रसारण गरेको फुटेजमा देखाइएको छ ।
“बेपत्ता व्यक्तिलाई खोज्ने अभियानमा रहेका दुई प्रहरी अधिकारीसहित तीन जना बेपत्ता छन्,” एक स्थानीय अधिकारीले एएफपीलाई जानकारी गराए ।
जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ ।
जापान मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्भावित भूस्खलन र बाढीबाट सतर्क रहन नागरिकलाई आह्वान गरेको छ ।
जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरेको छ ।
बेइजिङ । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ ।
आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।
फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र बर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि ईन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ ।
उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ । चिनियाँ अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रवातले विपत्ति निम्त्याउन सक्ने चेतावनी बिहीबार नै दिएका थिए ।
उनीहरूले फुजियानमा दुई लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउदै केही सहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालयलगायत बजार बन्द भएको जनाएका छन् ।
छिमेकी झेझियाङ प्रान्तमा चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभी र अन्य चिनियाँ सञ्चारमाध्यममा शुक्रबार प्रशारण भएका फुटेजमा बाढीका कारण सडकहरू डुबानमा पर्दा सवारी साधन र स्थानीयहरूको यात्रा कठिन बनेको देखिन्थ्यो ।
करिब ९० लाख जनसङ्ख्या रहेको वानझाउ सहरमा बाढी र डुबानजन्उ जोखिमको चेतावनी जारी गरिएको छ भने सात हजार मानिसहरूलाई स्थानान्तरण गरेको सिसिटिभीले जनाएको छ ।
गेमीले मध्य जियाङ्सी र हेनानमासमेत भारी वर्षा निम्त्याउने सरकारी सञ्चार माध्यामले जनाएको छ । चीनको धेरै जनसङ्ख्या भएको प्रान्तमध्ये एक गुआङडोङले शुक्रबार आँधीको चेतावनीपछि केही यात्रुबाहक रेल सेवाहरू स्थगित गरेको सिसिटिभीले जनाएको छ ।
आधिकारिक चिनियाँ मौसम नेटवर्कलाई उद्धृत गर्दै सिसिटिभीले चक्रवात करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको जनाएको छ । शुक्रबार दिउँसो जियाङ्सी पुग्दा आँधी ‘बिस्तारै कमजोर’ हुने जनाइएको छ ।
समाचार तयार पार्दासम्म चीनमा आँधीका कारण कसैको मृत्यु तथा घाइते भएको खबर भने आएको छैन । खराब मौसम, बाढी र डुबानको जोखिमको मौसम पूर्वानुमान निकायहरूको चेतावनीपछि बिहीबार राष्ट्रपति सी जिनपिङको अध्यक्षताको शीर्ष नेतृत्वको बैठकमा अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरेका थिए ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा वित्तीय क्षेत्र व्यवस्थापनका लागि राष्ट्र बैंकले सन्तुलित ढङ्गले सजगताका साथ लचिलो मौद्रिक नीति ल्याएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको पनि स्वयं गभर्नर अधिकारीले बताइसक्नुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका केही मुख्य व्यवस्था यस प्रकारका छन् ।
बैंकदर र नीतिगतदर घटाइयो
ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट साढे छ प्रतिशत र नीतिगत दर साढे पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ ।
निर्माण व्यवसायीलाई राहत
मौद्रिक नीतिले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गर्ने, उनीहरुलाई चेक अनादर भएका आधारमा मात्र कालोसूचीमा समावेश नगर्नेलगायत विभिन्न सहुलियत दिइएको छ ।
पुँजीकोषमा सहजता
मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थापनमा सहजता, असल कर्जामा गर्नुपर्ने विद्यमान एक दशमलव २० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर एक दशमलव १० प्रतिशत कायम गरिएको छ । त्यस्तै, रेगुलेटरी रिटेल पोर्टफोलिया (आरआरपी) को सीमालाई दुई करोडबाट बढाएर दुई करोड ५० लाख कायम गर्नेलगायत व्यवस्था ल्याइएको छ ।
चालु पुँजीकर्जा मार्गदर्शन संशोधन
‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेदेखि लागू हुनेगरी समयावधि थप गर्ने तथा लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको रु एक करोडको सीमालाई पुनरावलोकन गर्नेगरी चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
संस्थागत शेयर धितो कर्जाको सीमा हट्यो
संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिएको छ । व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत राखिएको छ ।
कर्जा वर्गीकरण
निष्क्रिय वर्गको कर्जा नियमित भइसकेको अवस्थामा छ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जनगरी छ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था ल्याइएको छ ।
बिनाधितो ऋण
चालु आर्थिक वर्षको बजेटमा परेको वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो ऋण दिने व्यवस्थालाई मौद्रिक नीतिले पनि समेटेको छ । त्यस्तै, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने नीति पनि राष्ट्र बैंकले लिएको छ ।
कानुन निर्माण
सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा बनाएर सरकारलाई बुझाउने र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) मार्गदर्शन तयार पार्नेलगायत विषयहरु मौद्रिक नीतिमा परेका छन् ।
सहकारी र लघुवित्त क्षेत्र व्यवस्थापन
बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको राष्ट्र बैंकले सहयोग गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गरिने पनि राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, लघुवित्त संस्थाहरु गाभ्ने, कर्जाको पुनर्तालिकीकरण गर्ने तथा सेवा शुल्क परिमार्जन गर्ने, सेवाग्राहीको गुनासो व्यवस्थापनमा बढी ध्यान दिनेलगायत व्यवस्था राखिएका छन् ।
आयात खुकुलो
ड्राफ्ट तथा टिटीका माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धिगरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ । त्यस्तै, डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्सका माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धिगरी अमेरिकी डलर एक लाख कायम गरिएको छ । यी व्यवस्थाले वस्तु आयात केही बढ्ने अनुमान गर्न सकिन्छ ।
डलर खाताबाट हुने भुक्तानी सीमा बढाइने
नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै, राहदानीबापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्ने नीति पनि राष्ट्र बैंकले लिएको छ । विप्रेषण आप्रवाह, भ्रमण, व्यापारलगायतका क्रियाकलापलाई थप सहज हुनेगरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिने जनाइएको छ ।
भुक्तानी प्रणाली सुधार
राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यकपर्ने पूर्वाधार र संस्थागत संरचना पार्ने मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै, भुक्तानी, समाशोधन र फछ्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई पब्लिक लिमिटेड कम्पनी बनाइनेछ ।
कर्जा विस्तारमा जोड
चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले राखेको छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गरिने मौद्रिक नीतिमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।
चेक बाउन्स हुँदैमा कालोसूचीमा नराखिने
चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेलगायतका व्यवस्था परिमार्जन गर्नेगरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । त्यस्तै, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणबस कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।
ऋणपत्र क्षेत्रगत कर्जामा गणना गरिने
चालु आर्थिक वर्षको मौद्रिक नीतिले ऊर्जासम्बन्धी ऋणपत्रहरुलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टकृत संस्थाबाट जारी गरिएका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।
विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी माओवादी मन्त्रीले राजीनामा दिएका हुन् ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन । माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको बताए । समर्थन फिर्ताको विषयमा भने संसद सुरु भएपछि निर्णय गर्ने उनले बताए ।
घोराही ,दाङ, ११ साउन : रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरेका थिए । विदेशबाट फर्केपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन् ।
छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आप्mनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनि खुशी छन् । ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उनले बताए।
“ड्रागनफ्रुट रातो प्रतिकिलो रु चार सय तथा सेतो रु चार सय ५० का दरले घरबाटै बिक्री हुने गरेको छ”, उनले भने, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौं समेत पठाउने गरेको छु ।” परम्परागत कृषि कर्मबाट उपलब्धी हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताए । करिब रु ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागनफु्रट’ दर्ता गरेर विगत छ वर्षदेखि दुई विघा जमिनमा व्यवसायिक रुपमा खेती गर्दै आएको छ ।
“वार्षिक रु २० लाखदेखि रु २५ लाखसम्म कारोवार हुन्छ”, बुढाले भने, दुई बिघामा करिब एक हजार तीन सयभन्दा बढी विरुवा रहेका छन्, प्रति विरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँन्छ ।” वार्षिक वचत रु १५ लाखसम्म हुने गरेको छ ।’
ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । तीन÷चार वर्षअघिसम्म प्रतिकिलो रु आठ सय ५० मा बिक्री हुने गरेको ड्रागनफ्रुटको वर्षेनि मूल्य घट्दै गएको बुढा बताउछन् । उनी भन्छन्– “चार वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन् । विगतको तुलनामा दोब्बरले मुल्यमा कमी आएको छ ।”
धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेकाछन् । अन्य तरकारी, पशुपालनलगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउछन्। उनि पनि लामो समय वैदेशिक रोजगारमा रहेका थिए। सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिकरुपमा साथिहरुसँग यो व्यवसाय गरेको उनले बताए।
बुढाले भने, “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजारपनि नजिकै रहेकाले आफुलाई विक्रीका लागि समस्या नभएको उनले बताए । बुढाले भने,‘ अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पान हुन थालेको छ । एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुटको खेतीमा व्यवसायिक रुपमा लागेका छन् ।
सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन् । दुई बिघा जग्गाको भाडा वार्षिक रु ६० हजार तीर्ने गरेको उनले बताए । –––
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुने बताएका छन्।
मौद्रिक नीति सार्वजनिक भएपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कर्जा विस्तार बढेपछि बजार पनि केही चलायमान हुने अपेक्षा गरिएको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष व्यवस्थापनसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएकाले कर्जा बढ्ने बताए।
‘बैंकहरुमा रहेको पुँजीकोषको दबाबको व्यवस्थापनका लागि हामीले विभिन्न तरिका र उपकरणहरु सञ्चालन गरेका छौँ। त्यसले बैंक तथा वित्तीय संस्थालाई परेको पुँजीकोष दबाबमा केही सहजता आउनेछ,’ गभर्नर अधिकारीले भने, ‘बैंक वित्तीय संस्थामा तरलता पर्याप्त भए पनि उनीहरुको पुँजीकोष व्यवस्थापन गर्न नसक्दा कर्जा विस्तार गर्न सकेका थिएनन्। त्यसलाई सहज बनाउनुको अर्थबजारमा कर्जा बढोस् भन्ने हो। चालु आवमा साँढे १२ प्रतिशतको कर्जा प्रवाह हुनसक्छ भन्ने लक्ष्य हामीले राखेका छौँ।’
मौद्रिक नीतिमार्फत चालु आवका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ। त्यस्तै, सरकारबाट भुक्तानी नपाएर समस्यामा रहेको निर्माण क्षेत्रलाई सहज हुने गरी केही व्यवस्थाहरु मौद्रिक नीतिमा ल्याइएको गभर्नर अधिकारीले बताए।
‘निर्माणसँग जोडिएको क्षेत्र र सहकारी क्षेत्र समस्यामा परेपछि त्यसको बहुआयामिक असर देखिएको छ। निर्माण व्यवसायीले रकम नपाएको, रकम नपाउँदा चेक बाउन्स भएको, चेक बाउन्स हुँदा कालोसूचीमा परेको, कालोसूचीमा परेपछि बैंक खाता बन्द भएको र बैंक खाता बन्द भएपछि उनीहरुले केही काम गर्न नसकेको अवस्था थियो,’ उनले भने
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि आगामी मङ्सिर मसान्तसम्म थप गर्ने, कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएका आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने, बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने, निर्माण व्यवसायीहरूको जमानत दाबी भई सृजना भएको कर्जामा चालु आवका लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जासरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नेलगायत व्यवस्था ल्याएको छ।
त्यस्तै, संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु २० करोडको सीमा खारेज गरिएको भए पनि व्यक्तिगततर्फको शेयर धितो कर्जामा रु १५ करोडको सीमा भने कायमै रहेको गभर्नर अधिकारीले स्पष्ट पारे। संस्थागत शेयर धितो कर्जाको सीमा हटाउनुका पछाडि पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ।
‘संस्थागततर्फ शेयर धितो कर्जामा रु २० करोडको सीमा हटाउने भनेको पुँजीबजारलाई असर गर्न खोजेको होइन। हामीले बैंकबाट जाने कर्जालाई मात्र हेर्न खोजेका हौँ,’ गभर्नर अधिकारीले भने। समग्र आर्थिक र वित्तीय प्रणालीलाई समस्या नपर्नेगरी सन्तुलित ढङ्गले सजगता साथ लचिलो मौद्रिक नीति आएको पनि उनको दाबी छ।
विद्यमान अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि मौद्रिक नीतिका व्यवस्थाहरु मात्रै पर्याप्त नहुने धारणा गर्भनर अधिकारीले राखे। ‘मौद्रिक नीतिले मात्रै सबैकुरा सम्बोधन गर्न खोजियो भने त्यसले थप जोखिमहरु निम्त्यउँछ। मौद्रिक नीतिले बजारमा ब्याजदरलाई स्थिरता दिने र सँगसँगै लगानीका लागि वातावरण बनाइदिने हो। विभिन्न निकाय र नीतिहरुसँग तादम्यता मिलाएर काम गर्नुपर्ने हुन्छ,’ उनले भने।
काठमाडौँ – गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी निक्कै व्यस्त गायिका रिमालले आफ्नै आधिकारिक युट्युब च्यानलमा नयाँ तीज गीत सार्वजनिक गरेकी हुन्। तीजको पावन अवसरमा नेपाली चेलीहरूको लागि विशेष उपहार स्वरूप ‘बिलौना’ बोलको गीत सार्वजनिक गरिएको हो ।
शुक्रबार बिहान करिब ६ बजे उनको आफ्नो रचना रिमाल युट्युब च्यानलमा यो गित सार्वजनिक भएको छ ।
नारायण ज्ञवालीको शब्द शिव हमाल सङ्गीतमा रहेको गीतमा रचना रिमाल र बद्री पंगेनी को स्वर रहेको छ।राजेश घिमिरेको निर्देशनमा बनेको गीतको भिडियोमा रचना सहित बद्री पंगेनी पवित्रा अधिकारी र अनुपा बिष्टलगाएत बाल कलाकारमा प्रवानजन क्षेत्री, मिलन बस्याल र आयुशि बस्यालको अभिनय रहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी रचनाको आफ्नो युट्युब च्यानलमा यो महिना चौथोँ गित सार्वजनिक भएको हो। नौ दिन अगाडि उनको धार्मिक महिना श्रावनलाई ध्यानमा राखेर ‘हर हर महादेव’ बोलको गित रिलिज भएको थियो ।
मन्थली । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।
पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारीलाई नियुक्त गरको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै बैठकले आयोगको सदस्यहरुको मनोनयन गरेको छ ।
अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुनुहुन्छ । बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
काठमाडौं । मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन् ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सबैभन्दा वरिष्ठ सचिव रहेकी गड्तौलालाई कामु मुख्यसचिव बनाइएको थियो ।
गड्तौला कर्मचारी प्रशासनको सबैभन्दा उच्चतह मुख्यसचिवमा पुग्ने पहिलो महिला बनेकी छिन् । उनी आगामी भदौमा सेवानिवृत्त हुनेछिन् ।
काठमाडौँ – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।
शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने “शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीन वटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरुको डिएनए गर्नुपर्यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ ।”
उनले विज्ञहरु संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिए।
काठमाडौं । सौर्य एयर जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौंको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् । उनले भने, ‘शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।’
उनको टाउकोलगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाँचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उनले जानकारी दिए । बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।
यसैबीच क्याप्टेन शाक्यले जहाज धावनमार्ग छाडेर सय फिटमाथि पुगेपछि नियन्त्रण गुमाएको बताएका छन् । सय फिटमाथि पुगेपछि उड्नुको सट्टा जहाज तल खस्न थालेको उनको भनाई थियो ।
काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।
श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जित हासिल गर्न सकेको थिएन ।
यसपटक नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो ।
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, गणपति लघुवित्त नौ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबिएल डिबेञ्चर तीन दशमलव ९२, कालिका पावर कम्पनी तीन दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन लायक केही गर्ने लक्ष्य लिएको थिएँ । म हरेक दिन दैनिक प्रक्रियाको सुरुआतमा स्थानीय पत्रिका पढ्ने गरेको छु । एक दिन पत्रिका पढ्ने सिलसिलामा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियामा पाँच वर्ष रोजगारी गरेर नेपालमा आफ्नो गृहनगर गुल्मी फर्किएका पाल्पा र गुल्मीको सीमा नजिकै गौरव डेरी तथा प्रशोधन कम्पनी स्थापना गरेका रविलाल पन्थका बारेमा प्रकाशित लेख पढेर धेरै खुसी मिल्यो । त्यतिबेला म नेपाल आएको दुई हप्ता मात्र भएको थियो । नेपालका लागि कोरियाली राजदूतको भूमिकामा रहेर दुई देशबीचको सहकार्य विस्तार क्षेत्रका बारेमा सोच्दै थिएँ । त्यो लेख पढेपछि विदेशमा काम गरेको अनुभव भएका व्यक्तिले आफूले सिकेको सीप तथा पुँजी सदुपयोग गरेर स्वदेशमा नै व्यवसाय सुरु गरेका व्यवसायीहरुको सफलताका कथाहरू खोज्ने तथा उक्त माध्यमबाट नेपालमा रोजगारी सिर्जनाका लागि प्रेरणादायी भूमिका खेल्ने राजदूतका रुपमा आफ्नो परिचय दिने योजना बनाए ।
नेपालमा उद्यमशीलताका जटिलता
व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो भन्ने लाग्छ । यद्यपि, एउटा भनाइ छ: जीवनमा ‘नो–रिस्क नो–रिवार्ड’ व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोतः पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ । जुनसुकै क्षेत्रमा व्यवसाय थालनी गरेका व्यवसायीले तीन वर्षभित्र धेरै व्यक्तिहरुले निराशाको अनुभव गरेका उदाहरणहरु रहने गरेका छन् । त्यसैगरी, सफल व्यवसाय पनि तीन वर्षको अवधि पार गरेपश्चात् गन्तव्य निर्धारण हुने तथा समाजमा आफ्नो प्रस्तुति दिएका हुन्छन् । उद्यमी विकासका लागि समूहमा काम गर्ने क्षमता (टिम वर्क) समन्वय गर्ने भाषाको कला, समस्या समाधान गर्ने क्षमता, नेतृत्वदायी क्षमता, रचनात्मक चिन्तन, उद्देश्य केन्द्रित झुकाव, व्यावसायिक योजना बनाउने सीप, लगनशीलता तथा धैर्यता, व्यवस्थापन क्षमता, आर्थिक व्यवस्थापन, व्यापारिक सीप, जोखिम उठाउने क्षमता आदिले व्यवसायमा सफलता हासिल गर्न भूमिका खेल्दछ भन्ने गरिएको छ ।
सरकारी नीति निर्माता तहबाट आफ्नो भिजनमा स्टार्टअपलाई कसरी लिएर जाने र दूरदर्शिता कस्तो राख्ने भन्ने दृष्टिकोण निर्माण नगर्दा नेपालको स्टार्टअपको परिदृश्य प्रस्ट हुँदैन भन्ने लाग्छ । नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको छ । यसबीचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तनलाई व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रूपमा स्थापित गरेका केही उदाहरण छन् ।
नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानअनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग मन्त्रालय तथा विभिन्न सरोकारवालालाई समावेश गरेर ‘स्टार्टअप २०–३०’ को भिजन बनाएका बारेमा मलाई जानकारी रहेको छ । सो भिजनमा कर छुट, स्टार्टअपलाई सहुलियपूर्ण कर्जा वितरण, स्टार्टअप कोष तथा बोर्ड गठनलगायत विषय समावेश छन् । त्यो नीति कार्यान्वयन भएको खण्डमा स्टार्टअपलाई विकसित रुप दिन सकिन्छ भन्ने लाग्छ । अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ, त्यसको अध्ययन गरेर लागू गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुनेछ । अबको समय भनेको स्टार्टअपकै हो ।
नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई ‘स्टार्टअप नेसन’ बनाउने र अन्तर्राष्ट्रियजगत्मा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीतिअन्तर्गत कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने लाग्छ । प्रविधिको युगमा आवश्यक जनशक्ति जुनसुकै देशबाट पनि हायर गर्न सकिन्छ । अतः प्रविधिको दायरा फराकिलो भएको छ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेको वस्तु विस्थापित हुनेछन् । नवप्रवर्तनले उत्पादकत्व बढाउनाका साथै आयातलाई प्रतिस्थापन गरी निर्यातसमेत बढाउनेछ । नेपालमा व्यवसाय सुरुआती चरणमा पुँजी व्यवस्थापन, सीमित अवधिका लागि कर छुट, बैङ्कको सहुलियत ब्याज दरमा कर्जा व्यवस्थापनलगायत पक्ष सरकारी नीतिमा स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसैगरी, सम्भावना भएका व्यवसायको पहिचान गरी प्रोत्साहन गर्ने निति अवलम्बन हुनुपर्ने देखिन्छ ।
उद्यमशीलतालाई प्रोत्साहन
उद्योग स्थापना गर्न सजिलो छैन तर उद्योगबिना राष्ट्रको अर्थतन्त्र उकास्न सहज हुँदैन । त्यसैले सरकारले स्वदेशी कम्पनी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ । नेपाल सरकारले हाल ठूलो मात्रामा आयात भइरहेको कृषि जन्य व्यवसाय, सञ्चार प्रविधि व्यवसाय प्रवद्र्धन गर्नेतर्फ केन्द्रित गरेमा अर्वौं रुपैयाँको आयातलाई विस्थापन गर्न सक्नेछ । सूचना प्रविधिको क्षेत्रमा नेपाल सरकारले वार्षिक रु २० अर्बभन्दा बढीको सेवा खरिद गर्ने गरेको देखिन्छ । नेपाली उद्यमीले सफ्टवेयरमा सेवा दिन सक्छन् भन्ने मेरो बुझाइ छ ।
नेपाली कम्पनीलाई विश्व बजारसम्म पुग्ने आधार तय गर्नका लागि सुरुमा देशभित्रै सेवा गर्ने अवसर दिनुपर्दछ । बहुसङ्ख्यक देशहरुले विभिन्न सहज नीतिमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेका छन् । दक्षिण कोरियाले पनि विभिन्न उद्यमशीलता नीतिहरू अवलम्बन गर्दै आएको छ । स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ । उद्यमशीलतालाई बढावा दिनका लागि शैक्षिक संस्था वा निजी संस्थाले प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कलेजका विद्यार्थी, सामान्य वयस्क र इन्जिनियरहरूलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएको छ । स्टार्टअप प्रतियोगिता आयोजनामार्फत विजेतालाई आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग गर्ने गरेका छन् । स्टार्टअप पूर्वाधार विस्तार गर्नका लागि लगभग दुई सय ५० स्टार्टअप इन्क्युबेसन सेन्टरहरू निर्धारण गरिएको छ । विश्वविद्यालय वा अन्य अनुसन्धान संस्थालाई नवीनतम् व्यवसाय प्रवद्र्धन गर्ने संस्थाका रुपमा सञ्चालनमा मा ल्याइएको छ । कोरिया सरकारले व्यापार वा व्यवसाय सुरु गर्ने प्रारम्भिक चरणहरूमा सम्भावना देखिएका व्यवसाय छनौट गरेर सुरुआती चरण तीन वर्ष स्टार्टअप पुँजीका रुपमा न्यूनतम् ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराउँदै आएको छ ।
व्यवसाय सुरु गर्नु भनेको एक प्रक्रिया हो, जसमा उद्यमशीलताको भावना भएको व्यक्तिले निर्णय लिन्छ र जोखिम लिन्छ । यद्यपि विभिन्न स्टार्टअपका लागि सरकारी स्तरको सहयोग पर्याप्त नहुन सक्छ । तर सरकारी सहयोगले स्टार्टअप प्रक्रियाका लागि तयारी गर्न र सफलताको सम्भावना बढाउन तथा जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख गरेअनुसार आर्थिक वर्षमा सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनाका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनाका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्ने कार्यक्रम आउनु सुखद पक्ष हो भन्ने लाग्छ । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ ।
उद्यमशीलता प्रवद्र्धनका लागि कोरियाको सहकार्य
मैले ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपतिलाई नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको परिचय दिएको थिएँ । नेपाललगायत विकासोन्मुख देशहरूले ओडिएमा केन्द्रित विकास साझेदारी परियोजनाहरूका लागि बाह्य सहयोग प्राप्त गर्न आवश्यक भए तापनि आफैँले आफ्नो विकास र उत्पादन वृद्धि क्षमता विस्तार गर्न प्रयत्न गर्नु सकारात्मक पक्ष हो भन्ने लाग्छ । कोरिया र नेपालबीच विकास साझेदारी परियोजना सन्दर्भमा नेपाललाई विगत १५ वर्षदेखि निरन्तर प्रमुख विकास साझेदार राष्ट्रको सूचीमा समावेश गरेर परियोजना सञ्चालन हुँदै आएको छ । यहाँ केही स्टार्टअप सम्बन्धित परियोजनाहरुका बारेमा सामान्य जानकारी दिन चाहन्छु । कोइकाले नेपाली श्रम मन्त्रालय, उद्योग मन्त्रालय तथा स्विस सरकारसँगको सहकार्यमा सन् २०२३ बाट कोरियामा रोजगारको अनुभव लिएर स्वदेश फर्किएका आप्रवासी कामदारको स्थिर बसोबास, उद्यमशीलता विकास परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ ।
हाम्रो लक्ष प्रवासी श्रमिकहरूले विदेशमा श्रम गर्ने अवधिमा तयारी, वित्तीय शिक्षा, र उद्यमशीलता विकास प्रशिक्षण गर्दै आएका छौँ । विदेश जानुपूर्व, विदेशमा श्रम गर्ने चरण, स्वदेश फिर्ताको चरणसहित प्रत्येक चरणका लागि उद्यमशीलता विकास प्रदान गरी स्टार्टअप नवीनतम् व्यवसाय सञ्चालनका बारेमा प्रोत्साहन गरिरहेका छौँ । त्यसैगरी, नेपाली वित्तीय संस्थासँगको संयुक्त लगानीबाट स्वदेश फर्केका कामदारलाई कम ब्याजदरमा स्टार्टअप पुँजी उपलब्ध गराउने योजना पनि कार्यान्वयन चरणमा छौँ । कोइकाको सहयोगमा एक प्रसिद्ध कोरियाली पशुपालन कम्पनीले गोर्खाको पालुङटार क्षेत्रमा बङ्गुर तथा कुखुरापालनका लागि व्यावसायिक इन्क्युबेसन सेन्टर निर्माण गरेर पशुपालन क्षेत्रमा सीप हस्तान्तरण गरिरहेको छ । उक्त बङ्गुर तथा कुखुरापालनको लागि स्टार्टअपका रुपमा प्राविधिक ज्ञान हस्तान्तरण र नेपालमा आधुनिक पशुपालन व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ । त्यसैगरी, कोरियाको हान्दोङ युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालय ग्रेजुएट स्कूल अफ बिजनेससँग सहकार्य गर्दै १० वर्षदेखि सामाजिक उद्यमशीलता प्रर्वद्धनका साथै स्टार्टअपका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसै वर्ष दूतावासले कोरियामा रोजगारीको अनुभव भएका र नेपालमा फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका २६ जना व्यवसायीको वास्तविकतामा आधारित सफल व्यावसायिक कथाहरू समावेश गरी “तपाईं पनि मालिक बन्न सक्नुहुन्छ” नामक पुस्तक प्रकाशित गरेको छ । हामीले ती स्टार्टअप सफलताका कथाहरूले प्रवासी श्रमिकका लागि विदेश जानुपूर्व तथा स्वदेश फर्केका विदेशमा रोजगारीको अनुभव भएका कामदारहरुका लागि उद्यमशीलता प्रोत्साहनको अपेक्षा लिएर दूतावासबाट प्रकाशित पुस्तक निःशुल्क रुपमा वितरण गरेका छौँ । वैदेशिक रोजगारीको अनुभव लिएका र नेपाल फर्किएका धेरै व्यक्तिले नेपालमा नै व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना होस् भन्ने लक्ष्य लिएर सहकार्य गर्दै आएका छौँ र भविष्यमा पनि निरन्तरता दिनेछाँै । हामी निकट भविष्यमा नै नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहना लिएर विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रममा हातेमालो गर्दै आएका छौँ ।
अन्त्यमा
अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्ष उमेर समूहका मानिसको समूहलाई भनिन्छ । नेपालको परिवेशमा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । त्यसैगरी, करिब ५६ लाख युवा वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । नेपाल युवा राष्ट्र हो । सम्पूर्ण जनसङ्ख्याको औसत उमेर २० को हाराहारी रहेको छ । नेपालमा स्टार्टअप इकोसिस्टमलाई विस्तार गर्न उत्प्रेरणा गर्ने लक्ष्यका साथ नेपालका युवालाई उद्यमशीलताका लागि आवश्यक समन्वय गर्न प्रयत्नरत छौँ ।
नेपालमा स–साना स्टार्टअपको माध्यमबाट रोजगारी सिर्जना होस् भन्ने हाम्रो चाहना छ । सुरुआत सानो भए पनि हरेक व्यवसायको वृद्धि क्षमता असीमित हुन्छ । कोरियाको बहुराष्ट्रिय कम्पनी साम्सङ एउटा सानो चामल पसलका रूपमा भएको थियो । त्यसैगरी, हुन्डाई मोटर्सले अटोमोबाइल मर्मत गर्ने सानो व्यवसाय सुरु गरेर आज विश्वव्यापी कम्पनीका रूपमा स्थान लिन सफल भएको छ । यी र यस्तै ठूला कम्पनीहरु कोरियाको उद्यमशीलता आर्थिक गतिशीलताको महत्वपूर्ण स्रोत बनेका छन् । नेपालमा पनि सुरुआती चरणमा स–साना व्यवसायबाट सुरुआत भएका धेरै स्टार्टअपले भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा परिचय दिन सक्नेछन् । मेरो एक वर्षको अनुभवले वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा कृषि, उत्पादनमूलक क्षेत्र, सेवा क्षेत्र आदिमा व्यवसाय सञ्चालन गरेर धेरै व्यक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेको र भविष्यमा पनि यो सङ्ख्या बढ्ने अपेक्षा लिएको छु ।
(नेपालका लागि गणतन्त्र कोरिकाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)
मस्को, रूस । रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् ।
हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था (तास) ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।
युक्रेनको सीमाबाट करिब १५० किलोमिटर टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् । हेलिकप्टरको दुर्घटना प्राविधिक कारणले भएको वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।
ढाका । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो ।
विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् ।
प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्याङ्कमा उल्लेख छ ।
हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् रअझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् ।
हसीनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।
दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो ।
गत हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए ।
शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्ने बारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ ।
यस महिनाको र्याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ ।
समूहका एक संयोजक आसिफ महमुदले भने, “प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीहरूको सामूहिक हत्याका लागि राष्ट्रसँग माफी माग्नुपर्छ भन्ने हाम्रो माग छ ।”
“हामी गृहमन्त्री र शिक्षामन्त्रीलाई पनि घटनाको लागि जिम्मेवार ठहर गर्दै बर्खास्त गरियोस् भन्ने चाहन्छौँ ।”
महमुदले प्रदर्शनमा सहभागी भएको सङ्ख्यालाई कम आँकलन गरिएको बताए । एएफपीका अनुसार गत हप्तादेखि सुरु भएको हिंसामा प्रहरीले कम्तीमा दुई हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।
गत जुन महिनामा आधाभन्दा बढी सरकारी जागिर केही वर्गका लागि आरक्षित गर्ने योजना लागू भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका लडेका भूतपूर्व सैनिकका सन्तानका लागि करिब एक तिहाइ आरक्षणको व्यवस्था भएको भन्दै विद्यार्थी समूह आन्दोलित भएका थिए ।
सरकारी आँकडाअनुसार बङ्गलादेशमा करिब एक करोड ८० लाख युवाहरू कामबाट बञ्चित भएका छन्, यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ ।
यो आरक्षण (कोटा) प्रणाली हसिनाको अवामी लिगका वफादारहरूलाई सार्वजनिक जागिरहरू दिलाउन प्रयोग गरिएको सरकारका आलोचकहरूले बताएका छन् ।
सर्वोच्च अदालतले आइतबार आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर आरक्षणपूर्ण रूपमा खारेज गर्न प्रदर्शनकारीहरूको माग भने पूरा भएको छैन ।
सन् २००९ देखि देशमा शासन गरिरहेकी ७६ वर्षीया हसिना विपक्षीहरूको सहभागिताबिना जनवरीमा भएको निर्बाचनमा लगातार चौँथो पटक विजयी भएका थिए ।
उनको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप पनि लगाएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । एक हप्ताअघि नै सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम चरणमा रोकिएको थियो। योसँगै मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार भोलि नै सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । यसअघि गत शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी थियो। त्यसका लागि सञ्चालक समितिको बैठक बसे पनि नीति पारित हुनसकेको थिएन।
प्रधानमन्त्रीका विकास सल्लाहकारको रुपमा गत हप्ताको बिहीबार डा. युवराज खतिवडा आएपछि उनले मौद्रिक नीतिमा थप सुझाव दिन भनेपछि रोकिनपुगेको थियो।
रसुवा । बुधबार रातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले राससलाई बताएअनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।
गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्ता गरेका कारण पासाङल्हामु मार्गमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् । अन्तर्राष्ट्रिय व्यापार व्यवसाय गराउने प्रमुख मार्गलाई तत्काल मर्मत गरि सञ्चालन गरिदिन व्यवसायीले अनुरोध गरेका छन् । ठूलो पानी परे पूरै क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै वैकल्पिक मार्गका लागि बोगटीटार–बनुवा र आम भञ्ज्याङ सिम्ले, तारूके हुँदै धारापानीको ग्रामीण सडक मर्मत गरी यातायात सञ्चालनमा सहज पारिदिन स्थानीयले सुझाव दिएका छन् ।
रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजनल इञ्जिनियर सुवोध देवकोटाले पहिरो स्थलमा प्राविधिक अध्ययन सुरू भइसकेको,एक/दुई दिनमै सबै खाले सवारी साधन सञ्चालन गराउने जनाउँदै वैकल्पिक मार्गका रूपमा पहिलो चरणमा धारापानी, बेलचौर, सिम्ले ग्रामीण सडक सञ्चालन गराउन आजैदेखि मर्मत सुरू गरिएको बताए।
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।
यसैगरी, गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको हो । समीक्षा अविधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।
दुई हजारभन्दा अधिक घाइते
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच सय २४ जना गम्भीर र अन्य सामान्य छन् । घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार एक सय ८४ छन् भने सल्ल्यानका दुई सय ७१, रुकुमपश्चिमका एक सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
मोटरसाइकल, स्कुटर र अटो दुर्घटना धेरै
कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । गत आवमा प्रदेशभर सात सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि एक सय ६५ वटा अटोरिक्सा, दुई सय १८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् ।
एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक/ट्याङ्कर दुर्घटना परेको प्रहरीले जनाएको छ । यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए ।
डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन उड्डयन प्राधिकरण अनुमति दिन्छ । मालिक कम्पनी बिग्रेको प्लेन उडाउँछ । कस्तो धन कमाउने ? कति धन कमाउने ? थोत्रा प्लेन किन ल्याउन दिने ? बाटोमा पहिरोले बस खोलामा खसाउँछ । सडकमा मोटरसाइकल ढलमा छिर्छ ।
१. के यी घटना संयोग मात्र हुन् ? होइन, यी घटना र तिनको पृष्ठभूमिमा रहेको अस्तव्यस्त शासन प्रणाली, त्यसको पछाडि रहेको विकृत राजनीतिक प्रणाली, त्यसको पछाडि रहेको भ्रष्ट भोटतन्त्रका पछाडि ‘समाजको भत्केको नैतिक धरातल छ।’
२. यो भत्केको नैतिक धरातलमा मानिसको ताँती छ, जो पैसाका लागि सबै इमान बेच्न तयार छ, अरुको खुट्टा तानेर पछार्न तयार छ, लुट्न तयार छ, र लुटेरालाई बचाउन सत्ता भ्रष्टाचार बोकेर तयार छ। समाजको चेतना बोक्ने शिक्षित मानिस आफ्नो अस्तित्व बेच्न तयार छ ।
३. मानिसमा लोभ र लालच मौलाएको छ । लालचका लागि मानिस द्वेश बोकेर उभिएको छ, अहंकार बोकेर उभिएको छ। ऊ सामाजिक बन्न चाह्न्न, ऊ देशभक्त बन्न चाहन्न । मानिसमा भ्रान्ती व्याप्त छ। ऊ सिनो बोक्न तयार छ, ऊ ढुकुरको शिकार गर्न तयार छ । ऊ हत्याबाट दाम कमाउन तयार छ । ऊ पद बेचेर सुन किन्न तयार छ।
४. उसलाई हरेक कुराको लोभ र लालच छ, केबल विचार र नैतिकता उसको लालचमा छैन । नैतिक धरातल सबै भत्काएर, सोच र विचार सबै नष्ट गरेर समाज सम्पन्न हुन सक्छ ?
उति बेला बुद्धले भनेका थिए, जब मानिसको सोच वा अवधारणा नै भ्रष्ट हुन्छ, त्यसले त मानिसलाई हिंसा, अन्याय, द्वेशको बाटोमा आकर्षित गर्छ। मानिसलाई स्वार्थी बनाउँछ, लालचको नशाले लाठी र हतियार बोक्न प्रेरित गर्छ । मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गर्छ । नेपालमा आज भौतिक अभाव मात्र छैन । कुशासन मात्र छैन। मानिसमा निरासा मात्र छैन । यी सबैको पछाडि एउटा कारण छ, जसले मानिसको कर्मलाई कुकर्ममा परिणत गरेको छ। त्यो नैतिक धरातलको स्खलन । आजको प्लेन दुर्घटना पनि यसैको प्रतिफल हो ।
सिबी अधिकारी, काठमाडौँ । बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
बानेश्वर निवासी केसी नियमित झै पशल खोलेर साथीभाइसँग खफिरहेका थिए । ‘सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो’, केसीले भने, ‘आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।’
विमान दुर्घटनास्थलसँगै पेप्सिकोला खहरेस्थित जे.जे मोटर पार्टस एण्ड ट्रेडिङ कम्पनीका सञ्चालक केसीले उक्त स्थानमा विगत छ वर्षदेखि सवारीसाधनको मोटर पार्टस तथा मर्मत पसल सञ्चालन गर्दै आएका छन् ।
केसीले त्यो क्षण सम्झँदै भने – आँखै अगाडि कहाली लाग्दो विमान दुर्घटनाको दृश्यले केसीको मनमा छटपटी बढ्यो । मुखबाट शब्द निस्केन । एक छिन त हात–खुट्टाले पनि काम गरेन । भाग्यवस आफूहरू बाच्न सफल भएको उनले बताए । ‘धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सिधै बस्तीमा पस्ने थियो र हामीलगायत अरु धेरैको ज्यान जाने खतरा हुन्थ्यो धन्न बाँचियो’, केसीले भने ।
विमानले धावनमार्गसँगैको कन्टेनरमा ठक्कर दियो र भित्तामा बजारियो । आगोको मुस्लो र धुँवाले नजिक केही देखिएन । आगो लागेको करिब पाँच मिनेटमा दमकल आइपुग्यो । ‘जहाज माथिबाट जल्दै झरेको देखियो । आगो दन्कियो, आवास र गन्ध आइरहेको थियो’, केसीले भन्नुभयो । करिब २५ मिनेटमा आगो नियन्त्रणमा आयो र उद्धार गर्न सुरु भयो । घाइतेको उद्धार र शव निकालेर एम्बुलेन्समा हालियो । एम्बुलेन्सको आवास, मानिसको कोलाहलले दुर्घटनास्थलको माहोल भावविह्वल थियो ।
समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो की भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । सोही स्थानमा विगत डेढ वर्षदेखि थानापति वर्कसप सञ्चालन गर्दै आउनुभएका सुनिल साहीलाई चाही भुँइचालो गएजस्तो लाग्यो । यसो हेर्दा त विमानमो दुर्घटना भएको रहेछ ।
‘पसलमा बसिरहेको थिएँ, भुँइचालोले जस्तो हल्लायो, जुरुक उठेर हेर्दा त आगोको मुस्लो देखे, आगोको रापले उभिन सकिएन पर गएर दुर्घटनास्थल नियाले’, उनले भने, ‘दृश्य हेर्दा कोही पनि बाँचेन भन्ने लाग्यो, उद्धार टोली डिलोगरी पुगे । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।’
सिन्धुपाल्चोक घर भएका सवारीचालक सन्तोष खड्काले पनि विमान दुर्घटनाको साक्षी बने । उनले भने, ‘गाडीमा रङगरोघन गरिरहेका थियौँ, एक्कासी धुँवाको आगोको तापसँगै मुस्लो आयो, मुटु ढुकढुक भयो, जिउ काम्यो, हेर्दा खेरी डरमर्दो थियो । आगोको ताप सुरुमा दुई चार जना मानिस छटपटाइ रहेको देखियो, कोहीको आधा, जीउ कसैको हात घुट्टा छैन, केहीको टाउको थिएन । उद्धारमा ढिलाइ भएकाले धेरैको ज्यान बचाउन सकिएन ।’
सुमित कार्कीले पनि वर्कसपबाटै प्रत्यक्ष विमान दुर्घटनाको विभत्स दृश्यको साक्षी बने । ‘स्कुल बसमा कलर गर्दै थिए । एक्कासी ठूलो आवाजसहित आगो बलेको देखियो । दौडेर सुरक्षित ठाउँतिर गइयो, विमान जलिरहेको भिडियो पनि मोबाइलमा कैद गरियो । केही समयपछि दमकल र उद्धारकर्मी आए । सायद चाँडै आएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की !’, उनले भने ।
सप्तरीका सुरज पासवान पनि विमान दुर्घटना हुँदा नजिकैको धारामा हातखुट्टा धुँदै थिए । जहाज आवासहित ठोक्किएर आगो लागेको दृश्यले धेरैबेरसम्म बोल्न पनि सकेनन् । आगोको रापले भागाभाग भयो । ‘एउटा पाइलटले हात हल्लाएको देखे अरु जलेर चिन्न नसक्ने अवस्थामा थिए । हातखुट्टा लरबराए, धेरै डर लागेको छ ।’
विमान दुर्घटनास्थल नजिकको न्यू संयुक्त अटो वर्कसपमा कार्यरत मजदुर विमान दुर्घटनाका साक्षी बने । त्यहाँको सम्पूर्ण घटनाक्रम नियाले । अनि मोबाइलमा तस्बीर र भिडियो कैद पनि गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान आज स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।
चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका छन् । घाइतेको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे प्राधिकरण के भन्छ ?
अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरू आइरहेका छन् । यता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताए । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा सत्यता नरहेको उनले स्पष्ट पारे । ‘विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ’, सूचना अधिकारी भूलले भने, ‘विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।’
दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न सकिँदैन ।
एक सय आठ दुर्घटनामा नौ सय ५९ को मृत्यु
प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठ दुर्घटना भएका छन् । ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ । दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९, हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु, सिङ्गल इन्जिन विमानको आठ वटा दुर्घटना हुँदा २५ जना र ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको छ ।
के हो (सी–चेक)
सौर्य एयरलाईन्सको सीआरजे ७०० ९ एन–एएमई विमान ‘विमानको सम्पूर्ण चेक पार्टसको चेक’ (सी–चेक) का लागि इञ्जिनियरसहितको टोली लिएर पोखरा जाँदै थियो । उक्त विमान धावनमार्गबाट उड्ने बित्तिकै दुर्घटनाग्रस्त भयो । हरेक दुई वर्षमा सी–चेक गरिन्छ ।
कम्पनीसँग यही सिरिजका तीन विमान थिए । एक दुर्घटना र एक जहाज ग्राउन्डेड रहेकाले अब एक मात्रै उडानमा हुनेछ । हाल भद्रपुर र विराटनगरमा दैनिक समान तीन उडान गरिरहेको थियो । सी–चेकका लागि इञ्जिनियरहरुसहितको टोली विमान दुर्घटनामा परेको हो ।
उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले आजै पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।
प्राधिकरणका अनुसार वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेको हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ ।
दुर्घटनाको कारण प्राविधिक अध्ययनपछि मात्रै थाहा हुन्छ : पर्यटनमन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुःखद् विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले मृतकका परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले विमान दुर्घटना नितान्त प्राविधिक विषय भएकाले के कारणले दुर्घटना भएको दुर्घटना जाँच आयोगको अध्ययन पछि नै बाहिर आउने स्पष्ट पारे । ‘प्राविधिक विषयमा चाँडो प्रतिक्रिया दिन मिल्दैन, प्राविधिक अध्ययनपछि मात्रै भन्न सकिन्छ, तथ्य, घटनाक्रम र प्राविधिक त्रुटि भएमा अध्ययनपछि पुष्टि हुन्छ’, पर्यटनमन्त्री पाण्डेले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुःखद् दुर्घटनाले मर्माहत बनाएको भन्दै आगामी दिनमा यस किसिमका घटना हुन नदिन सबै जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘दुःखद् दुर्घटना भयो, कन्टेनरमा नठोकिएको भए अझ धेरै क्षति हुने रहेछ, यस्तो दुःखद् दुर्घटनाबाट पाठ सिकेर आगामी दिनमा सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन जरुरी छ ।’
काठमाडौँ । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ ।
खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘जहाँबाट आतिथ्यको सुरूवात हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढी लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
पछिल्लो समय होटल, रिसोर्ट, तारे र चेन होटल धमाधम सञ्चालन भइरहेका छन् । यसैक्रममा प्रालीले होटल र रिसोर्टमा लगानी बढाएको र आगामी १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य लिएको भण्डारीले बताए । हाल नेपालगञ्जमा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको र निकट भविष्यमा आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लैजाने कम्पनीको योजना रहेको उनले सुनाए ।
अध्यक्ष भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित होटलमा लगानी विस्तार गरिएको बताए । उनले भने, “आठ वर्षदेखि पर्यटन उद्योग विस्तार गर्नका लागि होटलमा लगानी गरिएको छ । काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य र सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खोलेका हौँ ।”
खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको सङ्गमस्थल भएकाले आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त रिसोर्टबाट तीन सय ६० डिग्रीमा हसेलीको दृश्यावलोकन गर्न सकिन्छ ।
यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपालको अनुपम आतिथ्यता संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले लगानी बढाएको बताए ।
पौवाले रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौँको गौशाला हुँदै पूर्वी क्षेत्रमा लगानी विस्तार गरेको हो ।
पौवाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।
उनका अनुसार पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । त्यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिनेगरी सेवा प्रवाह गरिरहेको छ ।
काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो ।
अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिए ।
उनकानुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उहाँहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा चौधरीले बताए ।
मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । “आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा चौधरीले भने, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।”
अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उहाँको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ ।
उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।
शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । बुधबार बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।
काठमाडौँ । सरकारले २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त राज्य बनाउने निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले बाढीपहिरो जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप ‘फ्लड लाइट जडान’ र ‘प्याराफिट’ निर्माणको कार्य तीन सय दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोकेको छ ।
परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले नेपाल सरकारको रिक्त मुख्यसचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (हाल निमित्त मुख्यसचिव) लीलादेवी गड्तौलालाई कायम मुकायम मुकरर गरेको छ ।
बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेको छ ।
काठमाडौँ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।
आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको छ ।
संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो ।
समितिको बुधबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरे ।
उनको कार्ययोजनामा निर्वाचन आयुक्तका रुपमा काम गर्ने मौका मिलेमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन संस्थागत सुदृढीकरण, क्षमता विकास र साझेदारी प्रवर्द्धका कार्य अघि बढाउने अठोट व्यक्त गरिएको छ ।
सूचना प्रविधियुक्त निर्वाचन व्यवस्थापन, सुदृढ कानुनी व्यवस्था तथा निर्वाचन पूर्वाधार विकास, निर्वाचन व्यवस्थापनमा मितव्ययीता र प्रभावकारिता, राजनीतिक दलको दर्ता तथा नियमनका विषयमा सुधार अघि बढाउने प्रतिबद्धता उनको कार्य योजनामा छ ।
निर्वाचन प्रणालीमा सुधार, निर्वाचनलाई छिटोछरितो तुल्याउने, मितव्ययी र खर्च पारदर्शी बनाउने र राजनीतिक दलको आन्तरिक लोकतन्त्रान्त्रिकीकरणमा पहल गर्ने विषय अवधारणामा परेको छ ।
प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोग जस्तो संवैधानिक निकायमा उजुरीमा उठाइका प्रश्नको स्पष्टीकरण माग गरे । उनीविरुद्ध यौन दुराचारको अभियोगसम्बन्धी चार वटा उजुरी परेका थिए ।
बैठकमा केही महिला सदस्यलेसमेत उच्च नैतिकता कायम रहनुपर्ने संवेदनशील, मर्यादित र जिम्मेवार पदमा सिफारिस भएको व्यक्तिमाथि उठाइएका प्रश्न र परेको उजुरीलाई कसरी लिनुहुन्छ भनी प्रश्न गरे ।
बैठकमा अधिकांश सदस्यले उजुरीमा उठाइएको नैतिक पक्षसँग जोडिएको प्रश्नबाहेक प्रस्तावित निर्वाचन आयुक्त प्रधानको योग्यता, क्षमता र अनुभवका दृष्टिले प्रश्न गर्नुपर्ने कुनै ठाउँ नरहेको बताए । बैठकको सभापतित्व गरेका समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले केही समयपछि प्रस्तावित आयुक्तबारे समितिको निर्णय सुनाउने जानकारी दिए ।
अछाम। अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ। अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ।
पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा १२ ताल र १८ वटा खण्ड छन् । तीमध्ये संरक्षणको अभावमा १० वटा सुकिसकेका छन्।
यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ अमर साउदले बताए।
“साना ठुला गरी १२ ताल र १८ पाटन खण्ड छन्”, उनले भने, “यो क्षेत्र १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ । संरक्षण नहुँदा यहाँका ताल सुक्दै गएका छन्।”
यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताए। उनका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन्।
“तालहरुको संरक्षण हुन नसक्दा ताल पुरिन थालेका छन्”, वडाध्यक्ष शाहले भने, “अहिले पर्यटन पूर्वाधार विकासका काम भइरहेकाले तालको पनि संरक्षणमा जोड दिएका छौँ।”
अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि सुन्दर र रमणीय रहेको भन्दै कालीकोटबाट रामारोसन जोड्ने पर्यटकीय सडक निर्माण भइरहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए।
“रामारोसन र बडिमालिकालाई पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माण गरिरहेका छौँ”, उनले भने, “यो क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छ । यहाँका पचाल झरना बडिमालिका, रारातालसँग पर्यटन मार्ग बनाउन लागेका छौँ।”
बाह्र तालमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा र १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट अन्यभन्दा आकर्षित र मनमोहक रहेका रामारोसन–५ का खड्क रोकायाले बताए।
“उत्तरी खण्डको चट्टानी पहाडले झन आकर्षक छ । घना जङ्गलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायत चराचुरुङगी, कस्तुरी बाघ, भालु, मृगलगायत वन्यजन्तु, पाँचऔँले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन्”, उनले भने। रोकायाका अनुसार गर्मीको समयमा तराईबाट गर्मी छल्न रामारोशन क्षेत्र आन्तरिक पर्यटक बढी आउने गरेका छन्।
अहिले रामारोसन ताल छेउमा केही होटेल व्यवसाय सञ्चालन भइरहेकाले विगतको भन्दा बढी पर्यटक आउने गरेका गाउँपालिकाका पूर्वउपाध्यक्ष सरस्वती रावलले बताइन्।
“आन्तरिक पर्यटक केही मात्रामा आउने गरेका छन्”, उनले भनिन्, “अझैँ पनि बाह्य पर्यटक ल्याउन सकिएको छैन । यसको प्रवर्द्धन गर्न सके पश्चिम नेपालकै पर्यटकीय गतिविधि बढ्दै जाने थियो ।”
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ ।
परिसङ्घले बुधबार विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ ।
लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैङ्क तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सिबिफिनले उठाएको थियो ।
प्रस्तावित बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) का केही नीतिगत प्रावधानहरुले बैंकिङ लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीसमेत पलायन हुने क्रम बढेकोप्रति सिबिफिनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।
समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका पहलकदमीहरु अवलम्बन हुने विश्वास सिबिफिनले व्यक्त गरेको छ ।
पुँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी सिर्जना, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको बैंकिङ क्षेत्रको मुनाफा ऋणात्मक हुँदै जानु गम्भीर समस्या रहेको सिबिफिनको धारणा थियो ।
बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिँदा लाखौँ लगानीकर्ताहरुको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमासमेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन अर्थमन्त्री समक्ष सिबिफिनले आग्रह गरेको छ ।
छलफलका क्रममा अर्थमन्त्री पौडेलले सिबिफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गरेका थिए ।
साथै, सुषुप्त अवस्थामा रहेका मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने अर्थमन्त्री पौडेलले बताए ।
सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानी हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्याउने कुनै गतिविधि सरकारलाई क्षम्य नहुने बताए ।
अर्थतन्त्रको आधार स्तम्भकारुपमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरुको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिवद्धता उनले जनाए ।
मुगु । मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ ।
प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने बताए । चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ थियो ।
नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रुपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो ।
मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको छ ।
नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् । मुगुम कार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउँछन् ।
सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमि सडक बनाउने कार्य अघि बढेको छ । हालसम्म १७ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपील गर्दछु ”।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबारको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले यस्तो बताएकी हुन् । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा राणासँग प्रश्न गरेका थिए ।
मन्त्री डा राणाले भनिन्, ‘यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।’
परराष्ट्रमन्त्री डा राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरुमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राखिन् ।
सांसदहरुको जिज्ञासामा मन्त्री डा राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट पारिन् । इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उनले भनिन्, “सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ ।”
हाल बङ्गलादेशमा विकसित घटनाक्रममा सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी पनि उनले गराइन् । त्यहाँ अप्ठेरोमा परेका नेपाली विद्यार्थीहरुका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर तथा ढाकास्थित नेपाली दूतावासलाई सक्रिय गराएर नेपाल आउन चाहनेलाई यहाँ आउनका लागि सहजीकरण गरिएको र बाँकी त्यहाँ रहेकाहरुको सुरक्षाका लागि ध्यान दिन निर्देशन दिइएको पनि मन्त्री डा राणाले जानकारी दिइन् ।
उनले हिजोसम्म करिब एक हजार चार सय विद्यार्थी नेपाल आइसकेको र त्यहाँ रहेकाहरु पनि सुरक्षित रहेका पनि जानकारी गराइन् ।
विदेशी भूमिमा यस्तै प्रकारका असहज परिस्थितिहरु उत्पन्न हुन जाँदा नेपालले आफ्ना नागरिकको उद्धारका लागि राष्ट्रियस्तरको कुनै त्यस्तो मापदण्ड नबनाएकाले नेपालीहरुको उद्धारका लागि अप्ठेरो हुने गरेको बङ्गलादेशको यो पछिल्लो घटनाबाट पाठ सिकिएकाले आगामी दिनमा यस कार्यका लागि एक विशेष प्रकारको मापदण्ड निर्माण गरिने पनि उनले जानकारी दिइन् ।
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको अवस्था खतरामुक्त चिकित्सकले जानकारी दिएका छन् ।
केएमसी अस्पतालमा उपचाररत उनले अनुहारमाचोट लागेको छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन् । उनको भाँचिएकाले शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
उनको टाउकोमा ठूलो चोट लागेकाले न्यूरो सर्जरी गर्नुपर्ने बताइएको छ । बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा अरु १८ जनाको मृत्यु भएको छ भने शाक्यको घाइते अवस्थामा उद्दार गरिएको थियो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक पदमा विवादित व्यक्तिलाई नियुक्ति नगर्न आग्रह गरेको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारीलगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानूनी रुपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो । पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्दछ भनी सर्वोच्च अदालतबाट (ने.का.प. २०७३ फागुन, भाग ५८, निर्णय नं. ९७१०) मा परमादेश समेत जारी भएको छ । सामाजिक र कानूनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानूनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आमनागरिकको भरोसा समेत टुट्न जान्छ ।’
लुम्बिनीमा नेपालगञ्जकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई मन्त्री बनाइएको छ । यसको अधिकारकर्मीहरुले विरोध गर्दै आएका छन् ।
भक्तपुर । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो । नागालाई उनका दिदी सानुमाया लागेजुले कलेजो दान गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा मात्रै शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । हालसम्म सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल रहेका केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
‘केन्द्रमा बिरामीको बिग्रेको कलेजो पूरै हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको छ’, उनले भने, ‘तीन वर्षको बालकदेखि ६८ वर्षका ज्येष्ठ नागरिकसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ ।’
विसं २०७३ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा मुलुकमा पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा श्रेष्ठको नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो ।
पछिल्लो समय एकजना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रको प्रत्यारोपण टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नहुँदासम्म जुनसुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु सकारात्मक हुने डा श्रेष्ठको भनाइ छ । केन्द्रले हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण गरिसकेको जनाउँदै उहाँले लिने पुरुष र दिने महिला धेरै रहेको बताए ।
केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘प्रत्यारोपण सुरु भएदेखि हालसम्म २४ जना ग्रहणकर्ता पुरुष र दुई जना महिला छन् । प्रत्यारोपण गरेका २६ जनामध्ये १८ पुरुषलाई महिला दाताले कलेजो दान गर्नुभएको छ । आठ दाता मात्रै पुरुष हुनुहुन्छ । यो तथ्यांकलाई हेर्दा पुरुषले लिएको र महिलाले दिएको अवस्था छ ।’
विदेशमा ५०औँ लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले न्युनतम १५ रुपैयाँ देखि बढीमा २० रुपैयाँ लाखसम्ममा गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
“प्रत्यारोपणका लागि ६५ वर्षभन्दा बढी उमेरका मानिसले समेत आफू भन्दा सानालाई स्वस्थ्य कलेजो दान गर्न सक्ने र साना बालबालिकाले पनि वयष्कलाई तथा वयष्यले बालबालिकालाई सजिलै कलेजो दान गर्न सक्नन्”, उनले भने ।
कलेजो दान दिनेले तीन चरणको जाँच पास गर्नुपर्ने हुन्छ । जसमा कुनै सङ्क्रमण भए÷नभएको, स्वास्थ्यमा कुनै जटिल समस्या भए/नभएको र मधुमेह वा अन्य कुनै समस्याका कारण कलेजोमा बोसो जमे÷नजमेको भन्नेबारेमा ध्यान दिनु जरुरी रहेको डा श्रेष्ठले बताए ।
उनका अनुसार कलेजोमा धेरै बोसो जमेको छैन भने त्यसको केही भाग बिरामीको कलेजोलाई फालेर त्यसको ठाउँमा स्वस्थ्य मानिसको कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यसरी कलेजो दान गर्दा खासै जटिलता उत्पन्न हुदैन । कलेजोमा ६० प्रतिशत भन्दा बोसो जमेको बाहेक अन्यले सजिलै दान दिन सक्नेछन् ।
कलेजो आफैँ विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि बिरामीको शरीरमा विकसित हुँदै जाने भन्दै करिब छ महिनामा झण्डै ९० प्रतिशत विकास हुने उनले जानकारी दिए । कलेजो प्रत्यारोपण गरिएका बिरामीले पुनः पहिलाको जस्तै जीवन जीउनसक्ने उनले बताए ।
नेपालमा झण्डै ६० प्रतिशतको कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बिग्रने गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । विश्वमा धनी देशमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर बिग्रने गरेको पाइएको उनको भनाइ छ ।
नेपालमा हरेक वर्ष करिब एक हजारको कलेजो बिग्रने गरेको छ भने भारतमा गएर कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको केन्द्रले जनाएको छ ।
काठमाडौँ । यो साता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
बुधबार नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह एक दशमलव १६ र होटल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ एक दशमलव २१, विकास बैंक शून्य दशमलव ५६, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ३१, उत्पादन तथा प्रशोधन एक दशमलव २४ र लघुवित्त एक दशमलव २४ प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव १४ र अन्य समूह एक दशमलव ९० प्रतिशतले घटेको छ ।
बोटलर्स नेपाल (तराई) लिमिटेड र एसियन हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाईड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३६ करोड सात लाख ४६ हजार चार सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १३ लाख ७६ हजार सात सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्याण्डको सर्वोच्च अदालतले अर्को महिना फैसला सुनाउने भएको छ ।
गत मे महिनामा अदालतले ४० जना पूर्व सिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदनलाई स्वीकार गरेको थियो ।
सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको हो ।
पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचित विवादमा आएपछि पछि श्रेतालाई जोगाउन मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए ।
संवैधानिक अदालतले श्रेताविरुद्धको मुद्दामा अगस्ट १४ मा फैसला सुनाउने छ ।
कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएकी सिनावात्राको फेउ थाई पार्टीकी नेता श्रेता सिनावात्रा सन् २०२३ को चुनावपछि सेनासँग सम्बन्धित दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेकी थिइन् ।
पपुवा न्यू गिनीको पूर्वी सेपिक प्रान्तमा भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
समाचार संस्था, नेशनलका अनुसार प्रान्तको अङ्गोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा भएको झडपले हत्या, बलात्कार र सम्पत्तिको विनाशको अवस्था निम्त्याएको हो ।
तीस जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेशनलले जनाएको छ ।
सामूहिक हत्या र सम्पत्ति विनाश हुने गरी भएको झडप भूमि विवादसँग सम्बन्धित रहेको अङ्गोरमका सांसद सालियो वाइपोले जानकारी दिएका छन् ।
वाइपोले ३३ जना संदिग्ध आक्रमणकरीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको खुलासा गरे ।
उनले पीडितका परिवारलाई शान्त रहन आह्वान गर्दै आवश्यक सहयोगका लागि तोकिएको प्रहरी अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५आधार अङ्कले घटाएको जनाएको छ ।
श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जूनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।
केन्द्रीय बैङ्कले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
बैङ्कका अनुसार बुधबारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो ।
सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।
गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैङ्कले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैङ्कले दिएको छ ।
सन् २०२२ भएको ७.३ प्रतिशतको ब्याज दर वृद्धिको रेकर्डपछि गत वर्ष अर्थतन्त्र २.३ प्रतिशतले सङ्कुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो ।
उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाएका थिए ।
काठमाडौं । सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफङ लिएका छन् ।
प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरे ।
उनले घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए ।
घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न उनले आग्रह गरे । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहितलगायत सहभागी थिए ।