`

पूर्वमन्त्रीले पाँच हजार घुस खुवाउनु परेको काण्डमा पनि संसद स्तब्ध भएर बस्नु दुःखदः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्रीले काम गराउन पाँच हजार घुस दिनुपरेकोबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पूर्वमन्त्री वीरेन्द्र महतोले काम गराउन पाँच हजार घुस दिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले यस विषयमा शिक्षा, गृहमन्त्री र प्रधानमन्त्रीलाई रुलिङ गराई तीन दिनभित्र संसदमा जानकारी गराउन सभामुखसमक्ष माग गरे ।

उनले भने, ‘यही साउन ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा सांसदले पाँच हजार घुस दिएर आएको कुरा संसदमा बोल्नु भएको थियो । उहाँले आफ्नो छोराको सर्टिफिकेट प्रमाणिकरणका लागि पाँच हजार घुस दिएको अभिव्यक्ति दिनुभयो। यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्ने लागेको थियो । तर हुन सकेन । तीनभित्र यस विषयमा संसदमा जानकारी गराउन आग्रह गर्न चाहन्छु ।’

उनले घुस दिने र लिनेबीच छानबिन हुनुपर्ने बताए । उनले भने, ‘मेरो आसय घुस दिने शुत्र हुन् भन्ने होइन। तर, यत्रो काण्डमा पनि संसद स्तब्ध भएर बसेको छ। घुस खानेहरू बसिरहेका छन्। त्यसैले यो विषयमा छानबिन हुनुपर्छ।’

साउन ६ गतेको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा छोराको सर्टिपिकेट ’समकक्षता’ आफूले ५ हजार घुस दिएको बताएका थिए ।

बंगलादेशका विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

बंगलादेशमा चर्किरहेको आरक्षणविरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको छ ।

तीनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नुपरेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।

समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटी’ अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

‘न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस् ‘, ह्याकरहरूले चेतावनी दिएका छन् ।

उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ । बंगलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए ।

भुक्तानी नपाएपछि चितवनका किसानले छाडे दूध उत्पादन गर्न

नारायणगढ ।  चितवनका दूध उत्पादक किसानहरूले दूध उत्पादन गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन ।

बगालेले भने, ‘अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन ।’

बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उनले बताए।

सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताए। बाहिरबाट अनधिकृत रुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो ।

उनले भने, ‘अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन् ।’

अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सँग गरी रु ७२ करोड दूधको भुक्तानी लिन बाँकी छ ।

‘भुक्तानीका लागि पटक–पटक धाउनपर्छ, थोरै–थोरै गरेर भुक्तानी आउँछ’, बगालेले भने, ‘हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन् ।’

उनले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिए।

जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताए। अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन् ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दाबी पेश

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् । लामाले मंगलबार कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले आज साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । प्रदेश प्रमुख शर्माले आजै लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन होटल संघको माग

काठमाडौँ । होटल संघ नेपाल (हान) ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको टोलीले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउन माग गरेको हो ।

भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको सङ्ख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनी लगायतका राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरूले लामो समयदेखि होटेल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए ।

उनले नेपालमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको बताए ।

हानका अध्यक्ष शाहले होटलको सङ्ख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गर्दै ज्ञापन पत्र पेस गरेका छन् ।

एमालेले बागमती प्रदेशमा टुंग्यायो मन्त्रीको नाम

बागमती । नेकपा एमालेले पार्टीकातर्फबाट बागमती प्रदेशमा मन्त्रीको टुंग्याएको छ । एमालेले आफूले पाएको ६ मन्त्रालयमा मन्त्रीको नाम टुंग्याएको हो ।

जसमा किरण थापा, प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जन,सुकमाया तामाङ, कृष्णप्रसाद सिलवाल र अमनकुमार मास्के मन्त्री बन्ने भएका छन् । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय पाएको छ ।

दुई दलको सहमतिअनुसार सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने बन्नेछन् । एमालेले भौतिक पूर्वाधारसहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा लिने सहमति भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

त्यस्तै एमालेले भौतिकसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो ।

एमालेको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा गीता गिरीको शब्द र भद्र ओलीको संगीत रहेको छ ।

कृष्णदेव रुपाखेतीको निर्देशन रहेको मौलिक लोक लयमा आधारित गीतको भिडियोमा स्मारिका ढकाल फिचर्ड छिन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । यसैगरी गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत फेला

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वारस्थित मकैबारीमा मरेको गैँडा भेटिएको हो ।

गैँडा बूढो भएर मरेको बताइएको छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको आजै पोस्टमार्टम गरिने डा. श्रेष्ठले जानकारी दिए ।

ह्यारिसलाई डेमोक्रेटिक उम्मेदवार हुनका लागि प्रतिनिधिहरूको पर्याप्त समर्थन

बीबीसी । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीबाट समर्थन पाएकी छन् । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्दै ह्यारिसलाई समर्थन गरेका थिए । तर, पार्टीबाट उनको नाममा समर्थन प्राप्त भएको थिएन ।

सोमबार साँझ एसोसिएटेड प्रेसद्वारा गरिएको सर्वेक्षणले ह्यारिसले पहिलो चरणको मतदानमा मनोनयन जित्न आवश्यक एकहजार ९७६ प्रतिनिधिहरू भन्दा बढीको समर्थन प्राप्त गरेको बताएको छ। ह्यारिसले व्यापक समर्थन प्राप्त गर्न पाउँदा गर्व महसुस भएको र औपचारिक रूपमा नामांकन स्वीकार गर्न तत्पर रहेको बताइन् ।

डेलिगेटहरू ती व्यक्तिहरू हुन् जसलाई पार्टीको प्रमुख मनोनयन कार्यक्रम डेमोक्रेटिक नेशनल कन्भेन्सनमा आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्न चयन गरिन्छ ।

कम्तिमा २७ राज्यका प्रतिनिधिहरूले ह्यारिसलाई समर्थन गर्ने बताएका छन् । सीबीएसका अनुसार उक्त सर्वेक्षणले आइतवार राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिएपछि ह्यारिसको समर्थनको आधारको संकेत हो ।

उनले भनिन्,’हाम्रो अभियान जहिले पनि हामीले हाम्रो देशको भविष्यको रूपमा हेरेका दुई फरक संस्करणहरू भएको छ । एउटाले भविष्यमा ध्यान केन्द्रित गर्छ, अर्कोले भूतलाई केन्द्रित गर्दछ। डोनाल्ड ट्रम्प हाम्रो देशलाई पछाडि लैजान चाहन्छन् । हामी सबै अमेरिकीहरूको लागि ठाउँ दिने उज्यालो भविष्यमा विश्वास गर्छौं।’

पूर्वीनाका काँकडभिट्टाबाट एकवर्षमा १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा  १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा  १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट  छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर । छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु. एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।

बागलुङमा भदौदेखि ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

बागलुङ । बागलुङमा ९ वर्षपछि हनुमान नाच फेरि सुरु हुने भएको छ । २०७२ सालपछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको नाच संरक्षण परिषदका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो ।

तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले आगामी भदौ ११ गते सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन गरिने जानकारी दिए ।

भदौको पहिलो वा दोस्रो मङ्गलबार पारेर बागलुङ बजारको नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ ।

पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताए । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उनको भनाइ छ ।

उनले भने, १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ ।’

पाँच सय वर्ष पहिले भक्तपुरबाट सुरु भएको नाच पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृति पनि सँगै ल्याएको बताइन्छ । बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ ।

१७६८ सालमा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए ।

उनका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उनको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् ।

काठमाडौं महानगरले संचालन गरेको कक्षा ११ को छात्रवृत्ति परीक्षामा आठ हजार १९७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । छात्रवृत्तिका आवेदक ११ हजार ८७१ जना विद्यार्थीमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । विज्ञान विषयका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ ।

यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो । परीक्षामा ७ हजार ६६५ जना सहभागी भएका थिए । त्यसमध्ये ६ हजार ७२० जना उत्तीर्ण भएका छन् । व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिएका थिए ।

उनीहरुमध्ये २ हजार ३२८ जनाले परीक्षा दिएका थिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन् । यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाले आवेदन दिएका थिए भने १३२ जनाले परीक्षा दिएका थिए । जसमा ७३ जना उत्तीर्ण भएका छन् । मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाले आवेदन दिएकामा ११ जनाले परीक्षा दिएका थिए । यस विषयका लागि ८ जना उत्तीर्ण भएका छन् । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ ।

यसका लागि ३७ आवेदकमध्ये ३२ जनाले परीक्षा दिएका थिए । उनीहरुमध्ये १५ जना उत्तीर्ण भएका छन् । साउन ४ गते भएको परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए । योग्यता क्रम निर्धारणका गर्दा उच्च अङ्क प्राप्त गर्नेलाई योग्यताको पहिलो क्रममा राखिएको छ ।

यो अङ्क बराबर प्राप्त भएकाहरुका हकमा एसईईको जिपीएलाई आधार मानिएको छ । जिपीए पनि बराबर भए गणित विषयको अङ्क, त्यो पनि बराबर भए विज्ञान विषयको अङ्क, त्यो पनि बराबर भए अंग्रेजी विषयको अङ्क, त्यो पनि बराबर भए सामान्य ज्ञानको अङ्कलाई योग्यताको सूचक मानिएको थियो ।

यो पनि बराबर भए उमेरमा कनिष्ठ हुनेलाई प्राथमिकता दिइएको थियो । योसम्म पनि बराबर भए छात्रवृत्ति समितिको निर्णय अन्तिम हुने पद्धतिका आधारमा योग्यता क्रम निर्धारण गरिएको शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

नतिजामा दावी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेवसाइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर साउन १० गते बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिनेछ । पुनर्योग र दावी विरोधको अवधि सकिएपछि प्राथमिकता क्रमअनुसारको साधारण र समूहगत म्याचिङ् लिष्ट प्रकाशन हुनेछ । यसको प्राथमिकता भनेको विद्यार्थीले आवेदन दिँदा छनोट गरेको शिक्षण संस्था र विषय हो ।

महानगरपालिकाका प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छिन्, ‘यो सूची कोटा खाली हुन गए, दोस्रो सूचीबाट पूरा गराइनेछ ।

यसबाट पनि सिट खाली हुन गएमा विषय र शिक्षण संस्था परिवर्तन गर्न चाहने विद्यार्थीहरुलाई भर्नाका लागि अवसर दिइनेछ ।’ पोखरेलका अनुसार निर्धारण गरिएका कोटामा विद्यार्थीहरुलाई अवसर दिने गरी नतिजा प्रकाशन हुनेछ ।

https://drive.google.com/file/d/1bqiegKxCWFczygW8cKkBbDOF2ClusMqH/preview

उपसभामुखको सचिवालयले ९ लाख रूपैयाँ लिएको रहेछः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत ढकालले यो प्रकरणलाई पार्टी नेतृत्वले सुरु देखिनै नजरअन्दाज गर्दै आएकाले राज्यले छानबिन गर्नुपर्ने बताएका हुन् । उनले यसबारेमामा आफूसँग केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई ‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

उपसभामुखको पत्र प्रकरणका बारेमा मुकुल ढकालको भनाइ

वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पिडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछी कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् ।

घटनाको खबर प्राप्त गर्ने बितिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सहकोषाध्यक्ष एवं गृहमन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दिपक बोहोरासम्म कुरा पुर्याए र गृहमन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोहि पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले शुरूमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछी उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । “नचिनेको मान्छे भन्न पाइन्छ ?” , “त्यसरी हस्ताक्षर गर्न मिल्छ ?” भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले “थाहा भएन” भन्ने सामान्य उत्तर दिनु भयो । “थाहा छैन भन्न पाइन्छ ?” भनेर मैले प्रश्न गरिरहे, तर उहाँले “थाहा छैन” को रटान लगाइरहनु भयो । त्यसपछी, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यलयमा यथासक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यतिबेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईंले नै ती व्यक्ति पार्टी कार्यलयमा उपस्थित गराउनु भने ।

उपसभामुखको मात्र होइन, “थाहा छैन” भन्ने रोग पार्टीमा संक्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता “थाहा छैन” प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केहि दिन लुकाउन सकिएला , सँधै लुकाउन सकिन्न । “थाहा छैन” भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दवावकै कारण मैले समीक्षा यात्रा पनि “थाहा अभियान” का अभियान्ता रूप चन्द्र विष्ट ‘रूदाने’ को गाउँ “थाहा नगरपालिका” बाट शुरू गरे ।
उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछी , इलामको उपचुनाव आयो । चुनावको नतिजापछी पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्यो । त्यसपछीका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सिमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समयचक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवत सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यलयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन ।

उपसभामुखलाई सोधखोजपछी पनि म पिडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पिडितले ती पालिका सभापतिलाई “तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो” बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।

हालसालै घटना सार्वजनिक भएपछी , रवि लामिछाने क्लवले मिथ्या र भ्रम छर्न पार्टीको लेटरहेड दुरूपोयग गर्यो । लेटरहेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालिन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लवले सामान्य सोधपुछ समेत गरेन । यसको मतलव क्लव विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो ।

उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठूलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु ।

उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि , हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नी परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि , छानविनका लागी तयार हुन नपर्ने केहि कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ, आफूँमाथि छानविनका लागी स्वंय तयार हुनपर्छ । छानविनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेश गर्न सक्नुपर्छ । छानविनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूँमाथि आफैँ छानविनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि , त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरि के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उचो बनाउनु हो , जुन राजीनामा दिएर गर्न सकिन्छ , नकी पदमा बसेर ।

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस असफल: निर्देशक किम्बर्ली 

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छन् ।


‘हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो’, निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले भनिन्, ‘जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेवारी लिन्छु ।’


राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गर्नुभएका चिटलले ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनिन् । एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । 


रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उनीमाथि गोली चलाएका थिए । 


आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । 


बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निर्धारण गरेका छन् । 


गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो । 


‘यो त्रासदीलाई रोक्न सकिन्थ्यो । निर्देशक चिटल, तपाईंले राजीनामा दिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ’, हत्या प्रयासमाथि सुनुवाइ प्रारम्भ गर्दै रिपब्लिकन कमिटीका अध्यक्ष जेम्स कमरले भने, ‘सिक्रेट सर्भिसको सुरक्षात्मक मिसन भनेको अमेरिका भ्रमणमा आएका विश्व नेताहरूको सुरक्षा गर्नु र उम्मेदवार तथा उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको सुरक्षामार्फत अमेरिकी निर्वाचनको सुरक्षा गर्नु हो ।’


‘सिक्रेट सर्भिसको शून्य–असफल मिसन छ तर जुलाई १३ मा र र्यालीका अगाडिका दिनहरूमा यो असफल भयो’, उनले भने, ‘एजेन्सी अब अक्षमताको अनुहार बनेको छ ।’


ओहायोबाट रिपब्लिकन सांसद प्रतिनिधि माइकल टर्नरले पनि चिटललाई राजीनामा दिन आग्रह गरे । ‘तपाईंले राजीनामा मात्र होइन, तपाईंले राजीनामा दिन अस्वीकार गर्नुभयो भने राष्ट्रपति जो बाइडेनले तपाईंलाई बर्खास्त गर्नुपर्छ । किनकी तपाईंले रक्षा गर्ने उहाँको जीवन, डोनाल्ड ट्रम्पको जीवन र अन्य सबैको जीवन खतरामा छ ।’


ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताए । 


पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेका थिए । उनलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए ।

कोरियन एयरद्वारा ४०  वटा बोइङ विमान अर्डर

कोरियन एयरले सोमबार बेलायतको फर्नबोरो एयरसोमा ४० वटा बोइङ ७८७ र ७७७ एक्स बाइड–बडी विमानका लागि अर्डर गरेको छ । यसबाट सङ्कटग्रस्त अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई बढावा प्राप्त भएको छ ।

दशवटा थप ७८७ विमानको विकल्प समावेश भएको उक्त सम्झौता इन्धन–कुशल जेटहरूका लागि सूची मूल्यअन्तर्गत १५ अर्ब डलरको रहेको छ । यद्यपि एयरलाइन्सहरूले सामान्यतया कार्यक्रमहरूमा प्रस्तुत गरिएका आकर्षक सम्झौताहमा ठूलो छुट हासिल गर्दछन् ।

‘मलाई बोइङमा पूर्ण विश्वास छ’, कोरियन एयरका प्रमुख कार्यकारी वाल्टर चोले अमेरिकी समूहको हालैको सुरक्षा समस्याहरूका सन्दर्भमा सम्झौताको अनावरण समारोहमा पत्रकारहरूसँग भने, ‘हामी अहिले नयाँ डिजाइनहरूमा काम गरिरहेका छौँ, हामीले सधैँ उत्कृष्ट ग्राहक अनुभव र आरामको प्रयास गरिरहेका छौँ ।’

सोलस्थित एयरलाइन्सले पहिलो डेलिभरी सन् २०२८ मा हुने अपेक्षा गरेको छ । ‘यी नयाँ जहाजले यात्रीहरूको सुविधा बढाउनेछन् र परिचालन क्षमता वृद्धि गर्नेछन् । साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याउनेछन् । यसबाट दिगो उड्डयनका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई समर्थन गर्दछ’, चोले भने ।

दक्षिणपूर्वी इङ्गल्यान्डमा आयोजित बेलायतको द्विवार्षिक फर्नबोरो एयरसो बोइङ र युरोपेली कट्टर प्रतिद्वन्द्वी एयरबसबीच अर्डरको वर्चस्वमा परम्परागत हवाई लडाइँ हो । यद्यपि सुरक्षा चिन्ताहरूका बीच बोइङलाई ब्याकलगका कारण नोक्सान भएको छ ।

जनवरीमा अलास्का एयरलाइन्सले उडान गरेको ७३७ एमएएक्स फ्युसेलेज प्यानलमा आगो लाग्दा विमानले आपत्कालीन अवतरण गर्नुपरेको थियो ।

बोइङले अमेरिकी समूह नेसनल एयरलाइन्सले चार ७७७–२०० वाइड बढी मालवाहक विमानका लागि अर्डर गरेको सोमबार घोषणा गरेको छ ।

डीआईजी जोशी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन । 

यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड)बारेमा चर्चा गर्न खोजिएको हो । आफूइतरको भाषा नजान्दा समुदायले भागेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ । किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ । 

नेपाली भाषा नजान्दाको घटनालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको नाटक हो ‘मेषी दण्ड’ । सोलुखुम्बुको सुदूरउत्तरी गाउँ हालको माप्य दूधकोशी गाउँपालिकाको राप्छा गाउँको कथा हो यो । नाटक सोही गाउँका कवि तथा नाटककार गिलु रातोसले लेखेका हुन् ।

जसलाई कलात्मक ढङ्गबाट निर्देशन गरेका छन् अनिल सुब्बाले । लेख्य इतिहास नभए पनि किराँत समुदायको मौखिक इतिहास अर्थात् मिथक जीवित पाइन्छ । पुर्खाहरुका अनुसार सम्भवतः नेपाल–तिब्बत युद्धका बेला हुनुपर्दछ, तत्कालीन श्री ३ सरकारका फौजहरु सोलुखुम्बुको नाङपाला नाका जाने आउने क्रममा राप्छा गाउँमा आइपुगेका थिए ।

खालिङ भाषी समुदायले भरिएको राप्छामा उनीहरुले राज्यको नीति निर्देशनहरु उर्दी गरे । तर, त्यहाँ कोही पनि नेपाली भाषा जान्दैनथे । शासकहरुले जे भने पनि उनीहरुले ‘मेषी माका’ अर्थात् ‘त्यही त हजुर’ भनेर जवाफ फर्काए ।

राणा शासकहरुले मेषी माकाको अर्थ बुझेनन् । नेपाली भाषा बोल्न नजानेको भन्दै उनीहरु रुष्ट भए । त्यसपछि त्यहाँ बसोबास गर्ने खालिङहरुलाई बर्सेनि मेषी दण्ड तिर्नुपर्ने आदेश गरे । सोही समयदेखि राप्छाका खालिङ समुदायले राणाशासन अन्त्य नभएसम्म मेषी दण्डबापत श्री ३ सरकारलाई जरिवाना बुझाइरहे । 

यसरी एउटा आदिवासी जनजाति समुदायमाथि तत्कालीन शासकहरुले भाषाकै कारण कसरी दमन गरे भन्ने विषयलाई करिब डेढ घण्टा लामो नाटकबाट बुझ्न सकिन्छ । नाटक यही साउन २७ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन हुने मण्डला नाटकघरले जनाएको छ । 

नाटकका मुख्य पात्रका रुपमा खालिङ समुदायका तालुकदार सुजम्बर र उनैले नेपाली भाषा सिक्न अन्यत्रबाट राप्छा ल्याएका सिंहवीर कार्की छन् । नेपाली भाषा बोल्न जाने मेषी दण्ड तिर्नुनपर्ने आशामा भाषा सिक्नकै लागि आफूले आवाद गरेको भूमि सिंहवीर कार्कीलाई सुम्पिएर गाउँको प्रमुख बनाउछन् । कार्की गाउँ प्रमुख भएपछिका सामाजिक द्वन्द्व नाटकमा प्रस्तुत गरिएको छ ।

सिंहवीरले आफूमात्र नभई आफ्ना पण्डित, कपडा सिलाउने दमाईं, फलाम पिट्ने विश्वकर्मासहित राप्छा पुगेपछि खालिङ राईहरुमा कसरी धार्मिक, सांस्कृतिक हस्तक्षेप र प्रभाव पर्यो ? खालिङ समुदायभित्रको एकता कसरी खल्बलियो र सामाजिक विभेदका कस्ता रङहरु देखा परे ? शान्त तलाउ जस्तो आफ्नै लयमा बाँचिरहेको राप्छामा सिंहवीरको प्रवेशसँगै कसरी उथलपुथल सुरु भयो ? भन्ने विषय नाटकमा देख्न सकिन्छ । 

राई समुदायमा पनि फलामको काम गर्ने, कपडा सिउने व्यक्ति हुन्थे । तर, उनीहरुमा कुनै विभेद वा छुवाछुत हुन्न थियो । कतिपयका लागि यस्ता नयाँ जानकारी मेषी दण्डले दिएको छ । नाटकमा कलाकारद्वारा प्रस्तुत खालिङ भाषा र लवज, वेषभूषा, शैलीले नाटकलाई जीवन्त बनाएको छ ।

मुन्दुमी परम्परा, उधौली उभौलीमा नाचिने नृत्य, सङ्गीत र रैथाने जीवनशैलीले जोकोहीलाई स्थानीय परिवेशमा पुर्याउँछ । नाटकमा प्रस्तुत कतिपय नृत्य र कथाको संयोजन सामान्य दर्शकले सजिलै बुझ्न सक्दैनन् । साकेला सिलीमा राई मात्र नभएर अन्य खस जातिजस्ता देखिने अनुहार भएकाले दर्शकलाई थोरै अस्वाभाविक लाग्नसक्छ । सिंहवीर कार्कीका नाति र शिरिषलालका नातिनीबीचको प्रेम सम्बन्ध अचानक देखाइँदा कथाको सिलसिला थोरै नमिले जस्तो अनुभव दर्शकले गर्न सक्छन् ।

पात्रका रुपमा सुजम्बरको श्रीमतीको अभिनय गरेकी जुनमफूल (प्रतिना राई)ले दर्शकको ध्यान खिच्न सफल भएकी छन् । प्रयुक्त रङ, प्रकाश, स्थान, तत्कालिक समुदायको भावभङ्गिमाले नाटकको मूल कथालाई न्याय गरेको छ । लेखक गिलु रातोसको पहिलो नाटक लेखन भए पनि नाटककारका रुपमा रातोस् परिपक्व देखिएका छन् । नाटकको वास्तविक स्वाद लिन एकपटक मण्डला पुग्नैपर्ने हुन्छ । 

त्यसो त इतिहासमा संसारभर आदिवासी समुदायमाथि अनेकन् दमन भएका छन् । दमनका विविध रुप छन् । आदिवासीमाथि शासकहरुले भाषा, संस्कृति, धर्म, जात, वर्णमाथि प्रहार गर्दा आदिवासीको अस्तित्व क्षत्विक्षत हुँदै आएको छ ।

नेपालमा विसं १९१० को मुलुकी ऐनमा तामाङ जातिलाई मासिन्याको रुपमा उल्लेख गर्नु नेपालका लागि एउटा जबर्जस्त उदाहरण छँदैछ । सोही ऐनले गाईगोरु बधलाई निषेध गर्नु आदिवासीका प्राचीन धर्ममाथिको प्रहार थियो ।

भाषामाथिको दमनविरुद्ध काठमाडौँ उपत्यकाका नेवार समुदायहरुले लामो समयदेखि विद्रोह गर्दै आएको इतिहास छ । शाहवंशको आगमनपछि काठमाडौँ उपत्यकामा गोर्खाली भाषा अदालतको भाषा बन्यो । नेपाल भाषा (नेवारी)लाई प्रशासनको भाषाका रूपमा प्रतिस्थापित गरियो । शाह वंशीय राजाले दमनकारी नीति अवलम्बन गरे । 

नेपाल भाषीले राणा वंश (१८४६–१९५१ इस्वी) को दमनकारी नीतिअन्तर्गत भारी पीडा भोगे । सन् १९०६ मा नेपाल भाषामा लेखिएका कानूनी कागजातहरू लागू गर्न नसकिने घोषित गरियो । यो भाषामा कुनै पनि प्रमाण अवैध घोषित गरियो । शासकहरूले नेवारी साहित्य प्रतिबन्ध लगाए र लेखकहरूलाई जेल पठाइयो । सन् १९४४ मा नेपाल भाषामा लेख्ने लेखकहरुलाई देशबाट निष्कासित गरियो ।

मातृभाषामाथिको दमनको एउटा उदाहरण हो यो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा नेपाल भाषाको समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो । पञ्चायतसँगै रेडियो नेपालबाट उक्त भाषाको समाचार र कार्यक्रम दुवै हटाइयो । 

उपत्यकाका नेपाल भाषीहरुले विभिन्न चरणमा आन्दोलन गरे । सोही आक्रोशले विसं २०४६ सालको जनआन्दोलन सफलता प्राप्तिमा नेवार समुदायको भूमिका अह्म रह्यो । यसरी भाषाकै कारण भएका दमनहरुको शृङ्खलामा खालिङहरुमाथि भएको दमनलाई मेषी दण्डले नाटकका माध्यमबाट अभिलेखित गरेको छ । 

पछिल्ला वर्षमा आदिवासी तथा पिछडिएका समुदायको पहिचानसँग जोडिएका विविध आन्दोलन राजनीतिकभन्दा बढी कलाका माध्यमबाट तुलनात्मक रुपमा सशक्त देखिएका छन् । मण्डलामै मञ्चन भएका पछिल्ला नाटकहरु बाखाम्मा, खुवालुङ त्यसका उदाहरण हुन् । मेषी दण्ड त्यही आन्दोलनको एउटा निरन्तरता हो । 

यस नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्णबहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतले अभिनय गरेका छन् । 

नाटकको अन्त्यमा कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आफ्नै स्वरमा वाचित कविताले नाटकलाई थप सशक्त बनाएको छ । राईको कविताको एउटा अंशले भन्छः

ओ आगन्तुक

युगौँदेखि बोकिरहेछु

मैले आफ्नो शरीरमाथि

तिम्रो जुत्ताको डाम

भोगिरहेछु तिम्रो दण्ड विधान

लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु

सम्झ अब म ब्युँतिएपछि

सुरु हुनेछ अर्को कथा….

काभा भलिबलमा रसियन टोलीसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं । काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग लगातार दोस्रो हार बेहोरेको छ । सोमबारे भएको दोस्रो खेलमा ३–० को सोझो सेटमा पराजित हुँदै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिज २–० ले रसियालाई सुम्पिएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलको पहिलो सेट २५–१४ ले गुमाएको नेपालले दोस्रो सेटमा कडा प्रतिस्पर्धा गरेपनि २५–२३ ले गुमायो ।

तेस्रो सेटमा पनि रसियालाई बलियो चुनौती पेश गरेपनि २५–२२ ले सेट सुम्पिँदै नेपाल पराजित भएको हो । यसअघि आइतबार भएको पहिलो खेलमापनि नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो ।

इजरायलले दुई हजार नेपाली ‘केयरगिभर’ लैजाने

काठमाडौँ । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो । 


हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । 


भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो । 


आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए ।


त्यसक्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरेका थिए । 

न्युरोड क्षेत्रमा मंसिर २ सम्म फुटपाथ विस्तारको काम रोक्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

महानगरका मेयर, उपमेयर, २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा आगामी मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर–२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिएका छन् ।

अब अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमतिसमेत भएको छ । नौ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने प्रतिवेदन महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए ।

फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधिसहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य  नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य  नियुक्त भएका छन् । प्रदेशप्रमुख अमिक शेरचनले उनलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  सोमबारै कांग्रेस र एमालेको समर्थनमा आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनले ५६ सांसदको समर्थनसहित दाबी गरेका थिए । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेस गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथग्रहण बुधबार हुने भएको छ। 

सहकारी समस्याका सम्बन्धमा संसदीय छानबिन समिमितद्वारा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिले सोमबार मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत समूह, नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष भीम ढुङ्गानालगायतका प्रतिनिधि, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेलगायतसँग छलफल गरेको छ । बैठकमा देशभरका सबै पालिकासँग सहकारीसम्बन्धी विवरण भराउने विषयमा छलफल भएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

देशभरका सात सय ५३ स्थानीय तहले हेर्ने सहकारी २४ हजार रहेको र ती सहकारीमा समस्या नरहेको कुरा आजको छलफलबाट जानकारीमा आएको सभापति थापाले बताए । सहकारी ऐनअनुसार बन्नुपर्ने कर्जा सूचना केन्द्र, कर असुली न्यायाधीकरणलगायत संरचना नबनाउँदा सहकारीमा समस्या आएको छलफलमा सहभागीले विचार व्यक्त गरेको उनले सुनाए ।

सहकारीसम्बन्धी राम्रो ज्ञान नभएका मानिसहरू मिले बनाइएका सहकारीमा समस्या देखिएका र सहकारी शिक्षा तथा चेतना भएका ठाउँमा सहकारीका नाममा ठगी नभएको तथ्य पनि बैठकमा प्रस्तुत भएको थियो ।

बचत तथा ऋण सहकारी संस्था बढी भएर समस्या आउन थालेकाले उत्पादनमूलक सहकारी बढाउनुपर्नेमा पनि बैठकका सहभागीले जोड दिएका समेत सभापति थापाले जानकारी गराए ।

इजरायलद्वारा गाजाका मानवीय क्षेत्र खाली गर्न आदेश

इजरायली सेनाले सोमबार गाजा पट्टीको मानवीय क्षेत्रको एक भाग खाली गर्न आदेश दिएको छ ।दक्षिणी गाजा पट्टीमा अवस्थित मानवीय क्षेत्रको पूर्वी भाग इजरायलतिर रकेट प्रहार गर्न प्रयोग गरेको जानकारी दिँदै सेनाले हामास लडाकुविरुद्ध थप कारबाही सुरु गर्ने जनाएको छ ।

इजरायली सैन्य अभियानको क्रममा सुरक्षाको खोजीमा धेरै प्यालेस्टिनीहरू कैँयौ पटक विस्थापित भएका छन् ।

यस महिनाको सुरुमा इजरायलले कम्तिमा १.८ मिलियन प्यालेस्टिनीहरू अहिले भूमध्यसागरको १४ किलोमिटर मानवीय क्षेत्रमा रहेको घोषणा गरेको थियो । राष्ट्रसङघ तथा मानवतावादी समूहका अनुसार त्यस क्षेत्रको धेरैजसो भाग हाल सरसफाइ र चिकित्सा सुविधाविहिन शिविरले भरिएको छ ।

गाजा युद्धविरामको माग गर्दै वार्ताको क्रममा अमेरिका र इजरायली अधिकारीले सम्झौता पहिलेभन्दा नजिक रहेको घोषणा गरिएको थियो ।

बिहीबार वार्ताको लागि टोली पठाइने नेतान्याहुको कार्यालयले जनाएको छ । इजिप्ट, कतार र अमेरिकाले इजरायल र हमासलाई चरणबद्ध युद्धविराम सम्झौताका लागि दवाव दिइरहेका छन् ।

गाजा युद्धले ३८ हजारभन्दा बढी मानिसहरूको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले गरेको आक्रमणबाट सुरु भएको युद्धमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० मानिस मारिएका थिएभने २५० जना बन्धक बनाइएका थिए ।

इजरायली सेनाले सोमबार मध्य र दक्षिणी गाजामा कारबाही जारी राखेको बताएको छ । आइतबार गाजामा इजरायली हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको अस्पतालमा अधिकारीहरूले जनाएका छन् ।

घेराबन्दीले गाजामा खतरनाक मानवीय अवस्था सिर्जना गरेको छ भने यस क्षेत्रका २३ लाख मानिसका लागि पानी र सरसफाइ सेवा अभाव छ ।

नेतान्याहूले हमासको सैन्य र शासकीय क्षमताहरू समाप्त गरी बाँकी बन्धकको सुरक्षित फिर्ता गर्ने वाचा गरेका छन् ।

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष

सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

सन् २०२३ को तथ्याङ्कले नयाँ सङ्क्रमणको सङ्ख्यामा विश्वव्यापी सुधार, एचआईभी सङ्क्रमित बिरामीको उपचार र मृत्युहुनेको सङ्ख्यामा कमी आएको देखाउँछ । यद्यपि, यूएनएड्सले यस्तो प्रगति कमजोर रहेको चेतावनी दिएको छ ।

राष्ट्रसङ्घको नयाँ प्रतिवेदनअनुसार करिब चार करोड मानिस एचआईभी भाइरसबाट पीडित छन् ।

सन् २०२२ को तुलनामा गत वर्ष करिब १३ लाख नयाँ सङ्क्रमित थपिएका थिए तर सन् १९९५ मा ३३ लाख व्यक्ति नयाँ सङ्क्रमित फेला परेको थियो । यो नै एड्सबाट नयाँ सङ्क्रमण भएका व्यक्तिको सबैभन्दा बढी सङ्ख्या थियो । पछि यो सङ्ख्यामा क्रमशः उल्लेखनीय गिरावट आएको हो ।

तर दीर्घकालीन प्रवृत्ति हेर्दा नियन्त्रणका लागि लिएको लक्ष्यमा पुग्न अझै धेरै टाढा रहेको देखिन्छ । यूएनएड्सले अर्को वर्षका निर्धारित तीन लाख ३० हजार नयाँ सङ्क्रमणमा सिमित गर्ने लक्ष्यभन्दा धेरै टाढा छ ।

सन् २०२२ मा एड्सका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ७० हजार रहेकोमा गत वर्ष छ लाख ३० हजारमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन । तीन करोड ७० हजार व्यक्तिले एन्टिरेट्रोभाइरल औषधिको पहुँच पाएको देखिन्छ जुन लक्ष्यभन्दा निकै टाढा हो ।

यद्यपि, सन् २०१० मा यो पहुँच मात्र ७७ लाखमा सीमित थियो । पूर्वी र दक्षिणी अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू रहेका छन्, जहाँ प्रति हजार २०.८ जना एचआईभी सङ्क्रमित छन् । गत वर्ष यो क्षेत्रमा थप चार लाख ५० हजार व्यक्ति सङ्क्रमित भएका थिए र दुई लाख ६० हजारको मृत्यु भएको थियो ।

यूएनएड्सका प्रमुख विनी ब्यानिमाले सन् २०३० को लक्ष्य हासिल गर्ने दिशामा विश्व सही बाटोमा नरहेको बताए ।

“एचआईभी महामारीलाई बढावा दिने असमानताहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको छैन,” ब्यानिमाले रिपोर्टमा भनेका छन् ।

लाञ्छना, भेदभाव र कहिलेकाहीं अपराधीकरणले निश्चित समूहलाई असर गर्छ र यसको परिणामस्वरूप सङ्क्रमण दर धेरै उच्च हुन्छ किनभने मानिसहरू खतरा बिना मद्दत र उपचार लिन चाहँदैनन् वा असमर्थ हुन्छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसमा एड्सको प्रकोप ०.८ प्रतिशत छ भने कैदीहरूमा १.३ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूमा २.३ प्रतिशत छ ।

यौनकर्मी, लागूपदार्थको सुई लगाउने व्यक्ति, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र तेस्रोलिङ्गीमा सङ्क्रमण दर अझ बढेको छ ।

तथ्याङ्कअनुसार, विश्वभर यौनकर्मी तीन प्रतिशत, लागूपदार्थको सुई लगाउने व्यक्ति पाँच प्रतिशत, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष ७.७ प्रतिशत र तेस्रोलिङ्गी ९.२ प्रतिशत सङ्क्रमित रहेको देखिन्छ ।

“उप–सहारा अफ्रिकाका केही देशहरूमा सन् २०१० यता नयाँ सङ्क्रमणमा आधाभन्दा बढीले कमी आएको छ”, ब्यानिमाले भने, “हामीसँग पूर्वी युरोप, मध्य एशिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरू पनि छन् जहाँ हामी नयाँ संक्रमणहरू गलत दिशामा गइरहेको र बढ्दै गएको देख्छौं।”

पूर्वी युरोप र मध्य एसियामा एचआईभी सङ्क्रमितमध्ये आधाको मात्र उपचार हुन्छ भने मध्यपूर्व र उत्तर अफ्रिकामा यो सङ्ख्या ४९ प्रतिशत छ ।

स्पेनका प्रधानमन्त्रीले पत्नीविरुद्धको भ्रष्टाचार मुद्दाबारे जुलाई ३० मा बयान दिने

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी बेगोना गोमेजको व्यापारिक लेनदेन सम्बन्धका परेकोे भ्रष्टाचार मुद्दमको प्रारम्भिक अनुसन्धानमा जुलाई ३० मा बयान दिने भएका छन् ।

न्यायाधीश जुआन कार्लोस पेनाडोले सान्चेजलाई जुलाई ३० मा बिहान ११ बजे उनको सरकारी निवासमा ‘साक्षी’का रूपमा सुनुवाई गर्नेछन् ।

अदालतले साञ्चेजलाई उनकी श्रीमतीको प्रभावबारे सोधपुछ गरिने जनाएको छ ।  कथित भ्रष्टाचार र प्रभाव तस्करीको अनुसन्धानले सान्चेजलाई आक्रोशित बनाएको छ । उनले आरोपहरू आफू र उनको बामपन्थी सरकारलाई कमजोर पार्ने प्रयासको रूपमा आएका भनी चित्रण गरेका छन् ।

गोमेजले शुक्रबार एक न्यायाधीशको सोधपुछमा चुप लागेर बस्न पाउने आफ्नो अधिकारको आह्वान गरेका थिए ।

जुलाई ५ मा सोही न्यायाधीशसमक्ष केही समय गोमेजलाई सोधपुछ गरिएको थियो । तर उनका वकिलले आफूविरुद्ध परेका सबै उजुरीका बारेमा आफूहरुलाई ‘जानकारी नदिइएको’ र तिनको अध्ययनका लागि समय मागेपछि सुनुवाइ स्थगित गरिएको थियो ।

अति दक्षिणपन्थी समूहसँग जोडिएको भ्रष्टाचार विरोधी गैरसरकारी संस्था मानोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले निजी क्षेत्रमा भ्रष्टाचार र प्रभाव फैलाउने काम गरेको आरोप लगाएपछि अप्रिल १६ मा अनुसन्धान सुरु भएको थियो।

दोस्रो उजुरी अति दक्षिणपन्थी सम्बन्ध रहेको एक अति–क्याथोलिक दबाव समूह हाज्ते ओइर (‘मेक योरसेल्फ हर्ड’) ले प्रभाव तस्करीको हवाला दिँदै दायर गरेको थियो ।

सान्चेजले आफ्नी श्रीमतीले कुनै गल्ती नगरेको बताउँदै आएका छन् भने न्यायमन्त्री फेलिक्स बोलानोसले उनको बचाउ गरेका थिए ।

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो । 

‘करिब चार वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शुङ्खलामा पारेको असर एवं पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष अग्रवालले भेटका क्रममा चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सुझाव दिए ।

उनले आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति उहाँले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

मुलुकको अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ । काठमाडौँलगायत मुलुकका अधिकांश ठूला सहरमा व्यापारिक सटर बन्द भएकाप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न स्थायीरुपमै एकल अङ्कको ब्याज कायम हुनुपर्ने चेम्बरको सुझाव छ ।

त्यस्तै, मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्ने चेम्बरले जनाएको छ ।

आर्थिक मन्दिबाट उन्मुक्ति नपाउन्जेलसम्ममा उद्यमी व्यवसायीलाई चालु पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालु पुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । 

यस्तै, घरजग्गा कारोबारलाई थप गति दिन  ५० लाखभन्दा बढी कर्जा शत्प्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ । चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले घरजग्गा खरिद बिक्रीको क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै आधार बनाइ घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यलयबाट अपनाइएको प्रक्रियाले गर्दा घरजग्गा कारोबारमा शिथिलता आएको छ ।’

घरजग्गाको कर्जा प्रवाहमा हुने मूल्याङ्कनको सीमा ७०–३० बाट बढाएर ८०–२० को अनुपात कायम गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

 काँक्रेविहार । विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ ।

गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । योभन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।

डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ ।

यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पु-याएपछि दुवैपटक पुनःनिर्माण गरिएको थियो । यस पटक पुनः भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपनि पुनःनिर्माण हुन सकेको छैन ।

दरबार पुनःनिर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुनःनिर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो ।

दरबारमा क्षति पुगेपछि जिल्ला प्रशासनलगायतका सेवा प्रवाह प्राङ्गणमा सारिएको छ । केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो भवनमा प्रशासन कार्यालय रहेको थियो । प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी कार्यालय यही भवनमा थिए ।

भित्र जोखिम भएपछि नियमित काम गर्न प्राङ्गणमा अस्थायी संरचना बनाइएको छ । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यो पटक दरबार चर्किएको मात्र छ । केही वर्षअघि सरकारद्वारा सूचीकृत एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि समावेश छ ।

पर्यटकीय गन्तव्यका रूपमा रहेको ऐतिहासिक दरबार भूकम्पले जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। ‘दुईपटक भत्किसकेको दरबार अहिले उस्तै जोखिममा परेको छ, जिल्लाको इतिहास जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,’ उनले भने, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न सहज छैन।

योभन्दा ९० वर्षअघि विसं १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको इतिहास छ ।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई विसं १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबारमा पनि अहिले सरकारी कार्यालय छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंक रहेको रातो दरबारमा अहिले जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार निर्माण गरेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर सेतो दरबार बनाएका थिए । यो दरबार बनाउँदा जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । राजाले जनतालाई श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।

जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति विसं २०४५ सालमा भोगेको थियो । उदयपुर केन्द्रविन्दु रहेको उक्त भुकम्प छ दशमलव नौ रेक्टर स्केलको थियो । त्यसले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । उक्त क्षतिको विसं २०५१ मा पुनःनिर्माण गरिएको थियो ।

जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए ।

राजेन्द्रविक्रम शाहका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी कामकाज हुँदै आएको हो । २०१७ सालमै प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबारको भवन बिक्रि गरेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका दुईवटा घरलाई पनि स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले विसं १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए ।

अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले विसं १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि नभइ राजाका भाइछोरा बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापन गर्न ती घरहरू बनेको शाहको भनाई छ ।

यसअघिका दुवै भूकम्पबाट जोगिएका यी दरबार यसपटक भत्किएका छन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि भूकम्पले तहसनहस छन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस

लुम्बिनी । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । सोमबार कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो ।

अर्घाखाँची १ (क) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

संसदमा नौ सांसदको प्रश्न र प्रधानमन्त्रीको जवाफ(पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाएका छन् । 


प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।


प्रधामन्त्री ओलीले सहकारीपीडितहरुसँग पटक–पटक गरिएका सहमति कार्यान्वयन प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अगाडि अगाडि बढाएको जानकारी गराए ।


‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुसँग ‘अनलाइन’मार्फत मागदाबी गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको छ, सोबापत  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ’, उनले भने ।


प्रधानमन्त्री ओलीले सहकारी कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकिएको उल्लेख गर्दै यसका लागि बजेट समेत सुनिश्चित गरिएको जानकारी दिए ।


सहकारी नीतिको परिमार्जित मस्यौदा तयार गरिएको जानकारी गराउँदै उनले सहकारी ऐन, २०७४ को संशोधन मस्यौदा तयारीको चरणमा रहेको बताए ।


संविधान संशोधनसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाए ।


‘वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन, देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन सरकारमा रहेका/नरहेका सबै दलहरूसँग छलफल गरी परामर्श लिँदै यस कार्यलाई अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु”, उनले भने ।


प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नहरु तथा प्रधानमन्त्रीबाट प्रस्तुत जवाफ

प्रधानमन्त्रीबाट प्रस्तुत जवाफ
प्रश्न नं.१
प्रश्नकर्ता मा. धनराज गुरुङ्ग
प्रश्नको व्यहोरा
१. आ.व. २०८१।०८२ को बजेट वक्तव्यको क्रसं ८३, ८४ र ८५ मा उल्लेख भए बमोजिम ”गण्डकी त्रिभुज आयोजना’ आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण छ । गण्डकी त्रिभुजमा पर्ने बुटवल-पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने कार्य कहिलेदेखि शुरु गर्ने र कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ । साथै हिउँदमा विद्युत आयात र वर्षातमा निर्यात गर्ने अवस्थाको अन्त गर्दै हिउँद/वर्षा निरन्तर विद्युत निर्यात गर्ने अवस्थामा पुर्याउनका लागि जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्नुपर्दछ, यसका लागि आँधीखोला उच्च बाँध विद्युत आयोजना पनि प्राथमिकताका साथ गर्नुपर्ने एउटा आयोजना भएकोले यस आयोजनाको वर्तमान अवस्था के हो ? र कहिलेदेखि शुरु गर्ने सरकारले तयारी गरेको छ ?

२. मुलकको वर्तमान आर्थिक अवस्थालाई सुधार गर्नका लागि आर्थिक सुशासन अपरिहार्य विषय हो र आर्थिक सुशासन कायम गर्न गैरकानूनी कारोवारको अन्त्य गर्नुपर्दछ । गैरकानूनी कारोवार अन्त्य गर्नका लागि सरकारको तयारी के छ ?

प्रश्न नं. १ को जवाफ

१. वजेट वक्तव्यमा उल्लेख भएको भरतपुर-बुटवल-पोखरा (मुग्लिन) भरतपुरलार्इ तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको हो।यस कार्यक्रमबाट यातायात पूर्वाधारको विकास मात्र नभर्इ औद्योगिक विकासका साथै ऊर्जा क्षेत्र, कृषि तथा पर्यटन क्षेत्रको विकास एवं रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास लिएको छु। प्रस्तुत गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने बुटवल – पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ भने सिद्धबाबा सुरुङ मार्गको कार्य अन्तिम चरणमा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै काम गर्नेगरी बजेट कार्यान्वयन कार्ययोजना तयार भइसकेको छ । यस सन्दर्भमा साउन महिनाबाटै काम अगाडि बढाउनेगरी सम्बन्धित निकायलाई निर्देशन समेत भइसकेको छ। प्रस्तुत सडकलाई सुरक्षित, छिटो गतिमा आधुनिक एवं आर्थिक करिडोरको रूपमा विकास गर्न निजी पूँजी समेत परिचालन गर्नेगरी नवीनतम् विधिमा विकास सहायतासमेत परिचालन गर्नेगरी प्रक्रिया अगाडि बढाइएको समेत जानकारी गराउन चाहन्छु ।

माननीयज्यूले उठाउनुभएको दोस्रो विषय आँधीखोला उच्च बाँध विद्युत आयोजनाको सम्बन्धमा प्रष्ट गर्न चाहन्छु । स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका, मोतीचौरको आँधीखोलामा प्रस्तावित बाँधस्थल र गल्याङ्ग नगरपालिकाको वडा नं. ३ मा विद्युत गृह रहेको आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाबाट १८० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । हालसम्म यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गर्ने कार्य सम्पन्न भर्इ वातावरणीय अध्ययन कार्य स्वीकृत भइसकेको छ । हालसम्मको अध्ययनबाट आयोजना निर्माण गर्न प्राविधिक रूपमा उपयुक्त देखिएको छ । यस आयोजनाको निर्माण गर्न गल्याङ नगरपालिकामा ७१२ घरहरू विस्थापित गर्नुपर्ने चुनौती रहेको छ ।

यस आयोजना निर्माणको लागि मोडालिटी टुङ्ग्याई लगानी जुटाउने, Updated Feasibility and Detail Design Report तयार गर्ने, बोलपत्र आह्वान गरी निर्माण गर्ने लगायतका कार्य स्वीकृत कार्ययोजनाअनुसार अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।

२. माननीयज्यूले उठाउनुभएको अर्को विषय आर्थिक सुशासन कायम गर्ने सम्बन्धमा प्रष्ट गर्न चाहन्छु । वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइनेछ भने भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिनेछ । भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइनेछ । सरकारका सबै अङ्गहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइनेछ।

राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोवार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुको साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइनेछ ।

राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बीजक अनुगमन प्रणाली, आशिकुडा प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तर-आवद्धता कायम गरी एकीकृत करदाता सूचना प्रणालीको विकास गरिनेछ । यस्तै आयात हुने मालवस्तुको मूल्याङ्कनका लागि नियमित बजार सर्वेक्षण गरी संकलन गरिएको सूचनाका आधारमा तथ्यपरक र वास्तविक भन्सार मूल्याङ्कन प्रणाली विकास गरिनेछ ।

स्रोत परिचालनको दबाबलाई न्यूनीकरण गर्न राजस्व परिचालनका अन्य क्षेत्र पहिचान गरी राजस्वको दायरा विस्तारलाई थप प्रभावकारी बनाइनेछ । आन्तरिक ऋणलाई समेत पुँजीगत प्रकृतिका ठूला पूर्वाधार निर्माणमा केन्द्रित गर्दै जाने व्यवस्था मिलाइनेछ।

आर्थिक क्रियाकलापमा आएको सुस्ततालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ। विगत वर्षमा विधि प्रक्रिया पूरा गरी कार्यसम्पन्न गर्ने क्रममा विधिसम्मत रूपमा सिर्जित दायित्व यकिन गरी चालु आर्थिक वर्षभित्र भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ। चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाई मुलुकको व्यावसायिक वातावरणमा थप सुधार गरिनेछ।

मिटरब्याज, सहकारी, लघुवित्तका क्षेत्र तथा क्रिप्टो करेन्सीको प्रयोग तथा हुण्डीलगायतका माध्यमबाट ठगीका घटना बढ्दै गएकाले यस प्रकारका आर्थिक अपराधका घटनामा विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिबाट प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलार्इ कारवाहीको दायरामा ल्याइनेछ ।

प्रश्न नं. २
प्रश्नकर्ता मा. दिपकबहादुर सिंह
प्रश्नको व्यहोरा
तपाई प्रधानमन्त्री भएको बेलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू-भाग समेटेर नेपालको चुच्चे नक्सा जारी गर्नुभएको हो, अहिलेसम्म ती भूभागहरु नक्सामा मात्र सिमित रहेका छन् । नेपाली जनतालाई तपाईको यो कार्यकालमा ती भु-भागहरू नेपालकै अधिन (स्वामित्व) मा आएको ३ करोड नेपाली जनताले हेर्न चाहेका छन । त्यो चाँडो भन्दा चाँडो नेपालको अधिनमा ल्याउनको लागि तपाईको नीति, योजना र कला के छ प्रधानमन्त्रीज्यू, त्यो तिथि, मिति र समय बताइ दिनुहुनको लागि अनुरोध गर्दछु । साथै अहिलेको मूल कुरा नेपालमा यति भ्रष्टाचार बढेर गएको छ कि हरेक तहमा हरेक क्षेत्रमा त्यसलाई नियन्त्रण गर्न सक्ने आँट, साहस, हिम्मत र कला सम्माननीय प्रधानमन्त्रीज्यूमा छ कि छैन, यही सन्दर्भमा म यहाँ ४ वटा कुरामात्र भन्न गइराखेको छु। जुन कुरा हरेक नेपाली जनताहरुको मन मणष्तिकमा गाँजिरहेको छ, हरेक नेपालीका आँखाले हेर्न चाहिराखेका छन। ती कुराहरु यी हुन:

१. नेपाललाई तस्करहरुको केन्द्र बनाउने सुन काण्ड, जसमा नेपालका ठूला-ठूला व्यक्तिहरु मुछिएका छन,

२. लाखौ गरिव जनताहरूको सहकारीमा राखेको पैसाको ब्रम्हलुट, अरबौँ रुपैयाँ लुट गरेको पर्दाफास र जनताको जम्मा गरेको पुँजी (बचत रकम) जनतालाई फिर्ता गराउन सरकारले सक्छ कि सक्दैन?

३. गिरीबन्दु टि स्टेट सरकारको सम्पत्ति हो, सरकारले यसलाई कसरी अगाडि बढाउछ?

४. नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई अब के हुन्छ? 

प्रश्न नं. २ को जवाफ

नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्‌घीय संसद, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएका छौँ । नेपालको संविधानको मिति २०७७/०३/०४ मा भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची-३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामी बीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ ।

उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको छ ।
गत २०८० साल पुष १९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा समेत सिमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

नेपाल भारत सीमा कार्य समूह (Nepal India Boundary Working Group) बाट नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं cross holding को लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका छन् । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा पहल भइरहेको छ।

सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको छ । सोही अनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।

यस सम्बन्धमा दार्चुला जिल्लाको छाङ्गरुमा सशस्त्र प्रहरी बल, नेपालको गुल्म स्थापना गरिएको छ भने दार्चुला जिल्लामा भारततर्फ ५ ओटा र चीनतर्फ एउटा गरी ६ ओटा BOP हरू समेत थप गरिएको छ।
सुशासन सेवाप्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय हो। भष्ट्राचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायहरूको अवलम्बन गर्नेछ । सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका माननीयज्यूले उठाउनुभएका विषयहरूमा म के प्रष्ट गर्न चाहन्छु भने आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ । ठूलासाना जोसुकै भए पनि दोषीलार्इ कानूनी दायरामा ल्याइने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यससम्बन्धी कतिपय विषयहरू न्यायिक निकायहरूमा विचाराधीन समेत रहेकाले सोही बमोजिम न्याय निरूपण हुने नै छ ।
प्रश्न नं. ३
प्रश्नकर्ता मा. डा. धवलशम्सेर राणा
प्रश्नको व्यहोरा
अहिले चौथोपटक प्रधानमन्त्री हुनुभएको छ, अन्य विषयहरू त सामान्य नै हुन अहिले राजनीतिक र राजनीतिककर्मीहरुलाई जनताले हेर्ने दृष्टिकोण अत्यन्तै नकारात्मक छ। त्यसकारण २०४६ साल पछिका र अहिले चर्चामा आएका ठूला-ठूला भष्ट्राचार काण्ड जस्तैः भुटानी शरणार्थी, सुन तस्कर, सहकारी ठगी, गिरिवन्धु प्रकरण, टेरामक्स खरिद, बालमन्दिर जग्गा र राजनीतिक रुपमा पद प्रतिष्ठा प्राप्त गरी अकूत सम्पत्ति आर्जन गर्ने नेताहरुको सम्पति छानबिन गर्न तपाईको पहल कदमी के कस्ता हुन्छन? र संविधान संसोधन गर्ने भन्ने विषयमा तपाईको कदम अगाडि सर्छ ?

प्रश्न नं. ३ को जवाफ
जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै सरकारको कार्यसम्पादनप्रति आम जनताको विश्वास अभिवृद्धि हुनेछ । तसर्थ विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानविनमा सरकार प्रतिवद्ध छ ।

जहाँसम्म सहकारीको विषय छ यसमा सहकारी क्षेत्र तथा बचतकर्ताहरूले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलहरूबाट प्राप्त हुन आएका सुझाव एवं सहकारी पीडितहरुसँग पटक–पटक गरिएका सहमतिहरू कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट विभिन्न प्रयासहरू अगाडि बढेका छन् । समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुसँग अनलाइनमार्फत मागदाबी माग गरिएबमोजिम ५९ हजार ५८७ वटा मागदावी निवेदन प्राप्त भएको र ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रूपैयाँ बराबरको दायित्त्व एकिन गरिएको छ ।

सहकारी कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ र बजेट समेत सुनिश्चित गरिएको छ । सहकारी नीतिको परिमार्जित मस्यौदा तयार गरिएको छ। सहकारी ऐन २०७४ को संशोधन मस्यौदा तयारीको चरणमा रहेको छ ।

माननीयज्यूले उठाउनुभएको अर्को विषय संविधान संशोधनसँग सम्बन्धित रहेको छ । संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलार्इ मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाउन चाहन्छु । वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलार्इ अझ जीवन्त बनाउन र देशलार्इ स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल र परामर्श गर्दै यस कार्यलार्इ अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । माननीयज्यूले उठाउनुभएका अन्य विषयका सम्बन्धमा पूर्व प्रश्नकर्ता माननीयज्यूहरूको उत्तरमा समेत प्रष्ट पारेको छु ।  
प्रश्न नं. ४ नसोधिएको
प्रश्न नं. ५
प्रश्नकर्ताः मा. देवीप्रकाश भट्टचन
प्रश्नको व्यहोरा
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको उत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना ८२८ मेगावाट र उक्त आयोजनाबाट जम्मा १७२६ मेगावाट उत्पादन हुने साथै हिउँद याममा १०० प्रतिशत उत्पादन दिने योजना कहिले शुरु हुनेछ? साथै लोमनथाङमा लम्बाई १० किमी र चौडाई ४ कि मी भएको उत्कृष्ट युरेनियमको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएकोमा सो को कहिलेदेखि उत्खनन प्रक्रिया अगाडि बढ्छ ? उक्त युरोनियम भण्डारबाट प्राप्त हुनै आयश्रोतबाट स्थानीय सरकारलाई अत्याधिक रकम छुट्याई परम्परारागत ढाँचाको बसोबास निर्माण गर्न स्थानीयबासीहरूको माग रहेको अवगत गराउन चाहन्छु ।
नेपाली मालवाहक पानीजहाज अन्तर्राष्ट्रिय समुन्द्री मार्गमा सञ्चालन गर्नको लागि संसदमा पेश भएको विधेयक विगत ४ वर्षयता अलपत्र अवस्थामा रहेकोले सो विधेयक कहिलेदेखि छलफलमा ल्याई पास गर्ने सरकारको योजना छ?

प्रश्न नं. ५ को जवाफ
ऊत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना पहिले नेपाल विद्युत प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, बातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को काम भएको थियो I हाल ऊत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना special Purpose vehicle को रुपमा बिकाश गर्न २०७४ साल मा उत्तरगंगा पावर कम्पनि लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको छ I
हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) स्वीकृत भैसकेको , जग्गा अधिग्रहणको लागि प्रक्रिया अघि बढाइएको छ । विद्युत उत्पादन अनुमति (Generation License) पत्रको लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ I हाल NEA Engineering Company मार्फत् आयोजनाको Review of feasibility study and in basin and inter-basin option study को कार्य भैरहेको छ I

NEA Engineering company मार्फत् आयोजनाको Review of feasibility study and in basin and inter-basin option study को अन्तिम प्रतिवेदन प्राप्त भएपछि Construction Modality र funding modality निर्क्यौल गरी आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय एटोमिक संगठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमाङथान क्षेत्रमा उत्खनन् योग्य गुणस्तर र परिमाणमा यूरेनियमको खनिज भण्डार रहेको देखाएको छ। यूरेनियम रणनीतिक खनिज भएकोले यस्को उत्खनन् पूर्व केही कानूनको सुधार, प्रयोगशालाको स्तरोन्नति, जनशक्ति विकास सँगसँगै गरी विस्तृत अन्वेषण र औद्योगिक उपयोगको मोडालिटी र संगठन ढाँचा तय भएपश्चात् मात्र उत्खनन् गर्न सकिने देखिन्छ ।

पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनलार्इ संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०८१/०३/२७ मा संसद्‌मा पेश गर्ने प्रयोजनार्थ स्वीकृत भर्इ संसद्मा पेश गर्ने प्रक्रियामा रहेको जानकारी गराउँछु ।
प्रश्न नं. ६
प्रश्नकर्ताः मा. दिलेन्द्रप्रसाद बडू
प्रश्नको व्यहोरा

मैले “पटक-पटक संसदमा ध्यानाकर्षण गराउँदै आईरहेको उच्च रणनीतिक महत्त्वको “दार्चुला-तिंकर सडक” र अन्तर्राष्ट्रिय सीमा नदी (महाकाली) नियन्त्रणका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष स्पष्ट जवाफको अपेक्षा सहित निम्नानुसार जिज्ञासा र प्रश्न राख्न चाहन्छु:-

नेपालको चुच्चे नक्शाको भूगोल भित्र पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानीसित जोडिएको देशको पश्चिमोत्तर सीमामा अवस्थित दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरू र तिंकरमा बसोबास गर्ने जनताले सो क्षेत्रबाट आफ्नै जिल्लाको सदरमुकाम सम्म “कुन्छा” ओहोरदोहोर गर्न तथा आवतजावत गर्न समेत विगत लामो समयदेखि भारतीय भूमी भएर नै यात्रा गरिरहनु परेको बाध्यात्मक र पीडादायक अवस्थाबारे सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ भन्ने विश्वास गर्दछु। यस्तो पीडादायी र बाध्यात्मक परिस्थिति अन्त्य गर्ने र जनतालाई आफ्नै सिमाभित्रको भूगोलमा छिटोभन्दा छिटो सडक सुविधा पुर्याउनेबारे वर्तमान सरकारको कति वर्षे कार्ययोजना छ? साथै त्रिदेशीय व्यापार, पर्यटन र राष्ट्रिय स्वाभिमान सित समैत सोझै जोडिएको उक्त सडकलाई “राष्ट्रिय गौरवको योजना”मा सूचीकृत गरी छुट्टै ब.उ.शी.नं. भित्र राखेर स्रोत सुनिश्चितताका साथ छोटो आवधिक कार्य-योजनासहित निर्माण सम्पन्न गर्नुपर्ने होइन र?

स्वयं वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूकै नेतृत्वमा रहेको तत्कालीन ने.क.पा.को सरकारको समयमा मिति २०७७/१/१४ को मन्त्रिपरिषदको निर्णयबाट ब.उ.शी.नं. ३३७१०५४ को “दार्चुला तिंकर सडक”को १३४ किल्लोमिटर मध्ये निर्माण हुन बाँकी ७९ किलोमिटर (७५१४) को अन्तिम सडक खण्ड “तुषरपानी-कोठेधार-तिङ्कर सडक” निर्माणको जिम्मा नेपाली सेनालाई सुम्पिने निर्णय गर्दा साविककै उक्त ब.उ.शि.नं. मा नै साविक जस्तै रातो किताब (रेड बुक)मा बजेट विनियोजन भईरहेको अवस्था समाप्त गरेर सेनालाई निर्माण कार्य सुम्पिएको उक्त-७९ किलोमिटर संडक खण्ड समेत अर्को छट्टै ठेक्का र व्यवस्थापनमा चलिरहेको आयोजना “महाकाली कोरिडोर आयोजना” (ब.उ.शि.नं’ ३३७०११०३) भित्र गाभियो र उक्त सडकको लम्बाई ७९ कि.मी. नभई दक्षिणमा कञ्चनपुर सम्म ४२५ कि.मी. बनाईयो । यसै निर्णयका कारणले एकातर्फ दार्चुला तिंकर सडकको अन्तिम ७९ किलोमिटर सडक खण्डको निर्माण कार्य सेनालाई सुम्पिने उद्देश्य र प्रयोजन नै समाप्त हुन पुग्यौ भने अर्कोतर्फ छटटै ठेक्का र व्यवस्थापनमा निर्माणाधीन “महाकाली कोरिडोर आयोजना”का लागि विनियोजित रकमबाट नै बाँडेर उक्त “तषरपानी-कोठेधार-तिंकर” सडकलाई बर्षेनी कति बजेट हिस्सा पाउने वा दिने/ नदिने जस्ता विवादमा पर्नुपरेको छ । यी लगायतका कारणले गर्दा नेपाली सेनाको जिम्मा दिइएको उक्त सडक निर्माणको गति र प्रगति निराशाजनक हुन पुगेको यथार्थ प्रति सम्माननीय “प्रधानमन्त्रीज्यू सहमत हुनुहुन्छ भन्ने म विश्वास गर्दछु।

तसर्थ, नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको उक्त “लुषरपानी-कोठेधार-तिङ्कर सडक खण्ड” ७९ कि.मि. लाई छुट्टै ब.उ.शी.नं.मा योजना स्थापना गर्ने र डिपिआर अनुसार स्रोत सुनिश्चित गर्ने, शुरू (zero point), मध्य (mid-point) र अन्तिम (last point) कम्तीमा तीन स्थानबाट एक साथ युद्धस्तरमा निर्माण कार्य शुरू गरेर आगामी दुई वर्षमा २/३ मिटर चौडाईको पैदल ट्रयाक खोल्ने गरी कल पाँच वर्ष भ्रित्र सडक निर्माण सक्ने कार्ययोजना सहित नेपाली सेनाले रक्षा मन्त्रालय मार्फत् पाँच वर्षे कार्ययोजना भौतिक पूर्वाधार मन्त्रालयमा प्रस्तुत गरिसकेको छ । सोहि अनुसारको बर्षेनी बजेट विनियोजन हने गरी छुटटै योजनाको तयारीका लागि तत्कालीन अर्थ, भौतिक पूर्वाधार, र रक्षा मन्त्रालयबीचको सहमतिमा मिति २०८०/०६/०५ मा. भौतिक पूर्वाधार मन्त्रालयले (मा. मन्त्रीस्तरीय) निर्णय समेत गरिसकेको तर मा. पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको पछिल्लो सरकारको भौतिक पूर्वाधार मन्त्री र मन्त्रालयले उक्त निर्णयलाई कार्यान्वयन गर्न नमानेकाले प्रस्तावित कार्ययोजना अवरुद्ध भएको छ । तसर्थ, वर्तमान मन्त्रिपरिषदबाट विशेष निर्णय गरी/गराई चालू आ.व. २०८१/८२ भित्रै उक्त “तुषरपानी-कोठेधार-तिङ्कर’ सडक निर्माणको को लागि प्रस्तावित उक्त कार्ययोजना अनुसार बजेट व्यवस्थापन र कार्यान्वयन, हुनका लागि सम्मानीय प्रधानमन्त्री ज्यूलाई सादर अनुरोध र ध्यानाकर्षणसहित सकारात्मक र स्पष्ट जवाफको माग गर्दछु ।

यसका साथै, महाकाली नदी, भारत- नेपालबीचको अन्तरराष्ट्रिय सिमा नदी हो । वर्षेनी यस नदीमा आउने वर्षी र बाढीका कारण दुवै तर्फको सिमा क्षेत्रमा कटान भईरहन्छ । भारततर्फको धारचुलामा स्थायी रूपमा महाकाली नदी नियन्त्रण एवं तटबन्धको कार्यालय” स्थापित छ र सोही कार्यालयबाट भारततर्फ निरन्तर तटबन्ध निर्माण र मर्मतको कार्य चलिरहेको छ । यता महाकाली नदीमा २०७० सालमा आएको अकल्पनीय बाढीका कारण सदरमुकाम लगायत सिमा क्षेत्रका सरकारी भवनहरू र वस्ती समेतको ठूलो भूभाग नदीले बगाएर लगेको वा काटिएर भारत तर्फ पुगेको अवस्थामा तत्कालीन सरकारले उच्च राष्ट्रिय महत्त्वका साथ्‌दार्चुला सदरमुकाममा “महाकाली नदी नियन्त्रण आयोजना” को कार्यालय स्थापना गरेको थियो । उक्त आयोजनाले गुरुयोजना स्वीकृत गरि सोहि अनुसार नदी नियन्त्रणको निर्माण कार्य गरिरहेको थियो। तर, स्वीकृत गुरुयोजना अनुसार निर्माण कार्य चलिरहेकै अवस्थामा र थप क्षेत्रमा तीव्र कटान समेत भईरहेको अवस्थामा नै मिति २०८०/०१/२० को मन्त्रिपरिषद्को निर्णयबाट अचानक उक्त “महाकाली नदी नियन्त्रण आयोजना”को कार्यालय दार्चलाबाट हटाउने निर्णय गरिएकोले निर्माणाधीन कार्य अवरुद्ध र अलपत्र हुन पुगेको छ भने सीमा क्षेत्रमा थप कटान तीव्ररुपमा जारी रहेकोले यसरी अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सम्वेदनशीलतालाई अनदेखा गरेर उक्त कार्यालय दार्चुला जिल्लाबाट किन हटाईयो? दार्चुला सरदमुकामबाट उक्त कार्यालय हटाउने निर्णय सच्याएर भारततर्फको जस्तै नितरन्तर आवश्यकता र अवस्थाअनुसार नदी नियन्त्रण एवं मर्मत कार्य समेत गर्ने जिम्मेवारी सहित उक्त “महाकाली नदी नियन्त्रण आयोजना”को कार्यालयलाई स्थायी रूपमा रहने गरी पुनःस्थापना गर्ने कार्यमा सम्माननीय प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण सहित सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन हुन अनुरोध गर्दछु । धन्यवाद ।

प्रश्न नं. ६ को जवाफ
माननीयज्यूले उठाउनुभएको प्रश्नको सम्बन्धमा पूर्व प्रश्नकर्ता माननीयज्यूहरूको उत्तरका सन्दर्भमा समेत प्रष्ट धारणा राखिसकेको छु । यहाँ माननीयज्यूले उठाउनुभएका अन्य विषयको सम्बन्धमा प्रष्ट पार्न चाहन्छु । महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी – कोटेघर – टिंकर खण्डमा ८० प्रतिशत कडा चट्टान (Hard Rock) रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भर्इ निर्माण कार्यमा कम समय लाग्ने र कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको छ ।

छुट्टै बजेट शीर्षकको सन्दर्भमा रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकहरुमा छुट्टै बजेट उप-शीर्षक कायम भएको अवस्था छैन । तथापि यथेष्ट बजेट विनियोजनका सन्दर्भमा भने बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।

संघको कार्यक्षेत्र रहेका सुदूरपश्‍चिम प्रदेशको पहाडी क्षेत्रमा सिंचाइ र नदी नियन्त्रणका कार्यहरु प्रभावकारी रुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको थियो । तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमनको लागि सम्पर्क कार्यालय र केही प्रविधिकहरू दार्चुलामा पनि राखिएको छ । साथै बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने जानकारी गराउन चाहन्छु ।

प्रश्न नं. ७
प्रश्नकर्ताः मा. दुर्गा राई
प्रश्नको व्यहोरा
सर्वप्रथम बधाई दिन चाहन्छु । गत असार १७ गते मध्यराति के पर्यो त्यस्तो आपत १२ घण्टा उज्यालो पर्खन नसकिने गरी संसदको पहिलो र दोस्रो संख्याका ठूला दलहरुले ७ बुदे सम्झौता गर्नुका कारण के हो ? र यसलाई आम नेपाली नागरिकले थाहा पाउँदा बिद्रोह गर्ने बुदाँहरु समाबेश छन्‌र ? अर्को कुरा संबिधान संशोधन गर्ने भन्दै आम उत्पीडितहरुको प्राप्त अधिकार खोस्न लागिएको त होइन ? भन्ने आम चासो छ । साथै प्रधानमन्त्रीज्यू, कानुन तथा मानव अधिकार समितिमा रहेको बिधेयक कहिले टुङ्गयाउने हो सरकार र सम्माननीय प्रधानमन्त्रीज्यूको भनाई के छ?

प्रश्न नं. ७ को जवाफ
बधाइका लागि माननीयज्यूलार्इ धन्यवाद दिन चाहन्छु । हिजो मैले विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा भएको सात बुँदे सम्झौता यस सम्मानित सदनसमक्ष जानकारी गराइसकेको व्यहोरा माननीयज्यूलार्इ अवगत नै छ । संसदीय समितिमा रहेका विधेयकहरूलार्इ टुंगोमा पुर्याउने सम्बन्धमा माननीयज्यूहरूले समेत सक्रिय र क्रियाशील भर्इ सहयोग गर्नुहुनेछ । सरकारको यस सम्बन्धमा पूर्ण सहयोग रहनेछ ।

प्रश्न नं. ८
प्रश्नकर्ताः मा. दीपक गिरी
प्रश्नको व्यहोरा
सम्माननीय प्रधानमन्त्रीज्यू,
सर्वप्रथमत: हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना छ । जब जब मुलुक संकटको भुमरीमा रुमल्लिन थाल्छ . तब यो नेपाली काँग्रेस र नेकपा एमाले एकसाथ उभिएर संकटको निकासका लागि अग्रसर भएको इतिहास छ । मुलुकमा नयाँ संविधान जारी भएर संघिय संरचनामा प्रवेश गरे संगै समृद्धिको वाटोमा अघि बढ्दै गर्दा कोभिड nufot विश्वव्यापी मन्दिले हाम्रो मुलुक पनि प्रभावित नहुने कुरै भएन । यस्तो संकटकालिन अवस्थामा राज्यले अभिभावकको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा राजनीतिक खिचातानीमै हामी अल्झियौं । गत निर्वाचनमा नेपाली काँग्रेस यो देशको प्रमुख दलका रुपमा रह्यो, त्यसपछि नेपाली काँग्रेस भन्दा थोरै पछि दोस्रो दलका रुपमा एमाले आयो र तेस्रो दलका रुपमा नेकपा माओवादी रहन पुग्यो ।

सरकार सञ्चालनका लागि कसैको बहुमत नपग्दा मुलुकको प्रमुख दल कहिले प्रतिपक्षमा वस्नुपर्ने त कहिले तेस्रो दलले नेतृत्व गरेको सरकारमा सामेल हुनपर्ने संसदीय अभ्यासको कुरुप अनुभवका बिच रहनु पर्ने अवस्था आयो । प्राविधिक रुपमा जेजस्तो रहेपनि यस्तो अभ्यासले हाम्रो संसदीय प्रणालीलाई लल्कारीरहेको हामी सवैले अनुभव गरेकै हो । यस्तो राजनीतिक अस्थिरताका कारण सरकारले जनजीविकाका सवालमा प्रवाह गर्नुपर्ने सेवाहरुमा तदारुकता नहुनु स्वभाविक थियो र यस्तो हुदा संसदीय लोकतन्त्र प्रति नै प्रश्न गरेर जनतामा भ्रम सिर्जना गर्नेहरुको खेती क्रमशः शुरु हुदै गर्दा संसदीय लोकतन्त्र समावेशीकरण र खासगरि परिवर्तित प्रणालीको रक्षाका लागि मुलकका प्रमुखदल एकठाँउमा उभिन जरुरी थियो । ढिलै भए पनि राजनीतिक कोर्षले एउटा उचित मार्ग पहिल्याएको छ । यसका लागि पनि म शुभकामना दिन चाहन्छु ।
अब सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष मेरा केही प्रश्नहरु राख्ने अनुमति चाहन्छु ।

१. गत असार २८ गते त्रिशुलीमा दुइ ओटा यात्रुबस दुर्घटना भएको खबरले देश शोकमग्न बनेको छ भने अझै यात्रुहरुको अवस्था अज्ञात छ । यस सन्दर्भमा प्रधानमन्त्रीज्यूमार्फत म यो जान्न चाहान्छु कि सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारको नीति के? नेपालमा कति यात्रुबाहक सवारी साधनहरू संचालित छन्‌? ती सबै सडकहरूको अवस्था मापदण्ड अनुसार छ कि छैन ? तिनमा चल्ने सवारी साधनको यान्त्रिक अवस्था के कस्तो छ? कुन खालका सडकमा कस्ता वाहनहरू चल्न अनुमति छ ? यस्ता विषयहरू नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले उपरोक्त अनुसार यातायात व्यवस्थापन र नियमन गर्ने निकायहरूको कार्य क्षमता र कार्यकुशलता आजको आवश्यकता अनुसार छ कि छैन?

२. एमसीसी कार्यान्वयन भएको १ वर्ष हुन लाग्दैछ । पाँच वर्षभित्र सक्नैपर्ने शर्त हामीले स्वीकार गरेका छौ, यहि सदनबाट हामीले पारित गरेका छौ, एक वर्षको प्रगति कस्तो छ, यहि गतिमा काम गरेर हामी पाँच वर्षभित्र काम सक्छौ त ? हामीले स्वीकार गरेका शर्त अनुसार देश हितमा, विकासलाई गति दिने कि, नेपालीहरू आफैले स्वीकार गरेको शर्तमा, काम गर्न सक्दैनन्‌भन्ने इमेज बनाउने ? यदि हामीले काम गर्न सकेनौ भने यस्ता सहयोगहरू भविश्यमा पाउन अप्ठ्यारो पर्ला कि भन्ने विषयमा प्रधानमन्त्रीको जवाफ सुन्न चाहन्छु ।

प्रश्न नं. ८ को जवाफ
१. गत असार २८ गते त्रिशुलीमा भएको यात्रुबस दुर्घटनामा परेर हराएका ६२ जना मध्ये हाल सम्म २५ जनाको शव फेला परेको छ । त्यसमध्ये १८ जनाको सनाखत भएको छ भने ७ जनाको सनाखत हुन बाँकी रहेको छ। आजको मितिमा नेपाली सेना १४ जना नेपाल प्रहरी ५६ जना र सशस्त्र प्रहरी बल, नेपालका १२६ जना गरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन भने श्रावण ५ गतेदेखि १२ जना भारतीय गोताखोरहरू समेत परिचालन गरिएको छ। शवहरु बगेर भारतीय भूमिमा समेत पुगेको अनुमान गरिएकोले भारतको पश्चिम चम्पारन स्थित स्थानीय प्रशासन मार्फत् शव खोजीका लागि भारतीय दुतावासमार्फत अनुरोध गरिएको छ ।

फेला परेका २५ शवहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतीय भूमिमा समेत फेला परेका छन् । बस दुर्घटना भएको स्थल र सो को आसपासको क्षेत्रलाई मुख्य केन्द्र बिन्दु बनाई खोजी कार्य गरिएको छ भने नदीले बगाएका शवहरु भेटिन सक्ने संभावित स्थलहरु चितवन, नवलपसारी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारन सम्म खोजी कार्य भइरहेको छ।

धमिलो पानी, नदीको उच्च बहाव गति र ३०-४० मिटर गहिरो नदीका कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन । तथापि उपलब्ध प्रविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामर्थ्य प्रयोग गरी सुरक्षा निकाय परिचालन र स्थानीय प्रशासनले स्थानीय नागरिकहरु समेतको सहयोगमा खोजी कार्यमा निरन्तरता दिइएको छ।
सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारले सडक सुरक्षा विधेयकको तयारी गरी अन्तिम रुप दिने चरणमा रहेको छ भने राष्ट्रिय यातायात नीति हालै मन्त्रिपरिषदमा स्वीकृतिको लागि पेश भएको छ।

सडक सुरक्षाको संवेदनशीलता र यसमा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको आवद्धता जरूरी भएकोले राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कानूनबमोजिम सडक सुरक्षाको विभिन्न अवयवहरूलाई व्यवस्थित तवरले कार्यान्वयन गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्था गरिनेछ ।

२. एमसिसि सम्झौताअनुरूप ट्रान्समिसन लाईन, सवस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँचबर्ष भित्रै सम्पन्न गर्ने गरी कार्ययोजना स्वीकृत भर्इ सोही अनुसार कार्य अगाडि बढेको जानकारी गराउन चाहन्छु ।

आयोजनाको सवस्टेशन निर्माणको लागि ठेक्का सम्झौता समेत भइसकेको छ । ट्रान्समिसन लाईनको सम्बन्धमा एउटा खण्डको ठेक्का सम्झौता हुने चरणमा पुगेको छ भने बाँकी काम तीव्र रूपमा अगाडि बढेको छ । एमसिसिबाट प्राप्त हुने अमेरिकी डलर ५ सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्ने गरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ । प्रस्तुत आयोजना सम्पन्न भएपश्चात नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्नेछ भने सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने समेत जानकारी गराउन चाहन्छु ।

प्रश्न नं. ९
प्रश्नकर्ताः मा. दिनेश कुमार यादव
प्रश्नको व्यहोरा
१. भारत सरकारद्वारा निर्मित कोशी पश्चिमी नहर: नेपाल-भारतको सम्झौता अनुसार सप्तरी जिल्लाको दक्षिणी भेगमा पर्ने कोशी ब्यारेजदेखि भारतको लौकहीसम्म नेपाल ३२ कि.मी. हो। भारतले आफ्नो सिमानासम्म नहरको दक्षिण बाँधमा पक्की सडक निर्माण गरेको छ, तर नेपालको सिमाना पर्ने नहरको बाँधमा पक्की पीच नबनाएको कारणले यस क्षेत्रका जनता साह्रै दुःख र पीडा सहनुपरेको छ। यस सम्बन्धमा, नहरको बाँधमा पक्की पीच निर्माणको लागि भारत सरकारसँग पहल गर्ने कि नगर्ने?

२. उदयपुरको गाईघाटदेखि भारत सिमानासम्मको सडक: सपरी जिल्ला संसदिय क्षेत्र नं. ३ मा पर्ने उदयपुरको गाईघाटदेखि भारत सिमानासम्मको सडक, जो राष्ट्रिय गौरवको योजनाको लागि राजमार्ग अन्तर्गत पर्दछ। यो सडक यस आर्थिक वर्षमा बन्ने हो कि होइन?

३. सुनकोशी कमला डाईभर्सन: यो परियोजना सप्तरी जिल्लासम्म सिँचाई पुर्याउन सक्छ। सुनकोशी कमला डाईभर्सन बन्ने हो कि होइन?

प्रश्न नं. ९ को जवाफ
नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्रे भइरहेको छ । नहरको किनार अतिक्रमण भएकोले उक्त अतिक्रमण हटाई कालोपत्रे गर्न नेपाल भारत द्विपक्षीय संयन्त्रमार्फत् अनुरोध गरिनेछ ।

२. उदयपुरको गाईघाटदेखि भारतीय सिमानासम्मको सडक निर्माणको सन्दर्भमा पूर्व तयारीका कार्यहरू सम्पन्न भई गत आर्थिक वर्ष २०८०/८१ मा स्रोत सहमति माग भएकोमा आर्थिक चापका कारण अगाडि बढाउन नसकिएकोले चालु आर्थिक वर्षमा प्राथमिकताको साथ अगाडि बढाइनेछ ।

३. नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाईभर्सन अध्ययनको चरणमा रहेको छ । अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइनेछ ।

प्रश्न नं. १०
प्रश्नकर्ताः मा. दिपा शर्मा
प्रश्नको व्यहोरा
२०७७ सालमा यहाँकै नेतृत्वमा गठित सरकारले आफ्नो कार्यकालमा थालनी गरेका कैयौँ राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू जस्तै सडक, पुल, अस्पतालहरू, बहुप्राविधिक विश्वविद्यालय, औद्योगिकग्राम, प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पुष्पलाल लोकमार्ग (मध्यपहाडी) मदन भण्डारी राजमार्ग र करिडोर चक्रपथहरू, खेलमैदान, रङ्गशाला, रेलमार्ग, न्यानो स्याटलाइट, भूमिसम्बन्धी समस्या जो अहिलेसम्म पनि कतिपय अगाडि बढ्नै सकेका छैनन् भने धेरैजसो योजनाहरू अलपत्र र अधुरा नै रहेका छन् । यी योजनाहरूलार्इ अगाडि बढाउनेतर्फ सम्माननीय प्रधानमन्त्रीज्यूले कसरी सोच्नुभएको छ?

प्रश्न नं. १० को जवाफ
समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न नै मैले २०७७ सालमा मेरो नेतृत्वमा गठित सरकारले कैयौँ राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू शुरूआत गरेको थियो । यसरी थालनी गरेका मध्ये अधुरा र अलपत्र योजनाहरूलाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्ने यस सरकारको प्राथमिकता रहेको छ ।

सीमित श्रोत र साधनको सदुपयोग गर्दै राष्ट्रिय गौरव, रूपान्तरणकारी, प्राथमिकता प्राप्त र राष्ट्रिय महत्त्वका अन्य आयोजनाहरूमा बजेट अभाव नहुने व्यवस्था मिलाइनेछ । हाल कार्यान्वयनमा गएका आयोजनाअन्तर्गतका ठेक्काहरूको कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ । साथै, ठेक्का व्यवस्थापनलाई चुस्त बनाइने र जिम्मेवार पक्षलाई जवाफदेही बनाइनेछ ।
प्रश्नकर्ता सबै माननीय सदस्यहरुलाई हार्दिक धन्यवाद छ ।

नेप्सेमा सामान्य अंकको बृद्धि, १३ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । केहीदिन उच्च अङ्कले बढिरहेको शेयर बजार नेप्से सोमबार भने सामान्य अङ्कले बढेको छ । सोमबार नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ । आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

मिटरब्याज सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 


प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद धानराज गुरुङले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता किसिमका आर्थिक पक्षसँग जोडिएका घटना बढ्दै गएकाले विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी अनुसन्धान गरिने बताए ।


प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैङ्किङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 


प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुरूप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताए ।


उनले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्न प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अङ्गहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने, सार्वजनिक खरिद ऐन, कानुनलाई समसामयिक संशोधन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।


‘राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नाका साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन, छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बीजक अनुगमन प्रणाली, आशिकुडा प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तर–आबद्धता कायम गरी एकीकृत करदाता सूचना प्रणालीको विकास गरिनेछ । स्रोत परिचालनको दबाबलाई न्यूनीकरण गर्न राजस्व परिचालनका अन्य क्षेत्र पहिचान गरी राजस्वको दायरा विस्तारलाई थप प्रभावकारी बनाइनेछ ।’


आन्तरिक ऋणलाई समेत पुँजीगत प्रकृतिका ठूला पूर्वाधार निर्माणमा केन्द्रित गर्दै जाने व्यवस्था मिलाइने भन्दै प्रधानमन्त्री ओलीले आयात हुने मालवस्तुको मूल्याङ्कनका लागि नियमित बजार सर्वेक्षण गरी सङ्कलन गरिएको सूचनाका आधारमा तथ्यपरक र वास्तविक भन्सार मूल्याङ्कन प्रणाली विकास गरिने बताए ।


आर्थिक क्रियाकलापमा आएको सुस्ततालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले विगतका वर्षमा विधि प्रक्रिया पूरा गरी कार्यसम्पन्न गर्ने क्रममा विधिसम्मत् रूपमा सिर्जित दायित्व यकिन गरी चालु आर्थिक वर्षभित्र भुक्तानी गर्ने व्यवस्था मिलाइने, चालु आवको मौद्रिक नीतिलाई थप लचिलो बनाई मुलुकको व्यावसायिक वातावरणमा सुधार गरिने योजना सुनाए ।


प्रधानमन्त्री ओलीले बजेट वक्तव्यमा उल्लेख भएको भरतपुर—बुटवल—पोखरा—मुग्लिन—भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत विकासको अवधारणाअनुरूप नमूना विकास अभियान सञ्चालन गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी गराए ।


कार्यक्रमबाट यातायात पूर्वाधारको विकास मात्र नभई औद्योगिक विकासका साथै ऊर्जा क्षेत्र, कृषि तथा पर्यटन क्षेत्रको विकास एवं रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास उनले व्यक्त गरे ।


गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने बुटवल–पोखरा–सिद्धार्थ राजमार्ग खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको उनले अवगत गराए । प्रधानमन्त्री ओलीले सिद्धबाबा सुरुङ मार्गको कार्य चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत भइसकेको जानकारी गराए ।


यस्तै, आँधीखोलामा प्रस्तावित बाँधस्थल र गल्याङ्ग नगरपालिका–३ मा विद्युतगृह रहेको आँधीखोला जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने कार्य सम्पन्न भई वातावरणीय अध्ययन कार्य स्वीकृत भइसकेको प्रधानमन्त्री ओलीले जानकारी गराए । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताएका छन् ।


प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गरे ।


उनले भने,’नेपालको संविधानको २०७७ साल असार ४ गते भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी  लिपुलेकलगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालका हुन भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ ।’


प्रधानमन्त्री ओलीले २०८० पुस १९ गते सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाको विषयमा छलफल भएको र नेपाल–भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।


उनले नेपाल–भारत सीमा कार्य समूहबाट नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं ‘क्रस होल्डिङ’को लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका जानकारी गराए । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको उनले बताए । उनले भने, ‘सोही अनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।’


दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल, नेपालको गुल्म स्थापना गरिएको र दार्चुलामा भारततर्फ पाँचवटा र चीनतर्फ एउटा ‘बिओपी’ समेत थप गरिएको प्रधानमन्त्री ओलीले बताए ।


सुशासन सेवाप्रवाह र विकास निर्माणको बाधकको रूपमा रहेको भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकताको विषय भएको उनले बताए ।


‘भष्ट्राचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायको अवलम्बन गर्नेछ,’ प्रधानमन्त्री ओली भने, ‘सुन काण्ड, सहकारी ठगी, नक्कली भुटानी शरणार्थीलगायतका विषयमा सांसदहरुले उठाउनुभएका विषयमा म के प्रष्ट गर्न चाहन्छु, भने आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार प्रतिवद्ध छ ।’


जोसुकै दोषीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यससम्बन्धी कतिपय विषय न्यायिक निकायमा विचाराधीनसमेत रहेकाले सोही बमोजिम न्याय निरूपण हुने बताए ।

मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन, आरोप प्रत्यारोपमा नआऔँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा थप स्पष्ट पारेका हुन् ।

कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलतरुपमा आजको बैठकमा प्रश्न उठाएको जनाउँदै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन आग्रह गरे ।

उद्योगहरुबाट बिजुली प्रयोग भइ बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीको जवाफ दियो ।

उनले भने,’मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दसकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु । मैले उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिकरुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ । सदन सदन जस्तै होस् ।’’

प्रश्नोत्तर अघि शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री ओलीले आइतबारको संसद बैठकमा उद्योगीको पक्षमा बोलेको भन्दै आपत्ति जनाएका थिए ।

यी हुन् प्रहरी अनुसन्धानका सफल नौ घटना

काठमाडौँ ।  मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । 


नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिए । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । 


प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ । 


प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्किङ अपराध बढेसँगै प्रहरीले आफ्नो अनुसन्धान पद्धतिलाई पनि विकास गरिरहेको बताए । कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका उनको दाबी छ । 


“निर्मला पन्तको बलात्कारपछि हत्यालगायत घटनाको अनुसन्धानमा प्रहरीले निरन्तर खोजी गरे पनि सफलता पाएका छौनौँ, तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने सफलता पाइरहेका छौँ”, उनले भने । 


गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्रााप्त गरेको छ । यी नौ घटना, जसमा प्रहरीलाई सफलता प्राप्त गरेको छ ।


तीनकुने सामूहिक हत्या प्रकरण 

विसं २०८० भदौ २९ गते तीनकुने सामूहिक हत्या प्रकरण भएको थियो । काठमाडौँको तीनकुनेस्थित दिव्य स–मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी चारजनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमा नै सफल अनुसन्धान गरेको थियो ।


दोलखा कालिन्चोक गाउँपालिका–८ घर भई सोही स–मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।


अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीले गराएको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ ।  


सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्वीकारेका प्रहरीको अनुसन्धान टोलीद्वारा अनुसन्धानका क्रममा सार्वजनिक गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।  

किशोरी हत्या गरी शिवपुरी जङ्गलमा गाडेको 

घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो ।


उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजनाअनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो ।


प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगि खाल्टो खनी गाडेको पत्ता लागेको जानकारी दिए । निजलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।


महोत्तरी बैङ्क लुटपाट


विसं २०८० जेठ १६ गते अन्दाजी १२ः२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबी बैङ्कमा अपरिचित नकाबधारी चार÷पाँचजनाको हतियारधारी समूहले बैङ्क लुटपाट ग¥यो । उनीहरु बैङ्कमा प्रवेश गरी बैङ्कका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैङ्कबाट तत्काल  १५ लाखभन्दा बढी लुटेर लगे । उनीहरुले बैङ्कका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढेर भागेका थिए । 


घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्निया मुखियापट्टी–२ बस्ने वर्ष २२ को अनर्जित राम र अर्का एकजना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।


आमाछोरीको आगो लगाएर हत्या


सल्ल्यानमा विसं २०८० भदौ ५ गते ६ः५० बजेको समयमा एउटा घरमा मानिस सुतिरहेका बेला जलेको अवस्थामा आमाछोरी भेटिए । टिनले छाएको एकतले कच्ची घरमा पीडितहरु बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठाभित्र आगलागी भई जली मृत अवस्थामा फेला परेका थिए । 


सल्ल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमाछोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 


घटनामा संलग्न रहेको आरोपमा सल्ल्यानको सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र वर्ष २८ की गीता कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।


परिवारको सामूहिक हत्या


मुगुमा विसं २०८० कात्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारका सबै सदस्या शव फेला परेको थियो ।


प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका–६ का मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो ।


त्यस घटनामा छायाँनाथ रारा–६ कोटिला बस्ने वर्ष ३० का गोपाल बोहोरा र वडा नं ७ पिना बस्ने वर्ष ३० का गोर्खराज शाही संलग्न रहेको पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खनुसन्धानका क्रममा खुलेको बताए ।  


उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी अपराधीलाई पक्राउपश्चात् कानुनी कारबाही भइरहेको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको उनको भनाइ छ । हत्या गर्ने एकजना आफन्त नै रहेका प्रहरीले जनाएको छ ।


दम्पती हत्या प्रकरण 


पर्वतमा २०८० साल चैत २० गते जलजला गाउँपालिका–२ राममन्दिर बस्ने श्रीमान् र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेका बेला हत्या भएको थियो । 


जलजला–२ राममन्दिर बस्ने वर्ष ६९ को सूर्यबहादुर घर्ती र श्रीमती वर्ष ६७ की कमला घर्ती मृत भेटिएका हुन् । दुईतले पक्की घरको भुइँ तलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको थियो । उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ । 


घटनामा जलजला–२ बस्ने वर्ष ३२ का कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट स्थायी घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेका प्रहरीले जनाएको छ । उनीहरुले सम्पत्ति लुट्ने उद्देश्यले निज दम्पतीको हत्या गरेका पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 


बोरामा दुईजनाको शव फेला


विसं २०८० मङ्सिर ६ गते १२ः५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पर्यो । 


सडक कल्भर्टमुनि दुईवटा जुटको बोरामा एक पुरुष र एक महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँका अस्मिता भन्ने सञ्जु देवीको शव भएको प्रहरीले पुष्टि गर्यो । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सिआइबीको अनुसन्धानले पत्ता लागेको थियो ।


अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका छन् । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए ।


विनोद सुनचाँदी पसल चोरी प्रकरण 


चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । सिसी टिभी फुटेजमा दुईजनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो ।


उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दाबीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।


उक्त घटनापछि निजले रु दुई करोड ५५ लाखको बीमा दाबी गरेका थिए । उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको कार्कीले बताए । उनका अनुसार प्रहरीले सञ्चालकसहित पाँचजनालाई पक्राउ गरी कारबाही अघि बढेको छ ।

बलात्कारपछि हत्या 

गत मङ्सिरमा धनुषामा भएको बालिकामाथिको बलात्कारपछि हत्याको घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा अपराधीले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा शव फालेको स्वीकारेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए । 


उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका–६ बस्ने २४ वर्षीय रोशनकुमार मुखियालाई पक्राउ गरी कारबाही गरेको छ ।

स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन भट्टराईद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सचिव भट्टराईले कानुन आयागले मस्यौदा मन्त्रालयमा बुझाएको र अब त्यसलाई विधेयकको रूपमा संसदमा ल्याउन माग गरेका हुन् ।

उनले सांसद, मन्त्रीदेखि सुरक्षा निकायमा पनि स्वार्थको द्वन्द्व देखिएको र पारदर्शीताका लागि कानुन आवश्यक रहेको बताए ।

उनले भने, ‘राजनीतिक नेतृत्व, सांसद, मन्त्री, प्रधानमन्त्री, संवैधानिक निकाय, सुरक्षा निकाय र न्यायाधीश लगायतमा पनि यो कुरा उठेको छ । के गर्नुहुने के गर्नु नहुने ? कस्तो विषयमा नियुक्ति लिन हुने कस्तोमा नहुने ? यस्ता विषय गम्भीरताका साथ उठेका छन् ।’

हालै पूर्व गृहमन्त्रीको विषयमा सर्वोच्च अदालतमा बहस हुँदा सर्वोच्चले द्वन्द्वसम्बन्धी कानुन निर्माण गर्न निर्देशनसमेत बताए ।

सरकारलाई असफल हुने छुट छैनः प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक बर्तौलाले यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको बताए ।

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन् । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

 गल्कोट । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।

थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ ।

थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ ।

थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए । उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ ।

रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ ।

वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भने, ‘सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।’

काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ ।

चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए ।

गाउँपालिकाले चियाखेती विस्तारका लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छ भने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ ।

रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रूसको दावी

रूसी सेनाले आइतबार राति दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले जनाएको छ ।

हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो ।

क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन् ।

“किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन् ।

प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भने भएको छैन ।

पछिल्लो समय रूसले दैनिकजसो युक्रेनी ड्रोनहरू रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेबु्रअरी २०२२ मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिक लक्षित रूसी आक्रमणको जवाफ भएको बताएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ ।

यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।

सोही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए ।

गत आवको आयातको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।

निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन् ।

चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।

आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ ।

यस नाकाबाट उक्त अवधिमा जम्मा ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्याङ्क अनुसार रु चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।