`

र्‍यान एयर पहिलो त्रैमासिकमा मुनाफामा करिब आधा गिरावट

कम हवाई भाडाले मागमा भएको उछाललाई पूरा गर्दा पहिलो त्रैमासिकमा खुद नाफा लगभग आधा घटेको आयरल्याण्डको सस्तो एयरलाइन्स सेवा (र्‍यान  एयर) ले सोमबार जनाएको छ ।

र्‍यान  एयरका अनुसार करपछिको नाफा १२ महिना अघिको तुलनामा जुन महिनामा सकिएको त्रेमासिकमा ४६ प्रतिशतले घटेर ३६ करोड युरो (३९ करोड २० लाख अमेरिकी डलर) मा झरेको छ ।

भाडा समायोजनपछि यात्रुको सङ्ख्या भने १० प्रतिशतले बढेर पाँच करोड ५५ लाख पुगेको छ । औसत हवाई भाडा १५ प्रतिशतले घटेको डबलिनमा मुख्यालय रहेको ¥यान एयर विमान कम्पनीले जनाएको छ ।

एयरलाइनले यस वर्ष इस्टरको समयले पनि प्रभावित भएको जनाएको छ । र्‍यान  एयरका अनुसार दोस्रो त्रैमासिकमा पनि कम भाडादरको प्रभावको वातावरण कायमै रहेको छ ।

‘दोस्रो त्रैमासिकको माग बलियो भए पनि मूल्य निर्धारण हामीले अपेक्षा गरेभन्दा सुलभ छ र अब हामी दोस्रो त्रैमासिकको भाडा गत ग्रीष्मऋतुको तुलनामा कम हुने अपेक्षा गर्दछौं,’ प्रमुख कार्यकारी माइकल ओ लेरीले भने ।

उनले भने, ‘र्‍यान  एयरले नयाँ बोइङ विमानहरूको आपूर्तिमा थप ढिलाइको सामना गर्नु नपरेमा बर्षभरिमा विमान सेवा प्रयोग गर्नेको सङ्ख्या आठ प्रतिशत वृद्धि भई करिब २० करोड पुग्ने अपेक्षा गरिएको छ ।’

करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।

सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो ।

परीक्षण लगभग एक हजार एकसय कारखानामा गरिएको थियो भने यसले २३ हजारभन्दा बढी कामदारको प्रतिनिधित्व गर्दछ ।

सबै प्रतिवेदन प्रशासन प्रयोगशालाको नियन्त्रण र अनुसन्धानबाट निकालिएका निष्कर्षमा आधारित थिए ।

राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ ।

राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको हो ।

लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले यही अगस्त २ देखि ११ तारिखसम्म पोर्चुगलमा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । 

घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले  जानकारी दिए ।

टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी हुने बताइएको छ । पोर्चुगलमा रहेका नेपालीको राहदानीसम्बन्धी समस्यालाई समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय र विभागले विशेष प्राथमिकता दिएर घुम्ती टोली पठाउन लागेको राजदूत भट्टराईले बताए ।

घुम्ती सेवा शिविरका लागि राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए । शिविरबाट दुई हजार पाँच सय बढीको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन हुने अनुमान गरिएको भट्टराईले बताए । 

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने जनाएको छ ।

विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्न र अपोइन्टमेन्ट लिन राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली  दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म  राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । टोली आउने भएपछि राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका यहाँ रहेका नेपालीलाई राहत हुने भएको छ ।

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा भने वृद्धि

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिए । उनका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आवमा ५१ लाखको लक्ष्य राखेकामा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख झाले बताए । उनका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा ३८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ३५ लाख ३८ हजार मात्रै सङ्कलन भएको थियो ।

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताए । यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौँबाट ल्याउने गरेका छन् ।

सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् ।

आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर र टोरन्टोबीच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ ।

सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् । सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए ।

जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

‘यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो । जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ’, उनले भने, ‘तीन तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’

संघ, प्रदेश र स्थानीय तहका सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिने उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको उनको भनाइ थियो । ।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी,चार मन्त्रीले दिए राजीनामा

कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका चार मन्त्रीले राजीनामा दिएका हुन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् ।

राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।

‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

कैलाली  । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ ।

स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो रु तीन सय ५० मा पाइने मासु यतिखेर रु पाँच सय पर्न थालेको छ ।

‘दुई वर्षअघि रु दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु पाँच सयमा बिक्री भइरहेको छ’, मासु विक्रेता राजकिरण चौधरीले भने, ‘कैलालीमा बङ्गुर नपाएपछि दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ ।’

जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको चौधरीले बताए । ‘पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गथ्र्याैँ, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन’, उनले भने, ‘बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन ।’

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गरेका छैनन् । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र ९५ लाख २० हजार बराबरको क्षति भएको हो ।

‘बङ्गुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो’, उनले भने, ‘रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बङ्गुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने रोग लागेको रहेछ ।’

हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताए । उनले साना व्यवसायीले समेत बङ्गुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताए । फस्टाएको व्यवसाय धराशायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गरे ।

व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले रु दुई लाख ७५ हजार बराबरका बङ्गुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

अर्का व्यवसायी जानकी–१ दुर्गाैलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गरेका छैनन् । ३५ लाख खर्च गरेर बङ्गुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आएका थिए ।

उनी पनि स्वाइन फिभरको मारमा परेको बताए । चौधरीको ७० वटा बङ्गुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको बताए ।

‘स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बङ्गुर मरे’, चौधरीले भने, ‘ऋण लिएर बङ्गुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बङ्गुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन’ । व्यवसायी चौधरीले जग्गा खरिद, बङ्गुर खोर र माछापालन गरी रु दुई करोड लगानी गरेको बताउँछन् ।

‘रोगले बङ्गुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ’, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भने, ‘किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।’

आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको पनि भारतीले बताए । कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ । कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो ।

अहिले बङ्गुरको निर्यात रोकिएको व्यवसायीको भनाइ छ । सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ । हाल बङ्गुरको मासु अभाव भएकाले उहाँले कञ्चनपुर, बर्दियालगायत छिमेकी जिल्लाबाट बङ्गुर ल्याएर मासु काठमाडौँ पठाउनेगरेका छन् ।

बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसरी बङ्गुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

पुष्पलालप्रति उच्च सम्मान छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् ।

पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे ।

“उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो”, प्रधानमन्त्रीले भनेका छन् ।

विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन्।

मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार संकलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताइन्।

‘शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, मन्त्री भट्टराईले भनिन्, ‘सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार संकलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ।’

नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको बताइन्। उनले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराइन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताइन्। उनले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताए।

उनले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिए।

न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताइन्। उनले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिइन्।

म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिनको तालिमको आयोजना गरेको बताइन्। नेपाल पत्रकार महासंघको तथ्यांकानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन्।

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक-फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा रु ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु २८ लाख ५८ हजार बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिइन्  ।

“दुईवटा वडाका १४-१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो”, उनले भनिन्, “साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।”

झोरखोलाबाठ-नमखुलेक खर्क-निलगिरि आइसफल-छमा ताल पहुँच मार्गको सोचिलेकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए । एक्यापमार्फत पाँच हजार एक सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा नौ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र छ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको रेञ्जर सञ्जोक थकालीले जानकारी दिए ।

जोमसोम-ठनी हुँदै बढीमा तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताए ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु २७ लाख ३२ हजार पाँच सय नौ बजेटमा तिलिचो ताल जोड्नेसहित छ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताले रु एक लाख ३२ हजार बराबरको श्रमदान गरेका छन् ।

रु पाँच-पाँच लाख बजेटमा थासाङ गाउँपालिकाको घैकु-मिसी- लेते-कालोपानी पदमार्गमा चार सय ५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावियन पर्खाल निर्माण भएको छ ।  एक लाख बजेटमा सौरु सिरकुङ-ताग्मी-फुरतमी क्षेत्रमा दुईवटा सल्याब, १२ थान ग्यावियन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ ।

जोमसोम-कागबेनी-मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ-लुप्राखोला पदमार्गमा दुई हजार एक सय ७९ मिटर र मनाङ हुँदै पाँच हजार चार सय मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा सात सय १९ मिटर पदमार्ग निर्माण भएको छ ।

पूर्वमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वभूमिसुधार राज्यमन्त्री रायको सर्लाहीको चन्द्रपुर गाउँपालिकास्थित आफ्नै घरमा हत्या भएको हो ।

घटनास्थलमा पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत फेला पारेको थियो । मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।

उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जानकारी दिएको छ । हत्या सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । त्यसका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

चितवन । पृथ्वीराजमार्ग अन्तर्गतचितवनको फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । इच्छाकामना–३ फिस्लिङमा सोमबार बिहान पाँच बजे खसेको लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको हो ।

लेदोसहितको पहिरो एक्साभेटरको सहायताले पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन रोकिएका छन् ।

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । आइतबार साँझ उनले राष्ट्रपतिको दौडबाट बाहिरिएर उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बन्न समर्थन गर्ने घोषणा गरेका हुन् ।

आफ्नो यो निर्णय पार्टी र देशको हितमा रहेको उनले बताए । जुनको अन्त्यमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग कमजोर बहस प्रदर्शन पछि उनलाई उम्मेदवार छाड्न कडा दबाब परेको थियो ।

बाइडेनले राष्ट्रपतिको रुपमा काम गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान भएको बताए । राष्ट्रपति बिडेनले आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै आफू एक असाधारण साझेदार भएको बताए । उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका छन् ।

बाइडेनले भनेका छन्, ‘मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्यहरूमा मेरो सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको छु । २०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई मेरो उपराष्ट्रपति बनाउने थियो । र यो मैले गरेको सबैभन्दा राम्रो निर्णय हो । आज म कमलालाई यसवर्ष हाम्रो पार्टीको उम्मेदवार बन्न मेरो पूर्ण समर्थन गर्न चाहन्छु । डेमोक्रेटहरू–यो एकजुट भएर ट्रम्पलाई हराउने समय हो। अब यो काम गरौं ।’

क्यान्सर अस्पतालका लेखा अधिकृत डेढ लाख घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ ।


अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो ।


आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई  एक लाख ५० हजार नगद र  चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए । 


कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।

कैफियत देखिएका २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर

सुदूरपश्चिम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा नौ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सात, जिल्ला अदालत कैलालीमा तीन र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ ।

यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत वर्ष खाद्यबजार तथा रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा कैफियत देखिएका रु १५ लाख ८७ हजार आठ सय नौ मूल्य बराबरका सामान जफत गरी नष्ट गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिए।

कार्यालयले आइतबार आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा उनले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताए ।

कार्यालय प्रमुख प्रधानले गत वर्ष तीन सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण गरिएको जानकारीसमेत दिए ।

कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शङ्कास्पद नमूना सङ्कलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ ।

खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएल थप कार्य गर्न कठिनाइ भएको बताए ।

सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् ।

‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य अभिनित नेपाली चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित पत्रकार सम्मेलनमा  गर्दै चलचित्र टोलीले गीत सार्वजनिक गरको हो ।

सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ । यस्तै लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत भरेका छन् ।

गीतमा आँचल र विवेक रोमान्टिक निकै रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा खिँचेका हुन् ।

यस फिल्ममा बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ ।

मैत्रीपूर्ण भलिबलमा नेपाल रसियन टोलीसँग पराजित

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा प¥यो । नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो ।

यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् । नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत प्राप्त, पक्षमा १८८ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भएको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा १८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । त्यस्तै एक सांसद तटस्थ बसेका छन् । मतदानमा २६३ सांसद सहभागी भएका थिए ।

यो दुई तिहाईको समर्थन हो । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बस्यो ।

कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार ओलीले पहिलो दुईवर्ष र त्यसपछि २०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । दुई दलले मुलुकका राजनीतिक स्थिरता, संविधान संशोधनलगायतका मुद्दा अघि सारेका छन् ।

तेल अभिभमा ड्रोन प्रहार भएपछि यमनमा हूथीविरुद्ध इजरायली हमला

बीबीसी । इजरायलले यमनमा हूथी–नियन्त्रित रेड सीको हुडैडा बन्दरगाह हवाई हमलाहरू गरेको छ । हूथी समूहले तेलअभिभमा एउटा ड्रोन प्रहार गरेको एक दिनपछि इजरेलले हवाई हमला गरेको हो ।

इजरायली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देशले हूथी आन्दोलनलाई यो हमलामार्फत सन्देश दिन चाहेको बताएका छन् ।

उनले भने, ‘हुडैडामा यतिखेर दन्किरहेको आगो मध्यपूर्वभरि देखा देखिएको छ र त्यो उल्लेख्य रूपमा प्रस्ट छ।’ हूथीसँग सम्बन्ध भएका सञ्चारमाध्यमहरूले सो इजरायली हमलाबाट तीन जना मारिनुको साथै ८० जनाभन्दा धेरै घाइते भएको उल्लेख गरेका छन् । एकजना हूथी अधिकारी मोहम्मद अब्दुलसलामले त्यसलाई यमनविरुद्ध इजरेलको क्रूर आक्रामक कार्य भनेका छन् ।

ती हूथी अधिकारीले आफूहरूविरुद्ध हमला गरेर इजरायलले गाजामा प्यालेस्टिनीहरूलाई साथ दिने काम बन्द होस् भन्ने चाहे पनि त्यसो नहुने बताए ।

हूथी आन्दोलनको कार्यकारी निकाय हूथी सर्वोच्च राजनीतिक परिषद्लाई उदृत गर्दै हूथीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएअनुसार यी हवाई हमलाको ‘प्रभावकारी जवाफ’ दिइने जनाइएको छ ।

इजरायली सेनाले आइतबार बिहान यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरायली हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिदिएको जनाएको छ ।

यो घटना पछिल्ला पटक इजरायलले हूथीहरूविरुद्ध गरेको पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलले यसबीचमा आफूहरू लक्षित सयौँ यमनी ड्रोन र क्षेप्यास्त्र प्रहार भएपछि त्यसको जवाफ दिएको जनाएको छ ।

राजनीतिक अस्थिरताको मुख्य कारण ठूला दल नै जिम्मेवारः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उनले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताए । अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको बताए ।

पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको उनले तर्क गरे । लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याए । उनले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताए ।

अरूलाई लात हानेर नर्कतिर पठाएर ओलीजी आफू स्वर्गतिर लाग्नुभयोः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्कतिर पठाएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष नेपालले प्रचण्ड र ओलीबीच ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ सहमति भएकोमा अहिले ओलीले लात्तीले हानेर आफूचाहिँ स्वर्गतिर लागेको बताएका हुन् ।

उनले भने, ‘अघिल्लो दिन स्वर्ग गएपनि नर्क गएपनि सँगसँगै जाने वाचा गरे पनि भोलिपल्ट आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाए।’

उनले संसदमा विश्वासको मत मागेर प्रधानमन्त्री संसद बैठकबाट बाहिरिएकोमा आपत्ति जनाए । उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आत्मालोचना गरेर समाजवादी बाटोमा लाग्न आग्रह गरे । उनले दुई दलबीच असल नियतले सहमति नभएको बताए ।

उनले भने,’यदि नियत खराब नभएको भए मध्यरातमा किन सहमति गर्नुपर्यो ? छलछामयुक्त सहमतिले जनतामा निराशायुक्त क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुँदैन ? त्यो समयले बताइहाल्छ ।’

बंगलादेशको सर्वोच्च अदालतद्वारा सरकारी जागिरमा आरक्षणसम्बन्धी उच्च अदालतको निर्णय खारेज

बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणसम्बन्धी उच्च अदालतको निर्णयलाई खारेज गरेको छ । आरक्षणको विरूद्धमा व्यापक विरोध भएपछि सर्वोच्च अदालतले लगभग सबै सरकारी जागिर योग्यताको आधारमा दिनुपर्ने फैसला सुनाएको हो ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षण प्रणालीलाई लिएर सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतको यो निर्णय बंगलादेशमा आरक्षण सुधारलाई लिएर हिंसात्मक झडप भइरहेका बेला आएको हो । यी हिंसात्मक झडपलाई ध्यानमा राख्दै सरकारले शुक्रबार राति नै कर्फ्यू लगाएको थियो । यसबाहेक बंगलादेशमा हिंसात्मक झडप रोक्न सेना पनि तैनाथ गरिएको छ ।

सन् २०१८ मा सरकारले सुरूमा कक्षा एक र दुईको जागिरहरूको लागि आरक्षण प्रणाली खारेज गरेको थियो । पछि जुन ५ गते उच्च अदालतले सरकारको निर्णय अवैध घोषित गरेपछि विद्यार्थीले कोटा सुधारको माग गर्दै पुनः आन्दोलन गर्न थालेका थिए ।

बंगलादेशमा प्रदर्शनकारीहरूले सरकारी जागिरमा आरक्षण खारेज गरी पिछडिएका जातिहरूलाई मात्र अधिकतम पाँच प्रतिशत आरक्षण जारी राखेर आरक्षण प्रणालीमा संशोधन गर्नुपर्ने माग गरिरहेका छन् ।

कांग्रेस-एमालेलाई रविको प्रश्नः ३४ वर्षमा त केही गर्न सक्नु भएन, अब कसरी विश्वास गर्नु ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेको गठबन्धन बन्दा पनि काम गर्न नसके मुलुक भयावह हुने भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले ठूला दलको सहमतिमा गम्भीर सन्देह पैदा भएको बताएका हुन् ।

उनले कांग्रेस एमालेले ३४ वर्षमा देखेको भन्दै यदि दुई दलको गठबन्धनले पनि काम गर्न नसके मुलुकको अवस्थाकाबारेमा के हुन्छ भन्ने कुरा सोच्न आग्रह गरे ।

उनले भने, ‘कांग्रेस र एमाले मिल्दा पनि कथंकदाचित यो गठबन्धनले काम गरेन भने के हुन्छ भन्ने कुराको अन्दाज गर्नुभएको छ ? समाजमा के सन्देश जान्छ सोच्नुभएको छ ? ३४ वर्षमा देखिसकेको छौं, के गर्नुभयो भनेर ।’

उनले लोकतन्त्रमा त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिन चेतावनी दिँदै दुई ठूला दल मिले पनि आफूहरू कमजोर नभएको बताए ।

उनले सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको बताए । उनले आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेकोमा त्यसलाई स्टन्ट भनेकोमा आपत्ति जनाए ।

सभापति लामिछानेले मन्त्रिपरिषद गठनबाटै सरकारले सुशासनका लागि काम गर्छ भन्ने आशंका उत्पन्न भएको बताए ।

उनले भने, ‘जुन ढंगले सरकार बन्यो र विषय अघि बढ्यो । जुन संकेत सुरुमा देखियो त्यसले हामीलाई झस्काएको छ । सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो । बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो । मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, त्यहीँ उनीहरुलाई पुरस्कार दिइयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ।’

कांग्रेस-एमाले गठबन्धन हुनु केही दिन अघि कांग्रेस सांसद विनोद चौधरी ओली निवास बालकोटमा गीत गाइरहेको दृष्य सार्वजनिक भएको थियो ।

उनले उपसभामुख इन्दिरा रानामगरको बचाउ गरे । उनले उपसभामुख रानामगरले भिसाका लागि समय मिलाइदिनका लागि मात्र अमेरिकी दूतावासलाई पत्र लेखेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था छैनः पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा पुनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् ।

उनले भने,’प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो । पछिल्लो दुईतीन वर्षमा कांग्रेस माओवादी, एमालेको बीचमा गठबन्धन बन्यो । त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ । त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन । बीचमा केही परिघटनाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ ।’

उनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ भन्दै उनले प्रश्न गरे । तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न नमिल्ने भन्दै पुनले १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको बताए ।

उनले भने,’प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो । त्यसपछि तीन वर्षमा थुप्रै संक्रमणहरु भए । अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत १.९ थियो । अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ? पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो?उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला ।’

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश गरेको हो ।

संविधानको धारा ७६ (२) को सरकारले विश्वासको मत नपाएको अवस्थामा सरकार गठनको लागि संविधानको संरक्षक राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम सरकार गठनको लागि आह्वान गर्नुपर्ने रिट निवेदकको माग थियो ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १७ (२) (क) बमोजिम सम्माननीय प्रधानन्यायाधीशज्यू समक्ष पेस गर्नू ।’

अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले असार ३१ गते रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको रिटमा जिकिर गरिएको छ । संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री एकपटक नियुक्त भइसकेको अवस्थामा पुनः ओलीलाई त्यहीबाट बनाउन नमिल्ने भन्दै रिटमा नियुक्ति खारेजीको माग गरिएको छ ।

लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको ट्रम्पको भनाइ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उदृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्यालीलाई सम्बोधन गरेका हुन् । उनको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि थिए ।

उनले खचाखच भरिएको र्यालीस्थल ग्रान्ड र्यापिड्समा डेमोक्रेटले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताएका थिए । उनले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुगेका थिए ।

कम्बोडियामा साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार

कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले जनाएको छ ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत कम्बोडियास्थित भारतीय दूतावासले बताएको छ, “कम्बोडियाका अधिकारीको सहयोगमा साइबर अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकहरू रिहा भएका छन् । कम्बोडियाली पक्षले उनीहरूको हेरचाह गरिरहेको छ । दूतावासले उनीहरूको द्रुत घर फिर्तीका लागि काम गरिरहेको छ र उनीहरूको कल्याणका लागि प्रतिबद्ध छ ।”

“कम्बोडियाली अधिकारीसँग नजिकको सहकार्यमा दूतावासले जबरजस्ती अनलाइन ठगीमा फसेका ६५० भन्दा बढी भारतीय नागरिकहरूको उद्धार र स्वदेश फिर्ता गर्न सहयोग गरेको छ”, विज्ञप्तिमा भनिएको छ।

भारतीय दूतावास कम्बोडियाका अधिकारीसँग निरन्तर सम्पर्कमा छ । उद्धार गरिएका १४ जना भारतीय नागरिकहरूको सुरक्षित र समयमै भारत फिर्ता सुनिश्चित गर्न आवश्यक औपचारिकता द्रुतरूपमा पूरा गर्न अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ ।

“दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र कम्बोडियामा भारतीय नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ । भारतीय नागरिकहरूलाई देशमा कुनै पनि रोजगारीको प्रस्तावको सन्दर्भमा अत्यधिक सावधानी अपनाउन र कुनै पनि संदिग्ध गतिविधिबारे दूतावासलाई तुरुन्तै जानकारी गराउन सल्लाह दिइन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यसअघि मे महिनामा कम्बोडियामा रहेको भारतीय दूतावासले कामका लागि कम्बोडिया जाने भारतीय नागरिकका लागि विदेश मन्त्रालयद्वारा अनुमोदित अधिकृत दलालमार्फत मात्र रोजगारी सुरक्षित गर्न सुझाव जारी गरेको थियो ।

“कम्बोडिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा रोजगारीका लागि जाने सबै भारतीय नागरिकहरूलाई यस क्षेत्रमा धेरै नक्कली दलालहरू कार्यरत रहेको जसले भारतीय दलालसँग मिलेर मानिसहरूलाई साइबरसम्बन्धी गैरकानुनी काम गर्ने कम्पनीमा रोजगारीको प्रलोभन दिइरहेका छन् ।”

कम्बोडियामा रहेको भारतीय दूतावासका अनुसार दुबई, बैंकक, सिङ्गापुर र भारतजस्ता ठाउँहरूमा यी कम्पनीहरूसँग सम्बन्धित दलालले साधारण अन्तर्वार्ता र टाइपिङ परीक्षा लिएर उच्च तलब, होटल बुकिङ, फिर्ती हवाई टिकट र भिसा सुविधा प्रदान गर्ने प्रलोभनमा पारी भारतीय नागरिकहरुलाई अवैध साइबर गतिविधिमा संलग्न गराइरहेका छन् ।

शेयर बजारमा ६१ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो आइतबार शेयर बजार नेप्सेमा उछाल आएको छ । आइतबार नेप्से ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ड टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ ।

होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

आज नेप्से ६१ अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको छ ।

नेप्सेमा बुल ड्रेन्ड आएसँगै आइतबार ९ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । एउटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने कार्यसूची थियो ।

तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए राजीनामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।

सुशासनका लागि ‘स्टन्ट’ होइन, ‘इन्टेन्सन’ चाहिन्छः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले आफूले ‘यात्रामा ब्याक गियर लगाउन’ नजानेको बताएका हुन् ।

उनले भने, ‘म सधैँ अघि बढ्ने मानिस हुँ । मैले मेरो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महसुस गरेको कुरा अस्थिरता विकासको मुख्य तगारो हो ।’

उनले कांग्रेस र एमालेलाई होच्याउने गरी बोल्ने अभ्यास गर्दा नाजायज बोलेर अभ्यास नगर्न आग्रह गरे ।

संसदमा प्रधानमन्त्रीको सम्बधोनको पूर्णपाठ

सात बुँदे सहमतिप्रति कांग्रेस दृढ छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभापति देउवाले कांग्रेस सात बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको र एमाले पनि सो सहमति कार्यान्वयन गर्न दृढ रहने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहनेछ र एमाले पनि दृढ रहनेछ भन्नेमा विश्वस्त छु ।’

सभापति देउवाले वर्तमान सरकारले मुलुकलाई उन्नतिको नयाँ बाटोमा लैजाने विश्वास व्यक्त गरे । उनले ओली अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी रहेकोसमेत बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिपरिषद्मा रहेका साथीहरू योग्य र सक्षम हुुनुहुन्छ। उहाँको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्नेमा मैले विश्वास लिएको छु ।’

उनले मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको बताए ।

सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

उनले सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने उल्लेख गरे । उनले भने,’सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं । जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार भएपनि तिनका दोषीलाई उन्मुक्ति दिइँदैन।’

उनले सरकारले आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम नगर्ने बताए ।

कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमति यस्तो छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वाजनिक गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले दुई दलबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकार गठन, राजनीतिक स्थायित्व, संविधान संशोधन, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्न दुई दलबीच सहमति भएको बताए ।

त्यस्तै, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र २०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको उनले बताए ।

यस्तो छ कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति

१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।


४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने।

५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने।

.राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने।

जनतामा छाएको निराशा हटाउन र आशाको सञ्चार गर्न यो सरकार गठन भएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलोपटक चरम निराशामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए ।

कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए । उनले बैंकमा पैसा थुप्रेको र लगानी गर्ने व्यक्तिहरू तयार नभएका बताए । उनले सरकार थालेको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए ।

उनले भने, ‘सरकार स्टन्टबाज भयो, सरकार थुन्ने अनि सुन्ने भयो भन्ने गुनासो बोेकेर धाउँदैधाउँदै काम गर्न पाएनन् ।’

उनले निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको बताए । उनले भने, ‘मलाई सबभन्दा डर लागेको कुरा देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था ।’

उनले सरकारले भ्रष्टाचार नगर्ने र नसहने पनि बताए । उनले भने, ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु, दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ । भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्छौँ। जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’

प्रधानमन्त्रीले भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

उपसभामुखको चरित्र हत्या गरिएको भन्दै सुमनाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाकोबारेमा मिडिया ट्रायल गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने माग गरेलगत्तै सांसद श्रेष्ठले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताएकी हुन् ।

उनले लेटरप्याडबाट के लेखिएको भन्नेकुरा राम्रोसँग हेर्न आग्रह गरिन् । उनले भनिन्, ‘हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन् ? यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाहिँ नगर्नुहोला ।’

उनले आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’

वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसद पन्तको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धवृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न आग्रह गरेका हुन् ।

उनले वृद्धवृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्धवृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएको भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए । उनले ७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि सरकारलाई आग्रह गरे ।

उपसभामुखलाई राजीनामा दिन कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासले लेखेको पत्रबारे सदनमा प्रश्न उठाएको छ ।

आइतबारको संसद बैठकमा कांग्रेस संसद रामहरी खतिवडाले उपसभामुखले मानव तस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न नमिल्ने बताए । उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ । उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभए हुन्छ।’

उनले यो विषयको अनुसन्धान हुनुपर्ने माग गरे । उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने भन्दै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।