`

१३ करोडभन्दा रकम बढी ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट  १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी  १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलङ्की डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट गरे ।

उनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अङ्गका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

मन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकाले पुँजीको लगानीलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको बताए । उनले राजस्व अचपलन हुन नदिइने समेत प्रतिबद्धता जनाए ।

मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाइ इन्धनको प्रयोग घटाउने नीतिअनुसार कर प्रणाली लागू गरिएकाले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको अवगत गराए । उनले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अर्बाै राजस्व गुमाउनुपर्ने भएकाले करलाई केही वृद्धि गरिएको स्पष्ट गरे ।

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह दुई दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन एक दशमलव १२, जलविद्युत् एक दशमलव १८, लगानी एक दशमलव ७०, जीवन बीमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै रु १४ करोड ८३ लाख आठ हजार १६ बराबरको रु दुई लाख २४ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।

वित्त नीतिलाई सघाउने मौद्रिक नीति ल्याउन सरोकारवालको सुझाव

काठमाडौँ । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा  विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् ।  

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी लचिलो नीति लिइनुपर्ने तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति अवलम्बन गरिनुपर्नेलगायतका सुझाव विज्ञ एवम् सरोकारवाला क्षेत्रबाट आएका हुन् ।
    
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा कुनै समस्या नरहेको बताए । ग्राहक संरक्षणका लागि नियामकीय र सुपरीवेक्षण भूमिका बढाउने उनको भनाइ छ । त्यस्तै, समस्यामा परेका व्यक्ति आफ्नो स्वार्थपूर्तिका लागि आफूअनुकूल मौद्रिक नीति आओस् भन्ने चाहिरहेको गभर्नर अधिकारीले बताए ।

“बजारका अपेक्षा सुन्दा कसैका व्यक्तिगत र निजी समस्यालाई सबैको समस्यामा भनेर उठाएको जस्तो देखिन्छ । आफ्नो समस्याबाट उम्किन राष्ट्र बैंकतर्फ बढी आशातित भएको देखिन्छ”, गभर्नर अधिकारीले भने, “राष्ट्र बैंकका पनि आफ्नै सीमितता छन् । हामी नीति निर्माताको उद्देश्य कसैलाई पनि ऋणमा डुबाउने होइन । धान्न सक्नेमात्र ऋण लिने अवस्था बनाउने हो ।” 

अर्थसचिव मधुकुमार मरासिनीले नीतिगत स्थिरता हुनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए । सरकारको नीति चाँडो–चाँडो परिवर्तन हुने अवस्थालाई आगामी आर्थिक वर्षको बजेटले रोख्न खोजेको उनको भनाइ छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वित्तीय नीतिलाई समर्थन र सहयोग गर्नेगरी मौद्रिक नीति आउने विश्वास उनले व्यक्त गरे ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फको बजेट घटाइएको, पुँजीगततर्फको बढाइएको र क्रमागत आयोजनालाई बजेट विनियोजनमा प्राथमिकतामा राखिएको उनको भनाइ छ । “आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माणमा सिर्जित दायित्व र बहुवर्षीय आयोजनामा केन्द्रित गरेका छौँ । कार्यान्वयनयोग्य बजेट आएकाले छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्नेमा आशावादी छौँ”, उनले भने, “तथ्यमा आधारित भएर बजेटका लक्ष्य निर्धारण भएका छन् । करका दर सकेसम्म कम चलाउने प्रयास गरेका छौँ ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्वनाथ पौडेलले पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा समस्या बढ्दै गएको बताए । “सार्वजनिक वित्त २०७४ सालयता निरन्तर बिग्रिँदो अवस्थामा गइरहेको छ । त्यसयता सार्वजनिक ऋण अत्यधिक बढेको छ । तर त्यसको प्रतिफल देखिँदैन”, उनले भने । 

सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेकाले सरकारको स्रोतमा पनि चाप परेको उनको भनाइ छ । मुलुकको आर्थिक गतिविधि बढाउन नयाँ क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता उनले औंल्याए । ऊर्जा र सडक आयोजना निजी क्षेत्रलाई निर्माण गर्न दिनुपर्ने र केही महत्वपूर्ण सडक पूर्वाधार आयोजना तत्काल सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँ–तराई द्रुतमार्गले ढुवानी लागत घटाउने र मुद्रास्फीतिसमेत नियन्त्रण गर्न सघाउने भएकाले भएकाले यो आयोजना चाँडो निर्माण सम्पन्न गर्नुपर्ने पौडेलले बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्र व्यवस्थापनमा वित्तीयभन्दा मौद्रिक भूमिका बढेको जस्तो देखिएको पनि उनले उल्लेख गरे । 

पुँजीबजार केही मान्छेको हातमा पुग्दा त्यसले समस्या निम्ताउनेतर्फ सहज हुनुपर्ने उनको भनाइ थियो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा धेरै चलाउने ठाउँ नरहेको उल्लेख गर्दै पौडेलले प्राथमिकताप्राप्त क्षेत्रको कर्जा विस्तारमा टेवा पुग्ने गरी लचक नीतिको अपेक्षा गरिएको बताए ।

“नीतिगत दरलगायतका मौद्रिक औजार धेरै चलाउने अवस्था छैन । अब साना तथा मझौला र कृषि क्षेत्रमा कर्जा विस्तार गर्नु अपरिहार्य भइसकेको छ । लघुवित्त संस्थाको नियमन र सुपरीवेक्षण बढाइनुपर्छ”, डा पौडेलले भने ।

     नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंकहरुको वितरणयोग्य नाफा निकै घटेको बताए । पछिल्लो तीन वर्षयता बैंकहरुको लगानीको प्रतिफल (आरओई) घटिरहेकाले यसबारेमा सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण हुन थालेको र कर्जा असूली गर्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ । निर्माण क्षेत्रका ऋणीहरुको खराब कर्जा बढिरहेकाले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्नुपर्ने केसीले बताए  । 

“बैंकहरुको कमजोरीका कारण खराब कर्जा बढेको होइन । समग्र अर्थतन्त्रमा आएको शिथिलताले बढेको हो । अहिले बैंकहरुको खराब कर्जा तीन दशमलव ९९ प्रतिशत हाराहारी छ । जुन दक्षिण एसियाली मुलुकहरुमा श्रीलङ्का र पाकिस्तानको तुलनामा निकै कम हो”, बैंकर्स सङ्घका अध्यक्ष केसीले भने, “बैंकहरू ग्रीन बण्ड ल्याउनतर्फ लागिरहेकाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्छ ।”
     
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रप्रति हेर्ने सरकारको धारणामा सुधार हुन नसकेको बताए । “निजी क्षेत्रले कर्जा दुरुपयोग गरेका छन् र उनीहरु खराब हुन भन्ने धारणा बनाइएकाले निजी क्षेत्रको पनि आत्माविश्वास बढ्न सकेको छैन । यो भाष्य परिवर्तन गर्न आवश्यक छ”, अग्रवालले भने ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा मार्गदर्शनका कारण पनि कर्जा विस्तारमा केही सकस भएको उनको भनाइ छ ।

अर्थशास्त्री डा समीर खतिवडाले खुकुलो व्यवस्थासहित वास्तविक क्षेत्रको विकास हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने बताए । नेपाल राष्ट्र बैंक ऐनमा केन्द्रीय बैंकको जिम्मेवारीमा बाह्य क्षेत्र सन्तुलन, मूल्य स्थायित्वलगायतका विषय राखिएको भए पनि आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेजस्ता विषयमा मौन रहेको बताए । 

त्रिचन्द्र बहुमुखी क्याम्यसका सहप्राध्यापक सावित्रीदेवी आचार्य अधिकारीले सरकारी खर्च र लगानी बढाउनुपर्नेमा जोड दिइन् । “सरकारको पुँजीगत खर्च बढ्न सकेमात्रै अन्य क्षेत्रबाट पनि लगानी बढ्छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको र ब्याजदर घटेको बेलामा कर्जा विस्तार हुन सकेको छैन । यो विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्न सक्नुपर्छ”, उनले भनिन् ।

बैंकिङ क्षेत्रका विज्ञ भुवन दाहालले मुलुकको समग्र अर्थतन्त्र शिथिल भएको अवस्थामा बजार माग घटेको र निजी क्षेत्रको मनोबल खस्किएकाले कर्जा प्रवाह बढ्न नसकेको बताए ।

“अहिले विदेशी मुद्राको सञ्चिति सुविधाजनक अवस्थामा छ । बैंक वित्तीय संस्थामा तरलता पर्याप्त छ । डिजिटल बैंकिङलगायतका पूर्वाधार पनि निकै राम्रो अवस्थामा छ”, उनले भने, “तर निजी क्षेत्रको मनोबल खस्किँदा कर्जा प्रवाह बढ्न सकेको छैन ।” निजी क्षेत्रमाथि राज्यले धरपकड गर्ने नभई प्रोत्साहनको नीति लिइनुपर्ने दाहालले बताए । 

सरकारले भुक्तानी गर्नुपर्ने निर्माण व्यवसायीको रकम, कोभिड बीमाको दाबी भुक्तानी, विभिन्न अनुदान रकम भुक्तान हुनसके बजारमा रकम प्रवाह बढ्ने र त्यसले माग सिर्जना गर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल क्रेडिट रेटिङ एजेन्सीकी बिजनेस हेड वर्षा श्रेष्ठले बैंकहरुको कर्जा–निक्षेप अनुपात घट्नुपर्ने बताइन् ।

मनप्रिय मनाङ

रामबहादुर  थापा, गण्डकी । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर । 

कठिन भू–बनोटबीच पनि मनाङ आफैमा चित्रमय लाग्छ । हिमालले घेरिएको मनाङ जो कोहीको मनप्रिय गन्तव्य हो । यो प्रकृति र संस्कृतिको अनुमप थलो हो । जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा भने फुरुङ्ग हुन्छन् । गाह्रोसाह्रो बिर्सिदिन्छन् । मस्र्याङ्दीको सुसाहट, झरनाको छङ्छङ् र सिरसिरे हावाको स्पर्शमा रमाउँछन् । बेँशीसहर–चामे सडक छेउछाउका बुङ्ग, अक्टोपसआदि झरना हेरेर उनीहरु रोमाञ्चित बन्छन् । 

मनाङ पुग्न भीमकाय पहाड, भीरपाखा, खोल्सा र खोँच छिचोलेर अघि बढ्नुपर्छ । पदयात्रा र मोटरयात्रामा मनाङ पुग्न सकिन्छ । त्यहाँको हुम्डे विमानस्थल भने अहिले बन्द छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ पदयात्राका लागि लोकप्रिय गन्तव्य मानिन्छ । एक दशकअघि मोटर पुगेपछि सडकमार्गबाट मनाङ जाने घुम्न जाने पर्यटक पनि उत्तिकै छन् । 

मनाङ पुग्ने अधिकांशको सपना संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हुन्छ । तर त्यो सबैका लागि सम्भव हुँदैन । आँटिला र स्वस्थ व्यक्तिले मात्र थोरङ भञ्ज्याङ पार गर्न सक्छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल सामुद्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । पाँच हजार चार सय १४ मिटरको उचाइमा रहेको थोरङ भञ्ज्याङ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हो । थोरङ भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मुस्ताङको मुक्तिनाथ क्षेत्र पुग्छन् । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको पवित्र धार्मिकस्थल हो । 

मनाङ ङिस्याङ–१ भ्राताङमा भेटिनुभएका पर्यटक पथप्रदर्शक अनिल लामा अमेरिकामा बस्ने नेपाली परिवारका सदस्यलाई लिएर थोरङ भञ्ज्याङ जाँदै थिए । सदरमुकाम चामेबाट पदयात्रा सुरु गरेको उनले बताए । चामे समुद्री सतहदेखि दुई हजार आठ सय ३१ मिटर उचाइमा अवस्थित छ । अग्ला पहाडको खोँच र मर्स्याङ्दी नदीको किनारमा रहेको चामेबजारमा एक रात बिताएर उनीहरु मनाङ गाउँतिर जाँदै थिए ।

“तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हो, छ–सात दिन जति लाग्ला”, उनले भने, “पहिलो दिन पिसाङ, दोस्रो दिन मनाङ गाउँ र तेस्रो दिन तिलिचो आधार शिविरमा बास बसेर बल्ल तिलिचो ताल पुग्ने योजना छ ।” तिलिचोबाट फर्केर श्रीखर्क हुँदै थोरङ भञ्ज्याङ जाने तालिका रहेको लामाले सुनाए । तिलिचोबाट दुई दिनमा थोरङ भञ्ज्याङ पुग्न सकिन्छ । थोरङ भञ्ज्याङ जान नसक्नेहरु श्रीखर्कबाट खाङ्सार हुँदै मनाङ गाउँ फर्कन्छन् । 

बेँशीसहरबाट मोटरयात्रामा सिधैँ खाङ्सार पुगेर त्यहाँदेखि दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिने लामाले बताए । चामेबाट पदयात्रामा जाँदा भने चार दिन लाग्ने उनको भनाइ छ ।

चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले पदयात्रीले लिने विश्रामको अवधिले तिलिचो र थोरङ भञ्ज्याङ जान लाग्ने समयको निर्धारण गर्ने बताए ।

“प्रायः विदेशीहरु चामेबाट पदयात्रा सुरु गर्छन्, चार÷पाँच दिन लगाएर तिलिचो पुग्छन्, नेपालीहरु भने अलि छिट्टै पुग्छन्”, उनले भने ।

पहिलो पटक पुग्ने पर्यटकले तिलिचोलाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरेको उनले सुनाए । “तिलिचोलाई चारैतिरबाट हिमालले घेरेको छ, भगवान् शिवले तपस्या गरेको किंबदन्ती रहेकाले धार्मिक हिसाबले पनि यो तालको महत्व छ”, फुर्वाले भने, “तिलिचोसँगै गङ्गापूर्ण, ग्रीन लेक, काजिन्सारालगायतका तालतलैयाले मनाङको सौन्दर्य बढाएका छन् ।” 

कतिपय तालको अझै पहिचान नै हुन नसकेको उनले बताए  । तिलिचो र थोरङ भञ्ज्याङबाट अन्नपूर्ण–२, अन्नपूर्ण–४, लमजुङ, मनास्लु, गङ्गापूर्णलगायत कैयौँ हिमशृङ्खलाकौ एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । चामे होटल व्यवस्थापन उपसमितिका अध्यक्ष फुर्वाले पाँच हजार एक सय छ मिटर उचाइको लार्के भञ्ज्याङ पनि पर्यटकको रोजाइमा पर्ने गरेको बताए  ।

गोरखाको मनास्लु संरक्षण क्षेत्रबाट लार्के भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मनाङ छिर्ने गरेको उनको भनाइ छ । “मनाङको धारापानीबाट तिल्चे, भीमथाङहुँदै लार्के भञ्ज्याङ पार परेर मनास्लु क्षेत्र पनि पुग्न सकिन्छ”, उनले भने ।

पाँच हजार तीन सय २० मिटर उचाइमा अवस्थित काङ्ला भञ्ज्याङले पनि मनाङ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । काङ्ला भञ्ज्याङ काटेर मनाङकै पर्यटकीय गाउँ नार पुग्न सकिन्छ । अध्यक्ष फुर्वाले सडक आएपछि अन्नपूर्ण चक्रीय पदमार्गको साख भने गुम्दै गएको बताए । 

“विशेष गरी पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा मनाङ पर्ने गर्छ, तर पछिल्लो समय सडक निर्माणका क्रममा पदमार्ग नासिएका छन्, कतै छोटिएका छन्”, उनले भने,“मनाङको पर्यटनलाई चलायमान बनाइराख्न र विदेशी पर्यटकलाई आकर्षित गर्न वैकल्पिक पदमार्ग बनाउनुपर्छ ।”

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पदमार्ग सङ्कटमा पर्दा लमजुङ र मनाङका पर्यटन व्यावसायी नै विस्थापित हुने अवस्था आएको बताए  । 

“पदयात्रा पर्यटनमा आधारित व्यवसायी पलायन भइरहेका छन्, कति त बस्ती नै विस्थापित भएँ”, उनले भने, “पुराना पदमार्ग नासिँदा सडकको धुलो र हिलो सहँदै पदयात्रा गर्न पर्यटक बाध्य छन्, यस विषयमा सम्बद्ध सबै पक्ष संवेदनशील र जिम्मेवार हुनुपर्छ ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म मनाङमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रने गरेको बताए । “दुई वटा मुख्य याममा मनाङका गन्तव्यस्थल पर्यटकले भरिभराउ हुन्छन्, वर्षात् र जाडोयाममा पनि फाटफुट रुपमा स्वदेशी तथा विदेशी पर्यटक मनाङ घुम्न आइरहन्छन्”, उनले भने  ।

प्रमुख भुजेलका अनुसार सन् २०२३ मा २२ हजारभन्दा बढी विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको उनको भनाइ छ । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको प्रमुख भुजेलले बताए । आन्तरिक पर्यटकको भने यकिन तथ्याङ्क ‘एक्याप’सँग पनि छैन । 

भारतीय र नेपाली पर्यटक मोटरबाइक लिएरै मनाङ पुग्ने गरेका छन् । विकट भूगोल र जोखिमपूर्ण सडकका कारण पनि वर्षात्का बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गर्छ ।

कतिपय होटल तथा रेष्टुराँ अहिले बन्द भइसकेका छन् । ‘अफसिजन’मा पर्यटकीय गतिविधि कम हुने भएकाले कतिपय होटल तथा रेष्टुराँ सञ्चालकहरु व्यवसाय नै बन्द गरेर काठमाडौँ, पोखरालगायत ठाउँमा जाने गरेका छन् । प्रमुख भुजेलले मनाङमा तीन सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए । 

“पर्यटकस्तीय होटल, रेष्टुराँ, चिया–खाजाघर छन्, यहाँ आउने पर्यटकको सुविधालाई हेरेर व्यवसायीले विभिन्न सेवा पनि थपिरहेका छन्”, उनले भने, “एक्यापले पनि पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यस्थलको प्रवर्द्धनलगायतमा स्थानीय बासिन्दालाई सघाउँदै आएको छ ।”

रोमाञ्चक र साहसिक पदयात्रा रुचाउनेलाई मनाङ उत्कृष्ट गन्तव्य रहेको प्रमुख भुजेलले बताए । मनोरम प्रकृति, संस्कृति, बौद्ध परम्परा, हिमाली जनजीवन आदि मनाङका पहिचान र आकर्षण हुन् ।

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किमि मोटरयात्रा लमजुङ सदरमुकाम बेँशीसहर पुग्न सकिन्छ । बेँशीसहरबाट छ घण्टाको मोटरयात्रामा मनाङको चामे र चामेदेखि मनाङ गाउँसम्म साढे दुई घण्टामा पुग्न सकिन्छ । 

मनाङ गाउँबाट भने खाङ्सारसम्म आधा घण्टामै पुग्न सकिन्छ । खाङ्सारबाट अघि सडक पुगेको छैन । चामेबाट भ्राताङ, पिसाङ, हुम्डे हुँदै मनाङ गाउँ जोडिन्छ । मनाङ गाउँबाट नजिकै गङ्गापूर्ण हिमताल अवस्थित छ । पिसाङमा ग्रीन लेकपर्छ । काजिन्सारा ताल पुग्न भने चामेबाट दुई दिनको पदयात्रा गर्नुपर्छ । 

मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्द्धनका लागि सक्दो पहल लिने गाउँपालिका अध्यक्ष घलेले बताए । मनाङ जोड्ने सडक स्तरोन्नति गर्न सके बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक मनाङ भित्र्याउन सकिने उनको बुझाइ छ । 

“पर्यटकीय याममा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनाङ भित्रने गरेका छन्”, अध्यक्ष घलेले भने, “पहिले विदेशी पर्यटक बढी आउथे, पछिल्लो समय आन्तरिक पर्यटकको पनि आवागमन बढेको छ ।”

प्रहरी हुँ भन्दै दुई करोड लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरको दधिकोटमा सीआइबीको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई सार्वनिक गरेको हो ।

उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीआइबीबाट आएको भन्दै घरभित्र पसी लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

अमृतबाबु भट्ट ।
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा हुनुहुन्छ । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अविभावकहरूले जिज्ञासा बढ्न थालेको छ ।

विषय छनोट कसरी गर्ने ?

हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ ।

यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छभने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ । विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आफूलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ ।

के गर्नु राम्रो हुँदैन ? 

हाम्रो पुरानो विश्वासका आधारमा धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालार्ई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैंमा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैँमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो ग¥यो आदि कुरा गर्नु हुँदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन ।

मानिस स्वभावतः ठूलो देखिन खोज्ने प्राणी हो । बालकालिकालाई हामीले विज्ञान ठूलो हो भन्ने प्रभाव दिँदा धेरै बालबालिकाहरूले आफू अरुहरूभन्दा ठूलो देखिनका लागि नै विज्ञान पढ्ने निधो गर्दछन् । यो अन्ततोगत्वा गलत हुन्छ । त्यस्तै कतिपय अवस्थामा बच्चाहरूलाई तिमीलाई जुन राम्रो लाग्छ, त्यही पढ भन्छौँ । यो पनि बच्चालाई आज राम्रो लागेको कुरा सधैँ राम्रो नलाग्न सक्छ । उसको कलिलो उमेरले त्यो सबै निर्णय गराउन पनि उपयुक्त हुँदैन । त्यसका लागि विज्ञहरूको परामर्श चाहिन्छ ।

बालबालिकाले विषय छनोट केका आधारमा गरेको हो, त्यसै अनुसार विज्ञले परामर्श दिनु उपयुक्त हुन्छ । धेरै जस्तो अवस्थामा बालबालिका साथीभाइ जता जान्छन् र जे पढ्छन्, त्यसै गर्छु भनी आफ्नो निर्णय साथीलाई गर्न दिन्छ । यो अत्यन्त प्रत्युत्पादक हुन्छ । त्यसैले कोही पनि बालबालिकाले विषय छनोट गर्दा भविष्यको पेसाको कमाई, सुरक्षा, नाम प्रतिष्ठा, पहिचान, बुबाआमाको इच्छा, देश प्रेम, समाजको आवश्यकतामध्ये कुन आधारमा गरेको छ भनी विज्ञसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । केही विद्यार्थी तथा अभिभावकहरू अहिलेलाई विज्ञान पढ्दै गरौँ र पछि जता पनि जान पाइन्छ भन्ने खालको तर्क पनि गर्नुहुन्छ । कक्षा ११ मा पुग्दा फेरि नेपाली र अङ्ग्रेजीबाहेक अरू सबै विषयको विकल्प छ । आफू जाने पेसा र विषयलाई कम ध्यान दिएर अन्य विषयवस्तुलाई बढी समय दिइराख्नु पनि तर्कसङ्गत छैन ।

प्रायः कक्षा १० सम्म विद्यार्थीको लगाव छुट्याउन नसकेका अभिभावकहरू यो मतमा आउनुहुन्छ, त्यो त्यति हितकारी छैन । केही अभिभावक विज्ञान गाह्रो विषय हो र त्यो पढेर पछि अरू विषय पढ्न सजिलो हुन्छ । त्यसैले अहिले विज्ञान नै पढ्दै गरोस् भन्ने तर्क दिनुहुन्छ । यो तर्क झट्ट हेर्दा सही हो कि जस्तो लागे पनि यस तर्कले विद्यार्थीको भावनालाई प्रतिनिधित्व कदापि गर्दैन । यसमा अभिभावकको विचारको हाबी देखिन्छ । केही अभिभावक र विद्यार्थीहरू कुन विषय पढ्दा विदेश जान सजिलो हुन्छ भनी प्रश्न गर्ने गर्नुहन्छ ।

खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहनुहुन्छ । यसको कारण सोध्दा उहाँहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्नुहुन्छ, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो  भन्ने कुरा नै प्रमुख हुन्छ ।

के गर्नुपर्छ ?

विसं २०८० को एसइईको नतिजा केही दिनभित्रै आउँदैछ । हामीसँग जति बाँकी दिनहरू छन्, ती दिनहरूमा विद्यार्थीलाई विभिन्न पेसाका बारेमा खोज अध्ययन गर्न लगाऊँ । विद्यार्थी कहिलेकाहीँ आफू सेतो कोट लगाएर मेडिकल डाक्टरको काम गरेको, कहिले नीलो कोट लगाएर प्रशासक बनेको, कहिले कालो कोट लगाएर न्याय तथा कानुन सेवामा काम गरेको, कहिले बैङ्कर भएको, कहिले प्रोफेसर भएको, कहिले फौजी सेवा, कहिले व्यापार–व्यवसाय आदिमा काम गरेको कल्पना गर्न लगाऊँ । सम्बन्धित त्यस्ता ठाउँहरूमा पुर्याएर कामको प्रकृति देखाऊँ, कामको अनुभूति पनि गराऊँ । तिमी १० वर्षपछि कुन काम गरिरहेको सपना देख्छौ भनी उसको बानी व्यवहार र रुचि निश्चित रूपमा पहिचान गर्न सक्यौँ भने उसले पहिले पेसा छनोट गर्न सक्छ । एउटा विद्यार्थीले पहिले आफ्नो पेसा छनोट गरोस् । अनि उक्त पेसालाई चाहिने विषय छनोट गरोस् । त्यसपछि उक्त विषय पढाउने संस्था छनोट गरोस् । संस्था छनोट गर्दा पनि केही सावधानी अवश्य अपनाओस् ।

सामान्यतयाः विद्यार्थीलाई अभिभावकहरूले कलेज हेरेर आऊ भनी पठाउनुहुन्छ, जब ऊ कलेज छनोट गर्न आउँछ, उसँग खासै केही प्रश्न हुँदैनन् । प्रायः विद्यार्थीले सोध्ने गर्छन्, “यो कलेज कस्तो छ ?” खासगरी कुनै पनि संस्थामा गएर यो संस्था कस्तो छ भनी सोध्दा के उत्तर आउँछ ? त्यसैले कलेज छनोट गर्न अभिभावकहरूले पनि विद्यार्थीसँगै जानुपर्छ र संस्थाको स्थायित्व, विगतको परीक्षाको परिणाम, पढिरहेका वा पढाइसकेका विद्यार्थीहरूको उदाहरण र सफलता, खर्च, पढाइको वातावरण, शिक्षक शिक्षिका र कर्मचारीको स्थायित्व र क्षमता, पूर्वाधार, लगानीकर्ता आदि पक्षको राम्रो तुलनात्मक अध्यापन गरेर मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । कुनै संस्थाले अस्वाभाविक रूपमा अधिक खर्च लिँदैमा वा न्यून खर्चमा पढाइदिन्छ भन्दैमा वा खर्चको हिसाबमा मात्र शैक्षिक संस्थालाई राम्रो वा नराम्रो भन्नु गलत हुन्छ । कहिलेकाहीँ अस्वाभाविक ज्यादा मूल्यले पनि उपभोक्तालाई आकर्षण गरेको देखिन्छ । खासगरी यस समयमा कलिला विद्यार्थीहरूलाई राम्रो परामर्शदाता, विषयविज्ञ, अनुभवी र दक्ष मानव संसाधनविद्को परामर्शमा डोर्याउनु अति आवश्यक हुन्छ ।

निष्कर्ष  

एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कूल छनोट गर्ने कुरा उसको जीवनमा एकपटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा डोर्याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकाङ्क्षा पनि पूर्ण हुन्छ ।

(लेखक काठमाडौँ बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुनुहुन्छ)

बिहीबारसम्म एसइईको नतिजा सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

परीक्षा नियन्त्रक पौडेलले भने, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।”

उनले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए।

मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ। उक्त घटनामा बालबालिकासहित धेरै घाइते भएको अल जजिराले जनाएको छ ।

रुसी विदेश मन्त्रालयले सोमबार अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर उक्त घटनालाई वासिङ्टनले भड्काएको “प्रोक्सी वार“ भन्दै निन्दा गरेको छ र जवाफमा जवाबी कारबाही गर्ने वाचा गरेको छ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि, मस्कोले द्वन्द्वलाई पश्चिमी समर्थित युद्धको रूपमा लिएको छ। अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले पत्रकारहरूलाई सम्बोधन गर्दै अमेरिकाले युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्न हतियार आपूर्ति गरेको बताए ।

राजदूत ट्रेसीले हालैको घटनाबाट कुनै पनि नागरिक हताहत भएकोमा खेद व्यक्त गरेका छन् ।

क्रेमलिनले युक्रेनलाई रूसी क्षेत्रभित्रका लक्ष्यहरू विरुद्ध आपूर्ति गरिएका हतियारहरू तैनाथ गर्न अनुमति दिने अमेरिकी निर्णयको कडा आलोचना गर्नुका साथै सम्भावित प्रतिक्रियाको चेतावनी दिएको छ।

मस्कोले अमेरिकी विशेषज्ञहरूले अमेरिकी जासुसी उपग्रहहरूबाट प्राप्त डाटा प्रयोग गरेर क्षेप्यास्त्र आक्रमणमा समन्वय गरेको आरोप लगाएको छ। “वासिङ्टनको यस्तो कार्यहरू प्रतिक्रिया बिना छोडिने छैन“, रुसको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भने ।

रुसी अधिकारीहरूले युक्रेन द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको बताएका छन् ।

सन् २०१४ मा रुसले कब्जा गरेको तर अन्तर्राष्ट्रिय रूपमा युक्रेनी क्षेत्रको रूपमा मान्यता प्राप्त क्रिमियामा घातक द्वन्द्वमा उल्लेखनीय वृद्धि भइरहेको छ ।

जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै

विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् ।

यस मौसमको सुरुमा टर्की, क्यानाडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जङ्गलका धेरै भागहरूमा आगलागी भइसकेको छ ।
हालैका वर्षहरूमा अगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइएपनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरुले बताएका छन् ।

मौसमी अवस्था सहित धेरै कारकहरूको अध्य्यनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आङ्कलन गर्नु चुनौतीपूर्ण हुन सक्छ ।

तर समग्रमा, जङ्गलमा आगलागी ठुलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढीरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भने ।

जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जङ्गली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जङ्गली आगोको सङ्ख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताए ।

“हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौँ । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भएतापनि जलवायु परिवर्तन एक प्रमुख चालक हो“, “, उनले भने ।

इपिजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप(इपिजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए । 

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।

रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घको काठमाडौँस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे ।

राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै प्रधानमन्त्रीले आगामी दिनमा यसलाई अझ व्यवस्थित गरिने बताए ।

‘नेपालमा प्रधानमन्त्री छ, र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ !’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रधानमन्त्री रहेको र आफू प्रधानमन्त्री भएको बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै यो देशमा प्रधानमन्त्री छ कि छैन ? भन्दै उठाएका गरेका थिए ।

रुस युक्रेन युद्धका क्रममा नेपालीहरूको मृत्यु हुँदा पनि सरकारले चासो नदिएको भन्दै शाहीले उक्त प्रश्न गरेका थिए । शाहीलाई जवाफ दिँदै प्रचण्डले देशमा प्रधानमन्त्री रहेको र आफू प्रधानमन्त्री भएको जवाफ फर्काए ।

उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । र, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

प्रधानमन्त्रीले नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दुःखद भएको बताए ।

विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले उच्च प्राथमिकतामा राखेका बताएका छन् । 

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार  उनले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा सम्बन्धित मुलुकको कानुनबमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा चौबिसै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

“केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त ‘हटलाइन’ सेवाका साथै ‘वेबसाइट’ र सामाजिक सञ्जाललगायत माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीले भने, “साउदी अरबलगायत केही नियोगमा ‘सेल्टर होम’को व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा ‘अनलाइन’ माध्यमबाट नेपाली कामदार लक्ष्यित मनोपरामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।”

राहदानी विभागले राहदानी सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री तुल्याइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पारे । उनले विदेशमा रहेका नेपालीको हकहितलाई ध्यान दिँदै राहदानी तथा ‘कन्सुलर’ सेवालाई प्रविधिमा आधारित बनाइएको जानकारी दिए ।

“राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्तीसेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीले भने ।

तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

काठमाडौँ ।  नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात पदक जितेको छ । 

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो ।

पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन् । पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।

जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

नेपाल-चीन संयुक्त सीमा निरक्षणसम्बन्धी कार्य अगाडि बढाउने सरकारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारेका छन् ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उनले नेपाल–भारतको सुगौली सन्धि, १८१६ बमोजिम ती भूभाग नेपालको रहेको र संविधान संशोधनमार्फत राजनीतिक नक्सामा समेटिएको तथा नेपालको निशाना छाप अद्यावधिक गरिएको स्मरण गराए ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सन्धि तथा सम्झौतालाई परिमार्जन र अद्यावधिक गर्न एवं सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको बताए ।

नेपाल–भारत सीमा कार्य समूहले नेपाल–भारत सिमानामा सीमास्तम्भको निर्माण, पुनःस्थापना तथा मर्मतका साथै दशगजा एवं ‘क्रस होल्डिङ’ को लगत तयार गर्नेजस्ता प्राविधिक कार्य निरन्तर रुपमा गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले गत पुस १९ मा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा दुवै पक्षले सिमानाको विषयमा छलफल गरेका र नेपाल–भारत सीमाको बाँकी खण्डमा काम चाँडो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएअनुरूप परराष्ट्र मन्त्रालयमार्फत नेपाल–भारत सीमासम्बन्धी सीमा कार्य समूहको सातौँ बैठकका निम्ति भारतीय पक्षलाई कूटनीतिक माध्यमबाट पत्राचार गरिएको जानकारी गराए ।

नेपाल–चीनबीच यदाकदा देखिने सीमा समस्याको समाधान गर्न दुई पक्षीय छलफल र सहमतिबाट हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर एवं परराष्ट्रमन्त्री महामहिम वाङ यी ले गरेको नेपाल भ्रमणका अवसरमा दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भएको द्विपक्षीय भेटवार्तामा आपसी परामर्शमा नेपाल चीन संयुक्त सीमा निरक्षणसम्बन्धी कार्य अगाडि बढाउने सहमति भएको बताए ।

“नेपाली नागरिक विदेशी सेनामा भर्ती भएका भन्ने सम्बन्धमा उठाउनुभएको प्रश्नबारे सरकार गम्भीर छ, नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारीअनुरुप परम्परागतरूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकामा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको स्पष्ट पार्न चाहन्छु”, उनले भने ।

गोर्खा भर्ती सन् १९४७ मा सम्पन्न त्रिपक्षीय सम्झौताबमोजिम भएको जानकारी गराउँदै उनले यस सम्झौतालाई समयसापेक्ष तुल्याउन राष्ट्रिय सहमतिका आधारमा बेलायत सरकारसँग छलफल गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घका काठमाडौँस्थित दूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको स्पष्ट पारे ।

“यस विषयमा रुसी महासङ्घका विदेशमन्त्रीसँग उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग टेलिफोन वार्ता भएको पनि जानकारी गराउँदछु । नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको छ । बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको छ”, उनले भने ।

अक्टोबर २०२३ मा इजरायलमा भएको हमासको आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुवै पक्षको निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग अनुरोध गर्दै औपचारिक तथा अनौपचारिक बैठकमा पनि पहल गरिएको उनले जानकारी गराए ।

प्रधानमन्त्री दाहालले छिमेकी मुलुक, ठूलो सङ्ख्यामा नेपालीको उपस्थिति रहेका मुलुक, द्विपक्षीय व्यापार, लगानी, पर्यटनलगायत आर्थिक सम्बन्धको अवस्था र सम्भाव्यता रहेका मुलुक, विभिन्न महादेशमा राजनीतिक, आर्थिक तथा सामरिकरुपले महत्व राख्ने राष्ट्र तथा भौगोलिक प्रतिनिधित्व आदिका आधारमा नियोग स्थापना भएका बताए ।

राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहेको बताए ।

“विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको छ”, उनले भने, “राजदूतावास नभएका मुलुकमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।”

प्रधानमन्त्री दाहालले परराष्ट्र मामिला र कूटनीतिका विविध पक्षमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने तथा कूटनीतिक कर्मचारीका लागि तालिम प्रदान गर्ने संस्थाका रुपमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सुदृढ तुल्याउने तथा यसलाई साधन स्रोत सम्पन्न गर्दै लैजान मन्त्रालय क्रियाशील रहेको बताए ।

महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार स्पष्ट छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारेका हुन् ।

राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउँदै प्रधानन्त्री प्रचण्डले मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए ।

उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदुतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ रहेको बताए । आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

उनले भने, ‘नेपाल सरकार नेपाल–भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ ।’

यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

काठमाडौँ  । यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल–२०२४ मा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गरेकाले पुरस्कृत गरिएको हो ।  

फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि  स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिकेकी थिइन् ।  कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा  समेत नृत्य प्रस्तुत गर्दै आएकी छन् ।।

बंगलादेशलाई पराजित गर्दे अफगानिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी–२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तान नवौं संस्करणमा आएर सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

बंगलादेशका लागि ओपनर लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारि खेले। यस्तै, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् । अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार –चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले एक– एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलको सामना गरेर सर्वाधिक ४३ बनाए । यस्तै, इब्राहिम जाद्रानले २९ बलमा १८ रन, कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक –एक विकेट लिए। यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।

एकीकृत समाजवादीले महाधिवेशनबाट १९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

विद्यमान कमिटीमा तीन सय ५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाएर सङ्गठनलाई थप प्रभावकारी बनाउन लागिएको जनाइएको छ । सानो कार्यसमिति भएपछि छिटो–छरितो बैठक सञ्चालन तथा सदस्यलाई बैठकमा उपलब्ध गराउन, छलफल गर्न, निर्णय कार्यान्वयन गराउन सहज हुने उनले बताए । कार्यसमिति सानो हुने भएपछि केन्द्रीय कमिटीमा जान चाहने नेताहरूको प्रतिस्पर्धा बढेको छ ।

सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका चार सय ५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार आठ सय ४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिनेछ ।

पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, प्रशिक्षण, प्रकाशनसहितका कार्य सम्पन्न गरेको छ ।

सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरू विस्तार गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र सम्बन्धित कमिटीलाई आवश्यकतानुसार दायित्व तोक्नसक्ने व्यवस्था मिलाएको थियो ।

महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।

वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषय प्राथमिकता छ ।

‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् । देश र जनताको प्रगतिको बाधक तत्वको रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ ।

विधानमा ७० वर्षको उमेरहद हटाइएको छ भने युवा सहभागिता वृद्धि, समावेशी सिद्धान्तलगायतका विषयलाई जोड दिइएको केन्द्रीय सदस्य चुना केसीले जानकारी दिइन् ।

साङ्गठनिक प्रतिवेदनमा पार्टीलाई गतिशील बनाउन सङ्गठनलाई जनतामा केन्द्रित गर्न सुझाव दिइएको छ । त्यसमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि उल्लेख छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।


उनका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।


साथै गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरी लाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक काठमाडौंमा सुरु

काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित छन् । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका छन् ।

बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार विहान काठमाडौं आएपुगेका थिए । 

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

उदयपुर । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् ।

केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु”, उनले भने “गत वर्ष पनि झण्डै रु एक लाखको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु ।”

भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ । “पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ ।” कटारी–८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भने, “फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन् ।”

किसान साङ्दोेर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताए। स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि रु ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ । पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी –८ वडाध्यक्ष नवीन्द्र तामाङले बताए।

नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा  ५० रुपैयाँले लैजाने गर्दा आम्दानी राम्रो भएको बताए । उनले भने, “अझै  गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ  ८० रुपैयाँ खापामा बेच्ने गरेका छन् ।”

वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन् । केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ ।

तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।

विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त

बीबीसी । विकिलीक्सले लामो कानुनी उतारतढावपछि आफ्ना संस्थापक जुलिअन असान्ज अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौता अनुरूप बेलायतको जेलबाट छुटेको जनाएको छ ।

यद्यपि उनले अब अमेरिकी अदालतमा उपस्थित भएर आफूले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध भने स्वीकार्नु पर्ने बताइएको छ । असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो ।

अमेरिकाले वर्षौँदेखि विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचनाहरू उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रहरूले मानिसहरूको ज्यान खतरामा पारेको दाबी गर्दै आएको थियो ।

असान्जले पछिल्ला पाँच वर्ष ब्रिटेनको जेलमा बिताए। उनी त्यहाँ अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका थिए । बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नु पर्ने छैन।

अमेरिकाले बेलायतमा उनले बिताएको थुनाको अवधिलाई गणना गरेर त्यस्तो छुट दिने बताइएको छ । अमेरिकी न्याय मन्त्रालयको पत्रअनुसार असान्ज अस्ट्रेलिया फर्किनेछन् ।

विकिलीक्सले सामाजिक सञ्जाल एक्समा असान्जले सोमबार एक हजार ९ सय एक दिनपछि बेलमार्श जेलको सानो बन्दी कोठा छाडेको लेखेको छ । विकिलीक्सले साझा गरेको भिडिओमा जीन्स र नीलो शर्ट लगाएका असान्जलाई विमानमा उनी प्रस्थान गर्नुअघि गाडीमा लैजाँदै गरेको देखाइएको छ ।

उनकी श्रीमती स्टेला असान्जले एक्समा लेख्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएकी छिन् । उनले ती समर्थकहरूले ‘यसलाई साकार पार्न वर्षौँदेखि काम गरेको’ उल्लेख गरेकी छन् । अमेरिकासँग भएको सम्झौताअनुरूप उनलाई एउटा आरोपमा दोषी ठहर गरिनेछ। त्यसको अन्तिम निर्णय बुधवार नोर्दन मारियाना आइल्यान्डस्को एउटा अदालतमा हुने ठानिएको छ ।

अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित गोप्य अमेरिकी सैन्य दस्तावेजहरू र कूटनीतिक पत्रहरू सार्वजनिक गरेकोमा अमेरिकी अभियोजनकर्ताहरूले सुरुमा असान्जलाई जासुसीसम्बन्धी कानुनअन्तर्गत १८ वटा मुद्दा लगाउन चाहन्थे । असान्जले सन् २००६ मा विकिलीक्स स्थापना गरेका थिए । अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटको दाबी छ।

‘ईश्वर’को ‘आहा भो ! आहा भो !’

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘आहा भो ! आहा भो !’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायाँकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ ।

गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी नायिका अनु शाह ५ वर्ष पछि ‘ईश्वर’मार्फत अभिनयमा कमव्याक गरेकी छन् । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।फिल्ममा अर्जुन पोखरेल, संगीत, कविराज गहतराज, कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मस्ले गर्दैछ ।

प्रचण्डले गरिरहने ‘उथलपुथल’ को मारमा देश र जनताले कहिलेसम्म सास्ती भोग्नुपर्ने ?

डा. बाबुराम भट्टराई ।
नेसपा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई प्रचण्डको माओवादी केन्द्रले गरेको अवैधानिक र अनैतिक कारबाहीसम्बन्धी मुद्दावारे सबैले बुझ्नुपर्ने कुरा यी हुन्–

पहिलो, राजनीतिक दल सम्बन्धी ऐन अनुसार दुई वा दुई भन्दाबढी दलले एउटै साझा चुनावचिन्ह लिए निर्वाचन लड्न पाउने भएपछि एउटा दलको सांसदलाई अर्को दलले कसरी कारबाही गरेर हटाउन मिल्छ ? यदि त्यसरी पाउने हो भने फरक दलको अस्तित्व कसरी रहन्छ ? यो सिधै संविधान र कानून विपरित हुन्न र ? एउटै संसदीय दल हुने भएपनि आआफ्ना सांसदलाई आआफ्नै दलले मात्र ह्विप लगाउन सक्ने स्वतःसिद्ध कुरा हैन र ? यस्तो सिधा कुरामा पनि प्रचण्ड नेतृत्वले सत्ताको उन्मादमा बलजफ्ती गरेको कुरालाई सम्मानित अदालतले अन्तरिम आदेशबाट रोक्नु विल्कुल सही कुरा हो । अन्तिम फैसलामा यो अझै स्पष्ट हुनेनैछ ।

दोश्रो कुरा, राजनीतिक र नैतिक प्रश्न हो । गत निर्वाचनमा गोरखाको २ नम्बर क्षेत्रमा प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रचण्ड र प्रदेशसभामा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे तथा नेसपाका फणीन्द्र देवकोटाले केन्द्रीयस्तरमै तालमेल गरेर चुनाव जितेका हुन् । प्रचण्डले वीचैमा प्रधानमन्त्री पदको लोभमा गठबन्धनलाई तोडेर जनमतलाई विश्वासघात र अपमान गरे तर फणीन्द्रले इमान्दारीपूर्वक आफ्नो पार्टीको नीति अनुरूप जनमतको कदर गर्दै चुनावपूर्वको गठबन्धनका सुरेन्द्रलाई मुख्यमन्त्रीमा समर्थन गरे । आखिर कसले राजनीतिक इमान्दारीता र नैतिकता कायम गर्यो ? इमान्दार र नैतिकवानलाई उल्टै दण्ड ? यो ‘चोरलाई चौतारो, साधुलाई सुली’ नभए के हो ? यसवारे गोरखाली मतदाताले फैसला गर्न पाउने कि नपाउने ? बरू अब right to recall को व्यवस्था गरेर उल्टै प्रचण्डलाई फिर्ता बोलाउनुपर्ने हैन र ? यसवारे सार्वजनिक विमर्श गर्ने कि ? नत्र कथित magical number को आडमा प्रचण्डले गरिरहने अनन्त ‘उथलपुथल’ को मारमा देश र जनताले कहिलेसम्म सास्ती भोग्नुपर्ने होला ?

गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो ।

विजेता स्याङ्जाले नगद एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कास्कीले ५० हजार ट्रफी र मेडल पुरस्कार प्राप्त गर्यो ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङजाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो । उसका लागि कुसुम गोदारले ३१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन् ।

सिमाना केसीले ३६ बलमा दुई चौकाका साथ २४ रनको योगदान दिइन् । यसैगरी ज्योत्सना मरासिनीले १४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन छुन सकेनन् ।

कास्कीका लागि सुशीला दिम्दुङ र पूर्णिमा गुरुङले समान दुई/दुई विकेट लिए । रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान एक÷एक विकेट लिए ।

उपाधिका लागि एक सय छ रनको लक्ष्य पछ्याउने क्रममा कास्की २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनमा सीमित भयो । कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन भने सकेनन् । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए ।

स्याङ्जाका लागि बलिङतर्फ आकृति तिवारीले चार ओभरमा एक मेडन राख्दै १२ रन दिएर दुई विकेट लिइन् । ‘ओमन अफ दी म्याच’ घोषित सिमाना केसीले तीन ओभर बलिङमा पाँच रन दिएर दुई विकेट लिन सफल हुँदा रञ्जना साउदले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिइन् । यसैगरी कुशुम गोदारले एक विकेट लिन सफल भइन् ।

प्रतियोगितामा स्याङ्जाकी कुसुम गोदार ‘प्लेयर अफ दि सिरिज’ र ‘बेष्ट व्याटर’ बन्न सफल भइन् । कास्कीका चन्द्रमाया बराल उत्कृष्ट बलर बन्न सफल भइन् । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा यही असार ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले लगायतले पुरस्कार वितरण गरेका थिए ।

अनसनरत रुवि खानसँग सरकारको पाँचबुँदे सहमति

काठमाडौँ । गृह मन्त्रालयद्वारा गठित सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच  पाँचबुँदे सहमति भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम सोमबार राति गृह मन्त्रालयमा भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो ।

बाँके जिल्लामा यसअघि घटित निर्मला कुर्मी र सुमदरानी थारुको मृत्यु सम्बन्धमा विभिन्न माग राखी खानको नेतृत्वमा अनसन हुँदै आएको थियो । सहमतिसँगै आन्दोलन आजैदेखि अन्त्य भएको जनाइएको छ ।

सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धानलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनसमेतको अध्ययन÷विश्लेषण गरी कानुनबमोजिम प्रस्तुत विषयको शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ ।

यस्तै सुमदरानी थारुको घटना सम्बन्धमा सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन भइरहेको काम कारबाहीमा शीघ्रता ल्याउन र प्रस्तुत विषयमा पीडितलाई कानुनबमोजिम दिन मिल्ने प्रगति बहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने पनि सहमति भएको छ ।

यस्तै बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने, यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचित एवं प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने सहमतिपत्रमा उल्लेख छ ।

साथै जारी अनसनरत आजैदेखि अन्त्य गर्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेले जुस खुवाएर खानले अनसनसमेत तोडेकी छन् ।

यस्तो छ पाँच महानगरपालिकाको बजेट

काठमाडौँ महानगरले ल्यायो  २५ अर्ब ७० करोडको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि  २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुनिता डङ्गोलले सोमबार भएको १५औँ नगरसभाको बैठकमा आगामी आवका लागि वार्षिक बजेट पेस गरिन् ।

महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै  १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ६१ दशमलब २० प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि रु तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि रु १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।

महानगर गौरव र स्वर्णिम योजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट गरिएको छ । उपप्रमुख डङ्गोलले विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एक गरी ११ वटा गौरवको आयोजनाका लागि  तीन अर्ब ८० कारेड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

त्यस्तैगरी कपडा बैङ्क, पोखरी मर्मत तथा सम्भार, फोहरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजना प्रस्ताव गरिएको छ । त्यसका लागि रु दुई अर्बको बजेट प्रस्ताव गरिएको छ ।

ललितपुर महानगरको बजेट  सात अर्ब ४६ करोड

पाटन (ललितपुर) ।  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि  सात अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट नगरसभामा पेस गरेको छ ।

महानगरको पाँचौँ नगरसभाको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गत असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गरेकी हुन् ।

“स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट  एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट  २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक स्रोतबाट  तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ”,  प्रस्तुत वार्षिक बजेटमा उल्लेख गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख शाक्यले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवनरक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता राखिएको बताइन् ।

त्यस्तै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, पर्यटन क्षेत्रको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, रोजगार प्रवद्र्धन र गरिबी न्यूनीकरणलगायतलाई समेत प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बजेट विनियोजन गरेको थियो ।

पोखरा महानगरपालिकाले ल्यायो  सात अर्ब ५१ करोडको बजेट

गण्डकी । पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि  सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ ।

महानगरको सोमबार बसेको १५औँ नगरसभामा उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट प्रस्तुुत गर्दै सङ्घीय सरकार अनुदानबाट रु चार अर्ब २० करोड २२ लाख एक हजार, प्रदेश सरकार अनुदान वापत रु नौ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट एक अर्ब ५५ करोड ५१ लाख ४० हजार बेहोरिने जानकारी दिइन् ।

त्यस्तै सङ्घीय राजस्व बाँडफाँटबाट रु ३८ करोड ३३ लाख ७५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट रु नौ करोड ७२ लाख २० हजार बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ । स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट रु ५४ लाख २४ हजार प्राप्त हुने अनुुमान गरिएको छ । नगरविकास कोष ऋण रु चार करोड ४८ लाख ८० हजार रहने उल्लेख छ ।

बजेटअन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा–प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु एक अर्ब ६५ करोड, स्वास्थ्यमा रु ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि रु ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासका लागि रु दुई करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृङ्खला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यूनकार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै सरलीकृत र प्रविधिमैत्री सेवाप्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवप्रर्वतन प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपप्रमुख गुरुङले बताइन् ।

पूर्वाधारतर्फ मुस्ताङचोक–सहीदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि रु तीन करोड, फेवा फेरा पदमार्ग निर्माणमा रु ५० लाख र ड्यामसाइट पञ्चासे पर्यटकीय मार्ग विकासका लागि  ९० लाख छुट्याइएको छ ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि रु २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनका आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवाबीच निर्माणको काम सुरुआत गर्न रु दुई करोड, सिद्वार्थचोक–विन्ध्यवासिनी सडकखण्डमा पर्ने सम्पदा बस्तीको संरक्षण, विकास तथा प्रवद्र्धनका लागि रु एक करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।

पूर्वाधार विकासमा बिपीमार्ग सडक स्तरोन्नतिका लागि रु आठ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि रु एक अर्ब ६५ करोड विनियोजन गरिएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रु ८४ लाख र विद्यार्थीको दिवा खाजाका लागि नेपाल सरकारले प्रदान गरेको प्रति विद्यार्थी प्रतिदिन रु १५ मा महानगरपालिकाबाट रु १० थप गरी प्रतिदिन रु २५ पुर्याउनका लागि रु चार करोड ३० लाख  विनियोजन गरिएको छ ।

महानगरबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु एक करोड ६५ लाख छुट्याइएको छ । बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि तलबभत्ता अनुदानतर्फ रु चार करोड ७० लाख विनियोजन गरिएको छ ।

शिक्षातर्फ महिला शिक्षकहरुको प्रसूति बिदामा दैनिक शिक्षण सिकाइ प्रभावित हुन नदिन सट्टा शिक्षक व्यवस्थापन गर्न रु २५ लाख, स्थानीय कला, संस्कृति, साहित्य, सङ्गीत तथा प्राज्ञिक क्षेत्रमा क्रियाशील महानगरस्तरको पोखरा प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताइन् ।

सामाजिक विकासतर्फ उपप्रमुखसँग महिला कार्यक्रममार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप रु एक करोड विनियोजन गरिएको छ भने सहरी गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि रु १५ करोड विनियोजन गरिएको छ ।

बजेटमा एकीकृत पञ्चासे क्षेत्र विकास योजना, नौ वटा ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्ग्यानिक ट्रेल, विन्ध्यवासिनी सम्पदा क्षेत्र विकास परियोजनालगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताइन् ।

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार बजेट पेस गरेको छ ।

महानगरपालिकाको नगरसभा तथा १५औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले  बजेट पेस गरेका हुन् । आगामी आवको बजेट चालु आवकोभन्दा २४ करोड छ लाख आठ हजार बढी हो ।

कूल बजेटमा रु एक अर्ब ८० करोड आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु दुई अर्ब चार करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँटबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता÷श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु एक अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने उल्लेख छ ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्नको लागि रु एक अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरिएको उनले बताए । वडालाई न्यूनतम रु दुई करोड ७४ लाख २८ हजार  र अधिकतम रु दुई करोड ९० लाख दुई हजार गरी जम्मा वडास्तरीय आयोजनामा रु ८२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

महानगरपालिकाका ठूला तथा रणनीतिक महत्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एवं सङ्घीय र बागमती प्रदेश सकारबाट प्रस्ताव भएका समपूरक र विशेष अनुदानअन्तर्गत योजनाको कार्यान्वयनका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरभित्र सार्वजनिक शौचालय निर्माण, हरियालीसहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, एक वडा एक खुला व्यायमशालालगायतका सहरी सौन्दर्य र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि रु १४ करोड विनियोजन गरिएको छ ।

दियालो बङ्गलामा पार्कसहित पर्यटकीय पूर्वाधार निर्माण गरी सङ्ग्रहालयका रूपमा सञ्चालनका लागि रु एक करोड बजेट विनियोजन गरिएको उपप्रमुख अधिकारीले बताए ।

वैदेशिक रोजगारबाट फर्केकालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशुबीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालनलगायत कृषिसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६ करोड विनियोजन गरिएको छ ।

विराटनगर महानगरले ल्यायो साढे तीन अर्बको बजेट

मोरङ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि  तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित नगरसभाको १४औँ अधिवेशनमा नगरउपप्रमुख शिल्पानिराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा आयतर्फ वित्तीय समानीकरण अनुदानमा सङ्घीय सरकारबाट रु ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट रु दुई करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ । साथै राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट रु १६ करोड ११ लाख ७६ हजार एक सय २६, अन्तःशुल्कबाट रु पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ आय हुने अनुमान गरिएको छ ।

यस्तै वन रोयल्टीतर्फ रु पाँच लाख ८२ हजार पाँच सय ९५, घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट रु ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट रु तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन करबापत रु एक करोड, आन्तरिक आयतर्फ रु एक अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात रु २५ करोड अनुमान गरिएको छ ।

यसैगरी सङ्घीय सरकार सशर्त अनुदान रु ८० करोड ७७ लाख, विशेष अनुदान रु सात करोड ५० लाख समपूरक अनुदान रु एक करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदानतर्फ रु तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु दुई करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय हुनेगरी अनुमान छ ।

व्ययतर्फ सञ्चालन तथा प्रशासनिक खर्च रु ५९ करोड, ऋणको साँवाब्याज भुक्तानी रु पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी रु तीन करोड ३४ लाख ८३ हजार  समपूरक कार्यक्रम रु छ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ ।

वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ रु पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि रु चार करोड ५० लाख, मर्मतसम्भारका लागि रु १० करोड तथा भारी सवारीसाधन खरिदका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ रु ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ रु ९९ लाख ५७ हजार, सङ्घसंस्थातर्फ रु दुई करोड ७० लाख, लक्षित वर्ग कार्यक्रम (आदिवासी जनजाति, दलित, मधेसी तथा यौनिक तथा अल्पसङ्ख्यक)तर्फ रु ६२ लाख ८६ हजार विनियोजन गरिएको ।

साथै बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ रु ९५ लाख ८४ हजार, खेलकुद विकासका लागि रु एक करोड आठ लाख, रोजगार प्रवद्र्धनका लागि रु ७० लाख ४६ हजार, ज्येष्ठ नागरिकतर्फ रु नौ लाख ९५ हजार छुट्याइएको छ ।

यस्तै अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख आठ हजार, आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ रु एक करोड तीन लाख, पशुपक्षी तथा भेटनरीतर्फ रु एक करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ रु २४ लाख, उद्यमशील विकासतर्फ रु ५० लाख, उपभोक्ताहित संरक्षणका लागि रु आठ लाख ५० हजार, पर्यटन प्रवद्र्धनका लागि रु एक करोड ९४ लाख विनियोजन गरिएको छ ।

यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत विपद् व्यवस्थापनतर्फ रु एक करोड २० लाख वन वातावरण तथा जैविक विविधतातर्फ रु ३५ लाख ५० हजार तथा सरसफाइका लागि रु एक करोड ३० लाख विनियोजन गरिएको छ ।

यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रअन्तर्गत राजस्व सुदृढीकरणतर्फ रु ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि रु ४० लाख, सहरी विकासतर्फ रु ९० लाख, सूचना तथा सञ्चारका लागि रु ६० लाख सूचना तथा प्रविधिका लागि रु ८० लाख विनियोजन भएको छ ।

सुशासन तथा सेवा प्रवाहका लागि रु एक करोड आठ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ रु ७२ लाख ५० हजार, फोहरपानी प्रशोधन केन्द्रतर्फ रु दुई करोड ९५ लाख भू–उपयोग आवास तथा बस्तीविकास कार्यक्रमतर्फ रु ८५ लाख ४९ हजार विनियोजन गरिएको छ । साथै विद्युतीकरणका लागि रु दुई करोड नौ लाख र नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि रु ३५ करोड गरी कूल रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार विनियोजन गरिएको छ ।

महानगरले सन् २०३० सम्ममा बालविवाहमुक्त महानगरपालिका घोषणा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालाई सबै वडामा सेवा विस्तार, नगरका व्यस्त सडकमा ट्राफिक लाइट जडान, पत्रकारहरुका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

बाल यौन दुराचार मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सर्लाही । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको छ । बम्जनमाथि सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, बलात्कार गर्ने र व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो ।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । बम्जन गत पुस २४ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

 

प्रहरी गिरिबन्धुको उजुरीको प्रतिक्षामा छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिबिन्धु टी स्टेटको अनुसन्धान हुने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) उजुरीको प्रतिक्षामा रहेको बताएका हुन् ।

उनले यसबारे सदनमा कुरा उठ्नुअघि नै आफूले अनुसन्धानका लागि सीआईबीलाई तयार रहन निर्देशन दिइसकेको बताएका छन् । 

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेको जानकारी दिइन् ।

महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन्। त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन्। जसमा ढलरहित नदीलगायत रहेको उपप्रमुख डंगोलले बताइन्।

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेका छन् ।

उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनीयाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए।

उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन आज नेपाल आएका हुन् ।

संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति

काठमाडौं । सङ्घीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ । सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वको टोली संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा सात बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार कर्मचारी युनियनका प्रतिनिधिहरूको मागअनुसार तीन किसिमको भत्ता बढाउन सरकार सहमत भएको छ । यससँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ । हाललाई राजपत्राङ्कित कर्मचारीको लागि मासिक ३,५०० र राजपत्र अनङ्कित कर्मचारीका लागि मासिक ३,००० साविकको आवास भत्तामा वृद्धि गर्न दुई पक्ष सहमत भएका छन् ।

विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार  बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा यो सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न संद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । बैठकल समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा काठमाडौंका उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले साझा प्रकाशन (सहकारी संस्था लि.) सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरको बजेट एक अर्ब ५० करोड ३८ लाख 

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । 

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब  ३५ करोड कम हो । 

प्रस्तावित बजेटमा आम्दानीतर्फ सङ्घका तर्फबाट ससर्त अनुदान रु ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान रु एक करोड र विशेष अनुदान रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान रु दुई करोड चार लाख, समपूरक अनुदान रु एक करोड ४० लाख रहेको छ । वित्तीय समानीकरण सङ्घको रु २७ करोड ९५ लाख, प्रदेशको रु दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन (मालपोत), आन्तरिक आय, आन्तरिक आय (मौज्दात)लाई उपमहानगरपालिकाले कूल आम्दानीका रुपमा उल्लेख गरेको छ । 

व्ययतर्फ चालु खर्च रु ३५ करोड ५२ लाख, सङ्घ समपुरक खर्च रु एक करोड, प्रदेश समपूरक खर्च रु एक करोड ४० लाख, अन्य समपूरक रु ७५ लाख, २३ वडा कार्यालयका लागि रु २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिए । त्यसबाहेक वित्तीय व्यवस्था (सावा), वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ । 

उपमहानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न, विद्यालय अनुगमन, खेलकुद कार्यक्रममा जोड दिँदै करको दरभन्दा दायरालाई फराकिलो पारी आन्तरिक आय वृद्धि गर्ने नीतिअनुरुप राजस्वको दायरामा नआएका क्षेत्रलाई ल्याउने गरी बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताए । उनले समग्र नगर विकासका लागि आर्थिक, पूर्वाधार, सामाजिक, वन तथा वातावरण, विपद् व्यस्थापन, संस्थागत सुशासन लगायतका विषयलाई बजेटले समेटेको बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाको सोमबार बसेको १५औँ नगरसभा बैठकमा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई धार्मिक सहिष्णुता र मानवमैत्री सहरका रुपमा रुपान्तरण गर्न जोड दिइएको बताए । 

उनले विभिन्न ताल, तलैया तथा पार्कको पहिचान, स्तरोन्नति तथा निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्ने उल्लेख गरे । उपमहानगर–२० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्न  नीति कार्यक्रमले जोड दिएको छ । 

नीति तथा कार्यक्रममा उपमहानगरलाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपाङ्गता भएकाको स्वास्थ्य बीमा, विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयको विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपाङ्गमैत्री, लैङ्गिकमत्री वातावरण निर्माणमा जोड दिनेलगायत कार्यक्रम समेटिएका छन् ।

यस्तै पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट वेष्टर्न नेपाल २०८१’ सञ्चालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेसिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषकको आम्दानीमा वृद्धि गर्दै लैजाने, प्राङ्गारिक खेतीका क्षेत्र विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकासँग समन्वय, सहकार्य गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नस्ल सुधार गर्न गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजीमा नजाने वातावरण बनाउँछौंः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भने, “दुई  दशकभन्दा धेरै समयदेखि अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भएको छैन । तत्कालीन समयको जनशक्तिले हालको अवस्थामा सेवा प्रदान गर्न अत्यन्त कठिन भइरहेको छ । अस्पतालको ओएनएम सर्भेका लागि सम्बन्धित मन्त्रालयको सहमतिको माग गर्दछु ।”

मन्त्री यादवले सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिँदै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न आठ किसिमका कडा रोगलाई  एक लाख बराबरको सहुलियत प्रदान गरिँदै आएकामा उक्त सहुलियतको समय सापेक्ष परिमार्जन गरी क्यान्सर, हेड तथा स्पाईनल ईन्जुरीलगायत रोगको उपचारमा रकम वृद्धि गर्न आवश्यकता रहेको बताए ।

उनले कलेजो प्रत्यारोपणका लागि सहुलियत दिने विषयमा पनि छलफल भइरहेको उल्लेख गरे । मन्त्री यादवले मन्त्रालय सम्हालेदेखि नै केन्द्रिय अस्पतालमा शल्यक्रिया सेवा लिनेले लामो समय कुर्नुपर्ने समस्यालाई प्राथमिकतामा राखेको भन्दै यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भएर अध्ययन प्रारम्भ भइसकेको जानकारी दिए । 

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजाने वातावरण बनाउन केही सङ्घीय अस्पतालमा विस्तारित सेवा लागू भइसकेको भन्दै उनले बाँकीमा अस्पतालमा लागू गर्ने क्रममा रहेको उल्लेख गरे ।

उनले उपत्यकाका ठूला अस्पतालमा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागू गर्ने, मोडुलर शल्यक्रिया कक्ष थप गर्नेलगायत कार्यक्रम आगामी आर्थिक वर्षको कार्यक्रममा रहेका जानकारी गराए । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड अनुरुप स्वास्थ्य मन्त्रालयको सचिव अध्यक्ष रहने गरी शुल्क निर्धारण समिति रहेको भन्दै सो समितिबाट शुल्कसम्बन्धी आवधिक रुपमा समीक्षा भइरहेको मन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने, “स्वास्थ्य संस्था सञ्चालन नवीकरण तथा स्तरोन्नतिका बेला अस्पतालबाट प्रदान गरिने सेवा शुल्कको दरलाई सान्दर्भिक बनाउन निर्देशन दिएको छु ।” 

प्रतिष्ठानमा र प्रदेशस्थित सङ्घीय अस्पतालमा जलेका बिरामीको उपचार गर्ने व्यवस्था आगामी आवमा सुरु गरिने बताउँदै वीर अस्पताल र कीर्तिपुरस्थित बर्न अस्पतालमा समन्वय गरी थप उपचारको व्यवस्था मिलाइएको मन्त्री यादवले स्पष्ट पारे । पाँच/१०/१५ शय्या अस्पतालका सम्बन्धमा निर्माणाधीन अवस्थाका लागि प्रयाप्त बजेट विनियोजन गरिएको, निर्माण सम्पन्नका भएकाको सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयबाट भएको प्रस्तावमा अर्थ मन्त्रालय एवम् अन्य सम्बन्धित मन्त्रालयबाट सहमतिको माग गरिएको उहाँले संसद्मा जानकारी गराए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादवले निजी अस्पतालबाट गरिब एवं निम्न आयस्रोत भएका बिरामीले सेवा पाउन भन्ने उद्देश्यले आमा सुरक्षा कार्यक्रम, आठ कडा रोगको उपचार, स्वास्थ्य बीमालगायतको व्यवस्था गरिएको बताए । 

सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतका कार्यक्रममा मन्त्रालयसँग सम्झौता गरी निःशुल्क प्रदान गर्नुपर्नेमा कतिपय निजी अस्पतालले बिरामीसँग शुल्क लिएको सेवाग्राहीको गुनासो आउने गरेकाले यसका बारे अध्ययन तथा अनुगमन गरिने उनको भनाइ छ । उनले हाल मुख्य चुनौतीको रुपमा पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन रहेको जानकारी दिए ।

“मन्त्रालयको वार्षिक बजेट विगतका वर्षदेखि नै चार देखि पाँच प्रतिशत मात्र हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिम कूल बजेटको १० प्रतिशत हुनुपर्नेमा भउको छैन”, मन्त्री यादवले भने, “अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित सम्बद्ध मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विशेष प्राथमिकतामा राखी आवश्यक सहयोग र समन्वय गर्नुपर्ने देखिन्छ ।”

एमसीसी कार्यान्वयन सुस्त गतिमा

हेमन्त जोशी, काठमाडौँ । मिलेनियम लेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो ।

एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले  १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आवका लागि छुट्याइएको उक्त बजेटमध्ये खर्च हुन नसकेको  सात अर्ब ६० करोड ७० लाख बजेट सरेन्डर गरिएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले जानकारी दिए ।

विद्युत् प्रसारणलाइन निर्माणका लागि चाहिने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त देखिएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको उनले बताए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्थामा समर्पण गर्नुपर्ने प्रावधान रहेको छ ।

एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गएको थियो । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा आयोजनाको प्रारम्भिक चरणका कामसमेत टुङ्गिन सकेका छैनन् ।

यसअघि परियोजनाको पूर्वतयारीका काम नसकीकनै इआइएफ घोषणा भएको भन्दै आलोचना भएको थियो । एमसिए नेपालले जग्गा मुआब्जा वितरण तथा अधिग्रहणका काम र ठेक्का प्रक्रियासँगसँगै अघि बढाउन सकिने भन्दै इआइएफ घोषणा गरेको जनाएको थियो ।

परियोजना लागू गर्नका लागि पूरा हुनुपर्ने भनी एमसिसी कम्प्याक्टमा तोकिएका सर्तहरुमध्ये जग्गाको अधिग्रहण पनि एउटा मुख्य सर्त थियो । उक्त सर्त अझै पूरा हुन सकेको छैन ।

प्रसारणलाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुनसकेका छैनन् । उल्लेखित सर्तका विषय पूरा हुने आधार देखिएको भन्दै एमसिए–नेपालले इआइएफ तोकेको थियो ।

एमसिए–नेपालअन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारणलाइन र सडक निर्माण दुवै तर्फको काम सुस्त छ । जग्गा अधिग्रहण र प्राप्तिको काम अझै टुङ्गिन सकेको छैन । प्रसारणलाइन निर्माणका तीन चरणमध्ये एउटामा जग्गा अधिग्रहणबिना नै बोलपत्र मूल्याङ्कन प्रक्रिया अगाडि बढाउन लागिएको छभने बाँकी दुई चरणमा बोलपत्र आह्वान नै हुन सकेको छैन ।

एमसिए नेपालले विद्युत् प्रसारणलाइन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन र काठमाडौँको लप्सीफेदीबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किलोमिटर चार सय केभी प्रसारण लाइन निर्माण गर्ने तय भएको छ । उक्त प्रसारण लाइनअन्तर्गत न्यू बुटवल–नेपाल÷भारत सीमा क्षेत्रसम्म १८ किमी प्रसारण लाइन खण्डको ठेक्का प्रक्रिया अघि बढेर मूल्याङ्कनको चरणमा पुगिसकेको छ तर त्यो क्षेत्रको जग्गा मुआब्जा बाँड्ने र अधिग्रहण गर्ने काम निकै सुस्त छ । 

सन् २०२४ मार्च १५ मा पहिलो सूचना प्रकाशित भएर अघि बढेको खरिद प्रक्रियाको प्रस्ताव पेस गर्ने मिति सन् २०२४ मे २७ मा सकिसकेको छ । उक्त प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको र आगामी साउनभित्रै निर्माण सम्झौता गर्ने तयारी भइरहेको एमसिए नेपालको भनाइ छ ।

आगामी साउनभित्र जग्गा मुआब्जाको काम सकिसक्ने अवस्था नदेखिएको नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी एवम् आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारण समितिका संयोजक स्किम श्रेष्ठले बताए ।

“मुआब्जा निर्धारणका लागि प्राविधिक अध्ययन र मूल्याङ्कनको काम भइरहेको छ । यसमा धेरैवटा विषय जोडिएकाले कहिलेसम्ममा काम सकिन्छ भनेर यकिन भन्न सकिँदैन । त्यस्तो निश्चित समयसीमा पनि तोकिएको छैन । हामी यथाशीघ्र काम सक्ने गरी अगाडि बढेका छौँ”, उनले भने ।

आयोजनाअन्तर्गतको बाँकी दुई सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणमा रद्द भएको ठेक्का प्रक्रिया अब कहिले सुरु हुन्छ भन्ने यकिन छैन । एमसिए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो ।

चरण–१ को लप्सीफेदी–रातामाटे–न्यू हेटौंडा, दोस्रो चरणको रातामाटे–न्यू दमौली, र तेस्रो चरणको न्यू बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माण गर्न आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख थियो । जसमध्ये चरण–३ को मात्रै पुनः बोलपत्र आह्वान भएको छ ।

सुरुवाती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि ती ठेक्का प्रक्रिया रद्द भएको एमसिए नेपालले तर्क गरेको थियो । पुनः खरिद प्रक्रिया अघि बढाउन आयोजनाको ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानमा संशोधन गर्न लागिएको एमसिए नेपालका प्रवक्ता माथेमाले बताए ।

उनका अनुसार बोलपत्रसम्बन्धी कागजातहरू पुनः तयार गर्नु तथा त्यसलाई पुनः प्रकाशन गर्नु प्राविधिक प्रक्रिया भएकाले समय लागेको हो ।

अघिल्लो पटक प्राप्त बोलपत्रहरूको मूल्य बढी हुनाका प्रमुख कारण पहिचान गर्न र त्यसलाई सम्बोधन गर्न ‘डिजाइन प्यारामिटर’ र निर्माणसम्बन्धी प्रावधानलाई समीक्षा गर्ने जिम्मेवारी एमसिए नेपालले आफ्नो सुपरीवेक्षण इञ्जिनियरिङ फर्मलाई दिएको थियो । सोही कारणले हालसम्म बोलपत्र पुनः आह्वान गर्ने र करार गर्ने प्रक्रिया सुरु हुन सकेको छैन ।

यसैबीचमा, एमसिए नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न यही असार १ गते भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त चार सय केभी ग्यास इन्सुलेटेड स्विचगियर (जिआइएस) सबस्टेसनको ३९ महिनाभित्र निर्माण गरिनेछ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटाँैडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

एमसिए–नेपालअन्तर्गत निर्माण गर्ने भनिएको विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि एक हजार चार सय ७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ । जसमध्ये रातमाटेमा २० दशमलव २७ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहणका लागि  एक अर्ब ४६ करोड ८४ लाख ६८ हजार चार सय ९७ बराबरको मुआब्जा वितरण गरिएको छ । न्यून दमौली सबस्टेसन र न्यू बुटवल सबस्टेसनका लागि नेपाल विद्युत् प्राधिकरणले जग्गा उपलब्ध गराउने एमसिए नेपालले जनाएको छ ।

प्रसारण लाइन टावरको जग निर्माण गर्न १० जिल्लामा एक सय चार हेक्टर जग्गा आवश्यक पर्नेछ । जग्गा प्राप्तिको काम अहिले प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ ।

काठमाडौँबाहेक अन्य नौ जिल्लामा प्रसारण लाइन टावरको जग निर्माण गर्न आवश्यक जग्गा प्राप्ति गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल भएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले बताए । नौ जिल्लामा प्राप्ति गरिने जग्गा कित्ताको तीनपुस्ते विवरणसहितको सूचना प्रकाशन भइसकेको छ । 

अहिले मुल्याङ्कन सिफारिस उप–समितिले स्थलगत रूपमा जग्गाका कित्ताहरूको मूल्याङ्कनसम्बन्धी कार्य र मुआब्जा निर्धारणका लागि प्राविधिक प्रतिवेदन तयारीसम्बन्धी काम गरिरहेका छन् । त्यस्तै, भोगाधिकारका लागि आवश्यक जग्गासम्बन्धी विवरण सङ्कलनको काम जारी रहेको जनाइएको छ ।

एमसिए नेपालले चालु आवका लागि पाएको कूल १० अर्ब ८४ करोड १७ लाख बजेटमध्ये विद्युत् प्रसारण आयोजनातर्फ  आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ  एक अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्याङ्कनतर्फ  २१ लाख ९३ हजार र कार्यक्रम प्रशासनतर्फ  ५५ करोड ५४ लाख ८८ हजार विनियोजन भएको थियो ।
       
एमसिए नेपालले आगामी आर्थिक वर्षका लागि  १३ अर्ब ३६ करोड बराबर बजेट पाएको छ । जसमध्ये चालुतर्फ  एक अर्ब २३ करोड ८५ लाख र पुँजीगततर्फ १२ अर्ब १२ करोड १५ लाख बराबर विनियोजन भएको छ । आगामी आवका लागि एमसिसीको स्रोतबाट  नौ अर्ब ९० करोड ८२ लाख र नेपाल सरकारको स्रोतबाट तीन अर्ब ४५ करोड १८ लाख बराबर बजेट विनियोजन भएको एमसिए नेपालले जनाएको छ ।

नेप्से सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । सोमबार तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक एक दशमलव ५६, वित्त दुई दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त एक दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव एक प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  २४ करोड ३२ लाख १८ हजार चार सय ९५ बराबरको तीन लाख ६४ हजार छ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।

फणीन्द्र देवकोटालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई कारबाही गर्ने नेकपा माओवादी केन्द्र र सभामुख कृष्णप्रसाद धितालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा असार ६ गते रिट दायर गरेका थिए ।

रिटमा उनले आफू नेपाल समाजवादी पार्टीकै सांसद रहेको दाबी गर्दै माओवादीले कारबाही गर्नै नसक्ने उल्लेख गरेका थिए । गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए ।

प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रतिनिधि माओवादी केन्द्रको चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।

माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । पाण्डेलाई विश्वास दिएपछि उनी गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका छन् ।