`

विकिलीक्सका संस्थापक जुलिअन असान्ज जेलमुक्त

Nepal One HD ११ असार २०८१ १०:०३
विश्व

बीबीसी । विकिलीक्सले लामो कानुनी उतारतढावपछि आफ्ना संस्थापक जुलिअन असान्ज अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौता अनुरूप बेलायतको जेलबाट छुटेको जनाएको छ ।

यद्यपि उनले अब अमेरिकी अदालतमा उपस्थित भएर आफूले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध भने स्वीकार्नु पर्ने बताइएको छ । असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो ।

अमेरिकाले वर्षौँदेखि विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचनाहरू उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रहरूले मानिसहरूको ज्यान खतरामा पारेको दाबी गर्दै आएको थियो ।

असान्जले पछिल्ला पाँच वर्ष ब्रिटेनको जेलमा बिताए। उनी त्यहाँ अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका थिए । बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नु पर्ने छैन।

अमेरिकाले बेलायतमा उनले बिताएको थुनाको अवधिलाई गणना गरेर त्यस्तो छुट दिने बताइएको छ । अमेरिकी न्याय मन्त्रालयको पत्रअनुसार असान्ज अस्ट्रेलिया फर्किनेछन् ।

विकिलीक्सले सामाजिक सञ्जाल एक्समा असान्जले सोमबार एक हजार ९ सय एक दिनपछि बेलमार्श जेलको सानो बन्दी कोठा छाडेको लेखेको छ । विकिलीक्सले साझा गरेको भिडिओमा जीन्स र नीलो शर्ट लगाएका असान्जलाई विमानमा उनी प्रस्थान गर्नुअघि गाडीमा लैजाँदै गरेको देखाइएको छ ।

उनकी श्रीमती स्टेला असान्जले एक्समा लेख्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएकी छिन् । उनले ती समर्थकहरूले ‘यसलाई साकार पार्न वर्षौँदेखि काम गरेको’ उल्लेख गरेकी छन् । अमेरिकासँग भएको सम्झौताअनुरूप उनलाई एउटा आरोपमा दोषी ठहर गरिनेछ। त्यसको अन्तिम निर्णय बुधवार नोर्दन मारियाना आइल्यान्डस्को एउटा अदालतमा हुने ठानिएको छ ।

अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित गोप्य अमेरिकी सैन्य दस्तावेजहरू र कूटनीतिक पत्रहरू सार्वजनिक गरेकोमा अमेरिकी अभियोजनकर्ताहरूले सुरुमा असान्जलाई जासुसीसम्बन्धी कानुनअन्तर्गत १८ वटा मुद्दा लगाउन चाहन्थे । असान्जले सन् २००६ मा विकिलीक्स स्थापना गरेका थिए । अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटको दाबी छ।


प्रतिक्रिया