`

प्रतिनिधिसभामा खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो

काठमाडौँ  । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । 

बैठकमा सांसद डा अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

उनले बजेट विनियोजन गर्दा आर्थिक अनुशासन पालना नभएको तथा शक्ति र पहुँचका आधारमा बजेट विनियोजन भएको गुनासो गरे । नेपालको ठूलो श्रमशक्ति विदेश गइरहेको अहिलेको अवस्थामा मुलुकभित्रै रोजगारी सिर्जना गर्नेगरी बजेट आउन नसकेको उनको टिप्पणी थियो । नेपालको आर्थिक कूटनीति कमजोर भएको विषय पनि सांसद सिंहले संसदमा उठाए ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भन्ने प्रस्ताव पेस गरे । सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा त्यसले समस्या निम्ताएको भन्दै सांसद सुवालले यो व्यवस्थालाई तत्काल बाध्यकारी बनाउन भन्दा पनि विस्तारै कार्यान्वयनमा लगिनुपर्ने बताए ।

सहरी क्षेत्रमा सरकारले नै विद्युतीय गाडी सञ्चालनमा ल्याउनुपर्ने विषयमा पनि उनले सांसदमा राखे । त्यस्तै, देशका विभिन्न स्थानमा सरकारी जग्गा मिचिएको विषयमा अध्ययन गरी त्यस्तो जग्गा सरकार मातहतमा ल्याउन पनि आग्रह गरे । 

सांसद राजेन्द्रप्रसाद लिङ्देनले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बजेट विनियोजन वस्तुनिष्ठ र मन्त्रीको निर्देशनमा जथाभावी बजेट हालिएको आरोप लगाए ।

त्यस्तै, बजेट निर्माणमा सरकारका मन्त्रीले मनोमानी गरेको र बजेट अनुशासन मिचेको उनको आरोप छ । “कुनै जिल्लामा एउटा पनि योजना नपर्ने तर कुनै जिल्लामा एउटै पालिका वा निर्वाचन क्षेत्रमा दर्जनौंँ योजना पर्ने बजेट निर्माणको यो कस्तो विधि र प्रक्रिया हो ?” संसदमा प्रश्न गर्दै लिङ्देनले भने । बजेट विनियोजनमाथि असन्तुष्टि जनाउँदै सांसद लिङ्देनले रोस्टममै भौतिक मन्त्रालयको बजेट विनियोजन पुस्तिका च्याते । राष्ट्रिय योजना आयोगको कामको प्रभावकारिता देखिन नसकेको पनि लिङ्देनको भनाइ छ ।

सांसद हृदयराम थानीले सभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गरे  ।

सांसद थानीले गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा विविध शीर्षकमा ठूलो रकम विनियोजन भएको भन्दै असन्तुष्टि जनाए । गृह मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए ।  

सांसद उदय शमशेर जबराले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । परराष्ट्र मन्त्रालयको चालु बजेट शीर्षकमा वैदेशिक भत्ता, भ्रमण खर्च, अनुगमन भत्तालगायत विषयमा अनावश्यक धेरै रकम विनियोजन भएको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ७७ करोड बराबर मात्रै बजेट पाएको उल्लेख गर्दै सांसद जबराले यो रकम मन्त्रालयका लागि अत्यन्त न्यून रकम रहेको बताए ।

विदेशस्थित नेपाली नियोगहरु र राजदूतावासको कार्य सञ्चालन कमजोर देखिएका भन्दै उनले नेपालको आर्थिक कूटनीति कमजोर हुँदै गएको बताए । वैदेशिक लगानीको प्रतिबद्धताको तुलनामा प्राप्ति निकै कम देखिएको भन्दै सांसद जबराले विदेशस्थित नियोगको परिचालन प्रभावकारी हुनेसके लगानी प्राप्ति बढ्ने दाबी गरे ।

सांसद रोशन कार्कीले परराष्ट्र मन्त्रालय शीर्षकको बजेटमा खर्च कटौतीको प्रस्ताव पेस गरेकी छन् । आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै परराष्ट्र मन्त्रालयले विभिन्न शीर्षकमा अनावश्यक विनियोजन गरेकोमा त्यसलाई कटौती गरी संसद् सचिवालयको सेवा सुविधामा प्रयोग गरिनुपर्ने उनको भनाइ छ । रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ती, रुस–युक्रेन युद्धमा मृत्युवरण भएका नेपालीको परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि गम्भीरताका साथ पहल गर्न पनि सांसद कार्कीले संसदमार्फत् सरकारलाई आग्रह गरिन् ।

सांसद प्रदीप पौडेलले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । “बजेटले कानुनी मापदण्ड उल्लङ्घन गर्ने प्रतिस्पर्धा गरेको छ र सीमित निर्वाचन क्षेत्र केन्द्रित बजेट आएको छ । बजेटले आर्थिक अनुशासन पालना भएको देखिँदैन”, पौडेलले भने, “अहिलेको राष्ट्रिय प्राथमिकता के हो र कुन क्षेत्रका लागि बजेट आवश्यक छ भन्ने कुरा पनि स्पष्ट छैन ।” निकै सानो रकमका योजना पनि सङ्घीय बजेटमा राखिएको र यसले सङ्घीयताको मर्मलाई समेट्न नसकेको उनको भनाइ छ । बैठक भत्ता, अनुगमन भत्ता आदि शीर्षकमा ठूलो रकम विनियोजन हुनु पनि आर्थिक अनुशासनको उल्लङ्घन रहेको सांसद पौडेलले बताए ।   

सांसद वुद्धिमान तामाङले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । सुरक्षा निकायमा कार्यरत कर्मचारीको तलब भत्ता निकै कम रहेको र मूल्यवृद्धिको अनुपातसँग मिल्नेगरी तलबभत्ता समायोजन गर्नुपर्ने माग  उनले राखे ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्या समाधानका लागि सरकारले धेरै महत्व नदिएको र कारागार सुधार तथा मर्मतसम्भारका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनको भनाइ छ । सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउने भनिरहे पनि पर्याप्त बजेट विनियोजन नगरेको सांसद तामाङले बताए ।

    सांसद चन्दा चौधरीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । एउटै प्रयोजनका लागि धेरैवटा शीर्षकमा बजेट विनियोजन भएको उल्लेख गर्दै सांसद चौधरीले त्यसलाई कटौती गरिनुपर्ने बताइन् ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनमा कुशलता नदेखिएको र शक्ति र पहुँचका आधारमा बजेट बाँडिएको चौधरीको भनाइ छ । “कर्णालीमा पुल बनाउनका लागि लाखमा बजेट तर मन्त्रीको जिल्लामा वडामा करोड बजेट परेको छ । के तपाईं आफ्नो क्षेत्रका लागि मात्रै मन्त्री भएको हो ?”, संसद्मा प्रश्न गर्दै सांसद चौधरीले भनिन् ।   

सांसद ज्ञानबहादुर शाहीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटले कर्णाली प्रदेशलाई उपेक्षामा पारेको र न्यून बजेट विनियोजन भएको  सांसद शाहीको भनाइ छ । बजेट निर्माणका क्रममा सरकारले सत्तापक्षकै सांसदसँग पनि छलफल नगरेको र आफुखुसी बजेट विनियोजन गरेको बताए । 

“बजेटमा विभेद भएको छ । हामी भिख मागेको होइन, अधिकार मागेको हो । यस्तो विभेद अन्त्य गर्न अब सडक र संसदमा आन्दोलन हुन्छ”, सांसद शाहीले भने । कर्णाली प्रदेशमा अहिले पनि शिक्षा, स््वास्थ्य, खानेपानी, सडक पूर्वाधारलगायत अत्यावश्यक सुविधा पुग्न नसकेको र बजेटले पनि कर्णालीलाई पर्याप्त बजेट विनियोजन नगरेको आरोप उनको छ ।

सांसद ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । राष्ट्रिय योजना आयोग सक्रिय हुन नसकेका कारण आयोगको खर्च कटौतीको प्रस्ताव संसद्मा प्रस्तुत गरेको उनको भनाइ छ ।

आयोगको काम र प्रकृतिमा दोहोरोपन देखिएको, आयोगको पदाधिकारी नियुक्तिमा राजनीति हाबी हुने गरेको, नेपालको आर्थिक नीति तय गर्ने र तर्जुमा गर्ने प्रक्रियामा आयोगको भूमिका कमजोर देखिएकोलगायत समस्या देखिएकाले उक्त संरचनाको आवश्यकता र औचित्यमाथि नै सांसद प्रधानले प्रश्न उठाए ।

     सांसद बिना लामाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयबाट दैनिक प्रशासनिक कार्य सम्पादन नहुने तर ती निकायहरुमा चालु शीर्षकमै ठूलो रकम खर्च भइरहेकाले त्यसलाई घटाउन प्रस्ताव गरिएको बताइन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अघि बढेको दूरगामी महत्व र राष्ट्रिय गौरवका आयोजनाको बजेट विनियोजन र आयोजनाको कार्यान्वयनको स्थिति निराशाजनक रहेको सांसद लामाको भनाइ छ ।  

 प्रतिशधसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल जारी छ । आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल भएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १४६ मा खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था छ । नियमावलीमा ‘कुनै शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’, ‘कुनै शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस्’, वा ‘कुनै शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने प्रस्ताव मात्रै पेस गर्नसक्ने प्रावधान छ ।

‘शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहीत नीतिमाथि असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिन्छ भने ‘शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिन्छ । त्यस्तै ‘शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाईयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई नेपाल सरकारको जवाफदेहिताभित्रको विषयमा प्रस्तावक सदस्यलाई चित्त नबुझेको विषय प्रकट गर्न प्रस्तुत गरिएको साङ्केतिक कटौतीका प्रस्ताव मानिन्छ । 

काठमाडौंमा एकदिने चिनियाँ शैक्षिक मेला आयोजना

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा पनि सहयोग पुग्ने बताएका छन् । 


काठमाडौँस्थित चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलले राजधानीमा मंगलबार आयोजना गरेको चिनियाँ शैक्षिक मेलाको उद्घाटन गर्दै उनले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताए ।


नेपाली विद्यार्थीले चीनमा छात्रवृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरेर फर्केका धेरै उदाहरण रहेको उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा सुनाए । मेलापछि भविष्यमा अझ धेरै विद्यार्थी लाभान्वित हुने उनको विश्वास थियो ।
   
शैक्षिक मेलाले चीनको उच्च शिक्षाका बारेमा जानकारी दिन कोशेढुङ्गाको काम गरेको उल्लेख गर्दै उनले नेपालका पूर्व एवं वर्तमान उच्च अधिकारीबाट भएको औपचारिक भ्रमणले पनि दुई देशबीचको शैक्षिक, सांंस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए । 


नेपालका लागि चिनियाँ राजदूत चेन सोङले हाल चीनमा दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको सङ्ख्या निरन्तर बढिरहेको बताए ।  


दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोग चीन–नेपालबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला बनेको उनले बताए । यसले साझा भविष्यका साथै चीन–नेपाल समुदायको घनिष्ठ र अझ नजिकको सम्बन्ध निर्माण गर्न अतुलनीय योगदान दिएको राजदूत सोङले बताए । 


नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले दुई देशबीचको शैक्षिक सम्बन्ध पनि जनस्तरमा जस्तै सुमधुर बनाउन शैक्षिक मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चीनको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएकाले नेपाली विद्यार्थीले यसबाट लाभान्वित हुने अवसर पाउने उनले बताए । 


कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले एक दशकपछि यस्तो मेला आयोजना गरेर चिनियाँ शैक्षिक अवस्थाका बारेमा नेपाली विद्यार्थी, अभिभावक एवं सरोकार भएका अन्य व्यक्तिलाई गराउने अवसर प्राप्त भएको बताए ।
  
एक दिने शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा जानकारीसहितको सामग्री राखिएको छ । यसबाट चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ ।

बाग्लुङका किसानलाई वर्षाको साथ, धान रोप्न भ्याईनभ्याई

बाग्लुङ । वर्षा सुरु भएसंगै बागलुङका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । सिचाइ सुविधा पुगेको धेरै खेतमा किसानले धान रोप्न सुरु गरेका हुन् । असार सुरु भए लगत्तै किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । बागलुङको गलकोट नगरपालिका लगायतका क्षेत्रमा यतिबेला धमाधम रोपाँई भइरहेको छ ।

गलकोटको मजुवा फाँटमा असार नलाग्दै धान रोपाइँ सुरु भएको हो । राम्रो सिँचाइ सुविधा भएको यस फाँट जिल्लाकै धेरै धान उत्पादन हुनेमा क्षेत्रमा पर्दछ । १२ महिना सिंचाइको सुविधा भएको ठाउँ गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरी लगायतका फाँटमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख रामेश्वर सिलवालले बताए । यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएको कुलाले यहाँको फाँटमा सिँचाइ सुविधा पुगेको छ । बागलुङको गलकोट सहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङ लगायतका स्थानमा असारको पहिलो हप्ताभित्रै धान रोपाइँ सकिन्छ ।

पहिले पहिले असारमा रोपाइ सुरु गर्ने भएपनि अहिले जेष्ठको पहिलो सातादेखि नै रोपाइ सुरु हुने गरेको किसान बताउँछन् । बागलुङमा अहिलेसम्म १० प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यसपटक मनसुन छिटो शुरू हुने भनिएपनि अहिलेसम्म आकाश बाट पानी नपर्दा आकाशे पानीको भरमा खेती किसानी गर्ने ठाउँमा भने रोपाइ सुरु हुन सकेको छैन ।

उत्तरी इरानको अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मङ्गलबार कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ ।

“दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो“, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भने ।

रिपोर्टका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो । नोभेम्बर २०२३ मा गिलान प्रान्तको लङ्गारुड सहरको लागुऔषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो।

जुन २०२० मा उत्तरी तेहरानको एउटा क्लिनिकमा ग्याँस पड्केर भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।

गृहमन्त्रीलाई सांसद थानीको प्रश्नः क्यान्टोनमेन्ट, ओम्नी र यतीको फाइल खोल्ने हिम्मत छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने निरीह भएको टिप्पणी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थानीले गृहमन्त्री सरकार बाहिर हुँदा र सरकारमा गएपछिका अभिव्यक्तिको तुलना गर्दा उहाँ निरीह देखिएको टिप्पणी गरेका हुन् ।

उनले सहकारी ठगीको नाइके जीबी राईलाई पक्राउ गरेर ल्याउँछु भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गराउँदै पक्रेर देखाउन आग्रह गरे ।

उनले भने, ‘२०८० साल चैत्र १० गते जीबी राई आकाशा होस् कि पातालमा समातेर ल्याउँछु भन्नुभयो। गृहमन्त्रीजी यो कुरा याद छ कि छैन ? कहाँ गए आज जीबी राई ? त्यसको ठिक ५० दिनपछि वैशाख २९ गते तपाईंले भरतपुर विमानस्थलमा भन्नुभयो–जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ तपाईंको अगाडि हुनुहुन्छ। अघिल्लो सरकारले भगायो कि भगाएन। त्यसको दोष कसल लिने ? ५० दिनपछि तपाईंले भाषा फेर्नुभएको छ। यस्तै तरिकाले मुलुक चल्छ ? गृहमन्त्रालय चल्छ ?’

सांसद थानीले संसदमा यसअघि गृहमन्त्रीले दिएको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताए । उनले गिरिबन्धु टी–स्टेट जग्गा छानबिन, क्यान्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन वटा फाइल खोलेर छानबिन गरेर देखाउन चुनौती समेत दिए ।

थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश नेता जेलमा हुन्छन् भन्ने आफ्नो अभिव्यक्ति स्मरण गर्न आग्रह गरे । उनले भने, ‘तपाईंकै शब्दमा भन्छु गृहमन्त्रीज्यू तपाईंले मुटु सिंहको जस्तो हुनुपर्छ। फिस्टाको जत्रो होइन भन्नुभयो। तीनवटा फाइल कुनकुन हुन भन्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने फाइल खोल्न किन ढिलो गर्नुभइरहेको छ ? गिरिबन्धु टी स्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ तपाईंले ? क्यान्टोनमेन्टको घोटालाबारे छानबिन गर्न सक्नुहुन्छ। तपाईं ओम्नी र यतीको बारेमा छानबिन गर्न सक्नुहुन्छ ?’

उनले सत्तामा बसेर गृहमन्त्रीले कांग्रेसलाई धम्याइरहेको भन्दै निर्मलाको हत्यारा पत्ता लगाउँछु भनेर आफैँले गरेको निर्णय गृहमन्त्रीले पूरा नगरेको बताए।

उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको सेनाद्वारा गोली प्रहार

उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनीपूर्ण गोली चलाइएपछि पछाडी हटेको, सियोलले जनाएको छ । प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।

सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाईसमेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जानकारी दिए । प्योङयाङले हालै दुई कोरियाबीचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङहरु बिछ्याउन सेना तैनाथ गरेको थियो ।

दुई देश प्राविधिक रूपमा युद्धमा रहदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो ।
तर उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङहरु बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोधहरू जस्तो देखिने, सियोलको सेनाले बताएको छ ।

मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्यै उपकरणहरू बोकेको उल्लेख गरे ।

दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले बताए ।

सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाहरूबाट धेरै हताहत भएता पनि उनीहरूले लापरवाहीपूर्वक अपरेसनहरू अगाडि बढाउँदै गरेको अधिकारीले बताए ।

उत्तर कोरियाको गतिविधिहरू आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीहरूलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ ।

उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं / क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायीहरुले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

व्यवसायीहरुलेसरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।

कैलाली भन्सारमा ११ महिनामा सात अर्ब राजस्व सङ्कलन

अत्तरिया  । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा  सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ  दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु १८ करोड ९५ लाख र अन्यतर्फ  एक अर्ब ४० करोड आठ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । 

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख, मङ्सिरमा रु ७३ करोड ३४ लाख र पुसमा रु ६८ करोड ९० लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, माघमा रु ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा रु ७२ करोड १३ लाख, वैशाखमा रु ७५ करोड १७ लाख र जेठमा रु ८३ करोड ५३ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

“आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पूँजीगत खर्च कम छ”, सूचना अधिकारी खड्काले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व सङ्कलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।”

भन्सार कार्यालयको गत आव २०७९÷८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व सङ्कलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न मिल्दैन : सांसद पौडेल

काठमाडौं / नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका हुन् ।

उनले सम्पती शुद्धिकरण आयोग, राजस्व लगाएतलाई स्वतन्त्र हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताए । संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ । उनले सवै बिषयमा पार्टीको ह्वीप लाग्ने बिषयलाई अव सच्चाउनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रीत गरेको भन्दै आपत्ती जनाए । पौडेले “विनियोजन विधयेक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तु गरे ।

आफूलाई अभियन्ता भन्दै गैरकानुनी रुपमा संस्था खोली ठगी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । प्रहरीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर विभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत विस्तार गरी ठगी गरेको अभियोगमा चार जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका ८ का २६ वर्षीय आदर्श क्षत्री, वडा नं १ की २० वर्षीया अस्मिता खत्री र वडा नं २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा भ्रष्टाचारविरोधी अभियन्ता भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुले असम्बन्धित सूचनाहरू माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडियो बनाई रकमसमेत असुली गर्ने, पुष्टि नै नभएका कुरा सामाजिक सञ्जालमा राखी चरित्रहत्या गर्नेजस्ता कार्य गर्दै आएका थिए ।

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाएका छन् ।
यसैगरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।

शुक्रबार र आइतबारको बीचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए ।

आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वान गरे । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।
ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख््या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

दक्षिणी रुसको तेल भण्डारमा ड्रोन आक्रमण

दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको छ ।

युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो ।

“ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन “, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत भने ।
आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ।

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ।

बजेटमा बिभेद भएको भन्दै सांसद सिंहद्धारा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं / प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री, लगाएतका क्षेत्रमा अरवौं बजेट बिनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका बिषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिए ।

लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका(भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको उल्लेख गर्दै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताएका थिए ।

उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो। रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ।’

उनले बजेट मन्त्री र प्रधानमन्त्रीको गोजी र चिर्कटोबाट आएको भन्दै विरोध गरे। उनले अहिलेको निर्वाचन प्रणाली र बजेट निर्माण प्रक्रिया सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे।

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

भीष्मराज ओझा, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ ।
हाल बर्लिनमा रहेका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा फ्राङ्क–वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही असार १ गते जर्मनी भ्रमणमा गएका हुन् ।


राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ । भेटवार्तामा दुवै राष्ट्रपतिले विकास सहयोग, व्यापार, पर्यटन, लगानी र व्यावसायिक तालिममा केन्द्रित रहेर समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए । 


राष्ट्रपति पौडेलले आफ्नो देशको कृषि, पर्यटन, जलस्रोतलगायत विकासका प्राथमिकतालाई प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीलाई प्रोत्साहन गरेका थिए ।


राष्ट्रपति पौडेलले आफ्ना जर्मन समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । जर्मनीको एकीकरण  तथा नेपालमा प्रजातन्त्र पुनःस्थापना एकै वर्ष भएको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकासमन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए ।


भ्रमणले नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध मात्र नभई सम्पूर्ण युरोपमा नै नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुगेको विश्वास गरिएको छ । राजनीतिक विश्लेषक डा चन्द्रदेव भट्टले नेपालबाट लामो समयपछि जर्मनीमा भएको राष्ट्रप्रमुख तहको भ्रमणलाई महत्वका साथ हेर्नुपर्ने बताए ।


उनले भने, “पछिल्लो समय युरोपसँग हाम्रो सम्बन्धमा अपेक्षाकृत प्रगाढ हुन सकेको छैन, व्यक्तिगत रुपमा सम्बन्ध बढ्दै गए पनि सरकारका तर्फबाट जुन ‘इन्गेजमेन्ट’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नवीकरण गर्छ ।”


जर्मन विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको र युरोपको शक्तिशाली मुलुक भएकाले त्यससँग सम्बन्ध बढाइराख्नुपर्ने बताउँदै राजनीतिक विश्लेषक भट्टले त्यहाँ नेपालको उपस्थिति सुदृढ बनाउनुपर्ने सुझाव दिए । राष्ट्रपति पौडेलले यसै भ्रमणका क्रममा यस अघि स्वीट्जरल्याण्डका राष्ट्रपति भिओला आमहर्डसँग जेठ ३० गते द्विपक्षीय भेटवार्ता गरेका थिए ।


परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले पनि लामो समयपछि नेपालबाट भएको उच्च तहको भ्रमणले दुई देशबीच विश्वासको वातावरण थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।


उनले भने, “जर्मनी नेपालको घनिष्ठ मित्र हो । जर्मनीका समाजवादी नेता र पार्टीसँग नेपालको विशेष सम्बन्ध छ । जर्मनीका पूर्वचान्सलर तथा सोसियल डेमोक्र्याटिक पार्टीका नेता विली ब्राण्ड र बिपी कोइरालाबीच निकटता थियो ।”


राष्ट्रप्रमुख तहको भ्रमण आफैमा अर्थपूर्ण र महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वराजदूत भट्टराईले यस भ्रमणबाट भविष्यमा सहयोगका क्षेत्र विस्तार हुने बताए । साथै नेपालले हस्तकलाका वस्तु र गलैचालगायत निर्यातका साथै पर्यटन प्रर्वद्धन गरी उल्लेख्य लाभ जर्मनीबाट  लिन सक्ने बताए । 


नेपालबाट जर्मनीमा राष्ट्रप्रमुखको तहमा सन् १९८६ पछि यो भ्रमण पहिलो पटक भएको हो । राष्ट्रपति परराष्ट्रमामिलाविज्ञ डा सुरेशचन्द्र चालिसेले नेपालबाट ३८ वर्षपछि भएको यो भ्रमणले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।


उनले विश्वको तेस्रो ठूलो अर्थतन्त्र र युरोपको प्रभावशाली मुलुक जर्मनीको यो भ्रमणले नेपालमा लगानी र व्यापार वृद्धि गर्न टेवा पुग्ने उल्लेख गरे ।


राष्ट्रपतिसँगै भ्रमणमा रहेका डा चालिसेले टेलिफोनमा भने, “जर्मनी नेपालको मुख्य विकास साझेदार मुलुक भएको र द्विपक्षीय सम्बन्धमा हालसम्म कुनै उतारचढाव छैन । सन् २०१५ को भूकम्प र कोभिड–१९ का बेला पनि जर्मन सरकारले उल्लेख्य सहयोग गरेको थियो ।”  


नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको छ । 


दुई देशबीच विभिन्न तहमा हुने भ्रमणले पारस्परिक सम्बन्धलाई थप घनिष्ठ र सौहार्दपूर्ण बनाउन सहयोगी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।


उनले भने, “जर्मनीको लगानी र प्रविधि नेपालमा भित्र्याउन राष्ट्रप्रमुखको तहमा भएको यो भ्रमणबाट सहयोग पुग्नेमा आफू विश्वस्त छौँ । जर्मनीले जलवायु परिवर्तनका असरबाट बच्न अनुकूलनको राम्रो अध्ययन र अभ्यास गरेको छ, यसबाट पनि नेपालले सिक्ने धेरै विषय छन् ।”

केके हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?

नेत्र सुवेदी ‘प्रयास’ ।
 असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका लागि तल उल्लेख गरिएका केही सुझावलाई अभ्यासमा ल्याउन सक्छन् ।  यसले पूर्वाधार विकास र जनताको जीवनशैलीमा सुधार ल्याउन सहयोग पुग्नेछ । 

विषयगत विवरण र तथ्याङ्क प्रणाली : हालसम्मको विषयगत उपलब्धिको तथ्याङ्क अद्यावधिक गरिनुपर्दछ । साथै सीपयुक्त जनशक्ति तथा सीप विकास गर्नुपर्नेको व्यक्तिहरुको विवरण अद्यावधिक गरिनुपर्दछ । प्रगति प्रतिवेदन तयार गर्न, छानबिन सम्बन्धमा सोधिएका प्रश्नहरुको जवाफ पठाउन तथा भएका कामहरुको तथ्यगत जानकारी प्रवाह गर्न समेत यस्ता अभिलेखहरु उपयोगी हुन्छन् । सीपयुक्त जनशक्तिको विवरण सार्वजनिक गर्न सके खाँचो परेको बजारबाट सजिलै सम्पर्क गरी रोजगारीमा लगाउने सम्भावना हुन्छ भने महत्वपूर्ण सीप विकासका लागि इच्छुक व्यक्तिहरुको नामावली भयो भने स्थानीय तहले प्रशिक्षक वा प्रशिक्षण संस्थासँग समन्वय गरी सीप विकास गर्न सम्भव हुन्छ । 

नीति कार्यक्रम र बजेट सम्बन्धमा खुला सुझाव आह्वान : सकेसम्म स्थानीय तहको भूक्षेत्रमा र अन्यत्र गई बसोबास गरेकालाई समेत खबर पुग्ने गरी नीति तथा कार्यक्रम र बजेटमा सुझाव उपलब्ध गराउन सूचना प्रकाशित गर्नुपर्दछ । सम्भव भएसम्म संस्थागत रुपमा छलफलमा बोलाएर हालसम्मको भूमिकाको जानकारी लिँदै थप प्रभावकारी सहकार्यका लागि आह्वान गरिनुपर्दछ । प्राप्त हुने सुझावको भाव नीतिमा झल्कने गरी व्यवस्था गरिनुपर्दछ । 


विशेष उमेर समूहका व्यक्तिको अधिकार संरक्षण : विश्वस्तर सम्झौता वा विकसित भई राष्ट्रियस्तरमा प्रयोगमा रहेका वृद्धवृद्धा, महिला, युवा, बालबालिकाको अधिकार संरक्षण तथा क्षमता वृद्धि एवम् उपयोगका लागि स्थानीय सरकार समेत खुला र अग्रसर हुनुपर्दछ । यसअघि तयार भएका र हालसालै मात्र कार्यान्वयनमा आएका कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय स्तरमा हालको अवस्था दर्शाउने विवरण अद्यावधिक गर्ने सोही बमोजिम मुख्य समस्या रहेका क्षमताको विकास र प्रयोग, संरक्षण र सम्मानजस्ता पक्षमा कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । 

सामाजिक अपराध तथा हिंसाविरुद्ध सचेतना अभियान : हाम्रो समाजमा विभिन्न खालको भेद्भाव र हिंसा अहिले पनि व्याप्त छ । लागुऔषधको सेवन तथा ओसारपसारका साथै आत्महत्याजस्ता घटना भइरहेका छन् । साइबर अपराध जस्ता नयाँ खालका समस्या पनि थपिएका छन् । तसर्थ, जनप्रतिनिधिहरुकै अगुवाइमा टोलस्तरसम्म नै सचेतना अभियान चलाउने र कानुनी उपचार खोज्ने तरिका समेत सिकाउनु पर्दछ । 

सार्वजनिक सम्पत्तिको पहिचान र संरक्षण : स्थानीय तहभित्र रहेका सरकार वा सार्वजनिक भवन वा जग्गा वा सम्पदा वा सम्पत्तिको लगत अद्यावधिक गर्नाका साथै संरक्षणको उचित प्रबन्ध गरिनुपर्दछ । यस प्रयोजनका लागि प्रहरी प्रशासनको समेत सहयोग लिन सकिन्छ । लगतमा वन भनेर जनिने तर हाल वन नभएको जग्गामा यदि कुनै संरचना वा विकास आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा भोगचलनका लागि जग्गा प्राप्ति वा अधिग्रहणको विधि र पद्धति पालना हुनु राम्रो हुन्छ । 

विपद् पूर्वतयारी : विपद् पूर्वतयारीमा चुस्त हुन सकियो भने विपद्पश्चात् हुने क्षति सात गुणाले कम हुने अध्ययनहरुले देखाएका छन् । स्थानीय तहमा जिम्मेवारी पाएका संयन्त्रहरुलाई सक्रिय राख्नाका साथै अत्यावश्यक जनशक्ति तथा स्वयम्सेवक तयारी हालतमा राख्नुपर्दछ भने विपद् प्रतिकार्यका लागि अभ्यास गर्ने तथा आधारभूत सामग्रीहरुको जोहो गरेर खाँचो पर्नासाथ प्रयोगमा ल्याउने वातावरण सृजना गर्नुपर्दछ । यो कार्यमा सुरक्षा निकायको समेत सहयोग प्राप्त गर्न नजिकको समन्वय आवश्यक पर्दछ । 

सुशासन प्रवद्र्धन : सुशासन आफैँमा विकास होइन तर विकास तथा उन्नतिका लागि अति आवश्यक वातावरण, कार्यशैली र व्यवहारसँग समेत सम्बन्धित छ । राज्य संयन्त्रहरुमा पारदर्शिता, जवाफदेहिता एवम् नैतिकताको प्रवद्र्धनका साथै विधिको पालना र सहभागिताको वातावरण समेत उत्तिकै आवश्यक छ । सबै नागरिकले आफ्नो कुरा राख्न पाउनुपर्दछ । कार्यालयका कामकारबाही सूचनामैत्री र नागरिकमैत्री हुनैपर्दछ । राजनैतिक दलहरु, सङ्घसंस्था र निजी क्षेत्रमा समेत सुशासन आवश्यक छ । स्थानीय तहले प्रवाह गर्ने सेवाको तौरतरिका सम्बन्धमा सेवाग्राहीले बुझ्ने भाषामा प्रचारप्रसार गरिनु पर्दछ । वर्षको कमसेकम एकपटक सेवाग्राहीलाई भेला पारेर सार्वजनिक सुनुवाइ गर्न भुल्नु हुँदैन । 

स्वच्छ बजार कायम गर्ने : बजारमा उपलब्ध वस्तु तथा सेवा आवश्यक नपर्ने कोही हुँदैन । वस्तुको मूल्य, गुणस्तर र उपभोग्य अवधि सम्बन्धमा जानकारी पाउने उपभोक्ताको आधारभूत अधिकार नै हो । बजारमा स्वच्छ प्रतिस्पर्धाको वातावरण आवश्यक पर्दछ । समयसमयमा विभिन्न वस्तु र सेवाका सम्बन्धमा अनुगमन गरी त्रुटि सच्याउन लगाउनु उपयुक्त हुन्छ । 

विशेष सवालको विशेष सम्वोधन :  द्वन्द्वपीडित, विपद्पीडित, असहाय तथा अलपत्र परेका व्यक्तिहरुको सहारा राज्य हुने हुँदा नजिकको सरकारको हैसियतले स्थानीय सरकारले पनि संवेदनशीलता जनाई सम्बोधनका उपायहरु अवलम्बन गर्नु उचित हुन्छ भने यो काम प्राथमिकतामा समेत पर्नुपर्दछ । 

सामाजिक सद्भाव र मौलिकताको रक्षा : समाजका अग्रज व्यक्तित्वहरु, धार्मिक गुरु एवम् साधकहरु, साहित्यकार, कलाकार, खेलाडीलाई स्थानीय सरकारको सामाजिक सांस्कृतिक जागरणका लागि सक्रिय रहन आह्वान गर्नाका साथै उदाहरणीय योगदान गर्ने व्यक्ति वा प्रतिभालाई सम्मानको व्यवस्था गर्नु उपयुक्त हुन्छ । यसबाट व्यक्ति, स्थान र उनीहरुको योगदानको समेत सम्मान हुन्छ भने सामाजिक सद्भाव पनि बलियो हुन पुग्दछ । 

सरोकारवालासँग नियमित संवाद : स्थानीय तहभित्र घरठेगाना भएका, हाल नेपालभित्र वा बाहिर कुनै न कुनै भूमिकामा क्रियाशील रहेका व्यक्तिहरुले आफ्नो ठाउँलाई सम्झिरहेका माया गरिरहेका र राम्रो काम होस् भनेर चाहिरहेका हुन्छन् । तसर्थ, गैरआवासीय नेपाली हुन् वा अन्यत्र बसाइँ सरेर गएका वा कार्यरत रहेका महानुभावहरुलाई आफ्नो जन्मस्थान फर्केर आउन निमन्त्रणा दिने, हुनसक्ने सहयोगका लागि सम्भावित परियोजनाको सूची वा कामको सूचीका सम्बन्धमा छलफल गर्ने गर्दा स्थानीय अग्रसरताका लागि सहयोग पनि जुट्ने गरेको छ । गैरआवासीय नेपाली वा देश बाहिर रहेका आफ्नो ठाउँलाई माया गर्ने महानुभावहरुसँग भर्चुअल बैठक गरेर पनि छलफल गर्न सकिन्छ । सम्पर्क समाजलगायत संस्थाहरुले पनि स्थानीय तहसँग जोड्न सहयोगी भूमिका खेल्न सक्छन् । 


स्थानीय आर्थिक विकासको पारिस्थितिक प्रणाली तयार गर्ने : यसका लागि स्थानीय तहभित्र रहेका स्रोत पहिचान गर्ने र स्रोत परिचालन क्षमता अभिवृद्धि गरी रोजगारी र आय बढाउने उपायहरु अवलम्बन गर्न सबै सरोकारवालाको सहयोग प्राप्त गर्न सक्नु पर्दछ । स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि, २०७९ ले गरेको व्यवस्थाअनुसार स्थानीय तहमा संवाद तथा सहजीकरण समिति रहँदा आर्थिक क्रियाकलाप सञ्चालन गर्न विभिन्न नवीन विचारहरु प्राप्त हुन्छन् । सम्भव देखिएका क्रियाकलापलाई सरोकारवालाकै सहभागितामा प्राथमिकीकरण गरेर अगाडि वढ्न सकिन्छ । 


उद्यमीसँग संवाद : रोजगारीको माध्यम भनेको परम्परागत पेसाका अलावा साना तथा मझौला उद्योग वा फर्म भएकाले त्यस्ता फर्म वा उद्यम सञ्चालकहरुसँग संवाद गरी उनीहरुको उत्पादन वृद्धि र बजारीकरणका लागि आवश्यक वातावरण निर्माणका लागि नीति तथा कार्यक्रममा व्यवस्था गर्ने र लागत साझेदारी गर्ने अवधारणा प्रयोगमा ल्याउन सकिन्छ ।


फोहोर व्यवस्थापन : कुहिने र नकुहिने फोहोर स्रोतमै छुट््याउन आवश्यक पर्ने सामग्री, क्षमता विकास र विसर्जनको सबै तयारी गर्नुपर्ने हुन्छ । फ्याँकिएका चीजवस्तुको पुनःचक्रीकरण गरेर फोहोरलाई मोहोरमा बदल्न पनि सकिन्छ । कुहिने फोहोरबाट मल उत्पादन हुने र खाना पकाउने ग्यास बन्ने गरी प्लान्ट जडान पनि गर्न सकिन्छ । 


वातावरण संरक्षण र हरित ऊर्जा : दिगो विकासले प्रकृतिमैत्री र वातावरणमैत्री कार्य व्यवहारको माग गर्दछ । विकास परियोजना सञ्चालन गर्दा वातावरण विनाश हुन नदिन सचेत रहनुपर्दछ । स्थानीय तहले पर्यावरणमैत्री शैली अपनाउन सक्दछ । यो कार्यमा सामुदायिक वन उपभोक्ता समिति, लायन्स र जेसिसमा आबद्ध व्यक्तिहरुले सघाउन सक्दछन् । हरित ऊर्जा (सौर्यशक्ति, वायुशक्ति, बायोग्यास, जलविद्युत्) को प्रयोग बढाउने गरी अगाडि बढ्दा वातावरण संरक्षणमा टेवा पुग्ने देखिन्छ । खासगरी चौतारीहरुको संरक्षण, पोखरीहरुको संरक्षणलाई स्थानीय स्तरमा महत्वका साथ लिइनुपर्दछ । 

सूचना प्रविधिसहितको सेवा : हामी सूचना प्रविधिको तीव्र विकास भइरहेको विश्वमा बसोबास गरिरहेका छन् । हाम्रा सेवाहरु अझ पनि परम्परागत, खण्डित र म्यानुअल प्रकृतिका छन् । कागजी काम घटाउन र नागरिकको हातहातमा सूचना तथा सेवा पु¥याउनका लागि सेवासँग सूचना प्रविधि प्रणालीलाई आवद्ध गर्ने र एकीकृत रुप दिन आवश्यक छ । शिक्षा र स्वास्थ्य सेवालाई सूचना प्रविधियुक्त बनाउँदै अनलाइन शिक्षा र टेलिमेडिसिनको प्रभावकारिता बढाउनु आवश्यक छ । सर्वसाधरणलाई डिजिटल शिक्षा सम्वन्धमा पनि प्रचारप्रसार र सचेतनालाई समेत जोडेर जान सकिन्छ । 

समाज र समय सुहाउँदो शिक्षा पद्धति : जिम्मेवार, नैतिकवान्, सृजनशील, ऊर्जाशील र उत्पादनमैत्री नागरिक तयार गर्ने खालको खालको शैक्षिक वातावरण आवश्यक छ । स्थानीय पाठ्यक्रम तयार गर्दा होस् वा विद्यालयका अतिरिक्त क्रियाकलापमा नै किन नहोस् बजारको माग बमोजिमका सीप र क्षमता विकासका लागि समेत प्रेरित गर्न आवश्यक छ । 


सहरी क्षेत्र र ग्रामीण क्षेत्रबीच अन्तरसम्बन्ध : पूर्वाधार, सहयोग आदानप्रदान र व्यापार–व्यवसायका हिसाबले ग्रामीण र सहरी क्षेत्र आपसमा जोडिएकै छन् । ग्रामीण क्षेत्रमा राम्रो स्वास्थ्य शिक्षा र यातायातको प्रबन्ध हुन सकेमा जानसाङ्ख्यिक असन्तुलन बढ्न पाउँदैनथ्यो । त्यस्तैगरी, कृषि, पशुपालन र वनजन्य पदार्थमा आधारित उद्योग सञ्चालन गर्न सकेमा स्रोतसाधनको सदुपयोग र रोजगारी बढ्नाका साथै सहर र गाउँको अन्तरसम्बन्ध थप गाढा भएर जान सक्छ ।

राजनीति र प्रशासनबीचको सम्बन्ध र सौहार्द्रता निर्माण : जनअपेक्षा बुझेर नीतिमा आबद्ध गर्नेदेखि लिएर कुनै पनि परियोजनाको पूर्वतयारीदेखि कार्यान्वयनसम्म पनि राजनीति र प्रशासनले एकापसमा विश्वास गर्दै सुझबुझका साथ अघि बढ्नुपर्दछ । विधि र प्रणालीको पालना र तथ्य प्रमाणलाई सबैले मान्ने गरी नै मानक निर्माण गर्नुपर्दछ । फरक राजनैतिक पार्टी भन्दैमा वा फरक तहको कर्मचारी भन्दैमा शङ्का गर्नु उपयुक्त होइन । जिम्मेवारीमा रहेकाहरु निष्पक्ष र जवाफदेही हुनै पर्दछ । कार्यसम्पादनमा सफलताका लागि राजनीति र प्रशासनबीच आ–आफ्नो भूमिका निर्वाह गर्दै परिपूरक सम्बन्ध नै श्रेयस्कर हुन्छ । निरन्तर संवाद, संयुक्तरुपमा अध्ययन भ्रमण तथा खेलकुदजस्ता गतिविधिबाट पनि सौहार्दता बढेर जाने हुन्छ । 

भएका कामहरु प्रकाशन र प्रसारण : स्थानीय सरकारबाट भएका कामहरुको विवरण प्रकाशन र प्रसारण गर्न अग्रसर रहनुपर्दछ । वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि त्यस्ता विवरण सार्वजनिक हुन सक्छन् । आगामी बजेट जारी गर्नुअघि स्थानीय तहको आधारभूत जानकारी पुस्तिका तथा आर्थिक सर्भेक्षण प्रकाशित गर्न पहल गर्ने । 


न्यून उपभोगवाद र मानवीयता : अबको जीवन पद्धति जतिसक्दो कम सामग्रीहरु उपभोग गर्ने खालको हुनुपर्दछ । उत्पादनमा सहभागी हुनेले मात्र उपभोग गर्ने हक राख्दछ । त्यस्तै आफ्नो उत्पादन वा कमाईको निश्कित हिस्सा अरूको लागि छुट्याउने संस्कार पहिले थियो, अहिले हराइरहेको हुँदा जगाउनु आवश्यक छ । त्यस्तै विकासका कामहरु गर्दा मानवीय संवेदनालाई समेत नजरअन्दाज गर्नु हुँदैन । आफ्ना बाबुआमालाई आधारभूत रुपमा स्याहार नगर्ने र हेला गर्ने सन्तानलाई सिफारिस रोक्न समेत तयार रहनु पर्दछ । असहाय व्यक्तिहरु फेला परेमा मानव सेवा आश्रमलाई सम्पर्क गर्नु पर्दछ । आफन्त र सहाराविहीन मानसिक रोगीहरुलाई स्थानीय रुपमा उपचार हुन नसकेमा विशेषज्ञ अस्पतालमा पठाउने व्यवस्था स्थानीय तहले गर्नुपर्दछ ।  

सृजनशील प्रतिभाको पहिचान, विकास र सम्मान : विद्यालय वा क्याम्पसभित्र वा बाहिर अनि जुनसुकै क्षेत्रमा रहेका र उजागर हुन सकेका प्रतिभाहरुको खोजी गर्ने उनीहरुलाई छोटो अवधिको इन्कुवेसन वा गाइडको व्यवस्था गर्ने र प्रतिस्पर्धात्मक हिसाबले चयन गरी सम्मानित गर्ने गर्दा प्रतिभाको प्रस्फुटनमा सहयोग पुग्ने देखिन्छ । 

स्थानीय तह र अन्य तहसँग सहकार्य र समन्वय : सहकार्य र समन्वय प्रभावकारी हुनका लागि आपसमा सञ्चार हुनु र विश्वासको वातावरण हुनु आवश्यक छ । माग भएका सूचना तथा विवरण समयमै सम्प्रेषण गर्नुका अलावा भनिए बमोजिमका संयन्त्र गठन गर्ने र स्थानीय तहभित्र विभिन्न विषयका सम्वन्धमा हुनसक्ने सहयोग सम्बन्धमा अद्यावधिक हुने र सम्पर्कमा रहने गर्नु उचित हुन्छ । किनकि तीनै तहका सरकारले सेवा गर्ने भनेको नेपाली नागरिकलाई नै हो उनीहरुकै उन्नति र प्रगति तिनै तहका सरकारको ध्येय हुनुपर्दछ । 

वडा संरचनाको सबलीकरण : वडा कार्यालय भनेका सेवा केन्द्र हुन् । सर्वसाधारण नागरिकका दैनन्दिनका विषयहरुमा वडा कार्यालयले सरोकार राख्दछ र सिफारिससम्बन्धी काम पनि गर्दछ । तसर्थ, जनशक्ति, सूचना प्रविधि र कार्य वातावरणका हिसावले वडा कार्यालयलाई बलियो बनाउनु पर्दछ । वडा समितिका साथै वडामा कार्यरत जनशक्तिको क्षमता विकासका लागि समेत क्षमता विकासका कार्यक्रम राखिनुपर्दछ ।

(लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ)

संसदका कर्मचारीले सेवा सुविधाको माग गर्दै धर्नामा बस्नु संसदकै लज्जाको विषय होः सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीले सेवा सुविधा नपाउनु सदनकै लज्जाको विषय भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले संसद सचिवालयका कर्मचारका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद पन्तले सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधाको विषयमा सदनको ध्यानाकर्षण गराउँदै उचित सेवा सुविधाको प्रबन्ध गर्न माग गरे । कोरोनाकाल सुरू भएदेखि नै संसदका कर्मचारीले अतिरिक्त समयमा काम गरेको भत्ता नपाएको उनले बताए ।

उनले भने, ‘संसदमा प्रवेश गर्ने ठाउँमा कर्मचारीले बाटो छेकेर धर्ना गरिरहेको देखियो । जे सुविधा अरू मन्त्रालयका कर्मचारीले पाएका छन् त्यो सुविधा संसदका कर्मचारीले नपाउने भन्ने कुरा हुँदैन। उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन। कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्यो भन्नु भएको छ । अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउने ? संसदभित्र यो दृश्य देखिनु आफैमा दुःखद हो ।’

उनले सांसदहरुलाई उपलब्ध गराउने पत्रपत्रिकाको सुविधा समेत कटौती भएको एवम् कर्मचारीको सेवा सुविधाका विषयमा तत्काल उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।

नियमले पाउने सेवा सुविधा भत्तालगायतका सुविधा उपलब्ध गराउन अर्थमन्त्री र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउँदै आवश्यक पत्रपत्रिकाको बजेटसमेत कटौती नगर्न माग गरे ।

उनले भने, ‘सांसदहरूलाई पढ्न दिने पत्रिका पनि कटौती भएको छ। हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ।’

अतिरिक्त समयमा काम गरेको भत्ता नपाएकोलगायत विभिन्न ११ बुँदे मागसहित गत जेठ मसान्तदेखि कर्मचारीहरू आन्दोलनमा छन् । कर्मचारीले सेवा सुविधाको माग गर्दै आन्दोलन जारी राखेपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार सदनका दुवै सभाका पदाधिकारीसहित दलका सचेतकहरूसँग छलफल गरी माग पूरा गर्ने आश्वासन दिएका थिए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन महामन्त्री शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले सोमबार सुर्खेतमा इनार सफा गर्दा बेहोस भई दुई जनाको निधन भएको उल्लेख गर्दै श्रमिकको सुरक्षाका लागि व्यवसायजन्य सुरक्षासम्बन्धी कानुन निर्माणको आवश्यकता औँल्याए । 

उनले सामाजिक सुरक्षा कोषको प्रबन्धअनुसार असङ्गठित क्षेत्रका मजदुरलाई पनि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिए । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाले समेट्नुपर्ने उनको भनाइ थियो ।

सांसद हृदयराम थानीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा उचित बजेटको प्रबन्ध नगरेको गुनासो गरे । उनले सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै डोल्पा, जाजरकोट, मुगु र हुम्लामा न्यून बजेट उपलब्ध गराइएको दाबी गरे ।

सांसद रघुजी पन्तले सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधाको विषयमा सदनको ध्यानाकर्षण गराउँदै उचित सेवा सुविधाको प्रबन्ध गर्न माग गरे ।

उनले सांसदहरुलाई उपलब्ध गराउने पत्रपत्रिकाको सुविधा समेत कटौती भएको एवम् कर्मचारीको सेवा सुविधाका विषयमा तत्काल उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराए ।

नियमले पाउने सेवा सुविधा भत्तालगायतका सुविधा उपलब्ध गराउन अर्थमन्त्री र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउँदै आवश्यक पत्रपत्रिकाको बजेटसमेत कटौती नगर्न माग गरे ।

सांसद हर्कमाया विकले मनसुनका कारण पूर्वी नेपालमा समस्या पैदा भएको र जनधनको क्षति भएको उल्लेख गर्दै उचित राहतको प्रबन्ध गर्न माग गरिन् । दैविक प्रकोप पीडितको राहत उद्धारको प्रबन्ध गर्न, पूर्वतयारीलाई तीव्रता दिनुपर्नेमा उनको जोड थियो । 

सांसद ज्ञानबहादुर शाहीले कर्णालीमा असाध्यै न्यून बजेट विनियोजन गरिएकामा असन्तुष्टि व्यक्त गरे । सांसद अब्दुल खानले खानी तथा क्रसर व्यवसायीले विभिन्न माग राखी आन्दोलनमा रहेका उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीले उठाएका जायज मागको सुनुवाइ गर्नुपर्नेमा जोड दिए । सांसद अमरेशकुमार सिंहले पनि बजेट विनियोजनमा असमानता रहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे । 

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

काठमाडौँ / स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।

महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ ।

कर्णालीको बजेट कार्यान्वयन : यस्ता छन् योजना छनोट प्रक्रिया सुधार नीति

काँक्रेविहार (सुर्खेत) । सङ्घीयताको अभ्यास तथा सिकाइका क्रममा रहेको प्रदेश सरकारले अब बन्ने योजनाहरु वैज्ञानिक ढङ्गले सञ्चालन गर्न नीति निर्माणको प्रक्रियालाई प्राथमिकता राखेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीका अनुसार हालसम्म कर्णालीमा बजेटको कार्यान्वयन ५७ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्षको ३३ अर्बभन्दा बढीको बजेटमा हालसम्म जम्मा ३७ प्रतिशत र पुँजीगत बजेट २९ प्रतिशत मात्रै खर्च भएको छ ।

पूर्वमुख्यमन्त्री राजकुमार शर्माले आफ्नो कार्यकालमा बजेट कार्यान्वयनमा बहानाबाजी नगर्न भन्दै कर्मचारीलाई ६२ बुँदे निर्देशन दिनुभएको थियो तर कर्णालीमा बजेट कार्यान्वयनको अवस्था सुध्रिएन । त्यसको प्रत्यक्ष असर विकासमा परेको छ । यसअघि बजेट कार्यान्वयनको सन्दर्भमा कुनै पनि नेतृत्वले बहस र छलफल गरेको थिएन ।

यामलाल कँडेल मुख्यमन्त्री बनेपछि बजेट कार्यान्वयन र योजना सुधारका लागि बजेटमा नै रणनीति अपनाइएको छ । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री केसीले ‘योजना तथा बजेट कार्यान्वयनमा सुधारः सुशासन र विकासको आधार’ नाराका साथ नीति अवलम्बन गरेका छन् । मन्त्री केसीले बजेट कार्यान्वयन ठूलो समस्याका रूपमा रहेकाले बजेटमा नै रणनीतिक विषय समावेश गरिएको बताए । त्यसका लागि सुरुमा योजना छनोटको प्रक्रिया नै सुधार गर्नुपर्ने उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गर्ने आयोजनाहरूलाई यथार्थपरक, आवश्यकतामा आधारित, व्यवस्थित, वस्तुपरक तुल्याउन परियोजना व्यवस्थापनसम्बन्धी छुट्टै ऐन निर्माण गरिने मन्त्री केसीले बताए ।

“आयोजना व्यवस्थापनलाई संस्थागत र प्रणालीबद्ध गर्न प्रदेश आयोजना बैङ्क स्थापना र सञ्चालनमा ल्याइनेछ,” उनले भने, “सीमित स्रोत साधनलाई प्राथमिकतापूर्ण क्षेत्रमा उच्चतम प्रयोग गर्न प्रदेश सरकारको नीति, योजना, बजेट तथा कार्यक्रमबीचको तादात्म्यता कायम गर्न मध्यमकालीन खर्च संरचना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिनेछ ।”


प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक तयार गरी प्रदेशसभामा पेस गर्ने योजना बनाएको छ । साथै बजेट वक्तव्यमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयन कार्ययोजना साउन मसान्तभित्र तयार गरिने अर्थमन्त्री केसीले बताए ।

“बजेट कार्यान्वयन प्रक्रियालाई शीघ्र र व्यवस्थित गर्न मापदण्ड, कार्यविधि, निर्देशिका लगायतका आवश्यक कानुनहरू पहिलो त्रैमासिकभित्र तर्जुमा गरिनेछ,” उनले भने, “यसो गरेको खण्डमा योजनाहरू समयमै लागू हुने र प्रतिफल निस्कने हुन्छ ।”

मन्त्री केसीका अनुसार प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनामा जनप्रतिनिधि, निजका परिवार, निर्माण व्यवसायी र राष्ट्रसेवक कर्मचारी उक्त समितिमा बस्न नपाउने व्यवस्था गरिएको छ । सरकारले सहमति प्रदान गरेको ६ महिनाभित्र ठेक्का सम्झौता नभए सहमति खारेज गर्ने रणनीति लिएको छ ।

बजेट वक्तव्यमा भनिएको छ, “स्रोत सहमति प्रदान गरेको मितिले ६ महिनाभित्र ठेक्का सम्झौता नभएमा त्यस्तो सहमति स्वतः खारेज भएको मानिनेछ । यसअघि सहमति दिइएकामध्ये ६ महिना पूरा भई हालसम्म बोलपत्र आह्वान नभएका र आगामी वर्षको बजेटमा विनियोजन प्रस्ताव नगरिएका आयोजनाहरूको स्रोत सुनिश्चितता सहमति खारेज गरिएको छ ।” सरकारले रकमान्तर तथा कार्यक्रम संशोधन गर्ने प्रवृत्तिको सुधार गर्ने नीति लिएको छ ।

बजेटमा विनियोजन कुशलता कायम गरी कार्यान्वयनप्रति जवाफदेही बनाउन मन्त्रालयमा एकमुष्ट रकम विनियोजन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने जनाइएको छ । सरकारले बहुवर्षीय योजना कार्यान्वयनको सन्दर्भमा पनि केही महत्वपूर्ण नीति अवलम्बन गरेको छ ।

ठूला र रणनीतिक महत्वका विकास आयोजनाहरूको कार्यान्वयनको प्रक्रियामा हुने अवरोध हटाउँदै सहजीकरण गरी तीव्रता दिन स्वतन्त्र तथा विज्ञ तेस्रो पक्ष संलग्न हुने गरी तेस्रो पक्ष मूल्याङ्कन पद्धतिलाई अवलम्बन गरिने नीति सरकारले लिएको मन्त्री केसीले बताए ।

दश करोडभन्दा बढी रकम विनियोजन भएका कार्यक्रम र आयोजनाको कार्यान्वयनको प्रभावकारिता बढाउन आर्थिक मामिला तथा योजना मन्त्रालयमा चौमासिक रूपमा मूल्याङ्कन गरिने छ ।

प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने आयोजनाको प्रभावकारिता वृद्धिका लागि जिल्ला समन्वय समितिलाई अनुगमन तथा मूल्याङ्कनमा सहयोग पुर्‍याउन बजेटको व्यवस्थापन गरिएको उनले बताए । उनका अनुसार पर्याप्त स्रोतको उपलब्धता बिना नै बहुवर्षीय ठेक्काको स्रोत सहमति दिने प्रवृत्ति अन्त्य गरिनेछ ।

मन्त्री केसीका अनुसार अब प्रदेशभित्रका आयोजना कार्यान्वयनका लागि बजेट विनियोजन भएका आयोजनाको पहिलो चौमासिक अवधिभित्र खरिद प्रक्रिया सुरु गरिसक्नुपर्नेछ । सो समयावधिमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रममा विनियोजित रकम रोक्का गर्न सकिनेछ । तोकिएका लक्ष्य समयमै हासिल गर्ने निकायलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्डित गर्ने नीति अवलम्बन गरिनेछ । 

एकीकृत समाजवादीको महाधिवेशन: मतदाता नामावली आज प्रकाशन हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ ।

योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।

बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।

देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेको पार्टीले एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनोट गरिने छ ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् ।

दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ ।

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने आदेशको पुनरावलोकन नभए अनसन बस्ने केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी केसीले आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् । उनले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

उनले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन्, ‘चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।’

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए । तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।

प्रेस विज्ञप्ति

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, न्याय र सुशासनका लागि निरन्तर लडिरहेको तथ्य सबैलाई अवगत नै छ।
मेडिकल शिक्षासँग सम्बन्धित एउटा मुद्दामा हालै चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को कार्यान्वयनसम्बन्धी जटिल संवैधानिक प्रश्नको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हुनुपर्नेमा दुई सदस्यीय इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरुमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरुलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्वपुर्ण दलिलहरु फैसलामा राख्दै नराख्नु, आदि त्रुटिहरुले यो फैसलाका क्रममा गम्भीर न्यायिक विचलन भएको देखाउँछन् । फैसलालगत्तै निवेदक पक्षले ईजलासका वरिष्ठतम न्यायाधिशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसला नियतबस निज निवेदकको पक्षमा गरिएको थियो भन्ने पुष्टि हुन्छ।

त्यसैले यी त्रुटिहरु सच्याउनका लागि तत्काल फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न हामीले प्रमुख सरोकारवाला निकाय चिकित्सा शिक्षा आयोगलाई बारम्बार अनुरोध गर्दा पनि कुनै कदम चालेको देखिँदैन। चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । आयोगलाई नेता र माफियाहरूका स्वार्थपूर्ति गर्ने थलोको रूपमा विकसित गर्ने क्रममा राजनीतिक दलका शिर्षस्थ नेता, कार्य कर्ता र केही न्यायाधीश देखि लिएर विभिन्न तत्व अहिले बढी सक्रिय भएका छन् । समग्रमा भन्दा अहिले चिकित्सा शिक्षा आयोगको अस्तित्व नै धरापमा छ। नेपालीको वर्षौको अथक प्रयास र दबाबबाट प्राप्त ऐन तथा आयोगको रक्षाकोलागि हामीसँधै कटिबद्ध छौं। स्मरण रहोस् आयोगका पूर्व पदाधिकारीहरूले विगतमा अदालतको सामान्य त्रुटिपूर्ण फैसलाको विरुद्ध पुनरावलोकन प्रक्रियामा गई मुद्दा जितेका थिए।

साथै देशमा कोही पनि संविधानभन्दा माथि नरहेकाले त्रुटिपुर्ण फैसला गर्ने न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाउन पुनः माग गर्दर्छौं । फैसलाका क्रममा न्यायिक विचलन भएको पुष्टि भएकाले सो इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्याय सम्पादन कार्यबाट अलग्याई थप आवश्यक कारवाही अघि बढाउन न्याय परिषदको ध्यानाकर्षण गराााउछौंं।

यदि हाम्रा सम्पूर्ण मागहरू पूरा नभए जेठ ३१,२०८१ मा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुरुप आषाढ १४ गतेदेखि सत्याग्रह शुरु गर्न वाध्य हुनेछौ भन्ने जानकारी गराउन चाहन्छौं ।


प्रा.डा. गोविन्द केसी
४ आषाढ २०८१।

घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । ३९ वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन् ।

उनले भने, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ । ”

गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गरिसकेका छन् । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ ।

अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन् । प्रतिबिरुवा दुईदेखि ५० सम्मका बिरुवा उनीसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन् ।

मासिक ८२ हजारको जागिर छाडेर आएँ
खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे । उनले भने “दुबईमा मेरो मासिक  ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।”

सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन् । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गरेका छन् ।

अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए । “घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ”, उनले भने, “गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।”

व्यवसायका लागि उनले श्रीमतीका साथ पाइरहेका छन् । “विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ”, खत्रीले भने, “अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।” उनले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए ।

घाँखखेती गर्नका लागि उनले कतैबाट पनि अनुदान लिएका छैनन् । “अनुदानले मानिसलाई परनिर्भर गराउँछ”, उनी भन्छन्, “ सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।”

जग्गाको भाडामात्र वार्षिक एक लाख बुझाउने उनले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताए।

आइडा-२१ बैठक काठमाडौंमा सुरु, औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

काठमाडौँमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडा)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै प्रधानमन्त्रीले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनुपर्ने बताए ।

‘स्रोत, प्रविधि र लगानीको न्यायसङ्गत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धधन गर्न सकिन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘ती राष्ट्रहरूलाई माथि उठाउनेमात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।’

समावेशी आर्थिक विकासका लागि गरिएका एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमा, व्यापारघाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको बताए ।

उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अतिकमविकसित मुलुकबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे ।

‘मानव पुँजी, स्वास्थ्य र शिक्षाको गुणस्तरमा विकासमा वित्तीय स्रोत परिचालन गर्नुपर्नेछ । त्यसैगरी गुणस्तरीय पूर्वाधार एवं जनताको जीवनस्तर परिवर्तन गर्नु नै हाम्रो प्राथमिकता हो’, प्रधानमन्त्री दाहालले भने, ‘डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई हामीले जोड दिँदै आएका छौँ ।’

जलवायु परिवर्तनले समस्या न्यूनीकरण, कमजोर र साना अर्थतन्त्र भएका मुलुकलाई सहयोग गर्ने खाद्य सुरक्षा सुनिश्चित गर्ने विषयलाई प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।

आइडा–२१ बैठकले आगामी तीन वर्षका लागि नीतिगत प्राथमिकताहरू र परिणामको खाकामा दाताहरू र ऋणीहरूबीच बलियो सहमति निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विद्यमान समयमा देखापरेका अभूतपूर्व सङ्कटहरूलाई सम्बोधन गर्न उच्चस्तर प्रतिज्ञा गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘नेपालसहित आइडिए प्राप्तकर्ता देशहरू यसको बृहत् प्रभाव देख्न चाहन्छ र हामी यी स्रोतहरूको महत्त्वपूर्ण क्षमतामा महसुस गर्न चाहन्छौँ ।’

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताए ।

नेपालजस्ता अल्पविकसित देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले भने, ‘हामी धेरै सङ्कटहरूमा संवेदनशील छौँ र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ ।’ प्रधानमन्त्रीले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट असमान रूपमा प्रभावित भएको बताए ।

‘हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानीको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ’, प्रधानमन्त्री दाहालले भने ।

उनले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीजस्ता कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए ।

राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले एसियाका दुई ठूला अर्थतन्त्रहरू बीचमा रहेको नेपाल प्रचुर जलविद्युत् स्रोत, पर्यटन र कृषि व्यवसाय क्षेत्र एवं मेहनती युवा जनसङ्ख्याजस्ता सबल अवस्थामा रहेको स्पष्ट पारे ।

नेपालको महत्त्वपूर्ण विकास साझेदारका रूपमा आइडा छ दशकदेखि रहेको र २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा ठूलो वित्तीय स्रोत परिचालन गरेको प्रधानमन्त्री दाहालले स्मरण गरे ।

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग आइडाले वित्तीय स्रोत परिचालनका लागि दाता र लाभग्राही देशबीच मध्यस्थता गरिरहेको बताए । “यो बैठकले आइडाको स्रोत परिचालनका लागि मार्गदर्शन गर्नेछ । यो बैठकले अहिलेका लागि नभई अबको दशकका लागि कसरी योजनाबद्ध ढङ्गले अघि बढ्ने भन्ने तय गर्नेछ”, उनले भने ।

व्यवसायी सङ्गीता श्रेष्ठले नेपाल भौगोलिक, सांस्कृतिक, पर्यावरणीय रूपमा धनी हुनुका बाबजुद विभिन्न खालका प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका असरको निकै ठूलो जोखिममा रहेको बताइन् । उनले यो बैठकमा विकास साझेदार र नीति निर्माता एकै ठाउँमा बसेर जोखिममा रहेका नेपालजस्ता देशहरूको दिगो विकासका लागि सहज र प्रभावकारी वित्तीय स्रोत परिचालनका लागि आग्रह गरिन् ।

यही असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने आइडा–२१ बैठकमा विश्व बैंकका उच्चपदस्थ अधिकारीहरू ६१ भन्दा देशका करिब दुई सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

युरोकपमा फ्रान्सको विजयी सुरुवात

काठमाडौँ । अष्ट्रियाको आत्मघाती गोलले युरो कप–२०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ । आत्मघाती गोलमा फ्रान्स विजयी भएको हो। म्याक्सिमिलेन वेबरले पहिलो हाफको ३८ औं मिनेटमा गरेको आत्मघाती गोल नै खेलको निर्णायक बन्यो ।

खेलका दौरान नाकमा चोट लागेपछि कप्तान किलियन एमबाप्पे घाइते भए । त्यसअघि उपाधि दाबेदार मध्येको अर्को टोली बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग स्तब्ध भएको थियो।

समूह ई को त्यो खेलमा बेल्जियमले १–० को हार बेहोरेको हो । ईभान स्क्ररान्जले सातौं मिनेटमा गरेको गोलमा स्लोभाकिया विजयी भएको हो।रोबर्ट बोजेनिकको शक्तिशाली प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि रिबाउन्डमा स्क्ररान्जले सहज गोल गरेका थिए । बेल्जियमले खेलमा निकै अवसरहरू सिर्जना गर्यो।

बेल्जियमले दुई पटक गरेको गोल मान्य भएन। दुवै पटक रोमेलु लुकाकुले गरेको गोल भीएआरले अमान्य गरेको थियो । ५६औं मिनेटमा लुकाकु अफसाइड भएपछि गोलले मान्यता पाएन भने ८६औं मिनेटमा लुइस ओपेन्डाले ह्याण्डबल गरेपछि गोल अमान्य भएको थियो । सोही समूहको अर्को खेलमा रोमानियाले युक्रेनमाथि ३–० को जित निकालेको थियो।

न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । गएराति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी) भिडेका थिए ।

न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जितका साथ यात्रा समाप्त गरेको हो । पहिला खेलेको पपुवा न्युगिनीको पूरै टोलीले १९.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो, जवाफमा न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीका दुवै ओपनर सस्तैमा आउट भएका थिए । टोनी उराले मात्र १ रन बनाए भने कप्तान असद भाला १६ बलमा ६ रन बनाएर पभेलियन फर्किए ।

चार्ल्स अमिनी र सेसे बाउको जोडीले स्कोर ४० भन्दा माथि पुर्याए पनि १७ रनको व्यक्तिगत स्कोरमा अमिनी आउट हुनेबित्तिकै विकेट झर्ने क्रम सुरु भयो । त्यसपछि केही समयमै स्कोर ५६ रन पुग्दा ६ विकेट गुम्यो ।

त्यसपछि पनि ब्याट्सम्यान टिक्न सकेनन् र एकपछि अर्को गर्दै आउट हुँदै गए । यसरी पपुवा न्युगिनीको इनिङ्स अन्तिम ओभरमा सामान्य स्कोरमा समाप्त भयो । न्यूजिल्याण्डका लागि, लोकी फर्गुसनले सबैभन्दा बढी तीन विकेट लिए र टी–२० विश्वकपमा चार मेडेन ओभर बलिङ गर्ने पहिलो बलर पनि बने ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात पनि खराब रह्यो । ओपनर फिन एलन इनिङ्सको दोस्रो बलमा खाता खोल्न नसकेर आउट भए । रचिन रविन्द्रले पनि ६ रन बनाएर आउट भए । कप्तान केन विलियम्सन सँगसँगै डेभन कोनवेले स्कोरलाई ५० भन्दा माथि पुर्याए । तर उनी पनि ३२ बलमा ३५ रन बनाएर आउट भए ।

उनले तीन छक्का र दुई चौका प्रहार गरे । त्यसपछि विलियम्सन र ड्यारिल मिचेलले न्युजिल्याण्डलाई सहजै १३ ओभरमा जित दिलाए । विलियम्सनले १८ तथा मिचेलले १९ रनको नटआउट पारि खेलेका थिए । पपुवा न्युगिनीका लागि काबुवा मोरीले सर्वाधिक २ विकेट लिए ।

समूह सी मा परेको न्युजिल्याण्डको टोली खेल अघि नै सुपर ८ को दौडबाट बाहिर थियो । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगेका छन् भने न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी यसअघि नै पहिलो चरणबाटै बाहिरिएका छन् ।

यसैबीच, न्युजिल्याण्डको स्टार बलर ट्रेन्ट बोल्टले क्रिकेटबाट सन्यास लिएका छन् । यसअघि नै सन्यसा घोषणा गरेको बोल्टले पीएनजीविरुद्ध अन्तिम टी–२० खेलेका हुन् ।

बायाँ हाते तीब्र गतिका बलर बोल्टले न्युजिल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टबाट धेरै अघि नै आफूलाई अलग गरेका थिए । तर पनि उनी गत वर्षको एकदिवसीय विश्वकप र यस वर्षको टी–२० विश्वकपमा खेलेका थिए । हालै उनले टी–२० विश्वकपमा अन्तिम पटक देखिने घोषणा गरेका थिए । टूर्नामेंटको आफ्नो अन्तिम खेलमा, बोल्टले पपुवा न्यू गिनी विरुद्ध ४ ओभरमा १४ रन दिएर २ विकेट लिए । उनले पीएनजीका हिरी हिरी र नर्मन भानुवालाई पभेलियन पठाएका थिए ।

इटालीमा दुईवटा  पानी जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले बताएका छन् ।

लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल १० शव फेला पारेको जर्मन सहायता समूह रेसक्यूशिपले सामाजिक सञ्जाल एक्समा बताएको छ ।

‘रेसक्यूशिपको जहाज, नाडिरमा सवार चालक दलले हाल जहाजमा ५१ जनाको हेरचाह गरिरहेको,’ जर्मन परोपकारी संस्थाले भनेको छ, ‘पानीले भरिएको काठको डुङ्गामा जम्मा ६१ जना सवार थिए । हाम्रो टोलीले ५१ जनालाई बाहिर निकाल्न सफल भयो, तीमध्ये दुईजना बेहोस थिए । मृतक १० जना डुङ्गाको तल्लो डेकमा रहेका छन ।’

यसैबीच इटालीको तटरक्षकले छुट्टै जहाज दुर्घटनापछि क्यालाब्रियामा मानिसहरूको खोजी गरिरहेको बताएको छ । बाँचेका अनुसार ६० जना आप्रवासी बेपत्ता भएको मिडिया रिपोर्टले जनाएको छ ।

गत रातिदेखि सम्भावितरूपमा टर्कीएबाट प्रस्थान गरेका आप्रवासीहरूसहितको डुङ्गाको जहाज दुर्घटनापछि सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको तटरक्षकले बताएको छ ।

इटालीको तटबाट टाढा जाँदै गरएको फ्रान्सेली डुङ्गाबाट ‘मेडे’पछि उद्धार प्रयासहरू सुरु भएको छ तटरक्षकले बताएको छ ।

फ्रान्सेली जहाजले १२ जना जीवित आप्रवासीहरूलाई जहाजमा लिनुअघि अधिकारीहरूलाई ‘आधा डुबेको डुङ्गाको उपस्थिति’ बारे सचेत गराएको थियो ।

त्यसपछि उनीहरूलाई इटालियन तटरक्षक डुङ्गामा स्थानान्तरण गरियो । उक्त डुङ्गले उनीहरूलाई दक्षिणी इटालीको रोसेला आयोनिका सहरमा लग्यो । तटरक्षकका अनुसार बाँचेका १२ मध्ये एकको तल ओर्लिएपछि मृत्यु भएको छ ।

एएनएसए समाचार एजेन्सीका अनुसार जहाज डुबेपछि करिब ५० आप्रवासी बेपत्ता भएका थिए । यद्यपि रेडियो रेडिकेलले यो सङ्ख्या ६४ रहेको बताएको छ । उसले समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताएको छ ।

भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै

काठमाडौँ । पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ ।

विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए ।उनले भने, “भिजिट भिसा देखाएर श्रम (कामदार) का लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, अहिलेसम्म त्यस्ता करिब पाँच सयभन्दा बढी फिर्ता गरिएको छ । आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन ।”संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले उक्त मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए ।

नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्ने जर्मनीका राष्ट्रपति फ्रयाङ्कको वचन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको छ ।

 भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्वपरिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै उनले सोसियलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ अलायन्सजस्ता संस्था सामाजिक न्याय, मानवअधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए ।

“दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास  गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनीलगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिइ नेपालको आर्थिक विकासको आकाङ्क्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी उनले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले जलवायुसम्बन्धी हानिनोक्सानी कोषमा गरेको सहयोग प्रतिबद्धतालाई स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार,  लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दामा दुई देशबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताएका  थिए ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसका लागि नेपाललाई स्रोतसाधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीव्र पार्नु, पर्यटनका सम्भावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु रहेको उनले बताएका थिए ।

“नेपालको आर्थिक विकासका लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भने ।

उनले बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनःस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए । उनले युक्रेनमा झुक्याएर पुर्याइएका नेपालीलाई छुटाउन पहलका लागि पनि आग्रह गरेका थिए ।

नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले गत महिना काठमाडौँमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे । “नेपाल सरकार जर्मन लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भने ।

हालैका वर्षमा जर्मनी नेपाली युवाका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यका रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकाले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुद हुने उहाँले विश्वास व्यक्त गरेका थिए ।  

उनले नेपाल वायु सेवालाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त गरेको पनि पोखरेलले जानकारी दिए ।

सो अवसरमा जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासका लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएको उनको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भीर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गरेका थिए ।

साथै उनले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसङ्घका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गरे ।

जर्मनीका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारो बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताएका थिए । साथै उनले नेपाली हवाई कम्पनीलाई युरोपेली सङ्घको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यसपटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको बताए । दुईपक्षीय भेटवार्ता अघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि जर्मनीको औपचारिक भ्रमणमा गएका  हुन् । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका थिए ।

बाङ्गियो धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर

 खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।

वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताए ।

धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिए । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको ७ वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।

रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ ।

निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् ।

भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल रु ५० करोड १४ लाख ६० हजार लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन् ।

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

मलेखु (धादिङ ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए । 


प्रेस चौतारी नेपाल धादिङले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने बताए ।


उनले भने, ‘वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।’


सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको महासचिव पोखलेको भनाइ छ । 


‘सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था छैन ।’


‘कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरुको खोजी चाहिँ होइन’, उनले भने, ‘अर्काे समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।’

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार उनीहरुलाई दीक्षित गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित थिए । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन् ।

स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् ।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।

कर प्रणाली सुधार गर्नसके करिब तीन खर्ब राजस्व थपिने

काठमाडौँ  । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने देखाएको छ । 

विभिन्न वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानी गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर लगाइनुपर्ने, सामाजिक सुरक्षा करमा परिमार्जन गर्नुपर्ने, नगद भुक्तानीको सीमा घटाएर डिजिटल भुक्तानीको सीमा बढाइनुपर्नेलगायत सुझाव समितिले दिएको हो ।

सरकारको विसं २०८० भदौ २९ गतेको निर्णयानुसार विद्याधर मल्लिकको अध्यक्षतामा गठन भएको चार सदस्यीय समितिले गत फागुनमा प्रतिवेदन बुझाएको थियो । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको  प्रतिवेदनअनुसार कर प्रणाली सुधारका लागि स्थायी बोर्ड गठन, प्रभावकारी न्याय निरुपण संयन्त्र निर्माण, विभिन्न कानुनी, नीतिगत तथा प्रक्रियागत सुधारलगायत सुझाव आएका छन् । 

कर प्रणाली सुधारका लागि सिफारिस गरिएका सुझावको प्रभावकारी कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा एक कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको छ ।

समितिले तयार पारेको कार्ययोजनामा उल्लिखित सुधारहरू कार्यान्वयन हुन सकेमा कर प्रणालीमा सुधार भई सरकारले प्रक्षेपण गरेको भन्दा करिब दुई खर्ब ९१ अर्ब थप राजस्व सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ । समितिमा लक्ष्मण अर्याल, प्रा डा रामप्रसाद ज्ञवाली र श्यामप्रसाद दाहाल सदस्य थिए ।

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिका अध्यक्ष विद्याधर मल्लिक पर्याप्त अध्ययन र क्षेत्रगत रुपमा हिसाब गरेरै करिब तीन खर्बको राजस्व थप गर्न सकिने सम्भावना प्रतिवेदनमा राखिएको बताउँछन् । 

“आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, भन्सारलगायतका कुन क्षेत्रमा कति राजस्व उठाउन सक्ने सम्भावना छ भनेर हिसाब गरेरै यो तथ्याङ्क राखिएको हो”, अध्यक्ष मल्लिक भन्छन्, “विभिन्न कर छुट खारेज गरिनुपर्ने सुझाव समितिले दिएको छ । यो कठिन कार्य भएपनि असम्भव होइन ।”

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको बुँदा नम्बर तीन सय १९ मा कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै लगिने उल्लेख छ । सरकारको यो प्रतिवद्धताले ढिलो चाँडो प्रतिवेदन कार्यान्वयन हुनेमा आफू आशावादी रहेको अध्यक्ष मल्लिक बताउँछन् । 

“प्रतिवेदनले दिएका सुझाव एकैपटक कार्यान्वयनमा लैजानुपर्छ भन्ने पनि होइन । सरकारले कार्यान्वयन गर्छु भनेको छ । तीनदेखि पाँच वर्षभित्र कार्यान्वयन गर्नसके राम्रो नतिजा देखिन्छ”, उनले भनिन् ।

समितिका सदस्य एवम् पूर्व सचिव लक्ष्मण अर्याल प्रतिवेदनमार्फत् दिइएका सुझाव कार्यान्वयन गर्न सके तत्काल करिब तीन खर्ब थपिने दाबी गर्छन् । “यो प्रतिवेदन कार्यान्वयनमा गयो भने अहिलेकै अवस्थामा करिब तीन खर्ब राजस्व थपिने देखिएको छ । दीर्घकालमा अझ बढी थपिन्छ । त्यो कसरी र कहाँबाट सम्भव छ भनेर प्रतिवेदनमा स्पष्टरुपमा उल्लेख छ”, उनले भने । 

प्रतिवेदन कार्यान्वयनका लागि राजस्व सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण तथा अनुगमन इकाई स्थापना गर्ने प्रस्ताव समितिले गरेको भए पनि सरकारले यस्तो संयन्त्र हालसम्म बनाइसकेको छैन ।

त्यस्तै, स्थायी प्रकृतिको स्वायत्त राजस्व बोर्ड गठन गर्ने, करसम्बन्धि न्यायिक निरुपणका लागि छुट्टै संयन्त्र स्थापना गर्नुपर्ने, कर प्रशासनसँग सम्बन्धित कामहरु राजस्व समूहका कर्मचारीमार्फत् गर्नेलगायतका सुझाव समितिले दिएको छ । 

नेपालको भ्याटको दर विश्वको औसत भ्याटदर भन्दा कम भए पनि आगामी पाँच वर्षसम्म यो एकल दरलाई स्थिर राख्ने एवं कर छुटको अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी कर छुट हटाई कराधारको विस्तार गरिनुपर्ने सुझाव समितिले दिएको छ ।

हाल भ्याटमा कूल कर छुट करिब रु दुई खर्ब बराबर देखिएकोले तत्कालै समयवद्ध रुपमा कर छुटको प्रणालीलाई न्यून करका दर र केही वस्तु तथा सेवामा कर खर्च प्रणालीमा लैजाने व्यवस्था गरिनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

“अबको पाँच वर्षभित्रमा सबै प्रकारका कर छुटका प्रबन्ध खारेज गर्नुपर्दछ । प्राकृतिक विपत्ति, महामारी, काबु बाहिरको परिस्थिति सिर्जना भएमा र समष्टिगत आर्थिक सङ्कटहरू देखिएको अवस्थामा मात्र सरकारले कानुन बनाएर कर छुट दिनसक्ने गरी व्यवस्था गर्ने र हाल अभ्यासमा रहेका आर्थिक ऐनबाट दिइने सबै प्रकारका राजस्व छुटको व्यवस्थालाई हटाउनु पर्दछ”, प्रतिवेदनमा भनिएको छ ।

स्वास्थ्य तथा वातावरणलाई हानी तथा प्रकृतिजन्य वस्तुको संरक्षणका लागि अन्तःशुल्क वृद्धि गर्ने र अन्य वस्तुमा लागेको अन्तःशुल्क क्रमशः हटाउँदै जाने नीति लिइनुपर्ने सुझाव समितिको छ ।

कार्बन उत्सर्जन गर्ने, अतिरिक्त अन्तःशुल्क लाग्ने वस्तु तथा सेवामा हरित करको अवधारणा बमोजिम प्रणालीको विकास गर्ने र अन्तःशुल्क लागेका वस्तुलाई हरित करको क्षेत्रमा लैजानुपर्ने सुझाव छ । आर्थिक विधेयक २०८१ मार्फत् सरकारले पेट्रोलियम तथा कोइलाजन्य वस्तुको आयातमा हरित कर लगाउन सुरु गरिसकेको छ ।

मुलुकको आर्थिक अवस्थामा सुधार आएसँगै आयकरका दर घटाउन पनि समितिले सुझाव दिएको छ । “संस्थागत आयकरको दरलाई प्रत्येक वर्ष एक प्रतिशतले कम गरी हालको २५ प्रतिशतबाट २० प्रतिशतमा ल्याई १० वर्षको लागि यो करको दर स्थिर राख्ने नीति घोषणा गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ, “व्यक्तिगत आयकरका तीनवटा दर कायम गर्नेगरी पुनरावलोकन गर्ने र व्यक्तिगत आयकरको अतिरिक्त कर (सरचार्ज) समेतको दर संस्थागत आयकरको दर भन्दा पाँच विन्दुले मात्र बढी कायम गर्नुपर्ने देखिन्छ ।”

मदिरा तथा सुर्तिजन्य र बैंक तथा वित्तीय संस्थालाई तोकिएको ३० प्रतिशतको संस्थागत करको दरलाई यथावत राखी यस वर्गमा रहेका अन्यको हकमा क्रमशः २५ प्रतिशतको दर कायम गर्नुपर्ने सुझाव आएको छ । त्यस्तै, निर्यातमूलक व्यापार तथा व्यवसायलाई आयकरको दर १० प्रतिशत र अन्य सबै व्यवसायको संस्थागत आयकरको दर २० प्रतिशत कायम गरिनुपर्ने प्रतिवेदनमा जनाइएको छ । 

प्राकृतिक व्यक्तिको ५० लाख भन्दा माथिको ब्याज, लाभाङ्श र दीर्घकालीन पुँजीगत लाभमा कर क्रमशः १० प्रतिशत पुर्याउनुपर्ने निष्कर्ष समितिको छ ।

धितोपत्र खरिद विक्रीको लाभमा तीन सय ६५ दिनभन्दा बढी अवधिको लागि साढे सात प्रतिशत र सो भन्दा घटी अवधिको हितको निसर्गमा १० प्रतिशत करको दर कायम गरिनुपर्ने एवं कूल कारोबारको दुई प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न पनि सुझाव गरिएको छ ।

सामाजिक सुरक्षा करमा पनि परिमार्जन गर्न समितिले सरकारलाई सुझाव दिएको छ । “हाल कायम रहेको एक प्रतिशतको सामाजिक सुरक्षा करलाई खारेज गरी व्यक्तिगत करयोग्य आयमा छुट बापतको रकम घटाइ सुरुको १० वर्षसम्म तीन प्रतिशतबाट सुरु गरी त्यसपछि क्रमशः यसलाई पाँच प्रतिशतको दरले सामाजिक सुरक्षा योगदान कर लगाई दिगो रुपमा सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्दछ”, प्रतिवेदनमा भनिएको छ ।

     लगानीमैत्री कर प्रणाली, करको आधार एवं दायराको विस्तार र राष्ट्रिय कराधारको संरक्षणका लागि नेपालको कर प्रणालीमा सुधारको खाँचो औंँल्याइएको छ ।

“करका दर, कानुनी प्रबन्ध र कर प्रणालीका प्रक्रियागत व्यवस्थामा नीतिगत स्थिरता दिनुपर्ने देखिन्छ”, प्रतिवेदनमा उल्लेख गरिएको छ, “समानता कायम गर्ने, उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने कर नीतिको प्रमुख लक्ष्य निर्धारण गरी तदनुकूल सङ्घीय राजस्व नीति र दीर्घकालीन कर सुधारको समयबद्ध कार्य योजना बनाइ कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।”

अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा सुधार तथा कर तटस्थताको सिद्धान्तलाई अनुपालन गर्न पनि सरकारलाई सुझाव दिइएको छ । घरजग्गा, शेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री एवं सम्पत्ति निसर्ग बमोजिमको वार्षिक कारोबार अङ्ग तथा कारोबारको पटक सङ्ख्याको सीमा निर्धारण गरी त्यस्तो बिक्री/निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मानी करारोपण गर्न र प्राकृतिक व्यक्तिले वार्षिक  ४० लाख भन्दाबढीको आयको अनिवार्य रुपमा आयविवरण दिने व्यवस्थाको अनुपालनामा जोड दिन सुझाव गरिएको छ ।
  
विद्यमान ११ तहको भन्सार दरलाई छ तहमा झार्ने र त्यसपछिका वर्षमा तीन चरणमा गरी शून्य, १० र २० स्लाबहरूमा सीमित राख्नुपर्ने समितिको सुझाव छ ।

सार्वजनिक संस्थानले जगेडा राख्नुपर्ने वैधानिक कोषको लागि आवश्यक रकम छुट्याइ बाँकी सबै रकम लाभाङ्श आयको रूपमा नेपाल सरकारले प्राप्त गर्न व्यवस्था मिलाउन पनि सरकारलाई समितिले सुझाएको छ ।

डिजिटल अर्थतन्त्रको विस्तार र यस क्षेत्रमा कराधारको विस्तारमा ध्यान दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “नेपाली कम्पनीले सफ्टवेयरलगायत विद्युतीय सेवा विदेशमा निर्यात गरेमा त्यस्तो कारोबारको आयमा आगामी दश वर्ष सम्मलाई निकासी सरहको दर कायम गर्ने, विदेशमा रहेका नेपालीले विकास गरेका सफ्टवेयर आदिको खरिदमा सरकारले प्राथमिकता दिने व्यवस्था गर्ने र विद्युतीय माध्यमबाट सिधैँ वस्तु तथा सेवाको आपूर्ति गर्ने गैर बासिन्दालाई नेपालमा अनिवार्य दर्ता गर्नुपर्ने प्रबन्ध मिलाउनुपर्दछ”, समितिको सुझावमा भनिएको छ, “विद्युतीय लाग्ने कर, मूल्य अभिवृद्धि कर र सूचना प्रवाहको आयतनको आधारमा विद्युतीय डाटा कर लगाउन र यस क्षेत्रमा लाग्दै आएको मौजुदा करको पुनःसंरचना गर्नुपर्दछ । अन्तर्राष्ट्रिय भुक्तानी गेट–वे प्रणालीलाई सहज बनाउने र मोबाइल वालेट तथा फोन पेको अधिकतम सीमा तत्कालै बढाइनुपर्छ ।”
     
अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन भुक्तानी कार्ड, विद्युतीय माध्यम र चेकबाट गरिने भुक्तानीलाई प्रोत्साहित गरी नगद भुक्तानी क्रमशः घटाउँदै लान भनिएको छ ।

“हालको दश लाखसम्मको नगद भुक्तानी गर्न पाउने रकमको सीमालाई पाँच लाखमा ल्याउनुपर्दछ । साथै, बैंकिङ कारोबारलाई प्रबद्र्धन गर्ने र बैंक खातामा अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिने गरी प्रबन्ध गर्नुपर्दछ”, सुझावमा भनिएको छ ।

कर प्रणालीको सुधार र सक्षमताको लागि राजस्व संरचना र प्रणालीमा तत्काल आवश्यकता टड्कारो रूपमा देखिएको सन्दर्भमा सङ्घीय राजस्व बोर्डको गठनको प्रक्रिया थाल्न ढिला भइसकेको समितिले औँल्याइएको छ । करदाता र सरकार दुवैकोहित संरक्षण गर्न सक्ने गरी कर विवादको स्थायी समाधान गर्ने संयन्त्रको स्थापना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

काठमाडौँ ।  मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको  पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिइन् ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन् ।

आर्थिक सङ्कटको चरम अवस्थामा पुगेको श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत

श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ । जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत सङकुचन थियो ।

ब्लूमबर्ग न्यूजको सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो ।

उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए ।

सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनीय भएको उनले बताए ।

आधिकारिक तथ्याङ्कले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।

सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ ।

गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्कालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । श्रीलङ्का सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक सङ्कटमा परेको थियो ।

सन् २०२२ मा आर्थिक सङ्कटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्कामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको थियो ।

यसैको परिणामस्वरूप सुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न उदार ऊर्जा अनुदान फिर्ता लिनुभएको थियो भने करलाई दोब्बर बनाई राज्यको राजस्व बढाउन वस्तुहरूको मूल्य बढाएका थिए ।

गैरकानुनी रूपमा हिरासतमा राखिएका कैदी बालबालिका र नागरिक फिर्ता गर्न जेलेन्स्कीको माग

स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताएका छन् ।

युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही प्रमुख शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्न अस्वीकार गरेका थिए ।

युद्धबन्दीको आदानप्रदानद्वारा सबैलाई रिहा गरिनुपर्ने, निर्वासित र गैरकानुनी रूपमा विस्थापित युक्रेनी बालबालिका, र हिरासतमा राखिएका सबै युक्रेनी नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्ने सम्मेलनपछि पत्रकारसँगको कुराकानीमा उनले बताए ।

आणविक सुविधाहरू सुरक्षित गरिनुपर्ने र जापोरिज्झयालगायतका आणविक संयन्त्रहरू युक्रेनको नियन्त्रणमा हुनुपर्ने पनि उनले बताए ।

युक्रेनले ब्ल्याक र अजोभ सीमा व्यापारिक जहाज र नागरिक बन्दरगाह पूर्वाधारमा भएका आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ । उनले खाद्य सुरक्षालाई युद्धमा हतियारको रूपमा प्रयोग नगर्न पनि जोड दिए ।

भारत, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सलगायत ब्रिक्स आर्थिक समूहका सदस्यको रूपमा रुससँग व्यापारिक सम्बन्ध भएकाहरु बैठकमा सहभागी भएपनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न सहमत भएनन् ।

जुन १५ र १६ मा सञ्चालित शान्ति शिखर सम्मेलनमा रूसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिन ९२ देश र सङ्गठनका प्रतिनिधि भेला भएका थिए भने रूसलाई निमन्त्रणा गरिएको थिएन । चीन शिखर सम्मेलनबाट बाहिरिएको थियो ।

न्युजिल्याण्डमा इन्जिनमा आगो लागेपनि विमानको सकुशल अवतरण

अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासी अवतरण गराउनुपरेको हो ।

क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अष्ट्रेलिया बोइङ ७३७–८०० जेट विमान न्युजिल्याण्डको इन्भरकार्गिल शहरमा अवतरण गरिएको हो ।

क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरीन निन्डका अनुसार विमानमा सवार यात्रुको सङ्ख्या र इन्जिनमा आगलागी हुनुको कारण तत्काल थाहा हुन सकेको छैन ।

भर्जिन अष्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो घटना विमानमा ‘चरा ठाक्किएपछि’ भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

करिब ५३ हजार जनसङ्ख्या रहेको क्विन्सटाउन न्युजिल्यान्डको दक्षिणी टापूमा स्कीइङ, साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो ।

न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, “न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।”

चारा विमानको कुन भागमा ठोक्कियो, चराको आकार कस्तो थियो भन्ने कुरा यसको गम्भीरता फरक–फरक हुन्छ तर यसलाई विमान चालकको अनुभव र भनाइको आधारमा विश्लेषण गरिन्छ ।

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा सङ्घीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुङ्ग्याउने सहमति भएको  हो ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहान सबेरैदेखि राति अवेरसम्म काम गर्नेुपर्ने भएकाले संसद्को कार्यप्रकृति फरक रहने हुँदा कर्मचारीले गरेको श्रम अनुरुपको सेवा सुविधा समयानुकूल परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको जानकारी दिए ।

उनले भने, “पन्ध्र वर्षअघि निर्धारण गरिएका कतिपय सेवा सुविधा परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबै राजनीतिक दलबीच सहमति भएको छ ।” संसद् सञ्चालन गर्न सरकारले आवश्यक अर्थको प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै प्रमुख सचेतक लेखकले प्राप्त बजेटलाई संसद्ले पनि मितव्ययी ढङ्गले खर्च गर्न सुझाव दिए ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले उठाएका न्यायोचित माग पूरा गर्नुपर्छ भन्नेमा सबै दलबीच मतैक्यता भएको प्रतिक्रिया दिए ।

उनले भने, “न्यायोचित माग पूरा गर्न सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ । उपलब्ध सेवा सुविधालाई समयानुकूल तुल्याउनुपर्छ ।”

राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सचेतक गोपी अछामीले संसद् सेवामा कार्यरत राष्ट्र सेवक कर्मचारीले उठाएका आधारभूत माग अर्थ मन्त्रालयसँग छलफल गरी टुङग्याउनुपर्छ भन्नेबारे बैठकमा सबैको एउटै धारणा रहेको बताए ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासेले भने कर्मचारीका मागका सन्दर्भमा सभामुख, अध्यक्षसहितका पदाधिकारीसँग भएको प्रारम्भिक छलफलमा अर्थ मन्त्रालयसँग परामर्श गरी जानकारी गराउने भन्ने  सूचना मात्र प्राप्त भएकाले कुनै सहमति नभएको स्थितिमा आन्दोलन फिर्ता नभएको प्रतिक्रिया दिए ।

अतिरिक्त कामबापत्को प्रोत्साहन भत्ता दिइनुपर्नेेगायत ११बुँदे माग राखी युनियनले आन्दोलन गर्दै आएको छ । युनियनको हालको सबै माग सम्बोधन गराउन वार्षिक करिब  १० करोड थप व्ययभार लाग्ने अनुमान गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको डेढ दशकः प्राविधिक शिक्षामा जोड

महेन्द्रनगर  । महिनौँ दिनको आन्दोलन र सङ्घर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आज १४ वर्ष पूरा भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयको शिक्षा सेवा अहिले यहाँका नौवटै जिल्लामा विस्तार भएसँगै आर्थिक अवस्था न्यून भएका परिवारका विद्यार्थीले पनि रोजेको विषय घर आँगनमै अध्ययनसम्मको वातावरण बनेको छ।

महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित सुदूरपश्चिमका नौवटा जिल्लामा गरी १६ आङ्गिक क्याम्पस रहेको विश्वविद्यालय आगामी योजनामा एमबीबीएस, हर्बल साइन्स र बिएस्सी नर्सिङ्गसम्मको अध्ययन भित्र्याउने लक्ष्यसहित अघि बढेको छ।

कूल १७ हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका विद्यावारिधिसम्मको अध्ययन अहिले भइरहेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकृत सन्तोष विष्टले जानकारी दिए।

‘डडेल्धुरामा मेडिकल कलेज स्थापना भएर त्यहाँ विश्वविद्यालयले एमबीबीएस पढाउने विषय पनि अघि बढेको छ’, विष्टले भने, ‘अध्ययनका लागि अन्यत्र जाने क्रम मुलुकमै बढे पनि यहाँ न्यून आयस्रोत भएका परिवारका विद्यार्थीहरुले घर आँगनमै उच्च शिक्षा पाएका छन्।’

विसं २०६९ मा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो। विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। यहाँ अहिले मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इन्जिनियरिङ सङ्काय र कृषि विज्ञान सङ्कायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय स्थापनापछि सहज भएको विष्टको भनाइ छ। दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायत अन्य पहाडी जिल्लामा विश्वविद्यालयले सहज रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ।

कुनै समय भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमका नागरिकलाई निकै सकस थियो। त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिवर्तनसँगै अन्त्य हुँदै गएको छ।

विसं २०५० को सेरोफेरोमा कर्णालीयता महेन्द्र राजमार्गमा २२ पक्की पुल बनेपछि स्थलमार्गबाट मुलुकका अन्य भू–भागसित जोडिएको सुदूरपश्चिममा हरेक क्षेत्रको विकासले गति लिँदै गएको अवस्था हो। सुदूरपश्चिममा शिक्षा क्षेत्रमा भएको विकासले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको विश्वविद्यालयका पूर्वडिन डा टेकराज पन्तले बताए। उनले कुनै समय सुदूरपश्चिमेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नु परेको बताए।

विश्वविद्यालय सञ्चालन गर्नु कठिन विषय भएको जनाउँदै उनले आवश्यक जनशक्ति स्रोत अभाव हुने गरेको बताए।

‘सफल सञ्चालन हुन अझै बाँकी छ, आजको शिक्षा आवश्यकताको विषयमा ध्यान दिनुपर्ने देखिन्छ’, उनले भने, ‘आधुनिक शिक्षामा जोड दिनुपर्छ।’

उनले राष्ट्रका लागि आवश्यक पर्ने र आत्मनिर्भर बनाउने किसिमको शिक्षाको आवश्यकता रहेको बताए। शिक्षा पद्धतिबाट राष्ट्रलाई लाभ हुनसक्ने विषयमा थप पहल हुनुपर्ने डा पन्तको भनाइ छ। 

‘बोक्सीको घर’ ले मनायो ५१ औँ दिन

काठमाडौँ ।  यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी हुन् । स्वर चलचित्रमा उनी बाहेक प्रायः नयाँ कलाकार भएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनलाई गयो । 

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष आगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताइन् । उनले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए ।

“मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो । 

कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै बोक्सीको घर नामक नाटक हेर्नु । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गरेकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उनले स्मरण गरिन् ।  

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताइन् ।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन् । “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उहाँले सुरुमा अस्वीकार गर्नुभयो, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उनले भनिन् । 

उनी आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिन्छिन् । उनले चलचित्र सुरु हुनुअघि छ महिना प्रशिक्षण लिइन् । “यो पात्रलाई बाँच्नु थियो । त्यसैले मैले दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्रबारे कार्यशाला (वर्कशप) गर्थे । महिलाको यो कथालाई अगाडि ल्याउनु थियो । मलाई उक्त पात्रमा तयार गर्न निर्देशकले निकै मेहनत गर्नुभएको छ”, अभिनेत्री अधिकारीले भनिन् । 

प्रायः नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उनी अवगत छिन् । उनले पनि यस्तै भूमिका निर्वाह गर्दै आएकी छन् । अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनु पर्छ भन्नेमा उनी स्पष्ट थिइन् । 

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निभाएका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यहीकारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै राख्यौँ”, अभिनेत्री अधिकारीले भनिन्, “कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । नाटकघरमा नाटक मञ्चन हुँदा व्यावसायिक दबाब कम हुन्छ । चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ ।”

कोरोना महामारी पश्चात् नाटकबाट चलचित्र बनेको ‘पानीफोटो’ र ‘डिग्री माइला’लाई दर्शकले साथ दिए पनि ‘बोक्सीको घर’ भने चलचित्रको भाषामा ‘ब्लकबष्टर’ नै भएको अधिकारीको भनाइ छ ।