`

नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गरिने

 काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ ।

मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।

समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।

मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदी ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएमा सोको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।

‘हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरेका थियौँ, तर वर्षा सुरु नभएकाले बन्द गरेनौँ’, उनले भने, ‘यदि अचनाक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा पनि हामी बन्द गर्ने छौँ।’

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।

‘हामीलाई परामर्शदाता र एसियाली विकास बैंकले मेलम्ची बन्द गर्नुपर्छ, नभए आयोजनालाई मनसुनी विपत्तीले क्षति गर्छ भन्दै आउनुभएको छ’, कार्यकारी निर्देशक लामिछानेले भभने, ‘अब ठूलो वर्षा सुरु भएर मेलम्ची खोला धमिलो हुन थालेपछि आयोजना जोगाउन पनि बन्द गर्नुपर्छ, आयोजना जुनसुकै बेला पनि बन्द गर्नका लागि हामी तयारीमा छौँ ।’ ठूलो वर्षा नहुञ्जेल आयोजनाको पानी उपभोक्तालाई वितरण गरिराख्ने उनले जानकारी दिए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ भने यसले बाढीपहिरोलगायत मनसुनजन्य घटना बढ्नसक्ने भन्दै समयमा नै सतर्कता अपनाउन सरोकार भएकालाई अनुरोध गरिरहेको छ ।

ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैबाट पेट्रोल पम्प खुल्ने

काठमाडौ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएपछि रोकिएको पेट्रोलियम पदार्थको ढुवानी आजैबाट सुरु हुने भएको छ । निगमसंगको सहमति पछि बिभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिने भएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघ आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सहमत भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । ट्याङकर चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापन लगायत ७ बुँदे माग राखेर थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

सरकार र आन्दोलनरत ट्यांकर चालक संघबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएका जानकारी दिए । सहमति भएसँगै पेट्रोलियम पदार्थको ढुवानी सुरु हुने उनले बताए

चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए । ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।

कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

दमक (झापा) । कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।

प्रदेशका कूल एक सय ७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यो कार्यक्रम प्रत्येक पालिकाका एक/एक विद्यालयमा सञ्चालन गर्न ल्याइएको थियो ।

तर पछिल्लो समय एक हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था छ । यो व्यवस्थासँगै धेरै विद्यालयबाट यो कार्यक्रम माग भई आएको उनी बताउँछन् ।

चालु आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न १३ विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिए । यसअघि एक सय ६० विद्यालयमा मात्रै रहेको नर्सिङ सेवा कार्यक्रम चालु आर्थिक वर्षदेखिनै एक सय ७३ विद्यालयमा लागू गरिएको उनको भनाइ छ ।

प्रमुख बस्नेतले भने, “यही आर्थिक वर्षभित्र कोशी प्रदेशका एक सय ७३ विद्यालयमा यो कार्यक्रम लागू हुँदैछ । माग आउने क्रम बढ्दै गएको छ ।”

विद्यालयमा विशेष गरी किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गरेर विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिएको र यसको सकारात्मक प्रभाव परेको प्रमुख बस्नेतको भनाइ छ ।

यससँगै अस्वस्थकर र स्वास्थ्यमा असर पुग्ने खानेकुराको लत लाग्नबाट जोगाउन र विद्यार्थीमार्फत समुदायमा जनचेतनाका कार्यक्रम चलाउन विद्यालय नर्सिङ कार्यक्रमबाट मद्दत पुगेको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने गरिएको छ । झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविमा नर्सिङ सेवासँगै स्वास्थ्य इकाइको नेतृत्व गरिरहेकी नर्स मुना अधिकारीले नर्सिङ कार्यक्रमका अतिरिक्त स्वास्थ्य चेतनासम्बन्धिका अन्य जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको बताइन् ।

स्वास्थ्य सम्बन्धिका राष्ट्रिय दिवसका सन्दर्भमूलक कार्यक्रम, बालबालिकालाई लगाइने खोपलगायतका स्वास्थ्य कार्यक्रमलाई लक्षित गरेर विद्यालय तहमा पनि विभिन्न कार्यक्रम गर्ने गरिआएको उनले स्पष्ट पारिन् । उक्त विद्यालय सो कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो हो ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराको लेखाजोखा, नियमित स्वास्थ जाँच, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकालाई स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराउने कार्यनियमित रुपमा हुदैआएका छन् ।

मङ्गलमय माविका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले नर्सिङ सेवाका माध्यमबाट विशेष गरी किशोरीलाई पर्ने स्वास्थ्य समस्या समाधान गर्न सहज भएको उल्लेख गरे । यो कार्यक्रमबाट विद्यार्थीको नियमित स्वास्थ्य जाँच मात्र नभएर विषयगत पठनपाठनमा समेत फाइदा पुगेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डको दावी– ‘तेस्रो कार्यकालमा सुशासन,सामाजिक न्याय र समृद्धिको नेतृत्वको गरिरहेको छु’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तेश्रो कार्यकालमा आफुले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको बताएका छन् । सोमबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दोश्रो कार्यकालमा संविधान कार्यान्वयनको मौका पाएको भन्दै तेश्रो कार्यकालमा आफुले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको बताएका हुन् ।

उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह समेत गरे ।उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे । उनले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै उनले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने धारणा राखे । प्रधानमन्त्री प्रचण्डले विकसित देशका उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ

अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली किआङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।

सन् २०१७ पछि भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारीका रूपमा लीले आफ्नो अष्ट्रेलिया भ्रमणले सम्बन्ध सुधार र स्थिर विकासको सही बाटोमा रहेको बताए ।

उनले अस्ट्रेलियाली नागरिकलाई चीनमा सीमित भिसामुक्त पहुँच प्रदान गर्ने शाखाको पनि प्रस्ताव गरे ।

“हामी सधैँ सहमत हुने छैनौँ, र यदि हामी असहमत भएका बिन्दुलाई मौन छोड्छौं भने त्यो समाधानको बाटो हुनेछैन,” अल्बानिजले भने ।

‘आपसी सम्मान, मतभेद र पारस्परिक फाइदाजनक सहयोगलाई त्यागेर साझा आधार खोज्नु’ सम्बन्धका लागि महत्वपूर्ण भएको चिनियाँ प्रधानमन्त्री लीले आफ्नो अष्ट्रेलिया भ्रमणको सुरुमा बताए ।

लीको चार दिने भ्रमणले प्रमुख अष्ट्रेलियाली निर्यातको श्रृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अष्ट्रेलियन डलर (२१६ अर्ब डलर) पुगेको थियो ।

सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कुटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाइका मासुकासाथै वाइनको निर्यातमा समस्या भएको थियो ।

ती प्रतिबन्धहरूले अष्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अष्ट्रेलियाली डलर (१३ अर्ब अमेरिकी डलर) घाटा लागेको थियो ।

भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएका छन् ।

दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापानी रेलवे स्टेसन नजिकै स्थानीय समय अनुसार बिहान करिब नौ बजे मालबहाक रेल ‘कञ्चनजङ्घा एक्सप्रेस’ यात्रुबाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समा दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रमा भएको रेल दुर्घटनाबाट उहाँ स्तब्ध भएको उल्लेख गरेकी छन् ।

जिल्ला मजिस्ट्रेट, प्रहरी अधिक्षक, चिकित्सक, एम्बुलेन्स र विपद् टोलीलाई उद्धार र चिकित्सकीय सहायताका लागि घटनास्थलमा खटाइएको छ ।

घटनाको अनुसन्धान भइरहेकोले थप विवरण अनुसन्धानपछि आउने प्रहरीले बताएको छ ।

पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको अध्यक्ष नेपालको दावी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताएका छन् । सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताएका हुन् ।

समाजवादलाई अघि बढाउने उदेश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवादउन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राखे । उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे । अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफुहरुसंग बिचार मिल्ने र सहकार्य गर्न चाहनेहरुलाई साथ साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिदै आएको जिकिर गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे । उनले महाधिवेशनमा पार्टीको बिभिन्न दस्तावेजहरुलाई परिस्कृत गर्दै पारित गर्ने दावी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए ।

उनले श्रमजिवी महिलाहरुसंग पार्टी पुराउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए ।

लोकतन्त्र प्रवचन र भाषण होइनः पूर्वसभामुख सापकोटा(अन्तरवार्ता)

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् । उनले लोकतन्त्रको कुरा सबैले गर्दै आए पनि साँचो अर्थमा त्यसको स्थापित मूल्य, मान्यता र आदर्शप्रति कोही इमान्दार नदेखिएको प्रतिक्रिया दिए ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता सापकोटाले भने, “लोकतान्त्रिक आचरणमा देखिनुपर्नेमा त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । सही, गलत, हुने वा नहुने भन्नेमै पनि विचित्र स्थिति छ । प्रियतावादको दबदबा छ ।”


माओवादी जनयुद्धमा भूमिगतरुपमा राजनीतिक फाँटको जिम्मेवारी सम्हाल्दै तत्कालीन वार्ता टोली सदस्यसमेत रहेका सापकोटा विगतमा सञ्चार तथा सूचना प्रविधि र वन तथा वातावरणमन्त्री भई कार्य सम्पादन समेत गरे । प्रस्तुत छ, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासँग राष्ट्रिय समाचार सििष्त (रासस)का उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको समसामयिक विषयमा केन्द्रित रही गर्नुभएको कुराकानीको सम्पादित अंशः

अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?

–संसद्मा एउटै पार्टीको मात्र बहुमत छैन, त्यसको अनिवार्य परिणति भनेको गठबन्धन सरकार हो । समीकरण फेरिरहेको छ, तर यो जटिलताका बीचबाट पनि गठबन्धनको अभ्यास जारी छ । गठबन्धन संस्कृतिमा हामी धेरै अभ्यस्त छैनौँ । कतिपय राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबैलाई सन्तुलित ढङ्गले लैजान सक्नुपर्छ । कतिपय अवस्थामा पार्टीका स्वार्थ टकराउँदा अस्थिरजस्तो हुन्छ । अर्कातर्फ मुलुकमा अर्थतन्त्रको विषम जटिलताको चुनौतीबीच पनि सरकार ठिकै ढङ्गबाट अघि बढिरहेको छ ।


राजनीतिक दल र सांसदको मुख्य जिम्मेवारी विधि निर्माणमा कार्यसम्पादन कमजोर रह्यो भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?
–संसद्को मुख्य काम गुणात्मक विधि निर्माण हो । तत्कालीन परिस्थितिमा राष्ट्रले निर्धारण गरेको चेतनामा निर्भर रही कानुन तर्जुमा हुन्छ । त्यो आफैँ प्राप्त नभई निरन्तरको सचेत प्रयत्नबाट हुने विषय हो । अहिले संसद्ले प्रभावकारी काम गर्न सकेको छैन । संसद् जीवन्त, गतिशील, जनमुखी हुन सकेन । राजनीतिक परिवर्तनको सर्वाधिक महत्वपूर्ण उपलब्धि भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख राज्य व्यवस्थालाई लिनुपर्छ । संविधानमा लिपिबद्ध गरिएका विचाराधारा, मान्यता र आदर्श स्थापित गर्न राजनीतिक दलभित्र लोकतान्त्रिक आचरण परिस्कृत हुनुपर्नेमा भएको छैन । त्यसको प्रभावका रुपमा कानुन निर्माणमा निकै ढिलो र कमजोरी भएको छ । सदनमा स्तरीय छलफल हुन सकेन । संसद् भनेको देशको आत्मा हो । संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ । संसद्ले बहुआयामिक भूमिका खेल्नुपर्छ । अहिले सदनतिरको बहस हेर्दा आशा जगाउने र जनभावना समेट्ने खाले नभई प्रतिक्रियात्मक मात्र छ । सदनको हालको स्थितिलाई बदल्न प्रधानमन्त्री, सभामुख र प्रतिपक्षले यो थलोलाई जीवन्त र जनमुखी बनाउन भूमिका खेल्नुपर्छ ।


अहिले भइरहेको संसदीय प्रक्रियागत झन्झटिलो बहस र खर्चनु परेको समय लागतअनुरुप परिणाम दिन सकेन भनिएको छ, यसमा विगतका अनुभवका आधारमा टिप्पणी गर्नुहुन्छ ?

– सविधान संशोधनका कुरा उठाइरहँदा पहिलो कुरा अभ्यास नै राम्रो भएको छैन । छलफलका निष्कर्षलाई कार्यान्वयन गर्न सकिने ढङ्गबाट सदनमा बहस हुनुपर्छ । त्यसमा अलि बढी ध्यान दिनुपर्छ । हाम्रा छलफल र बहस प्रक्रियामुखीभन्दा बढी नतिजामुखी हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय मुद्दामा न्यूनतम् साझा धारणा र दृष्टिकोण हुनुपर्छ भन्ने लाग्छ ।


नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परिवर्तनका संवाहक भएकाले उनीहरु मिल्दा मात्रै देश र जनहित हुन्छ, तर बेमेल भइरहेको छ किन ?

– नेपाली जनताको इच्छा, आकाङ्क्षा र आवश्यकताका आधारमा जनबलमा गणतन्त्र आएको हो । यो बिस्तारै नयाँ दिशाबाट सम्मुन्नतितर्फ अघि बढनुपर्छ । समाजवाद अर्थात् सबैका लागि समृद्धि भन्ने हो । राष्ट्रिय जीवनका हरेक पक्षको खोज र अनुसन्धानको विषय निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि सबैभन्दा बढी राजनीतिकर्मीलाई अनुसन्धानलाई अनिवार्य बनाउन आवश्यक छ । नवप्रवद्र्धनको युग छ । त्यसबाट खोज, अनुसन्धान, अन्वेषण भएपछि दार्शनिकी बन्छ । त्यसपछि विचार, सिद्धान्त, दृष्टिकोण, रणनीति, नीति, कार्यनीति, कार्ययोजना हुँदै कार्यक्रम बन्छ । हरेक दलका बेग्लाबेग्लै सिद्धान्त, नीति तथा कार्य नीति हुने भएकाले सबैको समेटेर राष्ट्रिय विचार बन्नुपर्नेमा त्यसखाले साझा दृष्टिकोण बनेन । जो अनिवार्य छ, त्यसमा अझै दल र नेताहरुको ध्यान गएको छैन । लोकतन्त्रको कुरा त सबैले गरेका छन्, तर साँचो अर्थमा त्यसको मूल्य, मान्यता र आदर्शप्रति इमान्दार देखिन्न । त्यो व्यवहारमा झल्कनुपर्छ । लोकतन्त्र भनेको प्रवचन र भाषण गर्ने विषय होइन । त्यो दैनिक विधि र व्यवहारमा झल्कनु पर्यो । लोकतन्त्र आचरणमा देखिनुपर्छ, त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । अहिले प्रियतावादको दबदबा छ । अर्कातर्फ ह्रासवाद अर्थात् के सही, के गलत, के हुने र के नहुने भन्ने विचित्रको स्थिति देखिन्छ । यी सबैलाई ठीक मार्गमा लैजाने भनेको विचारको बहस मात्रै हुन सक्छ । तपाईंहरु अनुशासित हुनुपर्छ भनेर अब विज्ञान र प्रविधिको यो स्तरको चमत्कार भएका बेला चेतनाले मात्रै सबै जनतालाई एउटा मार्गमा लैजान सकिन्छ त्यसको कमी छ ।


क्रान्तिकारी र परिवर्तनकारी सरकारको नेतृत्व छ, तर सुशासन कमजोर, भ्रष्टाचार बढ्दो छ किन भन्ने प्रश्नमा तपाईंको दृष्टिकोण के रहेको छ ?

– यसमा राजनीतिक दलका नेता, सरकारको नेतृत्व र कर्मचारीतन्त्रलाई जोडेर हेरिनुपर्छ । उनीहरु राष्ट्रिय सवालमा देश र जनहितमा समर्पित हुनुपर्छ । गणतन्त्र नयाँ हो, हाम्रा संस्कार, संस्कृति, बानी, व्यहोरा, विचार र व्यवहार पुरानै छ । जसरी व्यवस्था परिवर्तन भयो, हाम्रा ती संस्कार परिवर्तन हुनुपर्ने थिए । पुरानाकै असर र प्रभाव परिरहेको छ । त्यो अन्त्य गर्न राज्य सञ्चालक र दलका नेतृत्वमा दूरदृष्टि, इच्छाशक्ति, प्रतिबद्धता आवश्यक छ । राष्ट्रलाई कता लैजाने भन्ने राष्ट्रिय सवालमा सम्भव भएसम्म सबै पार्टीबीच एकता र कर्मचारीतन्त्रमा रुपान्तरणको भावना हुनुपर्छ । रुपान्तरण नभएकै कारण सुशासनमा जति प्रभावकारी भाषण सुनिन्छ, व्यवहारमा त्यति भएको छैन । त्यसका लागि साझा राष्ट्रिय सहमति कायम हुनुपर्छ, त्यसमा सरकारकै तर्फबाट पहलकदमी हुनुपर्छ ।

सङ्घीयताको मर्म भावनाअनुरुप अधिकार विकेन्द्रीकरण तथा प्रदेशको स्वयत्तताका विषयमा उठिरहेको बहसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

– मानिसले आफनो इतिहास आफैँले बनाउँछ, तर चाहे जति बनाउन सक्दैन । प्रदत्त परिस्थितिअनुरुप हुन्छ भनिन्छ । अहिले पनि अलि जटिल र पेचिलो परिस्थिति छ । अङ्क गणितलाई पनि ध्यान नदिने हो भने फेरि राष्ट्रलाई अघि बढाउन गाह्रो हुन्छ । राजनीतिक, आर्थिकरुपमा स्थायित्व होस् र व्ययभार नबढोस् भन्ने जनचाहना छ । यो जटिलता छ । जटिलतालाई चिर्दै अघि बढ्नु राजनीतिक नेतृत्वको कुशलता हो । केही आशाका झिल्का देखा पर्छन्, फेरि गोलचक्करमा गुमेको जस्तो देखिएको छ । संसद्मा भएका प्रमुख दलका बीचमा साझा न्यूनतम् कार्यक्रम बनाएर बाँकी अरू दलसँग पनि राष्ट्रिय दृष्टिकोण बनाउने कुरा महत्वपूर्ण हो । भू–राजनीतिक अवस्थाले इतिहासमा कहिल्यै नभएको आवश्यकता अहिले भएको छ । यसका माध्यमबाट जनतामा आशा दिलाउने कार्य गर्न सकियो भने राम्रो हुन्छ । अलिकति भएकै कामलाई स्थापित गर्न पुगेको छैन, अलिकति नयाँका लागि पहल कदमी बढाउनुपर्छ ।


सभामुखको निष्पक्षताको भूमिकालाई लिएर बेला–मौकामा कुरा उठ्दै आएको छ, तपाईं पनि सभामुख हुनुभयो, परिस्थितिले त्यस्तो हो कि उठेको विषय सही हो ?

– व्यक्ति विशेषको भूमिकामा टिप्पणी गर्नु त्यति सान्दर्भिक र वाञ्छनीय हुँदैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये व्यवस्थापिका नै सबैभन्दा महत्वपूर्ण छ, सबैकुरा त्यहीँबाटै निर्देशित हुन्छन् । सभामुख भएपछि नियमावली पल्टाउँदा असीमित अघिकार देख्दा अचम्म लाग्यो, तर सभामुखको भूमिका भनेको छलफल, बहस, संवाद, समझदारी र सहकार्यका लागि दलहरुबीचमा समन्वय गर्न सक्यो त्यति नै राम्रा हुने देखेँ । स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकाका साथ प्रस्तुत हुनु सक्नुमा नै सभामुखलाई बल प्राप्ति हुने भएकाले त्यसबाटै पहलकदमी लिन सक्नुपर्छ । सबैतिरका गतिविधिलाई सभामुखले मात्रै अवलोकन गर्न सक्छ, समग्र परिस्थितिलाई ठोस विश्लेषण गरी तत्काल विवेक र चेतना प्रयोग गरी उचित वातावरण बनाउन भूमिका खेल्नुपर्छ । राष्ट्रको अधिकतम् हितका लागि राजनीतिक निर्णय पनि लिनुपर्ने हुन्छ । सभामुखले प्रदत्त परिस्थितिअनुसार गर्ने निर्णय, गतिविधि र पहलकदमीमध्ये केहीमा मात्र स्पष्टीकरण दिन परोस् । अधिकांश स्वतः यसकारणले यो निर्णय गरेको होला भनी बुझ्ने हिसाबले कार्यसम्पादन गरिँदा राम्रो होला भन्ने लाग्छ ।


सभामुखजस्तो सम्माननीय पदमा पुगेर काम गरिसकेको व्यक्ति तपाईं फेरि पार्टीमा फर्केर काम गर्न असजिलो भएको छैन ?


– यो निकै महत्वपूर्ण प्रश्न छ, मैले यो प्रश्नमा धेरै गम्भीरतापूर्वक सोचविचार पनि गरेको थिएँ । फेरि पनि राष्ट्रलाई योगदान गर्न अलग भएर कि दलमै आबद्धता हुने भन्ने विषयमा दलभित्र भएको छलफल र बहसपछि यो निर्णयमा पुगेँ । हरेक मानिसका आफ्नै मानक हुन्छन् । मुलुकका तीनमध्ये एउटा अङ्गको नेतृत्व गरेँ । जीवन रहेसम्म त्यो प्राप्त अवसरका सम्मान गर्र्ने विषयमा राम्रै सोचेको छु । साझा दृष्टिकोण र वैचारिक विचारलाई प्रभावकारी बनाउन बेग्लै चिन्तन मनन गर्नेभन्दा दलमा रहेर बढी भूमिका हुन्छ भन्ने लाग्यो । मेरो विवेक र चेतनाले त्यो बाटोबाट राष्ट्रका लागि बढी योगदान दिन सकिन्छ भन्ने लागेको छ । हरेक दलमा जस्तै मेरै पार्टीमा पनि समस्या छ । पार्टीको आधिकारिक पोजिसनसहित छलफल गर्ने कुरा प्रभावकारी होला कि भनेर हो । सभामुख भएपछि फेरि निर्वाचनमा गइन । विगतमा पार्टीमा एउटा समूह राजकीय काममा जाने अर्काे टोली दलमा काम गर्ने भन्ने थियो । त्यो छलफल त हराएकोजस्तो भएको छ । मैले एउटा दार्शनिकले भनेको कुरा सम्झिएँ–आफैँ नेता बनाउनेभन्दा अरूलाई नेता बनाउने ठूलो कुराका आधारमा एउटा प्रयोग गरेको हुँ । पार्टीलाई रुपान्तरण गर्न विचारको संश्लेषण आवश्यक छ । अहिले संसारभर नै विचारको बहस हराएर गएको छ । त्यो बहसलाई अघि बढाउन र ऊर्जा प्रवाह गर्दै प्रकाश दिलाउन पार्टीमा फर्केर काम गर्ने निर्णय गरेको हुँ ।


विगतमा मुलुककै ठूलो दल भइसकेको तथा राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको दलले फेरि पुरानै ढर्राका राजनीतिक अङ्क गणितमा लाग्नुपर्दा कस्तो अनुभूति हुन्छ ?

– अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ । हाम्रो पार्टीले भर्खरै विधान सम्मेलन गर्यो । विशेष महाधिवेशनतर्फ जानुपर्छ भनेर बहस उठिरहेको छ । तपाईंकै भनाइअनुसार राष्ट्रिय राजनीतिमा सङ्ख्यात्मक हिसाबले पार्टीको नेतृत्वदायी भूमिका कम्जोर देखिएको छ । विगतमा विचारको निकै माथिबाट संश्लेषण गरी महान् अग्रगामी छलाङ मारियो । हामीले २१औँ शताब्दीमा जनवादको विकास भनेका थियौँ, तर पछिल्ला दिनमा त्यसलाई निरन्तरता दिन सकेका छैनौँ । फेरि अब विचारको संश्लेषण अनिवार्य भएको छ । पार्टीले विचारको बहसलाई सघन र घनिभूत बनाउँदैछ । त्यो महान् बहसको प्रक्रियाबाट विशेष महाधिवेशनमार्फत विचारको संश्लेषणपछि फेरि पहलकदमी लिन सकिन्छ । राजनीति भनेको कहिले रसातलमा पुगको जस्तो त कहिले दिग्विजय भएजस्तो हुन्छ । राजनीतिमा उतारचढाव, घुम्ती र मोड भइरहन्छ । २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत आएकामा अहिले ३२ सिट छ । फेरि जनताले उठाएको प्रश्नको एक–एक उत्तर दिँदै समयानुकूल वैचारिक, राजनीतिक, साङ्गठानिक, सांस्कृतिक पुनर्गठनका साथ विज्ञान  र प्रविधिको प्रयोग र रुपान्तरण गर्दै अघि बढ्नुपर्छ । युवापुस्तालाई प्रशिक्षित र सङ्गठित गर्न सकियो भने अहिले भुत्तेजस्तो भएको चेतना प्रवाहमा चम्काउन सकिन्छ । फेरि आश्चर्य ढङ्गले पहलकदमी लिन सक्छौँ । अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जान सकिन्छ, जानुपर्छ । देशको भूराजनीतिक स्थितिका आधारमा जसरी राजनीति अघि बढ्दैछ, निर्माण भइरहेको विश्व दृष्टिकोणका आधारमा राष्ट्रिय दृष्टिकोण बनाएर अघि बढेपछि जनतामा देखिएको चिन्ता र निराशा हटाउन सकिन्छ । अहिलेको उकुसमुकुसप्रति जनताबाट उठेको प्रश्नको हामीले उत्तर दिनपर्छ ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

–अहिले नयाँ पुस्तामा अतिरञ्जितरुपमा विदेश जाने महत्वकाङ्क्षा बढाइदिएको छ । विदेशमा जोखिम काममा जाँदा मर्ने र मारिने कुरा शत्प्रतिशत सुनिश्चित छ, तर उ नगई छाड्दिन भन्छ र जान्छ । किन त्यस्तो भइरहेको छभन्दा अतिरञ्जित महत्वकाङ्क्षा जगाइदिएको छ, समाजले । एकथरि रोजगारीका लागि जाने अर्काे थरी सम्पूर्णरुपले सेवा सुविधा प्राप्त गरिरहेको पनि विदेश पलायन भइरहेको छ । अध्ययनका लागि विदेश गएका सीप सिकेर स्वदेश फर्कने वातावरण बनाउनुपर्छ । आकर्षण बढाउनुपर्छ । नेपाली बौद्धिक मस्तिष्क बाहिर खर्च भइरहेको छ, त्यसलाई देशमै प्रयोग गर्ने वातावरण बनाउनेमा सबै राजनीतिक दल तथा तह र तप्का लाग्नुपर्छ । देशप्रति चिन्ता र चिन्तन गर्न सबैलाई म अपील गर्छु कि, सबै नेपालीलाई स्वदेशमै बस्ने वातावरण बनाउन लागि परौँ ।

विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुद्वारा बकर इदको शुभकामना

काठमाडौँ / इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले शुभकामना दिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बकर इदको अवसरमा शुभकामना दिँदै बहुपहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको बकर इदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रदान गर्ने बताएका छन् । यस पर्वले कोशीमा मात्रै नभएर मुलुकभर एवं विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उनको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै सबै चाडपर्व तथा संस्कृतिको संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धितर्फ देशलाई लैजान सकिने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बकर इद (उल–अजहा) पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने बताएका छन् । बकर इद (उल–अजहा) पर्वको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै यस पर्वले बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन्। समाजमा तृष्णा, लोभ र द्वेषलाई त्यागेर सकारात्मक सोचको विकास गरी समाज रूपान्तरणमा नेपाली समाजमा मनाइने चाडपर्वबाट सहयोग पुग्ने उनको सन्देशमा उल्लेख छ ।

बकर इदको अवसरमा शुभकामना दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जातजाति, वेशभूषा, संस्कृति र परम्पराको विविधता रहेको नेपालमा यस पर्वले एकता र सहकार्यको वातावणलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गरेका छन् । बकर इद लगायतका चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि भइ राष्ट्रिय एकता थप सुदृढ हुने उनको शुभकामना सन्देशमा भनिएको छ ।

पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो । 

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरेका छन् ।

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ ।

पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग

काठमाडौँ / नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले आज जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो ।

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरे ।

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ ।

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर साह ब्राजिल प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

५ र ६ असार (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उनले ८असारमा स्वदेश फर्कनेछन् । बालेनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।

मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा मेयर साहले सम्बोधन गर्नेछन् ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति बहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नवीन आवास र भूमि व्यवस्थापनमा महानगरहरूका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ । बैठकले विश्व परिवेशका भिन्नभिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।

चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए ।

६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘काठमाडौँबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको छ ।
ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए ।

आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरु अचेत अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनीहरू सबै येक्सियान काउन्टीको होङझुआङयाङ शहरमा बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए ।

यस घटनासँग सम्लग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको छ ।

ट्याङ्कर चालक आन्दोलनमा उत्रिएपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको लाइन

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले जानकारी दिए । “आन्दोलनरत पक्षसँग छलफल थालेका छौँ । आज बेलुकासम्ममा केही निष्कर्ष आउला”, उनले भने ।

आयल निगममा लामो समयदेखि ट्याङ्कर चालक मजदुरहरु आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको पेट्रोलियम ट्याङ्कर चालक सङ्घले जनाएको छ ।

सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्नेलगायत माग सङ्घले राखेको छ ।

त्यस्तै, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग सङ्घको छ ।

सङ्घले गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

टी-२० विश्वकपमा श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । 


सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीङ्लका ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् ।  


श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१÷३१ रन जोडे । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११÷११ रन बनाए । आर्यन दत्तले १० रन जोडे । 


श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिए भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिए । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक एक विकेट लिए ।


त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६/४६ रनको योगदान दिए ।


त्यसैगरी धनन्नजय डी सिल्भाले ३४ रन बनाए भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिए भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिए ।

प्रहरी प्रमुख परिवर्तन गर्ने कुरा छैनः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् ।


सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले  बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।”


सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने ।


प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने, “मैले अस्तिको दिन मात्रै तीनैजना  आइजीपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”

बाढी पहिरोबाट ताप्लेजुङका २५ घर परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ ।

यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ ।

यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का छ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन् ।

बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ । जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए । फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो ।

यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन् । मनसुन सुरु भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन् ।

बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् । यता सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन् । बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य सोमबार तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन सोमबार प्रतितोला  एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला  एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला  एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला  एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन आज नेपाल आइपुगेका छन् ।

     विश्व बैंक समूहले विज्ञप्ति जारी गरी मङ्गलबारदेखि सुरु हुन लागेको आइडा–२१ बैठकको अध्यक्षता गर्न तथा उच्चस्तरीय भेटघाटका लागि उनी काठमाडौँ आएको जनाएको छ । 

आफ्नो पाँच दिनको नेपाल भ्रमणका क्रममा वरिष्ठ प्रबन्ध निर्देशक एक्सेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न विकास साझेदारलगायतसँग भेटघाट गर्नुहुनेछ । साथै उहाँले २०७२ सालको भूकम्पपछि आइडाको सहायतामा पुनःनिर्माण भएको काभ्रेपलाञ्चोकको रविओपी क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् ।
     
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको तेस्रो परिपूरण (थर्ड रेप्लेनिसमेन्ट) बैठकअर्थात् आइडा–२१ बैठक यही असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौँमा आयोजना हुँदैछ । आइडा–२१ बैठकले न्यून आय भएका राष्ट्रहरुका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन गर्न कस्तो नीति तथा मार्गदिशा तय गर्ने भन्नेबारे छलफलसहित महत्वपूर्ण निष्कर्ष निकाल्नेछ । 

साथै बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरुको सङ्कलन र नवीकरण गर्न दाता तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन् । यो बैठक आयोजक देशका रुपमा नेपालले कूटनीतिक लाभसमेत लिने अपेक्षा गरिएको छ ।
   
आइडा–२१ बैठकको प्रधानमन्त्री  दाहालले उद्घाटन गर्नेछन् । अर्थ मन्त्रालयका अनुसार बैठकमा ७० देशका दुई सयभन्दा बढी व्यक्ति सहभागी हुँदैछन् । यो बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।
     
सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त  आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडाले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ ।

नेपालको सबैभन्दा ठूलोमध्येको विकास साझेदार तथा दातृ निकायका रुपमा रहेको आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि सहुलियतपूर्ण वित्तीय स्रोत उपलब्ध गराउँदै आएको छ ।

मुश्लिम धर्मावलम्बीले यसरी मनाए इदुल जोहा (फोटोफिचर)

काठमाडौँ । मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदैछन् । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ ।

यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ ।  आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो । यस खेलसँगै विश्वपकमा समूह डि को समीकरण पूरा भएको छ । समूह डि बाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको दोस्रो चरणमा प्रवेश गरेका छन् । आठ अङ्क बटुलेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो भने छ अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो ।

यस समूहबाट नेपाल, नेदरल्यान्डस र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन् । विश्वकपको यात्रा टुङ्गाएसँगै नेपाली टोलीका लेग स्पीन सन्दीप लामिछानेले भने टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा एक सय विकेट पुरयाउदै विश्वको दोस्रो छरितो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन् ।

बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको योे दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए । आजको खेलमा बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन्  ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२÷१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले ४ तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३÷३ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए । यस खेलसँगै जितविहीन रहँदै नेपालले विश्वकपको यात्रा टुङ्गायो ।

सन्दीपको टी-२० आईमा १०० विकेट पूरा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन् । सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् । सन्दीपले ५४ औं खेलमा १०० विकेट पूरा गरेका हुन् ।

सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए । सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका थिए । बंगलादेश अहिले ब्याटिङ गरिरहेको छ । उसले ८ विकेट गुमाएर ८१ रन बनाइसकेको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो सङ्ख्यामा लक्षित समूह वञ्चित हुने उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले गत जेठ २४ गते सामाजिक सुरक्षा वितरण गर्न २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको थियोे । सरकारले जिल्ला प्रशासन कार्यालय र ५४ वटा इलाका प्रशासन कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने निर्णय गरेपछि वृद्धालाई यो निर्णय असहज भएको रिट निवेदनमा छ ।

रिट निवेदनमा बाढी पहिरोको समयमा यातायातको साधन नचल्ने, पहाडी र दुर्गम क्षेत्रका वृद्धवृद्धा जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउन सम्भव पनि नभएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्कालै रोक लगाउन माग गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा आफैँ उपस्थित भई बायोमेट्रिक अनिवार्य गर्नुपर्ने व्यवस्था भएकाले धेरै वृद्धवृद्धा रोगी, हिँडडुल गर्न नसक्ने, एकल भएको, छोराछोरी विदेश वा सहरमा हुने र घरमा वृद्धवृद्धा मात्रै बसोबास गर्ने हुनाले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्न सम्भव नभएको समेत रिट निवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् । उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई आग्रह गरेका थिए ।

“जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ । अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो”, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, “नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिसके ।

हिमालयहरू काला पहाडमा परिणत भइसकेका छन् । अब विकसित मुलुकहरूमा पनि असर पर्नेछ । त्यसैले तपाईहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आवश्यक छ, जसले पृथ्वीलाई जोगाउन सकोस् ।”

जर्मन रिसर्च सेन्टर फर जिओसाइन्स (जिएफजेड) साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्युट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) अनुसन्धान समूहका प्रमुख युर्गन पि क्रप, नेपाली रिसर्च इन्स्टिट्युट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लिडर डा महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । उनी प्रथम महिला सविता पौडेलका साथ सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्र फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी गएका हुन् ।

उनले जर्मनीको पोट्सडाममा अवस्थित जिएफजेडको अवलोकन गरे । यो ठोस पृथ्वी विज्ञानका लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो ।

यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तक्र्रिया गर्ने उपचक्रहरू र यसका कारण तथा प्रभाव शृङ्खलाहरूका विस्तृत सञ्जालका साथै पृथ्वीको भूगोलजस्ता जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् ।

यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्वसूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गरेका जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो ।

यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।

मे २०१२ देखि प्रो मार्क लरेन्स (आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा महेश्वर रुपाखेतीले योे संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एशियामा वायु प्रदूषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।

नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदूषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एसियामा विशेष गरी नेपालमा अनुसन्धान र सम्वादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले अवलोकन गरेको अर्को सन् १९९२ मा स्थापना भएको इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले विश्वव्यापी स्थिरताको लागि अन्तर क्षेत्रगत जलवायु प्रभाव अनुसन्धानमा वैज्ञानिक सीमालाई अगाडि बढाउने र सुरक्षित तथा न्यायपूर्ण जलवायु भविष्यको लागि ज्ञान र समाधानमा योगदान गर्ने दुईवटा लक्ष्य लिएको पनि अवलोकन भ्रमणका क्रममा जानकारी दिइयो ।

पिआइकेले नेपाललाई साझेदार मुलुक मान्दै परियोजना सञ्चालन गरेको थियो । यसले अहिले फर एचआइएम एसडिजी सञ्चालन गरिरहेको जनाइएको छ ।

संवैधानिक परिषदद्वारा कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ । आइतबार बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

प्रधानले संविधान निर्माणमा विज्ञका रूपमा काम गरेका थिए । उनी नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

चिनियाँ दूतावासको सहकार्यमा काठमाडौँमा एकदिने चिनियाँ शैक्षिक प्रदर्शनी हुने

काठमाडौँ । मंगलबार काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ ।

चीनको उच्च तहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी गराउने उद्देश्यले नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजले भाग लिने आयोजक कमिटीले जनाएको छ ।

नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहका अनुसार ३१ वटा विश्वविद्यालयका स्टल रहने, प्रत्येक स्टलमा नेपानी विद्यार्थी र तिनका अभिभावकलाई चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायत विभिन्न विषयमा विज्ञहरूले जानकारी दिनेछन् ।

मंगलबार बिहान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्तरूपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ ।

“प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइए छ । प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकसँग अनुरोध गर्दछौँ,” साहले भने, “साथै विद्यार्थी स्वंय उपस्थित भई उच्च शिक्षाबारे आवश्यक जानकारी लिउन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।”

उनले चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला आयोजना गर्दै आएको जानकारी दिए ।

पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएको थियो भने त्यसयता प्रत्येक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको साहले जानकारी दिए ।

“चीनमा एक सय ६० देशका पाँच लाख विद्यार्थी विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० भन्दा बढीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ,” उनले भने, “पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थीबाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएका छौँ ।”

यस किसिमको शैक्षिक प्रदर्शनीबाट नेपाली विद्यार्थीले चिनियाँ शिक्षाको बारेमा मात्रै नभई आगामी दिनमा हाम्रो मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।

सत्ता समीकरणमा कुनै समस्या आएको छैनः गृहमन्त्री लामिछाने(अन्तरवार्ता)

काठमाडौँ । टेलिभिजन पत्रकारिताका माध्यमबाट राष्ट्रिय राजनीतिमा छोटो समयमै स्थापित र लोकप्रिय भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत हुन् । उपप्रधानमन्त्री लामिछानेसँग गणतन्त्र दिवसका अवसरमा राससको केन्द्रीय कार्यालयमा जारी विकास र पूर्वाधारसम्बन्धी तस्बिर प्रदर्शनी अवलोनकनपछि मुलुकको शान्ति सुरक्षालगायत समसामयिक विषयमा राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरणः

तपाईँले पछिल्लोपटक मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनका उपलब्धिका विषय सार्वजनिक गरिसक्नुभएको छ तर कतिपय चुनौतीहरु विद्यमान देखिएका छन् । जस्तो, बारामा हालै एक क्याम्पस प्रमुखको हत्या भएको र त्यसमा छिमेकी मुलुकबाट ‘सुटर’हरु आएर यस्ता घटना गराइएको विषय आज पनि सङ्घीय संसद्मा उठेको छ । यस्ता घटना रोक्ने योजना के छ ?

अवश्य पनि चुनौती छन् । यसबीचमा प्राकृतिकरुपमा दुःखद् घटना भएका छन् । हत्याका दुःखद् घटना भएका छन् । यसको न्यूनीकरणका लागि हामीले एक सय दिनका अवधिमा केही योजना बनाएका छौँ । सीमा क्षेत्र सुरक्षाका दष्टिले पहिलेदेखि नै चुनौतीपूर्ण हुँदै आएको हो । हामीले विद्यमान सूचना संयन्त्रलाई कसरी प्रभावकारीरुपमा उपयोग गर्ने र भएका स्रोत साधन तथा जनशक्तिको सही परिचालनका लागि कस्तो योजना बनाउने भन्ने आधार बनाउने काम गरेका छौँ । केही सुधारका काम भएका छन् तर यी काम पर्याप्त छैनन् । हामी प्रयास जारी राखेका छौँ । विभिन्न प्रदेशका सुरक्षासम्बन्धी छलफलमा हामीले दिएका रणनीतिक सुझावको कार्यान्वयन हुने क्रम पनि सुरु हुँदैछ । मलाई विश्वास छ, आगामी दिनमा यस्ता घटना हुँदैनन् । दोषी र फरार अभियुक्त कोही पनि उम्किदैँनन् । हामीले फरार अभियुक्तको खोजी अभियान सुरु गरिसकेका छौँ ।

राजनीतिक सन्दर्भमा कुरा गरौँ, अहिले सत्ता समीकरणमा केही समस्या आएको हो ? किनकी तपाईँकै पार्टीका एक मन्त्रीले राजीनामा खल्तीमा छ भनेर अभिव्यक्ति दिनुभएको छ, वास्तविकता के हो ?

हुन त त्यो कुरा बजेटका विषयलाई लिएर आएको हो । बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ । जुन ढङ्गले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन । हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन् । हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ । त्यसकारण यस्ता विषय आएका हुन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई सहमतिका आधारमा छिट्टै पारित गर्ने भनिएको धेरै भयो । अब त ढिलाइ नहोला कि ?

मेरो विचारमा यो विधेयकमा सहमतिका लागि अन्तिम चरणमा पुगेको छ । शीर्ष राजनीतिक तहमा यसले चाँडै प्रवेश पाउनेछ । वास्तवमा अन्तर्राष्ट्रिय मानव अधिकारका मूलभूत सिद्धान्त र पीडितमैत्री भएर शीर्ष नेतृत्व र पुराना ठूला दल एक ठाउँमा उभिँदा सहमति हुन्छ । उहाँहरुमा यसलाई राजनीतिक विषय नबनाउने प्रतिबद्धता भने चाहिन्छ । सत्तामा भएको र नभएको भन्ने आधारमा आफ्ना दलीय तर्क र भनाइलाई फरक फरकरुपमा प्रस्तुत गरिनुहुन्न । यसलाई दलगत लाभ हानिको विषय नभई पीडितमैत्रीरुपमा सम्बोधन गर्न खोज्दा सहमतिमा पुग्न सकिन्छ । हामी नयाँ दलका हैसियतले यसमा सहमतिका लागि सहजीकरण र संवाद गर्न तयार हुनेछौँ । त्यसैले यो विधेयक चाँडै टुङ्ग्याउनुपर्छ र टुङ्गिन्छ भन्ने लाग्छ ।

विश्वकप क्रिकेट :अन्तिम खेलमा सुखद् नजिता निकाल्ने दाउमा नेपाल

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।

समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ । विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ ।

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हँदै प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थियो ।

काठमाडौंका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाकी बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का, रुकुमका दीपेन्द्र ओली र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।

गोंगबुस्थित मित्रनगरमा बिनिता कुमालको नाममा दर्ता रही कविता फार्मेसी नामको औषधि पसलमा लागूऔषध बिक्री/वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी फार्मेसी संचालक हुन् ।

त्यस्तै कोटेश्वर सहयोगीनगरस्थित श्रीनगर गल्लीमा लागूऔषध बिक्री/वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले दीपेन्द्र ओलीलाई पक्राउ गरेको र उनको कोठा खानतलासी गर्ने क्रममा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट औषधिजन्य लागूऔषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिनिता कुमालको पसलबाट ट्रामाडोल लेखिएको ट्यावलेट ६५० पिस र दीपेन्द्र ओलीको कोठाबाट ट्रामाडोल लेखिएको ट्यावलेट ३८०९४ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित छु : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा रहेको स्पष्ट पारे ।

मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रुपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताए । उनले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताए ।

वैदेशिक रोजगारमा जाने श्रमिकले मासिक न्यूनतम पाँच सय अमेरिकी डलर पाश्रिमिक पाउनुपर्छ भन्ने आफूहरुको जोड रहेको बताउँदै उनले वैदेशिक रोजगारका क्षेत्रमा हुँदै आएको ठगी रोक्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए । नेपाली युवाहरु रोजगारीका लागि बाध्यात्मक रुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाको सक्रिय सहभागितामा सातै प्रदेशमा रोजगार मेला आयोजना गरिएको उनको भनाइ थियो ।

नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको छः सीपीपीसीसी उपाध्यक्ष

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी ) का उपाध्यक्ष बातेरले आइतबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेका प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री दाहालले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे । चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

त्यसअवसरमा सीपीपीसीसीका उपाध्यक्ष बातेरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिए ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँतर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए ।

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव

काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरुप अगाडि बढाउन सुझाव दिएको छ । 


राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’बारे प्रेस काउन्सिलसँगको छलफलका क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै आपत्ति जनाए ।


उनले भने, “मिडिया काउन्सिल विधेयकको प्रस्तावनामै नभएको र पहिलाको काउन्सिल ऐनमा समेत नभएको मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई काउन्सिलको सदस्य बनाउने विषय विधेयकमा आएको छ, यसले काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा ल्याउन खोजेको देखिन्छ, यो बारेमा पर्याप्त छलफल हुन जरुरी छ ।” 


अध्यक्ष पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा अध्यक्ष नियुक्ति नभएसम्मका लागि कार्यवाहक अध्यक्षका रुपमा सदस्य (मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत)ले बैठक बोलाउन र सो बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।


मिडिया काउन्सिल विधेयकको प्रस्तावनामा ‘पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरचनाका लागि स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले सङ्घीय संसद्ले यो ऐन बनाइएको छ,’ भनिएको छ । 


सांसद घनश्याम रिजालले विधेयकमा कसलाई मिडिया भन्ने र कसलाई मिडिया नभन्ने बारेमा प्रस्ट हुनुपर्नेमा जोड दिए । सांसद जीतजङ्ग बस्नेतले मस्यौदा संविधान र प्रेस स्वतन्त्रताको मर्म विपरीत आएको बताए ।


सांसद डा वेदुराम भुसालले सम्बन्धित निकाय र विज्ञको सल्लाह तथा सुझावका आधारमा मात्रै मिडिया काउन्सिल विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए  ।

चित्रबहादुरको प्रश्नः ऋण लिएर कतिदिन सङ्घीयताको भारी बोक्ने ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले दातृराष्ट्र र अन्य निकायबाट ऋण लिएर कतिदिन सङ्घीयताको भारी बोक्ने भनेर प्रश्न गरे ।

“मुलुकको आम्दानीको करिब ९० प्रतिशत रकम साधारण खर्चमा विनियोजन गर्नुपर्ने अवस्था छ । साधारण खर्चको बोझ सङ्घीयता नै हो । ऋण लिएर सङ्घीयता धान्ने कुरा सही होइन”, अध्यक्ष केसीले भने ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्थानीय तह र प्रदेशका लागि झण्डै पाँच खर्ब ५० अर्ब विनियोजन भएको उल्लेख गर्दै अध्यक्ष केसीले प्रदेश सञ्चालन गर्न केन्द्रले नै बजेटको व्यवस्था गर्नुपर्ने अवस्थाका कारण मुलुकको आर्थिक अवस्था कमजोर भएको बताए ।

“प्रदेशको आन्तरिक आम्दानीको स्रोत अत्यन्त कम छ । कुनै प्रदेशको वार्षिक आम्दानी  १५ करोड पनि देखिन्न । यस्तो अवस्थामा प्रत्येक वर्ष प्रदेशलाई बजेट विनियोजन गरेर कुनै उपलब्धि हुँदैन”, उनले भने ।

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

मलेखु (धादिङ)। धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ ।

महाभारत लेकका स्थानीयले बाँस, निगालो, अम्रिसोलगायतबाट विभिन्न सामग्री बनाउने गर्छन् । सडक स्तरोन्नति तथा कालोपत्र भएमा महाभारत लेकका किसानलाई राहत मिल्ने र आर्थिक समृद्धिमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

“बाँस निगालोबाट डोका, डालो बुनेर, अम्रिसोबाट कुचो बनाएर हामीले आम्दानी गर्दै आएका छौँ,” स्थानीय सन्तोष अधिकारीले भने, “बर्खायाममासमेत सडक सुचारु हुने भएमा तीन हजार टन आलु उत्पादन गर्ने क्षमता हामीसँग छ ।”

ठेकेदार कम्पनीले सम्झौता मिति अगावै सम्पन्न गर्नेगरी धमाधम कालोपत्र गरिरहेको छ । अहिले गजुरी गाउँपालिका–६ मलिनटार चोकदेखि वडा नं ७ पर्खालेसम्म चार दशमलव दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । गजुरी गाउँपालिका–६ आदमघाटको मिलनटार चोकदेखि पर्खालेसम्म छ सय मिटर आरसिसी र तीन दशमलव ५९ मिटर आसफाल्ट विधिबाट कालोपत्र गरिएको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका साइट इन्जिनियर धर्मराज खड्काले बताए ।

आदमघाटदेखि चौतारासम्म करिब ३५ किलोमिटर सडक रहेकामा मिलनटारदेखि कालोपत्र गर्न वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको हो ।

सडक निर्माणमा अवरोध नभएमा, कच्चा पदार्थ सहज रुपमा उपलब्ध भएमा र काम गर्ने मजदुर अभाव नभएमा तोकेको समय अघि सम्पन्न हुने नाना कन्स्ट्रक्सन प्रालि धादिङ अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले विसं २०८१ पुस १८ गते सम्पन्न गर्ने गरी विसं २०८० असार १३ गते  २० करोड ४९ लाख ८१ हजार १० मा चार दशमलव दुई किलोमिटर कालोपत्र गर्ने सम्झौता भएको थियो ।

साबिकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसँग जोड्न विसं २०४९ सालबाट पृथ्वीराजमार्गकोे आदमघाटदेखि महाभारत लेक जोड्ने सडक निर्माण सुरु गरिएको थियो । आदमघाट चौतारासडकको लम्बाइ ३५ किलोमिटर छ ।

गजुरी र गल्छी गाँउपालिकाका एक हजार भन्दा बढी घरधुरी यो सडकबाट लाभान्वित हुने अनुमान छ । मकवानपुरको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका सर्वसाधारणसमेतले यस सडक प्रयोग गर्दै आएका छन् ।

‘घर ज्वाइँ’को टुँडिखेलबाट प्रचारप्रसार सुरु

काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ । मगरहरुको महान पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले जानकारी दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले शुभारम्भ गरेको भूमे पर्व मेलाको कार्यक्रममा ‘घर ज्वाइँ’ का कलाकार दयाहाङ राई, मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटालगायत टुँडिखेल पुगेका थिए ।

कार्यक्रममा फिल्मका नायक दयाहाङले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । नायिका मिरुनाले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको भन्दै ‘घर ज्वाइँ’ले आफूलाई मगर संस्कृतिबारे बुझ्ने अवसर दिएको बताइन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् ।

उनलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

फिल्मको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो ।

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिएका छन् ।

विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा उनले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिए ।

सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित ३० प्रतिशतभन्दा कममा आएकाले यसलाई सुरक्षित अवतरणको चरणका रुपमा रहेको टिप्पणी गरे । उनले सिङ्गो सदन ‘न्युनमोरेटर’मा फोकस गरिरहेकाले ‘डिमोरेटर’मा ध्यानदिनुपर्नेमा जोड दिए ।

उनले भने, “१७/१८ खर्बको बजेट हैन कि ५७/६०  खर्बको  अर्थतन्त्रको आकार बढाउनेमा गयौँ भने यो बजेट विनियोजन विधयेकमा गइरहेको अधिक ध्यान गौण हुने मेरो बुझाइ छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा सांसद वाग्लेले परम्परागत ऊर्जाको स्रोतबाट आधुनिक ऊर्जाको स्रोततर्फ जानुपर्ने बताए । त्यसका लागि विद्युत् उत्पादन, प्रसारण र खपततर्फ बजेट विनियोजनले महत्व दिनुपर्नेमा उनको जोड थियो ।

उनले मनसुन र अन्य समयमा ऊर्जा उत्पादनबीच सन्तुलन नहुँदा ऊर्जा असुरक्षा बढेकोतर्फ ध्यानाकर्षण गराए ।  वाग्लले बजेटको लक्ष्य र जानुपर्ने दिशा ठीक भएको बताए ।

यसको कार्यान्वयका लागि पूँजीको खाडल पूर्तिलाई सहजीकरण आवश्यक भएकाले निजी क्षेत्रको सहभागितामा उनले जोड दिए ।

नेप्सेमा १७ अङ्कको गिरावट

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।

आइतबार तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैङ्क समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार चार सय ९२ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता शेयर किनबेच भएको छ ।