`

झापाको पुँजीगत खर्च ६६ प्रतिशत

झापा  । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो ।

चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चालुतर्फ १३ अर्ब चार करोड ११ लाख २९ हजार ४८ खर्च भएको छ ।

जिल्लाका स्थानीय तहलाई संघ तथा प्रदेश सरकारबाट प्राप्त कुल सात अर्ब ५५ करोड ७० लाख ५२ हजार अनुदानमध्ये पाँच अर्ब तीन करोड ५५ लाख ६५ हजार तीन सय ९४ बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए ।

उनका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ ।

स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ । “आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ”, उनले भने ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ ।

महाभारतको किसानलाई कफीको बिरुवा वितरण

धुलिखेल । किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०/८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।

कृषि शाखाको आयोजनामा कफी उत्पादन हुने वडामा सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा किसानलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिम डाँगीले जानकारी दिए ।

“महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नं १, २, ५, ६, ७ र ८ मा कफीको बिरुवा वितरण भइरहेको छ ” उनले भने, “कफी उत्पदान गर्ने किसानले सम्बन्धित वडामा सम्पर्क गरी बिरुवा लिन सक्नुहुनेछ ।” महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ ।

यहाँका किसानले एउटा घरबाट मात्रै कफी खेतीबाट वार्षिक पाँचदेखि दश लाखसम्मको बिक्री गर्दै आएको वडा नं ५ का सुवास जिम्बाले बताए ।

खेती राम्रो हुने र बजारीकरणको समस्या नहुने भएकाले पछिल्लो समयमा किसान कफी खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । महाभारतका किसानका लागि आम्दानीको स्रोत कफीखेती भएकाले विगतका वर्षदेखि नै बिरुवा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको उनले बताए । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एक लाख कफीको बिरुवा वितरण गरेको उनले बताए ।

महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । यहाँका किसानले कफी उत्पादनलाई जोड दिएपछि बागमती प्रदेश सरकारद्वारा एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/८२ का लागि प्रमदेशर पालिकाको साझेदारीमा कार्यान्वनय गर्ने गरी महाभारत गाउँपालिका–५ लाई कफी उत्पादनको लागि छनोट गरेको छ ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत महाभारत –५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि सरोकारवालाहरूसँग छलफलमा छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद तेजुलाल चौधरी सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टीकापुरमा जनधनको अपुरणीय क्षति भएकाले कानुन अनुसार कारबाही हुने बताएका हुन् । उनले कैद माफी मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने बताए।

उनले भने, ‘टीकापुर घटना एउटा दुःखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ । जहाँसम्म कैद माफी मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।’

प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको भन्दै प्रधानमन्त्रीले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।

उनले भने,’पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ। समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।’

भारत भ्रमण एजेण्डा विशेषका लागि थिएनः प्रधानमन्त्री

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।

सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारत भ्रमणकाबारेमा जानकारी दिएका हुन् । भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले यसअघि पनि यस्ता किसिमका अनौपचारिक भ्रमण हुने गरेको बताए। उनले भने, ‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो, सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो, यो पटकको भ्रमण त्यो किसिमको होइन ।’

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । जवाफमा मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए ।

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ ।  आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए । 

 विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । 

त्यस्तै श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो । 

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन् । 

इङ्ल्याण्डद्वारा वेस्टइण्डिज आठ विकेटले पराजित

काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ । 

वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् । 

जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल  बनाएको थियो ।

वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।

इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।

जीबी राई मलेसियामा रहेको पत्तालागेको छः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राई मलेसियामा रहेको पत्तालागेको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलामा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जीबी राईलाई फिर्ता ल्याउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको जानकारी दिएका हुन् ।

उनले मलेसियाका गृहमन्त्रीले जीबी मलेसियामा रहेका कन्फर्म रहेको बताए । उनले भने, ‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ। मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ ।’

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको उनले बताए ।

सरोज के लामाको ‘साँझ पर्नुअघि’

काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ‘साझँ पर्नु अघि ’गीतको भिडियो सार्वजनिक भएको छ ।

यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । लामा एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन् ।

साथी भेट्न गएकी प्रेमी आफूलाई गोधुली साँझ हुँदा पनि नआएको अवस्थामा गीतमा चित्रण गरिएको छ । आफ्नो प्रेमिकाले अर्काको अँगालोमा बेरिँदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ ।

आफनो मायालाई सुन्दर ठाउँ पुर्याउनको लागि अग्रसर भएको अवस्थामा छोडेर प्रेमिका जाँदा आफूलाई अप्ठ्यारो महसुस भएको कुरा गीतमा गरिएको छ ।

सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ ।

कालीगण्डकी करिडोरको निर्माणाधीन लमाए खोलाको पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।

पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गएरातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ ।

उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिए । बाढीबाट डेढ करोड बराबरको क्षति भएको छ ।

यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो ।

तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताए । उनका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उनले बताए ।

इन्जिनियर गौतमले ठेकेदारलाई एक/दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताए ।

हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो ।

डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो ।

त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।

राप्रपाको महिला संगठनकी अध्यक्ष अञ्जना शाहले छाडिन् पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले पार्टी परित्याग गरेकी छन् । शाहले बुधबार अध्यक्ष पदबाट राजीनामा दिँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

उनले प्रथम महाधिवेशनबाट गतवर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

उनले भनेकी छन्, ‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु ।’

संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण संसद बैठक प्रभावित

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण बुधबारको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएपछि कार्यालय समयपछि पनि संसद बैठक जारी रहेको भन्दै बैठकमा सचिवालयका कर्मचारीहरुले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।

त्यसपश्चात सांसद रामहरी खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । बैठकमा सभामुख घिमिरेले सांसदको मागप्रति ध्यानाकर्षण रहेको जनाउँदै कार्यसूचीमा रहेका विषयलाई हटाउँदै बैठक स्थगत गरेका हुन् ।

विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म कार्यालयसमयबाहेक काम नगर्ने बताउँदै आएका छन् ।

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने माग गरेका छन् ।

पुनः मतदानको माग गर्दै खनालद्वारा दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।

निर्वाचन बदर गरी पुनः निर्वाचन गराई पाउँ भन्दै खनालले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो ।

२०७९ मङ्सिरमा भएको निर्वाचनको नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका थिए। बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।

आफूले हार व्यहोर्नु परेपछि खनाल सर्वोच्च पुगेका थिए। निर्वाचनको मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुनःनिर्वाचन गर्न माग गरेका थिए ।

रिट खारेज भएसँगै बस्नेतले वैधानिकता पाएका छन् । यसैगरी दोहर्याई मतगणना गरी पाउँ भनेर मुद्दा दायर गर्ने सुरेन्द्र प्रसाद चौधरी, महेन्द्र यादवको पनि रिट खारेज भएको छ।

समस्याग्रस्त कुबेर, चार्टर्ड  र स्ट्याण्डर्ड सहकारीका निक्षेपकर्ताको बचत फिर्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री अधिकारी र मन्त्रालयसँगको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिए । 

संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा व्यवस्थापन समितिबिच विभिन्न मितिमा बचत फिर्तालगायत विषयमा छलफल भई समस्याग्रस्त १९ सहकारीमध्ये तीन  सहकारीको समस्या पूर्णरुपमा समाधान गरिएको अध्यक्ष गौतमले बताए । 

मन्त्री अधिकारीले समस्याग्रस्त अन्य १७ वटा सहकारीको समस्या स्थायी समाधानका लागि पहल गरिरहेको बताए । पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको उनले बताए ।

मन्त्री अधिकारीका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्तालाई तदारुकताका साथ अघि बढाइएको छ ।  

सोही मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका संरचनाः कर्जा  तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिए । 

थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने

थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ ।

माथिल्लो सदनमा मङ्गलबार उपस्थित १५२ सदस्यमध्ये विधेयकको पक्षमा १३०, बिपक्षमा ४ र १८ अनुपस्थित भएसँगै विधेयक बहुमतका साथ पारित भएको हो ।

यो विधेयक अब औपचारिक स्वीकृतिका लागि राजा महा भाजिरालोङ्गकोर्नका समक्ष प्रस्तुत गरिनेछ र शाही राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुने अल जजिराले बताएको छ ।

ताइवान र नेपालपछि समलिङ्गी विवाहलाई अनुमति दिने कानुन लागू गर्ने थाइल्यान्ड तेस्रो एसियाली मुलुक हुनेछ ।

समलिङ्गी अधिकारकर्मीहरूले थाईल्याण्डको यस कार्यको उच्च प्रशंसा गरेका छन् ।

विधेयकले पुरुष, महिला, पति र पत्नीलाई लैङ्गिक–तटस्थ शब्दमा पुनः नामाकरण गरेको छ र विवाहलाई दुई व्यक्तिहरू बिचको साझेदारीको रूपमा परिभाषित गरेको छ ।

थाइल्यान्डमा लेस्बियन, समलिङ्गी, उभयलिङ्गी वा ट्रान्सजेन्डर समुदायको जनसङ्ख्या बढ्दो क्रममा रहेपनि अधिकारकर्मीले वर्षौदेखी परम्परागत विश्वासका विरुद्ध लडिरहेका थिए ।

“हामी इतिहास बनाउन पाउँदा निकै गर्व गर्छौं“, समलिङ्गी विवाहसम्बन्धी संसदीय समितिका सदस्य प्लाइफाह क्योका सोडलादले भने ।

अल जजिराको रिपोर्टअनुसार विधेयक पारित भएपछि राष्ट्रिय सभामा केहीले यो समुदायको समर्थनमा इन्द्रेणी झण्डा फहराउँदै गरेको देखिएका थिए ।

मार्चमा ४१५ संसदहरुमध्ये केवल १० ले विधेयकविरुद्ध मतदान गरेपछि यो विधेयक तल्लो सदनबाट सर्वसम्मतले पारित भएको थियो ।

सुकीको जन्मदिन मनाउने क्रममा म्यान्मामा २२ जना पक्राउ

कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । 

म्यान्माको दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सुकी जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उदृत गर्दै बताएको छ । 

अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मा सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् । 

बुधबार ७९ वर्ष पुगेकी सुकीलाई सन् २०२१ मा उनको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । 

सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । उक्त विद्रोहलाई कुल्चन सेनाले सङ्घर्ष गरिरहेको छ । 

जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सु कीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञहरूको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सुकीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ । 

सेनाले सत्ता हातमा लिएपछि सुकीको कुनै विदेशी दूतसँग एकमात्र ज्ञात भेटघाट गत वर्षको जुलाईमा भएको थियो । तत्कालीन थाई विदेशमन्त्री डोन प्रमुडविनाईले उनीसँग एक घन्टाभन्दा धेरै समय भेटेको बताएका थिए ।

मानवअधिकार समूहहरूले उहाँलाई राजनीतिबाट बाहिर निकाल्ने धोकाका रूपमा निन्दा गरेको मुद्दाको सुनुवाइपछि जुन्ता अदालतले २७ वर्षको सजाय सुनाएको छ ।  

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् । 

पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा महता नेपालबाट सहभागी हुने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार उक्त तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् ।
  दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महता विगत १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आएका छन् । महतासँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत वर्ष चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा यसै वर्ष जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
  
     एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका महता सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि महता विश्व बरियताको ८१औँ स्थानमा पुगेका थिए ।

त्यसअघि उनी बरियताविहीन थिए । भियतनाममा पनि महताले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका उनले दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि महता विश्व बरियताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले उनी ५८औँ स्थानमा कायम छन् ।

महतासँगै पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको सङ्ख्या दुई पुगेको छ । पेरिस पारालिम्पिकमा पलेशा गोवद्र्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् । 

चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागी बन्ने पहिलो नेपाली खेलाडी बन्दै छिन् । 

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र स्याङ्जा फाइनलमा भिड्ने

कास्की । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बुधबार समूह ‘बी’ को अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।

  घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो ।

नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रन, कमल परियारले २२ बलमा १८ तथा सुदिप अर्यालले १२ रनको योगदान दिए । बलिङतर्फ स्याङजा ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्रीले दुई तथा अङ्कित न्यौपानेले दुई विकेट लिए । 

खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको क्षतिमा ७९ रन बनायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ तथा प्रदीप पाण्डेले अविजित ११ रन बनाए ।

बलिङतर्फ नवलपुरका लागि कमल परियारले चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर तीन विकेट लिए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित ६ रन दिएर दुई विकेट लिए ।

गण्डकी प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । 

प्रतियोगिताबाट कर्णाली प्रदेशमा हुने दशौँं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयहरूको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेटको मूल मान्यतामा नै त्रुटि भएकाले पुनर्लेखन गर्न माग गरेका हुन् ।

उनले मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए ।

उनले भने, ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटी भयो । मन्त्रीजीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजनमा हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनःलेखन नगरे बेठिक ढंगले वितरण गर्ने काममा संलग्न भएको निष्कर्षमा कांग्रेस पुग्ने बताए ।

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजना अन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द हुने सम्भावना रहेको समितिले जनाएको हो ।

योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने गर्दछ ।

समितिका कार्यकारी निर्देशक लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने सम्भावना रहेको जानकारी दिए । “यसअघि खासै ठूलो वर्षा भएको थिएन । वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, उनले भने, “सिन्धुपाञ्चोकतिर मनसुनी वर्षा सुरु भएर मेलम्ची नदीमा पानीको बहाव बढेको छ । शुक्रबार आयोजना अवलोकनका लागि त्यसतर्फ जाँदैछौँ । आयोजनालाई जोगाउन शुक्रबारदेखि नै बन्द गर्ने सम्भावना बढी छ ।”

बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ । “परामर्शदाता र एसियाली विकास बैङ्कले (एडिबी(ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्न सक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्नुपर्ने सुझाव दिएका छन् । आयोजना बन्द गर्दा बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । उनीहरुले आयोजना बन्द गर्न ढिलाइ भएको प्रतिक्रिया दिइरहेका छन्”, उनले भने, “उपत्यकामा खानेपानीको अभाव देखेर जटिल अवस्था नआउञ्जेल आयोजना सञ्चालन गर्ने निर्णय गरेका थियौँ ।”

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेकाले निरन्तरता दिइएको उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो । समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गनुपर्ने हुन्छ । कार्यकारी निर्देशक लामिछाने वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ । यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा शुक्रबारसम्म आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताए । उनले मुलुकको पश्चिम क्षेत्रमा भने मनसुन सक्रिय भइनसकेको जानकारी दिए ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी प्रकाशित बुलेटिन अनुसार आज, भोलि र पर्सिसम्म बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।

धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण

मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजना अन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिए ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ । सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उनले भने, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ । मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ ।”

प्रवक्ता राईले काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको जनाउँदै आवश्यकता र मागअनुसार पानी आपूर्ति गर्न नसकिएको बताए । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमीगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानीको अभाव बढिरहेको उनको भनाइ छ ।

सहतमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव पनि बढिरहेको बताए । उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहत समेत बढाएको उनको भनाइ छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका आठ सय ३७ ढुङ्गे धारामध्ये एक सय १७ लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० सुकिसकेका छन् । “कतिपय ढुङ्गेधारालाई जीवित बनाउन पानीको स्रोत खन्नुपर्ने हुन्छ । यसरी स्रोत खन्दा भएका स्रोत पनि सक्ने वा हराउने जोखिम रहन्छ”, प्रवक्ता राईले भने ।

भू–गर्भविद् डा सुबोध ढकालले उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारको विकासका क्रममा सहतमुनि पानीको रिचार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको बताए । उनले भू–गर्भसम्बन्धी प्रभावकारी अध्ययन नभई मेलम्ची खानेपानी आयोजनाको डिजाइन तयार गरिएकाले यो समस्या आएको बताए ।

नेपाल-भारत सीमा व्यवस्थित गर्न पासपोर्ट सिस्टममा हामीले जानैपर्छः रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएकाले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा सांसद पन्तले सिमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका हुन् । उनले नेपाल–भारतबीच अहिले खुला सिमाना भएकाले अपराध नियन्त्रणका लागि सीमालाई व्यवस्थित गर्नुपर्ने बताए ।

उनले भने, ‘केही दिनदेखि लगातार तराईमा मानिसहरु मारिएका, दिउँसै गोली हालेको समाचार आइरहेका छन्। यसको मूल कारण खुला सीमाना हो । उताबाट आउँदा पनि भारतसँग आइडी कार्ड, आधार कार्ड हेर्न सकिन्छ, यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै, यो पासपोर्ट सिस्टममा हामीले जानैपर्छ।’

सीमा व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई साधन स्रोत दिनुपर्ने बताए ।

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछः राष्ट्रपति पुटिन

उत्तर कोरियाको भ्रमणमा रहेका  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन् ।

उनले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेको रूसी सञ्चारमाध्यमले जर्नाका छन् ।

“युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे ।

“रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उनले भने ।

दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।

अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग

संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) साथै श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजायको दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ ।

“हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परक्षिणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र छ महिनाको जेल सजाय सुनाएको हो ।

यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ ।

“हामी जन गणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौं । साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गरेका थिए । उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गरेको ‘द भ्वाइस अफ अमेरिका’ले जनाएको छ । सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

भ्वाइस अफ अमेरिकाका अनुसार, वाङ सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिहरूका लागि वकालत गर्दै आएका छन् ।

अनलाइन समर्थन समूह फ्रि हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन् ।

विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि

नोम चोम्स्कीकी पत्नी भालेरिया वासरम्यान चोम्स्कीले आफ्ना पतिको मृत्यु भएको भन्ने समाचार असत्य भएको बताएका छन् ।

साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ ।

पञ्चानब्बे वर्षीय चोम्स्कीलाई ब्राजिलमा मस्तिष्काघातपछि अस्पताल भर्ना गरिएको थियो ।

मङ्गलबार चोम्स्की ‘एक्स’ को सूचनाको ट्रेन्डिङमा हुनुहुन्थ्यो किनकि यसअघि सार्वजनिक भएको उहाँको मृत्युको रिपोर्टहरू गलत सावित भएका थिए ।

ज्याकोबिन र द न्यू स्टेट्सम्यानले चोम्स्कीका लागि मृत्युलेख प्रकाशित गरे तापनि चोम्स्कीले आफ्नो शीर्षक ‘वी रिमेम्बर नोम चोम्स्की’ बाट ‘लेट्स सेलिब्रेट नोम चोम्स्की’ मा परिवर्तन गरेका थिए ।

‘द न्यू स्टेट्सम्यान’ ले ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसको निबन्धलाई पूर्णरुपमा हटाएको छ । ब्राजिलियन समाचार साइट डियारियो डो सेन्ट्रो डो मुन्डोले पनि चोम्स्कीको मृत्युको घोषणा गरेको समाचार हटाएर उहाँको नयाँ समाचार प्रकाशन गरेको छ ।

अस्पतालमा उनको मस्तिस्काघातको उपचार भइरहेको चोम्स्कीकी पत्नीले गत साता इमेलमार्फत् एपीलाई बताएकी थिइन् ।

चोम्स्की दम्पती सन् २०१५ देखि ब्राजिलमा बसोबास गर्दै आएका छन् । अमेरिकी विदेश नीतिको आलोचना गरेका नोम चोम्स्कीले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा दशकौंसम्म प्राध्यापन गरेका थिए ।
सन् २०१७ मा उनी टक्सनस्थित एरिजोना विश्वविद्यालयको कलेज अफ सोसियल एन्ड बिहेभियरल साइन्समा भर्ना भएका थिए ।

काठमाडौंका मेयरको घरअघि फोहोर थुपार्न सांसद सिंहको आग्रह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरको कार्यालय र मेयर बालेन साहको घरअघि थुपार्न आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै उनले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न आग्रह गरेका हुन् ।

मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको सिंहले बताएउ । उनले कवाडी व्यवसायीको आन्दोलनमाथिको दमनलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे ।

उनले भने, ‘बालेनजी, यहीँको मेयरले सिकाएको छ, काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ । तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन साहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

अदालतबाट आदेश जारी भएपनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश व्यक्त गरे। उनले काठमाडौंमा रण मैदानको रुपमा हेर्न खोजेको हो भन्दै प्रश्न गरे । काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा मंगलबार विरोध प्रदर्शन गरेका थिए।

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

सिन्धुली । आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ ।

महानगरको प्रस्तावविरुद्ध न्युरोडबासी सडकमा

काठमाडौ । न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउने माठमाडौ महानगरपालिकाको तयारी विरुद्ध व्यापारी व्यवसायी सडकमा उत्रिएका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै उनीहरुले प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको व्यवसायीको भनाइ छ । महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको प्रदर्शनकारीको भनाइ छ । स्थानीयको आवाजलाई दवाएर महानगरले जवरजस्ती कुनै काम गर्न नपाउने स्थानीयबासीको जोड छ ।

न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र आउजाउमा समेत असहज हुने भएकोले विरोध जनाउनुपरेको उनीहरुको तर्क छ ।

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न एमालेको माग

काठमाडौं । नेकपा एमाले सांसद महेश बर्तौलाले दूध किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद बर्तौलाले किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले आजदेखि आन्दोलन सुरू गरेका किसानलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

उनले भने , ’दूधको बक्यौताको माग गर्दै आजदेखि किसानहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलित ४५ बढी किसानलाई प्रहरीको हिरासतमा राखिएको छ। उहाँहरूमाथि चरम धरकपड भएको छ। उनीहरूले न्यायोचित माग उठाएका छन्। सभामुखमार्फत सरकारको, कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। राज्यको तर्फबाट र राज्यले वातावरण बनाइ दिएर किसानहरूले पाउनेपर्ने दूधको बक्यौता अविलम्बन प्राप्त होस। भुक्तानी गरियोस्।’

डीडीसीबाट झन्डैं २ अर्ब र निजी डेरीबाट ३ अर्ब गरी झन्डैं ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। किसानहरूले दूधको रकम नपाउँदा गाईवस्तुलाई दानापानीको व्यवस्था मात्रै नभइ आफूहरू पनि भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए।

न्यायालयको साख गिर्दोछ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौँ । २०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गरेका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वाेच्च अदालतको न्यायाधीश बने । उनी २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।

२०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा नेपालको सर्वोच्च न्यायालयको नेतृत्वमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठ २००८ वैशाख १ गते जन्मिएका हुन् । पछिल्लो समय उनले आफूलाई साहित्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, कानुन, समाज सेवा, नेपाली संस्कार र संस्कृतिसम्बन्धी विविध कार्यक्रमहरुमा व्यस्त राखिरहेका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग राससका प्रमुख समाचारदाता एकराज पाठक र समाचारदाता कालिका खड्काले गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंश:

नेपालको संविधानको कार्यान्वयनको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
– संविधान कार्यान्वयनको प्रारम्भिक चरण चुनौतीपूर्ण त हुन्छ नै । यसका साथमा संविधानसँग मानिसका आशा अपेक्षा पनि धेरै नै हुन्छन् । त्यसैले आशा र उपलब्धिको सन्दर्भबाट कार्यान्वयनको अवस्थालाई हेर्नुपर्ने हुन्छ । संविधान कार्यान्वयन भइरहेको छ । संविधानबमोजिम निर्वाचन भएका छन्, सरकार निर्माण भएका छन् । संविधान कार्यान्वयनको उद्देश्य नियमित कामभन्दा बाहेक जनताका आशा र भरोसाको प्रजातन्त्र कार्यान्वयन ठीक ढंगले हुनुपर्छ भन्ने पनि हो । नागरिकका नैसर्गिक अधिकारहरुको उपभोग गर्न पाएका छन् । यसका लागि कानुनहरु पनि ठीक ढङ्गले बन्नुपर्यो भन्ने मलाई लाग्छ ।

त्यसैगरी नागरिकमा सुशासनको प्रत्याभूति पनि हुनुपर्यो । कानुनी राज्य छ भन्ने अनुभूति जनतामा हुनुपर्यो। यसका साथसाथै देशमा विकासका कामहरुले पनि अग्रगति पाउनुपर्छ । नियन्त्रण र सन्तुलनको व्यवस्था पनि नियमित रुपमा सञ्चालन हुनुपर्ने हो । त्यसरी हेर्दा व्यवधानहरु धेरै देख्छु । यसरी हेर्दा सङ्घीयताको कार्यान्वयन त भइरहेकै छ तर अझै पनि मैले यसलाई आलोकाँचो कार्यान्वयनका रुपमा हेरेको छु । कार्यान्वनयन पूर्णरुपमा हुन नसकेको गुनासो जनमानसमा पनि सुनिन्छ । संसदले बनाउनुपर्ने ऐन, कानुनहरु अहिलेसम्म बनाउन सकेको अवस्था छैन । महिनौँसम्म संसद् अधिवेशन चल्दा एउटा मात्रै ऐन बनाउन सकेको समाचार हामीले सुनिरहेका छौँ । आवश्यक पर्ने कानुन नबन्दा संविधान अनुकूल बनेका अङ्गहरुले पनि प्रभावकारी तरिकाले काम गर्न सक्दैनन् । यो कुरा सम्बद्ध सबैले बुझ्नु जरुरी छ ।

नेपालको संविधान जारी भएपछि देश र जनताका सबै खालका समस्याहरु समाधान हुन्छन् भन्ने आश्वासन नेताहरुले जनतालाई दिएका थिए । नागरिक पनि त्यसैको पर्खाइमा थिए । तर संविधान जारी भएर सङ्घीयता आएपछि पनि जनताका समस्या र समृद्धिका सपना भने पूरा हुन सकेको देखिएको छैन । समस्याहरु थाती नै रहेको जनगुनासो व्यापक छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पनि कानुनको प्रभावकारी कार्यान्वयन हुनु आवश्यक छ । यसको अभाव हुन दिनु हुँदैन । त्यसैले मलाई लाग्छ संविधान कार्यान्वयनमा त आएकै छ तर पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । त्यसैले जनताको विकास र समृद्धिको सपना अझै पूरा हुन सकेको छैन ।

तर देशका नेताहरुले त मुलुकले लामो सङ्घर्षपछि सङ्घीयता पाएको हो । हामी अहिले पनि सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ, अहिले नै सबै कार्यान्वयन सम्भव पनि छैन । संविधान र सङ्घीयता कार्यान्वयनका लागि समय पर्याप्त भइसकेको छैन भन्नुहुन्छ नि ? 
– हामी सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ, यो सही कुरा हो । त्यसकारण हामी सिक्दैछौँ भन्ने कुरा सहज नै भयो तर प्रारम्भिक चरण त झनै द्रूत गतिमा संविधानको कार्यान्वयन गर्ने हो नि । कमीकमजोरी छन् भने थाहा हुन्छ र सच्याउन पनि अहिले नै सजिलो हुन्छ । तुरुन्तै सच्याएर जानुपर्छ । पर्ख र हेर भन्ने छुट हामीलाई छैन । नेपाल विकासशील मुलुक हो । अझै यसका लागि कति समय या अवधि माग्ने भन्ने कुरा हुँदैन भन्छु म । संविधानको कार्यान्वयन गर्ने संयन्त्रलाई अझ बढी चुस्त र द्रुत बनाउनु जरुरी छ । अहिले नै यसलाई चुस्त र छरितो अनि स्पष्ट बनाउँदै गइएन भने सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा विलम्ब हुन जान्छ । यसका कारण राज्यका फरकफरक अङ्गहरुका बीचमा मतभेद बढ्दै जाने खतरा पनि हुन्छ । यसबाट सङ्घ, प्रदेश र स्थानीय तह पनि प्रभावित हुन सक्छन् । त्यसको भए उहाँहरुलाई मेरो प्रश्न छ–संविधान कार्यान्वयन गर्न बनाएको हो कि पर्खन ? अनि सङ्घीयता कार्यान्वयन फटाफट नगरेर हामी कहिलेसम्म पर्खने त ? हामीले संविधान पर्खिनका लागि बनाएको हो ? त्यो तरिका ठीक होइन । जारी गर्ने बित्तिकैदेखि संविधानको कार्यान्वयनका लागि आवश्यक सबै बाटोहरु फुकाउँदै जानुपथ्र्याे । यसमा अझै विलम्ब भइरहेको छ । त्यसैले मलाई लाग्छ संविधानको कार्यान्वयनलाई पर्खने, टार्ने, पर सार्ने वा माफी माग्ने कुनै पनि तर्कसँग सहमत रहन सकिन्न ।

प्रदेश सरकार गठनका प्रक्रियाहरुका बारेमा अदालतमा नियमित रुपमा मुद्दा आउने गरेका छन् । सरकार गठनका स–साना मुद्दा पनि सर्वोच्च अदालतमा आउने गरेका छन् । मुलुकमा भइरहेको यो पछिल्लो अभ्यासलाई यहाँले कसरी लिनुभएको छ ? 
– यसमा केही समस्या त संविधानमा पनि छ । सङ्घीय र प्रदेश सरकारको पनि संरचनागत समस्या यसमा देखिन्छ । सुधारिएको संसदीय व्यवस्था भनिएकाले सुधार भएको पनि देखिनुपर्दछ । सङ्घीय सरकारका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव लान नपाउने भनिएको त छ तर पनि त्यो सरकारले पूरा दुई वर्षसम्म जरो गाडेर बस्न पनि नसक्ने अनि अविश्वासको प्रस्ताव लान पनि नसक्ने अवस्था देखिएको छ । प्रजातन्त्र भनेको प्राविधिकरुपमा जिउने होइन कि यसबाट व्यवस्थालाई नै जीवन्त बनाउने हो । संविधानमा संरचनागत र प्रक्रियागत समस्याहरु पनि छन् । फेरि यसमा बाधा अड्काउ फुकाउको व्यवस्था पनि छैन । सबै कुरा अदालतमा लाने परिपाटी छ । केही राजनीतिमा इमान, निष्ठा र क्षमताका कुराहरुको पनि जोहो गर्नुपर्छ नि, त्यो देखिएन ।

कतिपय राजनीतिक स्थानमा नै समस्याका सामाधानहरु खोज्नुपर्ने हो तर प्रत्येक कुरालाई अदालतमा लैजाने काम भएको छ । अदालतमा समय लाग्ने, ढिला गर्ने यस्तो गरेर समय बर्बाद पार्ने काम गर्नु हुँदैन । कैयौँ राजनीतिक मुद्दाहरु राजनीतिक रुपमै समाधान गर्ने गरी दलहरुले न्यूनतम सहमति जुटाउनुपर्छ तर त्यो हुन सकेको अवस्था पनि देखिँदैन । पछिल्लो समय त झन् राजनीतिक नेतृत्वमा बहानाबाजी बढेको देखिएको छ र यसको अवसर जनतामा परेको छ । आफ्नो विवाद आफूले समाधान गर्न न्यूनतम सहमति बनाउनुपर्छ । असुविधा जनतालाई भएको छ । आफ्नो विवाद अन्त पठाउने संस्कृति संविधानले पनि धेरै बनाएको छैन कि जस्तो मलाई लाग्छ । यस्तै कारणले यहाँले भनेजस्तै सानातिना विषयवस्तु एवं राजनीतिक मुद्दाहरु पनि अदालतसम्मै पुगिरहेका हुन् ।

मुलुक एउटा राज्य प्रणालीबाट अर्कोमा जाँदाको सङ्क्रमणकालीन अवस्थामा त्यस देशको सर्वोच्च न्यायालयको भूमिका कस्तो हुनुपर्छ ?
– सर्वोच्च अदालतको भूमिका त सधैँ रहन्छ नै । कानुनी राज्यको अर्थ सीमित शासन भन्ने हुन्छ । कसैको पनि अधिनमा रहन्न । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत नै हो । अदालतमा आएका प्रश्नहरुलाई अदालतले हुँदैन वा गर्दिन भन्न पनि मिल्दैन । उसले ब्यहोनुपर्छ । कम प्रश्न आए कम जवाफ र धेरै प्रश्न आए धेरै जवाफ दिनुपर्ने हुन्छ । पन्छिने कुरा त आउँदैन तर विवाद कति अदालतमा विवाद सुम्पिने भन्ने राजनीतिक प्रश्न हो नि । यस्तो त संविधानमा लेखिने प्रश्न पनि हो । यस्तो सङ्क्रमणकालीन अवस्थाबाट राज्य व्यवस्था सञ्चालन भइरहेका बेला राजनीतिक क्षेत्रमा धेरै समस्या हुन्छन् र त्यसको प्रत्यक्ष असर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैतिर देखिन्छ । कतिपय अवस्थामा नेताले आफूलाई सुविधाजनक अवस्थामा राख्ने अवस्था पनि आएको हुन्छ । नागरिकले संविधानमा व्यवस्था भएकै कतिपय अधिकारहरु पनि पाउन नसकेको अवस्था पनि हुनसक्छ । यस्तो सङ्क्रमणकालीन राजनीतिक अवस्थामा नेताले अथवा पहुँच हुनेले जितेको र जनताले हारेको परिस्थिति समेत निर्माण भइरहेको हुनसक्छ । यस्तो बेलामा मुलुकको न्यायालयको भूमिका अघिपछिको भन्दा महत्वपूर्ण हुन्छ र उसले कानुनी राज्यको आभास दिलाउने गरी काम गरेको हुन्छ ।

पछिल्लो समय मुलुकको न्यायालयमाथि विवाद देखिएको छ । न्यायालयप्रतिको मर्यादा र साख पनि घट्दो क्रममा छ भन्ने आवाजहरु पनि सुन्ने गरिएको छ । यसप्रति यहाँको धारणा के छ ? 
–न्यायालयको मर्यादा र त्यसको सम्मान कम भएर न्यायालयको साख गिरेको छ भन्ने भाष्य कहीँ कतैबाट पनि निर्माण गर्न हुँदैन । न्यायालयले आफ्नो काम गरिरहेकौ छ । न्यायालयले राजनीतिक गर्ने होइन, गरेको पनि छैन । उसको काम आफूसमक्ष प्रस्तुत हुन आएका विवादहरुको निष्पक्ष समाधान दिने हो । यो काम न्यायालयले गरिनै रहेको छ । अनि अर्काे मलाई लागेको सबैभन्दा महत्वपूर्ण कुरा न्यायालयले दिएका निर्णयहरु कार्यान्वयन नभएको अवस्था भने छैन । केही कानुनी समस्याहरु छन् तर मूलरुपमा राजनीतिक एवं संवैधानिक क्षेत्रमा पनि सम्बन्धित दल या व्यक्ति विशेषलाई अप्रिय लागे पनि कानुनअनुसार नै निर्णयहरु भएका छन् र ती निर्णयहरुको कार्यान्वयन पनि भएकै अवस्था छ । न्यायालयको मान मर्यादा घट्नुपर्ने विन्दुमा नै पुगेको छ भन्ने मलाई लाग्दैन तर संविधान निर्माण गर्दा राजनीतिक तत्व हाबी भने भएकै हो । न्यायालयको संवेदनशीलतालाई जुन स्थानमा राख्नुपर्ने हो त्यो राखिएको छैन भन्ने मेरो धारणा छ । नियुक्तिका संयन्त्रहरुमा पनि कहीँ न कहीँ राजनीतिक असर परेको छ तर त्यसका बाजदुत पनि कुनै व्यक्ति न्यायालयमा प्रवेश गरेपछि भने आफ्नो भरपुर क्षमताले निस्पक्षरुपमा काम गरेको छ ।

संविधान कार्यान्वयनकै विषयमा कुरा गर्दा यहाँ नै सर्वोच्च अदालतको न्यायाधीश हुँदा दिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन अहिलेसम्म भएको छैन ? त्यो किन ढिलाइ भएको होला ? न्यायिक दृष्टिकोणबाट कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 
–सङ्क्रमणकालीन न्यायमा ढिलाइ हुनाका कारण त धेरै होलान् तर मुख्य कुरा चाहीँ राजनीतिक निष्ठाको प्रश्न हो । यस विषयमा न्यायालयबाट नेपालको राष्ट्रिय परिवेशमा अदालतबाट जे जति उत्तर दिनुपर्ने हो, त्यो अदालतको फैसलाबाट दिइसकेको छ । के गर्न बाँकी हो भन्ने कुरा पनि मार्गनिर्देश भइसकेको छ । त्यसका बाबजुत पनि वर्षौंवर्षसम्म पनि त्यो फैसलाको कार्यान्वयन नगर्नु भनेको राजनीतिक क्षेत्रको इच्छाशक्तिकै अभाव हो भन्छु म । यसलाई त अझ दण्डनीय किसिमको इच्छाशक्तिको अभावभन्दा पनि फरक पर्दैन । फैसला कार्यान्वयन गर्नेगरी कानुनको संशोधन गर्नु अनिवार्य छ । त्यो अनिवार्यताको इमान्दारिताका साथ पालना गर्नुुपर्छ । अरू देशमा कस्तो कस्तो अभ्यास भएको छ भनेर दौडधुप गरेर सयम बिताउने संस्कृति आजको दिनमा पनि मौलाइरहेको मैले देख्छु । त्यो आवश्यक छैन । सङ्क्रमणकालीन न्यायको विषयमा यो वा त्यो बहाना गरेर अयन्त्र कतै घुमफिर गरेर सर्वोच्च अदालतले गरेको फैसलाको आलटाल गर्न मिल्दैथ्यो । खोइ किन हो राजनीतिक दलहरुमा विलम्ब भएकामा चिन्ताभन्दा पनि यसैमा रमाएको देख्छु । पीडितको पीडालाई आफ्नै ठानेर राज्य संयन्त्रमा रहेकाहरुले काम गरिदिनुपर्छ । ऐन संशोधन गर्न आलटाल गर्नुहुँदैन । यस्तो काम गैरन्यायिक त हो नै गैरजिम्मेवार पनि हो । पीडितलाई जतिसक्दो छिटो न्याय दिनुपर्ने विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्छ भन्ने मलाई लाग्छ ।

न्यायमा सर्वसाधारणको सहज पहुँच अझै पुग्न सकेन, न्याय महङ्गो भयो भन्ने गुनासो छ नि ? 
– न्यायमा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन । त्यो मात्र होइन, उजुरी गर्ने हक नै कम छ । चित्त नबुझेको मानिसले न्यायालय जान पाउने हक हो । त्यसको प्रयोग नागरिकले गर्नुपर्छ । न्यायमा पहुँच नपुग्नुको कारण कानुनी राज्यको अवधारणालाई प्रभावकारीरुपमा आत्मसात् गर्न नसक्नु हो । सर्वोच्च अदालतमा न्यायमा पहुँचसम्बन्धी आयोग पनि छ तर त्यसका कार्यक्रम गर्नका लागि आवश्यक स्रोत, साधन र क्षमता छैन । जनतासँगको सम्पर्क चाहिन्छ । ऐन, कानुनको सहज वितरण, निःशुल्क न्याय दिनुपर्ने हुन्छ । अदालतमा हेर्दा त वास्तवमा नागरिकलाई न्यायका खर्च नै हुँदैनभन्दा पनि हुन्छ । मलाई लाग्छ हामी संसारमै सबैभन्दा थोरै बजेटमा काम गर्नेमा पर्छौं । तर यदि न्यायका क्रममा नागरिकको धेरै बजेट खर्च भएको छ भने त्यो कहाँ जान्छ उहाँहरुले नै खोज्नुपर्ने विषय हो । न्यायमा पहुँच पुर्यायाउने विषयमा जनता, वकिल, न्यायाधीश, नेता कोहीले पनि ध्यान दिएको देखिँदैन । त्यसका लागि छुट्टै बजेट जरुरी पनि छ । तर त्यो हुन सकेको छैन । न्यायमा सबै नागरिकको पहुँचका विषयमा न्यायलय र सबै पक्ष जागरुक हुुनु र लाग्नु जरुरी छ ।

न्यायालयमा मुद्दाको खर्चबापतमा संसारको सबैभन्दा कम खर्च छ हामीकहाँ । हाम्रो त अदालतती प्रक्रिया सस्तो छ तर पैसा कसको पकेटमा परेको छ भन्ने बारेमा अध्ययन गर्नुस् । कानुन व्यवसायीमा जान्छ कि कहाँ जान्छ ? उनीहरुसँग हिसाब भाग्नुभएको छ ? पैसा अन्यत्रै बुझाउने र हिसाब चाहिँ अदालतमा देखाएर न्याय महङ्गो भयो भन्न मिल्ला र ? अदालतमा बुझाएको पैसा मात्र अदालती फी हो । अदालतले भन्दा बाहिर बुझाएको पैसाको जवाफ अदालतले दिन सक्दैन । न्यायमा महङ्गो अन्य कारणले भएको होला । त्यसको जवाफ त अदालतले दिन सक्दैन ।

भीडलाई हेरेर आदेश वा फैसला हुने गरेको आरोप पनि बेलाबेला न्यायालयप्रति लाग्ने गरेको छ । यसमा यहाँको अनुभव कस्तो छ ? 
–यो कुनै एक घटना या विषयसँग जोडेर सामान्यीकरण गरेर भन्न मिल्ने विषय होइन । यसरी भन्न पनि अप्ठयारो छ । अमुक मुद्दामा मानिसले अमुक धारणा बनाएका हुन्छन् । त्यो सबैको धारणा सुनेर पनि हुँदैन । सामान्यतया जनताका आवाज सुन्नु त राम्रै हो तर पनि अखबार पढेर न्यायाधीशले निर्णय गर्ने होइन र गरेका पनि छैनन् । कानुन र मिसिल हेरेर नै निर्णय गर्ने हो । कहीँ कतै मानिसलाई लागेको हुन सक्छ तर त्यतिमात्रै पनि होइन । सरकारले कहिलेकाहीँ न्यायालयलाई भारको रुपमा हेरेको हुन्छ, त्यसो गरिनु हुँदैन । अदालती दस्तुर पनि अत्यन्तै कम छ । भीडलाई हेरेर अदालतले फैसला गर्छ  भन्ने कुरा गलत हो ।

नेपालको न्यायालयमा थप सुधार गर्नका लागि के गर्नुपर्छ भन्ने लाग्छ ? 
–संवैधानिक संरचनादेखि नै हेर्नुपर्ने हुन्छ । प्रक्रियागत समस्या पनि छन् । वृहत् अर्थमा चाँहि सुधारको छुट्टै कार्ययोजना बनाएर एउटा प्याकेजमा सायद कुरा गर्नुपर्छ । समाजमा न्यायका सरोकारवाला पक्षहरु धेरै छन् । सरोकारवाला पक्षहरुलाई समेत समेटेर सबैको हितमा हुने र रहने गरी सबैसँगको आवश्यक सम्बादबाट रचनात्मक ढङ्गले अघि बढ्नुपर्छ । यसो गर्न सकियो भने यस क्षेत्रमा उठेका प्रश्नहरुको पनि उचित रुपमा सम्बोधन गर्न सकिन्छ । यहाँले अघि भनेजस्तै कतिपय अवस्थामा न्यायालयमाथि अहिले नागरिकस्तरबाट पनि प्रश्न चाहिँ उठिरहेकै छन् । तिनको निराकरणका लागि पनि यस प्रकारको न्यायिक पुनर्संरचना आवश्यक छ भन्ने मलाई लाग्छ ।

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण थियो ।

संघीय संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या

काठमाडौं । नेपाल प्रहरीका एक जवानले संघीय संसद भवनमा आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार बिहान ड्यूटीमा रहेका प्रहरी जवान अजित गोलेले आफूलाई गोली हानेका हुन् । गोली लागेर उनको मृत्यु भएको छ ।

उनले शौचालय छिरेर गोली हानेका बताइएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत

धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको जानकारी दिए ।

उपचारपछि किशोरीले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । प्रहरीले किशोरीको बयानका आधारमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार हुन् ।

रुसी राष्ट्रपति पुटिन प्योङ्याङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राजधानी प्योङ्याङ पुगेका छन् । उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरेका छन् ।

विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए ।

युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन् । पुटिन र किमले बुधवारै कैयौँ बैठकहरूमा सहभागिता जनाउने छन् भने राजकीय भोजमा पनि उनीहरू सरिक हुनेछन् । पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्।

सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए । गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए ।

दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ । अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ ।

कालापानी क्षेत्र जोड्ने सडकका लागि बजेट नछुट्याएको भन्दै सांसद बडूद्वारा रोष्ट्रममै मौनधारण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा भाग लिने क्रममा सांसद बडूले सडक निर्माणमा बजेट नछुट्याएको भन्दै रोष्ट्रममै मौन धारण गरेका हुन् ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको दार्चुलाको तुसारपानी, कोठेधार, तिंकर सडकको ७९ किलोमिटरका लागि बजेट विनियोजन नगरेको भन्दै सांसद बडूले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘त्यो ठाउँको सुविधा, बाटोको लागि, त्यो ठाउँको जनताका लागि मैले मात्रै बोलिरहनुपर्ने हो ? अनि मात्रै ध्यानाकर्षण हुन्छ ? यो सबैको साझा विषय हुन सक्दैन ? म सोध्न चाहन्छु भौतिकमन्त्रीलाई उहाँले यसपटक यो बाटोमा कति बजेट राख्नुभएको छ ? प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के ? भौतिकमन्त्री महासेठलाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो ।’

दार्चुलाको तिंकर क्षेत्रमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै बडूले उक्त सडक निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजनको माग गरेका थिए । त्यसपछि अन्तिममा सांसद बडूले रोष्ट्रममै एक मिनेट मौन धारण गरेका थिए ।

सरकारले टुक्रे आयोजनामा बजेट बाँड्यो: पूर्वअर्थमन्त्री डा महत

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा डा महतले सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको तर अत्यावश्यक प्रकृतिका आयोजना भने प्राथमिकतामा पर्न नसकेको बताए । बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको बताउँदै डा महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पु-याएको बताए ।

डा महतले तीन करोडभन्दा कम लागतका आयोजनामा सङ्घीय सरकारबाट बजेट विनियोजन नगर्नेगरी सरकारले मापदण्ड बनाएको भए पनि त्यसको पालना नभएको आरोप लगाए । “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ११ अर्ब ८७ करोड, सहरी विकासमा २९ अर्ब ६२ करोड, ऊर्जा जलस्रोत तथा सिँचाइमा पाँच अर्ब १५ करोड, खानेपानी मन्त्रालयमा पाँच अर्ब बराबरका आयोजना एक करोडभन्दा कम लागतका छन् । एक करोडमाथि र दुई करोडसम्मका धेरै आयोजना छन्”, डा महतले भने, “ केन्द्र सरकारले तीन करोडभन्दा तलको आयोजना र प्रदेशले एक करोडभन्दा कम लागतको आयोजनामा बजेट नहाल्ने भनेर कार्यविधि बनाएका थियौं । प्रधानमन्त्री आँफैले पनि यसरी बजेट नहाल्ने भनेर बोल्दै हिँड्नुभएको थियो तर बजेट हेर्दा अधिकांश न्यून रकमका टुक्रे आयोजना मात्रै देखिए ।” उपभोक्ता समितिको नाममा आफ्ना मान्छेलाई पोस्नका लागि ती आयोजना बजेटमा राखिएको डा महतको आरोप छ ।

सरकारले गत वर्ष आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८० तर्जुमा गर्दै सङ्घीय सरकारबाट तीन करोडभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने नीति लिएको थियो । पुँजीगत शीर्षकको बजेटमा मात्र करिब ५५ अर्ब बराबर बजेट एक करोडभन्दा तलका आयोजनाका लागि विनियोजन भएकाले त्यसले नतिजा दिन नसक्ने डा महतको भनाइ छ । “स्थानीय सडकअन्तर्गत छ सय ५५ वटा आयोजनामध्ये ७९ वटा आयोजना एक करोडभन्दा माथिका छन् । काठमाडौँ सडक विस्तारका ४३ वटा आयोजनामध्ये तीनवटालाई मात्र एक करोडभन्दा माथिको बजेट दिइएको छ । रणनीतिक सडक पुल निर्माणमा छ सय ७९ आयोजनामध्ये ७२ वटामा मात्रै एक करोडमाथि बजेट छ । दुई करोडमाथिका सातवटा मात्रै छन्”, उनले भने, “वैकल्पिक सहायक राजमार्ग आठ सय ९८ वटा आयोजनामध्ये एक सय ८९ वटामा मात्रै एक करोडमाथि बजेट छ । दुई करोडमाथि बजेट भएका आयोजना नगण्य छन् ।”

छ हजार आठ सय ३५ वटा पुलको पूर्वतयारी गरी सम्भाव्यता अध्ययन गर्ने भने पनि सरकारले जम्मा ६९ लाख बजेट विनियोजन गरेको डा महतले बताए । धनुषा जिल्लामा मात्रै भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका ५५ वटा आयोजना परेकामा उनले विरोध जनाए ।

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँडेको कांग्रेसको आरोप

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा डा महतले सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको तर अत्यावश्यक प्रकृतिका आयोजना भने प्राथमिकतामा पर्न नसकेको बताएका हुन् ।

बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको भन्दै महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पुर्याएको बताए ।

डा महतले तीन करोडभन्दा कम लागतका आयोजनामा सङ्घीय सरकारबाट बजेट विनियोजन नगर्नेगरी सरकारले मापदण्ड बनाएको भए पनि त्यसको पालना नभएको आरोप लगाए ।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ११ अर्ब ८७ करोड, सहरी विकासमा २९ अर्ब ६२ करोड, ऊर्जा जलस्रोत तथा सिँचाइमा रु पाँच अर्ब १५ करोड, खानेपानी मन्त्रालयमा पाँच अर्ब बराबरका आयोजना एक करोडभन्दा कम लागतका छन् । एक करोडमाथि र दुई करोडसम्मका धेरै आयोजना छन्”, डा महतले भने, “ केन्द्र सरकारले तीन करोडभन्दा तलको आयोजना र प्रदेशले एक करोडभन्दा कम लागतको आयोजनामा बजेट नहाल्ने भनेर कार्यविधि बनाएका थियौं । प्रधानमन्त्री आफैंले पनि यसरी बजेट नहाल्ने भनेर बोल्दै हिँड्नुभएको थियो तर बजेट हेर्दा अधिकांश न्यून रकमका टुक्रे आयोजना मात्रै देखिए ।”

उपभोक्ता समितिको नाममा आफ्ना मान्छेलाई पोस्नका लागि ती आयोजना बजेटमा राखिएको डा महतको आरोप छ ।

सरकारले गत वर्ष आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८० तर्जुमा गर्दै सङ्घीय सरकारबाट रु तीन करोडभन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने नीति लिएको थियो ।

पुँजीगत शीर्षकको बजेटमा मात्र करिब ५५ अर्ब बराबर बजेट एक करोडभन्दा तलका आयोजनाका लागि विनियोजन भएकाले त्यसले नतिजा दिन नसक्ने डा महतको भनाइ छ ।

“स्थानीय सडकअन्तर्गत छ सय ५५ वटा आयोजनामध्ये ७९ वटा आयोजना  एक करोडभन्दा माथिका छन् । काठमाडौँ सडक विस्तारका ४३ वटा आयोजनामध्ये तीनवटालाई मात्र एक करोडभन्दा माथिको बजेट दिइएको छ । रणनीतिक सडक पुल निर्माणमा छ सय ७९ आयोजनामध्ये ७२ वटामा मात्रै रु एक करोडमाथि बजेट छ । रु दुई करोडमाथिका सातवटा मात्रै छन्”, उनले भने,“वैकल्पिक सहायक राजमार्ग आठ सय ९८ वटा आयोजनामध्ये एक सय ८९ वटामा मात्रै एक करोडमाथि बजेट छ । दुई करोडमाथि बजेट भएका आयोजना नगण्य छन् ।”

६ हजार आठ सय ३५ वटा पुलको पूर्वतयारी गरी सम्भाव्यता अध्ययन गर्ने भने पनि सरकारले जम्मा ६९ लाख बजेट विनियोजन गरेको डा महतले बताए। धनुषा जिल्लामा मात्रै भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका ५५ वटा आयोजना परेकामा उनले विरोध जनाए ।

अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन सभामुखको निर्देशन

काठमाडौँ ।  सङ्घीय संसद सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो । 

“सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिना अनुमति कतिपय गैरसरकारी संस्थाहरुले सङ्घीय संसद्अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ”, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । 

आइतबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको थियो । 

राजेश र कल्पनाको ‘घोसे मोरी’

काठमाडौँ । राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । राजेश ढकाल र कल्पना परियारको स्वर रहेको गीतमा गायक ढकालकै शब्द छ। भने गायक ढकाल र सरोज लामिछानेले गीतमा संगीत भरेका छन् ।

खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा आरके मिलनको संगीत संयोजन छ।मिलन फिल्म्सको प्रस्तुति रहेको गीतको भिडियो मिलन श्रेष्ठको निर्देशन, सन्तोष तिमल्सिनाको छायांकन, रोशन धितालको सम्पादनमा बनेको छ ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीत गायक राजेश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

संसदीय समितिले थाल्यो छानबिन, बचतकर्ताको ५ लाखसम्म फिर्ता गर्ने विकल्पमा छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सहकारी मन्त्रालय, सहकारी बोर्ड लगायत सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको छ ।

मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा समस्याग्रस्त सहकारीको अवस्था, कानुनी समस्या र नियमनको व्यवस्था लगायत विषयमा सरोकारवाला सरकारी नियकासँग छलफल गरेको हो ।

बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको उनले बताएका छन् । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको भन्दै थापाले समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने जानकारी दिए ।

त्यस्तै बजेटमार्फत ५ लाखसम्मको बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्थाबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग छलफल भएको उनले बताए । संयोजक थापाले निरन्तर छलफल गरेर तोकिएको तीन महिनाको समयमै प्रतिवेदन दिने गरि काम गर्ने बताए ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गत जेठ १५ गते गठन भएको थियो । यो समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको बचत हिनामिनाबारे पनि छानबिन अघि बढाउने म्यान्डेट पाएको छ ।

समितिको संयोजकमा सांसद सूर्यबहादुर थापा तथा सदस्यमा सांसदहरू ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्रीप्रसाद पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुषाल रहेका छन् ।

नेप्से  १८ दशमलव ७६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
    
परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ ।

त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ । निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
    
कारोबार रकम र कारोबार भएका शेयर  सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको रु ११ करोड २७ लाख ९८ हजार सात सय ८२ बराबरका तीन लाख ६२ हजार एक सय २४ कित्ता शेयर किनबेच भएका छन् ।