`

परिवर्तनविरोधी भाष्य निर्माण गर्नेहरुकाविरुद्ध प्रतिरोध गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

“सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन”, प्रधानमन्त्री दाहालले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैैन ।” 

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।” 

क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नुरहेको बताए ।

बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने भन्दै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । 
उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे । 

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।


हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रबार उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । 


“अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको सख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ”, उनले भने, “विमानस्थल पूर्वाधारको सेवा विस्तार भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ । यसको बहुआयामिक महत्व पनि छ ।”


पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए । उनले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रुपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गरे ।


प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे ।


महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ ।


हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न सकिन्छ । 


आज हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत नलिञ्चोक आएका थिए ।


करिब ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।

रवि भन्छन् -भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् । पार्टी दोस्रो स्थापना दिवसमा अवसरमा शुभकामना सन्देश दिँदै सभापति लामिछानेले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको बताएका हुन् ।

उनले शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘रास्वपा जन्मिएको २ वर्ष भयो । हामी हाम्रो उद्देश्यमा अडिग छौं, गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगाा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं । कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौं लाख शुभेच्छुकहरु हुनुहुन्छ । २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कदो छ’ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौं ।’

उनले २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तानेको र ४ मन्त्रीले सिङ्गो देशको ध्यान तानेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘सम्झ्नुस् त, देश तथा विदेशका टोलटोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं । साथीहरू घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो । बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् । सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना ।’

काभ्रेको रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका दूधराज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वडाध्यक्ष निरध्वज लामा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अशोक गौतम, राप्रपाका प्रतिनिधि कुवेर गौतम र रोशी माविका प्रधानाध्यापक रामशरण सिग्देलले घोषणा गरेको कार्यलाई निरन्तर अघि बढाउनसक्नुपर्ने बताए ।

कोदो उत्पादन बढाउन तनहुँको म्यादेमा उपाध्यक्षसँग कृषि कार्यक्रम

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो ।

कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण सहज बनाइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

खाद्य स्वच्छता कायम गर्न ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई व्यावहारिक कार्यन्वयनका लागि कोदोलगायतका स्थानीय उत्पादनलाई बढावा दिन लागिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमले पशु सेवा तथा प्रसार कार्यक्रमअन्तर्गत अध्यक्षसँग पशु कार्यक्रम सञ्चालन गरिने छ ।

घरेलु तथा साना उद्योगतर्फका विभिन्न कार्यक्रम समावेश गरिएको छ । उनले भने,“स्थानीय सीप स्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढवा दिई व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने योजना रहेको छ ।”

स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटीमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ ।

पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन् । स्वास्थ्य क्षेत्रतर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल आधार बनाइएको छ । अपाङ्गता, ज्येष्ठ नागरिक र अन्यतर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडेर अघि बढाइने जनाइएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य दुई खर्ब ३८ अर्ब थियो ।

वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् ।

कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनले बताए ।

यसरी मनाइयो पोखरामा योग दिवस(फोटोफिचर)

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपिठको विशेष आयोजनामा शुक्रबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत पोखरामा क्रियाशील पतञ्जलि योगपिठद्धारा सञ्चालित योग केन्द्रका साधक साधीकाहरु लगायत योगप्रेमीहरुको सहभागिता रहेको थियो । योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।


फोटोः पोखरा महानगरपालिका

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ। कांग्रेसले आज संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो ।

त्यसअघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइका लागि पेशी तोकिँदै छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिट यसअघि पेशी पर्दै सरेको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ। यो विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधीवक्ता कार्यालयले लेखेको पत्र थियो । महान्यायात्रिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग उठेको थियो । सोही माग बोकेर रिट निवेदन सर्वोच्च पुगेका थिए ।

सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुनः दर्ता भएको थियो ।

केजरीवाललाई अदालतले दियो जमानत

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले जमानत दिएको छ । दिल्लीको राउज एभिन्यू कोर्टले केजरीवाललाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केजरीवालका वकिलले जमानतका लागि दिएको याचिकामा बिहीबार सुनुवाइ गर्दै जमानत दिएको हो । केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ मा पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको थियो । हालै सम्पन्न लोक सभा चुनावका निम्ति उनले २१ दिन जमानत पाएका थिए। चुनाव सकिएलगत्तै जुन २ मा उनी पुनः जेल गएका थिए ।

गोरखामा बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम

गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

‘‘नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा किसानले लगाउँदै आएका खेतीबालीमा बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले बढी क्षति पुर्याउने गरेको छ”, उनले भने, ‘‘त्यसका लागि समयमा नियन्त्रणको थालनी नगरे यहाँका किसानहरु कृषि पेशाबाट विस्थापित हुने अवस्था छ ।’’

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरु अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ ।

‘‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ”, नगरप्रमुख चिन्तनले भने, ‘‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन जङ्गलमा फलफूल तथा बोट विरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका बन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

“नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ”, उनले भने, ‘‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पुर्याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’’

फ्रान्सेली–चिनियाँ उपग्रहले ब्रह्माण्डको सबैभन्दा ठूलो विस्फोटको खोजी गर्ने

एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ ।

यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पुग्नका लागि अर्बौं प्रकाश वर्षको यात्रा गरेको छ । त्यसैले वैज्ञानिकहरूले ब्रह्माण्डको युवाका केही रहस्यहरूको उत्तर पाउन सकिने विश्वास गरेका छन् । यद्यपि यी चमक यति संक्षिप्त छ कि यसको अवलोकन गर्न कठिन साबित भएको छ ।

थप जान्ने उद्देश्यले स्पेस भेरिएबल अब्जेक्ट मनिटर (एसभिओएम) शनिबार चीनको सिचुआन प्रान्तमा रहेको जिचाङ प्रक्षेपण स्थलबाट चिनियाँ लङ मार्च२सी रकेटबाट प्रक्षेपण हुँदैछ ।

दुई चिनियाँ र दुई फ्रान्सेली उपकरण रहेको अन्तरिक्ष यानले पृथ्वीबाट छ सय २५ किलोमिटर माथि परिक्रमा गर्नेछ ।

चीनको अन्तरिक्ष कार्यक्रममा विशेषज्ञ विश्लेषक चेन लानले संयुक्त मिसनको ‘राजनीतिक महत्त्व’ माथि प्रकाश पारे । “चीन र पश्चिमबीचको सम्बन्धका लागि ‘अन्धकार समय’ मा मिसनले ‘कठिनाइहरूका बाबजुद पनि वैज्ञानिक सहयोग जारी राख्न सकिन्छ भनेर देखाउँछ’ ।”

एसभिओएमको मिसन भनेको गामा–रे विस्फोटको स्रोतको ट्र्याक गर्न आफ्नो एक्स–रे दृष्टि प्रयोग गर्नु हो । यो प्रत्येक दिन करिब एक पटक आकाशमा पत्ता लगाइन्छ ।

एसभिओएममा फ्रान्सको योगदानका मुख्य वैज्ञानिक बर्ट्रेन्ड कोर्डियरले भने, “यो ब्रह्माण्डीय अनुसन्धान शीतयुद्धको बीचमा सुरु भएको थियो ।”

सन् १९६७ मा अमेरिकी उपग्रहहरूले राष्ट्रहरूले आणविक परीक्षण प्रतिबन्ध सन्धिको पालना गरिरहेका छन् वा छैनन् भनेर निगरानी गरिरहेका थिए । उनीहरूले आणविक विस्फोटबाट पनि उत्पन्न हुनसक्ने गामा–रेको एउटा संक्षिप्त फ्ल्यास देखे ।

“यो अन्तरिक्षबाट आएको हो भन्ने पत्ता लगाउनुअघि उनीहरूले पृथ्वीमा आणविक विस्फोटको सामना गरिरहेको सोचे”, कोर्डियरले पत्रकार सम्मेलनमा भने, “त्यसबेलादेखि हामीले यी वस्तुहरूको उत्पत्तिलाई बुझ्ने प्रयास गरिरहेका छौँ ।”

नासाको स्विफ्ट टेलिस्कोपलगायत धेरै मिसनले पहिलादेखि नै यी उज्ज्वल रहस्यमाथि केही प्रकाश पारेका छन् ।

ज्ञात ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली घटना मानिने यो विस्फोट उच्चतम–ऊर्जा प्रकाशको चमक हो । यसले गामा–रे उत्सर्जन गर्दछ र एक सेकेन्डदेखि दसौँ सेकन्डको एक अंशको बीचमा रहन्छ ।

साउदी अरबमा हजमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

यस वर्षको हजबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । साउदी अरबमा चरम गर्मीका कारण मृत्यु हुनेमध्ये आधाभन्दा बढी दर्ता नभएका तीर्थयात्रीहरू रहेका थिए ।  

हज यात्रामा मृत्यु हुनेको बिहीबार प्रकाशित नयाँ प्रतिवेदनअनुसार इजिप्टका ५८ जना रहेको अरबका एक कूटनीतिज्ञले बताए । उनले मृत्यु हुने कूल छ सय ५८ जनामा छ सय ३० दर्ता नगरिएका तीर्थयात्री रहेको बताए ।

हज तीर्थयात्राको क्रममा लगभग १० देशका एक हजार ८१  जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । इस्लामिक क्यालेन्डरद्वारा निर्धारित समयमा गरिने हज यस वर्ष साउदीको प्रचण्ड गर्मीको समयमा परेको हो ।  

राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको सुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गत महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ  ।

प्रत्येक वर्ष हजारौँ तीर्थयात्रीले आधिकारिक अनुमतिको महङ्गो शुल्क तिर्न नसक्दा अनियमित माध्यममार्फत हज गर्ने प्रयास गर्छन् । 

साउदीका अधिकारीहरूका अनुसार यस महिनाको सुरुमा मक्काबाट थुप्रै दर्ता नभएका तीर्थयात्रीलाई फिर्ता गरेको भए पनि धेरैले गत शुक्रबार सुरु भएको मुख्य संस्कारमा बिना दर्ता भाग लिएको देखिन्छ । 

अधिकारीहरूले आधिकारिक अनुमति बिना प्रवेश गर्नेको सङ्ख्या धेरै भएपछि तीर्थयात्रीको व्यवस्थापन गर्न नसक्दा यस वर्ष गर्मीको जोखिम बढी भएको बताएका छन् ।

इजिप्टका कूटनीतिज्ञले अत्यधिक गर्मीका कारण उच्च रक्तचाप र अन्य समस्याबाट तीर्थयात्रीहरूको मृत्यु भएको बताएका छन् ।
  
इजिप्ट बाहेक, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकको स्वायत्त कुर्दिस्तानले पनि आफ्नो नागरिकको मृत्यु रिपोर्ट गरेको छ । 

मृतकका परिवार र आफन्तहरूले अझै बेपत्ता भएका तीर्थयात्रीहरूको खोजी गरिरहेका छन् । 

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन् । 
      
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले प्राधिकरण गठन गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । सहकारीका क्षेत्रमा व्याप्त समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए ।

“सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न एक प्राधिकरण गठन गर्नेगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको छ”, मन्त्री अधिकारीले भने, “यी सबै संयन्त्र स्थापनाका लागि आगामी आवमा बजेटसमेत व्यवस्था गरिसकिएको छ ।”
      
उनले प्रदेश तथा स्थानीय सरकारसँग सहकारी समस्या समाधानका लागि विषयगत समिति गठन गरिएकोसमेत जानकारी दिए । मन्त्री अधिकारीले अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी ती सहकारीको व्यवस्थापन ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ मार्फत भइरहेको जानकारी दिए । 

उनले समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्तासँग अनलाइनमाफत माग दाबी माग गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको बताए ।
       
उक्त निवेदनका आधारमा  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ । उनका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड बहुउद्देश्यीय सहकारी संस्था र चार्टर्ड बचत तथा सहकारी संस्था गरी तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा बचत भुक्तानी सम्पन्न गरिएको छ ।
      
यस्तै नेपाल राष्ट्र बैंकसमेतको संलग्नतामा सहकारी बैंकको सघन अनुगमन सम्पन्न भई वित्तीय स्वास्थ्य बलियो पारी सुशासन र प्रभावकारी सञ्चालनका लागि निर्देशन दिइएको छ । मन्त्री अधिकारीका अनुसार सहकारी संस्थाबाट गरिने कर चुक्ता र जग्गा रोक्का फुकुवाका लागि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आबद्धता अनिवार्य गरिएको हो । उनले सहकारी ऐन, २०७४ संशोधनका लागि प्रारम्भिक मस्यौदा तयारी भएको जानकारीसमेत दिए ।
      
सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले भूमिहीनता वा सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्यालाई समाधानमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै नयाँ ढङ्गबाट कार्यसम्पादन गर्नका लागि चुस्त एवं विज्ञसहितको आयोग गठन गर्ने प्रक्रिया थालनी गरिएको जानकारी दिए ।

यद्यपि नयाँ आयोग गठन गर्ने प्रक्रियाबारे सर्वोच्चमा रिट परेर विचाराधीन अवस्थामा छ । उनले आगामी आवमा कम्तीमा पाँच लाख परिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गर्ने लक्ष्यसहित ‘जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भू–सम्बन्ध कार्यक्रम’अन्तर्गत आवश्यक बजेट व्यवस्था गरिएको उल्लेख गरे ।
      
सुकुम्बासीले पुर्जा नपाएका सन्दर्भमा प्रचलित कानुनबमोजिम दर्ता गर्न मिल्ने सुकुम्बासी जग्गाको दर्तालाई दु्रतता दिन आगामी आर्थिक वर्षमा विशेष अभियान चलाउने बताए । त्यसका लागि कानुनी संशोधन आवश्यकपर्ने क्षेत्रका हकमा सोको प्रक्रिया अगाडि बढाइने उनले बताए ।
      
उनले नेपालको अन्तर्राष्ट्रिय सीमासम्बन्धी देखिएका समस्या द्विपक्षीय सहमतिबाट समाधान गरिने विषय भएकाले सोहीअनुसार काम अघि बढेको जानकारी दिए ।
      
मन्त्री अधिकारीले भू–उपयोग वर्गीकरण गर्दा कृषि क्षेत्रमा वर्गीकरण गर्नु चुनौतीपूर्ण देखिएको भए पनि भू–उपयोग क्षेत्र वर्गीकरण तथा भू–उपयोगसम्बन्धी कार्यक्रम कार्यान्वयनमा लैजाँदा कृषियोग्य जग्गाको संरक्षणलाई प्राथमिकतामा राखिएकाले भू–उपयोग क्षेत्र वर्गीकरणपश्चात कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण हुने विश्वास व्यक्त गरे । 

करदातालाई कर तिर्न प्रेरित गर्न मातहत निकायलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरुलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन्  ।


“करदातालाई अनुचित ढङ्गले दबाब दिने होइन उचित ढङ्गले कर तिर्न प्रेरित गरौँ”, उनले भने, “राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।” 


उनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न पनि पनि निर्देशन दिए । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट पारे  । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुने उनको भनाइ थियो ।


“कडाइ गर्नुपर्ने ठाउँमा कडाइ र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ”, उनले भने,“राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।” लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुन पनि उनले निर्देशन दिए । 


“असल तवरले लगानी गरेर नाफा कमाउनुस् । राज्यले त्यसका लागि सहजीकरण गर्छ । तर, जसरी हुन्छ मुनाफा आर्जन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिन्छ”, मन्त्री पुनले भने ।


उनले राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गरे ।


उनले आफूले अमूख व्यावसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै संकेतसम्म नरहेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गरे । तर, सेवाप्रवाहमा ढिलासुस्ती र अनावश्यक हैरानी दिने काम भए स्वीकार्य नहुने बताउनुभयो । सेवा प्रवाह पारदर्शी, वैज्ञानिक र छिटोछरितो बनाउन मन्त्री पुनको निर्देशन थियो । 


“तपाईंहरु सबैलाई म भन्न चाहन्छु कि सेवाग्राहीका काममा ढिलासुस्ती नगरौँ”, उनले भने, “आफू पनि सेवाग्राही भएर एकपटक सोच्नुस कि सेवाप्रवाहमा ढिला हुँदा कस्तो महसुस गर्नुहुन्छ ।” 


फरक प्रसंगमा उनले चालु आर्थिक वर्षको बजेटमा स्रोतको अनुमान वस्तुवादी नभएकाले राजश्व सङ्कलनको लक्ष्य भेटाउन कठिन रहेको औंल्याए । बजेटमार्फत निर्धारण गरिएका राजश्वसहित अन्य स्रोतका अनुमान नमिल्दा आममानिसमा बजेटप्रतिको विश्वसनीयता नरहने अवस्था आएकाले यसपटक सच्याउन खोजिएको उनले बताए ।


“विगतदेखि नै हाम्रो बजेट र स्रोतको अनुमान मिल्ने गरेको छैन । त्यसले बजेट निर्माणमै गम्भीर प्रश्न उठेको थियो”, उनले भने, “यसपटक हामीले मानिसहरुले पत्याउने गरी यथार्थपरक रुपमा बजेट र स्रोतको लक्ष्य निर्धारण गरेका छौँ । बजेटको आकार र राजश्व सङ्कलनको लक्ष्य वस्तुगतरुपले नजिक ल्याएका छौँ ।” 


मन्त्री पुनले चालु आर्थिक वर्षमा सरकार आफैँ निर्धारण गरेका लक्ष्यको एक चौथाइ स्रोत पनि जुटाउन नसक्नु गम्भीर विषय भएकाले यसपटक सच्याउने प्रयास गरिएको स्पष्ट पारे ।


“अरुलाई ढाँट्न सकिन्छ । आफैंलाई ढाँट्न सकिँदैन । आर्थिक वर्ष सकिनै लाग्दा हामीमाथि सबैले प्रश्न गर्छन् । जवाफ दिन हामीले आफूलाई तयार राख्नैपर्छ ।” 


त्यसक्रममा अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव डा रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा बक्यौता असुलीलाई तीव्रता दिन निर्देशन दिए । उनीहरुले चालु आर्थिक वर्षको राजश्व सङ्कलनको अन्तिम लक्ष्य भेट्न अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिए । 


गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको अवस्थामा राजश्व सङ्कलन सन्तोषजनक हुन नसक्नुको कारणबारे समीक्षा हुने सचिवद्वयको भनाइ थियो ।


आन्तरिक राजश्व विभागका प्रमुख शिवलाल तिवारी र भन्सार विभाग प्रमुख ढुण्डीप्रसाद निरौलाले राजश्व सङ्कलनको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए ।


छलफलमा मन्त्रालयका विभागीय प्रमुखहरु दुवै विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरु, काठमाडौँस्थित कार्यालय प्रमुखहरु, कर र राजश्व प्रशासनका अधिकृतहरु उपस्थित थिए । उपत्यकाबाहिरका कार्यालय प्रमुखले पनि भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।

एक सय १७ विधेयकलाई प्राथमिकता निर्धारणः कानुनमन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अदालतमा रिक्त न्यायाधीशको दरबन्दी समयमै नियुक्ति हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिँदै अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हुन् ।

“अदालतहरुमा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने विषयमा सरकार गम्भीर छ”, मन्त्री गिरीले भने, “न्याय परिषद् सदस्यको हैसियतमा छिटोभन्दा छिटो न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाइ निष्पक्ष र सक्षम न्यायाधीश नियुक्ति गरी अदालतमा भएको मुद्दाको चापलाई घटाइ नागरिकलाई छिटोछरितो न्याय निरुपण गर्ने कुरामा विश्वास दिलाउन चाहान्छु ।”

न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी बनाउन तथा अनुभवी, विज्ञ, योग्य र निष्ठावान न्यायाधीश नियुक्ति हुनुपर्ने विषयमा न्याय परिषद् स्पष्ट र प्रतिवद्ध भएको उल्लेख गर्दै उनले भविष्यमा न्यायाधीश नियुक्तिको विषयमा प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।

“मिडिया ट्रायलको आधारमा मुद्दा निरुपण हुने प्रश्नको सम्बन्धमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको हुँदा मिडिया ट्रायल वा अन्य कुनै आधारमा विवादको न्यायिक निरुपण हुन नसक्ने व्यहोरा अनुरोध गर्दछु”, मन्त्री गिरीले भने, “तीन तहको न्यायिक संरचनामा तल्लो अदालतले गरेको न्यायिक निर्णयको माथिल्लो अदालतबाट पुनः परीक्षण गर्न सकिने कानुनी तथा संवैधानिक व्यवस्था रहेको सन्दर्भमा अदालत तथा न्यायिक निकायको विश्वसनीयतामा थप आशंका नगर्न आग्रह गर्छु ।”

नेपालको संविधान बमोजिम बनाउनुपर्ने कानुनको विषय उठान गरेको प्रश्नको सम्बन्धमा संविधान जारी भए पश्चात कानुन निर्माणलाई मन्त्रालयले मुख्य प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाएको जानकारी गराए ।

मन्त्रालयले सङ्घीय संसदमा पेश गरिने विधेयकको प्राथमिकताको एकीकृत विवरण तयार गरिसकेको र पहिलो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या ६३, दोस्रो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या ३९ र तेस्रो प्राथमिकतामा परेका विधेयकको सङ्ख्या १५ गरी कूल एक सय १७ विधेयकलाई प्राथमिकता निर्धारण गरिएको जानकारी दिए ।

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयकलगायत महत्वपूर्ण विधेयकहरु सङ्घीय संसद्मा दर्ता भई प्रक्रिया अगाडि बढेको र विधेयक छिटो संसद्बाट पास हुन आवश्यक भएको उनले सदनमा जानकारी गराए ।

कानुन व्यवसायीको व्यावसायिकता र क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम प्रदान गर्न कानुन व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी) गठन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।

मन्त्री गिरीले कानुन व्यवसायीले पालना गर्नुपर्ने आचरण व्यवसायीले मुद्दाका पक्षलाई कानुनी सेवा उपलब्ध गराएवापत लिने शुल्कलाई पारदर्शी बनाउन कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सङ्घीय संसद्मा दर्ताको चरणमा रहेको जानकारी गराए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सामान्य प्रशासन तथा सङ्घीय मन्त्रालयसम्बन्धी छलफलमा सम्बन्धित मन्त्रीको जवाफ दिने कार्यसूची भए पनि हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते आइतबार ११ बजे बस्नेछ ।

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । बिहीबार बसेको परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली खटाएको छ ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्न ‘डिजिटलाइजेशन’मा लैजाने निर्णय गरेको छ । मन्त्री चौधरीले परिषद्लाई ‘डिजिटलाइजेनश’मा लैजान यसअघि नै निर्देशन दिएकी थिइन् ।

साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन हेरफेर गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यलाई प्रत्यायोजन गर्ने जनाएको छ ।

साढे चार किलो कोकिनसहित काठमाडौंबाट चार विदेशी पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणममा कोकिनसहित चार जना विदेशी नागरिकलाई काठमाडौंमा पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।

उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको उनले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ । बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुन आउने बताइएको छ ।

माओवादीको कारबाहीमा परेका देवकोटाद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । माओवादीको कारबाहीमा परेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै बिहीबार निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् । देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्न समेत माग गरेका छन् । देवकोटा निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर गोरखा २(१)बाट उनी निर्वाचित भएका थिए ।

माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको हो ।

तर देवकोटाको आफू नेपाल समाजवादी पार्टीका सांसद भएकाले माओवादीले कारबाही गर्न नसक्ने दाबी गर्दै आएका छन् । देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।

यसवर्ष किसानलाई मलको अभाव नहुने

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छन् ।


प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताइन् । 


उनका अनुसार चालु आर्थिक वर्षको २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएको छ । साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिइन् ।


गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ । गत वर्षको समेत गरी कूल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिइन् ।


दुग्ध किसानको भुक्तानीमा ३० करोड ऋण सकियो

सोही अवसरमा मन्त्री साहले दुग्ध किसानलाई भुक्तानी गर्न ३० करोड लिएको ऋण सकिएको जानकारी दिँदै थप भुक्तानीका लागि ऋण लिन दुग्ध विकास संस्थानलाई निर्देशन दिएको बताइन् ।


“मन्त्रालयले ३० करोड लिइ किसानको भुक्तानी गरिसकेको अवस्था छ”, मन्त्री साहले भनिन्, “बाँकी भुक्तानीका लागि थप ऋण लिन संस्थानलाई निर्देशन दिएको छु ।”


उनका अनुसार सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक एक लाख ५० हजार लिटरसम्म दुध सङ्कलन गरिरहेको र बाँकी दुध निजी दुग्ध उद्योगहरुले सङ्कलन गरिरहेका छन् । दुध खरिद गरेपछि प्रत्येक  दिनमा किसानलाई भुक्तानी गर्दै आइरहेको उनको भनाइ छ ।

‘गोल्डेनगेट एसइई कप’ चेस प्रतियोगिता यसै सातादेखि

काठमाडौँ ।  हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यही असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिइन्  । उनका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिनेछ ।

गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ ।

एकेडेमीका अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले  १० हजार, दोस्रो हुनेले  पाँच हजार र तेस्रो हुनेले  तीन हजार पाउनेछन् ।’

लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकासका लागि नीतिगत स्थायित्व तथा कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालय क्रियाशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा विनियोजन विधेयक, २०८१ अन्तरगत उद्योग मन्त्रालयको विनियोजित शीर्षकसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ कानुन समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयकसमेत संघीय संसदमा पेस गरिसकिएको बताए ।

नेपाल व्यापार एकीकृत रणनीति, २०८०, व्यापार लजिष्टिक नीति, २०७९ र व्यापार लजिष्टिक नीतिको कार्यान्वयन कार्ययोजना तथा व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत व्यापार प्रवद्र्धनमा टेवा पुग्ने गरी कार्यक्रम कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।

लामो समयदेखि रोकिएको स्टार्टअप नीति, २०८० स्वीकृत भई कार्यान्वयनमा आएको उल्लेख गर्दै मन्त्री भण्डारीले स्टार्टअपलाई कर्जा प्रवाह गर्न विभिन्न एक सय ८३ प्रस्ताव छनोट गरी काम अघि बढिसकेको स्पष्ट पारे ।

‘गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना लि, नेपाल ओरियण्ट म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी लि, बुटवल धागो कारखाना, विराटनगर जुट मिल्स, हेटौँडा कपडा उद्योगसमेत बन्द भएका सार्वजनिक संस्थान तथा हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग जस्ता दुई रुग्ण उद्योगसमेत गरी नौ वटा सार्वजनिक संस्थान सञ्चालनका विकल्प पहिचान गरिएको छ,’ उनले भने ।

औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत औद्योगिक क्षेत्र, औद्योगिक ग्राम तथा विशेष आर्थिक क्षेत्र निर्माण, विकास तथा सञ्चालन गर्ने गरी प्राथमिकताकासाथ कार्य अगाडि बढाइएको जानकारी गराउँदै मन्त्री भण्डारीले व्यापार लजिस्टिक्स पूर्वाधारको रणनीतिक तथा एकीकृत विकास गर्न लजिस्टिक्स गुरूयोजना तर्जुमा गरी सोही अनुरुप पूर्वाधार विकास गरिने तयारी गरिएको बताए ।

स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ, सीप तथा प्रविधिको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक ग्रामको निर्माण र विकास गर्ने गरी कार्य अगाडि बढाइएको उल्लेख गर्दै उनले हालसम्म एक सय २० औद्योगिक ग्राम घोषणा भएका, ६ वटा घोषणा हुने क्रममा रहेका तथा सम्बन्धित स्थानीय तहबाट औद्योगिक ग्राम निर्माण र विकासको कार्य भइरहेको स्पष्ट पारे ।

लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, सीप विकास तथ प्रविधि हस्तान्तरणका लागि कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराउँदै मन्त्री भण्डारीले विजनेस इन्कुवेसन सेन्टर स्थापना, सीपमूलक कार्यक्रम तथा स्टार्टअप कोष कार्यान्वयन गर्न आगामी आर्थिक वर्षका लागि कार्यक्रम र बजेट प्रस्ताव भएको बताए ।

उनले उपभोक्ता हित संरक्षण गर्न उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गर्नुका साथै बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रूपमा वृद्धि हुनसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रूपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइने बताए ।

मन्त्री भण्डारीले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणाली कार्यान्वयनमा ल्याउने, संवेदनशील र जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने गरी आगामी आर्थिक वर्षमा बजार अनुगमन गर्ने तयारी गरिएको स्पष्ट पारे ।

बजेट तथा कार्यक्रम प्रस्ताव गर्दा कार्यान्वयन क्षमता, खर्चको मितव्ययिता, आर्थिक पारदर्शीता र वित्तीय अनुशासन समेतलाई जोड दिइएको उनले बताए ।

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाइने

काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । 

गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । 

“काठमाडौँमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ”, उनले भने, “त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछाँै ।” उनका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उनले  खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताए । 

काठमाडौँ जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइएको थियो ।

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने लक्ष्य राखेको छ । 

खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई विदेशमा समेत आफूलाई अब्बल सावित गरिरहेको छ । नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शन हुने भएकाले दर्शकको उपस्थिति बढ्न थालेको छ ।

केही चलचित्रले विदेशी बजारबाटै लगानी सुरक्षित गरेर मुनाफा पनि प्राप्त गरेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलियामा बढिरहेको छ । 

त्यहाँका नेपालीको बसोबास राम्रो भएकाले पनि प्रायः चलचित्र प्रदर्शन हुन्छन् । नेपाली माटोको सुन्दरता र मौलिकता प्रस्तुत गरिएका चलचित्रहरू ‘छक्का पञ्जा’ ‘कबड्डी’ ‘शृङ्खला र ‘जात्रा’ नेपालसँगै विदेशी बजारमा समेत अत्यधिक व्यापार गर्ने चलचित्र बनेका छन् । यसले निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पुर्याइरहेको छ ।

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल)मै प्रदर्शन हुँदा दर्शकको आकर्षण बढेको छ ।

अहिले नेपालझैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ । पछिल्लो समय ‘महाजात्रा’ले सिड्नीमा नयाँ रेकर्ड बनाएको स्थानीय वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले जानकारी दिए । 

“नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो छ, तर यसलाई दिगो र बलियो बनाउन हामी अन्तर्राष्ट्रिय वितरकसँगै निर्माता र निर्देशकले हातेमालो गर्नुपर्छ, हामीले भएका बजारलाई बलियो बनाउने र नयाँ बजार खोज्ने कार्य गर्नु अहिलेको आवश्यकता हो”, वितरक थापाले भने ।

उनले केही नेपाली चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार खरिद गरेर विश्वभर प्रदर्शन गर्ने गर्छन् । चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने भएकाले पनि यो सम्भव भएको हो । 

डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक तथा निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर मात्र नभई विदेशमा समेत गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो ।

यसले गर्दा चलचित्रको फाइल विदेश पठाउनुपर्ने बाध्यता हटेको छ । नेपालमा ‘इनकोडिङ्ग’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए ।

उनले भने, “डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ, यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुर्याउने झन्झट पनि हटायो ।”

यसले नेपाली निर्मातालाई आर्थिक रूपमा सहायता पुगेको छ । यस वर्षमात्र प्रदर्शन भएका ‘डिग्री माइला’,‘बोक्सीको घर’ ‘पुजार सार्की’ले नेपालबाट नै लगानी सुरक्षित गर्यो भने ‘मनसरा’, ‘फर्की–फर्की’जस्ता चलचित्रले विदेशी बजारबाट लगानी सुरक्षित गरेको निर्माण पक्षले दाबी गरेका छन् । यद्यपि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चलचित्र प्रदर्शनको बढिरहेको चापले पार्न सक्ने असरबारे पनि सजग हुनुपर्ने वितरक थापाले बताए ।

“यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ, त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ, त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ”, वितरक थापाले भने ।

नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहनु र ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त मानिएको छ । सोही कारण अहिले निर्माण भइरहेको चलचित्र ‘छक्का पञ्जा–५’ को विदेशी प्रदर्शन अधिकार खरिद गर्न खोज्नेको सङ्ख्या राम्रै छ । 

अभिनेता तथा निर्माताले सार्वजनिक रूपमै चलचित्रको प्रदर्शन अधिकारबारे छायाङ्कन सकिएपछि सम्वाद गर्ने बताएका छन् । छायाङ्कन नै प्रभावित गर्ने गरी विदेशी अधिकार खरिदबारे कुराकानी हुन थालेपछि आफूले चलचित्र निर्माणमा मात्र केन्द्रित गर्न सार्वजनिक रूपमै घोषणा गरेको अभिनेता गिरीले जानकारी दिए ।

नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्नसके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मद्दत गर्नेछ । 

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ ।

समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले जानकारी दिइन् ।

“नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन”, मानन्धरले भनिन्, “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम विस्तारै हट्दै जानेछ ।” उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो ।

माहाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आगामी शनिबारसम्म कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाम्रा कारणले सरकारसँगको सहकार्य टुट्दैन : अध्यक्ष नेपाल

महोत्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन् ।

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे ।

“जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो”, अध्यक्ष नेपालले भने, “सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन ।” यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सघन संवाद भने हुन नसकेको उनको गुनासो थियो ।

“सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरुबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन”, अध्यक्ष नेपालले भने । गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनपर्ने उनको सुझाव छ ।

रोहित भन्छन्-अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भयो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् ।

नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरूलाई नाइट गेम खेल्ने बानी नपरेको बताए ।

उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो। हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन्। हामीलाई नाइट गेमको बानी पनि थिएन। टी–२० खेलहरू राति मात्र हुन्छन्। हामीले त्यसरी खेलेका थिएनौं। नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ।’

उनले दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको स्वीकारे। खेलाडीलाई इंगित गरि गाली नगरीदिन क्रिकेट समर्थकहरूलाई उनको आग्रह छ । आफ्नो यात्रा समूह चरणमै टुङ्ग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो।

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

चितवन । श्री एयरलाइन्सले बिहीबार काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । 

श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरूलाई स्वागत गरेका थिए । 


अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए ।


उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनले जानकारी दिए । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा  चार हजार सात सय रुपैयाँभन्दा माथि छ । 


यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनको छ । 


जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिरहेका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिए ।

पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताए । उनले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताए । 


महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिका बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिइन् ।


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताए । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उनले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उनले बताए । ।

बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत

बागमती ।  कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तर्क्रियामा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले नेपालमा आयात हुने विषादीमध्ये करिब ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रेपलाञ्चोक र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको जानकारी दिए ।

नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको जनाउँदै उनले सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको पाइएको बताए। किसानले किरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस, ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्बान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्युटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादीको प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ ।

उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादनको उत्पादन लागत बढ्नुका साथै वायु, माटो र जल प्रदूषणका साथै जलवायु परिवर्तनको समस्या बढ्दै जाने उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताए ।

विषादीका कारण मानव स्वास्थ्य जोखिममा परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याए।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । किसानलाई अर्गानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

शेयर बजारमा १० अंकको गिरावट

काठमाडौं । बुधबार सामान्य बढेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिका लघुवित्त कम्पनीको शेयर भने साढे प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३ सय ६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो ।

योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक नोक्सानको सामना गरिरहेको छ । 

अक्टोबर–७ अघि, इजरायलमा २९ हजार नौ सय विदेशीहरू रहेकोमा प्रायः खेत बगैँचा ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए । 

खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ ।  प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ । 

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्नेगर्छन् ।

विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपुर्ति गर्ने योजनामा सुरुमा दुई हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन् । 

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उदृत गरी पिटिआईले जनाएको छ ।

घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको मुख्यामन्त्री स्टालिनले बताए । अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उनले बताएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई भारतीय सञ्चारमाध्यमले उदृत गरेका छन् ।

तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरे ।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

श्रीलंकाले भारतसँगको सहकार्य थप बढाउने

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन उर्जामा, हरित हाइड्रोजन प्राप्ती जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताएका छन् ।

उनले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैंक स्थापना गर्न पनि खोजिरहेको बताए ।

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइज श्रीलङ्का नामक नयाँ इकाई स्थापना गर्ने योजना रहेको बताए । श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको उल्लेख गरे ।

“हामी यी योजनामा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु ,”उनले भने । अडानी कम्पनीले श्रीलङ्कामा आफ्नो काम सुरु गरेको उनले बताए ।

यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलङ्काको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबिचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नेछन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ,” भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

“विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

यसवर्ष पनि नबन्ने भो कमला नदीमा पुल

गोदार (धनुषा) । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री महासेठले दिनुभएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ । 

“करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै हुनुपर्यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्”, पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए ।

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । 

बिल्डर्सको कमाण्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले विसं २०७८ साउनमा उदटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताए । उहाँका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो ।

पुल भासिएपछि निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । “सरकारी निकायको कुनै पनि ठेक्का गर्दा १० लाखभन्दा बढीको आयोजनामा बीमा गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बीमा गराएको थियो । पुल भासिएपछि बीमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ”, उनले भने ।

निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए । पुल पुनःनिर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उल्लेख गरे ।

“पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिरहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?”, प्रबन्ध निर्देशक शर्माले प्रश्न गरे । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज÷कात्तिकबाट निर्माण अगाडि बढाइने उनको भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीसँग उच्च अदालत काठमाडौँमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे ।  

प्रबन्ध निर्देशक शर्माका अनुसार पुल भासिएपछि बीमा कम्पनीसँग  १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो । बीमा कम्पनीले  दुई करोडमात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ”, उनले भने, “उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।” अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उनले भने ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिरहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिरहा नगरपालिका–१७ का प्रविन यादवले बताए । “पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यावसायमा कमी हुँदै आएको छ”, उनले भने ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिरहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ । 

सिरहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउँछन्ः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल महिला सङ्घले बिहीबार अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताए ।

“प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उनले भने । त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उनको भनाइ छ ।

सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गरे । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उनले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गरे ।

भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताए । उनले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे ।

महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला सङ्घले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले महिला सङ्घसँग राजनीतिक सङ्घर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न सङ्घ लाग्नुपर्ने धारणा राखे ।

कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताए । उनले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिए ।

आफूले बोल्ने दिन सत्तापक्षकै नेता, मन्त्री र सांसद नआएकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको क्रममा प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्षका नेता सांसद उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने नि, प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक कामबाहेक सबै मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँले आफैँ आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सत्ताघटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत नेकपा माओवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भने अनुपस्थित थिए ।

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाउँछौंः  प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे ।

“राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भने । उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे । 

त्यसैगरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायी रूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे । 

अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा नेपालका अर्जुन थापा

काठमाडौँ । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र परेका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा पर्नुभएका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा छन् ।

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आउनुभएका तनहुँका थापा हाल बेलायतमा बस्दै आएका छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । 

प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट भएका थापा खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउँछन् ।

“नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ”, काठमाडौँमा रहेका थापाले भने ।  
     
विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीहरूमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए ।

चार दशकदेखि सेफ पेसामा कार्यरत सेफ थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याएका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य थापा हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुन् ।

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् ।

प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बुधबार हस्ताक्षर भएको सम्झौता अनुरूप रूसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्ने रूसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका थिए ।

“यस प्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको प्रत्यक्ष उल्लङ्घन गर्छ,” जापान सरकारका प्रवक्ता योशिमासा हयासीले भने ।

“जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,” उनले भने । राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताए ।

“अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित रूसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको स्पष्ट उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,” उनले भने ।

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गरेका छन् ।

नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गरेका थिए । उनले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । किमले युक्रेनविरुद्ध रूसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रूसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबीचको सम्बन्ध प्रगाढ हुनु ’ठूलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।

बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताएका थिए । पुटिनले भने, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौं।

उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज वुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् ।

नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गरेका छन् ।