`

रोहित भन्छन्-अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भयो

Nepal One HD ६ असार २०८१ १६:२९
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् ।

नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरूलाई नाइट गेम खेल्ने बानी नपरेको बताए ।

उनले भने, ‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो। हरेक खेलमा राम्रो स्कोर कसैले गर्न सकिरहेका थिएनन्। हामीलाई नाइट गेमको बानी पनि थिएन। टी–२० खेलहरू राति मात्र हुन्छन्। हामीले त्यसरी खेलेका थिएनौं। नाइट गेमले महत्वपूर्ण रोल खेलेको जस्तो छ।’

उनले दक्षिण अफ्रिकासँगको खेलमा भने ब्याटिङ युनिटको केही कमजोरी भएको स्वीकारे। खेलाडीलाई इंगित गरि गाली नगरीदिन क्रिकेट समर्थकहरूलाई उनको आग्रह छ । आफ्नो यात्रा समूह चरणमै टुङ्ग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको थियो।


प्रतिक्रिया