`

साढे चार किलो कोकिनसहित काठमाडौंबाट चार विदेशी पक्राउ

Nepal One HD ६ असार २०८१ १८:५२
अपराध

काठमाडौं । प्रहरीले ठूलो परिमाणममा कोकिनसहित चार जना विदेशी नागरिकलाई काठमाडौंमा पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।

उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको उनले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ । बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुन आउने बताइएको छ ।


प्रतिक्रिया