`

नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक : रक्षामन्त्री उप्रेती

काठमाडौँ / रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रहेको बताएका छन् । आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावि योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनत्री उपे्रतीले द्रूतमार्ग लगाएत बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढेको बताएका हुन् ।

उनले बिभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानून बनाउन नसकेका कारण केहि समय ढिलाई हुन गएको दावी गरे । अहिले सवै समस्याहरु समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु द्रूत गतिले अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले काठमाडौं–तराई द्रूतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै उनले कोशी करिडोर अन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्जुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिए ।

उनले मन्त्रालयको कार्यसम्पादनमा चूस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताए ।

सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रक्रिया सुरु : मन्त्री अधिकारी

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराज अधिकारीले सहकारीका समस्यालाई तत्कालै सम्बोधन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा आफुले मन्त्रालय सम्हालेको १०० दिनको कामका साथै भावि कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले सहकारी समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तत्कालै समाधान गर्ने गरि उच्चस्तरीय आयोग गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनले राष्ट्रय बैंकको समेत संलग्नतामा सहकारी बैंकको सघन अनुगमन सम्पन्न भइ सुशासन र प्रभावकारी सञ्चालनका लागि निर्देशन दिएको बताए । हालसम्म समस्याग्रस्त घोषण भएका सवै सहकारी संस्थाका बचत मागदावी ५९ हजार ५ सय ८७ निवेदनको रु ३५ अर्व ५१ करोड ७२ लाख बराबरको दायित्व यकिन गरेको उनले बताए ।

मन्त्री अधिकारीले भूमि व्यवस्थापनतर्फ पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण कार्य भएको दावी गरे । उनले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थीत बसोबासीहरुको उचित व्यवस्थानका लागि उच्चस्तरीय अधिकारसम्पन्न आयोग गठन गरि आयोगलाई अभियानका रुपमा परिचालन गर्ने बताए । उनले गिरिबन्धुको अवस्थाका बारेमा सरकारले अध्ययन गरेर आवश्यक निर्णय लिने बताए । मन्त्री अधिकारीले सीमाका समस्याका बिषयमा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा प्रस्ताव राखेको र चीनसंग पनि छलफलका लागि प्रस्ताव गरेको जानकारी दिए ।

उनले भूमिव्यस्था मन्त्रालयले पठाएका फाइलहरुलाई अघि बढाउनका लागि अन्य मन्त्रालयले ढिलाई गरेको गुनासो गरे । उनले गरिवी निवारणतर्फ राज्य सुविधा परिचयपत्र बितरण कार्य सम्पन्न गर्ने र उक्त परिचयपत्र प्राप्त परिवारलाई सेवा सुविधा दिने गरि कानून व्यवस्था भइरहेको जानकारी दिए ।

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको शव स्वदेश ल्याइयो

कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ भारतीय नागरिकको शव बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ।

‘कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ’, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ ।

‘जसले कुवेतका अधिकारीहरूसँग समन्वय गरेर छिटो स्वदेश फिर्ता सुनिश्चित गर्नुभएको भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह पनि सोही विमानमा सवार हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ।

आगलागीमा ज्यान गुमाउने ४५ जना भारतीयमध्ये २३ जना केरलाका बासिन्दा थिए। यस घटनाले कुवेत र भारत दुवै समुदायमा शोकको लहर निम्त्याएको छ ।

आगलागीमा तमिलनाडुबाट ७ जना, आन्ध्र प्रदेशबाट ३, बिहार, ओडिशा, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालबाट १–१ जना साथै केरलाका २३ जना भारतीय नागरिकले ज्यान गुमाएका छन् ।

कुवेतका अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन र प्रभावित परिवारलाई सहयोग गर्न अथक प्रयास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।

भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले जुन १३ मा कुवेतको अस्पताल भ्रमण गरेका थिए जहाँ उनले मङ्गाफमा दुखद आगलागीको घटनापछि उपचार गराइरहेका भारतीय नागरिकहरूसँग कुराकानी गरे ।

उनको भ्रमणले विदेशमा रहेका आफ्ना नागरिकहरूको कल्याण सुनिश्चित गर्ने भारतको प्रतिबद्धतालाई जोड दिन्छ र सङ्कटको समयमा अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई प्रकाश पार्छ ।

अवैध व्यापार रोक्न भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य

काठमाडौं । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो।

एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो। मूल्य अभिवृद्धि कर (२६औँ संशोधन) नियमावली, २०८१ को अनुसूची–५ र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एचएस कोड अनिवार्य गरिएको हो। नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ। मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ (ख) मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ।

उक्त ढाँचाको पहिलो कोठामा सिरियल नम्बर, दोस्रो कोठामा एचएस कोड र तेस्रो कोठामा विवरण उल्लेख गर्नुपर्ने प्रावधान राखिएको अर्थ मन्त्रालयको राजस्व महाशाखाका प्रमुख एवं सहसचिव धनिराम शर्माले जानकारी दिए।

यसअघि बिजकको पहिलो कोठामा सिरियल नम्बर र दोस्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो। उनका अनुसार बिजको नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एचएस कोडको सुरुको चार अङ्क अनिवार्य खुलाएको हुनुपर्नेछ।

नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दलाई परिमार्जन गरी निर्यात शब्द राखिएको शर्माले बताए। नयाँ व्यवस्थाले वैध वा अवैध बाटोबाट आयातित सामान छुट्याउन सकिने र राजस्व वृद्धिमा उल्लेख्य सुधार हुने उनको भनाइ छ।

राजस्व महाशाखाका प्रमुख शर्माका अनुसार यो व्यवस्थाले आगामी दिनमा कुनै पनि सामान वैध ‘च्यानल’बाट आएको हो वा होइन भन्ने छुट्याउन सजिलो हुनेछ।

‘बिजकमा बिक्री भएको सामानको एचएस कोड अनिवार्य गर्नुपर्ने व्यवस्थाले बजार अनुगमनका क्रममा अवैधरुपमा भित्रिएका सामान बिक्री वितरण भए/नभएको सजिलै छुट्टाउन (ट्रयाक) गर्न सकिन्छ’, उनले भने, ‘कुन सामान भन्सारको बाटो भएर आएको हो र कुन सामान भन्सार छली गरीे आयात गरिएको हो छुट्याउन सकिने भएकाले राजस्व सङ्कलनमा समेत यो व्यवस्थाले सकारात्मक नतिजा आउने छ।’

यही जेठ १६ गतेदेखि नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको शर्माले जानकारी दिए। योसँगै व्यक्तिगत प्रयोजनका नाममा अनौपचारिक माध्यामबाट ल्याएर बजारमा बिक्री गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने विश्वास अर्थ मन्त्रालयको छ।

‘खास गरी विदेश भ्रमण वा रोजगारीबाट फर्कनेले घरासयी प्रयोजनका लागि ल्याउन पाउने सुविधा प्रयोग गरी सुनचाँदीका गहना, मोबाइल, ल्यापटप, टिभी, क्यामेरा, घडी, मदिरा र कपडालगायत सामान बजारमा बेच्ने प्रवृत्ति थियो’, राजस्व महाशाखाका प्रमुख शर्माले भने, ‘यसरी सामान ल्याएर बिक्री गर्ने व्यक्ति र व्यवसायीमाथि समेत कारबाही हुनेछ।’

अनलाइन बिलिङ प्रणालीमार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क सङ्कलनमा समेत नयाँ व्यवस्थाले सहज हुने अपेक्षा गरिएको उनले बताए।

नयाँ संसद भवनभित्र मदिरा पिउने बार राखौंः राजेन्द्र बजगाईं(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका एकजना सांसदले बन्दै गरेको नयाँ संसद भवनमा मदिरा पिउने बार बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले विदेशी पाहुनाको सत्कारका लागि बार बनाउन प्रस्ताव गरेका हुन् ।

उनले आफू सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस पुग्दा त्यहाँ बार देखेको र त्यसबाट आफू प्रभावित भएकाले नेपालमा पनि नयाँ संसद भवनमा बार राख्न सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ । त्यहाँ डेमेक्रेट्सहरुले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् र रिपब्लिकनहले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न । मैले लण्डन स्कुल अफ इकोनमिक्समा जाँदा पनि क्यान्टिनमा बार देखें । त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? यो पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।’

साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन्। भेडाबारीका ६८ वर्षीय किसान प्रमोद न्यौपानेले यस वर्ष चैते धान १४ क्विन्टल उत्पादन गरेका हुन्।

सामान्यतया प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उत्पादन हुने यस क्षेत्रमा उनले प्रतिकट्ठा करिब छ क्विन्टल धान उत्पादन गरेका हुन्। “गत वर्षहरुमा पनि राम्रै धान उत्पादन हुने गरेको थियो”, उनले भने, “तर, यस वर्ष सोचेकोभन्दा बढी उत्पादन भएको हो।” आफ्नो तीन कट्ठामात्रै खेत भएको उल्लेख गर्दै पराजुलीले दुई कट्ठामा धान र बाँकी रहेको १० धुर जमिनमा तरकारी लगाएको बताए।

“घरमा हामी बूढाबूढीमात्रै छौँ, तीनवटा भैँसी र एउटा गाई पालेका छौँ”, उनले भने, “गाई भैँसीको मल बिक्री गर्दैनौँ, सबै खेतमा नै हाल्छौँ । त्यसैले हाम्रो उत्पादन बढी हुने गरेको छ ।”

उनले आफ्नो जमिनमा तीन खेती गर्ने गरेको उल्लेख गर्दै बर्खे धान, तोरी र चैतधान उत्पादन गर्दै आएको बताए। “यसपटक चैते पाँच नाम गरेको धान लगाएको थिएँ, खेतीबालीको राम्रो हेरचाह गर्दा उत्पादन राम्रो हुन्छ” उनले भने, “धानमा सिँचाइ गर्नका लागि खेतको नजिकै बोरिङ छ, आवश्यक मात्रामा मलजल दिइरहेको हुन्छु ।”

गैँडाकोट–११ को यस क्षेत्रलाई सरकारले धानको ब्लक घोषणा गरेर अनुदानसमेत दिँदै आइरहेको छ । “अरुको भन्दा राम्रो धान उत्पादन हुँदा सन्तुष्ट छौँ तर किसानले उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा दुःख लाग्छ”, उनले भने, “धान काटेकै दिनमा थ्रेस लगाएर मिलमा लगेर बिक्री गरेँ, प्रतिक्विन्टल रु तीन हजार दुई सयका दरले मूल्य पाएँ ।” मेहनत गरेर कृषि गर्दा उत्पादित वस्तुको मूल्य आफूहरुले निर्धारण गर्ने व्यवस्था भएमा किसानलाई खुसी मिल्ने न्यौपानेको भनाइ छ ।

किसानले खेती गर्दा मलबीउको अभावसँगै विषादीको समस्या पनि आउने गरेको उनले बताए । “किसानले एग्रोभेटमा गएर जथाभावी औषधि किनेर खेतीमा प्रयोग गर्छन्”, उनले भने, “यसमा सरकारले निगरानी नै गरेको छैन, जसले गर्दा माटोसँगै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्दैछ ।”

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्ति पत्र प्रदान गरेका छन् । रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले ९ जना मध्येबाट आचार्यलाई सिफारिस गरेको थियो ।

काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

काठमाडौँ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ ।
     
शुक्रबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गरे ।

सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्राउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिए । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उनले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघिनै समाधान गरिने प्रस्ट पारे ।

पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले ब्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताए । विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका सङ्संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गरे । 

अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।

समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताए  ।

नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उनले जानकारी दिए । 

मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ ।

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुनःविचार गर्नुपर्छः सचिव भट्टराई(अन्तरवार्ता)

काठमाडौँ । विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा होमिएका युवा नेता योगेशकुमार भट्टराई एक प्रखर वक्ता मानिन्छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भट्टराई नेकपा एमालेका सचिवका साथै मधेस प्रदेश इञ्चार्जका रुपमा कार्यरत छन् । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई विद्यार्थी सङ्गठन अनेरास्ववियुको पूर्व अध्यक्षसमेत हुन् । भट्टराईसँग सरकारको आगामी आर्थिक वर्षको बजेट, संसदमा जारी छलफल प्रक्रिया, सत्ता समीकरणलगायतका विषयमा राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको संवादको सम्पादित विवरणः


प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी छ । यी छलफल अलि निराश जस्तो देखिन्छ । छलफलमा आएका कुराका आधारमा बजेट संशोधन हुने अभ्यास छैन । औपचारिकताका लागि मात्रै भएका छलफलको सार्थकता के हुन्छ ?

हामीले संसदीय व्यवस्था अवलम्बन गर्दै आएका छौँ । संयुक्त अधिराज्य बेलायत र भारतका ढाँचाहरुलाई नै लिँदै आएका हौँ ।  संसदीय व्यवस्था एउटा लामो र लोकतान्त्रिक प्रक्रिया पनि हो । यसमा चाहेको बेलामा काम नहुन सक्छ । बेलायतमा पाँच सय वर्ष अगाडि सुरु भएको यो व्यवस्थालाई अवलम्बन गरिरहँदा संसद सञ्चालनका कतिपय प्रक्रियामा पुनः विचार गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । संसदमा औपचारिकता नभई जीवन्त छलफल हुने स्थिति हुनुपर्छ । नीति, कार्यक्रम र बजेटमा संशोधन गर्नै मिल्दैन, संशोधन गर्दा सरकार असफल हुन्छ भन्ने मान्यता राखिन्छ । सांसदहरुबाट आएका कुरामा हुन्छ हुन्न भन्ने आधारमा पारित नगरेर नीति तथा कार्यक्रममा प्रधानमन्त्री र बजेटमा अर्थमन्त्रीले बहुसंख्यक सांसदले दिएका यी यी विषय म समावेश गर्छु भन्दा हुन्थ्यो । विधेयकहरु आउँछन्, सम्बन्धित समितिमा जान्छन् । विषयगत समितिमा चाहीँ घनीभूत छलफल हुन्छ । प्रस्तुत हुने मन्त्री तयार भएमा विधेयकमा समितिमा आएका राम्रा र धेरै कुरा परिमार्जन गर्न सकिन्छ । म मन्त्री हुँदा राष्ट्रियसभाको विधायन समितिमा विधेयकमाथि छलफल हुँदा प्रस्तुतकर्ताका हिसाबले मैले करिव ६० प्रतिशत स्वीकार गरेको थिएँ । 


बजेट ल्याउँदा सत्ता गठनबन्धकै दलबीच परामर्श नपुगेको गुनासो आएको छ, बजेटमा तपाईँहरुको समर्थन त देखिएकै छ, गुनासो मात्रै हो कि असन्तुष्टि पनि ?


अहिलेको सरकार संयुक्त सरकार हो । हामी सरकारमा सामेल भएको ठूलो दल हो । बजेट बनाउँदा सरकारमा रहेका दलहरुबीच छलफल हुनुपर्छ । यसका छलफल नभएका कारण सरकारका रहेका दलहरुका बीचमा विश्वासका सङ्कट नहोस् भन्ने हाम्रो चाहना हो । हामीसँग सरकारको साझा न्यूनतम् साझा कार्यक्रम छ, त्यसले बजेट निर्माणमा मार्गदर्शन दिन्छ । हामीसँग दिगो विकास लक्ष्य, सोह्रौ योजनाका दस्तावेज र पार्टीका चुनावी घोषणापत्रहरु छन् । यी सबै बजेट निर्माणका आधारहरु हुन् । यसमा राम्रो के हुन्छ भने सत्तामा रहेका शीर्ष नेताहरुका बीचमा राम्रोसँग छलफल गरेर ल्याउँदा राम्रो हुन्छ । अझ म त के भन्छु भने बजेटका विषयमा विपक्षी दलसँग पनि छलफल हुनुपर्छ । सायद, बजेट निर्माणमा हतारो पनि भयो होला, यसबीचमा नेपाली कांग्रेसले सदनमा अवरोध गरेको थियो, त्यस कारणले पर्याप्त छलफल हुन पाएन होला । तर हामी बजेटलाई समर्थन गरेर पारित गरेर जान्छौँ । आगामी दिनमा हाम्रो दल नेकपा (एमाले) को जानकारी र सहमतिबिना कुनै पनि कार्यक्रम, बजेट र विधेयक प्रस्तुत गर्दा विश्वासको सङ्कट आउन सक्छ भनेर हामीले सन्देश दिन खोजेका हौँ ।


हुन त तपाईंहरु राजनीतिक स्थिरताको कुरा गरिरहनु भएको छ, तर यस्ता अविश्वास बढ्दै गए सत्ता गठबन्धन टुट्न सक्ने खतरा त आउँदैन ?

नीति तथा कार्यक्रममा पर्याप्त छलफल नभएको कुरा स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वीकार गर्नुभएको छ । यसलाई प्राप्त सुझावका अधारमा कार्यान्वयन गरेर जाने कुरा छ । त्यसकारण यत्तिकै आधारमा यो गठबन्धन टुट्दैन । कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन अगाडि जान नसक्ने अवस्थामा हामीले प्रधानमन्त्रीलाई समर्थन गरेर सरकारको निरन्तरता दिएका हौँ । मुलुकलाई मध्यावधिमा लाने स्थिति नआओस् र राजनीतिक स्थिरता होस् भन्ने हाम्रो चाहना हो । अहिले मुलुक मध्यावधिमा जान आर्थिक र मानसिकरुपमा तयार छैन । २०८४ सालको निर्वाचनसम्म यो समीकरणलाई कायम राख्ने भन्ने उद्देश्यमा हामी एक ठाउँ छौँ भने समीकरणमा सङ्कट आउँदैन । लक्ष्य, उद्देश्य र गन्तव्यमा एक ठाउँमा हुँदा हामी समीकरणबाट बाहिर जाँदैनौँ । यसमा हामी स्पष्ट छौँ ।


धेरै साना दललाई समेत साथमा लिएर सरकार बनाउँदा हरेक महिना विश्वासको मत लिनुपर्ने स्थितिमा दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्थ्यो भन्ने कोणबाट पनि चर्चा हुने गर्छ नी ?


कुनै पनि दलको बहुमत नआएको अवस्थामा गत निर्वाचनपछि दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नउठेको होइन । कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा हुन्छ भनेर कुरा आएकै हो । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन मिल्ने संविधानको धारा ७६ (२) अन्तर्गत कांग्रेसले सरकार बनाउँछ भने हामी समर्थन गर्छाैँ र सकारमा चाहीँ सामेल हुँदैनौँ भनेका थियौँ तर कांग्रेस धारा ७६ (२) अन्तर्गत नभई धारा ७६ (३) अन्तर्गत सरकार बनाउने दिशामा आफूलाई अगाडि बढाउने नियतमा देखिएको हामीलाई महसुस भयो । त्यसबेला तेस्रो दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साथ माग्नुभयो र हामीले समर्थन दियौँ । राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा एमाले र माओवादीको सहयात्रामा दरार उत्पन्न भई कांग्रेसले यही सरकारलाई समर्थन ग¥यो । कांग्रेस र माओवादीबीच सङ्कट आएपछि हामीले राजनीतिक स्थिरताका लागि पुनः प्रधानमन्त्री प्रचण्डलाई साथ दियौँ । 


अहिले पनि ठूला दल मिलुन् भन्ने कुरा आइरहेको छ तर दुई ठूला दल जो एउटा सरकार र एउटा विपक्षीमा रहनुपर्छ, तिनीहरु नै मिल्दा शक्ति सन्तुलन र नियन्त्रणको सन्दर्भमा असर गर्न सक्छ भन्ने तर्क पनि उत्तिकै जबर्जस्तरुपमा आइरहेको छ । अहिले हामीले यो सरकारको विकल्प सोचेका छैनौँ । कांग्रेस जिम्मेवार प्रतिपक्षमा रहेर सरकारलाई निगरानी गरोस् भन्ने हो । अहिले हामी यही रुपमा अगाडि बढ्छौँ ।


सङ्घीयता कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण विधेयक पारित हुनमा ढिलाइ हुनुको कारण के होला ?

संविधान जारीपछिको पहिलो व्यवस्थापिका संसदबाट हामी धेरै कानुनहरु बनायौँ । यसबीचमा ती कानुनमाथि पनि अभ्यासको अनुभवका आधरमा संशोधन आवश्यक भइसकेको छ । हामीले सङ्घीयता कार्यान्वयनका सवालमा बाँकी आवश्यक कानुनहरु पनि बनाउनु पर्नेछ । यस सन्दर्भमा सरकार अलमलमा रहनु हुँदैन । सरकारले छिटोभन्दा छिटो विधेयक ल्याओस् भन्ने हामीले चाहेका छौँ । केही विधेयक, जस्तैः निजामतीसम्बन्धी र विद्यालय शिक्षासम्बन्धी विधेयक आएका छन् । ती विषयगत समितिमा छलफलमा छन् । सङ्क्रमणकालीन न्यासम्बन्धी विधेयक पनि समितिमा सहमतिबाट पारितको चरणमा रहेको छ । संविधानमाथि पनि पुनः विचार गर्नुपर्ने अवस्था छ । हामीले बनाएका तीन तहका सरकारहरु कति औचित्यपूर्ण र कार्यान्वयनमुखी छन्, त्यसको लेखाजोखा गर्नुपर्छ । हामीले लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै छिटोछरितो ढङ्गले जान सकिने कानुनी र शासकीय प्रबन्ध गर्नुपर्छ ।


सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन नबन्दा पीडितहरु झन् पीडित हुन पुगेका छन्, के अ यो कानुन चाँडै पारित होला ?

वास्तवमा यो कानुनका लागि हामीले धेरै लामो समय गुजारेका छौँ । जति समय थपिँदै जान्छ, पीडित परिवारलाई उति पीडा हुन्छ, त्यसकारण यसलाई छिटो टुङ्गोमा लानुपर्छ भन्ने सरकार र हाम्रो पार्टीको धारणा रहेको छ । अब यही अधिवेशनबाट यो विधेयक पारित हुन्छ जस्तो मलाई लाग्छ ।


राज्यका तीन अङ्गका बीचको समन्वय र सन्तुलन कस्तो पाउनुभएको छ ?

हाम्रो संविधान विश्वका एक उत्कृष्टमध्येको संविधान हो । राज्यका तीन अङ्गका बीचमा शक्ति सन्तुलनको सिद्धान्तलाई पालना गर्दै यी अङ्गहरु सञ्चालन हुन् भन्ने हाम्रो संविधानको मर्म हो । कतिपय सन्दर्भमा न्यायालयबाट न्यायिक सक्रियता बढी भएको हो कि भन्ने लाग्छ । न्यायालयले परमादेशहरु जारी गर्दा संसद्को विशेषाधिकार हनन् भयो कि भनेर कुरा आएको छ । कानुन बनाउने काम संसद्को हो, तीन कानुन संविधानसँग बाँझिएका छैनन् भने तीनमाथि न्यायालयबाट कुनै टिप्पणी आउनु हुँदैन । कुनै दलको बहुमत नभएको अवस्थामा प्रदेशसभाका हरेक विवादका मुद्दाहरु न्यायालयमा पुगिरहेका छन् । एकै खालका घटनामा फरकफरक फैसला पनि आउने गरेको छ । कार्यक्षेत्रमा हस्तक्षेप भएको अनुभव पनि भएको छ । त्यसकारण हामीले आफ्नो आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्न सकेमा लोकतन्त्र र सङ्घीयता सुन्दर हुन्छ र अझ समन्वयात्मकरुपमा अगाडि जान्छ ।

श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले गरेको छ ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तर भन्दा तल रहेका छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

म्याग्दी र बागलुङको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र बनाइने

ढोरपाटन (बागलुङ), ३२ जेठ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।

उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताए । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उनको भनाइ छ ।

सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताए ।

अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उनले जानकारी दिए । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उनको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताए । उनका अनुसार पालिकाले हालसम्म करिब १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।

योसँगै पालिकाले सोलेडाँडामा ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।

“सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज÷अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भने, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”

स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताए । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई÷चार वर्षपछि गाउँबाटै बिक्री हुने उनको भनाइ छ ।

अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाए । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उनले खुसी व्यक्त गरे । 

फिस्लिङ दुर्घटना अपडेटः  उपचारका क्रममा कार चालकको मृत्यु

मुग्लिन (चितवन) ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । 


दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् । 


घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । 

ताप्लेजुङमा भएको घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन् । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ

लोकसेवा आयोगका अध्यक्षलाई प्रश्नःआयोगको विश्वास कायम राख्दै अघि बढ्ने के–कस्ता कार्ययोजना छन् ?

काठमाडौँ । देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ असार १ गते स्थापना भएको लोक सेवा आयोग ७४औँ वर्ष प्रवेश गर्दैछ । योग्यता, स्वच्छता र निष्पक्षताको मूल मन्त्रलाई आत्मसात् गर्दै आइरहेको आयोगले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सङ्घीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्दै आइरहेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी योग्यता, निष्पक्षता, स्वच्छता र पारदर्शीतालगायत आधारभूत मूल्यमान्यतालाई अक्षुणरुपले अघि बढाएकाले नै आयोग स्वच्छता र निष्पक्षताको प्रतीकका रुपमा रहिरहेको बताउँछन् । आयोगद्वारा सञ्चालित परीक्षा निष्पक्ष, स्वच्छ र पारदर्शी हुने भएकाले प्रतिस्पर्धामा भाग लिन, उत्तीर्ण हुन र राष्ट्रसेवा जस्तो गौरवपूर्ण काममा लाग्न सम्पूर्ण युवा/विद्यार्थीलाई उनले आह्वान गरेका छन् ।

उनले प्रतिस्पर्धी र उम्दा व्यक्तिले सरकारी सेवामा रही देशको सेवा गर्ने गौरव प्राप्त गर्ने भएकाले स्वच्छ, स्वतन्त्र, पारदर्शी र निष्पक्ष हुने परीक्षा उत्तीर्ण हुन ऐन कानुन र संविधानबाहेक केही आवश्यक नहुने स्पष्ट पारे । आयोगको ७४औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता अशोक घिमिरेले अध्यक्ष रेग्मीसँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अंशः

आमनागरिकको भरोसा र विश्वासको प्रतीकका रुपमा रहेको लोक सेवा आयोगको विश्वास कायम राख्दै अघि बढ्ने कार्ययोजना के–कस्ता छन् ?


        लोक सेवा आयोग २००८ असार १ गते स्थापना भएको हो । आयोग स्थापना अघि र पछि जारी भएका सबै संविधानले आयोगको भूमिकालाई महत्वपूर्ण स्थानमा राखेका छन् । आयोग स्वच्छता, योग्यता र निष्पक्षताको मूल मन्त्रसहित अघि बढिरहेको छ । आयोगले निजामती सेवा, सरकारी सेवा, सङ्गठित संस्था र सुरक्षा निकायका परीक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । यसका साथै विश्वविद्यालय सेवा आयोगमा समेत लोक सेवाको एक जना सदस्य रहने भन्ने व्यवस्था भएअनुसार ती विश्वविद्यालय सेवाका काममा सहयोग गर्दै आइरहेको छ । नेपालको संविधान जारी हुनुअगावै भएको अधिकारका अलवा आयोगको विश्वसनीयतामा भएको वृद्धिका कारण संविधानसभाले आयोगलाई सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्तिको थप अधिकार दिएको छ । योग्यता, निष्पक्षता, स्वच्छता र पारदर्शीतालगायत आधारभूत मूल्यमान्यतालाई अक्षुणरुपले अघि बढाएकाले नै आयोग स्वच्छता र निष्पक्षताको प्रतीकका रुपमा रहेको छ ।


आयोगको आगामी मूलभूत कार्ययोजना के छन् ?


नेपालको संविधान, लोक सेवा आयोग कार्यविधि ऐन, २०७९, कार्यविधि तथा नियमावली आयोगको काम गर्ने आधार हुन् । यसका साथै निजामती सेवा ऐन र नियमावली तथा अन्य सेवासँग सम्बन्धित ऐन तथा नियमावली कार्यसञ्चालनका आधार हुन् । संविधानबमोजिम प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड) सम्बन्धी ऐन तथा २०७५ सालमा जारी सङ्गठित संस्थाका निकायमा पदपूर्ति गर्ने कार्यविधिअनुसार आयोगले कामकारबाही गरिरहेको छ । आयोगका कामलाई अझ बढी सान्दर्भिक बनाउन दोस्रो रणनीतिक योजना (२०७९/८०–२०८४/८४) जारी गरिएको छ । ‘एसिसमेन्ट सेन्टर मेथेडोलोजी’मार्फत आयोगका कामकारबाहीलाई अझ व्यवस्थित गरिएको छ । कर्मचारीलाई नियुक्तिका बेलामा मात्र होइन कार्यक्षेत्रमा कस्तो काम गर्नसक्छ भन्ने विषयको पूर्वमूल्याङ्कन गर्नका लागि उक्त विधि झण्डै १० वर्षदेखि चलिरहेको छ । त्यसलाई परिमार्जन गर्ने, नयाँ दक्ष विज्ञलाई तालिम दिने तथा पुरानो दक्ष विज्ञलाई पुनरावलोकन गर्ने र त्यसअनुसार अन्य तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सहसचिव तहमा मामिला प्रस्तुतीकरण, उपसचिव तहमा ‘इन्बास्केट एक्सरसाइज’ र शाखा अधिकृत तहमा समूहगत छलफल तथा तल्ला तहमा विभिन्न प्रयोगात्मक परीक्षा सञ्चालन गरेर आयोगका कार्यक्रमलाई सान्दर्भिक बनाएका छौँ ।


मुलुक सङ्घीय संरचनामा गइसकेपछि संविधानले प्रदेश लोक सेवा आयोगको पनि व्यवस्था गरेको छ । प्रदेश लोक सेवा आयोगका कामकारबाहीबारे कहिलेकाहीँ टिप्पणी हुने गरेको छ, यसलाई कसरी लिनुभएको छ ?


नेपालको संविधानमा प्रदेश लोक सेवा आयोग गठनसम्बन्धी व्यवस्था छ । संविधानमा ‘प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड सङ्घीय संसद्ले जारी गरेको ऐनबमोजिम हुनेछ’ भन्ने व्यवस्था भएअनुसार २०७५ सालमा सङ्घीय संसद्ले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड)सम्बन्धी ऐन जारी गरेको छ । 


उक्त ऐनअनुसार प्रदेशसभाले प्रदेश लोक सेवा आयोगसम्बन्धी ऐन निर्माण गरेर प्रदेश लोक सेवा आयोगहरु गठन भएका छन् । प्रदेश लोक सेवा आयोगले केन्द्रले अपनाएको मूल्यमान्यता र व्यवस्थाअनुसार पदपूर्ति गर्नुपर्नेछ । सोअनुसार हुन नसकेमा त्यस्ता पदपूर्ति स्वतः बदर हुने संविधानमा व्यवस्था छ । यही लोक सेवा आयोगले अपनाएको आधार र मापदण्ड तथा कार्यप्रणाली प्रदेश लोक सेवा आयोगले लागू गर्नुपर्ने हुन्छ । तीन सदस्यीय प्रदेश लोक सेवा आयोगको गठन भएका छन् । त्यसले भर्खरभर्खर काम सुरु गरेको हुनाले कामकारबाहीमा थप परिमार्जन ल्याउनुपर्ने अवस्था छ । सम्बन्धित प्रदेश रहेको राजधानीमा अहिले दक्ष विज्ञ पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको अवस्था छ । कर्मचारी पनि पर्याप्तमात्रामा छैनन् । यसकारण प्रदेश लोक सेवा आयोगको कामकारबाहीको केही असर परिरहेको छ ।


        प्रदेश लोक सेवा आयोगको कामकारबाहीबाट केही तलमाथि पर्यो भने अहिलेसम्म लोक सेवा आयोगले आर्जन गरेको विश्वासमाथि नै प्रश्न उठ्ने र सर्वसाधारण नागरिकमा नराम्रो प्रभाव उत्पन्न हुनसक्ने भएकाले लोक सेवा आयोगले प्रदेश लोक सेवा आयोगलाई पनि आफू सँगसँगै हिँडाउन थालिएको छ । लोक सेवा आयोग र सातै प्रदेश लोक सेवा आयोग सम्मिलित ‘लोक सेवा आयोगहरुको राष्ट्रिय सम्मेलन’ गर्ने निर्णयअनुसार पहिलो सम्मेलन २०७७ फागुन २३ र २४ गते बागमती प्रदेशको धुलिखेलमा सम्मेलन भएको छ । उक्त सम्मेलनको सिफारिसअनुसार हरेक वर्ष भिन्नभिन्न प्रदेशमा फागुन २३ र २४ मा हुने गरेको छ । 


आठवटै लोक सेवा आयोगले गरेका कामकारबाहीमा एकरुपता कायम गर्न, एकअर्काका कामकारबाहीमा परेका कठिनाइमा छलफल गर्न र लोक सेवा आयोगले अपनाएका असल अभ्यासलाई प्रदेशमा हस्तान्तरण गर्न तथा त्यहाँ परिआएका समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ । यसबाट प्रदेश लोक सेवा आयोगहरुले आफूले बलियो भएको महसुुस गरेका छन् भने दक्ष विज्ञको रोष्टरलगायत अन्य सहयोग पनि उपलब्ध गराउनुका साथै लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा प्रदेश लोक सेवा आयोगहरुको सम्पर्कस्थलको व्यवस्था गरेर उहाँहरुलाई सहजीकरण गरिरहेका छौँ ।


नेपालको निजामती सेवामा जनशक्ति परिपूर्तिका लागि लोक सेवा आयोगको ढाँचालाई थप वैज्ञानिक बनाउन के–कस्ता कार्यप्रणाली अपनाइएको छ ?


        संविधान, लोक सेवा आयोग ऐन, नियम र निजामती सेवा ऐन नियमबामोजिम आयोगले काम गरिरहेको छ । अहिलेको विश्व परिवेश तथा बदलिँदो प्रविधिअनुसार परीक्षा सञ्चालन गर्नका लागि आयोगका कामकारबाहीलाई परिमार्जन गर्ने भनेर परीक्षण प्रविधि तथा पाठ्यक्रम महाशाखा गठन गरिएको छ । त्यसबाट हामीले निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छौँ । आयोगका कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने र विकसित तथा यस्तै प्रकृतिका अन्य मुलुकका असल अभ्यासलाई आत्मसात गरेर अघि बढ्ने भन्ने विषयमा वैदेशिक भ्रमणलगायत विदेशी मुलुकसँग सम्पर्क गरिरहेका छौँ । त्यहाँको प्रविधि पनि ल्याउने प्रयास गरिरहेका छौँ । सुधारका क्रम जारी रहेको छ । आगामी दिनमा यसलाई अझ अगाडि बढाउनेछौँ । यसपालिको लोक सेवा आयोगहरुको सम्मेलनले पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजाने ‘एजेण्डा’ पारित गरेको छ । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुले पनि पाठ्यक्रमलाई समयानुकूल बनाउने विषयलाई महत्व र प्राथमिकता दिएका छौँ । विभिन्न सेवा समूह सञ्चालन गर्ने मन्त्रालयहरुको आवश्यकताअनुसार पाठ्यक्रमलाई परिमार्जन गरेर दक्ष विज्ञको सहयोगमा लोक सेवा आयोगले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।


निजामती सेवाका अतिरिक्त सङ्घसंस्थामा पनि पदपूर्तिको जिम्मेवारी लोक सेवा आयोगमा आउनु गौरवको विषय छ । निष्पक्षताका दृष्टिकोणबाट सर्वसाधारणलाई अवसर पनि हो तर, कार्यबोझप्रति उठेका प्रश्नलाई कसरी सम्बोधन गर्नुहुन्छ ?


        आयोगमा तीन सय कर्मचारीको दरबन्दी रहेको छ । यो संविधान जारी हुनुअगावैको हो । यसपछि थप भएको छैन । तर संविधान जारी भएपछि हामीले सुरक्षा निकाय तथा सङ्गठित महाशाखा गठन गरेर निजामती बाहेकका पदमा पनि पदपूर्ति गर्दै आइरहेका छौँ । प्रदेश लोक सेवा आयोगको क्षेत्राधिकार कारण लोक सेवा आयोगको कार्यबोझ केही कम भएको छ । त्यसकारण आयोगले सुरक्षा निकाय र सङ्गठित संस्था तथा विश्वविद्यालयका काम गर्न सकेका छौँ । सङ्गठित संस्थाको पनि निजामती सेवाको जस्तो ‘क्लष्टरिङ’ गरेर परीक्षा सञ्चालन गर्नेतर्फ पनि आयोगले अध्ययन गरेको छ ।


समग्रमा आयोगको चुनौती र भावी कार्ययोजना के छन् ?


        आयोगको दरबन्दी पुनरावलोकन हुनुपर्छ । विगतका ऐनले आर्थिक र प्रशासनिक स्वायत्तता दिएका थिए । तर पछि जारी भएको लोक सेवा आयोग ऐनमा अन्य संवैधानिक निकायसरह भनेर आर्थिक तथा प्रशासनिक स्वायत्ततामा केही कटौती भएको छ । यसलाई आयोगले सकारात्मकरुपले लिएको छैन । हामीले निरन्तर आवाज उठाइरहेका छौँ । आयोगको चासो सम्बोधन हुन सकेन भने संवैधानिक निकायका रुपमा रहेको आयोगलाई आफ्नो कामकारबाही स्वच्छ, निष्पक्ष, पारदर्शी र जवाफदेहीपूर्ण ढङ्गले सञ्चालन गर्न कठिनाइ उत्पन्न हुन्छ । प्राविधिक पक्षमा पनि आयोगले सुधार गर्नुपर्ने अवस्था छ । कर्मचारीलाई समयानुकूल तालिम दिनुपर्ने, विश्वव्यापीरुपमा अपनाइएको परीक्षण पद्धति, पाठ्यक्रम र परीक्षा प्रणालीमा भएका सुधारलाई आत्मसात् गरेर अहिलेको समयको मागअनुसार युवा विद्यार्थी तथा परीक्षार्थीलाई आकर्षण गरी नेपालको निजामती, सरकारी, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका पदमा पदपूर्ति गर्नु आयोगको चुनौती हो ।


कर्मचारीको नयाँ भर्ना र छनोटपछि राष्ट्र सेवाप्रति जुन समर्पण भाव र झुकाव हुनुपर्ने हो, त्यो देखिन्न भन्ने सुनिन्छ, यसमा तपाईंको भनाइ के छ ?


        त्यस्ता कुरा हामीले पनि सुन्छौँ, बुझेका छौँ, थाहा पाएका छौँ, बडो दुःख लाग्छ । छनोट प्रक्रिया र उनीहरुले गरेका काम कारबाहीमा सङ्गति त्यति मिलिराखेको देखिँदैन । यद्यपि, हामीले संसारकै प्रचलित परीक्षण विधिलाई प्रयोग गरेका छौँ । तथापि, अहिले अझ ‘रिजरर्स’ परीक्षण गर्नु पर्नेछ । त्यसका लागि प्रविधि र ठूलो खर्च हुने स्थिति पनि छ । हामीले बजारमा उपलब्ध भएका उम्दा कर्मचारी छनोट गरेका छौँ । पाठ्यक्रम हामीले बनाएका होइनौँ, पाठ्यक्रम सम्बन्धित मन्त्रालयले नै प्रस्ताव गरी पठाएर विश्वविद्यालयलगायत दक्ष विज्ञ जनशक्ति लगाएर पाठ्यक्रमलाई ‘मोडरेड’ गरी परीक्षा सञ्चालन गर्ने र उत्तरपुस्तिका परीक्षणलाई पनि दुई सिद्धान्त अपनाइएको छ । कुनै कर्मचारी नातागोता रहेमा उ संलग्न नहुनेलगायतका सिद्धान्त अपनाई प्रशिक्षार्थी छनोट त गरिएको छ, तर कार्यक्षेत्रमा पुग्ने सन्दर्भमा सरकारबाट प्रभावकारी तालिम/प्रशिक्षण र सुविधा उपलब्ध गराउनपर्नेमा केही कमीकमजोरी भई त्यसो भएको हुन सक्ला ! दोस्रो कुरा नेपालमा कर्मचारी मात्रै इमान्दार हुनेभन्दा पनि समग्र राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक परिस्थिति र परिवेशको पनि मोटामोटी प्रभाव यसमा नपर्ला भन्न सकिन्न । कार्यक्षेत्रमा गएर पनि जनताको सेवालाई सेवा प्रवाह राम्रो गर्नसक्ने कर्मचारी छनोट गर्नुपर्ने कुरामा आयोग प्रतिबद्ध छ । तथापि कार्यक्षेत्रमा काम गर्दा त्यस्ता कर्मचारीलाई बाटो बिराउन नदिने वातावरण बनाउन नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, आमनागरिकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने लाग्छ ।


समावेशी प्रतिनिधित्वलाई व्यावहारिक बनाउन प्रत्येक १० वर्षमा यससम्बन्धी प्रावधान पुनरावलोकन गर्ने भन्ने विषय थियो, अब त्यो गर्ने बेला भएन ?


        यो विशुद्ध नेपाल सरकारको कार्यक्षेत्रमा पर्ने विषय हो । विसं २०६४ मा आएको समावेशी सिद्धान्तसम्बन्धी व्यवस्था १०–१० वर्षमा पुनरावलोकन गर्ने भनिएको छ । तर अहिले १६/१७ वर्ष भइसकेको छ । तर पनि पुनरावलोकन हुन सकेको छैन । समावेशीता जे उद्देश्यले आएको छ, कतिपय उद्देश्य पूरा भए पनि कतिपय बाँकी नै हुन सक्छ । यो अध्ययन र अनुसन्धानबाट देखिने विषय हो । अहिलेसम्म समावेशी पदपूर्तिबाट निजामती सेवामा २४/२५ हजार कर्मचारी नियुक्ति भएका छन् । निजामती र सुरक्षा सेवामा महिला र जाति, जनजातिको ठूलो सङ्ख्या प्रवेश भएको छ । दलित, पिछडिएको क्षेत्र र मधेसी समूहका केही ‘क्लष्टर’मा पूर्णरुपमा पदपूर्ति भइसकेको छैन । तथापि, ती पद आगामी परीक्षामा त्यहीबाटै पूर्ति गर्ने व्यवस्था मिलाइएको छ । तेस्रो वर्षमा मात्रै खुलातर्फ जाने व्यवस्था छ । 


        गत वर्ष सर्वोच्च अदालतबाट समावेशी र आरक्षणका सन्दर्भमा भएको फैसलाबाट केही सिद्धान्त प्रतिपादन भएका छन् । एउटै व्यक्तिले एकभन्दा बढी पटक समावेशी उम्मेदवारका रुपमा भाग लियो, समावेशीतामा जात हेरियो, आर्थिक अवस्था र वर्ग हेरिएन । समावेशीताका सन्दर्भमा सुविधा पाएकै छ, यसमाथि पनि बढुवामा समेत एक वर्ष सुविधा दिने कारणले प्रतिस्पर्धीभन्दा केही कमजोर व्यक्ति निजामती वा सरकारी सेवामा प्रवेश भइरहेको यथार्थता हुँदाहुँहै त्यही कमजोर प्रवृत्तिको व्यक्तिलाई नै एक वर्षअघि बढुवाको अवसर दिनाले कालान्तरमा निजामती सेवा अन्तर्राष्ट्रिय जगत्सँग प्रतिस्पर्धामा जानपर्नेमा कमजोर भई गुणस्तरमा ह्रास आउने हो कि भन्ने चिन्ता सर्वत्र छ । यी सबै विषय अध्ययन भएर नयाँ ऐन निर्माणपछि आयोगले त्यसको अवश्य नै कार्यान्वयन गर्नेछ ।


कर्मचारीको मूल्याङ्कन पद्धति व्यावहारिक भएन भन्ने सुनिन्छ, त्यसलाई कसरी व्यावहारिक बनाउन सकिएला ?


       कार्यसम्पादनका आधार वस्तुनिष्ठ र वस्तुगत हुनुपर्नेमा त्यसो छैन । त्यो नभएपछि के आधारले मूल्याङ्कन गर्ने भन्ने प्रश्न उब्जन्छ ? कर्मचारीले लिएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण परिस्थिति उसको हातमा पनि छैन । विभिन्न वातावरणीय प्रभावले प्रतिकूल असर पारिरहेको छ । राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्, बजेट निकासा, मुआब्जा निर्धारण, निगरानी गतिविधि, निर्माण सामग्री उपलब्धतासँग एउटा कर्मचारीको मूल्याङ्कनका आधार जोडिएका हुन्छन् । त्यसले असर र प्रभाव पारेको हुन्छ । मूल्याङ्कनकर्ताले पनि आफूले गर्नसक्ने मूल्याङ्कन निष्पक्ष, स्वच्छरुपमा गर्नसक्ने परिस्थिति पनि निर्माण नभएको महसुस गरिएकाले यथार्थमा मूल्याङ्कन हुन सकेको छैन । सबै कर्मचारीलाई पूरा पूर्णाङ्क दिने काम भइरहेको छ । उता आयोजनाका कामकारबाहीको प्रगति ५० प्रतिशतमा सीमित हुने, बेरुजु बढिरहेको देखिने, विकास खर्च भइरहेको नदेखिने तर यता कार्यसम्पादन मूल्याङ्कन शतप्रतिशत अर्थात् पूर्ण पूर्णाङ्क नम्बर प्राप्त गर्ने विडम्बनापूर्ण स्थिति देखापरेको छ । यसले समग्र देश निर्माणमा प्रतिकूल प्रभाव पारेको छ ।


प्राविधिक पदमा प्रारम्भमै दरखास्त कम पर्ने, परीक्षामा सहभागी कम हुने, अनि उत्तीर्ण भए पनि काममा नआउने प्रवृत्ति छ भन्ने गुनासोलाई आयोगले कसरी हेरेको छ ?


        बाहिर हल्ला आएजस्तो त्यति समस्या प्राविधिक पदमा छैन । मेडिकल क्षेत्रको केही पदमा दरखास्त नआउने, आए पनि कम सङ्ख्यामा आउने विषय कहिलेकाहीँ देखिएका छन् । अरु कतिपय स्थानमा रोजाइको अधिकार कर्मचारीलाई भएको हुनाले आफूलाई परीक्षण गर्न पनि परीक्षा दिने त्यसपछि आफ्नो मूल्याङ्कन गरी अर्काे राम्रो संस्थामा जान्छु भनी छाडेर जाने प्रवृत्ति पनि छ । अहिलेको समसामयिक नेपालमा जति युवा नेपालमा वातावरण छैन कि भनी विदेश नै गइरहेको अवस्था छ । त्यसले पनि यो विषयलाई प्रभाव पारेको छ । विदेश गएकाले ठीक गरेका छन् कि ती नेपालमा बस्दा सन्तुष्टि हुन्छ कि भन्ने अध्ययनको विषय होला ? यहाँ कति अवसर छ, कति छैन, यो  मैले भन्नसक्ने विषय भएन । प्राविधिक अध्ययनमै पनि अरु साधारणभन्दा अलि कठिनाइ नै हुन्छ । पढाइ पूरा भएपछि अरु संस्था होस् वा विदेशमा, अरु स्वरोजगारका क्षेत्रमा खपत हुने स्थिति छ भने सरकारी हुन् वा सङ्गठित संस्थामा आकर्षण नहुन सक्ने अवस्था पनि हुन सक्छ ।


आयोग ७४ वार्षिकोत्सवको सम्मुखमा छ, यस अवसरमा यहाँको सन्देश के छ ?


        लोक सेवा आयोगले निष्पक्ष, स्वच्छ र पारदर्शी ढङ्गले कामकारबाही गर्दै आइएको छ । एउटा आस्था र विश्वास आर्जन गरेको संस्था हुनाले हाम्रा कामकारबाहीमा यहाँहरु सबैले सुक्ष्मरुपमा निगरानी गरिदिनुस् । केही समस्या र सुधार गर्नुपर्ने अवस्था देख्नुभएमा रायसुझाव दिनुस् । आयोग निष्पक्ष, स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी भएकाले परीक्षामा उत्तीर्ण र छनोट हुनका लागि ऐन कानून र संविधानमा भएका विषयबाहेक केही आवश्यक छैन । प्रतिस्पर्धामा भाग लिन, उत्तीर्ण हुन र राष्ट्रसेवामा लाग्न आमप्रतिस्पर्धी युवा/विद्यार्थीलाई आह्वान गर्छु । प्रतिस्पर्धी र उम्दा व्यक्तिले मात्र देश सेवा गर्ने हो, अरु सबै निजामती वा सरकारी सेवामा आउन पनि सक्दैनन् । जो कोहीले सेवा गर्ने स्थिति र अवस्था पनि होइन । देशमा भएका योग्य, उम्दा र प्रतिस्पर्धीले नै मुलुकको सेवा गर्न पाउने भएकाले यो गौरव प्राप्त गर्न तपाईंहरु अघि बढनुस् । आयोग एउटा सवैधानिक अङ्ग भएको हुनाले यसको स्वच्छता र स्वायत्ततालाई संरक्षण गर्न नेपाल सरकार, संसद्, न्यायलय, सञ्चार जगत् तथा सर्वसाधारण नागरिकमा आग्रह गर्न चाहन्छु ।

प्रधानमन्त्रीद्वारा नेपालकै तस्रो ठूलो ४०० केभी क्षमताको हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् ।


ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ ।


यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।


मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ ।


हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ ।


अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिएको छ ।


राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । उक्त आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।


सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौँडा सबस्टेसन निर्माणका लागि २०१८ डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत  तीन अर्ब रहेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन सरकारसँग सांसद शाहको माग

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका हुन् ।

उनले भने,‘गत कात्तिक २७ गतेसम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएनबाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’

उनले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसञ्चार प्रदायक कम्पनीले डाटाबाट अर्बाैं रुपैयाँ गुमाउनु परेको र टिकटकबाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको बताए ।

उनले अन्य सामाजिक सञ्जाल सञ्चालन गर्न दिने तर टिकटकलाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए ।
सरकारले २०८० कात्तिक २७ बाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

बाँकेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, टिपरमा आगजनी

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् ।

आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनकाअनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे१०प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भएको दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।

पीडितले अहिलेसम्म घटनास्थलबाट शव नउठाएर पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।

पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोसिस भएको बताइएको छ ।

हुथी समुहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण

यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।

‘एम/भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित जहाजमा क्षति र त्यसपछिको आगलागी भएको रिपोर्ट गरिएको छ । आक्रमणको क्रममा एक जना जहाज सञ्चालक गम्भीर घाइते हुनुभएको छ ‘, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक विज्ञप्तिमा जानकारी गरायो ।

हुथीहरूले गाजा पट्टीमा चलिरहेको इजरायल–हमास युद्धको क्रममा प्यालेस्टिनीहरूसँग एकतामा रहेको बताउदै नोभेम्बर २०२३ देखि लाल सागर र एडनको खाडीमा पानीजहाजहरूलाई लक्षित आक्रमण गर्दै आएका छन् । यसले अन्तर्राष्ट्रिय ढुवानीमा ठुलो अवरोध ल्याएको छ ।

हुथि समुहले बिहीबार गाजा पट्टीमा जनता विरुद्ध गरिएको अपराधको प्रतिशोधमा र आफ्नो देश विरुद्धको अमेरिकी–ब्रिटिश आक्रमणको प्रतिक्रियामा विगत २४ घण्टाभित्र भर्बेनासहित तीनवटा जहाजहरूमा आक्रमण गरेको बताएका छन्।
यसैबीच संयुक्त राज्य मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) ले यमनको विद्रोहीको कब्जामा रहेको होडेडा बन्दरगाहबाट करिब ८० नटिकल माइल उत्तरपश्चिम लाल सागरमा व्यापारिक जहाज नजिकै विस्फोट भएको बताएको छ ।

सेन्टकमका अनुसार पछिल्लो २४ घण्टामा हुथीहरूसँग सम्बन्धित एक एयर डिफेन्स सेन्सर, दुई गस्ती डुङ्गाहरू र समुद्री र हवाई ड्रोनहरू नष्ट गरेको बताइएको छ।

सन् २०१४ मा सानाबाट सरकारलाई अपदस्थ गरेपछि हुथीहरूले नोभेम्बरदेखि लाल सागर र एडनको खाडीमा ढुवानी जहाजहरूमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेका हुन् ।

हुथीहरूले बुधबार होडेडाको दक्षिणपश्चिममा लाइबेरियाको झण्डा भएको बल्क ढुवानी जहाजलाई प्रहार गरेका थिए । उनीहरूले हमलामा समुद्री र हवाई ड्रोनका साथै ब्यालेस्टिक मिसाइलहरू प्रयोग गरेको दाबी गरेका छन्।

‘गाजामा प्यालेस्टिनीहरूको पक्षमा रहेको दाबी गर्दै द्वन्द्वसँग कुनै सम्बन्ध नभएका तेस्रो देशका नागरिकहरूको जीवनलाई लक्षित आक्रमण र धम्की दिइरहेका छन्’ सेन्टकमले बिहीबार हुथीहरूलाई आरोप लगायो।

बाढी पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग

काठमाडौँ / नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराती पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केहि घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनिकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्ने बताए ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले आकस्मीक, शुन्य र विशेष समयमा उठाएका बिषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुदूरपश्चिममा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु

कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो ।

प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।

उनका अनुसार चालु आवको सो अवधिमा छ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर चार करोड ५० लाख महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए ।

सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन विच्छेद गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार सात सय १२ ग्राहकमध्ये दुई हजार पाँच सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिए ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म तीन लाख ६७ हजार दुई सय ७० ग्राहक छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताए ।

बागमती प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत

हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपििरषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए ।

यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमती दिएको पनि श्रेष्ठले बताए । बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ ।

संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमण गरेर फर्किएको पाँच दिन हुँदा पनि संसदमा उपस्थित भएर जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले प्रधानमन्त्री संसदमा नआएको बताउँदै सरकारले संसदको गरिमालाई कमजोर बनाएको भन्दै आपत्ति जनाए ।उनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि पाँच दिन भइसकेको छ । प्रतिपक्षी दल धैर्यतापूर्वक कुरेर बसेका थियौं भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भनेर । पाँच दिनसम्म यहाँ आउन सक्नुभएन । के प्रधानमन्त्री सदनदेखि डराउनुभएको हो ? प्रधानमन्त्री यो सदनको नेता हो । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ? सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति कांग्रेस खेद व्यक्त गर्दछ ।’

 त्यस्तै लेखकले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरुले जवाफ माग गरेको तर प्रधानमन्त्री संसदमा नै नआएको बताए ।

उनले आगामी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे सरकारलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउन माग गरेका छन् ।

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ देखि सुरु हुने

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए ।

साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उनले भने, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो ।

रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए ।

उनले भने, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।”

यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छन् भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन् । शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरु छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

काठमाडौँ । अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।

उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए ।

यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे । पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए ।

एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

राँझा (बाँके) । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।

“चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने ।

चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उनले बताए ।

सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई एक अर्ब ६० करोड विनियोजन भएको छ । चालु आव २०८०/८१ मा सिक्टा सिँचाइलाई रु एक अर्श ३५ करोड विनियोजन भएको थियो ।

“गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ”, इन्जिनियर पौडेलले भने, “अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छौं, आगामी बजेट पनि त्यसैमा धेरै होला ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९÷९० मा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका छन् ।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।

गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए ।

चितवनको फिस्लिङमा दुईवटा सवारीसाधन ठोक्किँदा २० घाइते, पाँचको अवस्था गम्भीर

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ । फोर्ट लोडरडेल÷हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ । सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ ।

अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो । आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तूफान आउँछ । सन् २०२३ अगस्ट २९ मा तूफान इडालियाको सम्पर्कमा आउँदा दुई जनाको मृत्यु भएको थियो ।

युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना

केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । 

‘हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ’, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भने, ‘हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।’  उनी दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा छन् ।

नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो । 

नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् । नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो । 

मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् । 

यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् । 

उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भने “हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।’ उनका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् । उने कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भने, ‘उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।’

‘के तपाईंले कहिल्यै हाम्रो आजको जीवनलाई वास्तवमै बाँच्ने कोसिस गर्नुभएको छ ?’, इयादले प्रश्न गरे, “हामीले कयौँपटक खाना पाएका छैनौँ भन्नेबारे तपाईंलाई थाहा छ ?’

वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिएका थिए तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ ।

आयुषलाई बङ्गलादेशमा स्वर्ण

काठमाडौँ ।  नेपालका आयुष ढुङ्गेलले प्रथम विकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा  स्वर्णपदक जितेका छन् ।

बङ्गलादेशको ढाकामा भएको  प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गर्दै उनले स्वर्णपदक जितेका टिम व्यवस्थापक प्रदीप थापामगरले जानकारी दिए । 

त्यस्तै पुरुष ५४ केजी तौलसमूहमा नेपालका शेख इरफान खरेलले बङ्गलादेशका अब्दु जायद खानलाई हराएर स्वर्णपदक हासिल गरे । 

त्यस्तै पुरुष ४५ केजी तौल समूहमा नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएसँगै कास्यपदकमा सीमित बने । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान छन् ।

एसियन कप फुटबल छनोटमा नेपाल समूह ‘एफ’मा

काठमाडौँ ।  एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले  बिहीबार सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो । नेपालको समूहमा जापान, कतार र मङ्गोलियाजस्ता बलिया राष्ट्र परेका छन् । यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।

त्यसैगरी एएफसीले आजै सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु–२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन  र कम्बोडिया रहेका छन् ।

यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।

बढुवा भएका चार एसएसपीको पदस्थापन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ । बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै बिहीबार जिम्मेवारी पनि पाएका हुन् ।

अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ।

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार न्यायाधीशहरु कुमार रेग्मी, डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको तीन सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

हेर्दाहेर्दैसँगै इजलासले ९ असारको पेसी समेत तोकेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको बिहीबार भएको बहसमा ६ जना कानुन व्यवसायीहरुले भाग लिएका थिए । बाँकी ६ जनाको बहस अर्को पेसीमा हुनेछ ।

२७ जेठमा सर्वोच्चका न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएको थियो । तर, न्यायाधीश सुनिल कुमार पोखरेलले सरकार निर्माणसम्बन्धी विवादमा यसअघि कानुन व्यवसायीको हैसियतमा हालको मुद्दामा विपक्षी रहेका हिक्मत कार्कीको विपक्षमा मुद्दा लडेकाले मुद्दा हेर्न नमिल्नेमा परेको थियो । यो मुद्दा पूर्णइजलासमा पुग्नुअघि एकल र संयुक्त इजलासमा बहस भएको थियो ।

न्यायाधीश हरि फुयालको एकल इजलासपछि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दामा सुनुवाइ गर्यो ।

तर, थप संवैधानिक प्रश्न रहेको भन्दै संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ गते दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको भएपनि अदालतले अन्तरिम आदेश भने दिएको छैन ।

बेनी-जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ ।

म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ ।यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख ध्रुवकुमार झाले बताए ।

‘बाढी, कटान र पहिरोले नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुर्‍याएको छ’, उनले भने, ‘सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेका छौँ ।’

बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ माझखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारि राहुघाटमा पहिरोले सडक निर्माण तथा यातायात सञ्चालन प्रभावित बनाएको छ ।

अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

अन्नपूर्णको वडा नं ३ दानाको गुइठेभिर, खाम भित्ता, लाटाखोलामा बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ । खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।

काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ‘रक फल’को समस्या छ । मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ । लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ । दानाको रुप्से र घाँसाको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको थियो ।

धार परिवर्तन गरिरहने कालीगण्डकीले मार्फा, स्याङ, जोमसोममा सडकलाई कटानको जोखिम छ । गत असारमा कागखोलामा आएको बाढीले कागबेनीमा निर्माण भएको मोटरेबल पुल बगाएको थियो ।

मुस्ताङका खोलाहरूमा आउने बाढीले थुपारेको गेग्रानको सतह बढेर पुललाई छुन थालेको छ । पाण्डाखोलाको बाढीले पुलको सतहसम्मै गेग्रान थुपारेको छ भने धार परिवर्तन गरिरहने समस्या छ । मार्फाखोलाको बाढीले मोटरेबल पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिपिआर तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ ।

‘रक फल’ हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रक एङ्करिङ’ रक नेलिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको बेनी जोमसोम कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए ।

‘बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गरिएको छ’, उनले भने, ‘बाढीले बगाएको निर्माणाधिन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ ।’

भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छ्याउने तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा रहेको उनले बताए ।

बेनी-जोमसोम-कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने स्थानीय सरोकारवालाले माग गरेका छन् ।

तत्कालीन रूपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने म्याग्दी प्रदेशसभा १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन अथवा वैकल्पिक मार्गको पहिचान र विकास गर्नुपर्ने उनको भनाइ छ ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलामा पुल निर्माण गर्न विसं २०७४ देखि जोमसोममा कार्यालय स्थापना गरेर काम थालिएको थियो ।

विसं २०८१ जेठ अन्तिम सातासम्मको भौतिक प्रगति ८० प्रतिशत रहेको आयोजनाले जनाएको छ । १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आयोजना अवधिलाई आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा हालसम्म रु छ अर्ब खर्च भएको आयोजना प्रमुख झाले बताए ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ४८ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको छ ।

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० को निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, चारवटाको ठेक्का तोडेको र पाँचवटा पुल ठेक्का प्रक्रियामा जान बाँकी छन् ।

गिरिबन्धु बेचेर खान नपाउँदा कांग्रेसले स्यालहुइँया मच्चायोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेटका बारेमा गलत प्रचार गरेर कांग्रेसले स्यालहुँइया मच्चाइरहेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बलजफ्ती बिक्री गरेर गिरीबन्धु टी स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको आरोप लगाएका हुन् ।

उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले भने, ‘गिरिबन्धु टी-स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर हामीले कानून बनायौँ । कानुन बनेपछि बेचेर खान नपाइने भयो भनेर ‘स्यालहुँइया’ मच्चाएका छन् । हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । अनि एमालेलाई बद्नाम गर्न लागेका छन् ।’

उनले एमालेलाई काम गर्न नदिन अनर्गल प्रचारमा भइरहेको बताए । उने विगतमा पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ?’

एमाले अध्यक्ष ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाम तीन हजार करोड लगेर टेलिकममा लगानी गरेको आरोप लगाएका थिए ।

रूग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।


बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको बताउँदै ती उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकामा जोड दिए ।


प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ । अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ ।”


प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योग पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकाय प्रष्ट हुनुपर्ने बताए ।


उनले भने,“विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगको पुनःसञ्चालन हुन सक्दैनन् । सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योग सञ्चालन गर्ने मोडेल हो । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योगको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहनेगरी साझेदारीको मोडेल तयार गरौँ ।”


छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउतलगायत थिए । 

अनलाइनबाटै बीउबिजन प्रमाणीकरण हुन थालेपछि किसानलाई सहज

 चितवन। अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले अनलाइन प्रणालीबाट प्रमाणीकरणको प्रक्रिया सुरु गर्न थालेपछि किसानलाई विभिन्न प्रक्रियामा सहज भएको हो ।

प्रयोगशालाका प्रमुख राजन ढकालले अनलाइन सूचना प्रणालीको विकास गरेपछि कृषक कार्यालय नै आउनुपर्ने बाध्यता हटेको बताए । उनले प्रयोगशालामार्फत बीउबिजनको गुणस्तर नियमन खाद्य बाली निरीक्षण, नमूना सङ्कलन, नमूनाको प्रयोगशाला परीक्षण र बीउ प्रमाणीकरणलगायतका काम हुने बताए । उनले यी विभिन्न प्रक्रियाका लागि किसानले घरबाटै अनलाइन फारम भरेर काम अगाडि बढाउन सक्ने बताए ।

उनका अनुसार अनलाइनमार्फत सम्पर्क नम्बर र ठेगानाबाट नै कार्यालयले बीउ उत्पादकलाई सम्पर्क गर्छ । प्रणालीमार्फत प्रतिवेदन पनि तयार हुन्छ । उनले भने, ‘किसान कार्यालयसम्म आउनु पर्दैन र हामीलाई फिल्डमा जान पनि थप सहज हुन्छ’, उनले कुनै पनि बाली उत्पादन वृद्धिका लागि गुणस्तरयुक्त बीउको ठूलो भूमिका रहने बताए ।

भरतपुर महानगरपालिका-१४ पटिहानीका हिसान एवं उन्नत बिज वृद्धि कृषक समूहका अध्यक्ष उमनाथ पौडेलले किसानका लागि सरकारी स्तरबाट दिइएको अहिलेसम्मकै राम्रो सेवा अनलाइन प्रणाली भएको बताए । पहिले हातले भरेर आफैँ उपस्थित भई बुझाउनुपर्ने फारम अहिले अनलाइनबाट हुँदा निकै सहज भएको उनले बताए ।

उनले भने, ‘बीउका प्रतिवेदन र रिपोर्ट यहीँबाट भरेर पठाउँछौँ, हेटौँडासम्म पुग्नु पर्दैन, यो समयको बचत र प्रविधिको उच्चतम प्रयोग हो ।’

उनले अनलाइनमा फारम भर्नका लागि पहिले प्रयोगशालाका कर्मचारीले सिकाएको र आजकाल आफूहरुले नै भरेर पठाउने गरेको तथा त्यसपछि प्रयोगशालाका कर्मचारी फिल्ड रिपोर्टका लागि मात्र आउने बताए ।

उनको कृषक समूहबाट विगत दुई दशकयता वार्षिक १२ देखि १३ सय मेट्रिक टनसम्म धान, मकै, गहुँ र तोरीलगायतका बीउ उत्पादन हुन्छ । उनी भन्छन्, ‘आजकालको अनलाइन प्रणालीले काम गर्न र बीउ बिक्री वितरणमा निकै सजिलो भएको छ ।’

भरतपुर-२१ मा रहेको साइपाल बिज वृद्धि कम्पनी प्रालिका पुण्यप्रसाद अधिकारीले आफूहरुले सुरुआती चरणदेखि नै यो सेवा लिँदै आएको बताए ।

उनले अनलाइन सफ्टवेयर प्रणाली निकै प्रभावकारी भएको जनाउँदै बीउमात्र नभएर कृषकले उत्पादन गरेका हरेक उपज यसैगरी अनलाइन प्रणालीबाट प्रमाणीकरणको आवश्यकता रहेको औँल्याए ।

वार्षिक दुई सय ५० मेट्रिक टन विभिन्न बीउ उत्पादन गर्ने उहाँको कम्पनीले देशका विभिन्न जिल्लामा बीउ पठाउँदै आएको छ । उनले भने, ‘प्रयोगशालामा परीक्षणका लागि हामिले मोबाइलबाटै पनि फारम भरेर पठाउन सकिन्छ, अनलाइनमा विकल्प राखेको हुँदा टाइप गरिरहनु पर्दैन, सामान्य मोबाइल चलाउने किसानले पनि यो कुरा गर्न सक्दछन् ।’

यो सेवा सुरु भएपछि चिठ्ठी बोकेर हेटौँडा कार्यालयसम्म धाउन नपरेको उनको भनाइ छ ।

उनले खुसी हुँदै भने, ‘पहिले खेती तथा बीउ नमूना परीक्षण गराउनका लागि प्रयोगशाला कार्यालयमा धाउने र सम्पर्क गर्दैमा समय जान्थ्यो, तर आजकाल उता कार्यालयबाटै बीउ निरीक्षण गर्न आउँदैछौँ भन्ने खबर आउँछ यो सुन्दा निकै खुसी लाग्छ ।’

विगत दुई वर्षयता सञ्चालनमा रहेको यस अनलाइन सेवा प्रणालीमा हालसम्म विभिन्न एक सय ७३ निजी, सहकारी र सरकारी बीउ उत्पादक जोडिएको प्रमुख ढकालले बताए । उनले भने, ‘नियमित सेवाग्राही ८२ वटा हुनुहुन्छ ।’ उन्नत जातका बीउको गुणस्तर कायम राख्न प्रत्येक वर्ष प्रमाणीकरणको आवश्यकता रहेको उनको भनाइ छ ।

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छः सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उहाँले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए । “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ ।”

सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताए । “अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।”

सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिए । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उल्लेख नभएको भन्दै उनले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको चार दशमलव ६४ प्रतिशतमात्र बजेट विनियोजन भएकामा यो रकम अपुग भएको सांसद केसीको भनाइ थियो ।

राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि आवश्यक न्यूनतम मुद्दाहरुमा सहमति कायम गर्नुपर्ने बताएका छन् ।

डीआर पौडेलको पाँचौ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास नहुने भन्दै राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास हुँदैन, न्यूनतम सहमति कायम गरौं मेरो सबैलाई अपील छ । कम्तीमा राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गरौं ।’
उनले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्नुपर्ने भन्दै त्यसको लागि पनि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ । यो कामलाई अब बाँकी राख्नु हुँदैन । राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्छ ।’

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए ।

अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका/वडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उनले बताए ।

पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन् ।

विभागले विगत चार वर्षदेखि ७३ जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ । हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत विवरण सङ्कलनसमेत भइरहेको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता नगरेका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न विभागले अनुरोध गरेको छ ।

विभागले बुधबार सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जानकारी गराएको छ ।