`

नेप्से ९ अंकले घट्दा करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ ।  यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार  पाँच अर्ब ८९ करोड नाघेको थियो ।  नेप्से परिसूचक बिहीबार नौ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब  ६ अर्ब ५० करोड नजिक पुगेको हो ।

नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार एक सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक समूह एक दशमलव तीन र वित्त समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन् ।

त्यस्तै, बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव ५९ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेको छ । जीवन बीमा  समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फण्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहको उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

सामाजिक न्यायको कुरा गरिरहँदा जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।

स्वीटजरल्याण्डको जेनेभामा शुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको बिहीबार उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्नुपर्ने बताए ।

उनले भने, ‘विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन।’

कार्बन उत्सर्जनमा नगण्य योगदान दिएपनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको उल्लेख गरे ।

उनले भने, ‘तथापि पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन् । जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ ।’

राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपील गरे । श्रम जगतले नै विश्वलाई समृद्घ बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ‘श्रमको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए ।

उनले भने, ‘श्रमिकलाई समानता र न्याय कायम गराउनु हाम्रो सामूहिक सङ्कल्प पनि हो, स्वतन्त्रता र सामाजिक न्यायका लागि आफ्नो सारा जवानी अर्पण गरेको र १५ वर्ष जेल जीवन बिताएको एक अधिकारकर्मीका नाताले म भन्दछु – विश्वका सबै देश र समाजमा निमुखा जनताले न्याय पाउनुपर्छ, भोक र भयबाट मुक्ति पाउनुपर्छ ।’

राष्ट्रपति पौडेलले सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने सबैको सामूहिक प्रयास आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

राष्ट्रपति पौडेलले विश्वले विद्युतीय, दूरसेवा अर्थतन्त्रजस्ता नवीन चुनौतीहरूलाई आत्सात गरेको र यी सबै क्षेत्रमा हामी मर्यादित श्रमको कार्यसूची कार्यान्वयन गर्न प्रतिबद्घ रहेको उल्लेख गरे ।

वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपील गर्दै राष्ट्रपति पौडेलले भने,‘विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ। यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस्।’

उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा सहभागी भई सामाजिक न्यायप्रति पुनः प्रतिबद्धता जनाउन, बहुपक्षीयताप्रति पुनर्विश्वास दोहोर्याउन तथा सामाजिक सम्झौतालाई नवीकरण गर्न पाउँदा आफूहरू अत्यन्त उत्साहित भएको उल्लेख गर्दै भने, ‘आज घोषणा भएको यो विश्वव्यापी गठबन्धन, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदर्शका रूपमा रहेको सामाजिक न्याय सबैका लागि र सबै क्षेत्रमा अङ्गीकार गर्ने दिशामा हाम्रो भद्र समर्थन र साझा प्रतिबद्धता हो । श्रमिकलाई समानता र न्याय कायम गराउनु सामूहिक सङ्कल्प पनि हो। म श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपील गर्न चाहन्छु।’

दिगो शान्ति र दिगो आर्थिक विकासका लागि सामाजिक न्यायको केन्द्रीय भूमिका निरङ्कुश राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको आफ्नै कठिन राजनीतिक यात्राबाट आफूहरूले गहिरोसँग बुझेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले श्रमको सम्मानसँग जोडिएको यस अहम् मूल्यप्रति हामी अडिग छौँ र हामी यस सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा सहभागी हुनुले यो स्पष्ट भएको बताए ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संविधानको मूल मर्मका रूपमा रहेको सामाजिक न्यायले निर्दिष्ट गरेका समान अधिकार, समान अवसर र समान व्यवहारसम्बन्धी व्यवस्था नेपालको संविधानमा पूर्ण आत्मसाथ गरेको राष्ट्रपति पौडेलले बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्दैशक गिलवर्ट टुंग्बोले सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय स्थापनाका लागि जीवनभर गरेको योगदानको उच्च प्रशंसा गरे । उनले पौडेल सहभागितामूलक लोकतन्त्र, सामाजिक मूल्यको पक्षमा सँधै दृढतापूर्वक उभिएको भन्दै प्रशंसा गरेका थिए ।

टुंग्बोले नेपालको संविधानले सन्तुलित समाज निर्माणका लागि सामाजिक न्यायका सिद्धान्तलाई पूर्ण रूपले आत्मसाथ गरेको भन्दै सामाजिक संरक्षण र सामाजिक न्यायका लागि नेपाल एउटा पथ प्रदर्शक सदस्यका रूपमा रहेको पनि बताएका थिए ।

सरकारले सहमति कार्यान्वयन गर्न वेवास्ता गरेपछि लघुवित्त पीडितले फेरि आन्दोलन गर्ने

काठमाडौं / सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलन गर्ने जनाएको छ ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरि सहमति गरेपनि सहमति कार्यान्वयन गर्न वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति बिपरित लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगाएतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए । उनले असार १५ गतेसम्म आफुहरुको माग पुरा नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरद्ध देशव्यापी मसाल जुलुससंगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।

संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै आएका छन् ।

दुध बिक्री गरेर आत्मनिर्भर बन्दै म्याग्दीका किसान

म्याग्दी । बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो ।

घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनले बताए । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।

‘‘ गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’’ किसान थापाले भने । बेनी – ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ ।

ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् ।

सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिए। किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताए ।

सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन् ।

उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन् । चार सयजना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब  नौ लाखको दूध बिक्री गर्दै आएको छ ।

हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ ।

गत आर्थिक वर्षमा सहकारीले  ९० लाख बराबरको दूध बिक्री गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा आवश्यकपर्ने दूधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दूधको मात्रै वार्षिक रु एक करोड ५० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित सहकारीले दूध सङ्कलनको क्षमता विस्तार र किसानलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताए ।

यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दूधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासँगको सहकार्यमा ९ प्रतिशत ब्याजदरको सस्तो ऋणसमेत प्रवाह गर्दै आएको जनाएको छ ।

सिङगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटरसमेत निर्माण गरेको छ । छजना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसँगै दूध सङ्कलन र वितरण तथा कृषि पेसा अगालेका शेयर सदस्यलाई तरकारी तथा फलफूलका बिरुवा वितरणको कामसमेत गर्दै आएको छ ।

सिंगासँगै सोही वडाको बास्कुना गाउँमासमेत बास्कुना कृषि सहकारीमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । यहाँका ५० जना किसान आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक दुई सय ५० लिटर दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।

उनका अनुसार, दूध बिक्री गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक रु ६ लाख नगद भित्रने गरेको छ । वडा नं ४ का सिङगा, राक्से, तातोपानी, सोता, बास्कुनालगायतका टोलमा करिब एक सय घरधुरीले भैँसीपालन गरेर दूध बिक्री गर्दै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

नेपालबाट दश महिनामा तीन अर्ब भन्दाबढीको हस्तकलामा सामान विदेश निर्यात

काठमाडौँ । नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासङ्घले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो।

विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए। उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट रु एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ को फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएका छन्।

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए।

उनका अनुसार चालु आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला रु ९० करोड १८ लाख १९ हजार चार सय ७२, उलनबाट बनेका रु १९ करोड ५२ लाख ६९ हजार आठ सय ९०, नेपाली कागजजन्य रु १८ करोड ५२ लाख ९६ हजार आठ सय ६६, मोतीबाट बनेका रु १६ करोड चार लाख १६ हजार छ सय ३६ बराबरका सामग्री निर्यात भएका छन्।

काठका रु आठ करोड ७७ लाख ५५ हजार आठ सय छ, कपासका रु पाँच करोड ६२ लाख ६९ हजार चार सय ७६, सिसाजन्य हस्तकलाका सामग्री रु चार करोड ३४ लाख ३८ हजार दुई सय ५१, नेपाली धूपजन्य रु तीन करोड ३९ लाख ३१ हजार सात सय ९७ निर्यात भएको छ।

अल्लो, बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुङ्गाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए। उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकीमुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ।

परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको महासङ्घले जनाएको छ। परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन्।

मन्त्रिमण्डल हेरफेरका बारेमा मलाई केहि जानकारी छैन : अध्यक्ष नेपाल (भिडियो सहित)

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै नेपालले मन्त्रिमण्डल हेरफेरका बिषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसंग हुने भेटमा यस बिषयमा सोध्ने पनि बताए ।
अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका बिषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।

इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको छ ।
न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराए ।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेशी र अन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजको रिपोर्ट अनुसार प्रहरी र पिटिआई नेताबिच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो ।

सन् २०२२ मे २५ मा स्वतन्त्रता (हकीकी आजादी) का लागि इमरान खानको पदयात्रा मार्च अघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले जनाएको छ ।
आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रु ग्याँसको सामना गर्नु परेको र उनीहरूमाथि लाठीचार्ज भएको डनले जनाएको थियो ।

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो

कुवेतमा आगलागीमा परी मृत्यु हुनेमा ४० भारतीय नागरिक, ५० भन्दाबढी घाइते

कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

घाइते भएका व्यक्तिहरूलाई कुवेतका पाँचवटा सरकारी अस्पताल अदान, जाबेर, फरवानिया, मुबारक अल कबीर र जाहरा अस्पतालमा उपचारका लागि राखिएको छ। अस्पतालका अधिकारीहरूले अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ ।

‘दूतावासले सम्बन्धित कुवेती अधिकारी र कम्पनीबाट घटनाको पूर्ण विवरणहरू प्राप्त गरिरहेको छौँ । हामी शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं ‘, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा, राज्यमन्त्री कीर्तिवर्धन सिंह हाल कुवेतको यात्रामा हुनुहुन्छ । उहाँले तुरुन्तै शव फिर्ता र घाइतेहरूलाई चिकित्सा सहायताको लागि काम गरिरहनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, कुवेतमा रहेको भारतीय दूतावासले घटनामा प्रभावितहरूलाई राहत प्रदान गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको छ ।

दूतावासले पीडित परिवारका सदस्यहरूलाई सम्पर्क गर्न हेल्पलाइन (व्हाट्सएप र नियमित कल) स्थापना गरेको छ । हेल्पलाइनमार्फत नियमित अपडेट प्रदान गरिँदैछ ।

यसअघि कुवेतमा आगलागीको खबर आएपछि प्रधानमन्त्री मोदीले समीक्षा बैठकको अध्यक्षता गर्दै मृतक भारतीय नागरिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोदीले यस दुर्भाग्यपूर्ण घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भारत सरकारबाट सबै सम्भव सहयोगको आश्वासन दिएका छन् ।

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

डुम्रे (तनहुँ) । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।


व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा आजदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए ।


पोख्रेलले भने, “वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।”


टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो । 


तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । “कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो”, उनले भने । 


“केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ”, अध्यक्ष शर्माले भने । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । 


कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । 

विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीनवटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेस भएका छन् । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभामा छलफलका क्रममा यी तीन मन्त्रालयको खर्च कटौतीका आठवटा प्रस्ताव परेका हुन् ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेका छन् । उद्योग मन्त्रालयका पदाधिकारी र कर्मचारीका लागि विभिन्न भत्ता शीर्षक कायम गरेर आर्थिक अनुशासन उल्लङ्घन गरिएको उनको भनाइ छ । चालु खर्च बढाउनेगरी विभिन्न भत्ता शीर्षक कायम गरिएकाले खर्च कटौतीको प्रस्ताव पेस गरेको उनले बताए ।

उद्योग मन्त्रालयअन्तर्गतका विभिन्न क्रमागत आयोजनासमेतलाई बजेट नराखेर नतिजा दिन नसक्ने प्रकृतिका योजना र कार्यक्रम परेको सांसद बडूले बताउनुभयो । रुग्ण र बन्द अवस्थामा रहेका उद्योग व्यवस्थापनको विषय बजेटको प्राथमिकतामा नपरेको र पर्याप्त बजेटसमेत विनियोजन नभएको उनले बताए ।

सांसद डा अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

राजनीतिक अस्थिरताका कारण सरकार र शासन व्यवस्थाप्रति नागरिकको गुनासो बढ्दै गएको सिंहले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले आन्तरिक वस्तु उत्पादनलाई प्रवर्द्धन र बजारीकरणमा सघाउन नसकेको उनले आरोप लगाए । विभिन्न वस्तु तथा सेवा मुलुकभित्र उत्पादन हुन सकेमात्र आर्थिक समृद्धि हासिल गर्न सम्भव हुने उनको भनाइ छ । 

संशोधनबिना सत्तापक्षले बजेट पारित गर्ने भएकाले संसद्मा विनियोजन विधेयकमाथि छलफल गर्नुको तात्विक अर्थ नरहेको सांसद सिंहले बताए । नागरिकको स्वास्थ्यसम्बन्धी हक प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै बजेटकोसमेत प्राथमिकतामा नरहेको उनको भनाइ छ ।

सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेका छन् ।

विदेशी पुँजीमा आश्रित हुने नभइ आन्तरिक पुँजी सिर्जना र लगानीबाट अर्थतन्त्र सबल बनाइनुपर्ने सांसद सुवालले बताए । काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्न ढिलाइ भएको विषयमा उनले संसद्को ध्यानाकर्षण गराए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा कर्मचारीले व्यापारीसँग घुस माग्ने गरेको गुनासो आएकाले यसबारे सरकार र सरोकार भएका निकाय गम्भीर हुनुपर्नेमा सांसद सुवालले जोड दिए । विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने र सबै पालिकामा सहुलियत पसल खोलिनुपर्ने माग उनले राखे । 

सीमा नाकाको विवाद व्यवस्थापन गरिनुपर्ने, भूमिसम्बन्धी समस्या समाधान गरिनुपर्ने, भूमिहीन सुकुम्बासीलाई तत्काल भूमि उपलब्ध गराउनुपर्ने सांसद सुवालको माग छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि बजेटले स्पष्ट योजना ल्याउन नसकेको पनि उनले बताए ।

सांसद बिना लामाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेकी छन् ।

उद्योग र निर्माण क्षेत्रको वृद्धिदर नकारात्मक रहेको अहिलेको अवस्थामा यी क्षेत्रलाई चलायमान हुनेगरी बजेट आउन नसकेको सांसद लामाले बताइन् । आन्तरिक लगानी खुम्चिएको र प्रतिबद्धताअनुसार बाह्य लगानी प्राप्ति नभइरहेको अवस्थालाई गम्भीर रूपमा लिइनुपर्ने उनको भनाइ छ । 

औद्योगिक पूर्वाधार निर्माण गर्न विभिन्न स्थान तय भइसकेको अवस्थामा तिनलाई अघि बढाउन छाडेर सरकारले नयाँ योजना अघि सारेको सांसद लामाले उल्लेख गरिन् । मुलुकभित्र विभिन्न स्थानमा रहेका खनिजजन्य खानी उत्खननलाई बजेटले प्राथमिकतामा राख्न नसकेको उनले दाबी गरिन् । गुठी व्यवस्थापनसम्बन्धी समस्या अझै समाधान हुन नसकेको उहनको भनाइ छ । 

सांसद रुपा विकले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा राखिन् । 

उक्त मन्त्रालयको बजेट शीर्षकमा मन्त्रालयका पदाधिकारी र कर्मचारीका लागि अनावश्यक भत्ता उपलब्ध गराउनेगरी रकम विनियोजन भएकाले खर्च कटौतीको प्रस्ताव पेस गरेको सांसद विकको भनाइ छ । सहकारी क्षेत्रका देखिएका समस्या समाधानका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमिका कमजोर देखिएको उनले बताइन् ।

सहकारी संस्थाको प्रभावकारी अनुगमन आवश्यक रहेको अहिलेको अवस्थामा त्यसका लागि पर्याप्त बजेट विनियोजन नभएको सांसद विकले दाबी गरिन् । भूमिहीन र सुकुम्बासीका अधिकार प्रत्याभूति गर्न बजेट केन्द्रित हुन नसकेको उनको भनाइ छ । 

योजनाबिना नै जग्गाको वर्गीकरण भइरहेको र कृषियोग्य जमिन तीव्र रूपमा प्लटिङ भइरहेकोप्रति उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराइन् । स्वास्थ्य क्षेत्रमा पूर्वाधार, जनशक्ति र औषधिको अभाव रहेको भनेर जनगुनासो आइरहे पनि सरकारले बजेटको प्राथमिकतामा राख्न नसकेकाले आफूले खर्च कटौतीको प्रस्ताव पेस गर्नुपरेको विकले बताइन् ।

सांसद ज्ञानबहादुर शाहीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्  । भूमिको वैज्ञानिक र प्रभावकारी व्यवस्थापन हुन नसक्दा खालिरहेका ठाउँमा मानवबस्ती बनेको, कृषि उत्पादन फल्ने ठाउँमा अव्यवस्थित सहरीकरण भइरहेकालगायत समस्या बढ्दै गएको उनले बताए । 

नेपालमा कृषियोग्य उत्पादनबाट प्रशस्त आर्थिक लाभ लिनसक्ने सम्भावना रहे पनि त्यसलाई सरकारले प्राथमिकतामा राख्न नसक्दा नेपालकको श्रमशक्ति विदेशिनुपरेको र विदेशबाट वस्तु आयात गरेर खपत गर्नुपर्ने अवस्था आएको सांसद शाहीले बताए । नेपालको व्यापार घाटा बर्सेनि बढिरहेको उल्लेख गर्दै उनले मुलुकभित्रका उत्पादनका क्षेत्र पहिचान गरी लगानी केन्द्रित गर्न सक्नुपर्ने बताए ।

प्रतिनिधिसभा सदस्य शान्ति विकले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेकी छन् । नेपालमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर बढाउन अतिआवश्यक रहे पनि आगामी आर्थिक वर्षको बजेटले त्यसलाई प्राथमिकतामा राख्न नसकेको उनले बताइन् ।

सरकारले कार्यान्वयन गरेको स्वास्थ्य बीमा कार्यक्रम केही हदसम्म प्रभावकारी देखिए पनि पर्याप्त नभएको सांसद विकले बताउनुभयो । स्वास्थ्य बीमाको दुरुपयोग भइरहेको उनको भनाइ छ । विभिन्न देशमा स्वास्थ्य सेवा पनि करद्वारा वित्त पोषित हुने र निःशुल्क रहेको भन्दै उनले नेपालमा पनि स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन् । 

भूमिहीन तथा सुकुम्बासीका समस्या हल गर्न र सहकारी क्षेत्रको समस्या समाधान गर्न पनि सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा सांसद विकले जोड दिइन् ।  

सांसद रोशन कार्कीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । आजको बैठकमा उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई बजेटमा राखिएका विषयहरूलाई अध्ययन गर्न र त्यसको गम्भीर समीक्षा गर्नसमेत आग्रह गरिन् । 

महिला, ग्रामीण र पिछडिएका क्षेत्र लक्षित स्वास्थ्य कार्यक्रम आउन नसकेको सांसद कार्कीको भनाइ छ । राज्यबाट प्राप्त हुने स्वास्थ्य सुविधा आर्थिक रूपमा विपन्न र पिछडिएको क्षेत्रलाई लक्षित गरी कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिइन् ।

महिलाको पाठेघर र स्तनको क्यान्सरको समस्या विकराल हुँदै गएको विद्यमान अवस्थामा त्यसको समाधानका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको सांसद कार्कीले बताइन् । 

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १४६ मा खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था रहेको छ । नियमावलीमा ‘कुनै शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’, ‘कुनै शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’, वा ‘कुनै शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भन्ने प्रस्ताव मात्रै पेस गर्नसक्ने प्रावधान छ ।

‘शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई शीर्षकमा निहित नीतिमाथि असहमति प्रकट गर्न प्रस्तुत गरिएको मानिन्छ भने ‘शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई मितव्ययिता अवलम्बन गर्न प्रस्तुत गरिएको मानिन्छ । 

‘शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्तावलाई नेपाल सरकारको जवाफदेहिताभित्रको विषयमा प्रस्तावक सदस्यलाई चित्त नबुझेको विषय प्रकट गर्न प्रस्तुत गरिएको साङ्केतिक कटौतीका प्रस्ताव मानिन्छ । 

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हो ।

ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले २५ चैत, २०८० मा उनी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डमा २ रोपनी ९ आना अनि २ आनाको अर्को गरी दुई टुक्रा जमिन किनेका थिए ।

त्यस्तै जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएकोसमेत खुलेको थियो । घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले विगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।

ताप्लेजुङको सिवासा खोलामा बाढीले बगायो पुल(भिडियोसहित)

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो ।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो । सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो । 

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन  सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो । वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । 

दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको मृत्यु

दाङ / चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।

खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकाश पुनलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे ।

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको जारी पुँजी तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो । साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । प्रतिकित्ता एक सय अङ्कित दरले उक्त शेयरको मूल्य ६६ करोड रुपैयाँ छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । आयोजनाको आठ दशमलव ३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उनले बताए । पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताए । आयोजनामा सानीमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष रु एक अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा रु एक अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।

तराईमा आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग सांसद यादवको माग

काठमाडौं / नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराईका बिभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै सांसद यादवले मधेशका तीन जिल्ला महोतरी सप्तरी, सर्लाहीमा आगलागीका कारण २ सय ७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरेका हुन् । उनले आगलागीका कारण दुई करोड भन्दा बढिको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने धारणा राखे ।

त्यस्तै सांसद यादवले यस बर्ष मनसुनका कारण अन्य बर्षमा भन्दा धेरै क्षति हुनसक्ने आंकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गरे । उनले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको अवस्थामा तयारी पनि त्यसै अनुरुप हुनुपर्ने जिकिर गरे ।

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

टक्सार (भोजपुर) । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी  आजदेखि बन्द भएको छ  । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । 

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको हो । षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो । 

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षात्को समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए ।

सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट  ७५ लाख र गरपालिकाको रु५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।

विश्वमा विस्थापितको सङ्ख्या १२ करोडः राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, “द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।”

युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।

युएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।

ग्रान्डीले एएफपीसँग कुरा गर्दै आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आँकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भएको उल्लेख गरेका छन् ।

अष्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो

अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ ।

एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ ।

अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसहरूले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले विज्ञप्तिमा जनाएका छन् ।

“अहिले लगभग छ लाख बेरोजगार व्यक्तिहरू भएता पनि महामारी अघि मार्च २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्तिहरू छन् ।”

रोजगारीमा वृद्धिका बावजुद, अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ ।

जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताए ।

बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उनले बताए ,

सहभागिता दरले काम गर्ने उमेरको जनसङख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रिय रूपमा काम खोज्ने सङख्या ६६.८ प्रतिशतमा स्थिर रहेको छ ।

टी–१० क्रिकेटमा निङ्लाशैनी ग्वाल्लेक विजयी

बैतडी ।  बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता सुरू भएको छ । बिहीबार भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो । 

निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतिक बोहराले अर्धसतकीय पारी खेले । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले अविजित ५१ रन बनाए ।

यस्तै सुशील बोहराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए । बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए ।

यसअघि निङ्लाशैनी खेल मैदान, देहिमाडौँमा पहिला ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ  विकेट गुमाएर एक सय ४० रन बनाएका थियो । उसका लागि ऋषिकेश बोहराले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाए । बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई दुई विकेट लिए । 

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।  

अझै किन घट्न सकेन उच्च मातृ मृत्युदर ?

– डा भोला रिजाल

 विश्वमा अति उच्च मातृमृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो । गर्भावस्थामा, प्रसूति अवस्थामा वा गर्भावस्था अन्त भएको ४२ दिनभित्रमा कुनै पनि कारणले हुने महिलाको मृत्युलाई मातृ मृत्यु भनिन्छ । मातृ मृत्युदर उच्च रहनुको अर्थ देशको स्वास्थ्य अवस्था अझै जटिल अवस्थामा रहेको छ । स्वीट्जरल्याण्ड ०.००१ प्रतिशत रहेको छ भने नेपाल अझै तीन अङ्कको अवस्थामा छ । २०७८ को जनगणनामा मातृ मृत्युदर एक सय ३० अङ्क (प्रतिलाख जीवित जन्ममा)ले घटेर औसत सुधार देखिए पनि ग्रामीण भेगमा अवस्था दर्दनाक छ । २०६८ सालको जनगणनाअनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर दुई सय ८१ जना थियो । पछिल्लो जनगणनामा यो दर सुधार भएर एक सय ५१ जनामा झरेको छ । 


अझै ग्रामीण तथा विपन्न समुदायका महिलाहरूको गर्भवती÷सुत्केरी अवस्थामा ज्यान जाने क्रम रोकिएको छैन । एक त गर्भजाँच तथा उपचारका लागि स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न सकिरहेको छैन भने अर्कोतर्फ स्वास्थ्य संस्थाहरूमा भरपर्दो स्वास्थ्य सेवा पाउन सक्ने अवस्था समेत बनिसकेको छैन । जसका कारण ग्रामीण भेगका महिलाको जीवन अझै पनि जोखिमपूर्ण छ । कतिपय घरपरिवारमा स्वास्थ्य सचेतना पुग्न सकिरहेको छैन, कतिपय अवस्थामा भइरहेका हेलचक्र्याइँले पनि गर्भवती/सुत्केरी अवस्थामा स्वास्थ्य सेवा नपाउँदा महिलाहरूको अकालमा ज्यान जाने गरेको छ । मातृ मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मातृ मृत्यु निम्तिनुमा स्वास्थ्य संस्थामा पुग्न नै ढिलाइ पनि एउटा कारण देखाएको छ ।

औसतमा मातृ मृत्युदर घटेको देखिए पनि तराईका मुसहर, चमार, डोमलगायत दलित, जनजाति र सीमान्तकृत समुदायका गर्भवती, सुत्केरीलाई मात्रै हेर्ने हो भने ती समुदायमा मातृ मृत्यु अझै विकराल छ । मातृ मृत्युदर सहरी क्षेत्रमा घटे पनि ग्रामीण भेगमा उस्तै रहेको छ । साक्षरता दर सुधार हुँदै गए पनि स्वास्थ्य सचेतना समुदाय तहसम्म पुग्न नसक्दा बालविवाह र किशोरावस्थामै आमा बन्ने, बच्चा जन्माउने क्रममा जटिलता आउने, समयमा उपचार नपाउने कारणले मातृ मृत्युदरको जोखिम यथावत छ ।


पछिल्लोपटक भएको अध्ययनअनुसार नेपालमा हुने मातृ मृत्युमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा भएको देखिएको छ । नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन, २०७८ अनुसार देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च रहेको देखिएको हो । अध्ययन प्रतिवेदनअनुसार लुम्बिनीमा प्रति एक लाख जीवित जन्म हुँदा मातृ मृत्यु दुई सय सात रहेको छ । त्यसपछि कर्णाली प्रदेशमा एक सय ७२, गण्डकी प्रदेशमा एक सय ६१, कोशी प्रदेशमा एक सय ५७, मधेस प्रदेशमा एक सय ४०, सुदूरपश्चिम प्रदेशमा एक सय ३० र सबैभन्दा कम बागमती प्रदेशमा ९८ आमाहरूको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा ३६, रुपन्देहीमा ३०, कपिलवस्तुमा २८, दाङमा १५, बर्दियामा १४, नवलपरासी पश्चिम र गुल्मीमा सात–सात, रोल्पा र प्युठानमा छ–छ र अर्घाखाँची र पाल्पामा चार–चारजना आमाको मृत्यु भएको यो अध्ययनले देखाएको छ । गर्भावस्थादेखि नै स्वास्थ्य ख्याल नगर्दा मातृ मृत्यु निम्त्याइरहेको छ । प्रत्येक पालिकामा १५ शय्याको अस्पताल भनेको छ, त्यहाँ दक्ष तालिम प्राप्त जनशक्ति छैनन्, जटिल डेलिभरी ह्यान्डल गर्ने र शल्यक्रिया सेवा त पुग्नै सकेको छैन । प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा २४सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुनुपर्छ ।


स्वास्थ्य मन्त्रालयले सन् १९९८ मा ‘सुरक्षित मातृत्व’ रणनीति तयार गरेदेखि नै आमा सुरक्षाको सवालमा ठोस कार्यहरू हुँदै आएको छ । गर्भावस्था, प्रश्रव र सुत्केरी अवस्थामा मृत्यु निम्त्याउन सक्ने जोखिम टार्न राष्ट्रियस्तरमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी देखिएको छ । मातृ मृत्युदरको अवस्था अन्य देशहरूमा पनि उत्तिकै जटिल रहेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)ले गत माघमा प्रकाशन गरेको ‘मातृ मृत्युदरको प्रवृत्ति’ अध्ययनअनुसार विश्वमा प्रत्येक दुई मिनेटमा एक आमाको मृत्यु भइरहेको छ । अर्थात् हरेक दिन झण्डै आठ सयजना आमाले अकालमा ज्यान गुमाइरहेका छन् । सन् २००० देखि २०२० सम्म मातृ मृत्युदरसम्बन्धी विश्वव्यापी उक्त अध्ययनअनुसार सन् २०२० मा मात्रै विश्वभर करिब दुई लाख ८७ हजार मातृ मृत्यु भएको उल्लेख छ ।

गर्भपतनले ल्याएर सुधार

मातृ मृत्यु अति उच्च हुनका कारणहरूमध्ये असुरक्षित गर्भपतन एउटा प्रमुख कारणको रूपमा रहेको छ । विभिन्न अध्ययन, अनुसन्धानहरूले पनि गर्भपतन र मातृ मृत्युदरबीच घनिष्ठ सम्बन्ध रहेको देखाएका छन्  । अस्पतालमा आधारित एक अध्ययनबाट अस्पतालमा हुने कुल मृत्युमध्ये आधाभन्दा बढी मातृ मृत्यु गर्भपतनका कारणले हुने गरेको छ । त्यसैले देशमा विद्यमान मातृ मृत्युदरको उच्च अवस्थालाई न्यून गर्न एउटा उपाय भनेको सुरक्षित र कानुनी गर्भपतनको सुविधा दिनुपर्छ भनेर मैले १९८२ मै अभियान सुरु गरेको थिएँ । त्यतिबेला मेरो कुरालाई धेरैले राम्रो मानेका थिएनन् । मैले देशका विभिन्न ग्रामीण बस्तीहरूमा असुरक्षित ढङ्गबाट गर्भपतन गराइएका र त्यसले मातृ मृत्युदरलाई बढाएको हुँदा गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेको थिएँ । सुरक्षित गर्भपतले मातृ मृत्युदरलाई कम गर्न सकिन्छ भन्ने मेरो ठम्याइ थियो । यसलाई ५० प्रतिशतमात्रै घटाउन सकियो भने पनि ठूलो उपलब्धि हुन सक्दछ भनेर मैले लगातार सुरक्षित गर्भपतनको कानुनी मान्यताको वकालत गर्दै रहेँ ।


जे होस् १३ वर्षपछि सन् २००२ मा मुलुकी ऐनको एघारौँ संशोधन गरी सरकारले कानुन ल्यायो । गर्भावस्था समाप्त गर्नका लागि सुरक्षित विकल्पहरू भएका महिलाहरू, जसले असुरक्षित गर्भपतनसँग सम्बन्धित अनुचित मृत्युको सङ्ख्या घटाएको छ तर अहिले २८ हप्ताको पनि गर्भपतन गर्न सकिने गरी कानुन संशोधन गरिएको छ, त्यो आमाको स्वास्थ्यको लागि मात्र नभएर शिशुको जन्मन पाउने अधिकारको पनि ठाडो उल्लङ्घन हो । किनकि २६ हप्ताकै गर्भलाई सकुशल जन्माउन सकिन्छ ।

मातृ मृत्युदर घटाउने उपाय

सरकारको मातृ सुरक्षा योजना प्रशंसनीय छ । त्यतिले मात्र पुग्दैन । मातृ मृत्युदर घटाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । पढेका मानिस बाहिर जाने क्रमले जनशक्ति अभाव भएको छ । कुनै पनि सरकारी अस्पतालमा शल्यक्रियाका लागि छ महिनाभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । त्यसैले मातृ मृत्युका बृहत् निर्धारकलाई उचित सम्बोधन गर्नेगरी रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई एम्बुलेन्स कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनुपर्ने, दक्ष जनशक्तिको उचित र शीघ्र व्यवस्थापन गरिनुपर्ने, सेवाको गुणस्तरमा थप पहल गरिनुपर्ने, विकासका सबै पहलमा स्वास्थ्यलाई केन्द्रविन्दुमा राखिनुपर्ने देखिन्छ ।


सरकारले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म मातृ मृत्युदर ७० जना प्रतिलाखमा झार्ने लक्ष्य राखेको छ । स्वास्थ्य क्षेत्रमा पाँच प्रतिशतभन्दा कम बजेट विनियोजन गरिएबाट यो लक्ष्य हासिल गर्न सम्भव छैन । समाज स्वस्थ्य नभएसम्म स्वास्थ्य बच्चा जन्माएर उचित शिक्षाको बन्दोबस्त गर्न सकिँदैन । देशका विकट ठाउँहरूमा सुलभ र गुणस्तरीय स्वास्थ्य संस्था स्थापनासँगै गर्भावस्थाको पहिचानदेखि आमार बच्चाको अवस्था थाहा पाउने जनशक्ति र उपकरणको व्यवस्था हुनु पर्दछ । त्यस्ता स्वास्थ्य संस्थामा भिडियो एक्सरे, ल्याबको व्यवस्था भएमा शिशु र आमाको स्वास्थ अवस्था जानकारी हुन्छ र समयमै सुरक्षित ढङ्गबाट बच्चा जन्माउन सकिन्छ ।


सुत्केरी अवधिमा हुने मृत्युलाई मात्रै मातृ मृत्युका रूपमा हेरिएको हुँदा सुत्केरी अगावै वा भइसकेपछिको स्वास्थ्य स्थितिमा ध्यान नदिने परिपाटीको अन्त्य हुनु जरुरी छ । गर्भवतीमा जटिलता देखिए स्वास्थ्य संस्था गइहाल्ने, समयमै स्वास्थ्य संस्थामा गएर प्रसूति हुने, खानपान र आराममा ध्यान दिने हो भने मातृ मृत्यु घटाउन सहज हुने देखिन्छ । मातृ मृत्यु घटाउन स्थानीय तह र स्वास्थ्य संस्थाको भूमिका महत्तवपूर्ण रहन्छ । उचित समयमा रेफर नहुँदा गर्भवती आमाको मृत्यु हुने, शिशुको मृत्यु हुने, अस्वस्थ शिशुको जन्म हुने समस्या देखिएको छ । प्रसूति समयमा घरबाट स्वास्थ्य संस्था लैजाँदा एम्बुलेन्स खोज्दा, एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा लग्ने क्रममा ढिलाइ हुँदा आमा र शिशुको मृत्यु हुने घटना देखिएकाले स्थानीयस्तरमै गर्भवतीलाई परीक्षण र प्रसूति हुन स्वास्थ्य संस्था लैजान चेतना प्रवाह गर्ने, शून्य होम डेलीभरी कार्यक्रम सञ्चालन गर्न सक्दछन् ।


(वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रिजालसँग राससले गरेको कुराकानीमा आधारित)

मनाङको थोराङ्ला भञ्ज्याङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङ ।  मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । 

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

सङ्खुवासभाको आङ्लास्थित कोक्तिमा पहिरोले तीन घर बगायो,  एक घाइते

किमाथाङ्का, (सङ्खुवासभा) ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनकाअनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब  एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

वीरगञ्ज (पर्सा) । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।

महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उनले जानकारी दिए ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गतेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो । महानगरमा ९२ वटा सामुदासियक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् । यहाँ सामुदायिकतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले गत मङ्गलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो ।

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम

चितवन, । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।

कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए । हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ ।

सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।

जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए । विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्र्याउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए ।

विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३, विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उनले भने ।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

“गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उनले भने, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

“चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ”, उनले भने, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।”

सांसद केसी र मण्डलको ‘स्त्रीद्वेषी’ अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन शिक्षामन्त्री श्रेष्ठको माग

सुमना श्रेष्ठ ।
बुधबार सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ – ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।’ आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनु भएको छ ।
यसैगरी अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गर्नु भएको छ । समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ ।

उहाँहरुको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरुको कुतर्कप्रति मेरो घोर आपत्ति छ । समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उतीर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो– सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको ।

हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम हुन्– सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणी । यसबाट थप पुष्टि हुन्छ, कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्छ । सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने– रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो ‘सभ्य’ सदनको ढोंगलाई निरन्तरता दिने ?

म्याग्दीका विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।

बेनी नगरपालिकाको ‘हामी सक्छाँै, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो । कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए ।

“दुई जना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौँ”, उनले भने, “यसअघि विद्यार्थीहरुलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौँ ।”

रङ लगाउने सीप दैनिक जीवनयापनका अलावा पढाइ पूरा गरेपछि व्यवसाय सञ्चालन र रोजगारीका क्रममा उपभोगी हुने विद्यार्थीले बताएका छन् ।

डिलबहादुर किसान र मुकेश शाहले तालिम दिएका थिए । तालिमका क्रममा विद्यार्थीले विद्यालयको भवनमा रङ लगाएर चिटिक्क पारेका छन् । रङ खरिद र प्रशिक्षकलाई भत्ता खर्च विद्यालयले उपलब्ध गराएको थियो

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन हामी सक्छौं, हामी गर्छौं कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । हालसम्म दुई हजार जनाभन्दा बढी विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका छन् ।

‘हाउस वायरिङ, प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट (बागलुङ) । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले बागलुङको बुर्तिवाङ र गोरखाको आँपपिपलमा ५० शय्याको प्रदेश अस्पताल बनाउन गत फागुन ६ गते मन्त्रिपरिषदले निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य केन्द्र ५० शय्याको अस्पताल भएमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका स्थानीय लाभान्वित हुनेछन् ।

विसं २०५२ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रबाट नियमित रूपमा बहिरङ्ग सेवा, गर्भ जाँच, सुत्केरी सेवा, आधारभूत प्रयोगशाला परीक्षण, खोप सेवा, परिवार नियोजन, क्षयरोग र कुष्ठरोगको उपचार हुँदै आएको छ । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोडको लागतमा संरचना निर्माण भइसकेका छन् ।

स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पताल बनाउने निर्णयपछि सङ्घीय सरकारले प्रदेश सरकार मार्फत आगमी आर्थिक वर्षका लागि १५ करोड बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिए । उक्त बजेट बुर्तिावाङ स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपलमा अस्पतालको हो ।

तीन शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई ढोरपाटन नगरपालिका स्थापना पछि १५ शय्याको पालिका अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ । हाल स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत कार्यरत छन् ।

नीति तथा कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शय्या, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गरिने उल्लेख छ ।

अमेरिकालाई हराउँदै भारत सुपर आठमा

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ ।

अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क छ । आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन ।

खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए ।

अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए ।

भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए ।

रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा बुटवल वडा नम्बर १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा वडा नम्बर ३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नुवाकोटबाट बुटवल झर्दै गरेको लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टर्कीमा रोमन कालका मूर्तिहरू फेला

टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब ६ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’ का मूर्तिहरू फेला पारेका छन् । 

टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन सहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् । 

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको बताए । उनका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो । 

उनले कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुर्याइने बताए । पुरानो सहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको उनले  बताए । यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उनले बताए । 

स्पेन जानेक्रममा प्रत्येक दिन ३३ आप्रवासीको मृत्यु

यस वर्षको पहिलो पाँच महिनामा समुद्रबाट स्पेन पुग्ने क्रममा पाँच हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । यो सङ्ख्या प्रतिदिन ३३ जनाको मृत्यु बराबर हो ।

“रेकर्डहरू सुरु भएदेखि यो सबैभन्दा धेरै दैनिक मृत्युको सङ्ख्या हो”, स्पेनी परोपकारी कामिनान्डो फ्रन्टेरासले भनेको छ, “गत वर्षको तुलनामा यो सङ्ख्या डरलाग्दो रूपमा बढेको छ ।”

उक्त संस्थाले समुद्री अधिकारीहरूलाई सङ्कटमा परेका आप्रवासी डुङ्गाहरूलाई सचेत गराउँछ र सन् २००७ मा तथ्याङ्कहरू सङ्कलन गर्न थालेको थियो ।

पाँच महिनामा मात्रै एक सय ५४ महिला र ५० नाबालिग गरी कूल पाँच हजार ५४ जनाको ज्यान गएको छ र यो गत वर्षको पूरै पीडितको सङ्ख्या नजिक पुगेको छ ।

दक्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीहरूले लिएका आप्रवासी मार्गहरूको ‘विस्तृत’ विश्लेषणपछि यो वर्षको सङ्ख्या गणना गरिएको हो ।

धेरैजसो एट्लान्टिक मार्गमा थिए । त्यहाँ चार हजार आठ सय आप्रवासी स्पेनको क्यानरी टापुहरू पुग्न प्रयास गर्दा मरेको संस्थाले जनाएको छ ।

क्यामिनान्डो फ्रन्टेरासका संस्थापक हेलेना मालेनोले विज्ञप्तिमा भन्नुभयो, “हामी यी तथ्याङ्कहरूलाई सामान्य बनाउन सक्दैनौँ । यो सीमामा मानिसहरूलाई मर्न नदिने र जोखिममा परेकाहरूको जीवन बचाउन सबै उपायहरू प्रयोग गर्ने बारेमा मात्र हो ।

यो तथ्याङ्क एक वर्षपछि देखा परेको हो । यसमा ५६ हजार आठ सय ५२ जना अप्रमाणित आप्रवासीहरू स्पेनको किनारमा पुगेका थिए । यो सन् २०२२ बाट ८२ प्रतिशतले बढेको छ ।

स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि मुख्य प्रवेशद्वारहरू मध्ये एक हो । धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुहरूमा पुग्न खतरनाक डुङ्गा यात्रा गर्छन् । तर भूमध्यसागरमा बढेको सतर्कताका कारण यो लोकप्रियता बढेको छ ।

स्पेनिस टापुहरूबाट लगभग एक हजार पाँच सय किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशहरूबाट आप्रवासीहरूको सङ्ख्या बढ्दै गएको छ ।

विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा

विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेकोनासाको विश्लेषणले देखाएको छ ।

“हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ”, नासाका प्रशासक बिल नेल्सनले भने,“विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।”

पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१ देखि १९८०) भन्दा दुई दशमलव ३४ डिग्री फरेनहाइट (एक दशमलव तीन डिग्री सेल्सियस) रहेको विश्लेषणले देखाएको छ ।

जमिनमा मौसम स्टेसन र महासागरहरूमा उपकरणका विशाल नेटवर्कबाट तापक्रम रिडिङहरूको आधारमा वैज्ञानिकहरूले पत्ता लगाउँछन् । उक्त रेकर्ड मानव गतिविधिहरू विशेषगरी हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित दीर्घकालीन तापक्रम प्रवृत्तिको भाग हो ।

नासाका प्रमुख वैज्ञानिक तथा वरिष्ठ जलवायु सल्लाहकार केट क्याल्भिनले भने, “हामीले धेरै तातो दिनहरू, धेरै तातो महिनाहरू, धेरै तातो वर्षहरू अनुभव गरिरहेका छौँ । तापक्रममा हुने यो वृद्धि हाम्रो हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित छन् र यसले विश्वभरका मानिस र पारिस्थितिकीय प्रणालीहरूलाई असर गरिरहेको हामीलाई थाहा छ ।”

विश्लेषणका अनुसार १९औँ शताब्दीको उत्तरार्धमा रेकर्ड राख्ने काम सुरु भएदेखि पछिल्लो १० वर्ष लगातार सबैभन्दा न्यानो १० वर्ष भएको विगतका चार दशकहरूमा यो प्रवृत्ति स्पष्ट भएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने, मनसुन भित्रन अझै केही दिन लाग्ने

काठमाडौँ । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा मौसम सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।

यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेस प्रदेशका तराईका केही स्थानहरुमा हुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेस प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधबार भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ ।

“सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यसलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ । यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई धेरै स्रोतसाधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता छ”, राष्ट्रपतिको भनाइ उदृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउनु भएको पनि पोखरेलले जानकारी दिए ।

स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुकका रुपमा रहेको उल्लेख गर्दैै राष्ट्रपति पौडेलले यस देशले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अङ्गिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताएका थिए ।

“नेपाल र स्वीट्जरल्याण्डबीच सङ्घीयता, संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्यमान्यता तथा सिद्धान्तहरू रहेको र सहभागीतामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दामा दुई देशबीच समान धारणा रहेको पनि उल्लेख गर्नुभएको थियो”, पोखरेलले भने ।

यसैगरी जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बनउत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर ब्यहोरिरहेको बताएका थिए ।

त्यसअवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताएको राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए ।

पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरेका स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाएको जनाइएको छ ।

उनले नेपालको शान्ति प्रक्रिया र सत्यनिरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिएकी थिइन् । त्यस्तै उनले तेन्जिङ नोर्गे शेर्पाका नातीले आफ्नो गृह नगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देश भूगोलमा मात्र नभई संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरेकी थिइन् ।

त्यसैगरी राष्ट्रपति एमहर्डले नेपालको संविधानमा सङ्घीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरेकी थिइन् । उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान पाएको उल्लेख गर्दै दुई देशबीचको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो निरन्तर चलिरहने विश्वास दिलाउनुभएको पनि राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

सिंहदरवारभित्रका क्यान्टिनबाट चार बाल श्रमिकको उद्धार

काठमाडौँ । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ बालश्रमिकलाई उद्धार गरेको छ ।

यसरी उद्धार गरिएका १८ वर्षमुनिका २ जना बालक र २ जना बालिका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट, १ बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिइन् ।

महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुव्र्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ ।

यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा संरक्षित गरिएको छ ।

महानगर बाल अधिकार समितिका सदस्य धिरज जोशीका अनुसार उद्धारपछि उनीहरुले श्रममा भोग्नु परेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ ।
बालबालिकाहरु महानगरपालिकाभित्र घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका÷संरक्षणको आवश्यकता भएका) को श्रममा आवद्ध भेटिन्छन् ।

जोखिममा रहेका बालबालिकाहरुको अवस्थालाई रातो, पहेँलो र हरियो रङ्ग संकेतका आधारमा वर्गीकृत गर्ने गरिएको समितिका अर्का सदस्य प्रविण सिलवालको भनाइ छ ।

१२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो रङ्ग संकेत भएको वर्गमा राखिन्छ ।

दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो रङ्ग संकेत भएको वर्गमा राखिन्छ ।

यस्तै, मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो रङ्ग संकेत भएको वर्गमा राखिएको छ ।

यीमध्ये रातो रङ्ग संकेत वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको छ ।
बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाउन खटिने गरेका छन् । यसरी खटिने इन्टर्नहरुको संख्या ३१ जना रहेको छ ।

उद्धारपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा, परिवारमा फर्काउँदा बालबालिकाको सर्वाेत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ ।

झुटा विवरण पेश गरी अंगीकृत नागरिकता लिन खोज्ने तीन भारतीय पक्राउ

काठमाडौं । झुटा विवरण पेश गरी अंगीकृत नागरिकता लिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले झुटा विवरण पेश गरी नागरिकता लिन खोज्ने भारतीय नागरिकहरु हरियोम गुप्ता भन्ने हरिओम कुमार, वर्ष २० को ऋषि गुप्ता र वर्ष १८ का हर्ष गुप्तालाई पक्राउ गरेको हो ।

मंगलबार हर्ष गुप्ता र ऋषि गुप्ताद्वयले आफूसँगै रही व्यापार व्यवसाय गरी बसेका आफ्ना बुबालाई बेपत्ता भएको बनाई भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाई छिपाई वंशजको नाताले नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण पेश गरेका थिए ।

शंका लागि प्रशासनले अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएपछि उनीहरु पक्राउ परेका परिसरले जनाएको छ । उनीहरुविरुद्ध नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांसदलाई पाँच करोड दिने मधेस सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई डेढ करोड बजेट दिने मधेस सरकारको निर्णय गर्नुको कारण माग गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । प्रदेश सभा सदस्यहरूलाई बजेटबाट रकम बाँड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई कानुनका विद्यार्थीहरू मनीषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद्को पहिलो निर्णयबाट नै प्रदेश सभा सदस्यहरूका लागि बजेट परिचालन गर्ने निर्णय लिएका थिए ।

‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’

काठमाडौँ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् । केही साता अघि मात्र प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ मा ‘टाइमलुप’को प्रयोग गरिएको थियो । जसलाई दर्शकले रुचाए ।

यही जेठ ३२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बाटोः रोड टु डेथ’ नेपालमा पहिलोपटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको सोही चलचित्रका अभिनेता उत्पल झाले बताए ।

“नेपालमै यो विधामा चलचित्र निर्माण भए जस्तो लाग्दैन । केही नयाँ गर्ने प्रयास हामीले गरेका छौँ । कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यही यात्रामा भेटिने साथी र हुने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा हो”, अभिनेता झाले भने ।

अभिनेता झा रङ्गमञ्चबाट चलचित्रमा अभिनय सुरुवात गर्दैछन् । विज्ञान विषयको विद्यार्थी भए पनि चलचित्रसम्बन्धी अध्ययन गराइने संस्था अस्कर कलेजमा अध्ययन गरेर रङ्गमञ्च हुँदै उनी अभियनमा आएका हुन् । उनी ‘बाटोः रोड टु डेथ’ मा सुरुमा ‘कास्टिङ डिरेक्टर’ को रुपमा जोडिएका थिए ।

“मैले निर्देशन पढेको छु । धेरै नाटकमा अभिनय गरेपछि यस चलचित्रमा मलाई ‘कास्टिङ डिरेक्टर’को जिम्मेवारी दिइयो । निर्देशक र निर्माताले मेरो काम हेर्नुभएकाले एउटा भूमिका गर्न आग्रह गर्नुभयो । नयाँ विषय र प्रयोग भएकाले मैले पनि चलचित्रमा आउने उपयुक्त समय देखेर अभिनय गरेको हुँ”, उनले भने ।

उनले चलचित्रमा मञ्जिल केसीको भूमिका निर्वाह गरेका छन् । आफ्नै बाध्यताले कोरोनाको बन्दाबन्दीमा एउटा यात्रा गर्नै पर्ने बाध्यता र त्यहाँ भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अप्रत्यासित असामान्य गतिविधिमा चलचित्रको कथावस्तु केन्द्रित छ ।

चलचित्रमा झासँगै मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, विजय आनन्द ताम्राकार, राजेन थापालगायतका कलाकारले अभिनय गरेका छन् । मदन थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा शरण ऋषिले छायाङ्कन, एनबी महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । निर्देशक थापाले कथाको पात्रमा अभिनेता झा उपयुक्त लागेर नै अभिनयको प्रस्ताव गरेको बताए ।

वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज आयोजित ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरुले नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिएका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताए ।

उनले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गरे । दुई दशकभित्र देशलाई अति कम विकसित अवस्थाबाट विकसित चरणमा रुपान्तरण गर्न तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसीका चार आयामसहित समृद्धिको कार्ययोजना निर्माण गरिनुपर्ने उनको धारणा थियो ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरुबीच एकताबद्ध भइ सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताए । उनले वैचारिक रुपमा जनमत पार्टी र नेपाल समाजवादी पार्टीको मुद्दा समान रहेकाले आगामी दिनमा सहकार्य गर्न सकिने धारणा राखे । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरु एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताए । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाले नयाँ खुलेका वैकल्पिक राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण जरुरी भएको बताइन् । 

नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले युवा पुस्ताका नेता र नयाँ विचार बोकेका राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । पहिचानवादी मोर्चाका अध्यक्ष खगेन्द्र माखिमले नयाँ शक्तिहरु परिवर्तनको चाहनालाई पूरा गर्न एक भएर लाग्नुपर्नेमा जोड दिए । लेखक खगेन्द्र सङ्ग्रौलाले जुट र फुटको राजनीतिबाट अघि बढिरहेका राजनीतिक शक्तिहरुले मुलुकको निकास दिन नसक्ने दाबी गरे ।  

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, अर्थशास्त्री, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । विसं २०७३ जेठ ३० गते वैकल्पिक राजनीतिक अभियानका रुपमा नयाँ शक्ति पार्टी स्थापना गरी विभिन्न चरणमा एकता र विभाजन हुँदै अहिले नेपाल समाजवादी पार्टी बनेको हो । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको समाजवादी पार्टीले जनाएको छ ।