`

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

Nepal One HD ३१ जेठ २०८१ १४:२८
अपराध

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हो ।

ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियारले २५ चैत, २०८० मा उनी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उनले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डमा २ रोपनी ९ आना अनि २ आनाको अर्को गरी दुई टुक्रा जमिन किनेका थिए ।

त्यस्तै जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएकोसमेत खुलेको थियो । घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले विगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।


प्रतिक्रिया