`

३६ करोडको लागतमा दक्षिणपश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान गरिने

काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुननिर्माण हुने ठाउँका संरचनाहरु गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको हो ।

बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई छिन्

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।

बैठकले, मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

वैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभाग, पुरातत्व विभाग, वडाध्यक्षहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरु सहभागी थिए ।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणकाको लागत अनुमान करिब ३६ करोड रुपैयाँ हो ।

पुनःनिर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । यसको गुरुयोजना र डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी

दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दावी गरेको छ ।

केही समय अघि, लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ ।

लेबनानी लडाकू समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ ।

हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ ।

मङ्गलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो । हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमाण्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ ।

लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध सुरु भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ ।

इजरायली आक्रमणले सीमाबाट १५ किलोमिटर टाढा रहेको जौइया सहरमा प्रहार गरेको र अन्य तीन जनाको पनि मृत्यु भएको स्रोतले जनाएको छ ।

नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बनाः महासचिव पोखरेल 

काठमाडौँ  ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताएका छन् । 

बुधबार ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले ६ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको बताएका हुन् ।

“छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन”, उनले भने ।

महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको जिकिर गरे । विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।  

पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायतले सम्बोधन गरेका थिए । दुई सय जना प्रतिनिधि रहेको उक्त अधिवेशनबाट ७५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गरे ।

नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उनले जोड दिए ।

सम्बोधनका क्रममा उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए ।

यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाइ थियो ।

अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा तुलनात्मक रुपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराए ।

लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराए ।

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेको विज्ञप्तिमा जनाइएको छ ।

भरतपुरमा भित्रन्छ वार्षिक करिब १२ अर्ब विप्रेषण

चितवन । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो ।

सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था)की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक ३२ हजार छ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उनले बताइन् ।

वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब रु १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिइन्। उनका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ ।

विदेशबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार नौ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिइन्। एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका उनले बताइन् ।

विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताइन् । सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्ललेख्य रहेको भन्दै उनले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गरे। उनले ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएकोे जानकारी दिइन् ।

९६ हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिइन् ।

७८ प्रतिशत वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ ।

देशभर कूल छ हजार सात सय ४३ वडा रहेकामा पाँच हजार दुई सय ९४ वडा अर्थात् ७८ दशमलव पाँच प्रतिशतको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

प्रमुख राजस्व स्रोतका रुपमा सेवा दस्तुर चार हजार छ सय ५८ वडा अर्थात् ६९ दशमलव एक प्रतिशत बराबर रहेको छ । सम्पत्ति कर तीन हजार छ सय आठ अर्थात् ५३ दशमलव पाँच, व्यवसाय कर तीन हजार पाँच सय ५६० वडा अर्थात् ५२ दशमलव आठ प्रतिशत रहेको देखिएको छ ।

घरबहाल कर दुई हजार दुई सय १५ वडा अर्थात् ३२ दशमलव आठ र घरजग्गा रजिस्ट्रेसन कर दुई हजार एक सय ६९ अर्थात् ३२ दशमलव दुई प्रतिशत रहेका छन् । दण्ड जरिवाना, सवारीसाधन, मनोरञ्जन र अन्य करसमेत रहेका छन् ।

तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार देशभरका दुई हजार नौ सय अर्थात् ४३ प्रतिशत वडामा गैरकृषि उत्पादन हुने गरेको देखिएको छ । गैरकृषि उत्पादन सबैभन्दा बढी हुने प्रदेशमा गण्डकी ५१ दशमलव आठ र बागमती ४६ दशमलव आठ प्रतिशत रहेको छ । वडाबाट हुने निकासीको अवस्था हेर्दा सबैभन्दा धेरै नदीजन्य वस्तुको निकासी हुने गरेको देखिन्छ ।

वडाबाट निकासी हुने वस्तुमा नदीजन्य उत्पादनले पहिलो स्थान अर्थात् ५२ दशमलव ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । वडाहरुले बढी निकासी गर्ने वस्तुमा दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमशः औद्योगिक वस्तु १२, काठ–दाउरा ११ दशमलव आठ र माटो-इँटा पाँच दशमलव छ प्रतिशत रहेका छन् ।

प्रदेश तहको तथ्यांक अनुसार सातवटै प्रदेशमा नदीजन्य उत्पादनले पहिलो स्थान लिएको छ । दोस्रो र तेस्रो स्थानमा भने प्रदेशअनुसार काठजन्य, औद्योगिक वस्तु, माटो-इँट्टा, मसलाजन्य वस्तु र जडीबुटीले लिएको देखिन्छ ।

कार्यालयको प्रतिवेदनअनुसार देशभरका ३१ दशमलव सात प्रतिशत वडामा मात्र सार्वजनिक शौचालय सुविधा रहेको देखिएको छ भने बाँकी ६८ दशमलव तीन प्रतिशतमा सार्वजनिक शौचालय छैन ।

सबैभन्दा धेरै ४९ दशमलव पाँच प्रतिशत सार्वजनिक शौचालय गण्डकी प्रदेशमा पाइयो भने सबैभन्दा कम ३१ दशमलव एक प्रतिशत सुदूरपश्चिम प्रदेशमा रहेको देखिन्छ । स्थानीय सरकार र राज्यको खुला दिसामुक्त अभियानको प्रभावकारिता न्यून देखिँदा पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन नसकेको देखिएको हो ।

बधशालालाई सहरी क्षेत्रको सरसफाइ र स्वास्थ्य सचेतनाका दृष्टिले महत्वपूर्ण पूर्वाधार मानिन्छ । देशभरका कूल वडामध्ये केवल नौ दशमलव एक प्रतिशतमा मात्र बधशाला रहेको छ । बधशालाको सङ्ख्या लुम्बिनी र बागमतीका करिब १० प्रतिशत वडामा मात्र रहेको देखियो भने सुदूरपश्चिममा करिब ७ प्रतिशत वडामा मात्र रहेको देखियो । औसतमा नेपालका ९१ प्रतिशत वडामा बधशाला रहेको देखिएन ।

देशभरका छ हजार सात सय ४३ वडामध्ये प्रहरी कार्यालय चौकी दुई हजार चार सय ७५ वडा अर्थात् ३६ दशमलव सात प्रतिशतमा रहेको छ । कुनै पनि प्रहरी कार्यालय चौकी नभएका वडा ६३ दशमलव तीन प्रतिशत छन् । देशभरमा चार हजार दुई सय ६८ वडामा प्रहरी कार्यालय चौकी नभएको देखिन्छ ।

देशभरमा वृद्धाश्रमको सुविधा भएको वडाको सङ्ख्या चार सय ३७ अर्थात् छ दशमलव पाँच प्रतिशत छन् । देशभरमा कुनै पनि वृद्धाश्रमको सुविधा नभएका वडा छ हजार तीन सय छ अर्थात् ९३ दशमलव ५ प्रतिशत छन् । प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशका नौ दशमलव नौ प्रतिशत अर्थात् एक सय ११ वडामा बुद्धाश्रमको सुविधा छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच दशमलव चार प्रतिशत अर्थात् ३९ वडामा वृद्धाश्रमको सुविधा रहेका छन् ।

देशभरमा बालगृहको सुविधा भएको जम्मा वडा चार सय ३१ अर्थात् ६४ प्रतिशत छन् । देशभर कुनै पनि बालगृहको सुविधा नभएका वडाको सङ्ख्या छ हजार तीन सय १२ अर्थात् ९३ दशमलव छ प्रतिशत छन् । व्यवस्थित शवदाहस्थल-शव गाड्ने स्थलको सुविधा भएको वडा देशभरमा एक हजार सात सय ९० वडा अर्थात् २६ दशमलव पाँच प्रतिशत छन् ।

प्रदेशमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३५ दशमलव तीन प्रतिशत वडामा र कम सुदूरपश्चिम प्रदेशमा १२ दशमलव एक प्रतिशत बडामा व्यवस्थितस्थल शव गाड्नेस्थलको सुविधा रहेको छ ।

कुनै पनि व्यवस्थित शवदाहस्थल शव गाड्ने स्थलको सुविधा नभएका वडा ७३ दशमलव पाँच प्रतिशत छन् । जनगणनामा संकलन गरिएको विवरणअनुसार वडाका स्वास्थ्य संस्थामा उपलब्ध विभिन्न सुविधामध्ये सबैभन्दा बढी खोप सेवा ९५ दशमलव दुई प्रतिशत अर्थात् छ हजार चार सय १८ वडामा रहेको छ ।

सबैभन्दा कम सर्पदंश उपचार सेवा १२ प्रतिशत अर्थात् आठ सय नौ वडामा मात्र उपलब्ध छ । नेपालमा १७ हजार पाँच सय ९३ टोल बस्ती तथा गाउँ रहेको देखिएको छ । वडाको केन्द्रबाट सबैभन्दा टाढाको गाउँबस्तीसम्म पुग्नको लागि प्रयोग गरिने सवारी साधनमध्ये सवारी साधन र पैदल दुवै प्रयोग हुने देशभरिका वडा चार हजार आठ सय ६४ अर्थात् ७२ दशमलव एक प्रतिशत रहेका छन् । सवारीसाधन मात्रै प्रयोग गरिने वडा तीन दशमलव २७ प्रतिशत रहेका छन् । सवारीसाधन प्रयोग नहुने वडाको सङ्ख्या एक हजार छ सय ६१ अर्थात् २४ दशमलव छ प्रतिशत रहेका छन् ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले यो तथ्यांकलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा जोड्ने र त्यसमा राष्ट्रिय योजना आयोगकोसमेत भूमिका रहने बताए।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले विकास पूर्वाधार बनाउँदा कुन वडालाई प्राथमिकतामा राख्ने र सम्बन्धित वडामा कस्तो खालको पूर्वाधारको आवश्यकता छ भनेर बुझ्न यो तथ्यांकले सहयोग पुर्‍याउने बताए।

सङ्घीय मन्त्रालय घटाएर १२ वटा कायम गर्न  सांसद गुरुङको सुझाव

काठमाडौँ । नेकपा एमालेका  उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सङ्घ सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको सङ्ख्या घटाएर १२ मा कायम राख्नुपर्ने बताएका छन् ।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकममाथि छलफलमा भाग लिँदै उनले मुलुक सङ्घीयतामा जानुका साथै प्रशासनिक सुधार आयोगको प्रतिवेदनका आधारमा पनि मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताएका हुन् । 

“मन्त्रालयका साथै विभिन्न विभाग र जिल्ला समन्वय समितिहरु खारेज गर्नुपर्छ”, सांसद् गुरुङले भने, “विकास खर्चभन्दा चालु खर्च कम भयो भने मात्रै हाम्रो विकासको अभियानले सही बाटो समात्न सक्छ ।” उनले सहरी विकास मन्त्रालयले स्थानीय निकायको निश्चित क्षेत्रमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा काम केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सांसद रामकुष्ण यादवले सहरी विकास मन्त्रालयले उद्देश्यअनुसार कार्य नगरेको बताए ।  उनले मन्त्रालयको खर्च कटौती हुनुपर्नेमा जोड दिँदै खानेपानी, बाटोघाटो, फोहोर व्यवस्थापनलगायत सुधारका कार्यमा मन्त्रालयले पर्याप्त जिम्मेवारी पूरा नगरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तिमगर अर्थमन्त्रीले तीन करोडभन्दा कमको योजनामा बजेट विनियोजन नगरिने भनेको सम्झँदै कुरा र गराइ फरक देखिएको बताए । सहरी विकास मन्त्रालयको बजेट विनियोजन हेर्दा पाँच लाखका योजनाहरु एक सय १७ वटा रहेको बताए ।

राजनीतिक स्थीरता र भ्रष्टाचार मुक्त देश नवनाएसम्म बिकास हुन सक्दैँन : डा. बाबुराम भट्टराई

काठमाडौं / नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली गिलास भएको भन्दै यसलाई पूर्ण बनाउन शासकीय स्वरुप लगाएका व्यवस्थालाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले प्रदेश र केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे । भट्टराईले राजनीतिक स्थीरता र भ्रष्टाचार मुक्त देश नवनाएसम्म बिकास हुन नसक्ने बताए । उनले पुराना दलका नेताहरु धृतराष्ट बनिसकेको भन्दै उनीहरुको बाहुपासमा नफस्न नयाँ दलका नेताहरुलाई सुझाव दिए । उनले देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिले नै भएकाले बताए ।

कुवेतमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ को मृत्यु

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा परी दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा आप्रवासी कामदार भएको बताइए पनि उनीहरु कुन देशमा हुन् भन्ने खुलेको छैन । कुवेतको आन्तरिक मन्त्रालयले एनबीटीसी कम्पनीमा कार्यरत कामदार बस्ने क्याम्पमा आगलागी भएको जनाएको छ ।

क्याम्पको तल्लो तलको एउटा कोठामा राखिएको सिलिण्डर बिष्फोट भएर आगो सल्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतमा नेपालीहरु पनि कार्यरत छन् । 

डेढवर्षमा २३ पटक सरकार परिवर्तन हुनुलाई राजनीतिक दलहरुले गम्भीर ढंगले समीक्षा गर्नुपर्छः शेखर कोइराला

काठमाडौँ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको अधिवेशन उद्घाटन गर्दै कोइरालाले डेड बर्षमा केन्द्र र प्रदेश गरि ८ वटा सरकार २३ पटक परिवर्तन हुनुलाई राजनीतिक दलहरुले अन्त्यन्तै गम्भीर ढंगले समिक्षा गर्नुपर्नै समेत बताएका हुन् ।

राजनीतिक वा सरकारको स्थीतरता विना मुलुकमा आर्थिक बिकास हुन नसक्ने भन्दै स्थीरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए । कोइरालाले कांग्रेस अहिले बिपक्षमा रहेकाले सरकारमा जान हुनै हतारो नरहेको स्पष्ट पारे । बिभिन्न प्रकरणमा अख्तियारले, निर्वाचन आयोगले, सीआईबीले दुख दिइरहेको भन्दै यस बिषयमा राजनीतिक दलहरुबीच छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले सुशासन, पारदर्शी र भ्रष्टाचारका कुराको छिनोफानो गरेर अघि जान नसके देश पनि अघि जान नसक्ने धारणा राखे ।

पर्वतका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित

पर्वत  । पर्वत जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।

परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बनौमा धानखेती निकै कम हुन्छ । अहिले यहाँका बासिन्दाले आलु र कोदोखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषक बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणका साथै प्राविधिक सहयोग पाएपछि व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आबद्ध ७३ किसानले सामूहिक रुपमा आलु उत्पादन थालेका हुन् ।

विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समूहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिए। उनका अनुसार अहिले लगाइएको चार सय रोपनी क्षेत्रफलबाट पहिलेभन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।

समूहमा आबद्ध भएका किसानले न्यूनतम एक लाखदेखि १० लाखसम्म आलु बिक्री गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने किसान पुर्जाले बताए। बनौमा परम्परागत बीउ नै लगाइएको छ ।

चालु आर्थिक वर्षदेखि सुरु भएको खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष झन्डै दुई हजार किसानले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्यांक आउने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए।

उनका अनुसार प्राविधिक ज्ञानसँगै किसानले आधुनिक तरिकाले आलुखेती गर्न थालेपछि उत्पादनसमेत बढेको छ भने कृषकसमेत उत्साहित भएका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रमअन्तर्गत हिउँदे याममा गरिएको आलुखेतीमा जिल्लाभरका एक हजार आठ सय २१ किसानले व्यावसायिक रुपमा आलुखेती गरी आम्दानी गर्न सफल भएका छन् । बर्खेयाममा यसको आधा सङ्ख्यामा किसानले आलुखेती लगाएका छन् ।

कसैको अनावश्यक भारी बोक्नु पर्यो भने सरकारमा बस्दैनौंः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको बताएका छन् । उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए ।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवस कार्यक्रममा लामिछानेले भने, ‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन । तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । देशमा । म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन् ।’

डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको भन्दै लामिछानेले आफ्नो समयमा भट्टराईले आफ्नो पद र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदारहण भएको बताए ।

वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे ।

उनले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

उनले व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे । लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे ।

उनले भने, ‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं । नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन।’

हजुर, हस्, भइहाल्छ जस्ता भाष्यले अब कर्मचारीतन्त्र चल्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजा सूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारिता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु । यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

प्रधानमन्त्रीले चालु आर्थिक वर्षका बाँकी कार्यक्रम र क्रियाकलापहरूको कार्यान्वयनमा विशेष ध्यान दिई शतप्रतिशत नतिजा प्राप्तिमा जोड गर्न र आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न निर्देशन दिए ।

तोकिएको समयमा निर्धारित लक्ष्य अनुरूपको नतिजा हासिल गर्न कर्मचारी वर्गको क्रियाशीलता आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए ।

मन्त्रिपरिषद्को कार्यालय र मातहत निकायहरूको कार्यसम्पादनस्तर, नतिजा र गुणस्तरलाई राष्ट्रिय मानकको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकको कार्यकारी मुख्यालयको समग्र छवि र प्रगतिमा सरकारको कार्यसम्पादनस्तर प्रतिविम्बित हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यकता भन्दा बढी कर्मचारी थन्काउने निकायको रूपमा भन्दा विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्रीले यस विषयमा विशेषगरी मुख्य सचिवजी र सचिवहरूले नेतृत्वदायी भूमिकासहित आवश्यक प्रबन्ध गर्न निर्देशन दिए ।

नेप्सेमा समान्य अंकको बृद्धि, उच्च अङ्कको कारोबार

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ । नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ । 

आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै वित्त समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ८३, विकास बैङ्क शून्य दशमलव ११, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६० प्रतिशतले बढेको छ । 

लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार चार सय ९१ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुकको अभियोगमा दोषी ठहर

अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो ।

राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागु औषधको नशामा सन् २०१८ मा हाते बन्दूक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको होे ।

हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समय यो निर्णय आएको हो ।

बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरेका छन् ।

राष्ट्रपति बाइडेनले भने, “म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौं, र हामी आजको उनीमाथि निकै गर्व गर्छौं ।”

उनले भने, “आफ्ना प्रियजनहरू कुलतमा फसेपछि सङ्घर्ष गरिरहेका धेरै परिवारले यसबाट बाहिर निस्केका व्यक्तिहरूको भावनालाई बुझ्छन् यसप्रति गर्व गर्छन् ।”

यस मुद्दाको नतिजा स्वीकार्ने बताउदै हन्टरले अपिलपछिको न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए ।

बाह्र सदस्यीय न्याधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो ।

अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा दश वर्षसम्म, लागुऔषध दुब्र्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्म र बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ ।

यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन् तर २५ वर्षसम्म जेल सजाय भोग्ने सम्भावना भए पनि पहिलो पटकको अपराधीका रूपमा हन्टरलाई जेल सजाय नहुन सक्छ ।

नोभेम्बरको राष्ट्रपति चुनावमा जो बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको व्यापार अपचलनको आरोपमा दोषी ठहर भएको दुई हप्ताभन्दा कम समयमा यस्तो फैसला आएको हो ।

हन्टरको सजायँले क्यालिफोर्नियामा कर चोरीको आरोपको अर्को मुद्दाको कार्यवाहीमा अपराधमा दोषी ठहरिएका पूर्वराष्ट्रपति ट्रम्पमाथि चुनावी ध्यान केन्द्रित गर्ने डेमोक्र्याटहरूको प्रयासलाई जटिल बनाएको छ ।

हन्टरका भाइ ब्युको सन् २०१५ मा क्यान्सरबाट मृत्यु भएको थियो । उनकी बहिनी नाओमीको सन् १९७२ को कार दुर्घटनामा मृत्यु भएको थियो भने यसै घटनामा जो बाइडेनकी पहिलो पत्नी निलियाको पनि मृत्यु भएको थियो ।

येलमा प्रशिक्षित वकिल र लोबिस्टबाट कलाकार बनेका उनीमाथि सन् २०१८ मा ३८ क्यालिबर रिभल्भर खरिद गर्दा अवैध रूपमा लागुऔषध प्रयोग नगरेको भन्दै झुटो बयान दिएको आरोप लगाइएको थियो ।
उनीमाथि अवैध रूपमा बन्दुक राखेको आरोप पनि लगाइएको थियो, जुन उनीसँग त्यस वर्षको अक्टोबरमा मात्र ११ दिनका लागि थियो ।

राष्ट्रपतिको छोराले लतको बारेमा निस्वार्थ रूपमा लेखी रिभल्भर किनेको समयमा आफू लतमा नभएको भन्दै आरोपको खण्डन गर्दै आएका छन् ।

उनी लामो समयदेखि कट्टर–दक्षिणपन्थी रिपब्लिकनहरूको निशाना बनेका छन्, भने ट्रम्पका सहयोगीले भ्रष्टाचार र प्रभाव–हेरफेरको आरोपमा काङ्ग्रेसमा उनको लामो अनुसन्धान गरेका छन् ।

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनावी अभियानको नेतृत्व गर्ने

फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक संचारकर्ताको रूपमा देखाएका छन् ।

केही हदसम्म म्याक्रोँँकोे सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको छ । पैँतीस वर्षीय अट्टल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री हुन् ।

उनले यो अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए पनि यदि म्याक्रोँको प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय आएमा उहाँ सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्रीमध्ये एक हुनेछन् ।

युरोपेली चुनावमा अति दक्षिणपन्थी गठबन्धनसँग म्याक्रोँको पार्टी पराजित भएपछि सुरुमा लड्ने कुनै इच्छा नभएको बताइए पनि राष्ट्रपति म्याक्रोँलाई फ्रान्सेली विधायिका निर्वाचन अभियान चलाउनुपरेको छ ।

सामान्यतया फ्रान्सेली सञ्चारमाध्यममा सर्वव्यापी रहेका अट्टल सोमबार निर्वाचनको घोषणापछि एयरवेभमा स्पष्ट रूपमा अनुपस्थित थिए ।

म्याक्रोँले आइतबार टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनलाई स्तब्ध पार्ने कदमको संज्ञा दिँदा अट्टलले कुनै टिप्पणी गरेनन् ।
उनले म्याक्रोँको एक्समा गरेको सम्बोधनई पुनः पोष्ट मात्र गर्नुभयो भने ब्रिफिङका लागि माटिग्नोन प्रधानमन्त्रीको निवासमा राखिएको लेक्चर कहिल्यै प्रयोगमा आएन ।

युरोपेली चुनावको परिप्रेक्षमा मध्यावधि चुनावको सम्भावनाको बारेमा प्रारम्भिक छलफलबाट टाढा रहेका अट्टलले म्याक्रोँलाई ‘खतरनाक’ जोखिमको बारेमा चेतावनी दिएका थिए । अट्टललाई निर्णयबारे अन्तमा सूचित गरिएको थियो ।

आइतबार साँझ एलीसी प्यालेसमा सत्तारुढ दलका नेतासँग भएको भेटमा अट्टलले आफू सरकारबाट राजीनामा दिन तयार रहेको तर राष्ट्रपतिको निर्णयलाई समर्थन गरेको बताउनुभएको एक सहभागीले बताए ।

प्रसारणकर्ता बीएफएमटिभीका अनुसार उनले म्याक्रोँलाई राजीनामा दिएर संसद विघटन गर्नबाट रोक्न प्रयास गरेका थिए तर उनको प्रयास सफल हुन सकेन ।

सत्तासीन दलका प्रमुख भ्यालेरी हायरलाई उछिन्न खोजेको आरोप खेपिरहेका अट्टलले युरोपेली चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

नेता जोर्डन बार्डेलासँग भएको बहसमा उहाँलाई व्यापक रूपमा पछ्याइएको थियो ।

विद्युतीय सवारी साधनमा लगाइएको करले ईयूको हितमा हानी पुर्याउने

चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली सङ्घ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यो बजार अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार नियमको सिद्धान्तविपरीत छ र यसले चीन–ईयू आर्थिक तथा व्यापारिक सहयोगलगायत विश्वव्यापी अटोमोबाइल उत्पादन र आपूर्ति श्रृङ्खलाको स्थिरतालाई कमजोर पार्छ ।”

ईयू कमिसनले बुधबार चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा नयाँ कर लगाउने तयारी गरेको उद्योग स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार १० प्रतिशत भन्सारको अतिरिक्त २५ प्रतिशतसम्म कर वृद्धि हुने अपेक्षा गरिएको छ ।

लिनले भन्नुभयो, “हामी ईयू पक्षलाई स्वतन्त्र व्यापारलाई समर्थन गर्ने र संरक्षणवादको विरोध गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न र चीन–ईयू आर्थिक र व्यापार सहयोगको समग्र हितलाई कायम राख्न चीनसँग काम गर्न आग्रह गर्दछौं ।”

युरोपको मर्सिडीजदेखि फेरारीसम्मका प्रतिष्ठित ब्रान्डजस्ता अटोमोटिभ क्षेत्र यसको औद्योगिक मुकुटको गहना हो । तर यसले दहन इन्जिनको बढ्दो अन्त्यबाट अस्तित्वको खतराको सामना गरेको छ र बिद्युतीय सवारी साधनको विकाससँगै चीनले यूरोपेली सवारी निर्माताको लाभमा प्रभाव पारेको छ ।

ब्रसेल्सले ईयूका अधिकारीले उनीहरूले युरोपका कार निर्माताहरूलाई कमजोर पार्ने अनुचित अभ्यासलाई रोक्न गत वर्ष चिनियाँ विद्युतीय कार अनुदानको बारेमा अनुसन्धान सुरु गरेको थियो ।

राष्ट्रपति पौडेल जेनेभामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यसैगरी  राष्ट्रपति पौडेलले आज जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् ।


स्विट्जरल्यान्डको भ्रमणपछि राष्ट्रपति पौडेल  आगामी असार १ गते जेनेभाबाट रोयल डच एयरलाइन्स मार्फत जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । 


जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो–साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।


साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  यसैगरी असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।


सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।  असार ३ गते जर्मनी टेड एन्ड इनभेष्ट आबद्ध उद्योगी व्यापारीहरूसंग भेट कार्यक्रम रहेको छ ।  राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।

अस्तव्यस्त पोखराको पृथ्वीचोक

गण्डकी ।  जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ। गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लङ्घन भएको हो। पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो।

पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो। लामो दुरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए। नगर बसलगायत छोटो दुरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे।

पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो। तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ । काठमाडौँलगायत लामो दुरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन्।

बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ। माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ।ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।

पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ। बसपार्क, होटल, वित्तिय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए।

‘पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,’ उनले भने, ‘सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयवासीको साथ चाहिन्छ।’

सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो।

जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए। यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन्।

पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ।बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा स्तरीय बसपार्क बन्नुपर्ने माग पहिलेदेखि नै हुँदै आएको छ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ।

बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको छ। बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि सडक किनारमा छन्।

बढ्दैछ आत्महत्याको कहर– रोकथाममा चासो छैन

चन्द्रकला भण्डारी


। झापा कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए । २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो । भोलिपल्ट विहान छिमेकीले रबिन र उनकी २९ वर्षीया पत्नी मीना बिक र आठ महिने छोरी सबिना बिकलाई घरभित्रै पासो लागेर मृत्यु भएको दर्दनाक अवस्थामा भेटाए ।

उक्त घटनाको एक वर्ष नबित्दै झापाको कचनकबल गाउँपालिका–५ पाठामारीमा एउटै टोलका तीन किशोरीले सामूहिक आत्महत्या गरे । २०७९ साउन ८ गतेको घटना थियो । घर नजिकैको सुनकोशी चिया बगानमा मजदूरी गर्ने १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश दिउँसो एकै समयमा घरबाट सम्पर्कविहीन भए । उनीहरुलाई केही घण्टापछि चिया बगानकै एउटा बयरको रुखको हाँगामा लहरै झुण्डिएर स्व मृत्युवरण गरेको अवस्थामा गाउँलेले फेला पारे ।

कचनकबल–४ मा छ महिनापछि अर्को आत्महत्याको भयानक घटना थपियो । प्रेम विवाह गरेको तीन महिनापछि एक जोडीले २०७९ माघ १० गतेका दिन स्थानीय एभरेस्ट चिया बगानभित्रको रुखमा एउटै पासो लगाएर आफ्नै प्राण हरण गरे । आत्महत्या गरेका जोडी थिए–२५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजबंशी । उनीहरुले भागी विवाह गरेको केटी पक्षको परिवारलाई मन परेको थिएन । प्रहरीमा उजुरबाजुर चलेपछि दुबै जना बिछोडिएर आ–आफ्नो घरमा बस्दै आएका बेला अचानक दुबैले आत्महत्याको गलत बाटो रोजे ।

झापामा आत्महत्याको घटना डरलाग्दो रुपमा बढिरहेको छ । पछिल्लो समय कम उमेरका किशोरीहरुले समेत सानो निहुँमा सुन्दर जीवन आफैँ सिध्याएका घटना बढेपछि अभिभावकहरु झस्किन थालेका छन् । एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकहरुले स्थानीय देबेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुपर्यो । “आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौं”–संयोजक खरेल भन्छन् ।
आत्महत्याको शिकार भएका व्यक्तिका अभिभावकहरु पनि समितिमा जोडिएका छन् । पीडित अभिभावकका तर्फबाट मेचीनगर–७ का पुष्कर ढकाल, मेचीनगर–६ का जितबहादुर खड्का, मेचीनगर–८ का कृष्ण सुवेदी, मेचीनगर–८ का माण्डु धिमाल र मेचीनगर–६ की बिमला दाहाल समितिमा रहेका छन् । समितिले मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई भेटेर नगरमा आत्महत्या रोकथामका लागि तत्काल कार्यक्रम ल्याउन माग गरेको छ ।

सत्र वर्षको किशोरी उमेरकी छोरी गुमाएकी पुष्कर ढकाल कम उमेरका बालबालिकालाई आत्महत्याबाट जोगाउन विद्यार्थी, अभिभावक र समुदायमा सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँछन् । “मैले जसरी अरु कसैले पनि कलिलो उमेरकी छोरी गुमाउनु नपरोस् भनेर म आफँै जागरण अभियानमा होमिएको छु,” उनले भने, “बच्चाहरुसँग हरेक आमाबाबुले नजिक हुनु पर्दोरहेछ । ताकी उनीहरुले आफ्ना दुःख, सुख र समस्याहरु सजिलै सुनाउन सकुन् । परिवार, समाज, जीवन र श्रम के हो भनेर बालबालिकालाई विद्यालय तहमै पढाउन र बुझाउन आवश्यक छ ।”


घटना बढेको बढ्यै
आत्महत्याबाट ज्यान गुमाउनेको तथ्यांक कहालिलाग्दो छ । झापामा विगत तीन वर्षमा ८७२ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार आर्थिक वर्ष २०७८/0७९ मा तीन सय १४ जनाले आत्महत्या गरेका थिए । जसमा पुरुष २२२ र महिला ९२ जना रहेका छन् । आव २०७९/0८० मा ३१७ जनाले आत्महत्या गरेकोमा पुरुष एक सय ८८ र महिला एक सय २९ जना रहेका थिए । चालू आव २०८०/0८१ को जेठ १८ गतेसम्ममा दुई सय ४१ जनाले आत्महत्या गरिसकेको सूचना अधिकारी चन्दले बताए । जसमा पुरुष एक सय ५९ र महिला ८२ जना रहेका छन् । जिल्लामा दैनिकजसो आत्महत्याका घटना हुने गरेका छन् । देशभरको बिगत तीन वर्षको तथ्यांक हेर्ने हो भने दैनिक औसत १९ जनासम्मले आत्महत्या गरेको देखिन्छ । आव २०७७/७८ मा देशभर सात हजार १४१ जनाले, आव २०७८/७९ मा सात हजार ९८७ जनाले र आव २०७९/८० मा छ हजार ९० जनाले आत्महत्या गरेका थिए ।


आत्महत्याले उठिबास
मेचीनगर–१० खयरडाँगीको कमला राजबंशीको परिवारमा आत्महत्याकै श्रृङ्खलाबद्ध घटनाका कारण उठिबास लागेको छ । वर्ष बिराएर परिवारका एक जनाले आत्महत्या गर्न थालेपछि हाल घरमा ताला लगाइएको छ । सामान्य ज्याला मजदूरी गरेर जीविका चलाइरहेको कमला राजबंशीको परिवारमा उनीसहित तीन जनाले आत्महत्या गरिसकेका छन् । यही त्रासका कारण घरमा ताला लगाएर परिवारका सदस्यहरु अन्यत्रै गएका हुन् । कमलाकी २६ वर्षीया जेठी छोरी संगीता राजबंशीले वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि मालद्विपमै आत्महत्या गरिन् । उनको शव चाहीँ नेपाल ल्याएर दाहसंस्कार गरिएको थियो । छोरीको अकाल मृत्युवरणले विक्षिप्त बनेकी ४६ वर्षीया कमला राजबंशीले तीन वर्षपछि छोरीको तस्वीर छातीमा राखेर घरभित्रै आत्महत्या गरिन् । पत्नी र छोरीको आत्महत्याले विक्षिप्त ५० वर्षीय नहकुल राजबंशी पिरले रोगाए ।

उनको पनि दुई वर्ष अघि मृत्यु भयो । अब उक्त घरमा अभिभावक कोही बाँकी रहेनन् । दुई छोरीको विहे भइसकेको छ । दुई छोरामध्ये जेठाको विहे भएको थियो भने एउटा छोरो नाबालक नै छन् । पत्नी माइत गएको बेला नहकुलको जेठा छोरा २७ वर्षीय सञ्जित राजबंशीले समेत यही जेठको पहिलो साता आत्महत्याको गलत बाटो रोजे । काजकिरियापछि घरमा ताला लागेको छ भने मृतक सञ्जितकी एक वर्षको छोरीलाई लिएर पत्नी माइतीको सहारामा पुगेकी छन् ।


डिप्रेसन नै मुख्य कारण
मानिसमा आत्महत्या बढ्नुको मुख्य कारण मानसिक बिरामी भएको मनोचिकित्सकहरु बताउँछन् । आवेश र तनाव नियन्त्रण गर्न नसक्दा मृत्युको अनपेक्षित घटना हुने गरेको उनीहरुको निष्कर्ष छ । आत्महत्या कमजोर आत्मबलको उपज मात्र नभएर मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले स्वीकार गरिसकेको पूर्णटुंग बिर्तासिटी हस्पिटलका मनोचिकित्सक डा. आभाष निरौला बताउँछन् । “केही घटनामा एकैछिनको सनकका कारण आत्महत्याको निर्णय गरेको हुनसक्ने देखिन्छ,” उनी भन्छन्, “तर, अधिकांश आत्महत्याका घटनामा उसको मानसिक समस्याको पृष्ठभूमिले भूमिका खेलेको हुनसक्छ । कतिपय व्यक्तिले आत्महत्या अगाडि केही सङ्केतहरु दिएका हुन्छन् । त्यसलाई गम्भीर रुपमा लिएर आत्महत्या हुनबाट बचाउन सकिन्छ ।”मनोसामाजिक, आर्थिक र व्यक्तिगत समस्याका कारण मानिसहरु मानसिक समस्याको चरम अवस्थामा पुग्ने र त्यसलाई थेग्न नसक्दा आत्महत्याको गलत बाटोमा जाने उनको भनाइ छ । यसलाई चिकित्साको भाषामा ‘सिभियर डिप्रेसन’ भनिन्छ । डिप्रेसनको गम्भीर अवस्थाबाट आफुलाई बाहिर निकाल्न नसक्ने व्यक्तिले आफैलाई अन्त्य गर्नसक्ने भएकाले परिवार, समाज र सरकार यस विषयमा सचेत हुनुपर्ने उनको सुझाव छ ।

“कोही व्यक्ति बारम्बार बाँच्न चाहन्न भन्छ, अस्वाभाविक रुपमा ऋणपान तिरेर कहिल्यै नभेटेका आफन्तहरुसँग समेत फोन गर्छ र अस्वाभाविक रुपमा आफ्नो सम्पत्ति दान र वितरण गर्छ” मनोचिकित्सक डा. निरौला भन्नुहुन्छ–“कतै त्यो मानिसले आत्महत्या गर्न लागेको त छैन भनेर शङ्का गर्नुपर्ने हुन्छ । उसले आत्महत्या पूर्वको सङ्केत दिइरहेको हुनसक्छ ।”आर्थिक समस्या, सम्बन्धमा आएको उतारचढाव, जीवनका असफलता र एक्लोपनाका कारण मानिसहरु मानसिक तनावको गम्भीर अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यस्तो अवस्थामा व्यक्तिहरुलाई आत्महत्याको जोखिमबाट जोगाउन वरिपरिका साथीसङ्गी र परिवारका सदस्यहरुले उनीहरुका कुरा ध्यानपूर्वक सुनिदिने, निरास नबन्न उत्प्रेरणा दिने र ढाडस दिने कार्य गर्न सकिने डा। निरौलाको सल्लाह छ ।

पटकपटक आत्महत्याको प्रयास गरिसकेको र गम्भीर डिप्रेसनको शिकार भइरहेको व्यक्तिलाई कमजोर आत्मबल भएको भनेर अवहेलना नगर्न र तत्काल मनोचिकित्सकको उपचारमा जान सल्लाह दिनु उचित हुने उनको सुझाव छ । त्यस्ता व्यक्तिहरुको पहुँचबाट विषादी, डोरी, चक्कुलगायतका सामान टाढा राख्नु पर्ने उनले बताए । पछिल्लो समय बालबालिका र किशोरकिशोरीमा आत्महत्याको घटना बढेको कारण विद्यालय, समाज र परिवारमा तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउन आवश्यक रहेको उनले बताए । कुनै पनि तनाव हुने विषय तत्काल साथीसङ्गी र अभिभावकसँग साझा गर्ने वातावरण बनाउन सक्ने हो भने कम उमेरमा हुनसक्ने आत्महत्या रोकिने मनोचिकित्सक निरौला बताउनुहुन्छ ।


समुदायस्तरमा सचेतनाको खाँचो
कचनकबल गाउँपालिका बाहेक झापाका अरु पालिकाले आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम ल्याउन सकेका छैनन् । आत्महत्या रोकथामका लागि चालू आर्थिक वर्षमा कचनकबलले तीन लाख बजेट छुट्याएको थियो । यसबाट विभिन्न सङ्घसंस्थाको सहकार्यमा गाउँगाउँमा पुगेर समुदाय र विद्यार्थीसँग कार्यक्रम गरिएको पालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले बताए । गरिवी र बेरोजगारीले आत्महत्याका घटना निम्त्याउने गरेको सुनाउँदै उनले आगामी नयाँ बजेटमा यस विषयमा अभिभावक, विद्यार्थी र किशोरकिशोरीहरुलाई आवश्यक परामर्श दिन पुग्ने गरी पर्याप्त रकम बिनियोजन गरिने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय झापाले समुदायसँग साझेदारी कार्यक्रमअन्तर्गत केही वर्षदेखि आत्महत्या रोकथामका लागि विद्यार्थी लक्षित अभियान सञ्चालन गरिरहेको जनाएको छ । “एसइई परीक्षा सकिएका दिन जिल्लाभरका परीक्षा केन्द्रमा पुगेर ‘म आत्महत्या गर्दिन’ भन्ने संकल्प गर्न लगायौं,” प्रहरी उपरीक्षक मिलन केसीले भने, “समाजमा आत्महत्याको भयावह अवस्था छ । हामीसँग बजेट हुँदैन । तैपनि समुदायसँग मिलेर निरन्तर सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ ।” अभियन्ताहरुले सामाजिक सञ्जालमार्फत र पत्रकारहरुले स्थानीय सञ्चारमाध्यममार्फत आत्महत्या रोकथामका लागि विभिन्न सन्देश प्रवाह गरिरहेका छन् ।

सहारा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख समेत रहेका सामाजिक अभियन्ता महेन्द्र गिरीले जीवनबाट हार खाएको अनुभूति गरिरहेकाहरुलाई जीवन जिउने उत्प्रेरणासहित ढाडस दिनुपर्ने धारणा व्यक्त गर्छन् । “जीवनमा मानिसहरुलाई खासै केही दिइरहनु पर्दैन । तर असफल भएर मन आत्तिइरहेको बेला ‘तिम्रो लागि हामी छौँ नि’ भनी ढाडस मात्रै दिए पनि संसार जितेको महसुस हुन्छ,” सामाजिक सञ्जालमा गिरी लेख्छन्–“असफल भए भन्दैमा जिन्दगी नै सकियो भन्ने नसोचौंँ । सुन्दर बिहानीका लािग पनि त अन्धकार रात कटाउनै पर्छ ।”झापामा आत्महत्या प्रभावित परिवारलाई समेटेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका अभियन्ता देबेन्द्र खरेलले चौबीसै घण्टा परामर्श एवम् सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न स्थानीय पालिकाहरुलाई आग्रह गरिएको बताए ।“एक व्यक्ति र एक संस्था लागेर मात्र आत्महत्या जस्तो गम्भीर समस्याको रोकथाम सम्भव छैन, सचेत नागरिकहरु जुटेर समाजलाई ब्युँझाउन ढिलो भइरहेको छ”–उनी भन्छन् । स्थानीय पालिकाहरुले सामुदायिक स्वास्थ्य केन्द्रमार्फत मनोचिकित्सक सेवा दिनुपर्ने, सङ्कटमोचन टोलीहरु खटाउनु पर्ने, सार्वजनिक सचेतना अभियान सञ्चालन गर्नु पर्ने, तनाव व्यवस्थापन सम्बन्धी कार्यशाला आयोजना गर्नुपर्ने, टोलटोलमा पुगेर अभिभावक तथा किशोरकिशोरीलाई सामाजिक तथा पारिवारिक जिम्मेवारीका बारेमा परामर्श गर्नुपर्ने उनको प्रस्ताव छ ।

जसपाको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

मधेसी जनअधिकार फोरम गठन गरी पार्टी अध्यक्ष बनेका यादव जसपामा आइपुग्दासम्म निरन्तर अध्यक्ष रहँदै आएका छन् । अध्यक्षबाहेकका पदमा भने प्रतिस्पर्धा हुने भएको छ ।

जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उमेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्राधिकरणद्वारा अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर रहेको छ । 

डेटा सेन्टरका लागि तोकिएको ‘टियर–३’ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी उक्त सेन्टर निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणले आफ्नो सेवालाई आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरेको यस किसिमको नमुना ‘डेटा सेन्टर’ नेपालमै पहिलो हो । 

डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायत सबै डेटाहरु एकीकृत भण्डार गरी क्रमशः राखिने कार्यकारी निर्देशक घिसिङले बताए।

उनले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले डेटा भण्डारणका लागि आफ्नो छुट्टै ‘प्राइभेट क्लाउड’ बनाउन लागिरहेको जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे । उनका अनुसार उक्त रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रुपमा सञ्चालन गरिने छ । 

सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष रहेका छन । तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष प्राधिकरणले जनाएको छ ।

टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरु पूरा गर्न आवश्यक व्याकप (सञ्चित)सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको निगरानीलगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा मुलुकको विद्युत् प्रणालीमा समस्या आएर विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

तीन सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको भन्दै मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु नपर्ने उनको भनाइ छ । 

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । उक्त डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार तथा संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

केन्द्रबाट ११ केभी भन्दा कम ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपटक चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग सन् २०२१ जुलाईमा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरदेखि काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड बराबर रहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले मोदीसँगको भेटमा प्रोटोकल बाहिरको मान्छे राखेकोबारेमा जवाफ दिन सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्दा प्रोटोकल बाहिरको ‘नौलो मान्छे’ राखिएको भन्दै जवाफ माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले दुई प्रधानमन्त्रीको भेटमा प्रोटोकल बाहिरको मान्छे राखिएको भन्दै सरकारको जवाफ माग गरेका हुन् । उनले सदन चलिरहेका बेला प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी नदिएको भन्दै आपत्तिसमेत जनाए ।

उनले भने, ‘ सदन चलिरहेका बेला प्रधानमन्त्री भारत भमणमा जानुभयो । भ्रमण गरेर आएपछि के सदनलाई जानकारी गराउनुपर्दैन ? अनि दुई प्रधानमन्त्रीबीचको वान टु वान भेट्दा प्रोटोकल बाहिरको नौलो मान्छे राखेर बस्नु भएको देखियो, यसबारे पनि जवाफ चाहन्छौ ।’

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा प्रधानमन्त्री पुत्री गंगा दाहाल सँगै रहेकी थिइन् । उनले दुई प्रधानमन्त्रीको भेटमा छोरी सँगै राखेकोमा आपत्ति जनाएका हुन् । त्यस्तै उनले विदेशी नागरिकता लिने सार्वजनिक पद धारण गर्नेमा व्यक्तिले विदेशी नागरिकता लिएको कुरा आएको छ, यसको छानबिन गरी स्वेतपत्र जारी गर्न माग गरे ।

क्यानमा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्न सांसद आचार्यको माग

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले नेपापाल क्रिकेट संघ (क्यान) मा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

बुधबारको प्रनिनिधिसभा बैठकमा सांसद आचार्यले विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा क्यानमा अनियमितता भएको कुरा आएको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।

उनले क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीयमा समावेश नगरेको गुनासो आएको आचार्यले बताए । डाक्टरको कोटामा एक जना महिलाको नाम पठाएको र त्यसलाई आईसीसीले नमानेको उनले बताए । उनले मानव तस्करीको कोसिस गरिएको र प्रधानमन्त्री कार्यालयले रोकेको प्रकरणमा पनि क्यान नेतृत्व जोडिएको आरोप लागेको बताए ।

विदेशी नागरिकता लिने विशिष्ट श्रेणीका कर्मचारीको नाम सार्वजनिक गर्न सांसद पन्तको माग

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको उच्च तहमा कार्यरत कर्मचारीले विदेशी नागरिकता लिएको भन्दै तिनीहरुलाई चिन्न पाउनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकका सांसद पन्तले ती कर्मचारीमाथि कारबाही गरेर संदनलाई जानकारी गराउन माग गरेका हुन् । उनले नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभावहरूलाई नेपाली जनताले चिन्नुपर्ने बताए ।

उनले भने, ‘पीआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर छानबिन गर्न अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे कता कता । अहिले फेला परेको छ रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभावहरू को–को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्यो ।’

मोरङको सुन्दरहरैंचामा जंगली हात्तीको छावा मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा–६ मा जंगली हात्तीको छावा मृत फेला परेको छ । बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।

अन्दाजी ५–६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।

छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ ।

‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुहुर्त

काठमाडौं । फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुहुर्त गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहुर्त गरिएको हो । फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ ।

करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ ।

रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन् ।

फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहुर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए । फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौँ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ ।

वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो ।

समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले पाँच दशमलव चार ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए । उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहेका हुन् । त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए । नामिबियाका डेविड विजाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

समूह ‘बी’मा अष्ट्रेलिया तीन खेलमा छ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी सोही समूहमा रहेको स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया तीन खेलमा एक जित र दुई खेलमा हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा छ ।

इंग्ल्याण्ड दुई खेलमा एक अङ्कका साथ चौथो स्थानमा छ । ओमान तीन खेलमा जितविहीन हुँदै विश्वकपबाट बाहिरिसकेको छ । विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।

पहिरोमा पुरिएर सङ्खुवासभामा एकजनाको मृत्यु, दुईजना घाइते

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँः माधव नेपाल

गण्डकी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्ने सोचेर नबस्ने बताएका छन् । बुधबार पोखरामा समाजवादी प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर नबस्ने बताएका हुन् ।

आफूले प्रधानमन्त्री बन्नलाई मात्र राजनीति नगरेको र पहिले नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले आग्रह गरेपछि प्रधानमन्त्री बनेको बताए ।

उनले भने, ‘हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो । प्रधानमन्त्री बनें । माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन । प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ ।’

अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको बताए । उनले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

उनले भने, ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम–गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

उनले आगामी असार १६ देखि हुने महाधिवेशनमा मिलेर जाने र त्यसका लागि पार्टीमा छलफल भइरहेको बताए । अध्यक्ष नेपालले वर्तमान समीकरण बन्दा यसअघिको समीकरणमा भएका दललाई गाली गर्न आवश्यक नरहेको बताए ।

कोठीभिरबाट देखिने हिमशृङ्खलाको दृश्य

रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा, प्युठान\र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरु छन ।

तस्बिर: कुलदीप न्यौपाने / रासस

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो ।

राष्ट्रपति पौडेलले आज स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भोलि बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ ।

साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली सङ्घ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् ।

नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई–दुई गोलको बराबरीमा टुङ्गिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो ।

बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए ।

खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई–एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई–दुई गोलको बराबरीमा सकियो ।

उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको हो । नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन । यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।

यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार–शून्य र यमनसँग दुई–शून्यले पराजित भएको थियो । बहराइनसँगको पहिलो खेलमा पाँच–शून्य र दोस्रो खेलान तीन–शून्यले नेपाल पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ । यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन् ।

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्द भएपछि दुवै टोलीलाई अर्को चरणमा जान कठिन पर्ने देखिएको छ । समूह चरणका खेलमा यसअघि नेपालले नेदरल्याण्डसँग ६ विकेटले पराजय बेहोरेको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोश्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

अब नेपालले समूह चरणअन्तर्गत वेस्टइन्डिजमा दुई खेल खेल्नेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । वेस्टइन्डिजमा हुने खेलमा नेपाली टोलीमा सन्दीप लामिछाने समेत सामेल हुनेछन् ।

नेपाल र श्रीलंकाबीचको खेल महानगरले टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेबाट प्रत्यक्ष देखाउने

काठमाडौँ । आइसीसी टी–० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५ हाँडीगाउँको सानो गौचरण र वडा नम्ब७ चावहिलको गणेशस्थानबाट प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरु वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिए ।

खेल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ ।
क्रिकेट खेलप्रेमी धेरै दर्शकलाई एउटै ठाउँमा सँगै बसेर उत्साहजनक वातावरणमा खेल हेर्न महानगरपालिकाले ठूला एलइडी स्क्रीन राख्दैछ ।
यस अघि भएको खेल टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेबाट प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह जेनेभा प्रस्थान गरेका हुन् ।

पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छन् ।

सांसदलाई पाँच करोड बजेट दिने मधेस सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मधेस प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेड करोड बजेट दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मंगलबार मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सतिश सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।

सरकारको निर्णय शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको भन्दै निर्णय बदर गरी परमादेशको आदेश जारी गर्न माग गरिएको छ । रिटको पेशी बुधबारलाई तोकिएको छ ।

सुरक्षित कारोबार विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ ।

सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरेका थिए । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए ।

उनले भने,“यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ । उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ ।”

विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचाँै वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको उल्लेख छ ।

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् । 

बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात्  चार खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात्  पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट  ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

     यस प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा  ३४ अर्ब दुई करोड ५२ लाख बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार नौ सय २२ जनाले लिएका छन् ।

कूल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार आठ सय ११ हेक्टर रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु नौ खर्ब तीन अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ ।

कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ । त्यस्तै, गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ । मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ ।

पाइलट भावना पन्तको उडान निलम्बन फुकुवा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाइएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

उनले भने, “पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उनको उडान निलम्बन फुकुवा गरिएको हो ।” नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए ३२०–२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।