`

बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापाले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा स्वीकृतिबिना अनधिकृतरूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा, गिटी, बालुवालगायतवन पैदावार उत्खनन् गरेको अख्तियारको निष्कर्ष छ ।

अख्तियारकाअनुसार सागरनाथ वन विकास परियोजना र नेपाल सरकारको स्वीकृतिबिना माछा पोखरी–१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर र बागमती माछा पोखरी–२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार गरी ३९ लाख ७३ हजार घनमिटर उत्खनन् गरेको पाइएको छ ।

पोखरी निर्माण गर्दा ३३ लाख ५९ हजार घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको र नपुग हुने वन पैदावार १३ लाख ४० हजार घनमिटर घोटाला गरेको अख्तियारले जनाएको छ।

अपुग परिमाणको मूल्य २६ करोड ८० लाख रूपैयाँबराबर हानिनोक्सानी भएको र १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोड्दा ३० करोड २९ लाख रूपैयाँ क्षति भएको दाबी गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि थापाविरुद्ध ५ करोड ३३ लाख रूपैयाँबराबर भ्रष्टाचारको अभियोगमा अर्को मुद्दा दायर भएको थियो ।

टी–२० विश्वकप–फ्लोरिडामा नेपाल र श्रीलंकाको भेट, यस्तो छ नेपालको टेष्ट राष्ट्रलाई हराउने रणनीति

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग प्रतिष्पर्धा गर्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।

त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालबाट दशवर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौँ । नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित  ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु हरु निश्चिन्त देखिएका छन् ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार आयोजना गरेको ‘सूचना प्रविधि दशक र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा  ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सम्भव हुने बताएका हुन् ।


अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत दश वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवद्र्धन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताए ।


अर्थमन्त्री पुनले सूचना प्रविधिलाई प्राथमिकतामा राखी कानुनी आधार तयार गरी सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वका लागि उच्चस्तरीय आयोग गठन गर्ने जानकारी दिए ।


उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधिपार्क सञ्चालन अगाडि बढाइने जानकारी दिँदै कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा सूचना प्रविधि पार्क बनाउने योजना सरकारको रहेको बताए ।
अरु वस्तु तथा सेवा निर्यात गर्दा बल्लबल्ल डेढ खर्बको निर्यातमा पुगेको अवस्थामा आइटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके वार्षिक  तीन खर्बको निर्यात गर्न सकिने अनुभव यस क्षेत्रका विज्ञहरुको रहेको पनि उनको भनाइ छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताइन् ।


आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणले सोही अनुरुप बजेट बनाइरहेको बताउँदै शर्माले स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार लागि परेको पनि जानकारी दिइन् ।


काठमाडौँ र बुटवलमा बन्ने सूचना प्रविधि पार्कमा निःशुल्क स्थान उपलब्ध गराउने र सार्वजनिक–निजी साझेदारीमा विभिन्न कार्यक्रम गरिने पनि सञ्चारमन्त्री शर्माले बताइन् । डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढ्ने दृढता पनि उनले प्रकट गरिन् ।


आगामी आर्थिक वर्षलाई सूचना–प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुपमा स्थापित गर्ने उनले बताइन् ।


सूचना प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत् आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने मन्त्री शर्माले स्पष्ट पारिन् ।


उनले विसं २०७६ सालमा शुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । सूचना प्रविधि क्षेत्रमा एक लाख जनशक्ति काम गरिरहेको र सरकारसँग स्पष्ट तथ्याङ्क नभएकाले गाह्रो भइरहेको समेत उनले बताइन् ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडिएस) परामर्शदाता एवम् सूचना प्रविधि क्षेत्रमा सीप तथा रोजगार विज्ञ डा अमृता शर्माले सूचना प्रविधि क्षेत्रको विकासका लागि राजनैतिक प्रतिवद्धतासहित नीतिगत स्थिरता आवश्यक रहेको बताइन् । यस वर्ष प्रविधि दशकको प्रस्थान वर्षका रुपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने उनको भनाइ छ । 


“सूचना प्रविधि दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवद्र्धक र सम्वद्र्धकका रुपमा बस्नुपर्दछ”, शर्माले भनिन् । परराष्ट्र मन्त्रालयमार्फत् ‘टेक डिप्लोमेसी’ को अवधारणा अघि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै उनले नेपालको प्रविधि उद्योगलाई विश्वभरी पुर्याउन दुतावासहरुले भूमिका खेल्नुपर्ने उनले बताइन् ।


नेपालमा अहिले प्रतिवर्ष १० हजार जना आइटी जनशक्ति उत्पादन भइरहेको र  एक खर्बको सेवा निर्यात भइरहेको जानकारीसमेत उनले दिइन् ।


अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्वाकांक्षी लक्ष्य नभई आइटीमा भइरहेको प्रगतिले गर्दा योजना भएको बताए । सूचना प्रविधि क्षेत्रका विज्ञ र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने उनले स्पष्ट पारे ।


     लोटस होल्डिङसका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आफ्नो आँकलन रहेको बताए । यो क्षेत्रमा सहजता भएमा लगानी गर्न निजी क्षेत्र तयार रहेको उनले स्पष्ट पारे ।


नेपाल उद्योग वाणिज्य महासङ्घका लगानी तथा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले अहिले सूचना प्रविधि क्षेत्रको आकार १६ दशमलव ८९ प्रतिशत वृद्धि भइरहेको उल्लेख गर्दै सरकारले लिएको लक्ष्य हासिल गर्न ३६ प्रतिशतका दरले वृद्धि आवश्यक रहेकोमा जोड दिए ।

गाजामा स्थायी युद्धविराम गर्ने अमेरिकी प्रस्ताव सुरक्षा परिषदबाट पारित

बीबीसी । संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको इजरायल–गाजा युद्धविरामसम्बन्धी योजना संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट पारित भएको छ । प्रस्तावमा ‘पूर्ण युद्धविराम’, हमासले बन्धक बनाएका मानिसहरूको मुक्ति, मृत्यु भएका बन्धकहरूको अवशेष फिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटफेरका विषयहरू छन् ।

सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले अमेरिकी प्रस्तावको पक्षमा मतदान गरे भने रुस उक्त प्रक्रियामा सहभागी भएन । प्रस्तावमा इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गरेको उल्लेख गर्दै हमासलाई समेत त्यसमा सहमत हुन आह्वान गरिएको छ ।

सम्पन्न राष्ट्रहरूको समूह ‘जीसेभन’ र विभिन्न देशले जो बाइडनले मे ३१ मा सार्वजनिक गरेको उक्त योजनाप्रति समर्थन व्यक्त गरिसकेका थिए। उक्त योजनामा तीन भाग छन् ।

सुरक्षा परिषद्मा भएको मतदानका कारण द्वन्द्व अन्त्य गर्ने गरी दुवै पक्षलाई उक्त योजनामा सकारात्मक प्रतिक्रिया दबाव पर्न सक्ने देखिन्छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले प्रस्तावित शान्ति सम्झौताका लागि समर्थन जुटाउने प्रयासमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसहित विभिन्न विदेशी नेताहरूलाई भेटेको केही समयपछि अमेरिकी प्रस्ताव राष्ट्रसङ्घबाट पारित भएको छ ।

उक्त प्रस्तावमा द्वन्द्वका कारण धेरै विनाश भएको गाजाका लागि एउटा मुख्य पुनर्निर्माण योजना समाविष्ट छ । पहिलो चरणमा बन्धक र बन्दीहरूको आदानप्रदानका साथै अल्पकालीन युद्धविराम हुने छ ।

दोस्रो चरणमा ‘शत्रुताको स्थायी अन्य’का साथै गाजाबाट इजरायली सैनिकहरूको पूर्ण फिर्तीको विषय रहेको अमेरिकी प्रस्तावको मस्यौदामा छ ।

तेस्रो चरण त्यस क्षेत्रको दीर्घकालीन उद्देश्यमा केन्द्रित छ र त्यहाँ गाजाको लागि धेरै वर्ष लाग्ने पुनर्निर्माणको योजना सुरु हुने छ।

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौथो पुस्ता हुन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको पुस्ताले धान्ला वा नधान्ला उनी यकिनका साथ भन्न सक्ने अवस्थामा छैनन् । तर, तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसकेका छन् ।

कलायात्राको २० वर्षे यात्रामा उनलाई यसपटक अपेक्षा नगरेको उपहार प्राप्त भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वाेत्कृष्ट ठहरिएको ‘२१ तारा’ ले  एक लाख पुरस्कार पायो । उक्त पुरस्कारलाई उनी बीस वर्षको मेहनतको उपलब्धि हो भन्छन् ।

प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । त्यसमध्ये उनको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ ।

परम्परागत कला सिर्जना गर्न सजिलो छैन । नियममा रहेर बनाउनुपर्ने भएकाले पनि कठिन हुने उनको अनुभव छ । त्यसमाथि कलामा निपूर्ण हुनैपर्छ । उनको उक्त सिर्जनामा पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेक ताराले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुमार्फत व्यक्त गरिएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको उनको भनाइ छ । वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको सामूहिक नाम नै पञ्चबुद्ध हो । मूर्तीकलाको तल अष्टमङ्गल रहेको छ ।

लेखक वसन्त महर्जनले काठमाडौँको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबुद्धको चित्र अङ्कित गर्ने चलन रहेको उल्लेख गरे । पञ्चबुद्धको नामक्रममा वैरोचन बुद्धलाई पाँच बुद्धको मध्यभागमा राख्ने गरिन्छ । बीचमा ठूलो काष्ठकला (ग्रीन तारा) कुँदिएको छ । त्यसको उत्पलामा विश्वबज्र छ । यसले शक्तिको प्रतिनिधित्व गर्छ ।

सबैभन्दा अगाडि मञ्जुश्री राखिएको छ । कलाकार तुलाधार भन्छन्, ‘त्यसरी राख्नुको कारण मञ्जुश्री सबैको गुरु हो । त्यसैले कसैले नाघ्नु भएन भनेर अगाडि राखिएको हो ।’ एक्काइस वटै तारालाई पहिचान दिने चिह्नहरू छन् । जसले आ–आफ्नो महत्व दर्साइदिन्छ ।

पञ्चबुद्धको मुनी धर्मरक्षकका रूपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरूपमा कुँदिएको छ । उनको सिर्जनामा नागकन्या पनि समावेश छ । बौद्धधर्मअनुसार मनको इच्छा पूरा गर्ने ताराका रूपमा २१ तारालाई लिइन्छ । चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा/एउटा ताराको छुट्टै महत्व र व्याख्या छ ।

कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाएका हुन् । एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उनको भनाइ छ । एउटा आधार र एउटा तारा छुट्टै काठबाट बताइएको छ । उनले काष्ठकला धेरै बनाए तर यो अवधारणामा भने पहिलो बनाएको सुनाए । ‘ठूलो र विस्तृतमा बनाइएको यो मेरो पहिलो हो र यसैले सर्वोत्कृष्ट पुरस्कार पाउँदा खुसी भएँ,’ उनले भने ।

साधन मालाअन्तर्गत प्रतिमा लक्षण सिद्धान्तमा आधारित रहेर बनाइएको परम्परागत मूर्तिकलामा नियम मिच्न पाइँदैन । कलाकार तुलाधरले भने, ‘यो कला नियममा रहेर नै बनाउनुपर्छ, कतै छुट भयो भने कलाको महत्व नै हुन्न, त्यसैले जसले पनि परम्परागत कला बनाउन गाह्रो हुन्छ । शास्त्रहरू जानेकै हुनुपर्छ, कला साधकले नियम बुझेकै हुनुपर्छ ।’

उनले २१ तारा बनाउन नौ महिना खर्चिएका छन् । यो परम्परागत काष्ठ मूर्तिकला एक वर्ष घरमा बस्यो । प्रदर्शनीमा लैजाने सोच थिएन तर प्रतिष्ठानबाट प्रदर्शनीका लागि अनुरोध भएपछि मात्रै उनले गएको माघमा कला पठाएका थिए ।

प्रादेशिक ललितकला प्रदर्शनीमा बागमतीको प्रतिनिधित्व गर्दै प्रदर्शन भएको उक्त कला राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भएको थियो । जसमा ११ जना निर्णायकबाट अङ्कका आधारमा तुलाधरको सिर्जना सर्वाेत्कृष्ट बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली भन्छन्, ‘लोककला आफ्नो तरिकाले बनाउन सकिने भए पनि परम्परागत कलामा जे गर भनिएको छ त्यही गर्नुपर्छ टाउको अर्काेपट्टी फर्किएको छ भने त्यस्तै फर्काइएको हुनुपर्छ । अन्य कलामा बरु फरक रूपमा प्रस्तुत गर्न सकिएला, परम्परागत कलामा त्यो छुट कलाकारलाई हुन्न, तुलाधरको सिर्जनामा पनि त्यही नियम लागू छ ।’ यसअघि प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र विशेष ललितकला पुरस्कार प्राप्त गरेका तुलाधरले यसपालीबाटै स्थापना भएको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरे ।

उनको २० वर्षको अनुभवले यो कला तयार भएको सुनाए । ‘मध्यम वर्गीय र तल्लो वर्गीय कलाकारलाई सिर्जना गरेरै दैनिकी धान्न गाह्रै छ । माथिल्लो तह जसले कामको गुणस्तर दिनसक्छ भने उसको राम्रो छ,’ उनले भने ।

उनले यसको मूल्य नतोके पनि रु १० लाखभन्दा बढी पर्ने बताए । उनले यो कला विदेश पठाउने तयारी गरेका छन् । तुलाधरलाई यसरी परम्परागत काष्ठमूर्तिकला कतिले गर्छन् भनेर खासै थाहा छैन । आफ्नो कुरा गर्दा उनी बुबाबाटै सीप सिकेको भए पनि स्वर्गीय लक्ष्मण महर्जनको कामको रस समाएको सुनाउँछन् । भन्छन्, ‘मैले लक्ष्मण महर्जनकै रस लिएको हो, उहाँ जत्तिको काष्ठकलामा कोही छैन जस्तो लाग्छ ।’ 

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सुखोई–३४ जेट “पाहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धान बाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेन विरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो ।

बेलायतमा बेरोजगारी दर वृद्धि

बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

चालु महिनाको तथ्याङले श्रम बजार विचलित हुन सक्ने सङ्केतहरू देखाउँदै छ, रिक्त पदहरूको सङ्ख्या अझै घट्दै र बेरोजगारी बढ्दै छ, यद्यपि आय वृद्धि भने अपेक्षाकृत बलियो रहेको ओएनएसले जनाएकोछ ।

विश्लेषकहरूले ६.० प्रतिशतमा आयोजित बोनस बाहेक औसत नियमित तलब वृद्धि, बैंक अफ इङ्ल्यान्डको लागि वर्णन गरेका छन् ।

अप्रिलमा ज्याला वृद्धिको लागि लामो समयसम्म चिन्ताको विषय हुने अनुसन्धान परामर्श पूँजी अर्थशास्त्रका उप प्रमुख बेलायत अर्थशास्त्री रुथ ग्रेगरीले उल्लेख गरे ।

तर रोजगारीमा तीव्र गिरावट र बेरोजगारी दर बढ्दै जाँदा, तलब वृद्धि पनि चाँडै नै दृढ गिरावटको बाटोमा फर्कने उनीहरुले जनाएका छन् ।

गत महिना मुख्य ब्याज दर १६ वर्षको उच्च ५.५२ प्रतिशतमा राखेको थियो तर बेलायतको मुद्रास्फीति निराशा जनक भएपछि गर्मीमा कटौती हुने सङ्केत गरेको छ ।

केन्द्रीय बैंकले अर्को हप्ता जुन–२० मा आफ्नो पछिल्लो ब्याज दरको निर्णय घोषणा गर्नेछ, जसको अघिल्लो दिन मे को मुद्रास्फीति तथ्याङ्क उल्लेख हुनेछ ।

बेलायतको वार्षिक मुद्रास्फीति अप्रिलमा तीन वर्षको न्यून २।३ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

शेयर बजारमा उच्च अंकको बृद्धि, पाँच अर्ब ५५ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से ३३ दशमलव १५ अङ्कले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।

विदेश पठाइदिने भन्दै तीनसय जनालाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुले तीन/चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट  पाँच लाखदेखि  १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको हो  ।

उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो होइनः देवेन्द्र पौडेल

काठमाडौं । पूर्वशिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भएपनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पौडेलले शिक्षकहरुको राजनीतिक आवद्धता मात्र खोजेर समस्या समाधान नहुने बताएका हुन् । उनले शिक्षकले विद्यालयमा कस्तो शिक्षण गरेको छ भने अनुगमन गर्नुपर्ने बताए ।

उनले भने, ‘अरु कुरामा बहकाउमा नलाग्न र शिक्षकलाई तालिम दिने, खुसी पार्नेलगायत काम गर्नेतर्फ ध्यान दिनुपर्छ ।’ पौडेलले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए । उने शिक्षकलाई गाली मात्र गरेमा समाधान नखोज्न शिक्षामन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र ? यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ ।’

उनले सबै विद्यालय र शिक्षक नराम्रा छन् भाष्य गलत भएको बताए । उनले बुटवलको कालिका मावि, चितवनको नारायणी, काठमाडौंको ज्ञानोदय माविलाई उत्कृष्ट बनाउन राजनीतिक दलमा आवद्ध शिक्षकहरुकै भूमिका रहेको बताए ।

उनले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको बताए । पौडेलले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे । उनले भने, ‘शिक्षालाई श्रम र उत्पादनसँग नजोड्ने हो भने देशले उन्नति गर्दैन ।’

पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे । शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक आवद्धता त्याग्न र नत्यागे कारबाही गर्ने चेतावनी दिँदै आएकी छन् । शिक्षामन्त्रीको कदमको अन्य राजनीतिक दलले भने विरोध गरेका छन् ।

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने

काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले आज तातो दिन र तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी ती भू–भागमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म तीन दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ताआदि हुनसक्ने सम्भावित असरहरू देखिन्छ ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउन महाशाखाले सुझाएको छ ।

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएका छन् ।

असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईकालगायत देशका आठ चलचित्र छनोट भएका महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उनले बताए । “महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । यसपटक चलचित्र भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक क्षेत्रीले भने ।

उनका अनुसार महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाईनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाईभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ छनोट गरिएका छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ छनोट भएको छ । वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छनोट भएका छन् ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुनेसमते आयोजकले जनाएको छ ।

सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौँ । विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ। बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन्। कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरूले राष्ट्रिय गान पनि। त्यसपछि पढाई सुरु भइहाल्छ। विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ।

काठमाडौँ महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो। विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरू गर्नुपर्नेमा उनीहरूसँग खेलमैदान भने छैन। विद्यालयमा उनीहरू खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन्।

कक्षा ७ मा पढ्ने सुमनलाई भविष्यमा फुटबल खेलाडी बन्ने चाहना छ। लाग्छ, विद्यार्थीको चाहना र आकांक्षा पूरा गर्न सघाउने आधार भनेको विद्यालय हो। तर विद्यालयमा मैदान नै नभएपछि उनी कहाँ फुटबल खेल्ने अभ्यास गरुन् र आफ्नो सपना पूरा गरुन् ? ‘पढाई पनि राम्रै छ, यति मात्रै हो खेल्ने र कुद्ने ठाउँ छैन’, समुन भन्छन् ‘खेल्न पाए पो स्कुल आउन मन लाग्छ।’ विद्यालयमा मैदानको अभावका कारण पर्याप्त मात्रामा खेल्न र सिक्न नपाएको उनको गुनासो छ।

खेल्न त मैदानमै मन थियो, तर कहिलेकाहीँ कक्षा कोठामै फुटबल भेटिन्छ। बालबालिका। मैदान नहुँदा विद्यार्थीहरू कोठामै फुटबल खेल्न बाध्य छन्। ‘फुटबल खेल्ने ठाउँ छैन, कक्षा कोठामै खेल्छौँ’, सोही विद्यालयका विद्यार्थी सुमन भुजेल भन्छन्, ‘खेल मैदान भए मज्जाले खेल्न पाइन्थ्यो तर हाम्रो विद्यालयमा मैदान छैन। हामीले त अहिलेसम्म बाहिर खेल्नै पाएका छैनौँ।’

विद्यालयको दुईतले भवन त छ तर बालबालिका खेल्ने मैदान भने छैन। भलिबल, फुटबल या अन्य खेल खेल्ने कुरा त परै जाओस् अरु विद्यालयमा झैँ नियमित प्राथना गर्ने, पिटी (शारिरीक कसरत) गर्ने जस्ता क्रियाकलाप गर्ने ठाउँ पनि यहाँ छैन। यहाँका बालबालिका स्कुलको दैनिक प्रार्थना पनि गर्न पाउँदैनन्। शारीरिक कसरत गर्ने पर्याप्त स्थानको अभावमा उनीहरूका सबै क्रियाकलापहरू नै कक्षाकोठाभित्रै हुने गर्दछ।

कक्षा ५ की अन्जली तिवारीलाई पनि फुटबलमै मन छ। घरमा खेल्नका लागि अभिभावकले खासै महत्व दिँदैनन्। यता विद्यालयमा मैदान त छैन नै, कहिलेकाहीँ कक्षा कोठामै पुग्ने फुटबल पनि उनी छुन पाउँदिनन्। स्कुलको ‘हाफ छुट्टी’मा उनी ढुङ्गा बटुलेर गट्टा खेल्ने, चुङ्गी खेल्दै गर्छिन्। हुन त स्टोरमा क्यारम्बोर्ड, ब्याडमिन्टनका सामग्री पनि छन्। तर पनि खेल्ने र सिक्ने वातावरण भने नभएको उनले सुनाइन्। ‘मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन’, उनी भन्छिन् ‘स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन।’ अन्जलीकी साथी आचल भण्डारीको गुनासो पनि उही छ। स्कुलमा खेल्ने र रमाइलो गर्ने निकै रहर हुँदाहुँदै प्रशस्त स्थानको अभावले मन खुम्चाएर बस्नुपरेको उनी बताउँछिन्।

बुद्धनगर आधारभूत विद्यालयकी गणित शिक्षक शान्ता पराजुलीले स्थानकै अभावका कारण बालबालिकाको अतिरिक्त क्रियाकलाप अभ्यास गराउन समस्या भएको स्वीकार गर्छिन्। उनका अनुसार खेलौनाहरू स्टोरमै थन्किएका छन्। वडा कार्यालयमा खेल मैदान उपलब्ध गराउनु भनेर निवेदन दिएको समेत उनले जानकारी दिइन्। ‘खेल्दै र सिक्दै पढाउनुपर्ने बालबालिका ठाउँकै अभावले गर्दा खुम्चिएका छन्’, उनले भनिन्, ‘वडा कार्यालयले छिट्टै नै खेल मैदानको व्यवस्थापन गर्ने भन्नुभएको छ।’

साँघुरो विद्यालयको रुपमा थापाथलीस्थित गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ। विद्यालय एक रोपनी तीन आना, तीन दाम जग्गामा बनेको छ। यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा हालेको छ। काँक्राको चिरो जस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्ने गर्दछन्। साँघुरो ठाउँमा खेल्दा धेरैपटक अरु बालबालिकालाई बलले चोट लागेर दुर्घटना समेत भएको बालबालिका बताउँछन्। पर्खालबाट बल उछिट्टिएर बाटोमा पुग्दा पर्खालबाटै मान्छे आएपछि बल पाउला भन्दै पर्खिरहनुपर्ने अवस्था उनीहरूसँग छ। ‘पर्खाल बाहिर बल जान्छ, कोही मान्छे आउलान् र बल दिन्छन् कि भन्दै कुरेर बस्छौँ’, यहाँका विद्यार्थी राहुल राई बताउँछन्, ‘मज्जाले खेल्ने र उफ्रिने ठाउँ नै छैन।’

विवादमा परेको जग्गामा ढुङ्गा र इट्टा छन्। कहिलेकाहीँ बालबालिका त्यहीँ पुगेर ठोकिन्छन् र घाइने पनि हुने गरेका छन्। विवादित जग्गाका कारण मैदान सफा र व्यवस्थित बनाउन नसकेको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकी प्रधानाध्यापक नीता पौडेलले बताइन्। काठमाडौँ महानगरपालिकाले बालमैत्री विद्यालय बनाउन, खेलकुद र अतिरिक्त क्रियाकलापमा बनाउन प्रोत्साहनस्वरुप योजनाहरू ल्याएको भए पनि विद्यालयको संरचना बालमैत्री नहुँदा पूर्ण रुपमा लागू गर्न नसकिएको उनले बताइन्।

विवादित जग्गा मात्रै विद्यालयको नाममा बनाउन सके मैदान सुन्दर र व्यवस्थित बनाउनु सकिने उनले सुनाइन्। उनका अनुसार २०५७ सालदेखि नै विद्यालयको जग्गा अदालतमा मुद्दा चलिरहेको छ। पटकपटक नगरपालिकालाई जानकारी गराउँदा समेत विद्यालयमा जग्गा ल्याउनु पर्नेमा नगरपालिकाले खासै चासो देखाएको प्रधानाध्यापक पौडेलको भनाइ छ।

मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो। विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए।

कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीसमक्ष खेलमैदान साँघुरो भएको र खेल्ने वातावरण मिलाइदिन अनुरोध गरेकी थिइन्। खड्काले सोमबार आफ्नै स्कुलको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी हुन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएकाले विद्यालयको खेल मैदान साँघुरो भएको हो।

दुई हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा खुलेर खेल्ने मैदन साँघुरो हुँदै गएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले स्वीकार गरे। काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीलाई खेल्न जरुरी रहेको बताउँदै चाँडै खेलमैदानको बनाउने योजना रहेको सुनाए।

स्थानीय तहदेखि सङ्घीय शिक्षा नीतिसम्म बालमैत्री विद्यालय हुन खेलकुद मैदानको अवस्था र जग्गा (रोपनी वा विगाहमा) अनिवार्य हुनुपर्ने उल्लेख छ। काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा पनि विद्यालयका अनिवार्य पूर्वाधार शर्तमा खेलकुद मैदान अनिवार्य हुनुपर्ने बताइएको छ।

खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। सङ्घीय र स्थानीय शिक्षा नीतिमा राखिएका बालमैत्री बुँदाहरूमध्ये खेलमैदान व्यवस्थापन गर्न चुनौती नै थपिएको शिक्षकहरू बताउँछन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। महानगरपालिकाको २०८०÷८१ नीति तथा कार्यक्रममा नै हेर्ने हो भने पनि खेलकुदमा विद्यार्थीलाई जोड दिइएको छ।

नीति तथा कार्यक्रममा शिक्षा नीतितर्फ महानगरपालिकाले भनेको छ, ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधारसहितको गरी खाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।’

गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेका अनुसार बालबालिकाको व्यक्तित्व विकासका लागि अविनार्य खेलकुद हुनुपर्छ। शैक्षिक पाठ्यक्रममा नै कक्षा १ देखि योग सिकाउने भनिएकोछ। विद्यार्थी अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरूको शारीरिक स्वास्थ्यको लागि खेलकुद अतिआवश्यक रहेको उनको भनाइ छ। कक्षा १ देखि नै योगका तीन आशन जस्तै, सब आसन, सुखासन र शिशु आसन सिकाउने शैक्षिक पाठ्यक्रममा उल्लेख भए पनि विद्यालयमा पूर्णरुपमा लागू नभएको उनल सुनाइन्। ‘खेल्ने पूर्वाधार छैन, अतिरिक्त क्रियाकलाप व्यावहारिक बन्न सकेको छैन’, उनले भनिन्,’यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार अतिरिक्त क्रियाकलापबिना बालबालिकाको शारिरीक र मानसिक वृद्धिमा असर पर्छ। शिक्षा नीतिको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्नु नीतिगत समस्या शहरीकरणको समस्या भएको उनले बताए। ‘जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनु पर्छ,’ उनले भने,’नभए, हाम्रा सहर पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन्। यसले उनीहरूको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन।’

सङ्घीय शिक्षा नियमावली २०५९ को परिच्छद १४ अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने नियमावलीमा उल्लेख छ। विद्यालयको विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख छ। यसमा भनिएको छ, ‘अतिरिक्त क्रियाकलाप कार्यक्रममा शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्नेछ।’

विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दा विभिन्न बुँदा राखिएको छ। यस अन्तर्गत विद्यालयमा राष्ट्रियताको भावना जगाउने, मनोरञ्जनात्मक तथा राष्ट्रिय संस्कृति वा कलाहरूप्रति अभिरुचि बढाउने किसिमका नाटक, नृत्य र लोकसङ्गीतको अभ्यास तथा प्रतियोगिता गर्ने, विद्यार्थीको शारीरिक विकासको लागि विभिन्न किसिमका खेलकुदहरू नियमित रुपमा अभ्यास र सञ्चालन गर्ने तथा विद्यार्थीहरूमा सामाजिक सेवा र वातावरण संरक्षणप्रति चेतना बढाउने क्रियाकलाप गर्नुपर्छ।

त्यस्तै विद्यार्थीहरूलाई शिक्षण संस्था, सामुदायिक स्थल वा त्यस्तै अन्य स्थानको सरसफाई र संरक्षण, विद्यालय बगैँचा, करेसाबारीको निर्माण, वृक्षरोपण र साक्षरताजस्ता कार्यक्रमहरूमा संलग्न गराउन प्रोत्साहन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय, ऐतिहासिक, सामाजिक, धार्मिक पर्वको महत्व तथा नैतिकता सम्बन्धमा प्रवचन गर्न लगाउने, स्काउट, जुनियर रेडक्रसजस्ता संस्थाका एकाई खोल्न प्रोत्साहन गर्ने व्यवस्था राखिएको छ। 

पार्टी विधि पद्धतिमा चलाउनुपर्छः नेता केसी

चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिं केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले मंगलबार आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले भने,“पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।” नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उहाँले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गरेका थिए ।

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतीप्रति राष्ट्रसङ्घको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेका छन्  ।


महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति चरम दुःख व्यक्त गर्दै अपरेसनको सन्दर्भमा सयौँ प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै सयौँ घाइते भएकोमा निन्दा गरेको प्रवक्ता स्टेफन डुजारिकले स्पष्ट पारेका छन्।  


मानविय जीवनमा हानि एउटा त्रासदी भएको जनाउदै सबै पक्षलाई द्वन्द्वको प्रभाव भोगिरहेका नागरिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सबैले आ–आफ्नोे दायित्व पालना गर्ने डुजारिकले दैनिक प्रेस ब्रीफिंगमा उल्लेख गरे ।  


संयुक्त राष्ट्रसङ्घका मानवीय अभियानका लागि पुनः सक्षमताको आवश्यकता औँलाउदै उनले  विश्व निकायले तत्काल युद्धविराम, मानवीय कार्यमा पूर्ण, निर्वाध पहुँच र बन्धकको रिहाइको लागि आह्वान गरिरहेको  बताए ।  


इजरायली सेनाले शनिबार मध्यगाजाको नुसिरात शरणार्थी शिविरबाट चार जना बन्धकलाई उद्धार गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार उक्त कारबाहीमा दुई सय ७४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै छ सय ९८ जना घाइते भएका छन् ।


संयुक्त राष्ट्रसङ्ले चार जना बन्धक मुक्त भई  प्रियजनसँग पुनर्मिलन भएको खबरलाई स्वागत गर्दछ । गुटेरेसले सबै बाँकी बन्धकको तत्काल र बिना शर्त रिहाइको लागि आह्वान गरिरहेको डुजारिकले जनाए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल

मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गरेका छन् ।

विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरे । उनले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका र अन्य विश्वका नेताले समर्थन गर्ने बताए ।


ब्लिन्केनले जुन १० देखि १२ सम्म  इजिप्ट, इजरायल, जोर्डन र कतार भ्रमण गर्ने बताए ।


विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री ब्लिङ्केनले इजरायलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिए । उनले टेबुलमा रहेको प्रस्तावले इजरायलको उत्तरी सीमामा शान्तिको सम्भावना खुला गर्ने कुरा दोहोरÞ्याए ।


विदेशमन्त्रीले इजरायली र प्यालेस्टिनीलाई दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता प्रदान गर्ने प्रयासको महत्त्वलाई जोड दिँदै द्वन्द्वपछिको अवधिका लागि योजना बनाउन जारी कूटनीतिक प्रयासको बारेमा प्रधानमन्त्री नेतान्याहूलाई सुझाव दिए । 


गत हप्ता, ब्लिन्केनले इजरायली रक्षामन्त्री योव ग्यालान्ट र इजरायली मन्त्री बेनी गान्ट्जसँग गाजामा पूर्ण युद्धविराम हासिल गर्ने इजरायलको प्रस्तावको बारेमा कुरा गरेका थिए । 


“यो प्रस्तावले बन्धकलाई उनीहरुको परिवारसँग पुनर्मिलन गराउनुका साथै यो प्रस्तावले इजरायलको दीर्घकालीन सुरक्षा चासोलाई अगाडि बढाउनेछ”, अमेरिकी मन्त्रीले भने । 


बन्धकको रिहाइको सम्बन्धमा इजरायल र हमासबीचको प्रत्यक्ष वार्ता केही सर्तमा असहमतिको कारण केही समयअघि रोकिएको थियो । 

हाल संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार गाजामा बन्धकको रिहाइ र स्थायी युद्धविराम को लागि अमेरिकी प्रस्ताव गरेको हो ।  

अमेरिकाले तयार पारेको उक्त प्रस्तावले हमासलाई राष्ट्रपति जो बाइडेनले मे ३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ । 


देशले आफ्नो भिटो शक्ति प्रयोग नगर्ने निर्णय गरेपछि प्रस्तावको पक्षमा १४ मत, यसको विरूद्ध शून्य र रूसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित भएको थियो । 


स्वीकृत गरिएको प्रस्तावको उद्देश्य तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्नु रहेको छ ।

बागमतीमा सुरु भयो श्रमाधान रोजगार मेला

ललितपुर । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी ललितपुरमा मंगलबारदेखि बागमती प्रदेश श्रमाधान रोजगार मेला सुरु भएको छ । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आयोजना गरिएको रोजगार मेलाको विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठ, बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला महत्वपूर्ण हुने बताइन् । यस कार्यक्रम रोजगारी सिर्जनाका लागि धेरै प्रभावकारी भएको भन्दै यस्ता कार्यक्रमलाई विश्वविद्यालयमा लैजाने गरि मन्त्रालयले तयारी गरिरहेको उनले जानकारी दिईन् ।

स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले श्रमाधान रोजगार मेला आयोजना गरिएको हो । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेका छन् भने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहेका छन् ।

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

 चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् ।

गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दुःख बढेको उहाँका बुबा रामबहादुर थिङले बताए ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो ।

अस्पतालले दुई महिना २५ दिन लगाएर आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरेको गरिदियो । अहिले उनी सामान्य हिँङ्डुल गर्न सक्ने भएका छन् ।

थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भने, ‘हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।’

चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी सात लाख ४६ हजार १७० रुपैयाँ र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी आठ लाख ७१ हजार ४६८ रुपैयाँ तिर्नुपर्नेमा सबै निःशुल्क गरिएको जानकारी दिए ।

थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको देवकोटाले बताए । ‘आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार निःशुल्क गरेका छौँ’, देवकोटाले भने ।

दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भने, ‘हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।’

रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्छन् । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन ।

विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उनी पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।

पहिचानमा आधारित १०+१ मोडलको प्रदेशमा जानुपर्छः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबारदेखि जनकपुरधाममा जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा अध्यक्ष यादवले नेपालको राजनीतिमा जरो गाडिएका सामन्तवादी, पुँजीवादी र साम्यवादी शक्तिहरूको विकल्पमा समाजवादी लोकतान्त्रिक धारको सबल र सक्षम क्रान्तिकारी समाजवादी शक्ति निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

उनले प्रतिवदेनमा प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्र विरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेकाले त्यसविरुद्ध संघर्षको आँधीबेहेरी सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा अध्यक्ष यादवले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस ठूला–ठूला भ्रष्टाचारमा डुबेको र वैचारिक रूपमा विमुख भइसकेको उल्लेख गरेका छन् ।

कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन नसक्ने गरी थङथिलो भइससकेको यादवले उल्लेख गरेका छन् । कांग्रेसको राजनीतिक लाइन समाजवाद भए पनि व्यवहार उल्टो भएकोले यादवले कांग्रेससँग धेरै कुरा नमिल्ने बताएका छन् । त्यसैगरी, उनले नेकपा एमाले एमाले पतनको बाटोमा लागेको उल्लेख गरेका छन् ।

एमालेमाथि विश्लेषण गर्ने क्रममा यादवले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा उदाङ्गिएको पनि उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले माओवादी केन्द्रका नेता, कार्यकर्ता, ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त रहेका उल्लेख गरेका हुन् । उनले माओवादी केन्द्र राजनीतिक रूपमा एमालेभन्दा भिन्न नभएको र चिन्तन र व्यवहारमा ढुलमुले, अवसरवादी चरित्र हाबी भएको दाबी गरेका छन् ।

राप्रपालाई धार्मिक भावनालाई राजनीतिक शक्तिमा दोहन गर्न र शक्तिमा फर्किन प्रयासरत शक्तिको रूपमा विश्लेषण गरेका छन् ।

अध्यक्ष यादवको प्रतिवदेनमा भनिएको छ, ‘जनताले गरेको लामो संघर्ष, त्याग र बलिदानद्वारा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिकाविरूद्ध प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्रविरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेका छन् । यस्ता शक्तिहरूबाट मुलुकलाई जोगाउन हामीले एक्लै वा लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू, पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर संघर्षको आँधीबेरी सिर्जना गर्नुपर्दछ।’

उनले प्रदेशहरूको संरचना त्रुटिपूर्ण रहेको उल्लेख गर्दै पहिचानमा आधारित १०+१ मोडलको प्रदेशमा जानु आवश्यक रहेको उल्लेख गरेका छन् ।

https://drive.google.com/file/d/1kTnCPYP5XYhpaia4ri3FjUEm_K-5QyvB/preview

प्रतिनिधिसभामा सांसदको चासो, खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

काठमाडौँ । प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पु-याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि के–के विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तापक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराए । सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन भने सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

यस्तै, सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन् । सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको दुई मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको जानकारी गराईन । साथै उनले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन र अन्य अन्य पुलको पनि समयमै मर्मत गर्न आग्रह गरिन् । सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले काठमाडौँ गरिब हटाउने नभई गरिबी हटाउन माग गरिन् ।
सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे । यस्तै, सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गरे ।

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

रामबहादुर थापा, गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती। वरिपरि हरिया वनपाखा र खर्क। सिरसिरे लेकाली हावा। उस्तै चराको चिरबिर। तलपट्टि सुसाइरहेको मादी खोला। यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन्। ग्रामीण पर्यटनका अनुपम धरोहर हुन्।

अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ। मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ। पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन्। सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ। जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ।

मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ। एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना। ढुङ्गाकै आँगन र बाटो। पुरानो वास्तु झल्काउने झ्यालढोका। स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन्। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन्। प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन्।

पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ। सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ। बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन्।

सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताए। ‘बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्’, उनले भने, ‘कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो।’

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए। सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन्। कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ। पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन्। पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताए।

मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताए। ‘पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो’, उनले भने, ‘पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन्।’ सिक्लेसमा महिनामा ५०/६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग छ।

वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन्। होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ। सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ। सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए। ‘पहिले गोठालाहरू लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ’, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ।’

सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उनले सुनाए। विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक भएका थिए। त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो। जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ।

सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन्। पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन्। पोखरादेखि दुई÷अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ। पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ।

सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ। दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ। दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन्। सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा। दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ। ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिइन्। होमस्टेमा आन्तरिक पर्यटकका लागि रु एक हजार दुई सयको दैनिक प्याकेज छ। जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान÷बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ।

‘खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन’, होमस्टेका अध्यक्ष गुरुङले भनिन्, ‘सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ।’ पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन्। पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ।

मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन्। गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ। ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उनले बताए।

‘कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ’, वडाध्यक्ष भोजबहादुरले भने, ‘ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ।’

ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उनले बताए। ‘मादी गाउँपालिकामा पर्ने सबै पर्यटकीय गन्तव्यस्थलाई समेटेर बृहत् पर्यटन गुरुयोजना बनाउन आवश्यक छ’, उनले भने, ‘पर्यटकीय पूर्वाधार र प्रवद्र्धनमा ध्यान दिन सकियो भने यस क्षेत्रले पर्यटन व्यवसायबाट ठूलो लाभ उठाउन सक्छ।’

पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ। ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताए।

हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन्। लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन्। निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन्। महिलाहरूले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ।

विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ। जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन्। विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन्। ‘गाउँले जनजीवन, संस्कृति, रहनसहन र पदयात्राको आनन्द बटुल्न पर्यटक यहाँ आउँछन्’, वडाध्यक्ष गुरुङले भने।

प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशका समस्या समाधानबारे केके ठोस कुरा भयो, जवाफ दिनुपर्छः रघुजी पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने बताए ।

उनले भने, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ ।”

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आउनुभएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भन्नुभएका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताए । साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे ।

“भारत भ्रमणमा केके भयो ? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार होे । यो संसद्ले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ ।”

सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि उस्तै रहेपनि प्रधानमन्त्रीले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

गण्डकीमा देवकोटा उर्जा र दीपक मनाङे भौतिक मन्त्री नियुक्त

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । मंगलबार नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् ।

देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि विरामी लाभान्वित

पर्वत । लामो समयसम्म सामान्य औषधोपचार सेवा प्रवाह हुँदै आएको पर्वत अस्पतालले हालै विशेषज्ञ सुविधा विस्तार गरेपछि स्थानीय लाभान्वित भएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए । कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए ।

अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलव्ध हुने र यसका लागि डा हेमन्त बाँस्तोला र डा मिलन अबाल सेवामा रहने छन् ।

त्यसैगरी जनरल सर्जन सेवातर्फ डा शिशिर देवकोटाले सेवा दिनेछन् । डा सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसूतिसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा अब जिल्लामै पाइने छन् ।

यस्तै शरीरमा गाँठागुठी भएका, पाइल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाइटिसलगायत विभिन्न शल्यक्रिया सेवा पनि यही अस्पतालाट प्रदान हुने अध्यक्ष गिरीले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा हेमन्त बाँस्तोलाले यो सेवासँगै जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे ।

अस्पतालले गत चैतदेखि उपचारका लागि आउने बिरामीको सहजताका लागि बहिरङ्ग सेवा १२ घण्टा सञ्चालन गर्दै आएको छ । पहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सेवा सञ्चालन भइरहेको थियो ।

दिउँसो मात्र बहिरङ्ग सेवा सञ्चालन गर्दा बिहानबेलुका बिरामीले निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासोपछि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सेवा सञ्चालन गर्न थालिएको समितिका अध्यक्ष बाँस्तोलाले बताए ।

अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसैघण्टा उपलब्ध हुने उनले जानकारी दिए । यसबाट दैनिक मजदुरीमा जानेदेखि शिक्षक र कर्मचारी लाभान्वित भइरहेका छन् ।

“सेवा विस्तार गरिएको समयमा सेवा लिन आउँदा थप शुल्क लाग्दैन । नागरिककै सहजताका लागि आफूहरू थप समय अस्पतालमा खटिन तयार भएपछि यो सम्भव भएको हो”, उनले भने,“थप गरिएको समयमा पनि स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बीमामार्फत नै सेवासमेत उपलब्ध हुनेछ ।”

सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले दैनिक काम छाडेर उपचार गर्नुपर्ने बाध्यतासमेत हट्दै भएको छ ।

सेवा विस्तार गरे पनि अस्पतालमा अझै जनशक्ति अभाव छ । यो समस्या समाधानका प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीको माग रहेको छ ।

यस अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको छ ।

बयलपाटा अस्पताल सञ्चालनमा सहयोग गर्न सांसद पाण्डेको माग

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्  ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले  अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए । उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे ।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सरकारले जीबी राईलाई देश भन्दामाथि राख्योः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसद ज्ञानेन्द्र शाहीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले फाइल खोल्छौं खोल्छौं भन्ने तर फाइल खोल्ने काम नभएको भन्दै तत्काल फाइल खोल्न माग गरेका हुन् ।

उनले ठूला फाइल खोल्छु भन्ने गृहमन्त्री अहिले मौन बसेको भन्दै आपत्ति जनाए । उनले ठूला फाइल खोल्छौं भन्ने सरकारले जीबी राईलाई नेपाल देशभन्दा पनि माथि राखेको आरोप लगाए ।

उनले भने, ‘गिरिबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ? सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै प्रदेशको मुख्यमन्त्री सरह व्यवहार भएको बताए । उनले भने, ‘उहाँ व्यक्तिगत रुपमा पुष्पकमल दाहालको रुपमा नगएर नेपालको प्रधानमन्त्रीको हैसियतले जानुहुन्छ। त्यो सम्मान हेर्दा कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेका छन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर गरिरहेका छन्।’

उनले भारतीय प्रधानमन्त्री आउँदा नेपालमा विमानस्थलमा ताजझाम र सडक नै बन्द गरिने गरेको भएकोबारे पनि प्रश्न उठाए ।

सकियो एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथिको छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजपादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ ।

पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो । राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो ।

यही जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाउन समयसीमा तोकिएको छ । बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसाल तथा बागमती इन्चार्ज डा गङ्गालाल तुलाधरको उपस्थितिमा ती दस्तावेजमा छलफल गरिएको थियो । छलफलबाट निस्केको निष्कर्षलाई समेटेर केन्द्रलाई बुझाउने तयारी गरिएको जनाइएको छ ।

दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले जानकारी दिए ।

सोही कमिटीले काभ्रेबाट प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तवीर तामाङ, छवि हुमागाईँलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ । पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेकाले कामको मूल्याङ्कन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको सचिव लम्सालले जानकारी दिए ।

महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीले पार्टी केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान छ । महाधिवेशनका लागि निर्माण गरिएको प्रतीक चिन्हमा नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

कम्युनिष्ट पार्टीको झण्डा राखिएको प्रतीक चिन्हमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ भन्ने सन्देश उल्लेख छ ।

पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ । महाधिवेशनलाई सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय कमिटी निर्माण गरिएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी खोलियो नक्साल ढुङ्गेधाराको निकास

काठमाडौँ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए ।

समस्या पहिचान गर्ने क्रम गएको बर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन साह हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गरेका थिए । उनको अवलोकनपछि कामले तीब्रता पायो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।

हिति पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन । यसका समस्या पत्ता लगाउनु थियो । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लाग्यो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।’ प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए ।

निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो, शाक्यले योजना सुनाए ।

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ । यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’ यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ । यो विवरणले विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भन्छन्, ‘ढुङ्गेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो ।’

पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन । धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमूनाको रुपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रुपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो ।’ भनिएको छ । विवरणमा धार्मिक स्थलका रुपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन ।

विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ, ‘ढुङ्गेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’

हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ । विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ ।

ढुङ्गेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्, ‘धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै वि. सं. ६७८ मा स्थापना भएको बताउनुभएको छ ।’ हितिको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्नुहुन्छ, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन । अहिले काम भएको हो ।’

यसपटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो । यसबाट परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको, सचिवालय सदस्य शाक्यको भनाइ छ ।

‘अहिलेसम्म प्राप्त भएको उपलब्धीलाई संस्थागत र दिगो बनाउन स्थानीय सहभागिता रहने गरी संयन्त्र बनाएर हिति संस्कृति संरक्षण र पुस्तान्तरणको काम गर्नेछौँ ।’ वडासचिव पौडेलले योजना सुनाए ।

निर्माण रोकिएको शीतभण्डार पुनः सुरु गर्न किसानको आग्रह

टीकापुर (कैलाली) । कैलाली जिल्लाको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।

दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि विसं २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ । ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ । यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबीच निर्माण सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ ।

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ ।

सात करोड छ लाख ६९ हजार छ सय ९० मा निर्माण गर्ने सम्झौता भएको छ । शीतभण्डारमा ८० प्रतिशत अर्थात् पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ आयोजना र २० प्रतिशत अर्थात् एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ उपभोक्ताको लगानी रहनेछ । अहिलेसम्म ९३ लाख २५ हजार खर्च भएको छ ।

शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको, यसमा ८५ हजार छ सय ७७ मेट्रिक टन आलु उत्पादन हुने गरेको बताउँछन् ।

उनका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा एक हजार पाँच सय ४५ हेक्टरमा आलुखेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

आयोजनाले चालु आर्थिक वर्ष २०८०/८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि १० लाख र आलु विकास (क्षेत्र विस्तार तथा भण्डारण समेत)मा ४० लाख खर्च गरेको छ । आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि एक करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताए ।

“आयोजनाले आलुखेतीमा किसानलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ”, उनले भने, “शीतभण्डार बनेमा अझ किसानको आलुखेतीमा आकर्षण बढ्नेछ ।”

उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ मध्ये उपभोक्ताले कुलो समितिमार्फत ७४ लाख सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपालिकाले दिने सहमति भएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिकै पालामा सहमति भए पनि यस आवमा भुक्तानी दिने तयारी भएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताए । “अनुदानपछिको किसानको अवस्था थाहा हुँदैन, त्यो पनि अध्ययन गरिनुपर्छ”, उनले भने, “जानकी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेको छ । हामीले गहुँखेतीबाट सुरु गरेका छौँ ।” उनले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताए ।

समयमै शीतभण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारणका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने बताएका छन् ।

किसान सागर न्यौपानेले अन्य ठाउँका शीतभण्डारमा भण्डारण सामान अपुग हुँदा सञ्चालनमा समस्या रहेकाले यहाँ दुईवटा पाँच–पाँच सय क्षमताका च्याम्बर बनाउन माग गरे ।

किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गरे । “शीतभण्डार निर्माणका लागि रकम सङ्कलन गर्न छ महिना बढी दौडधुप गर्यौं, फेरि शेयर रकम उठाउन गाह्रो छ”, रानी जमरा कुलरिया मूल कुला समितिका सचिव परशुराम महतोले भने, “कार्यविधिमा संस्थापक र साधारण शेयर सदस्यको व्यवस्था छ, शीतभण्डार निर्माणपछि सञ्चालनका लागि रकम उठाउनुपर्छ ।” उनले शीतभण्डार निर्माण प्रक्रिया थाल्दा किसानले आलु उत्पादन गर्ने प्रतिबद्धता गरेको पनि बताए ।

किसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताए । किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने कुरामा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताए । उनले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताए ।

कार्यक्रममा रानी जमरा कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गरेका छन् ।

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला गरेको छ । सोमबार न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको हो ।

अदालतले यसअघि नै उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको हो । आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै गिरीकी पत्नी अरती रावलले मुद्दा दायर गरेकी थिइन् ।

नेसपाले भन्यो-फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत

काठमाडौं । नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको विश्वासको मत संविधानले दिएको अधिकार अन्तर्गत नै रहेको दाबी गरेको छ ।

नेसपाका प्रवक्ता कृष्णप्रसाद शर्माले सोमबार राति विज्ञप्ति जारी गरी चुनावमा स्वतन्त्र अस्तित्वसहित सहकार्य भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले गत आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरी चुनावमा भाग लिएको कुरा बिदितै छ । नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो।’

नेसपाले निर्वाचन अयोगले समेत आफ्नो पार्टीको नाममा प्रमाणपत्र दिएको दाबी गरेको छ। तर नेसपा सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ ।

संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उनलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा देवकोटा माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा छन् ।

१० महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

काठमाडौँ ।  चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार  आठ सय ९३ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । 

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।

बोर्डले सोमबार सूचना जारी गरी स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।

सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताइन् । उनले भनिन् “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”

राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आयोः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले पटक–पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताएका छन् ।

“जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन”, उनले भने ।

      नेता डा कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए । उनले आचार्य साहसीक व्यक्तित्वको धनी भएको उल्लेख गरे ।

     त्यस अवसरमा कांग्रेस नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री शैलजा आचार्य भएको बताए ।

उनले देश विकासका लागि स्व आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गरे । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउनका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । पूर्वमन्त्री डा रिजालले सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री शैलजा भएको बताए । पार्टीलाई एकतावद्ध बनाएर अगाडि लैजानका लागि शैलजाले गरेको योगदान अविस्मरणीय रहेको डा रिजालले बताए ।

      कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले विपी कोइरालाको विचारलाई आम जनमानसमा पुर्याउन शैलजाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । विपी विचारको उत्तराधिकारीका रुपमा शैलजालाई लिनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसमा नीति, नेतृत्व र नैतिकताको सङ्कट देखिन थालेको उल्लेख गरे ।

नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले निष्ठा, इमान र लगनको त्रिवेणी शैलजा आचार्यमा भएको बताए । “शैलजा आचार्य जलस्रोत मन्त्री हुँदा साना जलविद्युत् आयोजनालाई अगाडि बढाउने नीति लिनुभएको थियो, जसका कारण अहिले हामीले जलविद्युत्मा फड्को मार्न सकेका छौँ”, उनले भने ।

      शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले शैलजा आचार्यको निष्ठा र आदर्शलाई देशव्यापी रुपमा फैलाउन आवश्यक रहेको उल्लेख गरे । शैलजा आचार्य स्मृति पोलिक्लिनिक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको सम्झनामा ग्रामीण भेगमा सीपमुलक तालिम प्रदान गरी आयआर्जनसँग जोड्दै अगाडि बढ्दै गएको बताए ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध  १४ लाख ५१ हजार पाँच सय ५१ बराबरको बिगो दाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।

वैशाख मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो  सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।


   विसं २०८० असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।


    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा  १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई  १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।


त्यस्तै, बैंक तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा  एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३ दशमलव आठ प्रतिशतले बृद्धि भई  दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । गत बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक प्रतिशत रहेको छ ।


राष्ट्र बैंकका अनुसार  चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।


    गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशत बराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात एक सय पाँच दशमलव तीन र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९ दशमलव दुई प्रतिशत रहेको छ ।


राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति  तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात दुई दशमलव चार, निर्यात तीन दशमलव छ र कुल वस्तु व्यापार घाटा दुई दशमलव तीन प्रतिशतले घटेकोछ ।


    गत वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च  १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन  आठ खर्ब ३१ अर्ब ९३ करोड रहेको छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय आठ दशमलव एक प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । २८ जना प्रदेश सभा सदस्य भने उनको विपक्षमा उभिएका थिए । सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्।
देवकोटा बाबुराम भट्टराई निकट हुन् । नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो । यससंगै पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजिव गुरुङले पनि विश्वासमा मत दिएका छन् ।

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित

अर्घाखाँची / नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित भएका छन् । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित भएका छन् । केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ ।

६ वर्षपछि बन्यो वडा कार्यालय भवन

मुग्लिन (चितवन) / शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।

रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । भवन निर्माणको काम ६ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे बिबाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उनको भनाइ छ ।

“भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भने । उृद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडाध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो ।

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौं / उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका हुन् ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चूनौति प्रति गम्भीर हुनुपर्ने उनले बताए । उनले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।

उपराष्ट्रपति यादवले वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सवै निकायबीचको सहकार्य आवश्यक रहेको बताए ।