`

नेसपाले भन्यो-फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत

Nepal One HD २८ जेठ २०८१ २२:५३
प्रमुख खबर

काठमाडौं । नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको विश्वासको मत संविधानले दिएको अधिकार अन्तर्गत नै रहेको दाबी गरेको छ ।

नेसपाका प्रवक्ता कृष्णप्रसाद शर्माले सोमबार राति विज्ञप्ति जारी गरी चुनावमा स्वतन्त्र अस्तित्वसहित सहकार्य भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले गत आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरी चुनावमा भाग लिएको कुरा बिदितै छ । नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो।’

नेसपाले निर्वाचन अयोगले समेत आफ्नो पार्टीको नाममा प्रमाणपत्र दिएको दाबी गरेको छ। तर नेसपा सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ ।

संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उनलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा देवकोटा माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा छन् ।


प्रतिक्रिया