`

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् ।

कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौँ आउँदा पनि १३ घण्टा समय लागेको उल्लेख गर्दै उनले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा जोड दिए ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ ।

सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढ्ने उनले बताए ।

कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैनः महामन्त्री थापा

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा महामन्त्री थापाले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्  ।


महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।     


      “कांग्रेसको सरकार बनाउने र गिराउने चाहना छैन, कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ, सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन”, उनले भने ।
      
महामन्त्री थापाले पछिल्लो समय राष्ट्रिय अर्थतन्त्र कमजोर भएकाले त्यसलाई ठीक गर्न कांग्रेसले पहलकदमी लिने बताए । उनले कांग्रेसले तीन सय ३२ स्थानीय तहमा विजय हासिल गरेर कतिपय स्थानीय तहमा राम्रा काम गरे पनि त्यसको प्रचारप्रसार हुन नसकेको उल्लेख गरे ।


      महामन्त्री थापाले घरघरमा पुगेर पार्टी र आगामी कार्यदिशाका बारेमा छलफल गर्नुपर्नेबेला आएको बताए । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको प्रस्ताव पारित गरेर अगाडि बढ्ने उल्लेख गरे । आगामी बैठकले पार्टीका भ्रातृ संस्थाका बारेमा निर्णय लिने उनले जानकारी दिए ।
      
कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले काठमाडौँका जनता सचेत भएकाले सोहीअनुसार पार्टीले रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । “सङ्गठनलाई सशक्त बनाउन जनसम्पर्क र जनताका चाहनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने ।


     पौडेलले गिरिबन्धु टि स्टेटका बारेमा अदालतले फैसला गरेकाले त्यसबारे कांग्रेसले कुरा उठाउँदै आएको बताए । गिरिबन्धु टि स्टेटका बारेमा सहकारी जस्तै कुरा उठाउन जरुरी भएको उनले बताए । 


पौडेलले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन भइसकेकाले पदमा बस्ने नबस्ने गृहमन्त्री रवि लामिछानेले सोच्नुपर्ने बताए । उनले भने, ‘तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नाङ्गै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन ।’


नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य रमेशकुमार खड्काले पार्टीको सङ्गठनलाई बलियो बनाएमात्र सबै क्षेत्रमा कांग्रेसले जीत हासिल गर्नसक्ने बताए ।
      
नेपाली कांग्रेस काठमाडौँका उपसभापति गोकर्ण केसीले कांग्रेसले अहिलेसम्म देशको विकासका लागि गरेको राम्रा काम जनतामाझ लैैजानुपर्ने बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सचिव पञ्चकुमारी श्रेष्ठले जनताका समस्या समाधानका लागि कांग्रेस लाग्नुपर्ने बताइन् ।
      
कांग्रेस काठमाडौँ महानगरपालिका–३ का सभापति विसम केसीले नेपाली कांग्रेसलाई बलियो बनाउन मतदाताका घरघरमा पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । 

‘सतीदेवी’को टिजर सार्वजनिक

काठमाडौं । लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको बुझ्न सकिन्छ ।

छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले बताउँछ । आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ ।

फिल्मको टिजरबाट फिल्मको कथा मालिकामाथि नै केन्द्रित रहेको देखिन्छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

टी–२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो ।

खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए । लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे । यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हिर्काए ।

सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए । अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए । उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए ।

श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । वानेन्दू हसरंगाले दुई विकेट हात पारे । डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए ।

यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् । बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीन तीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।

जितसँगै नेपाल पनि रहेको समूह डीमा बंगलादेशले २ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।

पर्सामा चिडियाखानाको जग्गा अतिक्रमण

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ । चिडियाखानाको घेरबार गर्ने काम आधा सकिएको छ । करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ । केही स्थानीयले जग्गा अतिक्रमण गरेको उनले बताए ।

“यसबाट चिडियाखानाको घेरबार गर्ने काम प्रभावित भएको छ”, उनले भने, “सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाउने योजना बनाएका छौँ ।”

चिडियाखाना  एक अर्ब सात करोडको लागतमा निर्माण गर्न लागिएको हो । विसं २०७९ असोजदेखि चिडियाखाना निर्माण थालिएको हो । चिडियाखाना ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले प्रस्तावित चिडियाखानाको अतिक्रमित जग्गा रेखाङ्कन गरी हटाउने प्रक्रिया अघि बढाइने बताए ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकले चिडियाखाना रहेको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरिएको छ । “चिडियाखानाको सीमाङ्कन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ ।” चिडियाखाना निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।

दरबार रोधीले १६ औं वार्षिकोत्सवमा वरिष्ठ लोकगायक बस्नेतसहित पाँच कलाकारलाई सम्मान गर्ने

काठमाडौं । दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ ।

दरबारमार्गमा रहेको यो रोधीले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा बस्नेतलाई भव्य समारोहकाबीच सम्मान गर्ने भएको हो । ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका ८१ वर्षिया बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याएको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए ।

गिरीका अनुसार लोकदोहोरी गायनमै पुर्याएको योगदानको कदर गर्दै लोक गायक बद्री पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिनेछ । त्यस्तै पत्रकारका तर्फबाट ऋषि धमलालाई विशेष सम्मान दिने निर्णय भएको हो ।

हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकहरुलाई सम्मान गर्दै आएको दरबार रोधीले यसपटकबाट कलाका क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारहरुलाई समेत दरबार रोधी पत्रकारिता पुरुस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

अनलाइन खबरका विष्णु शर्मा, नयाँ पत्रिका दैनिकका अन्वेशन अधिकार, सेतोपाटीका सुशील नेपाल, रातोपाटीका नरेन्द्र रौले र मज्जाको टिभी डटकमका आयशा दाहाललाई पाँच–पाँच हजार नगद राशीसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

दरबार रोधी क्लबले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तीन दिन भव्य रुपमा वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । ३२ जेठ शुक्रबार हुने उद्घाटन समारोहमा माननीय संस्कृति मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी विशेष अतिथिका रुपमा सहभागी हुनेछन् ।

कार्यक्रममा पशुपति शर्मा, दुर्गेश थापा, टिका पुन, पुर्णकला विसी, करिष्मा ढकाल लगायत दर्जनौं कलाकार तथा मोडलहरु सहभागी हुनेछन । ‘दोहोरी साँझ लोकदोहोरी कलाकारको करिअरको पहिलो खुड्किलो हो, लोकदोहोरी संगीतको पहिलो पाठशाला र रियाज गर्ने थलो पनि हो,’ दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरी भन्छन्, ‘यही थलोबाट आफ्नो सांगितिक करिअर सुर गरेर धेरै कलाकार स्थापित भए ।

हामीले हाम्रो वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं । त्यही अवसरमा संगीत र पत्रकारितामार्फत लोकदोहोरी क्षेत्रमा योगदान पुर्याउने निर्णय गरेका हौं ।’

बजेटमाथिको छलफलसँगै अघि बढ्दै विधेयकहरु

प्रकाश सिलवाल, काठमाडौँ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ ।

संसदीय शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणको कामको व्यवस्थापन संसद्कै कार्यविधिबाट हुन्छ । नीति निर्धारण तथा कानुन निर्माणमा दलहरु त्था सांसदहरुबीचको सघन संवाद र लोकतान्त्रिक विधिको उच्चतम प्रयोगले यी कार्यहरुमा उत्प्रेरणा पैदा गर्ने गर्दछ । जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेकाले पनि संसदीय गतिविधि, निर्णय र निर्देशनको अनिवार्यताको कल्पना संविधानले गरेको छ । यस सन्दर्भमा संसदीय गतिविधि निर्वाध सञ्चालन हुनु र जनसवालका विषयका साथै सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकमाथि खुला छलफल हुनुले लोकतन्त्रको सौन्दर्यकै अभिवृद्धि गर्छ ।

दलहरुबीच मतैक्यता नहुँदा थालनीका दिनहरुमा बैठक सञ्चालन सहज हुन नसकेको सङ्घीय संसद्को चालु अधिवेशनका कामकारबाही अहिले निर्वाध बन्दै गएका छन् । आगामी आवको बजेट प्रस्तुतियता नियमित बैठकहरु र छलफल जारी रहेपछि सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत पदाधिकारी, राजनीतिक दलका नेता, सांसद र संसद् सचिवालयका कर्मचारी कार्यसूचीका आधारमा कार्यजिम्मेवारी सम्पादन गर्न व्यस्त देखिनुहुन्छ । संसद्का बैठकका विशेष र शून्य समयमा सांसदहरुले आफूलाई लागेका जनजीवन र समसामयिक विषयमा विचार राख्ने क्रम जारी छ । सो क्रममा राजनीतिक छेडछाडको दोहोरी पनि चलेकै देखिन्छ । सहजरुपमा सञ्चालन भएका बैठकमा सांसदले राखेका विचारलाई जनताको सार्वभौमसत्ताको प्रयोगकै अवसरका रुपमा लिन सकिन्छ ।

यसबीचमा यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक आर्थिक वर्ष २०८१÷८२ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य (सैद्धान्तिक) छलफल सम्पन्न भएको छ । दुवै सदनमा सांसदबाट सो विषयमा उठाइएका प्रश्नमाथि मन्त्री पुनले जवाफ दिइसकेका छन् । मन्त्री पुनले विगत वर्षमा गरिएको आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाए । उनले उत्पादन र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गर्दै बजेटले समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको उल्लेख गर्दै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ सरकारले ध्यान दिएको स्पष्ट गर्दै आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइएको जानकारी दिनुभयो । छलफलमा सांसदहरुले विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका विषयमा अर्थमन्त्री पुनले गम्भीरतापूर्वक लिएको देखिन्थ्यो ।

प्रतिनिधिसभामा यही जेठ २२ गते बजेटको छलफल चलिरहँदा राष्ट्रियसभामा मन्त्री पुनले जवाफ दिन जानुपर्ने भएकाले प्रतिनिधिसभाको बैठकको छलफल चल्दाचल्दै उहाँको खोजी भए पनि १५ मिनेटका लागि बैठक स्थगन गर्नुपरेको थियो । दुवै सदनमा उही समयमा एकै विषयमा छलफल चल्दाका यस किसिमका समस्या विगतमा पनि नदेखिएका होइनन् ।

विगतमाझैँ यस वर्ष पनि सत्तापक्षका सांसदहरुले मूलरुपमा बजेटको समर्थन र विपक्षी सांसदले आलोचना गर्ने क्रम देखियो । सत्तापक्षकै सांसदबाट असन्तुष्टिका स्वर पनि बजेटमाथि गुञ्जिएका छन् । उदाहरणका रुपमा नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्टयाइनु सकारात्मक रहे पनि प्रस्तावित कार्यक्रम तथा रकम विनियोजनबीचको समुचित व्यवस्थापन नभएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सरकारको आगामी आवको बजेट यथार्थमा आधारित नभई महत्वाकाङ्क्षी भएको गरे । कांग्रेसकै सांसद डा आरजु राणा देउवाले आगामी वर्षको यस बजेटलाई थप प्रभावकारी र कार्यान्वयनमुखी बनाउन बुँदागत रुपमा सुझाव दिइन् । सत्तापक्षकै सांसदले बजेटको स्वामित्व कसले लिने भन्ने प्रश्न गर्दा बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने देखिन्छ । अर्थमन्त्री पुनले ती सबै सुझावलाई रचनात्मकरुपमा ग्रहण गरेको बताउनुभयो । संसद्का आगामी बैठकमा विनियोजन विधेयक र आर्थिक विधेयकमा छलफल हुनेछ ।

बजेटमाथिका छलफलमा सांसदहरुको पातलो उपस्थिति र छलफलमा भाग लिएका कतिपय सांसदको प्रस्तुति प्रखर हुन नसक्नुका क्रम पनि यसबीचमा देखिएका छन् । छलफलमा भाग लिने सदस्यका लागि समय निर्धारण गरिएपछि स्वचालितरुपमा माइकको लाइन काटिने अभ्यास अहिले पनि छँदैछ । यसैबीचमा इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले जेठ २२ गतेको प्रतिनिधिसभा बैठकमा आफ्नो पहिलो मन्तव्य राखेका थिए ।

सांसदबीच वादप्रतिवाद 

यस साताका बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता योगेशकुमार भट्टराईका अभिव्यक्ति राजनीतिक दोहोरीका रुपमा चर्चामा रहे । कांग्रेस नेता शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर गर्न सरकारलाई आग्रह गरेका थिए भने एमाले नेता भट्टराईले छानबिनबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका थिए ।

महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुनु सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षी दलको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरुको असहमति रहेको दर्ज गरे । महामन्त्री शर्माले गिरीबन्धु टि स्टेटका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसको सरकारका समयमा जग्गा बिक्री गरिएको जस्ता आरोप लगाएकामा चिन्ता व्यक्त गर्र्दै यदि त्यसो हो भने छानबिन गरेर कारबाही गर्न चुनौती दिए । महामन्त्री शर्माले काठमाडौँको न्युरोडको सडक निर्माण विवादमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पक्ष लिए भने एमाले नेता भट्टराईले प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाट गरेको आलोचनाको विरोध गरे ।

संसदीय छानबिन समिति गठन र कार्यारम्भ

गत वैशाख २८ गते शुक्रबारदेखि सुरु भएको चालु बजेट अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभामा पहिलो दिनको बैठकदेखि नै प्रतिपक्षीको अवरोध र नारावाजीको शृङ्खला सुरु भएको थियो । पछि प्रमुख दलहरुबीच जेठ १५ गते सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो र संसद्को गत्यावरोधको अन्त्य पनि भयो । संसदीय छानबिन समिति गठनमा सहमति नभएको भए जेठ १५ गते नेपाल सरकारको बजेट प्रस्तुतिको कार्यसूची प्रभावित हुन्थ्यो । अध्यादेशबाटै भए पनि सरकारले अनिवार्य रुपमा सोही दिन बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताको पालना गर्नुपर्ने अवस्था थियो । तर त्यसो हुन पाएन, बजेट भाषण संसदबामै प्रस्तुत भयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले सहकारी समस्याको समाधान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसदको कामकारबाहीमा अवरोध गर्दै आएका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनमार्फत यही जेठ १ गते प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिमा भने संसद अवरुद्ध भएन । तर त्यसपछि लगातारका अवरोधले नीति तथा कार्यक्रममाथि सहजरुपमा छलफल र जवाफ प्रस्तुति हुन पाएन । संसदीय छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीसहित सदस्यहरुले औपचारिक पत्र बुझेर कार्यारम्भ गरिसक्नुभएकाले सहकारी समस्याका विषयमा अब संसदमा विवाद उत्पन्न नहोला भन्न सकिन्छ तर समितिको कार्यविधिबारे प्रमुख दलहरुबीच आ–आफ्ना अडान भने छँदैछन् ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा यही जेठ २३ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सम्पन्न भई समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय भएको छ । समितिका सभापति थापाले निर्धारित समय (तीन महिना) भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेको जानकारी दिए । उक्त समितिका सदस्यमा नेकपा (एमाले)बाट थापा र सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

अघि बढ्दै विधेयकहरु

यसबीचमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ संसद्का बैठकमा पेस गरेका थिए । ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव जेठ २४ गतेको बैठकले बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाकोे बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेका थिए।

प्रतिनिधिसभाबाटै सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरेपछि विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित नेपाल राष्ट्र बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणका सामग्री स्वदेशमै छपाइ गर्न बाटो खुलेको छ ।

नाट्टा अध्यक्षमा थपलिया

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्।


निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका थिए।

नाट्टाको ५७औं वार्षिक साधारणसभा एवम् निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा युविका भण्डारी विजयी भएकी छन्। सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौड्यालले जानकारी दिए।

यस्तै, सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी भएको निर्वाचन अधिकृत पौड्यालले बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थपलियाले सरकारको आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरागर्न आफूले पहल गर्ने बताए। उनले हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसक्ने उल्लेख यसलाई खारेज गर्न सरकारसँग माग गरे।

अध्यक्ष थपलियाले भैरहवा र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

टी–२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ । न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ । आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो । आयरल्याण्ड यसअघि भारतसँग पराजित भएको थियो ।

खेलमा आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि क्यानडाको सुरुवात खराब रह्यो तर अन्तिममा टोलीले १ सय ३७ रनको सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । १३८ रनको लक्ष्यको जवाफमा आयरल्यान्डको टोलीले अन्तिम ओभरमा कडा संघर्ष गरे पनि टोली विजयबाट १२ रन मात्र टाढा रह्यो ।

पहिले ब्याटिङको निमन्त्रणा पाएपछि क्यानडाका नवनीत धालिवालले ६ रन बनाए भने आरोन जोन्सनले १४ रनको योगदान दिए । ३ नम्बरमा ब्याटिङ गर्दै परगट सिंहले उत्कृष्ट १८ रन बनाए पनि उनी पनि चाँडै नै पभेलियन फर्किए ।

क्यानडाले एक समयमा ५३ रनमा ४ विकेट गुमाएको थियो तर त्यहाँबाट निकोलस किर्टन र श्रेयस मोभाले ७५ रनको महत्वपूर्ण साझेदारी गरे । किर्तनले ३ चौका र २ छक्का सहित ४९ रन बनाए भने श्रेयसले ३७ रनको उत्कृष्ट पारी खेले । आयरल्याण्डका लागि क्रेग योङ र ब्यारी म्याकग्राथीले २–२ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका ओपनरहरूले टोलीलाई सुस्त सुरुवात गराए । पल स्टर्लिङ र एन्ड्रयु बालबर्नीले ५.४ ओभरमा २६ रन जोडे । यसपछि आयरल्यान्डले लगातार अन्तरालमा विकेट गुमायो र ५९ रनको स्कोरमा आयरल्याण्डका ६ ब्याट्सम्यान पभेलियन फर्किए ।

मार्क एडेयर र जर्ज डकरेलले सातौं विकेटका लागि ६२ रनको साझेदारी गरे पनि अन्तिम ओभरमा मार्क एडेयर ३४ रन बनाएर आउट भए भने अर्को छेउमा डकरेलले ३० रन बनाएर अविजित रहे र आयरल्यान्डले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको हो । क्यानडाका लागि जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ विकेट लिए भने जुनैद सिद्दिकी र साद बिन जाफरले एक–एक विकेट लिए ।

मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त

काठमाडौं । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो । एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए ।

उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अब मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन् । उनको सपथ ग्रहण समारोह आगामी आइतबार हुने भएको छ ।

यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो । एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ । २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन् ।

यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनले हरेक पटक एनडीएमा आबद्ध दलहरुलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ ।

सुमन पाण्डे पाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित

काठमाडौं । एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्ष सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित भएका छन् । सन् २०२४–२०२६ अवधिको लागि अन्तर्राष्ट्रिय मुख्यालयमा उनका प्रतिद्वन्द्वी अमेरिकी
गुआमका जेराल्ड पेरेजले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध चयन भएका हुन् ।

पाटाको पाँच सदस्यीय पर्यवेक्षक बोर्डले पठाएको चुनावी नतिजालाई पाटाको शुक्रबार बसेको साधारणसभाले अनुमोदन गरेको हो । सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटाको यो तहको जिम्मेबारीमा पहिलो पटक प्रतिनिधित्व भएको हो ।

पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा थिए । सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भई १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटन आदान प्रदान वा व्यापार विस्तारमा सदस्य राष्ट्रका साथ सहयोग तथा सहकार्य गर्दै आएको छ ।

१९७५ देखि पाटा सदस्य रहेको नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछि संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम साथै ६ पटकभन्दा बढी साहसिक पर्यटन मेला, २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट आयोजनामा सक्रिय सहयोग गरेको थियो ।

आफ्नो ३५ वर्ष लामो व्यावसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत व्यापक विधामा संलग्न पाण्डे ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)मा अध्यक्ष, नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य, एरलाइन अपरेटर एसोसिएसन अफ नेपालमा महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा–नेपाल च्याप्टरमा अध्यक्ष भइसकेका छन् ।

एनसेलको सरकारविरुद्धको रिटमाथि जेठ २९ गते पूर्ण सुनुवाइ हुने

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलले सरकारविरुद्ध दायर गरेको रिट पूर्ण सुनुवाइका लागि यही जेठ २९ गतेको पेसी तोकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी जेठ २९ गतेको पेसी तोक्न आदेश दिएका हुन् ।

एनसेल आजियाटाका तर्फबाट रमेश घिमिरेले आफूमाथि अनावश्यक कर निर्धारण गर्न खोजेको भनी रिट दायर गरेका थिए । रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो ।

एकाएक अग्नि सापकोटा किन गए एमाले केन्द्रीय कार्यालयको अवलोकनमा ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र  सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञाशा राखेका थिए ।

उनको  जिज्ञाशाबारे आफूहरुले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए ।

बास्केटबल टोली चीन जाने

काठमाडौँ ।  छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्नेभएको छ ।

यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।

चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनिष र निकेश त्यो टोलीका सदस्य थिए । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले  शुक्रबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गरे । सदस्य–सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहो–याउने विश्वास व्यक्त गरे । 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन पाँचवर्षपछि सार्वजनिक

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सरकारलाई बुझाएको ५ वर्षपछि सार्वजनिक गरिएको छ । जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषदको २०७५ आषाढ ३२ को निर्णयवाट तत्कालिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो ।

आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते सरकारलाई बुझाएको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठले आयोगका पदाधिकारीहरुसँग बिहीबार प्रतिवेदनकाबारेमा छलफल गरेकी थिइन् ।

शिक्षामन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन् । उनले भनेकी छन्,‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो । उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ ।’

देशको समग्र शिक्षा प्रणालीलाई एउटै पद्धतीबाट चलाउन विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० वर्षभित्र सेवामुखी बनाउँदै गुठीमा रुपान्तरण गर्ने लगायतका सार्वजनिक शिक्षाको पक्षमा आयोगले सुझाव दिएको छ ।

उक्त सुझाव प्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरुले लविङ गरेपछि उनीहरुको स्वार्थ संरक्षण गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन नै गुपचुप बनाएका थिए ।

आयोगले प्रत्येक पाँच वर्षमा शिक्षण अध्यापन अनुमतिपत्रको नवीकरण गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा अनुमतिपत्र सम्बन्धी काम गर्नको लागि एउटा स्वायत्त शिक्षण परिषद गठन गर्नुपर्ने समेत सिफारिस गरेको छ । त्यस्तै आयोगले विद्यालयका प्रधानध्यापकलाई विद्यालयको सम्पूर्ण प्राज्ञिक व्यवस्थापनको स्वायत्तता दिनुपर्ने सिफारिस गरेको छ।

https://drive.google.com/file/d/1mgM3ufe4u3xK8ytWOlGfeb4kHVdKN46F/preview

ब्याजदर यथावत रहने भारतीय केन्द्रीय बैङ्कद्वारा जानकारी

भारतीय केन्द्रीय बैङ्क (आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने बताएको छ ।

युरोपेली केन्द्रीय बैङ्कसहित दुई प्रमुख केन्द्रीय बैङ्कले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् ।

भारतमा मुद्रास्फीति सन् २०२२ को ७.८ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।

भारतीय रिजर्भ बैङ्कका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्य वस्तुको मूल्य वृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैङ्क सचेत रहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हाँसिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो ।

विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ ।

शान्ति शिखर सम्मेलनले युद्ध अन्त्य गर्न सहयोग गर्ने जेलेन्स्कीको विश्वास

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति ल्याउन यस महिना स्विट्जरल्यान्डले आयोजना गरेको शिखर सम्मेलनले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समय पछि फ्रान्सेली संसद्लाई सम्बोधन गर्दै बताएका हुन् ।

पहिलेदेखि भइआएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा हुने यस्तो सहयोग निष्पक्ष शान्तिका लागि अझ धेरै आवाश्यक रहेको उनले बताए ।

दोस्रो विश्वयुद्धको ‘डी डे’ अवतरणको ८० वर्षपछि युरोप दुर्भाग्यवश शान्तिको महाद्वीप नभएको उनले बताए । उत्तरी फ्रान्सको नरम्यान्डीको तटमा एलाईड सैनिकहरु उत्रिएको ऐतिहासिक दिनलाई ‘डी डे’ भनिन्छ ।

युरोपको सुरक्षाको कुञ्जी युक्रेनमा भएको बताउँदै उनले वर्तमान नियन्त्रण रेखामा शान्ति स्थापना हुन नसक्ने उल्लेख गरे ।

एसिया र अफ्रिकामा निरन्तर नयाँ क्षेत्र खोजिरहेको रूस औपनिवेशिक साम्राज्य नभई युक्रेनमाथि नियन्त्रण बिना एउटा सामान्य राष्ट हुनुपर्ने उनको धारणा थियो ।

मानहानी मुद्दामा राहुल गान्धीलाई जमानत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा भारतको एक अदालतले शुक्रबार उनलाई जमानत दिएको छ ।

५३ वर्षीय काङ्ग्रेस नेता गान्धीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूद्वारा ल्याइएका थुप्रै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको थियो भने गत वर्ष मानहानीको मुद्दामा दोषी ठहर भएपछि उनलाई केही समयका लागि संसद् सदस्यका लागि अयोग्य घोषित गरिएको थियो ।

मोदी सरकारद्वारा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्ने मुद्दाहरूमा आपराधिक कारबाहीको सामना गर्ने धेरै शीर्ष विपक्षी नेताहरूमध्ये उनी एक हुन् । गान्धीले उक्त अभियोगमा हिरासत जीवन बस्नुपरेको भने थिएन ।

कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले भने, “उहाँ स्वतन्त्र रहने कि नरहने भन्ने विषयमा भएको पाँच मिनेटको प्रक्रियागत सुनुवाइमा उहाँलाई जमानत दिइएको हो ।”

कर्नाटक राज्यका अन्य दुई वरिष्ठ काङ्ग्रेस नेतालाई गत हप्ता नै जमानत दिइएको थियो । गान्धीलाई गत वर्ष सन् २०२३ मा गुजरातको एउटा छुट्टै मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो तर भारतको सर्वोच्च अदालतमा अपिलमाथि सुनुवाई गर्दै उनलाई जेल बस्नु नपर्ने फैसला आएको थियो ।

यद्यपि उक्त सजायले विपक्षी नेतालाई संसदबाट केही समयका लागि अयोग्य घोषित गर्न बाध्य बनाएको थियो तर सर्वोच्च अदालतको फैसलापछि उनीविरूद्धको आरोप निलम्बन भएको र संसद् सदस्यका रूपमा पुनः स्थापित भएका थिए ।

मोदी र भाजपाले राष्ट्रव्यापी चुनाव जितेको केही दिनपछि शुक्रबार उक्त मुद्दाको फैसला आएको हो । कम बहुमतका कारण भाजपाले गठबन्धन साझेदारसँग निर्भर हुन बाध्य भएको छ ।

आलोचकहरूले प्रधानमन्त्री मोदी र उनको पार्टीले राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न न्याय प्रणालीको प्रयोग गरेको आरोप लगाएका छन् ।

अमेरिकी थिंक ट्यांक फ्रिडम हाउसले भाजपाले ‘राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन सरकारी संस्थाहरूको बढ्दो प्रयोग गरेको’ उल्लेख गरेको छ ।

कंग्रेसको नेतृत्वमा विशाल विपक्षी गठबन्धनको सदस्यसमेत रहनुभएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा यसै वर्ष जेल परेका छन् ।

केजरीवाललाई गत महिना केही समयका लागि जमानत दिइएको र यसले उनलाई चुनावमा प्रचार गर्न अनुमति दिएको थियो तर मतदान सकिएपछि उनी हिरासतमा फर्किएका छन् ।

म्याग्दीमा एउटै गाउँमा केराखेतीबाट तीन करोड आम्दानी

म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गरेका छन् । विगत ६ वर्षदेखि व्यावसायिक केराखेती सुरु गरेका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गरेका छन् ।  

यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बताए । खेती गर्न सजिलो, लगानी धेरै नहुने र उत्पादन भएको केराको सहज बजारीकरण हुने भएकाले परम्परागत अन्नबाली छाडेर नगदेबालीको रुपमा केराखेती विस्तार गरेको उनको भनाइ छ । कार्कीले अहिले वार्षिक ६ लाख भन्दाबढी आम्दानी हुने गरेको जानकारी दिए ।  

कार्की जस्तै स्थानीय चन्द्रबहादुर घिमिरेले पनि १० रोपनी बारीमा केराखेती गरेका छन् । धानखेती गर्दा धेरै खेताला चाहिने र लगानी अनुसारको उत्पादन नहुने भएपछि केराखेतीमा लागेको उनले बताए ।

“केरा लगाएको दुई वर्षमा फल दिन सुरु हुन्छ । एउटा बोट लगाएपछि आफैँ घारीको रुपमा विस्तार हुन्छ । यो वर्ष थप तीन रोपनी खेतमा केरा लगाउन सुरु गरेको छु, अहिले मासिक रुपमा १५ देखि २० हजारको केरा बिक्री हुँदै आएको छ”, उनले भने ।

खबरा क्षेत्रमा चन्द्रबहादुर कार्की, सोवित शर्मा, प्रेमबहादुर कुँवर, राजीप घिमिरे, डोलेन्द्र सापकोटा, गणेश जिसी, रामकृष्ण खड्का, ध्रुव सापकोटा, मानबहादुर थापालगायतले प्रत्येकले १० रोपनी बढीमा केरा खेती गर्दै आएका छन् ।

बेनी नगरपालिका–२ को सानो खबरा, ठूलो खबरा, अम्बोट, रोटेपानी, बगरफाँटलगायत बस्ती केराखेतीको पकेट क्षेत्र मानिन्छ । यो क्षेत्रका करिब दुई सय ५० किसानले ६ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आएका खबरा केरा पकेट विस्तार कार्यक्रमका संयोजक सोवित शर्माले जानकारी दिइन् । उनका अनुसार सिङ्गो गाउँ नै केराखेतीमा लागेपछि यहाँका स्थानीयको आर्थिकस्तरम सुधार हुँदै गएको छ । 

गत वर्षमा केरा बिक्री गरेर गाउँमा  तीन करोड भित्रिएको संयोजक शर्माले जानकारी दिइन् । “गाउँमा केराखेतीको लहर चलेको छ, उपयुक्त उर्भर भूमि भएकाले पनि केराखेतीमा लागेकाहरु उत्साहित बनेका छन्”, उनले भनिन्,“उत्पादन भएको केरा खरिद गर्न बेनी र बागलुङ बजारबाट व्यापारी गाउँसम्म आइपुग्छन् ।”

यस क्षेत्रमा चिनीचम्पा, हजारिया, धुर्से, मुरेलगायत प्रजातिका केरा उत्पादन हुने गरेको संयोजक शर्माले बताइन् । उनका अनुसार खबरा क्षेत्रमा परम्परागत रुपमा घरायसी प्रयोजनका लागि केराखेती हुँदै आएकामा एक दशक अघिबाट केराको व्यावसायिक खेती सुरु भएको हो । 

गाउँका अधिकांश किसानले धान, गहुँ, मकै लगायतका परम्परागत खाद्यबाली लगाउन कम गरिसकेका छन् । खेतीयोग्य जमिन अधिकांशमा केराखेती विस्तारको अभियान चलेको छ । केरामा अत्यधिक सम्भावना देखिएपछि बेनी नगरपालिकाले यस क्षेत्रमा केरा पकेट विकास कार्यक्रम सञ्चालन गरेर व्यावसायिकता र क्षेत्र विस्तारमा सहयोग गर्दै आएको छ ।

गत वर्षदेखि सुरु भएको केरा पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले क्षेत्र विस्तार, थोपा सिँचाइ, तालिम, औँजार उपकरण, मल, बिरुवालगायत क्षेत्रमा अनुदान सहयोग गर्न थालेको छ ।

गतवर्ष नगरपालिकाको ११ लाख र किसानको  ११ लाख साझेदारीमा एक सय रोपनी बढीमा केराखेतीको क्षेत्र विस्तारसँगै मल, बिरुवा र औजार उपकरणमा सहयोग गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिइन् ।

उनका अनुसार, चालु आर्थिक वर्षमासमेत नगरपालिकाले ६ लाख र समुदायको ६ लाख साझेदारीमा केराका बिरुवा वितरणसँगै थोपा सिँचाइ विस्तार र केराको बहुआयामिक उपयोगिताको सन्दर्भमा तालिम सञ्चालन गरिएको छ । गतवर्ष छ हजार दुई सय बोट केरा विस्तार गरिएकामा चालु आर्थिक वर्षमा थप तीन हजार पाँच बिरुवा लगाएर खेती विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी  दिइन् ।

केराको व्यावसायिक खेतीगर्दै आएका यहाँका किसानले फल र बोट दुवैबाट आयआर्जन गर्न थालिसकेका छन् । केराको थामबाट रेशा निकालेर फाइबर, धागो, कपडा र सेनेटरी प्याड बनाउने र खेर गएको थामको थुलोबाट कम्पोष्ट मल बनाउने तालिम लिएपछि केराखेतीमा लागेका किसानले बोट र फल दुवैबाट आयआर्जन गर्न थालेका कृषि शाखा प्रमुख ढुङ्गानाले बताइन् ।

गर्मीयाममा केराको बजार अभाव नहुने भए पनि चिसो मौसममा बजार अभाव हुने भएकाले स्थानीयले केराबाट पाउडर, चिप्स, बिस्कुट बनाउने प्रविधिको खोजी गर्न थालेका उनको भनाइ छ । 

सरकार परिवर्तन हुँदा राजदूतलाई फिर्ता बोलाउने बिगतदेखिको परम्परा हो

काठमाडौं / सरकारले बिभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा राजदूतलाई पनि फिर्ता बोलाउने बिगतदेखिको परम्परा रहेकाले यसपटक पनि बिभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाइएको बताइन् । उनले बिगतदेखि नै यस्तो परम्परा चलिआएको भन्दै उनले यसलाई नियमित प्रक्रियाका बारेमा बुझ्न आग्रह गरिन् ।

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदिको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तीक स्वीकृति दिने निर्णय भएको बताइन् । त्यस्तै आवश्यक सेवा सञ्चालन ऐन बमोजिम तोकिएका आवश्यक सेवामा हड्ता गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

बैठकले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने र जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने

काठमाडौं / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतकोे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको भन्दै एक महिनाभित्रै नियमावली आउने बताएका हुन् । नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चूनौतिका बिषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए ।

यसअघिका बिभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय आएको उनको भनाइ छ ।

मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थीरता कायम हुन सकेन : मन्त्री शर्मा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थीरता कायम हुन नसकेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उनले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थीरता कायम हुन नसकेको बताएकी हुन् ।

कुनै पनि एउटा पार्टीको बहुमत नभएको अवस्थामा मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेकाले यहि बिषयलाई अन्यथा रुपमा बुझ्न नहुने उनको भनाइ छ । मन्त्री शर्माले केन्द्रको सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको भन्दै मुलुकको परिवर्तनप्रति सकारात्मक भाष्य सिर्जना गर्न सफल भएको दावी गरिन् ।

त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको बताइन् । मन्त्री शर्माले आईटि दशकको अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिनइन् । सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानुनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।

उनले सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित रहेको पनि बताइन् ।

देशभरका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न सरकारलाई समितिको निर्देशन (भिडियो सहित)

काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण मा तीनतहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै मुलुक भर रहेका त्यस्ता जग्गाहरुको यकिन अभिलेखिरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो । बैठकले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभरी पुन नापी गरि व्यवस्थापन गर्न निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखिकरणहरुलाई संरक्षण गर्न पनि निर्देशन दिएको छ भने सरकारले उपलव्ध गराएका सार्वजनिक जग्गाहरुमा फरक प्रकृतिमा प्रयोग गर्ने, अनाधिकृत रुपमा कव्जा गर्ने र व्यक्तिको सम्पतीको नाममा दर्ता गरि सार्वजनिक सम्पतीको दुरुपयोग गर्नेलाई कारवाही गर्न पनि भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पोखरेलले जानकारी दिए ।

बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखिकरण एकीकृत रुपमा राख्ने प्रणालीको बिकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाइ पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

ब्रेन ट्युमरका कारण

प्रा डा राजीव झा ।
 शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ । प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ । कहिलेकाहीँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन् । 


सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ ।

ब्रेन ट्युमरका कारण

ब्रेन ट्युमर तथा क्यान्सर किन हुन्छ भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको सन्देश पनि ब्रेन ट्युमर जोखिमको कारण पत्ता लगाउनु भन्ने छ । ब्रेन ट्युमर हुनुको एउटा कारण यो जेनेटिक असरबाट हुने गर्छ । शरिरका कोषिकाहरु सामान्य रुपमा नभएर असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या आउने गर्दछ । कतिपयलाई पुख्र्यौलीका आधारमा पनि भएको पाइन्छ । मानिसको उमेर बढ्दै जाँदा शरिरका अङ्गहरु क्रमशः कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना पनि बढ्दै जाने गर्दछ । हेपाटाइटिस, एड्सजस्ता रोग लागी कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहेको छ ।


ब्रेन ट्युमर हुनुको अर्को कारण खराव विकीरणलाई पनि लिन सकिन्छ । एक्सरे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानीकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको एसआरएस अर्थात ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरिरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउँछ । अनुसन्धानबाट यस्तो अवस्था पाँच प्रतिशतमा आएको देखिन्छ । तर यो प्रविधि निकै प्रचलित रहेको छ । चोटपटक लागेर पनि टाउकोमा ट्युमर पलाउन सक्छ । दिमागको इन्फेक्सनका कारण पनि ट्युमर हुनसक्छ । मोटोपन भएका व्यक्तिमा ब्रेन ट्युमर हुने जोखिम अझ बढी रहन्छ । पछिल्लो समय धेरै मोवाइल फोन प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिएको छ । 


बच्चा पेटमा रहेदेखि वृद्धावस्थासम्म ट्युमरको सम्भावना रहन्छ । अझ खासगरी बच्चाहरुमा यो झन जटिल रहेको पाइन्छ । किनकी उनीहरुले आफूभित्र भएको समस्या राम्ररी भन्न नसक्ने हुँदा पछि झन जटिल अवस्था सिर्जना भएको छ । उनीहरुको टाउकोको आकार बढ्यो, उमेरअनुसारको गतिविधि देखिएन भने मात्रै अभिभावकले चिकित्सक कहाँ ल्याउँछन्, त्यतिबेला उनीहरुको अवस्था गम्भीर बनिसकेको हुन्छ । बच्चाको शरिर कमजोर हुने भएकाले पनि झन जटिल समस्या आउने गर्दछ । 


मानिसमा सयभन्दा बढी प्रकारका ब्रेन ट्युमरहरू हुन सक्छन् । मुख्य रुपमा तिनलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा  नबढ्ने (बेनाइन) र अर्को बढ्ने (म्यालिग्नेन्ट) । बेनाइन ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन् । तर कहिलेकाहीँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याई गम्भीर समस्या ल्याउन सक्छ । वेनाइनको पनि पहिलो र दोस्रो स्टेजका विरामीको उपचारबाट रोगको पूर्ण रुपमा निको गर्न सकिन्छ भने म्यालिग्नेन्टलाई क्यान्सर भन्न मिल्छ । ब्रेन ट्यूमरका तेस्रो र चौथो स्टेजका विरामीलाई क्यान्सर भइसकेको हुँदा पूर्ण रुपमा निको पार्न सकिंदैन । म्यालिग्नेन्ट ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छ । यिनलाई तिनीहरू सामान्यतया छिटो बढ्छन्  । अन्य क्यान्सरभन्दा मस्तिष्कको क्यान्सर घातक मानिन्छ । त्यस्ता विरामीको उपचारपछि पनि पुनः पलाउने सम्भावना बढी हुन्छ । शल्यक्रियासँगै किमोथेरापी र रेडियोधर्मी गर्दागर्दै पनि अर्को ठाउँमा क्यान्सर देखिन सक्ने सम्भावना उच्च हुन्छ । 


के के हुन सक्छन् त लक्षण ?

ब्रेन ट्युमर भएमा सुरुसुरुमा टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुआती लक्षण हो । ब्रेन ट्युमर भएको मानिसलाई टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जान्छ, औषधि खाँदा पनि ठीक हुँदैन । अचानक बिहान उठ्ने बित्तिकै आँखामा अध्यारो हुने, चक्कर पनि आउँछ र चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ । यसले शरीरमा छटपटाहट पैदा गर्छ । टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै अस्पताल जानुपर्छ । 


कतिपयलाई छारे रोग वा पटकपटक बेहोस हुने पनि हुन्छ । राम्ररी सुन्न नसक्ने, गन्ध थाहा नपाउने, राम्ररी नदेख्ने, हिँड्दा पनि लर्बराएर हिँड्ने जस्तो हुन्छ । दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्युमरको लक्षण हुन सक्छ । ब्रेन ट्युमरको लक्षण थाहा नपाउँदा कतिपयलाई साइकेटिकको औषधि खुवाउने वा मानसिक रोगको उपचार गराउने गरिन्छ । यसले गर्दा पनि त्यस्ता विरामीको समयमा उपचार हुन नसकी पछि जटिल समस्या आउने गरेको छ । 

कसरी गरिन्छ उपचार ?

मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरे पनि बेवास्ता गरेका कारण समयमै रोगको सिकार भइसकेका बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन । विरामीलाई समयमै अस्पताल ल्याउन सकिएमा यसको उपचार पनि हुन सक्छ । सिटीस्क्यान, एमआरआई, पेट स्क्यानजस्ता परीक्षणबाट ब्रेन ट्युमर तुरुन्तै थाहा हुन्छ । यी परीक्षणबाट कुन तहको रहेछ भन्ने झण्डै ९५ प्रतिशत थाहा लाग्दछ । ब्रेन क्यानसर पुष्टि भएपछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । थप उपचार भनेको रेडियो थेरापी र किमोथेरापी नै हो । ट्यूमरको अवस्था हेरेर रेडियो थेरापी वा किमोथेरापी कुन दिने वा दुवै दिने भन्ने निर्णय गरिन्छ । ब्रेन ट्युमरको उपचार धेरै किसिमकबाट गर्न सकिन्छ । औषधि नदिई सामान्य परीक्षणबाट पनि निको पार्न सकिन्छ । 


निराशाजनक छैन नेपालको अवस्था


ब्रेन ट्युमरको उपचार काठमाडौँलगायत देशका दुई/तीनवटा शहरमा मात्रै सीमित छ । ब्रेन ट्युमरका विरामीको शल्यक्रियादेखि थेरापीलगायतका कार्यहरु गर्न वीर अस्पतालमा गत वर्ष राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना भएको छ तर बजेटको अभावमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था अझै हुन सकेको छैन । यद्यपि, ब्रेन ट्युमरको उपचारको स्थितिलाई हेर्दा नेपालको अवस्थालाई नराम्रो भन्न मिल्दैन । दक्षिण एशियामा भारतपछि नेपालको अवस्था निकै राम्रो छ । यद्यपि नेपालको स्वास्थ्यको आधार ३० वर्षअघिकै छ, खासै सुधार हुन सकेको छैन । वीर अस्पतालमा रहेको सुविधा कम्तिमा प्रदेश स्तरमा विस्तार हुन आवश्यक छ । 


ब्रेन ट्युमरको उपचार निकै महंगो पनि हुने भएकाले विपन्न वर्गका मानिसले उपचार गराउन समस्या हुने हुँदा राज्यले नै सहयोग गर्नुपर्ने हुन्छ । हाल सरकारले क्यान्सरका बिरामीलाई रु एक लाख सहयोग गरेको छ, यसलाई उल्लेख्यरुपमा बढाउन आवश्यक छ । वीर अस्पतालमा दैनिक तीन/चार जना बिरामीको उपचार गर्ने गरिन्छ । एउटा शल्यक्रिया गर्न कम्तिमा पाँच घण्टा लाग्दछ । अहिले पनि शल्यक्रियाका लागि बिरामीले चार/पाँच हप्ता कुर्नुपर्ने वाध्यता रहेको छ । अहिले वीर अस्पताल र ट्रमा सेन्टरमा रहेका जम्मा छ जना न्यूरो सर्जनले बिरामीको बढ्दो चापलाई धान्न मुस्किल छ । नेपालभर कूल एक सय १५ न्यूरो सर्जनमध्ये यतिबेला एक सय १० जना स्वदेशमा रहेको अवस्था छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा मात्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार रहेको छ  । अहिले जसरी ब्रेन ट्युमरको समस्या बढ्दैछ, त्यसअनुसार राजयले आवश्यक जनशक्ति र पूर्वाधार प्रदेशस्तरसम्म विस्तार गर्न सकिन्छ । जनताले पनि समयमै चिकित्सकसँग परामर्श गरी उपचार गराउनतर्फ ध्यान दिन पनि उत्तिकै आवश्यक छ ।


(वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)

लमजुङमा पहिरोले पुरिँदा लोडर चालकको मृत्यु

लमजुङ / लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।

आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए। गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन हुन्छ : मन्त्री चौधरी (भिडियो सहित)

काठमाडौं / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकलमा हस्ताक्षर गरिसकेपछि अहिले कानून निर्माणको चरणमा रहेको बताएकी हुन् ।

नेपालले सन् २०२० जुन १६ मा पार्लेमो प्रोटोकलमा हस्ताक्षर गरेको थियो । सम्बन्धित मन्त्रालयसँगको समन्वयमा ऐन, कानून संशोधनको प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले पार्लेमो प्रोटोकल अनुमोदन गरिसकेपछि ९ वटा कानूनहरू बनाउनुपर्ने बताइन् । त्यसमध्ये पनि प्रमुख कानून नै मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नै भएकोले ऐन संशोधन प्रक्रियालाई छिट्टै अगाडि बढाइने बताइन् । विशेषगरी खाडी मुलुकका केही देशमा यो समस्या बढी रहेको भन्दै ती देशमा राज्यले प्रहरी डेस्क स्थापना गर्न सकेमा मानव बेचबिखन नियन्त्रण गर्न सहज हुने समेत उनले बताइन् ।

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरिसकेपछि ९ वटा कानूनमा संशोधन गर्नुपर्ने अवस्था भएपनि अहिलेसम्म मानव बेचबिखन तथा ओसारपसार ऐन मात्रै संशोधनका लागि अगाडि बढेको अवस्था रहेको बताएका थिए ।

काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द

काभ्रे ।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ। कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ।

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। उनका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उक्त नक्कली नागरिकता विभिन्न ठेगानाका चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापाने र तेन्जिङ सोनाम तामाङ रहेका छन्।

कार्यालयका अनुसार राजु गुरुङ पक्राउ परी धरौटीमा रिहा भएका छन्। निजले कर्मचारीलाई रु पाँच लाख बुझाएर नागरिकता र राहदानी लिएको बयान दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारगार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उनका अनुसार नागरिकता सनाखत गरेर विदेशीलाई समेत बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भूपेन्द्र पाण्डेय भने धरौटीमा दुई साताअघि मात्रै छुटेका छन्।


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत (आठौँ तह) मा कार्यरत खरेल उपचारका लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा काभ्रेपलाञ्चोकबाट गत चैत पहिलो साता पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनका अनुसार खरेललगायतले छिरिङलाई नेपालीमा निमा तामाङ नाम राखेर झुटा विवरण पेस गरी काभ्रेपलाञ्चोक प्रशासनबाट विसं २०७४ पुस २० गते वंशजको आधारमा नागरिकता दिलाएका थिए।

छिरिङलाई नक्कली नागरिकता दिलाउन सनाखत गरेका तत्कालीन सुब्बा रहेका बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत ललितपुरको महालक्ष्मी नगरपालिका–५ का अर्याललाई विसं २०८० फागुन २४ गते मकवानपुरबाट पक्राउ गरिएको थियो।

सहायक प्रजिअ पौडेलका अनुसार जारी भएका सबै नागरिकताको कागजात कार्यालयमा छैन। उनले तिनै कर्मचारीबाट अन्यलाई पनि नक्कली नागरिकता प्रदान गरेको अध्ययनबाट देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए। विशेष गरी विसं २०७३ र २०७४ मा वितरण गरिएका नागरिकतामा समस्या देखिएको उनको भनाइ छ। 

स्वदेशी पुँजी,सीप र प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक संस्थाहरु परिचालित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर सामाजिक संस्थाहरु परिचालित हुनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको समाज कल्याण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक अभियान्ता भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताएका हुन् ।

उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने मात्रै नभई आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्नेमा जोड दिए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताए । समाजवादको आधार तयार पार्ने सन्दर्भमा माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने नीति अख्तियार गर्दै आएको बताउँदै प्रचण्डले यसका निम्तिसमेत सामाजिक क्षेत्रको भूमिकालाई सङ्किर्ण तवरले नबुझ्न सुझाव दिए ।

उनले पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहेनत र सङ्घर्ष गरिरहेको जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पनि यीनै विषयमा केन्द्रित भएको उनको भनाइ छ ।

रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन्

गण्डकी  । कास्कीको पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो। विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरू भएको उनको मौरीपालन व्यवसाय अहिले ‘वेगनास मौरीघार उद्योग’ का रूपमा विस्तार भएको छ। सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ।

‘मौरीको स्थानीय स्रोत केन्द्रका रूपमा उद्योगलाई विकास गरेका छौं, हालसम्म एक करोड बढी लगानी भइसकेको छ’, ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झन्डै २४-२५ लाख जति आम्दानी छ।’ उद्योगमा ६ जनाले रोजगारी पाएका छन्। लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन छन्।

कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिएका लामिछाने अहिले आफैं रोजगारदाता बन्न सफल भएका हुन्।

‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ’, उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पु¥याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन।’

मौरीसहितको आधुनिक घारको बजार मूल्य दस हजार र घारको मात्र चार हजार तोकिएको उनले जानकारी दिए। ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरूबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ’, उनले भने। मह मात्रै बेचेर वर्षमा आठदेखि दस लाख रुपैयाँसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाए।

उद्योगबाट प्रतिकिलो एक हजार पाँच सयमा मह बिक्री हुने गरेको छ। स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ छ।

उनका अनुसार उद्योगमा अहिले तीन सय ५० घार मौरी छन्। वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ। मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ। वर्षको दुई याममा मह उत्पादन हुन्छ। उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टापीलगायत सामग्री पनि बेच्ने गरिएको छ।

लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन्। स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ।

स्याउका बिरुवामा परागशेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेको उनले बताए। उनले मौरीपालन गर्न चाहने किसानलाई तालिम पनि दिन्छन्। उत्कृष्ट मौरीपालक किसानका रूपमा उनी देशविदेशमा सम्मानित भएका छन्।

२०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार नगदसहित उनलाई सम्मानित गरेको थियो। ‘सम्मान ग्रहणका लागि जापान पनि पुगें’, उनले भने, ‘महसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ।’ मौरीलाई शरीरमा राखेर पनि उनी बेलाबेलामा चचार्मा आउने गरेका छन्। उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो।

‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। ‘महानगरले पनि किसानलाई उनकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीं स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ’, उनले भने।

प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताए। ‘उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालनसम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ’, प्रमुख कडरियाले भने, ‘मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उहाँको सक्रियता राम्रो छ।’

महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ छ। आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताए।

रुपातालको किनारमा पक्की सडक निर्माण

कास्की । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ ।

रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो ।

परियोजनाको २३ करोड १० लाख लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा गर्न सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रुपमा रहेको रुपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएपछि सुविधा सम्पन्न पक्की सडक निर्माण थालिएको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

निर्माण सम्पन्न भएपछि तालको महत्व अझ बढ्नुका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने र स्थानीयको आर्थिकस्तर वृद्धि हुने उनको भनाइ छ । उनले पक्की सडकले तालको मुहारका साथै स्थानीयको दैनिकी फेर्ने बताउँदै खुसी व्यक्त गरे ।

“विसं २०५९ मा हामी आफैँले ट्रयाक खोलेको बाटो बनाउन सुरु गरेका हौँ । अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा असाध्यै खुसी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ”, अध्यक्ष अधिकारीले भने ।

अधिकारीका अनुसार सडक निर्माणले रुपातालमा माछा खरिद तथा बिक्रीका लागि सजिलो हुनुका साथै रुपा गाउँपालिकाका भङ्गरा, जमनकुना, तालबँेसीलगायत क्षेत्रका स्थानीय सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बेगनासताल हुँदै सुन्दरीडाँडा, तालबँेसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यस सडक विकल्पका रुपमा प्रयोगमा आइसकेको अधिकारीले बताए ।

रुपाताल एकीकृत संरक्षण परियोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सडक निर्माणको हालसम्म ८० प्रतिशत काम सकिएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रमा पूरा काम हुनेछ ।

सडक निर्माणका लागि विसं २०७८ असार २३ गते डुकुचु कन्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरिएको थियो । सडक नालाबाहेक साढे पाँच मिटर फराकिलो हुनेछ । सम्झौता मितिले ३० महिनाभित्रमा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि बजेट अभावमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

“गत चैतभित्रमा कालोपत्रे गर्ने तयारी भएको थियो । बजेट अभावमा सडक समयमै सम्पन्न गर्न केही ढिलाइ भयो । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिएका छौँ”, इन्जिनियर गुरुङले भने ।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ । ताल पर्यटकीय गन्तव्यसँगै आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्ने स्थानीयको भनाइ छ ।

परियोजनाका इन्जिनियर सुनिता गैह्रेले रुपाताललाई पुरानै स्वरुपमा फर्काउन करिब चार अर्ब ५० करोडमा लागतमा विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिइन् । उनका अनुसार पहुँच मार्गसहित जलाधार क्षेत्रमा तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिएको छ ।

लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने इन्जिनियर गैह्रेले जानकारी दिइन् ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।

आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषिराम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति रहेको थियो ।

हाल राष्ट्रिय वाणिज्य बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८७ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, प्वाइन्ट अफ सेल सेवा , क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिनाचेक रकम झिक्न सकिने) इन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।

बालेनको अभिव्यक्ति भैंसीको ढाडमा झिँगा बसेजस्तै होः अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्किए अस्थिरता निम्तने भएकाले यसलाई भत्काउने चलखेल गर्न नहुने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने त्यस्तो प्रयास राष्ट्रिय राजनीतिका लागि घातक हुने बताएका हुन् । उनले यो सत्ता समीकरण दिगो हुने दाबी गरे ।

उनले भने, ‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन ।’

अध्यक्ष ओलीले सरकारले आवश्यक ठानेर नै विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाएको हुनसक्ने भन्दै आफूलाई यसबारे थाहा नहुने बताए ।

उनले भने,’यो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जान्ने कुरा हो । हामीलाई थाहाँ हुँदैन यस्ता कुरा ।’ अध्यक्ष ओलीले आफूले बोलेको कुरा अनावश्यक ढंगले शिक्षा मन्त्री श्रेष्ठसँग जोडिएको बताए।

उनले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।’

ओलीले शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले गिरिबन्धुको जग्गा सट्टापट्टाका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेनले अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले बालेनको अभिव्यक्तिलाई भैंसीको ढाडमा झिंगा बसेकोसँग तुलना गरे । उनले भने, ‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।’

उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताए। मेयर साहले गिरिबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्दै सामाजिक संजालमार्फत बताएका थिए ।

म्यान्मामा सर्वसाधारणमाथि गरिएको सैन्य हमलाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गरेका छन् ।

“महासचिव गुटेर्रेसले म्यान्मा सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,” गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारूढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बल्झिएको हो ।

एएले करिब छ लाख उत्पीडित रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसङ्ख्याको थप स्वायत्तताका लागि लडिरहेको बताएको छ ।

यस हप्ता राज्यको राजधानी सिट्वेको उत्तरमा रहेको ब्येन फ्यु गाउँमा गरिएको खोजतलास र कारबाहीका क्रममा जुन्टा सेनाले ७० भन्दा बढी रखाइन नागरिकहरूको हत्या गरेको बताइएको छ । जुन्ताले भने उक्त दाबी केबल हल्ला भएको बताएको छ ।

रखाइन राज्यका विभिन्न भागमा फोन र इन्टरनेट सेवा काटिएसँगै यहाँका नागरिक सञ्चारको सुविधाबाट वञ्चित रहेका छन् ।

मे महिनामा चीनको निर्यातमा वृद्धि

मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।

राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ ।

चीनमा निर्यातले ऐतिहासिक रूपमा एक महत्त्वपूर्ण आर्थिक इन्जिनको रूपमा सेवा गरेको छ । विदेशी निर्यातको राम्रो प्रदर्शनले हजारौँ कम्पनीहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ ।

पछिल्लो आँकडाले लगातार दोस्रो महिनाको वृद्धिको प्रतिनिधित्व गर्दछ । अघिल्लो बर्षको तुलनामा मार्चमा छोटो समयका लागि चीनको निर्यात दरमा ७.५ प्रतिशत गिरावट आएको थियो ।

पछिल्लो समय महाशक्ति राष्ट्रहरूबीच जारी भूराजनीतिक विवादका बीच संयुक्त राज्य अमेरिकासँगको संयुक्त निर्यात र आयात मे महिनामा १.४ प्रतिशतले घटेको छ ।

सन् २०२० पछि पहिलो पटक चीनले रूसलाई निर्यात गरेको र चीन र रूसबीचको व्यापार गत महिना २.९ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीच आर्थिक र राजनीतिक सम्बन्ध मजबुत भएको छ ।

चीनको कुल आयात अप्रिलमा ८.४ प्रतिशतले वृद्धि भएकोमा मे महिनामा थप १.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२२ को अन्त्यमा कडा महामारी प्रतिबन्धहरू हटाएपछि चीनमा बहुप्रतिक्षित आर्थिक पुनरुत्थान अपेक्षा गरिएभन्दा कम भएको छ ।

बेइजिङका नीति निर्माताहरूले अब अनिश्चित आर्थिक स्थितिको सामना गरिरहेका छन्, किनकि रियल स्टेट क्षेत्रमा ऋण सङ्कट र उच्च युवा बेरोजगारीले उपभोक्ताको विश्वासलाई तौलने खतरा छ ।

निर्यातमा पछिल्लो उछालले चीनको व्यापार अधिशेष अप्रिलमा ७२.४ अर्ब डलरबाट ८२.६ अर्ब डलरमा पुर्याएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले पद तथा गोपनीयताको लिएका हुन् ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सांसद सिंहलाई आज बिहान जनमतसँगै, एमाले, माओवादी, नेकपा एस, नाउपा र नेपाल संघीय समाजवादीका गरि कूल ५६ जना सांसदले समर्थन गरेका थिए।

विद्युत् प्राधिकरणको नाफा ११ अर्ब नाघ्यो

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा ९करकट्टी गर्नुअघि अपरिष्कृत० आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत्् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत्् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत्् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत्् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा रु १७ अर्ब ८२ करोड विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ ।

सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ ।

सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न राष्ट्रपति पौडेलको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अन्तरव्यवस्थापिका मञ्च नेपालको भेलाका निष्कर्ष र घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति पौडेलले नैतिक अधिकारको सम्मान गर्ने संस्कारले नै लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्ने बताए ।

उनले भने, “मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन ।”

उनले राजनीतिक दलहरुको भूमिका जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै निश्चित सीमा र मर्यादामा रहेर दलहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

“अति दलबन्दीले कहिलेकाहीँ अप्ठेरो पार्छ, यसले निमुखाको न्याय मार्छ, त्यसैले निश्चित सीमा र मर्यादामा रहेर मात्र दलहरुले भूमिका निर्वाह गर्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।

यस्तै, नेपालको संविधानले महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र निमुखा नागरिकलाई दिएको अधिकार अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको र दक्षिण एसियामा हाम्रो संविधान उत्कृष्ट रहेको उनले बताए ।

एकअर्को प्रसंगमा राष्ट्रपति पौडलले संसद्को नेतृत्वकर्ताको भूमिका लोकतन्त्रका लागि महत्वपूर्ण हुने भएकाले सधैँ तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिँदै राजनीतिक दलहरुले पनि नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने बताए ।

उनले संसद्को काम सरकार र कानून निर्माण, जनसरोकारका मुद्दाहरूको सम्बोधन, नागरिक अधिकारहरूको संरक्षण, लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितता र सरकारमाथि निगरानी गर्ने बताए ।

“हाम्रो संविधानले विधायिकी अधिकार सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ, विधायिकी जिम्मेवारी निकै गहन र बहत् हुन्छ भन्नेमा हामीहरू जानकार नै छौँ । त्यसैले तिनको परिपालना गर्न सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।

मुलुक सङ्घीयतामा गएपछि विसं २०७५ सालदेखि नै अन्तरव्यवस्थापिका मञ्च नेपालको नाममा अनौपचारिक फोरम निर्माण गरी सङ्घ र प्रदेशसभाको अनुभव आदानप्रदान गरेर मञ्चले असल अभ्यास सुरु गरेको र यस प्रकारको अभ्यासले सङ्घीय संसद् र प्रदेशसभाबीचको सम्बन्ध विकास गर्न तथा संसदीय अभ्यासमा एकरुपता कायम गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई सभामुख देवराज घिमिरेले दोस्रो निर्वाचनपछि भएका तीनवटा भेलाले गरेका निष्कर्ष र घोषणा हस्तान्तरण गरेका थिए ।

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको एक लाख ४४ हजार

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा  एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा  ५० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय निर्धारण भएको छ । 

दाङमा नेपाली सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका अमल्दारले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोक २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका हुन् । शुक्रबार बिहान बुढाथोकीले श्रीमतीको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको गरेका हुन् । उनीहरुबीच दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई तुलसीपुरबाटै पक्राउ गरेको छ ।

सतिशकुमार सिंह मधेशको मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । जनमत पार्टीका सांसद सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शुक्रबार बिहान ६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सिंहले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी छ । उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपा संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । बिहीबार गठबन्धनका दलहरूले मन्त्रालय भागवण्डामा सहमति गरेपछि आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

हाल मधेशमा १०७ सदस्यीय प्रदेशसभा रहेकोमा सिंहले एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका १/१ सांसदको समर्थन पाएका छन् ।

दलहरूबीच भएको सहमतिअनुसार संसदीय दलको सबैभन्दा ठूलो दल एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयसहित ४ वटा मन्त्रालय पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ ।

माओवादी केन्द्रले अर्थ मन्त्रालय र उद्योग,वाणिज्य मन्त्रालय पाएको छ । त्यसैगरी, एकीकृत समाजवादीले भूमि व्यवस्था तथा कृषि र गृह सञ्चार तथा कानुन मन्त्रालय पाएको छ । त्यसैगरी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीले पनि पनि एक÷एक वटा मन्त्रालय पाउनेछ ।