मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त


काठमाडौं । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो । एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए ।
उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अब मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन् । उनको सपथ ग्रहण समारोह आगामी आइतबार हुने भएको छ ।
यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो । एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ । २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन् ।
यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनले हरेक पटक एनडीएमा आबद्ध दलहरुलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ ।